Tag: आरक्षण

  • आरक्षणसम्बन्धी सर्वोच्चको व्याख्या प्रगतिशील रहेको जनमोर्चाको ठहर, कार्यान्वयन गर्न माग

    आरक्षणसम्बन्धी सर्वोच्चको व्याख्या प्रगतिशील रहेको जनमोर्चाको ठहर, कार्यान्वयन गर्न माग

    काठमाडौं । राष्ट्रिय जनमोर्चाले हालै सर्वोच्च अदालतले आरक्षणसम्बन्धी मुद्दामा गरेको फैसलालाई स्वागत गरेको छ । फैसलाको कार्यान्वयन गर्न पार्टीले सरकारसँग मागसमेत गरेको छ ।

    सर्वोच्चले आरक्षण जातीय आधारमा नभइ वर्गीय आधारमा हुनुपर्ने फैसला सुनाएको थियो । उक्त फैसलाको स्वागत र विरोध गर्ने क्रम जारी रहँदा जनमोर्चा समर्थनमा उत्रिएको हो ।

    ‘सर्वोच्च अदालतले आरक्षणसम्बन्धमा सकारात्मक र प्रगतिशील प्रकारले व्याख्या गरेको छ र त्यसअनुसार कार्यान्वयन गर्न पनि उत्प्रेषणसहितको आदेश गरेको छ । त्यसलाई हामीले सकारात्मक रुपमा लिन्छौं र तीनलाई कार्यान्वयन गर्न सरकारसँग माग गर्दछौं,’ पार्टीका अध्यक्ष चित्रबहादुर केसीले आइतबार जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

    स्पष्ट र सही कानूनको अभावमा अहिले पनि आरक्षणको सुविधाप्राप्त जाति, क्षेत्र वा समुदायहरुका उच्च र सम्पन्न तप्काहरूले नै पटक-पटक फाइदा उठाउने गरेको विज्ञप्तिमा उल्लेख छ । तिनका निम्नवर्गीय वा लक्षित समुदायहरूलाई यो आरक्षण सुविधाबाट कुनै खास फाइदा नपुगेको जनमोर्चाले बताएको छ ।

    ‘त्यो स्थितिमा त्यसप्रकारको आरक्षण सुविधाहरू प्रदान गर्दा ‘मानव विकास सुचकाङ्क’ को आधारमा आरक्षण दिनुपर्ने सर्वोच्च अदालतले गरेको व्याख्या सही छ, विश्वका धेरै देशहरुले यही तरिका अपनाएका छन्,’ विज्ञप्तिमा भनिएको छ ।

    जनमोर्चाले दलित, जनजाति, लैंगिक वा अन्य कतिपय पिछडिएका जाति, जनसमुदाय र क्षेत्रहरुका बारेमा संविधानमा गरिएको आरक्षणको व्यवस्थालाई कायम राख्नुपर्ने उल्लेख गरेको छ ।

  • सर्वोच्चको आदेश- ‘तरमारा’ वर्गको कब्जाबाट आरक्षण व्यवस्था हटाऊ (पूर्णपाठसहित)

    सर्वोच्चको आदेश- ‘तरमारा’ वर्गको कब्जाबाट आरक्षण व्यवस्था हटाऊ (पूर्णपाठसहित)

    काठमाडौं । सर्वोच्च अदालतले सकारात्मक विभेदअन्तर्गत भएको आरक्षणको व्यवस्थालाई लक्ष्यकेन्द्रित र न्यायपूर्ण बनाउँन व्यक्तिगत प्रगति गरिसकेको उपल्लो वर्गको कब्जाबाट मुक्त गर्न सरकारलाई निर्देशन गरेको छ ।

    सर्वोच्च अदालतले हालै प्रकाशित गरेको फैसलाको पूर्णपाठमा समाजमा व्यक्तिगत उन्नति गरेको ‘तरमारा मध्यम वर्ग’ को कब्जाबाट आरक्षणसम्बन्धी व्यवस्थालाई मुक्त गर्न निर्देशनात्मक आदेश जारी गरेको छ ।

