Tag: आरोप

  • राना समुदायको आरोप  : ओली सरकारले दिएको अधिकार देउवा सरकारले खोस्यो

    राना समुदायको आरोप  : ओली सरकारले दिएको अधिकार देउवा सरकारले खोस्यो

    कैलाली । सुदूरपश्चिमका राना समुदायका नागरिकले सरकारले राना भाषालाई उपेक्षा गरेको आरोप लगाएका छन् ।

    भाषा आयोगले २०७६ कार्तिक १६ गते थारु भाषालाई पहिचान गरी तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली हुँदा प्रतिवेदन बुझाएको थियो । उक्त प्रतिवेदनमा पहिचान भएको राना थारु भाषालाई २०७६ साल माघ २० गते आदिवासी जनजातिको सूचीमा नेपाल सरकारले सूचीकृत गरेको थियो ।

    कैलाली र कञ्चनपुरमा अहिले तीन लाख बढी राना थारु समुदायका नागरिकहरूको बसोबास छ । प्रदेशमा करिब ११ प्रतिशतभन्दा बढी नागरिक बसिरहको र कैलाली कञ्चनपुरका २७ बिद्यालयमा राना भाषाको अध्यापन भइरहेको हुँदा पनि वर्तमान सरकारले पूर्वाग्रही ढंगबाट कामकाजको भाषा बनाउनबाट रोकेको नेपाल राना थारु समाजका केन्द्रीय अध्यक्ष कृपाराम रानाले बताए ।

    ‘अघिल्लो सरकारले हामीलाई सूचीकरण गरेपछि थप अधिकार स्थापित हुने अपेक्षा गरेका थियौँ । तर, अहिले षडयन्त्रपूर्ण रूपले हामीलाई उपेक्षा गरिएको छ’ उनले भने ‘हामी यसविरुद्ध आन्दोलन गर्ने तयारीमा छौँ ।’

    २० वर्षदेखि आफ्नो पहिचान र अधिकारका लागि राना थारु समुदाय संघर्षरत छन् । कैलालीबाट निर्वाचित प्रतिनिधिसभा सांसद नारदमुनि रानाको पहलमा थारु जाति र उनीहरुको भाषाको पहिचान भएको थियो ।

    सूचीकरणपछि प्रदेशमा सरकारी कामकाजको भाषा बन्ने अपेक्षा गरेका यहाँका नागरिक पुनः निराश भएका छन् ।

    ‘हाम्रो भाषाको सबै मापनहरू पूरा भएको थियो थियो’ अध्यक्ष रानाले भने ‘हामीप्रति पूर्वाग्रही भएर सरकारी कामकाजको भाषा बन्न दिइएन ।’

    भाषा आयोगले मुलुकमा पाँच वर्षभित्र बोलिने भाषाको अध्ययन, अनुसन्धान, अभिलेखीकरण गरी सरकारी कामकाजको भाषा किटान गर्ने र अन्य मातृभाषा संरक्षण, संवर्द्धन र प्रवर्द्धनका निम्ति सिफारिस गरिसक्नुपर्ने प्रावधान संविधानमा छ ।

    मुलुकको जनसङख्या, भाषा बोल्नेको संख्या, एकभन्दा बढी पालिकामा बोलिने भाषा, ऐतिहासिकता, पहिचान, लेखन प्रणाली विकास र प्रयोगलाई प्रमुख आधार मानेर आदिवासी जनजातिको सूचीमा सूचीकृत गरेता पनि पूर्वाग्रही भइ देउवा सरकारले खारेज गरेको प्रतिनिधिसभा सदस्य नारदमुनि रानाले बताए ।

    उनले भने, ‘निकै ठूलो प्रयासपछि हाम्रो समुदायको सरकारले सूचीकरण गरेको थियो । पूर्व प्रधानमन्त्री केपी ओलीले राना समुदायको भावना अनुसार सूचीकरण गरेर कामकाजको भाषा बनाउन पहल गर्नु भएको थियो तर, देउवा सरकारले राना समुदायको भावनामाथि ठेस पुर्याएको छ । ’

