Tag: टप न्यूज

  • आज तीन मन्त्रीको शपथ हुँदै

    काठमाडौं । सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारमा सहभागी हुने तीन मन्त्रीहरुको शपथ ग्रहण आज (सोमबार) हुँदैछ ।

    करिब टुङ्गो मन्त्रीमा नियुक्त भएका ओमप्रकाश अर्याल, कुलमान घिसिङ र शेखर खनाललाई राष्ट्रपति रामचन्द्र पौडेलले शपथ ग्रहण गराउन लागेका हुन् ।

    नवनियुक्त मन्त्रीहरुको शपथग्रहण समारोह आज बिहान साढे ११ बजे हुने राष्ट्रपति कार्यालयले जनाएको छ ।

  • मकवानपुरमा पतिलाई रुखमा बाँधेर दुईमहिने सुत्केरीमाथि बलात्कार

    हेटौँडा । पश्चिम मकवानपुरको राक्सिराङ–१, इन्द्रुङमा राम्रोसँग बोल्न नसक्ने पिछडिएको एक चेपाङ दम्पतीमाथि चरम अत्याचार भएको छ । जंगलनजिक एकान्तमा रहेको सानो छाप्रोमा खुशी र भविष्य खोजिरहेको दम्पतीमाथि अत्याचार भएको समाचार ढिलोगरी बाहिर आएको हो ।

    बिहीबार राति छाप्रोमा बसिरहेका मकवानपुर १ (नाम परिवर्तन)दम्पतीमाथि चरम अत्याचार भएको हो । मकवानपुर १ लाई रुखमा बाँधेर दुई महिनाअघि मात्रै सुत्केरी भएकी उनकी पत्नीमाथि बलात्कार भएको हो ।

    भदौ २६ गते राति यस्तो घटना भएको खबर आएको राक्सिराङ प्रहरी चौकीका इञ्चार्ज नवीन सिंहले बताए । उनले भने, ‘भोलिपल्ट खबर आएपछि जाहेर गरेका थियौँ, जेन्जी आन्दोलनका कारण तत्काल गाउँमा जाने अवस्था नबन्दा आइतबार मात्रै वडा नम्बर १ मा पुगेर आरोपीलाई समात्ने प्रयास भइरहेको उनले बताए ।

    मकवानपुर १ का दम्पती नै राम्रो बोल्न पनि सक्दैनन् । उनीहरुको आफ्नै घर पनि छैन । काम पनि नपाएपछि पत्नी र उनी भोकै रहेको खबरपछि भदौ ३ गते राक्सिराङ गाउँपालिकाले केही मद्त गरेको थियो ।

    ‘राक्सिराङ्ग गाउँपालिका वडा नम्बर १ का मकवानपुर १ को आर्थिक अवस्था दयनीय रहेको र पत्नी सुत्केरी रहेको थाहा पाएपछि केही राहत दिएका थियौँ,’ अध्यक्ष राजकुमार मल्लले भने, ‘चामल, दाल, तेल, नून, त्रिपाल र कम्बल प्रदान गरेका थियौँ, यस्तो परिवारमाथि पनि वज्रपात भएछ, अमानवीय व्यवहार भएछ ।’

    मल्लले विषम परिस्थितिका कारण प्रहरी गाउँ जान नसक्दा घटनाका आरोपी गाउँमा बसिरहेको खबर आएपछि वडाध्यक्षमार्फत जानकारी लिएको र जिल्ला प्रहरीमा भनेर अभियुक्त समात्न प्रहरी पठाइएको बताए ।

    ‘डाँडा वारि–पारीकै अभियुक्तले यो कुकर्म गरेको भनेर खबर आएको छ, ४२ वर्षीय अन्तरे थिङले नै बलात्कार गरेको भनिएकाले नियन्त्रणमा लिन प्रहरी परिचालन भएको छ,’ राक्सिराङ प्रहरी चौकीका इन्चार्ज सिंहले भने, ‘रुखमा बाँधेर पत्नीमाथि कुकर्म गरिरहँदा अभियुक्तले उल्टै मकवानपुर १ लाई कोही आएको छ कि छैन हेर भनेर काम अह्राएको मकवानपुर १ ले वडाध्यक्षसँग भनेका रहेछन् ।’

    मुख्यमन्त्रीले घर बनाइदिँदै थिए

    परिवारमा सन्तान लाभ र स्थानीय सरकारको केही राहतले खुशी हुन खोजेका मकवानपुर १ माथि प्रदेश सरकारको पनि नजर पुगेको थियो । खोरियाको डिलमा फरियाको छानो भएको छाप्रोमा जीवन बिताइरहेका मकवानपुर १ को घर बन्ने तयारी थियो ।

    भदौ ११ गते बागमती प्रदेशका मुख्यमन्त्री ईन्द्रबहादुर बानियाँले दशैँअघि नै व्यक्तिगत रुपमै घर बनाइदिने प्रतिवद्धता जनाएपछि मकवानपुर १ को जिन्दगीमा उज्यालो छाउने कल्पना थियो । मुख्यमन्त्री बानियाँले आफ्नै तलब भत्ताकै रकमबाट घर बनाइदिने बताएपछि आफ्नो पालिकाका नागरिकले केही राहत पाउने महसुस गरेका अध्यक्ष राजकुमार मल्लले भने, ‘समाजमा अराजकता बढ्यो, जघन्य अपराध भयो, एउटा परिवारमाथि परेको वज्रपात महसुस मात्र गर्न सकिन्छ ।’

    मुख्यमन्त्री बानियाँले दुई कोठा, एउटा भान्सासहित शौचालय र बाथरुम सहितको घर दशैँअघि नै निर्माण गर्न निर्देशन दिएका थिए । यस्ता विपन्न, राम्ररी बोल्न नसक्ने परिवारमाथि वज्रपात परेको खबरले अहिले सिंगो राक्सिराङ मर्माहत भएको छ ।

    (पीडितकाे गाेपनियताकाे लागि नाम परिवर्तन गरिएकाे )

  • अन्तरिम सरकारमा तीन मन्त्री पक्का, गृह, ऊर्जा र कानुनमा चर्चित अनुहार

    काठमाडौं ।  सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारमा सहभागी हुने तीन मन्त्रीको नाम करिब टुङ्गो लागेको छ ।

    अर्थमन्त्रीमा पूर्व अर्थ सचिव समेत रहेका अर्धविज्ञ डा रामेश्वर खनाल नियुक्त हुँदै छन् भने अर्थ मन्त्रीमा कुलमान घिसिङ तथा कानुन मन्त्रीमा ओम प्रकाश अर्यालको कबिर पक्का भएको छ । उनलाई गृहसहित कानुन मन्त्रालयको पनि जिम्मेवारी दिन लागिएको छ।

    अर्याल  काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) को कानुनी सल्लाहकार बनेर काम गरेका छन् भने घिसिङ नेपाल विद्युत् प्राधिकरणका निवर्तमान कार्यकारी निर्देशक थिए ।

  • सुमना र हरि ढकालबीच जुम मिटिङमा भएको थियो भनाभन, मनिष झाले के लेखेका थिए ग्रुपमा ?

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा लामो समयदेखि असन्तुष्ट रहेकी सुमना श्रेष्ठले अन्ततः पार्टी परित्याग गरिदिइन् । अहिलेको यो निर्णयमा भने रवि लामिछानेको रिहाइ प्रकरण जोडिएको स्रोतहरु बताउँछन् ।

    जेनजी आन्दोलनका क्रममा सभापति लामिछाने कारागारबाट बाहिर निस्किएका थिए । रास्वपा कार्यकर्तासहितको भिड कारागारबाहिर जम्मा भएर दवाव दिएपछि उनी निस्किने वातावरण बन्यो । यस क्रममा रविलाई एउटा पत्र दिइएका थियो, जुन पछि विवादित बन्न पुग्यो ।

    रवि जेलबाट बाहिरिने क्रममा देखाएको विजयी भावलाई पार्टीका थुप्रै नेताहरुले सहजरुपमा लिन सकेनन् । कारागारबाट निस्किएपछि उनी एउटा क्याफेमा केही नेताहरुसहित रुफ टप गाडीको प्रतिक्षा गरेर बसेका थिए । भनेजस्तो कार आएपछि मात्रै उनी निस्किए । रविले चुनाव जितेजसरी कारको रुफटपबाट निस्किएर हात हल्लाउँदै विजयी भाव प्रस्तुत गरे । अघिपछि कार्यकर्ताहरु दौगिएका थिए ।

    रवि फर्किएपश्चात उपसभापति डिपी अर्यालले अंकमाल गर्दै भावुकता प्रदर्शन गरेका थिए । यस्तै, केही नेताहरुले फेसबुकमा ‘टाइगर इज ब्याक’ भन्दै अनावश्यक गर्जन गरेपछि आलोचना खेप्नु परेको थियो । यो सबै विषयलाई लिएर सुमना लगायत सिमित नेताहरुले पार्टीभित्र असन्तोष पोखेको स्रोतको भनाइ छ ।

    रविका कट्टर समर्थक रहेका प्रवक्ता मनिष झाले समेत पार्टीको ह्वाट्सएप गु्रपमा जेलबाट निस्किने क्रममा कमजोरी भएको बताएका थिए ।

    उनले लेखेका छन्, ‘हिजो कारागारमा भिड जम्मा गर्नु गलत थियो । थपक्क हिँड्दै अगाडि नबढेर रेस्टुरेन्टको बरन्डामा रोक्नु गलत थियो । सन रुफ भएकै गाडी चाहिन्छ भनेर पर्खिनु गलत थियो । यहाँबाट चाँडै निस्किउँ यहाँ नबसौं भन्दै थिए, तर साथीहरुलाई तत्कालीक पब्लिक क्रेज प्यारो लाग्यो । अहिले गाह्रो भएको छ ।

    केन्द्रीय सदस्य गणेश कार्कीले भने रविले प्रशासनबाट लिएको पत्रमा आपत्ति जनाएका थिए । पत्रको भाषा र भाव वैधानिक नरहेको उनको भनाइ थियो ।

    एक केन्द्रीय सदस्यका अनुसार रवि निस्किएकै राति भएको भर्चुअल वैठकमा यो विषयमा चर्को वादविवाद नै भएको थियो । सुमनाले रवि कारागारबाट मौका छोपेर निस्किनु गलत भएको तर्क गरेकी थिइन् । रविलाई छुटाउन जानेहरुले गल्ति स्वीकार गर्नुपर्ने उनको माग थियो । तर, रविनिकट नेताहरुले कडा प्रतिवाद गरे । हरि ढकाल र सुमनाको केहीबेर भनाभन नै भएको स्रोतको भनाइ छ ।

    ढकालले ‘बाघका छालामा स्यालका रजाईं’ भन्दै सुमनालाई खिस्याएका थिए । ‘रवि लामिछानेकै कारण सांसद बनेकाहरुले आफ्नो हैसियत बिर्सिन नहुने’ उनले बताएपछि सुमना आक्रोशित बनेकी थिइन् ।

    स्रोतले भन्यो, ‘एकपटक होइन, दुईपटक होइन, पाँचसात पटक हैसियतबारे प्रश्न उठाएपछि उहाँलाई नैतिकरुपमा पार्टीमा बस्न असहज भएको थियो ।’

    सुमनाले पार्टी छोड्दैछन् भन्ने भेउ रविले पनि पाइसकेका थिए । त्यसको छनक हिजो उनले कारागार निस्किनु अघि लेखेको स्टाटसमा भेटिन्छ । उनले कसैको पनि नाम उल्लेख नगरिकन पार्टीका केही नेताहरुप्रति असन्तोष पोखेका थिए ।

    रविले लेखेका छन्, ‘आफ्नै पार्टी परिवारभित्र का साथीहरूप्रति मेरो कुनै गुनासो छैन। म सबै साथीहरूको स्वतन्त्रताको सम्मान गर्छु। तपाईँलाई राम्रो हुन्छ भने रवि लामिछाने तपाईंको कुनै पनि यात्राको बाधक बन्दैन । रास्वपा कुनै पनि साथीहरूको व्यक्तित्व निर्माणको प्लेटफर्म बनेको रहेछ भने म त्यसमा खुसी नै छु।’

    स्रोतका अनुसार रास्वपाभित्र अन्य केही नेताहरु पनि बढ्दो रुपमा असन्तुष्ट छन्, तर खुल्न सकिरहेका छैनन् । केही नेताहरु पर्ख र हेरको स्थितिमा छन् ।

  • जेनजी आन्दोलन इतिहासको निरन्तरता मात्र होइन, समृद्धिको नयाँ चेतना हो

    हरि जोशी

    नेपालको राजनीति फेरि एउटा निर्णायक मोडमा पुगेको छ । संक्रमणका दशक, असफल नेतृत्व र नागरिक असन्तुष्टिका भारीबीच देश फेरि एक पटक नयाँ प्रश्नको घेरामा छ, देश बन्छ त अब ?

