Tag: टप न्यूज

  • संविधान दिवस मनाउने सरकारको तयारी, टुँडिखेलमा हुने समारोहलाई प्रधानमन्त्रीले सम्बोधन गर्ने

    काठमाडौं । विषम परिस्थितिका बाबजुद सरकारले संविधान दिवस औपचारिकरुपमा नै मनाउने भएको छ । २०७२ असोज ३ गते संविधान जारी भएको सम्झनामा विगतका वर्षहरुमा जस्तै यस वर्ष पनि संविधान दिवस मनाउन लागिएको हो ।

    प्रधानमन्त्री नै संविधान दिवस मुल समारोह समितिको अध्यक्ष रहने परिपाटी अनुसार यसअघिकै सरकारले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा मुल समारोह समिति गठन गरेको थियो । उक्त समितिको बैठक बसिसकेको छ । बैठकले संविधान दिवस मनाउनका लागि राज्यका सबै निकायलाई परिपत्र गरिसकेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनायो ।

    यसअघि जस्तै मुल समारोह समितिको आयोजनामा सैनिक मञ्च टुडिखेलमा बिशेष समारोह आयोजना गरिने गृह मन्त्रालयका सहसचिव एवम आन्तरिक व्यवस्थापन महाशाखा प्रमुख ऋषिराम तिवारीले नेपाल प्रेससँग बताए । तिवारीका अनुसार समारोहमा उपस्थितिका लागि राष्ट्रपति रामचन्द्र पौडेल, प्रधान न्यायाधीश प्रकाशमानसिंह राउत, राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहाल लगायत संवैधानिक परिषद्का पदाधिकारी एवम विशिष्ट व्यक्तिलाई गृह मन्त्रालयले पत्राचार गरिसकेको ट । नवनियुक्त प्रधानमन्त्री सुशिला कार्कीसँग समन्वय गरेर नै संविधानका विभिन्न कार्यक्रम तय भएका सहसचिव तिवारीले बताए ।

    संविधान दिवसको समारोहमा प्रधानमन्त्रीले सम्बोधन गर्ने प्रचलन रहेको छ । त्यसलाई निरन्तरता दिँदै अन्तरिम सरकारकी प्रधानमन्त्री सुशिला कार्कीले सम्बोधन गर्नेछिन् । कार्यक्रममा प्रमुख अतिथि राष्ट्रपति रामचन्द्र पौडेल रहनेछन् ।

    प्रधानमन्त्रीको अध्यक्षतामा रहने मुल आयोजक समितिमा नेपाल सरकारका मन्त्री, काठमाडौं महानगरपालिकाका प्रमुख, मुख्यसचिव, प्रधानसेनापति, ललितपुर महानगरपालिकाका प्रमुख, नेपाल सरकारका सचिव, प्रहरी महानिरीक्षक, सशस्त्र प्रहरी महानिरीक्षक, मुख्य अनुस्न्धान निर्देशक, उपत्यकाका नगरपालिकाका प्रमुख सदस्य रहने व्यवस्था छ भने गृह सचिव सदस्य सचिव रहन्छन् ।

    काठमाडौं उपत्यका बाहिरका जिल्ला सदरमुकाममा आयोजना हुने संविधान दिवस कार्यक्रम सञ्चालनको व्यवस्थाका लागि जिल्ला समन्वय समितिका प्रमुखको संयोजकत्वमा सम्बन्धित स्थानीय पालिका प्रमुख एवम सरोकारवाला निकायका प्रतिनिधि सम्मिलित समिति हुने व्यवस्था छ । त्यस्तै स्थानीय तहमा सम्बन्धित स्थानीय तहको प्रमुख तथा अध्यक्षको अध्यक्षतामा आयोजक समिति रहने व्यवस्था छ ।

  • कालिकाका मेयर रेग्मीको बयान- दुई वर्षीय छोरो च्यापी धानबारीमा लुकेर बाँचेँ

    चितवन। जेनजी प्रदर्शनका क्रममा चितवनका अधिकांश स्थानीय निकायसहित तिनका जनप्रतिनिधि समेत निसानामा परेका छन् । स्थानीय जनप्रतिनिधिहरूका अनुसार यही भदौ २३ र २४ गते भएको प्रदर्शनका क्रममा घुसपैठ भई स्थानीय तहका भौतिक संरचनामाथि तोडफोड तथा आगजनी भएको हो । जनप्रतिनिधिहरू पनि निशानामा परे ।

    यसै सन्दर्भमा कालिका नगरपालिकाका प्रमुख विनोद रेग्मी विशेषगरी जनप्रतिनिधिहरूको घर–परिवारमाथि समेत आक्रमण गर्नेक्रममा आफूमाथि अमानवीय व्यवहार भएको, आक्रोशित भीडबाट जोगिनका लागि पदबाट राजीनामा समेत दिनुपरेको र परिस्थिति सहज बन्दै गएको अवस्थामा अब क्षतिग्रस्त संरचनाको निर्माणसहित नगरवासीको सेवा गर्न सक्रिय हुनुपरेको बताउँछन् ।

    त्यसदिनको घटना उनकै शब्दमा-

    श्रीमती र छोरीलाई घर छाडेर भाग भनी दुई वर्षीय छोरो च्यापेर घर पछाडिको धानबारीमा लुकेर बाँच्न सफल भयौँ । हामी भागेपछि एक हुल मानिस नाराबाजी गर्दै घर तोडफोडमा उत्रिए । सक्ने जति फोरेर उनीहरु फर्किए ।

    दूधे बालकलाई लिएर धानबारीमा कतिबेर बस्ने ? कहिले जान्छन्, फेरि के हुन्छ भन्ने भएपछि छोरालाई छिमेकीको घरमा छोडेर पुनः आफू धानबारीमा गई बसेको उनले सुनाए । पुनः आक्रमणकारी आएर घरमा थप क्षति गरे । छोरी र श्रीमतीमाथि अपशब्द प्रयोग गर्ने, छोरालाई काट्छु भनेको सुनियो । भीड अराजक र उदण्ड बन्यो । प्रहरी, सेना, सिडिओ, पार्टी कतैतिर पनि सम्पर्क हुन सकेन । आकाश खसेकोजस्तो परिस्थिति भयो ।

    सुरूमा वडा कार्यालयहरु हान्ने, जनप्रतिनिधिलाई मार्ने, काट्ने भन्ने म्यासेजहरू आए । तँ भाग, यसो गर, उसो गर भन्ने ‘म्यासेज’ आए । सल्लाह र छलफल गर्न सम्पर्क गर्न खोज्दा कसैसँग सम्पर्क हुन सकेन । परिस्थितिले च्याप्दै-च्याप्दै ल्यायो । केही समयभित्र घटना हुँदैछ, नगरपालिका हान्दैछन्, वडा कार्यालय हान्दैछन् भन्दाभन्दै हान्न थालिहाले । सोधौँ कसलाई सोधौँ, भेटौँ कसलाई भेटौँ । अत्यन्त अप्ठ्यारो स्थितिको सामना गर्न बाध्य भयौँ ।

    ठूलो सङ्ख्यामा मानिसहरू हातमा खुँडा, खुकुरी, भाला बोकी भय र त्रासको वातावरण सिर्जना गर्ने प्रयास भयो । एउटा बाढी नै आएको अवस्था भयो । घरमा हेर्दा के कुरा जोगाउने भन्ने भयो । के लिएर जाने, कहाँ जाने ? कसले आश्रय दिन्छ त्यो बेलामा । दुई चार ठाउँमा फोन गरेँ, जिउज्यानका खतरा भएकाले बाहिर हिँड्ने उपयुक्त समय नभएको सुझाव आयो, विलखबन्दमा परेँ ।

    दुई घण्टाभित्र पार्टी छाड्ने निर्णय गरिनस् भने तेरो घर जलाउँछौँ तँलाई पनि जलाउँछौँ भनेर धम्की आयो । घर र परिवार जोगाउनका लागि पार्टी परित्याग गरेको एउटा स्टाटस लेखेर हुन्छ भने किन नलेख्ने भनेर पार्टी छोडेको स्टाटस लेखेँ । त्यतिबेला मैले परिवार जोगाउनका लागि घरजग्गा नै नामसारी गर्दै भनेको भए पनि गरिदिनुपर्ने परिस्थिति थियो । मेरो परिवार बच्छ भने, म जे गर्न पनि तयार थिएँ । त्यो तत्कालीन परिस्थितिमा गर्नुपर्ने अवस्था थियो । अहिले त्यो स्टाटस डिलिट गरेँ, म पार्टीमै छु ।

    परिस्थिति मैले भोगेको छु । इस्टमित्र नातागोताले पनि बास दिने परिस्थिति भएन । जुन कुरा मलाई परेको छ, त्यो व्यक्त गर्न सक्दिनँ । पीडादायी अवस्था बन्यो । एमालेहरुलाई खोजीखोजी काटीकाटी मार्ने भन्ने हल्ला फैलिएको भन्दै उहाँले आगो, लगाउँछन्, मार्छन्, काट्छन् भनेपछि परिस्थिति जटिल बन्यो ।

    मेरो घरमा तोडफोडबाट ६ लाख ५० हजार बराबरको क्षति भएको छ । वडा नं १ देखि ७ सम्मका सबै वडा कार्यालय जलेर नष्ट भए छन् । ८ र ९ मा पनि तोडफोड भएको छ । नगरसभा हल पूर्ण रुपमा जल्यो ।अहिले भइरहेको भाडाको घरमा तोडफोड र केही सामान कार्यालय बाहिर ल्याएर जलाइएको छ ।

    कार्यालय प्रयोजनका लागि बन्दै गरेको नयाँ भवन तोडफोड भएको छ । नयाँ भवन अगाडि रहेको तीन वटा सवारीसाधन र दुई वटा मोटरसाइकल जलेर नष्ट भएका छन् । डोजर, ग्रेडर, टिपर, बोलेरो र जेसिबी तोडफोड गरिएको छ । अहिले नगरपालिका अस्तव्यस्त बनेको छ । यकिन तथ्याङ्क आइनसके पनि झण्डै ८० करोड हाराहारी क्षति भएको छ ।  मोटरसाइकलमा सबै वडा पुगेर नगरवासीलाई सेवा दिनबाट नचुक्ने वाचा र प्रतिबद्धता गरिरहेको छ ।

    असैह्य पीडा व्यहोर्नु पर्‍यो यो घटनाबाट पाठ सिकी नगरबासीको सहयोग र सहकार्यमा पुनर्निर्माण अभियानमा सबै जुटौं ।

    (राससकर्मी नारायण अधिकारीसँगको कुराकानीमा आधारित)

  • तीनैजना मन्त्रीहरु संसद भवन र सर्वोच्चको संयुक्त अवलोकनमा जाँदै

    काठमाडाै‌ं । सरकारका तीनजना मन्त्रीहरु जेनजी आन्दोलनमा क्षतिग्रस्त संसद भवन र सर्वोच्च अदालतको अनुगमनमा जाने भएका छन् ।

    अर्थमन्त्री डा.रामेश्वर खनाल, उर्जामन्त्री कुलमान घिसिङ र गृहमन्त्री ओमप्रकाश अर्यालले व्यवस्थापिका र कार्यपालिकाका केन्द्रहरुमा संयुक्त अनुगमन गर्ने भएका हुन् ।

    आज दिउँसाे संसद भवन जाने कार्यक्रम रहेको बालुवाटार स्रोतले बताएको छ । संसद भवनपछि सर्वोच्च जाने तालीका रहेको छ । यस्तै, भैंसेपाटीस्थित मन्त्री निवासको पनि उनीहरुले संयुक्त अवलोकन गर्ने छन् ।

    जेनजी आन्दोलनकारीले संसद भवन र सर्वोच्च अदालत जलाएर ध्वस्त पारेका थिए । संसद भवन अहिले बन्द छ भने सर्वोच्चमा पाल टाँगेर काम सुरु गरिएको छ ।

  • झलनाथलाई ऊर्जामन्त्रीको फोन, रविलक्ष्मीको स्वास्थ्यबारे चासो

    काठमाडौं । ऊर्जामन्त्री कुलमान घिसिङले नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालसँग फोन सम्वाद गरेका छन् । उनले झलनाथकी पत्नी रविलक्ष्मी चित्रकारको स्वास्थ्यबारे जानकारी लिए ।

    जेनजी आन्दोलनका क्रममा डल्लुस्थित घरमा आगजनी हुँदा रविलक्ष्मी गम्भीर घाइते भएकी थिइन् । अहिले उनी अस्पतालमा उपचाररत छिन् । उनको अवस्था अझै पनि खतरामुक्त भइसकेको छैन ।

    आन्दोलनपछि रविलक्ष्मीको निधन भएको हल्लासमेत चलेको थियो । कुलमानले पनि यही हल्ला सुनेका रहेछन् । हिजो मात्रै उनलाई निकटस्थहरुले हल्ला झूटो रहेको बताए । त्यसपछि कुलमान खुशी भएर झलनाथलाई फोन गरेका हुन् ।

    झलनाथपत्नी रविलक्ष्मी कुलमानकी पूर्वशिक्षिका रहेको बुझिएको छ । कुलमान अस्कल क्याम्पसमा आइएस्सी पढ्दा रविलक्ष्मीले उनलाई पढाएकी थिइन् । त्यही व्यक्तिगत सम्बन्धका कारण पनि उनी रविलक्ष्मीको स्वास्थ्य अवस्थाबारे चिन्तित बनेका थिए ।

    झलनाथले फोनमा पत्नीको स्वास्थ्य अवस्था र आफ्नो घरमा भएको आगजनीबारे बताएका थिए । कुलमानले रविलक्ष्मीको शीघ्र स्वास्थ्यलाभको कामना गरे ।

  • तोडफोड र आगजनीमा उत्रिएका एक सदस्य एमालेबाट निष्कासित, संलग्नहरूको सबुद् खोजिँदै

    तोडफोड र आगजनीमा उत्रिएका एक सदस्य एमालेबाट निष्कासित, संलग्नहरूको सबुद् खोजिँदै

    विराटनगर । जेनजी आन्दोलनको मौका छोपी सरकारी भवन र निजी सम्पत्तिमा विध्वंस मच्चाउने आफ्ना नेता तथा कार्यकर्ताको विवरण संकलन थालेको छ । तोडफोड, आगजनी तथा लुटपाटमा पार्टी तथा जनवर्गीय संगठनका नेता कार्यकर्ता संलग्न पाइएपछि कारबाही प्रक्रिया सुरू गरिएको हो ।

    उनीहरूको संलग्नताबारे आएको सूचनाको आधारमा नामावली संकलन सुरू भएको नेताहरूले बताएका छन् । नेकपा एमाले कमल गाउँ कमिटी झापाले सार्वजनिक सम्पत्तिमा तोडफोड र आगजनीमा संलग्न अभियोगमा वीरेन्द्रप्रसाद तिवारीलाई साधारण सदस्यसमेत नरहने गरी कारबाही गरेको छ ।

    उनी कमल-५ का बासिन्दा हुन् । गाउँ कमिटी झापाले विज्ञप्ति जारी गर्दै आन्दोलनका क्रममा प्राप्त भिडिओ र तस्बिरका आधारमा तिवारीलाई कारबाही गरेको जनाएको छ ।

    एमाले कोशी प्रदेश अध्यक्ष घनश्याम खतिवडाले आन्दोलनमा मिसिएर सार्वजनिक सम्पत्तिमा आगजनी र तोडफोडमा संलग्न पाइए जो सुकैलाई कारबाही हुने बताए ।

    उनले भने, ‘लोकतन्त्रमा विरोध गर्न पाइन्छ, आफ्ना कुरा राख्न पाइन्छ । तर सार्वजनिक सम्पत्तिमा विध्वंस गर्न पाइँदैन ।’

    सबुद संकलन थालिएको भन्दै खतिवडाले नेपाल प्रेससँग भने, ‘हामी प्रमाणका आधारमा कारबाही गर्छौं । सार्वजनिक सम्पत्तिमा आगजनी गर्नेलाई पार्टीका कार्यकर्ता भनेर संरक्षण गर्दैनौं । ’

    अराजकता मच्चाउनेहरूलाई कारबाहीको दायरामा ल्याउन पार्टीले सहयोग गर्ने उनले सुनाए ।

    भदौ २३-२४ को आन्दोलनमा कोशीमा विभिन्न जिल्लामा एमालेका पार्टी कार्यालयमा पनि तोडफोड र आगजनी भएको । ताप्लेजुङ, इलाम, झापा, मोरङ, सुनसरी, उदयपुरका जिल्ला र पालिका तहका पार्टी कार्यालयमा तोडफोड र आगजनी भएको एमाले कोशीले जनाएको छ ।

  • ‘माल’ हरूको ‘रि-माल’ गर्ने बेला

    पहिला कुनै कार्यक्रम, लेखन शुरु गर्दा नीति कथाको अंशबाट आरम्भ गरिन्थ्यो । अचेल नीति र कथाको भेट हुँदैन । नीति नायिका हुन शहर छिरेर ‘कथा’ले मागे अनुसार तयार भइन् । ‘कथा’ सूर्य चिन्ह लिएर पनि चुनाव उठ्न तयार भए । कथा भन्नाले कमल थापा र नीति भन्नाले यो हप्ता ट्रेन्डमा पर्न मरिहत्ते गर्ने टिभी जर्नलिस्ट, टिकटकर, ब्लगर, भ्लगर, युट्युबर, सिंगर, सोसियल इन्फ्लुइन्सर, पानीसेवक सम्झनु पर्ने दिन आए ।

    नेपालीमा के भन्ने ? जस्तो दलाल भन्न हुँदैन, ब्रोकर भन्दा साथीहरू ‘मुसुक्क’ हाँस्छन् । ‘ज्यानमारा’ भन्दा रिसाउँछन्, ‘किलर छौ’ भनिदिँदा ‘थ्यांक यु’ भन्छिन् । नेपालीहरू ट्रेन्डिङमा पर्न मरिहत्ते गरेपछि युट्युबले संसारभरकै सामग्रीको ‘ट्रेन्डिङ पोल’ नै हटाइदियो । हालसालै राजपरिवारका एक सन्तानलाई पनि गजबको भ्लगर बनाइयो ।

    अमेरिकामा अध्ययनरत एउटा अभागी नाति राजा हृदयेन्द्र शाह कर्णालीतिर गए र भ्लग बनाए । ग्रामीण किशोरीले सोधिन्, ‘यात्रा कस्तो भयो ?’ नातिराजाले भने, ‘प्लेनमा कस्तो हल्लायो नि !’ हामी चैँ वाह, क्या जनताको मन छुने क्यारेक्टर भनिरहेका थियौँ, जबकि अवस्था प्लेन होइन, यहाँ व्यवस्थै हल्लाउन खोजिइएको छ, थेग्न सक्ने मुटुहरू भ्लगरजति पनि ‘पब्लिक’ हुन सकिरहेका छैनन् । जो पब्लिक भइरहेका छन्, तिनीहरु भनिरहेका छन्, ‘यसरी नांगै नहिँड, लौ म मेरै पाइजामा फुकालेर दिन्छु, लगाएर हिँड ।’ हिजो मात्रै एउटा युवानेताले महामन्त्रीको पाइजामा फुकालेर दिन तयार भएको स्वघोषणा पनि हेरियो ।

    अब एउटा फन्नी जोक रिकल गरौँ, ‘वासिङ्टन डिसी र दिनेश डिसी दाजुभाइ होइनन् ।’

