
मैले लगातार चार वर्ष पार्टी कामको सिलसिलामा लुम्बिनी अञ्चलमा बिताएको छु । २०४२ साल कात्तिकदेखि २०४६ साल असोजसम्म मैले त्यहाँ बिताएँ । त्यस बेला निरङ्कुश तथा निर्दलीय पञ्चायती शासन व्यवस्था थियो, राजनीतिक दलहरूका गतिविधिहरू पूर्ण रूपले प्रतिबन्धित थिए । सबै काम भूमिगत रूपमा बडो होसियारीपूर्वक मात्रै गर्न सकिन्थ्यो वा कुनै आवरणमा मात्र गर्न सकिन्थ्यो । ‘सेल्टरहरू’ तथा हिँडडुलमा अझ खास गरी ‘अफिस’का रूपमा प्रयोग गरिएका ठाउँहरूबारे विशेष सतर्कता नअपनाई धरै थिएन । त्यस बेला पार्टी कार्यकर्ताहरूको परिचय खुल्नु भनेको धेरै जोखिमको कुरा थियो ।
यसो त यसभन्दा पहिले पनि लुम्बिनीमा भूमिगत अवस्थामै म पुगेको थिएँ, कुनै बेला सम्पर्कको सिलसिलामा त कुनै बेला भूमिगत रूपमा आयोजना गरिएका पार्टीका बैठकहरूमा सहभागी हुन । तीन पटक त त्यस बेलाको केन्द्रीय कमिटीका बैठकहरू समेत त्यहाँ आयोजना भइसकेका थिए । २०३६ सालको सुरुमा रूपन्देहीको सीतापुरमा हामीले झन्डै पन्ध्र दिन लगाएर केन्द्रीय कमिटीको बैठक आयोजना गरेका थियौँ । स्थानीय किसान जनताको सक्रिय सहयोगमा उक्त बैठक सम्पन्न भएको थियो ।
त्यस बेला सीतापुर भूमिगत ‘माले’ पार्टीको आधार इलाकाका रूपमा स्थापित एउटा जागरूक गाउँ थियो । कमरेड पुष्पलालले नेतृत्व गरेको कम्युनिष्ट समूहबाट विद्रोह गरी अलग भएको ‘मुक्ति मोर्चा’ समूहको आधार भूमिका रूपमा सीतापुरले आफूलाई चिनाएको थियो, पछि ‘मुक्ति मोर्चा’ समूह २०३४ असारमा विधिवत् रूपमा तत्कालीन ‘को–अर्डिनेशन केन्द्र’मा समावेश भएपछि त्यो गाउँ ‘माले’हरूको वा ‘झापाली’हरूको विशेष प्रभाव क्षेत्र बन्न पुगेको थियो ।
विगतका बेलाबेलाका आवतजावतले लुम्बिनीबारे केही धारणा बनेको त थियो, तर पूर्ण रूपले जिम्मा लिएर गएपछि प्राप्त गरेको ज्ञान तथा बुझाइ पृथक र केही गहिरो हुनु स्वाभाविक थियो । नेपालको कम्युनिष्ट आन्दोलनमा यसले पुर्याएको योगदान, यहाँ सञ्चालित आन्दोलन र यस क्रममा जन्मिएका र विकसित भएका नेता कार्यकर्ताहरूको पङ्क्ति आदिबारे चार वर्ष लुम्बिनीमा पार्टीको जिम्मेवारी पूरा गर्दा मैले जानकारी प्राप्त गरेको थिएँ । यस्तै अनुभव प्राप्त गर्ने महत्त्वपूर्ण थलो पनि बन्यो लुम्बिनी, मेरा लागि ।
विष्णु पौडेल र प्रदीप ज्ञवालीहरूसँगको संयोग
लुम्बिनीमा मेरो कार्यक्षेत्र त्यस बेला तोकिएको थियो, जति बेला म ‘मध्य–उत्तर क्षेत्र’मा पार्टी सचिव भएर काम गरिरहेको बेला दोलखाको चरिकोटमा गिरफ्तारीमा परेको थिएँ र पाँच महिनाको कठोर कारावासपछि प्रतिक्रियावादीहरूलाई छक्क्याउँदै रिहा भएको थिएँ । त्यस बेला मेरो रिहाइ आफ्नै सतर्कतापूर्वक गरिएको बयान, पार्टी केन्द्रबाट खेलिएको योजनाबद्ध र प्रभावकारी भूमिका र सम्भव सबै सकारात्मक पक्षहरूको कुशल परिचालनबाट मात्र सम्भव भएको थियो । यो काममा मेरा भिनाजु मनप्रसाद पौडेलको भूमिका सा¥है नै उल्लेखनीय रह्यो । त्यस बेला मेरो सुरक्षाको प्रश्न पार्टीका लागि र म स्वयंका लागि समेत जोखिमपूर्ण थियो ।
यति हुँदाहुँदै पनि लुम्बिनी मेरा लागि व्यक्तिगत परिचयका हिसाबले त्यति असुरक्षित भने थिएन । भौगोलिक परिवेशभित्रको अनुकूलताका कारण मैले हिँडडुलमा त्यति कठिनाइ महसुस गर्नुपरेको थिएन । नवलपरासीको उत्तरमा पर्ने डेढ गाउँ र सुदूर दक्षिणमा पर्ने नारायणी वा परासी नै होस्, यस्तै, अर्घाखाँचीको खिदिम–हर्राबोटदेखि धनचौर–जलुके–जुकेना; कपिलवस्तुका पत्थरकोट–चन्द्रौटा–रामापुर; रूपन्देहीका मर्चवार–रामापुर–मणिग्राम–सीतापुर आदि तथा पाल्पाका दर्छा–रामपुर–छहरा–मदन पोखरा सबै गाउँहरू पुग्न–घुम्न मलाई खासै कठिनाइ परेन । यस हिसाबले मलाई लुम्बिनीमा पार्टी कामलाई संगठित गर्न सजिलै भएको थियो ।
म अहिले सम्झन्छु – त्यस बेला म लुम्बिनी जाँदा प्रदीप नेपाल त्यहाँको पार्टी प्रमुखको जिम्मेवारीबाट बिदा हुनुभएको थियो । ऐतिहासिक ‘नख्खु जेल विद्रोह’बाट प्रतिक्रियावादीहरूका आँखा छल्दै नेपालको सीमा काटी भारत पुगेर त्यहाँ रहेका क्रान्तिकारीहरूसित खास गरी विद्रोही ‘मुक्ति मोर्चा’ समूहका जीवराज ‘आश्रित’, मोदनाथ ‘प्रश्रित’ लगायतका साथीहरूसित सम्पर्क गर्दै उहाँहरूकै माध्यमबाट लुम्बिनी आएर त्यहाँ कार्यक्षेत्र बनाउनु भएका प्रदीप नेपाल ‘कमरेड सिन्धु’का नामले त्यहाँको पार्टी पङ्क्तिका लागि राम्रै किसिमले परिचित भइसक्नुभएको थियो ।

