Tag: टीकटक

  • टीकटकमा भिडेका पुण्य गौतमः दुई दिन लाइभ बस्दा दुई लाख कमाए ! (कुराकानीसहित)

    टीकटकमा भिडेका पुण्य गौतमः दुई दिन लाइभ बस्दा दुई लाख कमाए ! (कुराकानीसहित)

    काठमाडौं । युट्यूवरलाई अन्तर्वार्ता दिएर दिन बिताउने पुण्य गौतम विश्वासको अचानक दिनचर्या फेरिएको छ । अचेल उनी दिनरात टीकटकमा झुण्डिइरहेका हुन्छन् ।

    टीकटक लाइभमा बसेकै भरमा मनग्गे आम्दानी गर्न सकिने चाल पाएपछि गौतम अरु सबै कामधन्दा (प्राय फोगटका) छाडेर यसमा होमिएका हु्न् । उनलाई छोटो समयमै फलिफाप भएको छ । तीन दिन लाइभ बस्दा करिब २ लाख रूपैयाँ आम्दानी भएको उनले बताए ।

    कञ्चनपुरका अंशु बर्मा नाम गरेका युवकले १५ महिनामै टीकटकबाट करोड कमाएको भनेर सामाजिक सञ्जालमा निकै चर्चा भइरहेको थियो । उनलाई फ्लप पार्ने गरी पुण्य गौतम उदाएका छन् ।

    गौतम पहिलोपटक गत शुक्रबार बेलुकी श्रीमतीसँगै लाइभमा बसेका थिए । ९ बजेबाट लाइभ बसेका उनी बिहान साढे ५ बजेमात्र उठे । आफ्नो लाइभमा एकैपटकमा १२ हजारसम्म प्रयोगकर्ताहरू जोडिएको गौतमले बताए ।

    ‘त्यसपछि त मलाई रस पसिहाल्यो,’ उनले भने, ‘अब समय मिलेसम्म बसिन्छ ।’

    श्रीमतीको प्रेरणाले आफू टीकटक लाइभमा बस्न थालेको गौतमले बताए । उनले भने, ‘यसभित्रका प्राविधिक पक्षहरुबारे मलाई धेरै जानकारी थिएन । श्रीमतीले नै सबै सिकाएकी हुन् ।’

    डलर कमाउनकै लागि निद्रा मारीमारी टीकटकमा लाइभमा बस्न थालेको भनेर उनको ट्रोल पनि भइरहेको छ । गौतम भने डलर कमाउने भन्दा पनि संसारभरका मानिसहरूसँग जोडिने उद्देश्य लिएको बताउँछन् ।

    ‘यो टीकटकको दुनियाँ गजबको रहेछ,’ उनले भने, ‘यसमा अल ओभर द वर्ल्ड जोसँग पनि जोडिन सकिन्छ । यही कुराले मलाई लोभ्याएको हो ।’

    गौतमसँग गरिएको थप संवादः

    – युट्यूवमा छाइरहनुभएकै थियो, एक्कासी कसरी टीकटक लाइभको भुत चढ्यो तपाईंलाई ?

    इमान्दारितापूर्वक भन्नुपर्दा म योजनाबद्ध तरिकाले आएको होइन । अस्ति शुक्रबार के भयो भने श्रीमतीजीले ‘एकछिन फ्रेस हुनुपर्‍यो लाइभमा बसौं’ भन्नुभयो । ल न त भनेर बसेँ । म देखिनासाथ एकैचोटि ४-५ हजार जोडिन आउनुभयो ।

    लाइभमा आउनेहरूले धमाधम उपहारहरू फ्याँक्नुहुने रहेछ । मलाई त यस्तो हुन्छ भन्ने पनि थाहा थिएन । गजबै लाग्यो । अनि त म ९ बजेदेखि लाइभ बसेको मान्छे बिहान साढे पाँच बजे मात्रै उठेँ । त्यतिञ्जेलमा मरोमा ३ लाखजति लाइक आएछ । एकचोटिमा १२ हजारसम्म जोडिन आउनुभयो । तपाईंले हेर्नुभएको होला त्यो बेला निद्राले आँखा पनि राताराता भएका थिए ।

    त्यसदेखि यता लगातार बसिरहेको छु । गजब मजा आइरहेको छ ।

    – तपाईंप्रति टीकटकमा मान्छेहरूको यतिविधि आकर्षण चाहिँ किन होला त ?

    हेर्नुस्, अरुले हेर्दा जाबो लाइभ बस्ने त हो नि भनेजस्तो देखिन्छ । तर, यो सजिलो काम होइन । यसमा धेरै दु:खकष्टहरू छन् । धैर्यता चाहिन्छ । लगातार बोलिरहने सामर्थ्य चाहिन्छ । र, सबैभन्दा मुख्य कुरा त सेन्स अफ ह्यूमर चाहिन्छ ।

    मेरो सेन्स अफ ह्यूमर तपाईंलाई थाहा नै छ । मान्छेहरूले भन्ने गर्छन् कि भरतमणि पौडेल कमेडी च्याम्पियन भए पनि पुण्य गौतमले जति हँसाउन सक्दैन । म आफ्नो सेन्स अफ ह्यूमरले सबैलाई लाइभमा अड्याएर राख्न सक्छु । सबैमा यस्तो क्षमता कहाँ हुन्छ भन्नुस् त ?

    एकजना विदेशमा बस्ने इशा गुरुङ भन्ने बैनी हुनुहुन्छ । सामाजिक सञ्जालमा धेरै फलोअर्स छन् उहाँका । उहाँले पनि लाइभमा बस्छु भनेर तात्नुभएछ । तर, धेरैले सुझाव दिएछन् कि तपाईंले सक्नुहुन्न किनकी तपाईंसँग पुण्य गौतमजस्तो बोल्ने र हँसाउने क्षमता छैन । त्यसपछि हच्किनुभयो ।

    – लाइभ बसेर दिनमै लाखौं कमाइरहनु भएको चर्चा छ, वास्तविकता के हो ?

    इमान्दारितापूर्वक भन्नुपर्छ पैसा त कमाइँदो रहेछ । तीन दिनमा म दुई दिनमात्रै लाइभ बसेँ । बीचमा एक दिन ब्रेक लिएँ । दुई दिन ४८ घण्टामा शौचालय जाने, खाने र सुत्नेबाहेक सबै समय लाइभमा बिताएको छु । यसरी लाइभ बस्दा झण्डै १८/१९ सय डलर जति आम्दानी भएको छ । यद्यपि, पैसा साट्न चाहिँ भ्याएको छैन ।

    – तपाईं डलर कमाउने लोभले मात्रै टीकटक लाइभमा भिडिरहनुभएको हो कि अरु पनि कारण छन् ?

