Tag: तालिवान

  • नेपाल-तालिवान कनेक्सन :  २२ वर्षअघिकाे त्यो जहाज अपहरण काण्ड

    नेपाल-तालिवान कनेक्सन : २२ वर्षअघिकाे त्यो जहाज अपहरण काण्ड

    इटहरी । हाल तालिवानले नियन्त्रण कायम गरेको दक्षिण एसियाली राष्ट्र अफगानिस्तानसँग नेपालको सम्बन्धको आयाम धेरै फराकिलो छैन । नेपाल-अफगानिस्तान कनेक्सन मुलतः ‘युद्ध’ को सेरोफेरोमा नै अघि बढेको पाइन्छ ।

    दुई सय वर्ष अगाडिको बेलायत-अफगान युद्धदेखि अफगानिस्तानमा अमेरिकी कब्जाको लडाइँमा नेपालका गोर्खा सैनिकहरू जोडिन्छन् । यस्तै सुगौली सन्धिपछि रणजीत सिंहको पन्जाबी सेनाको तर्फबाट लडेका बलभद्रको सम्बन्ध पनि अफगानिस्तानसँग छ । अमेरिकी कब्जा भएपछि यूरोप र अमेरिकी कम्पनी तथा दूतावासमा सुरक्षा क्षेत्रमा काम गर्ने नेपालीको पनि अफगानिस्तान कनेक्सन छ ।

    तर, यी सबैभन्दा फरक अर्को सन्दर्भ यहाँ उप्काउन गइरहेका छौं । सन् १९९९ को डिसेम्बरमा तालिवान मुछिएको एउटा घटनाले नेपाल र भारतको सम्वन्धमा नै चिसोपन आएको थियो । त्यो घटना हो- नेपालको अन्तर्राष्ट्रिय विमानस्थलबाट दिल्ली उडेको एयर बस ३०० जहाज अपहरण । सन् १९९९ डिसेम्बर २४ अर्थात २०५६ पुष ९ गते भएको जहाज अपहरणले विश्वव्यापी चर्चा पाएको थियो ।

    विमान अपहरणको कथा

    इन्डियन एयरलाइन्सको फ्लाइट नम्बर आईसी ८१४ को जहाज त्रिभुवन विमानस्थलबाट चालक दलका ११ सदस्यसहित १८९ जना यात्रु बोकेर उड्यो । उडान नेपाली समयअनुसार अपरान्ह ४ बजे भएको थियो । नेपाली आकाश हुँदै दिल्ली उडेको जहाज ३० मिनेटपछि भारतीय आकाशमा पुग्नासाथ अपहरणमा परेको त्यसबेला न्यूयोर्क टाइम्सले लेखेको छ ।

    अपहरणकारीले यात्रुदेखि चालक दलका सदस्यहरुलाई आतंकित गरेर जहाज आफ्नो पकडमा लिन थाले । दी प्रिन्ट डट आइएनमा उल्लेख भएअनुसार पाँच हतियारधारी आतंकवादी चढेर जहाज अपहरण गरेका थिए । प्रिन्टका अनुसार पाँचजनामा तीनजना भारतीय जेलबाट हालसालै रिहाइ भएकाहरू थिए ।

    एभिएसन सेफ्टी डट नेटका अनुसार जहाजको इन्धन घट्दै गएपछि अपहरणकारीले जहाज भारतको अम्रितसार विमानस्थलमा जबर्जस्ती अवतरण गर्न लगाए । अपहरणकारीलाई अटेर गर्ने एक यात्रुको हत्या गरियो । हत्या गरिएका यात्रु थिए रुपिन कटियाल ।

    भारतीय अधिकारीहरूले इन्धन नहाल्ने भनेपछि जहाज उनीहरूले पाकिस्तानको लाहोर विमानस्थलमा अवतरण गर्न खोजे । पाकिस्तानी अधिकारीहरूले त्यो चाल पाएर विमानस्थल बन्द गरिदिए । तर, पाइलटले कन्ट्रोल टावरलाई इन्धन नभरेमा जहाज दुर्घटना हुने भन्दै कल गरे । त्यसपछि आपतकालीन अवतरण भयो ।

    अवतरणपछि अपहरणकारीले खाना, पानी र इन्धनको माग गरे । सबै माग पूरा भयो । त्यसपछि जहाज अफगानिस्तानको राजधानी काबुलको विमानस्थलमा पुग्यो । रात्रिकालीन अवतरण सुविधा नभएकोले त्यहाँ अवतरण हुन पाएन । एभिएसन सेफ्टी नेटका अनुसार त्यसपछि ओमानको मस्कट हुँदै युएइको दुवईमा अवतरण प्रयास भएको जहाजलाई अवतरण गर्न दिइएन ।

    अन्ततः जहाज डिसेम्बर २५ मा दुबईको मिनार एयर बेस नामक अलि दुर्गम क्षेत्रमा अवतरण भयो । त्यहाँ खाना र इन्धन प्राप्त भएपछि २७ यात्रुलाई बाहिर निस्कन अनुमति दिइयो । त्यसको भोलिपल्ट डिसेम्बर २६ मा अफगानिस्तानको कन्दहर विमानस्थलमा जहाज अवतरण भयो । अनि त्यहीँबाट शुरू भयो अपहरणकारीको बार्गेनिङ ।

    कास्मिरको पृथकतावादी आन्दोलन गरिरहेको पाकिस्तानी नेता मोउलाना मसुद अझरसहित अरु ३५ गुरिल्लाको रिहाइ, २० करोड अमेरिकी डलरलगायतका माग अपहरणकारीले भारतसमक्ष राखेका थिए ।

    त्यसबेला तालिवानको नियन्त्रणमा थियो अफगानिस्तान । कन्दहर तालिवानको आधार क्षेत्र । तालिवानकै आग्रहमा डिसेम्बर २६ मा संयुक्त राष्ट्रसंघ र भारतीय प्रतिनिधि बोलाइयो । उनीहरूले अपहरणकारीसँग समन्वय प्रयास गरे । समन्वयकै चरणमा २७ डिसेम्बरमा अपहरणकारीहरूले आफ्ना माग पूरा नभए सबै यात्रुलाई मार्ने धम्की दिए । तत्कालीन भारतीय प्रधानमन्त्री अटलबिहारी बाजपेयीले केही माग पूरा गरे । बाजपेयीले आतंककारीको नाममा पक्राउ परेका तीनजनालाई रिहाइ गरे ।

    डिसेम्बर २९ सम्ममा चौतर्फी आग्रहपछि अपहरणकारीले फिरौती र कैदी छुटाउनुपर्ने माग फिर्ता लिए । डिसेम्बर ३१ मा सबै यात्रु र चालक दललाई सकुशल भारत लगियो । अपहरणबाट फिर्ता भएका यात्रु र चालक दलका सदस्य लिन भारतीय विदेशमन्त्री जसवन्त सिंह पुगेका थिए । तालिवानले अपहरणकारीलाई देश छोड्न १० घण्टाको समय दिए ।

    यो घटनामा भारतीयहरूले पाकिस्तान र तालिवानको मिलेमतो भएको दावी गर्दै आएका छन् । पाकिस्तान र तालिवानले भने सार्वजनिकरुपमा यसको खण्डन गरेका छन् । सन् २००० को जनवरी ५ मा न्यूयोर्क टाइम्समा प्रकाशित अन्तर्वार्तामा क्याप्टेन देभी सरनले कन्दहर पुगेपछि तालिवानबाट अपहरणकारीले थप बन्दुक र ग्रिनेडहरू पाएको बताएका थिए । उनको भनाइबाट घटनामा तालिवान कनेक्सन देखिन्छ । अपहरणकारीलाई कुनै सजाय नदिई देश छोड्ने अल्टिमेटम दिएबाट पनि पनि शंका उत्पन्न हुन्छ ।

    निर्दोष एक नेपाली १४ वर्ष जेलमा

    सन् २००० को जनवरीमा अपहरणमा संलग्न रहेको आरोपमा १० जनालाई हत्या, षडयन्त्र र अपहरणको मुद्दा चलाइयो । डेकन हेराल्डका अनुसार मुद्दा चलाइएकामा सातजना पाकिस्तानी, दुईजना भारतीय र एक नेपाली थिए ।

    झूटो मुद्दा खेप्ने नेपाली थिए युसुफ नेपाली भनिएका भूपालमान दमाई । दमाईलाई पन्जाब र हरियाणा अदालतले सन २०१४ को फेब्रअरीमा निर्दोष भन्दै सफाइ दिएको थियो । १४ वर्ष जेलमा बिताएर ५४ वर्षका दमाई गोरखपुरसम्म रेल हुँदै नेपाल आएका थिए ।

