Tag: क्षति

  • बाढीपहिरोले डेढ दर्जन जलविद्युत् आयोजनामा क्षति, मादीमा एक अर्बको नोक्सान

    बाढीपहिरोले डेढ दर्जन जलविद्युत् आयोजनामा क्षति, मादीमा एक अर्बको नोक्सान

    काठमाडौं । मंगलबारको बाढीका कारण झण्डै डेढ दर्जन जलविद्युत् आयोजनामा सानाठूला क्षति पुगे । सोही क्षतिका कारण सरकारी तथा निजी क्षेत्रका केही आयोजना अझै पनि पुनः सञ्चालनमा आउन सकेका छैनन् ।

    कास्कीमा निर्माणाधीन अवस्थामा रहेको ४४ मेगावाट क्षमताको सुपर मादी जलविद्युत् आयोजनामा सबैभन्दा ठूलो क्षति पुगेको छ । सुपर मादी हाइड्रोपावरका अध्यक्ष पुष्पज्योति ढुङ्गानाका अनुसार बाढीका कारण झण्डै एक अर्ब बराबरको नोक्सानी भएको छ ।

    उनका अनुसार मादी नदीमा आएको बाढीले निर्माणाधीन आयोजनाको हेडबक्स, पावरहाउस, कामदार आवास एरियालगायत स्थानमा ठूलो क्षति पुर्‍याएको छ । यस्तै लोडर, एक्साभेटर, पेनस्टक पाइप, कर्सर प्लान्ट, आरएमसी प्लान्ट, हेभी जेनेरेटरलगायत पावरहाउस क्षेत्रबाट निर्माण सामग्रीसमेत बगाएको छ ।

    आज मात्रै नेपाल चीन सीमा क्षेत्र नजीकै रहेको रोजिया शहर र सोको आसपासमा भारी वर्षा भएसँगै पहिरो आउँदा नदीको बहाव रोकिन गएको भन्दै जिल्ला प्रशासन कार्यालय दोलखाले सचेत रहन सूचना जारी गरेको छ । नेपाल चीन सीमा क्षेत्रको बस्ती तथा तामाकोशी नदी तटीय क्षेत्रमा जोखिम उत्पन्न हुने सूचनामा उल्लेख छ ।

    तामाकोशी नदीमा नै ४५६ मेगावाट क्षमताको माथिल्लो तामाकोशी जलविद्युत् आयोजना निर्माणको अन्तिम चरणमा छ । बाढीका कारण दोर्दी करिडोरमा निर्माणमा रहेका आयोजनामध्ये केहीमा सामान्य क्षति पुर्‍याएको छ । बाढीका कारण दोर्दी करिडोरमा निर्माणाधीन अवस्थामा रहेका आयोजना क्षति पुगेको छ । कूल ५४ मेगावाट क्षमताको सुपर दोर्दी (ख), १२ मेगावाट क्षमताको दोर्दी १ मा बाढीले समस्या पारेको छ । रसुवामा निर्माण भइरहेको रसुवागढी आयोजनाको टेलरेसबाट बाढी पसेको छ । बाढीले आयोजनामा आवतजावतका लागि निर्माण गरिएको बेलीब्रिज बगाएको छ ।

    मेलम्चीमा आएको बाढीले पुर्‍याएको जनधनको क्षति असाध्यै ठूलो छ । वातावरण विज्ञानको क्षेत्रमा अध्ययन अनुसन्धान गर्दै आएका रविन निरौलाका अनुसार कमजोर भूसतहमा सामान्य पहिरो जाँदा पनि तल्लो तटमा ठूलो क्षति पुगेको छ ।

    मेलम्चीको हकमा पहिरो खसेर ४५ मिनेट बढी खोला थुनिएको देखिन्छ । मनसुनको समयमा नदी त्यसले कति विकराल रुप लिन्छ भनेर मेलम्चीको अवस्थाबाटै थाहा भएको छ ।

