Tag: ठगी

  • दुबई पठाइदिन्छु भन्दै ठगी गर्ने एक जना पक्राउ

    दुबई पठाइदिन्छु भन्दै ठगी गर्ने एक जना पक्राउ

    काठमाडौं । दुबई पठाइदिन्छु भन्दै ठगी गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । वैदेशिक रोजगारमा आकर्षक तलबको प्रलोभनमा पारी दुबई पठाइदिन्छु भनी रकम ठगी गरेको अभियोगमा काठमाडौं महानगरपालिका २८ बागबजार घर भई ललितपुर महालक्ष्मी नगरपालिका ६ बस्ने ४६ वर्षीय मन्जित चित्रकारलाई प्रहरीले पक्राउ गरेको हो ।

    मन्जितले दुबई पठाइदिन्छु भन्दै १ जना पीडितबाट ४ लाख रूपैयाँ लिई सम्पर्कबिहीन भएको भन्ने पीडितको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनलाई काठमाडौं महानगरपालिका १२ बाट पक्राउ गरेको हो ।

    उनलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।

  • अनलाइन मार्फत् ठगी गर्ने युवक गैरीधाराबाट पक्राउ

    अनलाइन मार्फत् ठगी गर्ने युवक गैरीधाराबाट पक्राउ

    काठमाडौं । महानगरीय अपराध महाशाखाले अनलाइन मार्फत् ठगी गर्ने युवकलाई १९ लाख सहित पक्राउ गरेको छ ।

    प्रहरीले काठमाडौं नेपालटार बस्ने रुकुम रन्मामैमकोट गाउँपालिका-३ का २३ वर्षीय विकास गुरुङलाई ठगी गरेको नगद १९ लाख ६० हजार रुपैयाँ सहित शुक्रबार दिउँसो पक्राउ गरेको हो ।

    विकासले वाटस्एप प्रयोगकर्ताहरूको मोबाइलमा सम्पर्क गरी चिठ्ठा परेको, विदेशबाट सामानरपार्सल आएको भन्दै उक्त सामान लिन र चिठ्ठामा दावी भुक्तानी लिन कर तिर्नु पर्ने भनी झुट्टा बहाना बनाई कर बापतको रकम विभिन्न व्यक्तिको बैंक खातामा जम्मा गर्न लगाएर ठगी गर्ने गर्थे ।

    महाशाखाको टोलीले उनलाई काठमाडौं गैरीधाराबाट उक्त रकमसहित  पक्राउ गरेको हो । उनलाई थप अनुसन्धानका लागि महानगरीय प्रहरी परिसर काठमाडौं पठाईएको उक्त महाशाखाले जनाएको छ ।

  • कम्बोडिया पठाइदिने भन्दै ६ जनाबाट ३९ लाख लिएर भागेका युवक पक्राउ

    कम्बोडिया पठाइदिने भन्दै ६ जनाबाट ३९ लाख लिएर भागेका युवक पक्राउ

    काठमाडौं । कम्बोडिया पठाइदिन्छु भनी ठगी गरेको अभियोगमा एक व्यक्ति पक्राउ परेका छन् ।

    महानगरीय अपराध महाशाखा मिनभवनको टोलीले तारकेश्वर नगरपालिका फुटुङ बस्ने काभ्रे महाभारत गाउँपालिका-१ गोकुले घर भएका २८ वर्षीय मिनध्वज भन्ने विचारमान मोक्तानलाई आज पक्राउ गरेको हो ।

    विचारमान समेतकाव्यक्तिहरूले भिजिट भिसामा कम्बोडिया जान प्रतिव्यक्ति ६ लाख ५० हजार लाग्ने भन्दै कम्बोडिया पुगेपछि क्यासिनोमा बोस गार्डमा काम लगाइदिने प्रलोभनमा पारी ६ जनाबाट ३९ लाख रूपैयाँ लिएर फरार भएको प्हररीले जनाएको छ ।

    बानेश्वरबाट पक्राउ परेका मिनध्वजलाई थप अनुसन्धानको लागि वैदेशिक रोजगार विभाग बुद्धनगर पठाइएको छ ।

  • उपराष्ट्रपति कार्यालयको शाखा अधिकृत हुँ भन्दै ठगी गर्ने पक्राउ

    उपराष्ट्रपति कार्यालयको शाखा अधिकृत हुँ भन्दै ठगी गर्ने पक्राउ

    काठमाडौं । उपराष्ट्रपति कार्यालयको शाखा अधिकृत हुँ भन्दै ठगी गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।

    पक्राउ पर्नेमा डोटी केआईसिंह गाउँपालिका -६ घर भई हाल किर्तिपुर नगरपालिका -७ काठमाडौं बस्ने २६ वर्षीय कुशल भट्ट भनिने केशवरराज भट्ट रहेका छन् ।

    भट्टले निजामती कर्मचारीको पोशाक समेत लगाएर उपराष्ट्रपति कार्यालयको नाम दुरुपयोग गरी बिभिन्न व्यक्तिहरुलाई अनेक बहानामा झुक्याएर ठगी गरिरहेको सूचनाको आधारमा उनलाई पक्राउ गरिएको हो । उनलाई कलंकी स्युचाटारबाट पक्राउ गरिएको महाशाखाले जनाएको छ ।

    प्रहरीले उनको साथबाट प्रयोग गर्ने गरेको सिमकार्डसहितको आइफोन १ थान, केशवराज भट्ट नामको प्रभु बैंकको एटिएम १ थान, किशोर भट्ट नामको त्रि-चन्द्र कलेजको बिद्यार्थी परिचयपत्र १ थान र किशोर भट्ट नामकै नेपाल प्रहरी अस्पतालको ब्लड ग्रुप कार्ड १ थान फेला पारेको छ ।

    अनुसन्धानको क्रममा यस अघि पनि २०७५ चैत २६ गते यस्तै प्रकृतिको साइबर क्राइम र ठगी मुद्दामा महाशाखाबाट उनलाई पक्राउ गरिएको थियो । भट्टले १ बर्ष कैद र ३० हजार जरिवानाको सजाय भुक्तान गरिसकेका प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको छ ।