विभिन्न जिल्लाहरूका प्रमुखहरूमध्ये नवलपरासीको सचिवबाट युवराज ज्ञवाली सुदूर पश्चिमका लागि भर्खर बिदा हुनुभएको थियो र उहाँको ठाउँमा देवेन्द्र घिमिरे आउनु भएको थियो । विष्णु पौडेल गुल्मीमा हुनुहुन्थ्यो । पहिले गुल्मी र अर्घाखाँची संयुक्त जिल्ला कमिटी थियो, पछि पार्टी काम विस्तार हुँदै गएपछि गुल्मी र अर्घाखाँची छुट्टाछुट्टै जिल्ला कमिटीहरू भएर आ–आफ्ना ठाउँमा नेतृत्वदायी भूमिका खेलेका थिए । (विष्णु पौडेललाई मैले पहिलो पटक २०३६ सालमा सीतापुरमा आयोजना गरिएको केन्द्रीय कमिटीको बैठक व्यवस्थापकको रूपमा चिनेको थिएँ । त्यस बेला उहाँलाई देख्दा मलाई लागेको थियो, ‘यी यतै तराइतिरकै अहिर (यादव) जातिका स्थानीय कार्यकर्ता रहेछन् ! … ठूलो दार भएको, नियमित र आवश्यकताअनुसार आहार नपाएका कारण दुब्लो लाग्ने, आँखा धस्सिएको, लामो र ठूलो नाक भएको, कालो–कालो वर्ण भएको व्यक्तिसित त्यस बेला मलाई ‘कैलाश’को नामबाट विष्णु पौडेलसित परिचय गराइएको थियो ।
… पछि मैले आफ्नो कार्य–क्षेत्रमा आएपछि … सीमापारीबाट पार्टीका दस्ताबेज बोकेर ल्याउँदै गर्दा (२०३७ जेठमा) कमरेड ‘कैलाश’ पार्टीका नेता र प्रसिद्ध साहित्यकार मोदनाथ प्रश्रितसँगै गिरफ्तार भएको सुनेको थिएँ, गिरफ्तारीको खबरले त्यस बेला मलाई दुःखित पनि तुल्याएको थियो । त्यसको केही समयपछि (२०३७ भदौ १ गते) फेरि पार्टी ‘च्यानल’बाटै मैले खबर पाएको थिएँ – मोदनाथ प्रश्रितसँगै कमरेड कैलाश भैरहवा जेलबाट भागे … । यसरी जेलबाट फरार भएकाहरूलाई त्यही क्षेत्रमा भूमिगत पार्टी काम गर्न कठिनाइ हुने जान्दाजान्दै पनि त्यस बेलाको पार्टी नेतृत्वले त्यही क्षेत्रमा जिम्मेवारी तोकेको थियो ! यही जिम्मेवारी पूरा गर्ने सिलसिलामा कमरेड ‘कैलाश’ अर्थात् विष्णु पौडेल पहिले गुल्मी–अर्घाखाँची संयुक्त जिल्ला कमिटी र पछि गुल्मी जिल्लाको नेतृत्वदायी कमिटीको सचिव भएर काम गरिरहुनभएको थियो ।) प्रदीप ज्ञवाली र बेदुराम भुसाल अर्घाखाँची र कपिलवस्तुमा हुनुहुन्थ्यो (आशालाग्दो – लोभलाग्दो कार्यकर्ताका रूपमा देखिने प्रदीप ज्ञवाली पहिले गुल्मीमा काम गर्नुहुन्थ्यो, पछि उहाँलाई अर्घाखाँची पठाइएको थियो ।
मैले भेटेका योद्धाहरू
चर्चित ‘बर्रे संघर्ष’ मा अगुवाइ गरेको – सहभागी भएका कारण १३ वर्षभन्दा बढी जेल जीवन बिताएर भर्खर रिहाइ हुनुभएका बेदुराम भुसालले तुरुन्तै पार्टी काममा जुटिहाल्ने प्रतिबद्धता देखाउनु भएको थियो र उहाँलाई अर्घाखाँचीको पार्टी काममा लगाइएको थियो); सिद्धिनाथ ज्ञवाली सबैका प्रिय ‘चाचा’ हुनुहुन्थ्यो, प्रजा परिषद्को समयदेखि पूर्णकालीन कार्यकर्ताको रूपमा खट्दै आउनु भएका उहाँको लामो राजनीतिक इतिहासका कारणले पनि उहाँलाई अञ्चलभरि नै प्रायः सबैले चिन्दथे – आदर गर्दथे, केही केही खतरा पनि थियो, उहाँलाई । उहाँको यो स्थितिबारे हामीहरू बुझ्दथ्यौँ । त्यसैले उहाँलाई अनुकूल हुने गरी पाल्पा केन्द्रित भएर काम गर्न तोकिएको थियो, वास्तवमा उहाँ त्यस बेला सिङ्गो लुम्बिनी अञ्चलको पार्टी कामका लागि अभिभावकका रूपमा हुनुहुन्थ्यो, यसैले पनि होला हामी सबै उहाँलाई माया र आदरका साथ ‘चाचा’ भनेर सम्बोधन गर्दथ्यौँ ।
भीमनारायण थारु त्यो समुदायबाट आउनुभएका स्थापित कार्यकर्ता हुनुहुन्थ्यो र उहाँले रूपन्देहीको जिम्मा लिनुभएको थियो । शान्ता ‘मानवी’ यस्तो एकजना महिला कार्यकर्ता हुनुहुन्थ्यो, जसको निजी जीवन अत्यन्त संघर्षशील थियो, धेरै किसिमका प्रतिकूलतामा पनि उहाँ पार्टी काममा टिकिरहनु भएको थियो, उहाँको जीवनीमा आधारित मोदनाथ प्रश्रितले लेख्नुभएको ‘नारी बन्धन र मुक्ति’ पढेर म औधी प्रभावित बनेको थिएँ । मलाई लाग्छ– त्यस बेला हजारौँ युवा–युवतीहरू उहाँको यही किताब पढेर प्रगतिशील विचार पक्षधर भएका थिए– कम्युनिष्ट बनेका थिए । शान्ता त्यस बेला मूलतः नवलपरासीमा केन्द्रित भए पनि आवश्यकताअनुसार अञ्चलको जुनसुकै ठाउँमा गएर पनि उहाँ संगठनको काममा जुट्नुहुन्थ्यो । हो, त्यस बेला मैले यही नेतृत्वदायी साथीहरूको पङ्क्तिमा मुख्य गरी भर परेर लुम्बिनीको कामलाई अगाडि बढाउने योजना बनाउनु परेको थियो ।
प्रत्येक जिल्लामा जिल्ला कमिटीहरू त थिए, तर पनि यिनै नेतृत्वका कमरेडहरू नै मेरा लागि मुख्य आधार बन्नुभएको थियो । आफ्नो घर परिवार छोडेर भूमिगत कार्यकर्ताका रूपमा हिँड्नु भएका भूमिश्वर ढकाल (रूपन्देही) र रामप्रसाद भट्टराई (पाल्पा–गुल्मी) जुन उत्साह र निष्ठाका साथ र सांगठनिक काममा उत्रनु भएको थियो, त्यसलाई अहिले पनि मैले बिर्सन सकेको छैन । अत्यन्त समर्पण भावका साथ गुल्मीको पार्टी काममा लाग्नु भएका कौशल पोखरेल साँच्चै, त्यस बेला दिगाम क्षेत्रमा पार्टी कामको आधार बन्नु भएको थियो ।