    चिकित्सा शिक्षाको पोष्ट ग्याजुएटमा आरक्षण कोटाबाट पढ्न नपाएको भन्दै सर्वोच्च अदालतमा परेको रिटको खारेजी फैसलामा आरक्षणको लक्ष्यको समीक्षा हुनुपर्ने विषयलाई जोड दिएको छ ।

    न्यायाधीशहरू विश्वम्भरप्रसाद श्रेष्ठ र डा. आनन्दमोहन भट्टराईको संयुक्त इजलासले आरक्षणसम्बन्धी व्यवस्थालाई वर्गीयता वा जातीयतामा नभइ आवश्यकता केन्द्रित बनाएमा मात्र यसले संविधानको साध्य हासिल गर्न सक्नेतर्फ सरकारको ध्यानाकर्षण गराएको छ ।

    फैसलामा भनिएको छ – ‘वास्तवमै गरिब, निमुखा र आफ्नो स्रोतसाधनले शिक्षा आर्जन गर्न नसक्ने वर्गलाई नै आरक्षणको छहारीभित्र ल्याउने र संविधानको मर्ममा पर्ने तर सक्षमलाई बाहेक गरेमा मात्र यसले संविधानको लक्ष्यलाई पछ्याउन सक्छ ।’

    १२६ जातजाती र १२३ भाषाभाषीको बसोबास रहेको हाम्रो जस्तो मुलुकमा संविधानको धारा १८(३) को प्रतिबन्धात्मक वाक्यांशको वर्गमा पर्ने तर राजनीतिक, आर्थिक वा सामाजिकरूपमा उच्च वर्गमा पुगेका व्यक्तिका सन्तानलाई आरक्षण नपाउने वर्गमा राख्ने नसकिने उदाहरणसहितको मार्गनिर्देशन समेत गरेको छ ।

    पटक-पटकका लागि होइन एक पटक

    सकारात्मक विभेदको व्यवस्थालाई पटक-पटक एकै व्यक्ति वा परिवारमा नदोहोरिने गरी हुनुपर्ने संविधानको मर्म रहेको फैसलामा भनिएको छ । साथै समय समयमा वस्तुनिष्‍ठरूपमा अनुगमन, मूल्यांकन र पुनरावलोकन समेत गर्ने गरी वास्तवमा नै गरिब र उपेक्षित वर्गको पहुँच र सहज उपयोगमा रहने र सकारात्मक हस्तक्षेप नचाहिने व्यक्ति, परिवार वा समूहलाई क्रमशः बाहेक गर्दै जाने व्यवस्था गरेमा मात्र यसले संविधानको लक्ष्यलाई पछ्याउन सक्ने हुँदा त्यसतर्फ नीति र कानून निर्माणमा विशेषरूपमा ध्यान दिन सरकारलाई निर्देशनात्मक आदेश जारी गरेको छ ।

    संकटमा परेकालाई देऊ

    वर्गीयरूपमा माथिल्ला स्तरमा पुगेका नागरिकलाई संकटमा रहेको अवस्थामा छुट्टै व्याख्या गर्न समेत सर्वोच्च अदालतले सुझाएको छ । फैसलामा भनिएको छ, मुलुक बाढी, पहिरो, भूकम्पजस्ता राष्ट्रिय विपत्ति र महामारीबाट ग्रसित भइरहने परिस्थितिलाई मध्यनजर गर्दा समेत आरक्षणमा पर्ने व्यक्ति, वर्गहरू थपघट भइरहने पनि हुन सक्छ। पहिले आरक्षित वर्ग र समूहमा पर्दैन भनिएको व्यक्ति, वर्ग र समूहलाई पुनस् आरक्षण दिनुपर्ने पनि हुन सक्छ।

