Tag: कांग्रेस जिल्ला सभापति

  • लुम्बिनीमा पौडेल पक्षको बर्चस्वः ११ मध्ये ९ जिल्लामा नयाँ नेतृत्व (सूचीसहित)

    लुम्बिनीमा पौडेल पक्षको बर्चस्वः ११ मध्ये ९ जिल्लामा नयाँ नेतृत्व (सूचीसहित)

    रुपन्देही । नेपाली कांग्रेसले लुम्बिनी प्रदेशका ११ जिल्लामा गरेको अधिवेशनबाट ९ जिल्ला सभापति वरिष्ठ नेता रामचन्द्र पौडेल समूहका आएका छन् भने दुई जिल्ला सभापति मात्रै संस्थापन अर्थात् देउवा समूहबाट निर्वाचित भएका छन् ।

    रुपन्देही र बर्दियामा मात्रै संस्थापन समूहले आफ्नो पक्षको सभापतिलाई निर्वाचित गर्न सकेको छ । विगतमा देउवा समूहको बलियो प्रभाव रहेको नवलपरासी, दाङ, अर्घाखाँचीमा यसपटक सोही समूहभित्रको आन्तरिक किचलोका कारण पछाडि परेको नेताहरुको आँकलन छ । जिल्ला सभापति जितेको रुपन्देहीमा पनि ५ निर्वाचन क्षेत्र रहेकोमा देउवा पक्षले दुई क्षेत्रीय सभापति मात्रै जितेको छ ।

    अर्घाखाँचीमा कांग्रेस सभापतिका लागि वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षीय केशव श्रेष्ठसँग संस्थापन पक्षले उम्मेदवार बनाएका यादवप्रसाद घिमिरे निकटतम प्रतिद्वन्द्वीसमेत बन्न सकेनन् । यसले देउवा पक्षीय प्रभावशाली नेताद्वय पुष्पा भुसाल र मानबहादुर विश्वकर्मालाई समेत कमजोर बनाएको छ ।

    कुनै पनि नेताले समर्थन नगरेका पौडेल पक्षीय इन्द्रमणि पौडेलले मत ३५२ मत ल्याउँदा घिमिरेले ३०९ मत मात्र ल्याउन सके । श्रेष्ठ ७३१ मतका साथ विजयी भए ।

    अर्घाखाँचीबाट महाधिवेशन प्रतिनिधि २६ जना चयन हुँदा देउवा पक्षका जम्मा ६ जना र बाँकी २० जना पौडेल पक्षबाट निर्वाचित भएका छन् ।

    रूपन्देही कांग्रेस सभापतिमा संस्थापन पक्षका रामकृष्ण खाँण निर्विरोध भए । गृहमन्त्री बालकृष्ण खाँणका सहोदर भाइ रामकृष्णलाई जिताउन नेता भरत शाहकी श्रीमति अनिता शाहलाई उपसभापति बनाइएको छ । शाहले पालिका र क्षेत्रीय अधिवेशनमा अलग्गै समूह बनाएका थिए ।

    जिल्लाका देउवा पक्षीय प्रभावशाली नेता युवराज गिरी र नेविसंघका उपसभापति मुक्ति पौडेल महाधिवेशन प्रतिनिधिमै पराजित बनेका छन् । जिल्लाबाट १२५ महाधिवेशन प्रतिनिधिमा ५०÷५० जस्तै दुवै पक्षका भएकाले सभापति नभएपनि आफ्नो पक्ष बलियो बनिएको पौडेल पक्षको दावी छ ।

    पाल्पा, गुल्मी, कपिलवस्तु, अर्घाखाँची, नवलपरासी(पश्चिम), प्यूठान, रोल्पा, दाङ र रुकुमपूर्वबाट पौडेल पक्षका सभापति निर्वाचित भएका छन् भने देउवा पक्षका सभापतिमा रुपन्देही र बर्दियाका मात्र रहेका छन् ।

    रुपन्देहीमा गृहमन्त्री भाइ सभापतिमा निर्वाचित, अरु को–को आए ?