    यो जोकमा हाँस्ने कि रुने ? हालै नेपालमा जेन्जीका नाममा रक्तपातपूर्ण आन्दोलनको आँधीबेहरी आयो । यो आँधीमा ‘मेटलको गोली’ हान्ने को भनेर अहिलेसम्म उत्तर आएको छैन । एउटै ज्यानमा ८ देखि १२ गोली दागिएको कुरा छ । काठमाडौँका केही पत्रकारहरूको निबन्ध भावका समाचार पढ्ने हो भने, यस पटक शल्यक्रिया गर्दा छाती र मुटुमा गोली दागिएको युवाको शव देख्दा डाक्टरको पनि मुटु भक्कानियो रे, डाक्टरसमेत रोएछन् यसपालि ! नेपाल प्रहरी स्वयम् यस्तो गोली हानिएको छैन भनिरहेको छ । आफ्नै राजा दरबारमा ढल्दा होस् या राष्ट्रपतिको घरमा आगो बल्दा होस्, ‘टुलुटुलु हेरिमुन्टिने’ हाम्रो रक्षाकवच छ ।

    न ओलीलाई एक्लै नेपाल भेट्न दिइनेछ । ‘मविनाको भेट असम्भव’ भन्दै दुवैतिर सड्किनेमर्किनेहरुसँग नेतृत्व नै ‘पेटीदास’ कसरी भए ? कुनै बेला हाम्रा गोकुल बाँस्कोटा दाइ पार्टी अध्यक्ष एवम् प्रधानमन्त्रीको घर कुर्नै बसेका थिए भन्दा फरक परेन ।

    परमाधिपतिको जिउज्यान र घरमा गोली र आगो दागिँदा पनि हेरेर बस्न पर्ने रक्षाकवचले राति नै राजा ल्याएर राजतन्त्रको किलो गाड्छन् भन्ने भ्रमको सर्कसे पिङ मच्चिँदा डरको ओखती नपाएर केही फेरि इन्तु न चिन्तु देखिन्थे । केही खुशीले फुलेर फोक्सो बढाइरहेका थिए ।

    यति चैँ भनौँ, यो उत्तर कोरिया होइन, विश्वमै हतियार सम्पन्न संसारको ११ औँ शक्ति । यो भारत होइन, गल्फ क्लबको हिसाब पनि भारत सरकारलाई बुझाउन नपर्ने । यो पाकिस्तान र म्यानमार पनि होइन, दलका नेताहरूलाई जेल र कारबास नै फैसला गर्न सक्ने । यति चैँ हो, शान्ति सुरक्षा र अमनचयन नभइन्जेल देशको जिम्मा लिने, चुनाव गराउने, संकटकाल लगाउने र देशको राज्यसत्ता फिर्ता गरेर फेरि ठेक्कापट्टा लिने, शिवरात्रीमा सेना दिवस मनाउने, राष्ट्रपतिलाई भोटो हेर्न मन लागे जाँदा काठमाडौँ शहर घुमाउने काममा सेनाको अचाक्ली आत्मविश्वास, रुचि र परम्परा छ ! यसैले हामीले दिनेश डिसीलाई वासिङ्टन डिसी ठानेर बौलाउनु हुँदैन ।

    बुझिहाल्नु भयो, नेपाली सेनालाई चाहिँदो भन्दा उचाल्नेहरूको पनि हित भएको छैन, चाहिँदो भन्दा बढी विश्वास गर्नेहरूको पनि जित भएको छैन । अब जेन्जीतिर लागौँ । ७६ वर्षका प्रधानमन्त्री लखेटेर ७३ वर्षका त्यो पनि संसदीय अभ्यासमा अनुभव नभएका र सांसद नै नभएकाका लागि प्रधानमन्त्रीको कुर्सी मिलाइदिने आन्दोलनकारीमा ठूलो झगडा छ । आन्दोलनमा ‘पानीसेवा’ दिन जार बोकेर आएकाहरूले असली आन्दोलनकारीलाई झार बनाइदिए । जसरी सप्तरीको बरमजियाका हरेक पेडा पसलले आफूलाई ‘बाजेको’, ‘असली’ र ‘पुरानो’ पेडा दाबी गरिरहेका छन् । बाजेको पेडा पनि हुँदैन ।

    यसो भन्दा बाजेको सेकुवा जाने र खानेहरू रिसाउलान् । मेरा चैँ बाजे परमधाम भइसके, केको सेकुवा हुनु ? असली पेडाको परिमाण पनि प्याकेटमा उल्लेख छैन । कुन असली ? पुरानो पेडा त झन बासी होला, मान्छेलाई ताजा नै पेडा चाहिएको हुन्छ । जेन्जीमा चैँ देखिएको ताजा अनुहारहरू पानी बोकेर आएका थिए, खुट्टा ढोगेर गए । हिजो हामी शपथमा जानुपर्दा नाम लेखाउनु पर्थ्यो, औपचारिक पोशाक लगाउनु पर्थ्यो, तर यहाँ आन्दोलनकारीहरू आन्दोलनकै भोटोमा परमाधिपति र सेनापति भेट्न जाँदा राष्ट्रवाद कतै चुहिएन । खुरुखुरु किरण पोखरेल र खिला कार्कीहरूले एनजिओका भोटोवाला फोटोहरू समाचारका लागि पठाइरहे ।

    अब दलहरुतिरको कुरा जोडौँ । उद्योग नखोल्ने, करैकरको करकर, कर्मचारीको उस्तै डर अनि मजदुरको आन्दोलनको लालआतंक । नेपाल फेरि एउटा यस्तो देश हो, जहाँ काम लगाउने र काम गर्ने दुवै कम्युनिष्ट । विद्यार्थी हकहितको आन्दोलन गर्ने विद्यार्थी र माग पूरा गर्ने विद्यालय व्यवस्थापनको शिक्षक र व्यवस्थापन समिति पनि कम्युनिष्ट । उद्योग खोल्ने र काम लगाउने पनि कम्युनिष्ट । मजदुर र व्यवस्थापन दुवै उचालेर आन्दोलन चर्काइरहनेहरू पनि कम्युनिष्ट, चर्किरहनेहरू पनि कम्युनिष्ट । यसपछि उद्योग नखोल्ने चलन शुरु भयो । एकताका घनश्याम भूसाल भन्थे, ‘हाटहुट, लाटलुट र चाटचुट’ गर्न सक्नेहरु यो देशमा हाबी भए ।’ उनी थप्थे, ‘उद्योग किन खोल्ने, मजदुरलाई नियुक्ति दिनुपर्‍यो, सुविधा दिनुपर्‍यो, उत्पादन गर्नुपर्‍यो, कर तिर्नु पर्‍यो, बरु सारी ल्यायो बेच्यो, नाफा खायो, उद्योगपति र व्यापारी भयो ।’

    अहिले होजस्तो लाग्यो, नेपालमै भाटभटेनी खोलेका मीनबहादुर गुरुङको भाटभेटनी जल्यो, विदेशमा उद्योग खोलेका चौधरी समूहको उद्योग बच्यो । नेपालको चैँ जल्यो है फेरि, देखेन नभन्नुस् तर सिक्किमदेखि देश–विदेशका उद्योग त रहे ।’ मिनबहादुरको दोष थियो, ‘एमालेलाई घर बनाइदिनु ।’

    हजारौँलाई दिएको रोजगारी खोसियो । उनको भाटभटेनी लुट्न जानेहरूमा अहिलेसम्म केहीको लाश भेटिने क्रम जारी छ । २१ वटा मध्ये त १६ वटा भाटभटेनी एउटै बिमा कम्पनीमा बिमा गरिएको रहेछ, कसरी बिमा रकम आउला चिन्ता छ, आउँदा मीनबहादुर गुरुङ अर्को भाटभटेनी खोल्न सक्छन्, यता भाटभटेनी लुट्नेहरू मर्नेहरू मरिहाले, बाँकी धमाधम पक्राउ पर्नेछन्, अब पुलिसलाई भनसुन गर्न एमाले–कांग्रेस–माओवादीले फोन नलगाउने पक्का छ, किनभने नातावाद र राजनीतिक आशीर्वादले यस्तो भएको भन्नेहरूको शासन भएकाले भनसुन चल्दैन, अहिलेसम्म जेलबाट भागेकाहरू २ हजार ९ सय जति बाहिरै छन्, अरू समात्दै जेल पठाउन प्रहरीले अदालत लैजाँदा सिंहदरबार भन्दा पहिला कारागार बनाउनु पर्ने अवस्था छ, कहाँ थुन्ने, कहाँ राख्ने ?

    हेटौँडामा लागुऔषधका कारोबारी बढेर हिरासत अभाव थियो, भाटभटेनी, सार्वजनिक सम्पत्ति र नेताको घर जलाउनेहरू थपिएकै छन् । पहिलो दिन नै प्रथम महिला प्रधानमन्त्रीले भनेको वाणीअनुसार यस्तो विध्वंस गर्नेहरूलाई छोड्नुस् भनेर प्रहरी र अदालतलाई फोन गरेका दिन नेपाली मिडियाले छोड्दैन । त्यही काम एमाले–कांग्रेस–माओवादीले गरे अपराध, यो सरकारले गरे सुशासन पक्कै हुँदैन ।

    नेकपा एमालेभित्र केही निकिता ख्रुश्चेभहरु उम्रिएका छन् । आन्दोलनको अघिल्लो दिनसम्म सनराइज हलमा ‘अर्को एक ताली ओली’ भनेर सही धस्काएर आएकाहरू अहिले ‘ओली हुनुहुन्न’ भन्दैछन् । ओली हुनुपर्छ या हुनुहुन्न भन्ने तपाईँहरूको आवाजलाई जनताले खासै ध्यान दिएका छैनन् । अहिलेको चिन्ता ओली, शेरबहादुर देउवा या पुष्पकमल दाहाल हुने नहुने होइन, यो व्यवस्था यही ढंगले रहन्छ कि रहन्न भन्ने चिन्ता छ । दलहरूले अचाक्ली अपराध गरे भन्नेहरूले हाकाहाकी नियोजित र प्रायोजित ढंगले जनताका छोराछोरीलाई उक्साएर सडकमा उतारे । उतार्ने समूह एउटा छ । यसलाई लतार्ने समूह अर्को देखिन्छ ।

    सत्तामा पुर्‍याउने समूह अर्को छ । यसमा हाम्रो भाग परेन भनेर रोई कराइ गर्ने साम्पाङ र प्रसाईँ समूह त रोइलोमै छ, राजावादी समूहहरू यो ६ महिनामा केही पनि हुन्न, फेरि आगोमा मट्टितेल थप्नुपर्छ भनेर छिमेकमा छिमेकीहरू पनि आगो र मट्टितेलको जोहोमा छन् । त्यसैले को हुने-नहुने भन्दा पनि समयको मागअनुसार जनतामा अनुमोदन हुने अनुहारको खोजीमा देश छ । किनभने यहाँसम्मको यात्रामा काठमेयर बालेनको ‘हालिमुहाली’ हेरेर उत्तरदक्षिणकै छिमेकी छक्क छ, नेपाली समाज र दल अनि हर्क साम्पाङको के कुरा ? बालेनले भनेका थिए, ‘सिंहदरबार जलाइदिन्छु ।’ जल्यो ।

    प्रधानमन्त्रीमा सुशीला कार्कीलाई समर्थन । प्रधानमन्त्री कार्की । आफ्ना कानूनी सल्लाहकारलाई देशकै कानून र गृहमन्त्री बनाइदिए । हर्कको फोन उठाएनन् । केपी ओलीलाई हत्यारा भनेर लेखे, अहिले केही अदालतमा ओलीलाई ज्यान मुद्दा लगाउन दौडिरहेका छन् । अनि मङ्गलवार फेसबुकमा प्रेम पत्र लेखे, ‘प्रिय हर्क, तिमी जति रिसाए पनि मेरो एकतर्फी माया जारी छ ।’ अब साम्पाङको खिर खानेहरू मंगलबारदेखि केही त पक्का बालेनतिर ढल्किनेछन्, तिनैले भन्नेछन्, ‘सहनु त बालेनले जस्तो, हर्कसँग प्रेम जारी देखाए ।’

    चुनाव आँगनमै आइसक्यो भन्दा हुन्छ । तर निर्वाचन आयोग ऐन संशोधन के गरी गर्ने ? संसद छैन । चुनावअघि मतदाता अद्यावधिक हुनुपर्ने ऐनमा किटान छ । अहिले आन्दोलन गर्ने कतिपयको नाम छैन, त्यसले अर्को विद्रोह जन्माउँछ, अद्यावधिक गरौँ, निर्वाचन घोषणा भएपछि मतदाता अद्यावधिक गर्न पाइन्न । तर यहाँ अब मतदाता अद्यावधिक गरेर दलहरूलाई थप मौजुदा अवस्थामै भीम रावल, उपेन्द्र यादव, माधव नेपाल र रवि लामिछानेजस्तो उठिसुख न बसिसुख पार्ने खेल हुनेछ ।

    सबैले एकमत भएर जनतामा पश्चात्ताप गरौँ । सेना नेपालको भए पनि अन्तर्राष्ट्रिय मान्यता भएकाले तत्काल ‘कू’ गर्न सक्दैन भन्ने भरोसा जनतामा दिउँ । सक्थ्यो भने किन राजतन्त्र जोगाएनन् । किन दरबार हत्याकाण्ड भयो र किन परमाधिपतिको घर जल्यो ? राजावादीहरुले भन्ने गरेको किन यत्रो जनताको चाहना हुँदा पनि पूर्वराजालाई ‘पूर्व’ तिरै राखिरहेका छन् ?

    यसपटक बालेन सफल भए । अर्को ६ महिनामा को सफल हुने भनेर खेल चलिरहेको छ । केही साथीहरू भन्छन्, ‘६ महिना जति एमाले–कांग्रेस–माओवादीका टाउकेहरु नबोल ।’ यो पनि ठीक होइन, बोल्ने तर विगतको शिक्षाबाट अत्यधिक लाभ लिएर थप क्षति नहुने गरी बोल । अभिमानयुक्त आडम्बरको भाटभटेनी बन्द गर । चाकरी र दास हुन नचाहनेहरूलाई जुनियर हेडमास्टर र सिनियरलाई पियन बनाउने अभिमानको दरबारमार्ग बन्द गर । जनता आकुलव्याकुल छन् । पूर्वराजाले पनि पुल र बाटो बनाइदिएका छैनन् । बालेनले पनि रुसमा जस्तो स्टेसन–स्टेसनमा पाउरोटी राखिदिएका छैनन् । दुर्गा प्रसाईँले पनि उक्साएकाहरू धेरै थाकिसके । यसैले जनमुखी अवतारमा झर ।

    जस्तो, उत्तर कोरियाले जनताको दिसा पनि लिन्छ र जनतालाई सालिन्दा कपडा नापेर दिन्छ । दिन तोकेर रुन लगाउँछ, दिन तोकेर किम आफैँ जनताको गाला टोक्दै पनि हिँड्छन् । आफूले आफैँलाई गायब पारेर सि चिनफिङ दुनियाँलाई चक्मा दिन्छन् । भारतीय मिडियाहरूले त हु जिन्ताओलाई अबको राष्ट्रपति भनेर संसारलाई भ्रम बेचिसकेका थिए । तर तिनै सिले हाम्रै केपी ओलीसँग पनि मूलकात गरे, नेपाली एजेण्डा सुने । उनी न बिरामी परेका थिए, न हराएका थिए । आफ्नै प्रिय केही कमान्डरहरू हटाइदिए, केहीले यो अप्रिय निर्णय सुन्न नसकेर ‘हर्टअट्याक’ स्वीकारे । नेपालमा नेताको वरपर बस्नेहरू मात्रै फेर्ने हो भने पनि जनतामा चैतको खडेरीमा आँत हरहर हुने वर्षा झैँ हुन्छ भन्ने नेतृत्वले नबुझेका हुन् ।

    नेतासँग वान टु वान भेट गर्नै नदिने, पुच्छर नहल्लिएसम्म जिउ हल्लनै नपाउने जुन गणतन्त्र एमाले–माओवादी–कांग्रेसले स्थापित गरेका थिए । यो मात्रै नयाँ खोजी गर्न सके पनि धेरै राहत हुन्छ । ३० वर्ष यी मुखियाहरुको पछि लागेपछिको एउटा आत्मविश्वास जीवितै छ । एक घण्टा मात्रै केपी ओली र माधवकुमार नेपाललाई एउटै कोठामा ढोका थुनिदिने हो भने दुवैले एकले अर्कालाई ‘सरी’ भन्दै गम्लंग अंगालो हालेर बाहिर आएर भन्नेछन्, ‘अब जनताको मुद्दामा हाम्रो एउटै बोली हुनेछ ।’ तर न नेपाललाई एक्लै ओली भेट्न दिन्छन् ।

    नेपालीमा के भन्ने ? जस्तो दलाल भन्न हुँदैन, ब्रोकर भन्दा साथीहरू ‘मुसुक्क’ हाँस्छन् । ‘ज्यानमारा’ भन्दा रिसाउँछन्, ‘किलर छौ’ भनिदिँदा ‘थ्यांक यु’ भन्छिन् । नेपालीहरू ट्रेन्डिङमा पर्न मरिहत्ते गरेपछि युट्युबले संसारभरकै सामग्रीको ‘ट्रेन्डिङ पोल’ नै हटाइदियो । हालसालै राजपरिवारका एक सन्तानलाई पनि गजबको भ्लगर बनाइयो ।

    न ओलीलाई एक्लै नेपाल भेट्न दिइनेछ । ‘मविनाको भेट असम्भव’ भन्दै दुवैतिर सड्किनेमर्किनेहरुसँग नेतृत्व नै ‘पेटीदास’ कसरी भए ? कुनै बेला हाम्रा गोकुल बाँस्कोटा दाइ पार्टी अध्यक्ष एवम् प्रधानमन्त्रीको घर कुर्नै बसेका थिए भन्दा फरक परेन । ठाडो बोली, काभ्रेली स्वभाव, जिल्लाको अध्यक्ष हुँदै हरेक चुनाव जित्दै आएको उनको योग्यतामा त्यही एउटा सानो ‘लेप्रेचेप्रे कोटा’ जडान नहुँदा आज पार्टीभित्रै प्रतिपक्षको किलोमा झुण्ड्याइएका छन् ।

    यसैले कसैले पद छाडेर होइन, सबैले एकमत भएर जनतामा पश्चात्ताप गरौँ । सेना नेपालको भए पनि अन्तर्राष्ट्रिय मान्यता भएकाले तत्काल ‘कू’ गर्न सक्दैन भन्ने भरोसा जनतामा दिउँ । सक्थ्यो भने किन राजतन्त्र जोगाएनन् । किन दरबार हत्याकाण्ड भयो र किन परमाधिपतिको घर जल्यो ? राजावादीहरुले भन्ने गरेको किन यत्रो जनताको चाहना हुँदा पनि पूर्वराजालाई ‘पूर्व’ तिरै राखिरहेका छन् ?

    अब चैँ नीतिकथा जोड्न चाहेँ ।

    एकजोर परेवा हाँगामा मधुर वार्तालापमा थिए । एउटा मान्छे नजिकै आएको देखेर पोथी परेवाले भनिन्, ‘यहाँबाट उडौँ, नत्र मान्छेले मार्नसक्छ ।’

    भाले परेवाले दृढविश्वासका साथ भन्यो, ‘उ हिँडेको शैली, पोशाक र शालीनताले कतैबाट पनि सिकारी देखिन्न, किन भाग्नु ?’

