Tag: उज्वल थापा

  • १० दिनपछिको पीसीआर रिपोर्ट ‘अर्थहीन’, हेर्नुस् उज्ववल थापा र मदनकृष्णको फरक दृष्टान्त

    १० दिनपछिको पीसीआर रिपोर्ट ‘अर्थहीन’, हेर्नुस् उज्ववल थापा र मदनकृष्णको फरक दृष्टान्त

    काठमाडौं । विवेकशील नेपाली दलका संस्थापक अध्यक्ष उज्ज्वल थापाको मंगलबार उपचारका क्रममा निधन भयो । कोरोना संक्रणपछि गम्भीर बिरामी भएका थापा पछिल्लो समय मेडिसिटी अस्पतालको भेन्टिलेटरमा उपचाररत थिए ।

    स्मरणीय के छ भने थापाको निधन हुनुभन्दा एक दिनअघि पीसीआर रिपोर्ट नेगेटिभ आएको थियो । पीसीआरको नेगेटिभ रिपोर्ट आउनुको अर्थ
    कोरोना संक्रमणमुक्त हुनु हो । त्यसैले यो खबरले उनका धेरै शुभेच्छुकमा आशा पनि पलायो । तर चिकित्सकहरुका लागि भने यसको खासै अर्थ थिएन । किन त ?

    मेडिसिटी अस्पतालले थापाको निधनपछि जारी गरेको प्रेस विज्ञप्तिमा भनेको छ, ‘उहाँको पीसीआर नेगेटिभ आएको भए पनि शरीरका अंगहरुले काम गर्न नसकेको र जटिल संक्रमणको प्रभाव रहेकाले स्वास्थ्य स्थितिमा परिवर्तन आउन सकेको थिएन । चिकित्सकहरुको अथक प्रयास र सबैको सुभेच्छाका बाबजुद पनि उहाँको शारीरिक अवस्था सुदृढ हुन सकेन ।’

    उज्ववल थापाको भन्दा ठीक उल्टो अवस्था कलाकार मदनकृष्ण श्रेष्ठको छ । उनको रोग निको भइसकेको छ, तर पछिल्लो पीसीआर परिक्षणमा पनि रिपोर्ट पोजेटिभ नै आयो ।

    करिब एक महिनाअघि कोरोना संक्रमण भएका मदनकृष्ण अस्पतालमा उपचारपछि अहिले घरमै स्वास्थ्यलाभ गरिरहेका छन् । उनले पनि मेडिसिटी अस्पतालमै उपचार गराएका थिए । पहिलोपटक ८ दिन र दोस्रो पटक १४ दिन मेडिसिटी अस्पताल बसेपछि उनी घर फर्केका हुन् ।

    मंगलबारले फेसबुकमा आफ्नो स्वास्थ्य अवस्थाबारे जानकारी गराउँदै लेखेका छन्, ‘मेरो पीसीआर नेगेटिभ आयो भनेर सबैलाई सुनाउने इच्छाले केही नलेखी चुपचाप कुरिरहेको थिएँ । तर हिजो टेस्ट गराउँदा घरमा सबैको नेगेटिभ देखियो । मेरो अझै पोजेटिभ देखाएको छ ।’

    शरीरमा पोजेटिभ भए पनि डाक्टरहरूले भारसरहरू मरिसकेको भनेर आश्वस्त तुल्याएको उनले बताएका छन् । ‘अब खाली ती मरेका भाइरसका लाशहरु मात्र बाँकी छन् । त्यो बाँकी हुञ्जेल पनि मेसिनले पोजेटिभ नै देखाउँछ । तर, त्यसले केही फरक पर्दैन, केही दिनपछि
    त्यो आफैं जान्छ भनेका छन्,’ उनी लेख्छन् ।

    १० दिनपछिको पीसीआर ‘अर्थहीन’

    कसैलाई सञ्चो भइसक्दा पनि रिपोर्ट पोजिटिभ आइराख्ने कसैलाई रोगले गाँज्दै लैजादा पनि रिपोर्ट नेगेटिभ आउने किन हुन्छ त ? विशेषज्ञहरु जवाफमा भन्छन्– कोरोना संक्रमणको १० दिनपछि गरिने पीसीआर परिक्षणको रिपोर्ट जे आए पनि त्यसको अर्थ छैन ।

    कोरोना संक्रमण भएको १० दिनपछि परीक्षण गर्न नै आवश्यक नरहेको बताउँछन् स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. कृष्ण पौडेल । सरकारको गाइडलाइन पनि यही भएको उनले उल्लेख गरे ।

