Tag: जमुना सुवेदी पोखरेल

  • सौर्य गार्मेन्टले फेरेको जमुनाको जिन्दगी

    सौर्य गार्मेन्टले फेरेको जमुनाको जिन्दगी

    रुपन्देही । जिविका चलाउन के काम गर्ने भनेर धेरै दिन दिमाग घुमाएकी बुटवल १३ बेलवासकी जमुना सुवेदी पोखरेललाई थोरै लगानीमा उद्योगपति बन्न सकिन्छ भन्ने लागेको थिएन ।

    श्रीमान विदेशबाट आएपछि स्वदेशमै कुनै काम सुरु गरेर बस्ने योजनाका साथ उनले संचालन गर्नसक्ने खालको उद्यम गर्न चाहन्थिन् । तर थोरै कमाइ हुने, तेस्रो मुलुकमा रोजगारीका लागि गएका श्रीमान र उनको परिवारसँग धेरै लगानी सक्ने स्थिति पनि थिएन । थोरै लगानीमा दीर्घकालीन हुनसक्ने के काम गर्न सकिन्छ भनेर परिवार तथा साथीहरुको सल्लाहमा उनी सानो गार्मेन्ट उद्योग चलाउने निर्णयमा पुगेकी थिइन् ।

    करिब १५ लाख लगानीमा सुरु गरेको उनको सौर्य गार्मेन्ट अहिले ७० लाख पर्ने भएको छ । यो नै उनीहरुको परिवारको सबै खर्च धान्ने मुख्य स्रोत हो । बीबीएस् उत्तीर्ण जमुनासँग गार्मेन्टसम्बन्धी क्षमता छ । उनले युट्युवमा हेरेर गार्मेन्टसम्बन्धी धेरै कुरा सिकेकी हुन् । आफ्नो सीप र क्षमता उनले आफ्नै क्षेत्रमा लगानी गरिहेकी छन् । र, आज सक्षम उद्यमी बनेर सबैका माझ उभिएकी छन् ।

    उनी भन्छिन्– महिलालाई सबै क्षेत्रमा पहिला बनाउने अभियानमा छु । सबैभन्दा पहिला चाहिने भनेकै आर्थिक अधिकार हो । आर्थिक अधिकारको लडाइँमा अग्रभागमा लडिरहने मेरो सपना अवश्य पूरा हुनेछ । हाम्रो अगाडिको बाटो भनेकै आर्थिक अधिकारसहितको राजनीतिक अधिकार हो ।

    जमुना र श्रीमानको सकृयतामा उत्पादनदेखि बजारसम्म हेर्न सक्ने गरी सुरु गरेको गार्मेन्ट उद्योगको सफलताले उनका साथीहरु आश्चर्यमा परेका छन् । छोटो समयमा जमुनाको परिवारले पाएको सफलताले धेरै महिला उद्यमीलाई हौस्याएको छ । अहिले उनको उद्योगमा एक दर्जनले रोजगार पाएका छन् ।

    सिजन अनुसारका कपडा अर्डर अनुसार उत्पादन गर्ने सौर्य गार्मेन्टमा अहिले कामको चाप छ । जमुनाका श्रीमान भुवन पोखरेलले विदेशमा गरेको मेहनत परिवारका साथ आफ्नै देशमा लगाएका छन् ।

    गुल्मीको रुरु गाउँपालिका रिडीबजारमा जन्मिएकी जमुनाले बीबीएस पूरा गरेपनि स्वास्थ्यमा समस्या आएका कारण चाहना भएर पनि स्तात्तोकत्तर गर्न पाइनन् ।

    जमुना १२ कक्षा पास गरेपछि पढ्न र रोजगारीको सिलसिलामा बुटवल आएकी हुन् । लुम्बिनी वाणिज्य क्याम्पसमा बीबीएस पढाइ थालेपछि अग्नि इन्फोटेक इन्स्टिच्यूट बुटवलमा रिसेप्सनिष्टमा पहिलो पटक जागिरे भइन् र छाडिन् । त्यसपछि तिनाउ साप्ताहिक पत्रिकामा मार्केटिङको काम थालिन् । बुटवलको चर्को घाम र फिल्डमा हिंडिरहनु पर्ने भएको हुँदा स्वास्थ्यले साथ नदिएपछि धेरै समय त्यहाँपनि टिक्न सकिनन् ।

    आर्थिक अभाव र घरायसी समस्याले पढाइलाई बीचमै थाँती राखेर पोखरामा रहेको पशु स्वास्थ्य तथा परामर्श केन्द्रमा लेखापालको रुपमा जागिरे भइन् जमुना ।

    अदिति र सौर्यका आमा बनिसकेका जमुनाले २०६५ सालमा सैनामैना–१० सालझण्डीका भुवन पोखरेलसँग पोखरामा विवाह गरेकी थिइन् । विवाहपछि श्रीमान विदेश जाने आउने गरेका थिए । तर तीन वर्षअघि उनीहरुको परिवारमा सल्लाह भयो– अब विदेश नजाने र यतै केही इलम गर्ने ।