    दोस्रो संविधानसभाको निर्वाचनमा शेरबहादुर देउवा धनगढी क्षेत्रबाटै निर्वाचित भएका थिए । प्रतिनिधिसभा निर्वाचनमा भने देउवा पत्नी आरजु राणा देउवा धनगढी क्षेत्रबाट निर्वाचनमा होमिएकी थिइन् । दम्पती नै चुनाव लड्ने क्षेत्रमा रहेका समुदायप्रति उदासिन रहेको नेपाल राना थारु समाजका केन्द्रीय उपाध्यक्ष कमल रानाले बताए ।

    ‘उहाँहरू निर्वाचनमा मात्रै त्यहाँको बिषयमा कुरा निकाल्नु हुन्छ । त्यसपछि यस्ता बिषयमा चासो दिनुहुन्न’ उनले भने ‘हामीले निकै मेहनत गरेर सिफारिस गरेको भाषालाई रोक्न प्रयास गर्नुहुन्छ । ’

    उनले आरजु राणा देउवाले निर्वाचनमा पराजय भोगेको पीडास्वरूप राना भाषालाई कामकाजको भाषा नबनाएको आरोप लगाए ।

    पहिलो दिन मंगलबार काठमाडौँमा र त्यसपछि कैलाली कञ्चनपुरमा आन्दोलन गर्ने उनले बताए ।

  • महेश बस्नेतको आरोप : माधव र झलनाथको कार्यकाल एमालेका लागि बिर्सनलायक समय

    महेश बस्नेतको आरोप : माधव र झलनाथको कार्यकाल एमालेका लागि बिर्सनलायक समय

    काठमाडौं । नेकपा एमालेका नेता तथा युवा संघ इन्चार्ज महेश बस्नेतले माधवनेपाल र झलनाथ खनालको नेतृत्वकाल एमालेका लागि बिर्सनलायक अवधि भएको बताएका छन् ।

    ललितपुरमा लुभुमा आयोजित युवा संघको कार्यक्रमलाई सम्बोधन गर्दै बस्नेतले मदन भण्डारी, मनमोहन अधिकारी र केपी ओलीको नेतृत्व एमाले र मुलुकका लागि गर्व गर्न लायक अवधि रहेको बताए ।

    बस्नेतले भने– माधव नेपालको १५ वर्ष र झलनाथ खनालको १३ वर्ष एमालेका लागि विर्सनलायक समय हो । उनीहरुको कारण एमालेको शीर निहुरेको थियो । हामीले गर्व गर्ने नेतृत्व भनेको मनमोहन, मदन भण्डारी र केपी ओली हुन् ।

    ‘नेकपा एमाले, न पोथी न भाले’ को अवस्थामा माधव नेपालले एमालेलाई तल झारेको भन्दै बस्नेतले केपी ओली दिल्लीमा उपचार गर्न जाँदा झलनाथ र माधवले मरे हुन्थ्यो भनेर धुप हालेको आरोप लगाए ।

    बस्नेतले एमालेमा मिल्ने भन्दा पनि निल्ने उद्देश्यले एकतामा आएका प्रचण्डको एमाले निल्ने प्रयास सफल नभएपछि माधव नेपाललाई लिएर बाहिरिएको आरोप लगाए ।

    बस्नेतले माधव नेपालले एमालेबाट निर्वाचित जनप्रतिनिधिलाई प्रचण्ड र शेरवहादुर देउवाको पाउमा जिम्मा लगाउन खोजेको भन्दै कसैले पनि एमाले छाडेर माधवको पार्टीमा गएमा राजनीतिक भविष्य सिद्धिने बताए ।

  • प्रदेश २ मा कांग्रेसका मन्त्री बनाउँदा पैसा लेनदेन गरेको आरोप, असन्तुष्ट सांसदको बैठक बस्दै

    प्रदेश २ मा कांग्रेसका मन्त्री बनाउँदा पैसा लेनदेन गरेको आरोप, असन्तुष्ट सांसदको बैठक बस्दै

    जनकपुरधाम । प्रदेश २ सरकारमा सहभागी भएको नेपाली काँग्रेसका मन्त्री विवावदमा परेका छन् । भौतिक पूर्वाधार विकास मन्त्री बनेका काँग्रेस संसदीय दलका नेता रामसरोज यादवमाथि रकम चलखेल गरेको आरोप आफ्नै सांसदहरुले लगाएका छन् ।

    सांसदद्धय बिरेन्द्र सिंह र ओमप्रकाश शर्मा रकमको चलखेल गरी मन्त्री बनेको आरोप लागेपछि पार्टीमा विवाद बढेको छ । प्रदेश सभामा कांग्रेसका १९ सांसद छन् ।