    मानव विकास सूचकांकलाई आधार बनाऊ

    फैसलामा व्यक्तिगत अपाङ्गताको कारण आरक्षण जरुरी भएकोमा बाहेक पछौटेपनको मापन मानव विकास सूचकाङ्कलाई आधार बनाएर गरिंदा वास्तविकरूपमा पिछडिएको व्यक्ति, वर्गमा पुग्न सकिने देखाइएको छ । नेपालको संविधानले आर्थिकरूपले विपन्न खस आर्यको हकमा तोकिएको आयभन्दा कम आय भएको व्यक्ति भनिएको, तथा महिला तथा दलितको हकमा विशेष अधिकारको समीक्षा र पुनरावलोकन गर्दा मानव विकास सूचकाङ्कको आधारमा गरिने कुरा उल्लेख छ । त्यसैगरी ‘सीमान्तीकृत’ समुदायको परिभाषा गरिँदा संघीय कानून बमोजिमको मानव विकासको स्तरभन्दा न्यून स्थितिमा रहेका समुदाय र अतिसीमान्तीकृत र लोपोन्मुख समुदाय समेतलाई जनाउँछ भन्ने व्यवस्थाबाट मानव विकासको सूचकाङ्कलाई सकारात्मक विभेदको व्यवस्थाको सन्दर्भमा आधार कायम गर्न सकिने फैसलामा उल्लेख छ।

    आरक्षण जहिलेसुकै हुँदैन

    फैसलामा सकारात्मक विभेदको शुरू भएपछि यसको अन्त्यहीन प्रयोग नहुने संविधानको आशयलाई स्पष्ट पारेको छ । आरक्षणको व्यवस्था गर्दा लक्षित समुदायको पहिचान सो अनुरूपको कार्यक्रम र स्रोत साधनको व्यवस्था निर्क्योल हुनुपर्ने फैसलामा उल्लेख छ । यस्तै आरक्षण निश्चित अवधि र समयसीमा निर्धारण गर्ने र त्यसको अनुगमन मूल्याङ्नको व्यवस्था समेतका मानकहरू निर्माण हुनुपर्ने जरुरी रहेको फैसलामा उल्लेख छ । साथै गुणस्तरहीन र अप्रतिष्पर्धी शिक्षा सामाजिक रुपमा पनि हानिकारक हुन्छ भन्ने कुरा तुलनात्मक विधिशास्त्र र व्यवहारको अध्ययनबाट स्पष्ट देखिएको छ।

    ‘उच्च शिक्षालाई सहज, गुणस्तरीय र पहुँच योग्य बनाई क्रमश: निःशुल्क बनाउँदै लैजाने’ नीति अवलम्बन गरिएको कुरालाई पनि नीति निर्माताहरुले बिर्सन मिल्ने नदेखिँदा सोही अनुरुप नीति र कानूनको पुनरावलोकन गरी संवैधानिक व्यवस्थालाई प्रभावकारी बनाउनु पर्ने निर्देशनात्मक आदेशमा उल्लेख छ ।

  • आरक्षण दिएको विभेद गर्न हो ?

    आरक्षण दिएको विभेद गर्न हो ?

    पछिल्लो समय ‘कोटा र कोठा’को बहस चर्को छ । सञ्चारकर्मी रुपा सुनारले दलित भएकै कारण कोठा नपाएको भन्दै प्रहरीमा उजुरी दिएपछि कतिपयले गैरदलित भएकै कारण कोटा नपाएको भन्दै अनेक तर्क गरेका छन् । तर यो तुलनायोग्य विषय होइन ।

    २०६८ सालको जातीय छुवाछुत तथा विभेद ऐनअन्तर्गत रुपा सुनारले प्रहरीमा उजुरी दिइन् । तर, शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठलगायत केहीले मुद्दालाई झिसमिस्याउने प्रयास गरे । परिणामतः कोठा नदिने घरबेटी सरस्वती प्रधान रिहा भइन् ।

    पछिल्लो समय जातीय व्यवस्थामाथि प्रश्न उठ्दा आरक्षण प्रणालीकोमाथि पनि प्रश्न उठ्ने गरेको छ । प्राय गैरदलितबाट उठ्ने गरेको प्रश्न हो, ‘दलित भनेर कोटा पाउँदा चाहीँ अपमान नहुने, दलितलाई दलित भन्दा चाहीँ अपमान हुने ? विभेद हुने ?’