    ‘मानिसहरू नेगेटिभ रिपोर्ट कुरेर बस्छन् । जबकि संक्रमणको १० दिनपछि पीसीआर टेस्ट गर्नु आवश्यक नै हुँदैन । राष्ट्रिय टेस्टिङ गाइडलाइनले पनि नगर्नु भन्छ,’ डा पौडेलले भने । शरीरमा मरिसकेको भाइरसले पनि पोेजेटिभ देखाउने हुँदा कसैको महिना दिनसम्म पनि पाोजेटिभ देखिनसक्ने उनको भनाइ छ ।

    सरुवा रोग विशेषज्ञ डा शेरबहादुर पुनको भनाइ पनि उस्तै छ । अन्तर्राष्ट्रिय अनुसन्धानाले १० दिनपछि कोरोना भाइरस सक्रिय नहुने देखाएको उनले बताए । ‘निष्क्रिय भाइरस अरुलाई नसर्ने भएको हुँदा नेपाल सरकारले १० दिन आइसोलेसनमा बस्न भनेको हो,’ डा पुन भन्छन्, ‘धेरैजसोलाई एक-दुई दिन ज्वरो आएर निको हुन्छ । १० दिनसम्म सबै ठीक छ भने टेस्ट गरिराख्नु पर्दैन ।’

    ‘नेगेटिभ आउँदैमा ढुक्क हुन मिल्दैन’

    लक्षणहरु बढेको वा यथावत छन् भने १० दिनपछि गरेको पीसीआर रिपोर्ट नेगेटिभ आए पनि ढुक्क हुन नसकिने मन्त्रालयका प्रवक्ता डा. पौडेलले बताए ।

    ‘स्वास्थ्य जटिल भइसकेको अवस्थामा पीसीआर नेगेटिभ आउँदैमा सञ्चो हुँदैन । उज्ववल थापाको हकमा यही भएको हो । उहाँको पीसीआर नेगेटिभ आयो, तर त्यसबेलासम्म निमोनियाले फोक्सोमा पूरै असर गरिसकेको थियो । त्यसैले १० दिनपछि पीसीआर रिपोर्टभन्दा स्वास्थ्य अवस्था हेर्नुपर्छ,’ उनी भन्छन् ।

    डा पुन पनि नेगेटिभ रिपोर्ट आउँदैमा रोग सकियो भनेर बस्न नहुने सुझाउँछन् । ‘भाइरस नेगेटिभ हुनु भनेको यो अगाडि बढ्दैन भनेर बुझ्नुहुन्न । भाइरस सधैंभरि शरीरमा त रहँदैन । तर यसले एक प्रकारको असर छाडेको हुन्छ, जसल एक प्रकारको हलचल शरीरमा ल्याउने काम गर्छ । जब त्यो हलचल ल्याइदिन्छ, भाइरस नभए पनि असर रहिरहन्छ,’ डा पुनले भने । अंगहरूमा समस्या भइसकेको अवस्थामा त्यसले निरन्तरता पाउने उनको भनाइ छ ।

    उज्ववल थापाको रिपोर्ट नेगेटिभ आए पनि उनको स्वास्थ्य स्थिति गम्भीर बनिसकेको थियो । दुई साताअघि कोरोना संक्रमित बनेका थापा मेडिसिटी अस्पतालमा उपचाररत थिए।

    उनको केही दिनदेखि भेन्टिलेटरमा राखी इक्मो विधिबाट उपचार भइरहेको थियो । थापाजस्तै कतिपय निधन हुनेहरूमा त्यस्ता संक्रमित छन्, जसको रिपोर्ट नेगेटिभ आए पनि भाइरसले दीर्घकालीन असर गरिसकेको थियो ।

  • विवेकशील पार्टीका संस्थापक उज्ज्वल थापा रहेनन्

    विवेकशील पार्टीका संस्थापक उज्ज्वल थापा रहेनन्

    काठमाडौं । विवेकशील पार्टीका संस्थापक अध्यक्ष उज्ज्वल पाको निधन भएको छ ।

    साझा विवेकशील पार्टीका अध्यक्ष मिलन पाण्डेले आज अपरान्ह ४ः२५ बजे उपचारका क्रममा थापाको निधन भएको जानकारी दिएका छन् ।

