Tag: जसपा सांसद

  • सिके राउतका कार्यकर्ताबाट टाउको फुटाइएका जसपा सांसदलाई हेलिकप्टरबाट काठमाडौं ल्याइयो

    सिके राउतका कार्यकर्ताबाट टाउको फुटाइएका जसपा सांसदलाई हेलिकप्टरबाट काठमाडौं ल्याइयो

    जनकपुरधाम । सर्लाहीको इश्वरपुरमा भएको दुई पक्षीय झडपमा घाइते जनता समाजवादी पार्टी (जसपा)का प्रमुख सचेतक तथा संघीय सांसद प्रमोद साहलाई उपचारका लागि काठमाडौं लगिएको छ ।

    सिम्रिक एयरको हेलिकप्टरबाट थप उपचारका लागि सांसद साहलाई काठमाडौं लगिएको सर्लाहीका प्रहरी प्रवक्ता डिएसपी माधव बुढाथोकीले जानकारी दिए । उनकाक अनुसार झडपमा सांसद साहको टाउको फुटेको छ ।

    इश्वरपुर नगरपालिका-६ बयलबासमा दुई पक्षबीच भएको झडपमा सांसद साह र उनलाई बचाउने क्रममा सुरक्षा गार्ड घाइते भएको थियो । सांसद साहको टाउकोमा गम्भीर चोट लागेको र अत्यधिक रगत बगेकाले काठमाडौं लगिएको छ ।

    डिएसपी बुढाथोकीका अनुसार क्लवको जग्गा विषयमा विवादपछि झडप भएको थियो । एक पक्षले क्लवको जग्गाको बीचबाटै बाटो बनाउनुपर्ने र अर्का पक्षले क्लवको जग्गाको साइडबाट बाटो बनाउनुपर्ने अडान लिएको थियो । सोही क्रममा झडप हुँदा ढुंगाले वा भाटाले हानेर सांसद साहको टाउकोमा प्रहार गरेको हुनसक्छ ।

    उनले कुन पक्षको के अडान रहेको कुरा समेत अहिले विस्तृत रुपमा बुझ्न नपाएको बताए । घटनामा संलग्न कोही पक्राउ नपरेको र थप अनुसन्धान भइरहेको उनको भनाई छ । सुरक्षा गार्डको हतियार नखोसेको उनको दावी छ ।

    यता, प्रदेश प्रहरी कार्यालयका प्रवक्ता तुलबहादुर कार्कीले सीके राउतका जनमत पार्टी र जसपाका कार्यकर्ताबीच झडप भएको बताएका छन् ।

    उनका अनुसार क्लवको उद्घाटन गर्न पुगेका सांसद साहमाथि सीके राउतका कार्यकर्ताले निर्वाचन आचारसंहिता उल्लंघन गरेको आरोप लगाउँदै अवरोध गर्न खोज्दा झडप भएको थियो ।

  • जसपाले सांसदबाट पदमुक्त गराएका लुम्बिनीका तीन मन्त्री पुनः सर्वोच्चमा

    जसपाले सांसदबाट पदमुक्त गराएका लुम्बिनीका तीन मन्त्री पुनः सर्वोच्चमा

    काठमाडौं । लुम्बिनी प्रदेशसभाले जसपाको कारवाहीका आधारमा पदमुक्त गरेका ३ जना मन्त्री आज दोस्रोपटक सर्वोच्च अदालत पुगेका छन् ।

    पार्टीको निर्देशनविपरीत सरकारमा सहभागी भएको भन्दै जनता समाजवादी पार्टीले सन्तोष पाण्डेय, कल्पना पाण्डे र विजयबहादुर यादवलाई सांसद पदबाट मुक्त गर्न पत्राचार गरेको थियो । लुम्बिनी प्रदेशसभाले उनीहरूलाई शनिबारै पदमुक्त गरेको हो ।

    मन्त्रीहरूले सर्वोच्च अदालतमा यसअघिको अन्तरिम आदेश प्राप्त रिटको विचाराधीन अवस्थामा फेरी पार्टीले कारवाही गरेको भन्दै जनता समाजवादी पार्टीले गरेको कारवाही बदर गर्न माग गरेका छन् ।

