Tag: इटहरी

  • इटहरीमा माओवादी र नेकपा एस बढारिए, कार्यपालिकामा एमालेको बहुमत

    इटहरीमा माओवादी र नेकपा एस बढारिए, कार्यपालिकामा एमालेको बहुमत

    इटहरी । इटहरीको नगरकार्यपालिकामा नेकपा (माओवादी केन्द्र) र नेकपा एसको निल भएको छ। आज सार्वजनिक भएको अन्तिम नतिजाअनुसार मेयरमा कांग्रेस, उपमेयरमा एमाले विजयी भएका छन् भने २० वडा अध्यक्षमा १४ एमाले, पाँच कांग्रेस र एक एमालेको बाघी उम्मेदवार विजयी भएका छन् ।

    एमालेले २, ३, ४, ५, ७, ९, ११, १२, १५, १६, १७, १८ र १९ वडा अध्यक्ष जितेको छ भने नेपाली काङ्ग्रेसले १, ६, ८, १३ र २० वडा जितेको छ । वडा नम्बर १४ मा एमालेको बाघी प्यानल स्वतन्त्र उमेदवारकोरूपमा विजयी भएका छन् ।

    इटहरीको काङ्ग्रेस, माओवादी र एसको गठबन्धनमा एसले उपमेयर केशव विष्टसहित वडा नम्बर १४ मा वडा अध्यक्ष पाएको थियो भने १० र १८ मा वडा अध्यक्ष माओवादीले पाएको थियो । यी कुनै पदमा जित ननिकाल्दा इटहरीको नगरकार्यपालिकामा एस र माओवादीको निल भएको छ।

    माओवादी यसअगाडि पनि नगरकार्यपालिकामा निल थियो भने एसबाट मनोनित नगरकार्यपालिका सदस्यको रूपमा गौरीमान परियार थिए। नयाँ सत्ता समीकरणमा एमालेको एक्लो बहुमत भएकोले अबको मनोनित नगरकार्यपालिका सदस्य पनि एमाले वृत्तकै हुने भएको छ।

  • गठबन्धनमा भागबण्डा: इटहरीमा नेकपा एसलाई उपमेयरसहित एक वडाध्यक्ष, माओवादीकाे भागमा दुई वडाध्यक्ष

    गठबन्धनमा भागबण्डा: इटहरीमा नेकपा एसलाई उपमेयरसहित एक वडाध्यक्ष, माओवादीकाे भागमा दुई वडाध्यक्ष

    इटहरी । इटहरीमा तीन दलीय गठबन्धनबीच शुक्रबार राति मात्रै भागबण्डा टुंगियो । भागबण्डामा यहाँ माओवादी केन्द्र र नेकपा एसले ‘बोनस’ पाएको छ । इटहरीमा नेकपा एसले उपमेयर र एक वडा अध्यक्ष परेको छ भने माओवादीले दुई वडा अध्यक्ष पाएको छ ।

    यसअघि एकजना मात्रै जनप्रतिनिधि जितेको माओवादीले दुई वडा अध्यक्ष पाउनु नै ‘बोनस’ भएको नेताहरुले बताइरहेका छन् । माओवादीबाट चुनाव जितेका एक प्रतिनिधि पनि अहिले एमालेमा लागेका छन् ।

    २० वडा रहेको इटहरीमा तीनबाहेक सबै वडा कांग्रेसले राखेको छ ।

    सहमतिअनुसार माओवादीले १० र १८ को वडा अध्यक्ष पाएको छ भने वडा नम्बर १४ नेकपा एसको भागमा परेको माओवादीका इटहरी अध्यक्ष ज्वाला तामाङले बताए ।

    वडा नम्बर १० मा झमक प्रसाद पराजुली र १८ मा राजदेश चौधरीलाई माओवादीले अध्यक्षको उम्मेदवार बनाएको छ । २० वडामा माओवादीले १८ वडा सदस्य पाएको छ ।

    उपमेयरमा नेकपा एसले पूर्व राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव केशव बिस्ट र वडा नम्बर १४ को अध्यक्ष प्रेमचन्द रौतारलाई उठाएको छ ।

  • इटहरीमा बदलिएको परिस्थिति कुन दलको पक्षमा ?

    इटहरीमा बदलिएको परिस्थिति कुन दलको पक्षमा ?

    इटहरी । नेपाल सरकारले आगामी वैशाख ३० गतेका लागि स्थानीय तह निर्वाचनको मिति तोकेको छ । जसअनुसार राजनीतिक दलहरुले चुनावी प्रचार पनि तीव्र पारेका छन् । देशका ठूला दलले केही समयअघि महाधिवेशन सम्पन्न गरेर उत्साहका साथ निर्वाचनमा होमिएका छन् ।

    देशका अन्य स्थानीय तहमा जस्तै इटहरी उपमहानगरपालिकामा पनि चुनावी रौनक बढेको छ । यहाँ नेपाली कांग्रेस र नेकपा एमालेले चुनावी प्रचार व्यापक गरिरहेका छन् भने माओवादीको गतिविधि कम छ ।

    यहाँ २०७४ सालको स्थानीय तहको निर्वाचनमा १५ जना उम्मेदवार मैदानमा थिए, जसमा ११ जना राजनीतिक दलका थिए पनि चारजना स्वातन्त्र थिए ।

    अघिल्लो निर्वाचनमा मेयर पदको निम्ति खसेको मतमा सदर मत ५२, ५२२ थियो । जसमा तत्कालीन नेकपा(एमाले)का उम्मेदवार द्वारिकलाल चौधरी विजयी भएका थिए । उनले २२,६८९ मत प्राप्त गरेका थिए भने उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवार रोहित प्रसाईले १९, ९८५ मत प्राप्त गरेका थिए ।

