Tag: कर्णाली एमाले

  • कर्णाली एमालेले पायो पहिलोपटक भूगोलकै इन्चार्ज, कार्यकर्ता खुशी

    कर्णाली एमालेले पायो पहिलोपटक भूगोलकै इन्चार्ज, कार्यकर्ता खुशी

    सुर्खेत । नेकपा एमालेको इतिहासमा पहिलोपटक कर्णालीले प्रदशकै भूगोलबाट इन्चार्ज पाएको छ । एमालेको केन्द्रीय समितिको बैठकले एमालेका नेता यामलाल कँडेललाई प्रदेश इन्चार्ज तोकेसँगै कर्णालीले पहिलोपटक भूगोलकै इन्चार्ज भएको हो ।

    यसपटक कर्णालीबाट पार्टीको स्थायी कमिटीमा दुइजना पर्न सफल भएका छन् । एमाले नेता गोरख वोगटी र कँडेल दुवैजना स्थायी कमिटीमा परेपछि पदाधिकारी खोजेका कर्णालीका एमाले कार्यकर्ता खुशी भएका छन् ।

    ‘हामीले पदाधिकारी नै मागेका थियौं । कर्णालीको इतिहासमा हामीले यामलाल कमरेडलाई सचिव भएर रेकर्ड राख्न चाहेका थियौं’, एमालेका केन्द्रीय सदस्य दल रावल भन्छन्, ‘तर पहिलोपटक कर्णालीमा हामीले आफ्नै भूगोलको नेताबाट परिचालित हुने अवसर पाएका छौं । यो गर्वको कुरा हो ।’

    पार्टीको स्थायी कमिटीमा परेका नेता कंडेल इन्चार्जसमेत भएपछि विजेता भएको महसुस गरिएको राष्ट्रिय युवा संघ नेपालका सचिवालय सदस्य एवम सुर्खेत इन्चार्ज कमल खड्का बताउँछन् ।

    ‘पार्टी एकताको मर्म र भावनाअनुसार कर्णालीले पदाधिकारी पाएन तथापि इन्चार्ज पाएपछि हामीलाई पार्टीले न्याय दिएको महसुस गरेका छौं’, उनी भन्छन्, ‘त्यागी, कर्तव्यनिष्ठ, इमान्दार नेता इन्चार्जको रुपमा पाउनु हाम्रो लागि खुशीको कुरा हो ।’ उनले कर्णालीमा इन्चार्ज कंडेल भएसँगै एमाले गुटविहीन रुपमा अघि बढ्ने दाबी समेत गरे ।

    महाधिवेशनअघि कर्णालीबाट ११ जना केन्द्रीय सदस्य थिए । तीमध्ये यामलालको पक्षमा १० जनाले पदाधिकारीमा जानुपर्ने भनेर लविङ गरेपनि एक जनाले भने यामलाललाई सचिव बनाउन हुँदैन भनेर लविङ गरेका थिए ।

    ‘कर्णाली एमालेले आफ्नै भूगोलबाट इन्चार्ज पाउनु यसअघि फलामको चपाएसरह थियो । योपालि नेता कंडेल इन्चार्ज बन्नु हाम्रो लागि गौरवको कुरा हो’, एमाले केन्द्रीय सदस्य मोहनमाया ढकाल भन्छिन् ।’

    यसअघि कर्णालीमा अन्य प्रदेशका एमाले नेताहरुले इन्चार्जको भूमिका निर्वाह गर्दै आएका थिए ।