  • लुम्बिनीमा जसपाका ३ मन्त्री सांसद पदबाट मुक्त

    लुम्बिनीमा जसपाका ३ मन्त्री सांसद पदबाट मुक्त

    काठमाडौं । लुम्बिनी प्रदेशमा जनता समाजवादी पार्टी (जसपा) बाट मन्त्री बनेका तीनजनाको सांसद पद गुमेको छ।

    शंकर पोखरेल नेतृत्वको मन्त्रिपरिषद्का सदस्यहरू सन्तोषकुमार पाण्डेय, विजयबहादुर यादव र कल्पना पाण्डेयलाई पार्टीले कारवाही गरी पत्र पठाएपछि प्रदेशसभा सचिवालयले शुक्रबार सूचना जारी गर्दै उनीहरूको पदमुक्तको जानकारी गराएको छ ।

    उनीहरुलाई प्रदेशसभाको नीति तथा कार्यक्रमको विपक्षमा मतदान गर्न जारी गरेको ह्वीप उल्लंघन गरेको आरोपमा जसपाले कारवाही गरेको थियो ।

    निर्वाचन आयोगले पार्टीको आधिकारिकता यादव पक्षलाई दिएपछि बिहीबार लुम्बिनी प्रदेश संसदीय दलले प्रदेशसभालाई कारवाहीको पत्र लेखेको थियो ।

  • उपेन्द्र पक्षले पदमुक्त गराएका जसपाका चार सांसद पुनर्वहाली गर्न सर्वोच्चको आदेश

    उपेन्द्र पक्षले पदमुक्त गराएका जसपाका चार सांसद पुनर्वहाली गर्न सर्वोच्चको आदेश

    काठमाडौं । सर्वोच्च अदालतले लुम्बिनी प्रदेशका चारजना मन्त्रीलाई प्रदेशसभा सदस्य पदमा पुनर्वहाली गर्ने आदेश दिएको छ । न्यायाधीश नहकुल सुवेदीको एकल इजलासले जनता समाजवादी पार्टीबाट निर्वाचित चार सांसदलाई पदमुक्त गर्ने प्रदेशसभा सचिवालयको निर्णय संविधान र कानूनसम्मत नभएको ठहर गर्दै पुनर्वहालीको आदेश दिएको हो ।

    जसपाको उपेन्द्र यादव पक्षले गरेको एकपक्षीय कारवाहीका आधारमा प्रदेशसभाका सभामुख पूर्णबहादुर घर्तीले सन्तोष पाण्डेय, सुमन शर्मा रायमाझी, विजयबहादुर यादव र कल्पना पाण्डेलाई प्रदेशसभा सदस्यबाट वैशाख १७ गते पदमुक्त गरेका थिए ।

    उनीहरू सो निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट लिएर आए पनि त्यसबेला अदालतमा बन्दी प्रत्यक्षीकरण र कोभिड सम्बन्धी बाहेक अरु रिट दर्ता नभएकाले फर्किएका थिए । आइतबारदेखि अदालतमा मौलिक हक र संवैधानिक व्याख्या लगायतका मुद्दामा पनि सुनुवाइ हुने भएपछि पहिलो दिनमै उनीहरुको रिट दर्ता भएको थियो ।

    चारैजना अहिले लुम्बिनी सरकारका मन्त्री छन् । उनीहरुलाई कारवाही गर्ने उपेन्द्र यादव पक्षको निर्णय अवैधानिक रहेको भन्दै सोही बेला महन्थ ठाकुरले प्रदेश सभास सचिवालयलाई पत्र पठाएका थिए । तर, सचिवालयले ठाकुरको पत्रलाई बेवास्ता गरेको थियो ।

    जसपाको संसदीय दलको विधान नै नबनेको र दलका ६ जनामध्ये ४ जना सदस्य एकातिर रहेको अवस्थामा अल्पमतले बहुमतलाई कारवाही गर्ने कुरा नै गलत रहेको जिकिर सुनुवाइका क्रममा गरिएको थियो ।