    नजिक आइपुगेपछि त्यही शालीन पोशाकधारी सिकारी बन्यो र गोजीबाट गुलेली निकालेर भाले परेवा ठहरै पार्‍यो ।

    असहाय पोथी परेवा भागिन् । रुन थालिन् । क्षणभरमै संसार उजाडियो । रुँदै राजाकहाँ गइन् र घटना सुनाइन् ।

    राजाले तत्तत् हुलियाको सिकारी समातेर ल्याउन आदेश दिए । शिकारीलाई राजदरबार ल्याइयो । उसले तुरुन्तै अपराध स्वीकार्‍यो ।

    राजाले पोथी परेवालाई कुन सजाय दिउँ भनेर सोधे । पोथी परेवाले दुःखी हुँदै भनिन्, ‘राजन, म त जीवनसाथी गुमाएर एक्ली भइसकेँ, फेरि अर्कोको जीवन किन उजाड पारिदिउँ, तर यति चैँ नियम लगाइदिनुहोस्, जो जे हो, त्यही पोशाक लगाएर हिँड्ने व्यवस्था लागू भए हामीजस्ताको संसार उजाडिन्न ।’

    हो, अप्ठेरो परेको बेला पार्टी छाडेँ भन्ने, ठिकठाक भएपछि पार्टी फर्केँ भन्ने, पोशाक एउटा र कर्म अर्को गर्नेहरुबाट अहिले पार्टीहरु धूलीसात भएका हुन् । जो जे हो, त्यति गरिदिए पुगिहाल्छ । सायद प्रदीप ज्ञवालीले भन्ने गरेको फिनिक्स चराको सार पनि यही हो ।

    अब टुंग्याउँ, यसपालि अलि लामै भयो । बजारमा मागअनुसार मालको भाउ हुन्छ । अर्थशास्त्र होस् या राजनीति । अहिले थरिथरिका ‘माल’ ले बजार तातिएको छ । दुर्गा प्रसाईँ, हर्क साम्पाङ, बालेन, मिराज ढुंगाना, सुदन गुरुङ यही राजनीतिको उत्पादन हो । बजारले मागअनुसार आपूर्ति गर्नसक्छ भन्ने जेन्जीले देखाइदिए रविलाई जेलतिर धेकेलेर । यसैले सबैले अहिले ‘रिजेक्टेड माल’ पहिचान गरेर जरुरी ‘माल’लाई जनताको चाहनाअनुसार जनमुखी ब्रान्डिङ गरौँ र जवाफदेही बनाऔँ । यसले नै दलहरुको हित हुन्छ । र, यो भन्दा राम्रो ‘माल’ हरुको ‘रि-माल’ गर्ने बेला फेरि आउँदैन है !

  • बागमतीका सभामुखले दिए राजीनामा, राष्ट्र रोएको बेला पदमा बस्न अनुचित लागेको भनाइ

    बागमतीका सभामुखले दिए राजीनामा, राष्ट्र रोएको बेला पदमा बस्न अनुचित लागेको भनाइ

    हेटौंडा । बागमती प्रदेशका सभामुख भुवनकुमार पाठकले राजीनामा दिएका छन् ।

    जेनजी आन्दोलन चर्किँदै जाँदा उनले भदौ २४ गते नै सामाजिक सञ्जालबाट राजीनामा घोषणा गरेका थिए । आज उपसभामुख अप्सरा चापागाईँलाई सम्बोधन गर्दै पाठकले लिखित पत्र ह्वाट्सएपबाट पठाएका छन् ।

    ‘गत भाद्र २३ गते जेन जी को भ्रष्टाचारको विरुद्ध र सुशासनको पक्षमा भएको प्रदर्शनको क्रममा अस्वाभाविक बल प्रयोगबाट राष्ट्रवादी नेपालीहरूले अनाहकमा सहादत प्राप्त गरे पछि म अत्यन्त भावविव्हल भएँ । राष्ट्र रोएको बेला नेपाली जनताको चाहना र युवा पुस्ताको भावना विपरीत पदमा बसिरहनु सर्वथा अनुचित हुन्छ भन्ने अन्तर आत्ममा लाग्यो र भाद्र २४ गते नै सामाजिक सञ्जालबाट राजीनामा गर्ने घोषणा गरेँ । तर प्राविधिक कारणले कानुनी प्रकृया पुरा गर्न अनुकूल भएन । आज नेपालको संविधान र प्रदेश सभा नियमावली २०७४ बमोजिम बागमती प्रदेश सभाको सभामुख पदवाट राजीनामा गरेको छु’, पाठकले राजीनामा पत्रमा लेखेका छन् ।

    प्रदेश प्रमुख, मुख्यमन्त्री र बागमती प्रदेशसभा सचिवालयमा पत्रको बोधार्थ दिइएको छ ।

  • रास्वपा बैठकमा हरि ढकालले गरे आत्मालोचना

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का केन्द्रीय सदस्य हरि ढकालले सुमना श्रेष्ठलाई लक्षित गर्दै दिएको अभिव्यक्ति फिर्ता लिएका छन् । हिजो बसेको केन्द्रीय समितिको भर्चुअल बैठकमा उनले गलत अभिव्यक्ति दिएको स्वीकार्दै आत्मालोचना गरेका हुन् ।

    रास्वपाको केही दिनअघि बसेको भर्चुअल बैठकमा सुमना श्रेष्ठ, हरि ढकाल र गणेश कार्कीबीच चर्काचर्की भएको थियो । सभापति रवि लामिछाने कारागारबाट निस्किएको विषयमा सुमनाले प्रश्न उठाउँदा ढकाल उनीमाथि खनिएका थिए ।

    त्यस क्रममा ढकालले सुमनालाई लक्षित गर्दै ‘बाघको छालामा स्यालको रजाईं’ उखान हालेका थिए । सभापतिकोविरुद्धमा लाग्नेहरु पार्टी छोडेर गए हुने अभिव्यक्तिसमेत उनले दिए । नभन्दै सुमनाले तीन दिनअघि पार्टी परित्याग गरेपछि केही नेताहरु ढकालप्रति असन्तुष्ट छन् ।

    हिजो बसेको केन्द्रीय समिति वैठकमा ढकाल आफैंले यो विषय उप्काएर दुख व्यक्त गरेको स्रोतले बताए । आफूले भावावेशमा आएर बोल्न पुगेको भन्दै उनले क्षमा मागेको पनि स्रोतको भनाइ छ । असन्तुष्ट नेताहरुले यसमा कुनै पनि टिप्पणी गरेनन् भने सिनियर नेताहरुले पनि बोलेनन् ।

    हिजोको रास्वपा वैठकले असोज २ गतेदेखि पार्टी गतिविधि नियमित सुचारु गर्ने निर्णय गरेको छ । आन्दोलनका क्रममा क्षति भएका सार्वजनिक संरचना क्षेत्र सफाइ एवं पुनर्निर्माणमा सघाउने पनि रास्वपाको निर्णय छ ।

  • ‘पिक सिजन’ मै पर्यटनमा धक्का- नेपाल सुरक्षित रहेको सन्देश दिन व्यवसायी सक्रिय

    काठमाडौं । विदेशीले नेपाल भ्रमणका लागि सबैभन्दा उपयुक्त समय सेप्टेम्बरदेखि नोभेम्बरसम्मलाई मान्ने गर्छन् । होटल, ट्राभल एजेन्सी र गाइडहरू ‘व्यस्त’ हुने समय पनि यही रहेकाले यो अवधिलाई ‘पिक सिजन’ मानिन्छ ।

    मुख्य सिजनमा लाखौँ पर्यटक नेपाल भित्र्याउन सरकारदेखि पर्यटन व्यवसायीसम्म लागिरहेका हुन्छन् । तर, यस वर्ष सिजनको शुरुमै पर्यटन क्षेत्रमा धक्का लागेको छ । पर्यटकलाई नेपालमा स्वागत गर्ने तयारीमा रहेकै बेला जेन जी आन्दोलन भयो । जुन आन्दोलनका कारण नेपालमा आउने पर्यटकहरू त्रसित मात्रै भएका छैनन् । आउने तयारीमा रहेकाहरू पनि बुकिङ रद्ददेखि सुरक्षाबारे तीव्र सोधीखोजीमा रहेको व्यवसायीहरूले बताएका छन् । आन्दोलनका दृश्यहरूले अन्तर्राष्ट्रिय बजारमा नकारात्मक प्रभाव पारेको बताएका छन् ।

    उनीहरूका अनुसार यसले पर्यटन क्षेत्रमा ठूलो असर पारेको छ । नेपालका होटल, ट्राभल एजेन्सी, ट्रेकिङ गाइडदेखि साना व्यवसायसम्म प्रभावित भएका छन् ।

    केही अन्तर्राष्ट्रिय उडान रद्द भएका छन् । हालै हङकङको वायुसेवा कम्पनी क्याथे प्यासिफिक एयरवेजले नेपालका लागि उडान रोक्यो । उडान स्थगित भएको सूचना टिकेटिङ एजेन्सीहरूलाई पठाएको र काटिसकेको टिकेट समेत रद्द गरेको छ ।

    क्याथे प्यासिफिकले भदौ ३० गतेदेखि लागू हुनेगरी १५ दिनलाई नेपाल उडान रोकेको छ । जेनजी आन्दोलनको प्रभावका कारण पर्यटकीय गतिविधि घटेकाले उडान रोकेको ट्राभल एजेन्सीले जनाएका छन् ।

    पर्यटकहरूले बुकिङ समेत रद्द गरिरहेको ट्रेकिङ एजेन्सिज एशोसिएसन अफ नेपाल (टान) को अध्यक्ष सागर पाण्डेले जानकारी दिए । उनले आन्दोलनपछि पर्यटकहरूले बुकिङ रद्द गर्नेदेखि नेपालका सुरक्षाको अवस्थाबारे सोधिखोजी गरिरहेको समेत बताए ।

    अध्यक्ष पाण्डेले भने, ‘सिजनमै पर्यटक घट्ने चिन्ता थपिएको छ । नेपाल आउने पर्यटकहरूको बुकिङ अनुमानित २५ प्रतिशतले घटेको छ । अहिले धेरैजसो पर्यटकको फोन नेपालको सुरक्षाबारे आइरहेको छ । उनीहरूले नेपाल घुम्नका लागि कतिको सुरक्षित छ भन्नेबारे सोधीखोजी गरिरहेका छन् ।’

    उनका अनुसार ‘नेपाल असुरक्षित छ’ भन्ने सन्देश दिन सकेमा पर्यटकहरू ढुक्कले नेपाल आउने सम्भावना देखिन्छ । अहिले व्यवसायीहरूले नेपाल सुरक्षित रहेको जानकारी दिन विभिन्न प्रचार-प्रसार र कार्यक्रमहरू गरिरहेका समेत उनले जानकारी दिए ।

    नेपाल सुरक्षित रहेको सन्देश दिन आवश्यक

    होटल संघ नेपाल, ट्रेकिङ एजेन्सीज एशोसिएसन लगायतका पर्यटन क्षेत्रका संघ-संस्थाले संयुक्तरूपमा पर्यटकलाई त्रसित नहुन आग्रह गर्दै ‘नेपाल अझै सुरक्षित गन्तव्य हो’ भन्ने सन्देश प्रवाह गर्ने अभियान सुरू गरेका छन् । भिडियो सन्देशदेखि विभिन्न कार्यक्रम तथा छलफल गरिरहेको नेपाल होटल व्यवसायी संघका अध्यक्ष विनायक शाहले बताए ।

    उनले भने, ‘हामीले पर्यटकलाई सकारात्मक सन्देश दिइरहेका छौँ । छोटो अवधिमा अप्रिय घटना भएपनि अहिले नेपालमा सुरक्षित नै रहेकोबारे पर्यटकलाई जानकारी दिएका छौँ । हामी अहिले नयाँ युगको खोजीमा छौँ ।’

    जेन जी आन्दोलनका कारण सामान्यदेखि पर्यटक राख्नेसम्मका होटलहरुमा क्षति पुगेको छ । जेन-जीहरूले गरेको आन्दोलनको क्रममा देशभरका होटेलहरूमा ठूलो क्षति पुगेको हो ।

    होटल संघको प्रारम्भिक विवरण अनुसार दुई दर्जन होटलमा क्षति पुगेको छ । जसमा करिब २५ अर्बको नोक्सानी भएको छ । प्रदर्शनकारीले काठमाडौं उपत्यकाका होटलसहित पोखरा, बुटवल, भैरहवा, झापा, मोरङ विराटनगर, धनगढी, तुल्सीपुर, महोत्तरीलगायत ठाउँमा सञ्चालनमा रहेका होटलहरुमा तोडफोड तथा आगजनी गरेका थिए ।

    एक वर्षअघि मात्रै काठमाडौंमा सञ्चालन भएको हिल्टन होटलको मात्रै ८ अर्बभन्दा बढीको क्षति भएको संघले जनाएको छ । यससँगै देशभर करिब २५ अर्बभन्दा बढी आर्थिक क्षति भएको प्रारम्भिक अनुमान गरिएको संघले जनाएको छ ।

    प्रदर्शनकारीले तोडफोड तथा आगजनी गरेका होटलका करिब दुई हजार कामदारको रोजीरोटी गुमेको प्रारम्भिक अनुमान गरिएको छ ।

    होटल व्यवसायमा क्षति भएपनि पाहुनाका लागि स्वागत र आतिथ्य सेवामा कुनै कमी नहुने अध्यक्ष शाहले जानकारी दिए ।

    उनले भने, ‘आन्दोलनबाट होटल क्षेत्रमा क्षति पुगेपनि हामी अझै विदेशी पाहुनाहरूको सेवामा कुनै कमि राख्ने छैनौँ । अझै हामी सयौँ पर्यटकलाई स्वागत गर्न सक्ने अवस्थामा छौँ ।’

    तर, सुरक्षाबारे सोधीखोजी गर्ने पर्यटकहरूलाई सुरक्षित रहेको सन्देश दिन आवश्यक रहेको अध्यक्ष शाहले बताए । होटल संघका अध्यक्षको जस्तै तर्क राख्छन् नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल्स एजेन्टस् (नाटा) का अध्यक्ष कुमारमणी थपलिया । उनी पनि नेपाल सुरक्षित रहेको सन्देशलाई प्रवाह गर्नुपर्ने आजको आवश्यकता रहेको बताउँछन् ।

    पाटाका महासचिव नरेन्द्रदेव भट्ट पनि नेपाललाई सुरक्षित गन्तव्यका रूपमा प्रचार गर्न विदेशस्थित नेपाली दूतावास र नेपालस्थित विदेशी नियोगहरूसँग समन्वय गर्दै विदेशी पर्यटकको सुरक्षा प्राथमिकतामा ध्यान दिनुपर्ने बताउँछन् ।

    सरकारले थाल्यो छलफल

    नेपालको पर्यटन क्षेत्रलाई पुनरुत्थान गर्न सरकार, बोर्ड र व्यवसायीहरुबीच छलफल गरिएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले नेपालको अर्थतन्त्रको मूल आधार पर्यटन क्षेत्रलाई पुनरुत्थान गर्ने विषयमा छलफल गरेको छ ।

    पर्यटन बोर्डमा भएको छलफलमा पर्यटन मन्त्रालयका सचिव तथा नेपाल पर्यटन बोर्डका अध्यक्ष हरिप्रसाद मैनालीले पर्यटन क्षेत्रलाई पुनरुत्थान गर्नका लागि नीतिगत अड्चनहरू फुकाउन मन्त्रालय प्रतिबद्ध रहेको बताए । यसका लागि निजी क्षेत्रको सहकार्य अपरिहार्य रहेको उनले बताए ।

    उनले भने, ‘पर्यटन क्षेत्रको पुनरुत्थानका लागि आवश्यक सुधारका काममा तत्काल पहल थालिएको छ । नेपालको छवि सुधार र सूचना प्रविधिको अधिकतम प्रयोगमार्फत नेपाल सुरक्षित गन्तव्य भएको विषय पर्यटक लक्षित मुलुकमा प्रवाह गर्न आवश्यक पहल गर्न हामी काम गरिरहेका छौँ ।’

    सचिव मैनालीले नेपाल आउने पर्यटकलाई पहिलो प्राथमिकतामा राख्दै उनीहरूको सुरक्षित आवागमनको सहजीकरण गर्न सम्बन्धित निकायलाई निर्देशन पनि दिएका छन् । यस घटनाले हामीलाई धेरै सिकाएको र सरकार गठनपछि कामहरू शुरू भएकोले नेपालमा आन्दोलन सेफल्याण्डिङ भयो भन्ने सन्देश विश्वभर पुगेको उनको भनाइ छ ।

    त्यस्तै, नेपाल पर्यटन बोर्डका उपाध्यक्ष रामप्रसाद सापकोटाले यस सिजनलाई सक्रिय बनाउनका लागि ‘पर्यटन प्याकेज’ हरू सार्वजनिक गर्नुपर्ने बताएका छन् । उनले दूतावास, एनआरएनए र अन्य सञ्जालमार्फत नेपाल सुरक्षित छ भन्ने सन्देश दिन आवश्यक रहेको बताएका हुन् ।

    नेपाल पर्यटन बोर्ड पोखरा कार्यालय प्रमुख मणिराम लामिछानेले पोखरामा रहेका पर्यटन व्यवसायीसँग त्यहाँ भएको क्षतिको विवरण संकलनका लागि समन्वय भइरहेको उल्लेख गर्दै पोखरामा रहेका र त्यहाँ आवागमन गर्ने पर्यटकहरूलाई आवश्यक सहजीकरण गर्न तयार रहेको उल्लेख गरेका छन् । ट्रेकिङ रुटहरू सुरक्षित रहेको साहसिक पर्यटकीय गन्तव्यमा पनि सहज आवागमन सुरू भइसकेको लामिछानेले बताए । त्यसकारण पोखरा आवागमन गर्ने पर्यटकहरूलाई सहजीकरणको लागि तयार रहेको उनले आश्वस्त पारे ।

    यसैगरी, पर्यटन बोर्डका सदस्य ऋषिराम भण्डारीले रिकभरीका लागि निरन्तर प्रयत्न आवश्यक रहेको बताएका छन् ।

    ‘हरेक संकटपछि नेपालको पर्यटन पुनरुत्थानमा पाँच-पाँच वर्ष लाग्ने गरेको छ । यस पटक हामीले छोटो अवधिमै रिकभरी गर्ने गरी काम गर्नुपर्छ’, सदस्य भण्डारीले भने ।

    बोर्डले नेपालमा रहेका पाँच तारे र चार तारे होटेलका प्रमुख, महाप्रबन्धक तथा प्रतिनिधिसँग पनि छलफल गरेको छ । उक्त छलफलका क्रममा राज्यले सहजीकरण गरिदिएको अवस्थामा होटल व्यवसायीहरू पाहुनालाई स्वागत गर्न तयार रहेको होटल व्यवसायीहरूले बताएका हुन् ।

    उक्त छलफलमा अधिकांश होटल व्यवसायीहरूले पर्यटकहरूको स्वागतका लागि तयार रहेको जानकारी गराए । उनीहरूको सहज आवागमन र बसाइँका लागि राज्य निकायले सहजीकरण गर्ने विषयमा पनि छलफल भएको छ । यसका लागि सामूहिक पहलमा नेपालको पर्यटन क्षेत्र पुनरुत्थान गर्ने दिशातर्फ काम गरिरहेका जानकारी दिएका थिए ।

  • माधव नेपालको वक्तव्य : कांग्रेस-एमालेको दम्भको कारणले देशले अकल्पनीय क्षति व्यहोर्नुपर्‍यो

    काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले जेनजीहरुको जायज मागहरूलाई समयमा सम्बोधन गर्नुको सट्टा तत्कालीन सत्ताधारीहरूले देखाएको दम्भको कारणले अहिलेको परिस्थिति आएको बताएका छन्।

    आज एक वक्तव्य निकाल्दै जेनजी आन्दोलनका मागहरूप्रति पार्टीको तर्फबाट आन्दोलनपूर्व नै समर्थन तथा ऐक्यबद्धता प्रकट गरेको स्मरण गरेका छन्।

    विज्ञप्तिमा भनिएको छ, ‘उक्त जायज मागहरूलाई समयमा सम्बोधन गर्नुको सट्टा तत्कालीन सत्ताधारीहरूले देखाएको दम्भ र अहंकारको कारण दर्जनौँ होनहार युवाहरूले शाहदत प्राप्त गर्नुपर्‍यो भने हाम्रो मुलुकले अकल्पनीय तथा अपूरणीय क्षति व्यहोर्नुपर्यो । युवा पुस्ताको अगुवाइमा भएको उक्त आन्दोलन लोकतान्त्रिक गणतन्त्र प्राप्ति पछि पनि जनताको चाहना र भावना अनुरूप पारदर्शी तथा जनउत्तरदायी शासन प्रणाली कायम गर्न नसक्दा जनतामा उत्पन्न निराशा र आक्रोशको परिणाम हो भन्ने कुरालाई स्वीकार गर्नुपर्दछ ।’