    इमान्दारितापूर्वक भन्नुपर्दा मैले चाहिँ सामाजिक सेवामा खर्च अलिकति गरौं भनेर हो । मुख्य उद्देश्य यो हो । अर्को कुरा, टीकटकमा अशिक्षित अल्पशिक्षित र आलाकाँचा मान्छेहरु हावी भए । यहाँ शिक्षित बौद्धिक राजनीतिक बुझेको मान्छे पनि चाहिन्छ भनेर हो ।

    मलाई अहिले अंशुबर्मा भन्ने भाइसँग पनि तुलना गरिरहेका छन् । तर, उनको र मेरो कुनै तुलना हुँदैन । उनी मेरो लागि त छोराजस्तो हो । मैले र उनले बोल्ने प्रस्तुति स्तर नै अर्को हुन्छ । जे भए पनि म त पीएचडी स्कलर हो नि । म राजनीतिबाट उदाएको मान्छे । ती केटाकेटीसँग प्रतिस्पर्धा गर्नु नै छैन । तर, मान्छे के भन्न लागेका छन् भने अंशु बर्माको मार्केटको सटर पुण्य गौतमले बन्द गराइदिन लाग्यो पनि भन्छन् ।

    – तपाईंहरूले लाइभ बसेर कमाउने पैसा त आखिर नेपालीहरुकै हो नि होइन ?

    मेरो लाइभमा विदेशीहरू पनि आउनुहुन्छ । उहाँहरूले पनि मलाई उपहार पठाउनुभएको छ । आज लाइभ बस्दा एकजना यूरोपको व्यक्ति आउनुभएको थियो । अल ओभर द वर्ल्डबाट आउनुहोस् भन्ने चाहन्छु ।

    – तर अरु देशका मान्छेहरूसँग अन्तरक्रिया गर्न त भाषाको समस्या आउँदैन ?

    अंग्रेजी नजान्ने हो भने त समस्या आउन सक्छ । तर, म त पीएचडी स्कलर मान्छे हो । मेरो श्रीमतीले पनि पोलिटिकल साइन्समा मास्टर गरिसकेकी छन् । हामीलाई भाषाको समस्या छैन । म अंग्रेजी माध्यमबाट आउने अल ओभर द वर्ल्डका मान्छेहरूलाई स्वागत गर्छु ।

    – यसरी दिनरात लाइभमा बस्दा तपाईंले बोल्ने विषय चाहिँ के हुन्छ ?

    म अलिकति मोटिभेसनल कुराहरू भनिरहेको हुन्छु । तर, टीकटक लाइभमा जोडिन आउनेहरुको मुख्य उद्देश्य हुन्छ आफ्नो फलोअर्स बढाउने । कसैका १०० जना पनि फलोअर्स हुँदैनन् भने मेरो लाइभमा बसेपछि १०००-२००० जना पुग्छन् । यसैका लागि उहाँहरूले उपहारहरू पठाउनुहुन्छ । कसैले चश्मा, कसैले घडी कसैले के । जसले उपहार दिन्छ, उसको नाम माथि चढ्छ अनि उसलाई मैले फलो गर्छु । त्यो देखेपछि अरुले पनि फलो गर्छन् । त्यसैले यसमा दोहोरो स्वार्थ छ । उहाँहरूले फलोअर्स कमाउनुहुन्छ, मैले उपहार ।

    – भनेपछि अब तपाईं युट्यूवरलाई अन्तर्वार्ता दिन छोडेर रातदिन टीकटकमै रमाउने हुनुभयो ?

    म खासमा सोखले टीकटकमा बसेको हो । प्रोफेसनल तरिकाले त जान सक्दिन होला, मेरो त्यस्तो स्वभाव छैन । अहिले चाहिँ इन्जोइ गरिरहेको छु । यो कहिलेसम्म जान्छ यसै भन्न सक्दिनँ ।

    मेरो योजना चाहिँ के छ भने बिहान ८ बजेदेखि अराउन्ड १२ बजेसम्म लाइभ बस्छु । दिउँसो अरु काममा हिँड्छु । अनि राति ७-८ बजेदेखि १२-१ बजेसम्म लाइभ बस्छु । अघि बिहान पनि ३ हजारजना लाइभमा हुँदा-हुँदै छोडेर बाहिर निस्केको हुँ । मलाई त बसेपछि हत्पत्ति छोड्नै दिँदैनन् । तर, अरु काम पनि त गर्नुपर्‍यो नि ।

    – अब टीकटकबाट कमाएको पैसाले के गर्ने त ?

    मेरो मुख्य उद्देश्य त समाजसेवा नै हो । अरु तपसिलका कुराहरू त छँदैछन् नि ।

  • टीकटकका लागि ज्यानै दिने पुस्ता !

    टीकटकका लागि ज्यानै दिने पुस्ता !

    काठमाडौं । पाँच दिनअघि मात्रै वैवाहिक जीवनमा बाँधिएकी तनहुँको शुक्लागण्डकी नगरपालिका-८ लालिमकी १९ वर्षीया पवित्रा लम्साल दुल्हन फर्काउन माइती आएकी थिइन् । भदौ २९ गते दिउँसो टीकटक बनाउन पुल्चोकस्थित सेतीनदी किनारमा रहेको रक गार्डेनमा उनी दुई साथीलाई लिएर पुगिन् ।

    साथीहरूसँग टीकटक बनाउन नदी छेउमा रहेको ढुङ्गामा उभिएकी लम्साल अचानक चिप्लिएर नदीमा खसेर बेपत्ता बनिन् । उनी चिप्लिएर नदीमा खसेपछि साथीहरूले तत्काल प्रहरीलाई खबर गरे । प्रहरी तत्काल खोजीकार्यमा जुटे पनि केही पत्ता लगाउन सकेन । तर, साता दिनपछि उनको शव भेटियो ।

    प्रहरीका अनुसार टीकटकमा भाइरल हुने चाहनामै उनले आफ्नो जीवन दाउमा राखेकी थिइन् । उनी भाइरल त भइन् तर भाइरल बनेको आफैंले देख्न पाइनन् । न त उनको भिडिओले हाइहाइ नै पायो । प्रतिक्रिया दिनेमध्ये थुप्रैले उनको मुर्खतापूर्ण कार्यका लागि खेद व्यक्त गरेका छन् ।

    टीकटकमा भाइरल भएको भिडिओमा पवित्राले आफ्नो ज्यान जोखिममा राखेको स्पट देखिन्छ । उनी उर्लेको भेल नजिकै ढुंगामा उभिएर बेफिक्री रमाएकी छन् । सँगै गएका साथीहरूले खोलानजिक नजान अनुनय गर्दा पनि उनले अटेर गरेको देखिन्छ ।

    ०००

    पुस ५, २०७७ । बबई नदीको झोलुङ्गे पुलमा एक युवक लुत्रुङ्ग झुण्डिइरहेका थिए । उनको उद्देश्य पनि त्यही नै थियो, खतरनाक काम गरेर भाइरल हुने ।