    त्यसैगरी तेस्रो ठूलो मत राप्रपाका रोहितकुमार कार्कीले प्राप्त गरेका थिए । उनले ३, ७१५ मत प्राप्त गरेका थिए । नेपालको पछिल्लो राजनैतिक परिवर्तनको मुख्य शक्तिको रुपमा रहेको नेकपा माओवादीकी उम्मेदवार हरिमाया जिमीले ३, ३६४ मत प्राप्त गरेकी थिइन् । जुन जमानत फिर्ता गर्नका निम्ति चाहिने मतभन्दा कम थियो । त्यसैगरी पाँचौ ठूलो मत भने विजय गच्छदार नेतृत्वको मधेसी जनाधिकार फोरम (लोकतान्त्रिक)का उम्मेदवार अरुण चौधरीले ल्याएका थिए । उनले १,४३७ मत पाएका थिए।

    अन्य ११ उम्मेदवार कसैले पनि ५०० मत कटाउन सकेका थिएनन् ।

    पार्टीबाट उम्मेदवार बनेर सबैभन्दा कम मत पाएका थिए चुरे भावर लोकतान्त्रिकका रामप्रसाद रेग्मीले । उनले ८ ल्याएका थिए । सबैभन्दा कम मत भने स्वतन्त्र उम्मेदवार वीरबहादुर काफ्लेले ६ मत ल्याएका थिए ।

    निर्वाचन आयोगले जारी गरेको पछिल्लो तथ्यांकअनुसार इटहरीमा १, ०४,८९१ मतदाता छन् ।

    विगतको भन्दा अहिलेको स्थिति फरक छ । पहिला विजेता बनेको नेकपा (एमाले)मा विभाजन आएको छ । एमाले विभाजन भएर एकीकृत समाजवादी बनेको छ ।

    विजय गच्छदारको मधेसी जनाधिकार फोरम (लोकतान्त्रिक) कांग्रेसमा समाहित भएको छ । नेपाली कांग्रेसबाट इटहरीको १० वटा वडा समेटेको सुनसरी क्षेत्र नम्बर ३ का सांसद हुन्, गच्छदार ।

    त्यसैगरी इटहरीको तेस्रो ठूलो दल राप्रपाका मेयरका उम्मेदवार रोहितकुमार कार्की नेकपा (एमाले)मा प्रवेश गरेका छन् । तत्कालीन खनार गाउँ पञ्चायतका पूर्वप्रधानपञ्च कार्की खनार क्षेत्रमा अत्यन्त प्रभावशाली मानिन्छन् ।

    त्यस्तै त्यतिबेला माओवादीबाट उपमेयरका उम्मेदवार बनेका भीमप्रसाद सुवेदी (सागर) पनि नेकपा एमालेमा प्रवेश गरेका छन् । उनले आफ्नो दलको मेयरको उम्मेदवारभन्दा १, ५१० बढी अर्थात् ४, ८७४ मत प्राप्त गरेका थिए ।

    त्यस्तै माओवादीबाटै संघीय सांसदका उम्मेदवार हिमाल सुवेदी पनि नेकपा (एमाले)मा प्रवेश गरेका छन् भने नेकपा (एमाले) का प्रभावशाली नेता राष्ट्रिय खेलकुद परिषद्का पूर्वसदस्य–सचिव केशवकुमार विष्ट नेकपा एकीकृत समाजवादीमा लागेका छन् ।

    पहिला माओवादीले इटहरीमा एक नगर सदस्यभन्दा बढी जिताउन सकेन । र पछिल्लो समय माओवादी झन् कमजोर भएको छ ।

    नेकपा एकीकृत समाजवादीले एमालेबाट जितेका कुनै पनि जनप्रतिनिधिलाई लैजान सकेन । मनोनित कार्यपालिका सदस्य गौरीमान परियार मात्रै एकीकृत समाजवादीमा लागेका छन् ।

    इटहरी नेपालको राष्ट्रिय राजनीतिलाई नै प्रभाव पार्नसक्ने उपमहानगरपालिका हो । सबै राजनीतिक दलको केन्द्रमा यहाँका नेता पुगेका छन् । नेकपा (एमाले)मा चारजना केन्द्रीय सदस्य– इन्दु गौतम, लक्ष्मी गौतम, अमृता सुब्बा, तयुब हुसैन इटहरीकै हुन् ।

    नेपाली कांग्रेसको केन्द्रमा यहाँका कल्पना चौधरी, राजीव ढुंगाना छन् । त्यसैगरी राप्रपाका पूर्वमन्त्री रामकुमार सुब्बा र नेकपा एसका केन्द्रीय नेता केशव कुमार विष्ट पनि इटहरीकै हुन् । नेकपा माओवादीका केन्द्रीय सदस्य रामकुमारी चौधरी र निर्मल बरालले इटहरीकै प्रतिनिधित्व गर्छन् ।

    अहिलेको अवस्थामा सत्ताघटक दलबीच चुनावी तालमेल भयो भने पनि मेयरको टिकट कांग्रेसले नै पाउने निश्चितप्रायः छ । यो अवस्थामा यहाँ नेकपा एमाले र नेपाली कांग्रेसबीच नै कडा टक्कर हुने देखिन्छ ।

