Tag: केन्द्रीय सदस्यमा उम्मेदवारी

  • दलित संघका पूर्व केन्द्रीय सदस्य नेपालीद्वारा पार्टी केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा

    दलित संघका पूर्व केन्द्रीय सदस्य नेपालीद्वारा पार्टी केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा

    काठमाडौं । दलित संघका पूर्व केन्द्रीय सदस्य युवा नेता पदम नेपालीले नेपाली कांग्रेसको १४ औँ महाधिवेशनमा पार्टीको केन्द्रीय सदस्यमा उम्मेदवारी दिने घोषणा गरेका छन् । नेपालीले १४ औँ महाधिवेशनमा केन्द्रीय सदस्य (समावेशी दलिततर्फ) उम्मेदवारी दिने घोषणा गरेका हुन् ।

    नेपाली यसअघि नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल दलित संघको केन्द्रीय सदस्य तथा सेती अञ्चल संयोजक भइसकेका छन् । ‘स्वास्थ्य, शिक्षा र स्वरोजगारः मेरो राजनैतिक मूल आधार’ भन्ने प्रतिवद्धतासहित उम्मेदवारी घोषणा गरेका नेपालीले १४ औं महाधिवेशन प्रतिनिधि, प्रतिनिधिसभा क्षेत्रीय सभापति, जिल्ला सभापतिलगायत मतदातालाई आफूलाई मतदानका लागि अपिल गरेका छन् ।

    उनले प्रतिनिधिको एक मतले समाज परिवर्तन र कांग्रेस रूपान्तरणमा महत्वपूर्ण योगदान हुने भन्दै सही र दीगो राजनीति गर्ने युवालाई मतदानका लागि आग्रह गरेका छन् । बाजुरा जिल्लाबाट महाधिवेशन प्रतिनिधि निर्वाचित नेपालीले आफ्नो समाजसेवाको मुख्य आधार राजनीति नै भए पनि विगत लामो समयदेखि कैलालीको धनगढीमा रहेर शिक्षा, कृषि फर्म र स्वरोजगारमूलक क्षेत्रमा लगानी गरेर उद्यमशीलतालाई पनि प्रवद्र्धन गरिरहेको बताएका छन् ।

    ‘राजनीति व्यापारका रुपमा लाञ्छित भइरहेका बेला मैले उद्यमशीलतामार्फत अर्थोपार्जन र राजनीतिमार्फत सेवा भन्ने मान्यतासहित काम गरिरहेको छु’ नेपालीले भने, ‘मैले जितेमा नेपाली कांग्रेस र राजनीतिमा मेरोजस्तै मान्यता राख्ने आम युवाहरुलाई हौसला मिल्ने छ र यसले नेपाली राजनीतिलाई सम्मानित बनाउन योगदान हुनेछ ।’  नेपाली कांग्रेसका प्रभावशाली नेता पूर्व महामन्त्री कृष्णप्रसाद सिटौला समूह निकट रहेका छन् ।

  • कांग्रेसको केन्द्रीय सदस्यमा सांसद प्रकाश रसाइलीको उम्मेदवारी घोषणा

    कांग्रेसको केन्द्रीय सदस्यमा सांसद प्रकाश रसाइलीको उम्मेदवारी घोषणा

    काठमाडौं । नेपाली कांग्रेसका सांसद प्रकाश रसाइली ‘स्नेही’ ले १४ औँ महाधिवेशनमा केन्द्रीय सदस्यमा उम्मेदवारी दिने घोषणा गरेका छन् । बझाङबाट महाधिवेशन प्रतिनिधि बनेका उनले बुधबार नयाँ बानेश्वरमा पत्रकार सम्मेलन गर्दै समावेशी दलिततर्फ केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिने घोषणा गरेका हुन् ।

    उनी कांग्रेसका समानुपातिक सांसद हुन् । उनी १३ औँ महाधिवेशनमा पनि केन्द्रीय सदस्यको उम्मेदवार थिए । नेपाल दलित संघका पूर्व केन्द्रीय महासचिव रसाइली विद्यार्थी कालबाटै राजनीतिमा आएका हुन् । उनी नेपाल विद्यार्थी संघको केन्द्रीय सदस्य समेत भए ।

    ‘मैले ७७ वटै जिल्ला पुगेर पार्टीका नेता र साथीहरूसँग छलफल गरेको छु, समस्या, गुनासा र पार्टीको राजनीतिक कार्यदिशाबारे संवाद गरेको छु,’ उनले भने, ‘त्यहीआधारमा आफूले पार्टीको केन्द्रीय कार्यसमितिमा बसेर योगदान गर्न सक्छु भन्ने हिसावले उम्मेदवारी दिने निधो गरेको हुँ ।’ उनले आफू संस्थापन इत्तर समूहबाट उम्मेदवार रहेको समेत बताए । नेता रसाइलीले कांग्रेसमा सामान्य नागरिकका मुद्धा उठाउनका लागि आफूले उम्मेदवारी दिएको बताए ।

    ‘म आफैँ यो समाजको पिँधबाट उठेर आएको व्यक्ति हुँ । लाेकतन्त्रमा समाजका हरेक व्यक्तिको मत समान हुन्छ । चाहे त्यो विलिनियर होस् वा भरिया होस् । तिनाउ नदी किनारको सुकुम्बासी होस् वा रुपन्देहीका जमीनदार नै किन नहोऊन् । सबैको मतको अधिकार उतिनै हो । डेमोक्रेसीमा त्यो मतको कदर हुनुपर्छ,’ उनले भने, ‘त्यो मतको कदर कांग्रेसले गर्छ, तर अझै पनि ती सबै समुदायका मुद्धा कांग्रेसमा छलफल हुन सकेको छैन । त्यो समाजको पिँधमा रहेका समुदायको मुद्धा उठाउन मेरो उम्मेदवारी हो ।’

    उनले कांग्रेसले सुकुम्बासी, भूमिहीन, दलित, गरिब, रिक्साचालक, खाडी मुलुकमा पुगेका सामान्य नागरिकहरू सबैको मुद्धालाई समान ढंगले उठाउनुपर्ने बताए ।