काठमाडौं । एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली आज गृह जिल्ला झापा पुगेर एउटा शुभकामना आदानप्रदान कार्यक्रममा सहभागी भए । उक्त कार्यक्रममा भाग लिन पुगेकी थिइन् एमालेकी समानुपातिक सांसद तथा लोकगायिका कोमल वली ।
कार्यक्रममा भाषणसँगै सांस्कृति प्रस्तुति पनि समावेश गरिएका थिए । कोमलले पनि कार्यक्रममा छोटो भाषण गर्दै केपी ओलीमाथि कविता र गीत सुनाइन् । आफ्नो छोटो कवितामा कोमलले ओलीलाई ‘स्वप्नद्रष्टा पिता’ को संज्ञा दिएकी थिइन् ।
कोमलले सार्दूलविकृडित छन्दमा सुनाएको कविताका चार पंति यस्ता छन्-
यस्ता घोर कठोर कालहरुमा सत्कर्मका सञ्चिता
नेपालीजनका अपूर्व सुखका हे स्वप्नद्रस्टा पिता,
नेपाली मुटुभित्र बास अहिले बस्ने छ कोही त्यो भने
केपी बा हुनुहुन्छ एक युगका भन्छन् सबै भन्छन् सबैका मन ।
कोमलले आफ्नो भाषणमा देशलाई फेरि एकपटक केपी ओली चाहिएको बताइन् ।
उनले भनिन्, ‘देशको दूरगामी विकासका लागि हामीलाई फेरि केपी ओली चाहिएको छ ।’
काठमाडौं । आजको राष्ट्रियसभा बैठकमा एमालेका सांसदले सभामुख अग्नि सापकोटाको राजीनामा मागेका छन् । एमालेकी सांसद कोमल वलीले सभामुख अग्नि सापकोटाले राजीनामा नदिइ बैठक सुचारु गर्न नदिने अडान राखिन् ।
उनले परमादेशबाट सरकार र अध्यादेशबाट पार्टी फुटाउने कामले लोकतन्त्रलाई समाप्त गर्ने भएकाले आफ्नो पार्टीले सभामुख सापकोटाको आफ्नो दल फुटाउने षडयन्त्रविरुद्ध उभिनु परेको जिकिर गरिन् ।
प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका सांसदहरूको अवरोधका बीच राष्ट्रियसभाको दोस्रो बैठकले लोक सेवा आयोग विधेयक-२०७८ पारित गरेको छ ।
एमाले सांसदको अवरोधका कारण अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले राष्ट्रियसभाको अर्को बैठक भदौ ३० बिहान ११ बजे आव्हान गरेका छन् ।
काठमाडौं । राष्ट्रिय सभा सदस्य कोमल वलीले जयसिंह धामी बेपत्ता प्रकरणमा सरकारले एक शब्द बोल्न नसकेको भन्दै यसले कांग्रेसका संस्थापक बिपी कोइरालाकै अपमान भएको टिप्पणी गरेकी छन् ।
शुक्रबारको राष्ट्रियसभा बैठकमा बोल्दै वलीले जयसिंह धामी बेपत्ता प्रकरणमा सरकारले एक शब्द बोल्न नसकेको र समिति बनाएर टार्न खोजेको आरोप लगाइन् । विपी कोइरालाले छिमेकी देश भारत र चीनसँग ठाडै सम्वाद गर्ने गरेको स्मरण गराउँदै यस विषयमा सरकारले भारतसँग कुरा गर्न नसक्नु उनकै अपमान भएको वलीको भनाइ थियो ।
‘नेपाली जनताको अपमान हुँदा, तुइन काटेर यौटा युवालाई मारिँदा एक शब्द नबोल्ने ? समिति बनाएर टार्ने ? यही हो विपीका अनुयायीहरूको चरित्र ? यो विपी कोइरालाको अपमान हो । विपीले बनाएको पार्टीको अपमान हो । नेपाली कांग्रेसका कार्यकर्तामाथिको अपमान हो । देश, मानवीय, जनताको इस्यूलाई साराले तुइन काटेको भनेर भन्दा रिपोर्ट पर्खने कुरा हुन्छ ? विपीले त्यतिबेला रिपोर्ट पर्खेको भए के हुन्थ्यो ? नाम रहन्थ्यो ?,’ वलीले भनिन्, ‘ समयलाई चिन्न नसक्ने, समयलाई हाँक्न नसक्ने, कतिबेला कसको सरकार गिर्छ र पदमा बसौला भन्नेहरूबाट मुलुक कदापी चल्न सक्दैन । देशलाई पर्दा, जनतालाई पर्दा औँला ठड्याउन नसक्नेहरूले मुलुकको रक्षा कदापी गर्न सक्दैनन् । जनताको सुरक्षा पनि हुन सक्दैन ।’
