Tag: दाङ

  • दाङमा महरामाथि पोखरेल हाबी, गठबन्धनलाई हराउँदै दुवै उपमहानगरमा एमाले जिताउन सफल

    दाङमा महरामाथि पोखरेल हाबी, गठबन्धनलाई हराउँदै दुवै उपमहानगरमा एमाले जिताउन सफल

    रुपन्देही । नेकपा माओवादी केन्द्र र नेपाली कांग्रेसले बलियो क्षेत्र मानेको दाङका दुवै उपमहानगरपालिका जित हात पार्न नेकपा एमाले सफल भएको छ । माओवादी केन्द्रका नेता कृष्णबहादुर महराको गृहजिल्ला दाङका दुवै उपमहानगरमा आफ्नो उम्मेदवारलाई जिताउन सफल भएका हुन्, नेकपा एमालेका महासचिव शंकर पोखरेल ।

    दुवै उपमहानगरमा नेकपा एमाले, नेपाली कांग्रेस र माओवादी केन्द्र तीनै पार्टीले आफू बलियो दाबी गरेका क्षेत्र हुन् । तर एमाले विभाजनबाट बनेको नेकपा एस, जसपा, जनमोर्चा तथा मुख्यशक्ति मानिएका कांग्रेस र माओवादी केन्द्रको बलियो गठबन्धनलाई पराजित गर्दै एमालेको विरासत जोगाउन महासचिव पोखरेल सफल भए ।

    गत निर्वाचनमा उपमहानगर जितेको एमालेलाई यसपालि कठिन पर्ने धेरैको विश्लेषण थियो । तर, उनीहरुको विश्लेषण फेल खाएको छ । यही आंकलनलाई ध्यान दिँदै गठबन्धन दलले घोराहीमा माओवादीलाई मेयर तथा कांग्रेसलाई उपमेयर तथा तुलसीपुरमा कांग्रेसलाई मेयर तथा नेकपा एसलाई उपमेयर भागबण्डा मिलाएका थिए ।

    दाङमा सत्तागठबन्धनले एमालेलाई क्लिनस्वीप पारेर जाने घोषणा गरे पनि दुवै उपमहानगरमा असफल भएका छन् । महासचिव पोखरेलको कठिन मेहनतले गठबन्धन दलभित्रको विवादलाई टेकेर दुवै पालिकामा जित निकाल्न सकेको एमालेका स्थानीय नेताहरुको विश्लेषण छ ।

    रुपन्देहीबाट प्रदेश राजधानी दाङ लगेको जस पाएका पोखरेलले योबीचमा माओवादी नेता महरा निकटका प्रभावशाली नेताहरुलाई एमालेमा भित्र्याए र दुवै पालिकामा कांग्रेस–माओवादीबीचको अन्तरद्वन्द्वमा खेल्न सफल भए ।

    दाङ एमाले महासचिव शंकर पोखरेल, माओवादी केन्द्रका नेता कृष्णबहादुर महरा, कांग्रेसका नेता दीपक गिरीलगायतका चर्चित नेताहरूको जिल्ला भएकाले पनि यहाँको चुनावी चर्चा बढी हुने गरेको छ ।

    यसअघिको प्रदेश र संघीय निर्वाचनमा दाङको निर्वाचन क्षेत्र नम्बर २ मा तालमेल गरी चुनाव लडेका पूर्वसभामुख महरा र लुम्बिनी प्रदेशका संस्थापक मुख्यमन्त्री पोखरेल यो चुनावमा आमने–सामने भएका थिए ।

    दाङमा नेकपा एमालेको विरासत भत्काउन पाँच दलीय गठबन्धनले पूर्ण तयारी गरेका थिए । १० पालिका रहेको जिल्लामा दुई उपमहानगरबाहेक ८ पालिकामा भने कांग्रेस–माओवादीले जितेका छन् ।

    घोराहीमा त अघिल्लोपटक एमालेका मेयरसँग बलियो प्रतिस्पर्धा गरेका कांग्रेसका उम्मेदवार भूपबहादुर डाँगी जित्ने पूर्णआशाले उपमेयरमा उठेका थिए ।
    २०७४ सालको निर्वाचनमा एमालेका नरुलाल चौधरी २२ हजार ३ मत प्राप्त गरी निर्वाचित भएका थिए । नेपाली कांग्रेसका भूपबहादुर डाँगी क्षेत्रीले १७ हजार ४८४ र नेकपा माओवादी केन्द्रका जीवन गौतमले १२ हजार ८२ मत प्राप्त गरेका थिए ।

    तर अहिले कांग्रेस माओवादीको दुवै मत जोड्दा र अन्य तीन साना दलको समेत गठबन्धनलाई साथ रहँदा एमालेलाई सजिलै हराउने आँकलन गठबन्धन दलको थियो । घोराहीमा एमालेबाट मेयरमा दोहोरिएका चौधरीले ३१ हजार ७२८ मत प्राप्त गरे । यसैगरी उपप्रमुखमा एमालेकै हुमाकुमारी डिसीले ३० हजार ४०३ मत प्राप्त गरेर विजयी भइन् । यहाँ नेकपा माओवादी केन्द्रका हेमराज शर्मा डायमण्ड प्रमुखमा र कांग्रेसका भुपबहादुर डाँगी उपप्रमुखमा चुनाव लडेका थिए ।

    तुलसीपुर उपमहानगरपालिकामा एमालेबाट मेयर उम्मेदवार टिकाराम खड्का र उपमेयर स्यानी चौधरीले विजयी भएका छन् । गठबन्धनका तर्फका उम्मेदवार नेपाली काँग्रेसका गेहेन्द्र गिरी अघिल्लो निर्वाचनका समेत प्रत्यासी हुन् । गेहेन्द्रको पराजयले निकै मेहनत गरेर टिकट दिलाएका उनकै परिवारका सदस्य कांग्रेस नेता दीपक गिरीलाई चुनौती थपिएको छ ।

    उपप्रमुखमा एमाले उम्मेदवार स्यानी चौधरीले गठबन्धनतर्फका उम्मेदवार नेकपा एकीकृत समाजवादीका जोगबहादुर रानालाई फराकिलो मतान्तरले पराजित गरिन् ।

    आरोप–प्रत्यारोपमा गठबन्धनका दलहरु

    दुवै उपमहानगरमा चुनाव जित्न असफल भएपछि कांग्रेस र माओवादी तथा तुलसीपुरमा उपमेयरको टिकट पाएको नेकपा एसका नेता कार्यकर्ताहरु आरोप–प्रत्यारोपमा उत्रेका छन् । पाँच दलीय गठबन्धन दाङका दुई उपमहानगरपालिकामा फेल भएको निष्कर्ष निकाल्दै एकले अर्कोलाई घात गरेको विषय सामाजिक सन्जालमा छताछुल्ल भएको छ ।

    तुलसीपुरमा उपमेयर बनेका जोगबहादुर रानाले नेकपा एसको केन्द्रीय सदस्यबाट नै राजीनामा दिएका छन् । स्थानीयका अनुसार जहाँ एक्लाएक्लै प्रतिस्पर्धा भएको छ, त्यहाँ जित निकाल्न कांग्रेस सफल देखिन्छ । केही पालिकामा माओवादी र साना कम्युनिष्ट पार्टीबीचको तालमेल सफल देखिन्छ । तर उपमहानगरपालिकामा भने मतदाताले गठबन्धन नरुचाएको संकेत गरेका छन् ।

    नेकपा एसले गठबन्धनबाट धोका भएको धारणा सार्वजनिक गरिसकेको छ । सो पार्टीका नेता मेटमणि चौधरीले कांग्रेस–माओवादीले गठबन्धनका सहयात्री दललाई नजरअन्दाज गरेको प्रतिक्रिया दिएका छन् ।

     

  • एमालेबाट को-को भिड्दैछन् दाङका स्थानीय तहमा ? (सूचीसहित)

    एमालेबाट को-को भिड्दैछन् दाङका स्थानीय तहमा ? (सूचीसहित)

    दाङ । एमालेले दाङका एक नगरपालिका र सात गाउँपालिकामा चुनाव लड्ने प्रमुख र उपप्रमुखको टुंगो लगाएको छ । आज बसेको लुम्बिनी प्रदेश कमिटीले दाङका सबै पालिका प्रमुख र उपप्रमुखको टुंगो लगाएको एमाले दाङका सचिव मनोहर बुढाथोकीले जानकारी दिए ।

    यी हुन् एमालेबाट चुनावी प्रतिस्पर्धामा उत्रनेहरु

    बबई गाउँपालिका

    प्रमुखः भुवनेश्वर पौडेल
    उपप्रमुखः साबित्रा विश्वकर्मा

    शान्तिनगर गाउँपालिका

    प्रमुखः विष्णु केसी
    उपप्रमुखः कमला भण्डारी

    दंगिशरण गाउँपालिका

    प्रमुखः एमएन शाह
    उपप्रमुखः बुधनी चौधरी

    राप्ती गाउँपालिका
    प्रमुखः जगत पोखरेल
    उपप्रमुखः कलापति चौधरी

    गढवा गाउँपालिका
    प्रमुखः सहजराम ऐर
    उपप्रमुखः सीता चौधरी

    राजपुर गाउँपालिका

    प्रमुखः कुलराज गिरी
    उपप्रमुखः सीता यादव

    बंगलाचुली गाउँपालिका

    प्रमुखः भेषराज खत्री
    उपप्रमुखः सरस्वता घर्ती

    लमही नगरपालिका

    प्रमुख: डन्डिराम चाैधरी

    उपप्रमुख : सुशीला शर्मा

  • महासचिवको गृहजिल्लामा एमालेलाई गठबन्धनको त्रास

    महासचिवको गृहजिल्लामा एमालेलाई गठबन्धनको त्रास

    रुपन्देही । नेकपा एमालेका महासचिव शंकर पोखरेलको गृहजिल्ला दाङमा गत स्थानीय तहको निर्वाचनमा १० स्थानीय तहमध्ये २ उपमहानगरपालिकासहित ६ वटा स्थानीय तहमा एमालेले जितेको थियो । कांग्रेसले ३ तहमा जित्दा माओवादीले १ मात्र स्थानीय तहमा जीत निकाल्न सकेको थियो ।

