Tag: उपनिर्वाचन

  • प्रतिनिधि र प्रदेशसभा उपचुनावको तयारीमा निर्वाचन आयोग, स्थानीय तहको नहुने

    प्रतिनिधि र प्रदेशसभा उपचुनावको तयारीमा निर्वाचन आयोग, स्थानीय तहको नहुने

    काठमाडौं । स्थानीय तहमा रिक्त रहेका पदाधिकारीका लागि उपनिर्वाचन नहुने भएको छ । तर, निर्वाचन आयोगले प्रदेशसभा र प्रतिनिधिसभाको उपचुनावको तयारी भने थालेको छ ।

    निर्वाचन आयोगका सचिव सुरेश अधिकारीले स्थानीय तहको अर्को निर्वाचन आउन एक वर्ष पनि बाँकी नभएकाले उपनिर्वाचन नगराइने जानकारी नेपाल प्रेसलाई दिए ।

    २०७४ वैशाख ३१ मा पहिलो र असार १४ मा दोस्रो गरी स्थानीयत तहको निर्वाचन दुई चरणमा भएको थियो ।

    स्थानीय तहका पदाधिकारीको एक वर्षभन्दा बढी पदावधि बाँकी रहेको अवस्थामा पद रिक्त हुन गएमा उपनिर्वाचनद्वारा पदपूर्ति गर्नुपर्ने संवैधानिक व्यवस्था छ ।

    पहिलो चरणको चुनाव भएको अवधि २०७९ वैशाखमा पुग्छ जुन समय आउन १० महिना पनि छैन ।

    प्रतिनिसभा र प्रदेशसभा उपनिर्वाचनको तयारी

    आयोगले प्रतिनिधिसभा र प्रदेशसभाको उपनिर्वाचनका लागि भने तयारी शुरू गरेको छ । आयोगका सचिव अधिकारीले उपनिर्वाचनको मिति सरकारसँग छलफल गरेर तय गर्ने र त्यसका लागि प्रधानमन्त्री शेरबहादुर देउवासँग समय मागिएको जानकारी दिए ।

    संविधानमा प्रतिनिधिसभा र प्रदेशसभाको कार्यकाल ६ महिनाभन्दा बढी समय बाँकी छँदै कुनै सदस्यको स्थान रिक्त भएमा त्यस्तो स्थान जुन निर्वाचन प्रणालीबाट पूर्ति भएको थियो सोही प्रक्रियाबाट गर्नुपर्ने व्यवस्था छ ।

    प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन २०७४ मंसिर १० र मंसिर २१ मा भएको थियो । अर्को चुनाव २०७९ मंसिभित्र गर्नुपर्छ जसका लागि करिब १७ महिना बाँकी छ ।

    रिक्त स्थान : प्रतिनिधिसभा- ४ र प्रदेशसभा- ११

    दल परिवर्तन गरेका कारण कारवाहीमा परेका र राजीनामा दिएका गरी अहिले प्रतिनिधिसभाका ४ र प्रदेशसभाका ११ सदस्यको पद रिक्त भएको छ । ती रिक्त स्थानमा अब आयोगले उपनिर्वाचन गराउनेछ ।

    एमालेमा गएका कारण माओवादी केन्द्रले अर्घाखाँची-१ का टोपबहादुर रायमाझी, कैलाली-४ का लेखराज भट्ट, रौतहट-३ का प्रभु साह र कैलाली-३ का गौरीशंकर चौधरीलाई कारवाही गरि पदमुक्त गराएको थियो ।

    त्यस्तै प्रदेशसभातर्फ एमालेमा गएका कारण ताप्लेजुङ ‘ख’ बाट निर्वाचित टंक आङबुहाङलाई माआवादी केन्द्रले कारवाही गरेको थियो ।

    प्रदेश २ मा तीनजना प्रदेशसभा सदस्यको पद खाली छ । दल त्याग गरेर एमालेमा गएका कारण माओवादी केन्द्रले प्रदेश २ का चार प्रदेशसभा सदस्यलाई कारवाही गरेको थियो ।

    दल त्याग गरेकाले राजनीतिक दलसम्बन्धी ऐन अनुसार पदमुक्त हुनेमा धनुषाका रामचन्द्र मण्डल, बाराकी ज्वाला साह र रौतहटका कुन्दनप्रसाद कुशवाहा छन्। समानुपातिक सांसद मोहम्मद समीर कारवाहीमा परे पनि माओवादीले उनको ठाउँमा नयाँ सदस्य नियुक्त गरिसकेको छ ।

    वागमती प्रदेशमा एक प्रदेशसभा सदस्यको पद रिक्त छ । दोलखा ‘ख’ बाट निर्वाचित पशुपति चौलागाईंको कोरोनाका कारण मृत्यु भएको थियो ।

    लुम्बिनी प्रदेशसभामा पनि ४ सदस्यको पद रिक्त भएको छ । दुई सांसदले दल त्याग गरेको र अरु दुईजनाले राजीनामा दिएका कारण त्यहाँ खाली भएको हो ।

    एमालेका सांसद दाङका अम्बरबहादुर डाँगी र कपिलवस्तुका दीर्घनारायण पाण्डेले राजीनामा दिएका थिए। त्यस्तै प्रदेशसभा सदस्यद्वय रुपन्देहीका दधिराम न्यौपाने र गुल्मीका दिनेश पन्थी एमालेमा गएका कारण माओवादीले उनीहरुलाई कारवाही गरेको थियो ।