    बाढीपहिराले नेपालको हिमाली तथा पहाडी क्षेत्रमा निर्माण भएका भौतिक संरचनामा ठूलो क्षति पुगेको छ । मेलम्ची खानेपानी आयोजनाका अनुसार बाँधस्थल तथा अन्य संरचनामा बाढीले समस्या पारेको छ । जानकारहरुका अनुसार नेपाल आफैँमा प्राकृतिक विपत्तिको जोखिममा छ । ‘गोरखा भूकम्प’ का कारण भौगोलिक रुपमा नै केही जटिलता सिर्जना भएका छन् । त्यसमाथि जलवायु परिवर्तनका कारण एकै स्थानमा धेरै वर्षा हुने कारण पनि बाढीपहिराको जोखिम उत्तिकै बढी देखिन्छ । यस्तो अवस्थामा भौतिक पूर्वाधार निर्माण गर्दा विशेष सावधानी अपनाउनुपर्ने देखिन्छ ।

    विशेषगरी उत्तरी क्षेत्रमा निर्माणमा रहेका र सञ्चालनमा आइसकेका जलविद्युत् आयोजनामा पछिल्ला बाढीपहिरोले झनै समस्या थपिदिएको छ । लागत र समय मात्रै बढेको छैन, आयोजनाको भविष्यमा समेत प्रश्नचिह्न खडा भएको छ ।

    यसो गरे जोगाउन सकिन्छ

    यस्तो विषम अवस्थामा हाम्रा भौतिक पूर्वाधार निर्माणमा कुन विषयलाई बढी ध्यान दिनुपर्ला त भन्ने जिज्ञासामा नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी एनइए इन्जिनीयरिङका प्रबन्ध सञ्चालक माधव कोइरालाले भने, ‘हामीले विशेषगरी खोलाको अवस्थालाई ख्याल गरेर मात्रै निर्माणका काम अगाडि बढाउनुपर्छ ।’ उनका अनुसार हामीले कस्तो संरचना बनाउँदैछौँ, त्यहाँको भूगोल कस्तो छ भन्ने जस्ता विषयमा मिहीन अध्ययनको जरुरी देखिएको छ ।

    यस्तै सुरक्षाका उपाय के कति मात्रामा अवलम्बन गरेका छौँ वा जोखिम न्यून गर्ने मापदण्डलाई के कसरी आत्मसात् गरेका छौँ भन्ने विषय पनि यसमा जोडिएर आएको प्रबन्ध सञ्चालक कोइरालाको भनाइ छ ।

    भइहाल्छ वा चलिहाल्छ नि भन्ने मान्यताले कतिपय विकास निर्माणका काममा गुणस्तरलाई ख्याल नगर्ने प्रवृत्ति पनि उत्तिकै छ । सही डिजाइन भयो वा भएन, डिजाइनअनुसारका संरचना तयार भए वा भएनन् भन्ने कुरालाई विशेष ख्याल गर्नुपर्ने र सोही अनुसारका संरचना बनाउन लागिपर्नुपर्ने कोइरालाको भनाइ छ ।

    चिलिमे जलविद्युत् आयोजनादेखि नेपाल चीन सीमा क्षेत्र नजीक निर्माण भइरहेको १११ मेगावाट क्षमताको रसुवागढी आयोजनाको समेत प्रमुख भएर काम गरिसक्नुभएका कोइरालाको विचारमा ‘सही स्थानमा सही संरचना (राइट प्लेस, राइट स्ट्रकचर)’ हुनु आवश्यक छ ।

    परियोजनाको छनोटदेखि नै भौगर्भिक रुपमा जोखिमम छन् वा छैनन् विषयमा राम्रो खोज आवश्यक रहेको पछिल्ला दिनमा देखिएको बाढीपहिरोले देखाएको कोइरालाको बुझाइ छ । उनले भने, ‘हामीले अब इन्जिनीयरिङलाई पनि सोही अनुसार अगाडि बढाउनुपर्ने देखिन्छ, सही डिजाइन र मापदण्डको पूर्ण कार्यान्वयन जरुरी देखिन्छ ।’ एनइए इन्जिनीयरिङ कम्पनीले गरिरहेका कामलाई समेत अब थप गुणस्तरीय र प्रभावकारी बनाउने तथा जोखिम कम गर्नेतर्फ ध्यान दिने उनको भनाइ छ ।

    ठूला प्राकृतिक विपत्तिलाई रोक्न नसकिए पनि क्षति कम गर्नेतर्फ सोच्नु जरुरी छ । किनकि, नेपालको विकास निर्माण प्रक्रियामा सुरक्षाका उपाय अवलम्बन नगर्ने प्रवृत्ति पनि उत्तिकै छ । पूर्वसावधानी अपनाउन सकिए क्षतिलाई घटाएर भौतिक संरचनाको सुरक्षा गर्न सकिने प्रबन्ध सञ्चालक कोइरालाको भनाइ छ ।