    निवेदकलाई निष्कासन गर्नुअघि सम्बन्धित दलले अनिवार्यरुपमा सफाइको मौका दिनुपर्ने कार्यविधिको पालना नगरेको देखिएकाले प्रथम दृष्टिमा नै उक्त प्रक्रिया गलत रहेको र लुम्बिनी प्रदेशका सभामुखबाट समेत सोही बमोजिम सूचना जारी भएको देखिएकाले सुविधा र सन्ख्तुलनको दृष्टिले समेत दुवै पक्षबीच छलफल हुनुपर्ने अदालतले ठहर गरेको छ ।
    सो सम्बन्धमा अन्तिम निर्णय नभएकोसम्मको अवधिका लागि उनीहरुलाई सोही पदमा बहाल गर्न र यसअघि प्रदुेश सभाले गरेको निर्णय कार्यन्वयन नगर्न अदालतले आदेश दिएको छ ।

  • पदमुक्त भएका जसपाका चार सांसदको रिटउपर सुनुवाइ जारी

    पदमुक्त भएका जसपाका चार सांसदको रिटउपर सुनुवाइ जारी

    काठमाडौं । जसपाको उपेन्द्र यादव पक्षको कारवाहीको आधारमा प्रदेशसभा सदस्यबाट पदमुक्त भएका लुम्बिनी प्रदेशका चार मन्त्रीको रिटउपर सर्वोच्च अदालतमा सुनुवाइ जारी छ ।

    आफूहरूलाई पदमुक्त गर्ने निर्णय बदरको माग गर्दै दायर रिट उपर न्यायाधीश नहकुल सुवेदीको इजलासमा सुनुवाइ भइरहेको हो ।

    अविश्वास प्रस्तावमाथिको हस्ताक्षर फिर्ता लिई मुख्यमन्त्री शंकर पोखरेललाई साथ दिएका सन्तोषकुमार पाण्डेय, विजयबहादुर यदव, सुमन शर्मा र कल्पना पाण्डेलाई यादव पक्षको कारवाहीलाई आधार मानेर प्रदेशसभाका सभामुख पूर्णबहादुर घर्तीले वैशाख १६ मा पदमुक्त गरेका थिए ।

    पदमुक्त गर्नुअघि जसपाका अध्यक्ष महन्थ ठाकुरले प्रदेशसभामा पत्र पठाई जसपाले उनीहरूमाथि कारवाही नगरेको र प्रदेश समिति नै नबनेकाले प्रदेशको काम प्रदेशसभा संसदीय दलले नै गर्ने जानकारी दिएका थिए ।

  • जसपा विवादमा पदमुक्त भएका चार सांसदको रिट सर्वोच्चमा दर्ता

    जसपा विवादमा पदमुक्त भएका चार सांसदको रिट सर्वोच्चमा दर्ता

    काठमाडौं । जसपाको उपेन्द्र यादव पक्षले कारवाही गरेको आधारमा लुम्बिनी प्रदेशसभा सदस्यबाट पदमुक्त गरिएका चारजना सांसदको रिट सर्वोच्च अदालतमा दर्ता भएको छ । उनीहरू चारैजना अहिले प्रदेशका मन्त्री छन् ।

    जसपा विवादकै बीच एमाले नेता शंकर पोखरेलको सरकार जोगाएर विपक्षीको अविश्वस प्रस्तावको हस्ताक्षर फिर्ता लिएका सन्तोषकुमार पाण्डेय, विजयबहादुर यदव, सुमन शर्मा र कल्पना पाण्डेलाई यादव पक्षको कारवाहीलाई आधार मानेर प्रदेशसभाका सभामुख पूर्णबहादुर घर्तीले वैशाख १६ गते पदमुक्त गरेका थिए ।

    पदमुक्त गर्नुअघि जसपाका अध्यक्ष महन्थ ठाकुरले प्रदेशसभामा पत्र पठाई जसपाले उनीहरूमाथि कारवाही नगरेको र प्रदेश समिति नै नबनेकाले प्रदेशको काम प्रदेशसभा संसदीय दलले नै गर्ने जानकारी दिएका थिए ।