    नेपाल-भारत सम्बन्धमा दरार

    सन् १९९९ को इन्डियन एयरलाइन्सको जहाज अपहरण भएपछि नेपाल-भारत सम्बन्धमा दरार आयो । अपहरणको समयमा भारतका लागि नेपाली राजदूत भेषबहादुर थापा थिए भने उपप्रमुख मदनकुमार भट्टराई थिए ।

    राजदूत नभएकोले भट्टराईले आफैं त्यो तनावपूर्ण परिस्थितिको सामना गरेको बीबीसी नेपालीसँग दुई वर्ष अगाडि बताएका छन् । जहाज अपहरण काण्डले राजा वीरेन्द्रको डिसेम्बर २९ को कार्यक्रम नै रद्द गर्नुपरेको उनी बताउँछन् ।

    जहाज अपहरणपछि नेपाली आकाश असुरक्षित रहेको भन्दै भारतले नेपाललाई एयर मार्सल राख्न दबाब दिन थाल्यो । एयर मार्सल भनेको जहाजमा हतियारसँगै आउने सुरक्षाकर्मी हुन् ।

    नेपालले भारतीय एयर मार्सललाई नेपालमा मान्यता दिएको त सार्वजनिक भएको छैन । तर, भारतीय जहाजहरूमा एयरमार्सल आउने, आफैं यात्रुहरूको थप सुरक्षा जाँच गर्ने र विमानबाटै फर्किएर भारत जाने कुरा सार्वजनिक चर्चामा पटकपटक आएका छन् । नेपाल सरकारले भने यस बारेमा केही बोलेको छैन ।

  • तालिवानले सत्ता कब्जा गरेपछि अफगानिस्तान क्रिकेट बोर्डको नेतृत्व हेरफेर

    तालिवानले सत्ता कब्जा गरेपछि अफगानिस्तान क्रिकेट बोर्डको नेतृत्व हेरफेर

    एजेन्सी । अफगानिस्तान क्रिकेट बोर्ड (एसीबी)को अध्यक्षमा अजिजुल्लाह फाजली नियुक्त भएका छन् । पश्चिमा देशको सैनिक फिर्ता भएसँगै निर्वाचित सरकारलाई अपदस्त गरी तालिवानले सत्ता संहालेपछि पहिलोपल्ट क्रिकेट बोर्डमा नेतृत्व हेरफेर गरिएको हो ।

    फाजलीले यसअघि एक कार्यकाल एसीबीको अध्यक्ष भइसकेका छन् । तत्कालीन अध्यक्ष अतिफ माशलले राजीनामा गरेपछि सन् २०१८ को सेप्टेम्बरमा उनी अध्यक्ष बनेका थिए ।

    तर सन् २०१९ को एकदिवशीय विश्वकपमा अफगानिस्तान अन्तिममा रहेपछि उनलाई फरहान युसुफजाईले प्रतिस्थापन गरेका थिए ।

    तालिवानले एसीबी अफिसियलहरुसँग छलफलपछि फजलीलाई अध्यक्षमा नियुक्त गरिएाको हो । फाजली दुई दशकदेखि अफगानी क्रिकेटसँग जोडिएका छन् । उनी देशमा क्रिकेट खेल स्थापना गर्ने समयमा खेलाडीको सुरुआती समूहमा सहभागी थिए ।

    उनलाई यसअघि एसीबीको उपाध्यक्ष र सल्लाहकारका रुपमा पनि जिम्मेबारी दिइएको थियो । उनी घरेलु क्रिकेटको क्षेत्रीय संरचना तयार गर्ने टिममा पनि सहभागी थिए ।

    फाजलीले पाकिस्तानविरुद्ध श्रीलंकामा हुन लागेको आसन्न एकदिवशीय शृंखलाका समस्याहरुलाई तत्कालै समाधान गर्नुपर्नेछ ।

    तालिवानले सत्ता कब्जा गरेपछि काबुल अन्तर्राष्ट्रिय विमानस्थलबाट अहिलेसम्म व्यवसायिक उडान सुरु भएको छैन । यस्तो अवस्थामा राष्ट्रिय टोलीलाई स्थल मार्गबाट पाकिस्तान हुँदै श्रीलंकाको उडान भर्नुपर्ने हुन्छ ।

    श्रीलंकामा पछिल्लो समय कोरोना भाइरस संक्रमणको दर उच्च हुन थालेपछि १० दिनको लकडाउन घोषणा भएको छ । यसले पनि अफगानिस्तान र पाकिस्तानबीचको शृंखला प्रभावित हुन सक्छ ।

  • के तालिवान विजयको अर्थ अमेरिकी परराष्ट्र नीति कमजोर भएको भन्ने हो ? बाइडेनले अब के गर्लान ?

    के तालिवान विजयको अर्थ अमेरिकी परराष्ट्र नीति कमजोर भएको भन्ने हो ? बाइडेनले अब के गर्लान ?

    काठमाडौं । अफगानिस्तानको लामो बसाई अमेरिकाका लागि ओसामा विन लादेनको अन्त्य र अल कायदाको सङ्गठन निर्मुल पार्नुलाई उपलब्धिमुलक मानिएको छ । चीन र रूसजस्ता शक्तिशाली मूलुकमा रहेर अफगानिस्तानको शान्तिका लागि भएका पहलले अमेरिकालगायतका उसका सहयोगी राष्ट्रमा लाभ पुगेको पक्कै हुनसक्छ ।

    यसबारे अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पकै शब्दले अफगानिस्तानमा अमेरिकी सेनाको बसाई अमेरिकाका लागि अनावश्यक आर्थिक बोझ पनि परेको पुष्टि हुन्छ । अमेरिकी सेना अफगानिस्तानमा प्रवेश गरेदेखि अहिलेसम्म करिब १२ अर्ब अमेरिकी डलर बराबरको रकम खर्च भएको अमेरिकी तथ्याङ्क रहेको छ ।

    अफगानिस्तानबाट अमेरिकी सेना फिर्ता गर्ने निर्णय अमेरिकी तत्कालिन राष्ट्रपति डोनाल्ड ट्रम्पले ल्याएको योजना हो । अमेरिकी राष्ट्रपति जो बाइडेनले अफगानिस्तानबाट अमेरिकी सेना फिर्ता गर्ने निर्णयलाई निरन्तरता दिँदै यो प्रक्रिया लगभग अन्तिम चरणमा रहेको छ । अफगानिस्तानमा अमेरिकी सेनाको पहिलो दशकको बसाई अमेरिकाका लागि फलदायी भएको तर दोस्रो दशकमा उल्लेख्य उपलब्धिहरू नभएको केही अमेरिकी विश्लेषकहरूले गर्ने गरेका छन् ।

    अमेरिकी समाचार संस्था सीएनएनका जोन वाउससँगको गत हप्ता प्रशारित एक अन्तरवार्तामा अफगानिस्तान र मध्यएसियाबारे विशेष जानकार स्ट्यानफोर्ड विश्वविद्यालयका इतिहासकार रोबर्ट क्रुजले ‘ट्रम्प प्रशासनले तालिबानसँग गरेको सन् २०२० को सम्झौताले तालिवानलाई देश कब्जा गर्न सहज भएको’ बताएका छन् ।

    अफगानिस्तानको लामो बसाईले अमेरिकाका लागि आर्थिक बोझबाहेक केही महशुस नभएको अफगानिस्तानको पछिल्लो राजनीतिक अवस्थाबारे बोल्दै इन्स्टिच्युट फर चाइना अमेरिका स्टडिजका राजनीतिक विश्लेषक सौरभ गुप्ताले भने, ‘१५ अगस्तमा काबुलमा लामो समयपछि तालिवानको चहलपहल देखियो । तालिवानसँग प्रतिकार गर्ने राजनीतिक इच्छासमेत संस्थापन पक्षले नदेखाउँदा तालिवानको सहज विजय भयो ।’

    ‘अमेरिकी सेनाको सैन्य गठबन्धनमा अफगानिस्तानमा तालिवान समूहलाई देशका प्रायः सबै सहरी ईलाकाबाट विस्थापित गरेपछि ती क्षेत्रमा जुन किसिमको राजनीतिक नेतृत्व विकासका लागि स्थानीयलाई प्रोत्साहित गर्नुपथ्र्यो त्यसो नभएको पुष्टि भएको छ ।’