    इतिहासका आन्दोलनः आशा र निराशाको चक्र
    नेपालले यस्ता प्रश्नहरू पहिले पनि धेरै पटक सोधिसकेको छ । २०४६ को जनआन्दोलनले नेपालमा बहुदलीय प्रजातन्त्र फर्कायो । जनताले ठूलो मूल्य चुकाएर ल्याएको लोकतन्त्रप्रति अपार आशा राखे । तर, त्यस यता सत्ता–संघर्ष, भ्रातृघाती कलह र नेताहरूको स्वार्थी व्यवहारले छिट्टै निराशामा परिणत भयो ।

    २०६२ ६३ को जनआन्दोलनले राजतन्त्रको अन्त्य र गणतन्त्रको स्थापना गर्यो । त्यो बेला पनि जनताले सोचे अब देश नयाँ बाटोमा लाग्छ । तर गणतन्त्र स्थापनापछि दलहरूको चरम विभाजन, असफल सत्ता व्यवस्थापन, चरम भ्रष्टाचार र असमानताले फेरि नागरिकको भरोसा खिइयो । यी आन्दोलनहरूले व्यवस्था बदल्ने काम त गरे, तर सोच, संस्कार र राजनीतिक कार्यशैलीमा जति सुधार हुनुपर्ने थियो, त्यो हुन सकेन । यही कारण, आजको पुस्तामा निराशा बढेको छ ।

    पुरानोको विरोध, नयाँ खोजी
    हालैको जेनजी आन्दोलन त्यही इतिहासको निरन्तरता मात्र होइन, समृद्धिको नयाँ चेतनासमेत हो ।

    पुराना दलहरूले बारम्बार असफलता दोहोर्याएपछि, नयाँ पुस्ताले अब पुराना बाटोले हुँदैन भन्ने निष्कर्ष निकालेका छन् । उनीहरूको क्रोध र आक्रोश केवल नारा मात्र होइन, एक पुस्ताको सामूहिक बेचैनी हो, रोजगारको अवसर नपाउने, भ्रष्टाचारको दलदलमा भविष्य गुमाउने, अनि न्यायालयदेखि संसदसम्मै दलको हस्तक्षेप सहनुपर्ने स्थितिको ।

    तर, जेनजी आन्दोलन केवल असन्तुष्टिको विष्फोटमात्र होइन । यसले देखायो कि, नयाँ पुस्ता व्यवस्थाभित्रै सुधार खोज्छ र क्रान्ति होइन, सुधारमार्फत भविष्य सुरक्षित गर्न चाहन्छ । नेपालको राजनीतिक इतिहास नियाल्दा, प्रत्येक पुस्ताले आफ्नै तरिकाले परिवर्तनका लागि आवाज उठाएको देखिन्छ । २०४६ सालको प्रजातान्त्रिक आन्दोलनले बहुदलीय व्यवस्था पुनस्र्थापना गर्यो, २०६२र६३ को जनआन्दोलनले गणतन्त्र, संघीयता र समावेशी लोकतन्त्रलाई संस्थागत गर्यो। यी आन्दोलनहरूमा युवाको अग्रसरता प्रमुख थियो ।

    हालको जेनजी आन्दोलन पनि यही ऐतिहासिक यात्राको निरन्तरता हो, तर यसले पुराना आन्दोलनभन्दा फरकखालको नयाँ चेतना बोकेको छ । अघिल्ला आन्दोलनहरूको केन्द्रमा राजनीतिक दल, विचारधारा र सत्ताको पुनर्संरचना थिए । तर, जेनजी आन्दोलनको केन्द्रमा व्यवस्था भित्रै सुधार, पारदर्शिता, रोजगारी, अवसर र समान पहुँचको माग छ ।

    यो पुस्ता अन्तर्राष्ट्रिय प्रवृत्तिबाट पनि प्रभावित छ– सामाजिक सञ्जाल, डिजिटल प्लेटफर्म र वैश्विक मूल्य बोध यसको हतियार र दिशानिर्देशक बनेका छन् ।

    इतिहासमा जनताले सडकमा उत्रेर अधिकार माग गरेका छन् । जेनजी आन्दोलनले पनि सडक रोज्यो, तर यसको भाषाशैली फरक छ – समानता, पारदर्शिता, सुशासन र समृद्धि ।
    जहाँ पुराना आन्दोलनले संरचनात्मक परिवर्तनमा जोड दिए, यो आन्दोलनले संस्थागत अभ्यास सुधार र राजनीतिक संस्कृतिको परिमार्जनमा जोड दिएको छ । जेनजी पुस्ता केवल राजनीतिक परिवर्तन होइन, आर्थिक रूपान्तरण चाहन्छ । यसले शिक्षा, प्राविधिक सीप, रोजगारी, उद्यमशीलता, सामाजिक न्याय, वातावरणीय दिगोपन जस्ता मुद्दालाई प्राथमिकतामा राखेको छ । राजनीति सत्ता प्राप्तिको खेल भन्ने धारणालाई यस आन्दोलनले तोड्दै, राजनीति समृद्धि र सुशासनको मार्ग भन्ने नयाँ दृष्टिकोण स्थापित गर्न खोजेको छ ।

    किन आवश्यक छ पार्टी पुनर्गठन ?
    दलीय व्यवस्था लोकतन्त्रको आधार हो । पुराना दलहरूको पुनर्गठनबिना यो चेतना संस्थागत गर्न सजिलो छैन । नेपालका राजनीतिक दल दशकौँसम्म सत्तासंघर्षमै अल्झिए । नीति, विचार र सिद्धान्तमा भन्दा पनि सत्ता र स्वार्थमा केन्द्रित रहँदा देशले अवसर गुमायो । आन्तरिक लोकतन्त्रको अभावमा नेताहरू जीवनभर पदमा टाँसिने, नेतृत्व हस्तान्तरण नहुने परम्परा पुराना राजनैतिक दलमा व्याप्त छ । विचार र कार्यशैलीमा स्थिरता नहुँदा जनताका प्राथमिकताभन्दा पदको हिसाबले गठबन्धन बनाउने परम्परा निरन्तर चल्यो । भ्रष्टाचार र पहुँचवादी राजनीतिक अभ्यासमा लिप्त पार्टीहरू युवाको उर्जा र विशेषज्ञतालाई प्रयोग गर्ने ठाउँ नभई, पहुँच र पैसाले चल्ने संरचना बनाउनमै केन्द्रीत भए ।

    यी प्रवृत्तिले दलहरूलाई संस्थागत कमजोर बनाएको छ । दल कमजोर हुँदा लोकतन्त्र नै संकटमा पर्ने अवस्था सिर्जना भयो । अब दलहरु व्यापक पुनर्गठनको दिशामा लाग्नुको अर्को विकल्प छैन । अब दलहरूले केवल नामका साइनबोर्ड फेरेर वा कार्यकर्तामुखी घोषणापत्र जारी गरेर मात्र जनताको विश्वास पाउने छैनन् । अहिलेको नागरिक असन्तुष्टि केवल दलहरूप्रति होइन, राजनीतिक प्रणाली नै संकटमा परेको अनुभूतिमा बदलिएको छ । दशकौँदेखि पदमा बसिरहेका नेताले मार्गदर्शन मात्र गर्ने, वास्तविक नेतृत्व युवा पुस्ताले लिन सक्ने वातावरण सृजना गर्न सक्ने प्रतिवद्धता आवश्यक छ ।

    दलभित्रै पारदर्शी निर्वाचन, जवाफदेही नेतृत्व र नीति–निर्माणमा कार्यकर्ताको सहभागितामा आन्तरिक लोकतन्त्र मजबुत बनाउने अभ्यासमा सामुहिक निर्णय जरुरी छ । ठग्ने अस्थायी गठबन्धन होइन, दीर्घकालीन नीति र सिद्धान्तमा आधारित राजनीति लाई संस्थागत गर्न विचार र नीतिको स्पष्टता विना जनतालाई विश्वास दिलाउन सक्ने अवस्थामा दलहरु छैनन् । पार्टीको गतिविधि केवल चुनावको बेला मात्र होइन, निरन्तर नागरिकसँग संवादमा आधारित बनाउन जरुरी छ । भ्रष्टाचारविरुद्ध शून्य सहनशीलताको नीति व्यवहारिक अभ्यासमा लागु गर्नुपर्छ, जनताको सबैभन्दा ठूलो माग यही हो ।

    सुशीला कार्कीको नेतृत्व र जेनजी पुस्ताको ऊर्जा मिलेर एउटा नयाँ सुरुवात गर्ने सम्भावना देखिएको छ । तर, यदि पुराना दल जस्ताको तस्तै रह्यो भने, त्यो सम्भावना पनि इतिहासकै अर्को असफलतामा परिणत हुनेछ । तर, यदि यो पुस्ता आफ्नो नैतिकता, पारदर्शिता र समृद्धिको एजेन्डामा अडिग रहनसक्छ भने, यसले नेपाललाई अवस्थामात्र होइन, दिशा बदल्ने क्षमता राख्छ । जेनजी आन्दोलन कुनै अचानक जन्मिएको घटना होइन, यो नेपालको राजनीतिक इतिहासको क्रमागत निरन्तरता हो । तर, यसको विशिष्टता भनेको– यसले केवल विगतलाई निरन्तरता दिने मात्र होइन, भविष्यलाई समृद्धि, अवसर र सुशासनको नयाँ चेतना दिने क्षमता बोकेको छ ।

    यसैबीच, पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको प्रधानमन्त्री नियुक्तिले देशको राजनीतिक दिशा फेरिएको छ । कार्कीलाई न्यायपालिकामा इमानदार, दृढ र भ्रष्टाचारविरोधी नेताको रूपमा जनताले पहिचान गरेका छन् ।

    उनको नेतृत्वमा सरकार बनेपछि नागरिकमा आशा जागेको छ । अब प्रणाली सफा हुन्छ । राजनीतिक स्वार्थभन्दा इमान्दारिता अग्रसर हुन्छ । तर, चुनौति गम्भीर छ । पुराना दलले आफ्नो शक्ति र स्वार्थ गुमाउन चाहँदैनन् । कार्कीलाई असफल बनाउन, अवरोध सिर्जना गर्न र फेरि पुरानै सत्ता खेलतर्फ फर्काउने प्रयास हुने सम्भावना उच्च छ । इतिहासले देखाएको छ, २०४६ र २०६२–६३ मा नागरिकले प्रणाली बदल्न सके, तर संस्कार बदल्न सकेनन् । तर, जेनजी पुस्ता मुलुक निर्माणका निम्ति आतुर देखिन्छ । उत्साहित देखिन्छ ।

    अब, जेनजी आन्दोलन र सुशीला कार्कीको नेतृत्वबीच एउटा नयाँ अवसर आएको छ । प्रश्न यहीँ छ, के हामी फेरि पुरानै गल्ती दोर्होयाउँदै रु कि, यसपटक सचेत नागरिक, दबावमूलक युवा पुस्ता र इमानदार नेतृत्वको संयोजनले वास्तवमै प्रणालीलाई सुधार गर्छ रु यदि हामीले यो अवसर गुमायौँ भने, फेरि दशकौँसम्म देश बन्छ त अब रु भन्ने प्रश्न उठिरहने छ ।

    तर, यदि यसपटक नागरिक निरन्तर सचेत भए, दलहरूलाई जवाफदेही बनाउन सके र सुधारलाई संस्थागत गर्न सके नेपालले अबको यात्रा नयाँ अध्यायका रूपमा लेख्नेछ ।

  • रास्वपाको भर्चुअल बैठक जारी, सुमनाले पार्टी छोड्ने परिस्थितिबारे छानबिनको माग

    काठमाडौं । रास्वपाभित्र सुमना श्रेष्ठले पार्टी परित्याग गरेको विषयमा छानबिनको माग उठेको छ । अहिले जारी रहेको रास्वपाको भर्चुअल बैठकमा कोशी प्रदेशका कार्यवाहक सभापति सरिन तामाङले सो माग राखेका हुन् ।

    समसामयिक विषयमा छलफल गर्न आयोजित बैठकमा रास्वपाका केन्द्रीय सदस्य, प्रदेश सदस्य र जिल्ला पदाधिकारीहरुको सहभागिता छ । जेनजी आन्दोलन र सुमनाको बहिर्गमनको विषयले छलफलमा बढि प्राथमिकता पाइरहेको छ ।

    तामाङले दलभित्र रहेको व्यक्तिवादी चरित्र हटाउन आवश्यक रहेको मागलाई गम्भीररुपमा लिनुपर्नेमा जोड दिएका थिए ।

    उनले भने, ‘सुमना श्रेष्ठजीले पार्टी छोड्नुपर्ने अवस्था आउने कुरामा गम्भीर छानविन हुनुपर्छ । दल व्यक्ति केन्द्रीत हुने वा सिद्धान्त केन्द्रीत हुने ? प्रष्ट होस ।’

    सुमनाले रुँदै पार्टी छोड्नु गम्भीर विषय भएको उनले बताए ।

    वैठकमा रास्वपाका केही पार्टी कार्यालयहरुमा भएको आक्रमणको विषयमा पनि समिक्षा हुनेपर्ने माग बाग्मती प्रदेशबाट गरिएको छ ।

     

  • भावी अर्थमन्त्रीमा स्वर्णिमको समर्थन डा. रामेश्वर खनाललाई

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति डा. स्वर्णिम वाग्लेले आफ्नो पार्टीका कोही पनि जिम्मेवार नेता मन्त्री बन्ने दौडमा नरहेको प्रष्ट पारेका छन् उनले भावि अर्थमन्त्रीमा डा. रामेश्वर खनाललाई समर्थन गर्ने बताए ।

    प्रधानमन्त्री सुशीला कार्कीले विज्ञ अर्थमन्त्रीको खोजी गरिरहेका बेला वाग्लेले आफ्नो धारणा प्रष्ट्याएका हुन् । उनी स्वयम् पनि एक अर्थशास्त्री भएकाले कतिपयले सम्भावित अर्थमन्त्रीका रुपमा हेरेका थिए । तर, वाग्लेको स्टाटसले उनी र रास्वपाका कोही पनि सिनियर नेता मन्त्री नबन्ने प्रष्ट भएको छ ।

    फेसबुकमा वाग्लेले लेखेका छन्, ‘कृपया अफवाह नफैलाउनुहोला, राष्ट्रिय स्वतन्त्र पार्टीका कोही पनि जिम्मेवार नेता मन्त्रीको दौडमा छैनन्। आजको विकराल आर्थिक अवस्था सम्हाल्न मेरो समर्थन प्रिय अग्रज एवं मित्र, पूर्व अर्थसचिव रामेश्वर खनाललाई हुनेछ।’

  • भग्नावशेषमा उभिएर मोहन बस्नेतको भाषण- माओवादीका छाउराले मेरो घर जलाए

    काठमाडौं । नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री मोहन बस्नेतले आफ्नो घर ध्वंस गर्नमा माओवादीको हात रहेको आरोप लगाएका छन् । यसमा स्वदेशी मात्र नभएर विदेशीहरु पनि संलग्न रहेको उनको दाबी छ ।

    बस्नेतले आज आफ्नो सिन्धुपाल्चोकस्थित घरको भग्नावशेषमा केही मानिसहरु जम्मा गरेर निकै बेर भाषण सुनाए । आफ्नो घर ध्वस्त पारिएकोमा उनले कडा आक्रोश पोखे ।

    बस्नेतको अभिव्यक्तिका केही अंश:

    मेरो तीनकुनेको घर पनि जलाइदिएँ, यहाँको पनि जलाइदिए । माओवादीको सक्रियतामा यो सबै भएको छ । तर, यहाँ स्वदेशी मात्र छैनन् विदेशी पनि देखिएका छन् । यो गम्भीर परिस्थिति हो । मलाई कतिपय साथीहरुले तँ अब बोल्ने काम नगर, प्रष्ट बोल्दा देशमा पच्दैन भनेर पनि भनेका छन् ।

    तर म यो देशको लागि, नेपाली जनताको लागि, प्रजातन्त्रका लागि धेरै सानो उमेरदेखि लडेको हुँ । मेरो परिवार पञ्च हुँदा पनि म प्रजातन्त्रका लागि लडेको हो । नेपाल आमा रोइरहेको बेलामा कसले के भन्ला, प्रहरी र सेनाले के गर्ला भनेर चुप बस्न मिल्दैन ।

    व्यक्तिका घर जग्गाहरु आगजनी गरेका छन् । यहाँको वाल अस्ति भत्काए । फेरि अस्थाइ वाल लगाएको, फेरि भत्काउन आए । गोदेर लखेटेको हिजो । हामी राष्ट्रका लागि लडेका हौं, एक–दुई–जनाले ट्याइफ्याँइ गर्दैमा चुप लागेर बस्ने स्थिति छैन । हिजो प्रहरी र सेनाले मलाई सुरक्षा दिन सकेन । सुर्खेतमा नेपाली कांग्रेसका लडाकु साथीहरुले सुरक्षा दिएर राखेको हो ।

