Tag: केपी ओली

  • एमाले अध्यक्ष ओली इलाम जाँदै, जनसभालाई ओली र नेम्वाङले संवोधन गर्ने

    एमाले अध्यक्ष ओली इलाम जाँदै, जनसभालाई ओली र नेम्वाङले संवोधन गर्ने

    काठमाण्डौं । नेकपा (एमाले) अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी ओली आज आइतबार इलामको सूर्योदय नगरपालिका जाँदै छन् । एमालेको बृहत् जनसभालाई सम्बोधन गर्न अध्यक्ष ओली इलाम पुग्न लागेका हुन् ।

    इलामको निर्वाचन क्षेत्र नम्बर १ मा नेकपा (एमाले)बाट झलनाथ खनाल विजयी भएका थिए । खनाल नेकपा एकीकृत समाजवादी पार्टीमा लागेपछि एमालेले सूर्योदयमा जनसभाको आयोजना गर्न लागेको एमाले इलामका अध्यक्ष महेश बस्नेतले बताए । खनालले एमाले छाडे पनि सूर्योदयमा नेकपा एमाले कमजोर नभएको उनको दाबी छ । ‘इलामको क्षेत्र नम्बर १ एमालेले जितेको क्षेत्र हो, हामी अहिले पनि यहाँको पहिलो पार्टी हौ’, अध्यक्ष बस्नेतले भने,‘को कत्रो छ भन्ने कुरा वैशाख ३० मा थाहा भइहाल्छ ।’

    पार्टीको नीति बिचार कार्यक्रमलाई आम जनतासम्म पुर्‍याउनको लागि जनसभाको आयोजना गरेको एमाले जनाएको छ । नेकपा एमाले सूर्योदय नगर कमिटीको आयोजना तथा जिल्ला कमिटीको व्यवस्थापनमा हुने जनसभाको तयारी तीव्र रूपमा भइरहेको सूर्योदय नगर कमिटीकी अध्यक्ष दुर्गादेवी भट्टराईले जानकारी दिइन् ।

    फिक्कल चोक बजारमा आयोजना गरिएको जनसभामा १० हजार भन्दा बढी अगुवा कार्यकर्ता, शुभेच्छुक र सर्वसाधारण सहभागी हुने आयोजकको अपेक्षा छ ।  जनसभालाई ओलीसँगै एमाले उपाध्यक्ष सुवासचन्द्र नेम्वाङले पनि सम्बोधन गर्ने बताइएकाे छ ।

  • चार न्यायाधीश लगाएर एमालेलाई पछार्न खोजियो, तर हामी हराउनै नसकिने योद्धा हौं : ओली (भिडि‌ओ)

    चार न्यायाधीश लगाएर एमालेलाई पछार्न खोजियो, तर हामी हराउनै नसकिने योद्धा हौं : ओली (भिडि‌ओ)

    काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टी कसैले हराउनै नसकिने योद्धा भएको बताएका छन् ।

    आफ्नो जन्मदिनबारे आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले आफूहरूले केही जमिन छोड्दा सर्वोच्चका चार न्यायाधीश प्रयोग गरेर पछार्न खोजिएको आरोप लगाए ।

    ‘एउटा योद्धा यस्तो छ, जसलाई हराउनै सकिदैन,’ ओलीले भने, ‘एउटै शर्तमा मात्रै ऊ हट्छ, उसलाई जमिनबाट छुटायो भने यो निर्भर भइहाल्छ । जमिन छुन पायो कि ऊ बलियो हुन्छ । अलिकति जमिनबाट छुटायो भने त सर्वोच्च अदालतमा लगेर चार न्यायाधीशले पनि पछार्दा रहेछन् एमाले जस्तो पार्टीलाई ।’

    ओलीले थपे, ‘तर, उचालेको उचाल्यै कहाँ हुन्छ र ? हामी जमिन त छोइ हाल्छौं । खुट्टा टेकिहाल्छौं र जनतासँग एकाकार भइहाल्छौं ।’ ओलीले संसद विघटन बदर हुनुलाई एउटा मात्रै मोर्चा हारेको रूपमा व्याख्या गरे । ‘हामीले समग्र युद्ध हारेका होइनौं, एउटा मोर्चा हारेका हौं,’उनले भने ।

  • केपी ओलीको जन्मदिनमा बुबा भन्छन्- पाँच सयमा हलगोरु बेचेर आउँदा छोरो भेट्न पाइनँ (भिडिओ)

    केपी ओलीको जन्मदिनमा बुबा भन्छन्- पाँच सयमा हलगोरु बेचेर आउँदा छोरो भेट्न पाइनँ (भिडिओ)

    काठमाडौं । तीन वर्षअघि नेपाल स्काउटले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीलाई बालबालिकासँग भेट गराउँदा एउटी बालिकाले सोधिन्- तपाईंको प्रेरणाको स्रोत को हो ?

    त्यो प्रश्नले ओली भावुक भए । कारण उनले आफ्नी आमाको अनुहार नै देख्न पाएका रहेछन् । तीन वर्षको उमेरमै आमा गुमाएका ओलीलाई हजुरआमाले हुर्काएको सुनाएका थिए । आफ्नो जीवनको प्रेरणाको स्रोत हजुरआमा भएको सुनाउँदै उनले भनेका थिए- सत्मार्गमा लाग्ने र शक्तिसँग नझुक्ने, सत्यसँग नलड्ने प्रेरणाको स्रोत मेरी हजुरआमा हो ।

    ओलीले हजुरआमा र आफ्नो बाल्यकालबारे यसरी सुनाएका थिए:-

    मेरी आमा बित्दा ३ वर्षको थिएँ । मेरो मुख्य आदर्श हजुरआमा रहनुभयो । मैले साँचो बोल्ने, सदव्यवहार गर्ने, परोपकारी धारणा राख्ने, मान्छेलाई माया गर्ने कसैप्रति भेदभाव नराख्ने गुणहरु हजुरआमाले सिकाउनुभयो ।

    श्रमलाई माया गर्ने, मेहनती हुनुपर्छ भन्ने र हामीले केही राम्रो काम गर्नुपर्छ र अरुको नजरमा नगिर्ने खालको ,अरुले नराम्रो नभन्ने खालको काम गर्नुपर्छ भन्ने शिक्षा र प्रेरणा मैले हजुरआमाबाट प्राप्त गरेँ । मेरो प्रेरणा मेरी हजुरआमा हो । हुन त अरु अभिभावक र शिक्षक शिक्षिकाहरूबाट पनि प्रेरणा पाएँ ।

    मैले अहिले जुन भन्ने गर्छु, शक्तिसँग डराउनु हुँदैन, शक्ति आवधिक र अस्थायी हुन्छ, सत्य अस्थायी हुँदैन । सत्यको पालना गर्नुपर्छ त्यो कुरा मैले मेरी हजुरआमाबाट सिकेको थिएँ । मेरो जीवनमा सत्यसँग नलड्ने, शक्तिसँग नझुक्ने आदर्श हजुरआमा हो । मेरो जीवनलाई प्रभावित गर्ने मूल प्रेरणा हजुरआमाबाट प्राप्त गरेको हो ।

    मैले सानैमा म हुर्किएको समाजमा अनुचित कुराहरु देखेँ, बेठीक कुराहरू देखेँ । ती बेठीक कुरा आफैं ठीक हुँदैनन्, संघर्ष गर्नुपर्ने रहेछ । जनतामा चेतनता ल्याउनुपर्ने रहेछ । संगठित रूप दिनुपर्ने रहेछ । त्यसपछि म त्यसकाममा लागेँ । निरंकुशतन्त्र भएको व्यवस्थामा प्रधानमन्त्री हुन्छु भन्ने सोच्नु त धेरै परको कुरा थियो । बरु जेल जानुपरे जान्छु भनेर सामाजिक न्याय समानताको लोकतन्त्र ल्याउँछु भन्ने सोचेर हिँड्ने उद्देश्य वैयक्तिक हुँदैनन् ।

    मेरो उद्देश्य देशमा सकारात्मक परिवर्ततन ल्याउने, निरंकुशन्त्र ढाल्ने लोकतन्त्र ल्याउने थियो । प्रधानमन्त्री हुने कल्पना पनि थिएन । त्यसक्रममा गिरफ्तार हुने, जेल जाने भयो । जेलमा भएका बेला अहिले मार्छ कि, अहिले मर्छु कि भरे मर्छु जस्तो बेलामा प्रधानमन्त्री हुने सपना देखेको थिइनँ ।

    केपी ओलीलाई जन्मदिनको शुभकामना दिन गृहमन्त्री बालकृष्ण खाणदेखि शुभचिन्तकहरुको भीड बालकोटमा बिहानैदेखि लागिरहेका बेला ९३ वर्षीय पिता मोहनप्रसाद पनि बालकोटमै थिए । उनी आगन्तुकहरूसँग ओलीको बाल्यकाल र संघर्षका दिनहरू सुनाएर गफिँदै थिए ।

    आज फागुन ११ गते पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको जन्मदिन हो । आजबाट उनी ७० वर्ष पूरा भएर ७१ वर्ष लागेका छन् । संयोग नै मान्नुपर्छ ठीक एक वर्षअघि आजकै दिन सर्वोच्च अदालतले उनले गरेको संसद विघटनलाई असंवैधानिक भनेर पुनःस्थापना गरेको थियो । एक वर्षपछि जन्मदिन मनाउँदै गर्दा उनी एकपटक पुनः राष्ट्रिय राजनीतिको मियो बन्दैछन् ।

    केपी ओलीलाई जन्मदिनको शुभकामना दिन गृहमन्त्री बालकृष्ण खाणदेखि शुभचिन्तकहरुको भीड बालकोटमा बिहानैदेखि लागिरहेका बेला ९३ वर्षीय पिता मोहनप्रसाद पनि बालकोटमै थिए । उनी आगन्तुकहरूसँग ओलीको बाल्यकाल र संघर्षका दिनहरू सुनाएर गफिँदै थिए ।