    २०४८ सालदेखि जितिरहेको एमालेले इटहरीमा आफ्नो विरासत जोगाउन अनेक प्रयास गरिरहेको छ भने ‘एमालेको किल्ला’ ढाल्न नेपाली कांग्रेसले पनि आफ्नो गतिविधि बढाइरहेको छ ।

  • इटहरी आसपासका आठ आकर्षक पर्यटकीय गन्तव्य

    इटहरी आसपासका आठ आकर्षक पर्यटकीय गन्तव्य

    इटहरी । इटहरी २०५३ साल माघ ११ गते मात्रै राजपत्रमा नगरपालिकाको रुपमा लिखत भएको ‘युवा सहर’ हो । २०७१ मंसिर १६ मा इटहरीलाई सरकारले उपमहानगरपालिका बनायो ।

    मूलतः इटहरी भन्नासाथ ‘कृत्रिम सहर’ भनेर चिनिन्छ । मान्छेले बनाएका संरचनाले मान्छेको इटहरीमा आवागमन बढाएको मानिन्छ ।

    इटहरीका सपिङ सेन्टर, स्विमिङ पुल, मल्टिप्लेक्स, होटल, रिसोर्ट, लज, पार्टी प्यालेसहुँदै सेकुवा कर्नरसम्ममा इटहरी बाहिरका मान्छेको आकर्षण छ । इटहरीमै केही प्राकृतिक क्षेत्रहरु छन्, जहाँ गएर स्थानीय तथा आगन्तुकहरुले मन भुलाउन सक्छन् । तर यसको प्रचार कम छ ।

    अंग्रेजीमा एक पर्यटकीय शब्द छ- स्टेकेसन । स्टेकेसन भनेको आफ्नै घर र घर नजिकैका क्षेत्रहरुमा घुमघाम गर्ने र आनन्द लिने पर्यटकीय शब्द हो । यो सामग्रीमा इटहरी र आसपासका घुमन्तेहरुलाई एक फन्को लाउनसक्ने ‘इटहरी स्टेकेसन’का आठ आकर्षण प्रस्तुत गरिएको छ–

    १. चित्ताकर्षक ‘मेचीकाली’ पोखरी

    एक हिसाबमा कंक्रिटको सहर हो, इटहरी । तर उपमहानगर कार्यालय परिसर भने प्राकृतिक छँटाले सुन्दर छ ।

    २३ कट्ठा क्षेत्रमा फैलिएको यहाँको पोखरीको वरिपरि ठडिएका छन्, इटहरी उपमहानगरपालिकाका प्रशासनिक भवनहरु । प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्ष त पोखरीमाथि नै बनाइएको छ ।

    प्राकृतिक र चित्ताकर्षक पोखरीमा सदाबहार पानी रहन्छ । पोखरीको वरिपरि पैदलपथ र रेलिङ छ । यहाँ फन्को मारिरहेका आगन्तुक देखिन्छन् ।

    सरकारी कार्यालय बन्द नभएको समयमा पोखरी परिसरमा तस्बिर लिनेको भीड लाग्छ । पोखरीको नाम मेचीकाली पोखरी हो । मेचीकाली हुनुको पछाडि इटहरीका पाँच युवाहरुले २०५४ पुस ७ मा मेचीदेखी महाकाली यात्रा गरेर दुवैको पानी ल्याएर पोखरीमा खन्याए । अनि नामै मेचीकाली रहन गयो ।

    करिब साढे दुई दशक अगाडिबाट मात्रै मेचीकाली नाम रहन गए पनि यसको इतिहास भने एक शताब्दीभन्दा पुरानो मानिन्छ । ‘इतिहासमा इटहरी’ पुस्तकका अनुसार यो पोरखी संवत् १९७२ मा मानपुर चौधरी र रामजी चौधरीले खनेका थिए ।

    २. बुढी खोला किनारमा ‘हेरिटेज वाक’

    पूर्व–पश्चिम राजमार्गहुँदै इटहरी बजार पार गरेर पूर्वतर्फ यात्रा गर्दा आउने पहिलो ठूलो खोला हो, बुढी खोला । लामो पुल र पुलमुनि बनाइएको सुन्दर घाटले धेरैको आँखा तान्छ । बुढी खोला इटहरी उपमहानगरपालिका र सुन्दरहरैचा नगरपालिकाको मात्रै सीमा खोला हैन, सुनसरी र मोरङ जिल्लाको सीमा पनि हो । बुढी खोलालाई कतिपयले ‘वृद्ध गंगा’समेत भन्छन् ।

    यही खोला किनारमा केही समय पैदल हिँडेमा आकर्षक धार्मिक तथा सांस्कृतिक हेरिटेजहरु भेटिन्छन् । खोला किनारमा इटहरीतर्फ भएको सुन्दर घाटलाई मुक्तिधाम भनिन्छ । यो ६ करोड लागतमा बनेको प्रदेश १ कै सबैभन्दा आकर्षक घाट हो ।

    झिलीमिली बत्ती, आकर्षक मूर्तिहरु, किरियापुत्री भवनदेखि विभिन्न मन्दिरहरु छन् यहाँ । घाटसँगै जोडिएको छ कृष्ण प्रणामी मन्दिर । घाटको पश्चिमतर्फ छ, मानव धर्मको विशाल भवन ।

    यस्तै मोरङतर्फ छठी माईको मन्दिर छ । छठी माईको मन्दिर अगाडि झन्डै दुई किलोमिटर क्षेत्रमा छठ पर्वमा ब्रतालुहरु भेटिन्छन् । पूर्वी तराईका भक्तालुहरु यहाँ आएर व्रत बस्छन् ।