    तर अहिले अवस्था फेरिएको छ । एमालेबाहेकका दल गठबन्धन गरेर चुनावमा जाने अन्तिम तयारी गर्दैछन् । अघिल्लोपटक जिल्लाको ६ स्थानीय तहमा जितेको एमालेको मतभन्दा तत्कालीन अवस्थामा कांग्रेस र माओवादीले ल्याएको मत मात्रै जोड्दा पनि अधिकांश पालिकामा एमाले पछाडि देखिन्छ । त्यसमाथि एमालेबाट विभाजन भएको नेकपा एकीकृत समाजवादी, जसपा तथा राष्ट्रिय जनमोर्चाको मत गठबन्धनमा जोड्दा एमालेलाई आगामी चुनावमा विरासत जोगाउन थुनौती थपिएको हो ।

    अघिल्लो पटकभन्दा माओवादीको संगठन धेरै कमजोर भएपनि एमालेमा रहेका प्रभावशाली नेता मेटमणि चौधरी र हिराचन्द्र केसी नेकपा एसको प्रभावशाली नेता बनेर महासचिव शंकर पोखरेललाई जसरी पनि आफ्नो प्रभाव देखाउने चुनौती दिइरहेका छन् भने उनै पोखरेलको बलबुतामा एमालेबाट प्रदेशसभा सदस्य निर्वाचित अमर डाँगी तथा विमला खत्री वली पोखरेल नेतृत्वको प्रदेश सरकार ढाल्ने मुख्य नाइके बनेर मैदानमा उत्रिएपछि एमालेको विरासत जोगाउन दाङमा चुनौती थपिएको हो ।

    अस्थिर शक्ति

    केही दशकयता दाङमा एमाले, कांग्रेस र माओवादी केन्द्रको प्रभाव बराबरजस्तै छ । कहिले को अगाडि देखिन्छन् त कहिले को अगाडि ।

    माओवादी युद्ध प्रभावित क्षेत्र रहेको यो जिल्लामा शान्ति प्रक्रियामा आएपछि २०६४ सालको पहिलो संविधानसभा निर्वाचनमा दाङका पाँचवटै निर्वाचन क्षेत्रमा माओवादीले कब्जा गर्यो । तर २०७० सालको दोस्रो संविधानसभा निर्वाचनमा कांग्रेसले पाँचवटै क्षेत्रमा जीत निकाल्यो । यो अवस्थामा सांगठनिकरुपमा बलियो मानिएको एमाले कमजोरजस्तै देखियो । तर यी दुई पार्टीको अन्तरविरोधमा खेल्दै एमालेले तत्काल रणनीति परिवर्तन गर्याे ।

    २०७४ असारमा भएको स्थानीय तह निर्वाचनमा एमालेले १० स्थानीय तहमध्ये २ उपमहानगरपालिकासहित ६ वटा स्थानीय तहमा जित्यो भने कांग्रेसलाई ३ र माओवादीलाई १ पालिकामा सीमित बनायो ।

    अनि २०७४ सालको निर्वाचनमा एमाले र माओवादी केन्द्र पार्टी एकता गर्ने गरी चुनावी तालमेल गरेर निर्वाचनमा गए । प्रतिनिधि सभाका ५ वटा क्षेत्रबाट घटेर ३ निर्वाचन क्षेत्र बनेको दाङमा गठबन्धनको तर्फबाट तत्कालीन एमालेका हिराचन्द्र केसी, माओवादीबाट कृष्णबहादुर महरा र मेटमणि चौधरी निर्वाचित भए ।

    केसी र मेटमणि एमालेबाट निर्वाचित भएर एमाले विभाजनपछि अहिले नेकपा एकीकृत समाजवादीमा छन् भने महरा माओावदीमा । क्षेत्रनम्बर १ बाट चौधरी, क्षेत्र नम्बर २ बाट महरा र क्षेत्र नम्बर ३ बाट केसी निर्वाचित भएका थिए । प्रदेश सभाका ६ वटा क्षेत्रमध्ये १ क्षेत्रमा कांग्रेसका डिल्लीबहादुर चौधरीबाहेक अन्य सबै तत्कालीन नेकपाले जितेको थियो ।

    २०५६ सालको निर्वाचनमा ४ वटा क्षेत्रमध्ये सबैमा कांग्रेस विजयी भएको थियो भने २०५१ सालको मध्यावधि निर्वाचन एमालेबाट हालका एमाले महासचिव शंकर पोखरेलले मात्र जितेका थिए ।

    गत स्थानीय तहको निर्वाचनमा अवस्था

    १. गढवा गाउँपालिका– एमाले(३६७७), माओवादी(३३०४), कांग्रेस(३०३१)
    २. घोराही उपमहानगरपालिका– एमाले(२२०३०), कांग्रेस(१७४८४), माओवादी(१२०८२)
    ३. तुलसीपुर नगरपालिका– एमाले(२२८५७), कांग्रेस(१८९०३), माओवादी(८६९३)
    ४. दंगीशरण गाउँपालिका– एमाले(३१६१), कांग्रेस(२८४१), माओवादी(२४८५)
    ५.बंगालचुली गाउँपालिका– माओवादी(३३५२), कांग्रेस(२५१५), एमाले(१६३४)
    ६. बबई नगरपालिका– एमाले(४२७१), कांग्रेस(३९५९), माओवादी(२५४३)
    ७. राजापुर गाउँपालिका– कांग्रेस(२३९५),माओवादी(१८५८), एमाले(१७८१)
    ८. राप्ति गाउँपालिका– कांग्रेस(४७९७),माओवादी(३९४२), एमाले(३५५७)
    ९. लमही नगरपालिका– एमाले(५१५२), कांग्रेस(५०६९), माओवादी(४०८१)
    १०. शान्तिनगर नगरपालिका– कांग्रेस(३८५२) एमाले(२९२४), माओवादी(२८३७)

    प्रमुख ३ पार्टीकै प्रभावशाली नेताहरू रहेको दाङमा स्थानीय तहको निर्वाचन नजिकिएसँगै जोडघटाउको राजनीति सुरु भएको छ । तीनै पार्टीको ध्यान २ उपमहानगरपालिका तुलसीपुर र घोराहीमा पुगेको छ ।

    आन्तरिक विवादका कारण संगठन बलियो भएर पनि गत निर्वाचनमा २ वटै उपमहानगरपालिकामा गुमाएको कांग्रेसले रणनीतिकरुपमा जित्ने योजना बनाएको छ ।

    घोराहीमा एमालेका चौधरी दोहारिने, गठबन्धनमा माओवादी–कांग्रेस दुवैको दाबी

    घोराही उपमहानगरपालिकामा अहिलेका मेयर नरूलाल चौधरीलाई दोहोरिनेगरी अगाडि सरेका छन् । उनलाई एमाले महासचिव पोखरेलले साथ दिएका छन् । गठबन्धन भए उनले धेरै मत ल्याउनसक्ने दावी उनी निकट नेताहरुको तर्क छ । घोराहीमा उनले राम्रै काम गरेको चर्चा स्थानीयको छ ।

    गत निर्वाचनमा चौधरी २२ हजार ३० मतका साथ विजयी भएका थिए । १९ वडा रहेको घोराहीमा १० वडा एमाले, ६ वडा कांग्रेस र ३ वडा माओवादी केन्द्रले जितेको थियो । चौधरीले दोहोरिने इच्छा देखाएपछि अन्य नेताहरू अगाडि सर्न खोजेका छैनन् । उपमेयर सीता न्यौपानेले पार्टीले अगाडि सारे मेयर भएर नगरलाई सजिलै हाँक्न सक्ने बताउँछिन् । हुमा डिसीलाई उपमेयर मा निश्चित

    एमालेका जिल्ला नेताहरू शिवकुमार आचार्य, राममणि पाण्डे र भरत आचार्यले पनि मेयरमा आकांक्षा व्यक्त गरेका छन् । कांग्रेसबाट यसअघि मेयरमा लडेका भूपबहादुर डाँगी नै मैदानमा छन् । डाँगी भन्छन् ‘गठबन्धनमा मैले नेतृत्व गरे सजिलै जित्न सकिन्छ, यो विषय धेरैलाई जानकारी छ ।’ संस्थापन समूहका नेता डाँगी कांग्रेस महाधिवेशन प्रतिनिधि हुन् । गत निर्वाचनमा डाँगीले १७ हजार ४८४ मत ल्याएका थिए । डाँगीसँगै कांग्रेसका किशोरचन्द्र गौतम र प्रकाश श्रेष्ठको पनि चर्चा छ ।

    माओवादीबाट नेता नारायणकाजी श्रेष्ठका विश्वासपात्र जीवन गौतमले मेयरमा लबिङ अगाडि बढाएका छन् । उनी यसअघि पनि मेयरको उम्मेदवार बनेर १२ हजार ८२ मत ल्याएका थिए । गौतमसँगै माओवादीबाट हेमराज शर्माको पनि चर्चा छ । उनी महरा निकट मानिन्छन् । उता महराका स्वकीय सचिव प्रमोद शर्मा एमालेमा प्रवेश गरेपछि माओवादी थप कमजोर बनेको छ ।

    तुलसीपुरमा कांग्रेसमा धेरैको लडाइँ, एमालेमा खड्का पक्का जस्तै

    तुलसीपुर उपमहानगरमा एमालेबाट मेयर बनेका घनश्याम पाण्डे यसपटक नदोहोरिने बताइसकेका छन् । यहाँबाट उपप्रमुख माया शर्माले पार्टीले अगाडि सारे नेतृत्व लिने तयारीमा रहेको बताइन् । तर एमाले नेताहरुले उनलाई पुनः उपमेयरमै दोहोराउने तयारी गरेका छन् ।