    करिब बीसवर्षसम्म तालिवानलगायतका समूहले ‘आतङ्कवाद’लाई प्रोत्साहन गरेको आरोपसहित अफगानिस्तानमा रहेको अमेरिकी नेतृत्वको नेटो गठबन्धन सैनिकले तालिवान लडाकूको अफगानी राजधानीमा भएको प्रबेशका बेला काबुलमा नै रहेर पनि केही गर्न सकेन । केबल मुकदर्शक बनेर स्थितिलाई हेर्नु नै उनीहरूको बाध्यता रह्यो । अमेरिका र तालिवान समूहबीच अफगानिस्तानको शान्तिका लागि कतारमा गरिएको सम्झौताले उनीहरूलाई निश्चित घेरामा रहन बाध्य पार्‍यो । विदेशी सैनिकले एक डेढमहिनादेखि नै अफगानिस्तानबाट बर्हिगमनको प्रक्रियालाई अघि बढाइसकेको थियो ।

    अचम्मको कुरा के छ भने करिब तीनलाखको संख्यामा रहेको भनिएको अफगान सेना तालिवानले केन्द्रीय राजधानी काबुल कब्जा गर्दा पनि कुनै प्रतिकारमा उत्रेन । यो अफगानिस्तानमा दुई कार्यकालसम्म ‘निर्वाचित’ भएका असरफ गनीले तालिवानसँग गरेको आत्मसमर्पण हो ।

    ६ वर्षभन्दा बढी सत्ताको बागडोर सम्हालेका राष्ट्रपति घानीले छिमेकमा सुटुक्क शरण लिन पुगेको खबरले उनलाई साथ दिँदै आएका अफगान नेतासमेत खुशी देखिएनन् । यस पहिले राष्ट्रपति बनिसकेका हमिद कार्जाईले तालिवानसँगको शान्तिवार्तामा नेतृत्व लिने बताएका छन् ।

    उनीसहित संस्थापन पक्षका केही सदस्य कतारको दोहामा रहेका अफगान तालिवान नेतासँग अफगानिस्तानको आगामी बाटो तय गर्न बन्ने सरकारको गठजोडका लागि त्यसतर्फ जाने तय भएको छ । अमेरिकासँगको सम्झौतापछि तालिवानले संयुक्त सरकारको माग गरिरहेका थिए । तर सरकारले तालिवानलाई उनीहरूले माग गरेजस्तो राजनीतिक हिस्सा दिन मानेको थिएन ।

    विमानस्थलमा पश्चिमी मुलुकका राजदूताबासका कर्मचारी तथा उनीहरूको परिवारको सुरक्षार्थ सीमित घेरामा रहेर काबुलमा तालिवान समूहका लडाकूको ओहोरदोहोर हेरेर बस्नु विदेशी सेनाको कमजोरी नभई सम्झौताप्रतिको प्रतिवद्धता हो । वार्ता चलिरहेका समय हुलका हुल लडाकू राजधानीमा पस्नु र यसमा अफगान सेनाले किन प्रतिकार गरेन ? अहिले सबैको प्रश्न अफगान सेना र त्यहाँको राजनीतिज्ञप्रति सोझिएको छ ।

    के यो उनीहरूको परनिर्भरता थिएन त ? अनि अफगानिस्तानको परिवर्तनलाई स्वभाविक नभने के भन्ने ? यसै बिषयमा विश्लेषक गुप्ताले भने, ‘अमेरिकी सेनाको हालैको अफगान राजधानीमा हालै देखिएका अस्तव्यस्तता अपेक्षाकृत थिएनन् । तालिवानलाई सन् २००१ मा सत्ताच्युत गरेपछि अमेरिकाले अफगान नागरिकलाई राजनीतिकरूपमा सुसङ्गठित गर्नुपर्थ्यो तर यो राजनीतिक इच्छाशक्ति नदेखिँदा विदेशी सेना फिर्ता हुँदासाथ सरकारको नेतृत्वमा रहेका राष्ट्रपतिले नै विदेशमा शरण लिन पुग्नुपर्ने वातावरण सिर्जना हुनु राजनीतिक इच्छाशक्तिको अभाव हो ।’

    गुप्ताको तर्क छ, ‘एक पटकको विजय राष्ट्र निर्माणमा असम्भव विकल्प बन्न पुग्यो । काबुलमा एक विश्वसनीय उत्तराधिकारीको विकल्प खोज्न नसक्दा अमेरिकाले बीस वर्षसम्म गरेको लगानी क्षणभरमा भत्किएको देख्न सकिन्छ । राजनैतिक व्यवस्था को निर्माण गरी त्यसपछि सम्मानपूर्वक विदेशी फौज फिर्ताको सम्झौता गरिएको भए राम्रो हुन्थ्यो । यसले तालिवानलाई पनि समावेश गरी अफगानिस्तानले शान्तिको बाटो तय गर्न सक्थ्यो ।’

    अफगानिस्तानमा भएको युद्ध ‘सन् २००८ सम्ममा आधारभूतरूपमा निर्दिष्ठ दिशातर्फ गएको उनी तर्क गर्छन् । सन् २०११ मा (ओसामा) बिन लादेन मारिएपछि अमेरिकी सेना अफगानिस्तानमा सधैं रहनुपर्ने ठोस कारण थिएन । गुप्ताले चिनियाँ समाचारसंस्था सिन्ह्वासँगको अन्तवार्ताका क्रममा भने, ‘काबुल(अफगान संस्थापन पक्ष) र तालिबानलाई सरकारको शक्ति साझेदारी सम्झौतामा जबरजस्ती गर्ने राजनैतिक बलबिन लादेन मारिएपछिसम्म अमेरिकामा थियो । तर भूतपूर्व राष्ट्रपति बराक ओबामाको प्रशासनले अफगानिस्तानमा तालिवान बलियो बन्ने खालकोे राजनैतिक समूह चाहँदैनथ्यो । सुरक्षित अवतरणका लागि अनुकुल भएका समय निभाउनुपर्ने भूमिकामा अभाव भएको हो ।’

    उनका अनुसार अमेरिकाले अफगानिस्तानमा सेनापतिको इच्छा र समर्थनमा लडाइँ जारी राख्ने र तालिवानलाई आत्मसमर्पण गराउने अख्तियारसहित सन् २०१५ मा छ महिनाका लागि तालिवानसँग कोलडाईलाई अनुमति दिइयो । तालिबानसँग सम्झौता गरिएको समय सन् २०१९ को मध्यसम्म पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनको सन्दर्भमा पनि अमेरिकी नीति सोही रहेको थियो ।

    लडाईले अमेरिका र अफगान सरकारले तालिवानलाई नत आत्मसमर्पण गराउन सक्यो न उनीहरूलाई राजनीतिक मूलप्रबाहमा ल्याउन नै सक्यो । अफगान सरकारले ट्रम्पको कार्यकाल सकिनै लाग्दा जो बाइडेन निर्वाचित हुनसक्ने र उक्त नेतृत्वले अफगानिस्तानबारे फरक रणनीति ल्याउनसक्ने अभिलाषासहित द्वन्द्वलाई दबाएर जाने निर्णय लियो ।

    ट्रम्प समूहले तालिबानसँग सम्झौता गरिएका प्रतिबद्धता पूरा गर्न असफल भयो र यसै वर्षको सुरूमा राजनीतिक नेतृत्वबाट पूरै बाहिरियो । अन्तमा, बाइडेन र ट्रम्पको रणनीतिमा अडिग रहे र सेना फिर्ता प्रक्रिया अघि बढ्यो ।

    गुप्ताको तर्क रहेको छ, ‘ट्रम्पको शक्ति विस्तारै सेलाउँदै गएपछि पश्चिम र यसका अफगान प्रतिनिधिले नत त राजनीतिक साहस बटुले न त गुप्तचरले दीगो उत्तराधिकारीको विकल्प खडा गर्न सक्यो । बरु यो नै अमेरिका र पश्चिमको अन्तरर्राष्ट्रिय सम्बन्धमा चीसोपन ल्याउने एउटा कडी बनेको छ ।’

    भियतनाम युगपछिको वासिङ्टन र अन्य पश्चिमी पूँजीवादी शासकको पुस्ताले अन्तरर्राष्ट्रिय सम्बन्धमा शक्ति र मापदण्ड वा कानुनको सम्बन्धलाई गहिरोसँग लिएको जस्तो व्यवहारले देखाउने गरेको छ । उनीहरूका लागि अन्तरर्राष्ट्रिय मामिला मुख्यतया घरायसी विवादको कारक बन्ने गरेका छन् । यसैका कारण हामीले आज अफगानिस्तानमा शक्ति र मापदण्डको यस कमजोर ‘ककटेल’ नीतिगत प्रभावको असर देख्न परिरहेको छ । रासस