  • कर्णाली एमालेको ठहरः पार्टी विभाजनको असर छैन, कांग्रेस मुख्य प्रतिस्पर्धी

    कर्णाली एमालेको ठहरः पार्टी विभाजनको असर छैन, कांग्रेस मुख्य प्रतिस्पर्धी

    सुर्खेत । नेकपा एमाले कर्णाली प्रदेश कमिटीको आज बसेको बैठकमा जिल्ला अध्यक्ष तथा प्रदेश कमिटीका सदस्यहरुले पार्टीको पछिल्लो स्थितिबारे रिपोर्टिङ गरेका छन् । पार्टीको पहिलो बैठकमा रुकुम पश्चिम र जुम्लाबाहेक अन्य जिल्लामा मुख्य प्रतिस्पर्धा नेपाली कांग्रेससँग भएको नेताहरुले रिपोर्टिङ गरेका छन् ।

    ‘हाम्रो प्रतिस्पर्धी भनेको कांग्रेस नै हो । एमाले विभाजनको असर दैलेखमा शून्य छ’ एमाले जिल्ला अध्यक्ष रवीन्द्रराज शर्माले भने, ‘एकाध व्यक्तिबाहेक सबै जनता, मतदाता र कार्यकर्ता एमालेमै छन् । उहाँहरुसँग दैलेख एमाले निरन्तर सम्पर्कमा छ ।’

    बैठकमा जाजरकोटका अध्यक्ष करवीर शाहीले पनि प्रमुख प्रतिस्पर्धी कांग्रेस नै भएको बताए । बैठकमा सहभागी एक नेताका अनुसार जुम्लामा भने आफ्नै दलका कारण एमाले हुनसक्छ ।

    बैठकमा एमालेका नेताहरुले पार्टीलाई तलैसम्म पुर्नजागृत गर्दै लैजानुपर्ने र आम कार्यकर्तामाझ कांग्रेस र माओवादीले छरेका भ्रमहरु चिर्दै जानुपर्नेमा जोड दिएका थिए ।

    नेकपा एमाले कर्णाली प्रदेशका ईन्चार्ज यामलाल कंडेलले बैठकमा आउनुपर्ने र ल्याउन कोसिस गरिएका सदस्यहरु आइपुग्ने अवस्था नबनेको बताए । उनले सबैको पार्टीमा २० वर्ष भन्दा बढी योगदान भएको बताउँदै लामो समय योगदान दिएकालाई पार्टीमा एकतावद्ध हुन आग्रह गरेका थिए ।

    बैठकले पार्टीमा महत्वपूर्ण योगदान गरेकालाई कमिटीमा मनोनित गरेर अघि बढ्ने निर्णय गरेको छ ।

  • कर्णालीमा बलिया माधव नेपाललाई पार्टी फुटाउँदा मिलेन निकट नेताहरुकै साथ

    कर्णालीमा बलिया माधव नेपाललाई पार्टी फुटाउँदा मिलेन निकट नेताहरुकै साथ

    सुर्खेत । एकताका कर्णाली एमालेमा माधव नेपाल पक्षको बर्चश्व जस्तै थियो । कर्णालीका पाँच जिल्लामा माधव पक्षकै नेतृत्व थियो । स्थानीय तहदेखि प्रदेश र प्रतिनिधिसभामा उक्त पक्षको राम्रो सहभागिता थियो । तर अहिले परिस्थिति फेरिएको छ । एमालेबाट फुटेर एमाले समाजवादी बनाएका माधव नेपाललाई कर्णालीका नेता तथा जनप्रतिनिधिले साथ दिएनन् ।

    कर्णालीबाट नेकपा एमाले केन्द्रीय कमिटीका १५ सदस्य थिए । १५ मध्ये ९ जना माधव नेपाल पक्षका थिए । अहिले तीमध्ये ६ जनाले माधव नेपालको साथ छाडेका छन् ।

    माधव नेपालका नजिकका मानिने युवा नेता निरज आचार्यले अखिरीमा माधव नेपाललाई साथ दिएनन् । त्यस्तै संघीय सांसद राजबहादुर बुढा पनि माधव नेपालको एमाले समाजवादीमा गएनन् ।