    आरक्षणमा प्रणाली आफैंमा सकरात्मक विभेदयुक्त प्रणाली हो भन्ने कुरा थाहा नै नपाइ उठाइने यस्ता प्रश्न असंवेदनशील र असामाजिक हुन् ।

    जात र आरक्षण

    वर्तमान नेपाली समाजको मनोविज्ञान दुई धारमा विभाजित छ । आरक्षण पाउने जाति–समुदाय एक धारमा र नपाउने जाति समुदाय अर्को धारमा । आरक्षणको सिद्धान्त, उद्देश्य र आवश्यकताको ऐतिहासिक, सामाजिक संरचनाको अन्तरसम्बन्ध नबुझी उठाइने धेरै प्रश्नमध्येको एक हो, कोटा र कोठाको विषय ।

    कोटा अर्थात् आरक्षणः दोस्रो जनआन्दोलनपछि बनेको नेपालको अन्तरिम संविधान– २०६३ को समावेशी नीतिअन्तर्गत राज्यको मूलधारबाट नै पछाडि पारिएका सीमान्तकृत, अल्पविकसित जाति, समुदाय तथा लिङ्ग, दलित, जनजाति, मधेसी, महिलालाई मूलधारमा ल्याउने उद्देश्यका साथ लागू गरिएको हो ।

    नेपालमा आरक्षण प्रणाली सुरु भएको १४ वर्ष भयो । तर कोठासँग जोडिएको जातीय व्यवस्था सयौं वर्षौ पुरानो हो । यो नेपाली समाजमा नराम्ररी जकडिएको छ ।

    जातीय व्यवस्थाः इतिहास र यथार्थ

    १४ औं शताब्दीमा तत्कालीन राजा जयस्थिती मल्लले जातीय व्यवस्था र संरचनालाई वैधानिकता दिए, कानून नै बनाए । तत्कालीन नेपाली समाजलाई पेसाको आधारमा जात विभाजन गरिएको भनिए पनि जातीय व्यवस्थालाई वैधानिक रुपमै संस्थागत विभेद सुरु भयो । जाति विशेषलाई औपचारिक रुपमै माथिल्लो र तल्लो वा अछुत भनी व्यख्या गरियो ।

    निश्चित जात भएकै कारण सुनको गहना लगाउन नपाउने, फुसले छाएको घरमा बस्न नपाउने, साँझ परेपछि सहर बस्न नपाउने, ठूला जात भनाउँदासँग दोहोरो प्रश्न गर्न नपाउने र गरेमा अपराधीसरह दण्ड, सजायँ पाउने कानून लादियो ।
    जस्तैः ब्राह्मणः पूजापाठ गर्ने, लेखपढ गर्ने ।

    क्षत्रीयः राजकाज चलाउने, प्रशासक हुने र प्रहरी, सेनाको नेतृत्व गर्ने ।
    वैश्यः व्यापार तथा खेती किसानी गर्ने ।
    शुद्रः माथिका जातको सेवा र शारीरिक श्रम गर्ने ।

    यी जातिगत पेसा कानून लागू गरी पुस्तातरण गरियो र नमानेको खण्डमा दण्ड, सजायँको व्यवस्था गरियो । जस्तै शुद्रले तोकिएको जातिगत पेसाबाहेक पढ्ने लेख्ने, प्रहरी, सेना बन्नेकुरा गैरकानूनी थियो । गरेको खण्डमा सजायँको भागेदार हुनुपर्ने थियो ।

    जातीय व्यवस्थाको वैधानिकता पृथ्वीनारायण शाहको चार जात, छत्तीस वर्णहुँदै राणाकालमा लेखिएको पहिलो मुलुकी ऐनदेखि पञ्चायतकालको मुलुकी ऐन संसोधन नहुन्जेलसम्म जातीय व्यवस्था, संरचना र जातिगत पेसा औपचारिक रुपमै लागू भइरह्यो ।

    ५०० बर्ष बढीको इतिहासमा निश्चित समुदायलाई जातकै आधारमा राज्यको राजनैतिक, आर्थिकलगायत राज्यको हरेक तह, तप्कामा औपचारिक बर्चस्व कायम गराइयो । र निश्चित जातिलाई तल्लो भनी व्याख्या गरियो ।

