Tag: केपी शर्मा ओली

  • बाढीपीडितको अवस्था बुझ्न प्रधानमन्त्री ओली मेलम्चीमा

    बाढीपीडितको अवस्था बुझ्न प्रधानमन्त्री ओली मेलम्चीमा

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली मेलम्चीमा आएको बाढीबाट पीडित भएकाहरूको अवस्था बुझुन सिन्धुपाल्चोक पुगेका छन् । भौतिक पूर्वाधार मन्त्री बसन्त नेम्वाङसहित उनी केहीबेर अघि सिन्धुपाल्चोक प्रस्थान गरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

    बाढीपीडितको पछिल्लो अवस्था बुझेर उनीहरूको पुन:स्थापनका सम्बन्धमा आवश्यक रणनीति बनाउनका लागि ओली स्थलगत अवलोकनमा गएका हुन् ।

    यसअघि सरकारले बाढीबाट घरबार गुमाएकाहरूलाई ५० हजार अनुदान दिने निर्णय गरिसकेको छ । प्रधानमन्त्रीसँग पूर्वमन्त्री शेरबहादुर तामाङ पनि छन् ।

  • विदेशमा गरेकोभन्दा नेपालमै गरेको मिर्गौला प्रत्यारोपण राम्रो भयो : प्रधानमन्त्री ओली

    विदेशमा गरेकोभन्दा नेपालमै गरेको मिर्गौला प्रत्यारोपण राम्रो भयो : प्रधानमन्त्री ओली

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशले विज्ञान प्रविधिको क्षेत्रमा फड्को मारेकै कारण आफ्नो दोस्रो मृगौला प्रत्यारोपण स्वदेशमै सफल भएको बताएका छन् । विदेशमा गरेको पहिलो प्रत्यारोपणभन्दा स्वदेशमा गरेको दोस्रो प्रत्यारोपण बढी सहज र प्रभावकारी बनेको उनले सुनाए ।

    नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) द्वारा आयोजित एक कार्यक्रममा ओलीले भने, ‘हाम्रा डाक्टरहरु अलि सुरा जस्तो लाग्यो । बाहिरका डाक्टरहरुले केही समय डायलाइसिसमै बस्नुपर्ने जस्तो कुरा गरेका थिए । यहाँका डाक्टरले हामी गर्छौं भने ।’

    पहिलोपटक प्रत्यारोपण गर्दा बारम्बार संक्रमणहरुले सताउने गरे पनि दोस्रोपटकको प्रत्यारोपणपछि भने त्यस्तो समस्या झेल्नु नपरेको पनि उनले बताए । प्रत्यारोपण गरेको १२/१३ दिनमै कार्यक्रममा भाग लिन थालेको ओलीको भनाइ थियो ।

  • सर्वोच्चलाई ओलीको १७ बुँदे जवाफः मन्त्रिपरिषद् गठन र विस्तार प्रधानमन्त्रीको स्वैच्छिक विषय

    सर्वोच्चलाई ओलीको १७ बुँदे जवाफः मन्त्रिपरिषद् गठन र विस्तार प्रधानमन्त्रीको स्वैच्छिक विषय

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् विस्तारका सम्वन्धमा सर्वोच्च अदालतमा आफ्नो लिखित जवाफ पेस गरेका छन् । मन्त्रीपरिषदको गठन र चयनसम्बन्धी विषय संविधानले प्रधानमन्त्रीको स्वविवेकमा छोडेको उनको दावी छ ।

    कामचलाउ सरकारले गरेको मन्त्रीपरिषद विस्तारविरुद्ध सर्वोच्चमा रिट परेको थियो । उक्त विस्तारलाई अदालतले अन्तरिम आदेशमार्फत खारेज गर्दै प्रधानमन्त्रीसँग लिखित जवाफ मागेको थियो । ओलीले १७ बुँदे जवाफ अदालतमा पेस गरेका हुन् ।

    ‘प्रतिनिधिसभा विघटन भएको अवस्थाको प्रधानमनत्रीले मौजूदा मन्त्रीपरिषदलाई विस्तार गर्न, कार्यविभाजन गर्न तथा कुनै मन्त्रालयको जिम्मेवारी कुनै मन्त्रीलाई सुम्पन नसक्ने भन्ने हुँदैन,’प्रधानमन्त्री ओलीले भनेका छन् ।

    हेर्नुस् पूर्णपाठ :

  • नास्टको कार्यक्रममा प्रधानमन्त्री : सिकाए जनै खटिराको उपचार (भिडियो)

    नास्टको कार्यक्रममा प्रधानमन्त्री : सिकाए जनै खटिराको उपचार (भिडियो)

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले एकै पुस्तामा विद्धान तयार गर्न नसकिने बताएका छन् ।

    नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) ले बालुवाटारमा विहिबार गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले पूर्वजहरूले कयौँ परम्परागत ज्ञान दिएर छोडेकाले त्यसलाई अनुसरण गर्दै अघि बढ्न सकेमात्रै विषय विज्ञता हासिल गर्न सकिने बताएका छन् । मानवीय श्रेष्ठताको सबै भन्दा ठूलो कुरा पूर्खाको ज्ञानलाई स्वीकार गर्दै नयाँ आविश्कार गर्दे जानुपर्नेमा प्रधानमन्त्री जोड दिए ।

    उनले भने ‘एक जेनेरेसनमा नै मेहनत गरेर विद्वान हुन सकिँदैन । जेनेरेसन टू जेनेरेसनको मेहनतबाट मात्रै विद्वान हुन सकिन्छ । हामीहरुले पूर्वजको मेमोरि, जेनेटिक मेमोरी, मानिसको सबैभन्दा श्रेष्ठता के हो भने मेमोरि पावर र इन्नोभेटिभ पावर । मेमोरि पावर र इन्नोभेटिभ पावर मिलेको हुन्छ र हामी विकास गर्न सक्छौ । हाम्रो जस्तो देशमा हामीले असाधारण ढंगले काम गर्न सक्छौँ ।’

    ओलीले कार्यक्रममा पुराना ज्ञानहरु अत्यन्तै प्रभावकारी भएको भन्दै पानीसराको औषधी कालो तिल भएको भन्दै लगाउने तरिका पनि सुझाएका छन् ।

    ‘मैले हिजो बेलुका मात्रै एकजना साथीलाई भनेँ, मैले हेर्न त हेरिन, उहाँले जनै खटिरा भन्नुभयो । पानीसराको लक्षण पनि देखिन्थ्यो त्यसमा अनि मैले उहाँलाई एउटा औषधी चाहीँ बताईदिएँ । म आफैलाई पानीसरा भएको थियो । पानीसरा अत्यन्तै पोल्छ । र दुख्छ र घाउ हुन्छ फुटेपछि र त्यो बहुत छिटो फैलिन्छ पनि र हाई फिवरमा लान्छ त्यसले । साधारण औषधी कालो तिल आफैले चपाएर थपकथपक लगाईदियो भने, विमारीले चपाउन पनि आनन्द मान्छ । र चपाउँदै मसिनो पार्दै त्यो लेप लगाईदियो भने । लगाउदा सँगसँगै पोलिरहेको पानीसरा, फोका फोका, त्यो जीलजील गर्ने फोकाहरु समाप्त हुन्छ र विस्तारै त्यो केही घण्टाभित्र सुक्छ । त्यो मैले अरु ठाउँमा पनि प्रयोग गरेर हेरेँ र त्यो अत्यन्तै सफल पनि भयो ।’

    प्राय: सार्वजनिक कार्यक्रममा विपक्षीको तीखो आलोचना गर्ने प्रधानमन्त्रीले आज जडिबुटीको उपयोगिता, नयाँ आविष्कार तथा पराम्परागत औषधीको वेलिविस्तार लगाएका छन् ।

  • ओली-नेपाल वार्ता सकियो, सुरेन्द्र पाण्डेले भने : सकारात्मक भयो

    ओली-नेपाल वार्ता सकियो, सुरेन्द्र पाण्डेले भने : सकारात्मक भयो

    काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीचको वार्ता सकिएको छ ।

    वार्तामा ठोस सहमति नभए पनि सकारात्मक रहेको नेताहरुले बताएका छन् ।

    वार्तामा सहभागी नेता सुरेन्द्र पाण्डेका अनुसार पहिले दुवै तर्फका दोस्रो तहका नेताहरुसहित कुराकानी भएको थियो । त्यसपछि ओली-नेपाल वान अन वान वार्तामा बसेका थिए ।

    पाण्डेले भने, ‘सकारात्मक ढंगले कुरा भएको छ । भोली कार्यदलको बैठक बस्छ ।’

    उपाध्यक्ष भीम रावलले लामो समयदेखि विभिन्न समस्यामा गम्भीर कुराकानी गर्नुपर्ने र गहिराइमा लैजानुपर्ने आवश्यकता रहेको बताए । विष्णु पौडेलले कुनै प्रतिक्रिया दिएनन् ।

    आजको वार्तामा ओली पक्षबाट ईश्वर पोखरेल, विष्णु पौडेल र सुवास नेम्वाङ सहभागी थिए । यस्तै, नेपाल पक्षबाट भीम रावल र सुरेन्द्र पाण्डेको सहभागीता थियो ।

  • ओलीको अल्टिमेटम माधव पक्षलाई अश्वीकार्य, देउवालाई दिएको समर्थन फिर्ता नहुने

    ओलीको अल्टिमेटम माधव पक्षलाई अश्वीकार्य, देउवालाई दिएको समर्थन फिर्ता नहुने

    काठमाडौं । नेकपा एमालेले कांग्रेस सभापति शेरवहादुर देउवालाई प्रधानमन्त्री बनाउन दिएको समर्थन फिर्ता लिन माधव नेपाल पक्षलाई दिएको अल्टिमेटम आज साँझ सकिँदैछ ।

    एमाले केन्द्रीय कमिटीको असार १८ र १९ गते बसेको बैठकले देउवालाई दिएको समर्थन फिर्ता लिन आज साँझ ५ बजेसम्मको समय दिएको छ ।

    अध्यक्ष केपी शर्मा ओलीले सर्वोच्चको फैसला आउँदासम्म ज जसको हस्ताक्षर देउवाको पक्षमा कायम रहन्छ उनीहरु एमाले हुन नसक्ने बताइसकेका छन् ।

    बैठकपछि पनि उपमहासचिव बिष्णु पौडेलसहित नेताहरु सुवास नेम्वाङ र शंकर पोखरेलले माधव नेपाललाई भेटेर एमाले एक छ भनेर सन्देश दिन अध्यक्ष ओली र नेपालको संयुक्त वक्तव्य जारी गर्न सुझाव दिएका थिए ।

    नेपालले आफू सकारात्मक रहे पनि वक्तव्यको मस्यौदा कार्यदलले तयार पारोस् भनेका थिए । त्यसका लागि ओलीसँग भेटेर छलफल गर्न गर्न आफूहरुले गरेको आग्रह नेपालले अश्वीकार गरेको पौडेलले बताएका छन् ।

    विघटित प्रतिनिधिसभाका २३ जना एमाले सांसदले देउवालाई प्रधानमन्त्री बनाउन परमादेश माग गरिएको रिटमा हस्ताक्षर समेत गरेका छन् । संवैधानिक इजलासमा भइरहेको उक्त रिटमाथिको सुनुवाई सम्भवतः आज सकिदैछ ।

    प्रधानमन्त्री तथा एमाले अध्यक्ष ओलीले अदालतमा सुनुवाइ नसिकदै एमालेका सांसदहरुको समर्थन देउवालाई नरहेको र एमालेका १२१ जना सांसद एक ठाउँमा रहेको सन्देश दिन खोजेका छन् ।

    त्यसका लागि केन्द्रीय कमिटी बैठकमार्फत उनले हस्ताक्षर फिर्तालाई पार्टी एकताको शर्त बनाएका हुन् । तर नेपाल पक्षले भने सर्वोच्च अदालतमा विचाराधीन मुद्दाको फैसला कुर्ने भन्दै हस्ताक्षर फिर्ता नलिने अडान राखेको छ ।

    हस्ताक्षर फिर्ताको कुरा बाहेक अन्य कुरामा सहमति गरेर पार्टी एकताको प्रक्रिया अघि बढाउन सकिने नेपाल पक्षको भनाइ छ । तर अध्यक्ष ओलीले हस्ताक्षर फिर्ता नभए एमाले एकताको च्याप्टर बन्द हुने बताएका छन् ।

    यसबीचमा वार्तामा सहभागी माधव पक्षका नेताहरुले माधव नेपाललाई प्रभावित पार्न सक्ने नेता भीम रावलसँग छलफल गर्न ओलीलाई सुझाव दिएका थिए । ओलीले रावललाई आइतवार साँझ बोलाएर बालुवाटारमा करीव डेढ घण्टा कुरा गरेका थिए ।

    अ‍ोलीलाई भेट्नुअघि रावल माधव नेपाललाई भेट्न कोटेश्वर गएका थिए । अ‍ोली र रावलबीच के कुरा भयो भन्ने दुवै पक्षले खुलाएका छैनन् । तर सर्वोच्च अदालतको फैसला जे आउँछ त्यस आधारमा एमाले एकता हुनसक्ने भन्दै रावलले हस्ताक्षर फिर्ता नहुने जानकारी दिएको बताइएको छ ।

    ओलीले सर्वोच्च अदालतको फैसला आएको भोलिपल्ट विहान ११ बजे केन्द्रीय कमिटीको बैठक बस्ने र त्यस बैठकले असाधारण निर्णय गर्ने बताएका छन् ।

    माधव नेपाल निकट नेता जगन्नाथ खतिवडाले सर्वोच्चको फैसलाअघि एमालेका २३ जनामध्ये कुनै पनि सांसदले देउवालाई प्रधानमन्त्री बनाउन दिएको समर्थन फिर्ता नलिने बताए ।

  • एमालेको विधान महाधिवेशन किन ? मुख्य नेतालाई तोकियो जिम्मेवारी

    एमालेको विधान महाधिवेशन किन ? मुख्य नेतालाई तोकियो जिम्मेवारी

    काठमाडौं । नेकपा एमालेले साउन २५ देखि २७ सम्म हुने विधान महाधिवेशनका लागि तयारी गर्न मुख्य नेताहरूको जिम्मेवारी तोकेको छ ।
    शनिबार बसेको केन्द्रीय कमिटी बैठकले अध्यक्ष केपी शर्मा ओलीलाई विधान महाधिवेशनमा प्रस्तुत हुने राजनीतिक प्रतिवेदन लेखनको जिम्मेवारी दिएको छ ।

    त्यस्तै, महासचिव ईश्वर पोखरेलले महाधिवेशनमा सांगठनिक प्रतिवेदन पेश गर्ने भएका छन् । बैठकले उपमहासचिव विष्णु पौडेललाई विधान संशोधन सम्बन्धी प्रस्ताव तयार पार्ने जिम्मा दिएको छ भने स्थायी कमिटी सदस्य रामवहादुर थापा बादललाई विधान महाधिवेशन व्यवस्थापन कमिटीको जिम्मा दिएको छ ।

    एमालेको नवौं महाधिवेशनले विधान महाधिवेशनको निर्णय गरेको थियो । विधान संशोधन तथा पार्टीको नीति कार्यक्रम र विचारका बारेमा छलफल गर्न विधान महाधिवेशन परिकल्पना गरिएको हो ।

    दशौं राष्ट्रिय महाधिवेशन अब नेतृत्व चयनका लागि मात्र हुनेछ । पार्टीको महाधिवेशनमै नीति र नेतृत्वको बहस हुँदा सबैको ध्यान नेतृत्व चयनमा केन्द्रित हुँदा व्यवस्थित ढंगले कार्यदिशा, विधान र विचारमाथि छलफल हुन नसकेकाले अब नीतिको बहस विधान महाधिवेशनमा हुने एमाले नेताहरू बताउँछन् ।

  • ‘सर्वोच्चको फैसला आउन्जेल जसको हस्ताक्षर देउवाको पक्षमा रहन्छ, ती एमाले होइनन्’ (भिडियो)

    ‘सर्वोच्चको फैसला आउन्जेल जसको हस्ताक्षर देउवाको पक्षमा रहन्छ, ती एमाले होइनन्’ (भिडियो)

    काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सर्वोच्च अदालतबाट प्रतिनिधिसभा विघटनका सन्दर्भमा फैसला आउँदासम्म जसको हस्ताक्षर शेरबहादुर देउवाको पक्षमा रहन्छ, ती एमाले नरहने प्रष्ट पारेका छन् ।

    केन्द्रीय कमिटीको बैठकलाई सम्बोधन गर्दै ओलीले आफूले माधव नेपाललाई प्रतिपक्षी मोर्चामा हस्ताक्षर गरेर हिँड्नेको हैसियत के हुन्छ ? भनेर प्रष्ट बताइसकेको र यो कुरा नलुकेको बताए ।

    ओलीले भने– फैसला हुँदासम्म जो जसको हस्ताक्षर रहन्छ, ती एमालेका नेता–कार्यकर्ता होइनन् ।

    अध्यक्ष ओलीले जेठ २ को सन्दर्भमा पनि प्रष्ट पारेका छन् । उनले पार्टी जेठ २ मा फर्किसकेको भन्दै जो आउँदैन उसलाई नपर्खिने बताए ।

    ओलीले भने– जेठ २ मा फर्कियौं, त्यो भनेको यही हो । जो आउँदैन, अर्को पार्टीमा जानेलाई पर्खिने होइन । यात्रामा अगाडि पनि साथी भेटिन्छन् ।

     

  • घरेलु विद्युतको माग धान्ने अवस्था ल्याउन सरकार अघि बढेको छ: प्रधानमन्त्री

    घरेलु विद्युतको माग धान्ने अवस्था ल्याउन सरकार अघि बढेको छ: प्रधानमन्त्री

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नै उत्पादनबाट घरेलु विद्युतको माग धान्ने अवस्था ल्याउन सरकार अघि बढिरहेको बताएका छन् ।

    प्रधानमन्त्री निवास बालुवाटारबाट नुवाकोटमा निर्मित समुन्द्रटार त्रिशुली बी हब १३२ केभी प्रसारण लाइन तथा सव स्टेशनको शनिबार भर्चुअल उद्‍घाटन गर्दै प्रधानमन्त्रीले सरकारले उत्पादन वृद्धिमार्फत् आयात प्रतिस्थापन, उत्पादित विद्युतको प्रसारण र त्यसको खपतलाई सन्तुलनकारी ढङ्गले अघि बढाएकोसमेत बताए ।

    ‘पहिले तालमेल नमिलेर आयोजना तयार भइसक्दा प्रसारण लाइन नहुने लाइन तयार हुँदा वितरण गर्ने ठाउँमा सव लाइनहरू नहुने जस्ता कमजोरी थिए । अब हामीले त्यस्तो नहोस् भन्नेमा ध्यान दिएका छौं,’ प्रधानमन्त्रीले भने ।

    नेपालले करिब एक सय १० वर्षअघि उर्जा उत्पादन सुरु गर्दै दक्षिण एसियामै दोस्रो जलविद्युत उत्पादक देश बने पनि यस अन्तरालमा गर्नुपर्ने विकास भने नगन्य रहेको पनि प्रधानन्त्रीले उल्लेख गरे । पछिल्लो समय कुलेखानी जलविद्युत आयोजनाले देखाएको बाटो अनुरुप हालका वर्षहरूमा जलाशय युक्त आयोजनाको निर्माणलाई प्राथमिकताका साथ अघि बढाइएको पनि उनले बताए ।

    ‘हाम्रो बहुआयामिक विकासको सन्दर्भमा उद्घाटित प्रसारण लाइन नयाँ उचाई हो । यस्ता आयोजना नेपाली जनतामा आफ्नै ठाउँमा विकास गर्न सकिन्छ भन्ने भावना विकास हुनु र विदेश जाने लहरमा कमी आउनु खुसीको कुरा हो,’ उनले भने ।

    अर्को प्रसंगमा प्रधानमन्त्रीले कोभिड विरुद्धका थप भ्याक्सिन आउने र त्यसबाट बञ्चित हुनुपर्ने अवस्थाबाट देश मुक्त हुने बताए । ‘कोभिडसँग लड्नुपर्ने अवस्थाबाट अब कोभिडलाई पहिले नै रोक्ने अवस्थामा जाँदैछौं’, उनको भनाई थियो ।

    यद्यपि, सबैलाई एकै पटक खोप सम्भव नहुने भन्दै उनले समूहगत रूपमा क्रमश: सबै जनतालाई खोप लगाइने बताए । यति बेला कतिपय स्थानमा भएका अतिवृष्टिका कारण क्षति भोग्नु परेको पनि उल्लेख गर्दै प्रधानमन्त्रीले उद्धार, राहत र पुनस्थापनामा सरकारले ध्यान दिइरहेको बताए

    समुन्द्रटार त्रिशुली बी हब १३२ केभी प्रसारण लाइन दुप्चेश्वर गाउँपालिकामा रहेको समुन्द्रटार सवस्टेसनदेखि किस्पाङ गाउँपालिकामा रहेको त्रिशुली ३ बी हब सवस्टेसन कुल ८४ वटा टावर खडा गरी स्थापना गरिएको छ ।

    कुल २६ कि.मि. लामो १३२ के.भी. डबल सर्किटको यो प्रसारण लाईनबाट समुन्द्रटार सवस्टेशनलाई काठमाडौं उपत्यकाको मातातीर्थ सवस्टेशनमा मात्र नभई अन्य सवस्टेशनसँग समेत जोड्ने योजना नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले जानकारी दिए ।

    उनका अनुसार प्रसारण लाइबाट रसुवा र नुवाकोटमा उत्पादन भई त्रिशुली ३ बी हब सवस्टेशनमा प्राप्त हुने ६ सय मेगा वाट. भन्दा बढी विद्युतलाई सिधै काठमाडौं ल्याउन ठूलो मद्दत पुग्ने छ ।

  • ओलीसँग वामदेवको माग : मलाई जिम्मा दिनुस्, सबैको चित्त बुझ्ने गरी एकता गराउँछु (भिडियो)

    ओलीसँग वामदेवको माग : मलाई जिम्मा दिनुस्, सबैको चित्त बुझ्ने गरी एकता गराउँछु (भिडियो)

    काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता वामदेव गौतमले पार्टी एकताको मुख्य जिम्मेवारी आफूलाई सुम्पन प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीसँग माग गरेका छन् । आज बालुवाटारमा आयोजित केन्द्रिय समिति बैठकमा बोल्ने क्रममा उनले आफूले सबैको चित्त बुझाउने गरी एकता गराउन सक्ने दावी गरे ।

    यसअघि आफ्नो सम्वोधनमा ओलीले गौतमलाई ‘धेरै आउने जाने नगरी एमालेमै रहन’ आग्रह गरेका थिए । त्यसको जवाफमा वामदेवले आफू एमालेमा आइसकेको बताए । तर, पार्टी एकताको अपरिहार्यतामा उनले जोड दिए ।

    उनले भने, ‘म तपाईंहरुसँग आइसकेको छु, अब फर्किन्न । तपाईंहरुसँगै बसिरहने हो । ख्याल गर्नुस् कि म लागिसकेपछि सफलता प्राप्त हुन्छ । विगतमा म लागेको अवस्थामा कसैले नपत्याएको सफलता प्राप्त भाको छ । अब फेरि म लाग्छु । नमर्दासम्म लाग्छु । तपाईंले ननिकाल्दासम्म लाग्छु ।’

    तर, आफूले ओलीका हरेक कुरालाई समर्थन जनाएर ताली बजाउन नसक्ने उनले प्रष्ट पारे ।

    ‘तपाईंले आउनुस् भन्नुभाको छ । म तपाईंको सुझावलाई मान्छु । तर म क्रिटिकल पनि छु है भन्ने विषय पनि अवगत गराएको छ । जे-जे शब्द आउँछन्, ताली बजाउँदै समर्थन गर्ने होइन । राम्रोलाई समर्थन गर्ने हो, नत्र यो ठिक भएन भन्ने हो ।’

    आफू पार्टी एकता गराउने उद्देश्यले नै एमालेमा आएको गौतमले दोहोर्‍याए ।

    उनले भने, ‘म तपाईंसँग आएको छु पार्टी एकता गराउनका लागि । मेरो प्रस्तावलाई सही ठान्नुहुन्छ भने एउटा माग गर्न चाहन्छु । कम्युनिष्टहरुसँग कार्यगत एकता तथा फुटेको पार्टी जुटाउने सम्वन्धमा हाम्रो पार्टीबाट तपार्इंले नेतृत्व गर्नुस् भनेर मलाई दिनुस् । तपाईंको मुख्य जिम्मेवारी यही भो भनेर छोड्दिनुस् । यति समयमा भन्न सक्दिनँ तर ढिलोचाँडो सबैको चित्त बुझ्ने गरी, कोही असहमत नहुने गरी पार्टी एकता गराउँछु । वामपन्थि एकता पनि गराउँछु । म पार्टीलाई पुरानो अवस्थामा पुर्‍याउन लाग्छु । मेरो आत्मविश्वास के छ भने म त्यसमा सफल हुन्छु ।’

    ‘आज म यति बोल्न पाउँदा धेरै खुशी भाछु । मरो खुशीको केही-केही मूल्य राखिदिनुस् । तपाईंसँग सँगै बसेर आलोचना गर्ने, कहिले रिस उठाउने नगरेको झण्डै दुई वर्ष भएको थियो । तपाईं वामदेवले फेरि विरोध गर्न थाल्यो भन्ने नठान्नुस् । म तपाईंको सबैभन्दा नजिक छु । अहिले पनि तपाईं सफल हुनुपर्छ भन्ने मान्यता छ मेरो ।’

  • ओलीको घोषणा- देउवालाई दिएको समर्थन दुई दिनभित्र फिर्ता नलिए पार्टी एकता हुन्न

    ओलीको घोषणा- देउवालाई दिएको समर्थन दुई दिनभित्र फिर्ता नलिए पार्टी एकता हुन्न

    काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले दुई दिनभित्र शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन गरेको हस्ताक्षर माधव पक्षले फिर्ता नलिए पार्टी एकता नहुने प्रष्ट पारेका छन् ।

    केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले कांग्रेस सभापति देउवालाई प्रधानमन्त्री बनाउन एमालेका सांसदले हस्ताक्षर गर्ने कुरा कुनै हालतमा स्वीकार्य नहुने बताए ।

    ओलीले भने, ‘यदि सोमवार साँझ ५ बजेसम्म हस्ताक्षर फिर्ता भएन भने पार्टी एकता हुन्न । कांग्रेसको नेतालाई प्रधानमन्त्री बनाउन एमालेका सदस्यलाई छुट छैन । यो कुरा किमार्थ स्वीकार्य छैन । त्यसो गर्नु भनेको पार्टी फुटको घोषणा हो ।’

  • एमाले बैठकमा ओलीको ब्रिफिङ- हजारौं प्रयासका बाबजुद पार्टी एक हुन नदिने खेल भइरहेको छ