    तेह्रथुमबाट झापा झर्दाका दुःख, झापामा पुगेर दुई छाक टार्न गर्नुपरेका संघर्ष सुनाउने क्रममा उनी केपी ओलीको सबैभन्दा कठिन समयमा फर्किए । झापा क्रान्तिका एक योद्धा केपी ओली रौतहटबाट पक्राउ परेपछि २०२९ सालतिर गोलघरमा राखिएको थियो । गोलघर भनेको सबैभन्दा खतरनाक कैदीलाई राख्ने ठाउँ मानिन्थ्यो ।

    छोरो जेल परेको जानकारी पाएपछि मोहनप्रसाद झापाबाट एक हल गोरु ५ सयमा बेचेर काठमाडौं आए पनि नभेटी फर्कनुपरेको कथा यसरी सुनाए ।

    पछि यो पक्राउ पर्‍यो भने । मधेस गाको थियो, उतै समातिएछ । सेन्टर जेलमा हालेको छ भने । म तलबाट (झापा) एक हल गोरु ५ सयमा यत्रा जुरो भएका माले गोरु बेचेर ५ सय बोकेर आएँ । त्यो बेला ५ सय भनेको धेरै ठूलो पैसा हो । काठमाडौं आइपुगेपछि लौ तपाईंलाई भेट गर्न दिँदैनन्, यहाँ बाउआमा छैनन् भनेको छ, तपाईंले भेट्नुभयो भने झन् साह्रो हुन्छ भने । भेट्न पनि पाइनँ । ल्याएको पैसा पनि सकिए आउँदा जाँदा । केरा बेच्न ल्याउने गोरुगाडामा काठमाडौं आएको थिएँ । त्यसबेला गाडी चल्दैन थिए । त्यसरी आउँदा पनि भेट गर्न दिएनन् । यसले धेरै दुःख पाएको छ ।

  • वाटर पार्कको उद्घाटन गर्न ओलीको बग्गी यात्रा

    वाटर पार्कको उद्घाटन गर्न ओलीको बग्गी यात्रा

    काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओलीले आफ्नो गृहजिल्ला झामा निर्मित वाटर किङ्डम पार्कको आइतबार उद्घाटन गरेका छन् । पार्क उद्घाटन गर्न लैजाने क्रममा आयोजकले उनलाई बग्गीमा यात्रा गराए ।

    ओलीले झापाको झिलझिलेस्थित वाटर किङडम पार्कको उद्घाटन गरेका हुन् । पार्क संचालक राजकुमार संग्रौलाले ओलीलाई करिब ४ सय मिटरसम्म बग्गीमा यात्रा गराएका थिए । ओलीको स्वागतमा नौमती बाजा र झाँकीसमेत प्रर्दशन गरिएको थियो।

    कोरोना महामारीका कारण २ वर्षदेखि पार्क संचालन हुन सकेको थिएन ।

    हेर्नुहोस् केही तस्बिरः

  • ओलीको टिप्पणी- आफ्नो भ्रष्टाचार छोप्न सरकार नक्कली ज्वाइँ खडा गर्दैछ

    ओलीको टिप्पणी- आफ्नो भ्रष्टाचार छोप्न सरकार नक्कली ज्वाइँ खडा गर्दैछ

    झापा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकार आफ्नो भ्रष्टाचार छोप्न नारायणहिटी प्रकरणमा नक्कली ज्वाइँ खडा गर्न खोजिरहेको आरोप लगाएका छन् । गृहजिल्ला झापा आएका ओलीले राष्ट्रसेवक सहकारी संस्थाको कार्यक्रममा सरकारले नारायणहिटी कप्लक्कै खाइसकेको टिप्पणी गरे ।

    नारायणहिटी संग्रहालयमा क्याफे संचालनसम्बन्धी ठेक्का पाएको बतास समूहलाई सरकारको संरक्षण रहेको भन्दै उनले अहिले आफ्नो भ्रष्टाचार छोप्न बतासलाई मिडियाबाट केपी ओलीको ज्वाइँ बनाउन खोजिएको बताए ।

    ओलीले भने, ‘अहिले संचारमाध्यम बोलाएर, फोटो खिच्न लाएर केपी ओलीको ज्वाइँ भन्न लगाइरहेका छन् । मेरा त छोरी देशभरी छन्, छिोरीसँग बिहे गर्ने जति सबै ज्वाइँ हुने भए । छोरासँग बिहे गर्नेजति सबै बुहारी । यस्ता कुरा लिएर आफ्नो भ्रष्टाचार छोप्न खोज्ने छन् अहिले सरकारमा ।’

    बतास अर्गनाइजेशनका अध्यक्ष आनन्द बतासले आफू शेरबहादुर देउवाको निकटस्थ भएको र झापाको भद्रपुर ससुराली भएकाले केपी ओलीले ज्वाइँ भन्ने गरेको बताएका थिए ।

  • जनप्रतिनिधिसहित राप्रपा काभ्रे जिल्ला समिति एमालेमा समाहित, ओलीले गरे स्वागत (तस्बिरहरू)

    जनप्रतिनिधिसहित राप्रपा काभ्रे जिल्ला समिति एमालेमा समाहित, ओलीले गरे स्वागत (तस्बिरहरू)

    बनेपा । राष्ट्रिय प्रजातन्त्र पार्टीको सिंगो जिल्ला कार्य समिति नेकपा एमालेमा समाहित भएको छ । काभ्रे जिल्ला अध्यक्ष टुल्कु लामासहित कार्य समितिका सबै पदाधिकारी र सदस्य शुक्रबार एमालेको जिल्ला अधिवेशन उद्घाटन समारोहमा एमाले प्रवेश गरेका हुन् ।

    नवप्रवेशीलाई एमाले अध्यक्ष केपी शर्मा ओलीले स्वागत गरेका छन् । प्रवेश गर्नेमा उपाध्यक्ष श्रीदास लामा, गंगामाय लामा, सचिव धनजीत लामासहित कार्य समितिका पदाधिकारी र सदस्यहरू छन् ।

    प्रवेशीहरूमध्ये श्रीदास लामा रोशी गाउँपालिका वडा नम्बर १ का अध्यक्ष हुन् भने धनजीत लामा रोशी गाउँपालिका वडा नम्बर ३ बाट निर्वाचित वडाध्यक्ष हुन् । विभिन्न गाउँपालिकाबाट राप्रपाका कार्य समितिहरु नै एमालेमा प्रवेश गरेको सो अवसरमा जानकारी दिइएको थियो ।

    त्यस्तै सोही समारोहमा नेकपा क्रान्तिकारी माओवादीका प्रदेश कमिटी सदस्य गणेश थापामगर सहितको टोली एमाले प्रवेश गरेको थियो । सबै पार्टीबाट १२ सय बढी कार्यकर्ता एमाले प्रवेश गरेको जिल्ला इन्चार्ज तथा एमाले पोलिटब्यूरो सदस्य गोकुल बास्कोटाले जानकारी दिए ।

    रोशी गाउँपालिका महादेवटारबाट निर्वाचित वडाध्यक्ष तेजबहादुर राना मगरसमेत सोही समारोहबाट एमाले प्रवेश गरेका छन् । उनी माओवादीबाट निर्वाचित भएका हुन् ।

    बास्कोटाले उद्घाटन समारोहलाई सम्बोधन गर्दै बास्कोटाले केही खराब प्रवृत्तिका व्यक्तिहरूले एमाले छाड्दा धेरै राम्रा मान्छे र युवा पुस्ता एमालेमा समावेश भएको दाबी गरे ।

  • वार रुमबाट ओलीले एकैपटक गरे ६१ जिल्ला अधिवेशनको उद्घाटन

    वार रुमबाट ओलीले एकैपटक गरे ६१ जिल्ला अधिवेशनको उद्घाटन

    काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले केन्द्रीय कार्यालयको ‘वार रुम’ बाट एकैपटक देशभरका जिल्ला अधिवेशनको उद्घाटन गरेका छन् ।

    हिमाली जिल्लालगायत केही जिल्लामा अधिवेशन पछि हुने महासचिव शंकर पोखरेलले बताए । आज ६१ जिल्लामा एकैपटक अधिवेशन अध्यक्ष ओलीले उद्घाटन गरेपछि जिल्लाहरुमा अधिवेशन सुरू भएका छन् । विभिन्न कारणले रोकिएका जिल्लाहरूमा भने समयअनुकूल पारेर अधिवेशन हुनेछन् ।

    पार्टीका शीर्ष नेताहरू विभिन्न जिल्लामा केन्द्रित भएका छन् । आज अध्यक्ष ओलीले भर्चुअल माध्यमबाट जिल्ला अधिवेशन उद्घाटनपछि भौतिकरूपमा सम्बोधन गर्न काभ्रे जाँदैछन् ।

    तस्बिरहरू : उमेश कार्की । 

  • कम्युनिष्ट सरकार ढालेर सत्ता सुम्पनेले समाजवाद ल्याउँन सक्दैनन् : ओली

    कम्युनिष्ट सरकार ढालेर सत्ता सुम्पनेले समाजवाद ल्याउँन सक्दैनन् : ओली

    काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आफ्नै पार्टीको नेतृत्वमा रहेको कम्युनिष्ट सरकारलाई ढालेर अर्को दलको नेतृत्वमा सरकार बनाउनेले मुलुकमा समाजवाद ल्याउन नसक्ने टिप्पणी गरेका छन् ।

    अंग्रेजी नयाँ वर्ष सन् २०२२ का अवसरमा एमालेनिकट प्रवासी नेपाली मञ्च, अन्तर्राष्ट्रिय कमिटीले गएराति भर्चुअल माध्यमबाट आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा ओलीले स्थिरता र सुशासन नचाहने तत्वले एमालेको सरकार ढालेको आरोप लगाए ।