    तर, सभामुख माओवादी पक्षका भएकाले ठाकुरको पत्र बेवास्ता गर्दै यादव पक्षको कारवाही सदर गरेपछि चारैजना सांसद सो निर्णयविरुद्ध रिट लिएर सर्वोच्च आएका थिए । तर उनीहरु आउँदासम्म काठमाडौंमा निषेधाज्ञा लागेर अदालतले बन्दी प्रत्यक्षीकरणबाहेकका रिट नलिने भएपछि फर्किएका थिए ।

    सर्वोच्चमा आजदेखि संवैधानिक व्याख्या,मौलिक हक लगायतका मुद्दाहरुको पनि सुनुवाई र रिट दर्ता हुने भएपछि जसपाका चार सांसदको उत्प्रेषणको आदेशबाट प्रदेशसभाको कारवाही बदर होस् भन्ने रिट दर्ता भएको हो ।

  • जलेश्वरदेखि डोलेश्वरसम्म : एक वर्षपछि यसरी टुंगियो महेश टिमको मिसन

    जलेश्वरदेखि डोलेश्वरसम्म : एक वर्षपछि यसरी टुंगियो महेश टिमको मिसन

    काठमाडौं । ठिक एक वर्षअघि पनि यो बेला मुलुकमा लकडाउन थियो । प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिक दल सम्बन्धी ऐन संशोधनको अध्यादेश ल्याएपछि सत्तारुढ नेकपामा चरम विवाद भइरहेको थियो ।

    नेकपा विभाजनका लागि ओलीले अध्यादेश ल्याएको आरोप प्रचण्ड-माधव पक्षले लगाइरहेका बेला तत्कालीन संघीय समाजवादी पार्टीका सांसदलाई महोत्तरीबाट अपहरण गरेर काठमाडौं ल्याएको आरोप लाग्यो नेकपाका सांसद महेश बस्नेत, किसान श्रेष्ठ र पूर्वआईजीपी सर्वेन्द्र खनाललाई ।

    मेरियट होटलबाट डा. बाबुराम भट्टराई पक्षधर नेताहरूले यादवलाई उठाएर घरमा लगे । यादवले दिनमा दुईपटक बोली फेरे । आफू राजीखुसी आएको र कसैले अपहरण नगरेको उनको बयानपछि पनि अपहरणकाण्ड सेलाएन । महेश बस्नेत र किसान श्रेष्ठविरुद्ध जिल्ला अदालतमा अपहरणको मुद्दा पनि दायर भयो । जलेश्वरमा मुद्दा लिन नमानेपछि काठमाडौंमा लगाइएको थियो ।

    समाजवादी पार्टीबाट फुट्न चाहने सांसदहरूको लागि ओलीले ल्याएको अध्यादेश त फिर्ता भयो तर त्यही प्रकरणबाट शुरू भएको मधेशवादी दलका नेताहरूसँगको चिनजान महेश बस्नेतहरूले भने दोस्तीमा परिणत गरे ।

    सरकारले अध्यादेश ल्याएपछि रातारात मिलेका समाजवादी र राजपाका नेताहरू अहिले पुनः विभाजनको डिलमा पुग्दा फेरि महेश बस्नेत चर्चामा छन् । प्रधानमन्त्रीविरुद्ध विपक्षी गठबन्धनको बहुमत पुग्न नदिन जसपाको महन्थ ठाकुर पक्षका सांसदलाई सुरक्षित गर्ने सेल्टर महेश बस्नेतले नै मिलाएपछि एक वर्षअघिको कनेक्सन सफल भएको छ ।

    उपेन्द्र-बाबुराम पक्षले सांसदहरूलाई घर घरबाट उठाउँदै लुकाउन थालेपछि जसपाका नेताहरूले आफ्ना सांसदलाई सुरक्षित रूपमा एकै ठाउँमा राख्न खोजे । यसक्रममा प्रधानमन्त्रीको तर्फबाट पनि महेश बस्नेतहरूसँग समन्वय गर्नु भनेर पहिलेदेखिनै भनेकाले जसपा नेताहरूलाई बस्नेतले डोलेश्वर रिसोर्टको व्यवस्थापन गरेको बताइन्छ ।