    एमाले बैठकमा ओलीको ब्रिफिङ- हजारौं प्रयासका बाबजुद पार्टी एक हुन नदिने खेल भइरहेको छ

    काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले हजारौं प्रयासका बाबजुद पार्टीलाई एक हुन नदिने खेल भइरहेको बताएका छन् ।

    प्रधानमन्त्री निवास बालुवाटारमा जारी केन्द्रीय कमिटीको बैठकलाई सम्बोधन गर्दै ओलीले अनुशासन तोड्नुलाई बहादुरी ठान्ने प्रवृत्ति बढेकोमा चिन्ता व्यक्त गरेका छन् ।

    ओलीले भने, ‘वामपन्थी सरकार ढालेर दक्षिणपन्थी सरकार, आफ्नो सरकार ढालेर विपक्षी दलको सरकार बनाउन राष्ट्रपतिकहाँ एमालेकै नामका व्यक्तिहरू गएको लाजमर्दो अवस्था छ । हजार प्रयासका बाबजुद पार्टीलाई एक हुन दिइएको छैन, हामीले कुरा बुझ्नुपर्छ ।’

    ओलीले सर्वोच्च अदालतका पछिल्ला अदेशप्रति समेत असन्तुष्टि व्यक्त गर्दै यसअघि शेरबहादुर देउवा प्रधानमन्त्री हुँदा चुनावी आचारसंहिता लागू भइसकेपछि पनि मन्त्रिपरिषद् गठन भएको र त्यसविरुद्ध परेको रिट अदालतले खारेज गरेको नजिर रहेको बताए ।

    उनले भने, ‘हिजो आचारसंहिता लागू भइसकेपछि पनि मन्त्रिपरिषद् पुनर्गठन भएको नजिर छ । तर, अहिले अग्राधिकार दिएर मन्त्रीहरू खाली गरियो । दलका सदस्यलाई अनुशासनको कारवाही गर्न पाइँदैन भनियो । के हुँदैछ बुझ्नुपर्छ ।’

  • यी दुई बुँदा देखाएर माधव पक्षले गर्‍यो एमाले बैठक बहिष्कार

    यी दुई बुँदा देखाएर माधव पक्षले गर्‍यो एमाले बैठक बहिष्कार

    काठमाडौं । एक दिनको परिभाषा नमिल्दा नेकपा एमालेको केन्द्रीय कमिटी बैठक माधव नेपाल पक्षले बहिष्कार गरेको छ ।

    दशौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटी विघटन गरेर केन्द्रीय कमिटी क्रियाशील गराइए पनि अध्यक्ष केपी शर्मा ओलीले बोलाएको बैठक नवौं महाधिवेशनबाट निर्वाचित कमिटी नभएको तर्क नेपाल पक्षको छ ।

    माधव नेपाल पक्षधर स्थायी कमिटी सदस्यहरूको बीहीबार बुद्धनगरस्थित क्वालिटी वैंक्वेटमा बसेको बैठकले गरेका दुई बुँदे निर्णय सार्वजनिक भएको छ । जसमा सबै कमिटीलाई २०७५ जेठ २ गते अघिको अवस्थामा क्रियाशील गराउन महाधिवेशन आयोजक कमिटीको निर्णयले अवरोध पुर्‍याएको उल्लेख छ ।

    बैठकको निर्णयमा भनिएको छ, ‘पार्टी विधानविपरीत गठित दशौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटीको बैठक र त्यसका निर्णयले पार्टी एकता हासिल गर्न अवरोध पुर्‍याउने भएकाले यही असार १८ गते बोलाइएको बैठकमा सहभागी हुन सकिँदैन । वार्ता र सहमतिबाट समस्याको समाधान खोजिनुपर्छ ।’

    माधव पक्षको बैठकले गरेको दोस्रो निर्णयमा एमालेलाई एकताबद्ध रूपमा अघि बढाउन उचित र औपचारिक सार्थक वार्ता र सहमतिको प्रक्रिया अवलम्वन गरिनुपर्ने उल्लेख छ ।

    आवश्यक तहको सहमति तथा स्थायी कमिटी बैठकमा आवश्यक निर्णय प्रस्तावको आधारमा मात्र केन्द्रीय कमिटी बैठक बोलाउनुपर्ने नेपाल पक्षको लिखित निर्णयमा उल्लेख छ ।

    आवश्यक तहको सहमति भन्नाले केपी ओली र माधव नेपालबीच वार्ता भएर त्यस आधारमा मात्र बैठक बोलाउनुपर्छ भन्न खोजिएको नेपाल पक्षका एक नेताले बताए ।

    नेपाल पक्षले २०७५ जेठ ३ गते नेकपा एकताअघि एमालेको अन्तिम बैठकबाट मनोनीत भएका ४१ सदस्यलाई पनि सहमतिको आधारमा बसेको केन्द्रीय कमिटी बैठकपछि मात्र समावेश गरिनुपर्ने सर्त राखेको छ ।

    त्यस्तै रामबहादुर थापा बादलसहित माओवादी पक्षबाट नेकपा विघटनसँगै एमाले बनेका नेताहरूलाई पनि एमालेको जेठ २ को बैठकपछि मात्र कमिटीमा सामेल गर्न सकिने नेपाल पक्षको भनाइ छ ।

  • पार्टी विभाजनमा नजान नेपाललाई ओलीको आग्रह, केन्द्रीय कमिटी बैठक रोक्न माधव पक्षको अडान

    पार्टी विभाजनमा नजान नेपाललाई ओलीको आग्रह, केन्द्रीय कमिटी बैठक रोक्न माधव पक्षको अडान

    काठमाडौं । नेकपा एमाले केन्द्रीय कमिटी बैठकको पूर्वसन्ध्यामा विहीबार राति प्रधानमन्त्री एवम् अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच अनौपचारिक संवाद भएको छ ।

    अध्यक्ष ओलीले आजको बैठकमा उपस्थित भएर आफ्ना कुरा राख्न र पार्टी विभाजनतर्फ नजान नेता नेपाललाई आग्रह गरेको स्रोतले बताएको छ । यसअघि दुवै पक्षका दोस्रो तहका नेताहरूबीच बुधबारदेखि नै निरन्तर छलफल भएको थियो । यसबीचमा हिजो बसेको माधव पक्षधरका स्थायी कमिटी सदस्यहरूको भेलाले यथास्थितिमा केन्द्रीय कमिटी बैठकमा सहभागी नहुने निर्णय गरेको थियो ।

    माधव पक्षको बैठकपछि पनि दुवै पक्षका नेताहरू छलफलमा जुटेपनि सहमति हुन सकेको छैन । दोस्रो तहका तहका नेताहरूकै आग्रहमा ओली र नेपालबीच संवाद भएको हो ।

    माधव पक्ष पूर्वमाओवादीबिनाको २०७५ जेठ २ को बैठक नबोलाइएको र अझै पनि राजनीतिक विषयमा सहमति भइनसकेकोले आफूहरूको सहमतिबिना एकतर्फी बैठक बोलाइएको भन्दै सहभागी नहुने अडानमा छ । संस्थापन पक्षसँग निरन्तर संवादमा रहेका आफ्ना कार्यदलका सदस्यमार्फत नेता नेपालले बैठक पर सार्न आग्रह गरेका छन् । बैठकको मिति सारेर निकास खोज्न नेपाल पक्षधरका नेताहरूले अन्य नेतामार्फत पनि केपी ओलीलाई सन्देश पठाएका छन् ।

    यसैबीच केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले आजको केन्द्रीय कमिटी बैठकमा सहभागी हुन माधव पक्षका नेताहरूलाई २०७५ जेठ २ कै हैसियत अनुसारको पद तोकेर पत्र पठाएका छन् ।

    आज बिहान ११ बजे बालुवाटारमा तय गरिएको बैठकमा सहभागी हुन स्थायी कमिटी सदस्य, पदाधिकारी र केन्द्रीय सदस्यहरूलाई उनीहरूको पद तोकेर पत्र पठाइएको कार्यालय सचिव तामाङले नेपाल प्रेसलाई बताए ।

    यो बैठक माधव नेपाल पक्षको माग र सर्वोच्चको आदेशपछि महाधिवेशन आयोजक कमिटी भंग गरेर बोलाइएको हो । बैठकमा सहभागी हुन उपाध्यक्ष वामदेव गौतम भने सकारात्मक रहेको बताइएको छ ।

    एमालेले १० औं महाधिवेशन आयोजक कमिटी भंग गर्दै २०७५ जेठ २ को अवस्थामा पार्टी फर्किएको घोषणासहित आज केन्द्रीय कमिटी बैठक डाकेको हो ।

  • महाधिवेशन आयोजक कमिटी भंग भएलगत्तै एमालेका दुवै पक्षका नेताहरू वार्तामा

    महाधिवेशन आयोजक कमिटी भंग भएलगत्तै एमालेका दुवै पक्षका नेताहरू वार्तामा

    काठमाडौं । नेकपा एमालेको केन्द्रीय कमिटी बैठकमा माधव नेपाल पक्षलाई पनि सहभागी गराएर पार्टी एकता कायम गर्न दुवै पक्षका नेताहरू छलफलमा जुटेका छन् ।

    यसअघि पनि एकता वार्ताको लागि निरन्तर छलफलमा रहेका नेताहरू दशौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटी भंग भएर असार १८ गते केन्द्रीय कमिटी बैठक बोलाइएपछि पुनः वार्तामा बसेका हुन् ।

    ललितपुरस्थित समिट होटलमा संस्थापन पक्षबाट उपमहासचिव विष्णु पौडेल,नेता सुवास नेम्वाङ र शंकर पोखरेल वार्तामा सहभागी छन् । माधव नेपाल पक्षबाट उपमहासचिव घनश्याम भुसाल, सचिवहरू भीम आचार्य, गोकर्ण विष्ट र स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डे छन् ।

    माधव नेपालसहितको बैठक बसेर पार्टीलाई एकताबद्ध बनाएर लैजाने अवसर आएको भन्दै वार्तामा सहभागी नेता नेम्वाङले महाधिवेशनबाट निर्वाचित पदाधिकारीहरूकै हैसियतमा सबैले आ-आफ्नो ठाउँबाट पार्टी एकताका लागि पहल गर्नुपर्ने बताए ।

    यसअघि आयोजक कमिटी बैठक बस्नुभन्दा पहिले पनि पौडेल र भुसालबीच छलफल भएको थियो । नेकपा एकतापूर्व एमालेबाट थपिएका ४१ जना सदस्य र माओवादीबाट थपिएका नेताहरूसहितको बैठक बस्न अनौपचारिक सहमति भएको नेताहरूले बताएका छन् ।

    तर, नेपाल पक्षकै कतिपय नेताले भने फेरि पनि जालझेल गर्न खोजिएको र जेठ २ अघिको बैठक बसेर अरुलाई थप्नुपर्नेमा ओलीले झुक्याउन सक्ने आशंका गरेका छन् । नेपाल पक्ष पनि बैठकमा सहभागिता जनाउने वा नजनाउनेबारे आन्तरिक छलफलमा छ ।

  • ओलीको आरोप- विरोधीसँग साँठगाँठ गरेर एमालेमा अस्थिरता ल्याउन खोजे (भिडियाे)

    ओलीको आरोप- विरोधीसँग साँठगाँठ गरेर एमालेमा अस्थिरता ल्याउन खोजे (भिडियाे)

    काठमाडौं । प्रधानमन्त्रीसमेत रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्रैबाट पदीय आकांक्षाका लागि असाधारण अस्वस्थता सुरू भएको बताएका छन् ।

    आज बालुवाटारमा दशौँ महाधिवेशन आयोजक कमिटीको बैठकलाई सम्बोधन गर्दै ओलीले पार्टीभित्र अस्थिरता पैदा गर्ने कार्यमा केही व्यक्तिहरू जालझेल, षडयन्त्र, तिकडमका साथ गुटबन्दीमा क्रियाशील भएको टिप्पणी गरेका छन् । अहिले त्यो खेल विरोधीहरुसँगको साँठगाठमा प्रवेश गरेको उनको आरोप छ ।

    ‘सरकारको नेतृत्वको दुई वर्षपछि पार्टीभित्र असाधारण अस्वस्थता सुरू भयो । पदीय आकांक्षाका लागि । अस्वस्थ्य पदीय आकांक्षाका लागि । जालझेल, षडयन्त्र, तिकडमबाट ,पार्टीभित्रको अस्वस्थ्य गुठबन्दीबाट अस्थिरता पार्टीमा पैदा गर्न केही तत्वहरु पार्टीभित्र क्रियाशिल भए’, बैठकमा ओलीले भने, ‘त्यसले पार्टीभित्र असहज वातावरणतर्फ लग्यो । २ बर्ष पूरा भइसकेपछि पर्टीभित्रैबाट राजीनामा माग्न हतारो । अरुको अविश्वास प्रस्ताव राख्ने हैसियत नभएको स्थितिमा राजीनामाको बबण्डर मच्चाउन खोजियो । अस्थिरता ल्याउने खेल सुरू भयो । त्यो खेल अब विरोधीहरूसँगको साँठगाठमा गयो । जे भेटिन्छ त्यसको प्रयोग गर्ने । जे प्रयोग गरेर झटारो हान्न सकिन्छ, पार्टीलाई कमजोर पार्न सकिन्छ त्यो गर्ने । यस खालका प्रयास हुदै आए ।’

    पार्टीभित्रैको एक समूहले पार्टी कब्जा गर्ने उद्देश्य साथ आफूलाई साधारण सदस्यता पनि नरहने गरी निष्कासन गरेको ओलीले स्मरण गरे ।

    बैठकमा ओलीले पार्टीभित्रैबाट अनावश्यक झमेला झिक्ने, संसदलाई प्रभावकारी हुन नदिने, विधेयकहरू बन्न नदिएर अल्झाउने काम भएपछि आफूले संसद विघटन गरेको उल्लेख गरे । प्रतिनिधिभा पुन:स्थापनापछिको पहिलो दिनको संसद बैठकमा भएका क्रियाकलापको पनि उनले चर्चा गरे ।

    ऐतिहासिक रुपमा अभूतपुर्वक ढंगले विकास निर्माणको गतिलाई अघि बढाएका कारण सरकार जनतामा लोकप्रिय हुँदै गएको ओलीको दावी छ ।

    ‘योजनावद्ध दृष्टिकोणसहितको विकासको तीव्र आकांक्षा र त्यस आकांक्षालाई व्यवहारमा परिणत गर्ने हाम्रो प्रतिबद्धता र तदनुसारको क्रियाकलापहरूले हाम्रो पार्टी झन बढी लोकप्रिय हुदै अगाडि बढिरहेको छ ‘, उनको भनाइ थियो ।

  • माधवको अपत्यारिलो दावी र ओलीको टर्रो जवाफ

    माधवको अपत्यारिलो दावी र ओलीको टर्रो जवाफ

    काठमाडौं । एमालेको एकताका लागि वार्तालापहरू चल्दै गर्दा प्रधानमन्त्री केपी शर्मा ओली पछिल्लो केही दिन मौन बसे । छिन्नभिन्न बन्न लागेको एमालेलाई एकीकृत बनाउने अन्तिम प्रयासस्वरूप उनले आफूलाई ‘कुलिङ पिरियड’ मा राखेको अनुमान पनि गरियो ।

    तर, आज मदन भण्डारीको जन्मजयन्तीमा डेढ घण्टा लामो सम्वोधन गर्दा ओली जुनरूपमा प्रस्तुत भए, त्यसले एकताको सम्भावना निकै पर धेकेलिएको प्रतीत हुन्छ । कम्तीमा माधव नेपाल र केपी ओली एउटै पार्टीमा अटाउँदैनन् भन्ने प्रष्ट आभास ओलीको अभिव्यक्तिबाट भएको छ ।

    त्यसो त ओली र नेपालबीच पार्टीमा विवाद बढेसँगै तल्लो स्तरको आरोप-प्रत्यारोप चल्दै आएको हो । र पनि नेपाली राजनीतिमा नेताहरूबीच आज बाझाबाझ गर्ने र भोलि गम्लङ्ग अंगालो मार्ने आम प्रवृत्ति छ । त्यसैले माधव नेपाल अन्ततः एमालेमा फर्किन्छन् भनेर नेता-कार्यकर्ताको ठूलो पंति अझसम्म आशावादी थियो । एमालेले महाधिवेशन आयोजक कमिटी भंग गर्ने तयारी गरेको समाचारले पनि उनीहरूमा थप आशाको सञ्चार गरेको थियो । तर, आजको आक्रमक भाषणले ओलीको बेग्लै मनस्थिति देखाएको छ । ओली र नेपाल दुवै पक्षले आदर्श मान्ने पार्टीका भूतपूर्व महासचिव मदनकुमार भण्डारीकै जन्मजयन्तीका दिन एकता पक्षधर पार्टी पंतिमा चिन्ता थपिएको छ ।

    त्यसो त वरिष्ठ नेता नेपालले आफू ओलीसँग मिल्न नसक्ने स्पष्ट संकेत बारम्बार गर्दै आएका हुन् । दुई दिनअघि मात्रै पत्रकार सम्मेलनमा उनले आफूलाई प्रधानमन्त्री पदकै लागि अफर आएको तर आफूले विपक्षी गठवन्धनलाई धोका नदिने बताएका थिए ।

    ओलीबाट प्रधानमन्त्री पदको अफर आएको’ नेपालको अभिव्यक्तिले एमालेको संस्थापन पक्ष तरंगित बनेको थियो । प्रधानमन्त्री पद जोगाउनकै लागि साम दाम दण्ड भेद सबै उपाय लगाइरहेका ओलीले नेपाललाई यस्तो अफर गरेको कुरा पत्यारिलो त थिएन । तर, पनि पार्टी एकताका लागि हदैसम्म लचिलो भएर प्रस्ताव राखी पो हाले कि भन्ने संशय संस्थापनका नेता-कार्यकर्तामा व्याप्त थियो । आजको भाषणबाट ओलीले त्यसलाई चिरिदिएका छन्, त्यो पनि अत्यन्त कठोर भाषामा ।

    ओलीले भने, ‘माधव नेपालजस्तो मान्छेलाई प्रधानमन्त्री प्रस्ताव गर्न मलाई बहुला कुकुरले टोकेको छ र ?’

    उनी यतिमा मात्रै रोकिएनन् । उनले नेपाललाई ‘लाजसरम पचेको मान्छे’ को संज्ञासमेत दिए ।

    ‘उनले भने, ‘मान्छे यतिसम्म पनि पतन हुँदा रहेछन् । आफ्नो सरकार ढाल्ने, पार्टी सिध्याउने, विपक्षी पार्टीका नेतालाई प्रधानमन्त्री बनाउन हिँड्ने अनि आफूलाई एमालेको वरिष्ठ नेता भन्ने । यस्तो लाजसरम पचेको मान्छे,’ ओलीले भने ।

    मदन भण्डारीको चर्चा गर्ने क्रममा पनि ओलीले नेपालमाथि विभिन्न आरोप लगाए । माधव नेपाल मदन भण्डारीको ‘विरोधी’ भएको उनको परोक्ष दावी थियो । मदन भण्डारीका लेखहरूको संग्रह प्रकाशित गर्दा वाचश्पति देवकोटालाई कारवाही गरेकोदेखि दासढुंगामा दुर्घटना भएको गाडीलाई संग्रहालयमा राख्न नदिएकोसम्म आरोप उनले नेपालमाथि लगाए ।

    ‘अहिले मदनको जन्मजयन्तीमा विज्ञप्ति निकालेर राजनीतिक फाइदा लिन मात्र खोजेका हुन्,’ ओलीले भने ।

    नेपाललाई प्रचण्डको पुच्छरको संज्ञा दिए । नेपाल भविष्यमा प्रचण्डको पार्टीमा मिसिनुको विकल्प नरहेको उनले दावी गरे ।

    निसानामा कांग्रेसदेखि सर्वोच्चसम्म

    ओलीले आजको सम्बोधनमा कसैलाई बाँकी राखेनन् । कांग्रेसलाई उनले प्रचण्डपथमा हिँडेको आरोप लगाए । कांग्रेसका एक प्रदेश सांसदले आफू नाथुराम गोड्से बन्न तयार रहेको भनेर दिएको अभिव्यक्तिलाई ईंगित गर्दै उनले सो आरोप लगाएका थिए ।

    ओलीले भने, ‘नेपाली कांग्रेसका नेताहरू नै नाथुराम गोड्से खोजी गर्ने, भेटिएन भने आफैं हुने भन्ने तहमा पुगेको भनेपछि प्रचण्डपथ नै अँगालेको हो ।’

    कांग्रेस सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री बन्ने उत्कट इच्छाका कारण लोकतान्त्रिक मार्ग छोडेको ओलीले बताए । प्रचण्डको लहैलहैमा लागेर देउवाले पनि सरकारको कदमलाई ‘कु’ र प्रतिगमन भनेको उनले गुनासो गरे ।

    देउवालाई उनले प्रश्न गरे, ‘यदि जनतामा जानु कु हो भने १७ सालको लोकतान्त्रिक अभ्यास थियो ? माघ १९ के थियो ? उहाँलाई लोकतान्त्रिक विधिबाट सत्ता हस्तान्तरण गरिएको थियो ? असोज १८ के थियो ? कु थियो कि थिएन ? त्यतिबेला कु भन्ने शब्द उहाँको मुखबाट आउने हिम्मत किन भएन ?’

    केही जाली-फटाहा टिपेर कृत्रिम र अलोकतान्त्रिक मार्गबाट प्रधानमन्त्री बन्न खोजेको आरोप ओलीले देउवामाथि लगाए ।

    विपक्षी गठवन्धनका अर्का नेता एमाओवादी अध्यक्ष प्रचण्डलाई पनि ओलीले कठोर प्रहार गरे । जनयुद्धकालका जघन्य अपराधहरूलाई खोतल्दै उनले प्रचण्डलाई छेपारोको संज्ञा दिए । गणतन्त्रका लागि जनयुद्ध लडेर बैंक लुटेको, बच्चादेखि वृद्धसम्मको हत्या गरेको र अहिले आएर राष्ट्रपतिभन्दा राजा ठीक भन्न थालेको ओलीको आरोप थियो ।

    ‘कहिले कम्फर्टेबल सरकार बनाइदिन्छु भन्ने, कहिले हाम्रा लोकतान्त्रिक छिमेकी देशहरू के हेरेर बसेका छन् किन हस्तक्षेप गर्दैनन् भन्ने, कहिले गणतन्त्र ल्याउने मै हुँ भन्ने र अहिले गणतन्त्रभन्दा राजतन्त्र राम्रो भन्ने । छेपारोले रंग फेर्छ त ।’

    प्रधानमन्त्री ओलीले सर्वोच्च अदालतलाई पनि आलोचनामा ताने । सर्वोच्चमा समेत प्रचण्डपथ प्रवेश गरेको आरोप उनले लगाए ।

    सर्वोच्चमा हालै बहसका क्रममा एक अधिवक्ताले बोलेको विषयलाई उप्काएर प्रधानमन्त्रीले न्यायाधीसहरूमाथि प्रश्न उठाएका थिए ।

    अधिवक्ता रमण श्रेष्ठलाई ईंगित गर्दै उनले भने, ‘प्रचण्डको एउटा कार्यकर्ताले राष्ट्रपति र प्रधानमन्त्रीको हत्या गर्ने कुरा गर्दा न्यायमूर्तिहरूले किन रोक्न सक्नुभएन ? हिंसालाई प्रोत्साहन गर्ने काम अदालतमा गर्नु हुन्न अथवा विद्वान अधिवक्ताजी तपाईं आफ्ना मुख सम्हाल्नुस भनेर न्यायमूर्तिहरूले सुझाव पनि राख्न सक्नुहुन्न ? आश्चर्य लाग्छ ।’

    सर्वोच्चले गरेका फैसलाहरूको पनि ओलीले खुलेर आलोचना गरे । कानून एकातर्फ र सर्वोच्चको फैसला अर्कोतर्फ हुन थालेको उनको टिप्पणी थियो ।

    महाधिवेशन आयोजक कमिटीलाई केन्द्रीय कमिटी नमान्ने अदालतको आदेशबारे उनले भने, ‘केन्द्रीय समितिका विभिन्न नाम हुन सक्छन् । जसलाई कार्यकारी अधिकार दिइएको छ, त्यही नै केन्द्रीय समिति हो । यति कुरा पनि बुझिँदैन ?’

    ओलीले फैसला जे आए पनि त्यसलाई स्वीकार्नुको विकल्प नरहेको बताए ।

  • देउवालाई ओलीले सोधे- माघ १९ लाई ‘कु’ भन्ने हिम्मत किन भएन ?

    देउवालाई ओलीले सोधे- माघ १९ लाई ‘कु’ भन्ने हिम्मत किन भएन ?

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री बन्ने उत्कट इच्छाका कारण लोकतान्त्रिक मार्ग छोडेको आरोप लगाएका छन् । लोकतान्त्रिक आन्दोलनमा योगदानको इतिहास भएको कांग्रेस पार्टी अहिले ‘प्रचण्डपन्थी’ बनेको भन्दै उनले चिन्ता व्यक्त गरे ।

    बालुवाटारमा आयोजित एक कार्यक्रममा ओलीले भने, ‘शेरबहादुरजीले प्रधानमन्त्री हुने उत्कट इच्छाले लोकतान्त्रिक मार्ग छोड्नुभो । केही जाली-फटाहा टिपेर कृत्रिम र अलोकतान्त्रिक मार्गबाट प्रधानमन्त्री बन्न खोज्नुभो । संसदबाट बनेको भए हुन्थ्यो । जनतामा गएर बनेको भए हुन्थ्यो । जनतामा जाने बाटोलाई अवरोध गरेर अन्तैबाट प्रधानमन्त्री बन्न खोज्ने ?’

    ओलीले थपे, ‘जनतामा जाने कुरालाई ‘कु’ भन्यो कांग्रेसले । जनतामा जाने प्रस्ताव ‘कु’ हो भने १७ सालको लोकतान्त्रिक अभ्यास के थियो ? कांग्रसले कु भनेको के हो बिर्सिसकेछ । शेरबहादुरलाई सोध्न चाहन्छु ? माघ १९ के थियो । उहाँलाई लोकतान्त्रिक विधिबाट सत्ता हस्तान्तरण गरिएको थियो ? असोज १८ के थियो ? कु थियो कि थिएन ? त्यतिबेला कु भन्ने शब्द उहाँको मुखबाट आउने हिम्मत किन भएन ?’