    जसमध्ये १२ जनासभापति शेरबहादुर देउवा र ७ सांसद बरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका छन् । देउवा समूहबाटै यादव, सिंह र शर्मा मन्त्री बनेपछि पौडेल पक्षका सांसदहरु असन्तुष्ट बनेका छन् । पार्टीमा छलफल नै नगरी संसदीय दलका नेता यादवले प्रदेश सरकारमा सहभागी हुने सम्झौता गरी मन्त्री बनेको आरोप सांसद नरेश यादवले लगाए ।

    उनले भने, ‘मन्त्री बन्न ठूलो रकमको चलखेल भएको छ । पैसाको लेनदेन गरेर मन्त्री बनाइएको छ’ काँग्रेस उपसभापति बिमलेन्द्र निधीले मुख्यमन्त्री पाउनुपर्ने अडान लिएका थिए । दलका नेता यादवले पनि मुख्यमन्त्रीसहित ५० प्रतिशत मन्त्री मागेका थिए । तर सुटुक्क सहमती गरेर आफूसहित तीनजनाले रातारात मन्त्रीको शपथ लिएको आरोप लागेको छ ।

    असन्तुष्ट सांसदहरु आज जनकपुरमा बैठक बस्दैछन् । छलफल नै नगरी सरकारमा सहभागी भएको विषयमा असन्तुष्ट सबै सांसदहरु आपसमा छलफल गरी आवश्यक निर्णय लिने सांसद नरेश यादवले बताएका छन् ।

  • ओलीको आरोप : माधव नेपाल बिकेर पतित भए, देउवाले भाषिक शिष्टता बिर्सिए (भिडियो)

    ओलीको आरोप : माधव नेपाल बिकेर पतित भए, देउवाले भाषिक शिष्टता बिर्सिए (भिडियो)

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा एमालेका नेता माधवकुमार नेपाल बिकेपछि आफ्नै पार्टीको सरकार ढाल्न विपक्षीसँग गठबन्धन गरेको आरोप लगाएका छन् ।

    काठमाडौंमा शनिवार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले कम्युनिष्ट आन्दोलन सिध्याउन केही नेता बिकाउ र पतित भएको आरोप लगाए ।

    ओलीले भने- हिजैमात्र देखियो जसको विरुद्ध चुनाव लडेर आइयो र भोलि पनि प्रतिस्पर्धा गर्नु छ, विपक्षी नेतालाई प्रधानमन्त्री बनाउन लागेको देखियो । अनुशासन तोडेर, पार्टी निर्णय निर्णय गरिरहनु पर्दैन त्यस्ता कुरामा । तर जब नेता बिक्छन्, जब नेता पतित हुन्छन् आन्दोलनलाई सिध्याउन उद्यत हुन्छन् ।

    ओलीले अदालतले फैसला गर्नुअघि नै प्रचण्ड माधवले पार्टी फुटाइसकेको बताए । अर्को प्रसंगमा प्रधानमन्त्री ओली कांग्रेस सभापति शेरवहादुर देउवाप्रति पनि रुष्ट देखिए ।

    देउवाले शनिबार राष्ट्रपति विद्यादेवी भण्डारीले आफूले १४९ जनाको हस्ताक्षरसहित दाबी गरे पनि प्रधानमन्त्री नियुक्त नगरेको तर प्रतिनिधि सभा विघटन गरिदिएको भन्दै विज्ञप्ति निकालेका थिए ।

    उनको विज्ञप्तिको भाषामा राष्ट्रपतिलाई आदरार्थी शब्द प्रयोग नभएको भन्दै प्रधानमन्त्री ओलीले आपत्ती जनाएका हुन्।

    सम्मानित पदमा पुगेको जनताका छोराछोरीलाई सम्मान गर्नुहुन्न भन्ने हामीलाई परेको छ। अरूको त के कुरा नेपाली कांग्रेसका सभापतिले पनि त्यो गरिमा राख्न चाहनुभएन। राष्ट्रपतिलाई यसो गरिन् भनेर लेखिएको छ, ओलीले भने, ‘यसबाट थाहा हुन्छ गणतन्त्रलाई खुइल्याउने षडयन्त्र कहाँसम्म पुगेको रहेछ।’