Tag: खीर

  • खीर खाँदै एमाले नेता, नेपाल पक्ष अनुपस्थित (तस्बिरहरू)

    खीर खाँदै एमाले नेता, नेपाल पक्ष अनुपस्थित (तस्बिरहरू)

    काठमाडौं । नेकपा एमालेले साउन १५ का अवसरमा खीर खाने कार्यक्रम आयोजना गरेको छ । थापाथलीस्थित पार्टीको मुख्यालयमा आयोजित कार्यक्रममा माधव नेपाल पक्षका नेताहरू भने सहभागी छैनन् ।

    पार्टी कार्यालयका सचिव शेरबहादुर तामाङले पार्टीका सबैलाई कार्यक्रममा निम्तो गरिएको बताएका थिए । तर, माधव नेपाल पक्षका नेताहरूले भने कार्यक्रम अघोषित बहिष्कार गरेका छन् । त्यसो त पार्टी अध्यक्ष केपी शर्मा ओली स्वयं अनुपस्थित बनेका छन् ।

    कार्यक्रममा पार्टीका महासचिव ईश्वर पोखरेललगायत नेताहरू सहभागी थिए ।

    हेर्नुस् खीर खाने कार्यक्रमका केही तस्बिर :

    तस्बिरहरू : सरोज बैजु ।

  • टिप्स : स्वादिलो खीर कसरी पकाउने ?

    टिप्स : स्वादिलो खीर कसरी पकाउने ?

    काठमाडौं । आज साउन १५ । नेपालमा आजको दिनलाई खीर खाने पर्वका रूपमा मनाइन्छ । धेरैले खीर पकाएको र खाएको तस्बीर सामाजिक सञ्जालमा पोष्ट गरेका छन् ।

    नेपालीले रुचाउने परिकारभित्र पर्छ खीर । दूध र चामलबाट बनाइने यो गुलियो परिकार पकाउन भने ढंग पुर्‍याउनैपर्छ । ढंग नपुगे परिश्रम मात्रै खेर जान्छ । ‘दूधमा चामल हाल्ने त हो नि’ भनेर सोच्छन् धेरैले । तर, स्वादिलो खीर बनाउन त्यति सजिलो छैन ।

    यहाँ हामी मिठो खीर पकाउनका लागि तपाईंलाई आवश्यक टिप्स दिन गइरहेका छौंः

    आवश्यक सामाग्री

    चामल, दूध, चिनी, तेजपत्ता, काजु, बदाम, किसमिस, सुकेको नरिवलको टुक्रा, दालचिनी, पकाउनका लागि बाक्लो भाडो

    पकाउने तरिका

    खीर बनाउनुपूर्व नै चामललाई आधा घण्टाभन्दा बढी समय भिजाउनु पर्छ । भिजेको चामलमा खीर पकाउँदा बढी स्वादिष्ट हुन्छ । खीरका लागि चामल जुनसुकै भए पनि भए पनि हुन्छ । तर, पुरानो चामलभन्दा नयाँ चामलको खीर बढी मीठो हुने गर्छ ।

    यदि तपाईं अलि पुरानो विधिबाट खीर पकाउन चाहनुहुन्छ भने घरमा मिलमा कुटाएको चामललाई घ्यूमा मोलेर पनि केहीबेर राख्न सक्नु हुन्छ । र, त्यो चामललाई खीरमा प्रयोग गर्न सक्नुहुन्छ ।

    खीर पकाउने भाँडो चाहिँ बाक्लो हुनुपर्छ । पातलो भाँडोमा खीर पकाउँदा डढ्ने समस्या हुनसक्छ । खीर पकाउनुअघि चामलभन्दा डेढतिहाई पानी उमाल्नुस् र त्यो पानीमा केहीबेर चामललाई पकाउनुस् । थोरै पाकेको चामलमा सबै दूध हाल्नुस् र चलाउन थाल्नुस् । यसरी खीरलाई चलाउँदा दूध उम्लेर माथि आउने गर्छ । यो बेलामा आगोको ज्वाला कम गर्ने र खीर बाक्लो नहुन्जेलसम्म चलाइराख्नुपर्छ । अर्को तरिकाले उम्लेको दूधमा सीधै भिजाएको चामल पनि हाल्न सकिन्छ ।

    चामलमा दूध निकै घटेर खीर बाक्लो हुँदै गएपछि तेजपत्ता हाल्नुस । तेजपत्ताले खीरको स्वादलाई बास्नादार बनाउँछ । खीर बाक्लो हुँदै आएपछि यसमा चिनी राख्नुस् र, मजाले चलाउनुस् । खीर पकाउँदा शुरूमै चिनी राख्नु हुँदैन । शुरूमा चिनी राखियो भने खीर डढ्न सक्छ ।