  • काबुल टु काठमाडौंः अफगानिस्तानबाट फर्केका मलिन अनुहारहरू

    काबुल टु काठमाडौंः अफगानिस्तानबाट फर्केका मलिन अनुहारहरू

    काठमाडौं । अफगानिस्तानमा तालिवानको कब्जापछि त्यहाँ कार्यरत नेपालीहरू फर्किने क्रम शुरू भएको छ । काबुलस्थित अमेरिकी दूतावासमा काम गर्ने ११८ नेपाली आज अमेरिकी दूतावासकै पहलमा स्वदेश फर्किए ।
    त्रिभुवन विमानस्थलबाट बाहिरिने क्रममा अधिकांश मलिन र त्रसित अनुहारमा देखिएका थिए । उनीहरूले आफूहरू सुरक्षित फर्केको र अरु नेपालीलाई पनि छिटो उद्धार गर्न सरकारसँग आग्रह गरेका छन् ।
    हेर्नुस् विमानस्थलका दृष्यः
  • अफगानिस्तानबाट अमेरिकी बहिर्गमन, अर्थात भियतनाम भाग- २

    अफगानिस्तानबाट अमेरिकी बहिर्गमन, अर्थात भियतनाम भाग- २

    बीस वर्षअगाडि अमेरिका काबुल छिर्‍यो, तालिवानको भागाभाग भयो । २० वर्षपछि तालिवान काबुल छिर्‍यो, अमेरिकाको भागाभाग भयो ।

    सन् २००१ सेप्टेम्बर ७ मा अमेरिकी विमानले काबुलमा बम बर्साएका थिए । त्यसको दुई दशकको सेरोफेरोमा तालिवान काबुल फर्किए । अमेरिकाले आफ्ना नागरिक र कर्मचारीलाई हवाई उद्धार गरेर लग्यो ।

    बीस वर्षअगाडि यस्तो होला भन्ने कल्पना कसैलाई थिएन । सायद यही कारण हुनसक्छ, तालिवान नेताहरू आफूहरूले अमेरिकालाई जितेको दावी गर्दैछन् । चार महिनाअगाडि नै बीबीसीसँग अफगानिस्तानको बाल्क जिल्लाका तालिवानी छायाँ मेयर हाजी सिक्मतले भनेका थिए, ‘हामीले युद्ध जित्यौँ । अमेरिकाले हार्‍यो ।’

    सिक्मतले भनेका कुरा अमेरिकी तथ्यांकले पनि एक हदसम्म पुष्टि गर्छन् । हार्भर्ड विश्वविद्यालयको केनेडी स्कूलकी लिन्डा बिल्म्स र ब्राउन विश्वविद्यालयको कस्ट्स् अफ वार प्रोजेक्टको तथ्यांक हेरौँ । अमेरिकी समाचार एजेन्सी एपीले यही तथ्यांक साभार गरेर समाचार बनाएको छ । जसअनुसार सुरक्षा दस्ताको हताहती तथ्यांक यस्तो छ :-

    अमेरिकी सैनिकहरूको मृत्यु संख्या : २४४८

    अफगान सेना तथा प्रहरीको मुत्यु संख्या : ६६,०००

    न्याटोलगायतका अन्य अमेरिकी साझेदारी सैनिकको मृत्यु संख्या : ११४४

    तालिवान र अन्य विपक्षी लडाकुको मृत्यु संख्या : ५१,१९१

    सैन्य तथा प्रहरीको मृत्यु संख्या हेर्दा अमेरिकी, युरोपेली तथा अफगान सरकारका तर्फबाट एकमुष्ट संख्या ६९ हजार ५ सय ९२ हुन्छ । तालिवान र अन्य विद्रोही लडाकुको संख्या ५१ हजार १ सय ९१ मात्रै छ । यो आँकडाले पनि तालिवान तथा अन्य विद्रोहीको मृत्यु संख्या सत्ताधारीको भन्दा १८ हजार ४ सय १ थोरै देखिन्छ । अर्थात सैन्य मोर्चामा अमेरिकी तथा अफगानी सत्ताधारीको धेरै क्षति भएको छ ।

    ७२ जना पत्रकार, ४४४ सहायताकर्मीहरू, ३८४६ अमेरिकी ठेकेदारदेखि ४७,२४५ अफगान नागरिक मरेका छन् । यो आँकडाले गैरसैन्य पक्षको मृत्यु संख्या ५१ हजार ६ सय ७ देखिन्छ । यो हताहतीको मुख्य नोक्सानी सत्तापक्षकै मान्नुपर्छ । किनभने नागरिकहरूको जीउधन रक्षाको प्रमुख नेतृत्व राज्यकै हो । सत्ताकै हो ।

    Taliban fighters take control of Afghan presidential palace after the Afghan President Ashraf Ghani fled the country, in Kabul, Afghanistan, Sunday, Aug. 15, 2021. (AP Photo/Zabi Karimi)

    अब आर्थिक पक्षको कुरा गरौँ । करिब दुई दशक लामो युद्धमा अमेरिकाको प्रत्यक्ष खर्च २ ट्रिलियन अमेरिकी डलर भनिएको छ । यो भनेको २० खर्ब अमेरिकी डलर हो । यो सानो रकम होइन । अहिलेको सटही दर ११८.८१ ले नेपालीमा रूपान्तरण गर्दा यो २३७६.२ खर्ब नेपाली रूपैयाँ हुन आउँछ । साढे १६ खर्बमात्रै वार्षिक बजेट भएको नेपालका लागि यो १४४ बर्ष पुग्ने रकम हो ।

    हुन त बालमृत्यु दर घटाएर ५० प्रतिशत पुर्‍याएको देखि अफगानिस्तानका ३७ प्रतिशत महिलाहरू पढ्नसक्ने हुनु आफ्नो उपलब्धी भएको अमेरिकी दावी छ ।

    भियतनाम भाग- २

    दोस्रो विश्वयुद्धपछि एसियाका विभिन्न युद्ध मोर्चामा सहभागी भयो अमेरिका । सन् १९५० देखि १९५३ सम्म भएको कोरियाली युद्ध, सन् १९५५ देखि १९७५ सम्मको भियतनाम युद्ध, सन् २००१ को अफगानिस्तान युद्ध र सन् २००३ को इराक युद्धमा अमेरिका सहभागी थियो ।

    यी चार मुख्य युद्धमध्ये दुई युद्धमा अमेरिका विजयी भयो । कोरियाली युद्धमा उसले आफ्नो लाइनको दक्षिण कोरिया बनाउन चाहेको थियो । बनायो । इराक युद्धमा सद्दाम हुमेनको सत्ता ढाल्न खोजेको थियो । ढाल्यो ।

    भियतनाम र अफगानिस्तानमा भने अमेरिकी मिसन सफल हुन सकेन । ओसामा बिन लादेन मारिए पनि तालिवानलाई निमिट्यान्न पार्न अमेरिका असफल भयो । ठीक यसैगरी भियतनाममा दक्षिणी भियतनाम दक्षिण कोरियाजस्तै बनाउने अमेरिकी अभियान असफल भयो ।

    भ्वाइस अफ अमेरिकाका अनुसार सन् १९७३ को मार्च २९ मा अमेरिकाले लडाकु दस्ता फिर्ता लगेको थियो । त्यसको ठीक दुई वर्षपछि सन् १९७५ मा उत्तर र दक्षिण भियतनाम एक भयो । एक भयो भन्दा पनि कम्युनिष्ट उत्तरको कब्जामा आयो । र, सन् १९७५ को अप्रिल ३० मा बाँकी रहेका अमेरिकिलाई सैगुन क्षेत्रबाट हेलिकप्टरबाट उद्धार गरिएको थियो ।

    सन् १९७५ अप्रिल ३० मा अमेरिकी नागरिकलाई सैगुन (अहिलेको हो चि मिन्ह्) शहरबाट नागरिकलाई हेलिकप्टरबाट उद्धार गरिएको र आइतबार काबुलबाट गरिएकोलाई अमेरिकीहरूले एकै भएको तुलना गरेका छन् । ४६ वर्षअगाडि सैगुनबाट जस्तै आइतबार काबुलबाट उद्धार हुनेहरूको तस्बिर एकैजस्तो देखिएकोले यस्तो तुलना भएको हो ।