    नेपाली कांग्रेस रुपन्देहीको सभापतिमा रामकृष्ण खाँण निर्वाचित भएका छन् । उनी गृहमन्त्री बालकृष्ण खाँणका भाइ हुन । रुपन्देहीको नेतृत्व सर्वसम्मत चयन भएको हो । सहमति अनुसार सभापति पदमा रामकृष्ण खाँणको मात्रै उम्मेद्वारी परेपछि उनी सर्वसम्मत निर्वाचित भएका हुन ।

    अधिवेशनबाट दुई उपसभापति पदमा डा. अनिता ढुंगाना शाह र थानेश्वर घिमिरे निर्वाचित भएका छन् । उपसभापति पदमा दीर्घराज काफ्लेले उम्मदवारी फिर्ता लिएपछि शाह र घिमिरे निर्बिरोध भएका हुन । शाह सांसद भरत शाहकी श्रीमती हुन ।

    त्यस्तै दुई सचिव पदमन हरिप्रसाद काफ्ले र परमानन्द भट्टराई तथा दुई सहसचिव पदमा वालकृष्ण बासुदेव रिमाल र विष्णु थापा निर्वाचित भएका छन् । सचिव पदमा उम्मेदवारी दिएका हरिप्रसाद न्यौपाने र सहसचिवमा उम्मेदवारी दिएका वालकृष्ण पौडेलले उम्मेदवारी फर्ता लिएपछि सचिव र सहसचिव पदमा पनि निर्बिरोध भएको थियो ।

    परासीमा पौडेल पक्षका पोखरेल

    नेपाली कांग्रेस नवलपरासीको जिल्ला सभापतिमा अर्जुनकुमार पोखरेल विजयी भएका छन् । पोखरेल नेता रामचन्द्र पौडेल समूह निकटका हुन् । पोखरेलले ७ सय ५६ मत पाएका थिए । पोखरेललाई पूर्वसांसदद्वय देवकरण कलवार र बिक्रम खनालको समर्थन थियो ।

    पोखरेलसँग सभापतिमा पराजित मोहनप्रसाद शर्माले ५ सय ६१ मत पाएका थिए । शर्मा सभापति शेरबहादुर देउवा निकट हुन । शर्मालाई कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्व गृहराज्यमन्त्री देवेन्द्रराज कँडेल ‘मुन्ना’ को समर्थन थियो ।

    उप–सभापतिमा विक्रमप्रसाद यादव र अनिल गौड निर्वाचित भएका छन् । सचिवमा कुलदीपप्रसाद आचार्य र उमेशचन्द्र यादव विजयी भएका छन् । सहसचिवमा दीपक बराल र सन्तबहादुर गाहा निर्वाचित भएका छन् ।

    नवलपरासी क्षेत्र नं. १ ‘क’को सभापतिमा बेदप्रसाद शर्मा र ‘ख’मा अनुरेश जैसवला निर्वाचित भएका छन् । क्षेत्र नं. २ ‘क’को सभापतिमा यामप्रसाद भुसाल ‘दीपक’ र ‘ख’को सभापतिमा रामचन्द्रप्रसाद केवट निर्वाचित भएका थिए । क्षेत्र नं. १ को क्षेत्रीय सभापतिमा मुकुलकुमार आचार्य र क्षेत्र नं. २ को क्षेत्रीय सभापतिमा माधव पाण्डे निर्वाचित भएका छन् ।

    पाल्पामा श्रेष्ठ नेतृत्वकाे नयाँ टिम

    नेपाली कांग्रेस पाल्पाको सभापतिमा ४१ वर्षीय हिमालदत्त श्रेष्ठ विजयी भएका छन् । कुल खसेको १ हजार ३१३ मतामा श्रेष्ठले ८९० मत प्राप्त गर्दै उनले प्रतिस्पर्धी कृष्णप्रसाद बस्यालले ३८१ मतले पराजित गरेका हुन् ।