नेकपा माओवादी केन्द्रका राष्ट्रियसभा सदस्य नारायणकाजी श्रेष्ठले यसअघिको बैठकमा देशको यस्तो परिस्थिति आउनुमा सबै जिम्मेवार रहेको भनेको कुरालाई ईंगित गर्दै वलीले डुंगामा प्वाल परिसकेपछि महसुस गर्नुले कुनै अर्थ नराख्ने बताइन् ।
काठमाडौं । नेकपा एमालेकी राष्ट्रियसभा सदस्य तथा चर्चित लोक गायिका कोमल वली फेरि एकपटक विवादमा तानिएकी छन् । राष्ट्रियसभाको बैठकमा हिजो उनले सुनाएको एउटा कविताले सामाजिक सञ्जालमा तीव्र प्रतिक्रिया उत्पन्न गरिरहेको छ ।
राष्ट्रियसभामा उनले ‘बाँदरको जमात र अमृतापनको सपना’ शीर्षकको कविता वाचन गरेकी थिइन् । कवितामा वलीले नेकपा एमालेको माधव नेपाल समूहलाई ‘बाँदर’ सँग तुलना गरेको भनेर धेरैले अथ्र्याएका छन् । उक्त समूहनिकट व्यक्तिहरूलाई कविताले आक्रोशित तुल्याएको छ ।
यद्यपि, वली स्वयम् भने आफ्नो कविता कुनै निश्चित व्यक्ति वा समूहप्रति लक्षित नरहेको बताउँछिन् । नेपाल प्रेससँग कुराकानी गर्दै उनले कवितालाई मनगढन्ते व्याख्या गर्नुको साटो अब्बल साहित्यकारलाई देखाएर यसको भावार्थ बुझ्न चुनौती दिइन् ।
वलीसँग गरिएको संक्षिप्त कुराकानी :
तपाईंले राष्ट्रियसभामा वाचन गर्नुभएको कविता त विवादमा पर्यो नि ?
त्यही त अचम्म लागिरहेको छ । विवादमा पर्नुपर्ने केही कारण नै थिएन । यो त फगत एउटा कविता हो । साहित्य हो । साहित्यको भावार्थ नबुझिकन यसलाई भनी, त्यसलाई भनी भनेर यत्तिकै उछालिरहेका छन् ।
तपाईं एमालेको माधव समूहलाई ‘बाँदर’ भनेर कटाक्ष गर्नुभएको होइन र ?
त्यस्तो विल्कुल होइन । मैले कोही व्यक्ति वा समूहलाई लक्षित गरेर लेखेको नै होइन । मैले त प्रवृत्तिको कुरा गरेको हो । हिजो पनि, आज पनि नेपालको राजनीतिमा यस्तो गलत प्रवृत्ति छ । मैले ‘हे प्रधानमन्त्रीहरू हो’ भनेर हिजो-आजका प्रधानमन्त्रीलाई भनेको होइन । नेपालमा कतिजना प्रधानमन्त्री भइसके अहिलेसम्म । कति मन्त्री, कति वरिष्ठ नेता छन् । जो यस्तो खराब प्रवृत्तिका छन्, उनीहरू सबैलाई भनेको हो ।
राष्ट्रियसभामा भाषण गर्नुको साटो कविता सुनाउने सोच चाहिँ कसरी आयो ?
मलाई एमालेका नेता भीम रावलले धेरै अगाडि एउटा भेटमा भन्नुभएको थियो, कोमलजी तपाईं राम्रो साहित्यकार र गायिका हुनुहुन्छ । राष्ट्रियसभाको बैठकमा कविता र गीतमार्फत आफ्नो कुरा राख्नुस् न । मलाई पनि लाग्यो, अहो म एउटा साहित्यकार । आफ्नो क्षमताको राजनीतमा सदुपयोग किन नगर्ने ?
देशको दुरावस्थालाई लिएर मनभित्र अनेक खालका भावतरंगहरू आउँछन् । यस्ता कुराहरुलाई भाषणमा भन्दा साहित्यमार्फत पोख्दा झन् धेरै प्रभावकारी हुन्छ । अहिले पनि हेर्नुस् न, आफ्नो पार्टीको सरकार ढालेर विपक्षी पार्टीको अध्यक्षलाई प्रधानमन्त्री बनाउने कुरा कतिसम्म जायज हो ? के यो संसदीय मूल्य-मान्यताविपरीत छैन त ? योभन्दा बाँदर प्रवृत्ति के हुन्छ ? यस्तै कुराहरुले मलाई कविता लेख्न उत्प्रेरित बनाएको हो । तर, मैले कोही व्यक्ति वा समूहलाई ईंगित गरेको चाहिँ छैन ।
त्यसो भए किन मानिसहरूले माधव नेपाल समूहलाई नै भन्नुभएको भनेर बुझिरहेका छन् त ?