    ठूला भौतिक पूर्वाधार निर्माण गर्दा सामान्यता दशौँ वर्षको मौसमी विवरण आवश्यक पर्दछ । त्यसमा अध्ययन गरिन्छ । त्यसमा पनि अर्थतन्त्रको प्रमुख आधारका रुपमा रहेको ऊर्जा क्षेत्रका परियोजना निर्माण गर्दा झनै मिहीन अध्ययनको जरुरी देखिन्छ ।

    बाढीपहिरोका कारण जलविद्युत् आयोजनाका उपकरणमा नदीको बालुवा तथा लेदो पसेकाले पनि केही दिन विद्युत् उत्पादन बन्द हुने उनीहरुको भनाइ छ । मेलम्चीको बाढीले इन्द्रावती तेस्रोको विद्युत् उत्पादन बन्द छ । कूल ७.५ मेगावाट क्षमताको सो आयोजना मंगलबार साँझदेखि बन्द रहेको छ । मुख्य संरचना सुरक्षित रहेको भए पनि बाँधको गेटमा समस्या देखिएको बताइन्छ । नेशनल हाइड्रोपावर प्रवद्र्धक रहेको सो आयोजनाको क्षतिका बारेमा मूल्याङ्कन भइरहेको जनाइएको छ । कम्पनीका अध्यक्ष कुमार पाण्डेका अनुसार क्षतिको मूल्याङ्कन भइरहेको छ ।

    यस्तै सो आयोजनाका तीन टावरमा क्षति पुगेको छ । गत माघमा भारतको उत्तराखण्डको चमोलीमा आएको हिमपहिराले बूढीगङ्गालगायतका आयोजनालाई क्षति पुर्‍याएको थियो । हिमाली क्षेत्रमा हिमपहिरो तथा बाढीको पनि जोखिम उत्तिकै भएकाले भौतिक पूर्वाधार निर्माणलाई कसरी सुरक्षित बनाउने भन्नेमा सरोकारवालाको ध्यान जानु जरुरी रहेको बताइन्छ ।
    -रासस

  • पहिरो खस्दा राप्ती राजमार्गमा ४ वटा गाडीमा क्षति

    पहिरो खस्दा राप्ती राजमार्गमा ४ वटा गाडीमा क्षति

    रुपन्देही । दाङ-सल्यान सडकखण्डको कपुरकोट गाउँपालिका ३ बसारे नजिकै राप्ती राजमार्ग अन्तर्गतको सडकमा आएको पहिरोले ४ वटा गाडीमा क्षति पुर्‍याएको छ ।

    जिल्ला प्रहरी कार्यालय सल्यानले पहिरोले सडक अवरुद्ध भएपछि रोकी राखेका रा १ ज १६२ नम्बर को एम्बुलेन्स, ना १ ख ८७८६ नम्बर को टिप्पर, एउटा ट्रक र एउटा मिनिट्रकमा माथीबाट खसेको पहिरोले क्षति पुर्याएको जनाएको छ ।

    सडक अवरुद्ध हुँदा बाटोमा रोकी राखेको अवस्थामा सडक माथिबाट ठूलो पहिरो आउँदा टिप्पर आधा पुरिएको छ भने एम्बुलेन्सको सिसा फुटेको प्रहरीले जनाएको छ । प्रहरी चौकी कपुरकोटबाट प्रहरी नायब निरीक्षक यामबहादुर बस्नेतको कमाण्डमा ५ जनाको प्रहरी टोली खटिएर जेसीबिद्वारा गाडी निकालिएको छ । पहिरोका कारण दुई दिनदेखि राजमार्ग अवरुद्ध भएको छ ।

    केही समय पहिरो पन्छ्याए पनि फेरि पहिरो झर्ने क्रम जारी रहेकोले राजमार्ग अवरुद्ध छ । निरन्तर पानी परिरहँदा सडक खुलाउन समस्या भएको प्रहरीको भनाइ छ । मेसिन लगाएर सडक खुलाउने प्रयास भइरहे पनि पहिरो झरी रहेकाले समस्या भएको हो ।