    मुलुकलाई अप्ठेरो पर्दा, प्रजातन्त्र खतरामा हुँदा नेपाली भन्ने दलाल, फटाहा, लुटेरा, आतंककारी फेरि रमझम गर्न थालेका छन् । आन्दोलनले एउटा रुप लेला । तर यसको कमाण्डर छैन । जुन आन्दोलनमा नेता, कमाण्डर हुँदैन त्यो आन्दोलन स्थिर हुँदैन । आन्दोलनकारीको बीचमा भाँडभैलो र कुटाकुट भइरहेको छ । यो स्थितिमा देशले कति दुख पाउने हो । हामीले नेपाल भन्न पाउने पनि हो कि होइन भन्ने अवस्था छ ।

    म दावाका साथ भन्छु सिन्धुपाल्चोक जिल्लामा कांग्रेस जतिको विकास कसले गरेको छ ? कोही माइकल लाल छ हामीसित दोहोरो कुरा गर्न सक्ने ? सिंहदरबारमा आगजनी गर्ने, सर्वोच्च अदालतमा आगजनी गर्नेको निस्कियो ? कोही ल क्याम्पसका पूर्वसभापति, कोही किर्तिपुरका । यो देशमा माओवादी भन्ने कति गद्दार रहेछन् भन्ने देखिएको छ ।

    अब चुनाव त के होला, संविधान मिचिएको छ । चुनाव हुने स्थिति भयो भने कांग्रेस भाग्दैन । तिमीहरु सबैका जमानत जफत गरिन्छ, माओवादीका छाउरा हो । जेएनजीका नाममा एउटा मुभमेन्ट चल्यो । त्यसको पछि लागेर देशभरि आतंक गरेको छ ।

    प्रचण्डले केही दिनअघि मात्रै सिंहदरबार र बालुवाटरमा आगो लाग्छ भन्ने हिसाबले वक्तव्य जारी गरेको थियो । एमालेको एउटा छाउरो मेयर भइसकेको मान्छेले मोहन बस्नेतको घरघरमा आगो लगाउने भनेर लेखेको छ । हाम्रो साथीहरुले स्क्रिन सट गरेर राखेका छन् । आतंककारीहरु ।

    मैले यति कुरा बोल्दा बोल्दै मलाई आजैबाट खतरा बढ्न सक्छ । खतराको बाउ बढोस । म देश र जनताको लागि लड्न तयार छु । आँपको विरुवा उखेलेका छन् । गमला घरघरमा लगेका छन् । फुल उखेल्या छ । यो बाटो मैले बनाइद्या हो । आगो लगाउने माओवादीहरुले मोहन बस्नेतले टेरामक्स काण्ड गरेर कमाएको जग्गा भनेको छ । छिमेकीहरुलाई सोधे हुन्छ । ५६ सालमा किनेको जग्गा हो यो ।

    अहिले बनेको सरकार… सरकार के भन्नु तीन दिनसम्म मन्त्रीपरिषद बन्या छैन । यसको हुति हेरौं के हुँदो रहेछ । भएन भने फेरि जनताको जिउधनको सुरक्षा गर्ने, प्रजातन्त्रको रक्षा गर्ने, मुलुकको रक्षा गर्ने कांग्रेसको पालो हो ।

    म यो ठाउँमा आउँदा रोपनीको ५ लाख रुपैयाँ थियो । मैले बाटोघाटो, खानेपानी, ढलको व्यवस्था गरेपछि आनाको ६० लाख भएको छ । छिमेकीहरुलाई भन्न चाहन्छु, तपाईंहरुले पनि यसको रेखदेख गर्नुपर्ने हुन्छ । तपाईंहरुले पनि के ठिक के बेठिक छुट्याउनुपर्छ । कसले चोरेको भन्नुपर्यो, ठेगान हामी लगाउँला । चोर्न बानी परेकाले भोलि तपाईंको घर चोर्छन् । पर्सी अर्कोलाई लुट्ला । त्यो बेला हाम्रो संरक्षण चाहिन्छ ।

     

  • महान्यायाधिवक्तामा सबिता भण्डारी बराल नियुक्त

    महान्यायाधिवक्तामा सबिता भण्डारी बराल नियुक्त

    काठमाडौं । महान्यायाधिवक्तमा वरिष्ठ अधिवक्ता सबिता भण्डारी बराल नियुक्त भएकी छन् ।

     

  • महान्यायाधिवक्तामा वरिष्ठ अधिवक्ता सबिता भण्डारी बराल सिफारिस

    काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले वरिष्ठ अधिवक्ता तथा नेपाल बारकी पूर्व कोषाध्यक्ष सविता भण्डारी बराललाई महान्यायाधिवक्तामा नियुक्तिका लागि सिफारिस गरेकी छन् ।

    राष्ट्रपति कार्यालयमा सिफारिस पुगेपछि उनको नियुक्ति हुनेछ । आजै निवर्तमान महान्यायाधिवक्ता रमेश बडालको राजीनामा शीतल निवासबाट स्वीकृत भएको थियो ।

    सबिता शम्भु थापा बार अध्यक्ष भएका बेला कोषाध्यक्ष थिइन् । उनी वामपन्थी पृष्ठभूमिकी कानून व्यवसायी हुन् ।

  • ‘पाका जेनजी’ को तमासा- जंगीअड्डा बाहिर ब्याण्डेज हातले कुटे, रिपोटर्स क्लबमा कुटिए

    ‘पाका जेनजी’ को तमासा- जंगीअड्डा बाहिर ब्याण्डेज हातले कुटे, रिपोटर्स क्लबमा कुटिए

    काठमाडौं । हामी नेपालका संस्थापक सुधन गुरुङले जेनजी आन्दोलनका सहिद परिवारसँगै उभिएर आयोजना गरेको पत्रकार सम्मेलनमा रडाको भएको छ । रिपोर्टस् क्लबमा आएको पत्रकार सम्मेलनमा होहल्ला मात्र होइन, कुटपिट समेत भयो ।

    गुरुङ बोल्दाबोल्दै बाहिरबाट घुसपैठ गरेका केही व्यक्ति प्रत्यक्ष कार्यकारी प्रधानमन्त्रीको मुद्दा छोडेकोदेखि संसद विघटनसम्मको विषयलाई लिएर उत्तेजितरुपमा प्रस्तुत भएका थिए । गुरुङ पनि आवेशमा चिच्याए । पत्रकार सम्मेलन भाँडियो । गुरुङले पोडियम छाडे ।

    तर, प्रेस मिट सकिए पनि लफडा भने सकिएन, बरु झन् चर्कियो । भित्र कोलाहलपूर्ण बनेको स्थिति बाहिर झनै असामान्य बनेर गयो । लामो कपाल पालेका एक व्यक्तिलाई पार्टीको झोले भन्दै आक्रमण हुन थाल्यो । उनलाई युवाहरुले लछारपछार गर्दै भकुरे । उनी भूइँमा भक्लक्कै ढले ।

    केही युट्युबर पनि मिसिएर ती व्यक्तिमाथि कुटपिट भइरहेको सार्वजनिक भएका भिडिओमा देखिन्छ । ती लामो कपालधारीले पनि प्रतिकार गर्न खोजे । तर, भिडसँग नसकेपछि भागे ।

    यसरी कुटाइ खाने व्यक्तिको नाम प्रेम लामा रहेको खुलेको छ । उनी कागेश्वरी मनोहरा नगरपालिका, काठमाडौंको स्थायी बासिन्दा हुन् । आरआर क्याम्पसमा पढेका उनी अहिले पनि आरआरतिरै भेटिने गरेका छन् । एमाले निकट लामा अखिलका विद्यार्थी नेताहरुसँग हिँड्ने गर्छन । एमाले महासचिव शंकर पोखरेलसँग लामाले खिचेको फोटो पनि अहिले सामाजिक संजालमा भेटिन्छन् ।

    जेन जीको आन्दोलनमा उनी सुरुवातदेखि नै देखिएका थिए । आन्दोलनकै क्रममा हातमा चोट लागेको लामाको दाबी छ । हातमा ब्यान्डेज पनि लगाएका छन् । ब्याण्डेज लगाएरै उनी जंगीअड्डा अघि पनि पुगेका थिए ।

    जतिवेला जेन जीका प्रतिनिधिहरुसँग नेपाल आर्मीले छलफल गरिरहेको थियो । जंगी अड्डाबाहिर भने ठूलो भिड तैनाथ हुने गरेको थियो । जुन भिडमा लामा पनि सहभागी हुने गरेका थिए ।

    त्यसवेलाका भिडियोहरुमा उनी देखिएका छन् । एउटा भिडियोमा उनले जेन जीका प्रतिनिधिहरुलाई प्रश्न गरिरहेका छन् । जेन जीले वास्तविक जेनजी नभएको बताएपछि लामा बम्किँदै सोध्छन्, ‘तैंले पाल्छस् मलाई ? तँ जेनजी होइन ? मलाई जिन्दगीभरि पालेर देखा !’

    लामा यतिमै रोकिँदैनन् । उनी थप प्रश्न गर्छन्, ‘आन्दोलनमा बुढापाकाहरु मरेका छन् । आइमाइहरु मरेका छन् । तैंले भनेर हुन्छ ? धेरै नबोल्, अहिले पड्काइदिन्छु । जिन्दगीभर गोली बोकेर बस्ने म हो । अहिले पनि मेरो औंला चल्दैन । तैंले मलाई पाल्छस् ?’

    यसपछि यिनै प्रेम लामाको अर्को भिडियो पनि सार्वजनिक भएको छ । चार दिनअघिको भिडियोमा प्रेम लामाले त्यही ब्याण्डेज गरिएको हातले एक जेनजी युवालाई भ्वाक्क मुक्काले हान्छन् । अनि ती युवालाई लखेट्छन् ।

    जेनजीलाई पिट्ने तिनै घाइते प्रेम लामाले आज रिपोर्टस् क्लब बाहिर पिटाइ खाएका हुन् । लामा जेन जीको प्रतिनिधि बनेका सुधन गुरुङलाई डिस्टर्व गर्न उनी रिपोर्टस् क्लबमा पुगेको बुझिएको छ ।

     

     

  • देउवा र प्रचण्ड निवासकाे भग्नावशेषमा प्रवेश निषेध

    काठमाडौं । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेर बहादुर देउवाको निवासमा मिडियासँगै सर्वसाधारणलाई प्रवेश निषेध गरिएको छ।

    बुढानिलकण्ठस्थित देउवा निवासमा भदौ २३ र २४ गते भएको विध्वंसात्मक जेन–जी आन्दोदनका क्रममा जेन–जीकै एक समूहले तोडफोड र आगजनी गरेको थियो । आन्दोलन भएको करिब पाँच दिनपछि उक्त घरलाई कसैले नदेखुन् भनेर जस्ताको पाताले तारबार गरिँदैछ ।

    देउवाको घरमा काम गरिरहेका एक कामदारका अनुसार, ‘देउवा निवासमा नेपाली आर्मी खटिएको छ। त्यहाँ अहिले कुनै पनि मानिसहरुलाई प्रवेश गर्न दिएको छैन । हेर्ने निहुँमा मानिसहरुले सामान लिएर गएका कारण अहिले तारबार गरिँदैछ । भित्र जलेर केही पनि छैन । भएको सामानलाई संरक्षण गरिरहेका छौं ।’

    देउवाको घरको संरक्षणमा आफन्त र नेपाली आर्मी रहेको ति कामदारको भनाइ छ । तर आफन्त र सुरक्षाकर्मीको नाममा पार्टीका कार्यकर्ताहरुले लोभका कारण जान नदिएको त्यहाँ हेर्न आएका मानिसहरुको आरोप छ ।

    जेन जीको आन्दोलन पहिलो १९ जना प्रदर्शकारीको मृत्यु भएपछि आन्दोलनरत जेन-जीहरुले दोस्रो दिन बिहानैदेखि निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली, माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवा लगायत शिर्ष नेताहरुको घरमा आगजनी गरेका थिए ।

    आगजनी गरेको भोलिपल्टदेखि नै सर्वसाधारण केही ‘पैसा, सुन चाँदी’ वस्तु पाइन्छ कि भनेर खोज तलासी गर्न नेताका जेलेका घर धाइरहेको सामाजिक सञ्जालमा छ्याप्छ्याप्ती आइएको थियो । यद्यपी उक्त क्रम अझै रोकिएको छैन् । देउवाको निवास हेर्न सामाखुसी, महाजगञ्ज लगायतका ठाउँबाट ट्याक्सी बुक गरेर समेत आइरहेका छन् ।

    यस्तै, खुमलटारस्थित माओवादी केन्द्रका अध्यक्ष ‘प्रचण्ड’ को निवासमा पनि प्रवेश निषेध गरिएको छ। प्रचण्डका आफन्तहरुले नै घरको गेड नै सिल गरेर प्रवेश निषेध गरेको स्थानीयको भनाइ छ ।

     

  • माओवादीले भन्यो- आगजनीमा हाम्रो संलग्नता छैन, कुनै कार्यकर्ता संलग्न भेटिए कडा कारवाही होस्

    माओवादीले भन्यो- आगजनीमा हाम्रो संलग्नता छैन, कुनै कार्यकर्ता संलग्न भेटिए कडा कारवाही होस्

    काठमाडौं । नेकपा माओवादी केन्द्रले सार्वजनिक तथा निजी सम्पत्तिमा आगजनी,तोडफोड वा लुटपाटमा आफ्नो पार्टी सम्बन्धित कसैको संलग्नता देखिए कडा कारवाही गर्ने प्रष्ट पारेको छ ।

    उपाध्यक्ष तथा प्रवक्ता अग्नि सापकोटाले आइतवार प्रेस विज्ञप्ति जारी गर्दै त्यस्ता तथ्य प्रमाण फेला परे सरकारले सख्त कारवाही गरोस् भनी आग्रह गरेका छन् ।

    सापकोटाले आफ्नै नेताहरुको घर र कार्यालय आगजनी भएको तथ्य हुँदा हुँदै केही व्यक्ति र समूहले ध्वंसात्मक क्रियालापमा माओवादी कार्यकर्ताको संलग्नता भनी गरेको प्रचारले ध्यानाकर्षण भएको ताएका छन् ।

  • ‘राष्ट्रपति कार्यालयका सचिवलाई थर्काउँदै भनेँ- तपाईंसित वार्ता गर्दिनँ, बाजे खोइ ?’