    नवनिर्वाचित अध्यक्ष श्रेष्ठ वरिष्ठ नेता रामचन्द्र पौडेल समूहका हुन् भने बस्याल सभापित शेरबहादुर देउवा समूहका हुन् । समितिको उपसभापतिमा ज्ञानबहादुर गाहा र झपेन्द्र गहिरे निर्वाचित भएका छन् । गाहाले ७७३ र गहिरेले ७५४ मत प्राप्त गरेका छन् । सचिवमा सन्तोषकुमार थापा र सुनिता अधिकारी निर्वाचित भएका छन् । थापाले ८०७ र अधिकारीले ७८५ मत प्राप्त गरेका छन् । सहसचिवमा विष्णुकुमार थापा र हुमिद मिया निर्वाचित भएका छन् ।

    सदस्यहरूमा सुवि विश्वकर्मा, इन्द्रनारायण श्रेष्ठ, वुद्धिप्रकाश रेग्मी, हिमाल मल्ल, टेकबहादुर थापा, बालकृष्ण जिसी, विष्णुप्रसाद पाण्डे, मुक्तिराम बश्याल, पुरुषोत्तम शर्मा अर्याल, मोहनप्रसाद श्रेष्ठ, माधव थापा, दानबहादुर पौडेल र डिलाकुमारी रानाभाट विजयी भएका छन् ।

    यस्तै जयसरा बाह्रघरे, साबित्रा गौतम, सरस्वतीदेवी आचार्य, सुभद्रादेवी शर्मा, कमला कार्की, इन्दिरा भट्टराई, गीता भट्टराई, गिरिजा गैरे, निर्मला पौडेल, लक्ष्मणबहादुर रायमाझी, सूर्यप्रसाद पोखरेल, गीता खनाल, रीता गौतम, अमिरबहादुर राना, कमल राना, गणेशप्रसाद श्रेष्ठ, युवराज चिदी, राजकुमार श्रेष्ठ, इन्दिरा राना, काजल सारु, मिना कुमारी श्रेष्ठ, सन्ध्या बज्रचार्य, टेकबहादुर विक, तारा रसाइली, जगन्नाथ कँडेल, हेमराज गैरे र सीता पंगेनी निर्वाचित भएका छन् ।

    दाङ सभापतिमा डाँगी

    नेपाली कांग्रेस दाङ जिल्लाको सभापतिमा शंकर डाँगी निर्वाचित भएका छन् । जिल्ला सभापतिका लागि संस्थापन पक्षबाट जानकीलाल बस्नेत, कमलकिशोर घिमिरे र भूपबहादुर डाँगी ३ जना र इतरबाट शंकर डाँगी गरी ४ जना चुनावी मैदानमा उत्रिएका थिए ।

    उम्मेदवारहरु डाँगीले ७ सय ७२, भूपबहादुर डाँगीले ५ सय ४५‚ बस्नेतले ४ सय ७१ र घिमिरेले ३ सय १५ मत पाएका थिए ।

    प्रथम हुने उम्मेदवारले ५१ प्रतिशत ल्याउनुपर्ने भए पनि कसैको नआएपछि सभापतिका लागि पुनः निर्वाचन हुने भनिए पनि भूपबहादुरले समर्थन दिएपछि शंकर डाँगीलाई सभापति घोषणा गरिएको हो ।

    विद्यार्थी राजनीतिबाट प्रवेश गरेका डाँगी तेह्रौं महाधिवेशनमा जिल्ला सचिव भएका थिए । २०५५ सालमा महेन्द्र बहुमुखी क्याम्पस दाङका स्ववियु सभापति भएका उनी २०५७ सालमा नेविसंघ दाङका जिल्ला अध्यक्ष भएका थिए ।