    यसका अतिरिक्त कतिपय नेता तथा जनताको जीवनशैलीका बीचको अन्तर, भ्रष्टाचार, कुशासन, बेरोजगारी, युवा पलायन तथा आर्थिक सामाजिक रूपान्तरणको मार्गमा हिँड्न नचाहने/नखोज्ने कार्यशैलीका कारण यो अवस्था उत्पन्न भएको कुरालाई समेत मनन गर्नुपर्ने उल्लेख छ।

    विज्ञप्तिमा भनिएको छ, ‘अहिले युवा पुस्ताको आन्दोलनले उठाएका एजेन्डाहरूको सम्बोधन गर्दै मुलुकलाई अग्रगामी बाटोमा अगाडि बढाउन अन्तरिम सरकार गठन भएको छ र निर्वाचनको मिति समेत घोषणा भएको छ । अतः विना कुनै पूर्वाग्रह इतिहासका कमजोरीहरूको वस्तुनिष्ठ समीक्षा गर्दै शान्ति, स्थिरता र विकास सहित भ्रष्टाचारको अन्त्य, सुशासन कायम र व्यापक रोजगारीको सिर्जना गरेर मुलुकलाई आर्थिक सामाजिक रूपान्तरण गर्ने एवम् युवा पुस्तालाई मुलुकमै बस्न लायक अवसर तथा वातावरण निर्माण गर्न सकेमा मात्र पछिल्लो जेनजी आन्दोलनमा शाहदत प्राप्त गर्नेहरूप्रति साँचो श्रद्धाञ्जली हुनेछ ।’

    युवा पुस्तासँगै सम्पूर्ण राजनीतिक दलहरू, नागरिक समाज, राज्य तथा निजी क्षेत्र लगायत समाजका विभिन्न अङ्गसँग हातेमालो एवम् सहकार्य गर्न आफूहरू तयार रहेको बताएका छन्।

  • जेनजी आन्दोलनको असर: यूएईले बन्द गर्‍यो नेपालीका लागि भिजिट र कामदार भिसा

    यूएई । संयुक्त अरब इमिरेट्स (यूएई) ले नेपाली नागरिकका लागि भिजिट तथा कामदार भिसा बन्द गरेको छ। सोमबारदेखि भिजिट भिसा बन्द गरेको यूएईले मंगलबारदेखि कामदार भिसा पनि रोक लगाएपछि धेरै नेपाली अन्यौलमा परेका छन्।

    सुरुमा भिजिट भिसा रोक लगाइएको भए पनि त्यसको भोलिपल्टै कामदार भिसा पनि बन्द हुँदा वैदेशिक रोजगार व्यवसायी र विदेश जान तयारी गरिरहेका युवाहरू समस्यामा परेका छन्। कतिपय म्यानपावर व्यवसायीका अनुसार भिसा प्रक्रियाका लागि कम्पनीहरूले निवेदन पेश गरे पनि आवेदन अस्वीकृत भएको छ।

    नेपालमा हालसालै जेन–जी आन्दोलनका क्रममा तोडफोड, आगजनी तथा कैदीबन्दी फरार भएको घटनालाई यससँग जोडेर हेरिएको भए पनि यसबारे आधिकारिक पुष्टि भने भएको छैन।

    यसअघि अबुधाबी र दुबई राज्यले नेपालीका लागि भिजिट भिसा रोकिसकेका थिए। त्यसपछि सेवा प्रदायक कम्पनीहरूले सारजाहमार्फत भिजिट भिसा निकाल्दै आएका थिए, तर हाल त्यो सुविधा पनि बन्द भएको छ।

    कामदार भिसा टाइपिङ भए पनि अन्तिम आवेदन दिन नपाएको र भिसाका लागि दिइसकेका आवेदन अस्वीकृत भएको कम्पनीहरूले बताएका छन्। तर यसको कारणबारे कुनै प्रष्ट जानकारी दिइएको छैन।

    अबुधाबीस्थित नेपाली दूतावासले यसबारे अहिलेसम्म कुनै आधिकारिक जानकारी प्राप्त नभएको जनाएको छ। अनौपचारिक रूपमा वैदेशिक रोजगार व्यवसायी तथा केही कम्पनीहरूले जानकारी गराए पनि सरकारी स्तरबाट आधिकारिक सूचना नआएको यूएईका लागि श्रम सहचारी पंकज लाभ कर्णले बताए ।

    भिसा रोकका कारण रोजगारीका लागि तयारी गरेका नेपाली मात्र नभई व्यवसायी तथा म्यानपावर कम्पनीहरू पनि अन्यौलमा परेका छन्।

    यसअघि यूएईले इजिप्ट, पाकिस्तान, बंगलादेश, इथियोपिया र युगाण्डाका नागरिकलाई भिसा रोक लगाएको थियो। अहिले भने सोही सूचीमा नेपाल थपिएको छ।

    यसैबीच, यसै महिनाको अन्त्यतिर सारजाहमा आयोजना हुने नेपाल र वेस्ट इन्डिजबीचको तीन दिवसीय क्रिकेट खेल पनि प्रभावित हुने देखिएको छ। नेपाल क्रिकेट एसोसिएसनको पहलमा हुन लागेको क्रिकेटका लागि समेत यसले समस्या पार्ने देखिएको छ ।

    दूतावास स्रोतका अनुसार खेलाडीहरूलाई नेपालमै रहेको यूएई दूतावासमार्फत भिसा उपलब्ध गराउन सकिने भए पनि उनीहरूका स्पोन्सर, व्यवसायी तथा दर्शकहरूलाई समस्या पर्न सक्ने आंकलन गरिएको छ।

    यूएईको अध्यागमनले हाल नेपाली नागरिकतर्फका सबै भिसा आवेदन रोकेको छ। यो रोक अस्थायी हो वा स्थायी भन्नेबारे भने अहिलेसम्म स्पष्ट भएको छैन। पछिल्ला वर्षहरूमा यूएईमा नेपालीहरू आपराधिक गतिविधिमा संलग्न भएको भन्दै यहाँका निकायले बारम्बार सचेत रहन आग्रह गर्दै आएका थिए।

  • पहिरो पन्छाएसँगै नारायणगढ-मुग्लिन सडक सञ्चालनमा

    चितवन । नारायणगढ–मुग्लिन सडकखण्ड सञ्चालनमा आएको छ । मङ्गलबार राति इच्छाकामना गाउँपालिका–४ घोप्टेभिर, वडा नं ५ तुइनखोला र वडा नं ६ नाम्सीखोलामा पहिरो खस्दा सडक अवरुद्ध भएको थियो ।

    जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक गायत्री शर्माका अनुसार बिहान ९ः१० बजेबाट सडक सञ्चालनमा आएको हो ।

    बिहान ६ः०० बजेदेखि पहिरो पन्छाउने काम सुरु गरिएको थियो । तीनवटा एक्साभेटरले पहिरो पन्छाइएको हो । पहिरो पन्छाइएसँगै रोकिएका सवारीसाधन गन्तव्यतर्फ लागेका छन् ।

  • पाल्पा-रुकुमपूर्व-रोल्पामा शान्तिपूर्ण हुँदा ९ जिल्लामा अर्बौँको नोक्सानी, तीन Gen-Z को मृत्यु हुँदा २ मन्त्री बने

    रुपन्देही । भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनले लुम्बिनी प्रदेशमा ठूलो क्षति पुर्‍याएको छ। २३ गते काठमाडौँमा सुरु भएको आन्दोलनका क्रममा बाँकेका दुई र अर्घाखाँचीका एक विद्यार्थीको ज्यान गएपछि प्रदेशका विभिन्न जिल्लामा यसको प्रत्यक्ष असर देखिएको हो। आन्दोलन शान्तिपूर्ण रूपमा सुरु भए पनि २४ गतेदेखि ठूलो संख्यामा घुसपैठ भएको समूहले सरकारी र निजी सम्पत्तिलाई लक्षित गर्दै आगजनी र तोडफोड गरेको प्रदेश प्रहरी कार्यालयले जनाएको छ।

    जेनजी समूहले आफूहरूको आन्दोलन शान्तिपूर्ण भएको र तोडफोड वा आगजनीको कुनै योजना नरहेको दाबी गर्दै २३ र २४ गते नै आन्दोलन फिर्ता लिएको घोषणा गरेको थियो। तर आन्दोलनको मलजल गरिरहेको अर्को ठूलो समूहले प्रशासनिक संरचना, नेताका निवास, पार्टी कार्यालयदेखि व्यापारिक प्रतिष्ठानसम्म ध्वस्त पारेको हो। यस क्रममा अरबौँको क्षति भएको अनुमान गरिएको छ।

    सबैभन्दा ठूलो क्षति तीन जिल्लामा

    प्रदेशका १२ जिल्लामध्ये रुपन्देही, दाङ र बाँकेमा सबैभन्दा ठूलो क्षति भएको छ। त्यसपछि कपिलवस्तु, नवलपरासी पश्चिम, बर्दिया, अर्घाखाँची र प्यूठान प्रभावित भएका छन्। तर पाल्पा, रुकुमपूर्व र रोल्पामा भने सरकारी तथा निजी सम्पत्तिमा कुनै क्षति भएन।

    गुल्मीमा कांग्रेस, एमाले र माओवादीका कार्यालय जलाइए तर अन्य संरचना सुरक्षित रह्यो। २४ गते बिहानैदेखि बुटवल, भैरहवा, नेपालगञ्ज, घोराही, तुलसीपुर र कोहलपुरलगायतका मुख्य शहर आन्दोलनको केन्द्र बने। प्रशासनले कर्फ्यू जारी गरे पनि भीडलाई नियन्त्रणमा लिन सकेन। आन्दोलनकारीहरूले सरकारी निकाय, पार्टी नेतृत्वसँग सम्बन्धित घर, कार्यालय र होटलमा आगजनी र तोडफोड गरेका थिए।

    रुपन्देही आन्दोलनबाट सबैभन्दा बढी प्रभावित जिल्लामध्ये एक हो। पूर्वमुख्यमन्त्री लीला गिरी, प्रदेश मन्त्री भूमिश्वर ढकाल, संघीय सांसद बासु घिमिरे, पूर्वगृहमन्त्री बालकृष्ण खाँण, पूर्वमन्त्री भोजप्रसाद श्रेष्ठ, सैनामैना, देवदह, तिलोत्तमा र सिनपाका जनप्रतिनिधिहरूका घरमा आक्रमण भयो।

    बुटवलमा इलाका प्रशासन कार्यालय, मालपोत, नापी, राजश्व कार्यालय, बुटवल उपमहानगरपालिका कार्यालय पूर्ण रूपमा क्षतिग्रस्त भए। करिब ६० वटा सरकारी तथा निजी सम्पत्ति जलेर खरानी बने। जिल्लामा रहेका सबै पार्टी कार्यालयमा आगजनी गरिएको छ ।

    दाङमा पनि धेरै क्षति भयो। उच्च अदालत, जिल्ला अदालत, आन्तरिक राजश्व कार्यालय, इलाका प्रशासन, मालपोत र नापी कार्यालय, नगर विकास समिति, कारागार, तुलसीपुर र घोराही उपमहानगरपालिकाका कार्यालय जले। एमाले, कांग्रेस र माओवादी केन्द्रका पार्टी कार्यालय जलाइए। पूर्वमुख्यमन्त्री डिल्ली चौधरी, एमाले महासचिव शंकर पोखरेल, नेतृ कोमल वली, कांग्रेस नेता गेहेन्द्र गिरी, पूर्वमन्त्री हिराचन्द्र केसी र दीपक गिरीको घरमा आगजनी भयो।

    घोराही उपमहानगरका प्रमुख नरुलाल चौधरी र प्रदेशसभा सदस्य राजु खनालको निवाससमेत जले। जिल्ला समन्वय समिति, नेपाल बार एसोसिएसन, ट्राफिक कार्यालयसहित करिब २० वटा सरकारी कार्यालयमा क्षति भयो। दाङमा कम्तीमा २० वटा सरकारी कार्यालयमा तोडफोड र आगजनी भएको छ ।

    स्थानीय प्रशासनका अनुसार घोराहीस्थित नापी कार्यालय, वडा नम्बर ५, ८, ११, १२, १४ र १८ का कार्यालयमा तोडफोड भएको छ । सडक डिभिजन कार्यालयमा तोडफोड र आगजनी भएको छ । जिल्ला अदालतको गेटमा पनि क्षति पुगेको छ । बबई गाउँपालिकाको कार्यालय तथा वडा नम्बर ४ र ५ का वडा कार्यालयमा तोडफोड र आगजनी भएको छ । इलाका प्रशासन कार्यालय, तुलसीपुरको भवन र नागरिक सहायता कक्षका झ्यालका सिसा फुटेका छन् ।

    तुलसीपुर उपमहानगरपालिकाको एउटा गाडी तोडफोड भएको छ । घोराही उपमहानगरको गाडीमा आगजनी भएको छ । तुलसीपुरका वडा नम्बर ६, ८ र १८ का कार्यालय तथा बसपार्कमा उपमहानगरपालिकाले बनाएका घर टहरामा तोडफोड र आगजनी भएको छ ।

    तुलसीपुरकै कर कार्यालय, मालपोत कार्यालय, नेपाल आयल निगमको डिपो र उच्च अदालतमा तोडफोड आगजनी र भएको छ । दाङमा करिब १० वटा प्रहरी कार्यालय र चौकीमा तोडफोड भएको छ । घोराहीस्थित जिल्ला ट्राफिक प्रहरी कार्यालय भवनमा आगजनी भएको छ ।

    दाङका विभिन्न ठाउँमा ८ वटा पार्टी कार्यालय तोडफोड र आगजनीमा परेका छन् । नेपाली कांग्रेस, नेकपा एमाले, माओवादी केन्द्र, राप्रपाका पार्टी कार्यालयमा तोडफोड र आगजनी भएको छ । घोराही उपमहानगरस्थित होटल मालाइनमा पनि तोडफोड र आगजनी गरिएको छ ।

    बाँकेको नेपालगञ्ज र कोहलपुरमा ठूलो क्षति भयो। यातायात व्यवस्था कार्यालय, जिल्ला प्रशासन, भन्सार, राजस्व अनुसन्धान कार्यालय, नेपालगञ्ज उपमहानगरपालिका, कोहलपुर नगरपालिका, वडानम्बर ८ का कार्यालयमा तोडफोड र आगजनी भयो। कांग्रेस र एमाले पार्टी कार्यालय ध्वस्त पारियो।

    बाँकेका अधिकांश सरकारी कार्यालय पूर्ण रूपमा क्षतिग्रस्त भए। कोहलपुर नगरपालिकाका मेयर पूर्णप्रसाद आचार्यको घर निशानामा पर्‍यो। प्रहरीका दुई गाडी जलाइए। बाँकेमा सरकारी र व्यक्तिहरूका गरी दुई दर्जन जति भवनमा तोडफोड र आगजनी भएको छ ।

    प्रहरीका अनुसार कोहलपुरस्थित नापी, मालपोत, विद्युत्, कोहलपुर नगरपालिका, राजस्व, इलाका प्रशासन र कोहलपुर नगरपालिका वडा नम्बर ८ का कार्यालयमा तोडफोड र आगजनी भएको छ । नेपालगन्ज उपमहानगरपालिका, जिल्ला प्रशासन, यातायात व्यवस्था, जिल्ला अदालत, उच्च अदालत तुलसीपुरको नेपालगन्ज इजलास, मालपोत, नेपालगन्ज भन्सार लगायत कार्यालय निसानामा परेका छन् ।

    नरैनापुर गाउँपालिका, इलाका प्रशासन, इलाका प्रहरी र नेपालगन्ज ट्राफिक पोस्टमा पनि तोडफोड र आगजनी भएको छ । निसानामा परेका बाँकेका अधिकांश कार्यालय पूर्ण रूपमा क्षतिग्रस्त छन् ।

    कोहलपुर नगरपालिकाका मेयर पूर्णप्रसाद आचार्यको घर पनि निशानामा पर्‍यो । नेपाली कांग्रेस, नेकपा एमाले र माओवादी केन्द्रका पार्टी कार्यालयमा तोडफोड र आगजनी भएको छ । प्रहरीका दुई वटा गाडी जलाइएका छन् ।

    बर्दियामा प्रदेशसभा सदस्य मालती सोडारी र प्रतिनिधिसभा सदस्य सञ्जय गौतमको घरमा आगजनी भयो। कांग्रेस र एमाले पार्टी कार्यालय जलाइए। गुलरिया नगरपालिकामा क्षति भयो। गुलरियामा रहेको गणेशमान सिंहको शालिक तोडफोड गरियो। बर्दियामा नेपाली कांग्रेसका नेता एवं संघीय सांसद सञ्जयकुमार गौतम घर र गुलरिया नगरपालिकाको भवनमा तोडफोड र आगजनी भएको छ । कांग्रेस र नेकपा एमालेका पार्टी कार्यालयका सामान बाहिर निकालेर जलाइयो । गुलरियामा रहेको गणेशमान सिंहको शालिक तोडफोड भयो ।

    कपिलवस्तुको बाणगंगा र शिवराज नगरपालिकाका कार्यालय जले। भूमिसुधार मन्त्री बलराम अधिकारी, राष्ट्रिय सभा उपाध्यक्ष बिमला घिमिरे, पूर्वमन्त्री चक्रपाणी खनाल, पूर्वसांसद दीपकुमार उपाध्याय, भूमि आयोगका अध्यक्ष झविलाल पोख्रेल र एमाले नेता डम्मर शर्माको घरमा आक्रमण भयो। नापी कार्यालय, जिल्ला अदालतका न्यायाधीशको निवास, कर कार्यालय, जिल्ला कारागार र जिल्ला अदालतमा तोडफोड भयो। कपिलवस्तु प्रशासनका अनुसार त्यहाँका पाँच वटा सरकारी कार्यालयमा तोडफोड र आगजनी गरिएको छ ।

    प्रशासनका अनुसार नापी कार्यालय, जिल्ला अदालतका न्यायाधीशको निवास, कर कार्यालय, जिल्ला कारागार र जिल्ला अदालतमा तोडफोड भएको छ । यी सदरमुकाममा रहेका कार्यालय हुन् । प्रशासनले यी कार्यालयको क्षति विवरण यकिन भइनसकेको जनाएको छ । राजनीतिक दलका पार्टी कार्यालय र नेताहरूका घर गरी १२ वटा भवनमा तोडफोड र आगजनी भएको छ ।

    तोडफोड र आगजनीमा नेपाली कांग्रेसका र नेकपा एकीकृत समाजवादीका कार्यालय परेका छन् । बाणगंगा नगरपालिकाका प्रमुख चक्रपाणि अर्याल, उपप्रमुख रिताकुमारी चौधरी, तत्कालीन संघीय मन्त्री बलराम अधिकारी, राष्ट्रिय सभा सदस्य विमला घिमिरे, पूर्वसांसद दीपकुमार उपाध्याय, भूमि आयोगका अध्यक्ष झविलाल पोख्रेल, एमाले नेता डम्मर शर्मा र पूर्वमन्त्री सुरेन्द्रराज आचार्यको घरमा तोडफोड र आगजनी भएको छ ।

    अर्घाखाँचीमा मुख्यमन्त्री चेतनारायण आचार्यको घर र सबै दलका पार्टी कार्यालय जलाइए। सन्धिखर्क नगरपालिका, वडा नम्बर १ र २, जिल्ला समन्वय समिति कार्यालय, कारागारमा क्षति भयो। सरकारी कार्यालय, पार्टी कार्यालय र निजी गरी १० वटा भवनमा आगजनी र तोडफोड भएको छ । चार वटा सरकारी कार्यालय, पाँच वटा पार्टी कार्यालय र एउटा निजी भवन निसानामा परे ।