    भट्टले कतिपय व्यक्तिहरुलाई सामाजिक सञ्जाल मार्फत् चिनजान गरि साथी बनि आफू परराष्ट्र मन्त्रालयको सह(सचिव समेत हुँ भनि विश्वासमा पारी ठगी गर्दै आएको समेत पाइएको छ ।

    साथै अन्य कोही व्यक्तिहरु भट्टबाट पीडित भएको भए महाशाखामा सम्पर्क गर्न आग्रह गरेको छ । थप आवश्यक अनुसन्धान कार्य भइरहेको छ।

  • सुई लगाएर पैसा डबल हुने भन्दै २ लाखबढी पैसा लिएर फरार

    सुई लगाएर पैसा डबल हुने भन्दै २ लाखबढी पैसा लिएर फरार

    काठमाडौं । पैसा डबल बनाइदिने भन्दै रकम लिएर ठगी गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय मोरङले एक जनालाई पक्राउ गरेको छ ।

    पक्राउ पर्नेमा विराटनगर महानगरपालिका -८ अशोक चोकमा ३५ वर्षीय चन्दन कुमार मुखिया रहेका छन् । मुखियाले रकम डबल बनाइदिने भन्दै गत चैत २७ गते अशोक चोककै ३१ वर्षीय राजकुमार रायसँग २ लाख २० हजार रुपैयाँ लिएका थिए ।

    मुखियाले रायलाई पैसा डबल बनाई दिन्छु भनि २ लाख २० हजार लिएर १ बाल्टिन चोखो पानी ल्याउनु भन्दै २ वटा गोल्डेन कलरको कागज झिकी पोको बनाई २ वटा केमिकल र सिरिन्ज समेत दिएका दिए ।

    उनले २४ घण्टामा यो पोकोमा केमिकल सिरिन्जबाट हान्नु पैसा डवल हुन्छ भन्दै २ लाख २० हजार रुपैयाँ ठगी गरी फरार भएका थिए ।

    जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले फरार मुखियालाई ४ महिना पछि आज दिउँसो पक्राउ गरेको प्रहरीले जनाएको छ । आज मिति थप अनुसन्धान कार्य भईरहेको प्रहरीले बताएको छ ।

  • फेसबुकको साथीले नै डुबाए, जापान पठाईदिन्छु भनेर ३९ लाख लिए

    फेसबुकको साथीले नै डुबाए, जापान पठाईदिन्छु भनेर ३९ लाख लिए

    काठमाडौ । महानगरीय अपराध महाशाखाले जापान पठाइदिन्छु भनी रकम ठगी गर्ने ४ जनालाई पक्राउ गरेको छ ।

    पक्राउ पर्नेमा मकवानपुर हेटौडा उ उपमहानगरपालिका- १२ पदमपोखरी घर भई हाल काठमाडौंको नयाँबजार बस्ने ३७ वर्षीया शुभद्रा परियार, इलाम सुर्योदय नगरपालिका- ४ अन्तु घर भई हाल नयाँबानेश्वर बस्ने ३३ वर्षीया पुजा राई, सिन्धुपाल्चोकको बाह्विसे नगरपालिका- ९ राम्चे घर भई कपन बस्ने ३३ वर्षीय राजेन्द्र ढकाल र भक्तपुर चाँगुनारायण नगरपालिका ७ खरिपाटीकी बासँबारी बस्ने २१ वर्षीय दिपिका केसी रहेका छन् ।

    उनीहरुले नक्कली फेसबुक आइडी बनाएर तानाकायोका नामबाट फ्रेन्ड रिक्वेस्ट पठाउने र आफू जापानको ईमिगेरेसनमा काम गर्ने नागरिक बताउँदै पीडितहरु सँग चिनजान गर्ने गरेका थिए । उनीहरुले पीडितहरुलाई कामदर भिषामा जापान पठाइदिने बताएका थिए ।

    त्यसबापत भिषा प्रक्रियाको लागि रकम पठाउनुपर्छ भनी प्रलोभनमा पारि विभिन्न बैंक खातामा ३९ लाख ६८ हजार ९९६ रुपैयाँ डिपोजिट गर्न लगाएको थिए ।

    तर पीडितहरुलाई जापान नपठाई सम्पर्क विहिन भई ठगी गरेको आरोपमा ४ जनालाई आज महानगरीय अपराध महाशाखाको टोलीले पक्राउ गरी थप अनुसन्धानको लागि महानगरीय प्रहरी परिसर काठमाडौं पठाइएको महाशाखाले जनाएको छ ।

  • ठगिएकी ८५ वर्षीया आमाको कथा- छोरीविरुद्ध उजुरी दिँदा हात काँपेको थियो ! (भिडियो)

    ठगिएकी ८५ वर्षीया आमाको कथा- छोरीविरुद्ध उजुरी दिँदा हात काँपेको थियो ! (भिडियो)

    काठमाडौं । नेपाल राष्ट्र बैंककी निर्देशक सुष्मा रिजाल गत चैत्र २२ गते पक्राउ परिन् । महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले पक्राउ गरेर थुनामा राखिएको एसएसपी अशोक सिंहले बताएका थिए ।

    उनीमाथिको अभियोग थियो– ८५ वर्षीया आमालाई ३ करोडको ठगी गरेर हेरचाह नगरेको । नागरिक ऐन २०७३ अनुसार मुद्दा दर्ता भई अनुसन्धान भइरहेको थियो । सोमबार काठमाडौं जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा पठाउने आदेश दियो ।

    जिल्ला अदालत, काठमाडौंले ज्येष्ठ नागरिक ऐन, २०६३ बमोजिमको कसूरमा थुनामा पठाउन आदेश दिएको काठमाडौं प्रहरीले जनाएको छ । अदालतको आदेशपछि उनलाई केन्द्रीय कारागार, सुन्धारा चलान गरियो ।

    एसएसपी सिंहका अनुसार प्रहरीले सुष्मालाई ८ महिनादेखि आमाको राम्रोसँग हेरचाह गर्न वा सम्पत्ति फिर्ता गरिदिन अनुरोध गर्‍यो । तर, उनले नटेरेपछि प्रहरी पक्राउ गर्न बाध्य भएको उनले बताए ।

    ०००

    बुढ्यौली चढ्दै गएपछि बा–आमासँग एउटा भरोसा हुन्छ– छोराछोरीको साथ । तर, त्यही साथ गुमाउनुपरेपछि उनीहरूको हालत कस्तो होला ?