    छठी मन्दिबाट केही उत्तरपूर्वमा छ, नयाँ बृन्दावन गौशाला । नयाँ बृन्दावन गौशालामा नेपालकै सबैभन्दा विशाल गाईको प्रतिमा बनिरहेको छ । पैदल यात्रामा यी सबै हेरिटेजको एक घन्टा भित्र एक फन्को लाउन सकिन्छ ।

    ३. तालतलैया

    भ्रमण वर्ष २०२० लाई लक्षित गरी नेपाल सरकारले सार्वजनिक गरेका देशभरका सय गन्तव्यमा अटाएको इटहरीको एक्लो गन्तव्य हो, तालतलैया । इटहरी वडा नम्बर २ र ३ मा फैलिएको ताललैया जलविहार, बालउद्यान, पिकनिकदेखि प्राकृतिक विचरण गर्न सकिने इटहरीको सबैभन्दा लोकप्रिय सार्वजनिक गन्तव्य हो ।

    यहाँ विभिन्न देशका मूर्तिकारले कुँदेका ढुंगाका मूर्तिहरु समेत छन् । २०७२ माघ ९ देखि १८ गतेसम्म संचालन भएको ‘एकता अन्तर्रास्ट्रिय मूर्ति कार्यशाला’मा यहाँ देशीविदेशी मूर्तिकारहरुले २८ मूर्तिहरु बनाए । सबैभन्दा लोकप्रिय मूर्ति चाहिँ इजरायली मूर्तिकार तान्या प्रेमिन्जरले बनाएको ढुंगाको मुटु हो । यो मूर्तिलाई पृष्ठभूमि पारेर तस्बिर लिनेहरु धेरै देखिन्छन् ।

    २०२५ सालताका खोल्सी थुनेर जमाउँदा पोखरी भएको तालतलैयालाई सर्वध्वज साँवाको अध्यक्षतामा वनभोज स्थल बनाइयो । इटहरीका प्रथम मेयर तथा हालका प्रदेश १ सभाका सदस्य साँवाकै अगुवाइमा तालतलैयाले अहिलेको स्वरुप पाउन सकेको हो ।

    पछिल्लो समयमा तालतलैया प्रदेश १ मा मोटर बोटिङ संचालन गर्ने प्रथम सिमसार क्षेत्र हो । २०७५ साउन १२ गते तत्कालीन प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले मोटरबोटिङको उद्घाटन गरेका थिए ।

    ४. खोर्सानेखाप

    सेवा सुविधाको व्यापक अभाव भएकोले कुनै बेला इटहरीको ‘कर्णाली’ भनेर चिनिएको थियो इहटरी ३ को खोर्सानेखाप । अहिले इटहरी बजारबाट खोर्सानेखाप पुग्ने खोलमा पुल र बस्ीतमा बिजुली पुगेपछि भने विकास हुने क्रम बढेको छ ।

    तीनतिर खोलानालाले घेरिएको एक सुन्दर अर्धटापु गाँउ हो, खोर्सानेखाप । तालतलैयाबाट १५–२० मिनेटको पैदल वा केही मिनेटकै दुईपांग्रे साधनको यात्रामा खोर्सानोखाप पुग्न सकिन्छ ।

    पूर्वमा बुढीखोला, पश्चिममा सेरा खोला, दक्षिणमा सेरा र बुढीखोलाको दोभान छ । उत्तरमा सरस्वती सामुदायिक वन क्षेत्र छ ।

    २०७० सालताका होमस्टे सुरु गरिएको यो क्षेत्रमा इटहरीको लोकप्रिय नाट्य संस्था कलालयले नेचर थिएटरसमेत संचालन गरेको थियो । करिब ६० घरधुरी भएको यो क्षेत्र ३० हेक्टर हाराहारीमा फैलिएको छ । खोलाको संगीत, चराहरुको चिरबिर र गाँउले जीवनका हरेक बिम्ब यो क्षेत्रमा पाइन्छ ।

    ५. बुढासुब्बा क्षेत्र

    बुढासुब्बा भन्नासाथ धरानमा रहेको मन्दिर बुझिन्छ । बुढासुब्बा मन्दिर इटहरीमा पनि छ । इटहरीको ताललैयाको गेटबाट धरान जान भित्री बाटोहुँदै केही मिनेट अगाडि बुढासुब्बा चोक छ ।

    बुढासुब्बा चोकै भित्र छ, इटहरीवको बुढासुब्बा मन्दिर । इटहरीमा दशकौँदेखि यो मन्दिर क्षेत्रमा पूजाआज गरिएपनि २०५५ सालदेखि मात्रै औपचारिक रुपमा मन्दिरको स्थापना भएको इटहरी वडा नम्बर २ का अध्यक्ष हर्क मगर बताउँछन् ।

    बुढासुब्बा मन्दिरमा कंक्रिटका संरचनाहरु थोरै छन् । हरेक वर्ष वैशाख १३ गते यहाँ विशाल मेला लाग्छ । प्रेमीप्रेमीकाले नाम खोप्ने बाँसहरु धेरै छन् यहाँ । खुल्ला क्षेत्र र शितल हावा दगुर्ने क्षेत्र पनि व्यापक छ । कमै भिडभाड हुने भएकोले धार्मिक मात्रै हैन, प्राकृतिक छँटामा रमाउनेहरुका लागि यो गन्तव्य प्रिय हुनसक्छ ।

    ६. भान्से पोखरी

    इटहरी उपमहानगरपालिका–१८ मा छ भान्से पोखरी । यो इटहरी क्षेत्रका हाल अस्तित्वमा रहेका पोखरीहरुमा सबैभन्दा ठूलो हो । भान्से पोखरी माछा पालनमा लोकप्रिय छ ।

