Tag: उत्पादन

  • थाइल्यान्डमा पनि उत्पादन हुन थाल्यो अस्ट्राजेनिका खोप

    थाइल्यान्डमा पनि उत्पादन हुन थाल्यो अस्ट्राजेनिका खोप

    बैंकक । कोरोनाभाइरस (कोभिड-१९) महामारी झेलिरहेको थाइल्यान्डमा स्थानीय औषधि निर्माताले बेलायतको अस्ट्राजेनिका खोप उत्पादन गर्न थालेको छ ।
    खोप उत्पादन हुन थालेसँगै थाई सरकारले आमजनतालाई तिब्र गतिमा खोप दिने अभियान सोमबारदेखि थालेको छ । तर चाहेजति उत्पादन नहुँदा देशका विभिन्न स्थानमा खोप अभियानमा असर परेको अधिकारीहरुले बताएका छन् ।

    देशका विभिन्न अस्पताल र खोप केन्द्रहरुले सूचना प्रकाशन गरी सर्वसाधारणलाई खोप लगाउने तालिका परिवर्तन भएको जानकारी दिएका छन् ।
    थाइल्यान्डमा सियाम बायोसाइन्सले अस्ट्राजेनिका खोप उत्पादन गर्न थालेको हो । सरकारले चालु जुन महिनामा ६० लाख, जुलाईदेखि नोभेम्बरसम्म प्रत्येक महिना एक करोड तथा डिसेम्बरमा ५० लाख डोज खोप उत्पादन हुने जनाएको छ ।

    थाई प्रधानमन्त्री प्रयुथ चान-ओचाले सोमबार संवाददाताहरुसँग कुरा गर्दै योजना बमोजिम नै खोप आपूर्ति हुने बताए । उनले राजधानी बैंककस्थित एउटा रङ्गशालामा व्यवस्था गरिएको खोप केन्द्रको निरीक्षणका क्रममा यस्तो बताएका हुन् ।

    प्रयुथको सरकारमाथि पर्याप्त खोप समयमै व्यवस्था गर्न नसकेको भन्दै चौतर्फी आलोचना भइरहेको छ । कतिपयले सियाम बायोसाइन्समा बढी निर्भर भएका कारण सर्वसाधारणले समयमै खोप प्राप्त गर्न नसकिएको पनि बताएका छन् । सियाम बायोसाइन्सको स्वामित्व राजपरिवारका सदस्यको रहेको र खोप उत्पादनमा यसको पूर्व अनुभव नरहेको भन्दै चर्को आलोचना हुने गरेको छ ।

    प्रधानमन्त्री प्रयुथले स्वास्थ्य मन्त्रालयले हरेक प्रान्तमा सोमबारदेखि नै खोप अभियान सुचारु हुने जानकारी गराएको बताए । हरेक क्षेत्रमा कोभिड–१९ को संक्रमणका आधारमा खोपको व्यवस्था गरिएको पनि उनले जानकारी दिए ।

    थाइल्यान्डमा सन् २०२० को जनवरी यतादेखि हालसम्म एक लाख ८० हजारमा कोरोना संक्रमण देखिएको छ भने एक हजार २६९ जनाको ज्यान गएको छ । सरकारले यसै वर्षको अन्त्यसम्ममा ७० प्रतिशत जनतालाई खोप दिइसक्ने लक्ष्य लिएको छ ।

    सोमबारसम्ममा थाइल्यान्डमा ४२ लाख २० हजार डोज खोप दिइएको छ । थाइल्यान्डको कूल जनसंख्या सात करोडमध्ये खोप पाएको जनसंख्या करिब ४ प्रतिशत हो ।

    थाइल्यान्डमा हालसम्म चीनमा निर्मित सिनोभ्याक खोप प्रयोग गरिएको छ । अब अस्ट्राजेनिका पनि प्रयोगमा आउने छ भने थाई सरकारले फाइजर र जोन्सनका खोप पनि भित्र्याउने योजना अघि सारेको छ ।

    चीनले हालसम्म थाइल्यान्डलाई ६५ लाख डोज सिनोभ्याक खोप उपलब्ध गराएको छ । शनिबार पनि पाँच लाख डोज सिनोभ्याक खोप थाइल्यान्ड आइपुगेको छ ।

  • चीनको उत्पादन क्षेत्र निरन्तर सुधारतर्फ

    चीनको उत्पादन क्षेत्र निरन्तर सुधारतर्फ

    बेइजिङ । कोरोनाभाइरस महामारीको सङ्कटलाई समयमै सम्बोधन गरेको चीनको उत्पादन (म्यानुफ्याक्चरिङ) क्षेत्रमा मे महिनामा सामान्य सुधार आएको एक सर्भेले देखाएको छ ।

    औद्योगिक समूह र राष्ट्रिय तथ्यांक निकायले तयार पारेको मासिक पर्चेजिङ म्यानेजर्स इन्डेक्स (पिएमआई) मा चीनको औद्योगिक उत्पादन ५१ विन्दुमा रहेको छ । ५० विन्दुभन्दा माथिको गतिविधिले औद्योगिक उत्पादन वृद्धि भइरहेको सङ्केत गर्दछ । गत अप्रिलमा यो ५१.१ विन्दुमा थियो ।

    चिनियाँ लजिस्टिक एन्ड पर्चेजिङ महासंघ र राष्ट्रिय तथ्याँक ब्यूरोका अनुसार उत्पादन र आयात बढेको छ भने सामानको अर्डर र रोजगारी केही घटेको छ ।

    महासंघले जारी गरेको वक्तव्यमा अर्थशास्त्री झाङ लिकुनले तथ्याँक विश्लेषणबाट ‘बजार माग अपर्याप्त’ रहेको सङ्केत गर्ने बताएका छन् ।

    चिनियाँ उत्पादकहरुले अन्य मुलुकको तुलनामा सन् २०२० मा आफ्नो अर्थतन्त्र चाँडै खोलेका थिए ।