Tag: आरोही

  • बुधवार मात्रै ७० आरोही सगरमाथा शिखरमा

    बुधवार मात्रै ७० आरोही सगरमाथा शिखरमा

    काठमाडौं । देशमा कोरोना संक्रमणको जोखिम उच्च रहे पनि सगरमाथा आरोहण भने उत्साहजनक रुपमा भइरहेको छ । बुधवार मात्रै ७० आरोही शिखरमा पुग्न सफल भएको पर्यटन विभागका निर्देशक मीरा आचार्यले आधार शिविरबाट जानकारी दिइन् ।

    हालसम्मको तथ्याङ्कानुसार यस वर्ष करीब १८२ आरोही शिखरमा पुग्न सफल भएका छन् । यो विवरणमा केही थपघट हुन सक्ने बताइएको छ ।

  • सगरमाथामा आज दुई कीर्तिमान : पाकिस्तानी र बेलायती आरोहीद्वारा रेकर्ड

    सगरमाथामा आज दुई कीर्तिमान : पाकिस्तानी र बेलायती आरोहीद्वारा रेकर्ड

    काठमाडौं । यो वर्षको ‘स्प्रीङ’ सिजनमा सगरमाथा आरोहणमा गएका केही आरोहीले आज कीर्तिमान कायम गरेका छन् ।

    पाकिस्तानका आरोही शेरोज खासिफले पाकिस्तान कै कम उमेरमा सगरमाथा आरोहण गर्ने पहिलो व्याक्ति बन्दै आजै रेकर्ड कायम गरेका छन् ।

    उनले १९ वर्षमा सगरमाथाको सफल आरोहण गरि रेकर्ड कायम गर्न सफल भएका हुन् ।

    यसैगरी आज नै ब्रिटिस मुलुकका आरोही केन्टोन कूलले पनि रेकर्ड कायम गरेका छन् । उनले ब्रिटिश नागरिकका तर्फबाट १५ औं पटक सगरमाथाको सफल आरोहण गरेर देशको सबैभन्दा धेरै सगरमाथा चढ्ने आरोही बन्न सफल भएका छन् ।

    आज नै बहराइनका राजकुमारले पनि सगरमाथाको सफल आरोहण गर्न सफल भए । राजकुमार मोहम्मद हमाद अल खालिफा नेपाली समय अुनसार विहान ५:३० बजे र ६:४५ को बीचमा सगरमाथाको चुचुरोमा पुगेका हुन् ।

    अहिले नेपालका विभिन्न हिमालमा आरोहणका लागि ७ सयभन्दा बढी आरोही छन् । यो वर्षको ‘स्प्रिङ’ सिजनमा सगरमाथाका लागि मात्र ४ सय ८ जना आरोहीले पर्यटन विभागबाट सगरमाथा आरोहणका लागि अनुमति लिएका छन् ।

    ४३ समूहका ३१५ पुरुष र ९२ जना महिला छन् भने १ जना अन्यलाई अनुमति दिएको विभागले जानकारी दिएको छ ।

  • वसन्त याममा आरोहण गर्न धमाधम आउँदैछन् आरोही

    वसन्त याममा आरोहण गर्न धमाधम आउँदैछन् आरोही

    काठमाडौं । वसन्त यामको आरोहणका लागि थोरै सङ्ख्यामा भए पनि आरोही आउन थालेका छन् । सो यामको आरोहण अनुमतिका लागि केही आरोहीले निवेदन दिएका छन् ।

    वसन्त याम शुरु भइसकेकाले अबका दिनमा आरोही समूह आउने पर्यटनविभागको अपेक्षा छ । विभागका निर्देशक मीरा आचार्यले याम शुरु भए पनि अहिलेसम्म विभागले अनुमति जारी गरेको छैन । मार्च, अप्रिल र मेको आरोहणका लागि मार्चदेखि बुकिङ शुरु भए पनि अप्रिलको दोस्रो सातासम्म विभागलाई अनुमति जारी गर्न भ्याइनभ्याइ हुन्छ ।

