Tag: चालक अनुमतिपत्र

  • चालक अनुमतिपत्रको कार्ड डेढ महिनाभित्र आइपुग्ने

    चालक अनुमतिपत्रको कार्ड डेढ महिनाभित्र आइपुग्ने

    काठमाडौं । लामो समयदेखि प्राविधिक समस्याका कारण रोकिएको चालक अनुमतिपत्रको कार्ड एकदेखि डेढ महिनाभित्रमा आइपुग्ने भएको छ ।

    लामो समयसम्म छपाई उपकरण (मास प्रिन्टर)मा कार्ड नमिलेकाले कार्ड आउन सकेको थिएन । ‘मास प्रिन्टर’ एउटा कम्पनीबाट खरिद गरिएको र कार्ड अर्को कम्पनीबाट खरिद गरिएकाले समस्या आएको यातायात व्यवस्था विभागले जनाएको छ ।

    अहिले कार्ड मास प्रिन्टरमा मिलेकाले ल्याउन भनिएको महानिर्देशक नमराज घिमिरेले बताए । उनले भने, ‘कम्पनीसँग कार्ड ल्याउने विषयमा कुराकानी भइरहेको छ ।’

    चालक अनुमतिपत्रको पहिलो सम्झौताअनुसार १४ लाख आउनुपर्ने विभागले जनाएको छ । विभागले चाँडो ल्याउन सहजीकरण गरिदिने भएको छ । अहिले १४ लाख कार्ड आएपछि तत्कालका लागि समस्या हट्ने र आगामी दिनमा पनि त्यही समस्या दोहोरिन नदिन ध्यान दिइने महानिर्देशक घिमिरेले बताए।

    विभागमा कार्ड आएपछि झण्डै आधा अहिले नै छाप्नुपर्ने छ । आगामी दिनमा पनि अनुमतिपत्रको समस्या आउन नदिने कुरामा ध्यान दिइने उहाँले बताउनुभयो । विगतमा प्राविधिक समस्याले आएकाले अब ठेक्का गर्दा ती कुरामा ध्यान दिइन्छ ।

    सेवाग्राहीलाई सजिलोका लागि सुरू गरिएको ‘स्मार्ट’ चालक अनुमतिपत्र सोचेजस्तो हुन सकिरहेको छैन । विभिन्न समस्याका कारण सेवाग्राहीले समयमा अनुमतिपत्र पाउन सकिरहेका छैनन् । पहिले उपकरणको क्षमता कम भएकाले सेवाग्राहीले समयमा अनुमतिपत्र पाउन सकिरहेका थिएनन् ।

    दुई वर्ष पहिले विभागले एउटै ठेक्काबाट ठूलो क्षमताको उपकरण (मास प्रिन्टर) र १० लाख कार्ड ल्याइएको थियो । त्यो कार्ड अब एकदुई हजार मात्रै बाँकी छन् । कार्ड अभावमा विभागले अति आवश्यक पर्नेलाई मात्रै अनुमतिपत्र छापिरहेको छ । यातायात कार्यालयहरुले भने एक वर्षका लागि अस्थायी चालक अनुमतिपत्र सुरू गरेका छन् ।

  • नयाँ लाइसेन्सकाे फाराम कहिले खुल्छ ?

    नयाँ लाइसेन्सकाे फाराम कहिले खुल्छ ?

    काठमाडौं । यातायात व्यवस्था विभागले चालक अनुमतिपत्रका लागि तत्काल फारम नखुलाउने भएको छ । यसअघि फारम भरेका झण्डै छ लाख सेवाग्राही परीक्षामा सहभागी हुन पाएका छैनन् । ती परीक्षार्थीको परीक्षा नसकिएसम्म विभागले नयाँ फारम नखुलाउने भएको हो ।

    फारम भरेका झण्डै आधा परीक्षार्थी परीक्षामा सहभागी भएपछि मात्रै फारम खुलाइने विभागका प्रवक्ता डा लोकनाथ भुसालले जानकारी दिए। उनले भने, ‘दशैँसम्ममा दुई, तीन लाख परीक्षार्थी सहभागी भएमा यसपछि खुलाइनेछ ।’फारम भरेका सेवाग्राहीले परीक्षामा सहभागी हुन पाएका छैनन् भने परीक्षामा पास भएका झण्डै सात लाखले अझै ‘स्मार्ट’ चालक अनुमतिपत्र पाउन बाँकी छ । विभागले अनुमतिपत्रका लागि कार्ड खरिद गरे पनि प्राविधिक समस्याका कारण कार्ड आइसकेको छैन । अहिले विभागसँग झण्डै दुई हजार कार्ड मात्रै बाँकी रहेको उनले बताए।