    दाङको तुलसीपुर उपमहानगरपालिका १९ बिजौरीका २४ बर्षीय रमेश थापा बबइ गाउँपालिका ५ पुरन्धारा झरना नजिकैको झोलुङ्गे पुलमा टीकटक बनाउने क्रममा पुलको सपोर्ट तारमा झुण्डिएका थिए ।

    तर, जति प्रयास गर्दा पनि उनी पुलमाथि उक्लिन सकेनन् । निकैबेरपछि उनको हात गल्यो त बगरमा खसे । गम्भीर घाइते अवस्थामा उनलाई अस्पताल पुर्‍याइयो । तर, उनको ज्यान जोगिन सकेन ।

    थापा शनिबारको दिन रमाइलो गर्ने भन्दै २५/३० जना साथीहरूसँग झरनामा पिकनिक खान गएका थिए । पिकनिकको रमाइलोले नपुगेर उनी बबईको झुलुङ्गे पुलमा झुण्डिन पुगे । साथीहरूले चाहेर पनि उनलाई जोगाउन सकेनन् । त्यसबेला पुलमा धेरै मानिसहरू रमिता हेरिरहेका थिए ।

    ०००

    २४ माघ २०७७ मा कञ्चनपुरमा टीकटक भिडिओ बनाउन खोज्दा एक किशोरीको ज्यान गयो । भीमदत्त नगरपालिका-१५ गोबरियाकी १३ बर्षीया करुणा चन्दले टीकटक भिडिओकै लागि पंखामा झुण्डिएकी थिइन् ।

    ७ कक्षामा पढ्दै गरेकी करुणा आत्महत्याको अभिनय गरेर टीकटकमा भाइरल हुन चाहन्थिन् । उनी कोठाभित्रै टुलमा चढेर पङ्खामा झुण्डिइन् । उनले घाँटीमा बेरेको कपडा दुर्घटनाबस कसिन पुग्यो । सानो भाइको आँखा अगाडि नै उनको ज्यान गयो ।

    ०००

    गत वैशाखमा उदयपुरको कटारी नगरपालिका-११ हर्देनी भीरमाथि टीकटक बनाउने क्रममा नै लडेर एक किशोरको मृत्यु भयो । धरान-५ का १८ वर्षीय सुभास परियार सुमोबाट ओर्लिएर टीकटक बनाउने क्रममा भीरबाट लडेका थिए।

    गम्भीर घाइते भएको परियारको उपचारको लागि कटारी अस्पताल लैजाने क्रममा बाटोमा नै मृत्यु भएको थियो ।

    यस्तै, गत चैतमा कैलालीको कर्णाली पुलबाट टीकटक बनाउन हाम फाल्दा १ जना बेपत्ता भएका थिए । नदीमा हाम्फालेका तीनजना मध्ये लम्कीचुहा नगरपालिका-२ का १८ वर्षीय सञ्जय खड्का कर्णाली नदीमा बेपत्ता भएका थिए । उनको अवस्था अझै अज्ञात नै छ ।

    उनीसँगै नदीमा हाम फालेका लम्कीचुहा नगरपालिका-१ का १८ वर्षीय लोकेश प्याकुरेल र १७ वर्षीय वीरेन्द्र सिंहलाई सकुशल उद्धार गरिएको थियो । उनीहरू तिनैजना कक्षा १० मा अध्यनरत हुन् ।

    ०००

    आजकाल टीकटक युवापुस्तामा अत्यधिक लोकप्रिय छ । यस प्लेटर्फममार्फत धेरैले आफूमा लुकेका कला प्रस्तुत गर्ने अवसर पाएका छन् । नेपालमा पनि टीकटकबाटै लोकप्रियता कमाए र करिअर बनाएकाहरू धेरै छन् । तर, त्यसरी लोकप्रिय वा भाइरल हुन सजिलो भने छैन ।

    टीकटकमा सरल र सीधा तरिकाले भाइरल भइँदैन । कि तपाईंसँग गज्जबका प्रतिभा चाहिन्छ कि असामान्य हर्कत गर्नुपर्छ । सिर्जनात्मक प्रतिभा जोसित छैन, उनीहरू भाइरल हुने मोहमा अनौठा र जोखिमपूर्ण हर्कत गर्न पुग्छन् । माथिका घटना यही प्रवृत्तिका उपज हुन् । उनीहरूले १५ सेकेन्डको भिडिओबाट चर्चित हुने सपना देख्दा आफ्नो जीवन अनाहकमा गुमाए ।

    टीकटककै कारण ज्यान गुमाएका यी प्रतिनिधिमूलक घटना मात्र हुन् । यस्तो संख्या धेरै हुन सक्ने अनुमान गरिन्छ । तर, वास्तविक तथ्यांक प्रहरीसँग छैन ।

    टीकटक बनाउने क्रममा अहिलेसम्म कतिले ज्यान गुमाए भन्ने तथ्यांक नभएको प्रहरी बताउँछ ।

    नेपाल प्रहरीका प्रवक्ता तथा एसएसपी वसन्तबहादुर कुँवर टीकटकका लागि ज्यान फाल्न खोज्नेहरूलाई केही गर्न नसकिने बताउँछन् । टीकटक बनाउँदा जोखिम हुने सम्भावित ठाउँहरू प्रहरीले सचेतना भने गराइरहेको उनको भनाइ छ ।

    कुँवरले नेपाल प्रेससँग भने, ‘टीकटक बनाउनकै लागि ज्यान फाल्नेहरूलाई प्रहरीले के नै गर्न सक्छ ? बढीभन्दा बढी सचेतना गराउने हो । त्यो हामीले सामाजिक सञ्जालहरूबाट पनि गराइरहेकै छौं ।’

    टीकटक बनाउँदा जोखिम हुने सम्भावित ठाउँहरू, जस्तै नदीकिनार वा पुलहरूमा सार्वजनिक सूचना बोर्डहरू राख्ने काम गरेको उनले जानकारी दिए ।

    ‘नारायणी नदी किनारमा पनि त्यस्ता घटना घटे, त्यहाँ पनि सूचना राखिएको थियो । अरु ठाउँहरूमा पनि सचेतनाको कुराहरू त राखेकै छौं,’ उनले भने ।

    यस्ता घटनामा प्रहरीको भन्दा व्यक्ति आफैंले बुझ्नुपर्ने कुँवर बताउँछन् ।

    उनले भने, ‘ज्यान जान सक्छ अथवा अन्य शारीरिक जोखिम हुन सक्छ भनेर सम्बन्धितले बुझ्नुपर्छ । सचेतनाको कुरामा प्रहरीले अन्य निकायलाई पनि सहकार्य गरेर अगाडि बढेकै छ ।’

    युवामा टीकटकको कुलत लागिसक्योः मनोविद्

    सामाजिक सञ्जालमा भाइरल हुने मोह बढ्दै गएर जस्तोसुकै जोखिम उठाउनुलाई मनोविद् करुणा कुवँर कुलतको संज्ञा दिन्छिन् । यस्तो कुलत नशालु पदार्थको कुलतजस्तै हुन सक्ने उनको भनाइ छ ।