    तुलसीपुरमा एमाले निवर्तमान जिल्ला अध्यक्ष टीकाराम खड्कालाई अगाडि सार्ने तयारीमा रहेको एमाले नेताहरुको भनाइ छ । यहाँबाट वडा नं ६ का वडाध्यक्ष नवराज लामिछाने तथा जिल्ला उपसचिव कृष्ण भुसाल मेयरमा आकांक्षी भएपनि खड्कालाई अगाडि सार्नेगरी धेरै तयारी भइसकेको छ । तत्कालीन एमाले नेता माधवकुमार नेपालको पक्षमा रहेका खड्का एमाले विभाजनको बेला अन्तिम समयमा एमालेमै बसेका थिए ।

    खड्काले एमाले महासचिव शंकर पोखरेल तथा अहिलेका मेयर घनश्याम पाण्डेले आफूलाई साथ दिने बताए ।

    तुलसीपुरमा कांग्रेसका २ जना पुराना नेताहरूका मेयर बन्ने चर्चामा छन् । निवर्तमान जिल्ला सभापति कृतिबहादुर खड्का र पूर्वसभापति घनश्याम रेग्मीमध्ये १ जनालाई अगाडि सार्ने कांग्रेस कार्यकर्ताहरूले अनुमान छ तर खड्का र रेग्मी दुवै संस्थापन पक्षका नेता भएकाले इतर समूहले उनीहरुलाई सजलै स्वीकार्ने अवस्था छैन ।

    यहाँबाट महाधिवेशन प्रतिनिधि विमल रिजाल र नगर सभापति सुरेश हमालले पनि मेयरमा आकांक्षा देखाएका छन् । आफूले पार्टीमा पु¥याएको योगदानको मूल्यांकन गर्नुपर्ने कृतिले बताए । रिजाल र हमाल दिपक गिरी समूहका हुन् । यसैगरी घनश्याम रेग्मी, कृतिबहादुर खड्का, जनकप्रसाद खनाल, डा.नहकुल केसी पनि आकांक्षी छन् । अर्का आकांक्षी रेग्मीले आपसी मेलमिलाप गरेर चुनाव लडे दाङका कुनै पनि क्षेत्रमा चुनाव जित्न कांग्रेसलाई समस्या नभएको बताए ।

    गत निर्वाचनमा एमालेबाट मेयर जितेका घनश्याम पाण्डेसँग पराजित भएका गेहेन्द्र गिरीले यसपटक मेयर उठ्ने इच्छा देखाएका छैनन् । एमालेबाट निर्वाचित पाण्डे २२ हजार ८५७ मतका साथ विजयी भएका थिए भने गिरीले १८ हजार ९०३ मत ल्याएका थिए ।

    तुलसीपुरमा यसअघि मेयरमा पराजित माओवादी नेता शेषुराम भण्डारी आकांक्षी छन् । माओवादीबाटै सीता वली यज्ञबहादुर केसी पनि इच्छुक छन् । यहाँ माओवादीको संगठन पनि कमजोर भएको र गठबन्धनको साथ खोजेकाले अहिले नै धेरै आकांक्षी बाहिर आएका छैनन् ।

    यसअघि पनि माओवादीले यो पालिकामा आफ्नो उपस्थिति देखाउन सकेको थिएन । नेकपा एकीकृत समाजवादी समाजवादीको अवस्था यहाँ पनि सृदृढ देखिदैन । यहाँबाट डिल्ली डाँगी आकांक्षी देखिएपनि उनले गठबन्धनको आश गरेर बसेका छन् ।

    कसरी गर्दैछन् गठबन्धन दलले बाँडफाँट ?

    सत्तारूढ दल नेकपा माओवादी केन्द्र दाङमा चुनावी गठबन्धन गरेर जाने पक्षमा देखिएको छ । कांग्रेस र एमालेभन्दा धेरै कमजोर देखिएको माओवादीले २ उपमहानगरमध्ये १–१ वटा कांग्रेस र माओवादीले तथा लमही नेकपा एकीकृत समाजवादीलाई दिएर भए पनि गठबन्धन बनाउनुपर्ने माग गरेको छ । सत्तारुढ गठबन्धनका दलहरू दाङमा एमालेबाट स्थानीय सरकार खोस्ने योजनाका साथ लागेका छन् भने एमालेले आफ्नो विरासत जोगाउनेमा रणनीतिमा लागेको छ ।

    दाङकै लमही नगरपालिकामा कांग्रेसबाट मेयरको रूपमा कर्णबहादुर बुढाथोकी, मोहन गिरी, बासुदेव जंगली, शिवप्रसाद चौधरीको चर्चा छ । यद्यपि सत्तारुढ गठबन्धन भए घोराही र तुलसीपुर माओवादी र कांग्रेसमध्ये एउटालाई र लमही नेकपा एकीकृत समाजवादीलाई दिन सकिने गरी गठबन्धनले आन्तरिक छलफल अगाडि गरेको छ । त्यसैले पनि गठबन्धन दलमा रहेका नेताहरुले सजिलैगरी आफूलाई मैदानमा उतार्न सकेका छैनन् ।

    विश्लेषक तथा पत्रकार वसन्त आचार्यका अनुसार जिल्लामा एमाले, कांग्रेस र माओवादीको त्रिपक्षीय लडाई हुने भएपनि केही पालिका गठबन्धन हुँदा पनि एमाले एक्लैले जित्नसक्छ ।

    माओवादीको संगठन कमजोर बन्दै गएको र कांग्रेसमा आकांक्षी धेरै भएको फाइदा एमालेले लिने भए एकीकृत समाजवादीमा गएका मत एमाले हराउन सहयोगी बन्नसक्ने उनको तर्क छ । दाङमा तुलसीपुर बाहेकका अधिकांश पालिकाका जनप्रतिनिधि दोहोरोन चाहिरहेका छन् ।

  • दाङका १० मध्ये ९ स्थानीय तहमा एमालेको सर्वसम्मत नेतृत्व

    दाङका १० मध्ये ९ स्थानीय तहमा एमालेको सर्वसम्मत नेतृत्व

    रूपन्देही । दाङमा नेकपा एमालेले १०औं महाधिबेशन अन्तरगत मंगलबार रातिसम्म जिल्लाका दशमध्ये ९ वटा पालिकाहरुमा नयाँ नेतृत्व चयन गरेको छ ।

    एमाले दाङका अध्यक्ष टिकाराम खड्काका अनुसार तुलसीपुर उपमहानगरपालिकाको नगर कमिटी अध्यक्षमा माधब वली, घोराहीमा भुवन चौधरी, लमहीमा दण्डिराम चौधरी चयन भएका छन् ।

    त्यस्तै दंगीशरणमा रेशम वली, शान्तिनगरमा झकबहादुर केसी, बंगलाचुलीमा पुष्पराज भण्डारी, राप्ती मदन अधिकारी, गढवामा बाबुराम अधिकारी र राजपुर गाउँपालिकामा हेमकुमार जिसी सर्वसम्मत रुपमा अध्यक्षमा चयन भएको जिल्ला अध्यक्ष खड्काले बताए ।

    दाङको पालिकास्तरको अधिबेशनमाबाट एमालेमा पनि एकजना महिला नेतृत्वमा आएका छैनन् ।

  • लुम्बिनीको स्थायी राजधानीका लागि सशस्त्र र वनको जग्गा सिफारिस

    लुम्बिनीको स्थायी राजधानीका लागि सशस्त्र र वनको जग्गा सिफारिस

    रुपन्देही । लुम्बिनी प्रदेशको स्थायी राजधानीका लागि आवश्यक भौतिक संरचना निर्माण गर्न दाङको राप्ती गाउँपालिकास्थित भालुवाङनजिकै सशस्त्र प्रहरी बलको नाममा दर्ता कायम भएको वन क्षेत्र र वन विभागको करिब ६० विघा खाली जग्गालाई सिफारिस गरिएको छ ।

    सो क्षेत्रको मुख्यमन्त्री कुलप्रसाद केसीसहितका टोलीले मंगलबार निरीक्षण गरी राजधानीका लागि उपयुक्त भएको निष्कर्ष निकालेको छ । उक्त स्थानमा मन्त्रालयका भौतिक संरचना निर्माण गर्दा उपयुक्त हुने भन्दै प्रक्रिया अगाडि बढाउने निर्णय भएको सरकारका प्रवक्ता मन्त्री तिलकराम शर्माले जानकारी दिए ।

    मंगलवार राप्ती गाउँपालिका अध्यक्ष नुमानन्द सुबेदीको अध्यक्षतामा मुख्यमन्त्री केसीसहितको बैठकले सशस्त्र प्रहरीको नाममा दर्ता कामय भएको वन क्षेत्र र वन क्षेत्रको खाली जग्गालाई लुम्बिनी प्रदेश सरकारको नाममा हक हस्तान्तरणको लागि आवश्यकता अनुसार चार किल्ला क्षेत्रफल छुट्याइ राप्ती गाउँपालिकाले सिफारिस गर्ने निर्णय भएको शर्माले बताए ।

    बैठकले सशस्त्रलाई सो क्षेत्रफल बमोजिमकै जग्गा सोध भर्ना गर्ने व्यवस्था गर्ने, राप्ती गाउँपालिकाले सिफारिस गरेको जग्गा नाप जाँच गरी क्षेत्रफल एकिन लगायतका काम दुई÷तीन दिनभित्र मालपोत र नापी कार्यालयले काम अगाडि बढाउने, राप्ती गाउँपालिका, मालपोत र नापी कार्यालयबाट प्राप्त भएको जग्गा दाङका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङको नेतृत्वमा रहने जग्गा व्यवस्थापन सिफारिस समितिको बैठक बसेर लुम्बिनी प्रदेश सरकारको नाममा जग्गा तथा हक हस्तान्तरणको लागि संघीय सरकारलाई सिफारिस गर्ने गरेको छ ।

