Tag: एमबीबीएस

  • कर्णाली प्रतिष्ठानमा मङ्सिरदेखि एमबीबीएस पढाइ

    कर्णाली प्रतिष्ठानमा मङ्सिरदेखि एमबीबीएस पढाइ

    कर्णाली । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा मङ्सिर १९ गतेदेखि एमबीबीएसलगायतका कक्षा सञ्चालन हुने भएको छ ।

    प्रतिष्ठानको निर्धारित शैक्षिक कार्यक्रमअनुसार एमबीबीएसलगायतका कक्षा सञ्चालन हुने प्रतिष्ठानका निमित्त उपकुलपति सहप्राध्यापक डा निरेश थापाले जानकारी दिनुभयो । प्रतिष्ठानको लक्ष्य तथा उद्देश्यअनुरुप सञ्चालित स्वास्थ्य सेवा प्रवाह तथा प्राज्ञिक कार्यक्रम पूर्वतयारीअनुसार अघि बढ्ने निमित्त उपकुलपति डा थापाले बताए ।

    ‘प्रतिष्ठानको बहुप्रतिक्षित एमबीबीएसलगायतका शैक्षिक कार्यक्रम एमडी, एमएस, बिएनस, बिएमएस, बिपिएच र बिफर्मा सञ्चालन हुनेमा कुनै बाधा पर्ने हो कि भन्ने चिन्ता, चासो र भ्रमसहितका समाचार केही सञ्चारमाध्यममा आएको देखियो’, उनले भने, ‘प्रतिष्ठानको पूर्वनिर्धारित कार्यक्रमअनुसार सम्पूर्ण तयारी पूरा भइसकेको छ । जसअनुसार भर्ना प्रक्रिया अन्तिम चरणमा पुगेको छ ।’

    यसका लागि चिकित्सा शिक्षा आयोगको यही कात्तिक २५ गतेको सूचनाअनुसार आउँदो मङ्सिर १९ गतेदेखि कक्षा सञ्चालन गर्न प्रतिष्ठान पूर्णरुपमा तयार रहेको बताउँदै उनले प्रतिष्ठानमा सञ्चालित स्वास्थ्य सेवा प्रवाह तथा प्राज्ञिक कार्यक्रममा कुनै पनि रोकावट नभएको र नहुने जानकारी दिए ।

    तीन दिन अघि उपकुलपति डा मङ्गल रावल र रजिष्ट्रार नृपेन्द्र महतलाई स्वास्थ्य मन्त्रालयले काम काज रोक्ने निर्णय गरेपछि कर्णालीमा एमबीबीएसलगायतका शैक्षिक कार्यक्रम सञ्चालन तथा पढाइ अन्यौलमा भन्ने समाचार विभिन्न सञ्चारमाध्यममा आएका थिए । सरकारले त्यसको एक दिनपछि अर्थात् बिहीवार प्रतिष्ठानका शिक्षाध्यक्ष डा निरेश थापालाई निमित्त उपकुलपति र प्रशासकीय अधिकृत द्वन्द्वबहादुर शाहीलाई निमित्त रजिष्ट्रारको जिम्मा दिएको थियो ।

    नयाँ जिम्मेवारी पाएका निमित्त उपकुलपति डा थापा र निमित्त रजिष्ट्रार शाही, नर्सिङ डीन सरस्वती गौतम, जनस्वास्थ्य डीन मुनिराज क्षेत्रीसहितका पदाधिकारीले शुक्रबार पत्रकार भेटघाट कार्यक्रम आयोजना गरी प्रतिष्ठानका कुनै पनि काम नरोकिएका र नरोकिने भन्दै प्रष्टीकरण दिएका थिए ।

    निमित्त उपकुलपति डा थापाका अनुसार एमबीबीएस २० सीटमध्ये १५ जना भर्ना भइसकेको र पाँच सिट प्रक्रियामा छन् । एमबीबीएस २० सीटसहित अन्य ९० वटा सिटमा ६० सीट भर्ना भइसकेका छन् ।