    कुँवरको भनाइ जस्तो तस्तैः

    यो एउटा कुलत जस्तै हो । मान्छेले आफ्नो कुलत पूरा गर्न जस्तो पनि जोखिम लिन तयार हुन्छ । त्यस्तै टीकटकको कुलतमा फँसेपछि बढी लाइक र कमेन्टहरू पाउनका लागि ज्यान जोखिममा राख्नसमेत पछि पर्दैनन् ।

    आफूलाई कसैले प्रशंसा गरोस्, मन पराइदियोस् भन्ने सबैको चाहना हुन्छ । युवायुवतीको अझै धेरै । त्यही भएर पनि टीकटकमा आफू देखिन मन लाग्ने हो । देखिएपछि लाइक रकमेन्ट धेरै आओस भन्ने हुन्छ । त्यही चाहनाले कसैले सिर्जनात्मक कामहरू पनि गर्छन् । तर, कसैले चाहिँ नचाहिँदा हर्कत गर्न पुग्छन् । यसो गर्दा कतैबाट खस्ने, चोटपटक लाग्ने, दुर्घटना हुनेलगायत खतरा हुन्छ ।

    जे सोच्यो त्यो गर्नैपर्ने जस्तो प्रवृत्ति पनि कतिपयमा हुन्छ । उनीहरूको दिमागमा यसरी टीकटक बनाउँछु भनेर भन्यो भनेर नबनाएसम्म मन पोल्ने, छटपटी हुने, गाह्रो हुने, निन्द्रा नलाग्ने हुन्छ । टीकटक बनाइसकेपछि आनन्द महसुस हुने गर्छ ।

    टीकटकको लतमा परेकाहरूले हरेक दिन नयाँ-नयाँ भिडिओ राखिरहेका हुन्छन् । कतिले दिनमै ३-४ वटा पनि राख्छन् । आफूले पोस्ट नगरे पनि अरुले बनाएको हेरेको हेर्‍यै गर्ने लत पनि कतिपयमा छ । यो अवस्थामा भनेकै लगभग एडिक्टेट नै हो । टीकटकमा भिडिओ नराख्दा खानै मन नलाग्ने, दिक्क लाग्ने जस्ता समस्या पनि देखिन्छ। ’

    युवा पुस्ताले धेरै टीकटक प्रयोग गर्ने हुदाँ अभिभावक एकदमै सचेत हुनुपर्छ । उनीहरूलाई अरु नै काममा व्यस्त राखन अभिभावकले ध्यान दिनुपर्छ ।

    दुर्घटनामात्र होइन टीकटकका केही कन्टेन्टहरूले अरु खालको क्षति पुर्‍याइरहेको छ । यसबाट बच्न अभिभावकहरू तथा स्कुलहरूले निगरानी गर्नुपर्ने हुन्छ । अहिले अहिले ३५ वर्ष मुनिका व्यक्तिमा टीकटकको लत पाइन्छ । त्योभन्दा माथिकोमा न्यून छ ।

    मैले नजिकबाट केही केस हेर्दा केटाकेटीलाई बोर लाग्ने, आमाबुबासँग समय नहुने, साथीभाइसँग भेटघाट नहुने गरेका कारणले पनि टीकटकमा झुम्मिएका छन् । त्यसैले बुबाआमाले बच्चाहरूसँग बढीभन्दा बढी समय बिताउनुपर्छ ।

  • बालबालिकाले टीकटकमा ४० मिनेट मात्र बिताउन पाउने, चीनदेखि सुरु भयो नयाँ नियम

    बालबालिकाले टीकटकमा ४० मिनेट मात्र बिताउन पाउने, चीनदेखि सुरु भयो नयाँ नियम

    बेइजिङ। लोकप्रिय चिनियाँ एप टीकटकले अब बालबालिकाले आफ्नो प्लेटफर्मलाई ४० मिनेट मात्र चलाउन पाउने प्रावधान ल्याउने भएको छ । सो एपले ‘युथ मोड’ राखेर बालबालिकालाई बढी समय बिताउन नदिने जनाएको छ ।

    विश्वव्यापीरुपमा यो प्रावधान लागू गर्ने तयारीमा टीकटक रहेको अन्तर्राष्ट्रिय संचारमाध्यमले जनाएका छन् । तर, यसको सुरुआत चाहिँ आफ्नै मुलुक चीनदेखि टीकटकले थालेको छ ।

    अबदेखि चीनमा १४ वर्षभन्दा कम उमेरका प्रयोगकर्ताले दिनमा ४० मिनेटभन्दा बढी टीकटक चलाउन पाउने छैनन् । कम्पनीले बालकालिकालाई रातको १० बजेदेखि विहान ६ बजेसम्म टीकटक हेर्नसमेत नपाउने बनाएको छ ।

    साथै टीकटक अकाउन्ट खोल्दा आधिकारीक विवरण राख्न कम्पनीले आग्रह समेत गरेको छ । कम्पनीले प्रयोगकर्ताको उमेरका आधारमा उक्त फिचर ‘अन’ गरिदिने छ र अभिभावकले पनि फिचर एक्टिभेट गर्नसक्ने छन् ।

    बालबालिकालाई टीकटकमा नियन्त्रण चिनबाट सुरु गरिएको छ । साथै यो फिचर अन्य देशमा पनि उपलब्ध गराउने कम्पनीले बताएको छ ।

  • टीकटकमार्फत चरित्रहत्या बढ्दो, नेपालमा कार्यालय नहुँदा प्रहरीलाई समस्या

    टीकटकमार्फत चरित्रहत्या बढ्दो, नेपालमा कार्यालय नहुँदा प्रहरीलाई समस्या

    काठमाडौं । चचित टीकटक स्टार स्मारिका ढकालले केही साताअघि श्रीमान्‌सँग डिभोर्स गरेको खबर सार्वजनिक भयो । त्यससँगै उनमाथि अनेक नकारात्मक टिका-टिप्पणीहरू हुन थाले ।

    टीकटकमा चर्चित भएकै कारण श्रीमान्‌लाई छोडेकोजस्ता थुप्रै आरोपहरू उनले खेपिन् । आपत्तिजनक गालीगलौज गर्नेदेखि फोटो बिगारेर चरित्र हत्याको प्रयाससमेत भएपछि उनले प्रहरीमा उजुरी गर्ने चेतावनीसमेत दिएकी छन् ।

    टीकटकमा केही दिन अमृता तामाङले आफ्नै नामको अकाउन्टमा आफ्नो फोटो अपचिरित युवकसँग जोडिएको देखिन् । उक्त फोटोको क्याप्सनमा आफूले ती युवकसँग भागेर विवाह गरेको लेखिएको थियो । दुई छोरीकी आमा अमृतालाई यो फोटोले निकै अप्ठ्यारोमा पार्‍यो ।