    यसैगरी उपसभापतिमा गिरिराज सुवेदी ९ सय १३ र कमानसिंह भारती ८ सय ६६ मत पाएर निर्वाचित भए । सचिवमा अर्जुनकुमार योगी १ हजार १ सय ५७ र बालिका लम्साल १ हजार मत पाई निर्वाचित भए । त्यस्तै सहसचिवमा राजु आचार्य १ हजार ५२ मत र सुबोधकुमार डाँगी १ हजार ३४ मा ल्याई विजयी भए । विजयी सुवेदी‚ योगी र आचार्य संस्थापन इतर र भारती‚ लम्साल र डाँगी संस्थापन पक्षका हुन् ।

    गुल्मी कांग्रेसमा पन्थीको नेतृत्व

    नेपाली कांग्रेस गुल्मीको सभापतिमा खिलध्वज पन्थी निर्वाचित भएका छन् । पन्थीले १ हजार २७१ मत प्राप्त गर्दै विजयी भएका हुन । उनका प्रतिद्वन्द्वी बेदबहादुर थापाले ३८४ मत प्राप्त गरे । पन्थी वरिष्ठ नेता रामचन्द्र पौडेल समूह र थापा सभापित शेरबहादुर देउवा समूहका हुन् ।

    यस्तै उपसभापतिमा अनन्तराम पौडेलले १ हजार १८७ र शिवबहादुर खत्रीले १ हजार ३३ मत प्राप्त गरी विजयी भएका छन् । सचिवमा जगदीश भट्टराई र भगतसिंह खड्का विजयी भएका छन् । भट्टराईले ९९१ मत र खड्काले १ हजार २२ मत प्राप्त गरेका छन् ।

    यस्तै सहसचिवमा छवि पाण्डे र धर्मराज पाण्डे नर्वाचित भएका छन् । छविले १ हजार १३३ र धर्मराजले ८५० मत प्राप्त गरेका छन् । सदस्यमा कृष्णप्रसाद पोखरेल, धीरेन्द्र केसी, पदमबहादुर विष्ट, लिलाधर आचार्य र लोकप्रसाद खरेल विजयी भएका छन् ।

    बर्दियामा राठौरसहितको नेतृत्व

    नेपाली कांग्रेस बर्दियाको सभापतिमा अरुणसिंह राठौर विजयी भएका छन् । राठौर देउवापक्षीय हुन । पार्टीको १४ औं महाधिवेशनअन्तर्गत सम्पन्न निर्वाचनमा संस्थापन पक्षका राठौर ८७० मतसहित निर्वाचित भएका हुन ।

    उनका प्रतिद्वन्द्वी भुवनेश्वर चौधरीले ६७८ मत प्राप्त गरे । बर्दियामा १ हजार ६२२ मतदाता संख्या रहेकोमा १ हजार ५७८ मत खसेको थियो ।

    उपसभापतिमा संस्थापन पक्षकै गोविन्दप्रसाद थारु र सोदे विष्ट, सचिवमा जग्गाप्रसाद पाण्डे र मीनराज चौधरी र सहसचिवमा तिलकराम लम्साल र मेकबहादुर गुरुङ निर्वाचित भएका छन् । सभापतिमा निर्वाचित राठौरले यसअघि पनि बर्दियामा जिल्ला सभापतिको रुपमा नेतृत्व गरिसकेका छन् ।

    प्यूठान सभापतिमा पौडेल पक्षका गिरी

    नेपाली कांग्रेस प्यूठानको सभापतिमा विष्णुकुमार गिरी निर्वाचित भएका छन् । निर्वाचनमा शिवराज रिजाललाई ७२ मत अन्तरले हराउँदै गिरी सभापति बनेका हुन् । गिरी रामचन्द्र पौडेल निकट नेता हुन् ।

    सभापति पदका लागि खसेको १०६९ मतमध्ये गिरीले ५६६ मत ल्याए भने रिजालले ४९४ मत प्राप्त गरेका थिए । रिजालले यसअघिका सभापति अमर भण्डारीसँग पनि प्रतिस्पर्धा गरेका थिए ।