    यही घटनाको भुक्तभोगी हुन्, शोभा रिजाल । ८५ वर्षीया शोभाले केही वर्षयता कुनै दिन चैनको श्वास फेर्न पाइनन् । उनका बिमारी शरीरले पीडा महसुस नगरेका पल हुन्थेनन् ।

    बन्द कोठाभित्र उनीमाथि मानसिक यातना दिलाइन्थे । २ वर्ष त उनी डरैडरमा बाँचिन् । डर कसैको नभई आफ्नै साइँली छोरीज्वाइँको थियो । ‘आफ्नै छोरीज्वाइँबाट जीवनमा नचिताएको दुःख पाएँ,’ शोभा भक्कानिँदै भन्छिन् ।

    केहीदिन अघि सरकारी वकिल कार्यालय धाएर फर्किँदै गरेकी थिइन् शोभा । थकित मुद्रामा थिइन् । चाउरिएका अनुहारमा खुसीका रेखा थिएनन् । ‘एक वर्ष भयो । कहिले प्रहरी प्रशासन धाउँछु, कहिले अदालत । शरीरभरि व्यथा छ । तर, सकी नसकी दौडिरहेको छु,’ लामो श्वास काढ्दै भन्छिन् उनी ।

    शोभालाई भेट्दा उनका साथमा छोरा बुहारी थिए । ०७१ सालदेखि अंश लिएर आमा–बाबुसँग छट्टिएका थिए, छोरा । ०७६ सालमा बिरामी भएयता उनी पुनः छोरासँगै बस्न थालेकी छन् ।

    मुद्दा मामिलाको लागि बुढो शरीर घिसार्दै हिँडेको धेरै भयो शोभाले । आफ्नै छोरीमाथि उजुरी दिँदा, मुद्दा हाल्दा हाँत कापेका छन्, छाति चर्केका छन् शोभाको । ‘जस्तै भए पनि आफ्नी छोरी, सानो दुःखले हुर्काएको थिइनँ । तर मप्रति ऊसकाे  माया हैन, स्वार्थ लुक्या रै’छ,’ शोभा भन्छिन् ।

    ०००

    २०७१ मा शोभा, उनका श्रीमान् भूपेन्द्र र जेठी छोरी गीताले मोरङको जिल्ला अदालतमा छोरा सुरेन्द्रलाई मुद्दा हालेका थिए । किन मुद्दा हालिएको भन्नेबारे शोभा खुल्दिनन् ।

    ‘सर्वोच्च अदालतको फैसलाबाट उनीहरू छुट्टिए,’ शोभाका एक आफन्त भन्छन् । त्यसपछि शोभा, भूपेन्द्र र जेठी छोरी गीता सुरेन्द्रबाट छुट्टिएर विराटनगर जनपथ टोलमा बस्न थाले ।

    शोभालाई २०६५देखि पाठेघरको क्यान्सर भएको थियो । पछि शल्यक्रियामार्फत् उनको रोग निको भयो । तर, २०७२ सालमा भूपेन्द्रलाई पनि क्यान्सर देखियो । यही क्यान्सरको शिकार भई उनी गल्दै गए ।

    क्यान्सर उपचारको क्रममा ०७३ साल फागुनदेखि सानेपास्थित ललितपुरमा उनै साइँली छोरी सुष्मा रेग्मीकहाँ बस्न थाले । त्यतिबेला उनीहरूले विराटनगर महानगरपालिका–६ स्थित ५ विगहा जग्गमा ५ करोडमा विक्री गरे । विराटनगर–६ स्थित आदर्श टोलमा रहेको घरसमेत बेचे ।

    क्यान्सरका कारण २०७५ सालमा श्रीमान् भूपेन्द्रको निधन भयो । त्यसपछि आफूलाई छोरीले दबाब दिन सुरु गरेको शोभा बताउँछिन् ।

    विराटनगर बखरीमा श्रीमान् भूपेन्द्रले किनेको जग्गा छोरी सुष्माले जबर्जस्ती उनको नाममा पास गराइन् । ‘मलाई एक्लै कोठामा थुनेर डर देखाउँथी, हप्काउँथी । मैले पास नगर्दीकन सुखै पाइनँ,’ शोभा भन्छिन्, ‘जेठी छोरी गीताको नाउँमा रहेको एक कट्टा जग्गा समेत पालनपोषण गर्छु भन्दै आफ्नो नाममा पास गराई ।’

    शोभा आफूले सही नगरेको पत्रमा पनि छोरीले कीर्ते सहीगरेको बताउँछिन् ।

    शोभाको माछापुच्छ्रे  बैंक थापाथलीमा रहेको १ करोड ४ सय ४३ लाख र सोही बैंकको लकरमा रहेको २२ तोला सुन, १०० तोला चाँदी र एक करोड ४४ लाख । त्यसको हालसम्मको ब्याज समेत कीर्ते गरेर छोरी सुस्माले हात पारेको उनको आरोप छ ।

    त्यसैगरी अरनिको सहकारी, विराटनगरमा शोभाको नाममा रहेको ६० लाख र त्यसको २ वर्षको ब्याज समेत गरेर  ७२ लाख रुपैयाँसमेत छक्याएर आफ्नै नाममा राखेको उनको आरोप छ ।

    श्रीमान् भूपेन्द्रको ०७५ मंसिर १ गते निधन भयो । उनको नाममा रहेको एक करोड पनि छोरी सुष्माको हातमा छ ।शोभाको डिम्याट नम्बर बमोजिमको सबै सम्पत्ति शेयर समेत उनका ज्वाइँ कमल प्रसाद रेग्मीले बेचेको उनको आरोप छ ।

    छोरीसँग आग्रह गर्दासमेत नदिएपछि उनी प्रहरीकहाँ धाउन बाध्य भइन् । त्यसपछि उनले गत असार ११ गते जिल्ला प्रशासन कार्यालयमा निवेदन दर्ता गराइन् । जिल्ला प्रशासन कार्यालय काठमाडौंको पत्र महानगरीय प्रहरी परिसर, टेकुमा दर्ता भयो । त्यसअघि वैशाख २५ गते मुद्दा दिँदा प्रहरीले दर्ता गर्न मानेको थिएन । तर, पटक पटक प्रहरीले ताकेता गर्दा पनि सुष्मा आइनन् ।