    बुटवल –१३, बेलबासमा उनीहरुले संचालनमा ल्याएको सौर्य गार्मेन्ट अहिले यो क्षेत्रको पौरखी पात्रहरुको उदाहरण बनेको छ । एक दर्जन नेपाली महिलाहरुलाई रोजगार दिएको यो उद्योग नै ती कर्मचारी र उनीहरुका आश्रित परिवारलाई समेत बाँच्ने आधार बनेको छ । नेपालमै उद्यम गरौं र नेपाली हुनुको गर्व गरौं भन्ने मूलमन्त्र लिएर उद्यम शुरु गरेकाले पनि उनीहरु सफल भएका छन् ।

    उद्यमी महिला बनेर समाजमा परिचय बनाउने र सफल उद्यमी बन्ने जमुनाको योजना र सपनालाई भुवनले हरपल साथ दिएका छन् । घरभित्रमात्र होइन परिवार र समाजलाई समृद्धिको गोरेटोमा लैजानका निम्ति जमुनाले आफ्नो समय लगानी गरेकी छन् । त्यसैले पनि उनलाई बुटवल उपमहानगरपालिकाद्वारा गठित उपप्रमुख महिला उद्यमशीलता विकास समितिको सञ्चालक सदस्यमा उद्योगीका तर्फबाट मनोनित गरिएको छ ।

    उनले सो समितिमार्फत आफ्नो उद्यमशीलतासम्बन्धी क्षमता र योग्यता प्रदर्शन गर्ने अवसर समेत पाएकी छन् । रुपन्देही उद्योग संघको कार्यसमितिमा जमुना दोस्रो कार्यकालमा निर्वाचित भएकी छन् । अहिले उनी सचिवालय सदस्य छिन्, जिल्लाभरका उद्योगीहरुको संस्था रुपन्देही उद्योग संघको ।

    त्यसो त जमुना उद्यमी मात्र होइन धेरै सामाजिक संघसंस्था तथा राजनीतिमा पनि जोडिएकी छन् ।

    नेपालमा साना उद्यमीलाई संचालनमा कठिनाइ भने निकै धेरै रहेको उनको अनुभव छ । नगद लगानी गरेर उदारोमा बेच्नुपरेको तितो अनुभव सम्झँदै उनले भन्छिन्– यति नगरे बजारमा टिक्नै सकिन्छ, गार्मेन्टमा अरबौं लगानी गर्नेहरुसँग लड्न पर्छ, नेपालीभन्दा विदेशी उद्योगहरुबाट आउने सामग्रीले धेरै सताएको छ, खुला सीमाबाट आउने हरेक समानको मूल्यसँग यहाँका उद्योगी लड्नुपरेको छ ।

    सुवेदीको आग्रह छ– कच्चा पदार्थको सहज व्यवस्थापन, भन्सार तथा नाकाहरुको व्यवस्थापन, नेपाली उत्पादनको प्राथमिकतालाई हरेक सरकारी कार्यलयमा अनिवार्यता र तयारी पोशाकभन्दा कच्चा पदार्थमा भन्सार सुविधा दिन सके नेपाली उद्योगहरुले केही वर्षमै धेरै आयात रोक्न सक्छन् ।

    उद्योग र परिवारको कामबाहेक बाहिर निस्कँदा उनका श्रीमानले उद्योग धानेका हुन्छन् । सामाजिक संस्थामा काम गर्ने उनको पुरानै रहर हो । १६ वर्षको उमेरमा उनले गाउँमै यूथ अफ न्यू जेनेरेशन नामक क्लवको अध्यक्ष भइ नेतृत्व गरेकी थिइन् ।

    उनमा नेतृत्व र संयोजन गर्ने विशिष्ट क्षमता र गुण भएकै कारण आज रुरु मिलन केन्द्र रुपन्देहीकी अध्यक्ष, न्यू भिजन फाउण्डेसन नेपालकी कार्यसमिति सदस्य, जितेश्वरी सामुदायिक वन उपभोक्ता समूहकी कार्यसमिति सदस्य, महिला मञ्च, नेपालकी कार्यसमिति सदस्य भइ आफ्नो पदीय दायित्व सफलतापूर्वक निर्वाह गरेकी छन् । योसँगै उनी अहिले नेकपा एमाले बुटवल उपमहानगरपालिका वडा नं १३ को सचिवमा निर्वाचित भएकी छन् ।

    आर्थिक समृद्धिले नै राजनीतिमा टिक्न सकिने भएकाले सबै महिलाई यसमा ध्यान दिन जमुनाको आग्रह छ । सानो लगानीमा गर्न सकिने धेरै उत्पादनसँग जोडिएका काममा महिललाई जिम्मा दिए पार लाग्न सक्ने र उनीहरु आफैंमा सक्षम हुने पोखरेलको भनाइ छ ।