    त्यस्तै लुम्बिनी प्रदेश सरकारको लागि जग्गा व्यवस्थापन गर्ने कार्य र डिभिजन वन कार्यालय दाङ देउखुरी लमहीले अतिक्रमित जग्गा खाली गर्ने सम्बन्धमा प्रकाशित गरेको सूचनाको आधारमा रहेको क्षेत्रमा बसोबास गर्ने स्थानीयको व्यवस्थापनको सम्बन्धमा राप्ती गाउँपालिका अध्यक्ष नुमानन्द सुबेदीको संयोजकमा कार्यदल गठन गरी उचित व्यवस्थापनको लागि सिफारिस गर्ने निर्णय भएको प्रवक्ता शर्माले बताए ।

    बैठकमा पर्यटन, ग्रामीण तथा शहरी विकास मन्त्री डिल्लीबहादुर चौधरी, आर्थिक मामिला तथा सहकारी मन्त्री कृष्णध्वज खड्का, आन्तरिक मामिला तथा सूचना सञ्चार मन्त्री तिलकराम शर्मा, स्वास्थ्य, जनसंख्या तथा परिवार कल्याण मन्त्री इन्द्रजित थारु, स्वास्थ्य राज्यमन्त्री विमलाकुमारी खत्री, ऊर्जा जलस्रोत सिंचाई राज्यमन्त्री अर्जुनकुमार श्रेष्ठ, पर्यटन ग्रामीण तथा शहरी विकास राज्यमन्त्री रिना नेपाल विक, प्रदेशसभा सदस्य दामा शर्मा, सरस्वती गौतम, धमकली चौधरी, रेवतीरमण शर्मा सहभागी रहेका थिए ।

    मुख्यमन्त्री कुलप्रसाद केसीले यो वर्षबाट राजधानीको प्रशासनको भवनहरु निर्माण गर्ने जग्गा प्राप्त र प्राप्त जग्गासँगै निकट भविष्यमा सम्झना लायक गुरुयोजनासहितको सुन्दर राजधानी र शहर निर्माण गर्ने बताएका छन् ।

    उनले आवश्यक जग्गा संघीय सरकारले उपभोग गर्न अधिकार दिएकै दिनबाट भौतिक संरचना निर्माणको कामलार्ई अगाडि बढाउने गरी बजेट विनियोजन भइसकेको बताए ।

    प्रदेश सरकारले अहिले आवश्यक ठानेको जग्गामध्ये केही ठाउँमा स्थानीयले लामो समयदेखि आफूहरु बस्दै आएकाले आफ्नो व्यवस्थापन नहुँदै जग्गा नदिने बताउँदै आएका छन् ।

  • दाङका दर्जन पत्रकार कांग्रेसको क्षेत्रीय प्रतिनिधि निर्वाचित (सूचीसहित)

    दाङका दर्जन पत्रकार कांग्रेसको क्षेत्रीय प्रतिनिधि निर्वाचित (सूचीसहित)

    दाङ । नेपाली कांग्रेसको आसन्न महाविधेशनका लागि जिल्लाका एक दर्जन पत्रकार क्षेत्रीय प्रतिनिधिमा निर्वाचित भएका छन् ।

    क्षेत्रीय प्रतिनिधिमा निर्वाचित हुने अधिकांश जिल्लामा स्थापित पत्रकारहरु हुन् । केही पत्रकार महासंघका जिल्ला अध्यक्ष समेत भइसकेका छन् । क्षेत्रीय प्रतिनिधिमा निर्वाचित भएपछि पत्रकारहरुले खुसी साटासट गरेका छन् भने मतदातालाई धन्यवाद पनि दिएका छन् ।

    ‘मेरो चौथो चुनावी अपराजित यात्रामा सहयोग गर्नुहुने सम्पूर्ण शुभचिन्तक तथा अग्रजहरुमा आभार प्रकट गर्दछु,’ पत्रकार देवीराम कुसारीले लेखेका छन्, ‘नेपाली कांग्रेसको १४ औं महाधिवेसनमा क्षेत्रिय प्रतिनिधिमा चुनाव जित्दै गर्दा सहमतिको सौन्दर्यतालाई अझ नजिकबाट चिन्ने अवसर पाए र पनि आफैंलाई तौल गर्ने सुनौलो अवसर भने चुनावले नै दिएको हो । चुनाव जित्दै गर्दा चुनौती थपिएको महसुस गरेको छु जय नेपाल ।’

    अर्का पत्रकार भरतराज शर्माले मतदाताप्रति आभार प्रकट गर्दै लेखका छन्, ‘नेपाली कांग्रेसको १४ औ महाधिवेशनमा तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ३ बाट मलाई आफ्नो अमुल्य मत दिई भारी मतले क्षेत्रीय प्रतिनिधिमा निर्वाचित गराउनु हुने सम्पूर्ण क्रियाशील सदस्य ज्यूहरुप्रति हार्दिक आभार प्रकट गर्दछु ।’

    क्षेत्रीय प्रतिनिधि भएका पत्रकारहरु:

    १) सुदीप गौतम, घोराही उपमहानगर पालिका–१२

    २) हेमराज शर्मा, घोराही–१

    ३) देविराम कुसारी, दंगिशरण गाउँपालिका–२

    ४) शरद रेग्मी, तुलसीपुर उपमहानगर पालिका– ११

    ५) बालाराम खड्का, तुलसीपुर– ४

    ६) भरतराज शर्मा, तुलसीपुर– ३

    ७)आरके सितल, घोराही– १०

    ८) सपना बोहोरा, घोराही– १६

    ९) सुवास डिसी, तलुसीपुर– ११

    १०) सुरेस श्रेष्ठ, तुलसीपुर–५

    ११) प्रिया स्मृति गजमेर, लमही नगरपालिका–९

    १२) प्रेम तिवारी, तुलसीपुर–३

  • अस्थायी संरचनामै भए पनि देउखुरी सार्न मुख्यमन्त्रीको दबाब, कर्मचारीको आपत्ति

    अस्थायी संरचनामै भए पनि देउखुरी सार्न मुख्यमन्त्रीको दबाब, कर्मचारीको आपत्ति

    रुपन्देही । लुम्बिनी प्रदेशको राजधानी रुपन्देहीको बुटवलबाट देउखुरी सार्ने विषयमा फेरि विवाद सुरु भएको छ । देउखुरीमा स्थायी संरचना बनिनसक्दै बुटवलबाट राजधानी सार्ने तयारी भएपछि विवाद बढेको हो ।

    देउखुरीमा स्थायी संरचना नबन्दै राजधानी सार्दा दोहोरो खर्च हुने भन्दै कतिपयले विरोध गरेका छन् । अहिले बुटवलमा करोडौं खर्चिएर प्रादेशिक मन्त्रालय, कार्यालय र क्वाटर विभिन्न सरकारी संघसंस्था र व्यक्तिको घरमा सञ्चालन गरिएको छ । देउखुरीमा पनि स्थायी संरचना नबन्दै राजधानी सार्दा दोहोरो खर्च हुने धेरैको बुझाइ छ ।

    लुम्बिनी प्रदेशसभाबाट ०७७ असोज २० गते प्रदेशको स्थायी दाङको देउखुरी क्षेत्रमा तोकिएको थियो । त्यतिबेला मुख्यमन्त्री शंकर पोखरेलले देउखुरीमा सम्पूर्ण स्थायी संरचना बनेपछि मात्रै राजधानी सार्ने बताएका थिए । तर पछिल्लो समय मुख्यमन्त्री पोखरेलले मन्त्रालय सार्न कर्मचारीलाई दबाब दिएको बाहिरिएपछि विवाद पनि बढेको हो ।

    मुख्यमन्त्री पोखरेल दबाबमा

    सत्तामा क्रमशः कमजोर भइरहेका मुख्यमन्त्री पोखरेललाई घोषणा भइसकेको राजधानी आफ्नै जिल्लामा ल्याउन नसकेको भन्दै जिल्लाबासीले व्यापक दवाव दिइरहेका छन् ।

    अर्को सरकार आए राजधानी सार्ने काम विलम्व हुनसक्ने संकेत पाएपछि पोखरेल सकेसम्म आफ्नै कार्यकालमा राजधानी गृहजिल्ला दाङमा सार्न चाहन्छन् । उनी अस्थायी संरचना नै भए पनि जतिसक्दो छिटो राजधानी सारेर जश लिन चाहन्छन् । तर, उनको सरकारका कतिपय मन्त्री, पार्टीका सांसद र अधिकांश कर्मचारी उनको चाहनाविपरीत छन् । उनीहरु देउखुरीमा स्थायी संरचना नबनेसम्म राजधानी सार्न नहुने अडानमा छन् ।

    पूर्वमन्त्री तथा माओवादी संसदीय दलका नेता कुलप्रसाद केसी, सभामुख पूर्णबहादुर घर्ती, उपसभामुख कृष्णी थारु, कांग्रेस सांसद डिल्ली चौधरी, मन्त्री हरि रिजाल, विजय यादव भने अस्थायीबाट अस्थायीमै भए पनि राजधानी सारिहाल्नुपर्ने लाइनमा छन् ।

    अहिले देउखुरीमा राप्ती प्राविधिक शिक्षालय परिसरमा पाँच करोडभन्दा बढीको लागतमा प्रदेशसभाका लागि अस्थायी सभा भवन बनिरहेको छ । त्योबाहेक अरु राजधानीका लागि अरु कुनै संरचना बनेको छैन । तर, लुम्बिनी प्रदेश सरकारले भने स्थायी राजधानी दाङको देउखुरी क्षेत्रमा मन्त्रालय र कार्यालय सार्न कर्मचारीलाई पटक–पटक ताकेता गर्दै आएको छ ।