    ओलीले पूर्वराजा ज्ञानेन्द्रमाथि पनि निसाना साँधे ।

    ‘निर्वाचित प्रधानमन्त्रीलाई अपदस्थ गरेर ‘अदक्ष’ कि के अरे ? ‘अ दक्ष’ भएको हुनाले हटाइयो । ‘अक्षम’ हुनाले हटाइदिएँ । जननिर्वाचित प्रधानमन्त्री सक्षम छ कि छैन भनेर निर्णय गर्ने आर्टिफिसियल्ली बनेको तथाकथित गद्दीमा बस्ने व्यक्तिको काम होइन । त्यो जनताको काम हो । त्यतिबेला देउवाले किन ‘कु’ भन्न सक्नुभएन ? अहिले जनताका बीचमा जाने कुरा गर्दा कु भन्या छ । प्रतिगमन भन्या छ । प्रचण्डको भाषासमेत सापटी लिएर । भाषा सापटी मात्रै होइन आफ्नै बनाइसक्नुभो । दया लाग्छ । लोकतान्त्रिक आन्दोलनमा इतिहास भएको पार्टी यस ढंगले प्रचण्डपन्थी भएको देख्दा अचम्म लाग्छ ।’

  • ‘माधव नेपाललाई प्रधानमन्त्री प्रस्ताव गर्न मलाई बहुला कुकुरले टोकेको छ र ?’

    ‘माधव नेपाललाई प्रधानमन्त्री प्रस्ताव गर्न मलाई बहुला कुकुरले टोकेको छ र ?’

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीका वरिष्ठ नेता माधवकुमार नेपाललाई प्रधानमन्त्रीको अफर नगरेको बताएका छन् । आफूलाई प्रधानमन्त्रीको अफर आएको भनेर नेपालले झुटको खेती गरेको उनको आरोप छ ।

    बालुवाटारमा आज आयोजित एक कार्यक्रममा ओलीले यसो भने- ‘तपाईंहरूले दुई-तीन दिन अघिदेखि सुन्नुभयो होला । मैले माधव नेपाललाई प्रधानमन्त्रीको प्रस्ताव राखेँ अरे । म यो मान्दिनँ अरे । मेरो शेरबहादुर देउवाप्रति यति निष्ठा छ, देउवालाई प्रधानमन्त्री बनाउने कसम खाएको छु । देशलाई धोका दिन्छु । जनतालाई धोका दिन्छु । तर, देउवालाई धोका दिन सक्दिनँ । यसो भनिरहेका छन् ।’

    ओलीले अगाडि थपे, ‘माधव नेपाल भोलि शेरबहादुर देउवाको पार्टी पनि ज्वाइन गर्न सक्छन् । प्रचण्डको पार्टी त ज्वाइन गर्नु नै छ । उनको गन्तव्य त्यही हो । माधव नेपाल भनेको प्रचण्डको मामुली कार्यकता हुन् । तर, अहिले धाक लगाएका छन्, केपी ओलीले प्रधानमन्त्रीको प्रस्ताव राख्यो । मलाई बहुला कुकुरले टोकेको छ र कोही मान्छे नपाएर यस्ता मान्छेलाई प्रधानमन्त्रीको प्रस्ताव राख्न ?’

    प्रधानमन्त्री ओलीले  नेपाललाई ‘लाजशरम पचेको मान्छे’को संज्ञा दिए ।

    उनले भने, ‘यतिसम्म पनि मान्छे पतन हुँदा रहेछन् । आफ्नो सरकार ढाल्ने, कम्युनिष्ट आन्दोलन सिध्याउने, विपक्षी पार्टीका नेतालाई प्रधानमन्त्री बनाउने हिँड्ने, अनि नेकपा एमालेको वरिष्ठ नेता भन्ने । यस्तो लाजशरम पचेको मान्छे ।

  • धरहरा त २ वर्षमा बनायौं, सभ्यता भत्कियो भने दुई पुस्तामा बन्दैन

    धरहरा त २ वर्षमा बनायौं, सभ्यता भत्कियो भने दुई पुस्तामा बन्दैन

    मैले अस्ति माघ १ गते पनि यस अन्तर्राष्ट्रिय योग दिवसका बारेमा चर्चा गरेको थिएँ । यो भूमि योगभूमि हो । यो भूमि तपोभूमि हो । यो भूमि ध्यानभूमि हो । यो भूमि ज्ञानभूमि हो । यसै भूमिमा हजारौँ वर्ष अगाडि योग प्रारम्भ भएको थियो । विश्वास गरिन्छ- शिव अर्थात् शम्भुनाथले लगभग १५ हजार वर्ष अघि सूर्य दक्षिणायन लाग्ने दिन, अर्थात् उत्तरायणको अन्तिम दिन, जुन दिन सबैभन्दा लामो हुन्छ, त्यसैदिन योग आरम्भ गर्नुभएको थियो । सायद, आज १३ घन्टा ५६ मिनेटको दिन छ । यो उत्तरी गोलार्धको यस वर्षको सबैभन्दा लामो दिन हो । यस दिन आफ्ना सातवटा शिष्य सप्तऋषिलाई अगाडि राखेर शिवले योगको बारेमा शिक्षादीक्षा प्रारम्भ गर्नुभएको थियो भन्ने विश्वास गरिन्छ ।

    त्यहाँबाट शैव दर्शन, योग र सभ्यताको रूपमा शैव सभ्यता सुरू भएको विश्वास गरिन्छ । अर्थात् यही भूमि पुरानो भाषामा भन्ने हो भने हिमवतखण्ड, त्यसमा पनि खासगरी नेपाल, यहीँबाट योग प्रारम्भ भएको थियो । समयक्रममा योग परिमार्जित र विकसित हुँदै गयो । महर्षि कपिलमुनिले शांख्य दर्शन आरम्भ गर्नुभयो । शांख्य दर्शनबाट पृथक नभएको योग त्यहाँबाट आरम्भ भयो । योगबाट शांख्य दर्शनलाई पृथक गर्न सकिँदैन भन्ने कपिलमुनिको भनाइ छ ।

    कपिलमुनिदेखि शुकरातसम्म

    कपिलमुनिले योगलाई दर्शनसँग जोडेर, जीवनसँग जोडेर, जीवन र प्रकृतिसँग जोडेर योग-मानिस र प्रकृतिबारे ब्याख्या गर्नुभयो । सृष्टि कसरी सञ्चालन हुन्छ ? उत्पत्ति र विनाश, यी सबै कुराहरूकोे दार्शनिक आधार उहाँले अगाडि सार्नु भयो । त्यस अनुसार सृष्टिसम्बन्धी व्याख्या अगाडि बढाउनु भयो । जुन व्याख्यालाई त्यसभन्दा पछिका अनेक महर्षिहरूले पनि अगाडि बढाउनु भयो । हामी अष्टावक्रकै नाम लिन सक्छौँ । चरवाकको नाम लिन सक्छौँ । त्यसै गरेर सिद्धार्थ गौतमको नाम लिन सक्छौँ । त्यसै गरेर अरु विद्वानहरूको नाम लिन सक्छौँ र गौतम बुद्धभन्दा लगभग दुई शताब्दीपछि इसापूर्व चौथो शताब्दितिर युनान अथवा ग्रिसका महर्षि शुकरातको पनि नाम लिन सक्छौँ । जसलाई सोकरेटरस् भनिन्छ, यी ऋषिहरूको नाम लिन सकिन्छ । महर्षि सुकरातले पनि त्यसको चिन्तन र दर्शनको अभ्यासलाई अगाडि बढाउनु भयो । त्यसपछिका अनेक विद्वानले अगाडि बढाउनु भयो । र, योगको विकासको सन्दर्भलाई हेर्ने हो भने पछिल्लो समय आएर महर्षि पतञ्जलीले योगलाई बढी व्यवस्थित रूपमा प्रस्तुत गर्नुभयो, जुन सबैभन्दा परिमार्जित, परिस्कृत र विकसित रूपमा मानिन्छ ।

    आज योग ज्यादै महत्वपूर्ण आवश्यकता हो । यो आवश्यकता अलिकति फेसन, अलिकति आडम्बर, अलिकति व्यापार, अलिकति, ब्राण्ड, अलिकति लोगो पनि हुन खोजेको छ, जो सही होइन । योग आडम्बर हुँदै होइन ।

    आज योग ज्यादै महत्वपूर्ण आवश्यकता हो । यो आवश्यकता अलिकति फेसन, अलिकति आडम्बर, अलिकति व्यापार, अलिकति, ब्राण्ड, अलिकति लोगो पनि हुन खोजेको छ, जो सही होइन । योग आडम्बर हुँदै होइन ।

    योगले साबुन पानीले नुहाएर सफा हुने कुरालाई पनि छाला सफाइ गर्ने कुरालाई पनि सफाइभित्र राख्छ । तर, त्योभन्दा बढी समाजलाई चाहिएको सफाइ, मान्छेको मनको सफाइ, मस्तिष्को सफाइ, आचरणको सफाइ, व्यवहारको सफाइ, भावनाको सफाइ अथवा आन्तरिक सफाइ सबैभन्दा ठूलो कुरा हो ।

    बाहिरी सफाइका लागि योग आवश्यक छैन, साबुन पानीले नै हुन्छ । त्यसलाई पनि योगको एउटा पक्षको रूपमा राख्न सकिएला, तर त्यसका लागि ठूलो केही पनि गरिरहनु पर्दैन । अभ्यास, त्याग, तपस्या केही पनि गर्नु पर्दैन । तर आन्तरिक हिसाबले मानिस मानिस झैँ अनुशासित, सभ्य, मानवीय भावनाले ओतप्रोत, शान्तिप्रिय र परोपकारी हुनका लागि योगका वास्तविक पक्षहरू धारण गर्न र अभ्यास गर्न जरुरी छ । त्यसै कारण महर्षि पतञ्जलीले अष्टाङ्ग योग भनेर योगका आठवटा प्रमुख अंगहरू छुट्याउनु भएको हो ।

    आज हामीले योगका आठवटा अंगमध्ये लगभग दुईवटा, आसन र प्राणायामको पक्षलाई अनुशरण गरेका छौँ । ध्यानको पनि थोरै पक्ष मात्र अनुशरण गरिरहेका छौँ । नत्रभने आसनको पक्ष र प्राणायामको पक्ष मात्र प्रयोग भएको छ । प्राणायामको पनि प्राणायामभन्दा बढी अरु नै कुरालाई हामी प्राणायाम भनिराखेका छौँ ।

    योग अन्धविश्वासमा आधारित छैन । शांख्यले, योगले कुनै धर्मसँग, कुनै अध्यात्मसँग अरु कुनै कुरासँग सम्बन्ध राख्दैन । योगले सत्यसँग मात्रै सम्बन्ध राख्छ, अन्धविश्वाससँग राख्दैन । खोजसँग पनि योगले सम्बन्ध राख्दैन । जिज्ञासासँग पनि योगले सम्बन्ध राख्दैन । योगले सम्बन्ध राख्छ सत्यसँग, तथ्यसँग, प्रमाणित कुरासँग । जो पुष्टि भएको छैन र पुष्टि हुँदैन, त्यस्ता कुराहरूका पछाडि योग लाग्दैन । यो मेरो भनाई होइन, यो कपिलमुनिको भनाइ हो । यो अरु ऋषिमहर्षिहरूको भनाइ हो ।

    महर्षि कार्ल मार्क्स

    आजको विश्वका जीवित विद्वानहरूमध्ये कुरुक्षेत्र निवासी डाक्टर हिम्मतसिंह सिन्हाजस्ता विद्वान कमै होलान् । धेरै ठूला महर्षिहरू छन् । आजकाल महर्षि भन्ने चलन छैन, डाक्टर भनिन्छ, प्राध्यापक भनिन्छ । म महर्षि ठान्छु । कुरु क्षेत्र निवासी डाक्टर हिम्मतसिंह सिन्हा, आजको समकालीन दुनियाँमा त्यति ठूलो विद्वान सायद कमै होलान् वा छैनन् भन्ने लाग्छ मलाई । जसलाई हाम्रो समाज विकासका क्रमहरूको जानकारी छ । यसका निम्ति हामीले धेरै दार्शनिकहरू, धेरै विद्वानहरूको जानकारी राख्नु पर्ने हुन्छ ।

    मैले अघि नाम लिएका थुप्रै विद्वानहरू, थुप्रै महर्षिहरू, जस्तैः महर्षि डार्विन, महर्षि कार्लमार्क्स, यस्ता अरु थुप्रै महर्षिहरूका विभिन्न प्रकारका योगदान छन् । र, आजका महर्षिहरूमा दक्षिण भारतकै सद्गुरु, जग्गी वासुदेवजस्ता विद्वान महर्षिहरू छन् । जसले योगको अध्ययन गरेका छन्, शास्त्रहरूको अध्ययन गरेका छन् र मानव जीवनको, मानव जीवनका आवश्यकताहरूको र मानव जीवन कस्तो हुनुपर्छ भन्ने सम्बन्धमा अध्ययन अनुसन्धान गरेका छन् । यस्ता विद्वानहरू कसैले पनि अन्धविश्वास होइन, विश्वास हो भन्ने स्थापित गरेका छन् । उनीहरू अनुमानमा होइन, तथ्यमा आधारित कुरामा ध्यान दिन्छन् ।

    योगले मुख्यरुपमा हामीलाई अनुशासनमा बस्न, सदाचार अपनाउन, सद्गुण अपनाउन अभिप्रेरित गर्छ । हामीले पञ्चगुणमध्ये रजगुण र तमगुणलाई परित्याग गर्नुपर्छ । मिश्रित गुण देवगुण, त्यसबाट संघर्ष गरेर कमजोर पक्षहरुलाई हटाएर, प्रवल पक्षलाईं अंगीकार गर्नुपर्छ र हामी सद्गुणतर्फ जानुपर्छ ।

    योगका आठवटा नियमहरूमध्ये मैले यदाकदा बोल्ने मौका पाउँदा भन्ने गरेको छु, आठवटा अंगहरूमध्ये पहिलो अंग यम हो । यमले आचरणमा जोड दिन्छ । आचरणको शुद्धताबाट योगका अन्य अंगहरूमा प्रवेश गर्न सकिन्छ । योगको पहिलो अंग नै यम हो । पहिलो अंग यमले आचरणमा जोड दिन्छ ।

    यसका पाँच भाग छन् । आचरण भनेको सत्यमा अडिग रहौँ भनेको हो । सत्यप्रतिको निष्ठामा अड, निष्ठापूर्वक त्यसको पालना गर, असत्य कुनै हिसाबले पनि अंगीकार नगर । भ्रमले, त्रासले कुनै हिसाबले पनि असत्य होइन, सत्यको मार्ग अबलम्वन गर, सत्यमा अडिग हौ । असत्यलाई अस्वीकार गर, असत्यसँग लड । अर्थात्, सही कुराहरूको पक्षमा उभिऔं, सही काम गर, त्यसलाई व्यवहारमा ल्याऔं, असत्यका विरुद्धमा लड, असत्यलाई हावी हुन नदिउँ, सत्यलाई विजयी बनाउँ । त्यहाँबाट योग सुरू हुन्छ ।

    यमका पाँचवटा शाखाहरू छन्, पहिलो सत्य हो भने दोस्रो अहिंसा, अर्थात् शान्ति । त्यसै गरेर नियमभित्र अरु शाखाहरू छन् । योगले मुख्यरूपमा हामीलाई अनुशासनमा बस्न, सदाचार अपनाउन, सद्गुण अपनाउन अभिप्रेरित गर्छ । हामीले पञ्चगुण मध्ये रजगुण र तमगुणलाई परित्याग गर्नुपर्छ । मिश्रित गुण देवगुण, त्यसबाट संघर्ष गरेर कमजोर पक्षहरूलाई हटाएर, प्रवल पक्षलाई अंगीकार गर्नुपर्छ र हामी सद्गुणतर्फ जानुपर्छ ।

    हामीले विभिन्न प्रकारका क्लेशहरू हटाउँदै खराव वृत्तिहरू छोड्नु पर्छ । काम, क्रोध, लोभ, मोह, मद, मत्सर्य जस्ता कुराहरूबाट अलग हुनुपर्छ । त्यसका निम्ति प्रत्याहार एउटा विधा छुट्टै छ, एउटा अंग छ । त्यसले कुनै पनि खराब कुराहरूसँग आकर्षण हुन नदेउ, इन्द्रीयलाई नियन्त्रणमा राख, आफ्नो हकबाहेकको कुनै कुरामा आशक्त नहोऔं, आशक्तिबाट मुक्त होऔं भन्नेजस्ता कुराहरू सिकाउँछ ।

    योग कमजोर हुँदा अराजकता

    नेपालमा आज अराजकता किन छ ? योग कमजोर छ, त्यसैले । मानिसहरू योगी छैनन् । योगीहरू सत्यका लागि लडिरहेका छैनन् । योगीहरू निष्ठापूर्वक सत्यका निम्ति मैदानमा उत्रिएका छैनन् । इतिहासमा एकजना मान्छे जब सत्यका लागि मैदानमा उत्रिन्छ, तब क्रान्ति हुन्छ । त्यसले ठूलो परिवर्तन हुन्छ ।

    बुद्धले मानव जीवनका अनेक चरणहरू, अनेक पक्षहरू देखे । उनले जीवनका विभत्स पक्षहरू देखे । त्यसपछि तिनीहरूबाट कसरी मुक्त हुन सकिन्छ भनेर उनले दरवार छोडे । राजपाठ छोडे । राजपाठ समाउन लागेको र दरवारमा ऐश आराममा बसेको युवराज, जब राजदरवारबाट खालीहात राजगद्दि, परिवार, श्रीमती र सन्तान परित्याग गरेर निस्किन्छ, जब मानव जातिको सुखको खोजीका निम्ति निस्कन्छ, तव बुझ्नु पर्दछ- एउटा वैचारिक क्रान्ति हुनेवाला छ । त्यसकारण बुद्धबाट वैचारिक क्रान्ति भयो । बुद्धको गृहत्याग साधारण कुरा थिएन । त्यसैबाट एउटा वैचारिक क्रान्ति सुरू हुने थियो, बुद्धको विचारले एउटा तहल्का मच्चायो र आफ्नो प्रभावक्षेत्र विस्तार गर्दै गयो ।

    धर्मतिर अनुचित ढंगले फस्यो भने धर्मयुद्ध हुने डर हुन्छ । जसले मान्छेलाई फेरि हिंसामा फसाउँछ, द्वन्द्वमा फसाउँछ, युद्धमा फसाउँछ र घृणामा फसाउँछ । परस्परमा आज धर्मका नामका जुन प्रतिस्पर्धा भएका छन्, आज आफूले अवलम्बन गरेको धर्म श्रेष्ठ भन्ने जुन दावी चलेका छन्, ती हिंसातर्फ प्रवृत्त छन् । धर्मलाई वैयक्तिक विश्वास र निष्ठाको मानसिक तलबाट अपनाउनु पर्छ, सामाजिक अभियान होइन । धर्मलाई आफ्नो अहंकार सिद्ध गर्ने क्लेश र द्वन्द्वको विषय बनाउनु हुँदैन । यसो गर्दा फेरि हामी उही रजगुण र तमगुणमा पुग्छौँ । धर्मका नाममा लडाइँ गर्न थाल्यौं भने फेरि अहंकारका उही क्लेशहरू र तिनै दोषहरूमा जान्छौँ हामी, तिनै क्रोधमा जान्छौँ हामी, त्यही मोहमा जान्छौँ हामी । त्यसकारण त्यसबाट मुक्त भएर अगाडि बढ्नु आजको आवश्यकता हो ।

    धर्मलाई वैयक्तिक विश्वास र निष्ठाको मानसिक तलबाट अपनाउनु पर्छ, सामाजिक अभियान होइन । धर्मलाई आफ्नो अहंकार सिद्ध गर्ने क्लेश र द्वन्द्वको विषय बनाउनु हुँदैन । यसो गर्दा फेरि हामी उही रजगुण र तमगुणमा पुग्छौँ ।

    ध्यान आवश्यक छ । आसन पनि आवश्यक छ । प्राणायाम आवश्यक छ । तर, यदि यम बिनाको, नियमबिनाको वा प्रत्याहार बिनाको, लोभबाट उन्मुक्ति बिनाको, जैविक र प्राकृतिक हकभन्दा बाहिरको वा सामाजिक मूल्यले तोकेका हकभन्दा बाहिरको अथवा न्यायले भन्ने हक (कानूनले होइन) भन्दा बाहिरको कुरामा हामीले लोभ गर्न छोड्ने, प्रत्याहार पालना गर्‍यौँ भने बल्ल आसन, प्राणायाम, धारणा ध्यान र समाधीजस्ता कुराहरूको अर्थ हुन्छ ।

    यदि हामीले यमका अनुशासन, नियम पालना गरेनौं भने, नियमका अनुशासन पालना गरेनौं भने, यदि हामीले प्रत्याहारमा ध्यान दिएनौं भने, यदि हामीले त्यसबाट निस्किएका निष्कर्षहरूलाई धारण गरेर सही कुराको धारणबाट धारणा बनाउन सकेनौं भने अथवा हामीले हाम्रा निष्कर्षहरूलाई परिमार्जित गर्ने ध्यान, आफ्ना विचारहरूलाई परिस्कृत बनाउने र उच्चस्तरमा पुर्‍याउने, व्यवस्थित गर्ने ध्यान, मानवहित, लोककल्याणका निम्तिको धारणालाई माथि उठाउन सक्ने ध्यान गरेनौं भने समाधी प्राप्त हुन सक्दैन । तसर्थः हामीले यी कुराहरूतर्फ ध्यान दिन जरुरी छ ।

    यसका निम्ति ध्यान दिन योगअभ्यासमा लागेका हाम्रा योग केन्द्रहरूलाई र योग अभ्यासमा लागिरहेका योग अभ्यास गराउने गुरुहरूलाई आग्रह गर्न चाहन्छु । यहाँहरूले आसन मात्रै नगराउनुस्, आसनभन्दा अगाडि यम गराउनुस् । तपाईंका शिष्यहरूलाई कमसेकम म सत्यप्रति निष्ठावान छु भन्ने बोध गर्न लगाउनुस् । म सत्य निष्ठाको अवलम्वन गर्छु, असत्यको अगाडि झुक्दिनँ भन्नुस्, भन्न लगाउनुस् । एउटा मान्छेले संकल्प गर्‍यो भने धेरै फरक पर्छ ।

    नित्सेले ईश्वरको मृत्यु घोषणा गरे

    मैले कुनै अर्को सन्दर्भमा पनि मेरो मन्तव्यको क्रममा भनेको थिएँ । जर्मनी १६ टुक्रामा बाँडिएको थियो । बेलायतले अलिअलि, लक्जेम्वर्गले अलिकति, डेनमार्कले अलिकति, पोल्याण्डले अलिकति, बेल्जियमले अलिकति होला, विभिन्नले चारैतिरबाट चुँडचाँड गरेर जर्मनीलाई १६ ठाउँमा खण्डित गरेका थिए ।

    त्यतिबेला जर्मनीमा नित्से भन्ने एकजना प्रोफेसर थिए । त्यसबेला जे हुन्छ भगवानले गर्छ, हामीले केही गर्नु पर्दैन, भगवानको इच्छामा नै सबै चल्छ भन्ने आम विश्वास थियो । नित्सेले भने भगवान होइन, तिमीले गर्नुपर्छ भन्थे । उनले आफ्ना शिष्यहरूलाई यति मजबुत ढंगले बताए कि त्यो प्रसंग म यहाँ अहिले ल्याइरहन चाहन्नँ । उनले ईश्वरको मृत्यु भएको घोषणा गरे ।

    अत्यन्त मजबुत ढंगले उनले बताए कि कसले यो जर्मनीलाई एकीकृत गर्छ त अब ? विभिन्न देशका कब्जाबाट जर्मनीलाई कसले मुक्त गर्छ ? उनका शिष्यहरू वरिपरी सडकमा आएका थिए । उनको गम्भीर प्रश्न थियो- यो तिमीले गर्नुपर्छ, हामीले नै गर्नुपर्छ, हामीले नै गर्न सक्छौँ, अरु कसैले गर्दिने होइन ।

    भगवानले गरिदिन्छ भन्नलाई भगवानले कब्जा गरेको हो र ? जर्मनी फुटाइदिएको भगवानले हो र ? अरु देशले आक्रमण गरेका हुन्, त्यो देशबाट फिर्ता ल्याउन पर्‍यो भने हामीले गर्नुपर्छ । पहिला तिमी आफू मुक्त र स्वतन्त्र बन, तव तिमी आफैँ गर्न सक्छौ । अनि नित्सेका शिष्यहरू बोले ।

    तिनीहरूमध्ये एकजना थिए विस्मार्क, उनी पछि आइरन म्यान भनेर चिनिए । जर्मनीका चान्सलर भए । उनले भने, म बनाउँछु यो देश, म एकीकृत गर्छु यो देश । उनका साथीहरूले त्यसै गरेर भने, म बनाउँछु । र, त्यही जेनेरेशनले जर्मनी बनायो । उनै विस्मार्क, जसले महर्षि नित्सेको अगाडि कवुल गरिरहेका थिए, हामी बनाउँछौँ भनेर । तिनीहरूले नै आफ्नै जीवनमा एकीकृत गरे र जर्मनी फेरि एउटा अत्यन्त मजबुत र शक्तिशाली राष्ट्रको रूपमा उदायो, एकीकृत पनि भयो ।

    नित्सेले भने भगवान होइन, तिमीले गर्नुपर्छ भन्थे । उनले आफ्ना शिष्यहरुलाई यति मजबुत ढंगले बताए कि त्यो प्रसंग म यहाँ अहिले ल्याइरहन चाहन्नँ । उनले ईश्वरको मृत्यु भएको घोषणा गरे ।

    बुद्ध एकजनाले दरवार छोडे । शिक्षाको एउटा अभियान चलाए । त्यसले २६ सय वर्षपछि आज पनि विश्वलाई प्रज्ज्वल्लित गरिरहेको छ, उज्यालो दिइराखेको छ, बाटो देखाइरहेको छ । शान्तिको आवश्यकता बताइरहेको छ । शान्तिको मार्ग बताइरहेको छ । हामी आज पनि ध्यानका कुरा गरिरहेका छौँ, आज पनि बुद्धका विचारका कुरा गरिरहेका छौँ । बुद्ध दर्शनका कुरा गरिराखेका छौँ । एउटा मान्छेले गर्दा यस्तो भयो ।

    डार्विन एकजनाले विकासवादी सिद्धान्तलाई अगाडि सार्दा दुनियाँको विज्ञान, जीवविज्ञान, यसमा उथलपुथलकारी परिवर्तन आयो । यस्ता थुप्रै विद्वानहरू विभिन्न क्षेत्रमा भनौं, त्यस्ता विद्वानहरूकोे एउटा प्रयासबाट त्यो विश्वव्यापी हुन्छ । हामीले पनि आफूमा विश्वास गर्नुपर्‍यो, आफूलाई विश्वास गर्नुपर्‍यो । हामीले हाम्रो पिँढीमा आत्मविश्वास जगाउनु पर्‍यो र त्यो आत्मविश्वास हाम्रो नयाँ पिढीँमा, युवा पुस्तामा हस्तान्तरण गर्नुपर्‍यो । नयाँ पुस्तामा आत्मविश्वास जगाउन पर्‍यो । हाम्रो देश जोगाउन हामी सक्छौँ, हाम्रो देश हामी मजबुत बनाउन सक्छौँ, हाम्रो देशलाई संसारको सबैभन्दा नमूना, सभ्यतायुक्त, समृद्ध र सुखी बनाउन सक्छौँ ।