त्यस बेला हामीहरू पार्टी कामलाई अगाडि बढाउन, विस्तार गर्न र थप व्यवस्थित बनाउन विशेष योजनाका साथ लागेका थियौँ । भूमिगत ढाँचामा बनेका संगठन तथा त्यस अनुरूपको कार्यकर्ता पङ्क्तिमा भर परेर मात्र पार्टी काम विस्तार गर्न कठिनाइ भइरहेको कुरालाई विश्लेषण गर्दै खुला क्षेत्रमा रही जनताको बीचमा प्रतिष्ठा प्राप्त गरेका व्यक्तिहरूलाई समेत समेट्नु पर्ने, कामको जिम्मा दिनुपर्ने आवश्यकतालाई हामीले महसुस गरेका थियौँ । यसै उद्देश्यका साथ हामीले आफ्ना योजना र पहललाई अगाडि बढाउन चाहेका थियौँ । यही सिलसिलामा रूपन्देही (भैरहवा) मा जनताको बीचमा लोकप्रियता प्राप्त गर्नु भएका धनपति उपाध्याय हाम्रो आधार बन्नु भएको थियो, गोपीरमण उपाध्याय त यसै पनि वामपन्थी रङ्ग लागिसकेका, वामपन्थीकै रूपमा परिचित बौद्धिक व्यक्ति हुनुहुन्थ्यो नै । यति मात्र होइन, उहाँ त स्वयं भूमिगत ‘माले’सित भित्रभित्रै आबद्ध पनि भइसक्नुभएको थियो ।
रिद्धि प्याकुरेल आफ्नो सिंगो परिवारसहित सक्रिय भूमिका खेलिरहेको राम्रो साथी हुनुहुन्थ्यो । यसबहादुर थापा त भैरहवामा हाम्रो पार्टीको आधार नै हुनुहुन्थ्यो । … तेजप्रसाद कँडेल, ऋषिराम भुसाल र दिल साहनीहरू बौद्धिक व्यक्तिका रूपमा चिनिनुहुन्थ्यो । रामचन्द्र भट्टराई साहित्यिक–सांस्कृतिककर्मी तथा पत्रकारका रूपमा स्थापित हुनुहुन्थ्यो । उहाँले त्यस बेला ‘दैनिक निर्णय’ भन्ने पत्रिकाको सम्पादक भएर भूमिका खोलिरहनु भएको थियो । विद्रोही ‘मुक्ति मोर्चा’ समूह कोकेमा सम्मिलित भएपछि पुष्पलाल समूहमै सक्रिय तथा एक समय पूर्णकालीन भूमिगत कार्यकर्ताका रूपमा खट्नुभएकी राधा ज्ञवाली बुटवलमा एउटा निजी स्कुल सञ्चालकको आवरणमा रहनु भएको थियो ।

बुटवलका बाबुराम आचार्य हाम्रो लागि एउटा महत्त्वपूर्ण आधार हुनुहुन्थ्यो । निरङ्कुश पञ्चायती व्यवस्थाका प्रबल पक्षधर माइतीका मान्छेहरू भए पनि पार्टी काम र साथीहरूलाई सहृदयताका साथ सघाउने सीताजी हाम्रो लागि एउटा भरोसाको व्यक्ति हुनुहुन्थ्यो । पाल्पामा यो काम झपेन्द्र जि.सी., कुलप्रसाद नेपाल र दयाराज बस्यालहरूले गरिरहनुभएको थियो । नवलपरासीमा यो भूमिका ईश्वरी पाण्डे, चन्द्रमणि खराल र वृहस्पति अधिकारी गुल्मीमा भूमिगत ‘माले’ भनेर चिनिए पनि कमल श्रेष्ठले एक्लैजस्तो यो भूमिकामा अगुवाइ गरिरहनु भएको थियो । अर्घाखाँचीमा पीताम्बर भुसाल, पीताम्बर सारु, नेत्र बहादुर क्षेत्री, गुणनिधि भुसाल, मोती खनाल, गच्छे खोलाका नारायण खनाल, जनार्दन खनाल, जयप्रकाश ‘किसान’ र रामजी घिमिरे आदिहरूले यो फाँट सम्हालिरहनु भएको थियो ।
यो भूमिका पूरा गरिरहँदा त्यसबेला मोती खनाल र जनार्दन खनालले भोग्नुपरेको गिरफ्तारी र यातना वर्णन गरिनसक्ने खालको थियो ! त्यसबेला पञ्चायती प्रशासनले गिरफ्तार गरी चरमा यातना दिइएका मोती खनाल र जनार्दन खनालको यातनाका कारण थिलथिलो बनेको उहाँहरूको अनुहार अहिले पनि झलझली सम्झिरहेको छु । अहिले पनि जब जब जनार्दन कमरेडसित भेट हुन्छ, त्यसै बेलाका कुरा सम्झँदै उहाँप्रति आदर भाव जागेर आउँछ । त्यस बेलाको चरम दमनका बीच प्रतिरोधी मानसिकता बोकेका रामजी घिमिरेसित गरेका कुराकानीहरू अहिले पनि मेरो सम्झनामा ताजै छन् ।
यिनै साथीहरूलाई आधार मानी, मूलतः यिनै साथीहरूलाई नै केन्द्र गरेर हामीहरूले आफ्नो स्थितिलाई झन्झन् सुदृढ र फराकिलो पार्दै लगिरहेका थियौँ र यसको संगठित अभ्यास हामीले २०४३ सालको ‘जनपक्षीय’ उम्मेदवारी मार्फत गरेका थियौँ । निर्दलीय र निरङ्कुश पञ्चायती व्यवस्थाको समूल अन्त्यका लागि स्वयम् पञ्चायतले आयोजना गरेको निर्वाचनमा भाग लिने र त्यसकै भण्डाफोर गर्ने कामलाई एउटा अभियानको रूपमा हामीले चलाएका थियौँ । त्यस बेला जनपक्षीय हस्तक्षेप अभियानमा हामीले कुशलता देखाएका थियौँ र त्यसमा ठूलो सफलता पनि प्राप्त गरेका थियौँ । वास्तवमा यही अभियानमा त्यस बेलाको ‘माले’ पार्टीले आफूलाई राष्ट्रव्यापी सशक्त पार्टीका रूपमा उभ्याउन सफलता प्राप्त गरेको थियो । त्यस बेला भूमिगत ‘माले’ पार्टीका कार्यकर्ताहरूले यसको सफल प्रयोग गरेका थिए र लुम्बिनीमा पनि हामीले त्यसको सफल प्रयोग गरेका थियौँ । भूमिगत संगठन, भूमिगत रूपमा क्रियाशील सशक्त कार्यकर्ता पङ्क्ति तथा त्यसैको नेतृत्व र योजनामा परिचालित निरङ्कुश व्यवस्थाको विरोध र भण्डाफोर गर्ने अभियान ! कस्तो कुशल संयोजन थियो, त्यस बेला !