    कर्मचारीलाई अनावश्यक तनाव

    ‘एक महिनादेखि निरन्तर कार्यालय सार्न दबाब आइरहेको छ’, नेपाल कर्मचारी यूनियनका केन्द्रीय सचिव गणेश भण्डारीले भने, ‘एकोहोरो दबाबका कारण अहिले कर्मचारी तनावमा छन् ।’

    पूर्वाधारविना नै मन्त्रालय सार्न खोजिएको भन्दै कर्मचारी विरोधमा उत्रिएका छन् । ‘सरकारका सबै संरचना पुगेपछि करिब ३ हजार ५ सय कर्मचारी र उनीहरुका परिवार बस्नुपर्छ’ मन्त्रालयका एक कर्मचारीले भने, ‘सजिलै घरभाडा पाउने अवस्थासमेत छैन । यस्तो स्थितिमा राजधानी सार्नु हुँदैन ।’

    देउखुरीमा नयाँ संरचना हुने र बजार टाढा भएकाले शिक्षा, स्वास्थ्यसहितका अन्य सुविधा केही नहुने भन्दै कर्मचारी तनावमा छन् । कर्मचारीको दवाव थेग्न नसकेर कर्मचारीहरुका संगठनले प्रदेशका प्रमुख सचिवमार्फत सरकारको ध्यानाकर्षणसमेत गराएका छन् ।

    कर्मचारीलाई प्रलोभन दिन सरकारले बजेटमा कर्मचारी आवास र विद्यालय निर्माण गर्ने योजना ल्याएको छ । तर ती पूर्वाधार पनि कहिले बन्छन् टुंगो नभएको उनीहरुको भनाइ छ ।

    कर्मचारीहरुले मन्त्रालय, प्रशासनिक भवनलगायतका संरचनासँगै अन्य आधारभूत आवश्यकताका पूर्वाधारहरुको व्यवस्था गर्न माग गरेका छन् । मन्त्रालयका लागि पर्याप्त भवनहरु नै नभएको र त्यहाँ काम गर्ने कर्मचारीहरुलाई समेत बस्ने, खाने ठेगान नभएको ठाउँमा मन्त्रालय सारेपछि उनीहरुले असन्तुष्टि व्यक्त गरेका हुन् ।

    प्रदेश सरकारमा कार्यरत विभिन्न ४ वटा संगठनका नेताहरुले प्रदेशका प्रमुख सचिव भरतमणि सुवेदी समक्ष आफ्ना समस्याबारे जानकारी गराएका छन् । सामूहिक रुपमा गएका उनीहरुले भौतिक पूर्वाधार तयार नहुँदै मन्त्रालय सार्दा कर्मचारीलाई पर्ने समस्याका बारेमा सम्बोधन गर्न आग्रह गरे ।

    निजामती कर्मचारीहरुको आधिकारिक ट्रेड युनियन, नेपाल निजामती कर्मचारी यूनियन, नेपाल निजामती कर्मचारी यूनियन संघ र नेपाल निजामती कर्मचारी संगठनका नेताहरुले संयुक्त रुपमा कर्मचारीलाई पर्ने समस्याका बारेमा प्रमुख सचिव सुवेदीलाई जानकारी गराएका हुन् । समस्याहरुको सम्बोधन गरेर मात्र मन्त्रालय सार्न आग्रह गरेरिएको निजामती कर्मचारीहरुको आधिकारिक ट्रेड यूनियनका लुम्बिनी प्रदेश ईञ्चार्ज मेघदेव पन्तले बताए ।

    लुम्बिनी प्रदेश सरकारमा ४ हजार ४ सय ३६ कर्मचारीको दरबन्दी छ । अहिले १ हजार १ सय ४२ कर्मचारी पदरिक्त छन् । सचिवसंगको डेलिकेशनमा निजामती कर्मचारीहरुको आधिकारिक ट्रेड यूनियनका प्रदेश इञ्चार्ज मेघदेव पन्त, रुपन्देही अध्यक्ष रामप्रसाद पन्थी, नेपाल निजामती कर्मचारी यूनियनका केन्द्रीय सचिव गणेश भण्डारी, नेपाल निजामती कर्मचारी यूनियन संघका केन्द्रीय उपाध्यक्ष मदन गौतम, नेपाल निजामती कर्मचारी संगठनका केन्द्रीय सदस्य तथा रुपन्देही ईञ्चार्ज काशिराम आचार्य, पाल्पा ईञ्चार्ज नारायणप्रसाद भण्डारी र केन्द्रीय सदस्य कृष्णबहादुर केसीलगायतको टोली पुगेको थियो ।

    कर्मचारीको नियतमा खोट देखियाे: मुख्यमन्त्री कार्यालय

    कर्मचारीलाई राजधानीमा सार्न कुनै दवाव नदिएको मुख्यमन्त्री कार्यालयको दावी छ । स्थायी राजधानीमा पूर्वाधारको समेत काम गर्नुपर्ने भएकाले शुरुमा ग्रामीण तथा शहरी विकास मन्त्रालयले काम शुरु गरेको छ ।

    ‘प्रदेशसभा भवन तयारी भएपछि हिउँदे अधिवेशन गर्ने योजनाअनुसार आन्तरिक तथा कानुन मन्त्रालयका धेरै काम उता हुने भएकाले तत्काल व्यवस्थापन गर्न खोजिएको हो’ मुख्यमन्त्री कार्यालयका अधिकारी भन्छन्, ‘अस्थायी संरचनामा तत्काल सबै मन्त्रालय लैजाने सोच छैन ।’

    भाडामा रहेका विभिन्न निर्देशनालयहरुलाई यो आर्थिक वर्षमा देउखुरीमै व्यवस्थापन हुनेगरी मिलाउन खोजिएको मुख्यमन्त्री कार्यालयको भनाइ छ । ‘कर्मचारीले घरपायक खोजेका कारण समस्या भएको छ’, मुख्यमन्त्रीको सचिवालय भन्छ, ‘कर्मचारीको नियतमै खोट छ ।’

    देउखुरीमा कसरी भइरहेको छ पूर्वाधार विकासको काम ?

    प्रदेश पूर्वाधार विकास प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत ध्रुव मजगैयाँले राजधानी क्षेत्रको गुरुयोजना कन्सल्टेन्टमार्फत भइरहेको जानकारी दिए । अबको केही दिन मन्त्रालयभित्रै कार्यालय व्यवस्थापनको काम हुनेछ । त्यसपश्चात् प्रशासनिक काम शुरु हुनेछ ।

    राजधानी व्यवस्थापन कार्यालयले मौरीघाटस्थित राप्ती प्राविधिक शिक्षालय सञ्चालन भएको क्षेत्रमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसहित अन्य मन्त्रालय स्थापना गर्न सकिने गरी सिफारिस गरेको छ ।

    शिक्षालयलाई गढवास्थित सरस्वती माध्यमिक विद्यालयमा स्थानान्तरण गर्न बाँकी छ । शिक्षालय स्थानान्तरण भयो भने अन्य मन्त्रालयको व्यवस्थापन सहजरुपमा हुनेछ । लुम्बिनी प्रदेशसभाको बैठक सञ्चालनका लागि प्रदेशसभा भवन निर्माण कार्य जारी छ ।

    राप्ती प्राविधिक शिक्षालयभित्र प्रदेशका सबैजसो मन्त्रालय, प्रदेशसभा र केही निर्देशनालय राखिने छ । जसअन्तर्गत शिक्षालयलाई गढवा गाउँपालिकास्थित सरस्वती माध्यमिक विद्यालयमा सारिनेछ । अहिले शिक्षालय र विद्यालयको लागि पूर्वाधार निर्माणको काम भइरहेको हो ।

    १० महिनामा एक मन्त्रालय सारियो

    स्थायी राजधानी घोषणा भएको स्थानमा १० महिनापछि प्रदेश सरकारको एक मन्त्रालय सारिएको छ । राप्ती प्राविधिक शिक्षालयले प्रयोग गर्दै आएको संरचना क्षेत्रभित्र ग्रामीण तथा सहरी विकास मन्त्रालय स्थापना गरिएको हो ।

    तर सबै काम त्यहाँबाट शुरु हुन सकेको छैन । ग्रामीण तथा सहरी विकास मन्त्रालयले स्थायी राजधानी राप्ती उपत्यकाको लालमटियाबाट कामकाज शुरु गरेर स्थायी राजधानी कार्यान्वयनको शुरुवात गरेको छ ।

    साढे दुईमहिना अघि यो मन्त्रालयमा नियुक्त भएका मन्त्री हरिप्रसाद रिजालले मौरीघाटमा स्थापना गरिएको मन्त्रालयमा पदभार ग्रहण गरेका थिए । ग्रामीण तथा सहरी विकास मन्त्रालयअन्तर्गत रहेका महाशाखा, विभिन्न अन्य शाखाको कार्यालय मन्त्रालयमै स्थापना गरिनेछ ।

    राप्ती शिक्षालयको जग्गा र भौतिक संरचना प्रदेश सरकारलाई

    संघीय सरकार मन्त्रिपरिषद्को २०७७ चैत्र १ गते बसेको बैठकले लुम्बिनी प्रदेशको स्थायी राजधानी तोकिएको देउखुरीको मौरिघाटस्थित राप्ती प्राविधिक शिक्षालयको जग्गा तथा भौतिक संरचना प्रदेश सरकारलाई भोगचलनका लागि दिने निर्णय गरेको थियो ।

    प्रदेश सरकारले प्राप्त गरेको प्राविधिक शिक्षामा रहेको क्षेत्रमा ३६ वटा भवन रहेका छन् । ती भवनहरुलाई मन्त्रालय र त्यससंग सम्बन्धित कार्यालयहरुका लागि उपयोग गरिने गरी प्रदेशसभाका लागि सभाहल निर्माण भइरहेको छ ।

    के गर्दैछ व्यवस्थापन कार्यालय ?