    नवलपरासी पश्चिमको सुनवल नगरपालिका बाहेकका सबै स्थानीय तहका कार्यालय, जिल्ला अदालत, जिल्ला प्रशासन, मालपोत, नापी, कर तथा सेवा कार्यालय, सरकारी वकिल कार्यालय जले। रामग्राम नगरपालिका, जिल्ला समन्वय समिति, प्रतापपुर, सुस्ता, पाल्हिनन्दन र सरावल गाउँपालिकाका कार्यालयमा आगजनी भयो। जिल्लामा करिब ४० वटा सरकारी तथा निजी भवन ध्वस्त भए। पश्चिम नवलपरासीका सरकारी र संघसंस्थाका कार्यालय तथा निजी गरी करिब ४० वटा घरमा क्षति भएको छ ।

    प्रहरीका अनुसार आगजनी र तोडफोडमा परेका अधिकांश घरमा पूर्ण क्षति भएको छ । बर्दघाट नगरपालिका, वडा नम्बर १, ४ र १० का कार्यालय, सरावाल गाउँपालिका वडा नम्बर १ र २ का कार्यालय निशानमा परे। राष्ट्रिय आवास कम्पनी कार्यालय तोडफोड र आगजनीबाट ध्वस्त भएको छ । एउटा सामुदायिक वनको कार्यालय, जिल्ला सरकारी वकिल कार्यालय तथा त्यहाँ रहेका दुई वटा सरकारी गाडीमा र एउटा मोटरसाइकलमा पूर्ण क्षति भएको छ ।

    रामग्राम नगरपालिका, जिल्ला समन्वय समिति, जिल्ला प्रशासन र नापी कार्यालयमा तोडफोड तथा आगजनी भएको छ । सुनवल नगरपालिका वडा नम्बर १, प्रतापपुर गाउँपालिका, सुस्ता गाउँपालिका, पाल्हिनन्दन गाउँपालिकाको वडा नम्बर ३, सरावाल गाउँपालिकाको वडा नम्बर ७ कार्यालय निसानामा परे । जिल्लामा रहेका नेपाली कांग्रेस, नेकपा एमाले र माओवादी केन्द्रमा पार्टी कार्यालयहरूमा तोडफोड र आगजनी भएको छ ।

    प्यूठानमा मुख्य राजनीतिक दलका कार्यालय ध्वस्त भए। एमाले र माओवादी केन्द्रका आफ्नै भवन थिए भने कांग्रेस र राष्ट्रिय जनमोर्चाका भाडाका कार्यालय पनि क्षतिग्रस्त भए।

    गुल्मीमा कांग्रेस, एमाले र माओवादी केन्द्रका पार्टी कार्यालय जलाइए। भित्रका सामग्री बाहिर ल्याएर जलाइएको थियो। लुम्बिनी प्रदेशका पाल्पा, रोल्पा र रूकुममा कुनै किसिमको क्षति भएको छैन ।

    मानवीय क्षति र कारागारबाट भागेका कैदी

    आन्दोलनका क्रममा लुम्बिनी प्रदेशमा १७ प्रहरी घाइते भए। अधिकांश उपचारपछि फर्किए। ३७ प्रहरी र २० आन्दोलनकारी घाइते भएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ।

    सबैभन्दा ठूलो समस्या भने कारागार तोडफोडपछि उत्पन्न भयो। बाँकेको नौबस्तास्थित बाल सुधार गृहबाट भाग्ने क्रममा ५ बालबन्दीको मृत्यु भयो भने ८५ जना अझै फरार छन्। बाँकेको नौबस्ता कारागारबाट १५० जना कैदी भागे। कपिलवस्तु कारागारबाट ४३१ मध्ये ५६ जना मात्र पक्राउ परे। दाङबाट २१३ मध्ये ४० जना मात्रै नियन्त्रणमा परे। कुल १,५६६ कैदी भाग्दा ३५८ मात्र पक्राउ परेका छन्, १,२०८ अझै फरार छन्।

    नेकपा एमाले प्रदेश अध्यक्ष राधाकृष्ण कंडेलका अनुसार पाल्पा, रुकुमपूर्व र रोल्पा बाहेकका सबै जिल्लामा पार्टी कार्यालयमा आगजनी र तोडफोड भयो। बुटवलको प्रदेश कार्यालय पूर्ण रूपमा क्षतिग्रस्त भयो। नेपाली कांग्रेस प्रदेश सभापति अमरसिंह पुनले पनि पाल्पा, रोल्पा र पूर्वी रुकुमबाहेक सबै जिल्लामा पार्टी कार्यालयमा क्षति भएको जानकारी दिए। माओवादी केन्द्रका प्रदेश अध्यक्ष सुदर्शन बरालका अनुसार पाल्पा, रुकुमपूर्व, रोल्पा र बर्दिया बाहेकका जिल्लामा लाखौँको क्षति भएको छ। सबैभन्दा बढी रुपन्देहीमा भएको छ।

    यो आन्दोलनले लुम्बिनीमा केवल भौतिक मात्र नभई मानसिक र राजनीतिक क्षति पनि पुर्‍यायो। न्याय दिने अदालत जलेपछि न्याय प्रणालीप्रति विश्वास घट्ने, कर उठाउने कार्यालय नष्ट भएपछि अर्थतन्त्र प्रभावित हुने, नेताका घर जल्दा राजनीतिको अस्तित्वमाथि प्रश्न उठ्ने अवस्था सिर्जना भएको छ।

    जेनजी आन्दोलनले देखाएको छ, यो पुस्ता निरंकुशताविरुद्ध उठ्न सक्छ तर आन्दोलनको उग्र रूपले लुम्बिनीलाई प्रशासनविहीन, असुरक्षित र अनिश्चिततामा धकेल्यो। आज लुम्बिनी खरानीमाथि उभिएको छ, भोलि यस खरानीमाथिबाट के पुनःनिर्माण हुन्छ भन्ने प्रश्न सबैको मनमा छ। प्रदेश सरकारले सबै जिल्लाको क्षति निकाल्न सबै मन्त्रालयलाई निर्देशन गरेको छ भने सबै जिल्ला प्रशासनले यसको तयारी गरेका छन् । यो आन्दोलनपछि लुम्बिनी प्रदेशको पाल्पाका डा। रामेश्वर खनाल अर्थमन्त्री र गुल्मीका ओमप्रकाश अर्याल गृह तथा कानुन मन्त्री बनेका छन् ।

  • दलहरू आफैँ पुनर्गठित हुने कि जनताको विकल्प पर्खिने ?

    नेपालको राजनीतिक इतिहास हेर्ने हो भने यो देशले थुप्रै आन्दोलन, संघर्ष र बलिदानको बाटो पार गरेर आजको अवस्था हासिल गरेको हो। प्रजातन्त्र, गणतन्त्र, संघीयता र नागरिक अधिकार- यी सबै कुरा सजिलोसँग आएका होइनन्, पुराना पुस्ताका नेताहरूको दृढ नेतृत्व, त्याग र बलिदानकै कारण आज हामी यस मोडमा छौं ।

    त्यसैले, पुराना नेताहरूको योगदानलाई अस्वीकार गर्न सकिँदैन। तर, त्यति मात्र पर्याप्त छैन। देशलाई अघि बढाउन अहिलेको पुस्ताको आवश्यकता छ, नयाँ चेतना र नयाँ दृष्टिकोणको आवश्यकता छ। यसैले राजनीतिक दलहरूको पुनर्गठन अब अनिवार्य बनेको छ।

    नेपालका ठूला दलहरू दशकौँदेखि उही नेतृत्व, उही संरचना र उही शैलीमा अड्किएका कारण दलभित्र आन्तरिक लोकतन्त्र कमजोर बनेको छ र नयाँ पुस्ता नेतृत्वमा आउन सकेका छैनन्। नेताहरू परिवर्तनको नारा दोहोर्‍याउँछन् तर व्यवहारमा गुटबन्दी, अवसरवाद र सत्तासाझेदारीमै सीमित हुने गरेकाले जनतामा मोहभंग बढ्दो छ। यही कारण दलप्रति आस्था घट्दै गएको छ र वैकल्पिक राजनीतिक शक्ति जन्मिने सम्भावना बलियो बन्दै गएको छ।

    नेपालका राजनीतिक दलहरू पुनर्गठन

    पुनर्गठन हुनु आवश्यक छ भन्ने प्रश्न अहिले निकै सान्दर्भिक छ ।

    नेपालका ठूला दलहरू दशकौँदेखि उही नेतृत्व, उही संरचना र उही शैलीमा चलेका छन्। नेताहरू निरन्तर नेतृत्वमा टिकिरहँदा नयाँ पुस्तालाई अवसर मिल्दैन, जसले दलभित्र लोकतान्त्रिक अभ्यास कमजोर बनाउँछ।

    धेरै दलहरूले आफ्ना मूल विचारधारा (जस्तै समाजवाद, लोकतन्त्र, जनताको अधिकार, सुशासन) बोके पनि व्यवहारमा भ्रष्टाचार, गुटबन्दी र सत्तासाझेदारीमै सीमित भएका छन्।

    नयाँ पुस्ताः दलभित्रको आवश्यकता

    नेपालको संविधान र नीति निर्माण प्रक्रियामा प्रमुख भूमिका खेलेका दलहरू- एमाले, कांग्रेस र माओवादी- अहिले पनि मुलुकको प्रमुख शक्ति हुन्। यी दलहरूले मुलुकलाई परिवर्तनको बाटोमा ल्याएका छन्, लोकतन्त्र र गणतन्त्रको जग बसाएका छन्। तर विडम्बना के छ भने, दशकौँदेखि उही अनुहार, उही नेतृत्व र उही शैलीमा सीमित भएकाले दलभित्र आन्तरिक लोकतन्त्र कमजोर बनेको छ र नयाँ पुस्ताले मार्गदर्शक भूमिका लिन सक्ने अवस्था सिर्जना हुन सकेको छैन ।

    युवापुस्ताको राजनीतिक चेतना बढ्दै गएको छ। सामाजिक सञ्जाल, विश्वव्यापी अभ्यास र सूचना–प्रविधिको पहुँचले युवामा राजनीतिक सोच अझ प्रगतिशील र यथार्थपरक बनाएको छ। तर, ठूला दलभित्र नयाँ पुस्तालाई नेतृत्वमा ल्याउने कुरा अझै पनि गम्भीर छलफलको विषय बनेको छैन। पुराना नेताहरू अझै कार्यकारी भूमिकामै अड्किरहेकाले युवापुस्तामा मोहभंग बढ्दो छ।

    संविधानले दिएको अधिकारलाई कार्यान्वयन गर्न, संघीयता र लोकतन्त्रलाई मजबुत बनाउन र सुशासनलाई व्यवहारमा उतार्न नयाँ पुस्ताको सोच, दृष्टि र कार्यशैली आवश्यक छ। पुराना नेताहरूलाई सम्मानजनक मार्गदर्शक भूमिकामा राख्दै, कार्यकारी जिम्मेवारी भने तेस्रो पुस्तालाई दिन सकियो भने मात्र दलभित्र सुदृढता आउँछ। यसले दललाई निरन्तरता दिन्छ र जनतामा नयाँ आशा जगाउँछ ।

    युवापुस्ताको नेतृत्व दलभित्र प्रवेश नगरेसम्म, एमाले, कांग्रेस र माओवादीजस्ता दलहरू केवल अतीतको स्मृतिमा सीमित हुने खतरा रहन्छ। दललाई भविष्यतर्फ डोर्‍याउने, लोकतान्त्रिक अभ्यासलाई बलियो बनाउने र जनताको विश्वास फिर्ता गर्ने काम अब नयाँ पुस्ताको काँधमा छ। यसैले, ठूला दलहरूले समयमै पुस्ता हस्तान्तरण गरेर नयाँ पुस्तालाई कार्यकारी नेतृत्वमा ल्याउन जरुरी छ ।

    जनताले अनुभव गर्ने वास्तविकता र दलहरूले दिने भाषणबीच ठूलो खाडल छ। दलभित्र आन्तरिक गुट–उपगुटले संस्थागत शक्तिलाई कमजोर बनाएको छ। पार्टीभित्र पद पाउने, टिकट पाउने वा सरकारमा जाने आधारभूत योग्यता नभई नजिकको गुट हुने प्रवृत्ति मौलाएको छ ।

    हालको जेन जेड आन्दोलन, युवाको आन्दोलन र सामाजिक सञ्जालमा बढ्दो राजनीतिक चेतना, पुराना दलको शैली अस्वीकार गर्ने दिशामा छ। युवाले पारदर्शिता, जबाफदेहिता र सेवा–मुखी राजनीति चाहेका छन्। त्यसैले नयाँ पुस्ता भित्र्याउने र संरचना अद्यावधिक गर्ने आवश्यकता छ ।

    संघीयता आएको करिब एक दशक नाघिसक्दा पनि धेरै दल अझै ‘केन्द्रीय नेतृत्व-मुखी’ छन्। प्रदेश र स्थानीय तहमा दलहरूको संरचना वास्तविक सशक्त नभएकाले संघीय प्रणालीसँग मेल खान सकिरहेको छैन ।

    निरन्तर असफलता, अस्थिरता र नेतृत्वको आफ्नै स्वार्थमुखी व्यवहारका कारण जनतामा दलप्रति आस्था घट्दै गएको छ। यदि पुनर्गठन भएन भने दलप्रति जनताको आस्था झन् घटेर वैकल्पिक आन्दोलन वा अनपेक्षित राजनीतिक शक्ति जन्मिने सम्भावना रहन्छ । नेपालका राजनीतिक दलहरूको पुनर्गठन अब केवल ‘विकल्प’ होइन, अनिवार्यता’ बनेको छ।

    पुराना नेताहरूलाई मार्गदर्शक भूमिकामा सीमित गर्दै, नयाँ पुस्तालाई अगाडि ल्याएर, विचारधारालाई व्यवहारमा उतार्ने प्रणाली बनाएर, गुटबन्दीको अन्त्य गरी संस्थागत लोकतन्त्र बलियो बनाउँदै मात्र दलहरूले आफ्नो अस्तित्व र जनविश्वास जोगाउन सक्छन्। पुराना नेताहरूले आन्दोलन चलाएका छन्, निरङ्कुश व्यवस्थालाई चुनौती दिएका छन्, र संविधानसम्मत व्यवस्थाको जग बसाएका छन् ।

    तर, अहिले समस्या के हो भने, उनीहरू अझै पनि कार्यकारी नेतृत्वमै अड्किएका छन्। दशौँ वर्षदेखि एउटै अनुहारले पार्टीको नेतृत्व गर्नु भनेको लोकतान्त्रिक अभ्यास होइन, ‘व्यक्तिपरक राजनीति’ को निरन्तरता हो। यसरी नेतृत्व एकै ठाउँमा अड्किँदा नयाँ पुस्ता दबिँदै गएको छ।

    त्यसैले, पुराना नेताहरूलाई हटाउने होइन, सम्मानजनक मार्गदर्शक भूमिकामा सीमित गर्ने समय आएको छ । ‘वरिष्ठ सल्लाहकार परिषद्’ वा ‘मार्गदर्शक मण्डल’ जस्ता संरचना बनाएर उनीहरूलाई अनुभव बाँड्ने, नीति निर्देशन गर्ने भूमिकामा राख्न सकिन्छ। यसरी गरे पुराना नेताहरू सम्मानित रहन्छन्, तर कार्यकारी नेतृत्व नयाँ पुस्ताले सम्हाल्न सक्छ।

    तेस्रो पुस्ताको कार्यकारी नेतृत्व

    नेपालका राजनीतिक दलहरूको संरचना हेर्ने हो भने, पहिलो पुस्ताले आन्दोलन र संघर्षको नेतृत्व ग¥यो, दोस्रो पुस्ताले सत्ताको अभ्यास ग¥यो। तर अब देशलाई अगाडि लैजाने जिम्मेवारी तेस्रो पुस्ताले लिनुपर्ने अवस्था आएको छ।

    तेस्रो पुस्ताका नेताहरू अझै सक्रिय उमेरका छन्। उनीहरूलाई आन्दोलन र इतिहासको ज्ञान पनि छ, सत्ताको अनुभव पनि पाएका छन्, साथै नयाँ पुस्ताको चाहना बुझ्ने दृष्टिकोण पनि छ। यो पुस्ताले प्राविधिक युगमा हुर्किएका मतदाताको सोच बुझ्छ, सुशासन, पारदर्शिता र जबाफदेहिता कस्तो हुनुपर्छ भन्ने थाहा राख्छ।

    युवापुस्ताले अब नेतृत्वको नेतृत्वमा नयाँ अनुहार देख्न चाहन्छ। दलभित्र यदि कम्तीमा तेस्रो पुस्ता नेतृत्वमा आउन सके भने जनतामा नयाँ आशा जगाउने सम्भावना छ।

    संरचनागत सुधारको आवश्यकता

    राजनीतिक दलको समस्या केवल नेतृत्त्वमा मात्र छैन, यसको संरचना पनि असन्तुलित छ। संघीयता आएको करिब एक दशक बितिसक्दा पनि दल अझै “केन्द्रीय नेतृत्व–मुखी” छन्। प्रदेश र स्थानीय तहमा पार्टीको संरचना कमजोर छ। यो स्थिति सुधार नगरेसम्म संघीयताको अभ्यास वास्तविक हुँदैन।

    त्यसैले, पार्टीभित्र आन्तरिक लोकतन्त्र सुनिश्चित गर्न प्राथमिक निर्वाचन प्रणाली ल्याउनुपर्छ, जसले नेतृत्व छनोटलाई पारदर्शी बनाउँछ।

    त्यस्तै, वित्तीय पारदर्शिता पनि दल पुनर्गठनको महत्त्वपूर्ण पक्ष हो। दलहरूले कोष संकलन कसरी गर्छन्, चुनावमा खर्च कसरी गर्छन् भन्ने कुरा सार्वजनिक गर्नुपर्नेछ। सदस्यता प्रणाली, उम्मेदवार छनोट र संगठनको निर्णय प्रक्रिया सबैमा पारदर्शिता हुनुपर्नेछ।

    जनताको अपेक्षासँग मेल खाने नेतृत्व

    आज नेपालमा करिब ५० प्रतिशत भन्दा बढी मतदाता ४० वर्ष मुनिका छन्। यसै कारण, यो पुस्ताको चाहना, सपना र अपेक्षा बुझ्ने नेतृत्वको आवश्यकता छ। तर, दलका शीर्ष तहमा अझै ७०–८० वर्ष उमेरका नेताहरू कार्यकारी भूमिकामा देखिन्छन्। यही अन्तरले जनतामा मोहभंग पैदा गरेको हो।

    नयाँ पुस्तालाई अगाडि ल्याउन नसके, दलप्रति जनताको आस्था झन् घट्दै जानेछ। परिणामस्वरूप, वैकल्पिक आन्दोलन, स्वतःस्फूर्त जनआन्दोलन वा नयाँ शक्ति उदाउने सम्भावना बढ्छ। दलहरूले आफ्नै अस्तित्व जोगाउन चाहन्छन् भने अहिले नै पुस्ता हस्तान्तरण गर्नुपर्छ।

    राजनीतिक दलहरूको पुनर्गठनले धेरै लाभ दिनेछ। पहिलो, दलभित्र निरन्तरता र स्थिरता कायम हुन्छ। दोस्रो, जनताले दलप्रति विश्वास पुनःस्थापित गर्नेछन्। तेस्रो, नयाँ पुस्ताले सदाचार, पारदर्शिता र सेवा–मुखी राजनीति ल्याउनेछन्। चौथो, पुराना नेताहरू मार्गदर्शक बनेर आफ्नो योगदानलाई ऐतिहासिक र सम्मानजनक बनाउन सक्षम हुनेछन्।