    सांस्कृतिक अधपतनको महामारी

    आज हामी कोरोना महामारीको समयमा छौँ । त्यसकारण यति थोरै मान्छे भेला भएर यसरी कार्यक्रम मनाउनु परेको छ । दशौंहजारको संख्यामा मनाउँथ्यौँ । तर, आज हामीले केही मान्छे जम्मा भएर दूरसञ्चारका माध्यमबाट यसलाई दाजुभाइ दिदीबहिनीहरूसमक्ष पुर्‍याउनु परेको छ ।

    यो कोभिड महामारीले ठूलो क्षति गरेको छ । कोभिडसँग लड्न मास्क लगाउनु पर्छ, सामाजिक दूरी कायम गर्नुपर्छ, भ्याक्सिन आविष्कार गर्नुपर्छ, भ्याक्सिन पत्ता लगाएर भ्याक्सिन लगाउनु पर्छ, जोगिनु पर्छ, इम्युन सिस्टम बढाउनु पर्छ । यो हामीले बुुझेका छौँ र बढीमा एक वर्ष, दुई वर्ष लाग्ला, कोभिड-१९ लाई हामी समाप्त पार्छौँ ।

    कोरोना महामारी समाप्त पार्छौँ । तर, हाम्रो साँस्कृतिक अधपतनको, हाम्रो सभ्यताको अधपतनको- यो महामारी जुन अहिले हाम्रो समाजमा चलिराखेको छ, यसलाई कुनै भ्याक्सिनले, कुनै मास्कले, कुनै सोसल डिस्ट्यान्सले समाप्त गर्नेवाला छैन ।

    हामीले यसलाई सावधानीसाथ रोक्न सकेनौँ भने यसले पिँढी दरपिँढी, (जेनेरेशन टु जेनेरेशन) हाम्रो समाजलाई ध्वस्त पार्छ । त्यसकारण साँस्कृतिक अधपतनको महामारी जुन छ, यसले हाम्रो गौरवपूर्ण इतिहास र सभ्यताको आज माखौल उडाएको छ ।

    हामी दुनियाँका सबैभन्दा असभ्य, असंस्कृत, भद्दा अभिव्यक्ति दिनेभित्र पर्न थालेका छौँ । सामाजिक सञ्जाल हेरिसक्नु हुन्छ र ? तपाईंले सामाजिक सञ्जालमा एउटा लेख दिनुभयो भने त्यसकोे टिप्पणी हुँदैन । एकाध टिप्पणी हुन्छ, बाँकी गालीगलौज, लाजभाड, अश्लील, छाडा, वैयक्तिक कुण्ठाहरू सबै त्यहाँ ल्याएर छरेको हुन्छ, पोखेको हुन्छ । यो के हो भन्दा साँस्कृतिक अधपतन हो ।

    कोरोना महामारी समाप्त पार्छौँ । तर, हाम्रो साँस्कृतिक अधपतनको, हाम्रो सभ्यताको अधपतनको- यो महामारी जुन अहिले हाम्रो समाजमा चलिराखेको छ, यसलाई कुनै भ्याक्सिनले, कुनै मास्कले, कुनै सोसल डिस्ट्यान्सले समाप्त गर्नेवाला छैन ।

    हाम्रोजस्तो सभ्यताको शुरूआत भएको देश । सभ्यताको शुरूआत भएको यो भूमि, जसलाई देवभूमि भन्ने गरियो । ज्ञानभूमि भन्ने गरियो, तपोभूमि भन्ने गरियो । यस देशमा आज असभ्यता छरपस्ट छ । हामी असभ्यताको फागु खेलिराखेका छौँ । यो बडो चिन्ताको विषय हो । त्यसकारण आज हाम्रा योगाअभ्यासले, हाम्रा योगसम्बन्धी दर्शनले, हाम्रा योगसम्बन्धी चिन्तनले, हाम्रा योगसम्बन्धी अभ्यासहरूले, यी सबै कुराले यो साँस्कृतिक अधपतनलाई रोक्न सक्नु पर्दछ ।

    एउटा मजवुत भवन भत्कियो भने पनि दुई वर्षमा बनाउन सकिन्छ । हाम्रो धरहरा, हाम्रो इतिहास भत्कियो । हामीले दुई वर्षभित्र धरहरा बनायौं । तर, हाम्रो सभ्यताको धरहरा भत्कियो भने, हाम्रो संस्कृतिको धरहरा भत्कियो भने, दुई वर्षमा बन्दैन । दुई पुस्तामा बन्दैन । त्यसकारण हामी समयमै सजग हुनुपर्दछ । त्यसैले योगले आसनमा भन्दा अनुशासनमा ध्यान दिनुपर्दछ । आसनमा भन्दा आज ध्यान दिनुपर्ने अनुशासनमा छ ।

    शुकरात र प्लेटोको कथा

    योगले अनुशासन केलाई भन्छ ? पहिलो कुरा त सत्यप्रतिको अमल निष्ठा चाहिन्छ । असत्यसँग नझुक्ने, असत्यलाई अस्वीकार गर्ने, त्यसलाई भन्छ अनुशासन । सत्यप्र्रति निष्ठासाथ उभिने । शुकरातलाई एथेन्सवासीहरूले मृत्युको सजाय सुनाए र उनीहरूले शुकरातलाई विषको प्याला पिएर मर्नुपर्छ भने । उनका शिष्य प्लेटोले गुरुलाई बचाउनु पर्छ भनेर शासकहरूसँग संवाद गरे । शासकहरूसँग गुरुलाई बचाउने कुरा गरे ।

    गुरुलाई कसरी बचाउने भन्दा शासकहरूले भने- एथेन्सवासीहरूले गरेको फैसला हो, शुकरातलाई बचाउनका लागि हामी केही पनि गर्न सक्दैनौं । हामी माफी पनि दिन सक्दैनौं, किनभने यो नागरिकहरूले गरेको फैसला हो, एथेन्सवासीले गरेको फैसला हो । तसर्थ, उनले मृत्युदण्ड त पाउँछन् नै । यसो भनेपछि अब प्लेटोलाई आपत पर्‍यो ।

    प्रत्यक्ष क्षमा दिन मिल्दैन भने कसरी बचाउने त ? मेरा गुरु भनेका एउटा जोगी हुन्, एउटा सन्यासी हुन् । उनको कुनै स्वार्थ छैन, उनी सत्यका पुजारी हुन्, उनले सत्य बोले । अहिलेको सामाजिक मान्यताले, अहिले हामीले धारण गरिरहेको धर्मले शुकरातले धर्म विरोधी काम गरेको भन्छ र उनलाई मृत्युदण्ड भन्छ भने मेरा गुरुले त्यसलाई असत्य मान्नु हुन्छ । त्यसकारण त्यससँग सम्झौता गर्नुहुन्न, माफी माग्नुहुन्न । अब उहाँलाई के गरेर बचाउने हो ? एउटा जोगी हो, एउटा सन्यासी हो, एउटा महर्षि हो, एउटा त्यागी हो, एउटा ज्ञानी हो, एउटा ध्यानी हो । त्यसको रक्षा कसरी गर्ने ? अनि शासकहरूले उनलाई भने- एउटा राम्रो मजबुत घोडा लगेर अगाडि राख्दिउँला, पालेहरूलाई निदाएजस्तो गर्न लगाइदिउँला, तिनीहरू निदाएजस्तो गर्नेछन् । तिम्रा गुरु शुकरात बाहिर निस्किउन्, घोडा चढून्, अन्तै जाउन् ।

    हामी दुनियाँका सबैभन्दा असभ्य, असंस्कृत, भद्दा अभिव्यक्ति दिनेभित्र पर्न थालेका छौँ । सामाजिक सञ्जाल हेरिसक्नु हुन्छ र ? तपाईंले सामाजिक सञ्जालमा एउटा लेख दिनुभयो भने त्यसकोे टिप्पणी हुँदैन । एकाध टिप्पणी हुन्छ, बाँकी गालीगलौज, लाजभाड, अश्लील, छाडा, वैयक्तिक कुण्ठाहरु सबै त्यहाँ ल्याएर छरेको हुन्छ, पोखेको हुन्छ । यो के हो भन्दा साँस्कृतिक अधपतन हो ।

    राम्रो उपाय हो भनेर प्लेटो फर्किए र प्लेटोले गुरुलाई त्यही भने । शुकरातले भने- प्लेटो तिमी मेरो शिष्य लायकको रहेनछौँ । तिमीले मलाई चिनेनौ । म सत्य भन्ने मात्रै मान्छे होइन, म सत्यको पुजारी हुँ, पालक हुँ । सत्य धारण गर्ने मान्छे हुँ । म सत्य भन्ने र असत्यको मार्गमा सत्य छोेडेर घोेडा चढेर भाग्ने भगौडा होइन । सत्य बोल्दा ज्यान जाने खतरा भएपछि ज्यान बचाउनका लागि घोडा चढेर भाग्ने, लुसुक्क शासकहरूसँग साँठगाँठ गरेर भाग्ने मान्छे म होइन । त्यसकारण म बाँच्नका निम्ति सत्य छोड्दिनँ ।

    मैले सत्य छोडेँ भने इतिहासले मलाई के भन्ने छ भोलि ? सत्य भन्ने कुरा मात्रै हो, सत्यको पुजारी भनेको शुकरात त ज्यान बचाउनका लागि सत्य छोडेर घोडा चढेर भाग्यो भन्नेछन् । सत्यप्रति दृढताका साथ उभिन्छु भन्थ्यो, उभिएन, भाग्यो भन्नेछन् ।

    म त्यस्तो भगौडा होइन, सत्यको पुजारी हुँ । शुकरात त्यहीँ बसे, जान मानेनन् । शासकहरू पनि आश्चर्यचकित भए, प्लेटो पनि आश्चर्यचकित भए, दुखित भए । भोलिपल्ट बिहान शुकरातले विषको प्याला पिए । र, सत्यप्रतिको आफ्नो निष्ठा कायम राखेर उनले आफ्नो ज्यान छोडे, ज्यान दिए । यही कुरा भन्छ योगले- ‘सत्यप्रतिको निष्ठा अमल निष्ठा ।’

    कानून पालना नगर्दा गर्व गर्ने

    सभ्यता, शिष्टता, मर्यादा, यमको दोस्रो पछिको दोस्रो नियम नै अहिंसा हो । अहिंसा भनेपछि अरुलाई अन्याय पर्ने, अरुलाई घोच मार्ने, अरुको चित्त दुख्ने, अरुको मानमर्दन हुने, अरुलाई होच्याउने, अरुलाई घोचपेच गर्ने कुनै कुराहरू गर्नु हुँदैन । हिंसा भनेको स्थुल मारकाटको रूपमा मात्रै, द्वन्द्वको रूपमा मात्रै, लडाइँको रूपमा मात्रै हुँदैन । हिंसाका सानातिना सुक्ष्म पक्षहरू पनि छन् । हिंसात्मक सोच, ती पनि गर्नु हुँदैन ।

    त्यसकारण यतिबेला हाम्रो देशमा दुईवटा हिसाबले योगको असाधारण महत्व छ । एउटा कोभिड-१९ बाट यतिबेला व्यक्तिलाई स्वस्थ्य राख्न, शारीरिक मानसिक हिसाबले स्वस्थ्य राख्न, कुनै प्रकारले डिप्रेशनमा जान नदिन, मनोवैज्ञानिक उपचारदेखि लिएर शारीरिक उपचारदेखि लिएर सबै कुराहरू गर्न र प्रतिरोधी क्षमताको विकास गर्न योग आवश्यक छ । आशावादीता जगाउन, जीवनलाई वस्तुपरक रूपमा जीवनको रूपमा हेर्न र बुझ्न योग जरुरी छ । योगको महत्व यतिबेला असाधारण छ ।

    हाम्रो धरहरा, हाम्रो इतिहास भत्कियो । हामीले दुई वर्षभित्र धरहरा बनायौं । तर, हाम्रो सभ्यताको धरहरा भत्कियो भने, हाम्रो संस्कृतिको धरहरा भत्कियो भने, दुई वर्षमा बन्दैन । दुई पुस्तामा बन्दैन । त्यसकारण हामी समयमै सजग हुनुपर्दछ । त्यसैले योगले आसनमा भन्दा अनुशासनमा ध्यान दिनुपर्दछ ।

    योगको आवश्यकता यतिबेला सबैभन्दा बढेको छ । तर, त्योभन्दा बढी आज देशमा मैले अघि नै भनेँ, साँस्कृतिक अधपतन छ । महामारीको रूपमा फैलिएको छ । यसमा हामीले हाम्रो सिंगै समाजलाई सम्झाउन सकेनौं, हाम्रो नयाँ पिँढीलाई सम्झाउन सकेनौं । अरुको नक्कल गर्ने तरिकाले हामी आफ्ना सभ्यता, शिष्टता, मर्यादा सबै कुरा भुल्छौँ । अनुशासनहीन, अराजक बन्छौँ, कानून तोड्नुलाई गर्वको विषय बनाउँछौँ ।

    कानूनको पालना नगर्नु, कानून तोड्नु गर्वको विषय ! मैले त तोड्दिएँ नि ! मैले मानिनँ ! कानुन तोड्नुमा गर्व गर्ने, यो अनुचित कुरा हो । अनुशासनहीन हुनुलाई ठूलो कुरा ठान्ने र देखावटी प्रवृत्तिहरू छन् । आचरणहरू सबै यथार्थ होइन, देखावटी । भ्रष्टाचारको विरोध देखावटी, अरु नराम्रा कुराहरूको विरोध देखावटी । भनिन्छ नि- बर्को ओढेर घिउ खाने प्रवृत्ति । वनावटी र देखावटी प्रवृत्ति । त्यसबाट देशलाई मुक्त गर्न र वास्तवमा जीनवयापनको लागि प्राविधिक र व्यावहारिक हिसाबले सक्षम हुने, सँगसँगै गुणवत्ता, सँगसँगै आचरणयुक्त, शान्तिप्रिय, देशभक्त, मानवतावादी नागरिकहरूको उत्पादन योग शिक्षाबाट गर्न सकिन्छ ।

    म यहाँहरूलाई योग प्रोटोकलहरूमा आवश्यक सुधार गर्न पनि आग्रह गर्न चाहन्छु । हामी योग प्रोटोकल बनाउँछौँ । त्यसमा योगको समग्र अर्थ र महत्व, त्यसको परिणाम प्राप्त हुनेगरी प्रोटेकोल निर्धारण गर्नुपर्छ । बाह्य परिणाम मात्रै होइन, वैयक्तिक परिणाम मात्र होइन, सामाजिक परिणामहरू प्राप्त हुनेगरी त्यसका प्रोटोकलहरूलाई पनि व्यवस्थित गर्नु जरुरी ठान्दछु ।

    योग शिक्षा पाठ्यक्रममा राखौं

    हामीले योगशिक्षालाई पाठ्यक्रममा राख्न चाहेका छौँ । तर साँच्चैको योगशिक्षा, योगशिक्षाको रूपमा पाठ्यक्रममा प्रस्तुत हुन सकेको छैन । त्यसकारण पाठ्यक्रममा योगशिक्षा प्रस्तुत हुनेगरी पाठ्यक्रम तयार गरौँ । योग विद्यालय स्थापना गरौँ, सञ्चालन गरौँ । त्यो योग विद्यालय बेग्लै योग विद्यालय हो ।

    जसले मान्छेलाई पढाउँछ, सिकाउँछ, अभ्यास गराउँछ । जस्तो हामी अभ्यास गछौँ विज्ञानका क्लासहरूमा । योगका क्लासहरूमा पनि हामी त्यस्तै अभ्यास गर्न सक्छौँ । हामीले यम कति बुझ्यौं ? कति अभ्यस्त छौँ ? त्यसै गरेर नियमप्रति कति अभ्यस्त भएका छौँ ? त्यसै गरेर प्राणायामसँग कति अभ्यस्त भएका छौँ ?

    आसनसँग कति अभ्यस्त भयौँ ? कुनकुन आवश्यक छ हामीलाई आसन ? मान्छेको शारीरिक बनोटदेखि रक्तस्थितिदेखि लिएर, उसको भित्री स्वास्थ्य स्थितिदेखि लिएर उसको मुटुको अवस्था, उसको फोक्सोको अवस्था, उसको किड्नीको अवस्था, लिभरको अवस्था, ब्लडप्रेसरको अवस्था, मधुमेहको अवस्था अथवा अम्लियताको अवस्था कस्तो छ ? त्यस अनुसारको योग सिकाइनु, गर्नु र गराइनु पर्‍यो । एउटा त के भने, एकछिन् प्रचारका लागि दशौं हजारलाई राखेर हामी चकटी ओछ्याएर योग गर्न सक्छौँ ।

    अनुशासनहीन हुनुलाई ठूलो कुरा ठान्ने र देखावटी प्रवृत्तिहरु छन् । आचरणहरु सबै यथार्थ होइन, देखावटी । भ्रष्टाचारको विरोध देखावटी, अरु नराम्रा कुराहरुको विरोध देखावटी । भनिन्छ नि- बर्को ओढेर घिउ खाने प्रवृत्ति । वनावटी र देखावटी प्रवृत्ति ।

    त्यसमा सामान्यभन्दा सामान्य कसैलाई धक्का नपर्ने, घच्चा नपर्नेगरी योग गर्न सकिन्छ । ब्लडप्रेसर हाइ भएकोलाई पनि हुने, मधुमेह उच्च भएकोलाई पनि हुने, ब्लडप्रेसर लो भएकोलाई पनि हुने, अम्लपित्त भएकोलाई पनि हुने, जुनसुकै बिरामी भएकोलाई पनि हुने, नभएकोलाई पनि हुने । शीर्षासन गर्न नहुनेलाई पनि हुने, शीर्षासन गर्न हुनेलाई पनि हुने । बलियालाई पनि हुने, कमजोरलाई पनि हुने । बालबालिकालाई पनि, ज्येष्ठ नागरिकलाई पनि हुने । त्यस्ता आसनहरू गर्न सिकाउँछौँ । नत्रभने सबै आसन सिकाउन सकिँदैन । त्यसकारण व्यक्ति अनुसारका आसनहरू हामीले अभ्यास गराउनु पर्दछ ।

    आसनका सन्दर्भमा कतिपय ठाउँमा दुर्घटना हुनसक्छ । आसनले, योगले दुर्घटना हुन सक्दैन भन्न सकिँदैन, दुर्घटना हुन्छ । योगबाट राम्रो प्रतिफल आओस् भन्नका लागि हामीले योग गर्ने हो । कहिले कहिले त्यसबाट नराम्रो प्रतिफल आउँछ, यदि अज्ञानतावस गलत अभ्यास गरियो भने । त्यसकारण योग अज्ञानतावस गर्नु हुँदैन । योग अज्ञानतामा सिर्जना पनि हुँदैन, अगाडि पनि बढ्दैन । त्यसैकारण गुरुबिनाको शिक्षा शास्त्रले वर्जित गरेको छ । हामी शास्त्रमा गुरुबिना पनि एकलव्यले शिक्षा प्राप्त गरेको देख्छौँ ।

    धनुवाण चलाउनु त ठूलो कुरा होइन । तर, सबै शिक्षा गुरुबिना वर्जित नै हुन्छ । योग पनि गुरु बिना त्यसको अर्थ र महत्व बुझिँदैन योग त्यो नबुझिकन हुँदैन । तसर्थ, यी कुराहरूलाई बढी व्यवस्थित ढंगले लान विद्यालय चलाउने र विद्यालयबाट निस्किएका हाम्रा प्रशिक्षकहरू, योगगुरुहरूले त्यसलाई बढी व्यवस्थित ढंगले सञ्चालन गर्नु पर्दछ । योग गुरुहरूले-यहाँहरूले जे गरिराख्नु भएको छ, योग केन्द्रहरू चलाइरहनु भएको छ, यो प्रशंसनीय छ । म योग गुरु पनि होइन, म योगी पनि होइन र म यस विषयको अध्येता पनि होइन । मेरो साधारण जानकारीमा योगका नाममा जस्ताजस्ता कुरा हुने गरेका छन्, बहुत प्रसिद्ध पनि भइराखेको देख्छु र यो क्षणिक हो । यसले योगको मर्मलाई धान्दैन । अहिले हामीले जे गरिराखेका छौँ, हामी जत्रो भवन बनाउन खोज्दैछौँ, यो त्यसको जग यो हुँदैन, त्यसको खम्बा यो हुन सक्दैन । त्यसकारण हामीले यथार्थ योग, त्यसलाई अगाडि बढाउन जरुरी छ ।

    हामीसँग कस्तुरी थियो, तर हामीले त्यो कस्तुरीको चर्चा गरेनौँ । हामीले हाम्रा विद्वानहरुको कुनै कदर गरेनौं । अन्तअन्तका विद्वानहरुको नाम लिने । हामीले हाम्रा ऋषिमुनिहरु, विद्वानहरुको कहिल्यै कोटेशन (quotation) उक्ति उद्धरण पनि गरेनौँ । फलानो प्रोफेसर, उहाँको, त्यहाँको प्रोफेसर भनेर अन्यत्रको प्रोफेसरको कुरा गर्छाैँ ।

    जसबाट हामीले हाम्रो समाजलाई एउटा उत्कृष्ट, सभ्य, सम्भ्रान्त समाज बनाउन सक्छौँ । नमूना समाज बनाउन सक्छौँ, नमूना मानवीय समाज बनाउन सक्छौँ । समाज, सामाजिक प्रबन्ध, मानिसको व्यवहार, आचरण सिक्न नेपाल जाऔं, हेर्न नेपाल जाऔं भन्ने खालको हुन सकोस् । हाम्रो भूभाग पछि बनेको कलिलो पहाड भएको छ । उच्च हिमाल र कलिलो पहाड छ । यो भूस्खलन, पहिरो, बाढी, भिराला पहाड, अतिवृष्टि, मनसुन सबै कुराले हाम्रो भूभाग भूकम्पीय क्षेत्र हो । यस्ता अनेक कुराहरूले हामीलाई प्रभावित गर्छन् नै । यद्यपि यो सामुद्रिक आँधी आदिको क्षेत्र होइन । तर एउटै धर्ती न हो, त्यसबाट फेरि प्रभावित भइहाल्छ । यी कुराहरूका प्रभाव यहाँ छन् । योगले मानिस र वातावरण, इकोसिस्टममा, इकोव्यालेन्समा असाध्यै ध्यान दिन्छ । योगले सन्तुलनमा ध्यान दिन्छ । सन्तुलनमा ध्यान दिने भएको हुनाले यसले इकोसिस्टमतिर पृथ्वी र मानिसका बीचको, प्रकृति र मानिसका बीचको सम्बन्धहरूलाई व्यवस्थित गर्ने भएको हुनाले यसले अर्थतन्त्रमा मात्रै होइन, वातावरणमा पनि, आर्थिक उन्नतिमा मात्रै होइन, मानवीय उन्नति, भौतिक पूर्वाधार मात्रै होइन, सामाजिक पूर्वाधार र मानवीय पूर्वाधारमा पनि यसको असाधारण योगदान हुनसक्छ । यतापट्टि हामी सबैले सजगताका साथ ध्यान दिन जरुरी छ र त्यसअनुसार हाम्रो योेगशिक्षा, योग अध्यासलाई अगाडि बढाउन जरुरी छ भन्ने मलाई लाग्छ ।

    आज हामीलाई सम्माननीय राष्ट्रपतिज्यूले सन्देश पठाउनु भएर उत्साहित गर्नु भएको छ । म उहाँलाई हार्दिक धन्यवाद दिन चाहन्छु । अर्का सालसम्ममा हामी कोभिड १९ को महामारी नियन्त्रण गरिसकेका हुनेछौँ । हामीले खोप लगाइसकेका हुनेछौँ । यस महामारीको अन्त्य भएपछि अर्का साल हामी सम्भवत फराकिलो ठाउँ टुँडिखेलमा योग गर्नेछौँ । एकछिन योग अभ्यास गराएर केही हुने होइन । योग नियमित प्रक्रिया हो । त्यसकारण ध्यानाकर्षणका लागि एकछिन् योग अभ्यास गरौं, बिहानै कार्यक्रम आयोजना गरौं, एउटै कार्यक्रम आयोजना गरौं, विभिन्न ठाउँका कार्यक्रमहरूलाई एकै ठाउँमा ल्याऔं र अर्को वर्षदेखि हरेक क्याम्पसहरू, हरेक विद्यालयहरू, हरेक संघसंस्थाहरू सबैमा योग गरौँ ।

    योगअन्तर्राष्ट्रिय योग दिवस सुरू यहीँबाट भयो र राष्ट्रका सीमाहरू नाघेर बाहिर बाहिर पनि पुग्यो । धेरै वर्ष अघि नै यसलाई २४ वटा देशहरूमा पुर्‍याइसकिएको थियो । तर, सरकारमा योगप्रति ध्यान नजाँदा हाम्रो तर्फबाट यथेष्ट प्रयास भएन । हाम्रो तर्फबाट बुद्धको बारेमा यथेष्ट ध्यान नजानु, केही वर्षदेखि हामीले बुद्ध, बुद्धको जन्मथलो, बुद्ध दर्शन आदिको सम्बन्धमा हाइलाइट गरेर अगाडि बढाएका छौँ, यस्तो पहिले भएको थिएन । नत्र यहाँ त अशोेक आएर स्तम्भ गाडिदिनु पर्ने, फाय यान र वेन चाङले लिखतको चिह्न गाडिदिनु पर्ने, उथान्त आएर यहीँ ठाउँ हो भनेर भन्दिनु पर्ने, उथान्तले यहाँ विकास गर भन्दिनु पर्ने । टाँगेले मास्टर प्लान(गुरु योजना) बनाइदिनु पर्ने । अरुले यसो सहयोग गर्दिएपछि हामीले बनाउने ।

    सबैभन्दा लामो दिनलाई शिवले आफ्ना शिष्यहरुलाई प्रवचन दिएर, योग शिक्षा दिएर योग सुरु भएको थियो । त्यसै दिनलाई अन्तर्राष्ट्रिय योग दिवसको रुपमा मानिनु पर्छ भनेर भारतबाट जुन प्रस्ताव गयो, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीजीले जुन प्रस्ताव गर्नुभयो, त्यसमा हामी खुशी हुनु पर्दछ । उहाँले प्रस्ताव गर्नुभयो । यसले अन्तर्राष्ट्रिय मान्यता प्राप्त गर्यो‍ ।