    नयाँ वर्षमा नयाँ जनतमतका साथ एमालेले समृद्धिका बाँकी कार्यभार पूरा गर्ने जनाउँदै सो कार्यमा निरन्तर सघाउन उनले प्रवासी नेपालीलाई आग्रह गरे ।

    कार्यक्रममा एमालेका विदेश विभाग प्रमुख डा. राजन भट्टराईले ‘समृद्ध नेपाल सुखी नेपाली’ को राष्ट्रिय आकांक्षा पूरा गराउन प्रवासी नेपालीको साथ रहने विश्वास जनाए ।

  • वामदेवको विश्लेषण- प्रचण्डको बोलीमा समाजवादी संस्कृति, केपीको मुखमा दुर्वचनमात्र

    वामदेवको विश्लेषण- प्रचण्डको बोलीमा समाजवादी संस्कृति, केपीको मुखमा दुर्वचनमात्र

    काठमाडौं । नेकपा एमालेको उपाध्यक्षबाट राजीनामा दिएपछि कुनै पार्टीमा नरहेका एकता अभियानका नेता वामदेव गौतमले प्रचण्डको प्रशंसा गर्दैगर्दा आफ्ना पूर्वसहकर्मी केपी शर्मा ओलीप्रति तीब्र कटाक्ष गरेका छन् ।

    गौतमले प्रचण्डको पछिल्लो भाषणको प्रशंसापछि ओली र प्रचण्डबीच गरेको तुलना उनकै मुखबाट जस्ताको तस्तै प्रस्तुत गरिएको छ ।

    नेकपा माओवादी केन्द्रका अध्यक्ष कमरेड प्रचण्डले आठौं राष्ट्रिय महाधिवेशन उद्घाटन समारोहमा शुभकामना दिने अतिथिहरू सबैलाई जुन सम्मान दिनुभयो र जसरी मुक्तकण्ठले प्रशंसा गर्नुभयो त्यसबाट म प्रभावित भएको छ । मैले लगत्तै आफ्नोतर्फबाट प्रचण्डजीलाई धेरै धेरै बधाई र धन्यवाद पनि दिएँ ।

    यसलाई सामान्यरूपमा लिएर टिकाटिप्पणी भए पनि यसको सार बुझ्न र मैले भन्न खोजेको कुरा के हो भनेर बुझाउन आवश्यक देखियो । यसमा मैले धेरै महत्वपूर्ण टिप्पणी गरेको छु । यो भनेको समाजवादी संस्कृति र कम्युनिस्ट संस्कारसँग जोडिएको कुरा हो ।

    हरेक सभामा विशेषगरी आफूले आयोजना गरेको कुनै पनि कार्यक्रममा अतिथिको आलोचना गरिँदैन । आफैंले निम्ता गरेर झ्याँको झार्ने काम कसैले पनि गर्दैन । उन (प्रचण्ड) को यसपटकको प्रस्तुति साँच्चै नै गज्जबको थियो ।

    ज जसले बोले त्यो सभामा, प्रचण्डले सबैको बारे टिप्पणी गरे । र, सबैको बोलीमा जे-जे सकारात्मक छ त्यसलाई मात्र उल्लेख गरे । त्यसमा आधारित हुँदाखेरि हामी सँगै जान सक्छौं भने । यहाँसम्म पनि राप्रपालाई पनि राष्ट्रियता र विकासको सन्दर्भमा हामी सँगै जान सक्छौं भने । सबैलाई प्रशंसा गरे ।

    यो संस्कृतिको विषय हो । कुन व्यक्ति कति सुसंस्कृत छ भन्ने कुराको प्रमाण हो । प्रचण्डले एक ठाउँ पनि दुर्वचन व्यक्त गरेनन् । जबकी केपी ओली कुनै मन्तव्य दिँदा सुरू गर्दाखेरि पनि त्यहाँभित्र भन्न सम्म पनि कति हो कति दुर्वचन र अन्त्यमा पनि दुर्वचन गरेर बोल्न उनको त्यस्तो बानी बसिसक्यो ।

    मैले हिजो पनि एउटा सानो वक्तव्य दिँदा यो कुरा उल्लेख गरेको छु केपीको नाम नलिईकन । यो संस्कृति समाजवादी संस्कृतिको अंग हो ।
    सधैँभरि अरुको खोइरो खन्ने, अरुमाथि प्रहार गर्ने र आफूभन्दा फरक व्यक्तिलाई शत्रु देख्ने विचार कुनै पनि समाजवादी संस्कृति हुन सक्दैन । त्यो अपसंस्कार र अपसंस्कृति हो । केपीजस्ता व्यक्तिहरूले अपसंस्कृति फैलाइरहेका छन् । समाजवादको नाममा, कम्युनिस्टको नाममा बदनाम गर्ने बाहेक अरु केही गरेका छैनन् भन्ने कुरा पनि मेरो वक्तव्यमा अन्तरनिहीत छ ।

  • ओलीलाई प्रचण्डको चेतावनी- धाक धम्की दिँदै हिँड्नेको हैसियत आउने चुनावमा देखिन्छ (भिडिओ)

    ओलीलाई प्रचण्डको चेतावनी- धाक धम्की दिँदै हिँड्नेको हैसियत आउने चुनावमा देखिन्छ (भिडिओ)

    काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमालेको हालत आउने चुनावले देखाउँने भन्दै अहिले धाक धम्की दिएर नहिँड्न केपी ओलीलाई चेतावनी दिएका छन् ।

    नेकपा (मसाल) बाट विद्रोह गरेको समूहसँग एकीकरण समारोहलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले माओवादी आगो हो र आगोसँग खेल्दा ओलीलाई बालुवाटारबाट बालकोट पुर्‍याइएको बताए । उनले ६ वटै प्रदेशबाट मुख्यमन्त्री चैट बनाइएको दाबी गरे ।

    प्रचण्डले भने, ‘अहिले धाक धम्की दिएर हिँडेका छन् । त्यो धाक धम्कीको अर्थ छैन । आउने निर्वाचनमा तिनीहरुको हैसियत देखिन्छ । कसको हालत के हुन्छ भन्ने कुरा देखिनेछ र देखिइसकेको छ ।’

    अध्यक्ष प्रचण्डले विभिन्न जिल्लामा गएर ओलीले माओवादी र मधेशवादी दलका नेताहरूलाई एमाले प्रवेश गराइरहेकोप्रति पनि कटाक्ष गरे ।

    उनले भने, ‘अवसरवादीहरू गाउँ-गाउँमा सिला खोज्दै हिडेका छन्, पार्टी प्रवेशका नाममा । तर, सुनारको सय चोट लोहारको एकै चोट । आज हामीले एकीकरण प्रक्रियाबाट कम्युनिष्ट आन्दोलनलाई बलियो बनाएका छौं ।’

  • तेजाब आक्रमणविरुद्धको कानून पारितपछि अभियन्ता थापाले ओलीलाई दिए धन्यवाद

    तेजाब आक्रमणविरुद्धको कानून पारितपछि अभियन्ता थापाले ओलीलाई दिए धन्यवाद

    काठमाडौं । तेजाब अपराधविरुद्धका अभियन्ता उज्ज्वलविक्रम थापाले तेजाव आक्रमणविरुद्धको कानून ल्याउन पहल गरेकोमा एमाले अध्यक्ष तथा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीप्रति आभार जनाएका छन् ।

    तेजाब आक्रमणविरुद्धको कानून पारित भएपछि थापाले ओलीलाई भेटेर यो कानून ल्याउन सबैभन्दा बढी योगदान गरेको भन्दै धन्यवाद दिएका हुन् ।

    ओली प्रधानमन्त्री भएका बेला तेजाब आक्रमण गर्नेलाई कठोर सजायसहित तेजाव बिक्रीमा समेत नियन्त्रण हुनेगरी अध्यादेश जारी भएको थियो । संसदबाट अध्यादेश पारित हुन नदिएको भन्दै ओलीले सत्ता गठबन्धनको आलोचना गरेका थिए ।

    थापाले सामाजिक संजालमार्फत प्रधानमन्त्री र सांसदहरूलाई समेत धन्यवाद दिएका छन् ।

  • कपिलवस्तुमा ओलीले भने- नेपालको खेत बाँझो राखेर भारतलाई पानी दिन सकिन्‍न

    कपिलवस्तुमा ओलीले भने- नेपालको खेत बाँझो राखेर भारतलाई पानी दिन सकिन्‍न

    रुपन्देही । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालको खेत बाँझो राखेर भारतलाई पानी दिन नसकिने बताएका छन् । कपिलवस्तुमा पुगेर भाषण गर्दै ओलीले नेपालको राजनीति अब विकास र समृद्धिमा केन्द्रीत हुनुपर्नेमा जोड दिए ।

    कपिलवस्तुको बहादुरगंजमा मंगलप्रसाद गुप्तासहितका नेता कार्यकर्तालाई पार्टी प्रवेश गराउँदै ओलीले देशलाई समृद्धितर्फ लैजाने यात्रा एमालेले सुरू गरेको बताए । मधेसमा नेकपा एमालेको जनलहर देखेर विरोधीहरुलाई जलन भएको उनले टिप्पणी गरे ।

    ओलीले भने, ‘केही लोभीपापीका कारण हामी सरकारमा त छैनौं, तर त्यो विधिले होइन जालझेलले हो । यसको फैसला चुनावपछि आउने परिणामले देखाउँछ ।’

    आज प्रवेश गरेका हजारौं जनाको संख्याले जनलहर कता गएको छ भन्ने देखाउने उनको भनाइ थियो ।

    मधेशमा एमालेको बढ्दो जनलहरले एमालेविरुद्ध लाग्नेहरूलाई जलन भएको भन्दै उनले आफ्नो कार्यकालमा मधेसमा गरेको विकासको अभियानले यो लहर बढ्दै गएको बताए ।