    श्रीमान्‌को निधन भएसँगै छोरी सुष्माको व्यवहार परिवर्तन भएको शोभा बताउँछिन् । आफू र जेठी छोरी( अपांग)लाई दुःख दिन त्यसैदिनबाट सुरु गरेको उनी बताउँछिन् ।

    ‘श्रीमान् मर्नेबित्तिकै चेक ल्याएर साइन गर भनी । मैले गरिदिएँ । नागरिकता पनि खोसी । वृद्धभत्ता पनि उसैले हात पारी,’ शोभा सुनाउँछिन् ।

    आफू बिरामी हुँदा पनि छोरीले दासको झैं व्यवहार गरेको शोभा सुनाउँछिन् । ‘फूलबारीमा पानी हाल्ने मालीको काम गरेँ । आफूले नसक्दा पनि लुगा धुन बाध्य भएँ,’ उनी गुनासो पोख्छिन् ।

    बिरामी हुँदा पनि सुष्माले बेवास्ता गरेको उनी बताउँछिन् । ‘म बिरामी भएर सिकिस्त भएँ । उपचार गर्ने सुरसार गरिनँ, त्यसपछि माइली छोरी गंगालाई पुकारेँ । मलाई उनै छोरीले बचाइ,’ शोभा सुनाउँछिन् ।

    हिजो लोकसेवा तयारीका लागि आफैंले घच्घच्याकी थिइन् शोभाले छोरीलाई । आफैंसँग राखेर तयारी गराइन् । छोरीले नाम निकालिन् । ‘भविष्यमा सुख दिन्छे भनेको थिएँ, उसैले मलाई यो हाल गराइ,’ शोभा सुँक्सुकाउँछिन् ।

    अहिले सुष्मा जेलमा छिन् । आफ्नो छोरीलाइै जेल हाल्न त मन छैन शोभालाई ।

    आफूलाई दुःख दिए पनि छोरीले दुःख पाएको हेर्न मन छैन । भन्छिन्, ‘यस्तो दिन देख्न मन थिएन मलाई । बाँच्ने स्थिति नभएपछि गर्नुपर्‍यो ।’

  • अनलाइन व्यापारमा ठगीः १९ वटा कम्पनी कारबाहीमा, ५ हजारदेखि १ लाखसम्म जरिवाना

    अनलाइन व्यापारमा ठगीः १९ वटा कम्पनी कारबाहीमा, ५ हजारदेखि १ लाखसम्म जरिवाना

    काठमाडौं । पछिल्लो समय अनलाइन कारोबार गर्ने कम्पनीहरूको संख्या बढेसँगै उपभोक्ता ठगिने क्रम पनि वृद्धि भएको छ । ई- कमर्सको माध्यमबाट ठगी गर्ने १९ वटा कम्पनी हालै कारबाहीमा परेका छन् ।

    नेपालमा कोरोनाको समयमा अरू व्यापार व्यवसाय ठप्प हुँदा पनि अनलाइन व्यापार फस्टाएको थियो । कोरोना रोक्न सरकारले घोषणा गरेको लकडाउनका समयमा अनलाइन व्यापार गर्ने कम्पनीहरू थपिएका थिए । तर, यसरी व्यापार गर्नेमध्ये कतिपयले उपभोक्ता ठगेको गुनासो आएपछि सरकारले कारबाही थालेको हो ।

    कोरोनाको समयमा घरमै बसी-बसी आफूलाई चाहिएको सामान किन्‍न पाइने र अनलाइनमार्फत नै पैसा तिर्न सकिने भएकाले उपभोक्ताहरू यसतर्फ आकर्षित भएका हुन् । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक नेत्रप्रसाद सुवेदीले ७ महिनामा १९ वटा अनलाइन व्यापार गर्ने कम्पनीलाई कारबाही गरेको बताए ।

    पछिल्लो समय कपडा, खाद्यान्‍न, फलफूल, तरकारी, औषधि, माछा र मासुसमेत अनलाइनबाट किन्‍न थालिएको छ । उपभोक्ताहरूको यसमा आकर्षणसँगै कम्पनी खोलेर अनलाइनमार्फत व्यापार गर्नेहरूको संख्यासमेत ह्वात्तै बढेको छ ।

    उनले भने, ‘विनादर्ता कारोबार गर्ने र छुट भन्दै उपभोक्ता ठग्नेहरू कारबाहीमा परेका छन् ।’

    सुवेदीका अनुसार कुनै पनि सरकारी निकायमा दर्ता नगरी अनलाइन व्यापार गर्न पाइँदैन । तर, यसरी व्यापार गर्नेको यकिन तथ्यांक सरकारसँग नभएकाले समस्या भएको उनले बताए ।

    पछिल्लो समय कपडा, खाद्यान्‍न, फलफूल, तरकारी, औषधि, माछा र मासुसमेत अनलाइनबाट किन्‍न थालिएको छ । उपभोक्ताहरूको यसमा आकर्षणसँगै कम्पनी खोलेर अनलाइनमार्फत व्यापार गर्नेहरूको संख्यासमेत ह्वात्तै बढेको छ । विभागको ७ महिनाको तथ्याङ्‍कले अनलाइन व्यापारको नाममा ठगी धेरै भएको देखिन्छ ।

    विभागले उपभोक्ताको उजुरीका आधारमा साउनदेखि माघ महिनासम्ममा १९ वटा कम्पनीलाई कारबाही गरेको हो । विभागले २४ वटा कम्पनीमा अनुगमन गरेर १९ वटालाई आर्थिक जरिवाना तिराएको छ । ती कम्पनीहरूबाट विभागले ७ लाख ३० हजार रुपैयाँ जरिवाना असुलेको हो । अनुगमन तथा कारबाही हुन थालेपछि ठगीमा केही कमी भएको विभागको भनाइ छ ।

  • सुनौलो कछुवा सहित पक्राउ परेकालाई थुना मुक्त गराई दिन्छौ‌‌‌‌ भन्दै ठगी गरेको आरोपमा पक्राउ

