Tag: गरिमा शर्मा

  • रजतपटले चरित्रहत्या गरेको भन्दै गरिमा शर्मा रुँदै आइन् लाइभ !

    रजतपटले चरित्रहत्या गरेको भन्दै गरिमा शर्मा रुँदै आइन् लाइभ !

    काठमाडौं । उदयीमान मोडल गरिमा शर्मा केही समयअघि गायक दुर्गेश थापासँग टीकटक लाइभमा आइन् । लाइभमा यी दुईबीच भएको कुराकानीको एउटा टुक्रा सामाजिक सञ्जालमा भाइरल बनाइयो ।

    भाइरल भएको क्लीपमा दुर्गेश र गरिमाको संवाद सुन्दा उनीहरुबीचको लामो प्रेम सम्वन्ध भर्खरै टुटेको छनक मिल्छ । यसले धेरै दर्शकलाई आश्चर्यमा पारिरहेको थियो, किनकी दुर्गेश एक विवाहित पुरुष हुन् । उनीहरु प्रेम सम्वन्धमा रहेको चर्चा कहिल्यै थिएन ।

    यसैबीच घटनाले नयाँ मोड लियो, जब विवादास्पद टेलिभिजन कार्यक्रम रजतपटले यो भिडियो क्लीपलाई ‘समाचार’ नै बनाइदियो । उक्त संवादको वास्तविकता नखोजिकन विवाहित पुरुषसँग प्रेम सम्वन्धमा रहेको भनेर गरिमामाथि रजतपटले लान्छना लगाएको छ । कार्यक्रम प्रस्तोता प्रकाश सुबेदीले ‘बिनाशकाले विपरित बुद्धि’ भनेर टिप्पणीसमेत गरेका छन् ।

    रजतपट कार्यक्रममा यसरी ‘रिपोर्ट’ प्रकाशित भएपछि गरिमा आक्रोशित बनेकी छन् । भ्रामक समाचार प्रशारण गरेर आफ्नो चरित्रहत्या गरेको भन्दै उनी हिजो राति टिकटकमा रुँदै लाइभ आइन् । उनले रजतपट कार्यक्रम र प्रस्तोताविरुद्ध कानूनी कारवाहीमा जाने चेतावनी पनि दिएकी छन् ।

    भएको के हो ?

    दुर्गेश र गरिमाले टीकटक लाइभमा आएर उरन्ठेउलो हर्कत गरेका थिए । दुर्गेशले आफूहरु भर्खरै ब्रेकअप भएका प्रेमीप्रेमीकाको रुपमा अभिनय गर्ने प्रस्ताव गरिमालाई राखे र गरिमाले पनि स्वीकारिन् । अभिनयका नाममा दुर्गेशले गरिमालाई तथानाम गाली गरेका थिए । टिकटकबाटै उदाएकी गरिमाले यो फुटेज टीकटकमा सजिलै दुरुपयोग हुन सक्छ भन्ने हेक्का गरिनन् ।

    नभन्दै अगाडिको पृष्ठभूमि हटाएर उनीहरुले ‘एक्स लभर्स’ का रुपमा गरेको संवादको फुटेज टिकटकमा भाइरल भयो । यही फुटेज हेरेर प्रकाश सुबेदीले रिपोर्ट बनाए । टिकटकमा आएको १५ सेकेन्डको भिडियोलाई मात्रै आधार बनाएर यसरी राष्ट्रिय टेलिभिजनमा समाचार प्रशारण गर्नु हास्यास्पद मात्र नभइ आपत्तिजनक समेत थियो ।

    विगतमा पनि पटक–पटक नायिकाहरुको चरित्रहत्या गरेको आरोप प्रकाश सुबेदीले खेप्दै आएका थिए । केही समयअघि मात्रै नायिका शिल्पा पोखरेलको चरित्रहत्या गरेको आरोपमा एपीवान टेलिभिजनले उनको कार्यक्रमलाई निलम्बन गरिदिएको थियो । तर, अझै पनि उनले सुध्रिने संकेत देखाएका छैनन् ।

    गरिमाले सामाजिक सञ्जालमा स्टाटस लेखेर आफूले सत्यतत्य जानकारी गराउँदा गराउँदै पनि बदनियतपूर्वक समाचार बजाइएको गुनासो गरेकी छन् । न्यायका निम्ति सम्वन्धित निकायसँग पुग्न बाध्य भएको भन्दै उनले दर्शकलाई भ्रममा नपर्न अनुरोध गरेकी छन् ।

    तर यो घटनामा दर्शकले दुर्गेश र गरिमामाथि पनि गाली वर्षाइरहेका छन् । टिकटक लाइभमा आएर रमाइलो गर्ने नाममा उछृंखल क्रियाकलाप गर्दा उनीहरु आफैं फस्न पुगेको कतिपयको टिप्पणी छ ।

    उनीहरुको गल्ति आफ्नो ठाउँमा होला । तर, कुनै आधिकारिकता बिनाको भ्रामक रिपोर्ट प्रशारण गर्दा ‘चिप्ल्याउने अंकल’ का रुपमा चिनिएका प्रकाश सुबेदी फेरि एकपटक आफैं चिप्लिएका छन् ।

    @garimasharma_official

    THANK YOU EVERYONE FOR THIS BEAUTIFUL GIFT 😊 विशेष tHANK YOU AP1 TV , I OWE YOU FOR THIS EPISODE 🙏 ##JUSTICENEEDED

    ♬ original sound – गरिमा

  • टीकटकको कमाइले चार सय भोकालाई खाना खुवाइन् गरिमाले

    टीकटकको कमाइले चार सय भोकालाई खाना खुवाइन् गरिमाले

    काठमाडौं । अधिकांशको लागि टीकटक फुर्सदको उपयोग गर्ने माध्यम हो । ठिटा-ठिटीले टीकटकलाई मनोरञ्जनको माध्यम बनाइरहेका छन् ।

    तर, टीकटक कसैका लागि समाजसेवाको गतिलो माध्यम बनेको छ । म्युजिक भिडियोको चर्चित नाम गरिमा शर्माले भने टीकटक एपलाई सहयोगी हातको माध्यम बनाएकी छिन् ।

    ४०० जना भोकालाई गरिमाले गत आइतबार खाना खुवाएकी छिन् । साथै, खाना खुवाउन सक्रिय सामाजिक समूह हाम्रो टीम नेपाललाई १५ हजार रुपैयाँ पनि सहयोग गरेकी छिन् ।

    ‘लाइभ बस्दा फ्यानहरुले गिफ्ट पठाउनुहुन्छ । सोही गिफ्ट मैले दर्शकलाई सहयोग गरेकी हुँ’ टीकटकबाट आएको कमाइबारे उनले भनिन् । लकडाउन अघि म्युजिक भिडियोमा गरिमा निकै व्यस्त थिइन् ।

    पछिल्लो समय सेलेव्रिटीले महामारीबाट प्रभावितलाई सहयोगी हात अघि बढाइरहेका छन् ।