    नेपालको राजनीति अहिले मोडमा छ। पुराना नेताहरूको योगदानलाई नकारेर होइन, तर सम्मानपूर्वक मार्गदर्शक भूमिकामा राख्दै, तेस्रो पुस्तालाई कार्यकारी नेतृत्वमा ल्याउनैपर्छ। दलभित्र गुटबन्दी अन्त्य गरी, आन्तरिक लोकतन्त्रलाई संस्थागत गर्दै, पारदर्शिता र जबाफदेहिता बढाउँदै मात्र जनताको आस्था फिर्ता ल्याउन सकिन्छ।

    यदि दलहरूले आफैंलाई सुधार्न सकेनन् भने, जनताले वैकल्पिक बाटो रोज्नेछन्- र त्यो बेला दलको अस्तित्वमै प्रश्न उठ्नेछ।

    त्यसैले अबको प्रश्न के हो भने, दलहरूले आफैंलाई पुनर्गठन गर्छन् कि जनताले नयाँ विकल्प रोज्छन् ? उत्तर भने समयले नै दिनेछ।

  • पहिरोले नारायणगढ-मुग्लिन र कर्णाली राजमार्ग अवरुद्ध

    जुम्ला । पहिरोले दुई राजमार्ग अवरुद्ध भएका छन् । कर्णाली राजमार्गअन्तर्गत कालिकोट जिल्लाको शुभकालिका गाउँपालिका–१ स्थित गगनेखोलामा गए राति पहिरो खस्दा कर्णाली राजमार्ग र चितवनको इच्छाकामना गाउँपालिका–५ तुइनखोलास्थित सडकखण्डमा पहिरो खसेर नारायणगढ–मुग्लिन सडकखण्ड अवरुद्ध भएको छ ।

    कर्णाली राजमार्गको ‎गगनेखोला क्षेत्रमा यसअघि पनि पटकपटक पहिरो गई राजमार्ग अवरुद्ध हुँदै आएको थियो । राजमार्गको सबैभन्दा बढी जोखिम ठाउँ पनि हो । अविरल वर्षाले खसेको पहिरोले राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको जुम्ला सडक डिभिजन कार्यालयका प्रमुख दीपेन्द्रकुमार चौधरीले जानकारी दिए । पहिरो पन्छाउन समय लाग्ने भएको छ ।

    त्यसैगरी, मुग्लिन इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक प्रतीक सिंहका अनुसार पहिरोका कारण नारायणगढ-मुग्लिन सडकखण्ड पुनः अवरुद्ध भएको हो । मङ्गलबार साँझ ८ः५० बजेको समयमा इच्छाकामना गाउँपालिका-५ तुइनखोला स्थित सडकखण्डमा पहिरो खसेर सडक अवरुद्ध भएको हो । सडकखण्डमा पहिरो पन्छाएर केही सवारीसाधन पार गराएपछि पुनः पहिरो खसेर सडक अबरुद्ध भएको हो ।

    अहिले एउटा एक्साभेटर प्रयोग गरेर पहिरो पन्छाउने काम भइरहेको छभने थप लोडर र एक्साभेटर लैजाने तयारी गरिएको छ । प्रहरी निरीक्षक सिंहले पहिरो पन्छाउन कम्तीमा दुई घण्टा लाग्ने जानकारी दिए ।

    यस्तै पृथ्वी राजमार्गको घोप्टे भिरमा पनि पहिरोका कारण सडक एकतर्फी भएको छ । नारायणगढ मुग्लिन सडकखण्डकै नाम्सी खोलामा पहिरो खसेको पहिरो पन्छाएर सडक दुइतर्फी सञ्चालन गरिएको छ । अहिले पनि सो क्षेत्रमा पानी परिरहेको छ । पहिरो खसेपछि गन्तव्यमा हिँडेका सवारीसाधन रोकिएका छन । पहिरोलाई अहिले हटाउने काम भइरहेको छ । राजमार्ग अवरुद्ध हुँदा यात्रु अलपत्र परेका छन् ।

  • विश्वकर्मा पूजा : भद्रकाली मन्दिर परिसरमा आफ्नो सवारीसाधन पूजा गर्दै श्रद्धालु (तस्बिरहरू)

    विश्वकर्मा पूजा : भद्रकाली मन्दिर परिसरमा आफ्नो सवारीसाधन पूजा गर्दै श्रद्धालु (तस्बिरहरू)

    काठमाडौं । आज सवारी साधन, कलकारखाना र विभिन्न मेशनरी सामग्रीको पूजाआजा गरी विश्वकर्मा पूजा मनाइएको छ ।

    प्रत्येक वर्ष आश्विन सङ्क्रान्तिका दिन मनाइने विश्वकर्मा पूजाको दिन राजधानीको भद्रकालीमा भगवान् विश्वकर्माको पूजा गर्न श्रद्धालुहरूको भीड लागेको छ ।

    आजका दिन विभिन्न कलकारखानामा विश्वकर्मा भगवानको मूर्ति वा तस्बिर स्थापना गरी विधिपूर्वक पूजा आराधना गर्ने प्रचलन रहेको छ ।

    आज पूजा गरिएको मूर्तिलाई भोलिपल्ट नदीमा सेलाइने गरिन्छ । कलकारखानालाई विशेष रूपमा सजाएर मजदुर समेतलाई सहभागी गराएर विश्वकर्मा पूजा गरिन्छ ।

  • केपी ओली सार्वजनिक हुने टुंगो छैन, उनले लेखेको भनिएको चिठी फेक

    काठमाडौं । निवर्तमान प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले जेनजी आन्दोलनकारीका नाममा लेखेको भनिएको चिठी, उनलाई शिवपुरीको सैनिक घेरामा राखिएको र संविधान दिवसमा सार्वजनिक हुनेजस्ता कुरा अफवाहमात्रै भएको एमाले उपमहासचिव प्रदीप ज्ञवालीले बताएका छन् ।

    नेपाल प्रेससँग कुरा गर्दै ज्ञवालीले भने, ‘हिजो मेरो कुरा भएको थियोे, परिस्थिति अझै अनुकूल नभएको अवस्थामा सुरक्षित रहनु नै उपयुक्त हुने कुरा भयो ।’ उनका अनुसार कम्तिमा अझै पाँच-सात दिन बाहिर निस्कने कि ननिस्कने भन्ने कुराको टुंगो छैन ।

    ओलीले आफू शिवपुरीस्थित सैनिक नियन्त्रणमा रहेको भन्दै जेनजी आन्दोलनकारीलाई सम्बोधन गरी केही दिनअघि सार्वजनिक चिठी आधिकारिक नभएको उनले बताए । ‘न उहाँ शिवपुरीमा हुनुहुन्छ, न त त्यो पत्र उहाँको हो’, उनले भने ।

    ‘संगठित राज्यसँग लड्न सकिन्छ, गैरराज्यसँग (माओवादी) लडेकै हौं, तर निरंकुशतासँग लड्न गाह्रो हुन्छ’, उनले भने, ‘नयाँ सरकार बनेको मात्र छ, पूर्णता पाएको छैन, यो सरकार कस्तो बन्छ, यसले के के गर्छ भन्ने कुराका आधारमा हामीले काम गर्नुपर्ने छ ।’

    अहिलेका सबै घटनाक्रममा एमाले र त्यसका नेतामाथि प्रहार केन्द्रित भएको भन्दै उनले सबभन्दा बढी सचेत र सुरक्षित पनि एमालेकै नेता, कार्यकर्ता हुनुपर्ने बताए ।

    सैनिक सुरक्षा हो, नजरबन्द हैन

    ओली प्रतिकूल परिस्थितिका कारण सेनाको सुरक्षाभित्र रहेको ज्ञवालीले बताए । तर, उक्त सुरक्षा घेरालाई सैनिक नजरबन्द वा गिरफ्तारीका रुपमा चर्चा गर्नु आपत्तिजनक रहेको उनी बताउँछन् ।

  • कर्मचारीको बैठक भत्ता खारेज, सरकारी कार्यक्रम सरकारी हलमै गर्नुपर्ने

    कर्मचारीको बैठक भत्ता खारेज, सरकारी कार्यक्रम सरकारी हलमै गर्नुपर्ने

    काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा मंगलबार बसेको सचिव बैठकले मुलुकको प्रशासनिक सुधार र सिंहदरबार परिसरमा भएको क्षति व्यवस्थापनका लागि विभिन्न निर्णय गरेको छ । मुख्यसचिव एकनारायण अर्यालको अध्यक्षतामा बसेको बैठकले करिव २ दर्जन निर्णय गरेको हो ।

    बैठकले नेपाल सरकारका मन्त्रालय, आयोग, सचिवालय र कार्यालयमा रहेका दरबन्दीको औसत २० प्रतिशत कटौती गरी संशोधित संरचना स्वीकृतिका लागि २०८२ आश्विन २० गतेभित्र मन्त्रिपरिषदमा पेश गर्ने निर्णय गरेको छ । अनावश्यक सरकारी संरचना र निकायलाई खारेज, गाभ्ने वा हस्तान्तरण गर्ने प्रक्रियासमेत तत्काल अघि बढाइने बताइएको छ ।

    विरोध प्रदर्शनका क्रममा धेरै कार्यालय भवन क्षतिग्रस्त भएकोले, अस्थायी कार्यालय स्थापना, अन्य सरकारी कार्यालयमा स्थानान्तरण वा भाडामा घर लिएर कार्य सञ्चालन गर्न सम्बन्धित निकायलाई निर्देशन दिइएको छ। साथै, नियमित कार्य सुचारु गर्न सवारी साधन व्यवस्थापनका लागि विशेष कार्यदल गठन गरिएको छ ।

    जेनजी युवा पुस्ताको मागअनुसार सार्वजनिक सेवा प्रवाह चुस्त, मितव्ययी र प्रभावकारी बनाउने उद्देश्यले वाधक देखिएका मापदण्ड, कार्यविधि तथा निर्देशिका खारेज वा संशोधन गर्ने काम अघि बढाइने छ । सिंहदरबारमा रहेका मन्त्रालय र निकायले अनावश्यक प्रवेश पास खारेज गर्ने र अत्यावश्यक अवस्थामा मात्र नयाँ प्रवेश पास जारी गर्ने निर्णय गरिएको छ ।

    बैठकले भाद्र २४ गते भएको आगजनी र तोडफोडबाट ध्वस्त भएका सवारी साधन, यन्त्र, उपकरण र फर्निचरलाई अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र, नयाँ वानेश्वरमा थुपारेर लिलामी वा नष्ट गर्ने प्रकृया अगाडि बढाउन निर्देशन दिएको छ। आवश्यक संरचना, उपकरण र फर्निचर खरिदमा स्वदेशी उत्पादनलाई प्राथमिकता दिइने निर्णय पनि बैठकले गरेको छ । साथै, क्षतिग्रस्त संरचना र सामग्रीको यथार्थ विवरण तयार गरी, पुनर्निर्माण, मर्मत संभार तथा आवश्यक खरिद प्रक्रिया विद्यमान सार्वजनिक खरिद ऐन र नियमावलीअनुसार तत्काल अघि बढाइनेछ। आवश्यक भएमा ऐन र नियमावलीको संशोधन प्रक्रिया समेत सुरु गरिने छ ।

    सार्वजनिक खर्चमा मितव्ययिता ल्याउन बैठकले कर्मचारी भत्ता नलिनु, राष्ट्रिय स्तरका गोष्ठी, सेमिनार तथा कार्यशालाको आयोजना सरकारी भवनमा मात्र गर्ने निर्देश जारी गरेको छ। साना आयोजना (टुक्रे आयोजना)को रकम क्षतिग्रस्त संरचना मर्मत र उपकरण खरिदमा पुनः प्रयोग गरिने व्यवस्था मिलाइएको छ ।

    चाडपर्व नजिकिँदै गर्दा खाद्यान्न आपूर्ति, कालोबजारी नियन्त्रण र यातायात व्यवस्थापनका लागि सम्बन्धित मन्त्रालयलाई आवश्यक कार्य सुनिश्चित गर्न निर्देशन दिइएको छ । आन्दोलनका क्रममा मूल्याङ्कन फाराम र सम्पत्ति विवरण नष्ट भएकाले पुनः मूल्याङ्कन र सम्पत्ति विवरण संकलनको प्रक्रियासमेत अघि बढाइने छ ।

    बैठकले राष्ट्रसेवक कर्मचारीको अथक प्रयासको प्रशंसा गर्दै, आगामी दिनमा सेवा प्रवाह अझ प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गरेको छ । साथै, ज्यान गुमाउने व्यक्ति प्रति श्रद्धाञ्जली व्यक्त गर्दै, घाइतेको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै, सार्वजनिक सम्पत्ति फिर्ता बुझाउन नागरिकसँग आह्वान गरिएको छ ।

    बैठकको निर्णयले सिंहदरबारको पुनर्निर्माण र प्रशासनिक सुधारका लागि स्पष्ट रोडम्याप तयार गर्ने भएको छ भने आगामी प्रतिनिधिसभा चुनावसम्म स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा निर्वाचन सम्पन्न गर्ने सरकारको प्रतिबद्धतालाई पनि कार्यान्वयन गर्ने भएको छ ।

     

  • राष्ट्रिय सभाको अधिवेशन अन्त्य, अध्यादेश ल्याउने बाटो खुल्यो

    राष्ट्रिय सभाको अधिवेशन अन्त्य, अध्यादेश ल्याउने बाटो खुल्यो

    काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय सभाको अधिवेशन अन्त्य गरेका छन् । सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकको सिफारिसअनुसार राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय सभाको चालू अधिवेशन अन्त्य गरेका हुन् ।

    नेपालको संविधानको धारा ९३ को उपधारा २ बमोजिम मंगलबार रातिदेखि लागू हुनेगरी अधिवेशन अन्त्य गरिएको हो । प्रतिनिधि सभा यस अघि नै विघटन भइसकेकाले र राष्ट्रिय सभाको अधिवेशन अन्त्य गरेसँगै सरकारलाई अध्यायदेश ल्याउने बाटो खुलेको छ ।

     

  • पार्टी खोल्ने तरखरमा बालेन, निर्वाचनमा भाग लिने

    काठमाडौं । अनेपक्षितरुपमा मध्यावधि निर्वाचनमा देश धकेलिएसँगै काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहलाई नयाँ राजनीतिक दल गठनका लागि ‘प्रेसर’ बढेको छ । उनले औपचारिक निर्णय नगरिसके पनि दल खोलेर चुनाव लड्ने निश्चितप्राय रहेको निकट स्रोतहरु बताउँछन् ।

    आवधिक निर्वाचनको समय २०८४ सालमा भएकाले बालेन हतारोमा थिएनन् । चुनावभन्दा ६ महिनाजति अगाडि पार्टी घोषणा गरेर झ्वाम्मै होमिने उनको योजना थियो । तर, अप्रत्याशित विकासक्रमसँगै यही वर्ष संघीय संसदको चुनाव हुने भएको छ । आउँदो फागुन २१ गते आमनिर्वाचन हुने घोषणा सरकारले गरिसकेको हुँदा बालेनसँग तयारीका लागि धेरै समय छैन ।

    बालेनले नयाँ राजनीतिक दल गठन गर्ने कुरामा दुई मत नभए पनि कहिले घोषणा गर्ने भन्नेमा उनको टिमभित्रै एकमत बनिनसकेको स्रोतले बतायो ।

    ‘दल खोलेर चुनाव लड्ने विषयमा सबै सहमत छन्, तर अहिल्यै घोषणा गरिहाल्ने कि केही समय पर्खिने भन्ने दुईवटा कोणबाट बहस भइरहेको छ’, स्रोतले भन्यो ।

    बालेनलाई दल घोषणा गरिहाल्न चौतर्फी दबाब बढिरहेको छ । तर, उनको कोर टिमका केही व्यक्तिहरु अहिले ठीक माहोल नरहेको बताइरहेका छन् । बालेनका अनन्य सहयोगी कुमार बेन अझै केही समय धैर्य गर्नुपर्ने पक्षमा देखिन्छन् ।

    त्यसो त जेनजी आन्दोलनपछि बालेन धेरै हिसाबले अनुकुलतामा पुगेका छन् । यसअघि उनको ओली नेतृत्वको केन्द्रीय सरकारसँग पटक्कै लय मिल्न सकिरहेको थिएन । केन्द्रका सुरक्षा निकायहरुको सहयोग नपाउँदा उनले हात हालेका विभिन्न कामहरुमा पछि हट्नु परेको थियो ।

    अहिले बालेनकै बलियो समर्थनमा सुशीला कार्की प्रधानमन्त्री बनेकी छन् । यति मात्र नभएर उनकै कानूनी सल्लाहकार ओमप्रकाश अर्याल शक्तिशाली गृहमन्त्री पदमा पुगे । त्यसैले यो सरकार बालेनका लागि अहिलेसम्मकै आनन्ददायी छ भन्दा फरक नपर्ला ।

    त्यसो त बालेनलाई सिधै प्रधानमन्त्री बन्ने अफर थियो । जेनजी पुस्ताले पहिलो नम्बरमा चाहेका प्रधानमन्त्री बालेन नै थिए । उनले अनिच्छा देखाएपछि मात्रै सुशीला कार्कीको नाम अगाडि आएको हो । बालेनले किन प्रधानमन्त्रीको कुर्सीमा बसिहाल्न चाहेनन् भन्नेमा दुईवटा सम्भावित कारण छन् । पहिलो, अहिले बन्ने अन्तरिम सरकारलाई चुनाव गराउने मात्रै म्यान्डेट हुने भएकाले उनले रुची नगरेको निकटस्थहरुको दावी छ । यही भाष्यलाई व्यापक बनाइएको पनि छ ।

    अर्को महत्वपूर्ण कारण भनेको अहिलेको राजनीतिक परिस्थिति हो । यही अवस्थामा सरकारमा गएर केही काम गर्न नसक्ने उनको बुझाइ रहेको निकट स्रोत बताउँछ ।

    स्रोतले भन्यो, ‘अहिलेको विकराल परिस्थितिमा सरकारको नेतृत्व गर्नु भनेको आगोमा हाम्फाल्नु बराबर हो । यसबाट उहाँको लोकप्रियतामा ह्रास आउनेबाहेक केही पनि हुँदैनथ्यो । सरकारको क्षमता सिमित तर जनअपेक्षा असिमित भएको अवस्थामा उहाँले प्रधानमन्त्री चाहनुभएन ।’

    बालेन अन्तरिम सरकारको कामचलाउ प्रधानमन्त्री नभएर पूर्णकार्यकारी अधिकारयुक्त शक्तिशाली प्रधानमन्त्री बन्न चाहन्छन् भन्नेमा द्वीविधा छैन । उनको मुख्य रोडम्याप यही नै हो । यही रोडम्याप अन्तरगत उनले संसद विघटनको एजेन्डा अगाडि सारेका थिए, जसलाई जेनजीहरुले पनि अपनत्व लिए । जेनजीलाई राष्ट्रपतिसँग नभएर सेनासँग वार्ता गर्न सुझाउने पनि बालेन नै हुन् । समग्रतामा जेनजी आन्दोलनले बालेनलाई निकै शक्तिशाली बनाएको छ । तर, उनी स्वयम् भने यतिबेला अलिकति दच्किएका छन् । किन त ?