    सैगुन र काबुलको व्यापक तुलना भएपछि अमेरिकी विदेश मन्त्री एन्थोनी ब्लिङ्कनले आइतबार अमेरिकी च्यानल एबीसीको ‘दिस विक’ कार्यक्रममा बोल्दै खण्डन गरेका थिए । दी गार्जियनका अनुसार ब्लिङ्कनले २० वर्षअगाडिको ९/११ आक्रमण गर्नेलाई तह लाउने लक्ष भएकोले त्यो लक्ष भेटेको भन्दै बचाउ गरेका थिए ।

    अमेरिकाको भियतनामा युद्ध धेरै अलोकप्रिय युद्ध हो । यूएसए टुडेको एक तथ्यांकअनुसार ५८ हजार २ सय २० अमेरिकी सैनिकहरूको मृत्यु भएको थियो । आर्थिक क्षेत्रमा समेत ठूलो क्षति भएको थियो । सन् १९६८ को कुल गार्हस्थ उत्पादनको २.३ प्रतिशत खर्च भएको सन् २०१९ मा सार्वजनिक भएको यूएसए टुडेको तथ्यांक छ ।

    यसरी झन्डै बीस बर्षको अफगानिस्तान युद्ध र साँढे उन्नाइस बर्षको भियतनाम युद्ध अमेरिकाले एसियामा पाएको ठुलो झट्का हो । ४६ बर्षअगाडि कम्युनिष्टसँग युद्धबाट बाहिरिएको अमेरिकाले ४६ बर्षपछि धार्मिक कट्टरपन्थीहरूसँगको युद्धबाट पनि विश्राम लिएको छ ।

    यसरी जत्ति नै तर्क गरेपनि अफगानिस्तान युद्ध अमेरिकाको लागी भियतनाम युद्ध भाग २ भएको छ । र, यही खालको तर्क अमेरिकीहरूले आफैं गर्न थालेका छन् । विदेश मन्त्रीले बचाउ गर्न एबीसी च्यानलमा बोल्नु परेको छ ।

  • अफगानिस्तान मामला र नेपालीको उद्धारबारे संसदमा एमालेले माग्यो सरकारको जवाफ

    अफगानिस्तान मामला र नेपालीको उद्धारबारे संसदमा एमालेले माग्यो सरकारको जवाफ

    काठमाडौं । नेकपा एमालेका सांसद तथा पूर्वमन्त्री गोकुल बास्कोटाले अफगानिस्तामा उत्पन्न भएको राजनीतिक संकटप्रति नेपाल सरकारले कुनै दृष्टिकोण लिन नसकेको र आफ्ना नागरिकको उद्धारका लागि पहल नगरेको भन्दै सरकारको आलोचना गरेका छन् । एउटा दक्षिण एसियाली राष्ट्रमा संकट उत्पन्न हुँदा सार्कको अध्यक्ष राष्ट्र मौन बस्नु स्वभाविक नभएको उनको टिप्पणी छ ।

    संसद् बैठकमा बोल्दै बास्कोटाले अफगानिस्तानमा रहेका नेपालीले आफ्नो देशमा सरकार छ भन्ने अनुभूति गर्न नपाएको बताए । उनीहरूको उद्धारका लागि सरकारबाट प्रतिबद्धतामात्र नभएर तत्काल ‘एक्सन’ मा जानुपर्ने उनले सुझाए ।

    बास्कोटाले भने, ‘हामी सार्कको अध्यक्षता गरिरहेको राष्ट्र हौं । त्यसमाथि परमादेशबाट बनेको कम्फर्टेबल सरकार छ । तर, दुनियाँभर मादल बज्दा पनि यो सरकार ब्युँझिएन । उसले केही थाहा पाएन ।’

    यसप्रकारको गैरजिम्मेवार र उत्तरदायी सरकारको कल्पना नगरिएको भन्दै उनले अफगानिस्ताको घटनालाई लिएर सरकारको दृष्टिकोण संसदमा सार्वजनिक हुनुपर्ने माग गरे ।

    ‘कुनै पनि देश यस प्रकारका वैदेशिक हस्तक्षेप कुनै पनि स्वाधीन राष्ट्रका लागि कामयाबी हुँदैनन् । त्यही देशमा बलियो राष्ट्रवादी शक्तिको निर्माण हुनुपर्छ भन्ने पाठ हो यो,’ बास्कोटाले भने ।

    २०७३ सालमा अफगानिस्तानमा रहेका नेपालीमाथि हमला हुँदा तत्कालीन ओली सरकारले २४ घन्टाभित्रै उद्धार तथा राहतको काम गरेको बास्कोटाले स्मरण गराए ।

    ‘अहिलेको कम्फर्टेबल सरकारले त्यो गर्न सक्छ कि सक्दैन ?’ उनले प्रश्न गरे ।

  • देश छाडेका अफगानी राष्ट्रपति घानीले भने- रक्तपात निम्त्याउन चाहिनँ

    देश छाडेका अफगानी राष्ट्रपति घानीले भने- रक्तपात निम्त्याउन चाहिनँ

    एजेन्सी । देश छोडेर भागेका अफगानी राष्ट्रपति अस्रफ घानीले अफगानिस्तानमा तालिवानले जितेको स्वीकार गरेका छन् । रक्तपात रोक्नका लागि आफूले देश छोड्नुपरेको उनको जिकिर छ ।

    सामाजिक सञ्जालमा स्टाटस लेख्दै घानीले अफगानी जनताको समन, सम्पत्ति र आत्मसंरक्षणको जिम्मा अब तालिवानसँग रहेको उल्लेख गरेका छन् ।

    देश छोडेपछि पहिलो टिप्पणीमा उनले भनेका छन्, ‘तारबार र बन्दुकको बलबाट तालिवानले जितेको छ । अब मुलुकको प्रतिष्ठा र जनताको जीवन उनीहरुको हातमा छ ।’

    घानी थप्छन्, ‘राजधानी छोड्नु मेरो लागि कठिन निर्णय थियो । आइतबार म निकै सकसमा परेको थिएँ । तालिवानका लडाकु राष्ट्रपति भवनमा पस्न उद्यत थिए । म उनीहरुको प्रतिकार गरौं वा मेरो प्यारो मुलुक, जसका लागि मैले आफ्नो जीवन २० वर्षदेखि सुम्पेको छु, त्यसलाई नै त्यागौं । अन्ततः मैले रगतको भेल निम्त्याउन चाहिनँ ।’

    ‘उनीहरु अब नयाँ ऐतिहासिक परीक्षामा छन् । या त उनीहरुले अफगानिस्तानको नाम र सम्मानलाई रक्षा गर्ने छन् या अन्य स्थान र नेटवर्कहरुलाई प्राथमिकता दिनेछन्,’ उनले थपे ।

    आफू कहाँ छु भन्ने घानीले खुलाएका छैनन् । तर, धेरै सञ्चारमाध्यमका अनुसार उनी ताजीकिस्तानमा रहेको विश्वास गरिएको छ ।

  • काबुलको विमानस्थलमा कोलाहल, ६ हजार सुरक्षाकर्मी परिचालन

    काबुलको विमानस्थलमा कोलाहल, ६ हजार सुरक्षाकर्मी परिचालन

    काठमाडौं । अफगानिस्तानमा तालिबानले कब्जा जमाएपछि देशवासीहरु आतंकित बनेका छन् । राजधानी काबुलबाट मानिसहरु भाग्ने सिलसिला तीव्र बनेको छ ।

    काबुलस्थित हमिद कारजाइ अन्तर्राष्ट्रिय विमानस्थलमा अहिले कोलाहलपूर्ण अवस्था रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन् ।

    धेरै मानिसहरु देश छोडेर जानका लागि विमानस्थलमा ओइरिएका छन् । तालिवानले विमानस्थलबाट बाहिर जानेहरुलाई अहिलेसम्म कुनै अवरोध गरेको छैन ।

    अफगानिस्तानमा रहेका विदेशी नागरिकहरु पनि धमाधम स्वदेश फर्किरहेका छन् । विभिन्न देशहरुले अफगानिस्तानमा रहेका आफ्ना नागरिकहरुलाई जहाज चार्टर्ड गरेर पनि स्वदेश फर्काइरहेका छन् ।

    धेरै देशले कुटनीतिक नियोग तथा दूतावासहरु खाली गराएर कर्मचारीहरुलाई त्यहाँबाट भगाएका छन् ।

    समाचारहरुमा जनाइए अनुसार काबुलको सुरक्षामा खटिएका ६ हजार सुरक्षा फौजलाई विमानस्थलको आसपासको क्षेत्रमा पठाइएको छ ।

  • तालिवानसँग लत्रिँदै अफगान सरकार,  थप रक्तपातबिना सत्ता सुम्पने तयारी !