त्यो बेलाका लुम्बिनीका विद्यार्थी नेताहरू
यो अभियानको एउटा महत्त्वपूर्ण पाटो थियो– विद्यार्थीहरूको निरङ्कुश व्यवस्थाका पक्षधर गुन्डाहरू विरुद्धको लडाइँ । ती गुन्डाहरू ‘राष्ट्रव्यापी विद्यार्थी मण्डल’का रूपमा संगठित हुने गर्थे र तत्कालीन पुलिस–प्रशासनद्वारा संरक्षित हुने गर्दथे । अनि, तिनैका बलमा उनीहरू प्रजातन्त्र पक्षधरहरूमाथि हमला गर्थे । तिनीहरूलाई त्यस बेला ‘मण्डले’ भनेर चिनिन्थ्यो । त्यस बेला त्यस्ता ‘मण्डले’हरूको गढ मानिन्थ्यो, लुम्बिनीको रूपन्देही, खास गरी भैरहवा–बुटवल क्षेत्र ।
त्यस बेला मण्डलेहरू विरुद्धको लडाइँमा अग्रिम मोर्चामा रहनुभएका हाम्रो पार्टी पक्षधर अनेरास्ववियूका विद्यार्थी नेताहरूमा घनश्याम भुसाल, विजय पौडेल, बालकृष्ण चापागाईँ, कृष्ण पौडेल, कृष्ण न्यौपाने, शिवहरि अधिकारी, पुरुषोत्तम घिमिरे, बलबहादुर आचार्य, होमप्रसाद भुसाल, विष्णु घिमिरे (महिला), खेम लुइँटेल, सुरेन्द्र पोखरेल, दिलमाया विश्वकर्मा आदि हुनुहुन्थ्यो । गुल्मीमा बोमबहादुर खड्काले मण्डलेहरूसितको लडाइँमा धेरै पटक कुटाइ खानुपरेको थियो, तम्घासको माटोमा धेरै पटक रगतसमेत बगाउनु भएको थियो, उहाँले ।
बोमबहादुर जात–थरले खड्का हो, तर उहाँ आफूलाई ‘प्रदेज’ भन्नुहुन्थ्यो, त्यस बेला । मतलब, ‘प्रगतिशील, देशभक्त र जनवादी’ ! उहाँको समर्पण र निष्ठालाई नै व्यक्त गर्दथ्यो, यसले पनि । यी साथीहरूले मण्डले विरोधी लडाइँमा धेरै पटक कुटाई खानुपरेको थियो र गम्भीर घाइतेसमेत हुनुपरेको थियो । मण्डलेहरूबाट पटक पटक कुटाइ खाएर दाँत भाँचिएर सुन्निएको अनुहारसहित गम्भीरताका साथ कुरा गर्न आउनु भएका विजय पौडेल र कृष्ण पौडेललाई म अहिले पनि झलझली सम्झिरहेको छु ।
अहिले पनि कृष्ण पौडेललाई भेट्दा वा उहाँका भाँच्चिएका अगाडिका दाँत देख्दा त्यस बेलाका घटनाहरू मेरो मस्तिष्कमा नाच्न थाल्छन् । त्यस बेला मण्डलेहरूको संगठन एउटा फासिष्ट संगठनका रूपमा विद्यार्थीहरू र आम जनताको बीचमा चिनिँदै थियो । वास्तवमा, त्यस बेला लुम्बिनीका हाम्रा युवा साथीहरूले निरङ्कुश व्यवस्थाले योजनाबद्ध रूपमा हुर्काएका फासिष्ट तत्त्वसित बहुतै साहसका साथ मुकाबिला गरिरहनुभएको थियो ।
त्यो सम्मेलनमा मदन भण्डारीको उपस्थिति विशेष आकर्षणको विषय बनेको थियो । पार्टी भूमिगत नै भए पनि बिस्तारै बिस्तारै पार्टी पङ्क्तिभित्र उजागर हुँदै गरेको उहाँको व्यक्तित्वले सबैलाई आकर्षित गरिरहेको थियो, उहाँलाई नै केन्द्र गरेर पार्टीभित्र एक किसिमको आत्मविश्वास र भरोसाको भावना सञ्चार भइरहेको थियो ।
लुम्बिनीमा पुगेपछि मलाई थाहा भयो – काठमाडौं बाहिर बुटवल–भैरहवा नै यस्तो ठाउँ रहेछ, जहाँ प्रशस्त पत्र–पत्रिकाहरू प्रकाशित हुँदा रहेछन्, अझ वामपन्थी विचार भएका पत्रकार र पत्रिकाहरूको संख्या उल्लेखनीय रहेको कुरा त त्यहीँ पुगेपछि मात्र जानकारी पाएँ, मैले । हामीहरूले आफ्नो कामलाई विस्तार गर्ने र व्यवस्थित गर्ने सिलसिलामा ती सबै पत्र–पत्रिकाहरूलाई अधिकतम उपयोग गर्ने – प्रयोग गर्ने नीति र योजना बनाएर लाग्यौँ ।
भैरहवाबाट प्रकाशित हुने ‘दैनिक निर्णय’ होस्, ‘दैनिक लुम्बिनी’ होस्, वा ‘एक्सरे’ होस् वा पाल्पाबाट प्रकाशित हुने ‘सत्य’ साप्ताहिक होस् – यी सबैमा हामीहरूले कुनै न कुनै किसिमले आफ्नो प्रभाव, गतिविधि र पकडलाई योजनाबद्ध रूपमा अगाडि बढाउने प्रयत्न थालेका थियौँ । पार्टी पक्षधर केही साथीहरूले पुस्तक पसलहरू खोल्नुभएको थियो, ती पुस्तक पसलहरू हाम्रा लागि आफ्नो प्रभावबाट प्रकाशित भएका पुस्तक र पत्र–पत्रिकाहरू विक्री वितरण गर्ने महत्त्वपूर्ण ठाउँहरू मात्र थिएनन्, भूमिगत सम्पर्कका लागि खुला विन्दुहरू पनि थिए ।
बुटवलका कृष्ण पाण्डे र बालकृष्ण चापागाईँ तथा पाल्पाको तानसेनमा मीनप्रसाद गैरेहरूले यो काम गरिरहनुभएको थियो । विभिन्न साथीहरू, खास गरी विद्यार्थी क्षेत्रका साथीहरूलाई यस क्षेत्रको काममा हामीले किटानीका साथ जिम्मेवारी पनि तोकेका थियौँ । यस किसिमको कामले राम्रै परिणाम दिन थालेको थियो ।
लुम्बिनीमा पार्टी कामको जिम्मा लिएपछि त्यहाँका किसान जनताले चलाएका ऐतिहासिक संघर्षहरूबारे अध्ययन गर्ने, जाँच पडताल गर्ने, वर्तमान सन्दर्भमा शिक्षा र अनुभव लिने चाहनाले मलाई सार्है हुट्हुट्याइरहेको थियो । नेपालको कम्युनिष्ट आन्दोलनमा लुम्बिनी अञ्चल एउटा उर्वर भूमिको रूपमा रहेको कुरा त्यहाँ काम गर्न थालेपछि मात्र मलाई राम्ररी थाहा हुँदै गयो । जति–जति मैले लुम्बिनीबारे बुझ्दै गएँ, त्यति नै लुम्बिनीलाई बुझ्ने मेरो त्यो चाहना झन् झन् जागृत बन्दै गएको थियो ।
यस क्रममा मैले जीवराज आश्रित, मोदनाथ प्रश्रित, एकदेव आले, वामदेव गौतम, सिद्धिनाथ ज्ञवाली, देवेन्द्र घिमिरे, एकदेव ज्ञवाली, भीमनारायण थारु आदि स्थापित व्यक्तिहरूले निर्वाह गर्नुभएको भूमिका र योगदानलाई बुझ्ने मौका पाएँ । नेतृत्वदायी तहमा रहेका केशरमणि पोखरेलको विवादास्पद भूमिकाबारे पनि साथीहरूले बताउनु भएको थियो ।
बर्रे संघर्षका डोबहरू
तीसको दशकमा सिङ्गो अञ्चलमा कम्युनिष्ट पार्टीको (कमरेड पुष्पलालले नेतृत्व गरेको कम्युनिष्ट समूहको) नेतृत्वमा सञ्चालित किसानहरूको आन्दोलन; पछिल्लो समयमा सशस्त्र संघर्ष सञ्चालन गर्ने योजना अन्तर्गत भएको ‘बर्रे संघर्ष’; यस क्रममा भएको डरलाग्दो सरकारी दमन, गिरफ्तारी तथा त्यसको प्रतिरोध र ठूलो संख्यामा कार्यकर्ताहरूको पलायन आदि घटना–प्रसङ्गले लुम्बिनी अञ्चललाई नै कम्युनिष्ट पार्टीको ‘हट वेल्ट’का रूपमा चिनाएको थियो ।