    रासस

  • एमबीबीएस अध्ययनका लागि आवाससहित छात्रवृत्ति

    एमबीबीएस अध्ययनका लागि आवाससहित छात्रवृत्ति

    ताप्लेजुङ । आवाससहित एमबीबीएस अध्ययन छात्रवृत्ति प्रदान गर्ने नीति लिएको ताप्लेजुङको सिरीजङ्घा गाउँपालिकाले छात्रवृत्तिसम्बन्धी विधेयक पारित गरेको छ । गाउँपालिकाको नवौँ गाउँसभामा प्रस्तुत छात्रवृत्ति दिनेलगायतका ४३ बुँदे नीति तथा कार्यक्रमलाई सोमबार बैठक बसी स्वीकृत गरेको हो ।

    स्वीकृत छात्रवृत्तिसम्बन्धमा बनेको विधेयकले प्रत्येक वर्ष चिकित्सा शिक्षा आयोगबाट सञ्चालन हुने एमबीबीएस अध्ययन प्रवेश परीक्षा उर्तीण गर्ने गाउँपालिका क्षेत्रभित्रको एक जना विद्यार्थीलाई आवाससहित छात्रवृत्ति दिने व्यवस्था गरेको छ । गाउँपालिकाभित्रका विद्यार्थीले उक्त प्रवेश परीक्षा उत्तिर्ण गर्न नसके जिल्लाका कुनै पनि क्षेत्रका विद्यार्थीले उक्त छात्रवृत्ति पाउनेछन् ।

    यस्तै गाउँपालिकाभित्रका सामुदायिक विद्यालयमा अध्ययन गर्ने सबै विद्यार्थीलाई कक्षा ११ र १२ को अध्ययन निःशुल्क गर्ने व्यवस्थालाई समेत निरन्तरता दिने निर्णय भएको गाउँपालिका अध्यक्ष टीकाराम गुरुङले जानकारी दिए । कक्षा १ देखि ५ सम्मका विद्यार्थीलाई निःशुल्क पोशाक र स्कुल ब्याग गाउँपालिको प्रदान गर्ने भएको छ ।

    गाउँपालिका क्षेत्रभित्रको क्याम्पसमा पढ्ने दलित, महिला, अपाङ्गता परिचयपत्र भएका विद्यार्थीलाई स्नातक वा सो भन्दा माथिको अध्ययन निःशुल्क बनाइनेसमेत निर्णय भएको छ । यता सबै वडाबाट प्रत्येक वर्षको एसर्इई परीक्षाको नतिजामा उत्कृष्ट नतिजा हासिल गर्ने हरेक वडाका एक÷एकजना गरी आठजना विद्यार्थीलाई प्राविधिक विधामा प्रविणता प्रमाणपत्र तह वा सो सरह अध्ययनका लागि आवाससहितको छात्रवृत्ति दिने व्यवस्थालाई निरन्तरता दिने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सन्तोष घिमिरेले बताए ।

    कक्षा ११ र १२ को अध्ययन निःशुल्क गर्ने, पोशाक र ब्याग वितरण गर्ने, प्राविधिक विषयको अध्ययनका लागि छात्रवृत्ति दिने कार्यक्रम चालू आर्थिक वर्षबाटै सुरु गरिएका थिए । उक्त कार्यक्रमलाई पुन निरन्तरता दिने गाउँपालिकाले निर्णय गरेको हो ।

  • जो चीन फर्किन पाएनन्- डाक्टर बन्ने सपनामा कोरोनाको तगारो

    जो चीन फर्किन पाएनन्- डाक्टर बन्ने सपनामा कोरोनाको तगारो

    लहान ।

    • सिरहाको लहान नगरपालिका- १ गोरछारीका निरज नारायण महतो चीनबाट एमबीबीएस. गर्दैछन् । १७ महिनाअघि अर्थात् २०७६ पुस २४ गते ३५ दिनको जाडो बिदामा घर आएका उनी फर्कन पाएका छैनन् ।
    • झापा दमककी अस्मिता शाह चीनको चाङ्सा मेडिकल युनिभर्सिटीमा डाक्टरी पढ्दै छिन् । उनी पनि विदामा घर आएपछि फर्किन पाएकी छैनन् ।
    • महोत्तरीको वलवा नगरपालिका- ५ का सुनिज यादव चीनको छिन्छियाङ मेडिकल युनिर्भसिटीमा एमबीबीएस पढ्दैछन् । विदामा घर आएका उनी पनि फर्केर चाइना जान पाइरहेका छैनन् ।