    काठमाडौं । जेनजी अभियन्ता सुधन गुरुङले राष्ट्रपति कार्यालयमा आफूले सचिवलाई समेत थर्काइदिएको बताएका छन् । उनले राष्ट्रपति कार्यालयको पानीसमेत पिउन नमानेको र बाहिरबाट मगाएकोसमेत सुनाए ।

    रिपार्ट्स क्लवमा आयोजित पत्रकार सम्मेलनमा गुरुङले वार्ताका लागि शीतल निवास जाँदाको अनुभव सुनाएका हुन् । उनले आफू चप्पल लगाएरै शीतलनिवास पुगेको भन्दै राष्ट्रपति कार्यालयका सचिवले सुट लगाएको देखेपछि रिस उठेको बताए ।

    गुरुङको भनाइ जस्ताको तस्तैः

    मलाई वार्तामा एक्लै बोलायो । म त जान्न भनेँ । केही नगर्दा त यस्तो छ, म एक्लै गए कस्तो हुन्छ ? हाम्रो वकिल ओमप्रकाश सरलाई सोध्न सक्नुहुन्छ ।

    मैले रमण कर्णलाई पनि लिएर गएँ । आर्मीले १ जनालाई पठाउने आदेश छ भन्यो । अहँ म त जान्न भनेपछि आर्मीले भित्र कुरा गरे । अनि उहाँलाई पनि छिर्न दिएँ ।

    म त चप्पल लगाएर गएको थिएँ । त्यहाँ कुर्सीमा हामी ३ जना बसिरहेका थियौं । राष्ट्रपति आउनुहुन्छ भन्ने सोचेको, तर दुईजना कर्मचारी आए । एकजना ढाका टोपी र सुट लगाएका थिए । उनी सचिव रहेछन् । थुचुक्क पलेटीँ मारेर बस्नुभयो । रमणजी के छ ? भनेर सोध्नुभयो । म जुरुक्क उठेर भनेँ– के छ रे ? कसलाई भनेको ? ताल यही हो, सुट लगाएर बस्ने ? यसरी बोलाउने हो ? लाज लाग्दैन ?

    मैले कतिसम्म थर्काएको छु राष्ट्रपति निवासमा । म त लड्ने नै हो । म त मर्ने नै भनेको हो । जेसुकै भनोस । मलाई राष्ट्रपति, प्रधानमन्त्री थाहा छैन । देशको इज्जत फालेको मान्छेलाई सम्मान गरिँदैन । मैले उहाँलाई बाजे खोइ भनेँ । यही भनेँ । मलाई आउँदैन के हो प्रेजिडेन्ट । म त तपाईंहरुसित कुरा गर्दिनँ जानुस भनेँ । एकदम ठूलो सचिव रैछ । अहिलेको राष्ट्रपति लिएर आउनुस, अनि मात्रै वार्तामा बस्छु भनेँ ।

    बिहानको ८ बजेदेखि ५ बजेसम्म बस्यौं । हामी जानेवित्तिकै पानी दिनुभयो । पानी अफर गरेपछि यहाँको पानी खान्न भनेँ । राष्ट्रपति निवासको पानी एक थोपा खान्न भनेँ । घाँटी सुक्या थियो । चिया खानुस भन्नुभयो । म त अशुद्ध हुन्छु खान्न भनेँ । उहाँहरु हाँस्नुभयो । पछि एकजना दाइलाई बाहिरबाट पानी ल्याउन लाएर खाएकँ । कसले खान्छ विदेशी पानी ? लाज सरम नभएको ।

    हाम्रो फस्र्ट माग नै संसद विघटन थियो । राष्ट्रपतिसँग कुरा पुग्यो । आर्मीको चिफ आउनुभो । तपाईंले भनेकै हुने भयो, बधाइ छ भन्नुभयो । एकदम खुशी भएँ । जेनजी साथीहरुलाई हतार–हतार फोन गरेर को–को हुन्छ तिमीहरु आउ भनेँ ।

    हाम्रो आन्दोलन अझै जारी छ । एक्लै भए पनि जारी छ । तँलाई साथ दिन्न भने पनि म त लड्ने बाला छु । म यस्तै हो । बानी यस्तै हो । जति जेसुकै भन्नु । इन्डियन, चाइनिज, चानचुङ जे भन्नुस आइ डन्ट केयर । फर मि माइ कन्ट्री इज एवभ एभ्रिथिङ । यत्रो बलिदान गरेका छन् हाम्रा भाइहरुले । ८० वर्षमा नभएको परिवर्तन हो । यो त हाम्रो सरकार हो । पब्लिकको सरकार हो । माग पुरा नभए सरकार फेरि ढल्छ ।

  • सुदन गुरुङको पत्रकार सम्मेलनमा हंगामा, झण्डै हात हालाहालको स्थिति

    काठमाडौं । जेनजी अभियन्ता सुदन गुरुङले रिपोर्टर्स क्लवमा गरेको पत्रकार सम्मेलनमा हंगामा भएको छ ।

    गुरुङको अभिव्यक्तिप्रति असन्तुष्टि जनाउँदै केही पत्रकार र अभियन्ताहरु खनिएपछि झण्डै हात हालाहालको स्थिति उत्पन्न भयो ।

     

  • ‘मलाई लाज लागेको छ, यस्तो काम गर्नेलाई कसरी नेपाली भन्ने ?’

    ‘मलाई लाज लागेको छ, यस्तो काम गर्नेलाई कसरी नेपाली भन्ने ?’

    आज मलाई यहाँ उपस्थित भई आज पदभार ग्रहण गर्ने मौका अवसर मिल्यो । सचिवज्यूहरु लगायत सम्पूर्णले मेरो कार्यकालको सफलताको काम कामना गर्नुभएको हुनाले म सबैलाई धन्यवाद दिन चाहन्छु ।

    यहाँहरु सबैलाई जानकारी छ कि कुन परिस्थितिमा यो अन्तरिम सरकार आवश्यकता पर्न आयो । २७ घण्टाको एउटा आन्दोलनबाट मुलुकमा जनधनको व्यापक क्षति हुन गएको छ। युवा युवतीहरुले मृत्युवरण गर्नु पर्‍यो । सुरक्षा निकायहरु, प्रहरीका बिटहरु, सर्वोच्च अदालत, तराईका जम्मै सम्पूर्ण जिल्ला अदालतलगायत सिंहदरबार समेत विभत्स तरिकाले जलेर गयो ।

    हाम्रा जति पनि रेकर्डहरु,  प्रमाणहरु, सर्वोच्च अदालतका फाइलहरू नष्ट भयो । ठूलो समस्या भौतिक भवनको क्षतिले त केही हुनु रहेनछ, त्यो त बनाउन पनि सकिन्छ। तर, ती रेकर्डहरु, ती जमानाका फाइलहरु, ती विवरणहरु सम्पूर्ण हाम्रो नष्ट भएर हामी यतिखेर शून्यमा पुगेका छौँ। हाम्रा सुरक्षा कर्मीहरूको पनि देहावसान भयो। देशभरिका सुरक्षाकर्मीलाई दिएको बाहनहरु अर्को खरिद नगरी नहुने अवस्था विद्यमान छ।

    र, यस घडीमा मलाई अलिकति लागेको कुरा के हो भने- यो जुन हत्या, हिंसा भयो, चाहे हत्या होस् चाहे यो आगजनीका कुराहरु भएका छन्, यो टिपिकल कस्तो भने मुलुकको अत्यन्त आवश्यक जुन संस्थाहरु छ, त्यसमा छानी-छानी प्रहार भएको छ। प्रहरीहरु सुरक्षाको लागि अनिवार्य थिए, तिनलाई प्रहार भयो, ती बिटहरु सम्पूर्ण र प्रहरीका चाहिँ जुन चौकी, थानाहरु सबै जले। अदालतका फाइलहरु सम्पूर्ण नष्ट भएर गयो। हाम्रै सिंहदरबारभित्रका पनि कयौँ त्यस्तो पुराना फाइलहरु ती सबै नष्ट भएर गयो।

    बडो आश्चर्यको कुरा अत्यन्त आवश्यक संस्थाहरु देशको, जसले चाहिँ यो देशको शासन चलाएको छ, ती भवनहरु र ती मिसिल, ती कागजहरु नष्ट भयो । अलिकति त मलाई त यो देखेर लाज पनि लागेको छ। नेपाली नै भएर यो काम गरेको हो भने, तीनलाई नेपाली कसरी भन्ने ? मान्छेले ज्यान मार्छ, भवनहरु लुट्ला, भत्काउला, बेग्लै, तर यो घटना त मलाई लाग्छ यो देशमा पहिलो चोटि भएको हो ।

    यस किसिमबाट अहिले हाम्रो अनुहार देखाउनै नसक्ने अवस्थामा पुर्‍याएको छ । मलाई त जहाँसम्म लाग्छ, यो एउटा षड्यन्त्रै भएको हो कि भन्ने लाग्छ। यो अनुसन्धान हुन बाँकी छ । र अनुसन्धान गरेर यसरी प्रहार गर्नेहरुलाई,  यसरी नोक्सान गर्नेहरूलाई, अत्यन्त आवश्यक कुराहरुको नामोमेट गराएकाहरूलाई छोड्नुपर्ने अवस्था चाहिँ छैन। यसको खोजबिन, तलास हुनुपर्ने अवस्था छ।

    अर्कोतिर जुन परिस्थितिमा म आएँ, कुनै रहरले म आएको होइ न। सडकबाट जताततैबाट सुशीला कार्कीलाई जिम्मा देऊ भनेर आवाज उठ्यो । मैले पनि विवश हुनुपर्‍यो । जहाँसम्म, मेरो जुन टीम छ, हामी कुनै यो सत्ताको, यो पदको रसस्वादन गर्न आएको होइन। मेरो उमेर पनि होइन त्यो। हामीले के चाहेको हो भने- ठिक छ, हामीलाई खोजियो, हामीले यो बेलामा किन सेवा नगर्ने ? हामीले के गर्‍यौँ भने ६ महिनामात्रै अवधि, त्यो भन्दा बढी नबस्ने, कुनै हालतमा पनि आफ्ना काम कारबाही गरेर हामी चाहिँ मुक्त हुने । र, नयाँ आउने संसद, नयाँ आउने मन्त्रीहरुलाई यो जिम्मेवारी र दायित्व सुम्पिने अठोट गरेका छौँ । यो अठोटमा यहाँहरुको साथ नपाइकन सम्भव चाहिँ छैन । सुरक्षा निकायले पनि हामीलाई साथ नदिई यो सम्भव छैन । मलाई सहयोग गर्नुस् ।

    बडो आश्चर्यको कुरा अत्यन्त आवश्यक संस्थाहरु देशको, जसले चाहिँ यो देशको शासन चलाएको छ, ती भवनहरु र ती मिसिल, ती कागजहरु नष्ट भयो । अलिकति त मलाई त यो देखेर लाज पनि लागेको छ। नेपाली नै भएर यो काम गरेको हो भने, तीनलाई नेपाली कसरी भन्ने ? मान्छेले ज्यान मार्छ, भवनहरु लुट्ला, भत्काउला, बेग्लै, तर यो घटना त मलाई लाग्छ यो देशमा पहिलो चोटि भएको हो ।

    हाम्रो जति नोक्सान भएको छ, क्षति भएको छ,  सचिवज्यूलाई,  मुख्य सचिवज्यूलाई पनि हिजोअस्ति नै मैले भनेँ, हामी आफैँ आफ्नै तर्फबाट, आफ्नै मुलुकका जनताबाट पहल गरेर त्यो कुराहरु पूरा किन नगर्ने ? सानोतिनो भएपनि । तराईमा किन हामी बाँसका भाटा जोडेर प्रहरीको बिट नबनाउने ? सस्तो, हामीलाई कामचलाउ भए त पुग्छ । त्यो हामी किन नगर्ने ?

    नेपालीहरुलाई जतिकै जस्तो भूकम्प आयो ७२ को, मलाई थाहा छ, यो सिंहदरबार रेट्रोफिट भएको कयौँ रुपैयाँ खर्च भएर, अस्तिको कुरा हो । त्यसमा मुलुकको पैसा खर्च भएको छ । सर्वोच्च अदालतमा म थिएँ, त्यो कति दुःख गरेर रेट्रोफिट भएको, आज त्यो भवनलाई राम्रोसँग युज पनि नगरेर, उपयोग पनि नगरेर अहिले जलेर भस्म भयो ।

    यो हाम्रा लागि अपराधीहरुले गरेको हामीमाथिको चुनौती हो। यो मुलुकको विरुद्ध गरेको चुनौती हो। त्यो चुनौतीलाई चाहिँ तपाईं हामी सबैजना मिलेर, जुटेर एउटा एकताको भावना राखेर आफ्नो तर्फबाट, चाहे जनतालाई गुहारेर हुन्छ बनाउनुपर्छ । म हिजो चक्रपथनेरको भाटभटेनी, त्यहाँनिरको प्रहरी बिटमा गएको थिएँ। माथि चढेँ, हेरेँ । उत्रिँदा व्यापारीहरुको ठूलो समूह त्यहाँ भेला भयो । उनीहरुले सम्माननीयज्यू ! यसमा कुनै चिन्ता लिनुपर्दैन, हामी छौँ । सुरक्षा हामीलाई चाहिने हो। यति ठूलो फट्याइँ भएको छ। हामी यसलाई पूरा गर्दिन्छौँ। तपाईंहरुले धन्यवाद… धन्य मान्नु पर्दैन। यो हाम्रो जिम्मा भो, हामी गर्छौँ भनेर भनेपछि, मैले पनि उहाँहरुलाई धन्यवाद दिएँ किनभने कमसेकम राज्यको एउटा सानो कोष त बच्यो।

    उहाँहरुले तपाईं त वकिलबाट आएको सर्वोच्च अदालत बनाउनलाई वकिलहरुलाई भन्नुस् न। रातदिन त वकिल खट्ने हो भने । भनेर हुने त होइन, सर्वोच्च अदालत बन्नलाई त धेरै पैसा लाग्ने अवस्था छ। त्यसकारण जे होस्, हामी सबैजना मिलौँ। एकले अर्काको आलोचना नगरौं । हामी युनिट चाहिँ होऔँ।

    यो जो एउटा मुभमेन्ट आयो, यो बडो अचम्म वर्ल्डमा कहीँ पनि भएको छैन। २७ घण्टाको आन्दोलनमा चाहिँ कायापलट गरेको मलाई थाहा छैन। त्यसैले यो समूहले मागेको कुरा के हो भने, भ्रष्टाचारको अन्त्य, सुशासन, गुड गभर्नेन्स, र एउटा समान आर्थिक समानताको माग पूरा गर्न हामी तपाईंहरुले अठोट गर्नुपर्छ अवस्था छ।

    मैले मृत्युवरण गरेका नाबालकहरु, साना-साना स्कुले र कलेजका विद्यार्थी, छात्र-छात्राहरुका परिवारहरुलाई मैले भेट्ने काम गरेँ। उहाँहरुको आँसु देखेर बहुतै दुःख लाग्यो। अनि मलाई के फिल भयो भने, एउटा परिवारको एउटा चाहिँ परिवारको सदस्यको अन्त्य भएको छ। राज्यसँग हात थापेर मलाई केही सहयोग गर, मेरो घरमा यत्रो नोक्सान भो, ज्यानधन गयो भनेर भन्नुभन्दा पहिले, राज्यले नै पुर्ताल किन नगर्ने? मर्न त उहाँहरुको परिवारको मर्यो, त्यसपछि आर्थिक अवस्थाले उहाँहरुमा विपन्नता आउँछ। त्यसैले हामीले मुख्य सचिवज्यू र म ९-१० बजेसम्म सरसल्लाह गर्‍यौँ। र, यहाँ आएर उहाँहरुलाई शहीद घोषणा गरेको निर्णयमा हस्ताक्षर गरेँ।