    खासमा आन्दोलनले जुन रुप लियो, त्यसको अनुमान बालेनले नै गरेका थिएनन् । असंगठित र नेतृत्वविहीन जमातले स्तस्फुर्त गरेको आन्दोलन संवेदनशील हुनसक्छ भन्ने हेक्का उनलाई पनि समयमै भएन । पहिलो दिन गोली लागेर युवाहरु ढल्दा उनी ‘स्तब्ध’ भएका थिए भने दोस्रो दिनको विध्वंसले डराएका थिए । अहिलेसम्म पनि उनी डरैडरमा छन् ।

    प्रधानमन्त्रीका लागि जेनजीहरुले गरेको आग्रह अस्वीकार गरेका बालेन नयाँ सरकार गठनका लागि भएका कुनै पनि नेगोसिएसनमा सहभागी भएनन् । आफूले खुलेर समर्थन जनाएको व्यक्ति प्रधानमन्त्री बन्दा पनि उनी शपथ ग्रहणमा गएनन् । यद्यपि, लो प्रोफाइलका ओमप्रकाशलाई गृहजस्तो शक्तिशाली मन्त्रालय दिलाउनमा बालेनको हात रहेको हुन सक्ने कतिपयको अनुमान छ ।

    स्रोतका अनुसार बालेन अहिले महानगरकै काममा बढी व्यस्त हुन थालेका छन् । ओली सरकार हुँदासम्म उनले आफ्नो जिम्मेवारीमा पनि लत्तो छोडिरहेका थिए । कारण, आफूले नरुचाएको प्रशासकीय अधिकृत कार्यालयमा हुनु । प्रशासकीय अधिकृत सरोज गुरागाईंसँग बालेनको ट्यूनिङ नमिलेको मात्र होइन बोलचालै बन्द रहेको अवस्था छ । यस्तोमा महानगरका कतिपय महत्वपूर्ण कामहरु लठिभद्र बनेका थिए । ओली सरकार ढलेसँगै बालेन जुर्मुराएका छन् भने प्रशासकीय अधिकृत गुरागाईं लत्रिएका छन् ।

    सुशीला सरकार गठन भएपछि बालेन महानगरमा अल्झेका कामहरु सल्टाउन लागिपरेको स्रोतको भनाइ छ । हालै मात्र बालेनको दबाबमा प्रशासकीय अधिकृत गुरागाईंले काठमाडौं टावरको तला थप्ने स्वीकृत रद्द गरेका छन् । यही विषयले बालेन र गुरागाईंबीच अन्तरद्वन्द्व चर्किएको थियो । बालेनले गुरागाईंलाई लामो समय निलम्बनमा राखे पनि हटाउन सफल भएनन् । नयाँ सरकारले गुरागाईंलाई सरुवा गरेर बालेनले चाहेको अधिकृत ल्याइदिने सम्भावना प्रबल छ ।

    बालेनको अबको रोडम्याप भने संसदीय चुनाव नै हो । उनले राजनीतिक दल खोलेर बहुमत ल्याउने उद्देश्यका लागि चुनावमा देशव्यापी उम्मेदवारी दिने योजना बनाएका छन् । चुनावमा बहुमत आउने पक्का नभएकाले पनि उनी प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीको पक्षमा छन् । त्यसका लागि संविधान संशाेधन गर्नुपर्ने हुन्छ । जेनजीका युवाहरु पनि प्रत्यक्ष निर्वाचित कार्यकारीको वकालत गरिरहेका छन् ।

    तर, आन्दोलनमा यो एजेन्डा थिएन । आन्दोलनले विद्रोहको रुप लिए तापनि कुनै लिखित सम्झौता भएको छैन । सरकार परिवर्तन हुनुबाहेक कुनै उपलब्धि संस्थागत भएका छैनन् । प्रत्यक्ष निर्वाचित कार्यकारीको व्यवस्था संविधानमा घुसाउन अब बालेनका लागि पनि सहज छैन ।

    बालेनले पार्टी खोल्दा त्यसमा कोको जोडिन्छन् भन्ने जिज्ञासा पनि छ । स्रोतका अनुसार हर्क सम्पाङलाई उनले समेट्ने सम्भावना नगण्य छ । साम्पाङप्रति एकतर्फी प्रेम देखाउँदै स्टाटस लेखे तापनि उनको स्वभाव र शैलीप्रति बालेन सचेत छन् । अर्को चर्चा गरिएकी पात्र सुमना श्रेष्ठ हुन्, जसले हालै मात्रै रास्वपा परित्याग गरिन् । सुमना रास्वपा छोडेर बालेनतिर लाग्न सक्ने चर्चा पार्टीभित्र र बाहिर धेरै अगाडिबाट हुँदै आएको छ । तर, आजका दिनसम्म उनी बालेनसँग जोडिइसकेकी छैनन् ।

    बालेनले पार्टी खोलेमा रास्वपाभित्र ठूलो पहिरो जाने र पार्टी नै धराशायी बन्न सक्ने विश्लेषणहरु पनि बजारमा सुनिन्छन् । बालेन र रवि लामिछानेको भोट बैंक एउटै हो । बालेनले पार्टी खोल्दा सबैभन्दा ठूलो धक्का रास्वपालाई लाग्ने पक्का छ । रास्वपाका धेरै नेताहरु चाहिँ बालेनसँग सहकार्यको पक्षमा छन् ।

    बालेनले भने अहिलेसम्म रास्वपा र रविप्रति त्यति सकारात्मक देखिएका छैनन् । यद्यपि, चुनावसम्ममा माहोल फेरिन पनि सक्छ । बालेन र रवि मिलेको खण्डमा चुनावमा ठूला दलहरुलाई ठूलै बज्रपात पर्न सक्ने स्थिति देखिन्छ ।

     

  • अर्थमन्त्रीले दिए करदातालाई राहत, कर भुक्तानीको समय एक महिना थपियो

    काठमाडौं । सरकारले विभिन्न कर तथा शुल्क भुक्तानीको म्याद थप गरेको छ । अर्थ मन्त्रालयले व्यवसायी तथा करदाताहरूलाई राहत प्रदान गरेको हो ।

    जेन जी आन्दोलनका कारण देशभरि कर्फ्यु तथा निषेधाज्ञा लागू भएकोले कर तिर्ने प्रक्रियामा अवरोध आएको भन्दै करदाताहरूले म्याद थपको माग गर्दै आएका थिए । मन्त्रालयले एक महिनाका लागि समय थप गरिदिएको हो ।

    मूल्य अभिवृद्धि कर, अन्तःशुल्क, शिक्षा सेवा शुल्क, तथा विलासिता शुल्कको विवरण र दाखिला गर्ने म्याद असोज २५ गतेसम्म थप गरिएको छ। यस्तो कर भदौ २५ गतेसम्म दाखिला गर्नुपर्ने व्यवस्था थियो ।

     

  • अर्थमन्त्रीले गरे निजी क्षेत्रसँग भेटवार्ता, अर्थतन्त्र पुनः उत्थानमा साथ दिने निजी क्षेत्रको प्रतिबद्धता

    काठमाडौं । अर्थतन्त्रको पुनर्निर्माण नवनिर्माण र पुनरुत्थानमा निजी क्षेत्रले सरकारसँग हरदम सहकार्य गर्ने जनाएको छ । नव नियुक्त अर्थमन्त्री रामेश्वर खनालसँग मंगलवार अर्थ मन्त्रालयमा भएको छलफलका क्रममा निजी क्षेत्रका प्रतिनिधिहरूले उक्त प्रतिबद्धता जनाएका हुन् ।

    हालैको आन्दोलनका क्रममा भएको क्षतिको आंकलन गरी पुनर्निर्माणका लागि सरकारले कोष समेत खडा गरिसकेको छ । ‘हामी आफैंले पनि क्षति व्यहोरेका छौं’, नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालले भने, ‘हामी पनि उठ्दै र सरकारलाई पनि सघाउँदै सहकार्य गर्न हामी तयार छौ ।’

    साथै अध्यक्ष ढकालले अर्थमन्त्रीलाई अर्थतन्त्र पुनः स्थापना र सुशासन कायम गर्न निजी क्षेत्र र सरकारबिच निरन्तर संवाद संयन्त्र निर्माण गर्न, व्यवसायीलाई आत्मविश्वासका साथ खुला रूपमा व्यवसाय गर्न सक्ने वातावरणको सुनिश्चितता कायम गर्न, राजस्व बुझाउने समय थपेर जरिवाना र दण्ड हटाउने व्यवस्था गर्न सुझाव दिए ।

    महासंघले सोमबार २५ गतेसम्म बुझाउनुपर्ने राजश्व विवरणको समय थपको माग गरेको थियो । नवनियुक्त अर्थमन्त्री खनालले मंगलबार एक महिना थप गर्ने मन्त्रीस्तरिय निर्णय गरे ।

    सोही छलफलमा महासंघका वरिष्ठ उपाध्यक्ष अञ्जन श्रेष्ठले निजी क्षेत्रले सामाजिक उत्तरदायित्व अन्तर्गतको रकमबाट पनि पुनरुत्थानमा सहयोग उपलब्ध गराउन सक्ने सुझाए ।

    छलफलमा उनीहरूले २०२६ मा नेपाल अतिकम विकसित मुलुकबाट स्तरोन्नति हुने तयारीमा रहेको तर यसै पनि तयारी नरहेको अवस्थामा भएको क्षतिले समस्या उत्पन्न हुनसक्ने तर्फ सरकारको ध्यानाकर्षण गराए ।

    यस्तै समस्या भोगेको बंगलादेशले विशेष गरी व्यापार सुविधाबाट वञ्चित हुने हुँदा स्तरोन्नतिको निर्णय पर सार्न खोजिरहेको छ । नेपालले पनि अहिले नै यसबारे निर्णय नगरे ढिला हुनेछ ।

    छलफलका क्रममा आन्दोलनमा प्रभावित व्यवसायीलाई कर्जाको पुनर्संरचना र पुनर्तालिकीकरण सुविधा प्रदान गर्न, लगानी आकर्षित गर्न आयकर लगायतमा छुट प्रदान गर्न पनि अध्यक्ष ढकालले आग्रह गरे । युवा पुस्ताले चुस्त सरकारी सेवा चाहिरहेको बताउँदै अध्यक्ष ढकालले सूचना प्रविधिको उच्चतम प्रयोग र सदाचार काम गर्न सबैले पहल गर्नुपर्ने बताए ।

    ‘यो अवस्थामा मूल्य अभिवृद्धि कर दर घटाउने वा उपभोग्य वस्तुमा न्यून दर लागू गर्ने, भारतीय पर्यटक आकर्षित गर्न विशेष प्याकेज घोषणा गर्नु उपर्युक्त हुन्छ । कर छुट, साना तथा मझौला उद्यमका लागि उत्पादनमा आधारित राहत र सहुलियतपूर्ण कर्जा आवश्यक छ साथै बजेट पुनरावलोकन गरी अनावश्यक शीर्षकको रकम पुनर्निर्माणमा उपयोग गर्न सकिन्छ’, अध्यक्ष ढकालले भने ।

    यस्तै, नेपाल उद्योग परिसंघका अध्यक्ष वीरेन्द्र पाण्डेले वर्तमान परिस्थतीमा व्यवसायीको आत्मविश्वास मजबुत बनाउँदै पुनः उत्थानमा जुट्नु पर्ने र त्यसको लागि आफूहरू तयार रहेको बताए ।

    नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश कुमार अग्रवालले नेपाली अर्थतन्त्रमा निजी क्षेत्रको ठूलो योगदान रहको चर्चा गर्दै व्यवसायीको आत्मबल उठाउँदै अघि बढ्नु पर्ने आवश्यकता रहेको बताए ।

    नाडा अटो मोबाइल एसोसिएसनका अध्यक्ष करण चौधरीले अटो क्षेत्रमा ठूलो क्षति भए पनि सबै मिलेर पुनरुत्थानको काम गर्नुपर्ने बताए ।

    यस्तै, आन्दोलनका क्रममा ठूलो क्षति बेहोरेको भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङले आफू अझै पनि निरन्तर लगानी, रोजगारी सिर्जना र राजश्वमा योगदान दिन चाहिरहेको बताए ।

    व्यवसायीहरूका सुझावहरू पछि अर्थमन्त्री खनालले निजी क्षेत्रको साथ लिएरै अर्थतन्त्र सुधारका काम गरिने बताए । उनले निजी क्षेत्रको मागअनुसार तत्काल राजस्व विवरण बुझाउने समय एक महिना थप गर्ने निर्णय समेत गरेको बताए ।

     

  • भारतको सिमलामा जिप दुर्घटना, एकै परिवारका तीनसहित चार जना नेपालीको मृत्यु

    रुपन्देही । भारतको हिमाचल प्रदेशको सिमला कोटखाईमा जिप दुर्घटनामा परी चार नेपालीको मृत्यु भएको छ । मृत्यु हुने सबैजना सल्यानको कुमाख गाउँपालिका वडा नं ४ बस्नेतजिउला रहेका छन् । मृतकमध्ये एकै परिवारका तीनजना छन् ।

    सोमबार काममा जाँदै गरेको पिकअप गाडी दुर्घटनामा परी ३७ वर्षीय राजेश विष्ट, ४७ वर्षीय डिल्लीबहादुर शाही, ३७ वर्षीय एकेन्द्र शाही र २४ वर्षीया लक्ष्मी शाहीको घटनास्थलमै मृत्यु भएको हो।

    कुमाख गाउँपालिका–४ का वडाध्यक्ष शोभीलाल बस्नेतका अनुसार मजदुरीका लागि गएका उनीहरूमध्ये लक्ष्मी एक वर्षअघि गएकी थिइन् भने अन्य तीनजना यस वर्ष असारको खेतीपाती सकेर साउनमा भारतमा काममा गएको मृतक राजेशका छिमेकी रहेकी खिम विष्टले नेपाल प्रेसलाइृ बताइन् ।

    ‘राजेश मेरै भाइछोरा छिमेकी हुन्, शाही परिवार पनि नजिकैका छिमेकी हुन्, असारमा खेतीको काम सकेर साउनमा गएका हुन्, यस्तो घटनाले गाउँमै शोकमा डुबेको छ, आज उहाँबाट शव लिएर हिंडेका छन्, भोलिसम्म आइपुग्छ होला गाउँमा’, उनले भनिन् ।

    गाउँका एकैपटक चार जनाको मृत्यु भएपछि अहिले गाउँ शोकमा रहेको उनीहरुको छिमेकी जीतबहादुर विष्टले जनाए ।

  • दशैंअघि काठमाडौंको सडक खाल्डाखुल्डीमुक्त बनाइने,यस्तो छ सडक डिभिजनको निर्णय

    काठमाडौं । काठमाडौं सडक डिभिजनले दशैंअघि नै उपत्यकाभित्रका सडकका खाल्डाखुल्डी पुरिसक्ने भएको छ । सडक डिभिजन प्रमुख सुबोध कुमार देवकोटाले मंगलवार पदभार ग्रहण गरेसँगै खाल्डाखुल्डीहरु एक साताभित्रै पुर्ने निर्णय गरेका हुन् ।

    देवकोटाले बिग्रेका सडकहरुको तथ्यांक संकलन तथा मर्मत सम्भार तत्कालै थालिने बताए । त्यस्तै अनावश्यकरुपमा भर्ति गरिएका दैनिक ज्यालादारी कर्मचारीलाई असोज १ देखि बिदा दिएर खर्च कटौति गर्ने निर्णय समेत गरेका छन् ।

    सरकार ठूलो आर्थिक चापमा परेको भन्दै उनले कार्यालय अन्तर्गतको इन्धन मसलन्दलगायतको खर्च ५० प्रतिशत कटौतित गर्दै अत्यावश्यकबाहेक सवारी साधन प्रयोगमा रोक लगाएका छन् ।

    दशैंअघि नै काठमाडौंका सडकको रङरोगन,ट्राफिक लाइट तथा सूचना बोर्ड अध्यावधिक गर्दै जेब्रा क्रसहरुको तत्काल पेन्टिङ थालिने उनले नेपाल प्रेसलाई बताए ।

  • सञ्चार मन्त्रालयतिर किन गए जेनजी आन्दोलनका अगुवा गुरुङ ?

    काठमाडौं । जेनजी आन्दोलनको एउटा पक्ष हामी नेपाली अभियानका अगुवा सुधन गुरुङ अहिले चर्चामा छन् । आफ्नो स्वभाव नै यस्तो भएको भन्दै नेपाल प्रेससँग अन्तर्वार्तामा खुलेर कुरा गरेको गुरुङ सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको प्रांगणमा सचिव राधिका अर्यालसँग पनि झोक्किएकै शैलीमा देखिएका छन् ।

    आन्दोलनको भावनाविपरित सरकार गठन भएको र आन्दोलनकारीलाई बेवास्ता गरिएकोमा असन्तुष्ट रहेका गुरुङले सञ्चार मन्त्रालयमा किन गए भन्ने आधिकारिक रुपमा बताएका छैनन् । तर उनीनिकटहरुले भने सूचना तथा सञ्चार प्रविधि क्षेत्रको दुरावस्थालाई लिएर उनी चिन्तित थिए ।
    हामी नेपाली अभियानका संयोजक गुरुङले दूरसञ्चार सेवा प्रदायक संस्थाहरुको अवस्थाको बारेमा सेवा प्रदायकहरु सँग परामर्श गरिरहेको तथा सञ्चार माध्यमको अवस्थाको बारेमा समेत सघन परामर्शमा रहेको बताइएको छ।

    संयोजक गुरुङले नेपाल टेलिभिजन र रेडियो नेपालको आर्थिक दूरावस्था एवम् हालको व्यवस्थापनको काम कारवाहीप्रति असन्तुष्टी व्यक्त गर्दै रेडियो नेपाल र नेपाल टेलिभिजन आर्थिक रुपले धराशायी र सँधै नेपाल सरकारले पालन पोषण गर्नुपर्ने हालको अवस्थाप्रति गम्भिर आपत्ति व्यक्त गर्दै सञ्चार तथा सूचना प्रविधि मन्त्रालयकी सविच राधिका अर्यालसँग असन्तुष्टी व्यक्त गरेका छन् ।

    सूचना प्रविधि क्षेत्रमा भएका भ्रष्टाचार,पछिल्ला ठूला स्क्याण्डलहरुको बारेमा आइटी क्षेत्रका उनका अभियन्ताहरुले चासो राख्न लगाएको हुनसक्ने अनुमान छ । प्रधानमन्त्री सुशीला कार्कीले सञ्चार मन्त्रालय आफैसँग राखेकी छन् । अब हुने विस्तारमा यो क्षेत्रका विज्ञलाई मन्त्री बनाउने तयारी छ ।

  • प्रधानमन्त्रीलाई नारायणकाजीको सुझाव-चुनाव १ दिन पनि पर धकेल्ने छुट तपाईँसँग छैन, कम बोल्नुस्

    काठमाडौं । नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले प्रधानमन्त्री सुशीला कार्कीलाई घोषित मितिबाट एक दिन पनि निर्वाचन सार्ने छुट नभएको बताएका छन्।

    उनले अहिले अत्यन्त संवेदनशील परिस्थितिमा देश रहेको भन्दै उनले भनेका छन्, ‘अहिलेको मुलुकको केन्द्रीय कार्यभार घोषित मितिमा आम निर्वाचन सम्पन्न गर्नु हो । त्यसैले अन्तरिम सरकारलाई त्यस उद्देश्यका निम्ति सफल पार्न सबैले सहयोग गर्नु पर्दछ । हामी त्यसमा प्रतिबद्ध छौँ ।’

    उनले प्रधानमन्त्री जस्तो जिम्मेवारीमा भएको व्यक्तिले के बोल्ने के नबोल्ने भन्ने कुरामा गम्भीर ध्यान दिनुपर्ने बताए।

    उनले भनेका छन्, ‘कम बोल्नुस् । काममा केन्द्रित हुनुहोस्। बोल्नै पर्दा पनि गलत नबोल्नुहोस्। गल्ती बोलेको कुरा कुनै सच्याईहाल्नुस र कुनै अब आइन्दा त्यस्तो गल्ती दोहर्‍याइनुस्। तपाईँले निर्वाचन सम्पन्न गर्ने अवधि १५ दिन, २ महिना थप पनि हुनसक्छ भन्नुभएको छ । तपाईँलाई त्यो कार्यादेश छैन । निर्वाचन मिति १ दिन पनि पर धकेल्न मिल्दैन ।’