    कोरोना संक्रमित थापाको मेडिसिटी अस्पतालमा उपचार भइरहेको थियो । भेन्टिलेटरमा राखेर इक्मो प्रविधिबाट उपचार भइरहे पनि स्वास्थ्यमा सुधार आउन सकेको थिएन । थापा ४४ वर्षका थिए । दुई साताअघि कोरोना संक्रमित बनेका थापाको यसअघि ग्राण्डी अस्पतालमा उपचार भएको थियो ।
    तर, भेन्टिलेटरमा राख्दा पनि अक्सिजन लिन कठिनाइ भएपछि इक्मो प्रविधिका लागि मेडिसिटीमा सारिएको थियो । सोमबार गरिएको पीसीआर परिक्षणमा नेगेटिभ रिपोर्ट आए पनि थापाको स्वास्थ्य सुधार हुन सकेन ।
    उनको छातिमा संक्रमण अत्यधिक फैलिएको थियो । थापाकोे स्वास्थ्यलाभका लागि सिंगै देशले प्रार्थना गरेको थियो । जनताले स्वतस्र्फुतरुपमा आर्थिक सहयोग पनि गरेका थिए । तर, धेरै युवाहरुका प्रिय नेतालाई कोरोनाले चुँडेको छ ।
    थापाले नेपालमा वैकल्पिक राजनीतिको उद्देश्य राखेर विवेकशील नेपाली दल स्थापना गरेका थिए । पछिल्लोसमय उनले मिलन पाण्डेलाई नेतृत्व हस्तान्तरण गरेका थिए । अहिले विवेकशील र साझा पार्टी एकीकरण भएर साझा विवेकशील पार्टी बनेको छ ।

     

  • उज्वल थापाको परिवारले भन्यो- दुर्गा प्रसाईको सहयोग आवश्यक पर्दैन

    उज्वल थापाको परिवारले भन्यो- दुर्गा प्रसाईको सहयोग आवश्यक पर्दैन

    काठमाडौं । विवेकशील साझा पार्टीका पूर्वअध्यक्ष उज्वल थापाको परिवारले बीएण्डसी मेडिकल कलेजका कार्यकारी निर्देशक दुर्गा प्रसाईले दिने भनेको सहयोग अस्वीकार गरेका छन् ।

    कोरोना संक्रमणबाट गम्भीर बिरामी परेपछि मेडिसिटी अस्पतालमा उपचाररत थापाको उपचारमा भइरहेको छ । उनको औषधी उपचारलगायतमा लागेको सबै खर्च बीएण्डसी मेडिकल कलेजले व्यहोर्ने दुर्गा प्रसाईले घोषणा गरेका थिए ।

    थापाको परिवार, आफन्तजन, साथी तथा शुभेच्छुकहरूबाट प्राप्त सहयोगले नै स्वास्थ्य उपचारको खर्च व्यहोरिरहेको र भविष्यमा पनि त्यसै गर्ने भएकोले दुर्गा प्रसाईंले दिने भनेको सहयोग आवश्यक नपर्ने परिवारले बताएको छ ।

    शनिबार विज्ञप्ति जारी गर्दै प्रसाईले विवेकशील साझा पार्टीले उपचारमा आर्थिक सहयोगका लागि अपिल गरेकोमा सामाजिक उत्तरदायित्व अन्तर्गत सामाजिक अभियन्ता थापाको उपचार खर्च प्रदान गर्ने बताएका थिए । हाल उनको उपचारको लागि

    उनको मेडिसिटी अस्पतालमा इसइएमओ प्रविधिबाट उपचार भइरहेको छ । पूर्वअध्यक्ष थापाको उपचारका खर्च बढी लाग्ने भएपछि परिवारको सहमतिमा उनका साथी तथा शुभचिन्तकहरूले क्राउडफन्डिङबाट आर्थिक सहयोग जुटाइरहेको छ ।

    गोफन्डमीमा खोलिएको खातामा अमेरिकी डलर २२,२९१ र नेपालमा बैंक खातामा करिब २६ लाख ५० हजार जम्मा भएको छ ।

  • उज्ज्वल थापाको सम्पूर्ण उपचार खर्च व्यहोर्ने दुर्गा प्रसाईको घोषणा

    उज्ज्वल थापाको सम्पूर्ण उपचार खर्च व्यहोर्ने दुर्गा प्रसाईको घोषणा

    काठमाडौं । बीएण्डसी मेडिकल कलेजका कार्यकारी निर्देशक दुर्गा प्रसाईले विवेकशील साझा पार्टीका पूर्वअध्यक्ष उज्वल थापाको औषधी उपचारलगायत सम्पूर्ण उपचार खर्च व्यहोर्ने घोषणा गरेका छन् ।

    कोरोना संक्रमणबाट गम्भीर बिरामी परेपछि मेडिसिटी अस्पतालमा उपचाररत थापाको उपचारमा लागेको सबै खर्च बीएण्डसी मेडिकल कलेजले व्यहोर्ने प्रसाईले घोषणा गरेका हुन् ।

    शनिबार विज्ञप्ति जारी गर्दै प्रसाईले विवेकशील साझा पार्टीले उपचारमा आर्थिक सहयोगका लागि अपिल गरेकोमा सामाजिक उत्तरदायित्व अन्तर्गत सामाजिक अभियन्ता थापाको उपचार खर्च प्रदान गर्ने बताएका हुन् ।

    उनले उपचार खर्चमा लाग्ने रकमको लागि सम्पर्क व्यक्ति प्रमेश गिरीको मोबाइल नम्बरसमेत विज्ञप्तिमै उल्लेख गरेका छन् ।