    सुनौलो कछुवा सहित पक्राउ परेकालाई थुना मुक्त गराई दिन्छौ‌‌‌‌ भन्दै ठगी गरेको आरोपमा पक्राउ

    भक्तपुर । बिना कारवाही सजाय र थुना मुक्त गराई दिन्छौ भनी ठगी गरेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

    पक्राउ पर्नेहरुमा सूर्यबिनायक नगरपालिका ६ बस्ने सिन्धुली सुनकोशी गाउँपालिका -४ भोलेनी घर भएका ३३ वर्षीय बीर बहादुर तामाङ र सूर्यबिनायक नगरपालिका-६ बस्ने रामेछाप सुनपाती गाउँपालिका -७ घर भएका २७ वर्षीय ग्याल्छेन लामा रहेका छन् ।

    गत कात्तिक १६ गते भक्तपुर सूर्यबिनायक नगरपालिका-६ गणेश मन्दिर नजिकबाट बिशेष सूचनाको आधारमा महानगरीय अपराध महाशाखाबाट खटिएको प्रहरीले धावा लामा र राज कुमार घिसिङलाई सुनौलो कछुवा सहित पक्राउ गरेको थियो ।

    पक्राउ परेका उनीहरुलाई बिना कारवाही सजाय र थुना मुक्त गराई दिन्छौ भनेर बिश्‍वास दिलाई ग्याल्छेन र बीरबहादुरले नगद २ लाख १० हजार रुपैयाँ ठगी गरी सम्पर्क बिहिन भएको भन्ने सूचनाको आधारमा महानगरीय प्रहरी वृत्त जगाती भक्तपुरबाट खटिएको प्रहरीले बीर बहादुरलाई शुक्रबार र ग्याल्छेनलाई शनिबार पक्राउ गरेको हो ।

    पक्राउ ग्याल्छेन र बीर बहादुर उपर जिल्ला अदालत भक्तपुरबाट ठगी कसूरमा ५ दिन म्याद थप गरी अनसुन्धान भइरहेको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ ।

  • फेसबुकमा जब भ्याकेन्सीको विज्ञापन पेज बनाएर बेरोजगार युवालाई ठग्दै, प्रलोभनमा नपर्न प्रहरीकाे अपिल

    फेसबुकमा जब भ्याकेन्सीको विज्ञापन पेज बनाएर बेरोजगार युवालाई ठग्दै, प्रलोभनमा नपर्न प्रहरीकाे अपिल

    काठमाडौं । सामाजिक सञ्जाल फेसबुकमा जब भ्याकेन्सीको पेज बनाएर ठगी गर्ने एक जना पक्राउ परेका छन् ।

    पक्राउ पर्नेमा दोलखा जिरी नगरपालिका -८ घर भई काडाँघारी बस्ने २३ वर्षीय शिव खड्का छन् ।

    उनले फेसबुक मार्फत बेरोजगार युवाहरुलाई आकर्षित गरी आर्कषक तलब, सुविधा दिने झुठो आश्वासन देखाएर १५ सय देखि ३५ सय सम्म ईसेवा मार्फत डिपोजिट गर्न लगाउने गरेका थिए ।

    खड्काले ४३ जना युवाबाट रकम असुलेर फरार भएका थिए । ती युवाहरुले ठगिएको भन्दै प्रहरीमा उजुरी दिएका थिए । महानगरीय अपराध महाशाखाबाट खटिएको टोलीले उनलाई बुधबार पक्राउ गरेको हो ।

    प्रहरीले यस्ता खालको प्रलोभनबाट बच्न समेत अपिल गरेको छ ।

  • भिजिट भिसाले डुबायो ६३ पूर्व सैनिकको साढे ६ करोड

    भिजिट भिसाले डुबायो ६३ पूर्व सैनिकको साढे ६ करोड

    काठमाडौं । समय दिउँसो १ बजे । घाम खासै खुलेको छैन । महानगरीय प्रहरी वृत्त महाराजगञ्जको गेटमै उभिएका छन्, चितवनको भरतपुर महानगरपालिका–१८ का कृष्ण घिमिरे । जसरी मौसम उज्यालो छैन, त्यसैगरी उनको अनुहार पनि मलिन छ । यसको पछाडि छुट्टै कथा छ ।

    एक वर्षअघि काठमाडौंको चक्रपथमा रहेको तीनजुरे म्यानपावर कम्पनीकी एजेन्ट सृजना अधिकारीसँग कृष्ण घिमिरेको साथीभाइमार्फत चिनजान भयो । ती एजेन्टले भिजिट भिसाको नाममा भीभीआईपी सुरक्षा गार्डमा दुबईमा प्रति महिना २ लाख ५० हजार तलब दिने गरी पठाउने आश्वासन दिलाए । त्यसका लागि एजेन्टले १० लाख दिनुपर्ने शर्त राखे ।

    नेपाली सेनाबाट भर्खरै मात्र अवकाश पाएका कृष्ण पनि २ लाख ५० हजार तलब पाउने लोभले १० लाख तिर्न तयार भए । कृष्ण १० लाख तिरेर दुबईमा काम गर्न तयार भए । त्यसपछि कागजी प्रक्रिया पूरा गरेर कृष्णलगायत ६३ जना पूर्व नेपाली सेनाको टोली प्रति व्यक्ति १० लाख रुपैयाँ नगद तिरेर करीब एक वर्षअघि माघको अन्तिम सातातिर दुबई उड्यो ।

    ०००

    ललितपुर, गोदावरीका विष्णु थापा पनि एक महिनाको तालिमसहित काम लगाउने भनेर १० लाख रुपैयाँ तिरेर भीभीआईपी सुरक्षा गार्डका रूपमा काम गर्न दुबई पुगे । उनलाई त झन् पौने ३ लाख मासिक तलब हुन्छ भनेर एजेन्ट सृजना अधिकारीले नै आश्वासन दिएकी थिइन् ।

    १६ वर्ष नेपाली सेनामा जागिरे जीवन विताएर घर फर्किंदा ८ लाख १० हजार उपदान पाएका थापाले त्यसैमा १ लाख ९० हजार ऋण निकालेर १० लाख रुपैयाँ तीनजुरे म्यानपावर कम्पनीकी एजेन्ट अधिकारीलाई बुझाएर विदेश उडे ।