  • चक्रवातका कारण भारत, बंगलादेशमा ठूलो क्षति, ११ लाखभन्दा बढी मानिसको उद्धार

    चक्रवातका कारण भारत, बंगलादेशमा ठूलो क्षति, ११ लाखभन्दा बढी मानिसको उद्धार

    दिल्ली । पूर्वी भारत र छिमेकी बंगलादेशमा भारी वर्षा सहितको चक्रवातका कारण लाखौं मानिस प्रभावित भएका छन् । ‘यास’ नामको उक्त आँधीका कारण बुधबार बिहानसम्म ११ लाखभन्दा बढी मानिसलाई सुरक्षित स्थलमा सारिएको अधिकारीहरुले बताएका छन् ।

    प्रारम्भिक विवरणमा आँधीका कारण दुई जनाको मृत्यु भएको छ भने घरहरुमा व्यापक क्षति पुगेको छ । भारतका पूर्वी राज्यहरु पश्चिम बंगाल र उडिसामा सुरुवाती प्रभाव पारेको यो आँधी उत्तरतर्फ बढ्दै गएको छ ।

    भारतीय मौसम विज्ञान विभागका अनुसार वर्षा सहितको यस आँधीको सरदर गति १३० देखि १४० किलोमिटर प्रतिघण्टा रहेको छ । समुद्री किनाराबाट उक्त आँधी जमिनमा आउन थालेको र बुधबार साँझसम्म उक्त आँधीको वेग कमजोर हुँदै जाने विभागले जनाएको छ ।

    बंगलादेशमा तटवर्ती २०० गाउँका हजारौं बासिन्दा आँधीको चपेटामा परेका छन् । समुद्रबाट आएका अग्ला-अग्ला छालहरुले स्थानीयबासीका घर, पसल र खेतीपाती पुरै जलमग्न बनाएको छ ।

    दक्षिणस्थित पटुवाखाली जिल्लाको रङ्गबाली गाउँका २० भन्दा बढी गाउँहरु पुरै डुबानमा परेको एक जना वरिष्ट प्रशासक मस्फीकर रहमानले जानकारी दिए । उनले नदीका दुई वटा तटबन्ध भत्किएर गाउँ पुरै डुबेको बताउँदै कम्तीमा १५ हजार व्यक्तिलाई आपतकालीन केन्द्रहरुमा राखिएको जानकारी गराए ।

    भारतमा पनि टेलिभिजनहरुले पश्चिम बंगालको डिघा समेतका तटीय क्षेत्रका सडकहरुमा घुँडा-घुँडा पानी आएको दृश्य देखाएका छन् । भारी वर्षाका कारण धेरै ठाउँमा नदीका तटबन्धहरु फुटेका छन् ।

    पश्चिम बंगालका मुख्यमन्त्री ममता बनर्जीले संवाददाताहरुसँग कुरा गर्दै तटीय क्षेत्रका बासिन्दाका २० हजारभन्दा बढी अस्थायी माटाले बनाएका घर क्षतिग्रस्त भएको जानकारी दिइन् ।

    मङ्गलबार यतामात्र उडिसाका चन्दबाली र पारादिप क्षेत्रमा १७ सेन्टीमिटरभन्दा बढी वर्षा भएको थियो । यहाँको स्थानीय मौसम कार्यालयले १३ फिटसम्मका अग्ला समुद्री छालहरु आउन सक्ने प्रक्षेपण गरेको छ ।

    कोलकाता र भुवनेश्वरका विमानस्थल बन्द गरिएका छन् भने रेलसेवा रद्द गरिएको छ । माछा मार्ने डुङ्गाहरुलाई सुरक्षित स्थानमा रहन भनिएको छ ।

    कोरोनाभाइरस महामारी फैलिइरहेकै अवस्थामा आएको यस समुद्री आँधीले कोभिड–१९ को नियन्त्रणमा अर्को चुनौती थप्नेछ । गत साता भारतकै पश्चिमी तटीय क्षेत्रमा आएको ताउते नामको समुद्री आँधीका कारण १४० भन्दा बढी व्यक्तिको मृत्यु भएको थियो ।

    उडिसाका मुख्यमन्त्री नवीन पटनायकले आश्रयस्थलमा रहेका नागरिकलाई मास्क लगाउन र सामाजिक दूरी कायम राख्न आह्वान गरेका छन् ।