    कपिलवस्तुको उर्बर भूमिलाई सिंचाइ गर्नका लागि रोकिएको नौमुरे परियोजनालाई आफ्नो कार्यकालमा अगाडि बढाएको ओलीले स्मण गरे ।
    ‘यता नेपालतर्फ बाँझो जमिन छ उता भारततर्फ खेती भइरहेको छ, यो कदापी हुँदैन’ ओलीले भने, ‘कपिलवस्तुमा कृषि सिंचाइको लागि अब नौमुरे योजना छिट्टै सुरू हुन्छ ।’

    कपिलवस्तुलाई औद्योगिक सहर बनाउने योजनाका साथ अघि बढ्ने बताउँदै उनले हुलाकी राजमार्ग निर्माणका लागि विशेष ध्यान दिने उल्लेख गरे ।

    ओलीले भने, ‘म ७० वर्षको भएँ, १८ घण्टा काम गर्छु । तपाईंहरू पनि काम गर्नुस्, अनि मात्र पार्टी अघि बढ्छ ।’

    कार्यक्रममा नेकपा एमालेका महासचिव शंकर पोखरेलले एमाले आफ्नो कमजोरीले सरकारबाट नबाहिरिएकाले नै छिट्टै चुनावमा जान चाहेको बताए ।

    ‘हामी जनताबाट डराएका छैनौं, हामी चुनाव चाहन्छौं, परमादेशको गठबन्धन सरकार र यसैमा रमाएका सहयात्रीहरु चुनावबाट डराएका छन्,’ उनले भने ।

    कार्यक्रममा एमाले सचिवहरु लेखराज भट्ट, छविलाल विश्वकर्मालगायतले सम्बोधन गरेका थिए ।

    एमाले प्रवेश गरेका नेता मंगलप्रसाद गुप्ताले कपिलवस्तुलगायत यस क्षेत्रको विकासको गति थप अगाडि बढाउने बताए ।

    मंगलबार अन्य पार्टी परित्याग गरी ६ हजार नेता कार्यकर्ता नेकपा एमालेमा प्रवेश गरेको एमाले कपिलवस्तुका अध्यक्ष छविलाल पोखरेलले जानकारी दिएका छन् ।

  • जसपा नेतासहितलाई प्रवेशका लागि ओली कपिलवस्तुमा ( तस्बिरहरू)

    जसपा नेतासहितलाई प्रवेशका लागि ओली कपिलवस्तुमा ( तस्बिरहरू)

    रूपन्देही । नेकपा एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली कपिलवस्तुको बहादुरगन्ज आएका छन् ।

    एमाले रोजेका जसपा केन्द्रीय सदस्य मंगलप्रसाद गुप्तासहित विभिन्न पार्टीका नेता/कार्यकर्तालाई स्वागतका लागि ओली आएका एमाले सचिव छविलाल विश्वकर्माले बताए ।

    अध्यक्ष ओलीसँगै महासचिव शंकर पोखरेल, सचिव लेखराज भट्टलगायतका नेताहरू कपिलवस्तुमा छन् । ‌एमालेको शीर्ष नेतृत्व सोमबार साँझ रुपन्देही आएको थियो ।

    तस्बिरहरू : राजन काफ्ले । 

  • प्रचण्डको दाबी- ओलीलाई बचाउन ठूलो डिजाइन गरियो (भिडिओ)

    प्रचण्डको दाबी- ओलीलाई बचाउन ठूलो डिजाइन गरियो (भिडिओ)

    काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले निर्वाचन आयोगले संविधान र ऐनअनुसार काम गरेको भए केपी ओलीको अवस्था नाजुक बन्ने टिप्पणी गरेका छन् । ओलीको राजनीति जोगाउनका लागि ठूलो डिजाइन र षडयन्त्र भएको उनले बताए ।

    पुस ५ का सन्दर्भमा आयोजित एक कार्यक्रममा प्रचण्डले भने, ‘यदि निर्वाचन आयोगले कानूनअनुसार निर्णय लिएको भए केपी ओली पार्टीविहीन, चुनावचिन्हविहीन एउटा बबुरो नेता बन्नुहुने थियो । उहाँले अर्को पार्टी दर्ता गरेर चुनाव चिन्ह पनि अर्कै बनाइसक्नुभएको थियो । एउटा सेटिङअन्तर्गत उहाँलाई बचाइयो ।’

    प्रचण्डले ओली आज पनि प्रतिगमनकै बाटोमा रहेको बताए । माधव नेपाल गएको ठाउँमा केपी ओली नजानुलाई अलोकतान्त्रिक संस्कार भन्दै उनले आलोचना गरे ।

    प्रचण्डले भने, ‘माधवजी देखिएपछि त्यहाँ केपी ओली उपस्थित नहुने रे । कांग्रेस महाधिवेशनमा पनि आउनुहुन्न कि भनेको धन्न त्यहाँ चाहिँ आउनुभयो । निर्वाचन आयोगले, संसदले सबैले स्वीकारेर सरकारमा समेत सहभागी भएको पार्टीलाई मान्यता नदिनु कहाँसम्मको लोकतान्त्रविरोधि चरित्र हो ?’

    अहिले गठबन्धन टुट्छ भने नेपाली कांग्रेसलाई एकलौटी सरकार चलाउन दिने प्रस्ताव ओलीले राखेको भन्दै प्रचण्डले आलोचना गरे ।

  • ओलीको दाबी- प्रचण्ड र ज्ञानेन्द्रबीच सहमतिमा माघ १९ को उपद्रो भएको थियो (भिडिओ)

    ओलीको दाबी- प्रचण्ड र ज्ञानेन्द्रबीच सहमतिमा माघ १९ को उपद्रो भएको थियो (भिडिओ)

    काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले तत्कालीन राजा ज्ञानेन्द्र शाह र माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच सहमति भएर माघ १९ को घटना भएको दाबी गरेका छन् ।

    बुधबार एमालेका मनोनित केन्द्रीय सदस्यहरूलाई च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठानमा सपथ गराउने कार्यक्रमलाई सम्बोधन गर्दै यस्तो टिप्पणी गरेका हुन् ।

    ‘प्रचण्ड र ज्ञानेन्द्रबीचमा सहमति भएर त्यो उपद्रो भएको थियो,’ ओलीको भनाइ थियो, ‘के सहमति भएको थियो, कसका विरुद्ध सहमति भएको थियो ? त्यो प्रचण्ड र ज्ञानेन्द्रले भन्नुपर्‍यो नि ।’

    १९ माघमा ज्ञानेन्द्रले सत्ता हातमा लिँदै दलहरूमाथि प्रतिबन्ध लगाएर प्रत्यक्ष शासन सुरू गरेका थिए । ओलीले त्यही सहमतिपछि ज्ञानेन्द्रले माओवादीको बिनाकुनै अवरोध अभिनन्दन कार्यक्रम गर्न पाएको बताएका छन् ।

    ओलीको प्रश्न छ, ‘त्यही सहमतिपछि अभिनन्दन कार्यक्रम चलाइयो । हामी रुकुम, रोल्पा जान नसक्ने, ज्ञानेन्द्र खुलुमखुल्ला जान सक्ने कसरी भयो ?’

    ओलीले सेयर कारोबारीले चन्दा नदिएकाले प्रचण्डले सेयरबजारबारे टिप्पणी गरेको आरोप समेत लगाएका छन्। ‘प्रचण्डले सेयरबजारका बारेमा बडो क्रान्तिकारी भएर बोलेछन्, साम्राज्यवाद विकसित भएपछि शेयरबजारमा जान्छ भनेछन्,’ ओलीको भनाइ छ, ‘लेनिनभन्दा दुई कदमअघि बढेर नयाँ सिद्दान्त ल्याए छन् । कुन सेयर कारोबारीले चन्दा दिएन छन्, अनि त्यसविरुद्ध बोले । न रहे बाँस, नबजे बाँसुरी ।’

    ‘लेनिनले पुँजीवाद विकास भएर साम्राज्यवाद हुन्छ भनेका थिए । प्रचण्डले त्योभन्दा बढ्दा जान्ने भएर सेयर बजार साम्राज्यवादको विकसित रूप हो भनिदिए,’ ओलीले भने,‘त्यसबाट सेयरमा लगानी गर्ने जनताको जीवन के असर पर्छ कुनै मतलब छैन। कुन सेयर कारोबारीले चन्दा दिएन होला। अब म ध्वस्त पारिदिन्छु भनेर उनले त्यस्तो भनिदिए ।’

    ओलीले नेपाली कांग्रेसलक्षित टिप्पणी पनि गर्न छुटाएनन् । उनले जहिले पनि नेपाली कांग्रेसले गलत तत्वसँग साँठगाँठ गरेको आरोप लगाए ।

    ‘नेपाली कांग्रेसले अहिलेसम्म खराब तत्वसँग साँठगाँठ गर्ने र वामपन्थी परिवर्तनकारीका विरुद्धमा उभिने गर्‍यो,’ उनको भनाइ छ, ‘यो पहिलोदेखि अहिलेसम्म भएको छ । नेपाली कांग्रेसले प्रतिगामीहरूसँग साँठगाँठ गर्ने काम छोडोस् ।’

  • सभामुखलाई ओलीको चेतावनी- नियम देखाएर नधम्क्याए हुन्छ, नाङ्लो ठटाएर हात्ती तर्सिँदैन

    सभामुखलाई ओलीको चेतावनी- नियम देखाएर नधम्क्याए हुन्छ, नाङ्लो ठटाएर हात्ती तर्सिँदैन

    काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का अध्यक्ष एवम् संसदीय दलका नेता केपी शर्मा ओलीले ऐन र नियमका दफा देखाएर आफ्ना पार्टीका सांसदहरूलाई धम्की नदिन सभामुख अग्नीप्रसाद सापकोटालाई चेतावनी दिएका छन् ।

    मंगलबार संसदीय दलको बैठकमा बोल्दै दलका नेतासमेत रहेका ओलीले संसदमा एमाले सांसदहरूले विरोध जनाउँदा नियमावली आकर्षित हुन्छ भनेकोप्रति आपत्ति जनाएका हुन् । धम्की दिने जमाना गएको भन्दै नाङ्लो ठटाएर हात्ती तर्साउन नखोज्न उनलाई सभामुखलाई चेतावनी दिए ।