    यत्तिको लुम्बिनी जो छ, यही लुम्बिनी बनाउन कुनै अन्तर्राष्ट्रिय सहयोग चाहिने थिएन । अहिले जुन छ लुम्बिनी, के त्यसका लागि अन्तर्राष्ट्रिय सहयोग चाहिन्छ ? पाँचहजार अट्ने हामीले ध्यान केन्द्र बनायौं त । त्योभन्दा ठूलो संरचना त केही पनि छैन । अरु त विभिन्न देशले आफ्नोआफ्नो तरिकाले बनाएका छन् । लुम्बिनीमा विकासचाहिँ भयो, तर कहाँनिर ? यत्रो अन्तर्राष्ट्रिय सहयोगको कुरा गछौँ, विकास भयो, कहाँ त ? केमा भयो ? मायादेवी मन्दिर ? त्यो त पुरानो घर भत्किन लागेको छ ।

    यो किन भयो भन्दाखेरी हाम्रो रुचि नभएर । अरुले रुचि राख्ने हामीले नराख्ने भएपछि त यस्तै हुन्छ । बाहिरी सहयोग आवश्यकै नभएका ठाउँमा बाहिरी सहयोग आएको छ । आवश्यक भएको काममा बाह्य सहयोग लगाउन सकेका छैनौँ । यत्रो वर्ष लुम्बिनीमा बाह्य सहयोग आयो, भयो के ? यति वर्षपछि तिलौराकोट उत्खनन् भएको अलिकति तथ्य बाहिर आयो । रामनगरमा हामी अलिकति प्रचार गर्दैछौँ । त्यसै गरेर बुद्धको मावलीको हामी चर्चा गरिराखेका छौँ र अहिले बुद्ध सर्किटको कुरा गरिरहेका छौँ ।

    हामी आफूले आफ्नो ठाउँलाई जगाउनु पर्छ । हामीसँग कस्तुरी थियो, तर हामीले त्यो कस्तुरीको चर्चा गरेनौँ । हामीले हाम्रा विद्वानहरूको कुनै कदर गरेनौं । अन्तअन्तका विद्वानहरूको नाम लिने । हामीले हाम्रा ऋषिमुनिहरू, विद्वानहरूको कहिल्यै कोटेशन (quotation) उक्ति उद्धरण पनि गरेनौँ । फलानो प्रोफेसर, उहाँको, त्यहाँको प्रोफेसर भनेर अन्यत्रको प्रोफेसरको कुरा गर्छाैँ । यस विषयमा मैले धेरै केही भनिरहनु छैन । तर, हामी अरुलाई पच्छ्याउने, नक्कल गर्ने, अरुको कुरामा, उपलब्धिमा गर्व गर्ने, आफू उपलब्धि नगर्ने संकल्प नगर्ने भयौँ । हामी संकल्पहीन भयौँ । त्यसकारण अबको आवश्यकता आफ्नो संकल्प, आफ्नो अठोट लिनुपर्छ ।

    मोदीलाई धन्यवाद, योगको उत्पति नेपालमा भएको हो

    किन हामीले योगलाई अन्तर्राष्ट्रियकरण गर्न सकेनौं ? तपाईंहरूले वैयक्तिक तवरमा अथवा केही व्यक्तिहरूका प्रयासहरूले गर्नुभयो । राज्यले ध्यान दिएन । तपाईंहरूले संयुक्त राष्ट्र संघको मञ्चबाट विश्वको ध्यानाकर्षण गराउन मञ्च पाउनु भएन । जसले मञ्च प्रयोग गर्न पायो उसले हाम्रो सम्पदाको उच्चारण गरेन । उच्चारण नै नगरेपछि हुने कुरै भएन । उच्चारण किन गरेन ? उसको ज्ञान नै भएन । त्यसो भएपछि कसरी अगाडि बढ्छ ? जेहोस् अन्तर्राष्ट्रियकरण हुनु पर्दथ्यो ।

    योग कुनै देश विशेषको नभइ धरतीको यसखण्डको, अर्थात् तत्कालीन महान भारतवर्ष भित्रको हिमवत्खण्डको उपलब्धि हो । वास्तवमा देशकै नाम लिने हो भने योग नेपालमा नै भएको हो । त्यतिबेला एकीकृत भारत निर्माण भएको थिएन । भारतवर्षमा रजौटाहरु थिए, स्वाभाविक रुपमा स-साना रजौटाहरुको एकखालको महाद्वीप भन्दा पनि त्यो अलिकति उप-महाद्वीपजस्तो थियो ।

    अर्थात्, योगले उहिल्यै विश्वव्यापी रूपमा मान्यता पाउनु पर्दथ्यो । यसको विश्वव्यापी प्रचार हुनु पर्दथ्यो । विश्वव्यापी रूपमा अंगिकार गरिनु पर्दथ्यो । त्यसका लागि संयुक्त राष्ट्र संघले अन्तर्राष्ट्रिय दिवसका रूपमा मान्नु पथ्र्यो । ठीकै ढङ्गले विद्वानहरूलाई अध्ययन गराएर नै दक्षिणायन लाग्ने दिन अथवा उत्तरायणको अन्तिम दिन, सबैभन्दा लामो दिनलाई शिवले आफ्ना शिष्यहरूलाई प्रवचन दिएर, योग शिक्षा दिएर योग सुरू भएको थियो । त्यसै दिनलाई अन्तर्राष्ट्रिय योग दिवसको रूपमा मानिनु पर्छ भनेर भारतबाट जुन प्रस्ताव गयो, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीजीले जुन प्रस्ताव गर्नुभयो, त्यसमा हामी खुशी हुनु पर्दछ । उहाँले प्रस्ताव गर्नुभयो । यसले अन्तर्राष्ट्रिय मान्यता प्राप्त गर्‍यो ।

    भत्किएको धरहरा २ वर्षमा बनायौं, तर भत्किँदै गरेको सभ्यता दुई पुस्तामा पनि बन्दैन

    योग कुनै देश विशेषको नभइ धरतीको यसखण्डको, अर्थात् तत्कालीन महान भारतवर्ष भित्रको हिमवत्खण्डको उपलब्धि हो । वास्तवमा देशकै नाम लिने हो भने योग नेपालमा नै भएको हो । त्यतिबेला एकीकृत भारत निर्माण भएको थिएन । भारतवर्षमा रजौटाहरू थिए, स्वाभाविक रूपमा स-साना रजौटाहरूको एकखालको महाद्वीप भन्दा पनि त्यो अलिकति उप-महाद्वीपजस्तो थियो ।

    दक्षिण एसिया र अलिअलि दक्षिण एसिया भन्दा बाहिर समेत तिब्बती प्लाटु थियो, जस्तो- कैलाश पर्वत, मानसरोबर खण्ड र ब्रह्मलोकका अरु क्षेत्रहरू समेत हिमवत्खण्डमा योगको उत्पत्ति भएको थियो । पतञ्जली जस्ता महर्षिको यहीँ जन्म भएको थियो । यहीँ अभ्यास गरेका थिए । योग र शांख्य दर्शनका प्रवर्तक र व्याख्याता कपिलमुनि यहीँका थिए । अरु विभिन्न विधाका ऋषिमुनिहरू पनि जस्तो औषधि विज्ञानका, आयुर्वेदका महर्षि चरकजस्ता विद्वानहरू यहीँका थिए । जसले औषधि विज्ञानसम्बन्धी चरक संहिता लेख्नुभयो । अर्का सुश्रुत्रजस्ता विद्वान यहीँका थिए । जसले २७/२८ सय वर्ष अगाडि सल्यक्रियाको व्यवस्थित रूपले उत्थान गरे ।

    जसले यहीँ गण्डकीको किनारमा, त्रिवेणीको किनारमा अभ्यास गरेका थिए । त्यो तथ्य कतिपय विद्वानहरूले लुकाउँछन् । हिमाली जडिबुटीको वनारसमा बसेर अध्ययन गर्न सकिँदैन । चरक संहिता होस् अथवा सुश्रुत संहिता होस् । आयुर्वेद, औषधि विज्ञान होस् वा सल्यक्रिया विज्ञान होस् । यिनीहरूमा जुन औषधि विज्ञानको चर्चा गरिएको छ, हिमाली जडिबुटीहरूको चर्चा गरिएको छ, वनारस बसेर त्यसको अध्ययन गर्न सकिँदैनथ्यो । यहाँ बसेर त्यसको अध्ययन हुन्थ्यो । उहाँहरूले यहाँ बसेर गर्नु भएको हो ।

    शल्यक्रिया विज्ञानको विकास गरिसकेपछि सुश्रुतले वनारसमा गएर शल्यक्रियाका अभ्यासहरू गर्नुभयो । तर त्यससम्बन्धी सारा अध्ययन, र खोजचाहिँ यहीँका पहाडी भूमिहरूमा, गण्डकी किनारमा भएका थिए । यी सबै विद्वानहरू, ऋषि विश्वामित्र, ऋषि कौशिक जसले मन्त्रहरूको पनि मन्त्र गायत्री मन्त्र ‘ॐ भूर्भुवः स्वः तत्सवितुर्वरेण्यं भर्गो देवस्यः धीमहि धियो यो नः प्रचोदयात्’ को रचना गरे । त्यो मन्त्रका रचयिता यहीँका थिए र यहीँ चतरामा लेखिएको थियो त्यो मन्त्र । यहीँ रचना भएको थियो । विश्वामित्र राम, लक्ष्मणलाई शिक्षा दिनका लागि कोशी नदी तरेर पश्चिमतिर आएका थिए । शास्त्रहरूले त्यही भन्छ । पश्चिमतिर, अर्थात् दशवटा रथ भएका राजा नेमीको अयोध्यापुरीतिर । जनकपुर, अर्थात्, यज्ञवल्क्य, अष्टावक्र, गार्गी आदि विद्वानहरू, दार्शनिकहरू, चिन्तकहरू यहीँका थिए ।

    अयोध्यापुरीदेखि वाल्मिकी आश्रमसम्म नेपालमै

    यसरी नेपाल ज्ञानको प्रादुर्भाव भएको, सभ्यता प्रादुर्भाव भएको ठाउँ हो यो । अघि नै भने अनुसार अयोध्यापुरी यहीँ नै थियो । वाल्मिकी आश्रम त्यहीँ थियो । सीताले समाधि प्राप्त गरेको देवघाट त्यहीँ थियो । यी सत्य कुरा हुन् । अघि एकजना वक्ताले भन्नुभयो- अब यसलाई समेटेर हाम्रो वास्तविक इतिहास लेखिनुपर्छ । यहाँ इतिहास लेख्न अथवा सत्य कुरा भन्न पनि दच्किने हच्किने, कसो होला, भनौं कि नभनौं भन्ने अवस्था छ । चेतानाले एउटा कुरा गर्छ, मुखले त्यो कुरा भन्न सक्दैन । त्यस्तो खालको स्थिति हुनुहुँदैन ।

    हामीले सभ्यताको सन्दर्भमा अन्याय गर्न मिल्दैन । हामीले इतिहासको सम्बन्धमा अन्याय गर्न मिल्दैन । हाम्रो गौरवपूर्ण इतिहास, हाम्रो योगदान होइन, हाम्रा पूर्वजहरूको योगदान हो । त्यसलाई र त्यसप्रति गर्व गर्ने र त्यो गर्वलाई निरन्तरता दिएर अगाडि बढाउने गर्नुपर्छ । त्यसलाई विलुप्त हुन नदिने, त्यसलाई विस्तार गर्ने अभिभारा आज हाम्रो काँधमा छ । यस योग दिवसले त्यस अभिभाराप्रति हामी सबैलाई सजग गराउनु पदर्छ ।

    यस अवसरमा म सबै महानुभावहरू, सबै दिदीबहिनी दाजुभाइहरूमा यस दिवसले सबैको स्वास्थ्य राम्रो राखोस्, सबैमा सुस्वास्थ्य, सुमन सुचित्त, सुचिन्तन, सुव्यवहार तर्फ प्रवृत गराओस्, सबैमा धेरैधेरै शुभकामना भन्न चाहन्छु । यसको आयोजना गरेकोमा शिक्षा मन्त्रालयलाई विशेष धन्यवाद भन्न चाहन्छु । सबै विद्वान मित्रहरूलाई तथ्य आधारित अध्ययन गर्न र भोकल भएर अध्ययनका निष्कर्षहरूलाई प्रस्तुत गर्न पनि म आग्रह गर्न चाहन्छु । मैले अघि केही अहिले भइरहेका भारतका विद्वानहरूका नाम लिएँ ।

    गायत्री मन्त्र ‘ॐ भूर्भुवः स्वः तत्सवितुर्वरेण्यं भर्गो देवस्यः धीमहि धियो यो नः प्रचोदयात्’ को रचना गरे । त्यो मन्त्रका रचयिता यहीँका थिए र यहीँ चतरामा लेखिएको थियो त्यो मन्त्र । यहीँ रचना भएको थियो । विश्वामित्र राम, लक्ष्मणलाई शिक्षा दिनका लागि कोशी नदी तरेर पश्चिमतिर आएका थिए ।

    डाक्टर हिम्मत सिंह सिन्हा, उहाँ महर्षिको मैले नाम लिएँ । उहाँ ९२ वर्ष पुगेर ९३ वर्ष लाग्न लाग्नु भएको छ । अहिले पनि उहाँको प्रवचन, स्मरणशक्ति पनि योगअभ्यासले नै होला, यति ताजा छ र उहाँको प्रवचन सरक्क उतारेर छाप्दा हुन्छ । ओशोका प्रवचन एक खालका हुन्थे । उताररेर छापेदेखि किताव हुन्छ । सम्पादन आवश्यक छैन । ओशोले शब्दहरू तौलिएर खिपेर बोलेका हुन्छन् ।

    ओशोका दृष्टान्तहरू, उपमाहरू संस्कृत साहित्य वाङ्ग्मयको पृष्ठभूमिबाट आएका, उहाँमा अंग्रेजी लगायत अनेक भाषामा दख्खल थियो । तर संस्कृतको पृष्ठभूमिबाट आएको देखिन्थ्यो । दृष्टान्त, उपमा विम्बहरूको प्रयोग आदि कलात्म रूपमा प्रस्तुत भएका छन् । कसले के भन्छ भन्ने कुराको मतलब नराखिकन लागेको सत्य प्रकट गर्नुभयो । त्यो ओशोको निर्भीकता हो । मान्छे कसैले आलोचना गर्छ कि भनेर बहुत डराउँछ । सधैँ राम्रो हुन खोज्छ । सधैंँ राम्रो हुन खोजेपछि कहिल्यै पनि राम्रो हुँदैन । ओशोले राम्रो हुन कहिल्यै पनि खोज्नु भएन । राम्रो भनाइन कहिल्यै पनि खोज्नु भएन । गुणगान गराउन कहिल्यै पनि खोज्नु भएन । सत्य प्रकट गर्नुभयो । विस्तारै विस्तारै मान्छेले ओशोलाई चिन्दै जान्छन्, जान्दै जान्छन् र ओशोको विद्धता र ओशोको सत्यप्रतिको निष्ठालाई बुझ्दै जान्छन् । कोही रिसाउँछ कि भन्ने कुरामा उहाँले पर्वाह गर्नु भएन । कति देशमा पुग्दा उहाँलाई अफ्ठ्यारो पनि भयो होला । कति देशले लखेट्यो, खेद्यो होला । कति धार्मिक सम्प्रदायहरूले मन पराएनन् होला । कति कर्मकाण्डीले आफ्नो कर्मकाण्ड खोसिने ठानेर भयभित भएहोला, तर उहाँका आफ्ना सोचहरू सधैँ खुलस्त प्रकट भइरहे ।

    फ्रायडका विचारहरूसँग सहमत, असहमत जे पनि हुनुस्, तर फ्रायड एक शाहसिक दार्शनिक हुन् । जसले आफूले ठानेको, मानेको, जानेको सत्य खुलस्त रूपमा प्रकट गरे । सत्य हामीले खुलस्त रूपमा प्रकट गर्ने गर्‍यौँ भने त्यसले मन्थनबाट एउटा सही निष्कर्ष निकाल्छ । त्यसले मान्छेलाई अभ्यास दिन्छ, मान्छेलाई निर्भीकता र सत्य बोल्ने अभ्यास दिन्छ । यस्ता पूर्वज, अग्रज र समकालीन विद्वानहरूबाट हामी थुप्रै कुराहरू सिक्न सक्छौँ । केही साथीहरूले इतिहासको लेखन खोजी गर्ने काम थाल्नु भएको छ, यो राम्रो कुरा हो । यसलाई हामीले प्रोत्साहित गर्नुपर्छ । वास्तविक र सत्य इतिहासको खोज होस् र त्यसको प्रकटीकरण होस् भन्ने सबैको चाहना छ । त्यो हामी गर्छौँ, हामीले गर्नु पर्छ ।

    योग फलाना व्यक्तिको, फलाना गुरुको, फलानो योगगुरुको, फलानो योगीको, फलानो साँच्चै योगीको, फलानो व्यापारी योगीको भन्ने कुरा होइन । यो हाम्रो साझा सम्पदा हो । त्यसकारण यसलाई यथार्थ रूपमा अगाडि बढाऔँ । म सिंगो समाजलाई आग्रह गर्न चाहन्छु र त्यसमाथि विशेषगरी नयाँ पिँढीलाई- योगका मर्महरू समाजका लागि आवश्यक छन्, जीवनका लागि आवश्यक छन्, त्यसमा अभ्यस्त हुन आग्रह गर्न चाहन्छु । योगाभ्यासी साथीहरू र योगका प्रशिक्षक, योग गुरुहरूलाई आग्रह गर्न चाहन्छु कि यसलाई अझ यथार्थ योग बनाऔँ । हामीले हाम्रो मौलिक र पूर्ण योगलाई समाएर अगाडि बढाउने हो । अपभ्रंश स्वार्थवस् हुन्छ । अपभ्रंशित कुरालाई हामीले समाउने होइन, मौलिक कुरालाई समाउने हो । मौलिक कुराहरूलाई हामीले समायानुकूल ढङ्गले विकास गर्ने हो । यस दिशामा सबै लागौँ भन्ने आग्रह गर्न चाहन्छु । सरकारको तर्फबाट गर्नुपर्ने सहयोग होइन, गर्नुपर्ने काम हो यो । यो कसैका लागि गरिदिने सहयोगको कुरा होइन । यो गर्नुपर्ने काम, सरकार तपाईहरूसँग मिलेर गर्न तयार छ । यो कुरा साथीहरूलाई म स्पष्ट भन्न चाहन्छु । फेरि पनि आयोजनाका लागि धन्यवाद दिँदै आफ्नो भनाई टुङ्ग्याउँछु ।

    (प्रधानमन्त्री केपी शर्मा ओलीले अन्तर्राष्ट्रिय योग दिवस (२१ जुन, २०२१) का अवसरमा व्यक्त गरेको विचारको पूर्णपाठ)

  • एमाले स्थायी कमिटी सदस्यहरूसँग प्रधानमन्त्रीको छलफल

    एमाले स्थायी कमिटी सदस्यहरूसँग प्रधानमन्त्रीको छलफल

    काठमाडौं । प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सर्वोच्च अदालतको पछिल्लो अन्तरिम आदेशपछिको अवस्थाबारे स्थायी कमिटी सदस्यहरुसँग अनौपचारिक छलफल गरेका छन् ।

    स्थायी कमिटी बैठक नभनी नेताहरूसँग अनौपचारिक छलफल चलेको बालुवाटार स्रोतले जनाएको छ । छलफल जारी छ । स्थायी कमिटी सदस्यहरूसँगको छलफलपछि प्रधानमन्त्रीले सर्वोच्चको आदेशबाट पदमुक्त भएका एमालेका मन्त्रीहरूसहित छलफल गर्दैछन् ।

    पार्टीभित्र पछिल्लो विवाद र एकताको प्रयासका बारेमा पनि नेताहरूले जानकारी गराएका छन् । माधव नेपाल कुनै पनि हालतमा एमालेमा बस्न नचाहेको निष्कर्ष नेताहरूले सुनाएको स्रोतले जनाएको छ ।

  • ट्वीस्टमाथि ट्वीस्ट : सर्वोच्चको फैसलाका यी हुन् सम्भावित ‘साइड इफेक्ट्स’

    ट्वीस्टमाथि ट्वीस्ट : सर्वोच्चको फैसलाका यी हुन् सम्भावित ‘साइड इफेक्ट्स’

    काठमाडौं । पछिल्लो समय नेपालको राज्य सञ्चालनमा सर्वोच्च अदालत अभूतपूर्वरुपमा हावी भइरहेको छ । सर्वोच्चका आदेशहरुले राष्ट्रिय राजनीतिमा एकपछि अर्को ट्विस्ट ल्याइरहेका छन् ।

    आज सर्वोच्चले अर्को एउटा अहम् आदेश सुनाउँदै प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो मन्त्रिपरिषद्मा दुईपटक गरेका पुनर्गठनलाई बदर गरिदियो । यससँगै २१ जना मन्त्रीहरु एकसाथ बहिगर्मनमा परेका छन् । ओलीसँग अब ५ सदस्यिय सानो मन्त्रीमण्डल छ ।

    सर्वोच्च अदालतको आदेश कति ठिक या वेठिक भन्ने बहसहरु जारी नै छन् । सरकार पक्षधरहरु सर्वोच्चसँग रुष्ट देखिएका छन् भने विपक्षीहरु खुशी मनाइरहेका छन् । जे भए पनि सर्वोच्चले नेपाली राजनीतिलाई निर्देशित गर्ने अवस्था आफैंमा सुरुचीकर होइन ।

    सतहीरुपमा सर्वोच्चको आदेशले मन्त्रिपरिषद्को साइज घटाएको छ । ५ जनाको सानो मन्त्रिपरिषद् कायम भएको छ । यद्यति, राजनीतिक हिसाबले यो आदेशका बहुआयामिक प्रभाव छन् ।

    १. पाँच जनाको काँधमा २१ मन्त्रालय

    संसद नरहेको अवस्थामा ओली नेतृत्वको सरकारलाई सर्वोच्चले ‘कामचलाउ’ मानेको छ । सर्वोच्चको आदेशअनुसार अर्को सरकार नबनेसम्म वर्तमान मन्त्रिपरिषद्मा विस्तार गर्ने वा थप गर्ने अधिकार प्रधानमन्त्रीमा रहने छैन ।

    अब अर्को सरकार बन्नका लागि दुईवटा राजनीतिक कोर्स छन् । पहिलो वर्तमान सरकारले घोषणा गरेअनुसार चुनाव सम्पन्न भएर त्यसको परिणामका आधारमा नयाँ सरकार गठन हुने । दोस्रो, सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटनको निर्णय उल्टाइदिने र विपक्षी गठवन्धनले आफ्नो बहुमत सिद्ध गरेर वैकल्पिक सरकार बनाउने ।

    त्यतिञ्जेलसम्मका लागि यही पाँच सदस्यीय मन्त्रिपरिषद्ले देश चलाउनुपर्ने हुन्छ । अहिले सरकारमा २१ वटा मन्त्रालय छन् । अरु मन्त्री थप्न नपाउने भए पनि प्रधानमन्त्रीले मन्त्रीहरुको कार्यविभाजनमा हेरफेर चाहिँ गर्न सक्छन् । तत्कालीन अर्थमन्त्री विष्णु पौडेललाई उपप्रधानमन्त्री बनाएकोलाई अदालतले स्वीकार्नुले पनि यो पुष्टि हुन्छ ।

    अब ओलीले यी २१ वटा मन्त्रालय आफूसहित पाँच जनालाई बाँड्नुपर्ने छ । अथवा उनले हालका मन्त्रीहरुको जिम्मेवारी यथावत राखेर खाली भएका सबै मन्त्रालय आफ्नो मातहतमा राख्न पनि सक्छन् ।

    जुनसुकै अवस्थामा पनि सरकारको कार्यसञ्चालन सहज हुने छैन । मन्त्रालयमा राजनीतिक नेतृत्व अभाव हुँदा सचिवहरु हावी हुनेछन् । परराष्ट्र, सूचना तथा सञ्चार, स्वास्थ्य जस्ता मन्त्रालयहरुमा ‘डेडिकेटेड’ मन्त्री नहुँदा त्यसले सरकारको कार्यसञ्चालन नै प्रभावित हुन सक्छ ।

    २. सरकारले दुरगामी निर्णय लिन नसक्ने

    चुनाव घोषणा गरेर स्वतः कामचलाउ भएको सरकारले कुनै पनि दुरगामी निर्णय लिन नसक्ने भनेर विपक्षीहरुले सुरुदेखि आवाज उठाइरहेका छन् । सर्वोच्चको आदेशले उनीहरुको यस्तो आदेशलाई थप बल पुर्याएको छ ।

    ओलीले पूर्ण बहुमतकै सरकारसरह निर्धक्कसँग हरेक कामकारवाही र निर्णय गर्दै आएका थिए । कामचलाउ सरकारले पूर्ण बजेट ल्याउन नमिल्ने चौतर्फी दवावलाई उनले वेवास्ता गरे । संसद नरहेको अवस्थामा अध्यादेशमार्फत उनले ठूलो आकारको बजेट ल्याए । राजनीतिक नियुक्तीदेखि सरुवा-बढुवाका कामहरु पनि सरकारले नियमित तवरले गर्दै आएको छ ।

    सर्वोच्चको आजको आदेश मन्त्रिपरिषद् विस्तारमा मात्रै लक्ष्यित छ । सरकारका अन्य कामकारवाहीका विषयमा आदेशमा केही बोलिएको छैन । तथापि, यो आदेशको भित्री आशय कामचलाउ सरकारले दुरगामी निर्णय लिन सक्दैन भन्ने नै हो भनेर केही कानूनविदले अर्थ्याएका छन् । तसर्थ आगामी दिनमा राजननीतिक नियुक्त, सरुवा-बढुवा तथा अन्य महत्वपूर्ण निर्णय नलिन सरकारलाई नैतिक र संवैधानिक दवाव थपिएको छ ।

    ३. ओली-महन्थको लगनगाँठो छिन्यो, जसपाको विभाजन टर्ला ?

