नवलपुर । नवलपुरमा दुर्घटना न्यूनीकरणका लागि ट्र्याक्टरमा स्टिकर टाँस्ने अभियान सुरु गरिएको छ । कावासोतीको रिफ्रेस सेन्टरमा आज एक कार्यक्रमबीच स्टिकर टाँस्ने अभियान थालनी गरिएको हो ।
जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक प्रज्ज्वल महर्जनले ट्र्याक्टरमा स्टिकर टाँसेर अभियानको सुरुआत गर्नुभएको हो । अभियानको सुरुआत गर्दै उनले दुर्घटनाबाट मानवीय र भौतिक क्षति हुँदा चालक, सहचालक, सर्वसाधारण नागरिकमा धेरै असर पर्ने भएकाले त्यस्ता असरलाई कम गर्नसमेत यस अभियानले टेवा पुग्ने बताए ।
दुर्घटना न्यूनीकरण गर्ने दायित्व प्रहरीको मात्रै नभइ व्यवसायी र सबै नागरिक रहेको उनको भनाइ छ । रातिको समयमा ट्र्याक्टर नदेखिँदा पछिल्लो समय भित्री सडक खण्डमा दुर्घटनामा वृद्धि भएको बताँदे उनले ट्र्याक्टरको ट्रलीमा ठोकिएर बढी दुर्घटना हुने गरेको बताए ।
आवश्यक कागजात भएकाले मात्रै ट्र्याक्टर चलाउनसमेत अनुरोध गर्दै रातिको समयमा ट्र्याक्टरको ट्रली नदेखिँदा धेरै दुर्घटना हुने गरेकाले न्यूनीकरण गर्न अभियान थालिएको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख नारायण थापाले बताए । दुर्घटना न्यूनीकरणमा प्रहरीले मात्रै गरेर नहुने भएकाले व्यवसायीसँगसमेत समन्वय गरेर यो अभियान सञ्चालन गरिएको उनको भनाइ छ ।
चालु वर्षमा मात्रै आठ ट्र्याक्टर दुर्घटनामा परेर जिल्लामा दुई जनाको मृत्यु भएको छ । स्टिकर टाँसेपछि रातिमा पछाडीबाट आउने अन्य सवारी साधनले ट्र्याक्टर देख्ने र दुर्घटना न्यूनीकरण गर्न मद्दत पुग्ने बताइएको छ ।