    ओलीले भने, ‘फेयर गराउन हामी बाध्य गराउँछौँ । संसद पनि फेयरल्ली चलाउनुपर्छ । त्यसैले नियमावली आकर्षित हुन्छ ? संसदीय भाषा, नियमावली आकिर्षित हुन्छ, कहाँ कहाँ नियमावली आकर्षित हुन्छ ? त्यसो भनेर धम्की दिने जमाना थियो होला, अब नदिए हुन्छ । नाङ्लो ठटाएर हात्ती तर्साउनु पर्दैन । निकाल्छु भन्नेहरुलाई कारवाही गर्छु भन्नेहरूलाई, नियमावली आकर्षित हुन्छ भन्नेहरूलाई, म आवेग, उत्तेजनामा नआउन सुझाव दिन्छु । आवेग उत्तेजनामा नआउनुस् । परिणाम नराम्रो होला ।’

  • ओली बोलेर हिँडेपछि भुकुटीमण्डपबाट धमाधम बाहिरिए सहभागी

    ओली बोलेर हिँडेपछि भुकुटीमण्डपबाट धमाधम बाहिरिए सहभागी

    काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशन उद्घाटन समारोहमा केपी ओली बोल्दा-बोल्दै माओवादी अध्यक्ष प्रचण्ड र नेकपा एसका अध्यक्ष माधवकुमार नेपाल पालैपालो बाहिरिए ।

    अझ रोचक दृष्यचाहिँ ओली बोलेर हिँडेपछि दर्शकदीर्घामा रहेका सहभागी पनि बाहिरिन थाले । ओली बोलेर हिँडेलगत्तै सहभागीहरू धमाधम निस्किन थालेका थिए ।

    त्यसपछि कांग्रेसका पदाधिकारीको लम्बेतान भाषण चल्न थालेपछि भृकुटीमण्डपको महाधिवेशनस्थलका कुर्सी खाली हुन थालेका छन् । सभापति शेरवहादुर देउवाले सम्बोधन गर्ने बेलासम्म साँझ झमक्क हुने देखिएको छ ।

  • देउवालाई बीचमा राखेर ओली-प्रचण्डको संवाद

    देउवालाई बीचमा राखेर ओली-प्रचण्डको संवाद

    काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाविशेनलाई सुभकामना दिन नेकपा (एमाले) का केपी शर्मा ओली, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललगायत आए ।

    संयोग नै मान्नुपर्छ कांग्रेस माधिवेशनले नै तत्कालीन नेकपाबाट विभाजित भएका नेताहरु ओली, प्रचण्ड र माधव नेपाललाई धेरै पछि एकै मञ्च सेयर गर्ने अवसर जुरायो । गत पुसदेखि ओली र प्रचण्डबीच प्रत्यक्ष भेट भएको थिएन । त्यस्तै ओली माधव नेपाल भेट गत २३ असारयता भएको थिए ।

    एकअर्काको अस्तित्व अस्वीकार गर्दै आएका उनीहरूले कांग्रेस कार्यक्रमको शुरुवातमा संवादको त कुरै छाडौं इसारले एकआपसमा समेत हेरेनन् । ओली कार्यक्रममा ढिला आएका थिए । उनी आउँदा मञ्चमा बसेका नेताहरूले नमस्कार गर्दै स्वागत गरेका थिए ।

    तर, कार्यक्रमको अन्तिममा भने यस्तो अवस्था तोडियो । आफ्नो सम्बोधन सकेर प्रचण्डले देउवासँग कार्यक्रमबाट बिदा माग्दै थिए। त्यही बेला आफूले सम्बोधन गरिरहेको माइक बन्द भएपछि ओली पनि पोडिएयमबाट आफू पहिले बसिरहेकै स्थानमा आए ।

    त्यही बेला ओली र प्रचण्डबीच संक्षिप्त भलाकुसारी भयो । प्रचण्डले कार्यक्रमबाट बिदा हुँदै गर्दा देउवालाई नमस्कार फर्काए । जानै लागेका प्रचण्डलाई ओलीले पनि हात उठाउँदै नमस्कार गरे । लगत्तै प्रचण्डले पनि जवाफमा हात फर्काए । माधव नेपालले भने पहिले नै मञ्च छोडिसकेका थिए ।

    आज भएको ओली-प्रचण्डको संवादले उनीहरूबीचको तिक्ततालाई थोरै भए पनि कम गर्ला कि ।

  • प्रचण्ड-माधवलाई ओलीको जवाफ- केही साना दललाई कांग्रेसले हात समाउन छाड्ला भन्ने डर छ (भिडिओ)

    प्रचण्ड-माधवलाई ओलीको जवाफ- केही साना दललाई कांग्रेसले हात समाउन छाड्ला भन्ने डर छ (भिडिओ)

    काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कांग्रेस महाधिवेशनलाई शुभकामना दिने क्रममा प्रचण्ड-माधवलाई व्यंग्यात्मक कटाक्ष गरेका छन् । आफूलाई लक्षित गर्दै प्रचण्ड र माधव नेपालले दिएका अभिव्यक्तिको एकैपटक जवाफ दिँदै ओलीले कांग्रेसले हात समात्न छाड्छ कि भनेर उनीहरू डराइरहेको टिप्पणी गरे ।

    ओलीले भने, ‘केही साना दललाई कांग्रेसले हात समात्न छाड्छ कि भन्ने चिन्ता छ । केही साना दललाई कांग्रेसले हात समात्न छाड्छ कि भन्ने चिन्ता छ, सँगै जानुपर्छ भनेको त्यहि डर हो । सँगै जान भनेको सरकारमा मात्र होइन चुनावमा पनि । सँगै जाने भनेको सरकारको लागि कि विकास र सम्मृद्धिको लागि । सरकारबाट हट्नुपर्ने हो कि भन्ने कतिपयलाई चिन्ता होला तर एमालेलाई छैन । हामी सँगै छैनौ र ? एमाले एक्लै हिड्न रहर गर्दैन र अरुको भरमा राजनीति पनि गर्दैन ।’

    ओलीले कांग्रेसलाई अरुको नीतिको पछाडि हिँड्ने होइन आफ्नो नीतिमा अरुलाई हिँडाओस् भन्ने शुभकामना दिँदै देउवालाई प्रधानमन्त्री होइन सरकारको नेता बन्न सुझाव दिए ।

  • कांग्रेसलाई सम्झाउन जान्छु भन्दै ओली हिँडे, एमाले र कांग्रेसबाहेक अरु पार्टी स्याटेलाइटमात्र (भिडिओ)

    कांग्रेसलाई सम्झाउन जान्छु भन्दै ओली हिँडे, एमाले र कांग्रेसबाहेक अरु पार्टी स्याटेलाइटमात्र (भिडिओ)

    काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालमा राजनीतिक पार्टी भनेको नेकपा एमाले र नेपाली कांग्रेसमात्र रहेको बताएका छन् । एमाले प्रमुख पार्टी भएको र कांग्रेसलाई सही बाटोमा ल्याउनु एमालेको दायित्व रहेको समेत ओलीले बताए ।

    वागमती प्रदेश कमिटीको कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले आफू कांग्रेस महाधिवेशनमा शुभकामना दिन जान लागेको र उसलाई सही बाटोमा हिँड्न सम्झाउने समेत बताए ।

    ओलीले एमाले र कांग्रेसबाहेक अरु पार्टीको औचित्य नरहेको र उनीहरु पृथ्वीको वरिपरि घुम्ने स्याटेलाइनजस्तै रहेको बताए । अहिले केही पार्टी कांग्रेसको स्याटेलाइटका रुपमा रहेको भन्दै प्रचण्ड माधव पक्षमाथि व्यंग्य समेत गरे ।

    ओलीले भने, ‘कांग्रेस पूरानो पार्टी हो । त्यसलाई लोकतान्त्रिक मूल्य मान्यतामा हिडाउने कोशिस गर्नु हाम्रो कर्तव्य हो । नत्र एमाले एक्ल हुन्छ । अरु त राजनीतिक पार्टी नै होइनन,पृथ्वीका वरिपरि घेरै स्याटेलाइट हुन्छन् तर ती स्टार होइनन् ।’
  • ओली अस्वस्थ, तर पनि महतलाई दिए कांग्रेस महाधिवेशनमा उपस्थित हुने आश्वासन

    ओली अस्वस्थ, तर पनि महतलाई दिए कांग्रेस महाधिवेशनमा उपस्थित हुने आश्वासन

    काठमाडौं । अस्वस्थ भएर प्रेस चौतारी नेपालले आयोजना गरेको साक्षात्कारमा सहभागी नभएका एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली शुक्रबार उद्घाटन हुने कांग्रेस महाधिवेशनलाई शुभकामना दिन जालान् ? विहीबार ओली अस्वस्थ भएको समाचारपछि संशय उत्पन्न भएको छ ।

    यद्यपि बुधबार विहान महाधिवेशनमा आइदिनका लागि अनुरोध गर्न बालकोट पुगेका कांग्रेस सहमहामन्त्री तथा प्रधानमन्त्री शेरबहादुर देउवाका प्रतिनिधि डा. प्रकाशशरण महतलाई भने ओलीले आफू भृकुटीमण्डपको उद्घाटन समारोहमा आउने आश्वासन दिएका थिए ।

    यसअघि कांग्रेसको औपचारिक निम्तो लिएर गएका मुख्यसचिव कृष्णप्रसाद पौडेललाई पनि अध्यक्ष ओलीले महाधिवेशनमा आउने बताएका थिए । ओलीको आतिथ्य निश्चित गर्न गएका महतले पनि एमाले अध्यक्ष सहभागी हुने बताएका छन् ।