    उनले अहिलेदेखि निर्वाचन सार्ने सोचेको भए घातक साबित हुने बताएका छन्। ‘निर्धारित मितिमा निर्वाचन सम्पन्न हुन सकेन भने देश गम्भीर सङ्कटमा धकेलिन सक्छ भन्ने कुरामा ध्यान दिनुहोस्। अन्यथा सोच्न, गर्न मिल्दैन’ उनले भनेका छन्।

    देश, संविधान र लोकतन्त्रको रक्षा गर्न घोषित मिति फागुन २१ मा शान्तिपूर्ण, स्वच्छ एवं निष्पक्ष निर्वाचन गर्ने गरी लाग्न आह्वान गरेका छन्। उनले अहिलेको सरकारमा दलको प्रतिनिधि नराख्ने कुरामा सहमत भएपनि राष्ट्रपतिको सुझावलाई हलुकासँग नलिन पनि सुझाएका छन्।

  • यातायात व्यवस्था विभागले भन्याे- भवन जले पनि लाइसेन्सको विवरण सुरक्षित छ

    काठमाडौं । जेनजीको आन्दोलनबाट आगलागी भएको यातायात व्यवस्था विभागको भवन जले पनि त्यहाँ भएको तथ्यांकहरु सुरक्षित रहेकाे पाइएकाे छ । विभागका अनुसार विभागमा रहेको अन्य प्रायः सबै सामाग्री जलेर नष्ट भए पनि त्यहाँको तथ्याङ्क भने सुरक्षित रहेको पाइएको हो ।

    विभागले लाइसेन्स (सवारी चालक अनुमति पत्र) को विवरण एकीकृत डाटा व्यवस्थापन केन्द्रमा पनि लगेर राखेको थियो । कार्यालयमा पनि राखेको थियो । सिंहदरबारमा रहेको केन्द्रमा र विभागमा रहेको डाटा व्याकपमा सुरक्षित रहेको छ ।

    यातायात व्यवस्था विभागका आइटी डाइरेक्टर केशव खतिवडाले सबै नेपालीको लाइसेन्सको तथ्याङ्क सुरक्षित रहेको बताए ।

    उनले नेपाल प्रेससँग कुरा गर्दै भने, ‘सबैको लाइसेन्सको तथ्याङ्क सुरक्षित रहेको छ । हामीले तथ्याङ्क भएको एउटा डाटा व्याकप विभागमा थियो । एउटा सिंहदारमा राखिएको थियो । विभागमा भएको डाटा व्याकप पनि सुरक्षित रहेको छ । व्याकप राखेको कोठामा धेरै क्षति नभएको कारणले नै सुरक्षित रहेको हो । भने, सिंहदरबारमा भएको व्याकप पनि सुरक्षित नै छ ।’

  • बुधबार राष्ट्रिय शोक दिवसमा देशभर सार्वजनिक बिदा, राष्ट्रिय झण्डा आधा झुकाइने

    बुधबार राष्ट्रिय शोक दिवसमा देशभर सार्वजनिक बिदा, राष्ट्रिय झण्डा आधा झुकाइने

    काठमाडौं । नेपाल सरकारले यही भदौ २३ र २४ गते भएको जेनजी प्रदर्शनका क्रममा ज्यान गुमाउने मृतकको सम्मानस्वरूप बुधबार राष्ट्रिय शोक बिदा दिने भएकाे छ ।

    मन्त्रिपरिषद्को सोमबारको निर्णयअनुसार असोज १ गते राष्ट्रिय शोक दिवसका दिन बुधबार देशभरका सरकारी कार्यालय, विदेशस्थित नेपाली दूतावास तथा नियोगमा सार्वजनिक बिदा दिइएको गृह मन्त्रालयले जनाएको हो ।

    उक्त दिन राष्ट्रिय झण्डा आधा झुकाइने मन्त्रालयका सहसचिव एवम प्रवक्ता आनन्द काफ्लेले जानकारी दिए । यस निर्णय अनुसार १ गते बुधबार नेपालभर सार्वजनिक विदा हुनेछ भने सरकारी कार्यालयसँगै विदेशस्थित नियोगले पनि बुधबार कामकाज स्थगित स्थगित भएका छन् ।

  • नियमित काममा फर्के लुम्बिनीका मुख्यमन्त्रीसहित मन्त्रीहरु

    नियमित काममा फर्के लुम्बिनीका मुख्यमन्त्रीसहित मन्त्रीहरु

    रुपन्देही । भदौ २द्द यता सार्वजनिक नभएका लुम्बिनीका मुख्यमन्त्री चेतनारायण आचार्य मंगलबारदेखि नियमित काममा फर्केका छन् ।

    जेनजी आन्दोलनका क्रममा उनीसहित धेरै नेता तथा जनप्रतिनिधिको घर तथा विभिन्न सरकारी कार्यालयहरु जलेपछि सुरक्षाका लागि अधिकांश सुरक्षित स्थानमा बसेका थिए । यो बीचमा उनीसहित धेरैलाई सेनाले पक्राउ गरेको हल्ला पनि चलेका थिए तर उनको सचिवालयले खण्डन गर्दै आएको थियो ।

    केन्द्रमा नयाँ सरकार गठन भएपनि प्रदेशमा पुरानै दल नेतृत्वको सरकार रहेकाले प्रदेश र स्थानीय तहमा पुरानै नेतृत्वबाट कार्यसम्पादन हुने भएको हो ।

    मुख्यमन्त्री आचार्यले मंगलबार नै मन्त्रिपरिषद बैठक राखेका छन् भने प्रदेशमा रहेका विभिन्न मन्त्रालयका सचिवहरुको अलग्यै बैठक राखेर संविधान दिवसको तयारी गरेका छन् । यो सँगै मुख्यमन्त्रीसहितका मन्त्रीहरु नियमित काममा फर्केका छन् तर सबै कर्मचारीहरु अझै कार्यस्थलमा पुगेका छैनन् ।

    काठमाडाैंसहित विभिन्न प्रदेश र जिल्ला एवम् स्थानीय तहका संरचनाहरुमा ठूलो क्षति भएपनि लुम्बिनी प्रदेश सरकारका संरचनामा कुनै क्षति भएको छैन । मंगलबार मुख्यमन्त्रीसहितका मन्त्रीहरुले प्रदेशका संरचना जोगाउन पहल गर्ने स्थानीय, आन्दोलनरत पक्ष र सुरक्षानिकायलाई धन्यवाद दिएका छन् ।

    मन्त्रिपरिषद बैठकले भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा सहादत प्राप्त गरेका शहीदहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारजनप्रति समवेदना र घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गरेको छ ।

    मुख्यमन्त्री चेतनारायण आचार्यको अध्यक्षतामा मंगलबार बसेको बैठकले सहादत प्राप्त शहीदहरूप्रति भावपूर्ण श्रद्धाञ्जली, परिवारजनमा गहिरो समवेदना र घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्ने निर्णय गरेको हो ।

    यस्तै, प्रदेशको शान्ति सुरक्षा कायम राख्न सहयोग गर्ने राष्ट्रसेवक कर्मचारी, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान विभाग तथा नागरिक समाजले खेलेको भूमिकाप्रति धन्यवाद ज्ञापन गरिएको छ । आन्दोलनका क्रममा प्रदेशभित्र भएको क्षतिको विवरण संकलन गर्न सम्बन्धित मन्त्रालयहरूलाई निर्देशन दिइएको छ ।

    बैठकले असोज ३ गते संविधान दिवस प्रदेशभर मनाउने र प्रदेश राजधानी परिसरमा दिवस समारोहको जिम्मेवारी आन्तरिक मामिला तथा कानून मन्त्रालयलाई दिने निर्णय गरेको उर्जा, जलस्रोत तथा सिंचाई मन्त्री सिता शर्मा चौधरीले जानकारी दिइन ।

    प्रदेश सरकारले असोज ३ गते संविधान दिवस मनाउने तयारी गरेको छ । मुख्यमन्त्री आचार्यको उपस्थितिमा बसेको प्रदेश सरकारका सचिवहरूको बैठकले संविधान दिवस औपचारिक कार्यक्रम गरेर मनाउने निर्णय गरेको निमित्त प्रमुख सचिव लिलाधर सुवेदीले जानकारी दिए । बिहान ८ बजे दिवसको कार्यक्रम आयोजना गरिने भएको हो ।

    भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा प्रदेश मातहतका कार्यालयहरूमा भएको आगजनीबाट भएको क्षतिको विवरण संकलनको काम जारी राखिएको छ भने सामान्य मर्मतसाम्भार गरेर सञ्चालन गर्न सकिने कार्यालयहरूको सेवा सुचारू गर्न मातहतका निकायलाई निर्देशन दिइएको छ ।

    कर्मचारीहरूलाई मनोबल उच्च बनाएर सेवा प्रवाहमा जुट्न मुख्यमन्त्री आचार्यले आग्रह गरेका छन ।‘सेवा प्रवाहलाई चुस्त ढंगले सञ्चालन गर्न जरुरी छ । पाल टाँगेर भए पनि सेवा अगाडि बढाउन सकिन्छ’उनले भने,‘कर्मचारीहरु मनोबल उच्च बनाएर काममा जुट्न आवश्यक छ ।’

    प्रदेशको प्रशासनिक केन्द्रको सुरक्षामा समुदायस्तरबाट भएको पहल, आन्दोलनरत पक्षको संवेदनशीलता र सुरक्षा निकायको जिम्मेवार भूमिकाप्रति मुख्यमन्त्री आचार्यले आभार व्यक्त गरेका छन् ।

    प्रदेश सरकार मातहत रहेका जिल्ला तहका कार्यालयहरू, चार पांग्रे र दुई पांग्रे सवारीसाधनमा समेत आगजनी भएको छ भने यी कार्यालयहरूको सेवा सुचारू गर्ने विषयमा सचिव स्तरबाट अनुगमन गरिएको थियो ।

     

  • दशैंको टीकाको उत्तम साइत ११ बजेर ५३ मा

    काठमाडौं । यस वर्ष विजयादशमीको टीकाको उत्तम साइत असोज १६ गते बिहान ११ः५३ बजे रहेको छ ।

    नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले बडादशैंको टीकाको साइत सार्वजनिक गरेको हो ।

    यस वर्षको बडादसैं अर्थात् दुर्गा पक्षको सुरूआत भने असोज ६ गते सोमबार हुनेछ। जसलाई नवरात्रारम्भ पनि भनिन्छ। त्यस दिन बिहान ९ बजेर १३ बजे घटस्थापना गर्ने साइत रहेको समितिका कार्यकारी निर्देशक सूर्यप्रसाद ढुङ्गेलले जानकारी दिए।

  • जनार्दनले प्रचण्डको राजीनामा मागेपछि माओवादीको प्रतिक्रिया- छलफल हुन्छ

    काठमाडौं । नेकपा माओवादी केन्द्रले पार्टीका उपमहासचिव जनार्दन शर्माले अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को राजीनामा मागेको विषय छलफल हुने जनाएको छ।

    प्रचण्डसँग लगातार अन्तरसंघर्ष गर्दै आएका शर्माले जेनजी आन्दोलनपछि अब पार्टीको मूल नेतृत्वले तत्काल राजीनामा गर्नुपर्ने भन्दै १६ बुँदे प्रस्ताव अघि सारेका छन्।

    यद्यपि, शर्माको त्यो पत्रबारे औपचारिक रूपमा पार्टीमा आइनसकेको प्रवक्ता अग्नि सापकोटाले बताए।

    माओवादीका उपाध्यक्ष समेत रहेका सापकोटाले नेपाल प्रेससँग भने, ‘यो पत्रबारे अहिलेसम्म मलाई थाहा छैन। हो रहेछ भनेपनि यो विषयमा संस्थागत रूपमा छलफल हुन्छ। पार्टीको बैठक नबसी मैले व्यक्तिगत रूपमा बोल्न मिल्दैन।’

    शर्माले पार्टीको विशेष महाधिवेशन माग्दै विगत लामो समयदेखि प्रचण्डले नेतृत्व छाड्नुपर्ने कुरा उठाइरहेका छन्। जेनजी आन्दोलनले ल्याएको तरङ्गपछि शर्माले फेरि यो विषय बहसमा ल्याएका हुन्।

    माओवादीमा प्रचण्डलाई मात्रै होइन कांग्रेसमा सभापति शेरबहादुर देउवा र एमालेमा अध्यक्ष केपी ओलीलाई पनि पछिल्लो समय नेतृत्व छाड्न दबाब बढ्दो छ।

  • ई–७ भिसामा नेपाली कामदार कोरिया पठाउने प्रक्रिया रोकियो

    ई–७ भिसामा नेपाली कामदार कोरिया पठाउने प्रक्रिया रोकियो

    काठमाडौं । नेपाल सरकारले सिपयुक्त श्रमिक कोरिया पठाउनका लागि बनाएको र संशोधन गरेको कार्यविधि रोकिएको छ ।

    कामको लिस्ट नै हालेर कार्यविधि संशोधन भएको थियो । तर, गणतन्त्र कोरियामा सीपयुक्त श्रमिक पठाउने सम्बन्धी कार्यविधि, २०८० कार्यान्वयन नहुने भएको हो ।

    श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले आज एक सूचना निकालेर कार्यविधि कार्यान्वयन नहुने बताएको छ । उक्त कार्यविधि कार्यान्वयन नगर्ने निर्देशन प्राप्त भएकाे  विभागले जनाएकाे छ ।

    ‘श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले बिटुबी माध्यमबाट ई–७ भिसा मार्फत रोकिएको छ । गणतन्त्र कोरियामा सीपयुक्त श्रमिक पठाउने सम्बन्धी कार्यविधि, २०८० कार्यान्वयन नगर्ने भनी निर्देशन प्राप्त भएको हुँदा रोकिएको हो ।’ सूचनामा भनिएको छ ।

     

  • सिंहदरबार आगजनीमा ७ सयभन्दा बढी सवारीसाधन जलेर नष्ट, कम्तिमा २० मोटरसाइकल चोरी

    काठमाडौं । जेनजीको आन्दोलनका क्रममा भदौ २४ गते सिंहदरबारमा भएको आगजनीबाट करिब ७ सय सवारीसाधन पूर्ण रूपमा नष्ट भएका छन् ।

    राष्ट्रसेवक कर्मचारी संगठन नेपालले संकलन गरेको विवरण अनुसार २५० भन्दा बढी चार पाङ्ग्रे सवारीसाधन र ४५० भन्दा बढी दुई पाङ्ग्रे मोटरसाइकल जलेर पूर्ण रूपमा क्षतिग्रस्त भएका छन् ।

    संगठनका अनुसार सिंहदरबारमा रहेको प्रधानमन्त्री कार्यालय सहित ३५ वटा कार्यालय परिसरमा रहेका गाडीमा क्षति पुगेको हो । जसमा सबैभन्दा बढी प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गृह मन्त्रालय र संघीय संसद सचिवालयका सवारी साधनमा बढी क्षति भएको छ भने उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय मन्त्रालयमा रहेका कुनै पनि सवारी साधनमा क्षति पुगेको छैन ।

    सिंहदरबारमै रहेका करिब २० मोटरसाइकल चोरी भएको र केही चार पाङ्ग्रे सवारीसाधन बाहिर लैजाने प्रयास समेत भएको पाइएको संगठनका अध्यक्ष शरणकुमार गुरुङले जानकारी दिए । उनका अनुसार आसपासका वर्कसपमा काम गर्ने मेकानिक चोरी गर्नका लागि सिंहदरबारमा प्रवेश गरेको आशंका गरिएको छ ।

    संगठनले भदौ २६ गतेदेखि प्रधानमन्त्री कार्यालय सहित सबै मन्त्रालय र निकायमा रहेका सवारीसाधनको क्षतिको विवरण संकलन सुरु गरेको थियो । पाँच दिनसम्म चलेको संकलनपछि उक्त विवरण सार्वजनिक गरिएको हो ।

  • मधेशका मुख्यमन्त्रीले राजीनामा दिन अटेर गरेपछि प्रतिपक्षमा बस्न जनमतको निर्देशन

    काठमाडौं । डा. सिके राउत नेतृत्वको जनमत पार्टीले मधेश प्रदेशको मुख्यमन्त्री सतिशकुमार सिंहलाई राजीनामा दिन निर्देशन दिएको भएपनि अहिलेसम्म दिएका छैनन्।

    तर पार्टीको निर्देशनअनुसार मुख्यमन्त्रीले राजीनामा दिन ढिलाइ गरिराख्दा प्रदेश संसदीय दलका नेता महेशप्रसाद यादवले समर्थन फिर्ता लिइसकेको पत्र प्रदेशसभामा दर्ता गराएका छन्।

    यादवले प्रदेशसभालाई लेखेको पत्रमा भनिएको छ, ‘हाम्रो दल जनमत पार्टीले मधेश सरकारलाई दिएको समर्थन फिर्तासहित मुख्यमन्त्री र मन्त्रीलाई फिर्ता बोलाइएको जानकारी मधेश प्रदेश प्रमुखको कार्यालयलाई भदौ २८ गते नै गराइसकेको सो को जानकारीसहित सदनमा हाम्रो दलको सोही अनुसार व्यवस्थापनका लागि अनुरोध गर्दछौँ।’

    जनमतका प्रवक्ता डा. शरद यादवले पनि पार्टीको निर्देशन अनुसार नै प्रदेश सभामा पत्र दर्ता भएको बताए।

    उनले भने, ‘हामीले मुख्यमन्त्रीसहित सबै मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिइसकेका थियौँ। तर, मुख्यमन्त्रीले अहिलेसम्म राजीनामा नदिनुभएपछि प्रदेशसभामा विपक्षीमा बस्नको लागि व्यवस्थापन गर्न साथीहरूले पत्र दर्ता गराउनुभएको हो।’

    उनले मुख्यमन्त्रीले पार्टीको निर्देशन अनुसार चाँडै राजीनामा दिने विश्वास व्यक्त गरे। जेनजी आन्दोलनमा सरकारले दमन गरेपछि जनमतले कांग्रेस–एमाले गठबन्धनबाट बाहिरिने निर्णय गरेको थियो।

  • बालेनलाई हर्कको प्रतिउत्तर : लुकेर गेम खेल्दै स्टाटस लेख्नु सजिलो छ !

    काठमाडौं । धरान उपमहानगरका मेयर हर्क साम्पाङले काठमाडौं महानगरका मेयर बालेन्द्र साहलाई जवाफ फर्काएका छन् । बालेन्द्रले हर्कलाई सम्बोधन गर्दै आफूलाई जति गाली गरे पनि माया गर्न नछाड्ने बताएका थिए ।

    बालेन्द्रले ‘डियर हर्क साम्पाङ’ सम्बोधन गर्दै लेखेका थिए, ‘तिमीले मलाई जति गाली गरे पनि म तिमीलाई माया गर्न छोड्दिन । एकतर्फी नै सही, तर मेरो माया साँचो हो ।’

    हर्कले लगातार प्रहार गरेपछि बालेनको जवाफ- म तिमीलाई एकतर्फी माया गर्न छाड्दिनँ

    बालेन्द्रको यस स्टाटसको जवाफ दिँदै लुकेर गेम खेल्दै स्टाटस लेख्नु सजिलो भएको हर्कले बताएका छन् । उनले लेखेका छन्, ‘लुकेर गेम खेल्दै स्टेटस लेख्नु सजिलो छ ! देशले के कति गुमायो त्यो थाहा छ ? देश रोएको बेला ऊ हाँस्दै बसेको छ ।’

    पछिल्ला केही दिनयता हर्कले बालेन्द्रलाई तारो बनाएर लगालग स्टाटसहरू लेखिरहेका छन् ।आफूलाई प्रधानमन्त्री बन्नलाई बालेन्द्रले सहयोग नगरेको आँकलन छ हर्कको । उनी प्रधानमन्त्री बन्न भनेर धरानबाट काठमाडौं आएका थिए । तर, उनी प्रधानन्त्री बन्न सकेनन् । अहिले हर्क धरान फर्किसकेका छन् ।