    प्रदेश स्थापना दिवस फागुन ३ गते दाङको राप्ती गाउँपालिकास्थित राप्ती प्राविधिक शिक्षालयमा लुम्बिनी प्रदेशको स्थायी राजधानी व्यवस्थापन कार्यालय स्थापना गरी आफ्नो काम शुरुवात गरेको हो । यसअघि प्रदेश प्राधिकरणको कार्यालय देउखुरीमै स्थापना गरिएको थियो ।

    देउखुरीमा निर्माण गर्न लागिएको प्रदेश राजधानीको लागि आवश्यक पर्ने नीतिगत निर्णयमा समन्वयकारी भूमिका निभाउने गरी स्थायी राजधानी व्यवस्थापन स्थापना गरिएको हो भने राजधानीको डीपीआर बनाउन प्राधिकरण कार्यालय स्थापना गरिएको थियो ।

    प्रदेश सरकारले राजधानीको गुरुयोजना निर्माण र यससँग जोडिएका अन्य कार्यलाई व्यवस्थापन र कार्यान्वयनको तहमा पुर्याउन स्थायी राजधानी व्यवस्थापन कार्यालयले काम गरिरहेको छ ।

  • दाङमा युवायुवती एकैठाउँमा झुण्डिएको अवस्थामा फेला

    दाङमा युवायुवती एकैठाउँमा झुण्डिएको अवस्थामा फेला

    दाङ । यहाँ एक युवायुवती झुण्डिएको अवस्थामा फेला परेका छन् ।

    घोराही उपमहानगरपालिका-७ का ३० वर्षीय सौडी रेखबहादुर घर्ती मगर र अन्दाजी २५ वर्षीया युवती एउटै रुखमा पासो लगाएर एकैसाथ झुण्डिएको अवस्थामा आज बिहान भेटिएको दाङ प्रहरीका प्रवक्ता डीएसपी मुकुन्द रिजालले बताए ।

    रिजालका अनुसार युवतीको पहिचान खुलेको छैन । घटनाको सम्बन्धमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

  • माधव पक्षीय सांसद हिराचन्द्र केसीद्वारा राजीनामा दिन अश्वीकार

    माधव पक्षीय सांसद हिराचन्द्र केसीद्वारा राजीनामा दिन अश्वीकार

    दाङ । नेकपा एमाले माधवकुमार नेपाल पक्षका सांसद हिराचन्द्र केसीले आफूले पदबाट राजीनामा नदिने बताएका छन् । दाङ क्षेत्र नम्बर ३ बाट प्रत्यक्ष निर्वाचित सांसद केसीले जनताले ५ वर्षका लागि सांसद बनाएकाले बीचमै राजीनामा दिएर भाग्नु जनतामाथिको गद्दारी हुने बताए ।

    ‘हामीलाई ५ वर्षका लागि जनताले चुनेर पठाएका हुन्, कसैको स्वार्थसिद्धिका लागि म जनमतको अपमान म गर्दिन,’ केसीले नेपालप्रेससँग भने ।

    पार्टी भित्र अध्यक्ष केपी ओलीले गरेका केही गलतको विरोध गरे पनि आफू पार्टी हित विपरित नलाग्ने उनले बताए ।

    घनश्याम भुसालले आज फोनमा राजीनामा दिन भनेको र आफूले राजीनामा नगर्ने जवाफ दिएको केसी बताए । उनले एमाले भित्रै रहेर अन्तरसंघर्ष गर्नुपर्ने तर, राजीनामा वा फ्लोर क्रस गरेर राजनीतिक भविष्य बर्बाद पार्न नहुने बताए ।

    आफ्नै पार्टीको सरकार ढाल्न सांसदबाट राजीनामा दिनु राजनीतिक अपराध भएको केसीको दावी छ । नेपाल पक्षबाट राजीनामा दिने भनिएका सांसदको सुूचीमा केसीको नाम पनि छ ।

  • बेलझुन्डी कोरोना अस्पतालले भन्यो– अक्सिजन छैन, नयाँ भर्ना लिन सक्दैनौं

    बेलझुन्डी कोरोना अस्पतालले भन्यो– अक्सिजन छैन, नयाँ भर्ना लिन सक्दैनौं

    दाङ । कोरोना अस्पताल बेलझुन्डीले अब संक्रमितलाई भर्ना गर्न नसकिने जनाएको छ । अक्सिजन अभावका कारण भर्ना लिन नसकिएको भन्दै अस्पतालका व्यवस्थापक द्रोण वलीले सामाजिक सञ्जालमार्फत अपील गरेका हुन् ।

    ‘अक्सिजनको सहज र पर्याप्त नभएको हुँदा कसैले पनि बिरामी भर्नाका लागि सिफारिस र दवाव नदिनुहोला,’ उनले फेसवुकमा लेखेका छन्, ‘थप बिरामी भर्ना गर्नु भनेको उपचाररत बिरामीको ज्यानसमेत जोखिममा पार्नु हो ।’

    उनका अनुसार अस्पतालमा हाल बेड संख्या १०० पुर्‍याइएको छ भने ५७ जना संक्रमितको उपचार भइरहेको छ । तर,अक्सिजनको अभाव भएकाले ४५ जनाको ज्यान जोखिममा छ ।

    आवश्यकता अनुसार अक्सिजनको व्यवस्था नभएकाले थप संक्रमितलाई भर्ना गर्न नसकिने व्यवस्थापक वलीले बताएका छन् । उनले अक्सिजनको सजह व्यवस्थापनका लागि सम्पुर्ण सरोकारवाला समक्ष अपील पनि गरेका छन् ।

  • कोरोना संक्रमित पत्रकारका लागि अक्सिजनसहितको आइसोलेसन

    कोरोना संक्रमित पत्रकारका लागि अक्सिजनसहितको आइसोलेसन

    दाङ । नेपाल पत्रकार महासंघ दाङ शाखाले कोरोना संक्रमित पत्रकारका लागि ६ बेडको आइसोलेसन स्थापना गरेको छ ।

    संक्रमितको संख्या बढ्दै जादाँ अस्पतालमा बेडको अभाव भएपछि महासंघले अक्सिजन सहितका ६ वटा बेड आफ्नै भवनमा राखेको छ ।

    कोरोना संक्रमित पत्रकारलाई उपचार गर्न बेड तयार गरिएको अध्यक्ष दुर्गालाल केसीले जानकारी दिएका छन् । दाङमा हाल दस जना पत्रकारलाई कोरोना संक्रमन भएको छ । उनीहरू सबै होम आइसाेलेसनमा छन् ।

    पत्रकार महासंघले बेड सहित स्वास्थ्यकर्मीको पनि व्यवस्था गरेको छ । अध्यक्ष केसीका अनुसार घोराही उपमहानगरपालिकाले स्वास्थ्यकर्मी उपलब्ध गराउने सहमति भएको छ ।

  • दाङमा पार्किङ गरिएको भारतीय कारमा तीन बालकको शव फेला

    दाङमा पार्किङ गरिएको भारतीय कारमा तीन बालकको शव फेला

    दाङ । तुलसीपुरमा पार्किङ गरी राखिएको कारभित्र तीन बालकको शव भेटिएको छ ।

    तुलसीपुर उपमहानगरपालिका-६ स्वर्गद्वारी टोलमा आरजे ०१ सीसी ०८८५ नम्बरको भारतीय नम्बर प्लेटको कारमा तीन बालकको शव फेला परेको हो ।

    उक्त कार चार महिनादेखि सोही स्थानमा रहेको खुलेको प्रहरीले जनाएको छ । मृत भेटिएका बालकहरूको पहिचान खुलेको छैन । यद्यपि तुलसीपुर-६ बरूवागाउँका तीन बालक वैशाख १६ गते साँझ हराएको निवेदन भने इप्रका तुलसीपुरमा परेको थियोे । ‘घटनाको प्रकृति गम्भीर देखिन्छ । गाडी र मृतक बालकबारे निहीन ढंगले अनुसन्धान थालेका छौं’, इप्रका तुलसीपुरका डीएसपी शिव सिंहले जानकारी दिए ।

    प्रहरीले घटनास्थललाई नियन्त्रणमा लिएर अनुसन्धान थालेको छ । घटनाको अनुसन्धानका लागि टोली लिएर दाङ प्रहरी प्रमुख एसपी गणेश चन्द घटनास्थल लागेका छन् ।

  • राप्ती प्रादेशिक अस्पतालको इमर्जेन्सी वार्डमा कोरोना संक्रमित, स्वास्थ्यकर्मी त्रसित

    राप्ती प्रादेशिक अस्पतालको इमर्जेन्सी वार्डमा कोरोना संक्रमित, स्वास्थ्यकर्मी त्रसित

    दाङ । कोरोना अस्पताल भरिभराउ भएपछि संक्रमितको उपचार राप्ती प्रादेशिक अस्पताल तुलसीपुरको इमर्जेन्सी वार्डमा भइरहेको छ । कोरोना अस्पतालमा ठाउँ नभएपछि आफन्तले राप्ती प्रादेशिक अस्पतालमा ल्याएका थिए ।

    बिरामीलाई इमर्जेन्सी वार्डमा राखिसकेपछि कोरोना पोजेटिभ भएको थाहा भएको अस्पतालले जनाएको छ ।

    इमर्जेन्सी वार्डमा दम लगाएत अन्य रोगका बिरामी समेत छन् । कोरोना संक्रमित सँगै भएकाले अन्य बिरामीलाई कोरोना सर्ने खतरा बढेको छ ।

    कोरोना संक्रमित इमर्जेन्सी वार्डमा भएपछि स्वास्थ्यकर्मी पनि त्रसित बनेका छन् । दाङका सबै कोरोना अस्पताल भरिभराउ भएकाले अन्यत्र लैजाने तयारी गरिएको संक्रमितका छोराले बताएका छन् ।

    संक्रमित तुलसीपुर ५ का ५४ वर्षीय पुरूष हुन् । उनलाई आज बिहान ८ बजे राप्ती प्रादेशिक अस्पताल ल्याइएको हो । राप्तीमा काेराेनाकाे उपचार नहुने भएपछि आफन्तले काठमाडाैं लाने तयारी गरे पनि एम्बुलेन्स पाइएकाे छैन ।