    महतो, शाह र यादव जस्तै सन् २०१४ र २०१५ को शत्रमा चीनमा एमबीबीएस गर्दै गरेका नेपालका लगभग ३ सय विद्यार्थी विदाको समयमा नेपाल आए, तर कोरोना कहरका कारण उनीहरु चीन फर्कन पाएका छैनन् । जसकारण उनीहरुको पढाइ प्रभावित भएको छ ।

    उनीहरुले पटक-पटक नेपाल सरकारसंग चीन फर्कने वातावरण बनाइदिन गुहार मागिसके । तर उनीहरुको कुरा कसैले सुनेको छैन । जसकारण धेरै लगानी गरेर डाक्टर पढ्न गएका विद्यार्थी र उनीहरूका अभिभावक चिन्तामा छन् ।

    छुट्टीमा नेपाल आएका महतो फर्कने तरखर गरिरहेका बेला चीनमा लकडाउन भयो । कोरोना महामारी विश्वव्यापी भएपछि चीनले बाहिरका नागरिकलाई प्रवेशमा रोक लगाएपछि उनी चीन फर्कन नपाएका हुन् । उनले ‘ईनटर्नसीप’ पनि गर्न पाएका छैनन् ।

    सन् २०१४ को व्याचका विद्यार्थीले पढाइ सकेर ६ महिनासम्म ईनटर्नसीप गरेका छन् । तर सन् २०१५ को शत्रका विद्यार्थीले ‘थेउरी’ कक्षासमेत लिन नपाएको महतोको भनाइ छ ।

    ३५ दिने जाडो बिदामा घर फर्केकामध्ये केहीको ६ महिना ‘थेउरी’ क्लाससमेत बाँकी थियो । उनीहरुले कोरोना कहरबीच नै अनलाईनमार्फत् सैद्धान्तिक कक्षा पूरा गरे । महतोले भने, ‘अहिले जुन महिनाबाट ईनटर्नसीप शुरू हुनुपर्ने तर चीन फर्कन नपाउँदा १७ महिनासम्म त्यत्तिकै बिताउनु परेको छ ।’

    महतोका अनुसार कोरोना सङ्क्रमण बढ्दै गएपछि तत्काल आउने वातावरण नभएकाले नेपालमा इन्टर्नसीप गर्न मिल्ने भए कलेजले आवश्यक सबै कागजात पठाउने भनेको छ । उनले भने, ‘चीनका कलेजहरूले आफ्नै देशमा मिल्छ भने इन्टर्नसीप गर्नू भनेर नेपाली विद्यार्थीलाई पत्राचार गरेको छ, तर नेपाल सरकारले त्यसमा चासो नै दिएको छैन ।’

    कोरोना महामारीको दोस्र्रो भेरियन्ट आइसकेको र तेस्रो भेरियन्ट आउने विज्ञले चेतावनी दिइरहेका कारण तत्काल चीन फर्कन सक्ने अवस्था नभएकोप्रति विद्यार्थी चिन्तित छन् । ‘हामीले यो बिषम परिस्थितिमा नेपालमै ईन्टर्नसीप गर्न पाउनु पर्दछ’, महतोले भने, ‘हामीले मेडिकल काउन्सिलको ढोका पनि ढक्ढक्यौं, तर काउन्सिलले पनि केही गरेन ।’

    चीनस्थित दूतावासले आफ्नो देशमा ‘इन्टर्नसीप’ गर्न भनेपछि थप प्रतिक्रिया दिन नचाहेको विद्यार्थीको भनाइ छ । ‘हामीलाई निकै गाह्रो भइसक्यो’ महतोले दुखेसो पोखे, ‘हाम्रो लगानी र भविष्य नै अन्योलमा परिसक्यो, अझै कति दिन यसरी बस्ने ?’