    एमालेको महाधिवेशनमा प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवा उपस्थित भएर शुभकामना दिएका थिए । एक वर्षअघि तत्कालीन नेकपामा आफूलाई अध्यक्ष तथा प्रधानमन्त्रीबाट हटाउन प्रचण्ड-माधव समूहले निर्णायक कदम चालेदेखि यी तीन नेता एकै मञ्चमा उपस्थित भएका छैनन् ।

    शुक्रबार कांग्रेस महाधिवेशनमा ओली उपस्थित भए भने प्रचण्ड-माधवसँग पहिलोपटक एकै मञ्चमा भेटिनेछन् । ओलीको स्वास्थ्यमा रुघाका कारण समस्या भए पनि कांग्रेस महाधिवेशनमा जाने निर्णय रद्द नभएको सचिवालयले जनाएको छ ।

  • चोलेन्द्र हटाएपछि एमालेको पालाका नियुक्ति खारेज गर्ने सेटिङ भइसकेको ओलीको दाबी

    चोलेन्द्र हटाएपछि एमालेको पालाका नियुक्ति खारेज गर्ने सेटिङ भइसकेको ओलीको दाबी

    काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबरालाई हटाएपछि आफ्नो सरकारका पालाका संवैधानिक नियुक्तिहरू खारेज गर्ने लगायतका सेटिङ मिलाइ सकिएको सूचना आफूले पाएको बताएका छन् ।

    बार पदाधिकारी र वरिष्ठ अधिवक्ताहरूसँगको छलफलमा ओलीले असार २८ को परमादेशदेखि नै सेटिङ भएको र अहिले आफू अनुकुल प्रधानन्यायाधीश बनाएर मुद्दाहरू मिलाउन खोजिएको समेत बताए ।

    ओलीले भने, ‘एकजना वरिष्ठ अधिवक्ता (शम्भु थापा) ले भन्नुभयो हामीले न्यायाधीश हटाई हटाई अर्का न्यायाधीश राखेर तिम्रो पक्षमा फैसला पार्देको गुन तिर्नु पर्दैन ? अर्को श्रीमान्‌को कुरा पनि आयो संविधानबाहिर गएर केपी ओलीलाई हटाउनुपर्‍यो । अर्को चाहिँ एक पक्षका वकिलहरूमात्र बस्नुभयो अबका मुद्दा के के गर्ने ?, कसलाई राजीनामा गराउने ? त्यसपछि त्यो बेला भएका नियुक्ति यसो-यसो गर्ने भनेर बसेको होइन ? सेटिङ के-के कुरामा थियो ? कुन-कुन वस्तुका लेनदेन भए ? तपाईंहरूले नै पोल खोलाखोल गरिरहनुभएको छ ।’

    प्रधानन्यायाधीश चोलेन्द्र हटाएर के-के गर्ने भन्ने तय भइसकेकोले आफू व्यक्तिको पछि नलाग्ने उनले प्रष्ट पारे । ओलीले बारको माग न्यायपालिका सुधारको लागि २० प्रतिशतमात्र रहेको भन्दै १०० पुर्‍याएर ल्याउन सुझाव दिए । उनको संकेत परमादेश जारी गर्ने पाँचै न्यायाधीशविरुद्ध महाअभियोगको माग ल्याउनुपर्ने बुझिन्छ ।

  • ओलीको प्रश्न- देउवा र प्रचण्डको कुरा सुन्नु भएन ? तपाईंहरूको महाअभियोग दर्तै हुँदैन (भिडिओ)

    ओलीको प्रश्न- देउवा र प्रचण्डको कुरा सुन्नु भएन ? तपाईंहरूको महाअभियोग दर्तै हुँदैन (भिडिओ)

    काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा प्रमुख विपक्षी दलका नेता केपी शर्मा ओलीले प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबराविरुद्ध महाअभियोग नै दर्ता हुन नसक्ने बताएका छन् ।

    महाअभियोगमा सहयोगको याचना गर्दै बालकोट पुगेका बार पदाधिकारी तथा वरिष्ठ अधिवक्ताहरूसँग ओलीले परमादेशमा सेटिङ गर्नेहरूकै कुरा बाझिएको बताए । परमादेश माग गर्ने बार र वरिष्ठ अधिवक्ता महाअभियोगको पक्षमा रहे पनि सत्ता गठबन्धन विपक्षमा रहेको ओलीको भनाइ थियो ।

    ओलीले भने, ‘प्रधानमन्त्री शेरबहादुर देउवाले भनेको सुन्नु भएन ? गजेन्द्र हमाल कांग्रेसको कोटाबाट मन्त्री भएका हुन् । अर्को नेता (प्रचण्ड) ले उहाँ त कांग्रेसको कोटाबाट हो चोलेन्द्रको कोटा होइन भन्नुभयो । लेनदेन भएकै होइन भनिरहेको छ भने महाअभियोग कसरी दर्ता हुन्छ ? दर्तै हुँदैन तपाईंहरूको महाअभियोग ।’

    अहिलेको समस्या पाँच दलीय सत्ता गठबन्धनले अदालतमा सेटिङ मिलाएका कारण उत्पन्न भएको र यसबाट सबै पाँचैजना न्यायाधीश संलग्न रहेको बताउँदै ओलीले हिजो परमादेश दिलाउने वकिलहरूप्रति आफ्नो पूर्वाग्रह नरहेको प्रष्ट पारे ।

    चोलेन्द्र शमसेर जबरालाई हटाउँदैमा वा राजीनामा गर्दैमा समस्या समाधान नहुने र राणा हटाएर के गर्ने भन्ने कुरा तय भइसकेकाले त्यो झन् खतरनाक रहेको ओलीले बताए ।

    ओलीले भने, ‘शेरबहादुरजी भनिरहनुभएको छ मलाई प्रधानमन्त्री बनाइदिएको छ, म कसरी हटाउँछु । राणाजी भनिरहनुभएको छ म संवैधानिक प्रक्रियाबाट मात्र छाड्छु । अझ सुनिन्छ एकपक्षका न्यायाधीश र वकिल बसेर चोलेन्द्र हटाएपछि कुन-कुन मुद्दामा कसरी फैसला गर्ने भन्ने सेटिङ भइसकेको छ ।’

  • पदबहाली गर्दै ओलीले भने- एमालेले निकालेका व्यक्ति संसदमा स्वीकार्दैनौं (भिडिओ)

    पदबहाली गर्दै ओलीले भने- एमालेले निकालेका व्यक्ति संसदमा स्वीकार्दैनौं (भिडिओ)

    काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले फेरि पनि संसद अवरुद्ध गर्ने संकेत गरेका छन् । शुक्रबार दोस्रोपटक पार्टी अध्यक्षको कार्यभार सम्हाल्दै ओलीले संसद चल्न नदिने बताए ।

    ‘हामीले निष्कासन गरेका व्यक्तिहरू संसदभित्र राखेर कसरी संसद चल्न सक्छ ?,’ ओलीले भने, ‘हामीले निष्कासन गरेका व्यक्तिहरु फेरि संसदमा आउँछन् भने हामी स्वीकार गर्न सक्दैनौं ।’ सरकारले २८ गते संघीय संसदका बैठक आह्वान गरेको छ।

    एकीकृत समाजवादीका सांसदहरुलाई अवैध भन्दै एमालेले यसअघि लामो समय संसद अवरोध गरेको थियो।

    ओलीले अहिलेको गठबन्धनबाट देश र सरकार दुवै नचलिरहेको समेत आरोप लगाए। उनले भने, ‘गठबन्धनको सरकारबाट देश चलिरहेको छैन् । सरकार चलिरहेको छैन् । यस्तोलाई चलेको भन्ने हो भने त नचलेको कस्तोलाई भन्ने रु यस्तो अर्कमन्यता लम्ब्याउनु हुँदैन भनेर हामीले चाँडै आमचुनावमा जानुपर्छ भनेर भनेका छौं ।’

    सर्वोच्चमा अहिले व्यवधान सिर्जना गरिएको भन्दै ओलीले पाँच दलीय गठबन्धनका कारण विकृति आएको आरोप लगाए। ‘अदालतको हुर्मत लिने काम भइरहेको छ,’ उनले भने, ‘गलत फैसला गराएर हुर्मत लिने काम भएको छ। त्यो आफैं उहाहरु भन्नुहुन्छ । समाधानका लागि उहाँहरु गलत प्रेस्कृपिस्न दिइरहनु भएको छ।’

  • ओलीले सम्हाले दोस्रोपटक एमाले अध्यक्षको पदभार (तस्बिरहरू)

    ओलीले सम्हाले दोस्रोपटक एमाले अध्यक्षको पदभार (तस्बिरहरू)

    काठमाडौं । नेकपा एमालेका नवनिर्वाचित अध्यक्ष केपी शर्मा ओलीले पदभार सम्हालेका छन् । चितवनमा सम्पन्न १०औं राष्ट्रिय महाधिवेशनबाट निर्वाचित ओलीले थापाथलीस्थित पार्टी केन्द्रीय कार्यालय पुगेर पदबहाली गरेका हुन् ।

    उनीसँगै उपाध्यक्ष, महासचिव, सचिवलगायतका पदाधिकारी तथा अनुशासन, निर्वाचन र लेखा आयोगको कार्यकक्ष पनि तयार गरिएको छ ।

    प्रतिस्पर्धी भीम रावललाई भारी मतान्तरले हराउँदै ओली अध्यक्षमा निर्वाचित भएका हुन् । एमालेमा दोस्रोपटक अध्यक्ष बनेका ओलीको कार्यकाल पाँच वर्षको हुनेछ ।

  • माधव नेपाल छाड्ने समूहको मत जोगाउन भीम रावल असफल, यस्तो रह्यो मतान्तर

    माधव नेपाल छाड्ने समूहको मत जोगाउन भीम रावल असफल, यस्तो रह्यो मतान्तर

    काठमाडौं । एमाले अध्यक्षको प्रतिस्पर्धामा रहेका नेता भीम रावलले सोचेभन्दा पनि निकै कम मत प्राप्त गरेका छन् । अध्यक्ष केपी शर्मा ओलीलाई राजनीतिकरूपमा चुनौती दिए पनि मतको हिसाबले रावल कमजोर देखिएका हुन् ।