    त्यस्तै सुर्खेतका ध्रवकुमार शाही र गोविन्दविक्रम शाहले पनि अन्तिममा माधव नेपाललाई साथ दिएनन् । मुगुका चन्द्रबहादुर शाहीको नाम एमाले समाजवादीको सूचीमा भए पनि उनले आफू एमालेमै रहेको बताएका छन् ।

    माधव नेपालको एमाले समाजवादीमा प्रकाश ज्वाला, हंसबहादुर शाही र शेरबहादुर केसी मात्रै सहभागी भएका छन् ।

    त्यस्तै कर्णालीका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई फ्लोर क्रस गरेर विश्वासको मत दिएका तीनजना एमाले समाजवादीको केन्द्रीय कमिटीमा परेनन् । कर्णालीका कुर्मराज शाही, नन्दसिंह बुढा र अम्मर थापा एमाले समाजवादीको केन्द्रीय कमिटीमा नअटाएका हुन् ।

    कर्णालीका प्रकाश ज्वाला भने एमाले समाजवादीको केन्द्रीय कमिटीमा परेका छन् ।

    नेता निरज आचार्यले अहिले पनि आफूहरु पार्टी एकताकै पक्षमा रहेको बताएका छन् ।

  • एमाले कर्णालीले भन्यो- पार्टी निर्णयभन्दा माथि कोही छैन, सर्वोच्चको फैसला स्वागतयोग्य

    एमाले कर्णालीले भन्यो- पार्टी निर्णयभन्दा माथि कोही छैन, सर्वोच्चको फैसला स्वागतयोग्य

    सुर्खेत । सर्वोच्च अदालतले वैशाख तीन गते नेकपा एमाले संसदीय दल कर्णाली प्रदेशको ह्वीप उल्लंघन गर्दै माओवादी केन्द्रका महेन्द्रबहादुर शाहीलाई फ्लोर क्रस गरेर सरकार जोगाउने चार जनालाई हटाउने आदेश स्वागत योग्य रहेको एमाले दलले जनाएको छ ।

    सर्वोच्चको आदेश पछि नेपालप्रेससँग संक्षिप्त कुरा गर्दै प्रमुख सचेतक गुलाबजंग शाहले सर्वोच्चको यो आदेश संसदीय परम्परालाई तोड्नेहरुका विरुद्ध न्यायको रुपमा आएको बताए । ‘हामीले गरेको कारवाही सदर भएको छ । यसले के देखाउँछ भने कोही पनि दलीय आचरण भन्दा बाहिर रहन मिल्दैन र आफै सहभागि भएको दलको ह्वीप उल्लंघन गर्ने अधिकार कुनैपनि सांसदमा छैन ।’

    उनले भने, ‘दलीय मान्यतालाई आदेशले महत्व दिएको छ । सर्वोच्चको यो आदेश औचित्यपूर्ण रहेको छ ।’ उनले अब कर्णालीमा एमाले सशक्त प्रतिपक्षको भूमिकामा रहने बताए ।

    ‘हिजो हामीसँग २० जना सांसद हुनुहुन्थ्यो । सर्वोच्च्को यो आदेश सँगै १६ जना रहेका छौं ।’ उनले भने, ‘अब हामी सशक्त प्रतिपक्षको भूमिका खेल्छौं । कर्णालीका जनताको विकास र समृद्धिको चाहनामा साथ दिँदै सरकारका राम्रा कामको सर्मथन र नराम्रा कामका रचनात्मक आलोचना गरेर अघि बढछौं ।’

    कर्णाली प्रदेश सभामा अब नेकपा एमालेका सभामुखसहित १६, नेकपा माओवादीका १२, नेपाली काँग्रेसका ६ र राप्रपाका एक गरी कुल ३५ सदस्य रहेका छन् । अहिले सत्तापक्षमा १८ जना छन भने प्रतिपक्षमा सभामुखबाहेक १६ जना रहेका छन् ।