    अमृताले मनोरञ्जनका लागि टीकटक त खोलेकी थिइन् । तर, उनकै नाममा खोलिएको यो अकाउन्ट भने नक्कली थियो । यो पोष्ट आएपछि विदेशमा बसेका श्रीमान्‌ले समेत उनलाई विभिन्न प्रश्न गरेर मानसिक तनाव दिन थाले । आफन्तले समेत फोन गरेर टर्चर दिएको उनी बताउँछिन् । अन्ततः उनले आफ्नो तस्बिर दुरुपयोग गरर चरित्रहत्या गरिएको भन्दै प्रहरीको साइबर ब्यूरोमा उजुरी दिएकी छन् ।

    यी दुई प्रतिनिधि घटनामात्र हुन् । पछिल्लो समय नेपालको युवापुस्तामा टीकटक जति लोकप्रिय बनेको छ, त्यति नै यसले समस्याहरू पनि सिर्जना गरिरहेको छ । टीकटकमार्फत धेरैले गाली बेइज्जती सहनुपरेको छ ।

    विद्यालय बन्द हुँदा धेरै बालबालिका टीकटकमा समय बिताउँछन् । यही मौकाको फाइदा उठाएर बालबालिकामाथि दुव्र्यवहार गर्ने, चरित्रहत्या गर्ने घटना पनि बढेको साइबर ब्यूरोले बताएको छ । युवायुवतीहरूको चरित्रहत्या गरिएको भनेर प्रहरीमा उजुरी दर्ता हुने क्रम बढेको छ ।

    केही समयअघि सामाजिक सञ्जाल फेसबुकमा आफनो चरित्रहत्या गर्न खोजिएको भन्दै उजुरी गर्नेको चाप बढी थियो । अहिले त्यो चाप टीकटकतिर सरेको प्रहरी अधिकारी बताउँछन् । खासगरी लकडाउनपछि टीकटकको प्रयोगकर्ता हवात्तै बढेका छन् । त्यससँगै यसको दुरुपयोग पनि बढेको छ । टीकटककै केहीको हातमा हतकडी लागेको छ भने कोही आत्महत्या गर्ने अवस्थामा समेत पुगेका छन् ।

    उजुरीमा बढोत्तरी

    साइबर ब्यूरोका अनुसार गत आर्थिक वर्ष २०७७/७८ मा सामाजिक सञ्जाल फेसबुकमार्फत चरित्रहत्या गरेको भन्दै ३ हजार ४५१ वटा उजुरी परेका थिए । यस्तै टीकटकमा चरित्रहत्या गरेको भन्दै ७० वटा उजुरी परेका थिए ।

    यस आर्थिक वर्षको साउन महिनामा मात्रै फेकबुकको कारण ३३८ वटा र टीकटकका कारण १५ वटा उजुरी परेका छन् । ब्यूरोका अनुसार पछिल्लो समय फेकबुकसगँसँगै टीकटकको उजुरी लिएर आउनेहरूको संख्या बढेको छ ।

    हालसम्मको उजुरी हेने हो भने फेसबुककै बढी देखिन्छ । ८९ प्रतिशत फेसबुकको छ भने बाँकी टीकटक र युट्यबको रहेको छ ।

    सूचना नदिँदा कारबाहीमा समस्या

    साइबर ब्यूरोले सामाजिक सञ्जालका उजुरी लिएर ब्यूरो नै धाउनुपर्ने बाध्यता हटाएको छ । अहिले साइबर ब्यूरोमा मात्र नभई नजिकको प्रहरी कार्यालयमा पनि यस्ता खालको उजुरी गर्न सकिन्छ ।

    प्रहरी कार्यालयमा उजुरी गरेपछि ब्यूरोसम्म आइपुग्ने च्यानल छ । पीडितले इमेलमार्फत पनि उजुरी गर्नसक्ने व्यवस्था मिलाएपछि विदेशमा भएका नेपालीले पनि उजुरी गर्ने गरेका छन् । प्रमाणसहित निवेदन पठाएमा प्रहरीले एक्सन लिन्छ । घटना दर्ता गर्ने वितिकै उनीहरुलाई दर्ता नम्बर दिइन्छ ।

    सम्बन्धित ठाउँमा अनुसन्धान भइसकेपछि पीडितलाई जानकारी दिने गरिएको छ । कार्यालय आउनैपर्छ भन्ने छैन ।

    सामाजिक सञ्जालको दुरुपयोग गरी चरित्रहत्या गरेको जस्ता उजुरी ब्यूरोमा आउने गरेता पनि पीडितले पूरा जानकारी नदिँदा कारवाही गर्न अप्ठ्यारो हुने व्यूरोका प्रहरी अधिकृतहरु बताउँछन् ।

    एक अधिकारीले भने, ‘हामीले घटनाको प्रकृति कस्तो छ भन्ने हेरेर उहाँहरूलाई खबर दिन्छौ । तर, पीडितले पर्याप्त सूचना नदिँदा समस्या पर्ने गरेको छ ।’

    कतिपयलाई भने उजुरी गर्नुपर्छ भन्ने जानकारी नै नभएको उनको भनाइ छ ।

    ‘कतिपय केसहरूमा भने पीडितले उजुरी दिन्छन्, पछि आफैं फिर्ता लिन्छन्,’ उनले भने ।

    प्रविधिको गलत प्रयोगमा बालबालिका पनि फस्ने गरेको पाइएको छ । विद्यालय बन्द हुँदा सामानिक सञ्जालमा रमाएका बालबालिकाहरु झन् बढी पिडित हुन थालेका छन् ।

    ब्यूरोको अनुसार बढी उजुरी गर्नेहरुमा १३ वर्षको उमेर समूहदेखि ३५ वर्षसम्मका छन् । प्रायजसो उजुरी लिएर महिलाहरू नै बढी आउँछन् । फेक आइडी बनाएर उसैको भिडियो अपलोड गरी त्यसलाई मोडिफाई गरेर राखिदिने जस्ता घटनाहरु बढेका छन् ।

    साइबर ब्यूरो भन्छ – एप्सको कार्यालय नहुँदा समस्या

    विभिन्न प्राविधिक झण्झटको कारण अपराधी सजिलै कारबाहीको भागीदार बन्न नसकेको स्वयम् प्रहरी अधिकृतहरू नै स्वीकार्छन् ।

    साइबर ब्यूरोले नेपालमा टीकटकको कार्यालय नहुँदा कतिपय मुद्दाको लागि टीकटकको अफिसमा पत्र लेखेर पठाउने गरिएको छ । उजुरीहरूको ब्यूरो र सामाजिक सञ्जालको आधिकारिक कार्यालयको संयन्त्रबाट पनि अनुसन्धान गर्ने गरिएको ब्यूरोका वरिष्ठ उपरिक्षक एव प्रवक्ता नविन्द अर्यालले नेपाल प्रेसलाई बताए ।