‘बर्रे संघर्ष’ एउटा यस्तो संघर्ष थियो, जुन घटनामा सयौँको संख्यामा कार्यकर्ता तथा समर्थकहरूको गिरफ्तारी भएको थियो । (यसै प्रसंगमा गिरफ्तारीमा पर्नुभएका बेदुराम भुसाल, बुद्धिबहादुर रायमाझी, भेषराज ढुंगाना, रामचन्द्र पौडेल, हेमनाथ भुसाल र प्रभाकृष्ण पौडेल आदि साथीहरू लामो कारावासपछि रिहाइ हुने बित्तिकै भूमिगत ‘माले’ सितको सम्पर्कमा आएर पार्टी काममा जुटिसक्नु भएको थियो ।
उहाँहरूमध्ये प्रायः सबै साथीहरूले त्यस बेलासम्म नेतृत्व गरिरहेका केशरमणिको अवसरवादी–आत्मसमर्पणवादी अडान र चरित्रप्रति असहमति जनाउँदै उनलाई अस्वीकार गरिसक्नु भएको थियो । धेरैको जेलभित्रै ‘झापाली क्रान्तिकारीहरू’सित सम्पर्क भइसकेको थियो ।) यस क्रममा कम्युनिष्ट आन्दोलनमा नेता–कार्यकर्ताहरूको उल्लेखनीय पङ्क्ति समेत मैदानमा तयार हुन पुगेको थियो । प्रतिरोधी भावनाले भरिएका, कम्युनिष्ट चेतना र समर्पणले ठूलो संख्यामा कार्यकर्ताहरू मैदानमा निक्लिएका थिए । भूमिगत र पूर्णकालीन भएर जनतालाई संगठित गर्ने क्रममा यिनीहरू तयार भएका थिए । गिरफ्तारी, जेल, यातना मात्र होइन; पलायन र निष्ठाच्यूतहरूको पङ्क्ति समेत देखा परेको थियो, त्यस बेला ।

एउटा अनौठो तर सुखद संयोग – यी सबै ऐतिहासिक प्रसंगसित गाँसिएका धेरै व्यक्तिहरू जीवित नै हुनुहुन्थ्यो । त्यति मात्र होइन, राजनीतिक रूपमै उहाँहरूमध्ये धेरै सक्रिय नै हुनुहुन्थ्यो । अझ, मेरा लागि सुखद संयोग नै थियो– तीमध्ये कतिपय त हाम्रै पार्टीमा हुनुहुन्थ्यो, एउटै कमिटीमा समेत थियौँ । आन्दोलनको जीवित इतिहासका रूपमा रहनुभएका आदरणीय सिद्धिनाथ ज्ञवाली, आन्दोलनको खोज अनुसन्धान तथा समीक्षामा विशेष रुचि राख्ने देवेन्द्र घिमिरे, थारु समुदायबाट आसलाग्दो किसिमले विकसित हुनुभएका भीमनारायण थारु, लोकप्रियता, सहजता र सिर्जनाका धनी कमल श्रेष्ठ; गिरफ्तारी, यातना र लामो जेल जीवनको प्रतिकूलतामा पनि आस्थाको धरहरालाई झुक्न नदिने र सधैँ अध्ययन–चिन्तन–मननमा रुचि राख्नुहुने बेदुराम भुसाल; आफ्नो औपचारिक अध्ययनको सिलसिलामा कलेजमा प्रवेशसम्म नपाए पनि स्वअध्ययन, लेखन तथा संगठित प्रस्तुतिका हिसाबले लोभलाग्दो किसिमले हुर्किरहनुभएका प्रदीप ज्ञवाली; प्रतिकूलतामा पनि कम्युनिष्ट आन्दोलनमा लागेर जीवन बिताउन प्रतिबद्ध शान्ता मानवी, कम्युनिष्टका रूपमा चिनिएका गुणनिधि भुसाल; संघर्षशील र किसान जनताको बीचमा स्थापित पीताम्बर भुसाल र टंक पोखरेल आदि लगायतका थुप्रै साथीहरू संगठित रूपमा क्रियाशील रहेको मैले पाएको थिएँ । यी सबै साथीहरू आ–आफ्ना ठाउँमा स्थापित, क्रियाशील र यसैकारणले अगुवासमेत हुनुहुन्थ्यो ।
हाम्रो पार्टीमा बाहेक अन्य वाम समूहहरूमा पनि यस्तो ऐतिहासिक पृष्ठभूमि भएका साथीहरू हुनुहुन्थ्यो । ‘माले’ पार्टीमा त हुनुहुन्थेन, तर सबै वामपन्थीहरूको बीचमा र आमजनसमुदायको बीचमा पनि लोकप्रिय हुनुहुन्थ्यो – बी.आर. राई । उहाँलाई मैले प्रत्यक्ष भेट त गर्न पाएको थिइनँ, तर उहाँका बारेमा मैले धेरै राम्रा र अनुकरणीय कुराहरू सुन्ने गरेको थिएँ । केशव ज्ञवाली, हरि ज्ञवाली र मोहनलाल आचार्य त्यस बेला कमरेड मनमोहन अधिकारीले नेतृत्व गरेको नेपाल कम्युनिष्ट पार्टी (मार्क्सवादी)का त्यस क्षेत्रका स्थापित नेताहरूमा पर्नुहुन्थ्यो । उहाँहरूको प्रभाव र प्रतिष्ठा राम्रै थियो । हामी ‘माले’हरू त्यस बेला उहाँहरूलाई ‘संशोधनवादी’ कम्युनिष्टका रूपमा हेर्थ्यौँ । त्यस बेलाको हाम्रो दृष्टिकोणले यस्तै विश्लेषण गर्ने गरेको थियो । उग्र वामपन्थी अतिवादबाट हामी राम्ररी मुक्त नभइसकेका कारणले पनि हाम्रा कतिपय विश्लेषणहरू प्रभावित थिए – हेर्ने दृष्टिकोणमा समेत पनि यस्तै एकाङ्गीपन प्रकट हुने गरेको थियो ।
जसलाई बिर्सिँदा अन्याय हुन्छ
दलबहादुर राना, घनश्याम ज्ञवाली र यमनाथ पाठक–यी गाउँहरूका नेता मात्र नभएर सिंगो पूर्वी पाल्पा कै भूमिगत ‘माले’ पार्टीका उदीयमान नेताको रूपमा चिनिनुहुन्थ्यो । मैले लुम्बिनीमा पार्टी कामको जिम्मा लिएपछि चन्द्रगढी, झापामा रहेका जागरूक युवा भरत पोखरेल शिक्षकका रूपमा रही त्यस भेगलाई संगठित गर्ने काममा योगदान पुर्याउन आएपछि, धेरै लाभ पुगेको थियो । त्यस बेला भरतको राजनीतिक जागरूकता अत्यन्त उत्साहजनक थियो । यस्तै, भोजप्रसाद श्रेष्ठ स्थानीय तहमा स्थापित भइरहनु भएको थियो । यी गाउँमा यिनै साथीहरूको समीपमा मैले महत्त्वपूर्ण समय बिताएको छु ।
म अहिले पनि सम्झन्छु– यमनाथ, उहाँकी आमा र स–साना नानीहरूलाई । यमनाथ सार्है असल र समर्पित लाग्नुहुथ्यो, मलाई । माओवादीले सञ्चालन गरेको हिंसात्मक द्वन्द्वमा उहाँ सेनाको गोलीबाट मारिनु भएछ । सुनेँ, पछिल्लो कालमा माओवादीतिर लाग्नुभएको थियो रे ! उहाँ जता लागे पनि उहाँको हत्याको खबरले मेरो मनलाई विह्वल बनाएको थियो, त्यस बेला मलाई आफ्नो मन चिरिएजस्तो भएको थियो र मैले आमा, उहाँकी श्रीमती र स–साना नानीहरूलाई फेरि सम्झेको थिएँ । घनश्याम ज्ञवाली पनि माओवादी बनेका कारण मारिनु भएछ ! माओवादी हिंसाको अविवेकी अभियानले धेरै असल मानिसहरू मारिएको कुराले मेरो मनलाई छियाछिया पार्ने गरेको छ । अहिले यी तीन जनामा केवल दलबहादुर राना त्यस भेगको (नेकपा एमाले) को नेता भएर टिक्नुभएको छ ।
तानसेन पश्चिमका छहरा र अर्गली, उत्तरतिरका दर्लमडाँडा र रम्घा, सिद्धेश्वर, देउराली, कुसुम खोला आदि सुन्दर गाउँहरू बिसौँ वर्ष बितिसक्दा पनि मेरो मनमस्तिष्कबाट हट्न सकेका छैनन् र यिनीहरूसित गाँसिएका अविस्मरणीय प्रसंंग र सानिध्यतालाई मैले बिर्सन सकेको छैन । यी पाल्पाको सबै दृश्यसित सधैँ गाँसिएर आउनुहुन्छ–एकप्रसाद भण्डारी, झपेन्द्र जी.सी., दयाराज बस्याल र कुलप्रसाद नेपाल । अर्घाखाँची, मैले पार्टी काम गर्दाको मनले विशेष खाएका जिल्लाहरू मध्येको एउटा जिल्ला !