    विदेश पुगेर एक महिना तालिम पनि लिए । तर त्यसपछि न त राम्रो बस्ने व्यवस्था न खाने व्यवस्था । शुरुमा उनीलगायत साथीहरूलाई दुबईमा राखिए पनि पछि गएर शारजहामा राखियो । दुई महिना काम गरेर पनि तलब नपाएको थापाको गुनासो पछि त्यहाँ रहेका एजेन्टले अर्को महिना तलब आउने भन्दै थुमथुम्याए ।

    थापालगायतले १५ दिन एचपीटी कम्पनीमा तालिम गरे । त्यहाँ पैसा नदिएपछि अर्को एचएसपी नामक कम्पनीमा सुरक्षा गार्डका रूपमा काम गरे । त्यस कम्पनीमा पनि तीन महिना बितिसक्दासम्म तलब नदिएपछि उनी घरबाटै पैसा मगाएर नेपाल फर्किए ।

    नेपाल आइसकेपछि थापाले आफ्नो निर्वाचन क्षेत्रका जनप्रतिनिधि सांसद नवराज सिलवाललाई समेत पीडा सुनाए । आफू ठगिएको भनेर गृहमन्त्री रामबहादुर थापासम्म पनि कुरा पुर्‍याए । तर कसैले पनि उनको कुरा सुनिदिएन ।

    ९ महिनाको दुबईको पीडादायी बसाइबारे आँखाभरि आँसु पार्दै थापाले भने– एउटा रोटी दुई जनाले बाँडेर समेत दिन बिताउन बाध्य भयौं ।

    भलै, थापा नेपाल फर्किंदा उडान टिकटको २४ हजार रुपैयाँ तिरेर फर्किएका थिए तर उनका साथीहरूले ५० हजारदेखि १ लाखसम्म पनि उडान भाडा तिर्नुपर्‍यो ।

    नेपाली सेनामै कार्यरत व्यक्तिकै सम्पर्कबाट थापा एजेन्टको सम्पर्कमा पुगेका थिए । थापाका अनुसार उनीहरूले पनि सम्पर्कमा ल्याएबापत कमिसन खाने गरेका रहेछन् । आफ्नै साथीहरूले आफूबाट कमिसन खाएको पनि उनले पाए ।
    यतिखेर थापालाई छोराछोरी र श्रीमतीलाई कसरी पाल्ने भन्ने चिन्ताले सताउन थालेको छ । उनले कर्मचारी संचय कोषबाट ३० लाख त ऋणै लिएका छन् । अहिले १ लाख २० हजार त मासिक ब्याज मात्रै तिर्छन ।

    ०००

    दोलखाकी लक्ष्मी कार्कीका श्रीमान्को कथा पनि उनीहरूको भन्दा केही फरक छैन । नेपाली सेनाबाट अवकाश पाएपछि विदेशमा सुरक्षा गार्डमा जागिर खाएर टन्न पैसा कमाउने सपना थियो उनी र उनका श्रीमानकाे । तर उनको सपना मात्रै भत्किएन, दैनिकी पनि टुटेको छ ।

    अघिल्लो वर्ष पुष २१ गते तीनजुरे म्यानपावर कम्पनीमा काम गर्ने सृजना अधिकारीले ८ लाख ५० हजार रुपैयाँ लिएर कार्कीलाई दुबई उडाइन् । मासिक २ लाख २५ हजार तलब दिने आश्वासन बाँडेकी थिइन् अधिकारीले ।

    उनका श्रीमानसहित ६३ जनालाई १०/१० लाखका दरले हुन आउने ६ करोड ३० लाख रुपैयाँ असुलेर दुबई पठाइएको थियो । लक्ष्मीका अनुसार पाँच महिनासम्म उनका श्रीमानसँगै अन्यलाई एउटा कोठामा थुनेर राखिएको र राम्रोसँग खाने–बस्ने समेत व्यवस्था गरिएको थिएन ।

    त्यतिबेला पीडित लक्ष्मी कार्कीले आफ्नो १० लाख जे–जस्तो भए पनि श्रीमानलाई नेपाल फर्काइदिन एजेन्ट सृजना अधिकारीलाई आग्रह गरिन् । अधिकारीले भने चिन्ता नलिन भन्दै काम दिने आश्वासन दिइरहिन् । तर ७ महीना बितिसम्दा पनि कोरोनाको कारण उनका श्रीमान् नेपाल फर्किन सकेनन् र एजेन्टले पनि नेपाल फर्काएन ।

    उनीहरू दुबई पुगेपछि सबैभन्दा पहिले त्यहाँ रहेका एजेन्ट श्याम थापाको सम्पर्कमा पुगेका थिए । श्याम ती ६३ जनालाई लिन दुबईस्थित विमानस्थलमा नै पुगेका थिए । विमानस्थलबाट श्यामले ती ६३ जनालाई सीधै लगेर अनजान ठाउँमा राखे । त्यहाँ राखेर एउटा कम्पनीमा पनि पुर्‍याए । तर जुन कम्पनीमा श्यामले पुर्‍याएका थिए, त्यो कम्पनी नै फर्जी थियो ।

    ती ६३ जनाले पुगेको दुई महिनासम्म त राम्रैसँग खान बस्न पाए । तीन महिना बित्न नपाउँदै विश्वभर फैलिएको कोरोना महामारीले दुबई पनि अछुतो रहेन । त्यसपछि भने श्याम भन्ने एजेन्ट उनीहरूको सम्पर्कमै आउन छोडे । खान बस्न नपाउँदा, भनेको जस्तो काम पनि नपाउँदा र फर्जी कम्पनीमा पुर्‍याइएका कारण उनीहरू ६३ जना नै बसेको घरबाट हटाइए ।

    बस्ने घरबाट नै निकाला हुन पुगेपछि उनीहरू कैयौं रात सडकमै सुते भने कैयौं दिन भोकै बसे । त्यहाँ बसेर काम पनि नपाउने, खान पनि नपाइने र बस्न पनि नपाइने भएपछि पीडितले फेरि श्याम थापालाई भेटे । श्यामले भने आफूले केही गर्न नसक्ने भनेर उनीहरूलाई नेपाल फर्किन सुझाए ।