कवितामा विम्बहरू हुन्छन्, तीनको भाव र मर्मलाई बुझ्नुपर्छ । बुझ्न नसक्दा दिग्भ्रमित भइन्छ । म त भन्छु, मेरो कविता कुनै अब्बल साहित्यकारलाई देखाइयोस् । उहाँहरूले दूधको दूध पानीको पानी छुट्याइदिनुहुन्छ । आफूखुशी व्याख्या गरेर आफैंलाई किन दु:खी बनाउने ?
तर, फेरि पनि भन्छु, कि गलत प्रवृत्तिका शिकार भएका पात्रहरूलाई चाहिँ मेरो कविताले ‘टच’गर्छ नै । त्यो प्रवृत्तिमा म पनि हुन सक्छु । कहिलेकाहीँ त्यस्तो गर्नुभएको छ भने तपाईं पनि पर्नुहुन्छ । राजनीतिमा मात्रै पनि होइन, यो प्रवृत्ति हरेक ठाउँमा आउन सक्छ ।
कविता चाहिँ भर्खरै सिर्जना गर्नुभएको हो कि पुरानै थियो ?
मैले यही शनिबारमात्रै लेखेको हो । यसो सोचेँ, हामीसँगैका देशहरू कति विकसित भइसके । कहाँ-कहाँ पुगिसके । हामी चाहिँ उही सत्ताको खेलकुदमै सिमित छौं । विकास-निर्माणका कुराहरू ओझेलमा परेका छन् । जनताले शिक्षा-स्वास्थ्यमा आवश्यक पहुँच पाएका छैनन् । यसले जनतामा निराशा छाएको छ । यी यावत् सन्दर्भले मलाई कविता कोर्न वाध्य पारेको हो ।
शनिबार फुर्सद पनि थियो । आज कतै जान्न भनेर कविता लेखेर बसेँ । लेखिसकेर आफैंले दुईपटक पढेँ । सबै ठीक छ भनेपछि सोचविचारपूर्वक संसदमा वाचन गरेको हुँ ।
यो कविता विवादमा पर्न सक्छ भन्ने चाहिँ सोच्नुभएको थिएन ?
अहँ, सोचेको थिइनँ । विवाद हुनुपर्ने कारण नै के थियो र ? यो त सबैले मनन गर्नुपर्ने कविता हो । अनावश्यक उछाल्ने काम भयो ।
एक वरिष्ठ पत्रकारले तपाईंको व्यक्तिगत चरित्रमा प्रश्न उठ्ने गरी विभिन्न आक्षेप लगाएर स्टाटस लेख्नुभएको छ, यसबारे के भन्न चाहुनुहुन्छ ?
किशोर श्रेष्ठजीको स्टाटसबारे मैले पनि सुनेँ । पढेको चाहिँ छैन । उहाँजस्तो प्रेस काउन्सिलको अध्यक्ष भइसकेको मान्छेले मर्यादा नाघेर स्टाटस लेख्नु खेदजनक हो । उहाँले को-को मान्छेहरुसँग मलाई जोड्न खोज्नुभएको हो, म कसैलाई चिन्दिनँ पनि । उहाँले मलाई लगाएका आरोप प्रमाणित गर्न चुनौती दिन्छु । उहाँजतिको विद्वान पत्रकारले साहित्य बुझ्नुहुँदो रहेनछ, यसमा दु:ख छ ।
यसअघि रघुजी पन्तले पनि तपाईंको चरित्रहत्या हुने गरी लेख्नुभएको थियो । अहिले किशोर श्रेष्ठको आयो । तपाईंमाथि बारम्बार यस्तो ‘हमला’ किन भइरहेको छ ?
त्यो त मलाई हमला गर्नेहरूलाई नै सोध्दा राम्रो हुन्छ ।
तपाईं राजनीतिमा चाँडै ‘राइज’मा आएको भएर हो ?