    जसपाका सांसदहरूसँग अघिल्लो वर्षदेखि नै दोस्ती बढाएका महेश बस्नेत, निरु पाल र किसान श्रेष्ठले उपेन्द्र यादवतिरका कतिपय सांसदलाई ठाकुरका पक्षमा उभ्याउन समेत पहल गरेको बताइन्छ । जसपाका नेताहरूसँग राजनीतिक रूपमा प्रधानमन्त्रीको तर्फबाट गोकुल बास्कोटासमेत संवादमा थिए ।

    यी नेताहरूले महन्थ राजेन्द्र महतोसँग कन्भिन्स हुन नसकेका कतिपय सांसदलाई व्यक्तिगत रूपमा बालुवाटार पुर्‍याएर प्रधानमन्त्रीसँग भेट गराएका थिए । प्रधानमन्त्रीले कुनै पनि अनुचित हर्कत गरेर सांसद आफ्नो पक्षमा पार्दिन भनेकाले उनीहरूले भनेका ठाउँमा बजेट पार्ने, योजनाहरू पार्नेजस्ता काम भने भएका छन् ।

    संसदमा विश्वासको मतका बेलासम्म जसपाका सांसद ठाकुर पक्षमा १५ र उपेन्द्रको पक्षमा १५ जना उभिएका थिए । लक्ष्मणलाल कर्ण कोभिडका कारण अनुपस्थित थिए भने रुही नाज पनि उपस्थित भइनन् । उनलाई बाबुराम भट्टराईका पारिवारिक नातेदारको घरमा राखिएको र त्यहाँबाट मुक्त गरेर महेश बस्नेतले मिलाएको डोलेश्वर रिसोर्टमा लगिएको दावी ठाकुर पक्षको छ ।

    त्यस्तै चन्द्रकान्त चौधरीलाई पनि रामबाबु यादवले गाडीमा हालेर लगेपछि छोराले अपहरण मुद्दा लगाउँछु भन्ने चेतावनी दिए । अपहरण मुद्दामा महेश बस्नेतहरूले छोरालाई साथ दिएपछि बाटोबाटै चन्द्रकान्त पनि डोलेश्वर पुर्‍याइएका थिए । यसरी जसपामा ठाकुर पक्षका १८ जना सांसद पुगे । कल्लु विकलाई भने उपेन्द्र पक्षले लुकाएर राखेको आरोप ठाकुर पक्षको छ ।

    सांसदहरूलाई सुरक्षित गरेर ठाकुरको पक्षमा २३ जना पुर्‍याउने र उपेन्द्र यादवलाई पार्टी फुटाउन ४० प्रतिशत पुग्न नदिन महेश बस्नेतहरू सक्रिय भएका छन् । यो सम्बन्ध आगामी निर्वाचनसम्म जाने र मधेशमा एमाले तथा जसपाको महन्थ पक्षबीच गठबन्धन गर्ने तथा कतिपय जसपा सांसद सूर्य चिन्हबाटै चुनाव लड्नेसम्मको कुरा अघि बढेको बताइन्छ ।

    यसबीचमा डा. बाबुराम भट्टराईले दुईपटक प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटेका थिए । भेटका कुरा बाहिर नआए पनि उनी आफ्नै नेतृत्वमा सरकार बनाउन चाहन्थे । त्यो सम्भव नभएपछि राष्ट्रिय सहमतिको सरकारको प्रस्ताव उनले राखेका हुन् ।

    ओलीले बाबुरामसँग अघिल्ला वर्ष आफूमाथि सांसद अपहरणको आरोप लगाएकामा असन्तुष्टि जनाएका थिए । स्रोतका अनुसार बाबुरामले त्यो बेला अपहरण नभएर राजनीतिक मुद्दामात्र बनाइएको भन्दै त्यो गलत नै भएको स्वीकार गरेका थिए ।