    यहाँको सिस्टमै अब देश अनुसारको हुन्छ, मुलुक अनुसारको, १० लाखको एउटा लिमिटेसन छ । त्यो १० लाख प्रदान गर्ने हामीले निर्णय चाहिँ गर्‍यौँ । घाइतेहरुलाई पनि उपचार र केही राहतको निर्णय गरेका छौँ। अहिले मृतकका परिवारहरु काठमाडौँ भ्यालीमै छन्। उनीहरु बसेको, उठेको, खाएको, यहाँ बसेको, त्यो खर्च हेरिदिने। शवहरू आफ्नो स्थानीय क्षेत्रमा पुर्‍याउने हो भने, कसैले चाहन्छ भने सवारी साधनको लागि पनि व्यवस्था गरिदिने । र पछि सम्म, अपाङ्गको परिभाषाभित्र कोही परेछन् भने, उपचारको एउटा सुविधाको व्यवस्था गरेका छौँ। प्राइभेट सेक्टरमा पनि बाट पनि केही गर्न सकिन्छ कि भनेर हाम्रा मित्रहरुले कोसिस गरिरहनुभएको छ।

    एउटा चोट परेको व्यक्तिलाई हामीले मलम लगाउनैपर्छ। किनभने यो हाम्रै इस्यु हो, हाम्रै मामिला हो, हाम्रै छोराछोरी हुन्, हाम्रै सन्तान हुन्। अन्यथा मान्ने, दुःखी बनाउने हाम्रो कहिल्यै सोच रहेन। त्यसैले हठात् नै यो निर्णय गर्‍यौँ। अब क्रमशः सद्‍गदको लागि तयारी हुन्छ। पोस्टमार्टम भइसकेको जसको शव छ, उनीहरुको लान चाहने, आफ्नो घरको क्षेत्रमा लान चाहनेहरुलाई व्यवस्था पनि गरिदिने,  यतैको शव छ भने दाहसंस्कारको बाटो खुल्छ । त्यसैले अब सबै पक्ष मिलेर नेपालको निर्माण गर्नु पर्‍यो ।

    अर्को दु:खान्त घटना- व्यक्तिको सम्पत्तिको, व्यापारीहरुको, इन्टरप्रेनरहरुको, उद्योगीहरुको सम्पत्ति पनि डडाउने, नास्ने, मास्ने कामहरु भएको छ। तीनलाई जसरी उभिन्छौ, उभ्यौ भनेर सोच्न भएन। किनभने कतिपय व्यापारी त उठ्न नसक्ने अवस्थामा पुगेका छन्। त्यसमा पनि राज्यले विचार गर्छ,  हामी विचार गर्छौँ कि उनीहरुलाई कसरी उठाउने ? कुन सहयोग दिने ?

    हामी एकदम विषम आर्थिक परिस्थितिमा छौँ। जनता पनि विषम आर्थिक परिस्थितिमा छ। हाम्रो सरकार पनि विषम आर्थिक परिस्थितिमा छ। के कसो गर्न सक्छौं त्यहीअनुसार प्रयासहरू गर्छौं । सबभन्दा दुःखको कुरा यो एउटा आतंक जस्तो २४ गते फैलाइयो, हरेक व्यक्तिका घर, सम्पत्ति, सुरक्षा निकायदेखि लिएर, सिंहदरबार, अदालतहरु जस्तो निकाय जलाउने काम भयो ।

    अर्को दु:खान्त घटना- व्यक्तिको सम्पत्तिको, व्यापारीहरुको, इन्टरप्रेनरहरुको, उद्योगीहरुको सम्पत्ति पनि डडाउने, नास्ने, मास्ने कामहरु भएको छ। तीनलाई जसरी उभिन्छौ, उभ्यौ भनेर सोच्न भएन। किनभने कतिपय व्यापारी त उठ्न नसक्ने अवस्थामा पुगेका छन्। त्यसमा पनि राज्यले विचार गर्छ,  हामी विचार गर्छौँ कि उनीहरुलाई कसरी उठाउने ? कुन सहयोग दिने ? बैंकको सफ्ट लोनहरुबाट हुन्छ कि । साना-साना सटर खोलेका व्यापारीहरु पनि लुटिएका छन्।

    आज मैले बिहान न्युजमा पढेँ कि जो व्यापारीहरुको नोक्सान भएको छ, उहाँहरुले भन्नुभएको छ, हामी उठ्ने कोसिस गर्छौँ, हामी हार्दैनौँ। आन्तरिक बल देखाउनु भएकोमा धन्यवाद पनि दिन्छु। र शुभकामना पनि दिन्छु। आतंक जस्तो जलाएर खरानी बनाउने काम गरियो, त्यसको बाबजुद पनि म उठ्छु भन्ने उहाँको, उहाँहरुले जुन किसिमको अठोट गर्नुभएको छ, त्यसको लागि शुभकामना र धन्यवाद छ। र, राज्यको तर्फबाट उहाँहरुलाई सल्लाह चाहिने हो कि,  कुन किसिमबाट सहयोग गर्ने हो, त्यो हामी विचार गर्नेछौँ।

    (अन्तरिम प्रधानमन्त्रीले पदभार ग्रहणपछि गरेको सम्बोधनको पूर्णपाठ)

    प्रधानमन्त्री कार्कीको सम्बोधन यहाँबाट हेर्न/सुन्न सकिनेछ ।

  • अर्थ मन्त्रालयमा क्षति कम, नयाँ मन्त्रीले मन्त्रालयबाटै गर्न सक्नेछन् काम

    अर्थ मन्त्रालयमा क्षति कम, नयाँ मन्त्रीले मन्त्रालयबाटै गर्न सक्नेछन् काम

    काठमाडौं । नयाँ प्रधानमन्त्रीको रुपमा पूर्वप्रधानन्यायाधीश सुशिला कार्कीले आइतबार पदभार पनि सम्हालिसकेकी छन् । तर, नयाँ मन्त्रिपरिषद् गठनको लागि छलफल भए पनि मन्त्रीको नाम भने टुङ्गो लागेको छैन । त्यसमा महत्वपूर्ण मानिएकाे अर्थमन्त्री को हो भन्ने पनि टुङ्गो लागेको छैन ।

    जनेजी प्रदर्शनका क्रममा तहसनहस भएकाे सिंहदरबारभित्र अर्थ मन्त्रालय भने तुलनात्मक रुपमा जाेगिएकाे छ । नयाँ बन्ने अर्थमन्त्रीले पुरानै मन्त्रालयमा गएर काम गर्न सक्ने अवस्थामा अर्थ मन्त्रालय रहेकाे छ ।

    जेनजीको भदौ २३ र २४ गतेकाे भएकाे प्रदर्शनका क्रममा सरकारी संरचनामा धेरै क्षति पुगेको छ । देशभरका सरकारी भवनमा आन्दोलनको दिन आगजनी, तोडफोड र लुटपाट भएको थियो । अर्थ मन्त्रालयको भुइतलामा केही मात्रामा क्षति भए पनि अन्य स्थान सुरक्षित रहेकाे छ । अर्थ मन्त्रालयको पछाडिबाट मन्त्रालय छिर्ने भवनसँगै जोडेर पार्किङ गरेका गाडी र बाइक जलेका छन् भने मन्त्रालयमा कालो धूँवा लागेको देखिन्छ ।

    अर्थ मन्त्रालयले विद्युतीय गाडी चार्ज गर्न राखेको दुई वटा चार्जिङ स्टेसनमा भने केही क्षति भएको छैन । अर्थ मन्त्रालयको पछाडि भएको केही गाडीहरु जलाइएका छन् । मन्त्रालयको क्यान्टिनसँग जोडेर राखिएको एक लाइन गाडीको सिसा मात्रै फुटेको छ । केही गाडीको अगाडिको, केहीको पूरै सिसा फुटेको छ ।

    मन्त्रालय भित्र छिर्ने मेन गेट र ढोकामा कुनै क्षति भएको छैन । मन्त्रालयको मेन गेटबाट भित्र छिरेपछि पार्किङमा राखिएका सरकारी नम्बर प्लेट प्लेट भएको धेरै गाडीको सिसा फुटाइएको छ । कूटनितीक नियोगको नम्बर प्लेट भएको धेरै गाडीको सिसा फुटाइएको छ । भने, मन्त्रालयको मेन गेटबाट भित्र छिरेपछि सबैभन्दा कुनामा रहेका ५ वटा गाडीमा कुनै क्षति भएको छैन । मेन गटबाट भित्र रहेको रहेको बाइकमा कुनै क्षति भएको छैन ।

    मन्त्रालयकाे भुइतलाबाट माथि प्रदर्शनकारी गएका छैनन् ।

    कसरी जोगियो अर्थ मन्त्रालय ?

    अर्थ मन्त्रालयभन्दा बायाँ साइडमा रहेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय जल्दा त्यहाँको धूँवाले अर्थ मन्त्रालय पनि जल्यो भन्ने लागेर क्षति नभएको त्यहाँ रहेका एक सुरक्षाकर्मीले बताए ।

    उनले नाम र आफ्नो फोटो सार्वजनिक नगर्ने शर्तमा अर्थ मन्त्रालयको भुइतलाका केही भागको भिडियो गर्न दिए ।

    उनले भने, ‘२४ गते आगजनी हुनुभन्दा पहिले पनि म यही मन्त्रालयमा थिए । तर, हामी पनि यहाँबाट हिँड्नु पर्ने अवस्था आयो । म सिंहदरबार नजिकै बस्छु । मैले म बसेको घरबाट सिंहदरबार बेला बेलामा हेरिरहेको थियो । धूँवा उडेको देख्दा कुनै पनि मन्त्रालय बाँकी रहेन जस्तो लागेको थियो । तर, पहिले प्रधानमन्त्री कार्यालयमा आगजनी भएपछि त्यहाँको धूँवा अर्थ मन्त्रालय आयो । प्रदर्शनकारीले त्यो धूँवाको कारण अर्थ मन्त्रालयको मेन गेटबाट भित्र जान नसकेकाले नै ठूलो क्षतिबाट जोगिएको हो । अर्थ मन्त्रालयको भवन र त्यो भवन भित्र भएको धेरै सामाग्रीहरू सुरक्षित रहेको छ । यहाँ मिडियालाई भित्र छिर्न खनिनु भन्ने आदेश रहेको छ ।’

    सिंहदरबारमा सबैभन्दा कम क्षति भएको मन्त्रालय अर्थ मन्त्रालय देखिन्छ । भने, अर्थ मन्त्रालयको भुइतलाको विभिन्न कोठा भने पछाडिबाट केही झ्यालको सिसा भने फुटाइएको छ । मेन गेटबाट अर्थ मन्त्रालय छिर्दा त्यस्तो धेरै क्षति भएको देखिँदैन ।

     

  • प्रिय ‘मासुम’ जेन-जी ! आन्दोलन हाइज्याक भो, सम्भावित ठूलो उपलब्धि गुम्यो

    प्रिय जेनजी भाइ-बहिनीहरू, एउटा प्रश्न सोध्छु है,

    ५१ जनाको साहदत प्राप्त गरेको तिमीहरूको अगुवाइमा भएका विद्रोहले के दियो ?

    सुशीला कार्कीलाई प्रधानमन्त्री र अनिश्चित निर्वाचनको मिति अनि ६ दर्जन मान्छेको जीवन र खर्बौंको सार्वजनिक निजी संरचना ध्वस्त । यति मात्र होइन ? अब केहीलाई मन्त्री बनाउला, त्यही त हो ।

    तिमीहरूको ऐतिहासिक विद्रोहले अभूतपूर्व राजनीतिक उपलब्धि दिन्छ । र, त्यसलाई तत्काल संस्थागत गर्न सकिन्छ भन्ने मेरो ठम्याइ थियो । यसको विधि र प्रक्रियाबारे मैले २६ गते यही नेपाल प्रेसमा लेखेको पनि थिएँ कि, आन्दोलनका मागलाई संसदमा इन्डोर्स गराउन सकिएन भने केही पनि राजनीतिक उपलब्धि हुँदैन भनेर । आज भयो त्यस्तै, होइन?

    कमजोरी कहाँ-कहाँ भयो समीक्षा गर्नुपर्छ कि ? समीक्षा गर्‍यौ भने राजनीति कति सुझबुझपूर्ण हुनुपर्छ भन्ने खुल्छ । तिमीहरू राजनीतिक रूपमा परिपक्व भएनौं भन्नेमा होइन तिमीहरूलाई व्याकअप गर्नेहरू पनि यतिधेरै हुस्सु भएकोमा चाहिँ खेद छ ।

    प्रधानमन्त्रीको राजीनामा र राष्ट्रपतिको वार्ता आह्वानपछि आन्दोलनको म्याण्डेटलाई वैधानिक रूपमा संस्थागत गर्ने बाटोतर्फ लाग्नु पथ्र्यो। तर, अन्तरिम सरकारलाई मात्रै मुख्य माग बनाइयो ।

    आन्दोलनको म्याण्डेट र जनताको भावनाअनुसार गर्नुपर्ने कामको सूची अर्थात् आफ्ना माग लिएर आन्दोलनकारी पक्षले राष्ट्रपतिसँग राजनीतिक वार्ता गर्नुपथ्र्यो। तर, एक थान प्रधानमन्त्रीको मागमा त्यो पनि सेनासँग वार्ता थालियो।

    विजयी उन्मादका कारण होला । राजनीतिक दलहरूको अस्तित्व स्वीकारै गरिएन । राष्ट्रपति सँगसँगै राजनीतिक दलहरूसँग पनि संवाद गर्नुपर्थ्यो । किनकि, आन्दोलनले कमजोर बनाए पनि उनीहरू एक शक्ति थिए । संसदमा रहेका दलहरूलाई विश्वासमा नलिई वा बाध्य नपारी आन्दोलनको पहिचान र उपलब्धि संस्थागत गर्न सकिदैन्थ्यो । यो पक्ष आन्दोलनकारीले पक्षले बुझ्दै बुझेन ।

    सुशीला कार्कीले आन्दोलनको राप र तापका कारण निरीह बनेका राष्ट्रपति र राजनीतिक दलहरूसँग हात्ताहात्ती संविधान संशोधनसहितका राजनीतिक एजेण्डामा अडान कस्नुपर्थ्यो । उनले पनि आन्दोलनको उपलब्धि संस्थागत गर्नुलाई भन्दा प्रधानमन्त्रीको कुर्सीलाई प्राथमिकता दिइन् । कार्कीले आन्दोलनको म्याण्डेटलाई धोका दिइन् र अनिश्चयतर्फ धकेलिदिइन् ।

    आन्दोलनको राप र तापले राष्ट्रपति र राजनीतिक दलहरूलाई केही न्यूनतम राजनीतिक सहमतिमा पुर्याउथ्यो नै । जस्तैः अन्तरिम सरकार, संविधान संशोधन र निर्वाचन । मुख्य यी तीन विषयमा राष्ट्रपति, राजनीतिक दल (संसदमा रहेका) र आन्दोलनकारी पक्षबीच सहमति गर्न सकिन्थ्यो । सहमतिका लागि दलहरू बाध्य हुन्थे । राजनीतिक कोर्स अर्कैतर्फ मोड्न सक्छौं भनेर उनीहरूलाई बाध्य पार्न सकिन्थ्यो। राजा फर्काउला कि भन्ने डरले उनीहरू व्यवस्थाको निरन्तरताको सर्तमा जुनसुकै सम्झौता, सहमति गर्न तयार हुन्थे।

    आन्दोलनको म्याण्डेटअनुसार भएको राजनीतिक सहमतिलाई संसदमार्फत घोषणा गराउनु पर्थ्यो । यो अभ्यास हामीले यसअघि गरिसकेका थियौं । २०६२/०६३ को आन्दोलनको म्याण्डेटअनुसार भएका राजनीतिक सहमतिलाई पुन:स्थापना गरेर संसदमार्फत घोषणा गराइएको होइन ? त्यहीअनुसार संविधानसभाको चुनाव भएर राजनीतिक कोर्ष यहाँसम्म आइपुगेको होइन ? यसपटक पनि त्यसो गर्न सकिएको भए अन्तरिम सरकार, संविधान संशोधन र निर्वाचनमा दलहरू जबरजस्त भए पनि अपनत्व लिन बाध्य हुन्थे । र, तत्काल संविधान संशोधन संभव हुन्थ्यो ।

    धेरै विषय होइन, संविधानमा शासकीय स्वरूप र निर्वाचन प्रणाली मात्र परिवर्तन गर्न सकेको भए, ठूलो संवैधानिक र राजनीतिक फड्को मारिन्थ्यो । फागुन २१ म घोषणा गरिएको चुनावमा प्रत्यक्ष निर्वाचित कार्यकारी चुन्न सकिन्थ्यो । अहिले जेनजीहरू प्रश्न गर्न थालेका छन्, अब हुने चुनाव कार्यकारी प्रमुखको कि संसदीय ? हैट !