    इटहरी स्थानीय सरकारले पोखरीमा माछा पाल्ने ठेक्का खुलाउने गर्छ । इटहरीमा अरु पोखरी पनि छन् । तर, उपमहानगरपालिका परिसरको पोखरी र भान्से पोखरी मात्रै चर्चित छन् । यसको मूल कारण यी पोखरीहरुको आकर्षक बनोट र आगन्तुकको सेल्फीमोह हो ।

    वडा सदस्य चन्द्र बहादुर राईका अनुसार पोखरी करिब पाँच विगाह क्षेत्रफलमा फैलिएको छ । पोखरी परिसरमा शिवालय छ । इटहरी स्थानीय सरकारले पर्यटन प्रवद्र्धन गर्न बजेट तथा पूर्वाधार व्यवस्था नगर्दा धेरै पूर्वाधार बन्न बाँकी छन् । तर, साइकल तथा मोटरसाइकल यात्रामा जानेहरुलाई पानी, पोखरी, माछा र प्राकृतिक अनि स्थानीय थारु संस्कृति बुझ्न यो पोखरीको यात्रा यादगार हुनसक्छ । पोखरी पुग्न इटहरीको सशस्त्र प्रहरी बलको मुख्यालयबाट पश्चिमतर्फको सडक भएर जाँदा मोटरसाइकलमा १५ मिनेट हाराहारी लाग्छ ।

    ७. भवानीपुर सिमसार

    इटहरी उपमहानगरपालिका– १९ मा छ, भवानीपुर सिमसार क्षेत्र । इटहरीको चौरास्ताबाट ६.८ किलोमिटरमा अवस्थित यो सिमसार १६.२३ हेक्टर क्षेत्रफलमा फैलिएको छ । सालक, दुम्सी, पानीहाँस, कछुवालगायतका जिवजन्तुको आश्रयस्थल यो सिमसार प्रकृतिमैत्री पिकनिकका लागि पनि राम्रो गन्तव्य हो । बालबालिकालाई रमाइलो गर्न गणेशमानसिंह भुलभुलैया पार्कसमेत यहीं क्षेत्रमा छ ।

    ८. काव्य बाटिका

    पूर्व–पश्चिम राजमार्गमा रहेको इटहरीको पचरुखीबाट केही मिनेटको उत्तरी सडक हिँडेपछि पुगिन्छ काव्यबाटिका । यो क्षेत्र कुनै बेला अहिलेको चर्चित तालतलैया क्षेत्रभन्दा चर्चित इटहरीको प्राकृतिक गन्तव्य थियो ।

    ती विगाह क्षेत्रमा फैलिएको काव्य बाटिकमा २०५८ सालदेखि मूर्तिकलाको काम विभिन्न स्थानीय तथा आगन्तुक कलाकारहरुले थालेका थिए । २०६३ सालसम्म पनि यो क्षेत्र चर्चित नै थियो ।

    तर, त्यसपछि भने यसले महत्व गुमाउँदै गएको छ । वरिपरि घेराबार गरिएको गन्तव्य भएकोले अहिले पनि एकान्त रुचाउनेहरुलाई काव्य बाटिका एक सुन्दर छनोट हुनसक्छ ।

  • भूमि आयोग खारेजीविरुद्ध इटहरीमा प्रदर्शन

    भूमि आयोग खारेजीविरुद्ध इटहरीमा प्रदर्शन

    इटहरी । भूमिसम्बन्धी आयोग खारेज गर्ने सरकारको निर्णयविरुद्ध इटहरीमा प्रदर्शन गरिएको छ ।

    राष्ट्रिय भूमिहीन मञ्चको आयोजनामा भएको प्रदर्शन दिउँसो तीन बजेबाट सुरु भएको थियो । प्रदर्शनकारीहरूले इटहरी चोकको बजार हुँदै इटहरी उपमहानगरपालिका परिसरमा आएर प्रदर्शन गरेका थिए ।

    आयोग विघटनको निर्णय फिर्ता हुनुपर्ने र सुकुम्बासीले जमिन पाउनुपर्नेलगायतका प्लेकार्ड बोकेर उनीहरूले प्रदर्शन गरेका थिए ।

  • सधैं दुखिरहने बुढीखोलाको बाढी !

    सधैं दुखिरहने बुढीखोलाको बाढी !

    इटहरी । शुक्रबार राति आएको बाढी इटहरीका प्रदेश सांसद सर्वध्वज साँवाको घरमा पनि पस्यो । इटहरीको वडा नम्बर-४ स्थित आफ्नो घरमा बाढी पसेपछि उनले शनिबार बिहानै सामाजिक सञ्जाल फेसबुकमा दु:खेसो पोखे ।

    ‘त्यस्का बाजे बाढी पसेर घर त चुरलुप्पै भयो । आफै जनप्रतिनिधि कस्लाई गुहार गुहारररर भन्नु ?,’ उनले लेखेका छन् ।

    सुनसरी क्षेत्र नम्बर २ ‘क’का सांसद साँवाको यो पोस्टले इटहरी विपत्तिलाई प्रष्ट पार्छ ।

    विभिन्न खोलाहरूले घेरिएर बनेको शहर हो, इटहरी । पूर्वतर्फको सिमानामा इटहरीको सबैभन्दा ठूलो बुढी खोला छ । इटहरीको मुख्य बजार क्षेत्रमै दुई खोला बग्छन्, टेङ्गा र खेती खोला । इटहरीको मुख्यचोक नजिकैबाट पूर्वमा टेङ्गा खोला बग्छ । अनि, पश्चिममा खेती खोला । पानीपिया, खर्सला लगायतका अरू केही खोलाहरू इटहरी भएरै बग्छन् । र, बेलाबेला यी खोलाले विपद्सँगै लिएर आउँछन् ।