    तर, त्यही प्रकरणबाट महेश बस्नेतलाई भने जसपाका नेताहरूसँग नजिकिन सजिलो भयो । यसबीचमा सांसदहरूलाई प्रधानमन्त्रीसँग भेटाउनेदेखि महन्थ, राजेन्द्र महतो, राजकिशोर यादवलगायतका नेताहरूसँग बाक्लो भेटघाट हुन थाल्यो ।

    यी सबै घटनाक्रममा जेलभित्रबाटै जसपा सांसद रेशमलाल चौधरीको पनि सक्रिय भूमिका रहेको थियो । उनी शुरूदेखि नै महन्थ ठाकुर र राजेन्द्र महतोलाई केपी ओलीसँगै मिल्न दबाब दिइरहेका थिए । एमाले सम्बद्ध अनेरास्ववियूबाट राजनीति गरेका चौधरीका बुबा एमालेबाटै प्रदेशसभाको उम्मेदवार पनि बनेका थिए ।

    नयाँ सरकार गठनको खेल शुरू भएपछि मुद्दा फिर्ता लगायतका प्रक्रियामा ओली र महन्थ पक्षले कार्यदल बनाउनुअघि रेशमलाई महेश बस्नेतले जेलमै गएर भेटेका थिए । प्रधानमन्त्रीको प्रतिनिधिका रूपमा गएका बस्नेतले चौधरीसँग भेटेपछि उनी सीधै धनगढी गएका थिए । त्यसको केही दिनमा सकारसँग ठाकुर पक्षको अनौपचारिक सहमति भयो र मुद्दाहरू फिर्ता भए ।

    डोलेश्वर नै किन ?

    भक्तपुरको सूर्यविनायक नगरपालिका वडा नम्बर ८ मा अवस्थित डोलेश्वर रिसोर्टमा जसपाका केही सांसद तीन दिनदेखि नै बसेका थिए । विशेष गरी उपेन्द्र यादवको दबाब थेग्न नसक्ने सांसदलाई सुरक्षित राख्ने ठाउँ चाहियो भनेपछि बस्नेतले सो रिसोर्ट व्यवस्था गरेका थिए ।

    त्यसपछि बिहीबार महन्थ पक्षमा लागेका सबै सांसदलाई प्रधानमन्त्रीमा केपी ओली नियुक्त हुन्जेल राखिएको थियो । सो रिसोर्ट व्यवस्थापनमा सूर्यविनायक नगरपालिकका मेयर वासुदेव थापा र सोही वडाका वडाध्यक्ष किरण थापालगायतका सक्रिय थिए ।

    डोलेश्वर रिसोर्ट नै रोज्नुको कारण भने सो वडा एमालेको दुई तिहाई शक्ति भएको र सुरक्षका हिसाबले पनि पार्टी कार्यकर्ता नै खटिने भएकाले रोजिएको थापाले बताए । रिसोर्ट पनि मलेसियाबाट फर्केका एमालेनिकट युवाहरूले संचालन गरेका हुन् ।

  • महन्थसहित जसपाका १९ सांसद भक्तपुरको होटलमा, उपेन्द्रलाई ४० प्रतिशत पुग्न नदिने प्रयास

    महन्थसहित जसपाका १९ सांसद भक्तपुरको होटलमा, उपेन्द्रलाई ४० प्रतिशत पुग्न नदिने प्रयास

    काठमाडौं । जनता समाजवादी पार्टीको महन्थ ठाकुर पक्षका सांसदहरूको भेला भक्तपुरको एक होटलमा शुरू भएको छ । भेलामा १९ जना प्रतिनिधिसभा सदस्य सहभागी भएको दावी ठाकुर पक्षले गरेको छ ।

    उपेन्द्र यादव पक्षले सांसदहरूलाई घर-घरमा गएर दबाब दिन थालेपछि राष्ट्रपतिले नयाँ सरकार गठनका लागि दिएको समयभित्र एकै ठाउँमा रहने गरी भक्तपुरको होटलमा बोलाइएको ठाकुरनिकट एक नेताले बताए ।