खोइ, के नै राइजमा आएको छु र । यही राष्ट्रियसभा सदस्य भएको हुँ । यसमा पनि कसैलाई आपत्ति भएको हुन सक्छ । तर, मैले कसैको चाकडी गरेर होइन, आफ्नो क्षमताका आधारमा यो जिम्मेवारी पाएको हुँ । मलाई एमालेमा आउँदा नै राष्ट्रियसभामा पठाउने सहमति थियो ।
म एकैचोटि सडकबाट टिपेर ल्याएको मान्छे पनि होइन । राजनीतिमा आउनुभन्दा अगाडि पनि कलाकारितामार्फत मैले देशका लागि योगदान दिएकी छु । विगतमा म राष्ट्रिय खेलाडी पनि थिएँ । रेडियो नेपालमा पनि लामो समय काम गरे । मलाई आज देश-विदेशमा सबैले चिन्छन् । कसैको दया र कृपाबाट आज म यो स्थानमा आइपुगेको होइन ।
म ब्याकडोरबाट राजनीतिमा आएको पनि होइन । हिजो छोटो समय राप्रपामा थिएँ । राजनीतिमा पार्टी परिवर्तन सामान्य हो । मन्त्री-प्रधानमन्त्री भएकाहरुले त पार्टी फेरेका छन् । फेरि म राप्रपामा लामो समय रहेर छोडेको भए मलाई अवसरवादी भन्न मिल्थ्यो । केही महिना न बसेको हो । थोडी १० वटा पार्टी फेर्दै हिँडेको छु र ?
अहिले म एमालेको एउटा इमान्दार कार्यकर्ता हुँ । कतिपयले भनेका छन्, एउटा मामूली सांसदले वरिष्ठ नेताहरूलाई पाठ सिकाउन खोज्ने ? म के भन्छु एउटा सामान्य कार्यकर्ताले पनि आफ्नो विचार स्वतन्त्रतापूर्वक अभिव्यक्त गर्न पाउँछ । त्यो हक छ । मैले मात्रै नपाउने भन्ने कुरा हुँदैन ।
काठमाडौं । नेकपा (एमाले) की नेतृ एवम् राष्ट्रियसभाकी सदस्य कोमल वलीले आफ्नो पार्टीभित्रको घरझगडालाई विषय बनाउँदै सोमबार कविता वाचन गरिन् ।
राष्ट्रियसभाको विशेष समयमा लिखित सम्बोधन गरेकी वलीले दोस्रो विश्व युद्धमा वीरता देखाएका नेपाली युवा अहिले खाडीमा पसिना देखाइरहेकोप्रति चिन्ता व्यक्त गरिन् ।
विदेशको ग्रिनकार्ड र पीआर पाउँदा नेपालको नागरिका त्याग्न तयार हुने गरेको भन्दै युवाहरूको देशभक्तिप्रति प्रश्न उठाइन् ।
सबै विकृति यो तीन वर्षको सरकारले बोक्न सक्दैन नसक्ने भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीको प्रतिरक्षा गरिन् ।
सम्बोधनकै क्रममा उनले नेपालका नेताहरूलाई प्रजातन्त्र अपच भएको हो भन्दै प्रश्न समेत गरिन् । भनिन्, ‘के नेपालका नेताहरूलाई प्रजातन्त्र अपच भएकै हो ? जनताको नासो जनतालाई बुझाउने अप्रजातन्त्रिक हुने, तर सिंहदरबार लुटेर खाने प्रजातान्त्रिक हो ?’
त्यसपछि उनी आफ्नो पार्टीभित्रको घरझगडमा प्रवेश गरिन् । आफ्नै पार्टीका अध्यक्षलाई प्रधानमन्त्रीबाट हटाउन र अर्को दलको नेतालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गरेको भन्दै वरिष्ठ नेता माधव नेपालको आलोचना गरिन् । यो यस्तो प्रवृत्ति संसदीय व्यवस्था अनुकूल हो भन्दै प्रश्न समेत गरिन् ।
कविताको सहारा लिएर उनले एमाले भित्रको घरझगडाको थप व्याख्या गरिन् । कसैको नाम नलिकनै वाचन गरिएको कविताको भाव पनि नेता नेपाल लक्षित छ । उनले यसलाई ‘बाँदर प्रवृत्ति’सँग दाँजेकी छन्।