    ६ जनाको ज्यान लिने ७४ सालको त्यो बाढी

    २०७४ साउन २७ को मध्यरात इटहरीको पूर्वी सीमाको बुढी खोलामा विशाल बाढी आयो । अरुबेला बालबालिकाले पनि सजिलै पार गर्नसक्ने खोला बाढी आएपछि बढेर छेउका बस्तीकाे  छानामाथि पुग्यो । इटहरी-४ को गैरीगाँउका धेरै घरहरू डुबे । त्यसै बाडीमा परेर ६ जनाले ज्यानै गुमाउनु पर्‍यो । कोही रुखमा झुन्डिएर बाँचे । कोही जस्ताको छानो दुलो पालेर उक्लिएर बाँचे ।

    सानुमाया राई त इटहरीबाट ३ घण्टा बगेर हुत्याइएकी थिइन् । मध्यरातको बाह्र बजे बाढीले उनलाई बगाएर ८ किलोमिटर टाढा खोला किनारमा पुर्‍याएको थियो । उनलाई बिहान तीन बजे स्थानीय युवाहरूले बेहोस अवस्थामा उद्धार गरेका थिए ।

    अहिले त्यही गैरीगाँउमा बसेकी राई बर्खाको समयमा बाढीकै डरले राति घरमा सुत्दिनन् । ‘अहिले म आफन्तकोमा गएर सुत्छु, ज्यान त जोगाउनै पर्‍यो,’ उनी भन्छिन् ।

    त्यही बाढीमा दिदी-भिनाजु र उनीहरूका एक छोरा बाढीले लगेको पीडा अझैसम्म सानुमायाको मानसपटलमा बल्झिरहेको छ । दिदीको बाहेक अरू कसैको लाससम्म भेटिएन । त्यसको अझै कत्ति-कत्ति । पीडामाथि पीडा परेको सानुमाया सुनाउँछिन् । उनी भन्छिन्, ‘७४ सालको बाढी आएको धेरै पछिसम्म मलाई रातमा निन्द्रै परेन ।’

    अव्यवस्थित शहरीकण र अतिक्रमणले बढाएको बाढी विपद्

    इटहरीका पाकाहरूलाई केही दशक अगाडिसम्म इटहरीमा बाढीकै कारण मान्छेको उठीबास लाएको सम्झना नै छैन । इटहरीका पाकाहरू भन्छन्- ‘२०१० सालमा इटहरी चोकमा दुई दर्जन घरहरू जलेर नस्ट हुनु नै पुरानो इटहरीमा आइपरेको सबैभन्दा ठूलो विपद् थियो । पछिल्ला दिनहरूमा बाढी इटहरीको नयाँ विपद्को रूपमा आएको छ । पछिल्लो समय बाढीको जोखिम बढ्नु अव्यवस्थित शहरीकरण र नदि अतिक्रमणको मुख्य कारण भएको बताउँछन् ।

    ‘खोला बग्ने प्राकृतिक धारमा घर र अन्य संरचनाहरू ठडिएका छन्, सार्वजनिक जग्गा मिचिएका छन्, कुलो र पैनी मासेर बाटो बनेको छ’, स्थानीय प्रमोद भट्टराई भन्छन्, ‘यसरी मिच्नेहरू विभिन्न व्यक्तिदेखि संस्थाहरूसम्म छन् । यसको पनि विपद् निम्त्याउनमा ठूलो नकरात्मक भूमिका छ ।’

    इटहरीका अधिकांश घरहरू बाढीको समयमा डुबानको समस्यामा पर्ने र खोला किनारका गौरीगाँउ जस्ता सुकुम्बासी बस्तीका घरहरू बगाउने समस्या बढ्दो छ । कालान्तरमा यसले इटहरी बजारनै समस्यामा पर्न सक्ने अर्का स्थानीय बद्रि भिखारी बताउँछन् । उनी भन्छन्, ‘धार्मिक, सांस्कृतिक आस्थाहरू समेत जोडिएका नदिनालालाई संरक्षण गरेर उनीहरूलाई प्राकृतिक बाटोमा हिँड्न दिनुपर्छ । अवरोध सबै हटाउनु पर्छ । यसले बाढी र डुबानको विपद् धेरै कम गर्छ ।’

    इटहरीको खेती खोला, इटहरी पश्चिम लाइनको स्यार्सेकालीदेखि इटहरीको खेती खोला क्षेत्रमा अवैध संरचना हटाउन केही दिन डोजर चल्यो । तर, त्यो निरन्तर हुन सकेन । इटहरी उपमहानगरपालिकाको सबैतिर खोला-पैनी मिचेर ठड्याइएका संचरनाहरू अझैसम्म भत्किएका छैनन् ।

    हाल निर्माण हुने क्रममा रहेको इटहरीका खोला, नाला र पोखरी शीर्षक डकुमेन्ट्रीमा बोल्दै मेयर द्धारिकलाल चौधरीले अवैध संरचना भत्काउने काम अभियानकै रूपमा लान नसकिएको स्वीकारेका छन् । उनी भन्छन्, ‘यसमा मेसिन उपकरण जस्ता प्राविधिक समस्याहरू छन् । घरहरूको पनि संरचना हटाउनुपर्ने हुँदा इटहरीको बृहत् सहमती चाहिन्छ । ’

  • इटहरीको यातायात कार्यालय सार्ने सूचनामा सेटिङको आशंका, घर पहिल्यै तयार !