    कोभिड–१९ का कारण त्यति नै बेला सरकारले उद्धार उडान गर्न शुरु गर्‍यो । उनीहरूले हारगुहार गरेर आफूहरूलाई नेपाल फर्काउन आग्रह गरे । कहिले दूतावास धाए त कहिले एजेन्ट श्याम थापाकहाँ पुगे । केही उपाय नलागेपछि अरू मानिसले सामान्यतः २० हजारको हाराहारीमा उडान भाडा तिरेर फर्किरहेको अवस्थामा उनीहरूले भने ६० हजारसम्म हवाई उडान शुल्क तिरेर नेपाल फर्किए । नेपाल फर्किएर पनि होटलमा क्वारेन्टाइनमा बसेर हजारौं रुपैयाँ खर्चिनुपर्‍यो ।

    लक्ष्मीका श्रीमान्लाई एजेन्ट सृजना अधिकारीले नेपाल नफर्काई झुलाउनका लागि साढे ८ लाखको भदौ २ गतेका लागि चेक दिइन् । चेक लिएर बैंकमा पुग्दा खातामा पैसा नरहेको जानकारी बैंकले गरायो । यतिबेलासम्म करीब ४० जनाजति पीडित आफ्नै घरबाट पैसा मगाएर उद्धार उडानमार्फत नेपाल फर्किसकेका थिए ।

    अरू पीडितलाई पनि साउन २२ गतेको मितिमा सृजना अधिकारीले चेक काटिदिएकी थिइन् । तर बैंक खातामा पैसा नभएपछि साउन २६ गतेबाट सबै पीडित मिलेर एजेन्टको खोजी शुरू गरे ।

    यतिबेलासम्म करीब ४० जना जति पीडित नेपाल फर्किसकेका थिए । नेपाल आइपुग्ने बित्तिकै उनीहरूले एजेन्ट र म्यानपावर कम्पनीलाई भेटेर पैसा माग्न थाले । एजेन्टले दिन्छु भनेर मात्र टारिरहे । तर ७ महिना बित्यो, पीडितको बोली सुक्यो, गोडा थाके तर पैसा फिर्ता भएन ।

    पैसा जतिपटक मागे पनि नदिएपछि उनीहरूको टोलीले महानगरीय प्रहरी परिसर टेकुमा उजुरी गर्‍यो । त्यहाँ मात्र नभई उनीहरूले वैदेशिक रोजगार विभागको कार्यालय, बुद्धनगरमा पनि उजुरी गरे ।

    वैदेशिक रोजगार विभागमा उजुरी गरेपछि विभागले पक्राउ पुर्जी जारी भयो । पक्राउ पुर्जी जारी गरेको ३ महिना बितिसकेको छ, तर ठगी गर्ने एजेन्ट पक्राउ परेका छैनन् ।

    अहिले ठगिएकाहरूको टोली कहिले म्यानपावर कम्पनी, कहिले वैदेशिक रोजगार विभाग, कहिले महानगरीय प्रहरी परिसर टेकु त कहिले महानगरीय प्रहरी वृत्त बालाजु धाइरहेको छ ।

    १० लाख एजेन्टलाई नै नगद दिएका पीडितले प्रतिव्यक्ति १/१ लाखका दरले शपिङ गरेका थिए भने फर्किने बेलामा थप १ लाख लागेपछि प्रतिव्यक्ति १२ लाख रुपैयाँसम्म खर्च भइसकेको छ ।

    म्यानपावर कम्पनीको कम्पाउण्डमा नै आर्थिक कारोबार भएको भए पनि अन्य पुष्टि हुने कागज नभएका कारण पीडितले म्यानपावरविरुद्ध उजुरी हाल्न सकेका छैनन् । वैदेशिक रोजगार विभागका अनुसार पीडितले सृजना अधिकारी, श्याम थापा र सन्तोष थापाका नाममा वैदेशिक रोजगार विभाग तथा प्रहरीमा उजुरी गरेका छन् ।

    ‘जे जति दुःख पाउनु पाइहालियो । अब अरू केही पनि चाहिंदैन हाम्रो लगानी भएको पैसा फिर्ता गरे पुग्छ’ पीडित कृष्णको भनाइ छ ।

    नेपाली सेनामा कार्यरत रहेका बेला मिसनमा विदेश पुगे पनि काम गर्नका लागि भनेर कृष्ण पहिलो पटक विदेश गएका थिए । तर पहिलो गाँसमा नै ढुंगा लागेपछि उनी अब कहिल्यै विदेश नजाने निर्णयमा पुगेका छन् ।

    यो ठगीमा म्यानपावर कम्पनीले आफ्नो संलग्नता नभएको बताइरहे पनि ती एजेन्ट सृजना अधिकारीसँग छलफल तथा समझदारी भने तीनजुरे म्यानपावर कम्पनीको कम्पाउण्डभित्रै भएको थियो । समझदारी मात्र होइन, हरेक व्यक्तिले बुझाउनुपर्ने १० लाख रुपैयाँ पनि कम्पाउण्डभित्रै सृजना अधिकारीलाई बुझाइएको थियो ।

    तर अहिले तीनजुरे म्यानपावर कम्पनीले भने सृजना अधिकारी आफ्नो कम्पनीमा कार्यरत नरहेको, एजेन्ट पनि नभएको दाबी गर्दै आएको छ ।

    विष्णु थापाले पनि नगद १० लाख नै सृजना अधिकारीलाई दिएका थिए । त्यसका लागि भोलि भनेजस्तो काम नपाए पैसा फिर्ता गर्ने भन्दै १० लाखकै चेक सृजनाले उनलाई दिएकी थिइन् । काम गर्ने कम्पनी नै फर्जी भएपछि र तीन महिनासम्म पनि तलब नपाएपछि दुबईबाटै थापाले सृजना अधिकारीलाई फोन गरेर भनेजस्तो काम र पैसा नपाएको गुनासो गर्दै नेपाल फर्किन चाहेको बताएका थिए ।

    तर सृजनाले भने केही पनि हुँदैन चिन्ता नलिन भनेपछि उतै रोकिए । त्यसपछि कोरोनाले गर्दा उनलाई नेपाल फर्किन नै मुश्किल भयो । करिब ६ महिना बितेपछि मात्र उनी बल्ल नेपाल फर्किन पाए ।