लुम्बिनीको पार्टी कामको प्रसंगमा गोपाल शाक्यको भूमिका र उहाँसित गाँसिएका प्रसङ्गको चर्चा नगर्दा अधूरो हुन्छ जस्तो लाग्छ मलाई । काठमाडौंको नेवार व्यापारी परिवारको छोरा गोपाल शुरुदेखि वामपन्थी राजनीतिबाट प्रभावित हुनुभयो । यस क्रममा ऐतिहासिक झापा संघर्षबाट प्रभावित हुनुभयो र यसैको पक्षमा गतिविधि गरेका कारण दश वर्षको लागि जेलसमेत पर्नुभयो । जेलमा त उहाँको झन् ‘झापाली क्रान्तिकारी’ बन्दीहरूसित प्रत्यक्ष सम्पर्क–सम्बन्ध हुन पुग्यो ।
चार वर्षको अवधिमा मैले यो जिल्लालाई सयौँ पटक पूर्व–पश्चिम, उत्तर–दक्षिण हिँड्दै छिचोलेको छु । पाल्पाको पश्चिममा पर्ने छहराबाट खिदिम–हर्रा बोट हुँदै पाली, ढिकुरा–किमडाँडा–धनचौर हुँदै पश्चिम लागेर झिम्रुक नदी तरेको छु । अर्घाखाँचीमा धनचौर हाम्रो त्यस्तो आधार गाउँ थियो, जहाँ पीताम्बर भुसालले स्थापित नेताका रूपमा भूमिका खेलिरहनु भएको थियो । पीताम्बर जीको र पार्टीको पनि राम्रो प्रभाव भएका कारण भूमिगत ‘माले’ पार्टीको चौथो राष्ट्रिय महाधिवेशन गर्ने एउटा सम्भावित ठाउँका रूपमा भएको जाँच पडतालसमेत हामीले गरेका थियौँ ।
माधव कुमार नेपाल र जीवराज आश्रितसहित मैले कार्यक्रमका लागि त्यो गाउँको सम्भावनाबारे राम्ररी जाँच पडताल गरेको थिएँ । तर पछि सबै प्रतिनिधिहरूलाई त्यहाँ सुरक्षित पुर्याउन जोखिमपूर्ण हुने विश्लेषणका आधारमा त्यो ठाउँमा महाधिवेशन हुन नसक्ने भनेर हामी निष्कर्षमा पुगेका थियौँ । पछि त्यही कार्यक्रम हामीले सिरहामा गर्यौँ । दक्षिण खाँची लाग्नुपर्दा सीतापुर हाम्रो महत्त्वपूर्ण आधार गाउँ थियो । नेत्र बहादुर क्षेत्रीलाई केन्द्र गरी हामी त्यस क्षेत्रमा आफ्ना गतिविधिहरू गर्ने गर्दथ्यौँ । खन, खनदह र हंसपुर सदरमुकाम उत्तरका हाम्रा महत्त्वपूर्ण आधार थिए ।
अहिलेको सदरमुकाम सन्धिखर्क त्यस बेला ढिकुरा, किमडाँडा र अर्घा गाउँहरूमा बाँडिएको थियो भन्दा हुन्छ । त्यस बेला पनि सदरमुकाम रहेको चुत्राबेसी–सन्धीखर्कले हामीलाई राम्रो आधार दिएको थियो । त्यहाँ गुणनिधि भुसाल हाम्रा लागि मुख्य आधार हुनुहुन्थ्यो । गुल्मीका प्रायः धेरै गाउँहरू कम्युनिष्ट राजनीतिबाट प्रभावित थिए, रिडीको नामबाट बहु परिचित रुरु गाविसमा पर्ने भडकुवा गाउँ पुरानो आधार गाउँका रूपमा स्थापित थियो । युवराज ज्ञवालीले आफ्नो राजनीतिक जीवनको महत्त्वपूर्ण समय त्यहीँ बिताउनु भएको र उहाँले गरेका कामका प्रभाव र असर भडकुवामा र त्यसका वरपर मात्र होइन, जिल्लाभरि नै देख्न सकिन्थ्यो ।
त्यसो त लुम्बिनीमा कम्युनिष्ट पार्टीको राजनीतिक–सांगठनिक काममा विगतदेखि धेरै नेता–कार्यकर्ताहरूले भूमिका खेल्नु भएको छ – योगदान गर्नुभएको छ । एक समय कमरेड पुष्पलालले नेतृत्व गरेको कम्युनिष्ट समूहका नेता–कार्यकर्ताहरूले नेतृत्व गरेको, एकछत्र त्यसैको प्रभावमा रहेको लुम्बिनी, पछिल्लो कालमा विद्रोही ‘मुक्ति मोर्चा’ समूह हुँदै ‘माले’को प्रभावमा पुगेको थियो । ‘माले’ भएपछि त्यहाँ प्रदीप नेपाल, जीवराज आश्रित, मोदनाथ प्रश्रित, गोपाल शाक्य, डिबी सिंहहरूले नेतृत्व गर्नु भएको थियो । पछिल्लो समयमा प्रदीप नेपालपछि म पुगेको थिएँ म सम्भवतः लगातार लामो समयसम्म बस्ने सचिव थिएँ, त्यहाँ । …
गोपाल शाक्यका दुर्दिन र कार्यकर्ताको आँसु
लुम्बिनीको पार्टी कामको प्रसंगमा गोपाल शाक्यको भूमिका र उहाँसित गाँसिएका प्रसङ्गको चर्चा नगर्दा अधूरो हुन्छ जस्तो लाग्छ मलाई । काठमाडौंको नेवार व्यापारी परिवारको छोरा गोपाल शुरुदेखि वामपन्थी राजनीतिबाट प्रभावित हुनुभयो । यस क्रममा ऐतिहासिक झापा संघर्षबाट प्रभावित हुनुभयो र यसैको पक्षमा गतिविधि गरेका कारण दश वर्षको लागि जेलसमेत पर्नुभयो । जेलमा त उहाँको झन् ‘झापाली क्रान्तिकारी’ बन्दीहरूसित प्रत्यक्ष सम्पर्क–सम्बन्ध हुन पुग्यो । उहाँ झापाली क्रान्तिकारीहरूका त्यस बेलाका अगुवा सीपी मैनालीसहित नख्खु जेलबाट सुरूङ्ग खनी निस्कन सफल हुनुभयो । सुरूङ्गबाट भाग्नेहरूमध्ये केही साथीहरू गिरफ्तार हुनुभयो । तर गोपाल शत्रुका आँखा छल्दै भारतको आसाम पुग्नुभयो, त्यहीँबाट नेपालमा रहेका क्रान्तिकारीहरूको केन्द्र ‘कोकेन्द्र’ सित सम्पर्कमा आउनुभयो र सल्लाह अनुसार नै लुम्बिनीमा पुगेर भूमिगत काममा जुट्नुभयो ।
उहाँले २०३४ साल साउनमा भारतको नौतनवाबाट लुम्बिनी प्रवेश गर्नुभएको थियो र त्यही सालको फागुनमा नवगठित कोके अन्तर्गत नवलपरासीको सचिव बनेर काम सम्हाल्न थाल्नुभएको थियो । त्यसपछि उहाँ ‘पश्चिम–दक्षिण क्षेत्र’ नामकरण गरिएको ‘लुम्बिनी’को सदस्य समेत हुनुभयो । यहीँबाट उहाँले २०३५ साउनमा सम्पन्न ‘कोके’ को ‘तेस्रो सम्मेलन’मा सहभागी हुनुभयो । जीवराज आश्रितपछि मोदनाथ प्रश्रितलाई त्यस क्षेत्रको सचिव बनाएपछि गोपाल त्यहाँको उपसचिव बन्नुभयो । २०३७ को जेठ महिनामा मोदनाथ प्रश्रित गिरफ्तार भएपछि गोपाल सचिव बन्नुभयो । गोपाल शाक्यको एउटा स्वभाव के थियो भने उहाँ गतिविधिहरूमा जति सक्रिय हुनुहुन्थ्यो – विकसित परिस्थितिअनुसार चिन्तन–मननमा पनि त्यत्तिकै अगाडि हुनुहुन्थ्यो ।