    इटहरीको यातायात कार्यालय सार्ने सूचनामा सेटिङको आशंका, घर पहिल्यै तयार !

    इटहरी । गत जेठ ११ मा इटहरीको यातायात व्यवस्था कार्यालयले ‘घरभाडा लिने सम्बन्धि सूचना’ सार्वजनिक गर्यो । सूचनामा राजमार्गबाट २ किलोमिटर भित्रको ८ कट्ठा क्षेत्रफलमा फैलिएको घेराबारा सहितको १५ कोठाको घर मागिएको छ । ६ वटा वाथरुम र शौचालय सहितको भवन हुनुपर्ने सूचनामा उल्लेख छ ।

    हाल इटहरी २ मा रहेको यातायात व्यवस्था कार्यालयले नयाँ ठाउँमा भवन सार्न उक्त सूचना जारी गरेको हो । तर, सूचना जारी भएर नयाँ घरधनीहरुले आवेदन भर्नु अगाडि नै इटहरीको यातायात क्षेत्र सम्वद्धहरुमा इटहरी ८ को एक घरमा सर्न लागेको गाइगुईं सुरु भयो ।

    यातायात कार्यालयका हाकिमहरुबाट ‘ग्रिन सिग्नल’ पाएर निर्माण भएको घरमै यातायात कार्यालय सर्ने धेरैले आशंका व्यक्त गरे । यसो भन्नेमा ड्राइभिङ स्कुल संघ प्रदेश १ समिति नै छ । समितिका अध्यक्ष बाबुराम प्रधानले सूचना आउनासाथ भने, ‘यो सबै सेटिङ नै भएर गरिएको विज्ञापन हो । यातायात कार्यालय अब इटहरी ८ कै बन्दै गरेको भवनमा सर्छ ।’

    यातायात कार्यालयले नयाँ भवनमा खोजेको मापदण्ड र त्यो भवनको मापदण्ड एकै भएको, भवन त्यहीँ सार्न सबै मिलाएर औपचारिकताको लागी मात्रै विज्ञापन भएको प्रधान बताउँछन् । पुस मसान्तसम्म इटहरी १० मा निर्माणाधिन यातायात भवन बनिसक्ने भए पनि त्यो अगाडि नै सर्ने सेटिङ भएको ड्राइभिङ संघको दावी छ । विज्ञापनमा घरनक्सा पास नभनेर ‘घरजग्गाको कित्ता खोली चार किल्ला उल्लेख’ गर्ने भन्ने सूचना पनि त्यही इटहरी ८ को अस्थायी घरको लागी बनेको संघले बताएको छ ।

    संघ प्रदेश १ प्रधान नेतृत्वको टीमले इटहरीस्थित अख्तियारको क्षेत्रिय कार्यालय, प्रदेश १ को भौतिक पुर्वाधार मन्त्रालयदेखी सुनसरी जिल्ला प्रशासन कार्यालयहरुमा उजरी दिइसकेका छन् । शनिबार पत्रकार सम्मेलन गरेर संघले भवन बनाइरहेको हनुमान कन्स्ट्रक्सनले पुष मसान्तभित्र बनाइ सक्ने बताएको र पुरानो कार्यालयको भवनको सम्झौता पनि नसकिएको भन्दै कार्यालय सार्नु ठुलो आर्थिक चलखेल भएको आरोप लाएको छ । चलखेलमा यातायात व्यवस्था कार्यालयका क्षेत्रिय निर्देशक भीम गौतम र इटहरी कार्यालय प्रमुख प्रेमप्रसाद सापकोटाको प्रमुख हात रहेको प्रधानले आरोप लागाए ।

    सबै नियमानुसार भएको छः यातायात कार्यालय प्रमुख

    इटहरीस्थित यातायात व्यवस्था कार्यालय सवारी चालक अनुमतिपत्रका प्रमुख प्रेमप्रसाद सापकोटाले भने सबै काम नियमानुसारै भएको जिकिर गरे ।

    अहिले कुनै भवनको टुंगो नलागेको भन्दै सापकोटाले हाल बसेको इटहरी २ को घरको सम्झौता असोज १ मा सकिने र एक महिनाअगाडि पुर्वजानकारी दिएर छोड्न सकिने प्रावधान भएको बताए । इटहरी १० मा निर्माणाधिन आफ्नै भवन पनि पुसमा सम्पन्न नहुने सापकोटाको दावी छ ।

    उनले भने, ‘भवन सम्पन्न हुन र हस्तान्तरण हुन कम्तीमा दुई बर्ष लाग्छ ।’

    भवन बन्न धेरै समय लाग्ने बारेमा पत्रसमेत प्राप्त भएको भन्दै सापकोटाले भवन बनेर मन्त्रालयले हस्तान्तरण गरेको एक महिनामा आफूले कार्यालय सार्ने उनले बताए ।

  • टिपरको ठक्करबाट वृद्धको मृत्यु भएपछि इटहरी तनावग्रस्त

    टिपरको ठक्करबाट वृद्धको मृत्यु भएपछि इटहरी तनावग्रस्त

    इटहरी । टिपरको ठक्करबाट पैदलयात्री एक वृद्धको मृत्यु भएपछि इटहरी चोकमा प्रदर्शन भएको छ ।