    समझदारी गरेर १० लाख रुपैयाँ दिंदा कृष्णलाई आफू ठगिने कुनै पनि आशंका थिएन । सृजना अधिकारीले काम लगाउन नसके १० लाख रुपैयाँ फिर्ता गर्ने भनेर चेक पनि दिएकाले अविश्वास गर्ने ठाउँ नै भएन ।

    ०००

    उमेरले २५ वर्षकी सृजना अधिकारी बूढानीलकण्ठको गणेशचोकमा बस्दै आए पनि स्थायी ठेगाना भने झापाको शिवसताक्षी नगरपालिका वडा नम्बर ९ हो । तर अहिले सृजना अधिकारी र उनका श्रीमान् भाइराम पौडेल भने फरार छन् । पीडितसँग सुरक्षा गार्डमा पठाउनका लागि १०–१० लाख एजेन्टले लिएर पछि भनेजस्तो काम र तलब नपाए रुपैयाँ फिर्ता गर्ने भन्दै काटेको चेकबुक मात्र छ ।

    त्यससँगै संयुक्त रूपमा समझदारी पत्र पनि छ । र एजेन्टकै अनुमतिमा रकम बुझाउँदा लिएको भिडियो पनि पीडितसँग सुरक्षित छ ।

    दुबई गएका ६३ जनाबाट प्रतिव्यक्ति १० लाखका दरले ६ करोड ३० लाख रुपैयाँ तीनजुरे म्यानपावर कम्पनीकी सृजना अधिकारीले ठगेको पीडित बताउँछन् । पैसा लिने व्यक्ति नै फरार भएपछि उनीहरूले वैदेशिक रोजगार विभागमा उजुरी दिएपछि विभागले प्रमाण जुटाउने काम गरिरहेको विभागका निर्देशक एवं सूचना अधिकारी टीकामणि न्यौपानेले बताए ।

    कोभिडकै बीचमा कति ठगिए ?

    कोभिड–१९ को महामारीका बीचमा पनि चालु आर्थिक वर्ष २०७७/७८ को पहिलो महिना साउनमा अन्तिम श्रम स्वीकृति लिनेको संख्या ३ हजार १५२ जना रहेको छ । तर यसै अवधिमा मात्र १० वटा म्यानपावर कम्पनीविरुद्ध ७० लाख ३ हजार ४५० रुपैयाँ बिगो दावीसहित वैदेशिक रोजगार विभागमा उजुरी परेको छ । जसमध्ये ५० लाख विगो दाबी विभागले म्यानपावर कम्पनीबाट भराएको छ भने एउटा उजुरी फरफारक गरेको छ ।

    यति मात्र नभई एक महिनाको अवधिमा नै १२ जनाविरुद्ध १ करोड ५४ लाख ३० हजार ६०० रुपैयाँ बिगो दाबीसहित वैदेशिक रोजगार विभागमा उजुरी परेको छ । विभागका अनुसार साउन महिनामा १ लाख ५ हजार बिगो दाबीसहित १४ वटा मुद्दा वैदेशिक रोजगार न्यायाधिकरणमा पनि दर्ता भएका छन् ।

    चालु आर्थिक वर्षको भदौ महिनामा भने १९८ जनाले अन्तिम श्रम स्वीकृति लिंदा तीन वटा म्यानपावर कम्पनी विरुद्ध २६ लाख ६ हजार बिगो दाबीसहित उजुरी परेको छ ।

    भदौ महिनामा नै वैदेशिक रोजगार विभागमा ७१ लाख २२ हजार बिगो दाबीसहित चार जनाविरुद्ध उजुरी परेको छ । त्यसमध्ये विभागले ७ जना विरुद्ध २ लाख ५५ हजार बिगो दाबीसहित वैदेशिक रोजगार न्यायाधिकरणमा मुद्दा दर्ता गरेको छ ।

    चालु आर्थिक वर्षको दुई महिनामा यस्तो अवस्था हुँदा गत आर्थिक वर्ष २०७६/७७ मा भने ३४१ व्यक्ति विरुद्ध २४ करोड ९८ लाख ६३ हजार ७०६ रुपैयाँ बिगो दाबीसहित वैदेशिक रोजगार विभागमा उजुरी परेको थियो । जसमध्येबाट विभागले २० करोड ५८ लाख ६५ हजार ४९५ रुपैयाँ बिगो दाबीसहित २०१ जना विरुद्ध वैदेशिक रोजगार न्यायाधिकरणमा मुद्दा दर्ता गराएको थियो ।

    ०००

    गएको एक वर्षको अवधिमा विश्वका १२७ मुलुकमा ३ लाख ६८ हजार ४३३ जना नेपाली अन्तिम श्रम स्वीकृति लिएर विदेशिएका थिए । वैदेशिक रोजगार विभागको तथ्यांक अनुसार विभागबाट इजाजत लिएर ८१३ वटा म्यानपावर कम्पनीले सक्रिय भएर वैदेशिक रोजगार व्यवसाय सञ्चालन गर्दै आएका छन् ।

    तर ४१ वटा म्यानपावर कम्पनी भने सक्रिय छैनन् । विभागले अहिलेसम्म वैदेशिक रोजगार ऐन तथा नियमावली विपरीत काम गर्ने १०० म्यानपावर कम्पनीलाई कालोसूचीमा राखिसकेको छ ।

    वैदेशिक रोजगारीमा ठगी बढ्दै गएको भन्दै गत वर्ष मात्र वैदेशिक रोजगार ऐन संशोधन गर्नका लागि बनेको विधेयकमार्फत ऐन संशोधन गरेर म्यानपावर कम्पनीले राख्नुपर्ने धरौटी रकम लाखबाट बढाएर करोडमा पुर्‍याएको थियो ।

    ऐनमार्फत नै वैदेशिक रोजगार व्यवसाय सञ्चालन गर्दै आएका म्यानपावर कम्पनीले एजेन्ट राख्न पाउने व्यवस्था पनि खारेज गरिसकेको छ ।

    हेर्नुस् पीडित पूर्वसैनिकको पीडा

    https://www.youtube.com/watch?fbclid=IwAR2ht9qG-WG7tkZUb7fA1LU2hpL0HTUAV7Syy1dJLLuqfjOSSm3RTf-83z0&v=Mfvk5EQqg3U&feature=youtu.be