‘बाँदरको जमात र अमृतापनको सपना’ शीर्षकको कवितामा कोमलले भनिन् :
बाँदरहरूको आफ्नो देश हुँदैन, बाँदरहरूको आफ्नो निश्चित भेष हुँदैन ।। छेपाराजस्ता मौसमी रङ बदल्ने बाँदरहरूको स्थायी परिवेश हुँदैन ।।
कहिले मिलेका छन्, कहिले फुटेका छन् ।। ईर्श्या भट्टीमा आफैंलाई भुटेका छन् ।।
काठमाडौं । चर्चित गायिका तथा नेतृ कोमल वलीले आफ्नै पार्टीका नेता रघुजी पन्तविरुद्ध जिल्ला अदालतमा आज मुद्दा दायर गरेकी छिन्। गालीबेइज्जती मुद्दा हालिसकेपछि सञ्चारकर्मीसँग बोल्दै उनले रघुजी पन्त एक पात्रभन्दा प्रवृत्ति भएको बताएकी छन् ।
उनले भनिन्, ‘उहाँको अभिव्यक्तिले मलाई मात्र होइन, सम्पूर्ण महिलाहरूलाई चोट पुगेको छ । त्यसैले मैले यस्तो प्रवृत्तिको अब अन्त्य होस् भनेर अदालतको ढोका ढक्ढकाएकी हुँ ।’
नेकपा एमाले र माओवादी ब्युँतिएसँगै वली र पन्त एउटै पार्टीका सदस्य भएका छन् । आफ्नै पार्टीका नेताविरुद्ध मुद्दा हाल्ने विषयमा प्रधानमन्त्री केपी ओलीले केही भन्नुभएको छ भन्ने पत्रकारको प्रश्नमा उनले प्रधानमन्त्रीसँग कुरा नभएको बताइन् ।
उनले भनिन्, ‘प्रधानमन्त्रीज्यूले मलाई केही भन्नुभएको छैन । उहाँ मेरो नेता पार्टीको अध्यक्ष हुनुहुन्छ । उहाँले पनि कोमल वलीले गलत गरी भन्नुहुन्न होला ।’ आफूजस्तो राष्ट्रियसभाको विधायिकामाथि यस्तो हिंसा हुन्छ भने सामान्य दिदीबहिनीको अवस्था के होला भन्ने वलीको प्रश्न थियो । पन्तले केही दिनअघि एक भाषणमा ‘वलीले सारी सरक्क पारेर पिंडुला देखाएको भरमा सांसद बनेको’ आरोप लगाएका थिए ।
काठमाडौं । गायिका तथा एमाले राष्ट्रियसभाकी सांसद कोमल वलीले आफ्नै पार्टीका नेता रघुजी पन्तविरुद्ध मुद्दा दायर गरेकी छिन् ।
कानून व्यवसायीसँग परामर्शपछि उनले काठमाडौं जिल्ला अदालतमा गालीबेइज्जतीको मुद्दा दायर गरेकी हुन् ।
केही दिनअघि पन्तले वलीविरुद्ध ‘यौनिक हिंसाजन्य’अभिव्यक्ति दिएका थिए । एउटा कार्यक्रममा बोल्दै उनले वलीलाई ‘सारी सरक्क सर्काएर पिंडुला देखाएको भरमा सभासद बनेको’ आरोप लगाएका थिए ।
पन्तको अभिव्यक्तिबाट आफ्नो मात्र नभएर सबै महिला नेतृहरुको मानमर्दन भएको वलीको भनाइ छ । वलीले आफ्नो इज्जतमा धक्का पुर्याउने र चरित्र हत्या गर्ने अभिव्यक्ति दिएकाले मुलुकी अपराध संहिता बमोजिम सजाय हुनुपर्ने फिराद पत्रमा उल्लेख गरेकी छिन् ।
साथै उनले आफूमाथि विद्युतीय माध्यमबाट गालीबेइज्जती गरेको हुँदा थप १ वर्ष कैद र १० हजार जरिवानासमेत गरी हदैसम्मको सजाय माग गरेकी छन् । साथै मनासिव क्षतिपूर्ति र मुद्दामा लागेको खर्चसमेत विपक्षीबाट दिलाउन उनको माग छ ।
काठमाडौं । लोकप्रिय गायिका तथा राष्ट्रियसभाकी सांसद कोमल वलीले विघटित नेपाल कम्युनिष्ट पार्टीका नेता रघुजी पन्तविरुद्ध मुद्दा दायर गर्ने भएकी छन् ।
कानून व्यवसायीसँग परामर्शपछि उनले भोलि जिल्ला अदालतमा मुद्दा दिने तयारी गरेकी हुन् ।