    २०५५ सालमा नेविसंघबाट राजनीति शुरू गरेका गिरीलाई जिल्लामा नयाँ पुस्ताका नेताका रूपमा लिने गरिन्छ । नौबहिनी गाउँपालिका अध्यक्ष रिजाल पार्टीको पूर्व सचिव हुन् भने गौमुखी गाउँपालिका अध्यक्ष गिरी निवर्तमान समितिको सचिव थिए । जिल्ला कार्यसमितिका सबै सदस्य र महाधिवेशन प्रतिनिधि सर्वसम्मत रूपमा चयन भएको छ ।

    जसअनुसार जिल्ला उपसभापतिमा देवेन्द्र वर्मा, ईश्वरसिंह विष्ट र सचिवमा टोपाराम कालाथोकी र नरेन्द्र पुन मगर, सहसचिवमा नारायण ज्ञवाली र प्रमोद पोखेल निर्विरोध चयन भएका छन् ।

    रोल्पामा किशोर आचार्यको नेतृत्व

    नेपाली कांग्रेस रोल्पाको सभापतिमा किशोर आचार्य निर्वाचित भएका छन् । सभापतिका अर्का उम्मेदवार मानबहादुर खत्रीलाई ६२ मतान्तरले पछि पार्दै आचार्य निर्वाचित भएका हुन् ।

    कुल १ हजार ४२ मत खसेकोमा आचार्यले ५ सय २ मत पाए भने खत्रीले ४ सय ४० मत पाएका थिए ।

    सभापतिमा निर्वाचित आचार्य पौडेल पक्षका हुन् । पराजित खत्री देउवानिकट हुन् । खत्री र आचार्य दुवै सदरमुकामबासी हुन् । खत्री रोल्पा नगरपालिका-१० का वडा अध्यक्ष हुन् भने आचार्य निजी व्यवसायीहरुको संस्था उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य हुन् । खत्री साविकको धबाङका पूर्वअध्यक्ष समेत हुन् ।

    उपसभापतिमा हरिबहादुर पुन र कविता उपाध्याय, सचिवमा तिलबहादुर बुढाथोकी र शेरबहादुर थापा, सहसचिवमा गञ्जबहादुर महरा क्षत्री र सुनीलकुमार वली विजयी भएका छन् ।

    प्रदेश क्षेत्र नम्बर ‘१’ मा पूरै प्यानलमध्ये देउवा पक्षका सभापति दुर्गाबहादुर खड्काले मात्रै विजयी हासिल गरेका छन् भने अन्य पदाधिकारीमा पौडेल पक्षकाले जितेका छन् । प्रदेश निर्वाचन क्षेत्र ‘२’ मा भने पौडेल पक्षको सिंगै प्यानल विजयी बन्यो । सभापतिमा घर्तीगाउँका गोपाल घर्तीमगर विजय बनेका छन् । उनी साविकको घर्तीगाउँ गाविसका अध्यक्ष समेत थिए ।

    अर्घाखाँचीमा पनि पौडेल पक्षका श्रेष्ठ

    नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत अर्घाखाँची जिल्ला सभापतिमा केशव श्रेष्ठ निर्वाचित भएका छन् । निर्वाचनमा श्रेष्ठले ७३१ मत ल्याएर विजयी भएका हुन् । श्रेष्ठ कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल निकट हुन् ।

    उनका प्रतिस्पर्धीहरू इन्द्रमणि पौडेलले ३५२ र यादव घिमिरेले ३०९ मत ल्याएका थिए । पार्टी सभापति शेरबहादुर देउवा पक्षले सभापतिमा यादव घिमिरेलाई उम्मेदवार बनाएको थियो ।

    यसअघिका सभापति विष्णुप्रसाद खनाल मुस्कानले पनि सभापतिमा उम्मेदवारी दिएकोमा उनले श्रेष्ठलाई समर्थन गर्दै उम्मेदवारी फिर्ता लिएका थिए ।