    घोषित मितिमा त चुनाव सम्भवै छैन । राजनीतिक दलहरू सकारात्मक भए, केही ढिला भए पनि होला । चुनावै भएन भने के हुन्छ भन्ने प्रश्न अधिकांशको मनमा उठिसकेको छ । लौ भयो रे, चुनाव हुने भनेको प्रतिनिधिसभाको हो । त्यो प्रतिनिधिसभाको शक्ति सन्तुलनका आधारमा संविधान संशोधन हुन्छ कि हुन्न भन्न सकिन्छ ।

    नयाँ आए र लागत पुर्‍याए भने वा पुरानाको पनि प्रतिनिधित्व भयो र ती पनि तयार भए हुने हो, संविधान संशोधन । अझ, राष्ट्रियसभामा पुरानै दलको बर्चश्वको निरन्तरताले पनि अल्झाउन सक्ला । राष्ट्रियसभाको एक तिहाइ सदस्यका लागि माघमा हुनुपर्ने चुनाव के हुन्छ भन्ने अन्योल त छँदैछ ।

    आन्दोलनका राजनीतिक उपलब्धि संस्थागत गर्नुपर्ने र गराउन सकिने संसदलाई पहिलो निसाना बनाउनुको उद्देश्य के थियो, थाहा भएन । तत्कालीन प्रधानमन्त्री केपी ओलीले राजीनामा दिनासाथ संसद विघटन र सेनासँग वार्ताको दुई बुँदे शर्त जेनजीको थियो कि काठमाडौंका मेयरको ? जेनजी भाइबहिनीहरू त्यसै दिन फ्रडमा परिसकेका थिए । अब पछुताउनु र हाम्रो आन्दोलन हाइज्याक भयो भनेर कुनै सुधन गुरुङहरूतिर औंला ठड्याउनुले केही हुन्न ।

    हुँदा-हुँदा संविधान बुझेकी र आन्दोलनको उपलब्धिलाई संस्थागत गर्नुपर्ने दायित्वमा पुग्न खट्टा उचालेर बसेकी पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीले समेत संसद विघटनको ढिपी कसिन् । सुशीला कार्कीले आन्दोलनको राप र तापका कारण निरीह बनेका राष्ट्रपति र राजनीतिक दलहरूसँग हात्ताहात्ती संविधान संशोधनसहितका राजनीतिक एजेण्डामा अडान कस्नुपर्थ्यो । उनले पनि आन्दोलनको उपलब्धि संस्थागत गर्नुलाई भन्दा प्रधानमन्त्रीको कुर्सीलाई प्राथमिकता दिइन् । कार्कीले आन्दोलनको म्याण्डेटलाई धोका दिइन् र अनिश्चयतर्फ धकेलिदिइन् ।

    घोषित मितिमा त चुनाव सम्भवै छैन । राजनीतिक दलहरू सकारात्मक भए, केही ढिला भए पनि होला । चुनावै भएन भने के हुन्छ भन्ने प्रश्न अधिकांशको मनमा उठिसकेको छ । लौ भयो रे, चुनाव हुने भनेको प्रतिनिधिसभाको हो । त्यो प्रतिनिधिसभाको शक्ति सन्तुलनका आधारमा संविधान संशोधन हुन्छ कि हुन्न भन्न सकिन्छ ।

    हुन त जेनजी आन्दोलनको मुख्य माग नै भ्रष्टाचार नियन्त्रण र सामाजिक सञ्जाल खुला भन्ने थियो क्यारे । राजनीतिक माग नै नभएका कारण आन्दोलनकारी पक्ष त्यसतर्फ नलागेको हुन् कि ? तर, आज उनीहरू आफ्नो आन्दोलनका कारण ठूलै राजनीतिक परिवर्तन भए जसरी चर्चा गरिरहेका छन् ।

    सारमा, अन्तरिम प्रधानमन्त्री, अनिश्चित निर्वाचनको मिति र केहीलाई मन्त्री बनाउनेबाहेक आन्दोलनले राजनीतिक उपलब्धि त दिने भएन नि, होइन ?

    आन्दोलनपछिको समग्र राजनीतिक रोडम्याप र सुधारका मुद्दामा राजनीति सहमति गर्न सकिएको भए यही आन्दोलनले थुप्रै परिवर्तनको ढोका खोल्थ्यो । ध्यान नपुगेको हो कि डिजाइनरले स्क्रिप्ट नै यतिसम्म मात्रै लेखेको थियो, थाहा भएन ।

    दलहरूलाई राजनीतिक सहमतिका लागि बाध्य पार्न नसक्दा दुई दिन नबित्दै उनीहरूले टाउको मात्र उठाएनन्, आन्दोलनप्रति नै खिसिट्युरी गर्न थाले। आन्दोलनको म्यान्डेट र परिवर्तको जनचाहनालाई संस्थागत गर्न उनीहरूलाई बाध्य पार्न सकिन्थ्यो, हुन्थे। आन्दोलनकारी पक्ष यसमा नराम्रोसँग चुक्यो। अब बिस्तारै तिनै दलले अन्तरिक सरकार र आन्दोलनकारी पक्षलाई साइजमा राख्न सामूहिक बल लगाउन सक्छन्। चुनावमा भाग लिन्नौं भन्ने घुर्की देखाएर सौदाबाजी गर्न सक्छन्।

    प्रिय जेनजी ! तिमीहरूको सुझबुझ नपुगेर हो वा आन्दोलनको नेतृत्व हाइज्याक भएर हो वा कथा नै त्यति मात्र लेखिएर हो, संभावित ठूलो राजनीतिक उपलब्धीबाट तत्कालका लागि विमुख भइयो । यस्तो अवस्था फेरि नआउन सक्छ ।

    विधि होइन कुर्सी प्यारो हो भन्ने फेरि पनि स्थापित भयो । होइन भन्ने देखाउन सुशीला कार्की नेतृत्वको सरकारले लोकप्रियताका लागि केही निर्णय गर्ला । तर, तिनले राजनीतिक उपलब्धि हुन्न है हुन्न ।

    (लेखक राष्ट्रिय स्वतन्त्र पार्टीका नेता तथा राजनीतिक विश्लेषण गर्ने वरिष्ठ पत्रकार हुन्)

  • जेनजी आन्दोलनलाई बदनाम नगर्न सुमनाको चेतावनी, पार्टीका युवालाई ‘हट्न वा हटाउन’ सुझाव

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीबाट बाहिरिएकी नेतृ सुमना श्रेष्ठले आफू पार्टीबाट अलग भए पनि परिवर्तनको एजेन्डा नछाडेको बताएकी छन् । अहिलेको जेनजी आन्दोलनप्रति कट्टर समर्थन जनाउँदै उनले यसलाई बदनाम गर्ने कोशिष नगर्न आग्रह गरिन्

    फेसबुक लाइभमा बोल्दै श्रेष्ठले जेनजी आन्दोलनलाई भविष्यले गरेको विद्रोहको संज्ञा दिइन् ।

    उनले भनिन्, ‘यो भविष्यले गरेको आन्दोलन हो । यो परिवर्तनका लागि गरिएको आन्दोलन हो । सबैलाई भन्न चाहन्छु मैले परिवर्तनको एजेन्डा छोडेको छैन । भित्र बसेर गर्न सकिनँ, अब तपाईंहरुमाझ आएर गर्नेछु ।’

    श्रेष्ठले नयाँ सरकारमा मन्त्री खान नजाने प्रष्ट्याइन् । सरकारलाई बाहिर बसेर सघाउने उनको प्रतिवद्धता छ । युवतहरुको बलिदानलाई खेर जान नहुने पनि उनी बताउँछिन् ।

    ‘७२ जनाको ज्यान गइसकेको छ । उहाँहरुको बलिदानलाई कसैले पनि बदनाम गर्न पाउनुहुन्न । युवाको बलिदान यत्तिकै खेर जान नदिनुहोला । यो परिवर्तनका लागि युवापुस्ताले गरेको विद्रोह हो ।’ उनले भनिन् ।

    पुराना राजनीतिक दलका युवा नेताहरुलाई उनले पार्टी छोड्न वा पुरानालाई विस्तापित गर्न सुझाव दिइन् ।

    श्रेष्ठले भनिन्, ‘पुराना दलहरुको तेस्रो, चौंथो, पाचौं पुस्तालाई म आह्वान गर्न चाहन्छु, कति डराउने रु किन डराउने रु आखिर हामी सबैले चाहेको परिवर्तन हो । कि हट्नुस कि हटाउनुस । तर एउटा पार्टीभित्र बसेर जेनजीको रेभुलुसनलाई बदानम गर्ने अभियानलाई साथ नदिनुहोला ।’

  • दशैंका लागि सुकिला नोट साट्न सुरु, छैन सर्वसाधारणमा उत्साह (तस्बिरहरु)

    दशैंका लागि सुकिला नोट साट्न सुरु, छैन सर्वसाधारणमा उत्साह (तस्बिरहरु)

    काठमाडौं । नेपाल राष्ट्र बैंकसहित बैंक तथा वित्तीय संस्थाहरूले आइतबारदेखि नयाँ नोट सटही शुरु गरेका छन् । नजिकिँदै गरेको दशैंलाई लक्षित गर्दै सुकिला नोट सटही शुरु गरिएको हो ।

    राष्ट्र बैंकका सूचना अधिकारी सुमन न्यौपानेले राष्ट्र बैंक लगायत बैंक तथा वित्तीय संस्थाहरूले आजदेखि सुकिला नोट सटहीको सुविधा उपलब्ध गराएको जानकारी दिए ।

    उनले नेपालप्रेससँग भने, ‘दशैंलाई लक्षित गर्दै हामीले आजदेखि सर्वसाधारणलाई सुकिला नोट सटहीको सुविधा उपलब्ध गराएका छौँ । राष्ट्र बैंकसहित बैंकहरुले तोकेको कार्यालयमा गएर नोट साट्न सकिन्छ ।’

    बैंकहरूले गत वर्षदेखि नयाँ नोट सटही गरेका छैनन् । गत वर्षको दशैंमा पनि सुकिला नोट मात्रै सटही गरिएको थियो । यस पटक पनि सुकिला नोट सटहीको व्यवस्था गरिएको हो ।

    दशैंका लागि राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभाग थापाथली, विराटनगर, जनकपुर, वीरगन्ज, पोखरा, सिद्धार्थनगर, नेपालगञ्ज र धनगढीस्थित प्रादेशिक कार्यालयमा सुकिला नोट सटही सुविधा उपलब्ध हुने नेपाल राष्ट्र बैंकले जनाएको छ ।

    राष्ट्र बैंक बाहेक बैंक तथा वित्तीय संस्थाका शाखा कार्यालयहरूमा पनि सर्वसाधारण तथा वित्तीय संघसंस्थाले नोट सटही सुविधा पाउने राष्ट्र बैंकले जनाएको छ ।

    आजदेखि सुकिला नोट सटहीको सुविधा उपलब्ध गराएका बैंकहरुले असोज १० गतेसम्म सटही सुविधा उपलब्ध गराउने भएका छन् । तर, नयाँ नोट सहटी शुरु गरिएको पहिलो दिन भने सर्वसाधारणमा खासै उत्साह देखिएको छैन ।

    राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभाग थापाथलीमा फाट्टफुट्ट सर्वसाधारण मात्रै नोट सटहीका लागि पुगेका छन् । यसअघिका वर्षहरूमा भने पहिलो दिन नै सर्वसाधारणको भिड लाग्ने गरेको थियो । यस वर्ष भने आन्दोलनका कारण नोट सहटी गर्न सर्वसाधारणको आकर्षण घटेको हुनसक्ने सूचना अधिकारी सुमन न्यौपानेले बताए ।

    ‘आन्दोलनका कारण नोट सटहीमा सर्वसाधारणले कम चासो देखाएका हुन् की जस्तो देखिन्छ’, उनले भने, ‘आज पहिलो दिन पनि हो । भोलिदेखि बढ्न पनि सक्छन् ।’

    उनका अनुसार बैंकहरुले प्रतिव्यक्ति ५ रुपैयाँदेखि एक सय रुपैयाँ दरसम्मका सुकिला नोट प्रतिव्यक्ति बढीमा १८ हजार ५ सय रुपैयाँ सटही सुविधा दिएको छ । जसमा ५ रुपैयाँ दरका नोट भने नयाँ दिइरहेको छ ।

  • मन्त्रिपरिषद् विस्तारको चासो- शीतल निवासमा छैन आज शपथको सुरसार

    काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले आज आफ्नो मन्त्रिपरिषद् विस्तार गर्ने सम्भावना झिनो देखिएको छ । अहिलेसम्म शीतल निवासमा मन्त्रीहरूलाई शपथ खुवाउने कुनै पनि सुरसार छैन ।