  • दाङको कोरोना अस्पताल संक्रमितले भरिए, अक्सिजन अभाव

    दाङको कोरोना अस्पताल संक्रमितले भरिए, अक्सिजन अभाव

    दाङ । कोरोना संक्रमणको दरसँगै अस्पताल भर्ना हुने बिरामीको संख्या बढेपछि दाङको बेलझुण्डीमा स्थापित कोरोना विशेष अस्पतालमा अक्सिजन अभाव हुन लागेको छ ।

    अस्पतालका व्यवस्थापक द्रोण वलीका अनुसार अहिले ४२ जना संक्रमित उपचाररत छन् । उनीहरुका लागि दैनिक १ सय २० सिलिण्डर मेडिकल अक्सिजन आवश्यक पर्छ । ‘हामीसँग अक्सिजन भण्डारण गर्ने व्यवस्था छैन । आवश्यक मात्रामा अक्सिजन आयात गर्न पनि सकेका छैनौं । अस्पताल भरिइसकेको छ, भर्ना हुनुपर्ने संक्रमित बढिरहेमा हामी उपचार गर्न असमर्थ हुन्छौं,’ उनले भने ।

    व्यवस्थापक वलीले बजेट अभावका कारण अक्सिजन खरिद गर्न नसक्ने अवस्था रहेको पनि प्रष्ट पारे । स्थानीय तहले बजेट उपलब्ध गराउने आश्वासन दिए पनि हालसम्म कार्यान्वयन नभएको उनको भनाइ छ ।

    अक्सिजन मात्रै होइन, अस्पतालमा बेड राख्ने ठाउँको समेत अभाव छ । भर्ना गरेर उपचार गर्नुपर्ने संक्रमति बढ्दै गए पनि ठाउँ अभावका कारण भर्ना गर्न नसकिएको व्यवस्थापक वलीले नेपाल प्रेसलाई बताए । ‘भर्ना गरेरै उपचार गर्नुपर्ने संक्रमितलाई हामीले भर्ना गर्न सकेका छैनौं,’ व्यवस्थापक वलीले भने, ‘बेड भए पनि राख्ने ठाउँ छैन् । सिकिस्त संक्रमितलाई पनि होम आइसोलेसनमा राख्नुपर्ने बाध्यता छ ।’ वलीका अनुसार १५ जना भन्दा बढी सकिस्त भएका संक्रमित अस्तालमा बेड राख्ने ठाउँ नभएका कारण होम आइसोलेसनमै छन् ।

    हाल कोरोना अस्पताल संस्कृत विश्वबिद्यालयको भवनमा छ । उक्त भवनको तीन तला मध्ये माथिका दुई तलामा विश्वविद्यालयले पठनपाठन गर्दै आएको छ भने भुँइतलामा अस्पताल राखिएको छ । विश्वबिद्यालयले पूरै भवन अस्पताललाई प्रयोग गर्न दिए मात्रै बेडको व्यवस्था गर्न सकिने अस्पताल प्रशासनको भनाइ छ ।

  • दाङका अबैध १० क्रसर तत्काल बन्द गराउन लुम्बिनी प्रहरी प्रमुखको पत्राचार

    दाङका अबैध १० क्रसर तत्काल बन्द गराउन लुम्बिनी प्रहरी प्रमुखको पत्राचार

    दाङ । मापदण्ड विपरित सञ्चालनमा रहेका दाङका दशवटा क्रसर उद्योग तत्काल बन्द गर्न लुम्बिनी प्रदेश प्रहरी प्रमुख डीआईजी रविन्द्र धानुकले जिल्ला प्रहरी प्रमुख एसपी गणेश चन्दलाई निर्देशनसहितको पत्राचार गरेका छन् ।

    सुरुमा बन्द गरी स्थानीय प्रशासनकै मिलेमतोमा पुनः उद्योग सन्चालन गरिएको समाचार सार्वजनिक भएपछि प्रदेश प्रहरी कार्यालयको ध्यानाकर्षण भएको थियो । दाङका स्थानीयवासीले प्रमुख जिल्ला अधिकारी र लिज्जा प्रहरी प्रमुखकै मिलोमतोमा बन्द क्रसर खोल्ने पहल गरिएको आरोप लगाएका थिए ।

    प्रदेश प्रहरी कार्यालयबाट पठाइएको पत्रमा अबैध क्रसर खुलाउने कार्यमा प्रहरीको संग्लग्नता देखिए जिल्ला प्रहरी प्रमुखलाई विभागीय कारबाहीको चेतावनीसमेत दिइएको छ । एसपी चन्द भने दाङबाट सरुवाको तयारीमा छन् । पत्रमा कानून कार्यान्वयन गर्ने क्रममा आफ्नाे कार्यक्षेत्रभित्र नपर्ने भन्दै पन्छिन नमिल्नेतर्फ पनि प्रदेश प्रहरी कार्यालयले जिल्ला प्रहरी प्रमुखलाई सचेत गराएकाे छ ।

    डीआईजी धानुकको निर्देशनमा अबैध क्रसरको अनुगमनका लागि एसपी चन्दले प्रहरी टोली पठाए पनि उद्योगभित्र नगई बाहिरैबाट सोधपुछ गरेर फर्केको थियो । कपिलवस्तुबाट सरुवा भई दाङ आएको केहि दिनमै प्रमुख जिल्ला अधिकारी दीर्घनारायण पौडेलले बन्द रहेका क्रसर सन्चालनको अनुमति दिएका हुन् ।

    दाङका तत्कालीन प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्य नेतृत्वको एसपी गणेश चन्दसहितको अनुगमन टोलीले आफैं बन्द गराएको अबैध क्रसर उद्योग नयाँ प्रमुख जिल्ला अधिकारी आए लगत्तै बन्द गरिएका क्रसर सन्चालनका लागि झिकीएका मेसिनहरु जडान गरिएको थियो ।

    बैधतामा प्रश्न उठेपछि बन्द गरिएका तर पछि सन्चालनको अनुमति पाएका उद्योहरु तुलसीपुर क्षेत्रमा सञ्चालित गणेश बालुवा वासिङ उद्योग, के एण्ड एस बालुवा प्रशोधन वासिङ उद्योग, स्वर्गद्वारी स्क्रिन प्लान्ट प्रालि, जनविश्वास बालुवा वासिङ उद्योग, मंगलम् बालुवा प्रशोधन उद्योग छन् ।

    त्यस्तै लमही क्षेत्रको पाण्डवेश्वर बालुवा वासिङ उद्योग, बगारवावा बालुवा प्रशोधन उद्योग, सतवरिया क्षेत्रमा रहेको जय बागेश्वरी बालुवा प्रशोधन उद्योग, गढवामा क्षेत्रमा रहेको दाङ एग्रिगेट बालुवा वासिङ उद्योग र पूर्णागिरी एग्रिगेट बालुवा वासिङ उद्योग लगायत छन् । उनीहरुले बालुवा धुने कामका लागि अनुमति लिए पनि प्रशासनको संयन्त्र कमजोर पारेर क्रसिङ गरिरहेका छन् ।

    जिल्लामा कुल ३२ वटा बालुवा प्रशोधन उद्योग दर्ता छन्। तर, त्यसमध्ये ६ वटा बन्द अवस्थामा छन्। जिल्लामा हाल सञ्चालित कुल २६ वटा मध्ये १० वटाले मापदण्ड विपरित क्रसिङको काम गरेको हुँदा बन्द भएका थिए । गृह मन्त्रालयले कात्तिक २५ गते देशभरका जिल्ला प्रशासनलाई पत्राचार गर्दै क्रसर र बालुवा प्रशोधन उद्योगको अनगुमन गर्न निर्देशन दिएको थियो ।

    सोही अनुरूप दाङमा तत्कालीन प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्य, एसपी चन्द सहितको टोलीले हप्ता दिन लगाएर जिल्लाका क्रसर उद्योगको अनुगमन पछि मापदण्ड विपरित सञ्चालनमा रहेका १० उद्योग बन्द गराएको थियो।

  • दाङका प्रजिअ र एसपीकै मिलेमतोमा बन्द गरिएका १० क्रसर पुन: खोलिए

    दाङका प्रजिअ र एसपीकै मिलेमतोमा बन्द गरिएका १० क्रसर पुन: खोलिए

    दाङ । मापदण्ड विपरित सञ्चालनमा रहेका दाङका दश वटा क्रसर उद्योग बन्द भए पनि स्थानीय प्रशासनकै मिलेमतो र सेटिङमा पुन: खुलाइएको पत्ता लागेकाे छ ।

    कपिलवस्तुबाट सरुवा भइ प्रमुख जिल्ला अधिकारीका रुपमा दीर्घ नारायण पौडेल दाङ आएको केहि दिन नवित्दै प्रशासनले नै बन्द गरेका क्रसर उद्योगले सन्चालनका लागि अनुमति पाएका छन् ।

    सार्वजनिक विदा पर्ने होलीको दिन पारेर प्रशासनले जफत गरेका मेसिनहरु जोडिएको हाे ।

    दाङका तत्कालीन प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्य नेतृत्वको एसपी गणेश चन्दसहितको अनुगमन टोलीले आफैं बन्द गराएको अबैध क्रसर उद्योग नयाँ प्रमुख जिल्ला अधिकारी आए लगत्तै बन्द गरिएका क्रसर सन्चालनका लागि झिकीएका मेसिनहरु जडान गरिएको छ ।

    क्रसर बन्द गर्न थालेपछि करिव ५ महिनामै आचार्यको गृहमन्त्रालयमा सरुवा भएको थियो । पौडेलको सेवा अबधि ५ महिना मात्रै बाँकी छ । प्रजिअ पौडेल, दाङ प्रहरी प्रमुख एसपी गणेश चन्द, राष्ट्रिय अनुसन्धान प्रहरीका एसपीको मिलेमतो र सेटिङमा बन्द क्रसरका मेसिन जडान गरेर पुन सन्चालनमा ल्याइएको खुलासा भएको छ ।