    कपिलवस्तु सभापतिमा कलाम

    कांग्रेस कपिलवस्तुको जिल्ला सभापतिमा पौडेल पक्षका अब्दुल कलाम विजयी भएका छन् । उनले संस्थापन पक्षका राजेश आचार्यलाई १ सय ९ मतको फराकिलो अन्तरले पराजित गरेका हुन् ।

    जिल्लामा कुल १ हजार ८१६ मतदातामध्ये १७ सय ६३ मत खसेको थियो । जसमा कलामले ९ सय २८ र आचार्यले ८ सय १९ मत पाएका थिए । कार्यसमितिको ७ जना पदाधिकारी मध्ये ६ जना कलामकै प्यानबाट निर्वाचित भएका छन् । उपसभापतिहरुमा हुमाकान्त खनाल र रजत आचार्य, सचिवमा खोमबहादुर सिंह ठकुरी र प्रेम बहादुर रायमाझी तथा सहसचिवमा बिरेन्द्र शुक्ला र मोहोम्द ओजी अर्सद विजयी भएका छन् । ओजी मात्र आचार्य प्यानलका हुन् ।

    यसैगरी पालिकाबाट निर्वाचित हुुने २६ सदस्यहरुमा २० कलाम र ६ आचार्य तथा समावेशीतर्फ १८ सदस्यमध्ये १५ कलाम र ३ आचार्य पक्षबाट निर्वाचित भएका छन् । आचार्यलाई संस्थापन पक्षका नेताहरु अभिषेक प्रताप शाह, वीरेन्द्र कनौडिया, दीर्घनारायण पाण्डेय, दीप कुमार उपाध्यायसहित सुधाकर पाण्डेयले साथ दिएका थिए । कलामलाई पार्टी सभापति सुरेन्द्रराज आचार्य, पार्टीको केन्द्रीय सदस्य अतहर कमाल मुसलमान, बैकल्पिक केन्द्रीय सदस्य राजेश सिहको साथ थियो ।

    तत्कालीन सिसवा गाविसको अध्यक्ष हुँदै कलाम पार्टी उपसभापति २ पटक बनेका थिए । उनी महाराजगञ्ज नगरपालिकाको मेयरसमेत रहेका छन् ।

    रुकुमपूर्वमा रोका

    नेपाली कांग्रेसको रूकुमपूर्व जिल्ला सभापतिमा केशरमान रोका सर्वसम्मत चयन भएका छन् ।

    अधिवेशनमा जिल्ला सभापतिका लागि वरिष्ठ नेता रामचन्द्र पौडेल समूहका रोकाको मात्रै उम्मेदवारी परेपछि उनी सर्वसम्मत निर्वाचित भएका हुन् ।

    निर्विरोध निर्वाचित भएका रोका पूर्वसहायक मन्त्रीसमेत हुन् । अधिवेशनले उपसभापतिमा भीमबहादुर खड्का र तेजेन्द्र खाममगर, सचिवमा लोकेन्द्र शाह र हरिबहादुर केसीलाई चयन गरेको छ । त्यस्तै जिल्ला सहसचिवमा धनप्रताप बुढामगर र खड्कबहादुर घर्ती निर्वाचित भएका छन् ।

    बाँकेमा चुनाव हुन बाँकी छ ।

  • ५६ जिल्लाको परिणाम, देउवा-पौडेल बराबर (सूचीसहित)

    ५६ जिल्लाको परिणाम, देउवा-पौडेल बराबर (सूचीसहित)

    काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशनअन्तर्गत जिल्ला अधिवेशनहरूको परिणाम आउने क्रम जारी रहेको छ । हालसम्म ५६ जिल्लाका सभापतिहरूको नतिजा आएको छ । पछिल्लो परिणाममा संस्थापन र संस्थापनइतर समूहबीच कडा प्रतिस्पर्धा देखिन्छ ।