    जग्गा बेचेर कलेजलाई बुझाएको पैसा डुब्ने चिन्ता

    एमबीबीएस अध्ययनका गर्नका लागि प्रत्येक नेपाली विद्यार्थीले चीनको कलेजलाई मात्रै ३० देखि ४० लाख रूपैयाँ कलेज अनुसार बुझाएका छन् । जग्गा जमिन बेचेर सयकडा पाँच रुपैंया ब्याजमा ऋण लिएर कलेजलाई बुझाएका विद्यार्थी र अभिभावक ‘डिप्रेशन’को अवस्थामा पुगेको महतो बताउँछन् ।

    ‘म किसानको छोरा, लहान बजारको जग्गा बेचेर र ऋण काडेर डाक्टर बन्ने सपना पूरा गर्न बुबा आमाले मलाई विदेश पठाउनु भयो’, उनले थपे, ‘तर हामी १७ महिनादेखि अलमलको अवस्थामा छौं । दिनमा भोक र रातमा निद्रा लाग्दैन ।’ बुवाआमाको पीडा सम्झेर झन् चिन्ता थपिएको उनको भनाइ छ ।

    ‘छोराछोरी पढाएर डाक्टर बनाउने सपना नै अन्यौल भएपछि कुनै पनि बेला जे सुकै गर्न सक्ने अवस्थामा पुगेका छौ’, उनले भकानिँदै पीडा पोखे, ‘ऋणको भारीले थिचिएको छ । साहु दिनहुँ घरमा आउछन्, के भनेर टार्ने ?’

    अस्मिता शाहको पीडा पनि उस्तै छ । ‘चर्को ब्याजमा ऋण लिएर अनि जग्गा जमिन बेचेर चीनमा एमबीबीएस गर्न परिवारले पठाए । छोराछोरीले पढाइ पूरा गरेपछि कमाउनेछन् भन्ने आशा सबै अभिभावकलाई हुनु स्वभाविक हो’ अस्मिता भन्छिन्, ‘पढाइ सकेर कमाउने कुरा अन्योलग्रस्त छ, महिनैपिच्छे ब्याज तिर्नै नसक्ने स्थिति आइसक्यो ।’

    सरकारले अनुमति दिएर नेपालमै ईन्टर्नसीप मात्रै गर्न पाए पनि ठूलो राहत मिल्ने उनको भनाई छ ।

    महोत्तरीको यादवको पीडा पनि महतो र शाहको जस्तै छ । डाक्टर बन्नका लागि लिएको ऋणले भतभती पोलिरहेको उनी बताउँछन् । ‘पढाइका लागि भएको जग्गा जमिन पनि बेच्यौं, अहिले जिन्दगीनै अन्धकारमय भएको छ’, यादवले भने, ‘नियमित पढाई चलेको भए यतिबेला हामी ‘इन्टर्नसीप’ गरेर डाक्टरको लाइसेन्स लिइसकेका हुन्थ्यौं । अब कहिलेसम्म यसरी थन्किएर बस्नुपर्ने हो केही टुंगो छैन ।’

    छिमेकी र आफन्तलाई दिने जवाफ पनि हुन छाडेको यादवको भनाइ छ । ‘कहिले त ब्यर्थै एमबीबीएस पढ्न चीन गइएछ जस्तो लाग्छ’, पछुताउँदै उनले भने, ‘डाक्टर बन्ने सपनाले जिन्दगी नै सकिएला भन्ने डर लाग्न थालेको छ ।’

    नेपालमै ईन्टर्नसीप गर्न पाउनुपर्ने माग

    विद्यार्थीहरुले कि चीन जान कि त नेपालमै ईन्टर्नसीप गर्ने वातावरण बनाइदिन सरकारसँग माग गरेका छन् । यसका लागि उनीहरुले नेपाल मेडिकल काउन्सिलमा निबेदन दिएका छन् । तर काउन्सिलले मेडिकल शिक्षा आयोग भक्तपुरले स्वीकृति दिनुपर्ने जवाफ दिएको विद्यार्थीहरु बताउँछन् ।