    कर्णाली प्रदेशसभा सदस्य दैलेखका धर्मराज रेग्मी र सुदूरपश्चिम प्रदेशसभा सदस्य अछामका झपट बोहोरा एमालेमा गएका कारण माओवादीले कारवाही गरेको थियो ।

  • राष्ट्रियसभा उपनिर्वाचनका लागि आज उम्मेदवारी दर्ता हुँदै

    राष्ट्रियसभा उपनिर्वाचनका लागि आज उम्मेदवारी दर्ता हुँदै

    काठमाडौं । राष्ट्रियसभा सदस्यको उपनिर्वाचनका लागि आज उम्मेदवारको मनोनयन दर्ता हुँदैछ । बागमती प्रदेशबाट प्रतिनिधित्व गर्ने राष्ट्रिय सभा सदस्यको उपनिर्वाचनका लागि जेठ ६ गते हुने आज मनोनयन दर्ता हुने निर्वाचन आयोगले जनाएको छ ।

    आयोगका प्रवक्ता राजकुमार श्रेष्ठका अनुसार आज बिहान १० बजेदेखि अपराह्न ४ बजेसम्म उम्मेदवारी दर्ताका लागि समय छुट्याइएको छ ।

    राष्ट्रिय सभा सदस्यको उम्मेदवार बन्नका लागि कुनै गाउँपालिका वा नगरपालिकाको मतदाता नामावलीमा नाम समावेश भएको ३५ वर्ष उमेर पूरा भएको नेपाली नागरिक हुनुपर्नेछ । राष्ट्रियसभा सदस्य निर्वाचन ऐन २०७५ को दफा ११ अनुसार उम्मेदवार बन्न संघीय कानूनले अयोग्य नभएको तथा लाभको पदमा बहाल नरहेको हुनुपर्नेछ ।

    उम्मेदवार बन्न एकजना प्रस्तावक र एकजना समर्थक अनिवार्य हुनुपर्नेछ । उम्मेदवारले धरौटीवापत १० हजार रुपैयाँ शुल्क समेत बुझाउनुपर्नेछ ।

    राजनीतिक दलका तर्फबाट मनोनयन दर्ता गर्नेले दलको आधिकारिक व्यक्तिको हस्ताक्षरसहितको पत्र पेश गर्नुपर्नेछ । राजनीतिक दलका उम्मेदवारले सम्बन्धित दलको र स्वतन्त्र उम्मेदवारले तोकिए बमोजिमको चुनाव चिन्ह पाउनेछन् ।

    राष्ट्रिय सभा निर्वाचनका लागि नेकपा माओवादी केन्द्र र नेपाली कांग्रेसले डा. खिमलाल देवकोटालाई उम्मेदवार बनाएका छन् । देवकोटालाई एमालेको माधव नेपाल पक्षको समेत समर्थन रहेको बताइन्छ ।

    याे पनि पढ्नुहाेस्
    राष्ट्रियसभा उपचुनावको गणित- एमालेका जनप्रतिनिधि को कता ? (सूचीसहित)

  • चार सांसदको पद रिक्त, निर्वाचन आयोगमा सूचना पुगेपछि ६ महिनाभित्र उपनिर्वाचन

    चार सांसदको पद रिक्त, निर्वाचन आयोगमा सूचना पुगेपछि ६ महिनाभित्र उपनिर्वाचन

    काठमाडौं । प्रतिनिधिसभाको कार्यकाल २ वर्ष बाँकी रहदै माओवादी केन्द्रबाट निर्वाचित चार सांसदको पद बिहिबारबाट रिक्त भएको छ । एमालेमा प्रवेश गरेपछि माओवादी केन्द्रले कारवाही गरेका चार सांसदको मन्त्री पद पनि स्वतः रिक्त भएको छ ।

    संसद सचिवालयले चार प्रतिनिधिसभा सदस्यको पद रिक्त भएको सूचना निर्वाचन आयोगलाई लेखेर पठाउने सहायक प्रवक्ता दशरथ धमलाले बताए । प्रतिनिधिसभाको कार्यकाल ६ महिनाभन्दा बढी रहेकाले त्यसपछि निर्वाचन आयोगले रिक्त ठाउँमा उपनिर्वाचन गराउनुपर्छ ।

    सांसद पद नरहेपछि मन्त्रीबाट पनि स्वतः पदमुक्त हुने र प्रधानमन्त्रीले उनीहरुलाई पुनः मन्त्री बनाउँदा ६ महिनासम्म उनीहरु सांसद नभए पनि मन्त्री हुन पाउँछन् । यसबीचमा उपचुनावमा जितेर आउने वा ६ महिनापछि आम निर्वाचन नै हुने सम्भावना पनि उत्तिकै छ ।

    प्रतिनिधिसभा निर्वाचनमा प्रत्यक्ष निर्वाचित सांसदहरु अर्घाखाँचीका टोपबहादुर रायमाझी, कैलाली ४ का लेखराज भट्ट, रौतहट ३ का प्रभु शाह र कैलाली ३ का गौरीकशंकर चौधरी सांसद पदबाट मुक्त भएका हुन् ।

    प्रत्यक्ष निर्वाचित सांसदहरुको पद रिक्त भएको अवस्थामा उपनिर्वाचन गराउनुपर्ने संबैधानिक व्यवस्था छ । संघीय संसद सचिवालयले सासद पद रिक्त रहेको बारे प्रधानमन्त्रीको कार्यालय र निर्वाचन आयोगलाई पत्राचार मार्फत जानकारी गराउने सचिवालयका सहायक प्रवक्ता दशरथ धमलाले जानकारी दिए ।