    विभागले मिसनमा जाने सुरक्षाकर्मी र चालकका रुपमा रोजगारीमा जानेका लागि मात्रै अनुमतिपत्र दिने गरेको छ । उनले भने, ‘सर्वसाधरणका लागि छपाइ हुँदैन, प्रवेशाज्ञा र टिकट देखाएपछि अत्यावश्यक हेरेर मात्रै छपाइ हुन्छ ।’ केही महिनाभित्रमा कार्ड नआएमा अत्यावश्यक कामका लागिसमेत अनुमतिपत्र दिन गाह्रो पर्नसक्ने विभागका प्रवक्ता डा भुसालले बताए । दशैँसम्ममा कार्ड आइपुगेमा समस्या नहुने बताइएको छ ।

    परीक्षा पास भएको लामो समयसम्म पनि सेवाग्राहीले अनुमतिपत्र नपाएपछि अहिले यातायात कार्यालयले अस्थायी प्रकृतिको अनुमतिपत्र वितरण सुरुआत गरेको छ । कोरोना नियन्त्रणका लागि केही समय पहिलेसम्म निषेधाज्ञा भएकामा त्यो हटेसँगै यातायात कार्यालयले परीक्षा पास गरेकालाई परीक्षणकालीन अनुमतिपत्र दिन थालेका हुन् ।

    यो अनुमतिपत्र कार्यालयले आफैँ छापेर एक वर्षका लागि दिने गरेको प्रवक्ता डा भुसालले बताए। यसका लागि विभागले प्राविधिकलाई तालिम दिएको छ भने प्रदेश सरकारअन्तर्गतका कार्यालयले छाप्ने उपकरण (प्रिन्टर) किनेको छ । विभागले गत १० गते गरेको निर्णयका आधारमा कार्यालयले आवेदन दिएका सेवाग्राहीको परीक्षा सञ्चालन गरिरहेका छन् । काठमाडौँ उपत्यकामा रहेका चारवटै कार्यालयले सेवा सुरु गरिसकेका छन् । उपत्यका बाहिरका कतिपय जिल्लाले सुरु गरिसकेका छन् भने केहीले सुरु गर्दैछन् ।

    परीक्षणकालीन चालक अनुमतिपत्रको व्यवस्था सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ मा गरिएको छ । ऐनमा भएको व्यवस्था लामो समयसम्म कार्यान्वयन हुन नसकेकामा अहिले भइरहेको छ । सेवाग्राहीलाई उसले पाउने सङ्केत नम्वर (क्यूआर) नम्बरसहितको अनुमतिपत्र दिइएको हो । यसले गर्दा सेवाग्राहीले परीक्षा पास गरेको लामो समयसम्म भौचर लिएर हिँड्नुपर्ने बाध्यता हट्ने उनले बताए ।

    ऐनमा नै व्यवस्था भए पनि परीक्षणकालीन अनुमतिपत्रलाई निरन्तरता दिने नदिने भन्नेमा विभाग नै स्पष्ट छैन । विभागले फ्रान्सेली कम्पनीमार्फत खरिद गरेको १४ लाख कार्ड आएपछि यसलाई निरन्तरता दिने कि पास गर्नासाथ ‘स्मार्ट’ चालक अनुमतिपत्र दिने भन्नेमा छलफल भइरहेको विभागले जनाएको छ ।

    ऐनमा परीक्षणकालीन अनुमतिपत्र पाएको अवधि एक वर्षभित्र दुर्घटना नगरेमा स्थायी दिने उल्लेख छ ।उनले भने, ‘यो कार्ड शुरु गरेपछि सेवाग्राहीलाई मैले पास गरेँ मसँग लाइसेन्स छ भन्ने अनुभूति हुने रहेछ ।’

    अहिले परीक्षणकालीन अनुमतिपत्र पाउँदा त्योसमेत नै पाँच वर्षको हुनेछ । एउटा प्रकारको सवारीको अनुमतिपत्र लिँदा सेवाग्राहीले अर्को प्रकार थप्दा पहिलेको मिति कायम हुन्छ । त्यसरी अहिले पनि परीक्षणकालीन अनुमतिपत्रसमेत गरी पाँच वर्ष रहेको छ ।

    विभागले खरिद गरेको कार्ड आपूर्तिमा ढिलाइ भइरहँदा सेवाग्राही हैरान छन् । फ्रान्सेली कम्पनीले कार्ड ल्याउनुपर्ने भए पनि कार्ड ल्याउनुपर्ने एउटा र सिस्टम अर्को कम्पनीको भएकाले समस्या आएको प्रवक्ता डा भुसालले बताए।

    दुई कम्पनीलाई एक ठाउँमा राखेर समस्या के हो पत्ता लगाएर समाधान गर्न भनिएको छ । उनीहरुले धेरै महिना लगाएर समस्या पत्ता लगाएका छन् । पुरानो कम्पनीको सिस्टमले ल्याएको ‘इनपुट’ कार्डमा छापिन समय लागेको बताइएको छ । फ्रान्सेली कम्पनीले पछिल्लो पटक पठाएको कार्ड यहाँ परीक्षण गर्दा पुरानो प्रणालीमा छापिनसक्ने देखिएको विभागले जनाएको छ ।