  • पार्टी मिल्न लागेकोप्रति कर्णालीका एमाले खुसी, आफ्नै नेतृत्वमा सरकार बन्ने आश

    पार्टी मिल्न लागेकोप्रति कर्णालीका एमाले खुसी, आफ्नै नेतृत्वमा सरकार बन्ने आश

    सुर्खेत । नेपाल कम्युनिष्ट पार्टी एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले विपक्षी गठबन्धनलाई साथ नदिने भएपछि कर्णालीका एमालेहरु खुशी भएका छन् । एमाले एक भए सरकारको नेतृत्व एमालेले गर्न पाउने आशसँगै उनीहरु खुसी भएका हुन् ।

    प्रदेशसभा निर्वाचनमा ४० मध्ये २० सीट जितेको  एमालेले आन्तरिक कलहकै कारण सत्ताको नेतृत्व गर्न पाएको छैन ।

    ‘हामीलाई कर्णालीका नागरिकले पाँच वर्ष सरकार चलाउन म्याण्डेट दिए पनि विभिन्न कारणले पाएका छैनौं’, एमाले प्रदेशसभा सदस्य दल रावल भन्छन्, ‘एमाले एक भए हामी सरकारमा गएर घोषणापत्रका केही कार्यक्रम कार्यन्वयन गर्न सक्थ्यौं ।’

    प्रदेशसभा सदस्य करवी शाही पनि शीर्ष नेताहरुबीच भइरहेको मेलमिलापले कर्णालीलाई उत्साहित बनाएको बताउँछन् । ‘हामी अहिले पनि प्रदेशसभामा बीस जना सांसद छौं । हामीलाई १८ जनाले शासन गरिरहेका छन् । एमाले एकता प्रक्रियाले हामीलाई उत्साही बनाएको छ ।’

    फ्लोर क्रस गरेर भौतिक पूर्वाधार विकासमन्त्री भएका अम्मर थापा पनि एमाले मिल्न लागेकोमा खुशी भएको बताउँछन् । तर उनले कर्णालीमा आफूलाई राजनीतिक नभइ व्यक्तिगत रुपमा इगो साँधेर मुद्दा लगाइएको बताउँदै कर्णालीमा आफूले यामलाल कंडेलबाहेक जो मुख्यमन्त्री भएपनि स्वीकार्ने बताए ।

    केन्द्रमा माधव नेपालले एमालेकै आधारमा चल्ने बताएपछि नेपालपक्षका मन्त्री एवम सांसदहरुले पनि अब एमालेको सरकार बनाउन खासै समस्या नहुने बताएका छन् ।

    ‘हामीले फ्लोर क्रस गरेको मन्त्री पदका लागि होइन, एमाले मिलाउनका लागि हो’ भूमी व्यवस्था कृषि तथा सहकारी मन्त्री कुर्मराज शाही भन्छन्, ‘माथि सहमति भएको खबर आएको छ । यसले कर्णालीमा सकारात्मक वातावरण निर्माण गरेको छ ।’

    मुख्यमन्त्रीका दावेदार संसदीय दलका नेता यामलाल कंडेलले भने अझै एक–दुई दिन यसै भन्न नसकिने बताए ।

  • कर्णाली एमालेद्वारा आगामी नीति, कार्यक्रम तथा बजेट बारे छलफल सुरु

    कर्णाली एमालेद्वारा आगामी नीति, कार्यक्रम तथा बजेट बारे छलफल सुरु

    सुर्खेत । नेपाल कम्युनिष्ट पार्टी एमाले संसदीय दल कर्णाली प्रदेशले कर्णाली प्रदेश सरकारले ल्याउने नीति तथा कार्यक्रम र बजेटबारे छलफल सुरु गरेको छ ।