    महोत्तरीका विद्यार्थी यादव भन्छन्, ‘अहिले कोरोनाका कारण आयोगसम्म हामी जान सकेका छैनौ ।’ उनीहरुले नेपालस्थित चिनियाँ दूतावासमा फोन र ईमेल गर्दा त्यसको जवाफ नपाएको गुनासो गरेका छन् । दमकी छात्रा शाहले नेपालमा पनि लकडाउन भएकोले अहिले चुपचाप बस्न बाध्य भएको बताइन् । उनले भनिन्, ‘तर हामी लकडाउन खुकुलो हुनेबित्तिकै सरकारलाई थप दबाब दिन्छौ ।’

    अहिले कारोनाका कारण नेपालमा धेरै स्वस्थ्यकर्मीको खाँचो परेको भन्दै उनीहरुले जतिसुकै अफ्ठेरोमा गएर भए पनि ईन्टर्नसीप गर्न तयार रहेको बताएका छन् ।

  • जुम्लामा एमबीबीएस पढाइ हुने : २५ सिट दिने आयोगको निर्णय

    जुम्लामा एमबीबीएस पढाइ हुने : २५ सिट दिने आयोगको निर्णय

    जुम्ला । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा चिकित्साशास्त्रको स्नातक तह (एमबीबीएस) कार्यक्रम सञ्चालन गर्न स्वीकृति प्राप्त गरेसँगै कर्णालीबासीको सपनाले सार्थकता पाएको हो । बहुप्रतिक्षित सो कार्यक्रम सञ्चालनका लागि चिकित्सा शिक्षा आयोगले स्वीकृति दिने निर्णय गरेको छ ।

    यही जेठ २९ गते सम्पन्न आयोगको बैठकले प्रतिष्ठानमा स्नातक तहको एमबीबीएस कार्यक्रम सुरुवात गर्न स्वीकृति दिने निर्णय गरेसँगै अब कर्णालीमा डाक्टरी पढाइको वैधानिक ढोका खुलेको हो ।

    आयोगका सूचना अधिकारी सेमन्तराज कोइरालाले प्रतिष्ठानमा एमबीबीएस कार्यक्रम सुरु गर्ने निर्णय भइसकेको जानकारी दिँदै चालु आर्थिक वर्षको शैक्षिक सत्रभित्र नै कार्यक्रम सञ्चालन हुने जानकारी दिए । ‘कोभिड-१९ का कारण निर्णयसहितका प्रक्रियामा ढिलो भए पनि यही शैक्षिक सत्रमा एमबीबीएस कार्यक्रम सञ्चालन हुन्छ’, उनले भने, ‘हाललाई एमबीबीएस सञ्चालन गर्न प्रतिष्ठानलाई करीब २५ सिट दिने गरी निर्णय भएको छ ।’

    आधिकारिकरुपमा एक÷दुई दिनभित्रै आयोगका बैठकका निर्णय सार्वजनिक गरिने उनको भनाइ थियो । प्रतिष्ठानका शिक्षाध्यक्ष प्रा.डा. निरेश थापाले घर–आँगनमा डाक्टर बन्ने कर्णालीमा मेघावी छात्र–छात्राको सपना पुरा भएको बताए । उनले भने, ‘कर्णालीलाई मेडिकल हब बनाउने ढोका खुलेको छ । प्रतिष्ठानमा एमबीबीएस र एमडी कार्यक्रम सञ्चालनले गुणस्तरीय स्वास्थ्य सेवा र चिकित्सा शिक्षा सुनिश्चित गर्न थप कोशेढुङ्गाको गर्नेछ ।’

