Tag: झाडापखाला

  • झाडापखालाबाट तुलसीपुरमा एक बालकको मृत्यु, चार बिरामी

    दाङ । झाडापखालाबाट तुलसीपुरमा एक बालकको मृत्यु भएको छ भने चार जना बिरामी परेका छन् । मृत्यु हुनेमा उपमहानगरपालिका–११ उरहरि निवासी तिलक पुनका साढे दुई वर्षका छोरा अनमोल पुन रहेको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरका इमर्जेन्सी इन्चार्ज धनबहादुर केसीले जानकारी दिए । अनमोललाई उपचारका लागि मङ्गलबार अस्पतालमा ल्याउँदै गर्दा बाटोमा नै मृत्यु भएको हो ।

    त्यसैगरी ५० वर्षीय वुद्धिराम पुन, ४० वर्षीया गौरी पुन, ५८ वर्षीया कलसिङ पुन र मीना पुन बिरामी हुनुभएको र उनीहरूको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको इमर्जेन्सी इन्चार्ज केसीले जानकारी दिए । उनका अनुसार चार बिरामीमध्ये बुद्धिरामको अवस्था गम्भीर रहेको छ ।

    बिरामीमा झाडापखाला लाग्ने, बान्ता हुने लक्षण देखापरेको अस्पतालले बताएको छ । बिरामी सबै एकाघरका भएको इन्चार्ज केसीले बताउनुभयो । बिरामी उपचारका लागि ढिला गरी हिजो बेलुका मात्र अस्पतालमा आएको बताइएको छ । गर्मीयाम सुरु भएयता अस्पतालमा झाडापखालाका बिरामी उपचारका लागि आउने क्रम बढेको बताइएको छ ।

  • कपिलवस्तुमा असोजदेखि फैलिएको झाडापखाला अझै नियन्त्रणमा आएन

    कपिलवस्तुमा असोजदेखि फैलिएको झाडापखाला अझै नियन्त्रणमा आएन

    रुपन्देही । कपिलवस्तुको कृष्णनगरमा गत असोज १८ गतेबाट फैलिएको झाडापखाला अझै नियन्त्रणमा आएको छैन । महिना दिनसम्म पनि झाडापखाला नियन्त्रणमा नआएपछि थप जोखिम हुन नदिन विश्व स्वास्थ्य संगठनले साढे दुई लाखभन्दा बढी डोज खोप सहयोग गर्ने भएको छ ।

    स्वास्थ्य कार्यालय कपिलवस्तुका प्रमुख हेमराज पाण्डेका अनुसार आगामी दिनमा थप जोखिम हुन नदिन दुई लाख ५२ हजार तीन सय ६३ डोज खोप दिन लागेको हो । विश्व स्वास्थ्य संगठनले खोप दिने निर्णय गरिसकेको र खोप आउनासाथ कार्यक्रम लागू गरिने स्वास्थ्य कार्यालय कपिलवस्तुले जनाएको छ ।

    कृष्णनगर नगरपालिका–९ बाट सुरु भएको झाडापखाला शिवराज नगरपालिका, विजयनगर गाउँपालिका र यशोधरा गाउँपालिकाका नागरिकमा समेत लक्षण देखा परी अस्पतालमा हाल पनि दैनिक १० जनाका दरले विरामी भर्ना भएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।

    असोजमा देखिएको झाडापखाला प्रयोगशालामा परीक्षण गर्दा केही बिरामीहरूमा हैजा भएको प्रमाणित भएको थियो । अहिलेसम्म जिल्ला स्वास्थ्य कार्यालयको तथ्यांकअनुसार शिवराज अस्पताल बहादुरगञ्जमा एक हजार ३ सय ३२, वैदौली अस्पतालमा ६१ र शिवराज आधारभूत अस्पतालमा ६ जना उपचारको लागि भर्ना भएका थिए । अहिलेसम्म जिल्लामा ६ जनाको झाडा पखालाकै कारण मृत्यु भइसकेको छ ।

    पहिलो चरणमा पाँच स्थानीय तहका नागरिकलाई खोप दिने तयारी छ । खोपसँगै नागरिकले पनि सफा पानी पिउने, सावुनपानीले हात धुनेलगायत सरसफाइमा विशेष ध्यान दिएमा मात्र झाडापखाला नियन्त्रण हुने स्वास्थ्यकर्मीको भनाइ छ ।

    कृष्णनगरबाट शुरु भएको झाडा पखाला अरु पालिकामा पनि पुगेकाले प्रदेश सरकारले नियन्त्रणको लागि सजगता अपनाएको र सचेतना तथा थप जनशक्तिका लागि तयारी गरेको लुम्बिनी प्रदेशका स्वास्थ्य, जनसंख्या परिवार कल्याण मन्त्री इन्द्रजित चौधरीले बताए ।

  • कृष्णनगरमा घटेनन् झाडापखालाका बिरामी

    कृष्णनगरमा घटेनन् झाडापखालाका बिरामी

    रुपन्देही । सोमबार रातिदेखि कपिलवस्तुको कृष्णनगरमा फैलिएको झाडापखालाका कारण अस्पताल आउने बिरामीको संख्या झन बढेको छ ।

    स्वास्थ्य कार्यालय कपिलवस्तुले बुधबार दिउँसोसम्म २ सय ५० जना बिरामी अस्पताल आएको जनाएको छ । हेल्थ असिष्टेन्ट उमेश घिमिरेले हिजो दिउँसोसम्म अस्पताल र स्थानीय क्लिनिकमा करिब २ सय बिरामी उपचारका लागि आएकोमा रातिदेखि आज बिहानसम्म ५० जना बिरामी थपिएको बताए ।