    समाज र राज्य तहबाट जातका आधारमा भएको विभेदको परिणामलाई मूल्यांकन गरौं–

     

    यो तथ्यांकले जातीय व्यवस्थाबाट दलित, जनजाति पछि परेको प्रष्ट हुन्छ । र, उनीहरुलाई समान स्थितिमा ल्याउन आरक्षण अपरिहार्य छ । आरक्षणप्रति कुण्ठा व्यक्त गर्नुभन्दा सीमान्तकृत समुदायलाई कसरी मूलधारमा ल्याउन सकिन्छ भन्नेमा ध्यान दिन जरुरी छ ।

  • जातलाई होइन, गरिबलाई आरक्षण

    जातलाई होइन, गरिबलाई आरक्षण

    केही दिनअघि मात्रै दलित समुदायका एकजना सेवानिवृत्त सचिवको लेख कतै पढेको थिएँ । उहाँले आफू दलित भएकै कारण सोचेजति माथि पुग्न नसकेको गुनासो गर्नुभएको रहेछ ।

    उहाँका कतिपय भोगाइहरू सत्य हुन सक्छन् । अझै पनि समाजमा जातीय विभेदका अवशेषहरू बाँकी नै छन् । तर, दलित भएकै कारण अघि बढ्न सकिनँ भन्ने गुनासो चाहिँ उहाँको सन्दर्भमा पत्यारिलो लागेन । यदि त्यस्तो हुन्थ्यो भने उहाँ निजामति सेवाको सबैभन्दा उच्च ओहदासम्म कसरी पुग्नुभयो त ? ‘तँ दलित सचिव बन्न सक्दैनस’ भनेर राज्यले रोक्थ्यो होला नि ?

    यति मात्रै होइन, उहाँ आफ्नो जागिरे जीवनकै बीचमा धेरै वर्ष विदेश बस्नुभएको रहेछ । सामान्यतया सरकारी छात्रवृत्तिमा पढ्न जाने कर्मचारीहरूले बढीमा तीन वर्षसम्मको अध्ययन बिदा पाउँछन् । तर, उहाँ सरकारी कोटामा नभएर आफ्नै हिसाबले जानुभएर पनि नेपालमा जागीर सुरक्षित नै रह्यो ।

    राज्यबाट यसप्रकारको सहुलियत पाएको र निजामति सेवाको सर्वोच्च पदमा पुगेको व्यक्तिले नै म दलित भएका कारण माथि उठ्न सकिनँ भन्नु लघुताभासमात्रै हो जस्तो लाग्छ । कम्तीमा राज्यको तर्फबाट चाहिँ उहाँ अन्यायमा पर्नुभएको देखिँदैन । नेपालको विद्यमान नियम-कानूनहरू पनि दलितलाई रोक्नेभन्दा टेको लगाएर माथि उठाउने खालकै छन् । यद्यपि, सामाजिक हिसाबबाट दलितले अझै केही समस्याहरू झेल्नु परेको यथार्थलाई नकार्न सकिँदैन ।

    रुपा प्रकरणको धरातल

    अहिले दलितलाई घर भाडामा नदिइएको विषय निकै चर्चामा छ । मैले पनि सञ्चारमाध्यम र सामाजिक सञ्जालमा आएका टिप्पणीहरू हेरिरहेकै छु । घटनालाई अलि अतिरञ्जित गरियो कि जस्तो लाग्छ मलाई । यो यति ठूलो ‘स्क्यान्डल’ नबन्नुपर्थ्यो ।

    कोठा र कोठा तुलनायोग्य कुरा होइनन् । दलितले कोठा नपाउने कुरा एउटा सामाजिक समस्या हो, जुन जनचेतनाको स्तरसँग जोडिएको हुन्छ । यो मान्छेको दृष्टिकोण र परम्पराबाट बाहिर निस्किन नसकेको कुरा हो । बाहुनले कोटा नपाउने कुरा चाहिँ राज्यको नीति सम्बन्धित छ ।