    प्रवक्ता अर्यालले भने, ‘हामीले हाम्रै संयन्त्रबाट पीडकलाई पत्ता लगाउँछौं र आवश्यक पर्‍यो भने टीकटकलाई पत्र पनि पठाउँछौ ।’

    ब्यूरोबाट आधिकारिकरूपमा सूचना उपलब्ध गराइदिन माग गर्दै सामाजिक सञ्जालको कार्यालयमा पत्रचार गर्ने गरिएको छ ।

    उनले भने, ‘त्यस्ता कतिपय उजुरीहरु टीकटकको अफिसमा पठाइदिने गरेको छौ । हामीले कस्तो खालको उजुरी हो भनेर बुझ्छौं । उजुरी गर्नेहरूले पनि आफूमाथि भएको दुव्र्यवहारको पूर्णविवरण खुलाउन नचाहँदा कारबाही गर्न समस्या भइराखेको छ ।’

    ब्यूरोले विदेशमा भएको आरोपीलाई पक्राउ गर्न इन्टरपोलको सहयोग पनि लिने गरेको छ । सामाजिक सञ्जालमा कसैको चरित्रहत्या गरेको पाइएमा वित्तीय कारोबार ऐन २०६३ को परिच्छेद ९ को दफा ४७ अनुसार त्यस्ता व्यक्तिलाई एक लाख रूपैयाँसम्म जरिवाना वा पाँच वर्ष कैद वा दुवै सजाय हुन्छ ।

    प्रवक्ता अर्याल भन्छन्, ‘त्यस्तो किसिमको केसलाई टेकओभर गर्छौ । र टीकटकसँग पत्राचार गरेर सूचना आइसकेपछि त्यो विषयको मुद्दा हेरेर सरकारी वकिलसँग समन्वय गरेर अगाडि बढ्छौं ।’

    सामाजिक सञ्जाल फेसबुक टीकटक, युट्युब, इन्स्टाग्राम लगायतको सामाजिक सञ्जाल नेपालबाहिरबाट सञ्चालित छन् । ती एप्सहरुको कर्पोरेट अफिस नेपालमा छैन ।

    उनी भन्छन्, ‘हामीले थप आधिकारिक सूचनाका लागि पत्राचार गर्छौं । तर, उनीहरूले समयमै जवाफ नपठाइदिँदा यदाकदा ढिलो हुन्छ ।’

    चरित्रहत्या गर्नेहरूलाई कारवाहीका लागि यो आर्थिक वर्षमा करिब ८९ वटा मुद्दा दर्ता भइसकेको छ ।

  • टीकटकद्वारा ७३ लाख प्रयोगकर्ताको एकाउन्ट निलम्बन, बालबालिकालाई प्रयोगमा कडाइ गर्ने

    टीकटकद्वारा ७३ लाख प्रयोगकर्ताको एकाउन्ट निलम्बन, बालबालिकालाई प्रयोगमा कडाइ गर्ने

    काठमाडौं । बालबालिकाले आफ्नो प्लेटफर्म प्रयोग गरेको आशंकामा चिनियाँ भिडियो साझेदारी एप टीकटकले यो वर्षको पहिलो तीन महिनामा झन्डै ७३ लाख प्रयोगकर्ताको खातालाई निलम्बन गरेको छ। उसले निलम्बित ती खाताहरु कुल प्रयोगकर्ताको एक प्रतिशतभन्दा कम रहेको बताएको छ।

    किशोर पुस्तामाझ लोकप्रिय टीकटक १३ वर्ष वा सोभन्दा बढी उमेरका व्यक्तिले मात्रै चलाउन पाउने नियम छ। निलम्बित अकाउन्टका बारेमा पहिलो पटक निर्देशिका प्रतिवेदनमा यस्तो विवरण सार्वजनिक गरिएको हो ।

    यस्तो जानकारीले प्रयोगकर्ताको सुरक्षाका विषयमा पारदर्शिता र उत्तरदायित्व वहन गरेर अगाडि बढ्न सजिलो हुने समेत टीकटकले जनाएको छ ।

    टीकटकका अनुसार तीन महिनामा नियम पालना नगरेका ६,१९,५१,३२७ भिडिओहरू हटाइएका छन् । तीमध्ये ८२ प्रतिशत भिडिओले हेर्नुभन्दा पहिले, ९१ प्रतिशत कुनै पनि प्रयोगकर्ताले गुनासो गर्नुभन्दा पहिले र ९३ प्रतिशत प्रकाशित भएको २४ घण्टाभित्रै हटाइएका हुन् ।

    विज्ञापन नीति र निर्देशिका पालना नगरेका १,९२,९०० विज्ञापनहरू अस्वीकृत गरिएका छन् । कुल १,११,४५,५१४ अकाउन्टहरू निर्देशिका र प्रयोगका सर्तहरू पालना नगरेका कारण हटाइएका छन् । टीकटकले किशोर उमेरकालाई सुरक्षित राख्न १६ वर्ष नपुगेका प्रयोगकर्ताहरूलाई सन्देश पठाउन र आदानप्रदान र प्रत्यक्ष भिडिओ प्रसारण गर्ने सुविधा नदिएको बताएको छ।

    टीकटक किशोर पुस्तामाझ चर्चित भएपनि हालै यसको प्रयोगमा कम उमेरका बालबालिकाको संख्या बढ्न थालेको भन्दै चिन्ता व्यक्त गरिएको छ। गत वर्ष न्युयोर्क टाइम्सले प्राप्त गरेको तथ्याङ्कमा एक चौथाइ अमेरिकी प्रयोगकर्ताहरू १४ वर्ष वा कम उमेरका रहेको देखिएको थियो।

  • टीकटकले कमायो ३४.५ बिलियन डलर, चिनियाँ र अमेरिकी सरकारद्वारा थप दबाब

    टीकटकले कमायो ३४.५ बिलियन डलर, चिनियाँ र अमेरिकी सरकारद्वारा थप दबाब

    काठमाडौं । चिनियाँ भिडियो साझेदारी एप टीकटक निर्माता कम्पनी बाइटडान्सले सन् २०२० मा दोब्बर कमाइ गरेको छ ।

    कम्पनीको आम्दानी १११ प्रतिशतले वृद्धि हुँदै सन् २०२० मा ३४.५ बिलियन डलर पुगेको बीबीसीले जनाएको छ ।

    विश्वव्यापीरुपमा चर्चित बनिरहेको टीकटकको लोकप्रियतामा वृद्धि भएसँगै कमाइमा पनि बढोत्तरी भएको हो । बाइटडान्ससँगै अन्य चिनियाँ कम्पनीलाई पनि सरकारबाट तीव्र दबाब परिरहेको छ ।

    बाइट डान्सको नाफामा पनि उक्त वर्ष ९३ प्रतिशतले वृद्धि भएको छ । सो वर्ष कम्पनीले १९ बिलियन डलर खुद नाफा कमायो । गतवर्ष सोही अवधिमा कम्पनी ४५ बिलियन डलरले घाटामा गएको थियो ।