    मृतकका आफन्तले इटहरीको मुख्य बजारमा टायर बाल्नुका साथै इलाका प्रहरी कार्यालयअघि धर्ना बसेका छन् । आक्रोशित स्थानीयले पूर्व-पश्चिम राजमार्ग बन्द गराएका छन् ।

    ००१ ख ८६६५ नम्बरको टिपरको ठक्करबाट इटहरी-२ का ८१ वर्षीया कर्णबहादुर गुरुङको मृत्यु भएको हो । सडक किनारमा हिँडिरहेका गुरुङ ढलेपछि टिपर पुन: ब्याक गरी मारिएको आफन्तको भनाइ छ ।

  • इटहरीमा पहिलोपटक निजी कलेजका विद्यार्थी आन्दोलित

    इटहरीमा पहिलोपटक निजी कलेजका विद्यार्थी आन्दोलित

    इटहरी । सामुदायिक र सरकारी क्याम्पसका विद्यार्धीको आन्दोलन प्रायः देखिँदै आएको छ । तर, इटहरीका निजी कलेजका विद्यार्थीहरु पहिलोपटक आन्दोलित भएका छन् । कोरोनाको विश्वव्यापी महामारीको समयमा पनि शुल्क लिएको भन्दै विद्यार्थीहरुले आन्दोलन सुरु गरेका छन् ।

    ‘७ महिना पढाएर १२ महिनाको शुल्क लिने काम भएको छ । प्रश्न गर्दा उडाउने र धम्क्याउने काम भयो,’ आन्दोलनमा सहभागी विद्यार्थी निमा तामाङले गुनासो गरे। तामाङ जस्तै आक्रोशित बिद्यार्थीहरु अहिले इटहरीका कस्तुरी, विश्व आदर्श, कोसी, इटहरी नमुना लगायतका कलेजहरुमा आन्दोलनमा छन् । ‘वी वान्ट जस्टिस’ भन्दै विद्यार्थीहरु आन्दोलनमा छन् ।

    तीन बिद्यार्थी संगठनको साथ

    आन्दोलनरत निजी कलेजका विद्यार्थीलाई सुनसरीका तीन राजनीतिक विद्यार्थी संगठनले साथ दिएका छन् । नेकपा एमालेको विद्यार्थी संगठन अनेरास्ववियु, नेपाली काङ्ग्रेसको भात्री संगठन नेपाल विद्यार्थी संघ तथा माओवादी केन्द्रको अनेरास्ववियु(क्रान्तिकारी)का सुनसरी जिल्ला अध्यक्षत्र क्रमशः रोशन रेग्मी, मन्दिप भट्टराई र बुद्रुस लिम्बुले विज्ञप्तिमार्फत समर्थन जनाएका छन् । विद्यार्थीको जायज मागलाई समर्थन र चाँडो माग पूरा गर्न उनीहरुले निजी कलेजलाई आग्रह गरेका छन् ।

    शिक्षकलाई तलब नदिने, विद्यार्थीबाट पूर्ण शुल्क माग

    नपढाएको समयमा पनि विद्यार्थीबाट शुल्क असुलेर विवादमा आएका इटहरीका निजी कलेजले आफ्ना शिक्षकहरुलाइ भने तलवसमेत नदिएको खुलेको छ। विद्यार्थीसँग शिक्षक र कर्मचारीको तलव आवश्यक भन्दै पैसा असुले पनि शिक्षकलाई तलब नदिएको एक पुराना निजी कलेजका शिक्षकले बताए। ‘हामीलाई लकडाउन भन्दै तलब दिइएन तर विद्यार्थीसँग भने हामीलाई दिनुपर्ने भन्दै मागेको पाइयो,’ नाम सार्वजनिक गर्न नचाहने एक शिक्षकले भने, ‘यो कुरा विद्यार्थीले बुझे र, आन्दोलन गरे। अहिलेको नयाँ पुस्ता सबै सूचनामा जानकार छ।’

    शिक्षकहरुको एकता हुने हो भने विद्यार्थीको जस्तै आन्दोलन उठ्न सक्ने उनले बताए। तर, व्यवस्थापन रिसाउला भनेर धेरै आँट नगरेको उनले बताए ।

    लकडाउनको नाममा तलब नपाएका आक्रोशित शिक्षक र आन्दोलित विद्यार्थीसँग निजी कलेज व्यवस्थापन छैन । चैत १ गते एक बिग्यप्ती निकाल्दै निजी कलेजको छाता संस्था उच्च शिक्षालय तथ्य माध्यमिक बिध्यालय संघ (हिसान) सुनसरी अध्यक्ष मुकुन्द घिमिरे र सचिव सागर भट्टराईले आन्दोलनलाई ‘कुतर्क’को दर्जा दिए ।

    ‘शैक्षिक सत्र पूरा गरेका विद्यार्थीबाट शुल्क लिनु तथा शिक्षक तथा कर्मचारीहरुको सम्पुर्ण पारिश्रमिक दिनु शिक्षालयहरुको दायित्व र कर्तव्य भित्र पर्ने भएकोले कसैका कुतर्कका पछि लागेर आफ्नो भविश्य जोखिममा पर्न नदिन र त्यसतर्फ अभिमुख नहुन सम्पूर्ण विद्यार्थी तथा अभिवाभकहरुलाई अनुरोध गरिन्छ,’ १ गतेको विज्ञप्तिमा भनिएको छ। अनलाइन कक्षा लिएर शुल्क लिएको हिसान सुनसरीको तर्क छ। तर, बहुसंख्यक विद्यार्थीको पहुँच र सहभागी नभएको कक्षाको अर्थ नभएको विद्यार्थीहरुको भनाइ छ ।