    तालिवानसँग लत्रिँदै अफगान सरकार, थप रक्तपातबिना सत्ता सुम्पने तयारी !

    काठमाडौं । अफगानिस्तानमा तालिवानले कब्जा जमाउँदै गएपछि सरकारले शान्तिपूर्णरुपमा सत्ता हस्तान्तरणको तयारी सुरु भएको छ । देशका अधिकांस महत्वपूर्ण क्षेत्रमा कब्जा जमाइसकेका तालिवानी लडाकु अहिले राजधानी काबुलमा समेत प्रवेश गरिसकेका छन् ।

    तालिवानलाई रोक्न सक्ने अवस्था नदेखिएपछि सरकारले वार्ताको पहल गरेको छ । तालिवानले पनि सकभर रक्तपातबिना शान्तिपूर्ण तवरले सत्ता हस्तान्तरण गर्न चाहेको सन्देश दिएका छन् । काबुलबाट बाहिरिन चाहने कसैलाई पनि अवरोध नगर्ने उक्त विद्रोही संगठनले जनाएको छ ।

    तालिवानका एक प्रवक्ताले ट्वीट गर्दै भनेका छन्, ‘संक्रमण प्रक्रियाले पूर्णता नपाउञ्जेलसम्म काबुलको सुरक्षाको जिम्मेवारी अर्को पक्ष (सरकार) सँग छ ।’

    त्यसलगत्तै अफगान सरकारले काबुलमा रक्तपात रोक्न तथा शक्ति हस्तान्तरण गर्न वार्ताहरू भइरहेको जानकारी दिएको हो ।

    अफगानिस्तानका गृहमन्त्री अब्दुल सत्तार मिर्जाकवलले तालिवानले आफ्ना लडाकुलाई काबुलबाट पछि हट्न आदेश दिएको भन्दै एउटा संक्रमणकालीन सरकारलाई ‘शान्तिपूर्ण तवरले शक्तिको हस्तान्तरण गर्न’ तयारी भएको बताएका छन् ।

    ‘अफगानी जनताले सुर्ता गर्नु पर्दैन, शहरमा कुनै आक्रमण हुने छैन र एउटा संक्रमणकालीन सरकारलाई शान्तिपूर्ण तवरबाट शक्तिको हस्तान्तरण हुने छ,’ उनले एउटा रेकर्ड गरिएको भाषणमा भनेका छन् ।

    यसअघि तालिवानले एउटा अनलाइन विज्ञप्ति जारी गरेको थियो, जसमा उसले आफ्ना लडाकुलाई काबुलको गेटभित्र नपस्न र शहरलाई बलपूर्वक कब्जामा नलिन निर्देशन दिइएको उल्लेख छ ।

    ‘हस्तान्तरणको प्रक्रिया बिना कुनै हताहति शान्तिपूर्ण तरिकाले हुने सुनिश्चित गर्नका लागि वार्ताहरू हुन गइरहेका छन्,’ विज्ञप्तिमा भनिएको छ ।

    अर्को एउटा विज्ञप्तिमा संगठनले बैंक, व्यापारी तथा उद्योगीका सम्पत्ति, पैसा र संस्थाहरमा लडाकु समूहले कुनै हस्तक्षेप नगर्ने भनेर आश्वस्त तुल्याएका छन् । यद्यपि यस्तो प्रद्धिवद्धताका बाबजुद मानिसहरु आत्तिएर शहरबाट आआफ्नो घरतर्फ पलायन हुने क्रम बढेको छ ।

    यसअघि चारैतर्फबाट तालिवानी लडाकु कावुलतर्फ प्रवेश गरिरहेका थिए । तर, माथिल्लो तहको निर्देशनपछि उनीहरु रोकिएको बताइएको छ । त्यसैले अहिलेसम्म देशको राजधानी शहर सरकारकै नियन्त्रणमा छ । अन्यत्र भने तालिवानले कब्जा जमाइसकेका छन् ।

    अफगानिस्तानमा जारी संकटसँगै त्यहाँ रहेका विदेशी दूतावासहरू धमाधम खाली गराइएका छन् । अमेरिकाले हेलिकोप्टरमार्फत आफ्नो दूतावासका कर्मचारीहरूलाई रेस्क्यू गरेको थियो ।

    तालिवानविरुद्ध अफगान सरकारको कमजोर प्रतिरोधले कूटनीति क्षेत्रलाई पनि अचम्भित तुल्याएको छ । अघिल्लो हप्तामात्रै अमेरिकी जासुसी संयन्त्रले कम्तीमा तीन महिना अफगान सरकारले तालिवानलाई रोक्न सक्ने आँकलन गरेको थियो ।

    राष्ट्रपति अस्रफ घानीले शनिबार अन्तर्राष्ट्रिय साझेदार र स्थानीय नेताहरूसँग आफू आपतकालीन परामर्शमा रहेको बताएका थिए । त्यसपश्चात भने उनी मौन बसेका छन् । समाचारहरुमा भने उनले तालिवानी कमाण्डरलाई सत्ता सुम्पने मनस्थिति बनाइसकेको उल्लेख छ ।

    राजधानी काबुलमा अहिलेसम्म तालिवानले कुनै आक्रमण नगरे पनि त्यहाँ आतंकको माहोल छ । बाहिरबाट आएर बसिरहेका मानिसहरु आ-आफ्नो घर फर्किने हतारोमा छन् । विमानस्थलमा भीडभाड छ । धेरै मानिसहरू आफ्नो कार यत्तिकै सडकमा छोडेर एयरपोर्टतर्फ दौडिएको पनि समाचारमा उल्लेख छ ।

    तालिवानका एक अधिकारीले लडाकुहरूलाई जितको खुशीमा बन्दुक नपड्काउन आदेश दिइएको बताएका छन् । साथै अफगानको सुरक्षा बलसँग सम्बन्धी व्यक्तिहरूलाई सकुशल घर फर्किन दिइने उनको भनाइ छ ।

    अस्पताल तथा विमानस्थललाई यथावत सञ्चालन हुन दिइने तथा आपतकालीन आपूर्ति सेवाहरू पनि प्रभावित नहुने उनको भनाइ छ । विदेशी नागरिकलाई उनीहरुले चाहेको खण्डमा देश छोड्न अनुमति दिइने छ । अथवा तालिवानका प्रशासकहरूसमक्ष उनीहरूले आफ्नो उपस्थिति दर्ता गर्न सक्नेछन् ।

  • तालिवानको नालीबेलीः १२ प्रश्नोत्तरमा बुझ्नुहोस् अफगानिस्तानको संकट

    तालिवानको नालीबेलीः १२ प्रश्नोत्तरमा बुझ्नुहोस् अफगानिस्तानको संकट

    काठमाडौं । दक्षिण एसियाली देश अफगानिस्तानमा अहिले विद्रोही समुह तालिवानको दबदबा बढेको छ । राजधानी काबुलबाहेकका धेरै महत्वपूर्ण सहरहरुमा तालिवानले कब्जा गरिसकेका छन् भने काबुलमा पनि उनीहरुको प्रवेश भएको छ ।

    सन् २००१ मा अमेरिकी राष्ट्रपति जर्ज डब्लु बुसको पालाबाट सुरु भएको अमेरिका–अफगानिस्तान युद्ध सबैभन्दा लामो हो । बुसपछि ओबामा, डोनाल्ड ट्रम्प र जो बाइडेनसम्म उक्त युद्ध प्रकरण लम्बिएको छ ।

    डोनाल्ड ट्रम्पले सन् २०२१ को मे महिनाभित्र सबै अमेरिकी सेना अफगानिस्तानबाट फिर्ता गर्ने निर्णय गरेका थिए । तर त्यसो भएन । ट्रम्पलाई हराएर राष्ट्रपति भएका जो बाइडेनले सेप्टेम्बर ११ भित्र सबै अमेरिकी फौजलाई अफगानिस्तानबाट फिर्ता ल्याउने घोषणा गरे । उनले सेप्टेम्बर ११ नै तोक्नुको उद्देश्य सन् २००१ को सेप्टेम्बर ११ मा न्यूयोर्कको ट्वीन टावरमा अलकायदाले हमला गरेको दिन पार्नु थियो ।

    त्यसपछि अफगानिस्तानबाट अमेरिकी सेना बाहिरियो । युरोपेली सैन्य गठबन्धन न्याटोका सैनिकहरु पनि फिर्ता भए । त्यसपछि अफगानिस्तानमा तालिवानको चहलपहल बढिरहेको छ । र, अहिले दिनानुदिन अफगानिस्तानका ठूला सहर र प्रान्तीय राजधानीहरु कब्जा गरेको समाचार आइरहेका छन् । राजधानी काबुल नजिकै तालिवान पुगेको सूचना छ ।

    यसबीच धेरैलाई तालिवान को हुन्, के हुन् लगायत जिज्ञासा जागेको छ । हामी १२ वटा प्रश्नोत्तरमार्फत यस्तो जिज्ञासाको समाधान गर्ने प्रयास गर्दैछौं ।

    १. के हो तालिवानको अर्थ ?