    होटलमा महन्थ ठाकुर, राजेन्द्र महतो, राजकिशोर यादव, अनिल झासहितका शीर्ष नेताहरू समेत पुगेका छन् । सांसदको संख्या अझै बढ्ने र उपेन्द्र पक्षलाई अर्को दल दर्ता गर्न ४० प्रतिशत पुग्न नदिने प्रयास भइरहेको नेताहरूले बताएका छन् ।

    जसपाका ३४ मध्ये हाल ३२ सांसद छन् । यादव पक्षमा १३ सांसद पुग्न नदिने प्रयास भइरहेको ठाकुरनिकट स्रोतले जनाएको छ । विश्वासको मत दिने बेला अनुपस्थित भएकी रुही नाज समेत ठाकुर पक्षमा लागेकी छन् ।

    ठाकुर पक्षमा ठाकुर र राजेन्द्र महतोसहित हाल १९ सांसद देखिएका छन् ।

  • जसपा नेता भन्छन्- पार्टी फुट्ने भयो, पैसाको झोलासहित घरदैलो गर्दैछन्

    जसपा नेता भन्छन्- पार्टी फुट्ने भयो, पैसाको झोलासहित घरदैलो गर्दैछन्

    काठमाडौं । जनता समाजवादी पार्टीका केन्द्रीय सदस्य तथा संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईका प्रेस सल्लाहकार विश्वदीप पाण्डेले जसपा नेपाल फुटको सँघारमा पुगेको स्वीकार गरेका छन् ।

    सोमवार रातिदेखि जसपाका सांसद र केन्द्रीय कार्यकारिणी समितिका सदस्यको घर दैलोमा पैसाको झोलासहित देशी विदेशी शक्तिहरूले घरदैलो गरिरहेको आरोप पाण्डेले लगाएको छ ।

    पाण्डेले सामाजिक सञ्जालमा लामो वक्तव्य दिँदै उनले भनेका छन्, ‘हामी सकभर फुट रोक्न प्रयासरत त छौं तर हिजो बेलुकादेखि देशी-विदेशी शक्तिहरू पैसाको झोलासहितको गाडीमा केही सांसद र कार्यकारिणी समिति सदस्यको घरदैलो गर्दैछ । त्यो पैसाको झोला फिर्ता गर्ने सांसद, सदस्यलाई अनेकन डर र त्रास देखाइएको छ । ‘

    पाण्डेले सत्ता टिकाउन अहिलेको सरकार जे पनि गर्न तयार रहेको र प्रमुख प्रतिपक्ष कांग्रेस तमासे बनेको आरोप लगाएका छन् ।

  • सांसदबाट हटाइएका जसपा नेताको रिट सर्वोच्चबाट फिर्ता, लकडाउन खुलेपछि मात्र दर्ता हुने

    सांसदबाट हटाइएका जसपा नेताको रिट सर्वोच्चबाट फिर्ता, लकडाउन खुलेपछि मात्र दर्ता हुने

    काठमाडौं । आफूलाई कारवाही गर्ने पार्टीको निर्णयविरुद्ध सर्वोच्च अदालत पुगेका जनता समाजवादी पार्टी (जसपा) का चार सांसदको रिट फिर्ता भएको छ ।

    सर्वोच्च प्रशासनले हाल कोभिड नियन्त्रयणका लागि निषेधाज्ञा रहेकाले अत्यावश्यक निवेदन मात्र दर्ता गर्ने भन्दै निषेधाज्ञा हटेपछि मात्रै आउन भनेको हो । उनीहरू रिट लिएर सर्वोच्च पुगेका थिए ।

    निलम्वित सांसदहरू सन्तोष कुमार पाण्डेय, विजयबहादुर यादव, सुमन शर्मा रायमाझी र कल्पना पाण्डेय आइतबार रिट लिएर सर्वोच्च पुगेका थिए ।

    सर्वोच्च अदालतले आवश्यक अध्ययन गर्ने भन्दै शुक्रबार दर्ता गर्न मानेको थिएन ।

    सर्वोच्चको पूर्ण बैठकले वैशाख ३१ गतेसम्म अत्यावश्यक विषयबाहेकका रिट निवेदन नलिने निर्णय गरेको थियो ।