    जसपाको एउटा हिस्सा सरकारमा गएसँगै यो पार्टी विभाजनको संघारमा पुगेको थियो । अहिले महन्थ ठाकुर र उपेन्द्र यादव दुवै पक्षले एक-अर्कालाई कारवाही गरी निर्वाचन आयोगमा आधिकारिकताको लडाईं लडिरहेका छन् ।

    जसपा विभाजनतर्फ लम्किनुमा कुनै वैचारिक कारण छैन । पार्टीभित्रको एउटा समूह ओलीसँग नजिकिन थालेसँगै अर्को समूह रुष्ट बनेको थियो । अन्ततः पार्टी विभाजनको जोखिम मोलेरै महन्थ समूह ओली सरकारमा सामेल भयो । तर, एक महिना नपुग्दै सरकारबाट बाहिरिनुपर्दा यो समूहलाई गतिलै बज्रपात परेको छ ।

    सर्वोच्चको आदेश जसपालाई मेलमिलापतर्फ लैजाने प्रस्थानविन्दु पनि बन्न सक्छ । अहिले उपेन्द्र-बाबुराम ओलीविरोधि गठवन्धनमा र महन्थ-राजेन्द्र ओली सरकारमा रहेको दुईध्रुवीय अवस्था थियो । वैचारिक विवाद केही पनि नभएको कारण महन्थ समूह ओलीको छत्रछायाबाट निस्केपछि फेरि एकताको वातावरण बन्न पनि सक्छ ।

    ४. ओलीलाई एकताको थप दवाव

    सर्वोच्चले पछिल्लो समय प्रधानमन्त्री केपी ओलीलाई एकपछि अर्को झट्का दिइरहेको छ । यो आदेश पनि उनका निम्ति अर्को एउटा ‘सेटब्याक’ हो । उनले निकै भाउ दिएर सरकारमा ल्याएको जसपालाई दुखी मनले बिदा गर्नुपर्ने भएको छ ।

    एक हिसाबले हेर्दा जसपा सरकारबाट बाहिरिँदैमा ओलीलाई प्रत्यक्ष हानी देखिँदैन । सानो मन्त्रिपरिषद्सहितको एमालेको एकल सरकार उनले चलाउन पाउने छन् । तर, जसपासँगको गठवन्धन तोडिनु भनेको ओली राजनीतिक रुपमा कमजोर हुनु हो । उनले अब एमालेभित्रै एकता खोज्न जोड गनुपर्ने हुन्छ ।

    एमालेमा माधव नेपाल पक्ष सर्वोच्चको फैसलाबाट खुशी देखिएको छ । सर्वोच्चले ओलीलाई अर्को एउटा थप्पड हानेको भनेर उनीहरु मुस्कुराइरहेका छन् । र, आगामी दिनमा ओलीसँग आफूहरुको बार्गेनिङ पावर बढ्ने यो पक्षमो प्रारम्भिक बुझाइ छ । एकपछि अर्को धक्का खाइरहेका ओलीले अब पार्टी एकताका निम्ति ठूलै त्याग गर्न सक्ने आशा पनि उनीहरुले रखेका छन् ।

    ५. फेरि एमालेको एकल सरकार

    २०७४ सालमा भएको संसदीय चुनावपछि तत्कालीन एमालेका अध्यक्ष केपी ओली माओवादीको समर्थनमा प्रधानमन्त्री बने । त्यो एमाले र माओवादीको गठवन्धन सरकारका रुपमा थियो । त्यसपछि यी दुई पार्टी एक भए र नेकपाको एकल बहुमतको सरकार बन्यो ।

    तर सर्वोच्च अदालतले नेकपाको एकता भंग गर्ने गरी फैसला सुनाएपछि फेरि एमाले र माओवादी बौरिए । अनि ओली सरकार फेरि दुई पार्टीको गठवन्धन सरकारमा परिणत भयो । माओवादीले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि फेरि एमालेको एकल सरकारका रुपमा रह्यो । फेरि जसपालाई सरकारमा भित्र्याएर ओलीले गठवन्धन सरकारको रुप दिए । अहिले जसपाका सबै मन्त्रीहरु बाहिरिएपछि एमालेको एकल सरकार कायम रहेको छ । यो सरकारमा जसपाको महन्थ ठाकुर पक्षले बाहिर बसेर समर्थन जनाउँछ जनाउँदैन आगामी दिनमा हेर्न बाँकी छ ।

    जसपा सरकारबाट बाहिरिँदा ओलीको शक्ति क्षय भएको देखिन्छ । तर, एमालेका मन्त्रीहरु मात्र हुँदा सरकार सञ्चालनमा उनलाई सहजता भने हुनेछ ।

    ६. एक महिनाको पनि तलव नखाइ २० मन्त्री बिदा

    राजनीतिमा लागेकाहरुको ठूलो मक्सद हुन्छ, मन्त्री बन्ने । त्यसैले त कामचलाउ सरकारमै भए पनि मन्त्रीको पदमा आसिन भएकाहरु प्रफुल्लित थिए । कहिले ढल्छ भन्ने टुंगो नभएको सरकारमा बसेर उनीहरु ठूला-ठूला योजना सुनाइरहेका थिए ।

    तर, उनीहरुले मन्त्रीका रुपमा एक महिनाको तलव पनि खान नपाउँदै खेदिनुपरेको छ । राजनीतिज्ञको मर्म बुझ्नेहरुकालागि यो एक कारुणिक दृष्य हो । विगतमा पटक-पटक मन्त्री खाइसकेका राजेन्द्र महतो, शरदसिंह भण्डारी लगायतका लागि यो ठूलो कुरा नहोला । तर पहिलोपटक मन्त्रीको कुर्सीमा बसेकाहरु एक महिना नपुग्दै छोडेर हिँड्नुपर्दा पक्कै पनि ठूलो चोट परेको छ ।

    आजबाट बहिर्गमनमा परेका मन्त्रीहरुमध्ये जसपाका १० जना गत जेठ २१ गते नियुक्त भएका थिए । उनीहरु १९ दिन मन्त्री पदमा टिके । यसैगरि जेठ २७ गते नियुक्त भएका एमालेका मन्त्रीहरु १३ दिनमै बाहिरिए ।

     

  • जेठ २ मा फर्किँदा पनि नमिल्ने भयो एमाले, यसकारण भएन मस्यौदामा सहमति

    जेठ २ मा फर्किँदा पनि नमिल्ने भयो एमाले, यसकारण भएन मस्यौदामा सहमति

    काठमाडौं । एकता प्रयासमा लागेका एमालेका केही नेताले चाँडै नै पार्टी एकजुट हुने दावी गरिरहे पनि पछिल्ला संवादहरू त्यस दिशामा छैनन् । राजनीतिक र सांगठानिक रूपमा अलग पार्टीको अभ्यास भइसकेको एमालेलाई एकताबद्ध बनाउने प्रयास लगभग असफलताको विन्दुमा पुगेको छ ।

    आइतवार राति एकता प्रयासमा रहेका माधव नेपाल पक्षका नेताहरू सुरेन्द्र पाण्डे, भीम आचार्य र गोकर्ण विष्ट प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न बालुवाटार गएका थिए । तर, एकताका लागि ओलीको सहमति लिएर पेस भएको लिखित प्रस्तावमा माधव पक्षले सहमति नजनाएपछि सहमतिको सम्भावना कमजोर बनेको छ ।

    यसबीचमा एमालेका दोस्रो तहका नेताहरू अनौपचारिक संवादमा थिए र त्यो प्रक्रिया अहिले पनि चलिरहेको छ । तर, माधव नेपाल स्वयंले ओलीसँग एकताको सम्भावना नरहेको भन्दै वार्तामा रहेका नेताहरूलाई आफ्नो कित्ता प्रष्ट पार्न आग्रह गरेका छन् । यद्यपि उनीहरू नेपालकै अनुमतिमा वार्तामा थिए ।

    तर, नेपालनिकटकै नेता जगन्नाथ खतिवडा भने केपी ओली र माधव नेपालबीच प्याकेजमै सहमति नभएसम्म एकता वार्ता र प्रयासहरू सुन्नका लागि मात्र प्रिय हुने बताए । खतिवडाले अब जेठ २ मा फर्किने भन्नेमात्र कुरा पुरानो भइसकेको प्रतिक्रिया दिएका छन् ।

    मस्यौदामा नमिलेका दुई बुँदा

    जेठ ७ गते माधव नेपाल पक्षका २३ सांसदले कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गरेर बुझाएपछि एमाले एकताका लागि गठित औपचारिक कार्यदल निष्क्रिय छ ।

    तर पनि कार्यदलमा भएका केही नेता निरन्तर संवादमै छन् । यसबीचमा कार्यदलमा नभएका माधव पक्षका भीम आचार्य र योगेश भट्टराई दुवै पक्षसँग संवादमै थिए । तर, पछिल्लोपटक भएका सहमतिका लिखित प्रस्तावमा माधव पक्षकै नेताहरू विभाजित भएपछि एकता प्रक्रिया कठिन मोडमा पुगेको स्रोतले जनाएको छ ।

    एमाले स्रोतका अनुसार केही दिनअघि उपप्रधानमन्त्री विष्णु पौडेल र माधव पक्षका नेताहरू सुरेन्द्र पाण्डे तथा गोकर्ण विष्टबीच बेग्लै छलफल भयो । उनीहरूले एकताको लागि लिखित प्रस्ताव ल्याउन पौडेललाई आग्रह गरेका थिए ।

    सुवास नेम्वाङ, विष्णु पौडेल, शंकर पोखरेल, प्रदीप ज्ञवालीलगायतका नेताहरू संवादमै रहेकाले संस्थापन पक्षले एमालेलाई २०७५ जेठ २ कै संरचनाबाट अघि बढाउने गरी सहमतिको मस्यौदा तयार पार्‍यो ।

    ओलीलाई पनि अदालतको फैसला वा सुनुवाइअघि नै एमाले मिलाउनुछ । संसद पुनःस्थापना भए माधव नेपाल ओलीलाई सत्ताच्युत गर्न अग्रसर हुन्छन्, त्यो अवस्थामा एकताको सम्भावना झनै रहँदैन । चुनावमै मुलुक गयो भने पनि त्यो बेला ओली माधवको मागमा अहिले जस्तो लचिलो नहुन सक्छन् ।

    सो मस्यौदामा मुलतः तीन बुँदा थिए र संविधानको प्रस्तावनाजस्तै एमाले एकताको प्रस्तावनामा पार्टी विधानमा उल्लेखित जस्तै भाषा राखिएको थियो ।

    मस्यौदा गर्नुअघि संस्थापन पक्षका नेताले पार्टी जेठ २ मा फर्किएपछि एमालेका २३ जना सांसदको देउवालाई प्रधानमन्त्री बनाउने समर्थन र रिट निवेदनको हस्ताक्षर फिर्ता लिने कुरा उल्लेख गर्ने भनेका थिए ।

    तर, पाण्डे र विष्टले हस्ताक्षर फिर्ता लिने भनेर सीधै लेख्नु भन्दा पनि मध्यमार्गी शब्द प्रयोग गर्न आग्रह गरेपछि मस्यौदा तयार भयो । स्रोतका अनुसार सहमतिको तीन बुँदे मस्यौदा अध्यक्ष तथा प्रधानमन्त्री ओलीलाई पनि देखाइयो ।

    संस्थापन पक्षले गरेको मस्यौदाका मुख्य बुँदा यस्तो थियो :-

    १. नेकपा एमालेलाई एकतावद्ध बनाउन यसबीचमा सबै तिक्त विवाद र अनुभवलाई बिर्सने । विघटित प्रतिनिधिसभाका २३ जना सदस्यले देउवालाई प्रधानमन्त्रीमा समर्थन गर्नु पार्टीभित्रको अन्तरविरोध हल नहुनको कारण थियो ।

    २. अब नेकपा एमालेका सबै कमिटी र जन संगठनहरू नेकपा एकतापूर्व २०७५ जेठ २ को अवस्थाबाट क्रियाशील हुने । नवौं महाधिवेशनको कार्यदिशा अनुसार पार्टी सञ्चालन हुने ।

    ३. पार्टी पूर्ववत क्रियाशील भएसँगै यसअघि विवादका कारण विपक्षी दलका नेतालाई प्रधानमन्त्री बनाउन दिएको समर्थन र रिट निवेदन स्वतः निष्प्रभावी भएको छ । अब सिंगो पार्टीपंक्ति एमाले नेतृत्वको यो सरकारको संवैधानिक निरन्तरताको पक्षमा क्रियाशील हुनेछ ।

    ओलीले भनेजस्तै नभए पनि ठीकै छ भनेपछि सो प्रस्ताव पाण्डे र विष्टलाई देखाइयो । उनीहरूले पनि त्यसमा सहमति जनाए । तर, घनश्याम भुसालसँग पनि छलफल गरौं भनेपछि सो मस्यौदा भुसाललाई पाण्डे र विष्टकै तर्फबाट दिइयो ।

    भोलिपल्ट घनश्याम भुसालसहित दुवै पक्षका नेताहरू भेट भए । भुसालले संस्थापन पक्षबाट पेस भएको मस्यौदाका मुख्य दुई बुँदालाई उल्ट्याएर ल्याएपछि ‘वार्ताको औचित्य सकिएको’ भन्दै नेताहरू कफी खाएर छुट्न लागे ।

    भुसालले काटकुट पारेर ल्याएको मस्यौदामा संस्थापन पक्षले पेस गरेको प्रस्तावना र जेठ २ अघिका कमिटी तथा जनसंगठनहरू क्रियाशील हुने लगायत एमाले एकता सन्दर्भका सांगठानिक तथा राजनीतिक विषयमा खासै चलाइएको थिएन ।

    माधव नेपाल पक्षले प्रधानमन्त्रीको नियत संवैधानिक इजलासमा प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दामा सुनुवाइ हुनुअघि नै एमालेका सांसदहरूले देउवालाई दिएको समर्थन फिर्ताको लिखित सन्देश दिएर विपक्षी गठबन्धन भत्काउने र अदालतलाई पनि प्रभाव पार्ने रहेकाले त्यसमा फस्न नहुने निष्कर्ष निकालेको छ ।

    तर, देउवालाई प्रधानमन्त्रीमा समर्थन गर्ने र एमाले एकतासँगै समर्थन र रिट निवेदनको हस्ताक्षर निष्प्रभावी हुने बुँदा स्वीकार्य भएन ।

    भुसालले लेखेको प्रस्तावको सार यस्तो थियो:-

    १. कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा समर्थन र सर्वोच्च अदालतमा रिट निवेदन संसद र लोकतन्त्र जोगाउनका लागि चालिएको उपयुक्त कदम थियो ।

    २. प्रधानमन्त्रीले संसद विघटनप्रति आत्मालोचना गरेर फिर्ता लिनुपर्छ र एमाले नेतृत्वको यो सरकारको निरन्तरता भन्ने शब्द राखिनु हुन्न । एमालेको सरकार भन्ने तर यही सरकार नभन्ने ।

    यी दुई बुँदामा संस्थापन पक्ष सहमत हुने सम्भावना थिएन । माधव नेपाल पक्षले सर्तका रूपमा अघि सारेका जेठ २ मा फर्किन तयार हुँदा र हस्ताक्षर फिर्ता लिने नभनी स्वतः निष्प्रभावी हुने शब्द राख्दा समेत नमानेपछि माधव पक्ष जे दिए पनि एमाले एकताको पक्षमा नरहेको निष्कर्ष संस्थापन पक्षले निकाल्यो ।

    यद्यपि सुरेन्द्र पाण्डे, गोकर्णलगायतका नेताले यो विषय विष्णु पौडेल र घनश्याम भुसालमात्रै बसेर मिलाउन आग्रह गरे । यसबीचमा पौडेल र भुसालबीचमै वार्ता भए पनि मीठा कुरा हुने बाहेक एमाले एक बनाउने सन्दर्भमा कुनै प्रगति नभएको भुसालनिकट स्रोतले जनाएको छ ।

    माधव नेपाल पक्षले प्रधानमन्त्रीको नियत संवैधानिक इजलासमा प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दामा सुनुवाइ हुनुअघि नै एमालेका सांसदहरूले देउवालाई दिएको समर्थन फिर्ताको लिखित सन्देश दिएर विपक्षी गठबन्धन भत्काउने र अदालतलाई पनि प्रभाव पार्ने रहेकाले त्यसमा फस्न नहुने निष्कर्ष निकालेको छ ।

    त्यसैले सुरेन्द्र र गोकर्णहरू सहमत भएको प्रस्तावमा घनश्याम सहमत भएनन् । यसअघि घनश्यामप्रति सशंकित रहेका नेपालले पछिल्लो समय उनलाई विश्वास गरेका छन् । घनश्याम स्वयं पनि ओलीलाई नै निरन्तरता दिएर एमाले एकता गर्नुको औचित्य नभएको निष्कर्षमा पुगेको उनीनिकटहरू बताउँछन् ।

    संस्थापन पक्षका नेताहरूको निष्कर्ष भने माधव पक्षको भन्दा फरक छ । ओली जेठ २ बाटै अघि बढ्न तयार भएर हस्ताक्षर फिर्ता वा रिट निवेदनबाट पछि हट्ने भन्दा शब्द नराखी नरम भाषामा तयार पारिएको मस्यौदामा समेत सहमत नहुनुले माधव नेपाल अब धेरै पर पुगिसकेको निष्कर्ष वार्तामा सहभागी नेताहरूको छ ।

    संस्थापन पक्षका एक नेताले भने, ‘माधव नेपाल अध्यक्ष वा प्रधानमन्त्री एउटा पद दिन्छौं भने पनि अब एमालेमा नबस्ने निष्कर्षमा पुगिसक्नुभएको छ । अहिलेको एकता प्रयासको औचित्य सकिँदैछ । एकताको प्रयास गरिरहेका साथीहरूले माधव नेपाललाई क्रस गरेर एमालेमै बस्छन् कि विभाजनमा जान्छन् भन्नेमात्र बाँकी हो ।’

    माधवलाई कसले धोका दिए, कसले दिँदैछन् ?

    केही दिनअघि माधव नेपालले संस्थापन पक्षसँग वार्तामा रहेका नेताहरूलाई आफू धेरै अघि बढिसकेको भन्दै ‘मलाई साथ दिने कि नदिने निर्णय गर्नुस्’ भनेका थिए । धेरै नेताले एकताको अन्तिमसम्म प्रयास गर्ने र निर्णायक बेलामा साथ नछाड्ने आश्वासन दिए ।

    शुरूमा माधव नेपालले निकटस्थहरूसँग भन्ने गरेका थिए- योगेश र गोकर्णले धोका दिए घनश्याम र सुरेन्द्रले धोका दिँदैछन् ।

    तर पछिल्लो समय घनश्यामबारे उनको बोली फेरिएको छ । निकट नेताले उनलाई उदृत गर्दै भने, ‘योगेश र गोकर्णले धोका दिए । सुरेन्द्र र भीम आचार्यले धोका दिन सक्छन् ।’

    भीम आचार्यले प्रदेश १ मा एमाले सरकारको नीति तथा कार्यक्रम पारित गर्न सघाएकोमा समेत माधव नेपाल असन्तुष्ट छन् । माधव पक्षका प्रदेशका नेताहरूले आचार्यको भूमिकाप्रति उतिबेलै प्रश्न उठाएका थिए ।

    उनले एमाले विभाजन हुँदा आफू विभाजनको पक्षमा नलाग्ने नेपाल प्रेससँगको अन्तर्वार्तामा हालै बताएका छन् । यसबीचमा भीम रावलले माधव पक्षको नयाँ पार्टीको विधान तयार पारिरहेको र निर्वाचन आयोगमा नयाँ दल दर्ता गरेर कलम चिन्ह लिने तयारी भइसकेको छ ।

    रातारात कुनै चमत्कार भएन भने सर्वोच्च अदालतको फैसलाअघि नै एमाले मिलाउने प्रयास अब असफल हुँदैछ । माधव नेपाल अदालतको फैसलापछि विकसित हुने राजनीतिक घटनाक्रमका आधारमा एमाले मिलाउने वा विपक्षी गठबन्धनमै रहेर नयाँ दल गठन गर्ने भन्नेमा दृढ देखिन्छन् ।

    माधव नेपाल विपक्षी गठबन्धनको मुख्य नेता भएकाले देउवालाई प्रधानमन्त्री बनाउने कदमबाट पछि हट्न नसक्ने निश्चित छ । ढिलोमा मंगलबारसम्म माधव नेपालको माग बमोजिम जेठ २ मा एमालेलाई फर्काउने लगायतका विषयमा ओलीले पहल गर्ने र पार्टी पंक्तिलाई सम्बोधन पनि गर्ने सम्भावना छ ।

    तर, वार्तामा सहभागी नेताहरूले भने एमाले एकताको सम्भावना देख्न छाडेका छन् । अब माधव नेपाल समूह सग्लै फुटेर अर्को दल बन्ने कि केही एमालेमै बस्ने भन्नेमात्र बाँकी देखिन्छ । ओलीले एकतर्फी रूपमा सबै कमिटीहरू २०७५ जेठ २ मा फर्केर क्रियाशील भएको घोषणा गरेमा नेपाल पक्षका तलदेखि माथिसम्मका नेता कार्यकर्तामा दबाब भने सिर्जना हुनेछ ।

    तर पनि ओली र माधव नेपालसहितको एमालेको सम्भावना भने टर्दै गएको माधवपक्षीय एक नेताले बताए । सायद यही घटनाक्रम बुझेर होला एमाले नेता गोकुल बास्कोटाले सोमवार दिउँसो ट्वीट गर्दै पार्टी एकताको प्रयास असफल भएको संकेत गरे ।

    उनले लेखेका छन्, एकताको खिचडी पकाउन दत्तचित्त भएर लागेका कमरेडहरू नै थाके कि के हो ? खिचडी पाक्ने त हो-होईन चुल्हो धुवाँएको पनि देखिएन कि असारे झरीमा झुर्का भेटिएन । अदालतमा बुझाएको सही फिर्ता लिने, जेठ ३ अघिको बैठक बस्ने । त्यो नमान्ने भए भो छोडदिम, झुर्का खोज्ने र टाउको दुखुन्जेल ढुङ्ग्रो फुक्ने काम ।’

    रातारात कुनै चमत्कार भएन भने सर्वोच्च अदालतको फैसलाअघि नै एमाले मिलाउने प्रयास अब असफल हुँदैछ । माधव नेपाल अदालतको फैसलापछि विकसित हुने राजनीतिक घटनाक्रमका आधारमा एमाले मिलाउने वा विपक्षी गठबन्धनमै रहेर नयाँ दल गठन गर्ने भन्नेमा दृढ देखिन्छन् ।

    ओलीलाई पनि अदालतको फैसला वा सुनुवाइअघि नै एमाले मिलाउनुछ । संसद पुनःस्थापना भए माधव नेपाल ओलीलाई सत्ताच्युत गर्न अग्रसर हुन्छन्, त्यो अवस्थामा एकताको सम्भावना झनै रहँदैन । चुनावमै मुलुक गयो भने पनि त्यो बेला ओली माधवको मागमा अहिले जस्तो लचिलो नहुन सक्छन् ।

  • मन्त्रीहरूलाई प्रधानमन्त्रीको निर्देशन- कुप्रचार गर्नेविरुद्ध प्रतिवादमा उत्रनुस् (भिडियो)

    मन्त्रीहरूलाई प्रधानमन्त्रीको निर्देशन- कुप्रचार गर्नेविरुद्ध प्रतिवादमा उत्रनुस् (भिडियो)

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको कुप्रचार गर्नेहरूविरुद्ध प्रतिवादमा उत्रिन मन्त्रीहरुलाई निर्देशन दिएका छन् ।

    राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बुधबारको बैठकलाई सम्बोधन गर्दै ओलीले विरोधीहरू आक्रमक ढंगले प्रस्तुत भएकोले सरकारको कामबाट त्यसको खण्डन गर्न आग्रह गरे । प्रधानमन्त्रीले भने, ‘हरेक मन्त्रीहरूलाई सरकारको कामको प्रचार गर्न, विरोधीको खण्डन गर्न र आफ्ना काम र उपलब्धीहरूको डिफेन्ड गर्न अनुरोध छ ।’

    सरकारको विरोध गर्दागर्दै लामो समय कटाएको भएपनि केहीले सरकार ढाल्न नसकेर अदालतको सहारा लिन पुगेको उनको टिप्पणी थियो ।

    प्रधानमन्त्रीले अघिल्ला वर्ष झैं तराईका जिल्लामा यस वर्ष डुबानमा नपर्ने बताएका छन् । ‘जुन डुबान क्षेत्रहरू हो त्यहाँ हामीले अलिकति खोलेका छौँ । अरु ठाउँहरूमा पनि खोल्दै जानु आवश्यक छ । यसका निम्ति संयुक्त टोलीले सर्भे गर्ने, संयुक्त टोलीले निर्णय गर्ने र संयुक्त टोलीलाई खटाउनुपर्ने यहीँ बेला हो’, ओलीले भने, ‘सिमावर्ती क्षेत्रका बाँध, जसबाट नेपालको भूमि डुबानमा परेको छ त्यो कुरा संयुक्त टोलीले हेर्ने विषयतर्फ कार्य गर्न सक्छौँ ।’

    सरकार चुरेको संरक्षणका लागि ठोस योजनाका साथ लागेको बताउँदै प्रधानमन्त्रीले भने, ‘हामीले चुरे दोहन नहोस् भन्नका लागि बजेटमा चुरे दोहन नगर्ने, चुरेको दोहनलाई रोक्ने, त्यहाँबाट ढुंगा, बालुवा, गिट्टी आदी निकाल्ने काम रोक्ने, खानी पत्ता लगाउने त्यो खानी उपयुक्त छ कि छैन वातावरणीय सर्भे गर्ने, वातावरण अनुकूल हुन्छ कि हुँदैन वातावरणीय सर्भे गरेर अनिमात्रै खानिबाट गिट्टी बालुवा निकाल्ने । अब बढी भयो भनेदेखि त हामीले विक्रि पनि गरेर व्यापार पनि गर्न सक्छौँ त्यसमा भन्ने कुरा हो । त्यो कुनै अनौठो कुरा होइन । हामीले चुरेको संरक्षण गर्न खोजेको । हामी चुरे विनास होइन चुरेको संरक्षण गर्न लागि परेका छौं । चुरेको संरक्षण गरिन्छ । ठोस योजनाका साथ हामी लागेका छौँ ।’

  • वैदेशिक रोजगारीमा जानेलाई १० दिन होटल क्वारेन्टीन खर्च सरकारले दिने

    वैदेशिक रोजगारीमा जानेलाई १० दिन होटल क्वारेन्टीन खर्च सरकारले दिने

    काठमाडाैं । कोभिड १९ व्यवस्थापन निर्देशक समितिले वैदेशिक रोजगारीमा जानेलाई सरकारले १० दिनको होटल क्वारेन्टीन खर्च उपलब्ध गराउने गरी निर्णय गरेको छ ।

    निर्देशक समितिको हिजो बसेको दोस्रो बैठकले संक्रमणको जोखिम रोक्ने र सँगै अत्यावश्यक वस्तु उत्पादन र आपूर्ति सहित ‘स्मार्ट लक डाउन’तर्फ जाने निर्णयसमेत गरेको छ । अबको साता जारी लकडाउन कायम राख्दै त्यसपछिको अवस्था मुल्यांकन गर्ने र स्वास्थ्य मापदण्ड कडाइका साथ पालना गराइ केही क्षेत्र खुल्ला गरिनुपर्ने समितिको निष्कर्ष छ ।

    प्रधानमन्त्री एवं समितिका अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा बसेको बैठकले नेपाली श्रमिक अधिक संख्यामा रहेका टर्की, कतार, साउदी अरेबिया, युएई , जापान र मलेशिया जस्ता देशहरुमा हवाई उडान पुनः संचालन गर्ने निर्णय गरेको छ । यी देशहरुबाट सातामा दुई हजार जना यात्रु भन्दा नबढ्ने गरी हवाई उडान सञ्चालन हुनेछन् ।