    एमालेमा १० बुँदे सहमति गरेर माधव नेपाल छाडेको समूहका पनि सबै मत रावलले पाउन नसकेको मत परिणामले देखाएको छ । कुल २०९६ मतमध्ये अध्यक्ष ओलीले १८३७ मत प्राप्त गरेर विजय हासिल गर्दा रावलले २२३ मतमात्र प्राप्त गरेका छन् ।

    देशभरबाट माधव नेपाल छाडेको समूहका करिब ५०० महाधिवेशन प्रतिनिधि निर्वाचित भएको दाबी गरिएको थियो । तर, रावलले पाएको मत भने त्यो भन्दा पनि निकै कम छ ।

    १० बुँदे पक्षधर अधिकांश नेता अध्यक्ष ओलीको प्रस्तावमा विभिन्न पदमा सेटल भएका कारण पनि रावलले सो समूहको सबै मत प्राप्त गर्न नसकेको अनुमान छ ।

    उसै पनि १० बुँदे सहमति लागू गर्ने सन्दर्भमै सो समूहका नेताहरू विभाजित भएका थिए । अष्टलक्ष्मी शाक्य, सुरेन्द्र पाण्डे, युवराज ज्ञवाली, योगेश भट्टराई, गोकर्ण विष्टलगायतका नेताहरूले आ-आफ्नो क्षेत्रमा १० बुँदे सहमति संस्थापन पक्षसँग मिलेरै लागू गरेका थिए ।

    तर, रावलको क्षेत्रमा उनीनिकट अधिकांश नेता नेकपा एसमा लागेका कारण १० बुँदेको किचलो बढेको थियो ।

  • केपी ओली र भीम रावल दुवैलाई अध्यक्ष नचाहनेले गरे ‘नो भोट’

    केपी ओली र भीम रावल दुवैलाई अध्यक्ष नचाहनेले गरे ‘नो भोट’

    काठमाडौं । नेकपा एमालेको १०औं राष्ट्रिय महाधिवेशनमा अध्यक्ष पदका लागि भएको निर्वाचनमा केही प्रतिनिधिले दुवै अध्यक्षलाई मत दिन्नँ भन्ने पक्षमा मत जाहेर गरेको पाइएको छ ।

    निर्वाचन आयोगका सदस्य सानुराजा पोखरेलले नेपाल प्रेसलाई दिएको जानकारी अनुसार ‘नो भोट’ को संख्यालाई घटाएर बाँकी मतमा अध्यक्ष केपी शर्मा ओलीले १८०८ मत प्राप्त गरेका हुन् ।

    पोखरेलले भने, ‘विद्युतीय मतदानमा बदर भन्ने हुन्न तर केही नो भोटसमेत रहेकाले खसेजति मत उम्मेदवारले पाउन सकेनन् । त्यसैले खसेको मत र दुई उम्मेदवारले पाएको मत जोड्दा हिसाब मिल्दैन ।’

    ओली र रावलले पाएको मत जोड्दा खसेको कुल मतभन्दा ७५ कम हुन्छ । ७५ जना प्रतिनिधिले ‘नो भोट’ गरेको अनुमान छ । विद्यु्तीय मेसिनबाट भएको मतदानमा मत बदरको सम्भावना हुँदैन ।

  • भारी मतसहित एमालेमा दोस्रोपटक ओली विजयी

    भारी मतसहित एमालेमा दोस्रोपटक ओली विजयी

    काठमाडौं । नेकपा एमाले अध्यक्षमा केपी शर्मा ओली दोस्रोपटक निर्वाचित भएका छन् ।

    चितवनमा सम्पन्न १०औं महाधिशनमा भीम रावललाई फराकिलो मतान्तरले पराजित गर्दै ओली आगामी पाँच वर्षका लागि अध्यक्ष बनेका हुन् ।

    एमाले निर्वाचन आयोगका सदस्य सानुराजा पोखरेलले नेपाल प्रेसलाई दिएको जानकारी अनुसार अध्यक्ष पदमा केपी शर्मा अ‍ोलीले १८३७ मत प्राप्त गरेर विजयी भएका हुन् । उनका प्रतिस्पर्धी भीम रावलले २२३ मत प्राप्त गरेका छन् ।

    पोखरेलले भने, ‘विद्युतीय मतदानमा बदर भन्ने हुन्न तर केही नो भोटसमेत रहेकाले खसेजति मत उम्मेदवारले पाउन सकेनन् । त्यसैले खसेको मत र दुई उम्मेदवारले पाएको मत जोड्दा हिसाब मिल्दैन ।’

    एमालेमा सर्वसम्मति प्रयास असफल भएपछि ओली र रावलबीच चुनाव भएको थियो । अघिल्लो नवौं महाधिवेशनमा माधव नेपाललाई झिनो अन्तरले पराजित गरेका ओलीले यसपाली रावलमाथि सहज जित हासिल गरेका छन् ।

    निर्वाचन आयोगले केही बेरमा मतपरिणामको आधिकारिक घोषणा गर्दैछ ।

  • एमाले अध्यक्षमा ओलीको अग्रता, भीम रावल फराकिलो मतान्तरले पछाडि

    एमाले अध्यक्षमा ओलीको अग्रता, भीम रावल फराकिलो मतान्तरले पछाडि

    काठमाडौं । नेकपा एमालेको अध्यक्षमा केपी शर्मा ओलीले भारी मतले अग्रता लिएका छन् । विद्युतीय भोटिङ मेसिनबाट भइरहेको मतगणनामा प्रतिस्पर्धी भीम रावललाई ठूलो मतान्तरले पछि पार्दै ओली विजयनिकट पुगेका हुन् ।

    ओलीले ५ सय मत कटाउँदा रावले एक सय मतभन्दा तलै छन् ।

    निर्वाचन आयोगका अध्यक्ष डा. विजय सुब्बाले अहिले सबै पदको गणना भइरहेको र साढे ३ बजेसम्म एकैपटक सबै नतिजा सार्वजनिक गरिने बताए । नवनिर्वाचित सदस्यहरूको सपथग्रहण ४ बजे तोकिएको छ ।

  • ओलीको घोषणा- अब चुनावको तयारीमा लाग्छौं, एकल बहुमत ल्याउँछौं (भिडिओ)

    ओलीको घोषणा- अब चुनावको तयारीमा लाग्छौं, एकल बहुमत ल्याउँछौं (भिडिओ)

    काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले देशको सार्वभौमसत्ताको रक्षा र विकासका लागि एमालेको एकल बहुमत चाहिएको बताएका छन् । उनले महाधिवेशनपछि आफ्नो पार्टी चुनावको तयारीमा लाग्ने उद्घोष गरे ।

    पार्टीको १० औं महाधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्दै ओलीले यसअघि जनादेशका लागि जान खोज्दा रोकिएको स्मरण गरे । अरु राजनीतिक शक्तिहरुले जनतामा जान डराएर चुनाव रोकेको उनको टिप्पणी थियो ।

    ओलीले भने, ‘निकट भविष्यमा चुनावहरू आउँदैछन् । म भन्न चाहन्छु, हामी अब चुनावको तयारीतर्फ पनि जानेछौं । जनमतको तयारी गर्नेछौं । अब हामीले यस देशका लागि एकल बहुमत ल्याउनुपर्ने छ ।’

    देशको सार्वभौमसत्ता र लोकतनत्रको रक्षाको लागि एमालेको बहुमत चाहिएको ओलीको भनाइ थियो ।

    ‘संविधानको गलत व्याख्यालाई जनादेशबाट सच्याएर अघि बढ्नका लागि एमालेले बहुमत ल्याउनुपर्छ,’ ओलीले भने ।

  • महाधिवेशनपछि पूर्वलडाकुको व्यवस्थापन गर्नेछौं : ओली (भिडिओ)

    महाधिवेशनपछि पूर्वलडाकुको व्यवस्थापन गर्नेछौं : ओली (भिडिओ)

    काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले महाधिवेशनपछि आफ्नो पार्टीले माओवादीका पूर्वलडाकुहरूको व्यवस्थापन गर्ने दाबी गरेका छन् । १०औं हजार पूर्वलडाकुहरू एमालेमा प्रवेश गर्ने तयारीमा रहेको उनले बताए ।

    चितवनमा आयोजित एमालेको १०औं महाधिवेशन उद्घाटन समारोहमा ओलीले आफ्ना लडाकुहरूको व्यवस्थापन गर्न नसकेको भन्दै प्रचण्डको आलोचना गरेका थिए ।

    ओलीले भने, ‘अहिलेसम्म पनि शान्ति प्रक्रिया टुंगिएको छैन । प्रचण्डजीहरू अहिलेसम्म पनि शान्ति प्रक्रिया किन टुंगो लगाउनुहुन्न ? किन घाइतेहरूको उपचार हुँदैन ? किन झूटा मुद्दा खारेज हुँदैन ? किन बहिर्गमित लडाकुको व्यवस्थापन हुँदैन ? मन परेका मान्छेलाई १०/१० हजार बाँडेर यो समस्या समाधान हुन्छ ?’