    जिल्ला स्वास्थ्य कार्यालय कपिलवस्तुका प्रमुख हेमराज पाण्डेले प्रभावित क्षेत्रमा स्वास्थ्यकर्मीको टोली परिचालन जानकारी दिए । बिरामी सबैलाई शिवराज अस्पताल बहादुरगञ्जमा भर्ना गर्न नसकिएपछि बुटवल र तौलिहवा रेफर गरिएको छ । अस्पतालमा बिरामीहरूको चाप थेग्न नसकेपछि गाउँका निजी क्लिनिक, अस्पतालका गल्ली र बरण्डा र विद्यालयका चौरमा राखेर समेत उपचार गरिएको पाण्डेले बताए ।

    शुरूमा कृष्णनगरको वडा नम्बर ७, ८ र ९ मा झाडापखालाका बिरामी भेटिएको भए पनि गएरातिदेखि महाराजगंजका केही वडाबाट पनि बिरामी आएको शिवराज अस्पतालले जनाएको छ ।

    वडा नम्बर ९ का अध्यक्ष राममिलन कुर्मीका अनुसार झाडापखालबाट हालसम्म ५ वर्षका राज कश्यप, ४० वर्षका रामप्रसाद केवटको मृत्यु भएको छ ।
    कृष्णनगरको सुखरामपुर, जमुनी, देवानगडिया, बहादुरगञ्ज, गणेशपुर, डावरा दयानगर, विजयनगर, जुमिला लगायतका गाउंमा सोमबारदेखि झाडापखाला र बान्ताका बिरामी देखिएका थिए ।

    गाउँभर झाडापखाला फैलिएपछि लुम्बिनी प्रदेश स्वास्थ्य मन्त्रालयको टोली स्थलगत अध्ययनमा पठाइएको छ । बिरामीको दिसाको नमूना संकलन गरेपनि रिपोर्ट नआइपुगेको स्वास्थ्यकर्मीले बताएका छन् । यद्यपी दूषित पानी र सरसफाइको अभावका कारण हैजा फैलिएको हुनसक्ने उनीहरूको प्रारम्भिक अनुमान छ ।

  • कपिलवस्तुको कृष्णनगरमा झाडापखालाबाट दुई सयभन्दा बढी बिरामी, दुईजनाको मृत्यु

    कपिलवस्तुको कृष्णनगरमा झाडापखालाबाट दुई सयभन्दा बढी बिरामी, दुईजनाको मृत्यु

    रूपन्देही । कपिलवस्तुको कृष्णनगर नगरपालिकामा झाडापखालाको प्रकोप फैलिएको छ ।

    जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख हेमराज पाण्डेका अनुसार वडा नम्बर ७, ८, ९ मा गएरातिदेखि बान्ता र झाडापखालाका बिरामीको संख्या ह्वातै बढेको हो । स्थानीय शिवराज अस्पताल बहादुरगगञ्जमा गएरातिदेखि उपचार गराउन आउनेको संख्या बढेको डाक्टर मुकेश चौधरीले बताए । अहिले ५२ जना उपचाररत छन् भने ७ जनालाई थप उपचारका लागि बाहिर पठाइएको छ ।

    बहादुरगञ्ज , सुखरामपुर , देवानगढिया , जमुनी , दयानगर, विजयनगर ,जुमिला, डबरालगायतका गाउँमा झाडा पखाला र बान्ताका बिरामी निरन्तर बढेको अस्पतालले जनाएको छ ।

    झाडावान्ताका कारण कृष्णनगर-९ का ५ वर्षीय राज काश्यप र कृष्णनगर ८ का ४० वर्षीय राप्रसाद केवटको स्थानीय क्लिनिकमा उपचारका क्रममा मृत्यु भएको स्थानीय पत्रकार माधव बेल्वासेले जानकारी दिए ।

    स्थानीय क्लिनिकमा बिरामीको चाप रहेको स्वास्थ्य शाखाले जनाएको छ । अहिलेसम्म विभिन्न गाउँका दुई सयभन्दा बढी मानिसहरू बिरामी परेका छन् ।

    दूषित पानी र सरसफाइ अभावका कारण झाडापखालाका बिरामी बढेको स्वास्थ्यकर्मीले बताएका छन् । स्थानीयहरूले दूषित पानीमा माछा मार्ने र त्यत्तिकै खाँदा बिरामी बढेको हुनसक्ने स्वास्थ्य कार्यालय प्रमुख पाण्डेले बताए ।

  • झाडापखालाबाट दिदीबहिनीको निधन

    दाङ । झाडापखालाबाट एकै घरका दिदीबहिनीको मृत्यु भएको छ ।

    शनिबार बेलुका स्थानीय खोलाबाट ल्याएको माछा पकाएर खाएपछि झाडापखाला लागेका राजपुर गाउँपालिका–६ का प्रेम बुढाका ११ वर्षीया रीता बुढा र १३ वर्षीया विनिता बुढाको निधन भएको हो ।

    दिदी विनिताको आइतबार बिहान २ बजेतिर र बहिनी रीताको बिहान ६ बजेतिर निधन भएको इलाका प्रहरी कार्यालय गढवाका प्रहरी निरीक्षक राजकुमार भट्टले जानकारी दिए।

    उपचारका क्रममा निधन भएका उनीहरुको शव परीक्षणका लागि लमही अस्पतालमा राखिएको छ ।