    ‘मास प्रिन्टर’ खरिद गरिएको भारतीय कम्पनीले पनि केही कार्ड पठाएपछि त्यसको स्थायित्व परीक्षण गर्छौं भनेको उनले भने । कार्ड लगातार छापिँदा कुनै समस्या आउँछ कि आउँदैन हेर्नका लागि कार्ड अहिले भारत पठाइएको छ । राम्रो भयो भने पनि स्वीकार गर्ने र त्यसपछि मात्रै कार्ड आउन थाल्ने प्रवक्ता डा भुसालले बताए । उनका अनुसार कार्ड आएपछि दुई÷तीन सिफ्टमा छापेर पनि सकेसम्म चाँडो सेवाग्राहीको हातमा अनुमतिपत्र पु¥याइनेछ । रासस

  • अब परीक्षा उत्तीर्ण भएको महिना दिनमै चालक अनुमतिपत्र पाइने

    अब परीक्षा उत्तीर्ण भएको महिना दिनमै चालक अनुमतिपत्र पाइने

    काठमाडौं । नयाँ चालक अनुमतिपत्रका लागि फाराम भर्नेको सङ्ख्या पाँच लाखभन्दा बढी हुँदा यातायात व्यवस्था विभागले अनुमतिपत्रको परीक्षा पास गरेका सेवाग्राहीलाई एक महिनाभित्रमा अनुमतिपत्र दिइसक्ने योजना बनाएको छ ।

    ठूलो सङ्ख्यामा कार्ड छाप्ने उपकरण(मास प्रिन्टर)को प्रयोग गरेर एकैदिनमा धेरै सङ्ख्यामा अनुमतिपत्र छाप्न सकिने विभागले जनाएको छ ।

    अहिले तत्काल कार्ड स्टक थोरै सङ्ख्यामा भएकाले छाप्न नसकिएको भए पनि नयाँ कार्ड आउनासाथ अनुमतिपत्र छपाइ गरिने छ । विभागले १४ लाख कार्ड खरीदका लागि प्रक्रिया अघि बढाएको निर्देशक रामचन्द्र पौडेलले बताए।

    उनका अनुसार यी कार्डको खरीद गर्न लागेको कम्पनीले अहिले थोरै सङ्ख्यामा कार्ड नमूना परीक्षणका लागिसमेत पठाइसकेको छ । त्यो ठीक छ भन्ने जानकारी दिएपछि केही समयमा नै कार्ड आउने उनले जानकारी दिए ।

    उनले भने, ‘हामीसँग थोरै कार्ड मात्रै बाँकी भएकाले थोरै छापिएको हो, नयाँ कार्ड आउनासाथ धमाधम एकैदिनमा धेरै छपाइ हुनेछ ।’

    विभागले गत वर्ष खरीद गरेको ‘मास प्रिन्टर’ को क्षमता एक घण्टामा ४५० अनुमतिपत्र छाप्न सक्ने रहेको छ । एक दिनमा १० घण्टा सञ्चालन गर्दा पनि चार हजार ५०० छापिने निर्देशक पौडेलले बताए ।

    उपकरणलाई २४ घण्टा चलाउँदा १० हजार बढी छापिने उनको भनाइ छ । विभागले कोभिड–१९ नियन्त्रणका लागि सरकारले जारी गरेको बन्दाबन्दीको समयमा तीन ‘सिफ्ट’ मा उपकरण सञ्चालन गरेको थियो । उनले भने, ‘कति घण्टा चलाउने भन्ने चापमा निर्भर गर्छ ।’

    कोभिड–१९ का कारण झण्डै १० महिनादेखि अवरुद्ध नयाँ अनुमतिपत्र सरकारले गत पुसमा पुनः खुलाएको हो । देशभरबाट अनलाइन माध्यमबाट पाँच लाखभन्दा बढी सेवाग्राहीले आवेदन दिइसकेका छन् ।

    तीमध्ये पास दर ३० प्रतिशत हाराहारीमा हुने भएकाले छपाइ गर्न सकिने विभागले जनाएको छ । नयाँ १४ लाख कार्ड एकैपटक आएपछि माग धान्न गाह्रो नहुने निर्देशक पौडेलले बताए ।

    ‘मास प्रिन्टर’ सँगै विभागमा साना क्षमताका उपकरण रहेका छन् । तत्कालका लागि तीनको प्रयोग नभए पनि प्रयोग गर्न सकिने अवस्थामा रहेको विभागले जनाएको छ ।

    विगत दुई वर्षदेखि प्रदेश सरकारअन्तर्गतका यातायात व्यवस्था कार्यालयले नयाँ अनुमतिपत्रका लागि परीक्षा सञ्चालन, नवीकरण र वितरण गरिरहेका छन् । विभागले ‘सर्भर’ को काम र अनुमतिपत्र छपाइ गरिरहेको छ ।