    हालसम्म संस्थापन अर्थात् सभापति शेरबहादुर देउवानिकट २७ जना सभापति निर्वाचित भएका छन् । वरिष्ठ नेता रामचन्द्र पौडेलले नेतृत्व गरेको संस्थापनइतर समूहले पनि २७ जिल्लामा सभापति जितेको छ । पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलानिकट दुईजना जिल्ला सभापतिमा निर्वाचित भएका छन् ।

    शेरबहादुर देउवा पक्ष (संस्थापन)

    १.शंकर गुरुङ- मनाङ

    २. खडक बोहरा- बझाङ

    ३. गजेन्द्र तुम्याहाङ- ताप्लेजुङ

    ४. मोहनविक्रम सिंह- हुम्ला

    ५. कान्छाराम तामाङ- रामेछाप

    ६. ऐनबहादुर शाही- मुगु

    ७. खमबीर गर्बुजा- म्याग्दी

    ८. केशबहादुर विष्ट- सल्यान

    ९. रुपनारायण जबेगु- पाँचथर

    १०. नरेन्द्रबहादुर सिंह- डोटी

    ११. दीपेन्द्रबहादुर शाही- डोल्पा

    १२. कर्णबहादुर शाही- जुम्ला

    १३. तेजेन्द्र खनाल– ओखलढुंगा

    १४. डा.टकराज गुरुङ- लमजुङ

    १५. भीमबहादुर साउद- डडेलधुरा

    १६. रामकृष्ण खाँण- रुपन्देही

    १७. युवराज जोशी- पर्वत

    १८. डम्बर खड्का- इलाम

    १९. किशोरदत्त बराल- कास्की

    २०. तीर्थ लामा- काभ्रे

    २१. पदम बोगटी- कञ्चनपुर

    २२. खड्गबहादुर पोखरेल- सुर्खेत

    २३. जितप्रकाश आले- तनहुँ

    २४. दुर्लभ थापा- भक्तपुर

    २५. हिमाल कार्की- उदयपुर

    २६. अरुणप्रकाश सिंह राठौर- बर्दिया

    २७. वेदराज सिंह- जाजरकोट

    रामचन्द्र पौडेल पक्ष (संस्थापनइतर)

    १. रोमी गौचन थकाली- मुस्ताङ

    २. केशरमान रोका- रुकुमपूर्व

    ३. दीपक खड्का– संखुवासभा

    ४.नन्दप्रसाद न्यौपाने- गोरखा

    ५. विष्णु राई- खोटाङ

    ६.हिमालदत्त श्रेष्ठ-पाल्पा

    ७. राजु थापा- स्याङ्जा

    ८. किशोर आचार्य- रोल्पा

    ९. विष्णुकुमार गिरी- प्यूठान

    १०. अर्जुनबहादुर तुम्बाहाम्फे- तेह्रथुम

    ११. विनोद बान्तवा- भोजपुर

    १२. केशव श्रेष्ठ- अर्घाखाँची

    १३. चतुरबहादुर चन्द- बैतडी

    १४. बर्मा लामा- दोलखा

    १५. अम्मबहादुर शाही- कालीकोट

    १६. रामसिंह रावल- बाजुरा

    १७. अर्जुनकुमार पोखरेल- नवलपरासी (पश्चिम)

    १८. मणिराम रेग्मी- दैलेख

    १९. शंकरप्रसाद डाँगी- दाङ

    २०. रमेश महत- नुवाकोट

    २१. सबुज कृष्ण बानियाँ- काठमाडौं

    २२. रामनाथ अधिकारी- धादिङ

    २३. खिलध्वज पन्थी- गुल्मी

    २४. जितेन्द्रकुमार श्रेष्ठ- ललितपुर

    २५. केदार भण्डारी- सुनसरी

    २६.अब्दुल कलाम- कपिलवस्तु

    २७. प्रेमप्रकाश ओली- रुकुमपश्चिम

    कृष्ण सिटौला पक्ष

    १. देउमान थेवे- झापा

    २. जित शेरचन- बागलुङ

  • कांग्रेस जिल्ला सभापतिको प्रारम्भिक रुझान- देउवा र पौडेलबीच कडा टक्कर (सूचीसहित)