    बैठकले वैदेशिक रोजगारीमा गएका तर विभिन्न कारणले होटलमा क्वारेन्टाइनमा बस्न नसक्ने कामदारका लागि सहयोग रकम उपलब्ध गराउने निर्णय समेत गरेको छ । कुल १५ दिन बस्नुपर्ने क्वारेन्टाइनका लागि १० दिनसम्मको खर्च सरकारले व्यवस्थापन गर्नेछ ।

    बैठकले सिसिएमसी केन्द्रको प्रशासनिक कार्यका लागि बजेट व्यवस्था गर्ने तथा निर्माण क्षेत्र र अत्यावश्यक उद्योगलाई स्वास्थ्य मापदण्ड पालनाका साथ खोल्न दिइने समेत निर्णय गरेको छ ।

    यसैगरी गैरआवासीय नेपालीहरुले पठाउन लागेको अक्सिजन सिलिन्डर ल्याउन हवाई ढुवानी भाडा सरकारले उपलब्ध गराउने एवं इजरायल सरकारबाट सहयोग स्वरुप दिन लागिएको सघन उपचारमा प्रयोग हुने सामग्री स्वीकार गर्ने निर्णय पनि बैठकले गरेको छ ।

    बैठकमा प्रधानमन्त्री ओलीले स्वास्थ्य मापदण्डमा कडाइ गर्दै लकडाउनलाई सक्रमणको जोखिम नहुने हदसम्म मात्र खुकुलो गर्न सकिने बताएका थिए ।

    कोभिड नियन्त्रणका लागि सबै भन्दा महत्वपूर्ण र अनिवार्य कुरा खोप नै भएको भएकाले चीनबाट ४० लाख डोज खोप ल्याउन गृहकार्य भइरहेको र साउनदेखि लगाउन थालिने बताए । त्यसबाहेक अन्य देशसँग पहल प्रयत्न भइरहेकोले खोपको अभाव क्रमशः हल हुँदै जाने उनको विश्वास छ ।

  • दिल्ली जानुअघि ओलीलाई झलनाथको आग्रह- बिन्ति छ, हिजोका सबै कुरा बिर्सेर पार्टी मिलाउनुस्

    दिल्ली जानुअघि ओलीलाई झलनाथको आग्रह- बिन्ति छ, हिजोका सबै कुरा बिर्सेर पार्टी मिलाउनुस्

    काठमाडौं । प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले खनाललाई उपचारका लागि दिल्ली लैजानुअघि टेलफोनमार्फत स्वास्थ्यलाभको कामना गरेका छन् ।

    ओलीले नेता खनालको उपचारका लागि सरकारले सघाउने बताएका छन् । आफू नेता खनालको स्वास्थ्य अवस्थाको पछिल्लो खबर सुनेर चिन्तित भएको भन्दै ओलीले ढुक्क भएर उपचारमा जान आग्रह गरेका छन् ।

    शुरूमा अर्थमन्त्री विष्णु पौडेलले खनालसँग कुरा गरेर प्रधानमन्त्रीसँग कुरा गराएका थिए । प्रधानमन्त्री तथा अध्यक्ष ओलीसँग खनालले पार्टी मिलाउनुस् कमरेड भनेर आग्रह गरेको खनालसँगै रहेका एमाले केन्द्रीय लेखा आयोगका सदस्य होम बुढाथोकीले नेपाल प्रेसलाई बताए ।

    खनालको भनाइ उदृत गर्दै बुढाथोकीले भने, ‘हिजो के-के भयो सबै तीता-मीठा बिर्सेर पार्टी एकता जोगाउनुस् कमरेड । म फर्केर आउँछु कि आउँदिन त्यो पनि थाहा छैन तर यो पार्टी एक रहोस् । तपाईं मुख्य ठाउँमा हुनुहुन्छ मिलाउनुस्, मेरो यही चाहना छ ।’

    आफूलाई एकीकृत एमाले चाहिएको भन्दै खनालले ओलीलाई सबै कुरा बिर्सेर पार्टी मिलाइदिन आग्रह गरेका थिए । ओलीले पार्टी मिलाउन आफू अधिकतम लचिलो भएको भन्दै पार्टी मिलाउने आश्वासन दिएका छन् ।

    खनालले आफूलाई हेट्न आएका महासचिव पोखरेललाई ‘तपाईं यो पार्टी बुझेको र भविष्य भएको नेता हो’ भन्दै मिलाउन आग्रह गरेको बुढाथोकीले जानकारी दिए । हातमै समातेर पोखरेललाई आग्रह गर्दा खनालको आँखामा आफूले आँशु देखेको उनले बताए ।

  • नेविसंघले जलायो ओलीको पुत्ला, प्रहरी हस्तक्षेपमा एक घाइते

    नेविसंघले जलायो ओलीको पुत्ला, प्रहरी हस्तक्षेपमा एक घाइते

    काठमाडौं । कांग्रेसनिकट नेपाल विद्यार्थी संघले आज पनि काठमाडौंमा प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला जलाएको छ । त्यस क्रममा प्रहरीले हस्तक्षप गर्दा एक घाइते भएका छन् भने दुईजना पक्राउ परेका छन् ।

    प्रधानमन्त्रीले गरेको संसद विघठन, मन्त्रीपरिषद विस्तार लगायतको विरोध गर्दै नेविसंघले पुत्लादहन गरेको हो । सो प्रदर्शनमा करिब एक दर्जन कार्यकर्ता सहभागी थिए ।

            
  • जेठ २ मा फर्किँदा एमाले केन्द्रीय कमिटीमा कसको बहुमत ? (सूचीसहित)

    जेठ २ मा फर्किँदा एमाले केन्द्रीय कमिटीमा कसको बहुमत ? (सूचीसहित)

    काठमाडौं । सर्वोच्च अदालतले नेकपा एमालेबाट निष्कासनपछि प्रदेशसभा सदस्य पदबाट मुक्त भएका चारजना नेतालाई पुनर्वहालीको अन्तरिम आदेश दिएपछि एमालेलाई २०७५ जेठ २ मा फर्काइदिएको व्याख्या समेत भइरहेका छन् ।

    यद्यपी अदालतले दिएको अन्तरिम आदेशमा एमालेको महाधिवेशन आयोजक कमिटीले गरेको कारवाहीमाथि प्रश्न उठाइएको छ । एमालेलाई जेठ २ मा फर्काउने सन्दर्भमा केपी ओलीले हालैमात्र ६ बुँदे वक्तव्य दिइसकेकाले जेठ २ को विषय ठूलो विवादमा छैन ।

    जेठ २ मा फर्किने ओलीको वक्तव्यलाई माधव नेपाल पक्षकै मध्यमार्गी नेताहरूले समर्थन गरेकाले पनि एमालेमा एकपटक फेरि जेठ २ मा फर्किएका अवस्थामा के हुने भन्ने बहस चाहिँ चलेको छ ।

    जेठ २ अघिका कमिटीहरू पुनर्वहाली गर्न केपी ओली तयार भए भने माधव नेपाल के गर्छन् ? नेपाल पक्षकै केही नेता अब त्यतिले मात्र नपुग्ने बताइरहेका छन् । नेपाल पक्षकै नेताहरू जो ओली पक्षसँग वार्तामा छन् उनीहरूले भने जेठ २ मा फर्केपछि पार्टी एकजुट हुने बताइरहेका छन् ।

    विशेषगरी सुरेन्द्र पाण्डे, योगेश भट्टराई, गोकर्ण विष्टलगायतका नेता यस अभियानमा छन् । अदालतको पछिल्लो अस्पष्ट आदेश र ओलीको अस्पष्ट आह्वानका बीचबाट अब पार्टीलाई जेठ २ बाट अघि बढाउन सकिने मत उनीहरूको छ ।

    जेठ २ मा फर्किँदाको अवस्थामा आजका एमालेभित्रका गुटहरू यथावत नरहन सक्छन् । तर, पनि नवौं महाधिवेशनबाट निर्वाचित २०७५ जेठ २ अघि मनोनयन प्रक्रियाबाट थपिएका २०१ सदस्यीय एमाले केन्द्रीय कमिटी ब्युँताएरै अघि बढ्दा पनि ओली सुविधाजनक बहुमतमा देखिन्छन् ।

    तर, एमालेको केन्द्रीय कमिटीमा माधव नेपालसँग बलियो हिस्सा छ । पदाधिकारी र स्थायी कमिटीमा बराबर शक्ति छ । जेठ २ मा फर्किँदा अहिले एकता प्रक्रियामा रहेका एकाध पदाधिकारी ओलीसँग हुनसक्छन् ।

    जेठ २ अघिका कमिटीहरू पुनर्वहाली गर्न केपी ओली तयार भए भने माधव नेपाल के गर्छन् ? नेपाल पक्षकै केही नेता अब त्यतिले मात्र नपुग्ने बताइरहेका छन् । नेपाल पक्षकै नेताहरू जो ओली पक्षसँग वार्तामा छन् उनीहरूले भने जेठ २ मा फर्केपछि पार्टी एकजुट हुने बताइरहेका छन् ।

    माओवादीसँग एकता गर्नुअघिको २०१ सदस्यीय केन्द्रीय कमिटीका केन्द्रीय सदस्यमध्ये कतिपयको निधन र केही संवैधानिक पदमा गएकाले रिक्त छन् ।

    एमालेको उपाध्यक्ष विद्या भण्डारी राष्ट्रपति, गणेश तिमल्सिना राष्ट्रियसभा अध्यक्ष, सीता पौडेल प्रदेश प्रमुख , धर्मनाथ यादव प्रदेश प्रमुख र सानुकुमार श्रेष्ठ वागमती प्रदेशको सभामुख भएपछि केन्द्रीय सदस्य रहेनन् ।

    त्यस्तै रविन्द्र अधिकारी, पशुपति चौलागाई, योगनारायण यादव, महिन लिम्बु र दिनेशचन्द्र यादवको निधन भइसकेको छ भने राधाकृष्ण मैनाली, प्रल्हाद गिरी जेठ २ अघि नै कारवाहीमा परेर निष्कासन भएका थिए ।

    बाँकी रहेका केन्द्रीय सदस्यमध्ये वामदेव गौतम र हरि पराजुली एकता अभियान चलाइरहेका छन् । प्रदिप नेपाल निष्क्रिय छन् भने राजबहादुर बुढा माधव नेपाल पक्ष छाडेर बीचमा बसेका छन् ।

    सोमनाथ अधिकारी प्यासी पनि प्रदेश प्रमुख भएका छन् । त्यस्तै वंशीधर मिश्र र महेन्द्रबहादुर पाण्डे राजदूत भएका छन् ।

    यसबीचमा माधव नेपाल पक्षका केन्द्रीय सदस्य शेरबहादुर तामाङ, सोम मिश्र र गणेश पहाडी ओली पक्षमा लागेका छन् । तामाङ र पहाडी ओली पक्षमा लागेर मन्त्री समेत भइसकेका छन् ।

    यी बाहेकका केन्द्रीय सदस्यहरूमध्ये केपी ओलीको पक्षमा १०४ जना देखिन्छन् भने माधव नेपालको पक्षमा ८४ जना देखिएका छन् । वामदेव गौतम र हरि पराजुली अन्तिममा माधव पक्षमा उभिदा यो संख्या ८६ हुनेछ ।

    पदाधिकारीमध्ये अध्यक्ष ओली, महासचिव ईश्वर पोखरेल, उपमहासचिवव विष्णु पौडेल र सचिवहरू प्रदीप ज्ञवाली र पृथ्वीसुब्बा गुरुङ ओली पक्षमा छन् । उपाध्यक्ष वामदेव माधव पक्षमा लाग्दा अन्य पदाधिकारीहरू उपाध्यक्ष भीम रावल, अष्टलक्ष्मी शाक्य, युवराज ज्ञवाली, उपमहासचिव घनश्याम भुसाल, सचिवहरू योगेश भट्टराई, भीम आचार्य र गोकर्ण विष्ट माधव पक्षमा छन् ।

    २०७५ जेठ २ अघि फर्किँदा एमाले केन्द्रीय कमिटीको समीकरण कस्तो हुनेछ ? तल दिइएको सूचीमा पदेन सदस्यहरूको समेत नाम रहेको छ । यद्यपि केन्द्रीय कमिटीमा अल्पमत र बहुमत हुँदा उनीहरूको मतदान अधिकार हुँदैन ।

    हेर्नुस् यो सूची:-

  • ओलीको आह्वान माधव पक्षलाई अमान्य, आजै लिखित जवाफ दिने

    ओलीको आह्वान माधव पक्षलाई अमान्य, आजै लिखित जवाफ दिने

    काठमाडौं । नेकपा एमालेको माधव नेपाल समूहले पार्टी एकताका लागि अध्यक्ष केपी शर्मा ओलीले गरेको आह्वानलाई जालझेलपूर्ण भन्दै अश्वीकार गरेको छ ।

    माधव पक्षधर स्थायी कमिटी सदस्यहरूको बैठकले वैशाख २६ गते माधव नेपालले पेस गरेको ६ बुँदे प्रस्ताव स्वीकार गरिएमात्र एकता हुने निष्कर्ष निकालेको नेता युवराज ज्ञवालीले बताए ।

    नेपाल पक्षको बैठकमा अधिकांश नेताले प्रतिनिधिसभा विघटनविरुद्ध र शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन माग गर्दै सर्वोच्च अदालतमा दायर रिट निवेदनबाट पछि हट्न नहुने बताएका छन् ।

    केही नेताले भने पार्टी एकताको लागि २०७५ जेठ ३ अघिको अवस्थामा ओली फर्किसकेकाले एकताको विपक्षमा उभिन नहुने धारणा राखेको बताइएको छ । आजै माधव नेपालले ओलीलाई लिखितरूपमा जवाफ फर्काउने समझदारी बैठकमा भएको छ ।

  • ओली एमालेलाई जेठ २ मा फर्काउन तयार, देउवालाई प्रधानमन्त्री बनाउने हस्ताक्षर फिर्ता लिनुपर्ने

    ओली एमालेलाई जेठ २ मा फर्काउन तयार, देउवालाई प्रधानमन्त्री बनाउने हस्ताक्षर फिर्ता लिनुपर्ने

    काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफू पार्टीलाई २०७५ जेठ ३ अघिको पूर्व अवस्थाबाट अगाडि बढाउन तयार रहेको भन्दै सबैलाई पार्टी एकतामा आउन आह्वान गरेका छन् ।

    ओलीले त्यसो गर्दा तत्कालीन नेकपाको केन्द्रीय कमिटीका सदस्यहरुमध्ये एकताको पक्षमा उभिएका नेताहरुसहित केन्द्रीय कमिटी र स्थायी कमिटीका संरचनाहरु क्रियाशील हुने बताएका छन् ।

    ओलीले पार्टी कमिटी र जनसंगठनहरु पनि मूलभूत रुपमा २०७५ जेठ ३ पूर्वको अवस्थामा फर्के क्रियाशील हुने बताएका छन् । आइतबार पार्टी एकताका लागि ६ बुँदे अपिल जारी गर्दै ओलीले आफ्नो पार्टीको प्रधानमन्त्रीलाई पदबाट हटाई विपक्षी दलका नेतालाई प्रधानमन्त्री बनाउने रिटबाट हस्ताक्षर फिर्ता हुनुपर्ने प्रष्ट पारेका छन् ।

    ओलीले यसबीचमा भएका कारवाही फिर्ता गरिने र कुनै पुर्वाग्रह र भेदभाव नराखिने समेत बताएका छन् ।

  • ‘हामीले विश्वासको मत दिएको भए ओलीले २ वर्षसम्म ओखलमा राखेर पेलिरहन्थे’

    ‘हामीले विश्वासको मत दिएको भए ओलीले २ वर्षसम्म ओखलमा राखेर पेलिरहन्थे’

    केपी ओली प्रवृत्तिसँग जुध्ने आँट बढेको पनि पाइएको छ । घटेको पनि पाइएको छ । आँट बढाउने तपाईंहरूको म प्रशंसा गर्छु । तपाईंहरूको उदाहरणबाट अरुले पनि सिक्न सकुन् । केपी ओलीका जो पक्षपोषक भएका छन् । एक प्रकारले भन्ने हो भने दासतालाई स्वीकार गरेका छन् । त्यस्तालाई हामी घृणा गर्छौं । अस्वीकार गर्छौं । निन्दा पनि गर्छौं । तर, जो अलमलमा पर्नुभएको छ । उहाँलाई हामी घृणा गर्दैनौ । हामी अपमानजनक शब्द प्रयोग गर्दैनौं । किनकि उहाँहरूलाई प्रष्ट पार्ने हाम्रो दायित्व हो । विश्लषेण बताएर सबै तथ्य प्रष्ट्याएर । मनमा रहेका अनेकौ खालका जिज्ञासा शान्त गरेर मूल पार्टीको क्रान्तिकारी स्प्रिटतर्फ आकर्षित गरेर उहाँहरूलाई सम्झाउन सक्दछौं । मार्क्सवाद हामीलाई विश्लेषण गर्न सिकाएको छ । यो विश्लेषणको जानकारी कम्युनिष्ट पार्टीमा लागेकाहरूले मात्र गर्दछन् । अरुले त्यस्तो व्यवस्थित, वस्तुगत र वैज्ञानिक विश्लेषण गर्दैनन् ।

    हाम्रो पार्टी अहिले संकटको अवस्थामा उभिएको छ । र, यो संकटको अवस्था सिर्जना कसले गर्‍यो ? तपाईंहरूमा कुनै भ्रम र द्विविधा छैन भन्ने मैले ठानेको छु । हामीले चैत ४ र ५ गते गरेको राष्ट्रिय कार्यकर्ता भेलाले केही दस्तावेजहरू पनि पारित गरेको छ । त्यो राजनीतिक डकुमेण्ट तपाईंहरूले पाइसक्नुभो होला । दुईवटा सर्कुलर पठाइसकेका छौं । अब छिट्टै अर्को सर्कुलर पनि पठाउँदै छौं । त्यो भेला किन गर्नुपर्‍यो भन्दा हामीले कम्युनिष्ट आन्दोलनको रक्षा गर्नुपर्ने भयो । त्यो बेला हामीले भन्यौ- केपी ओलीले पार्टीलाई विसर्जनको दिशामा पुर्‍याउन लागे एकता जोगाउनुपर्ने भयो । नेपाल कम्युनिष्ट पार्टीलाई फुटाउने अदालतको जुन फैसला भयो त्यसबाट सबै कम्युनिष्टहरू चिन्तित र दु:खित हुनुपर्नेमा केपी ओलीका पक्षपोषकहरूले हर्कबडाई गरे । आफ्नो गुटको विजयको रूपमा लिए । अरुको पराजयको रूपमा लिए । त्योभन्दा ठूलो विडम्बना के हुन सक्दथ्यो ? पार्टीहरू एकतावद्ध हुने, उनीहरू रुपान्तरित गर्ने, उनीहरू क्रान्तिकारी बाटोमा लिएर जाने सबैलाई समेटेर लिएर जाने, अरुलाई पनि आकर्षित गर्ने यसले शक्ति वृद्धि हुने भएको हुनाले आगामी चुनावमा अझै धेरै सफलता हासिल गर्ने यसका निम्ति आफूसँग भएका कार्यकर्तालाई प्रशिक्षित गर्ने रुपान्तरित गर्ने यो सबै काम गर्नुपर्ने जुन चुनौतीको काम पनि हो । पार्टी निर्माणको काम अवश्य पनि चुनौतीको काम हो । पार्टी संचालनको काम अत्यन्तै चुनौतीको काम हो । यी सबै बुझेर पनि हामी अगाडि बढेका हौं । हामीलाई थाहा छ । परिवार चलाउने कुरा पनि सजिलो हुँदैन । समाजमा पनि कुनै जिम्मेवारी लिनु हुन्छ भने पनि सजिलो हुँदैन । तपाईंहरू पनि संगठन, कुनै संघसंस्थामा जिम्मेवारी बोक्नुभएको छ । त्यो पनि सजिलो हुँदैन । आँट भएकाहरूले मात्र त्यो क्षमता त्यो जिम्मेवारी सफलताले निर्वाह गर्दछन् । जसमा खुवी छैन क्षमता छैन त्यसको कार्यकालको संगठन ध्वस्त भएर जान्छ । हामीसँग त्यो क्षमता छ । त्यो खुबी छ । त्यसैले हामीले हात हालेको ठाउँमा हामी सफल हुन्छौं । जब हामी सतही रूपमा हेर्छौं । सफलता र असफलता विश्लेषण गर्दैनौं । त्यो भयो भने हामी अघि बढ्न सक्दैनौं ।

    भेलामा प्रस्तुत गरेको डकुमेन्ट हेर्नुहोला । त्यहाँ हामीले भनेका कुरालाई हाइलाइट मात्र गर्न चाहन्छौं जब केपी ओली पार्टीको अध्यक्ष हुनुभयो । निर्वाचनपछि प्रधानमन्त्री हुनुभयो । त्यसबेलादेखि नै सिंगो पार्टीलाई उहाँले दक्षिणपन्थी दिशामा लिएर जानुभयो । उहाँमा व्यक्तिवाद र अवसरवादी चिन्तन हुर्किएर आयो । र पार्टी आन्दोलनलाई विसर्जनको बाटोमा पुर्‍यायो । हामीले के भन्यौ भने- जनताले धेरै ठूलो आशा गरेका थिए अवसर दिएका थिए । त्यो अवसरलाई उहाँले दुरुपयोग गर्नुभयो । गुटवन्दीमा चुक्नुभयो । उहाँका ती कामलाई आँखा चिम्लिएर बाध्य भएर समर्थन गर्नुपर्‍यो भनेर हामीले भनिसकेका छौं । केपी ओलीका विचार र व्यवहारले नै मुलुकमा दक्षिणपन्थी विचार केपी ओलीको विचार र व्यवहारले नै मुलुकमा दक्षिणपन्थी शक्तिहरू उत्साहित भएका छन् । उहाँले आफ्नो सत्ता जोगाउन जस्तोसुकै स्वदेशी तथा विदेशी प्रतिक्रियावादी शक्तिहरूसँग साँठगाँठ सक्ने हुनाले आगामी दिनमा वामपन्थमाथि संकट थपिन सक्छ । चैतमा हामीले गरेको विश्लेषण हिजो उहाँले गरेको मन्त्रिमण्डल पुनर्गठन गर्नुभएको छ त्यसले प्रष्ट पारेको छ कि लोकतन्त्र, संविधानमाथि, परिवर्तनमाथि, वामपन्थमाथि संकट थोपर्नुभएको छ ।

    भारतको पूरै नांगो दलालका रूपमा देखा परेका तत्वहरू आज सरकारमा हालीमुहाली भएर जिम्मेवारी सम्हालेर बसेका छन् । त्यतिमात्र होइन उनीहरूको अभिव्यक्तिहरू राजेन्द्र महतोको अभिव्यक्ति सुन्नु भयो होला ‘बहुराष्ट्रवाद, बहुराष्ट्रियता’ नेपाल अब जातिजातिको देशको रूपमा टुक्राटुक्रा पार्ने योजना हो, जातीय द्वन्द्व चर्काउने योजना हो । अहिले प्रतिक्रियावादीहरूले विचारलाई जात र धर्मले प्रतिस्थापन गर्न खोजिरहेका छन् । मान्छेको भावनामाथि खेलबाड गर्ने जातीय र धार्मिक द्वन्द्व निम्त्याउने कोसिस भइरहेको छ ।

    हामीले ३२ सालको जेठ महिनामा कम्युनिष्ट केन्द्रको स्थापना गर्‍यौं । चारजना अहिले छँदैछौ । कस्तो खुसीको कुरा म, जेएन खनाल, अमृत बोहरा र कमरेड मुकुन्द न्यौपाने यो विचार समूहमा एकतावद्ध छौं । हामी जोडिँदै-जोडिँदै गएर नवौं महाधिवेशन गरेर केपी ओलीको नेतृत्वमा आइसकेपछि पार्टीमा संकट देखा पर्न थाल्यो । पार्टीका बैठकहरू नहुने, बैठकको निर्णय पालना नहुने । एक्लै गुट बनाएर हिँड्ने, मदन भण्डारी फाउण्डेसन बनाएर त्यसको गतिविधिमा चल्ने अरुको लिडरसीपलाई स्वीकारै नगर्ने । एकलौटी निर्णय गरेर जम्मै सिष्टम भत्काएर लाने र उहाँका सबै क्रयाकलाप कम्युनिष्टको मेल नखाने । उहाँका यी कामले राष्ट्रलाई नोक्सान भयो, जनतालाई नोक्सान भयो । अहिले त उहाँले संविधान नै खानुभयो । पहिलोपटक प्रतिनिधिसभालाई भंग गर्नुभयो । दोस्रो पटक पनि भंग गर्नुभयो । उहाँ त यस्तो तानाशाह हुनुभएको छ । उहाँ कसैको कुरा सुन्नुहुन्छ । उहाँमा अहंकार बढेको छ । आफूभन्दा ठूलो संसारमा कोही छैन भन्ने ठान्नुभएको छ । उहाँले आफुलाई नै पार्टी र राष्ट्र ठान्नुहुन्छ ।

    यसले पार्टीमा समस्या खडा भयो । अब पार्टीलाई व्यक्तिवादी तरिकाले होइन संस्थागत तरिकाले चलाउनुपर्छ । सिद्धान्त, विधि र पद्धतिका आधारमा कम्युनिष्ट पार्टीको स्थापना गर्नुपर्छ । विश्व दृष्टिकोण अँगालेको समाजप्रति प्रतिवद्ध र श्रमजीवि वर्गको पक्षमा उभिएको कम्युनिष्ट पार्टीले मात्र यस वैज्ञानिक समाजवादको यात्राको अगुवाइ गर्न सक्दछ । यी सबै कुराको निम्ति पार्टीमा एकता, पुनर्गठन र रुपान्तरण चाहिन्छ । राज्यका सबै अंग दुरुपयोग गर्ने काम अहिले भइरहेको हुनाले संविधान, लोकतन्त्र, राष्ट्रका हितका लागि अहिले राजनीतिक शक्ति र नागरिक समाजसँग सहकार्य गरेर हामीले अघि बढ्नुपर्छ ।