    बिहीबार संसदीय दलको कार्यालयमा नेता यामलाल कंडेलसहितका सांसदहरुको सहभागितामा आर्थिक वर्ष २०७८/०७९ मा कर्णाली सरकारले ल्याउने बजेट, नीति तथा कार्यक्रममा पार्टीको भूमिका विषयमा छलफल भएको हो । बजेटलाई कोभिड केन्द्रीत गराई जनतालाई कोरोना महामारीबाट जोगाउन कर्णाली मैत्री बजेटका लागि अनौपचारीक रुपमा आवश्यक छलफल एमालेले गरेको हो ।

    ‘आज देखि हामीले कर्णालीका जनताको अपेक्षा अनुसारको बजेट, नीति तथा कार्यक्रम कस्तो हुनुपर्छ वा कस्तो आउन सक्छ भन्ने बारेमा अनौपचारीक छलफल सुरु गरेका छौं ।’ नेता कंडेलले भने, ‘आगामी आइतबार संसदीय दलको बैठक बोलाइएको छ । त्यसपछि हामी आवश्यक छलफल गर्छौं ।’

    आजको छलफलमा कर्णाली प्रदेश सरकारले गरेको पछिल्ला निर्णयहरु, कोरोना महामारीमा सरकारले गरेको कामहरु र सरकारका अन्य गतिविधिका बारेमा पनि छलफल भएको सांसदहरुले नेपालप्रेसलाई बताए । उनीहरुका अनुसार कर्णालीका नागरिक कोरोना महामारीमा भोक सँगै रोगसँग लडिरहेको यो अवस्थामा सरकारले रोग र भोकसँग लडनसक्ने नीति अवलम्बन गर्नुपर्ने र त्यसकालागि रचनात्मक सुझाव दिने नीति लिइएको छ ।

  • कर्णालीमा एमालेको सरकार बनाउने तयारी, दलको बैठकमा माधव नेपाल पक्ष पनि सहभागी

    कर्णालीमा एमालेको सरकार बनाउने तयारी, दलको बैठकमा माधव नेपाल पक्ष पनि सहभागी

    सुर्खेत । नेकपा एमाले कर्णाली प्रदेशसभा संसदीय दलको बैठक सुर्खेतमा शुरु भएको छ । साबिक नेकपा विभाजनपछि केपी ओली र प्रचण्ड माधव पक्षमा विभाजित सांसदहरु एमाले ब्युँतिएपछि पहिलो पटक एकै बैठकमा सहभागी भएका छन् ।

    दलका नेता यमलाल कँडेल र प्रदेशका अर्थमन्त्री प्रकाश ज्वाला अलग अलग गुटको नेतृत्व गर्छन् । संस्थापन पक्षका नेता कडेलले बोलाएको बैठकमा ज्वालासहित माधव नेपाल पक्षका सबै सांसद सहभागी छन् ।

    २० सदस्यीय प्रदेशसभा संसदीय दलमा सभामुख बाहेक १९ जना सदस्य बैठकमा सहभागी रहेको प्रमुख सचेतक गुलावजंग शाहले बताए । १९ मध्ये ९ जना ज्वाला पक्षका छन् । यसअघि कडेलले महेन्द्रबहादुर शाही नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता गरेको जानकारी प्रदेश प्रमुखलाई दिइसकेको थियो ।

    तर प्रकाश ज्वाला पक्षले भने आफूहरु सरकारको समर्थनमै रहेको बताएको थियो । प्रदेश प्रमुख गोविन्द कलौनीले सरकारलाई दिएको समर्थन एमालेले फिर्ता लिएको जानकारी प्रदेशसभालाई गराएपछि मुख्यमन्त्रीले विश्वासको मत लिने वा एमालेले अविश्वास प्रस्ताव दर्ता गर्नेबारे छलफल भइरहेको छ ।

    एमाले कर्णाली प्रदेश सहइन्चार्ज समेत रहेका प्रमुख सचेतक शाहले एमालेको नेतृत्वको एकल सरकार गठनबारे आजको बैठकमा छलफल हुने नेपाल प्रेसलाई बताए ।