केही दिनअघि पन्तले वलीविरुद्ध ‘यौनिक हिंसाजन्य’ अभिव्यक्ति दिएका थिए । एउटा कार्यक्रममा बोल्दै उनले वलीलाई ‘सारी सरक्क सर्काएर पिँडुला देखाएको भरमा सभासद बनेको’ आरोप लगाएका थिए ।
पन्तको अभिव्यक्तिबाट आफ्नो मात्र नभएर सबै महिला नेतृहरुको मानमर्दन भएको वलीको भनाइ छ ।
काठमाडौं । राष्ट्रिय सभाका सदस्य कोमल वलीप्रति नेकपा (प्रचण्ड–नेपाल) पक्षका नेता रघुजी पन्तले गरेको अभिव्यक्तिप्रति राष्ट्रिय महिला आयोगको पनि ध्यानाकर्षण भएको छ । आयोगले साेमबार एक विज्ञप्ती जारी गर्दै फागुन १५ गते पन्तले गरेको अभिव्यक्तिप्रति आपत्ती जनाउदैँ ध्यानाकर्षण भएको जनाएको हो ।
महिलाको स्वतन्त्र पहिचान, आत्म सम्मान र क्षमतालाई महत्व नदिई पुरुषसँगको निकटताबाट नै महिलाको राजनैतिक भविष्य बन्ने गरेको जस्ता अभिव्यक्ति प्रकट गरी महिलाको चरित्र र आचरणमाथी प्रश्न उठाउने प्रवृति गलत भएको आयोगका प्रवक्ता समेत रहेका उपसचिव श्याम प्रसाद श्रेष्ठले जारी गरेको विज्ञप्तीमा भनिएको छ ।
देशकै आधा रभन्दा बढी जनसंख्या ओगट्ने महिला वर्गको राजनैतिक सहभागिता न्यून रहेको वर्तमान अवस्थामा महिलाको अवस्थाको कम आकलन हुनु, उनिहरुको सवलता र सक्षमतालाई सवतन्त्र मूल्यांकन नगर्ने परिपाटी मौलाउनु आफैमा विडम्वना भएको आयोगको ठहर छ ।
‘राजनैतिक हिसाबले ज्यादै नै जिम्मेवार स्थानमा रहेका व्यक्तिवाट सार्वजनिक रुपमा नै राष्ट्रिय सभाका सांसद जस्तो गमिामय पदमा रहेको महिलाप्रति गरिएको त्यस्तो आपत्तिजनक अभिव्यक्तिको भत्सर्ना गर्दै आगामी दिनमा यस प्रकारको गैह्र जिम्मेवार अभिव्यक्ति कहीं कतैवाट कसैलाई पनि नहोस भनी राष्ट्रिय महिला आगोग सबै वर्गमा अपिल गर्दै त्यस्तो जिम्मेवार र आपत्तिजनक अभिव्यक्ति दिने व्यक्तिलाई जिम्मेवार बनाउन समेत आवश्यक भएको हुदाँ सम्वन्धित सबै निकायलाई समेत राष्ट्रिय महिला आयोग ध्यानाकर्षण गराउन चाहान्छ ।’ आयोगले जारी गरेको विज्ञप्तीमा भनिएको छ ।
महिलाप्रतिको विभेद हिंसा र हीन भावना हटाइ लैंगिक विभेदरहित समाजको सिर्जना गर्न राज्यका सबै निकायमा महिला वर्गको अर्थपूर्ण सहभागिताको ज्यादै ठुलो महत्व रहने आयोगको भनाइ छ ।
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी प्रचण्ड-माधव पक्षका नेता रघुजी पन्तले राष्ट्रियसभा सांसद कोमल वलीको विषयमा दिएको अभिव्यक्तिलाई लिएर सामाजिक सञ्जालमा निकै आलोचना भइरहेको छ । तर, प्रचण्ड-माधव पक्षकी एक वरिष्ठ नेतृले भने पन्तको बचाउ गरेकी छन् ।
पार्टी स्थायी कमिटी सदस्य तथा प्रदेश ३ को मुख्यमन्त्री आकांक्षी अष्टलक्ष्मी शाक्यले महिलाहरूले आफ्नो पहिरनमा ध्यान नदिंदा विकृति आएको भन्दै कोमलमाथि घुमाउरो असन्तुष्टि व्यक्त गरिन् । वलीले पिंडुला देखाएर राष्ट्रिय सभाको सांसद बनको भनेर रघुजी पन्तले गर्नुभएको टिप्पणीमा तपाईंको भनाइ के छ ? भनी हामीले शाक्यलाई सोधेका थियौं ।