    उनले थपे, ‘हिजो प्रधानमन्त्रीले गर्न दिएन भनेर भाषण गर्नुहुन्छ । आज प्रधानमन्त्री नभए पनि सरकार मेरै कठपुतली हो, म नचाइदिन्छु भन्नुहुन्छ । पावर देखाउनुस् । समस्या समाधान गर्नुस् लडाकुका ।’

    महाधिवेशन सकिनेबित्तिकै पूर्वलडाकुहरूको व्यवस्थापन गर्ने भन्दै अलमलमा परेर माओवादीमा लागेकाहरुई एमालेमा आउन आह्वान गरे ।

    ‘हिजो केका लागि बलिदान दिनुभएछ देखिहाल्नुभयो । कसलाई मेयर बनाउन रहेछ । कसलाई मन्त्री बनाउन रहेछ देख्नुभयो । कुल्ली दाइले बाटो बनायो, तर गाडी अर्कैंले कुदायो ।’ ओलीले भने ।

    ‘नेकपा एमाले तपाईंहरूको पार्टी हो । हिजो गल्तीले अलमलमा पर्नुभो । अब नपर्नुस् । एमाले द्वन्द्वका घाउहरू समाप्त पार्न चाहन्छ । शान्ति प्रक्रिया टुंग्याउन चाहन्छ । मलाई लाग्छ प्रधानमनत्री चाहनुहुन्छ भने पनि अहिलेको सरकारले सक्दैन । यो हामी गर्नेछौं ।’

  • देउवालाई ओलीले भने- हिजो मलाई काम गर्न नदिनेहरू आज तपाईंका खुट्टा तानिरहेका छन् (भिडिओ)

    देउवालाई ओलीले भने- हिजो मलाई काम गर्न नदिनेहरू आज तपाईंका खुट्टा तानिरहेका छन् (भिडिओ)

    काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफू सरकारमा छँदा अप्ठेरोमा पार्नेहरुले नै अहिले देउवालाई काम गर्न नदिएको हुन सक्ने आशंका गरेका छन् । आफ्नो खुट्टा तान्नेहरूले नै अहिले देउवाको खुट्टा समातिरहेको उनले टिप्पणी गरे ।

    पार्टीको १० औं महाधिवेशन उद्घाटन समारोहमा बोल्दै ओलीले भने, ‘प्रधानमन्त्रीज्यू यहीँ हुनुहुन्छ । उहाँलाई अतिथि बनाएर सरकारका विषयमा टिप्पणी गर्नु वाञ्छनीय हुँदैन । तर, प्रधानमन्त्रीजीलाई पनि गाह्रो छ कि ? मलाई अप्ठेरो पार्ने र खुट्टा तान्नेहरू आज उहाँको खुट्टा सामातिराख्या छन् ।’

    ओलीले आगामी चुनावबाट एमालेको सरकार बन्ने सँगै मञ्चमा रहेका देउवालाई सुनाए ।

    ‘प्रधानमन्त्रीजीकै सामु एउटा गोपनियता खुस्काउनुपर्ने भयो,’ ओलीले भने, ‘त्यो के भने आउँदो चुनावपछि एमालेको सरकार बन्छ । स्थानीय तहमा ५० प्रतिशतभन्दा बढी सिट एमालेले हासिल गर्छ ।’

  • कमल थापाले भने- यी दुई कामका लागि ओली र एमालेलाई मुलुकले सम्झिरहनेछ (भिडिओ)

    कमल थापाले भने- यी दुई कामका लागि ओली र एमालेलाई मुलुकले सम्झिरहनेछ (भिडिओ)

    चितवन । राप्रपा अध्यक्ष कमल थापाले महत्वपूर्ण २ कामका लागि मुलुकले केपी शर्मा ओली र नेकपा एमालेलाई स्मरण गरिरहने बताएका छन् ।

    एमालेको दशौं महाधिवेशनको उद्घाटन समारोहमा शुभकामना मन्तव्य दिँदै थापाले सिके राउतको पृथकतवादी आन्दोलन र विप्लवको सशस्त्र आन्दोलनलाई शान्तिपूर्ण अवतरण गराउनु ओली र एमालेको पहिलो सफलता भएको बताए । त्यस्तै लिम्पियाधुरासहितको चुच्चे नक्सालाई संविधानको अंग बनाउने काम अर्को महत्वपूर्ण र स्मरणीय योगदान भएको बताए ।

    ‘२ वटा प्रमुख कामका निम्ती केपी ओली र यो देशले सम्झिराख्नेछ । पहिलो काम मधेशमा देखिएको पृथकतावादी आन्दोलन र विप्लव माओवादीलाई शान्तिपूर्ण राजनीतिमा ल्याउनु हो । दोस्रो सबैभन्दा लिम्पियाधुरा समेत समेटेर चुच्चे नक्सा बनाएर त्यसलाई संविधानमा समेटेर नेपाल र नेपाली जनतालाई अविष्मरणीय गुण लगाउनुभएको छ’, थापाले भने ।

    उनले २०६३ सालको राजनीतिक परिवर्तनबारे एमालेले समीक्षा गर्नुपर्ने सुझाव पनि दिए ।

  • प्रचण्डलाई ओलीको कटाक्ष- नातिनीहरूले बेलायतमा शिक्षा पाएका छन्, खुसी लाग्छ (भिडिओ)

    प्रचण्डलाई ओलीको कटाक्ष- नातिनीहरूले बेलायतमा शिक्षा पाएका छन्, खुसी लाग्छ (भिडिओ)

    काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माओवादीले ‘महान जनयुद्ध’ भनेर युवाहरूलाई ठगेको आरोप लगाएका छन् । माओवादी नेताले जनताका छोराछोरीलाई युद्धमा होमेर आफ्ना सन्तानलाई विदेशमा पढाएको भन्दै उनले कटाक्ष गरे ।

    माओवादी अध्यक्ष प्रचण्डलाई लक्षित गर्दै ओलीले उनका दुवै नातिनीहरुले बेलायतमा शिक्षा पाएकोमा आफूलाई खुशी लाग्ने बताए ।

    ओलीले भने, ‘राम्रो कुरा हो, उहाँका दुवै छोरीका छोरीहरू बेलायतमा पढ्छन् । एकदम खुशीको कुरा हो । भरतपुरकी छोरीको पनि पढ्छिन् अर्कीको पनि । नातिनीहरुले राम्रो शिक्षा पाएका छन् खुशी लाग्छ ।’

    उनले थपे, ‘तर सुखमय जिन्दगी तिनको मात्रै नबनोस । अरुका छोराछोरीलाई बर्बाद गरिदिने, उल्क्याएर देशलाई द्वन्द्वमा फसाइदिने । कत्तिका कोख रित्तिए ? कतिका सिउँदो पुछिए ? के यो ठीक हो ? ’

  • ‘फ्ल्यास ब्याक’ मा एमाले नवौं महाधिवेशन : कसले कसलाई हराए ? (मतसहित)

    ‘फ्ल्यास ब्याक’ मा एमाले नवौं महाधिवेशन : कसले कसलाई हराए ? (मतसहित)

    कैलाली । नेकपा (एमाले) को १०औं महाधिवेशन यही १० देखि १२ गतेसम्म चितनवमा हुँदैछ । महाधिवेशनका लागि नेताहरूले उम्मेदवारी घोषणा गर्न थालिसकेका छन् ।

    यहाँ एमालेको नवौं महाधिवेशनलाई सम्झिने प्रयास गरिएको छ । काठमाडौंको भृकुटीमण्डपमा २०७१ असार १९-२५ मा नवौं महाधिवेशन चलेको थियो । यो महाधिवेशनबाट १४ पदाधिकारीसहित १५९ केन्द्रीय सदस्यका लागि निर्वाचन भएको थियो ।

    माधवकुमार नेपाल र केपी शर्मा ओलीको प्यानलबीच कडा प्रतिस्पर्धा भएको निर्वाचनमा १७ जना प्यानलबाहिरबाट भिडेका थिए । महाधिवेशनको निर्वाचनमा २ हजार १७६ जना प्रतिनिधिमध्ये २ हजार १५२ जनाले मतदान गरेका थिए ।

    सो महाधिवेशनले माधवकुमार नेपाललाई पराजित गर्दै केपी शर्मा ओली अध्यक्षमा निर्वाचित भएका थिए ।

    गत असोजमा सम्पन्न प्रथम विधान महाधिवेशनले एमालेको साविक विधानलाई संशोधन गर्दै प्यानलबद्ध निर्वाचनलाई प्रतिबन्ध गरेको छ ।
    त्यसैले यसपटक प्यानलगत रूपमा प्रतिस्पर्धा हुने छैन ।

    हेर्नुस् नवौँ महाधिवेशनमा कसले कति मत ल्याएका थिए :

    अध्यक्ष (पद संख्या १ )

    केपी शर्मा ओली- १०५९ (विजयी)

    माधवकुमार नेपाल- १००३

    उपाध्यक्ष (पद संख्या ५)

    भीम रावल- ११४३ (विजयी)

    वामदेव गौतम- ११३८ (विजयी)

    विद्यादेवी भण्डारी- ११११ (विजयी)

    युवराज ज्ञवाली- १०६२ (विजयी)

    अष्टलक्ष्मी शाक्य- १०४७ (विजयी)

    राजेन्द्रप्रसाद पाण्डे-१०३१

    प्रदीप नेपाल- १०१७

    किरण गुरुङ-१००६

    लालबहादुर पण्डित- ९९८

    धर्मनाथ साह- ९३३

    महासचिव (पद संख्या १)

    ईश्वर पोखरेल- १०४५ (विजयी)

    सुरेन्द्र पाण्डे-१०३०

    उपमहासचिव (पद संख्या २)

    घनश्याम भुसाल- १०९७ (विजयी )

    विष्णु पौडेल- १०९६ (विजयी)

    शङ्कर पोख्रेल- १०४८

    रघुजी पन्त- ९६९

    सचिव (पद संख्या ५)

    गोकर्ण विष्ट – १२७० (विजयी)

    प्रदीप ज्ञवाली- ११६६ (विजयी)

    योगेश भट्टराई- १०८५ (विजयी)

    पृथ्वीसुब्बा गुरुङ- १०४० (विजयी)

    भीम आचार्य- १०३५ (विजयी)

    परशुमेघी गुरुङ-१०१५

    विष्णु रिमाल- १००९

    बेदुराम भुसाल- ९९७

    रघुवीर महासेठ- ९३९

    केशवलाल श्रेष्ठ- ९३२