    अहिले यसमा दुईवटा कोणबाट बहस भइरहेका छन् । पहिलो, कुनै पनि घरबेटीले आफ्नो घरको कोठा कसलाई भाडामा दिने वा नदिने भन्ने उसको निजी विषय हो । र दोस्रो, एक दलित युवतीलाई कोठा नदिएर घरबेटीले जातीय विभेदको अपराध गरिन् ।

    कुनै पनि व्यक्तिको घर भनेको उसको निजी सम्पत्ति हो भन्नेमा दुईमत छैन । आफ्नो सम्पत्तिको भोगचलन के-कसरी गर्ने भन्ने अधिकार उसमा निहीत हुन्छ । यसर्थ घरबेटीले आफ्नो घर आफ्नै इच्छाअनुसार भाडामा लगाउँछन् । तर, कसैलाई पनि ‘तँ तल्लो जातको होस, त्यसैले मेरो कोठा भाडामा दिन्न’चाहिँ भन्न पाउँदैन । त्यसो भन्नु जातीय विभेद हुन्छ ।

    अहिलेको घटनामा दुईजनाबीचको फोन सम्वाद सुन्दा घरबेटीले ‘आफूलाई समस्या नभएको तर घरमा बुढी आमा भएकाले अप्ठेरो हुन्छ’ भनेर विनित भावमा आग्रह गरेकी छन् । युवतीले चाहिँ घरबेटीलाई जेलमा पुर्‍याउने प्रमाण सिर्जना गर्नकै लागि उनीसँग फोन संवाद गरेको र त्यसलाई मोबाइलमा रेकर्ड गरेको आशंका गर्ने ठाउँ छ । सुरूमा कोठाको कुरा मिलिसकेपछि युवती आफैंले जातको कुरा निकाल्नुले पनि यस्तो आशंकालाई बल पुग्छ ।

    प्रौढ उमेर र कमजोर चेतनास्तरकी एक महिलालाई हिरासतमा पुर्‍याएर आफू ‘हिरो’बन्न खोज्ने चेष्टा राखिएको हो भने त्यो गलत मानसिकता हो । बरु उनले अलिकति सम्झाउने, बुझाउने प्रयास गरेको भए पो हुन्थ्यो कि ? सबै समस्याको समाधान कानून होइन ।

    साथै, यो घटनाले जातीय छुवाछुतको सन्दर्भमा पुरानो पुस्ता र नयाँ पुस्ताबीचको अन्तराललाई पनि उजागर गरेको छ । सरस्वतीले आमाको कारणले दलितलाई कोठामा राख्न नसक्ने आशय व्यक्त गरेकी छन् । बुढाबुढी भएका घरहरूमा त्यस्तो खालको समस्या हुन्छ नै । तर, अहिलेको नयाँ पुस्ताले जातपात मान्न छोडिसक्यो । यो दलित समुदायले पनि महसुस गरेकै हुनुपर्छ । पहिले र अहिलेमा आकाश-जमिन फरक छ । कतिपय बुढाबुढीहरू पनि प्रगतिशील विचारका छन् । त्यसैले यो एउटा एउटा घटनाले अहिलेको सिंगो समाजको चरित्रलाई प्रतिनिधित्व गर्दैन ।

    कोठा र कोटाको बहस

    रुपा प्रकरणपछि सामाजिक सञ्जालमा ‘कोटा’अर्थात जातीय आरक्षणको बहस पनि सुरु भएको छ । यो बहसलाई निस्कर्षमा पुर्‍याउनु अहिलेको आवश्यकता हो ।

    ‘तिमीले कोठा पाएनौं, हामीले कोटा पाएनौं’ भन्ने खालका एकथरि टिप्पणी आइरहेका छन् । तर कोठा र कोठा तुलनायोग्य कुरा होइनन् । दलितले कोठा नपाउने कुरा एउटा सामाजिक समस्या हो, जुन जनचेतनाको स्तरसँग जोडिएको हुन्छ । यो मान्छेको दृष्टिकोण र परम्पराबाट बाहिर निस्किन नसकेको कुरा हो ।

