Tag: डुङ्गा दुर्घटना

  • महाकाली डुङ्गा दुर्घटना: बेपत्ता बालक भेट्टिएनन्, मृतकको भारतमै अन्तेष्टि

    महाकाली डुङ्गा दुर्घटना: बेपत्ता बालक भेट्टिएनन्, मृतकको भारतमै अन्तेष्टि

    बैतडी । महाकाली नदीमा डुङ्गा दुर्घटना भएर बेपत्ता भएका शिवनाथ गाउँपालिका–१ का आठ वर्षीय सन्दीप साउदको अवस्था अज्ञात रहेको छ । बुधबार साँझ शिवनाथ–१ स्थित महाकाली नदीको खाँडघाटमा डुङ्गा दुर्घटना हुँदा सन्दीप बेपत्ता भएका हुन् ।

    सन्दीपको खोजीका लागि नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरिएको भए पनि फेला पर्न नसकेको प्रहरी प्रवक्ता प्रहरी निरीक्षक दर्शन खड्काले जानकारी दिए । यसका साथै सन्दीपको खोजीका लागि भारतीय प्रहरीसँग समेत समन्वय भइरहेको जनाइएको छ ।

    डुङ्गा दुर्घटनामा परी मृत्यु भएका शिवनाथ–१ कै १३ वर्षीया मीना साउदको भने भारतमै अन्तेष्टि गरिएको छ । बिहीबार बिहान महाकाली नदीको पारि भारतमा मीनाको शव फेला परेको थियो । महाकाली नदीमा पानी बहाव बढी भएकाले नेपाल ल्याउन सक्ने अवस्था नहुँदा मीनाको बिहीबार भारतमै आफन्तले अन्तेष्टि गरेको प्रहरीले जनाएको छ ।

    दश जना सवार डुङ्गा पल्टिँदा आठ जना पौडेर बाँच्न भएका थिए भने मीना र सन्दीप बेपत्ता भएका थिए । दसैँंको पूजाका लागि शिवनाथ आएका चक्रसिंह साउदको परिवार लामो समयदेखि भारतको पञ्जाबमा बस्दै आएकाले बुधबार साँझ भारततिर जान लागेका बेला डुङ्गा दुर्घटनामा परेको हो ।

    महाकाली नदीमा पुल नहुँदा तल्लोसोराडका स्थानीयवासी जोखिम मोलेर डुङ्गाबाट महाकाली नदी तर्दै आएका छन् । जिल्लाको शिवनाथ र पञ्चेश्वर गाउँपालिका भारतसँग जोडिएका र भारत आवतजावत गर्दा पुल नहुँदा त्यहाँका बासिन्दा महाकाली नदीमा डुङ्गाको सहयताले वारिपारि जाने गर्दछन् । सरकार  भने माैन बसेकाे छ । रासस

  • महाकालीमा डुङ्गा दुर्घटना: एकको मृत्यु, एक अझै बेपत्ता

    महाकालीमा डुङ्गा दुर्घटना: एकको मृत्यु, एक अझै बेपत्ता

    कैलाली । महाकाली नदीमा डुङ्गा दुर्घटना हुँदा एकको मृत्यु भएको छ भने एकजना बेपत्ता रहेका छन् । मृत्यु हुनेमा शिवनाथ गाउँपालिका–१ की १३ वर्षीया मीना साउद रहेकी छन् । यस्तै शिवनाथ–१ कै आठ वर्षीय सन्दीप साउद बेपत्ता रहेका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक दर्शन खड्काले जानकारी दिए।

    महाकाली नदीस्थित शिवनाथ–१ खाँडघाटमा बुधबार साँझ १० जना सवार डुङ्गा दुर्घटनामा परेको हो । दुर्घटनामा परी मीना र सन्दीप बेपत्ता रहेकामा मीनाको शव आज बिहान ७ः३० बजे महाकाली नदी किनारमा फेला परेको प्रहरीले जनाएको छ । बेपत्ता सन्दीपको खोजीकार्य भइरहेको छ । खोजीका लागि नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरिएको छ ।

    डुङ्गामा सवार अन्य आठ जना सकुशल रहेका जिल्ला प्रहरी कार्यालयले जनाएको छ । जिल्लाको शिवनाथ र पञ्चेश्वर गाउँपालिका भारतसँग जोडिएका तथा भारततर्फ आवतजावत गर्दा पुल नहुँदा महाकाली नदीमा डुङ्गाको सहायताले जाने गर्दछन् । दुर्घटनाको कारण खुल्न नसकेको र घटनाको अनुसन्धान भइरहेको जनाइएको छ । रासस