    गतवर्षको डिसेम्बरसम्म विश्वभरि बाइट डान्सका १.९ बिलियन प्रयोगकर्ता थिए । टीकटकको विश्वव्यापी लोकप्रियतासँगै चीन र अमेरिकी सरकारले बाइट डान्सलाई दबाब दिइरहेका छन् ।

    यो महिनाको सुरुआतमा अमेरिकी राष्ट्रपति बाइडेनले चिनियाँ एपले अमेरिकी बजारमा उपस्थित खोज्ने हो भने प्रयोगकर्ताको तथ्यांक सुनिश्चित गर्नुपर्ने कार्यकारी आदेशमा हस्ताक्षर गरेका थिए ।

    साथै, उनले अघिल्ला राष्ट्रपति डोनाल्ड ट्रम्पले टीकटक र वी च्याटविरुद्ध लगाएको प्रतिबन्ध पनि फुकुवा गरेका थिए ।

  • ग्लोबल टीकटक स्टार नेपालको मानसिक स्वास्थ्यमाथि काम गर्न चाहन्छन्

    ग्लोबल टीकटक स्टार नेपालको मानसिक स्वास्थ्यमाथि काम गर्न चाहन्छन्

    भाग्यमानीको भुतै कमारो । यो नेपाली उखान अभिनव बस्ताकोटीको जीवनमा लागु हुन्छ । बीसवर्षे यी किशोरलाई के थाहा –१५ सेकेन्डको भिडियो अनलाइन पोस्ट गर्दा एकरातमै विश्व स्टार हुन्छु भन्ने कुरा । आखिर भैदियो पनि यस्तै । धन्यवाद –चिनियाँ भिडियो साझेदारी एप टीकटकलाई ।

    ‘कुर्तिस वाटर्स’ नामले विश्व चर्चित यी ठिटा अहिले हलिउड स्टार भैसके । काठमाडौंमा जन्मिएका, क्यानडामा हुर्किएका र अमेरिका नर्थ क्यारोलिनामा स्टार भएका उनका लागि भाग्य दाहिना भयो । उनलाई टीकटकमा पछ्याउनेको संख्या एकलाख छ । १५ सेकेन्डको उनको टीकटक भिडियो ‘स्टनिङ’ले उनको भाग्य खुलाइदियो । रोलिङ स्टोन, बिलबोर्ड र गार्जियनले यी तन्नेरीमाथि स्टोरी लेखेका छन् । स्फटिफाइ र युट्युवमा उनलाई फलो गर्नेको संख्या पनि उच्च छ ।

    ‘मेरा लागि यो स्वैरकाल्पनिक कुरा हो । सपनाजस्तै लागिरहेछ’ नेपाल प्रेससँग क्यानडाबाट कुरा गर्दै उनले भने, ‘तर, नेपाली अभिभावक हुनुको नाताले मेरा प्यारेन्टस् सँधै राम्रो पढोस भन्ने चाहन्थे । उनीहरुले संगीतप्रति मेरो रुचि बुझ्नुभएन । एउटा कोठामा मेरो संगीतप्रतिको प्यासन हुर्कियो ।’ हलिउड म्यागजिन रोलिङ स्टोनले त कुर्तिस वाटर्सलाई ठूला स्टुडियोले आफ्नो लेभलमा गीत गाउन आग्रह गरिरहेको लेखेको छ ।

    तर, अभिनवलाई लेभल संगीतमा गीत गाउन कुनै रुचि छैन । उनी आफ्नै लेभल सिर्जना गर्ने पक्षमा छन् । विश्व संगीतका ठूला नामहरु फ्रांक ओसन, आयन कुर्तिस र केनी वेस्टबाट प्रभावित उनीको ‘स्टनिङ’ चाहिँ निकै हिट गीत हो जहाँ हार्म फ्रयांकलिन फिचर्ड छन् । उनको डेब्यु एल्बम ‘पिटी पार्टी’ चाहिँ सन् २०२० अक्टोबरमा रिलिज भएको थियो । गत डिसेम्बरमा रोलिङ स्टोन म्यागजिनले उनलाई २५ नयाँ उदाउँदा स्टारको तेस्रो सूचिमा समेटेको थियो । यो सूचिपछि उनी ओभरनाइट स्टार भए ।

    ग्लोबल सेलेव्रिटी भैसकेका अभिनव नेपालको मानसिक स्वास्थ्यको क्षेत्रमा काम गर्न चाहन्छन् । आफू पनि कुनैबेला मेन्टल हेल्थसँग संघर्ष गरिरहेको बताउने उनले नेपालको मानसिक स्वास्थ्यको अवस्था सुधान आफूले काम गर्ने बताए । १० वर्षको उमेरमा परिवारसँग क्यानडा पुगेका उनी नेपाली भाषा सिक्न चाहन्छन् र करियर नेपालको लागि अघि बढाउन चाहन्छन् । ‘मेरो मन, माया र ध्यान सँधै नेपालको हितमा हुन्छ’ उनले सुनाए ।

    सफलताप्रति उनको आफ्नै व्याख्या छ । ‘अब विश्व संगीत उद्योगमा कुनैपनि गेटकिपर छैनन् । यदि तिमीले राम्रो संगीत बनायौं र अल्गोरिदमको प्रवृत्तिलाई बुझ्न थाल्यौ भने बुझ तिमी सफलतातिर गैरहेका छौ’ उनले भने ।

  • टीकटकमा प्रधानमन्त्रीदेखि जुम्ल्याहा किशोरीसम्म, यी हुन् टपटेन नेपाली टीकटक स्टार

    टीकटकमा प्रधानमन्त्रीदेखि जुम्ल्याहा किशोरीसम्म, यी हुन् टपटेन नेपाली टीकटक स्टार

    प्रधानमन्त्री केपी शर्मा ओलीले भिडियो साझेदारी एप टीकटक ज्वाइन गरेको खबरले टाइमलाइन तात्यो । कुटनीतिक वृत्तमा चर्चा मात्र चलेन इन्डिया टुडेकी वैदेशिक मामिला संवाददाता गीता मोहनले नेपाली प्रधानमन्त्रीले चिनियाँ एप प्रयोग गरेको ट्वीट गर्दै त्यसलाई कुटनीतिक रङ दिने प्रयास गरिन् ।

    एकैरातमा प्रधानमन्त्रीको उक्त खातालाई ३५ हजारभन्दा बढीले फलो गरे । अहिले ओलीलाई टीकटकमा ६४ हजारभन्दा बढीले फलो गरेका छन् । अमेरिका र भारतमा प्रतिबन्ध लगाइएको यो चिनियाँ एपले पछिल्लो वर्ष नेपाली नेटिजनमाझ लोकप्रियता कमाइरहेको छ ।

    @kpsharmaoli_official

    भ्रष्टाचार जाेसुकैले गरे पनि अक्षम्य अपराध (part 2)