    प्रधानमन्त्री कार्की बहालीलगत्तै विभिन्न प्रशासनिक काममा व्यस्त रहेको तथा उनले मन्त्रीहरूको नियुक्तबारे कुनै सोधखोज नगरेको स्रोतले बतायो ।
    ‘आज मन्त्रीपरिषद विस्तारको सम्भावना क्षीण छ,’ स्रोतले भन्यो ।

    प्रधानमन्त्री कार्यालय स्रोतको भनाइलाई राष्ट्रपतिको सचिवालयले पनि पुष्टि गरेको छ । राष्ट्रपति रामचन्द्र पौडेलका प्रेस संयोजक खिला कार्कीकाले आज यतिबेलै प्रधानमन्त्रीले मन्त्रीहरुको नाम सिफारिस गर्दा पनि शपथको सम्भावना नरहेको बताए । त्यसमाथि सिफारिस नै आएको छैन ।

    मन्त्रीहरुको शपथ गराउने हल आगलागीले ध्वस्त छ । पानी पर्ने मौसम भएका कारण टेन्ट टाँग्दा पनि समस्या हुने स्थिति छ । राष्ट्रपति कार्यालयका विभिन्न कोठामध्ये कतै शपथ हुन त सक्ने भए पनि तयारीको लागि समय चाहिने कार्की बताउँछन् ।

    ‘प्रधानमन्त्रीज्यूले नाम पठाइहाल्नु भएछ भने पनि आजको आजै शपथ गराउने स्थिति छैन’, उनले भने ।

    राष्ट्रपति कार्यालयजत्तिकै बिजोग छ, सिंहदरबारमा । शपथ लिएपछि मन्त्रालयमा बहाली हुनुपर्ने सबै मन्त्रीका कार्यालय दुरुस्त छैनन् । आगलागी नभएका मन्त्रालयमा पनि केही न केही क्षति भएको छ । सबै जनशक्तिलाई नवनिर्मित गृह मन्त्रालयको भवनमा प्रधानमन्त्री कार्यालय स्थापनाका लागि खटाइँदा अन्य मन्त्रालयको सरसफाई हुन सकेको छैन ।

    सरसफाई शुरु भए पनि सकिन अझै केही दिन लाग्ने प्रधानमन्त्री कार्यालय स्रोतले जनाएको छ ।

    तर, प्रधानमन्त्री एक्लैबाट सबै कार्यसम्पादन सम्भव नहुने कारण केही सीमित संख्यामा भए पनि मन्त्री नियुक्त गर्नुपर्ने दबाब छ ।

    स्रोत भन्छ, ‘शायद बेलुकीसम्म २-३ जना भए पनि मन्त्रीको नाम सिफारिस गर्नुहुन्छ कि ?

  • सकुसल माडी : Gen-Z समूहको विद्रोह यसरी जोडियो विकासमा

    सकुसल माडी : Gen-Z समूहको विद्रोह यसरी जोडियो विकासमा

    चितवन । जेन-जी समूहको २३ र २४ गते गरेको आन्दोलनमा चितवनका सातमध्ये ६ वटा स्थानीय तहका भवन जले । प्रशासनिक निकायहरू अधिकांश तोडफोड, आगजनी र लुटपाटको निशानामा परेका छन् ।

    जनप्रतिनिधि, राजनीतिक दलका अगुवाका घर पनि फोडिए, सामान पनि जलाइयो । यतिसम्म कि, यहाँका केही पत्रकारका घरसहित सञ्चारसंस्था समेत तोडफोड र आगजनी भए ।

    आज आइतबारदेखि सेवा सञ्चालन गर्ने भनिए पनि जिल्ला मालपोत कार्यालय जस्ता कतिपय प्रशासनिक केन्द्र त केही महिना नै सेवा दिन नसक्ने गरेर क्षतिग्रत अवस्थामा पुगेका छन् । तर, जिल्लाको एक मात्रै स्थानीय तह माडी नगरपालिकाको भौतिक संरचनामा सानो चोट समेत लागेन ।

    माडीमा प्रदर्शन नै नभएर भौतिक संरचना नभत्किएको भने होइन । यहाँका ५ सय बढी जेनजी समूहले २३ गते जिल्ला प्रशासन कार्यालयमा १ घण्टा हुने धर्ना कार्यक्रमलाई समर्थन गरे । केही युवा माडीबाट भरतपुर आएर उक्त कार्यक्रममा सहभागी पनि भए ।

    २३ गते काठमाडौं तथा इटहरीमा प्रहरीको गोली लागेर आन्दोलनकारी मारिएपछि २४ गते बिहानैदेखि माडीका जेन-जी समूह पनि तात्तिए । प्रदर्शनका लागि लागि स्वस्फूर्त सडकमा निस्किए । जसको नेतृत्व गरेका थिए पदम पन्तले, उनीहरूलाई साथ दिन जेन वाई समूह पनि सडकमा आएको थियो ।

    देशभर आगजनी र तोडफोडको खबर आइरहँदा माडीमा पनि आन्दोलनको तयारी भइरहेको थियो । माडी सानो नगरपालिका भएकोले स्थानीय जनप्रतिनिधि घरघरसँग चिनजान र सम्पर्कमा छन् । माडी नगरकी मेयर ताराकुमारी काजी महतोले पनि अगुवाइ गर्ने युवाहरूलाई सम्पर्क गरेर भर्खरै नागरिककै करबाट बनाइएको सरकारी भवन क्षति नगर्न शान्तिपूर्ण प्रदर्शन गर्न पटक-पटक अनुरोध गरेकी थिइन् ।

    युवाहरू सडकमा आउने सूचना पाएपछि उनले सर्वपक्षीय बैठक बोलाइन् । बिहानै बसेको सर्वदलीय तथा सर्वपक्षीय बैठकले जेनजीको आन्दोलनलाई समर्थन गर्ने, उनीहरूको आन्दोलनमा हस्तक्षेप नगर्ने तर भौतिक क्षति गर्न नदिन सम्झाउने निर्णय गर्‍यो ।

    ‘त्यति निर्णय अनुसार मैले चिनेका केही भाइहरूलाई फोन गरेर तपाइँहरू आन्दोलनमा हामी रोक्ने काम गर्दैनौँ । कहाँ प्रदर्शन गर्नुपर्छ बरु म चाबी दिन्छु तर बल्ल बल्ल हामीले आन्तरिक स्रोत जुटाएर बनाएको सरकारी भवनहरू चाहिँ नजलाउनुस् भनेर अनुरोध गरेँ’, उपमेयरले नेपाल प्रेससँग भनिन् ।

    बिहान १० बजेसम्म सडक तातिसकेको थियो । उनीहरूले नगरपालिका पुगेर मेयर, उपमेयर, प्रशासकीय अधिकृतको कोठाको ताला फुटाएर भित्तामा झुण्ड्याइएको प्रधानमन्त्री र राष्ट्रपतिको फोटो झिके, फोडे र जलाए ।

    त्यसपछि वडाहरूको पनि प्रधानमन्त्री र राष्ट्रपतिको फोटो झिके, फोडे र जलाए, माडी क्याम्पसमा राखिएको सबै राजनीतिक दलका विद्यार्थी संगठनको बोर्ड हटाए, राजनीतिक दलका पार्टी कार्यालयको बोर्ड निकालेर जलाइदिए ।

    एउटा फेसबुक पोष्टले बदलेको आन्दोलनको स्वरुप

    यो बीचमा जेन-जीको आन्दोलनलाई कसरी रचनात्मक बनाउने जेन-वाई पुस्ताले सँगसँगै छलफल गरिरहेका थिए । चारैतिरबाट चितवन राष्ट्रिय निकुञ्जले घेरेको माडी नगरपालिकाका नागरिकलाई भरतपुर सदरमुकाम जोडिने सडक राम्रो छैन ।

    साँघुरो, कच्ची सडकमा आवतजावत गर्नुपर्दा सँधै माडीबासीले प्रश्न उठाउने र निकुञ्ज प्रशासनहुँदै अदालतसम्मले बाटो राम्रो बनाउन नदिने शिलशिला निकुञ्ज निर्माण भएदेखि नै चलिरहेको छ ।

    निकुञ्जको सास्ती भोगिरहेका माडीका नागरिकलाई मूल समस्या माडीसम्म पुग्ने बाटो हो । आन्दोलन चलिरहँदा जेनजी पुस्तालाई साथ दिएका जेन वाइ पुस्ताले यो विषय कसरी जोड्न सकिएला भनेर हतारमा छलफल चलाइरहेको थियो ।

    त्यसको समन्वय जेनजी आन्दोलनमा होमिएका विद्यार्थीले ज्यान गुमाएपछि एमाले परित्यागको घोषणा गरेका टीकाराम सुवेदी (टीआर सुवेदी), नेकपा माओवादी माडीका अगुवा सन्तोष पनेरु लगायतले गरिरहेका थिए ।

    छलफलकै बीचमा सुवेदीले एउटा फेसबुक पोष्ट राखे ‘मेयर साब आजै निर्णय गर्नुस्, नगरपालिकाको स्रोत साधन प्रयोग गरेर भोलिबाटै जङ्गगलको बाटो पीच सुरु हुन्छ । नसक्ने हो भने मार्गप्रशस्त गर्नुस् ।’

    हामी सबैले कसरी आन्दोलनमा क्षति हुन नदिने चर्चा गरिरहँदा मेरो त्यो पोष्टले सबैलाई विषयवस्तु मोड्ने बाटो दियो, युवाहरू नगरलाई दबाब दिन लाग्यौँ, सुवेदीले भने ।

    त्यतिमात्रै होइन युवाहरूलाई समन्वय गरिरहेका अन्य युवाहरुले पनि निकुञ्जको कसरा हुँदै वनकट्टासम्म पुग्ने सडक कसरी राम्रो बनाउन सकिन्छ भन्ने एजेण्डामा सहमति जुटाए । माडीका माओवादी अगुवा युवा सन्तोष पनेरु भन्छन्, – म जेन–जी पुस्तासँगै मेयरसापसँग पनि निरन्तर संवादमा थिएँ । अन्ततः युवाहरूले पनि यो विषयम सहमति जनाए ।

    आन्दोलनको अगुवाइ गरेका पन्तले जेन जी आन्दोलनले जसरी हुन्छ परिवर्तन चाहेको र दलहरूलाई बोर्ड जलाएर सुध्रिन चेतावनी दिएर निकुञ्ज हुँदै माडी पुग्ने बाटो स्तरउन्नतिको लागि दबाब दिन तयार भएको बताए ।

    ‘हामीले सार्वजनिक सम्पत्ति जोगायौँ, दलहरूको पनि बोर्ड जलाएर सुध्रिन चेतावनी दियौँ । मुख्य कुरा निकुञ्जको बाटो स्तरोन्नती गर्नु थियो त्यसमा आन्दोलन केन्द्रित गर्‍यौं ।’

    तीन घण्टा भित्र विशेष नगरसभा, बाटो स्तरोन्नति गर्ने निर्णय

    निकुञ्जको बाटो केन्द्रित आन्दोलन गर्ने ह्वीम भएपछि आन्दोलन गर्ने जेन-जी समूह नगरपालिकामा केन्द्रित भए । उनीहरूले मेयर र दलका स्थानीय अगुवाहरूलाई पनि सम्पर्क गरे । त्यसपछि तत्कालै नगरपालिका बैठक बसेर भरतपुर आवत जावत गर्ने सडकको काम अघि बढाउन दबाब दिए ।

    नगरपालिकाले पनि युवाहरूको कुरा सुन्यो । तुरुन्तै मेयरले कार्यपालिका बैठक बोलाइन् । विशेष नगरसभा बोलाउने निर्णय भयो । माडीमा नै भएकाले नगरसभामा सबै सदस्य एकैछिनमा उपस्थित भए । एकघण्टा नगरसभा बसेर एकमतले केही ऐजेण्डा पास गरे ।

    युवाहरूलाई कार्यपालिकाको निर्णय सुनाउँदै मेयर ।

    जसमा २३ गते जेन-जी आन्दोलनमा ज्यान गुमाएकाहरूलाई श्रद्धाञ्जली र घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्ने निर्णय गर्‍यो । दोस्रो नम्बरमा तत्कालै माडी नगरको मर्मतसम्भार कोषको ५० लाख रकमले सडक मर्मत गर्ने निर्णय गर्‍यो भने ९ वटा वडाको विकासको रकम र नगरको आन्तरिक आन्तरिक स्रोत गरि ५ करोड २५ लाख रूपैयाँ रकमान्तर गरेर सडक चौडा, स्तरोन्नति गर्ने लगायतका निर्णय पारित गरियो ।

    मेयरले युवाहरूमाझ बैठकको निर्णय सुनाइन् । महतो भन्छिन्- हामीले जेन जीका कुरा सुन्यौँ । उहाँहरूले हामीलाई साथ दिनुभयो । माडीमा सबै जनता एक भयौँ । हामी अहिले सडक स्तरोन्नति गरिरहेका छौँ ।

    माडीका पूर्वमेयर तथा बागमती प्रदेश सांसद ठाकुर ढकाल पनि सबै माडीबासीको आवश्यकताको विषय भएकोले माडीको आन्दोलन बुद्धिमतापूर्ण रुपले विकासको काममा अघि बढेको बताउँछन् । सबैको साथले माडीमा भौतिक क्षति हुन नपाएको उनीहरूको भनाइ छ ।

  • बालुवाटारको मूल भवन सुरक्षित, प्रधानमन्त्री कार्की त्यहीँ बस्न थालिन्

    काठमाडौं । नवनियुक्त अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्की शपथ ग्रहणपछि प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमै बस्न थालेकी छन् ।

    बालुवाटारस्थित प्रधानमन्त्री निवासमा मंगलबार भएको आगजनीका क्रममा बाहिरी भागमा क्षति पुगे पनि मूल भवन सुरक्षित रहेका कारण त्यहिँ बस्न थालेको मुख्यसचिव एकनारायण अर्यालले नेपाल प्रेससँग बताए ।

    उनका अनुसार प्रदर्शनकारीले गाडीमा आगजनी र केही भवनमा तोडफोड गरे पनि प्रधानमन्त्री बस्ने मूल भवनमा क्षति पुगेको छैन ।

    प्रधानमन्त्री कार्कीले आफ्नो निजी निवासमै बस्ने बताए पनि सुरक्षा व्यवस्थामा खटिएका सुरक्षाकर्मी लगायतको व्यवस्थापनका लागि समस्या हुने भन्दै प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमै बस्नुपर्ने भएको प्रधानमन्त्री कार्यालयले जनाएको छ ।

  • सन्दूक रुइतले भने- ‘हामी नेपाल’ संस्थासँग बारबरा फाउन्डेसनको अहिले सम्बन्ध छैन

    काठमाडौं । बारबरा फाउन्डेसनले जेनजी आन्दोलनको क्रममा आफ्नो संस्थाको नाम जोडेर भ्रामक र अनर्गल प्रचार भएको भन्दै आपत्ति जनाएको छ ।

    फाउन्डेसनले आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै जेनजी आन्दोलनका विषयमा हामी नेपाल नामक संस्थासँगको सम्बन्धबारे अनर्गल प्रचार भएको भन्दै आपत्ति जनाएको हो ।