शीतयुद्धले ढल्दो स्थितिसँगै अन्तर्राष्ट्रिय कम्युनिष्ट तथा समाजवादी आन्दोलनसित गाँसिएर उठेका थुप्रै प्रश्नहरूले उहाँको चिन्तनशील मनस्थितिलाई हल्लाइदिएको थियो । त्यसै प्रसंंगमा ‘माओत्सेतुङ्ग विचारधारालाई मार्गदर्शक सिद्धान्त मान्न नहुने’ र ‘सोभियत संघलाई कमजोरीहरूका बाबजुद समाजवादी मुलुक स्वीकार गर्नुपर्ने’ भन्ने विषयमा गोपालले बहस चलाउन थाल्नु भयो । गोपालले जतिसुकै जबर्जस्त रूपमा कुरा उठाए पनि त्यति बेलाको ‘माले’ पार्टीले त्यसलाई सुन्ने–स्वीकार गर्न सक्ने स्थिति नै थिएन ।
स्थिति कस्तो बन्यो भने एकातिर गोपाल शाक्य आफ्ना विचारमा जबरजस्त रूपमा दृढ बनिरहनु भएको थियो भने अर्कोतर्फ ‘माले’ पार्टीको नेतृत्व पनि उहाँमा देखा परेको त्यो ‘विचलन’का विरुद्धमा कडा रूपमा प्रस्तुत हुने ‘मुड’मा थियो । परिणाम के भयो भने – २०३८ सालमा उहाँले (१४ बुँदे) फरक मतको लिखित दस्ताबेज पार्टीमा बुझाउनु भयो भने २०३९ साल चैतमा उहाँलाई पार्टीबाट हटाउने निर्णय गरियो । उहाँलाई पार्टीबाट हटाउने क्रममा त्यस बेला ‘माले’ पार्टीका महासचिव सीपी मैनालीले पार्टीका मान्यता ‘अटल, अचल र अविचारणीय’ भनी गोपाल शाक्यका विचारहरूलाई पूर्ण रूपले अस्वीकार गरिएको जानकारी गराउनु भएको थियो ।
पार्टी सदस्यबाट निष्कासन गरिएपछि गोपाल शाक्यका दुर्दिनहरू सुरु भए । पार्टीबाट उहाँलाई कहीँ कतै खान–बस्नसमेत नदिन आदेश गरियो । गोपालको प्रभावमा रहेका कार्यकर्ताहरूले रुँदै पार्टीको त्यो निर्देशनको पालना गरे । यहाँसम्म कि सुकुमबासी बस्तीमा जनतन जीवन धान्न पुग्नु भएका गोपालजीका ससुरालाई रूपन्देहीको खैरेनीबाट उठीबास लगाइयो ! … त्यसपछि गोपाल एक किसिमले बिल्लीबाठ हुँदै भारत प्रवास र आफ्नो सम्पर्कमा रहेका विभिन्न जिल्लाका कार्यकर्ताहरूसित भेटघाटमा लाग्नु भयो ।
जेल तोडेर भागेको खतरनाक क्रान्तिकारीको यो के हालत भयो होला ! तर ‘वामपन्थी एकता सम्मेलन मञ्च’ गठन गर्दै गोपाल अगाडि बढिरहनु भयो । त्यो बीचमा कम्युनिष्ट आन्दोलनबाट पलायन हुनुभएन, खाली आफ्नो पार्टीले लिएका उग्र वामपन्थी अतिवादी विचारप्रति कडा असहमति भने राख्न पछि पर्नुभएन । गोपालीजीको यो विचार, आचरण र गतिविधिले ‘माले’ पार्टीभित्र समेत केही बहस सिर्जना गरिदिएको थियो । त्यसै क्रममा मैले लुम्बिनीमा २०४४ सालको दसैँको बेला गोपालजीलाई भेटेको थिएँ, हामीले सँगै बसेर केही कुराहरू गरेका थियौँ । …
गोपालजीले उठाउनु भएका विषयलाई लिएर पार्टीभित्रैको बहस पनि गहिरिन थाल्यो । उहाँमा कम्युनिष्ट आन्दोलन र विचारप्रति कायम रहेको निष्ठा, कायम राख्नु भएको राजनीतिक चरित्र र क्रियाशीलतालाई हेर्दै उहाँलाई पार्टीमा ल्याउनु पर्ने माग र दबाब बढ्दै गयो । पार्टी स्वयं पनि गोपालले उठाउनु भएका विषयमा औपचारिक छलफल गर्न तत्पर भयो । (केही समयपछि त हामीले औपचारिक रूपमै माओत्सेतुङ्ग विचारधारालाई मार्गदर्शक सिद्धान्तबाट हटाउने र सोभियत संघलाई केही कमजोरी सहितको समाजवादी मुलुक हो भन्ने निष्कर्ष निकालेका थियौँ ।) यस क्रममा माधव कुमार नेपाल र म सहितको दुई सदस्यीय आयोग गठन गरियो – त्यही आयोगले छानबिन गरी पार्टीमा बुझाएको प्रतिवेदनका आधारमा गोपालजी ‘माले’ पार्टीमा पुनः स्थापित हुनुभयो । २०४६ सालको चौथो राष्ट्रिय महाधिवेशनमा उहाँ प्रतिनिधि बनाइनु भयो र केन्द्रीय कमिटीमा समेत चुनिनुभयो ।
कमरेड गोपाल शाक्य, हाम्रो पार्टीमा एउटा यस्तो दृष्टान्त हुनुहुन्छ, जसले विचारको बहसमा आफूलाई सधैँ दृढ राख्नुभयो र पार्टीमा पुनः स्थापित समेत हुनुभयो । यो संघर्षका बीचमा थुप्रै टिका–टिप्पणी, खतरा र अपमानसमेत उहाँले सहनु पर्यो । सिङ्गो परिवारले समेत यही नियती झेल्नुपर्यो । लुम्बिनीको पार्टी कामसित मात्र होइन, नेकपा (एमाले)को पार्टी जीवनमा गोपाल शाक्यप्रति यही पृष्ठभूमिका कारणले मेरो सधैँ आदर भाव रहिरहेको छ । जहिले पनि मलाई उहाँप्रति सम्मान भाव व्यक्त गरिरहूँ जस्तो लाग्छ ।
मदन आश्रित र केपी ओलीको प्रसंग
लुम्बिनीबाट जब मैले उपत्यकामा आउनुपर्ने भयो, त्यस बेला अञ्चल स्तरीय सम्मेलनको आयोजना गरिएको थियो र त्यो सम्मेलन त्यही मदन पोखरा र त्यहीँ केशवजीकै घरमा आयोजना गरिएको थियो । त्यो सम्मेलन भूमिगत “माले” पार्टीले आफ्नो चौथो महाधिवेशन आयोजना गरेको लगत्तै आयोजना गरिएको थियो । मदन भण्डारी त्यही चौथो राष्ट्रिय महाधिवेशनबाट पार्टीको महासचिवमा चुनिनु भएको थियो । लुम्बिनीको उक्त सम्मेलनमा मदन भण्डारी नवनिर्वाचित महासचिवको हैसियतले उपस्थित हुनुभएको थियो, जीवराज ‘आश्रित’ संगठन विभाग प्रमुख तथा वरिष्ठ नेताका रूपमा केपी शर्मा ओली मपछि लुम्बिनीको जिम्मेवारी लिने सचिव (वा इन्चार्ज) का रूपमा उपस्थित हुनुहुन्थ्यो ।