    प्रतिष्ठानमा चिकित्सा शिक्षाको स्नातकोत्तर तहको अध्यापन सुरुवात भइसकेको छ । प्रतिष्ठानमा स्नातोकत्तर तहमा भक्तपुरका डा. रहिस कोजु, काठमाडौं निवासी डा. प्रशंसा ताम्राकार र कपिलवस्तुका डा. वेदकुमार चौधरी जनरल ‘एमडी इन जनरल प्राक्टिस तथा इमरजेन्सी मेडिसिन’ विषयमा अध्ययनरत छन् । यसैगरी दार्चुला (हाल धनगढी) निवासी डा. ललितसिंह धामी एनेस्थेसिया र बारा कलैयाका मुन्ना केशरी पेडियाट्रिक्समा स्नाकोत्तर तहमा अध्ययनरत छन् ।

    शिक्षाध्यक्ष प्रा.डा. थापाले कर्णालीको समग्र स्वास्थ्य सुधारमा बहुप्रतिक्षित एमबीबीएस कार्यक्रमले सहयोग गर्ने जनाउँदै यसका लागि सरकारलई धन्यवाद दिए । ‘स्नातक तहको डाक्टरी पढाइ कर्णालीको विकासको कोशेढुङ्गा हो’, उनले भने, ‘अब हामी अब्बल चिकित्सक उत्पादनमा हाम्रो ध्यान जानेछ ।’

    विशेष गरी ती दुवै शैक्षिक कार्यक्रम प्रतिष्ठानमा सञ्चालनका लागि आवश्यक पाठ्यक्रम, भौतिक पूर्वाधार, जुम्ला अस्पतालको स्तरोन्नति, उपकरण थप, दक्ष जनशक्ति (शिक्षक)को व्यवस्थापनमा प्रतिष्ठानका पूर्व उपकुलपति प्रा.डा. राजेन्द्रराज बाग्लेको अथक योगदान थियो । उनले भने, ‘कर्णालीको स्वास्थ्य सुधारमा नयाँ युगको सुरुवात भएको छ । अब उत्कृष्ठ अध्यापनमा जोड दिनुपर्छ ।’

    एमबीबीएस कार्यक्रम सुरु हुने भएपछि ‘कर्णालीमा आउ, डाक्टर बनेर जाउँ’ भन्ने कर्णालीबासीको सपना अब पुरा हुने निश्चित भएको कर्णाली प्रदेशका पूर्व आन्तरिक मामिला तथा कानूनमन्त्री नरेश भण्डारीले बताए ।

    ‘अब कर्णालीले मुलुकमा स्वास्थ्य सेवा पुर्‍याउने गरी डाक्टर जनशक्ति उत्पादन गर्दछ’, उनले भने, ‘विगतमा रोग, भोक, गरिबी, अशिक्षा र उपेक्षामा परेको कर्णालीले मुलुकका उपेक्षित र स्वास्थ्य सेवाको पहुँचमा नरहेका नागरिकहरुसमक्ष सेवा पुर्‍याउने मर्मलाई आत्मसात् गर्दै आफ्नो गन्तव्य तय गर्छ ।’

    प्रतिष्ठानका प्रमुख प्रशासकीय अधिकृत अमृत भण्डारी प्रतिष्ठानमा चिकित्सा शास्त्रका थप नयाँ कार्यक्रम सञ्चालनका तयारी भइरहेको जानकारी दिँदै एमबीबीएस र एमडी कार्यक्रमले चिकित्सा शिक्षामा नयाँ ढोका खुला गरेको जानकारी दिए । उनले भने, ‘प्रतिष्ठानले कर्णालीबासीलाई गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गरिरहेको छ ।अब सेवाका साथसाथमा शिक्षामा जोड दिन्छौ ।’

    कोरोना परीक्षण तथा उपचारमा प्रतिष्ठानद्वारा सञ्चालित जुम्ला अस्पतालले देशमा नै उत्कृष्ठ सेवा पुर्‍याउँदै आएको छ । प्रतिष्ठानले कर्णालीका डाक्टर अभाव भएका अस्पताल तथा पालिकामा डाक्टरको व्यवस्था समेत गर्दै आएको छ ।