    कोभिड–१९ महामारीकै बीच आरोहणमा केही आशाका सङ्केत देखिएका छन् । बहराइनी राजकुमार शेख मोहम्मद हमाद मोहम्मद अल खलिफासहितको टोलीले आगामी चैतमा सगरमाथा आरोहण गर्ने भएको छ ।

    यस वर्षको वसन्त याममा सर्वोच्च शिखर आरोहणका लागि बहराइन अधिराज्यका युवराज शेख नसेर बिन हमिद अल खलिफाका भाइ शेख मोहम्मदसहित १६ जनाको टोली चैत २ गते नेपाल आउने मनामास्थित बहराइन नेपाली राजदूतावासले यसअघि नै विज्ञप्तिमार्फत जनाएको छ ।

    बहराइन रोयल गार्ड (डिफेन्स फोर्स) मा कार्यरत १३ बहराइनी तथा तीन बेलायती रहने आरोही टोली ७९ दिन नेपालमा रहने जनाइएको छ । सगरमाथा आरोहणका लागि आवश्यक अन्य बन्दोबस्ती नेपालस्थित सेभेन समिट ट्रेकमार्फत भइरहेको छ । टोलीले सन् २०२० अक्टोबरमा लोबुचे पिक र मनास्लु हिमाल सफलतापूर्वक आरोहण गरेको थियो ।

    कोभिड–१९ का कारण अघिल्लो वर्ष मुख्य याममै नेपालको पर्वतारोहण र पदयात्राले असर बेहोरेका सन्दर्भमा महामारीकै बीच हिउँद याममा भएका केही आरोहण तथा आगामी यामका लागि बुकिङ शुरु भएकाले यस वर्ष आरोहणमा सुधारका सङ्केत देखिएका छन् ।

    विदेशी पर्यटकलाई नेपाल प्रवेशवापत अझै पनि क्वारेन्टिन बस्नुपर्ने प्रावधानका कारण अन्य पर्यटकीय गतिविधि खुम्चिए पनि पर्वतारोहणमा भने पर्यटकको चासो बढेको देखिन्छ ।

    व्यवसायीको मागबमोजिम सरकारले पनि विदेशी पर्यटक आगमनलाई सहज तुल्याउन क्वारेन्टिन व्यवस्था खुकुलो बनाउने र पिसिआर नेगेटिभ यात्रुलाई सहज रुपमा भ्रमण व्यवस्था गर्ने संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले जनाएको छ ।
    हालै काठमाडौँमा भएको एक कार्यक्रममा पर्यटनमन्त्री भानुभक्त ढकालले पिसिआर रिपोर्ट नेगेटिभ भएका विदेशी पर्यटकलाई निर्बाधरुपमा नेपाल भ्रमण गर्न दिने जनाउनुभएको थियो ।

    अनअराइभल भिसाको व्यवस्था गर्न मन्त्रालयले कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र (सिसिएमसी) लाई लिखितरुपमै पठाएको र छिट्टै मन्त्रिपरिषद्बाट पारित हुने जनाइएको छ ।पर्वतारोहणको मुख्य याम वसन्तका लागि अहिले विभिन्न पर्वतारोहणसम्बन्धी कम्पनीमार्फत बुकिङ चलिरहेको छ ।

    सेभेन समिट ट्रेकको मात्रै वसन्त यामका लागि ८० विदेशीसहित २५० आरोहीले सगरमाथा आरोहणको तयारी गरिरहेको कम्पनीका अध्यक्ष मिङ्मा शेर्पाले जानकारी दिनुभयो । अन्य कम्पनीमार्फत पनि आरोहीले धमाधम बुकिङ गरिरहेका छन् ।