त्यो सम्मेलनमा मदन भण्डारीको उपस्थिति विशेष आकर्षणको विषय बनेको थियो । पार्टी भूमिगत नै भए पनि बिस्तारै बिस्तारै पार्टी पङ्क्तिभित्र उजागर हुँदै गरेको उहाँको व्यक्तित्वले सबैलाई आकर्षित गरिरहेको थियो, उहाँलाई नै केन्द्र गरेर पार्टीभित्र एक किसिमको आत्मविश्वास र भरोसाको भावना सञ्चार भइरहेको थियो । उहाँको सारपूर्ण, आकर्षक र सुसङ्गठित प्रस्तुतिका कारण सिङ्गो पार्टी पङ्क्तिले नयाँ स्तरमा आत्मविश्वास प्राप्त गरिरहेको थियो । यस्तो अवस्थामा मदन भण्डारीको उपस्थितिले सिङ्गो कार्यक्रमकै महिमा, महत्त्व र गरिमालाई बढाएको थियो । … कार्यक्रममा उहाँले प्रमुख अतिथिका हैसियतले अत्यन्त सारपूर्ण मन्तव्य दिनुभएको थियो ।
भरखरै सम्पन्न भएको चौथो राष्ट्रिय महाधिवेशनले पारित गरेका विचार, त्यसले निकालेका निष्कर्षहरूलाई उहाँले बडो सजीव किसिमले प्रस्तुत गर्नुभएको थियो । खास गरी पञ्चायती निरंकुशताका विरुद्धमा सम्भव सबै शक्तिहरूसित संयुक्त भएर अगाडि बढ्नुपर्ने अपरिहार्यता र यसका लागि पार्टीले लिँदै आएका कतिपय नीतिहरूमा समेत परिवर्तन गर्नुपर्ने – आवश्यकताबारे विशेष जोड दिनु भएको थियो । वृहत् राजनीतिक संयुक्त मोर्चाको बारेमा वहाँले उल्लेख गर्नुभएको थियो । यसका लागि वृहत् तयारीमा लाग्नुपर्ने– पार्टी पङ्क्ति त्यसको लागि स्पष्ट बन्दै परिचालित हुनुपर्ने कुरा राख्नु भएको थियो । यस्तै, आश्रित कमरेडहरूले नयाँ अवस्थामा संगठन निर्माण र परिचालनको बारेमा भनाइहरू राख्नुभएको थियो । अन्तिममा के.पी. शर्मा ओलीलाई औपचारिक रूपमा सचिवको जिम्मेवारी हस्तान्तरण समेत गरिएको थियो ।

…..सम्मेलनको समापन लगत्तै म आफ्नै नयाँ कार्यक्षेत्र– ‘काठमाडौं उपत्यका’का लागि हिँड्नुपर्ने मेरो योजना थियो । हिँड्ने बेलामा लुम्बिनीका अगुवा साथीहरूसित बिदा भएको थिएँ, पाल्पा खास गरी मदन पोखराका साथीहरूसित भारी मनका साथ बिदा लिएको थिएँ, केशवजीको परिवारसित बिदा हुँदा खास गरी आमासित बिदा हुने बेला त मैले आफ्ना गहका आँसुलाई रोक्नसमेत ज्यादै मुस्किल परेको थियो । उपत्यकामा हिँड्ने एक दिन अघि, दिनभरि बुटवल मिलन चोकको कोठामा बसेर ‘क्षेत्रीय कमिटी’ का साथीहरूसित समीक्षा गरेका थियौँ, आलोचना–आत्मालोचना गरेका थियौँ । सबै साथीहरूले खुला खुलस्त हिसाबले कुराहरू राख्नुभएको थियो, कमरेड देवेन्द्र घिमिरेले राख्नुभएका खराखरी कुराहरूलाई त अहिले पनि मैले बिर्सन सकेको छैन ।
… सुख्खा नगरका ढालबहादुर ‘दाइ’ मेरा लागि त्यस्ता आदरणीय ‘दाइ’ हुनुहुन्थ्यो, जसको घरलाई पनि मैले आफ्नो विशेष बस्ने ठाउँ बनाएको थिएँ । केही समय त त्यो घरलाई सानोतिनो ‘हेडक्वार्टर’ नै बनाएको थिएँ, मेरा कतिपय महत्त्वपूर्ण ‘डकुमेन्ट’हरू र अन्य केही सामाग्रीहरू समेत त्यहाँ राख्ने गरेको थिएँ । बुटवल पुगेको बेला उहाँको घरमा रहेको कोठामा पुग्दा सहृदयताका साथ सन्चो–बिसन्चोबारे सोधपुछ गर्ने मात्र होइन, आफै अगाडि बसेर खाना–खाजासमेत खुवाउनु हुन्थ्यो । मैले लुम्बिनी रहँदाको अन्तिम समयतिर ढालबहादुरजीबाट पाएको सद्भाव र सहयोगप्रति आभार व्यक्त गर्न म उहाँकोमा पुगेको थिएँ । बिदा हुने बेलामा उहाँले विशेष आत्मीयता देखाउनु भएको थियो ।
…लुम्बिनीमा म २०४२ कात्तिकमा पुगेको थिएँ । लगातार चार वर्ष पार्टी कामको सिलसिलामा त्यहाँ बिताउँदा बेलाबेलामा काठमाडौंमा ‘पार्टीको हेडक्वार्टर’मा पुगे – बैठकका कार्यक्रमहरूमा गएँ, नभए प्रायः सबै समय मैले त्यहीँ नै बिताएँ । काठमाडौं आउँदा मिरासित कहिलेकाहीँ भेट हुन्थ्यो, उनी काखको छोरा लिएर काभ्रेको ठूला पर्सेलबाट आएकी हुन्थिन् । ठूलो छोरा सिर्जन २०४२ साल कात्तिक ७ गते जन्मेको थियो । ऊ जन्मेको केही समयपछि नै म मिरालाई छोडेर लुम्बिनी पुगेको थिएँ । लुम्बिनीमा पुगेपछि मैले पार्टी च्यानलबाट मिराको पत्र पाएको थिएँ – उनी काखको छोरा लिएर ठूला पर्सेलको पञ्चकन्या मा.वि.मा पठाउन गएकी थिइन् । त्यसै बेला त मलाई खासै केही लागेको थिएन ।
तर, पछि पछि त्यस बेलाको मेरो अव्यवहारिक र अविवेकी रवैयाका कारण आफूलाई ग्लानि भइरह्यो । अहिले पनि सम्झँदा त्यस्तै अनुभूति हुन्छ । म त्यस्तो परिवारसित बेखबर भएर पार्टी कामका लागि लुम्बिनी पुगेपछि त्यस बेला सुदूर–पश्चिम क्षेत्रको जिम्मा लिनु भएका वामदेव गौतमले भेटमा मलाई व्यवहारिक हुन सम्झाउनु भएको थियो । त्यस बेला मभन्दा लामो पारिवारिक–निजी अनुभवमा खारिनु भएका वामदेव गौतमले भन्नुभएका कुरालाई मैले त्यति ध्यान दिइनँ । तर अहिले लाग्छ – कमरेड वामदेव गौतमले मलाई आफ्ना समृद्ध अनुभवको उचाइमा उभिएर ‘कमरेडली’ सल्लाह दिइरहनु भएको थियो शायद !
त्यसै दिन ‘नाइट बस’ चढेर म काठमाडौं हिँडेको थिएँ, रातभरि झिमिक्कै नगरी मैले बाटो काटेको थिएँ र बाटोभरि लुम्बिनीमा काम गर्दाका घटना–प्रसंगहरू दिमागभरि नाचिरहेका थिए……!









































