    बाहुनले कोटा नपाउने कुरा चाहिँ राज्यको नीति सम्बन्धित छ । राज्यले जातका आधारमा नागरिकहरूलाई विभेद गर्नु ठीक छ कि छैन भन्ने हो । त्यसैले कोटाको विषयमा भिन्दै बहस आवश्यक छ ।

    जातका आधारमा सरकारी जागीरमा आरक्षण दिने व्यवस्था नेपालको कानूनले गरेको छ, जुन आफैंमा गलत अभ्यास हो । वास्तवमा भन्ने हो भने यस्तो व्यवस्थाले दलितमाथि नै अन्याय भइरहेको छ । उनीहरूलाई माथि उठ्न रोकिरहेको छ । ‘हामी कमजोर जाति हौं,’ भन्ने खालको लघुताभासलाई यसले बढावा दिन्छ । उनीहरूको आत्मविश्वासलाई गिराउँछ र ‘दलित’ कै मानसिकतामा राखिराख्छ ।

    अनिश्चितकालसम्म कुनै जातिविशेषलाई राज्यले आरक्षण दिने प्रथा सम्भवतः संसारका कुनै पनि मुलुकमा छैन । नेपालमा जातीय आरक्षण दिन थालिएको १५ वर्ष भइसक्यो । यो अवधिमा दलित र उत्पीडितहरूको जीवनस्तर कति माथि उठ्यो त ? केही टाठाबाठाहरू उच्च पदमा पुग्नेबाहेक अरु सुधार भएजस्तो लाग्दैन ।

    कोटा प्रणाली अनन्तकालसम्म कायम राख्नु हुँदैन । अझ जातीय आधारमा त हुँदै हुँदैन । कमजोर आर्थिक अवस्था भएकाहरूलाई शिक्षा-स्वास्थ्य जस्ता क्षेत्रहरूमा आरक्षण तथा सहुलियत दिन सकिन्छ । बाहुनहरू जति सबै हुनेखाने र मधेसी-जनजाति-दलित सबै विपन्न छैनन् । विनोद चौधरीले कोटा पाउने र कर्णालीको एउटा गरिब बाहुनले खुल्ला प्रतिस्पर्धा गर्नुपर्ने नीतिलाई तपाईं कसरी ठीक मान्न सक्नुहुन्छ ?

    अनि, सबै सहुलियतबाट वञ्चित गरिएका बाहुनहरूले नै आज जसको पनि गाली सहनुपर्ने किन ? आर्थिक हिसाबले हेर्ने हो भने बाहुनभन्दा नेवार-मारवाडीहरू बढी सम्पन्न छन् । व्यापार-व्यवसायमा उनीहरूको प्रभूत्व छ । बाहुनहरू बढीजसो जागीरमा सीमित छन् । कर्मचारी, शिक्षक, कर्मचारी, डाक्टर आदि बाहुनहरू धेरै होलान् । त्यो उनीहरूले कसैको कृपादानबाट नभएर आफ्नो योग्यताका आधारमा पाएको काम हो ।

    योग्यताभन्दा जात अगाडि आएपछि ९० प्रतिशत अंक ल्याउनेलाई पन्छाएर ५० प्रतिशत ल्याउनेले पद हत्याउन सक्ने भयो । एउटा सरकारी कार्यालयलाई कम्युटर अपरेटर चाहिएको छ भने सीप हेरेर भर्ना गर्ने कि जात हेरेर ? नेवानीलाई ५ जना पाइलट चाहिएको छ भने मधेसी यति, दलित यति, जनजाति यति भनेर भागबण्डा गर्दा कस्तो नतिजा आउँला ?

    तपाईंको पिता-पुर्खा कुन क्षेत्रमा हुनुहुन्छ भन्नेले पनि त्यो निर्धारित हुन्छ । मेरो बुबा सरकारी जागिरे हुनुहुन्छ भने मेरो पनि झुकाव त्यतैतिर जाने हो । व्यापारी हुनुहुन्छ भने सानैदेखि व्यापारमै दख्खल हुने हो । अब, व्यापार-व्यवसायमा आफ्नो उपस्थिति कमजोर भयो भनेर बाहुनहरूले आरिस गरेर हुन्छ ?