    ♬ original sound – KP Sharma Oli – KP Sharma Oli

    टीकटकमा नृत्य, अभिनय, सूचना र ज्ञान बाँड्ने तन्नेरी पुस्ताको जमात तयार भैसकेको छ । लकडाउनपछि पोखरेली आकाशमा उड्ने प्याराग्लाइडरको भीड होस् वा तनहुँको मानुङकोटबाट दृश्यपान गर्नेको क्राउड, बन्दाबन्दीपछि सुनसान पर्यटनलाई टीकटकले उकास्ने जमर्को गरेको छ ।

    यहाँ नेपालका टपटेन टीकटक प्रयोगकर्ताबारे चर्चा गरिनेछ ।

    प्रिन्सी खतिवडा र प्रिज्मा खतिवडा
    यी दुई जुम्ल्याहा दिदीबहिनी टीकटकमा सर्वाधिक हेरिने नेपाली प्रयोगकर्ता हुन् । ६.६ मिलियन फलोअर्सले यी दुईलाई पछ्याएका छन् भने ४१.१ मिलियनले लाइक गरेका छन् । टीकटकमा हिट भएपछि उनीहरुको डिमान्ड म्युजिक भिडियो र टेलिभिजन सिरियलमा हुन थालेको छ । 

    @twinny__girls

    Timrai Mayale Song❣️ Released on Meksam Naresh official youtube channel.Link is on the bio🥰 #timrai_Mayale ❣️

    ♬ original sound – Prisma_Princy👭

    अन्जु भण्डारी

    यी किशोरीको टीकटकलाई ७.२ मिलियन जनाले पछ्याएका छन् । ८९.६ मिलियनले लाइक गरेका छन् । अन्जुले प्रायः डान्स स्किलका भिडियो पोस्ट गर्ने गरेकी छन् ।

    @anzu_bb

    Hello 🦋.

    ♬ original sound – Tabeen

     

    दीपा र दमान्ता
    टीकटकमा आफ्ना डान्स र अभिनय कैद गरेर अर्को एक दिदीबहिनीको जोडी हिट भएको छ । २.५ मिलियन जनाले यो जोडीलाई फलो गरेका छन् । ४१.३ मिलियन लाइक छ । रियालिटी टीभी सो ‘डान्सिङ विथ द स्टार्स’मा समेत यी दुईको नृत्य हेर्न पाइन्छ ।

    https://www.tiktok.com/@deepadamanta/video/6906061055147904258?sender_device=pc&sender_web_id=6906716902870566402&is_from_webapp=1

    सञ्जु महर्जन
    १.७ मिलियनद्धारा पछ्याइएका सञ्जु महर्जनले डान्स र एक्टिङको कलामार्फत धेरैको मन जितेका छन् । ४९ंं.८ मिलियन लाइक बटुलेका उनले टीकटकमार्फत फेसनको ज्ञान पनि बाँड्ने गरेका छन् । कोरियन लुक्सका उनलाई फलो गर्ने टीनएज किशोरी बढी छन् ।

    @sanjumaharjan44

    Instagram: sanjumaharjan44 ⚡️#sanjumaharjan44 #foryou #fyp #love #nepal #trending

    ♬ IK VAARI AA – Sushant Singh Rajput & Kriti Sanon & Jim Sarbh & Varun Sharma

    अमु गुरुङ शाह
    आफ्ना अनौठो व्यंग्य कलामार्फत अमुले टीकटक प्रयोगकर्ताको मन जितेकी छिन् । १.३ मिलियन फलोअर्स र ३८.४ मिलियन लाइकसँगै उनी नेपाली टपटेनमा अटाएकी छन् । बेजोड हँसाउने कलामार्फत उनलाई पछ्याउनेको संख्या बढेको छ ।

    @its_amita_grg

    Please don’t 😅my still a beginner in playing ukelele❤️#nepalitiktoker #nepal #nepali #spreadlove #minionssquad💫 #fyp

    ♬ original sound – AMU GRG SHAH – AMU GRG SHAH

    रेश्मा घिमिरे
    टीकटक क्वीनको नामले समेत चिनिने घिमिरेको अभिनय र गायन कलाले गर्दा उनलाई पछ्याउनेको संख्या १.२ मिलियन र लाइक गर्नेको संख्या २७.६ मिलियन पुगेको छ ।

    @reshmaghimire

    Last one on this song !! Suurrri laa !!! 😂#1MANepal #1MADance #again🥶🤗 #racefam #grappss

    ♬ Genda Phool (feat. Payal Dev) – Badshah feat. Payal Dev

    सुन्दर घलान
    अभिनय र डान्सको कलामार्फत टीकटकमा हिट भएका सुन्दरलाई फलो गर्नेको संख्या १ मिलियन र लाइक गर्ने १९.९ मिलियन छन् ।

    https://www.tiktok.com/@sundarghalan2/video/6904601093209148674?sender_device=pc&sender_web_id=6906716902870566402&is_from_webapp=1

    उषा उप्रेती
    बलिउड कलाकारको सपना देख्ने उषा उप्रेतीले अभिनय र डान्समार्फत टीकटकमा प्रसिद्धी बटुलेकी छिन् । महानायक राजेश हमालसँग उनले टीकटक बनाइन् । ९७६.७ हजार फलोअर्स कमाएकी उनले २६.६ मिलियन लाइक समेत पाएकी छिन् ।

    @ushauppreti01

    Mera dil disturb nahi hua hai 😅🙈 #ushauppreti1 #ushasquad #tiktok #ushasfamily #foryou #fyp #foryourpage #expression #keepsupporting #loveuall

    ♬ original sound – 🔥 Vimal Shahi Thakuri 👅

    वर्षा राउत
    नेपाली फिल्मकी अभिनेत्रीको रुपमा यसअघि नै स्थापित वर्षा पनि टीकटकमा हिट छिन् । उनी प्राय डान्स स्किल प्रस्तुत गर्छिन् । ९३४.८ हजार फलोअर्स र १५.२ मिलियन लाइकको साथ उनलाई हेरेर मनोरञ्जन लिनेको संख्या उच्च छ ।

    @barsharaut1

    @surendrabasel77

    ♬ original sound – Aayushi 😍

    आँचल शर्मा दवाडी
    आँचल पनि नेपाली फिल्ममा स्थापित नाम हो । थुप्रै व्यवसायिक हिट फिल्म पस्किएकी आँचल अहिले टीकटकमा व्यस्त छिन् । हिजोआज उनी आफ्ना पति उदिप श्रेष्ठसँग टीकटकमा प्रस्तुत हुन्छिन् । ६९०.३ के फलोअर्ससहित उनलाई लाइक गर्नेको संख्या १०.६ मिलियन छ ।

    @aanchalus

    #isthatok? #lovehim #hadtodothisone😁 @udipshrestha4

    ♬ original sound – Aanchal sharma(Dawad