उनले यसरी जवाफ दिइन् :-
‘सबैको आ-आफ्नो दृष्टिकोण हुन्छ । मलाई के लाग्छ भन्दा अलिकति विकृति चाहिं आएकै हो । हाम्रो परम्परा त्यस्तो छैन । अहिले महिलाहरूमा नग्नता प्रदर्शन गर्ने खालको विकृति आएकै छ । महिला हिंसा बढेको पनि त्यही भएर हो । यसमा हामी सचेत हुनै पर्छ । आफ्नो शरीरलाई आफैंले सुरक्षा गर्ने हो । लुगाले पनि धेरै कुराहरू संरक्षित गर्छ भन्छु म ।’
शाक्यले थपिन्, ‘म व्यक्ति विशेषमा जान चाहन्न । यो आमरूपमा चिन्ताको विषय हो । व्यक्तिले के गर्यो भनेर यसरी जानु राम्रो हुँदैन । मलाई त्यस्तो लाग्छ । हाम्रो संस्कृति आयातित भएको छ । महिलामाथि ज्यादती बढेको पनि त्यही भएर हो । महिलाहरू पनि आधुनिक बन्ने क्रममा आफूलाई सरल हुने लुगाहरू लगाउनु राम्रो हो । १२ हातको सारीले बेर्नुपर्छ भन्ने मेरो मान्यता छैन । तर, लाउने बेलामा सभ्यता होस् । आफ्नो ज्यानको सुरक्षा होस् भन्ने चाहन्छु म ।
उनले कोमल वलीलाई पार्टीमा दिइएको अवसरलाई लिएर पनि असन्तुष्टि जनाइन् ।
शाक्यले भनिन्, ‘हाम्रो कम्युनिष्ट पार्टीभित्र को व्यक्ति ल्याउने, कस्तो व्यक्ति नल्याउने विधि, प्रणाली र मापदण्ड छन् । त्यो मूल्याङ्कनको आधारमा ल्याउने चलन छ । तर, यो बीचमा बिग्रियो । जोसुकै मान्छे टिप्ने काम भयो । त्यो भएकाे हुनाले धेरै कुरा विग्रियो । दु:ख गरेका, त्याग गरेका, निस्वार्थी, इमान्दार मान्छेहरू पछाडि परे भनेर हामीले भनिराखेका छौं ।
शाक्यलाई सोधियो, ‘अरु कुरा जे भए पनि महिला नेतृको अंगलाई लिएर सार्वजनिक टिप्पणी गर्नु ठीक हो र ?’
उनले उही कुरा दोहोर्याइन् ।
‘के शब्द प्रयोग गर्नुभयो भन्दा पनि मलाई के लाग्यो भने यही विधि बिग्रेको हुनाले त्यस्तो भन्नुभएको होला । पार्टीमा, संसदमा, केन्द्रीय कमिटिमा पनि त्यस्तै भयो । त्यही भएर मान्छेलाई अलिकति पीडा हुन्छ । अब राजनीति नबुझेको, राजनीतिमै नलागेको मान्छे चाटचुट आए क्या । कुरा यो हो । कहिले राजनीति नगर्ने मान्छेहरू ल्याउनुहुँदैन नि । अलिअलि त्यही भएर विग्रेको हो ।
जे भए पनि राजनीतिमा लागेका महिलाहरूलाई उहाँको अभिव्यक्तिले त बिझाउँछ होला नि ?
उहाँले यस्तो भन्नुभएको होला । कोमल वली गायन क्षेत्रबाट हो । एउटा लोकप्रिय गायिका पनि हो । म कोमल वलीजस्तो हुन्छु भनेर हुँदैन । तर, अलिकति भनें नि, हाम्रो पार्टीभित्र कस्तोलाई राष्ट्रियसभाको सदस्य बनाउने भन्ने छ । त्यो अलिकति मापदण्ड र आधार भत्केकै हो । यसले गर्दा पनि अलिअलि विकृति आएको हो भन्ने लाग्छ । त्यसकारण पनि यस्तो अभिव्यक्ति दिनुभएको होला ।
भनेपछि कोमल वलीलाई राष्ट्रियसभा सदस्य बनाइनु हुन्नथ्यो ?
अहिले बनिसकेपछि धेरै टिप्पणी पनि नगरौं। धेरै आधार मिचिएको छ । हाम्रै पार्टीको कमजोरी हो ।
कोमल वलीको आज राष्ट्रियसभामा योगदान छैन त ?