    लुम्बिनी प्रदेशका डीआईजी रविन्द्र धानुकले जिल्ला प्रशासनले बन्द गरेका क्रसर कुनै हालतमा खोल्न नहुने भन्दै तत्काल बन्द गर्न जिल्ला प्रहरी प्रमुखलाई निर्देशन दिने बताए । उनले कानून विपरितका क्रसर बन्द गर्न मातहतका सबै प्रहरीलाई लिखितरुपमै पत्राचार गर्ने बताए ।

    बन्द भएका अबैध क्रसर खुलाउन एसपी चन्दको मिलेमतो देखिए तत्कालै तान्ने चेतावनी दिएका छन् । तत्कालीन दाङका प्रजिअ आचार्यले कानून बिपरितका क्रसर बन्द गराएको भन्दै आफ्नो सरुवा भए लगत्तै बन्द क्रसर खोल्नु कानून बिपरितको काम भएको बताए ।

    तुलसीपुर क्षेत्रमा सञ्चालित गणेश बालुवा वासिङ उद्योग, के एण्ड एस बालुवा प्रशोधन वासिङ उद्योग, स्वर्गद्वारी स्क्रिन प्लान्ट प्रालि, जनविश्वास बालुवा वासिङ उद्योग, मंगलम् बालुवा प्रशोधन उद्योगलाई स्थानीय प्रशासनले बन्द गराएको अहिले खुलेको हो ।

    त्यस्तै लमही क्षेत्रको पाण्डवेश्वर बालुवा वासिङ उद्योग, बगारवावा बालुवा प्रशोधन उद्योग, सतवरिया क्षेत्रमा रहेको जय बागेश्वरी बालुवा प्रशोधन उद्योग, गढवामा क्षेत्रमा रहेको दाङ एग्रिगेट बालुवा वासिङ उद्योग र पूर्णागिरी एग्रिगेट बालुवा वासिङ उद्योग बन्द गरिएकोमा पुरै खुलेको छ ।

    उनीहरूले अनुमति लिए अनुसारको बालुवा वासिङको काम भने गरिरहे पनि अहिले प्रशासन खुकुलो हुनासाथ आर्थिक चलखेल गरेर क्रसिङको काम थालेका छन् ।

    ‘अनुमति एउटा तर, काम अर्कै गरेको हुँदा क्रसिङको काम बन्द गर्नु परेको हो,’ तत्कालीन प्रजिअ आचार्यले भनेका थिए।

    बालुवा वासिङको अनुमति लिएर क्रसिङको काम गर्दै आएका ती उद्योग सञ्चालकले आफैं मेसनरी सामान व्यवस्थापन गरेर क्रसिङ बन्द गरेका थिए । दाङमा १२ वटा क्रसर उद्योग दर्ता भए पनि जम्मा १० वटा सञ्चालनमा रहेको स्थानीय प्रशासनले अनुगमन पछि जानकारी दिएको थियो ।

    जिल्लामा कुल ३२ वटा बालुवा प्रशोधन उद्योग दर्ता छन्। तर, त्यसमध्ये ६ वटा बन्द अवस्थामा छन्। जिल्लामा हाल सञ्चालित कुल २६ वटा मध्ये १० वटाले मापदण्ड विपरित क्रसिङको काम गरेको हुँदा बन्द भएका थिए ।

    गृह मन्त्रालयले कात्तिक २५ गते देशभरका जिल्ला प्रशासनलाई पत्राचार गर्दै क्रसर र बालुवा प्रशोधन उद्योगको अनगुमन गर्न निर्देशन दिएको थियो ।

    सोही अनुरूप दाङमा तत्कालीन प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्यसहितको टोलीले हप्ता दिन लगाएर जिल्लाका क्रसर उद्योगको अनुगमन पछि मापदण्ड विपरित सञ्चालनमा रहेका १० उद्योग बन्द गर्न १५ दिनको समयसिमा तोकेर बन्द गराएको थियो।

  • विद्यार्थी लिएर कलेज आउँदै गरेको बस दुर्घटना, एकको मृत्यु

    विद्यार्थी लिएर कलेज आउँदै गरेको बस दुर्घटना, एकको मृत्यु

    दाङ । आज विहान कलेज बस दुर्घटना हुँदा एकजना बिद्यार्थीको मृत्युु भएको छ । पब्लिक ज्ञानज्योती कलेजको रा १ ख ४३३ नम्बरको बस तुलसीपुर–१५ सरैया डाँडामा दुर्घटना हुँदा १२ कक्षमा अध्यनरत सम्झना केसीको मृत्यु भएको हो ।

    जिप्रका दाङका अनुसार दुर्घटनामा २२ जना घाइते भएका छन् । घाइतेमध्ये किरण चौधरीको अवस्था गम्भीर छ । उनलाई थप उपचारका लागि नेपालगन्ज मेडिकल कोहलपुर रेफर गरिएको छ ।

    अरू २१ जना घाइतेको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको छ । आज विहान ५ बजे विद्यार्थी लिएर कलेजतर्फ आउँदै गरेको बस ब्रेक फेल भएर दुर्घटनामा परेको प्रहरीले जानकारी दिएको छ । दुर्घटनाको सबै विवरण आइसकेको छैन ।

  • दाङमा महराभन्दा शंकर बलिया, कसको पक्षमा कति जनप्रतिनिधि ?

    दाङमा महराभन्दा शंकर बलिया, कसको पक्षमा कति जनप्रतिनिधि ?

    दाङ । नेकपा विभाजनको असर दाङमा पनि परेको छ । दाङमा ओली पक्षीय नेकपाका नेता एवम् लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेल र प्रचण्ड–माधव नेपाल पक्षका कृष्णबहादुरबीच टसल छ । केन्द्रमा ओली र माधव–प्रचण्ड समूह भनिए पनि दाङमा भने शंकर–महरा समूह छ ।

    नेकपाको राम्रो प्रभाव रहेको दाङमा पनि नेता तथा जनप्रतिनिधि कित्ताकाट भएका छन् ।

    राष्ट्रियसभातर्फ

    दाङ नेकपाका तर्फबाट दुई जना राष्ट्रियसभा सदस्य छन् । ती हुन् कोमल वली र जगप्रसाद शर्मा । वलीको साथ शंकरलाई छ भने शर्माले महरालाई साथ दिएका छन् ।

    प्रतिनिधिसभातर्फ

    ३ प्रत्यक्ष निर्वाचित र ३ समानुपातिक गरी ६ जना प्रतिनिधिसभा सदस्यमध्ये ५ जना महराको पक्षमा छन् भने २ जना शंकरको पक्षमा छन् ।

    क्षेत्र नम्बर १ बाट निर्वाचित मेटमणि चौधरी, ३ बाट निर्वाचित हिराचन्द्र केसी, समानुपातिक सांसदहरु रेखा शर्मा र गंगा चौधरी महरातिर छन् । क्षेत्र नम्वर २ बाट महरा आफैं निर्वाचित भएका थिए । प्रतिनिधिसभातर्फ समानुपातिक सांसद शान्ता चौधरी र विष्णु पौडेल शंकरको खेमामा छन् ।

    प्रदेशसभातर्फ

    दाङका कुल नेकपाका ८ प्रदेश सांसदमध्ये शंकरको पक्षमा ६ जना छन् । क्षेत्र नम्बर १‘क’बाट निर्वाचित सांसद इन्द्रजित चौधरी र समानुपातिक सांसद दामा शर्मा गरी २ जना महराको पक्षमा छन् । क्षेत्र नम्बर १‘ख’बाट निर्वाचित रेवतीरमण शर्मा, क्षेत्र नम्बर २‘ख’बाट निर्वाचित अमर डाँगी, क्षेत्र नम्बर ३‘ख’बाट निर्वाचित विमला वली र समानुपातिक सांसदद्वय धमकली चौधरी र सरस्वती गौतम शंकरको पक्षमा उभिएका छन् । क्षेत्र नम्बर २‘क’बाट शंकर आफैं निर्वाचित भएका थिए ।

    हाल महरातिर लागेका इन्द्रजीत चौधरी पनि शंकरको खेमामा आउने सम्भावना प्रबल छ ।

    स्थानीय तहतर्फ

    नेकपाको नेतृवमा भएका ७ स्थानीय तहमध्ये ५ तहका प्रमुख शंकरको पक्षमा उभिएका छन् भने एक स्थानीय तह प्रमुख महराको पक्षमा छन् । एकजना भने हालसम्म तटस्थ छन् ।

    तुलसीपुर उपमहानगरपालिका प्रमुख घनश्याम पाण्डे, घोराही उपमहानगर प्रमुख नरुलाल चौधरी, लमही नगरपालिका प्रमुख कुलबहादुर केसी, दंगिशरण गाउँपालिका प्रमुख भागिराम चौधरी, बबई गाउँपालिका प्रमुख भुवनेश्वर पौडेल र गढवा गाउँपालिका प्रमुख सहजराम यादवले शंकरलाई समर्थन गरेका छन् भने बंगलाचुली गाउँपालिका प्रमुख भक्तबहादुर वलीले मात्रै महरालाई साथ दिएका छन् ।

    कसको पक्षमा कति जनप्रतिनिधि ?

    दाङमा जनप्रतिनिधिका हिसाबले शंकर बलिया देखिएका छन् । दाङमा दुई जना राष्ट्रियसभा सदस्य, ७ जना प्रतिनिधिसभा सदस्य, ८ जना प्रदेशसभा सदस्य र ७ वटा स्थानीय तह प्रमुखगरी नेकपाका जम्मा २४ जना जनप्रतिनिधि छन् । तीमध्ये शंकरको पक्षमा १५ जना छन् भने महराको पक्षमा ९ जना रहेका छन् ।