    कोभिड महामारीको बेलामा सहकार्य गरिएको तर सो संस्था वा संस्थाका पदाधिकारीसँग कुनै पनि आर्थिक सम्वन्ध नरहेको फाउन्डेसनले जनाएको छ । नागरिकलाई मूल मुद्दाबाट भड्काउने मनशायले फाउण्डेशनको चरित्र हत्या नगर्न फाउन्डेसनका अध्यक्ष डा. सन्दुक रुइतले आग्रह गरे ।

    उनले गत एक वर्षदेखि हामी नेपाल नामक संस्थासँग कुनै पनि कार्यक्रममा सहकार्य नरहेको स्पष्ट पारे । आन्दोलनका लागि हामी नेपाल नामक संस्थालाई आर्थिक सहयोग गरिएको भन्ने विषयमा कुनै सत्यता नरहेको उनको भनाइ छ ।

    पत्रकार सम्मेलनमा आफ्नो वित्तीय विवरण पनि सार्वजनिक गर्दै फाउण्डेशनले विगत ८ वर्षमा ब्याज आम्दानीलगायत कुल करिब ७ करोड ८२ लाख प्राप्त गरेको जनाएको छ । हाल करिब ३ करोड ९५ लाख बैंकमा मौज्दात रहेको समेत फाउन्डेसनले जानकारी गराएको छ ।

     

  • प्रधानमन्त्री कार्की भन्छिन्- म सत्ताको रसस्वादन गर्न आएको होइन, ६ महिनामा छोड्छु

    काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले आफू रहरले नभएर विवशतापूर्वक यो पदमा आएको बताएकी छन् । ६ महिनामा चुनाव गराएर नयाँ सरकार र मन्त्रीहरूलाई दायित्व सुम्पिने उनको भनाइ छ ।

    आज सिंहदरबारमा सचिवहरूसँगको परिचयात्मक कार्यक्रममा बोल्दै कार्कीले यस्तो बताएकी हुन् ।

    उनले भनिन्, ‘म रहरले आएको होइन । सडकबाट, जताततैबाट फलानालाई, सुशीला कार्कीलाई जिम्मा दिऊँ भनेर आवाज उठ्यो । मैले विवश हुनुपर्‍यो । म कुनै सत्ताको रसस्वादन गर्न आएको होइन । मेरो उमेर पनि होइन त्यो ।’

    ६ महिना भन्दा बढी नबस्ने अठोट गरेर आएको उनले बताइन् ।

    ‘हामीले यो बेलामा किन सेवा नगर्ने भनेर हो । ६ महिना मात्रैको अवधि बस्ने र त्योभन्दा बढी नबस्ने भनेका छौँ । ६ महिनामा आफ्नो कामकारबाही गरेर मुक्त हुने र नयाँ आउने मन्त्रीहरूलाई जिम्मेवारी र दायित्व सुम्पिने अठोट गरेका छौँ । यो अठोटमा यहाँहरूको साथ नपाईकन सम्भव छैन । सुरक्षा निकायले पनि साथ नदिईकन सम्भव छैन । हेर्नुस्, मलाई सहयोग गर्नुस्,’ कार्कीले भनिन् ।

  • सार्वजनिक यातायात देशभर सञ्चालन गर्ने निर्णय, दसैँको बुकिङ टिकट कहिलेदेखि ?

    काठमाडौं । जेनजी प्रदर्शनपछि सिर्जित अवस्थाका कारण रोकिएका सार्वजनिक सवारीसाधन देशभर सञ्चालन गरिने भएको छ ।

    भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव केशवकुमार शर्माको अध्यक्षतामा आज सिंहदरबारमा बसेको सरोकार भएका निकायको बैठकमा प्रदर्शनका कारण रोकिएका सार्वजनिक सवारीसाधनलाई देशव्यापी रूपमा सञ्चालन गर्ने निर्णय गरिएको हो ।

    बैठकमा प्रदर्शनका कारण एक सातादेखि काठमाडौंसहित विभिन्न स्थानमा रोकिएका सार्वजनिक सवारीसाधनलाई देशव्यापी रूपमा सञ्चालन गर्ने निर्णय भएको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाले जानकारी दिए ।

    उनका अनुसार बैठकले ढुवानीका मालवाहक सवारीसाधनलाई सहजीकरण गर्ने निर्णय गरेको छ । दसैँ, तिहार छठ पर्व नजिकिएसँगै घर जाने यात्रुका लागि अग्रिम टिकट बुकिङ खुला गर्न यातायात व्यवस्था विभागका महानिर्देशक राजीव पोखरेलको संयोजकत्वमा यातायात व्यवसायी, मजदुर तथा ट्राफिक प्रहरी रहनेगरी समिति गठन गरिएको छ ।

    उक्त समितिले सरोकार भएका निकायसँगको सहकार्य र समन्वयमा शीघ्र बैठक बसेर अग्रिम टिकट बुकिङ खुला गर्नेछ । यसवर्ष असोज ६ गते घटस्थापना र १६ गते बडा दसैँ परेको छ ।

  • सुरक्षाकर्मीबाट लुटिएका गोलीगठ्ठा र पोशाक फिर्ता गर्न एपीएफको आग्रह

    काठमाडौं । सशस्त्र प्रहरी बलले हतियार तथा सुरक्षासामग्री फिर्ता गर्न अनुरोध गरेको छ ।

    आज एक सूचना जारी गर्दै जेनजी आन्दोलनका क्रममा केही व्यक्ति तथा समूहले नियन्त्रणमा लिएका सुरक्षा निकायका हात हतियार, गोलीगठ्ठा, पोशाक, संचार साधन लगायतका सुरक्षासँग सम्बन्धित सामग्रीहरु फिर्ता गर्न अनुरोध गरेको हो ।

    पोशाक लगायतका सुरक्षा सामग्रीहरु दुरुपयोग गरी विभिन्न सामाजिक सञ्जालहरुमा अझै फोटो/भिडियो देखिएकाले कहीं कतै प्रयोग गरेको/ लुकाई राखेको खबर र सूचना पाएमा नजिकको सशस्त्र प्रहरीको कार्यालयमा सम्पर्क गर्न भनेको छ ।

    आन्दोलनमा नियन्त्रणमा लिएका सामनहरु फिर्ता हुने क्रममा रहेको जनाउँदै फिर्ता गर्नेहरुलाई सशस्त्रले धन्यवाद समेत दिएको छ।

    बाँकी रहेका सामग्रीहरु कहीं कतै प्रयोग गरेको/लुकाई राखेको खबर र सूचना पाएमा नजिकको सशस्त्र प्रहरी बल, नेपालको कार्यालयमा सम्पर्क गर्न अथवा सशस्त्र प्रहरी बल, नेपालको टोल फ्रि नं। १११४ वा अन्य सुरक्षा निकायहरुमा जानकारी गराई सहयोग गर्न अनुरोध गरेको छ ।

  • Gen-Z आन्दोलन प्रभाव : सवारी लाइसेन्स वितरण अनिश्चितकालका लागि बन्द

    Gen-Z आन्दोलन प्रभाव : सवारी लाइसेन्स वितरण अनिश्चितकालका लागि बन्द

    काठमाडौं । यातायात व्यवस्था विभागले सवारी लाइसेन्स छपाइ र वितरण अनिश्चितकालीन बन्द गरेको छ ।

    जेनजी आन्दोलनको क्रममा यातायात व्यवस्था विभागको संरचनामा तोडफोड, आगजानी तथा चोरी/लुटपाटबाट इलेक्ट्रोनिक उपकरण, छपाइ मेशिन तथा सर्भरमा क्षति भएकाले सवारी चालक अनुमतिपत्र तथा विद्युतीय सवारी साधन दर्ता (EDLVRS ) सम्बन्धी सेवा अवरुद्ध भएको विभागद्वारा जारी सूचनामा उल्लेख छ ।

    विभागले अर्को सूचना नभएसम्मका लागि सवारी चालक अनुमतिपत्र छपाइ तथा वितरण लगायतका सूचना प्रविधिसम्बन्धी सम्पूर्ण प्रणाली बन्द रहने जानकारी गराएको हो ।

  • आगजनीमा संलग्न प्रमाण बाहिरिन थालेपछि रास्वपा नगर सभापति र इन्चार्जले पार्टी छाडे

    काभ्रेपलाञ्चोक । पनौती नगरपालिकाभित्र निजी र सरकारी सम्पत्तिमा आगजनी तथा तोडफोडमा संलग्न रहेका भिडिओ फोटो बाहिर आउन थालेपछि रास्वपाका नगर सभापति र नेताले पार्टी छाडेको घोषणा गरेका छन् ।

    भदौ २४ गते पनौती नगरपालिकाका पूर्व मेयर भीम न्यौपाने, उपमेयर गीता बन्जारा,कांग्रेस नेता शिव हुमागाईँ, क्याप्टेन रामेश्वर थापालगायतका नेता तथा व्यवसायीको घरमा आगजनी भएको थियो ।

    आगजनीका घटनामा संलग्नमध्ये रास्वपाका नगर सभापति विवेक भट्टराई र इन्चार्ज सुदर्शन तिमल्सिनाको संलग्नताका प्रमाण बाहिरिएपछि उनीहरूले गल्ती भयो भन्दै पार्टीबाट राजीनामा दिएका छन् ।

    पनौतीमा तोडफोड र आगजनीको कमान्ड नै रास्वपा नगर सभापति भट्टराई र वडा इन्चार्ज सुदर्शन तिमल्सिनाले सम्हालेका थिए । भट्टराई काठमाडौँ विश्वविद्यालय कुप्स विद्यालयका स्थायी शिक्षक समेत हुन् । विद्यालयले भट्टराई स्थायी शिक्षकका रूपमा कार्यरत रहेको स्वीकार गरेको छ ।

    पनौती २ कुशादेवीका सुदर्शन तिमल्सिना जो इन्चार्ज समेत हुन्,उनले आन्दोलनका क्रममा आफूहरूबाट कमजोरी भएको स्वीकार गरेका छन् ।

    उनले आफूहरू त्यसरी देखिने गरी आन्दोलनमा उपस्थित भएका कारण सबै दोष लगाउन खोजिएको भन्दै सभापतिले नै राजीनामा दिएपछि आफू पनि उक्त पार्टीबाट अलग भएको बताएका छन् । उनले अब आफ्नो सात पुस्ताले राजनीति नगर्ने भन्दै सोही घटनापछि आफूलाई खोजी गर्नेहरूबाट ज्यान असुरक्षा भएको पनि बताएका छन् ।

  • तस्बिरमा यस्तो देखियो सुशीला कार्कीको सिंहदरबार इन्ट्री

    तस्बिरमा यस्तो देखियो सुशीला कार्कीको सिंहदरबार इन्ट्री

    काठमाडौं । जेनजी आन्दोलनको बलमा प्रधानमन्त्री बनेकी पूर्व प्रधान न्यायाधीश सुशीला कार्कीले पदभार ग्रहण गरेकी थिइन् । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसहित अधिकांश संरचना जलाइएकाले गृह मन्त्रालयको नयाँ भवनबाट उनले उनले कार्यभार सम्हालेकी छन् ।

    कार्कीले जेनजी आन्दोलनको क्रममा मारिएकाहरूलाई शहीद घोषणा गरेर १०-१० लाख रूपैयाँ क्षतिपूर्ति दिइने पहिलो निर्णय गरिन् । साथै घाइतेहरूको निशुल्क उपचारको व्यवस्था मिलाउन निर्देशन दिएकी छन् ।

    कार्कीको स्वागतमा मुख्यसचिव एकनारायण अर्याल, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव गोविन्द कार्की, सचिवहरू, सुरक्षा प्रमुखहरू उपस्थित थिए ।

  • सुमना श्रेष्ठद्वारा रास्वपा परित्यागको घोषणा

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कि नेतृ सुमना श्रेष्ठले पार्टी परित्यागको घोषणा गरेकी छन् ।

  • अत्यावश्यक संस्थाहरूमाथि छानिछानि प्रहार भयो, योजनावद्ध षडयन्त्रको आशंका छः प्रधानमन्त्री कार्की

    काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले सबै कुराहरु सिध्याएर देशलाई शून्यतामा पुर्‍याइएको टिप्पणी गरेकी छन् । आज पदभार ग्रहणपछि बोल्दै कार्कीले यो घटना योजननावद्ध षडयन्त्र हो कि भन्ने आफूलाई आशंका रहेको बताइन् ।

    उनले भनिन्, ‘२७ घन्टाको आन्दोलनबाट जनधनको व्यापक क्षति भएको छ । सबै सरकारी विवरणहरू जलेर नष्ट भएका छन् । नेपाली नै भएर यो काम गरेको हो भने कसरी नेपाली भन्ने ?’

    कार्कीले अत्यावश्यक संस्थाहरुमा छानिछानि प्रहार भएकाले आशंका उत्पन्न भएको बताइन् ।

    ‘प्रहरी, अदालत, सिंहदरबारजस्ता देशका अत्यावश्यक संस्थाहरुमाथि छानि छानि प्रहार भयो । मलाई त योजनतावद्ध रुपमा षडयन्त्र भएको हो कि जस्तो लागेको छ,’ उनले भने ।

    कार्कीले यो सबै घटनाको छानबिन हुनुपर्ने बताइन् ।

  • प्रधानमन्त्री सुशीला कार्कीको पदभार ग्रहण (LIVE)

    काठमाडौं । नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले पदभार सम्हालेकी छन् ।

  • जेनजी आन्दोलनमा ७२ जनाको मृत्यु भएको सरकारद्वारा औपचारिक जानकारी

    काठमाडौं । जेनजी आन्दोलनका क्रममा देशभर ७२ जनाको निधन भएको सरकारले जानकारी दिएको छ । आज प्रधानमन्त्रीको पदभार ग्रहण कार्यक्रममा सो जानकारी गराइएको हो ।

    प्रधानमन्त्री कार्यालयका अनुसार आन्दोलनकारीतर्फ ५९ जना सहिद भएका छन् भने प्रहरीतर्फ ३ जनाको निधन भएको छ ।

    यस्तै, कारागारबाट भाग्ने खोज्ने १० जना कैदीहरु मारिएका छन् । यसैगरि, १३४ प्रदर्शनकारी घाइते भएर उपचार गराइरहेका छन् । प्रहरीहरु ५७ जना उपचाररत छन् ।

  • जेनजी आन्दोलनमा मारिएकालाई शहीद घोषणा गरेर १०-१० लाख क्षतिपूर्ति दिने निर्णय

    काठमाडौं । जेनजी आन्दोलनमा मारिएकाहरुलाई शहीद घोषणा गरेर १०-१० लाख रूपैयाँ क्षतिपूर्ति दिइने भएको छ । घाइतेहरुको सरकारले निशुल्क उपचार व्यवस्था गर्न प्रधानमन्त्री सुशीला कार्कीले निर्देशन दिएकी छन् ।