    चिनी हलिसकेपछि पहिल्यै राखिएको तेजपत्तालाई निकालिदिनुस् । अब खीरलाई अझ बास्नादार र स्वादिष्ट बनाउनका लागि अलैंचीको धुलो, बदाम, काजु, नरिवलको टुक्रालगायतका सामग्री हालिदिनुस् र, राम्ररी चलाउनुस् । एकछिन पुनः खीर पाक्नलाई छोडिदिनुस् । अब खीर बाक्लो भएर राम्ररी पाकेपछि त्यसमा एक चम्चा घ्यू हालेर राम्ररी चलाइदिनुस् ।

    यति गरिसकेपछि खीर खानका लागि तयार हुन्छ । अब ग्यासको फ्लेमलाई बन्द गर्नुहोस् । अनि तातो-तातो खीर सर्भ गर्न सक्नुहुन्छ ।

    खीरसँग आलुको अचार

    खीरका साथमा तपाईंलाई नुनिलो परिकारको पनि आवश्यकता पर्छ, अन्यथा दुई-चार गाँसमै अमन हुन्छ । खीरको सहायक परिकारका रूपमा आलुको भुजिया र आलुको अचार सबैभन्दा उत्तम मानिन्छ ।

    अचार भन्नसाथ हामीलाई मुखमा पानी आइहाल्छ । र, सम्झन्छौं जिब्रोमा झुण्डिने ट्वाक्क परेको अमिलो र पीरो अचार । हामीले खाने खीरसँग आलुको अचार पनि भयो भने सुनमा सुगन्ध हुन्छ ।

    आलुको अचार बनाउन चाहिने सामग्री

    आलु, काँक्रो, गाजर, हरियो कोसा वा सुकेको केराउ भिजाएको, प्याज, हरियो खुर्सानी, हरियो धनियाँ, तिलको छोप, मेथी, लसुन, जिरा, नुन (स्वाद अनुसार), बेसार । छोपका लागि तिल, सिलाम, आलस प्रयोग गर्न सकिन्छ ।

    तिललाई केहीबेर भुट्ने र त्यही प्यानमा अलिकति जिरा र सुकेको खुसार्नी पनि भुट्नुस । त्यसपछि तिल, खुसार्नी र जिरा ओखलमा वा मिक्सचरमा पिसेर धुलो बनाउनु पर्छ ।

    बनाउने तरिका

    उसिनेको आलुलाई राम्ररी मिच्ने, हरियो काँक्रो र गाजरलाई सानो सानो टुक्रामा मसिनो गरी काट्ने । र, एउटा कचौरा वा भाँडोमा केराउ, काँक्रो, आलु र गाजर हालेर मोल्ने । अनि स्वादअनुसार नुन हाल्ने र राम्ररी चलाउने ।

    यसरी बनाएको अचारमा तिलको छोप र खुर्सानी पनि हाल्दिनुहोस् । अब अचार झान्नुपर्छ । अचार झान्नका लागि एउटा प्यानमा तेल तताउने र त्यसमा मेथीलाई कालो हुन्जेलीसम्म फुराउनु पर्छ । फुराएको मेथीमा वेसार हाल्दिनुहोस् । अब मेथीसहितको तातो तेलमा हरियो धनियाँ राखेर अघि तयार गरेको अचारमा झान्नुहोस् । यसरी तेल र मेथीले अचार झानीसकेपछि राम्ररी फेरी चलाउनुहोस् ।

    अब खीरका लागि अचार तयार भयो । स्वादिष्ट खीरसँगै अचार छेउमा राखेर मिठो मानी-मानी खानुहोस् ।

  • खीर: मीठो स्वाद, स्वास्थ्यवर्द्धक र मौलिक साँस्कृतिक खाना

    खीर: मीठो स्वाद, स्वास्थ्यवर्द्धक र मौलिक साँस्कृतिक खाना

    ‘असार १५ दही–चिउरा खानू, साउनको १५ खीर’ यो नेपाली समाजको छुट्टै र सामूहिक पहिचान हो । नेपाली समाजमा मात्र विद्यमान यो प्रचलनले नेपालीलाई एकताको सुत्रमा बाध्न महत्वपूर्ण भूमिका निभाएको छ ।

    हरेक बर्ष साउन १५ गतेका दिनलाई खीर खाएर रमाइलो गर्दै सांस्कृति पर्वकै रुपमा मनाउने गरिन्छ । आज साउन १५, घरघरमा खीर र मिष्ठान्न खाएर यो पर्व मनाइँदै छ ।