    विगतमा सिटामोलको चक्की नपाउने कर्णाली आज विशेषज्ञ डाक्टरसहितको जनशक्ति उत्पादन गर्ने थलोमा रुपान्तरण भएको छ । इच्छाशक्तिका अगाडि असंभव ठानिएका हरेक कुरा असत्य साबित हुँदा रहेछन् भन्ने चरितार्थ दुर्गम कर्णाली प्रदेशको जुम्लामा भइरहेको स्नातकोत्तर तहको चिकित्सा शिक्षाको पठनपाठन र चालु आवभित्रै सुरु हुने एमबीबीएस कार्यक्रमले पुष्टि गरेको छ ।
    -रासस

  • नेपालमै इन्टर्नसिप गर्न पाउनुपर्ने भन्दै एमबीबीएसका विद्यार्थी आन्दोलित

    नेपालमै इन्टर्नसिप गर्न पाउनुपर्ने भन्दै एमबीबीएसका विद्यार्थी आन्दोलित

    काठमाडौं । कोभिड–१९का कारण गत वर्ष चीनबाट फर्केका एमबीबीएस अध्ययनरत विद्यार्थीहरुले नेपालमै इन्टर्नसिप गर्न पाउनुपर्ने माग गर्दै नेपाल मेडिकल काउन्सिलमा धर्ना दिएका छन् ।

    चीनका विभिन्न विश्वविद्यालयमा अध्ययनरत १ सय ५२ जना विद्यार्थीहरुले आफ्नो इन्टर्नसिप पुरा नभएको र तत्काल चीन फर्कन पाउने कुनै सम्भावना नदेखिपछि इन्टर्नसिप सुनिश्चितताको माग गर्दै काउन्सिल अगाडि आन्दोलन धर्ना दिएका हुन् ।

    विद्यार्थीहरुले ६ महिना अगाडि नै चिकित्सा शिक्षा आयोग, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा पत्र पठाइएको तर कुनै सम्बोधन नभएकाले आफूहरु समस्यामा परेको बताएका छन् ।

    सन् २०१४को ब्याचमा एमबीबीएस अध्ययनरत विद्यार्थीहरुको गतवर्ष इन्टर्नसिप रहेको र तीन महिना देखि दश महिना सम्म इन्टर्नसिप गर्न बाँकी रहेको विद्यार्थीहरुले बताएका छन् । पढाई पुरा गरेर काम शुरुगर्नुपर्ने बेला भइसक्दा पनि इन्टर्नसिप पुरा गर्न नपाउँदा अनिश्चित भएर बस्नुपरेको पनि विद्यार्थीहरुले बताएका छन् ।

    नेपाल मेडिकल काउन्सिलका सदस्य डा. शिवजी पौडेलले आन्दोलनरत विद्यार्थीहरुसँग कुराकानी गर्दै सन् २०१४को ब्याचका विद्यार्थीहरुको जस्तै सन् २०१५का विद्यार्थीहरुको समेत समस्या हुने देखिएकोले तत्काल प्याकेजमै समस्या समाधान गर्न कठिन रहेको बताए ।

    तर कानून अनुसार सहजिकरण गर्नका लागि छलफल भइरहेको पनि बताए । चिकित्सा शिक्षा आयोगबाट निर्णय भएर आएमा कार्यान्वयन गर्न काउन्सिल सकारात्मक रहेको पनि डा. पौडेलले बताए ।

    कतिपय विद्यार्थीहरुले काउन्सिलले लिने परीक्षा समेत पास गरिसकेका छन तर इन्टर्नसिप पूरा गर्न नपाउँदा लाइसेन्स पाउन नसकेको विद्यार्थीहरुले बताएका छन् ।

    बाध्यात्मक परिस्थितिमा नेपालकै विश्वविद्यालय अन्तर्गतका मेडिकलहरुमा इन्टर्नसिप पूरा गर्न पाउने इन्टर्नसिप गाइडलाइनमा व्यवस्था भए अनुसार आफूहरुको समस्या समाधान हुनुपर्ने माग विद्यार्थीहरुको छ ।