    तालिवानको अर्थ र उनीहरुको व्यवहारबीच आकाश–जमिनको अन्तर छ । तालिवान शब्द पास्तु भाषाबाट बनेको हो । जसको अर्थ हुन्छ, विद्यार्थी । हिंसात्मक आन्दोलन सुरु गर्नुअघि उनीहरु धार्मिक विद्यार्थीको रुपमा विभिन्न समारोहमा सहभागी हुन्थे ।

    बिबिसीका अनुसार सुन्नी मुस्लिमका धार्मिक मान्यतााहरु पढाउन साउदी अरेबियाले प्रायोजन गरेका कार्यक्रमहरुमा उनीहरु सहभागी हुन्थे । तर, पछि उनीहरु हिंसात्मक गतिविधि गर्ने समूहमा परिणत भए ।

    २. कहिले भयो तालिवानको उत्पत्ति ?

    सन् १९९० को दशकअघि तालिवानको नाम सुनिएको थिएन । सन् १९८९ फेब्रअरीमा सोभियत संघले एक दशक लामो अफगानिस्तान बसाइ अन्त्य गरेपछि तालिवानले फैलने मौका पायो ।

    सन् १९९४ मा औपचारिक रुपमा तालिवान मुल्लाह मोहमद ओमरले स्थापना गरेका थिए । ओमरको सन् २०१३ अप्रिलमा स्वास्थ्य समस्याको कारण मृत्यु भयो । कतिपयले उनको मृत्यु पाकिस्तानमा भएको बताउँछन् भने कतिपयले अफगानिस्तानमै भएको भन्छन् ।

    ओमरपछि आएका मुल्ला अख्तर मन्सुर पनि सन् २०१६ को मे महिनामा अमेरिकी ड्रोन हमलामा परेर मारिए । मन्सुरको मृत्युपछि अहिले मौलावी हिबातुल्ला आखुन्जदा तालिवानको सर्वोच्च नेताको रुपमा छन् ।

    ३. कहिलेदेखि सुरु भयो सत्ताकब्जाको अभ्यास ?

    सन् १९८९ मा सोभियत संघ अफगानिस्तानबाट बाहिरियो । त्यसपछि सोभियत संघ समर्थित वामपन्थी जनवादी प्रजातान्त्रिक पार्टी अफगानिस्तान (पिडिपिए) कमजोर बन्यो ।

    सन् १९९२ मा मुजाहिदिनहरुले काबुल कब्जा गरे । पिडिपिएका राष्ट्रपति महोमद नाजिबुल्ला अपदस्त भए । ब्रिटानीका डटकमका अनुसार मुजाहिदिन भनेको अरबिक भाषामा धार्मिक गुरिल्ला हो । मुजाहिदिनले बुर्हानुदिन रब्बानीलाई सन् १९९२ मा रास्ट्रपति बनाए ।

    मुजाहिदिनभित्रै आन्तरिक लफडा भयो । विभिन्न गुटहरु बने । त्यसैको फाइदा उठाउँदै तालिवानले हमला सुरु गर्यो । सन् १९९५ मा अफगानिस्तानको इरानी सीमामा पर्ने हेरात प्राप्त कब्जा गरेका तालिवानले एक वर्षपछि काबुल कब्जा गरे ।

    सन् १९९८ सम्म आउँदा अफगानिस्तानको ९० प्रतिशत भूभाग तालिवानको कब्जामा परेको बिबिसीले लेखेको छ । महिला अधिकार कुण्ठित गर्ने र धार्मिक कानून लाउने तालिवानको मुद्दामा धेरै मान्छे असहमत छन् ।

    ४. किन ढाल्यो अमेरिकाकाले तालिवान सत्ता ?

    सन् १९९६ मा सत्ताकब्जा गरेका तालिवानलाई अमेरिकाले मान्यता दिएको थिएन । सन् २००१ को अन्तिमबाट भने हमला नै सुरु गर्यो । हमला गर्नुको कारण अल कायदा कनेक्सन हो ।

    सन् २००१ को सेप्टेम्बर ११ मा न्यू योर्क सहरमा जहाज अपहरण गरेर ट्वीन टावरमा हमला भयो । अल कायदा नेता ओसामा बिन लादेनले हमलाको जिम्मा लिए । झण्डै तीन हजार अमेरिकी नागरिकको ज्यान गएको र अमेरिकी सुरक्षालाई चुनौती दिएको आतंककारी हमलाले अमेरिका रिसायो । र, ‘आतंवादविरुद्ध युद्ध’को घोषणा गर्यो ।

    तालिवानले अल कायदालाई समर्थन र सुरक्षा गरेको आपोपमा अमेरिकाले सन् २००१ को अक्टोबर ७ बाट हमला सुरु गर्यो । डिसेम्बर पहिलो साताभित्र तालिवान सत्ता ढल्यो ।

    ५. कत्रो छ तालिवान फौज ?

    फौजका बारेमा तालिवानले कुनै आधिकारिक तथ्यांक दिँदैन । बिबिसीका अनुसार ८५ हजार संख्याका तालिवानको फौज छ । न्यू योर्क टाइम्सले भने ७५ हजार हाराहारी भएको उल्लेख गरेको छ ।

    ६. तालिवानलाई प्रायोजन गर्ने देश कुन हुन् ?

    सन् १९९६ देखि २००१ सम्म अफगानिस्तानमा तालिवान सत्ता हुँदा तीन देशले मात्रै मान्यता दिएका थिए, पाकिस्तान, युएई र साउदी अरेबियाले ।

    सोभियत संघ अफगानिस्तानमा हुँदा तालिवान र मुजाहिदिनलाई सहयोग गरेको अमेरिकाले सोभियत संघ फर्केपछि तालिवानको सत्ता आउँदा भने मान्यता दिएन । थुप्रै अन्तरवार्ताहरुमा पाकिस्तानी प्रधानमन्त्री इमरान खानले तालिवान र मुजाहिदिन उत्पादनमा अमेरिकी हात रहेको बताएका छन् ।

    ७. अफगान सरकारमाथि तालिवान हाबी हुनुको कारण के हो ?

    अमेरिकी र न्याटो सैनिक फिर्ता हुनासाथ तालिवानले अफगान सरकारलाई धेरै दबाबमा राखेको छ । ३४ प्रान्त भएको अफगानिस्तानका अधिकांश प्रान्त कब्जा गरेको तालिवान संघीय राजधानी काबुल नजिकै पुगिसकेको छ ।

    न्यू योर्क टाइम्सका अनुसार ८३ अर्ब अमेरिकी डलर खर्च गरेर अफगानी फौजमा तालिम दिइएको थियो । तर, तालिमको विज्ञापन जस्तो नतिजा आएको छैन । धेरै अफगानी सैनिकले आत्मसर्पण गरे । उनीहरु सिमावर्ती देशमा भएको भीडन्तबाट भागेर छिमेकी देश ताजाकिस्तान पुगेका थिए ।

    अफगान सरकारसँग सेना, प्रहरी र हवाई दस्ता गरी तीन लाख फौज भएको मानिन्छ । तर, फौजलाई आवश्यक तलव, सुविधा र हौसला नभएर समस्या भएको विभिन्न संचारमाध्यमले लेखेका छन् ।

    महिनौंसम्म तलवविहीन भएर सुरक्षाकर्मीले काम गर्नुपरेको, युद्धमा जाँदा आवश्यक खानपिनको व्यवस्था नभएको र व्यापक भ्रस्टचार भएकोले अफगानी फौज ठूलो भएर पनि नजिता नदेखिएको बताइन्छ ।

    अफगानिस्तानको सबैभन्दा ठूलो समुदाय पास्तुनको फौज भएकोले पनि तालिवान बलियो भएको कतिपयको भनाइ छ । तालिवानविरुद्ध विभिन्न जातिगत मोर्चाहरु पनि छन्, अफगाानिस्तानमा । तर, तालिवानको अगाडि उनीहरुको शक्ति रुपमा कमजोर छ ।

    तालिवान अफगानिस्तानमा मात्रै हाबी भएको छैन । एकताका पाकिस्तानको उत्तरपश्चिम क्षेत्रमा समेत हाबी भएका थिए । सन् २०१२ को अक्टोबरमा पानिस्तानी तालिवानले मलाला युसुफजाई विद्यालयबाट घर फर्कदाँ गोली हानेको घटना चर्चित भयो ।

    मलालले नोबेल शान्ती पुरस्कारसमेत पाइन् । तर, पछिल्ला वर्षहरुमा पाकिस्तानी सैन्य हमलाले पाकिस्तानी तालिवानलाई धेरै हदसम्म नियन्त्रण गरेको छ । पाकिस्तानमा अफगानिस्तानमा जस्तो प्रभावशाली छैनन् तालिवान ।

    ८. तालिवान, अल कायदा र आईएसआइमा के फरक छ ?