राष्ट्रियसभामा गइसकेपछि त भूमिका त खेल्नै पर्यो नि । त्यहाँ पुगिसकेपछि त्यही वजन राख्नुपर्यो । त्यही भूमिका खेल्न सक्नुपर्यो । गरेकै होला भन्ने लाग्छ ।
काठमाडौं । चर्चित गायिका तथा राष्ट्रिय सभाकी सांसद कोमल वलीले रघुजी पन्तबाट आफ्नो चरित्रहत्या प्रयास भएको भन्दै न्यायका लागि अदालत जाने बताएकी छन् ।
हाल दाङमा रहेकी वलीले काठमाडौं फर्कनासाथ प्रहरी र अदालतको ढोका ढक्ढकाउने जानकारी दिइन् ।
‘अहिले यो विषयमा सरसल्लाह गरिरहेकी छु, सबैले कानूनी प्रक्रियामा जान सुझाव दिनुभएको छ’, उनले नेपाल प्रेससँग भनिन् ।
नेता पन्तको अभिव्यक्ति आफ्नो लागि मात्र नभएर सबै नेपाली महिलाहरुका लागि अपमानजनक रहेको कोमलले बताइन् । राजनीतिमा लागेका महिलालाई हेर्ने दृष्टिकोण यसबाट प्रतिबिम्बित भएको उनको भनाइ छ ।
‘उहाँबाट मैले यस्तो निकृष्ट सोचको कल्पना नै गरेको थिइनँ’ वलीले भनिन्, ‘यसमा म चुप लागेर बसें भने भोलि अरु महिलाहरुले पनि यसैगरी आरोपित बन्नुपर्नेछ ।
सामाजिक सञ्जालमा कतिपयले तपाईंलाई राजनीतिक योगदान विना केपी ओलीले राष्ट्रियसभा मनोनीत गरेको भनेर पनि टिप्पणी गरेका छन् नि ? भन्ने नेपाल प्रेसको प्रश्नमा कोमलले यसरी प्रष्टिकरण दिइन् :
‘केपी ओलीले टप्प टिपेर राष्ट्रियसभामा ल्याउनुभएको आरोप पूर्णरुपमा झूटो हो । म तल्लो कमिटीदेखि सिफारिस भएर आएकी हुँ । पहिले जिल्ला कमिटीले सिफारिस गर्यो । त्यसलाई प्रदेश कमिटीले सदर गरेर एक नम्बरमा नाम राखेर पठायो । अनि, स्थायी कमिटीले पारित गरेपछि बल्ल म राष्ट्रियसभामा पुग्ने बाटो खुलेको हो । स्थायी समितिले मेरो निर्णय गर्दा रघुजी पन्तले किन रोक्नुभएन ? अहिले फरक पार्टी भयो भन्दैमा यसरी आरोपित गर्न मिल्छ ?’
आफूलाई कलाकारितामा दिएको योगदानका लागि पार्टीले सम्मान दिएको वली बताउँछिन् ।
‘विभिन्न क्षेत्रमा योगदान दिएका व्यक्तिहरू छानेर लैजाने ठाउँ हो राष्ट्रियसभा । कलाकारितामा मेरो योगदान क्षमता हेरेर नै एमालेले मलाई प्रवेश गराएको हो । राष्ट्रियसभा गरिमा र कार्यक्षेत्र नै फरक छ । त्यहाँ मैले अनेकन् मुद्दाहरूमा आवाज उठाएर जिम्मेवारी निभाइरहेकी छु । जनताको पक्षमा बोलिरहेकी छु । सरकारलाई सहयोग पनि गरिरहेकी छु । सबैभन्दा बढी संशोधन प्रस्तावहरू राख्ने सांसदमा पर्छु । उहाँलाई मैले राष्ट्रियसभामा निभाएको भूमिका थाहा छैन होला’, उनले भनिन् ।
आफूले लड्ने कानूनी लडाईंमा प्रचण्ड-नेपाल पक्षका महिला नेतृहरूले पनि साथ दिनुपर्ने वलीको भनाइ छ ।
‘उहाँहरूले पनि आवाज उठाउनुपर्छ, किनभने भविष्यमा उहाँहरूले पनि यस्ता आरोप खेप्नुपर्ने हुन सक्छ’, वलीले भनिन् ।
नेता पन्तसँग आफ्नो पहिले राम्रो सम्बन्ध रहेको वलीले उल्लेख गरिन् ।
‘उहाँ प्रधानमन्त्रीको प्रेस सल्लाहकार हुँदादेखि नै चिनेको हो । म उहाँलाई सम्मान गर्थेँ । दाइ भन्थें । तर, मलाई आज एकदमै ठूलो चोट पुर्याउनुभयो’, उनले भनिन् ।
काठमाडौं । राष्ट्रियसभा सदस्य कोमल वलीले अमेरिकी संसदमा भएको आक्रमणप्रति चिन्ता व्यक्त गरेकी छिन् । बिहीबार राष्ट्रियसभा बैठकमा बोल्दै वलीले उक्त घटनाले लोकतन्त्रमाथि नै खतरा भएको भन्दै चिन्ता व्यक्त गरेकी हुन् ।
उनले भनिन्– अमेरिकी संसदमा जुन हिंसात्मक घटना भयो, यसले विश्वमै प्रजातन्त्रमाथि खतरा उत्पन्न गराएको छ । चार जनाको ज्यान जानेगरी वासिङटन डिसीमा भएको दंगा र हिंसाले संसदीय व्यवस्थालाई सर्वोपरी ठान्ने सबै देशलाई थप चुनौती र चिन्ताको वातावरण बनाइदिएको छ ।
सत्ताको शान्तिपूर्ण हस्तान्तरणलाई यस्ता गैरकानुनी विरोधले लोकतान्त्रिक प्रक्रियामाथि खतरा उत्पन्न गराउँने भन्दै उनले हमला गर्नेको विरोध गरिन् ।