    साउन १५ मा खीर खाने परम्परा कुनै धार्मिक महत्वको नभएर सांस्कृतिकरुपमा चलनमा ल्याइएको हो । सनातन वैदिक सभ्यताअनुसार पूजाआजा तथा शुभकार्यमा खीरलाई प्रसादका रुपमा लिइन्छ । पारिवारिक भेटघाट तथा चाडपर्व र विशेष दिनमा खीरको पोषिलो परिकार बनाई खाने चलन हाम्रो समाजमा रहेको छ ।

    दूधको एक परिकार भएका कारण थोरै खाएर धेरै पोषण प्राप्त गर्ने हुदा स्वास्थ्यको लागी एकदमै लाभदायक रहेको चिकित्सकहरुको भनाइ छ ।

    नेपाल कृषिप्रधान देश भएको र बहुसंख्यक नेपाली कृषि पेसामा आश्रित भएकोले कृषिकहरूले धान रोपेर काम सकेपछि खुसीयालीस्वरूप खीर खाने परम्पराको विकास भएको हो । यो कुनै धार्मीक पर्व होइन । यसको साँस्कृतिक संगै वैज्ञानिक महत्व पनि बोकेको छ ।

    साउन महिना वर्षात समय भएकाले पनि विभिन्न रोगहरुबाट छुटकारा पाउनका लागि पनि दूधबाट बनेको पोषिलो खीरले धेरै मद्दत गर्दछ भन्ने कुरा वैज्ञानिक रुपमा प्रमाणित भएको छ ।

    खीरमा रोग प्रतिरोधात्मक क्षमता हुने भएकोले पनि यो खाने प्रचलन बसेको बुझ्न सकिन्छ । वर्षा समयमा विभिन्न संक्रमण रोग लाग्ने गर्दछ, संक्रमणबाट बँच्न खीर खाने गरेको पाइन्छ ।

    नेपाली समाजमा वर्ष दिनभरिमा कहिले जौको सातु र सर्वत, कहिले दही चिउरा, क्वाँटी खाए जस्तै गरी हरेक साउन १५ मा खीर पकाई खाने चलन रहेको छ । आयुर्वेद शास्त्रमा खिरमा हालिने वस्तुहरू विशिष्ट औषधीय गुणका छन् ।

    खीरमा ल्वाङ, घ्यू, काजु, नरिवलका टुक्रा, दालचिनी, मरिच, केसर, दाख राख्ने गरिन्छ । ती सबै वस्तुमा औषधीय गुण छ र स्वास्थ्यका लागि निकै लाभदायक मानिन्छ । खीरले रोग प्रतिरोधात्मक क्षमता बढाउने हुँदा मानव स्वास्थ्यका लागि उपयुक्त मानिन्छ ।

    अर्कोतर्फ हिन्दू धर्मावलम्वीहरुका लागि साउन महिना शिवपूजन महिना भएकाले एक महिनासम्म माछा–मासु नखाएर शिवभक्तहरूले भगवान शिवको पूजा गर्ने गर्दछन् । त्यसले पनि खीरको महत्व बढेको हो ।

    उता साउन महिना गर्मी पनि महिना भएकोले शरीरमा दाद, खटिरा र लुतोजस्ता रोगले आक्रमण गर्ने भएकोले रोगप्रतिरोधात्मक शक्ति बढाउनुपर्ने हुन्छ । जसको कारण साउन महिना दूध तथा दूधबाट बनेका पोषिला परिकारहरू, खासगरी खीर खाने चलन छ ।

    यसप्रकार सामाजिक प्रचलनले हाम्रो सांस्कृतिक महत्वलाई मात्र दर्शाउँदैन, पारिवारिक जमघट र आफन्तहरुबीचको सामीप्यतालाई अझ प्रगाढ बनाउँछ । यसले देशको फरक पहिचान बढाउनुका साथै पर्यटन क्षेत्रको विकासमा समेत टेवा पु¥याउँछ ।

    विभिन्न सांस्कृतिक परम्परा नै हाम्रो देशको मौलिक पहिचान हो । यस्तो संस्कृति कतै पनि छैनन् । हाम्रा मौलिक पहिचानको जर्गेना गर्नु सबैको कर्तव्य हो तर पछिल्ला दिनमा यो कार्य ठूलो चुनौती बन्दै गएको छ ।

    यसमा आमजनताको चासो रहन आवश्यक छ । हाम्रा समाजका सबै सांस्कृतिक परम्पराको जर्गेना र पहिचान रक्षामा सबैले हातेमालो गर्नु जरुरी छ ।