    तालिवान मुलतः अफगानिस्तान केन्द्रित छ । उनीहरु विदेशी फौज अफगानिस्तानबाट बाहिरिनुपर्ने पक्षमा छन् । तर, अल कायदा र आईएसआइ भने अन्तर्राष्ट्रिय समूह हुन । तर, युरोप र अमेरिकाको विरोध गर्ने लाइनमा भने उनीहरुको मिल्ती देखिन्छ ।

    कार्नेगी इन्डोमेन्ट फर इन्टरनेसनल पिस नामक थिंक ट्यांकका अनुसार तालिवान संस्थापक मुल्ला ओमार र अल कायदा नेता ओसामा बिन लादेनको परिवारबीचमा वैवाहित सम्बन्ध थियो ।

    ९. तालिवानको आम्दानीको स्रोत के हो ?

    सिया मुस्लिमको कठोर कानून सरिया लागू गरेर सत्ताकब्जा गर्ने तालिवानको मूल मान्यता हो । उनीहरुलाई त्यो मान्यता राख्ने देश तथा व्यक्ति समूहले सहयोग गर्ने गरेका छन् ।

    तालिवानहरु आफूलाई इस्लामिक इमिरेट अफ अफगानिस्तान भन्छन् । उनीहरुको आम्दानीको अर्को स्रोत भनेको अफिमलगायतका लागूऔषधबाट लिइने कर हो । तालिवानले अफिम खेती र बिक्रीबापत दश प्रतिशत कर लिने विभिन्न मिडियाहरुले लेखेका छन् । कब्जा गरेको क्षेत्रमा भएका विभिन्न कारोबारबाट कर लिएर तालिवानले आम्दानी गर्दै आएको छ ।

    १०. कहिले भयो अमेरिका–तालिवान वार्ता ?

    तालिवानले सन् २०१३ को जुन महिनामा कतारको राजधानी दोहामा आफ्नो कार्यालय खोले । त्यसपछि कतारको समन्वयमा अमेरिकी अधिकारीसँग अनौपचारिक वार्ता भएको मानिन्छ ।

    अमेरिकासँग पहिलो प्रत्यक्ष वार्ता र शान्ति सम्झौता २०२० को फेब्रअरी २९ मा भयो । उक्त वार्तापछि अमेरिकी र न्याटो सैनिक पोस्टमा तालिवान आक्रमण घट्यो तर अफगान सरकारसँग भने बढ्यो । जुन अहिले झन् धेरै परिणाममा जारी छ ।

    ११. किन सशंकित छन् रुस, चीन र भारत ?

    अमेरिकी सेना अफगानिस्तानमा आउँदा सबैभन्दा धेरै विरोध गर्ने देश थिए, रुस र चीन । तर, अहिले उनीहरुलाई नै अमेरिकी सेना फर्किएपछि तनाव भएको छ । अफागानिस्तानमा भएको अस्थिरतमा मध्यएसिया जाने र आफूलाई समस्या हुने रुसको चिन्ता छ ।

    सीमा जोडिएको देश चीन–अफगान अस्थिरताले आफ्नो झिनजिझाङ प्रान्त झन् अस्थिर हुने चिन्ता चीनको छ । यही चिन्ता चिर्न तालिवान नेताहरुले मस्को र बेइजिङ गएर वार्ता गरेका थिए ।

    भारत तालिवान सत्ता आएपछि कास्मिरमा थप तनाव बढ्ने चिन्तामा छ । त्यहीं चिन्ताका कारण सन् १९९६ मा तालिवान सत्ता आउँदा मान्यता नदिएको भारत अहिले विभिन्न अनौपचारिक च्यानलबाट तालिवानसँग सम्पर्कमा भएको भारतीय मिडियाहरुले नै लेखेका छन् ।

    १२. के हो नेपाली गोर्खा सैनिक कनेक्सन ?

    मूलतः अफगानिस्तान अमेरिकी युद्धमैदान हो, जहाँ सुरुदेखि नै बेलायत सहभागी भयो । रोयटर्सका अनुसार ८१०० बेलायती सैनिक अफगानिस्तानमा खटिएका थिए ।

    सन् २०१४ को अक्टोबरमा बेलायतले आफ्ना फौजलाई फिर्ता लग्यो । ७०० सैनिक भने न्याटोको सदस्यको रुपमा कार्यरत रहिरहे । उनीहरु पनि पछि न्याटोसँगै फिर्ता भए ।

    अलजजिराका अनुसार अफगान युद्धमा ४५७ सैनिकको ज्यान गएको छ, जसमा नेपाली गोर्खा सैनिक पनि छन् । सबैभन्दा पहिले ज्यान गुमाउने गोर्खा सैनिक हुन् युवराज राई । उनको अफगानिस्तानको दक्षिणी प्रान्त हेल्मन्डमा २८ वर्षको उमेरमा मृत्यु भएको रोयटर्सले उल्लेख गरेको छ । उनी सन् २००८ नोभेम्बर ४ मा मारिएका थिए ।

    गोर्खालीको मृत्युसँगै बहादुरीको कथा पनि आयो, अफगानिस्तानमा । अट्याक्टिङ सार्जन्ट दीपप्रसाद पुनले भिक्टोरिया क्रसपछिको दोस्रो ठूलो पदक कन्सपिक्युअस ग्यालन्ट्री बेलायती महारानीबाट पाएका थिए । सन् २०१० को सेप्टेम्बर १७ मा आफ्नो पोस्टमा एक्लै हुँदा तीस तालिवानसँग बहादुरीपूर्वक भिडेकोमा उनले पदक पाएका हुन् ।

  • काबुलस्थित क्यानाडेली दूतावासमा काम गर्ने १११ नेपालीलाई सुरक्षित स्थानमा सारियो

    काबुलस्थित क्यानाडेली दूतावासमा काम गर्ने १११ नेपालीलाई सुरक्षित स्थानमा सारियो

    काठमाडौं । तालिवान आक्रमणको त्रास बढेसँगै काबुलस्थित क्यानाडा दूतावासमा सेक्युरिटी गार्डको काम गर्ने १११ जना नेपालीलाई सुरक्षित स्थानमा सारिएको छ । क्यानाडा दूतावास भने दुई दिनअघि नै बन्द भइसकेको थियो ।

    हार्ट इन्टरनेसनल कम्पनीका तर्फबाट १११ जना नेपाली क्यानाडा दूतावासको सुरक्षामा खटिँदै आएका थिए । अफगानिस्तानमा तालिवानको चौतर्फी कब्जापछि क्यानाडाले आफ्नो विशेक्ष सुरक्षा दस्ता नै पठाएर दूतावास खाली गराएको थियो । त्यसको दुई दिनपछि नेपाली कामदारहरूलाई सो स्थानबाट सारिएको हो ।

    क्यानाडा दूतावासमा काम गर्दै आएका हर्क बस्नेतले आफूहरूलाई आज कम्पनीले एयरपोर्टनजिकैको होटलमा ल्याएर राखेको जानकारी दिए ।

    ‘हामी यहाँ एक सय ११ जना नेपाली सबै अहिलेसम्म सुरक्षित छौं,’ उनले भने, ‘नेपाल फर्किनका लागि जहाजको पर्खाइमा छौं ।’ आफूहरूलाई अफगानिस्तानबाट आर्मीको जहाजमार्फत नेपाल वा भारतमा फर्काउने तयारी गरिएको सुनेको बस्नेतले बताए ।

    तस्बिर : क्यानाडा दूतावासमा कार्यरत हर्क बस्नेत ।