    त्यो बेला नै मैले के भनेको थिएँ- संघर्ष, रुपान्तरण अनि एकता कसैकसैले भनेजस्तो यो आत्मसमर्पण पनि होइन विद्रोह पनि होइन । होइन, यो विद्रोह नै हो । विद्रोह नगरेको भए प्यारालाल कमिटी नै बन्ने थिएन । केपी ओलीको कथित अनुशासनविरुद्धको विगुल फुकेको हो । विद्रोहको उद्घोष गरेको हो । जिल्लाजिल्लामा कमिटी बनाउनुस् तपाईंहरू । आफ्नो ठाउँमा जो अध्यक्ष हुनुन्छ त्यहाँ पुनर्गठन गर्नुस् । जहाँ अध्यक्ष हुनुन्न त्यहाँ अध्यक्ष भएर कमिटी बनाउनुस् । त्यो परदेशमा पनि गर्नुस्, निर्वाचन क्षेत्रमा गर्नुस्, नगरपालिकामा गर्नुस्, पार्टीमा मात्रै होइन जनवर्गीय संगठनमा गर्नुस् सबैतिर गर्नुस् भनेर भनेका हौं । यसलाई कतिपय साथीहरूले बुझ्नुभएको छैन भने प्रष्ट हुनुस् यो विद्रोह नै हो । यो कुन तहको विद्रोह हो । मैले भने संघर्ष, रुपान्तरण अनि एकता । यदि एकता भएन भने के गर्ने ? रुपान्तरण भएन भने एकता हुँदैन । संघर्षले प्रतिफल दिने भनेको रुपान्तरण भयो भने मात्र हो । रुपान्तरण भएन भने के हुन्छ संघर्ष, रुपान्तरण अनि निषेध । नोट गर्नुस् तपाईंहरू आफ्नो डायरीमा ।

    पार्टीमा संघर्ष चलिरहन्छ । तर एकताका लागि । रुपान्तरण गराउनका लागि । संघर्ष चलिरहन्छ रुपान्तरण भएन भने निषेध गर्नका लागि । केपी ओली अरुको भइदिए । आफ्नो भइदिएको भए माधव नेपाल जसले जसले बनाएको पार्टी हो उसको साधारण सदस्य पनि छैन । तर केपी ओलीको सदस्यता चाहिएको छैन । हाम्रो जेएन खनाल, मुकुन्द न्यौपाने, भीम रावल सदस्य पनि हुनुन्न । त्यति मात्र होइन ११ जना कमरेडहरूको सदस्यता एकैचोटी सबैको टाउको छिनालिदिनुभो उहाँले । तर, केपी ओलीले छिनालेको टाउको यत्तिकै छ, शीर ठाडै छ । केपी ओलीले हामीलाई छिनाल्न सक्दैनन् । मैले केपी ओलीलाई भनेको थिएँ- म व्यक्तिसँग डिल गर्दिन भन्दै हुनुथ्यो तर मलाई बोलाउनुभएको किन के व्यक्तिसँग डिल गर्न ? माधव नेपाल व्यक्ति हो कि शक्ति हो भन्नुस् तपाईंले । उहाँले भन्नु भो- ‘शक्ति हो, शक्ति हो ।’ र, संस्था पनि हो कि होइन । हो तपाईंले चाहे त पार्टी बनाउन सक्नुहुन्छ । तर तपाईं पनि बर्बाद हुनुन्छ । म पनि बर्बाद हुन्छु कम्युनिष्ट आन्दोलन सिद्धिन्छ । हो, त्यो चेत भएको छ भने तपाईंले जुन ढंगले अहंकारले ग्रसित भएर एकलौटी रूपमा फागुन २८ गते गुटको भेला गरेर सबैलाई पदबाट मुक्त गरेर मनपरी ढंगले विधान संशोधन गरेर जसरी जिल्लाजिल्लामा चल्नुभएको छ हामीसँग जोडिएका व्यक्तिहरूलाई निकाल्नुभएको छ । त्यो सबै कुरा फिर्ता लिनुस् । यो पछिल्लो भेट हो ।

    अहिले हामी पार्टीको घोषणा किन गर्न सक्दैनौं भने हामीले सांसदको हैसियतमा हस्ताक्षर गरेर सर्वोच्चमा दायर गरेको रिट विचाराधीन छ । यो बेलामा अर्को पार्टी खोल्यौं भने हामी अर्को पार्टीको सदस्य हुन पुग्छौं । एमालेको सांसद रहँदैनौं । अहिले नै त्यहाँ पार्टी दर्ता गर्न कागजातदेखि सबै तयारी गर्नुपर्छ ।

    केपी ओली अगाडि बढिसकेपछि फर्किन जान्दैन यो उहाँकै शब्द हो । अहंकार बढ्नुको कारण केपीवाद, बाले बिगारेको हो । अहिले साइबर स्यालहरूले दिने गरेको एक-एक चिज हेर्नुस् त । यस्तो खालका दास मनोवृत्ति भएकाका पछि जान सकिँदैन । विद्रोहको चेत दिनुपर्छ । यसको मतलव हामी ध्वंस बढाउने होइन । न्यायको निम्ति विद्रोहको चेत दिन्छौं । जसमा आँट छैन त्यो नेता हुन सक्दैन । नेता त्यो हो जसले अरुलाई गाइड र उत्साहित गर्छ । अहिले पार्टी स्थायी कमिटी, केन्द्रीय कमिटीभित्र तपाईंहरूलाई नेतृत्व गर्ने नेता हुनुन्छ । अवश्य कसै कसैलाई लागेको कोसिस गरौं न त सुध्रिन सक्नुहुन्छ । हुन्छ कोसिस गरौं मैले वामदेव कमरेडलाई त भनेको थिएँ- कोसिस गर्नुस् न त्यही बालुवा पेलेर तेल निस्किन्छ कि । विचरा वामदेव कामरेड पेल्दा-पेल्दा गर्नुहुन्छ । तेल नै निस्किँदैन । म त निष्कर्षमा पुगिसकेको छु- कि बालुवा पेलेर तेल निस्कनेवाला छैन । यो पार्टीको निम्ति वामदेव कामरेड यति महत्वपूर्ण मान्छे हो । म उहाँलाई अहिले पनि स्यालोट गर्छु । माओवादीसँग त्यो बेला जोखिममा वार्ता गर्ने मान्छे वामदेव हो ।

    हामी सबैले त्याग गर्नुपर्छ । कर्णालीका कमरेडले कारवाही भोग्नुभएको छ । तपाईंलाई थाहा छ । त्यत्रो संकटको बेलामा चुनौतीको सामना गर्दै वागमती प्रदेशमा भएको राष्ट्रियसभा चुनावमा केपी ओलीको उम्मेदवार बादललाई हराउनुभयो । हाम्रो उम्मेदवारको रूपमा खडा गरिएको खिमलाल देवकोटालाई जसरी जिताउनुभयो उहाँहरूलाई भुल्न सक्दैनौं । लुम्बिनीमा पनि हाम्रो गठबन्धनको उम्मेदवार जो पहिलेको एमालेकै थिए । उहाँलाई जिताउने काममा भूमिका खेल्नुभयो उहाँलाई विर्सदैनौं । ७ नं प्रदेश (सूदूरपश्चिम) मा समर्थन फिर्ता लिने केपी ओलीको आदेशलाई अवज्ञा गरेर त्यहाँको दलको बहुमतबाट सरकारमाथिको समर्थन कायम राखेर मन्त्रिमण्डल पुनर्गठन गर्नुभयो उहाँहरूलाई हामी भुल्न सक्दैनौं । २ देखि ७ नम्बर प्रदेश यी सबै ठाउँमा केपी ओलीको हार । अहिले केपी ओली केही लचिलो भएको हो कि भन्ने हामीलाई परेको पनि छ । यो लचिलो होइन । सय होइन डेढ सय प्रतिशत मेरो निष्कर्ष हो केपी ओली सुध्रिदैनन् । हामी निष्कर्षमा पुगे पनि कार्यकर्ता पुगे कि पुगेनन् । जनता निष्कर्षमा पुगे कि पुगेनन् । त्यो पर्खिनुपर्छ । यदि तपाईंहरू निष्कर्षमा पुग्नुभएको छ भने पर्खिने होइन । आफ्नो आफ्नो ठाउँको कार्यक्षेत्रमा पुगेका छैनन् भने पर्खिने । तर, पर्खिँदाखेरि माझीहरूको सल्लाहले सात गाउँ डुबेजस्तै डुब्ने स्थिति बन्न दिनु हुँदैन । अनि मान्छे मरिसकेपछि डाक्टर बोलाको कुनै अर्थ हुँदैन । तपाईंहरूलाई छाडेर गइँदैन । व्यवस्थापनको काम गरिनेछ ।

    नेता कार्यकर्ताहरूलाई पार्टीको संसदीय र राजकीय कार्यक्षेत्रमा आग्रह/पूर्वाग्रहबिना जिम्मेवारी दिने । एमालेलाई नवौं महाधिवेशनको कार्यदिशाअन्तर्गत संचालन गर्ने, पार्टी र सरकाबीच समन्वय गर्न संयन्त्र बनाउने । यी निर्णयलाई सहमति गरेकै दिन स्थायी कमिटी बैठकबाट निर्णय गर्नुपर्छ । केपी ओली र माधव नेपालको सहमतिमा स्थायी कमिटी बैठक डाकि महाधिवेशनलगायतका निर्णयहरू गर्न कार्यदल बनाई ७ दिनभित्र प्रतिवेदन तयार गर्नुपर्ने र त्यसलाई तलतलसम्म छलफलमा लैजानुपर्छ । दुवै पक्षबाट भएगरेका कमिकमजोरीलाई महसुस गरी आगामी दिनमा पार्टीलाई विधि, विधान र पद्धतिमा संचालन गर्ने र देशको विषम परिस्थितिमा प्रतिनिधिसभाको निरन्तरता आवश्यक भएकोले त्यसको विघटनलाई सच्याउनुपर्छ । प्रतिनिधिसभा पूरा कार्यकाल चलाउने भन्ने हाम्रो माग पुर्‍याउन पाएको छैन केपी ओलीबाट एकपछि अर्को कारवाहीबाट हामीलाई साधारण सदस्यबाटै निकालिदिए । भएको के छ भने केपी ओली पहिलो फायर गर्छन् । हामी डिफेन्सिभ मात्र हुन्छौं । हामीले अनावश्यक कुरा गरेर पहिले कुनै निहुँ खोजेका छैनौं ।

    हामीले सहमतिको प्रस्ताव राख्यौं । उहाँले वार्ताको नाटक गर्नुभयो । वार्तामा दुईवटा उद्देश्य लुकेको थियो । एउटा त बादललाई हराउँछन् कि क्या हो भनेर । उहाँले एकतिर दुई निसान लगाउन खोज्नुभयो । एउटा त केपी ओलीले जसको टाउकामा हात राख्छ सदा विजयी भव । बादललाई उठाएको थिएँ । जिताइदिएँ । माधव नेपाललाई फकाइदिएँ । सबैलाई मिलाएँ भन्नलाई । यत्ति खुबी छ कि उहाँमा । त्यतिबेला मिलाएँ भन्ने अनि देख्यौ माधव नेपाललाई मुर्ख बनाएँ भन्ने । अनि दोस्रो, हेर्‍यौ ! खिमलाल जी माधव नेपालको उम्मेदवार बन्न जानुभएको थियो । पाउनुभो स्वाद । अनि शेरबहादुर देउवालाई फोन गरेर उहाँले भन्नुहुन्थ्यो – माधव नेपाल माधव नेपाल भन्नुहुन्थ्यो पाउनुभो स्वाद चाख्नुभो । प्रचण्डलाई फोन गर्नुहुन्थ्यो- लीलामणीलाई उम्मेदवार बनाउन खोज्नुभएको थियो । माधव नेपालले दिएनन् । आफ्नै उम्मेदवार भनेर ल्याए अनि तपाईंलाई बाटोमै नांगो बनाइदिए । त्यो सबै मैले बुझेको थिएँ । उनले राष्ट्रियसभाबारे कुरा गर्दा यो पहिलै भइसकेको कुरा हो भनेर मैले इफ एण्ड बट केही सुन्न चाहँदिन भने । पछि रामबहादुर थापा आएर तपाईंको व्यक्तित्व र प्रतिष्ठामा आँच आउने कुरामा मैले केही भन्न मिलेन । तपाईंले नै उम्मेदवार उठाइसकेपछि पछि हट्दा तपाईंको प्रतिष्ठामा आँच आउँछ । उहाँले नै भन्नुभयो । सबै मान्छेहरूलाई स्वविवेक प्रयोग गरौं भन्नुभो । तर, उहाँको सचिवालयबाट माधव नेपाललाई बादललाई साथ दिने भनी गलत प्रचार भो हामीले तत्काल त्यसको खण्डन गर्यौं । त्यो दाउमा ओली फेल खाए ।

    हामीले सहमतिको प्रस्ताव राख्यौं । उहाँले वार्ताको नाटक गर्नुभयो । वार्तामा दुईवटा उद्देश्य लुकेको थियो । एउटा त बादललाई हराउँछन् कि क्या हो भनेर । उहाँले एकतिर दुई निसान लगाउन खोज्नुभयो । एउटा त केपी ओलीले जसको टाउकामा हात राख्छ सदा विजयी भव । बादललाई उठाएको थिएँ । जिताइदिएँ । माधव नेपाललाई फकाइदिएँ । सबैलाई मिलाएँ भन्नलाई ।

    फेरि संसदमा विश्वासको मत लिने उनको इच्छा थियो । हामीलाई अलमल्याउन खोजिरहेका थिए । हामी एक ढिक्का भएर अलमलिन चाहेनौं । त्यहाँ हामी उपस्थित भएको भए महन्थ ठाकुरले समर्थन गरेर यीनलाई २ वर्षसम्म कसैले छुन सक्ने थिएन । त्यसपछि त हामीलाई झन् ओखलमा राखेर पेलेको पेलै । राष्ट्रपतिकोमा पनि जाँदैनन् भन्ने ठानेका थिए गयौं । अदालतमा त नजालान् भने गयौं । त्यसपछि २ गते मान्छु म । मैले भने पहिले क्याबिनेट बसेर प्रतिनिधिसभा विघटनको निर्णय फिर्ता लिनुस् । १३६ को बहुमत पुग्नेमा १४६ जनाको हस्ताक्षर भयो । केपी ओली चिलमिलाए । इण्डियासँग उनको साँठगाँठ जो चलिरहेको थियो त्यो देखियो नागरिकतासँगको विषय, दलाल पुँजीवादको चंगुलमा फसेको देखियो चुरे फाँडेर नेपालको तराईलाई मरुभूमि बनाउने कुरा पनि देखियो । कोरोना महामारीमा जनता तड्पिरहेका छन् । यसलाई उनी मतलब राख्दैनन् । केपी ओली सबै कोणबाट गलत ठाउँमा पुगेका छन् । पतनको दिशामा पुगिसकेका छन् ।

    कम्युनिष्ट पार्टीलाई जोगाउनु छ भने, लोकतन्त्रको रक्षमा गर्नुछ भने, कम्युनिष्ट आन्दोलनलाई जोगाउनु छ भने नयाँ शीराबाट अघि बढ्नुको विकल्प छैन । जबसम्म केपी ओलीले ११ जनालाई निष्कासन गरिएको र १२ जनालाई स्पष्टीकरण फिर्ता लिँदैनन् भने उनीसँग औपचारिक वार्ताको कुनै अर्थ छैन । हिजो र अस्तिको छलफलमा केपी चालबाज हुन् भन्ने सबै निष्कर्ष थियो । कुनै नेतामाथि आरोप-प्रत्यारोप नगर्नुहोला । मनोबल बलियो बनाइदिनुहोला । हामी एकता नै चाहन्छौं । तर अनिश्चितकालसम्म वार्ता भनेर नअलमलिएर निश्चित समयभित्र टुंग्याउने गरी अघि बढ्नुपर्छ । तपाईंहरूलाई निर्देशन दिन चाहन्छु – वार्ड र टोलटोलसम्म कमिटी बनाउनुस् । अहिले कोरोना महामारी भएकोले भर्चुअल रूपमा बैठक र छलफल अघि बढाउनुस् । तर, पर्‍यो भने सडकमा उत्रनुपर्ने पनि हुनसक्छ ख्याल गर्नुहोस् । अरू पार्टीहरूसँग जुन सहकार्य गर्दै आएका छौं । लोकतन्त्र, संविधानको रक्षाको निम्ति पनि यो सहकार्यलाई अझ सशक्त बनाएर जानुपर्ने हुनसक्छ । कार्यकर्ताको मनोबल उच्च राख्नुपर्छ । केपी ओलीका सबै गलत निर्णयको खबरदारी गर्नुपर्छ । यी सबै कुराहरूमा हाम्रो केन्द्रीय कमिटीको एकमत रहनुपर्छ ।

    हिजो जुन क्याबिनेट पुनर्गठन गरेको छ । काम चलाउ सरकारले यो संसदीय अभ्यास र असंवैधानिक काम गरेको छ । यो निन्दनीय छ । को-को साथीहरू किन छाडेका हुन् किन हटाइएका हुन् । थाहा छैन मलाई । थाहा नभएको कुरा भन्न सक्दिन । भित्र अन्तरविरोध छ कि छैन । यो अन्तरविरोध पनि रोएरै बस्ने खालका हुन् कि विद्रोह गर्ने मनस्थितमा पुगेका हुन् कि । (राजाको शासनको कथा) । उहाँहरू सबैको मुटु र नाडी कस्तो छ आगामी दिनमा थाहा होला । तर हामी एक्लै धातुले बनेका क्रान्तिकारी भएको हुनाले त्यो हिसाबले अघि बढौं ।

    कतिपय ठाउँमा बेलामा कदम चाल्ने कुरामा कमजोरी भयो होला । तर मेरो सोच सिंगो विचार समूह हो हाम्रो । यो विचार समूहको भावना दह्रो र दृढताका साथ अघि बढ्ने खालको छ । चैत ४ र ५ बाटै विद्रोह शुरू गरिसकेका छौं । संघर्ष अनि रुपान्तरण । त्यो पनि भएन भने निषेध । निषेधको दिशामा जाने कि नजाने भन्ने केपी ओलीको हातमा छ । अन्तिम चोटी हामी हेर्नेछौं ।

    अहिले हामी पार्टीको घोषणा किन गर्न सक्दैनौं भने हामीले सांसदको हैसियतमा हस्ताक्षर गरेर सर्वोच्चमा दायर गरेको रिट विचाराधीन छ । यो बेलामा अर्को पार्टी खोल्यौं भने हामी अर्को पार्टीको सदस्य हुन पुग्छौं । एमालेको सांसद रहँदैनौं । अहिले नै त्यहाँ पार्टी दर्ता गर्न कागजातदेखि सबै तयारी गर्नुपर्छ । कसरी-कसरी जिल्ला प्रदेश र केन्द्र कमिटी बनाउने भनेर तपाईंहरू जिल्लामा हामी केन्द्रमा तयारी गर्नेछौं । गृहकार्यहरू धमाधम भइरहेको छ । एकता भयो भने के भएन भने के जस्तोसुकै संकटको बेलामा अघि बढ्ने गरी हामी तयार हुनुपर्छ । सबै विकल्प सोचेर अघि बढ्नु पर्ने हुन्छ । नत्र हामी घर न घाटको हुनेछौं ।

    अडियो सुन्‍नुहोस्:-

     

    (२२ जेठ २०७८ मा आफूपक्षीय जिल्ला कमिटीका पदाधिकारीसँग भएको भर्चुअल बैठकमा नेता नेपालको सम्बोधनको सम्पादित अंश ।)

  • माधव पक्षको बैठक : एमाले एकताका लागि यी हुन् ६ बुँदे बटमलाइन

    माधव पक्षको बैठक : एमाले एकताका लागि यी हुन् ६ बुँदे बटमलाइन

    काठमाडौं । नेकपा एमालेको माधव नेपाल पक्षले पार्टी एकताका लागि अध्यक्ष केपी शर्मा ओलीसँग ६ बुँदे शर्त अघि सारेको छ । शनिबार बसेको माधव पक्षको स्थायी कमिटी बैठकले कारवाही फिर्ता नभई संस्थापन पक्षसँग वार्तामा नबस्ने निर्णय गरेको छ ।

    बैठकमा सहभागी एक नेताका अनुसार केन्द्रीय सदस्यहरुको बैठकमा भएको छलफलको निचोड अनुसार ओलीसँग एकताका लागि आफ्नो बटमलाइन तयार पारिएको छ । नेपाल पक्षीय केन्द्रीय सदस्यहरुको बैठकले ओलीसँग संघर्ष-एकता-रुपान्तपरण र निषेधको नीति लिने निर्णय गरेको नेपालले शनिवार जिल्ला पदाधिकारीहरुसँगको छलफलमा बताएका थिए ।

    अहिले ओलीसँग संघर्ष चलिरहेको र त्यसले एकतामा बदलेमा र केपी ओली रुपान्तरण हुन चाहेमा एकता हुने नत्र निषेधको नीति लिएर विद्रोह गर्नुपर्ने नेपाल पक्षको निष्कर्ष छ ।

    नेपाल पक्षको स्थायी कमिटी बैठकले एमाले एकताका लागि ओली समक्ष ६ बुँदे प्रस्ताव पारित गरेको ती सदस्यले बताए । उनका अनुसार पहिलो शर्त पार्टीका सबै संरचनालाई २०७५ जेठ २ गतेको अवस्थामा फर्काउने हुनेछ ।

    ओली त्यसमा सहमत भएमा त्यसै दिन जेठ २ अघिको स्थायी कमिटी बैठक बस्नुपर्ने र त्यस बैठकले तल्ला कमिटीहरुको समायोजनका लागि कार्यदल गठन गर्नुपर्ने दुई प्रस्ताव हुनेछन् । त्यस्तै ओलीले नवौं महाधिवेशनको निर्णय र नीति मान्ने र सामुहिक निर्णयका आधारमा चल्ने प्रतिबद्धता जनाउनु पर्ने र प्रतिनिसभा विघटन गलत कदम भनेर स्वीकार गर्नु पर्ने शर्त समेत नेपाल पक्षले अघि सारेको छ । यी शर्तलाई प्रस्तावका रुपमा बैठकले तयार पारेपछि सार्वजनिक गर्ने तयारी छ ।

  • मन्त्रिपरिषद् पुनर्गठन : यस्तो छ १७ मन्त्रीको वरीयताक्रम (सूचीसहित)

    मन्त्रिपरिषद् पुनर्गठन : यस्तो छ १७ मन्त्रीको वरीयताक्रम (सूचीसहित)

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् पुनर्गठन गरेका छन् । पुनर्गठित मन्त्रिपरिषद्मा ३ जना उपप्रधानमन्त्री सहित १२ मन्त्री र २ जना राज्यमन्त्री रहेका छन् ।

    पुनर्गगठित मन्त्रीपरिषद्मा प्रधानमन्त्रीपछि सबैभन्दा माथिल्लो वरियतामा उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेल रहेका छन् ।

    यसअघिका उपप्रधानमन्त्री ईश्वर पोखरेल बहिर्गमनमा परेसँगै पौडललाई माथिल्लो वरियता मिलेको हो ।

    पौडेलपछिको वरियतामा रघुवीर महासेठ रहेका छन् । आश्चर्यजनकरुपमा उनलाई उपप्रधानमन्त्री बनाइएको छ । उनी राजेन्द्र महतोभन्दा माथिल्लो वरियतामा छन् ।

    मन्त्रीहरुको वरियतामा जनता समाजवादी पार्टीका शरदसिंह भण्डारी सबैभन्दा अगाडि छन् । उनीपछाडि क्रमशः कृष्णगोपाल श्रेष्ठ, अनिलकुमार झा र शेरबहादुर तामाङ रहेका छन् ।

    हेर्नुस मन्त्रीहरुको वरियताअनुसार राष्ट्रपति कार्यालयले जारी गरेको नामावली :

     

    यो पनि पढ्नुस् :

    रक्षा र गृहसहित सात मन्त्रालय प्रधानमन्त्री ओलीसँगै रहने

    एमालेका ४ जनाबाहेक सबै मन्त्री पदमुक्त

    रघुवीर महासेठ परराष्ट्रसहित उपप्रधानमन्त्री, शेरबहादुर तामाङ स्वास्थ्यमन्त्री

  • नवनियुक्त मन्त्रीहरुको सपथग्रहण, राजेन्द्र महतो तेस्रो उपप्रधानमन्त्री

    नवनियुक्त मन्त्रीहरुको सपथग्रहण, राजेन्द्र महतो तेस्रो उपप्रधानमन्त्री

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले जनता समाजवादी पार्टीलाई सरकारमा भित्र्याएका छन् । सो पार्टीका ८ मन्त्री र दुई राज्यमन्त्रीसहित नवनियुक्त १० मन्त्री र राज्यमन्त्रीहरुलाई शीतलनिवासमा राष्ट्रपति विद्यादेवी भण्डारीले सपथग्रहण गराइन् ।

    पुनर्गठनपछि ओली मन्त्रीपरिषद १७ सदस्यीय बनेको छ । मौजुदा मन्त्रीपरिषदबाट १३ जना बाहिरिएका छन् ।

    सरकारबाट एक उपप्रधानमन्त्री ईश्वर पोखरेल बाहिरिएका छन् भने तीन उपप्रधानमन्त्री थपिएका छन् । उपप्रधानमन्त्रीहरुको वरियतामा प्रधानमन्त्रीले विष्णु पौडेललाई पहिलो स्थानमा, रघुविर महासेठ दोस्रो र राजेन्द्र महतो तेस्रो स्थानमा रहेका छन् ।

    सपथ ग्रहण समारोहमा जनता समाजवादी पार्टीका मन्त्रीहरुले आफूखुशी पोशाक लगाएका थिए । उपप्रधानमन्त्री राजेन्द्र महतोले धोति कुर्ता लगाएर सपथ खाए । एमालेका मन्त्रीहरुले दौरा-सुरुवाल लगाएका थिए ।

    यस्तो छ मन्त्रिपरिषद्को कार्यविभाजन :

  • रक्षा र गृहसहित सात मन्त्रालय प्रधानमन्त्री ओलीसँगै रहने

    रक्षा र गृहसहित सात मन्त्रालय प्रधानमन्त्री ओलीसँगै रहने

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद पुनर्गठन गरेका छन् । प्रधानमन्त्री ओलीले आफूसँग ७ वटा मन्त्रालय राखेका छन् ।

    आज विस्तार हुने मन्त्रिपरिषद प्रधानमन्त्रीसहित १७ सदस्यीय हुनेछ । प्रधानमन्त्री ओलीसँग रक्षा, गृह, पर्यटन, सञ्चार, सामान्य प्रशासन, कृषि र उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय रहनेछन् ।

    मन्त्रिपरिषदमा विष्णु पौडेल उपप्रधानसहित अर्थ, रघुवीर महासेठ उपप्रधानसहित परराष्ट्र र राजेन्द्र महतो उपप्रधानसहित शहरी विकास मन्त्री बन्नेछन् । त्यस्तै भौतिक पूर्वाधारमा बसन्त नेम्वाङ, शिक्षामा कृष्णगोपाल श्रेष्ठ र कानूनमा लीलानाथ श्रेष्ठ मन्त्रीका रुपमा यथावत रहनेछन् ।

    स्वास्थ्य मन्त्रीका रुपमा शेरबहादुर तामाङले शपथ लिनेछन् । जसपाबाट महतोबाहेक ७ जनाले मन्त्री र २ जनाले राज्यमन्त्रीको जिम्मेवारी पाउँदैछन् ।