    कांग्रेस जिल्ला सभापतिको प्रारम्भिक रुझान- देउवा र पौडेलबीच कडा टक्कर (सूचीसहित)

    काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशनअन्तर्गत जिल्ला अधिवेशनहरुको परिणाम आउने क्रम जारी रहँदा सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षबीच कडा टक्कर देखिएको छ ।

    पहिलो चरणमा हिमाली जिल्लाहरूमा अधिवेशन हुने भनिए पनि हालसम्म १३ जिल्लामा मात्रै अधिवेशनको प्रक्रिया प्रारम्भ भएको छ । जिल्ला अधिवेशनको परिणाम आएका ८ जिल्लामा देउवा र पौडेल पक्ष दुवै तर्फका ४-४ जना सभापति निर्वाचित भएका छन् ।

    देउवा पक्षका जिल्ला सभापतिहरू :

    १. मनाङ- शंकर गुरुङ

    २. हुम्ला- मोहनविक्रम सिंह

    ३. ताप्लेजुङ – गजेन्द्र तुम्याहाङ

    ४. रामेछाप- पूर्णबहादुर तामाङ (कान्छाराम)

    पौडेल पक्षका जिल्ला सभापतिहरू :

    १. मुस्ताङ – रोमी गौचन थकाली

    २. कालीकोट – अम्मबहादुर शाही

    ३. रुकुमपूर्व – केशरमान रोका

    ४. संखुवासभा – दीपक खड्का

  • कांग्रेस जिल्ला सभापतिमा परिणाम आउने क्रम सुरु: पौडेल पक्ष २, देउवा पक्ष 0

    कांग्रेस जिल्ला सभापतिमा परिणाम आउने क्रम सुरु: पौडेल पक्ष २, देउवा पक्ष 0

    काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशनअन्तरगत जिल्ला सभापतिहरुको नतिजा आउने क्रम सुरु भएको छ । अहिलेसम्म दुई जिल्ला सभापति सर्वसम्मत चयन भएका छन् ।

    कांग्रेस मुस्ताङको सभापतिमा पूर्वमन्त्री रोमी गौचन थकाली र रुकुम पूर्वको सभापतिमा केशरमान रोका सर्वसम्मत निर्वाचित भएका हुन् ।

    गौचन र रोका दुवै वरिष्ठ नेता रामचन्द्र पौडल पक्षका हुन् । देउवा पक्षले अहिलेसम्म खाता खोल्न सकेको छैन ।

    २०७० मा मुस्ताङबाट प्रत्यक्ष निर्वाचित भएका थकाली संविधान निर्माणपछि प्रचण्ड नेतृत्वको सरकारमा वाणिज्य मन्त्री थिए ।

  • काठमाडौंमा भेला भएका जिल्ला सभापतिहरूसँग पौडेलको छलफल

    काठमाडौंमा भेला भएका जिल्ला सभापतिहरूसँग पौडेलको छलफल

    काठमाडौं । नेपाली कांग्रेसको संस्थापनइतरका जिल्ला सभापतिहरूसँग शीर्ष नेताहरू छलफलमा जुटेका छन् । हिजोदेखि शुरू भएको जिल्ला सभापतिहरूसँगको बैठकको समापन समारोहमा वरिष्ठ नेता रामचन्द्र पौडेललगायतले सम्बोधन गर्नेछन् ।

    क्रियाशील सदस्यतामा जारी अन्योल अन्त्य गरी १४ औं महाधिवेशन सुनिश्चित गर्न भन्दै संस्थापनइतर समूहका ४७ जना जिल्ला सभापतिहरू भेलामा सहभागी छन् ।

    छलफलपछि भेलाको निर्णयबारे जानकारी दिइनेछ ।