    महामारीकै बीच बहराइनका राजकुमारसहितको टोलीलाई गत शरद् याममा मनास्लु हिमाल आरोहणको अनुमति दिएको थियो । टोलीले असोज २९ गते मनास्लुको सफल आरोहण गरेको थियो । महामारीबीच भएको सो आरोहण नै विदेशी टोली सम्मिलित पहिलो थियो ।

    त्यसपछि कतारका राजकुमारसहितको टोलीले गत कात्तिक २६ गते अमादब्लम हिमालको आरोहण गरेको थियो । असहज परिस्थिति भए पनि विदेशी विशिष्ट व्यक्तिको आरोहणले पर्वतारोहणमा उत्साह जगाएको छ ।

    अहिले पर्यटनका सबैजसो क्षेत्र खुलिसकेका छन् । पर्यटकीय गतिविधि पनि बढेको छ । सरकारले कोभिडका कारण स्थगन गरिएको पदयात्रा र पर्वतारोहण कात्तिकदेखि खुलाएको थियो । रासस

  • विश्वको दोश्रो अग्लो ‘माउण्ट के टू’ आरोहण गर्ने टोलीलाई परिसंघले गर्‍यो सम्मान

    विश्वको दोश्रो अग्लो ‘माउण्ट के टू’ आरोहण गर्ने टोलीलाई परिसंघले गर्‍यो सम्मान

    काठमाडौं । विश्वको दोस्रो अग्लो हिमाल ‘माउण्ट के टू’ का आरोहीलाई नेपालको निजी क्षेत्रको संस्था नेपाल उद्योग परिसंघले सम्मान गरेको छ ।
    राजधानीमा शुक्रबार आयोजित औपचारिक स्वागत तथा सम्मान कार्यक्रममा परिसंघका अध्यक्ष सतिश कुमार मोर सहितको टोलीले के टू आरोही निर्मल पूर्जा र आरोहण दललाई स्वागत तथा सम्मान गरेको हो ।

    कार्यक्रममा बोल्दै अध्यक्ष मोरले यो आरोहण सम्पूर्ण नेपालीको गौरवको विषय भएको बताए । उनले कार्यक्रममा आरोहीलाई स्वागत गर्दै भने

    ‘यहाँहरुको भ्रमण दलले मित्र राष्ट्र पाकिस्तानमा अवस्थित विश्वको दोस्रो अग्लो चुचुरो ‘के टू’ को गत जनवरी १६, २०२१ का दिन हिउँदेयामको समयमा पनि पहिलो सफल आरोहण गर्नुभएको छ । यस किर्तिमानी एवं साहसिक आरोहणबाट नेपाल र नेपालीको शिर उच्च बनाउँदै हिमालय आरोहणमा विश्व रेकर्ड कायम गर्न सफल हुनु भएकोमा बधाई दिन चाहान्छौं ।’

    परिसंघका वरिष्ट उपाध्यक्ष विष्णुकुमार अग्रवालले नेपालको नाम विश्वभर स्थापित गराएकोमा आरोहण टोलीलाई बधाई दिए । उनले भने ‘आत्मविश्वास, लगाव र कठोर मेहनतले प्राप्त गरेको सफलताले नेपालको नाम विश्वभर परिचित गराउनुको साथै नेपालको नाम उच्चो बनाउनु भएको छ । यो देशकै सम्मानको कुरा हो ।’

    टोलीले ३ माघमा (जनवरी १६मा) साँझ ५ बजे विश्वको दोस्रो अग्लो (८,६११ मिटर) चुचुरो के टूको सफल आरोहण गरेको थियो । १० जना नेपालीले हिउँदयाममा आरोहण गरेर विश्व किर्तिमान बनाएका थिए ।

    सम्मान समारोहमा परिसंघका उपाध्यक्षहरु क्रमश अनुज अग्रवाल, राजेशकुमार अग्रवाल, सुलभ अग्रवाल र वीरेन्द्रराज पाण्डेको उपस्थिती रहेको थियो ।