    पहिलेजस्तो विभेद अहिले छैन

    जातीय छुवाछुतको कुरा गर्ने हो भने पहिले र अहिले आकाश-जमिन फरक छ । आजभन्दा ४०-५० वर्षअगाडिको अवस्था अर्कै थियो । त्यसबेला चाहिँ साँच्चिकै दलितलाई मानिसको व्यवहार हुन्थेन । बाहुन-क्षेत्रीबीच नै विभेद थियो ।

    म चाहिँ अलि प्रगतिशील सोच राख्ने परिवारमा हुर्किएँ । मेरो बुवा पुरेत हुनुहुन्थ्यो र पनि जातीय छुवाछुतको कट्टरता उहाँमा थिएन । म गाउँमा हेडमास्टर भएर काम गर्दा जनचेतना जागृत गर्नकै लागि हरेक शुक्रबार दलितको घरमा गएर खान्थेँ र त्यहीँ बास बस्थेँ ।

    त्यसबेला दलित मात्र होइन, ठूला भनिने जातहरूमै पनि विभेद थियो । म एकपटक कुमाइको घरमा खाना खान जाँदा मलाई चौकामा उक्लिन दिएनन् । उपाध्यायले आफूलाई सबैभन्दा ठूलो ठान्थे भने कुमाइले आफूलाई उपाध्यायभन्दा पनि ठूलो ठान्थे । उनीहरूबीच विहेबारी चल्दैनथ्यो ।

    आजको समय अर्कै छ । आजका युवाहरू जातपातमा विश्वास राख्दैनन् । उनीहरू जातको कुरा गरेकै मन पराउँदैनन् । अन्तरजातीय विवाहहरू बढिरहेका छन् । दलित र बाहुनबीच पनि बिहेबारी भएका छन् । परिवारले स्वीकार्न थालेका छन् । त्यसैले अबको केही वर्षहरूमा नेपालमा जातीय छुवाछुत आफैं उन्मुलन भएर जानेछ भन्ने विश्वास छ ।

    जातीय विभेदको न्यूनीकरणमा कानूनी कारवाहीले अलिकति सहयोग पुग्ला तर, मुख्य समाधान भनेको चेतना अभिवृद्धि नै हो । साथसाथै, दलित समुदायको आर्थिक एवं सामाजिक हैसियतलाई माथि उकास्नु पनि महत्वपूर्ण हुन्छ । तपाईं यदि आर्थिकरूपमा सबल हुनुहुन्छ भने कसैले हेप्न सक्दैन । कुनै दलितले एउटा शानदार घर बनायो भने बाहुनले त्यो घरमा कोठा लिन्न भन्छ र ? एउटा दलित उत्कृष्ट चिकित्सक भएर निस्कियो भने कुनै बिरामीले त्यो डाक्टरलाई जचाउँदिन भन्छ र ? कुनै दलित शिक्षकले राम्रो पढाउँछ भने बाहुन विद्यार्थीले उसित पढ्दिन भन्छ ?

    आरक्षण दिने होइन, दलितलाई पनि अरु जातिसरह प्रतिस्पर्धा र क्षमतावान बनाउनुपर्‍यो । आरक्षणबाट पाएको अवसरमा गर्व हुँदैन, जति प्रतिस्पर्धामा भिडेर पाउँदा हुन्छ । आरक्षणबाट आएकाहरूलाई खुल्ला प्रतिस्पर्धाबाट आएकाहरूले हेप्छन् । यसकारण दलितलाई खुल्ला प्रतिस्पर्धाका निम्ति लायक बनाउनुपर्छ । कोटा प्रणालीले प्रतिस्पर्धामा सक्षम दलितहरूलाई अन्याय हुन्छ ।

    जातीय आरक्षणले राज्यका निकायहरूलाई पनि कमजोर बनाउँछ । योग्यताभन्दा जात अगाडि आएपछि ९० प्रतिशत अंक ल्याउनेलाई पन्छाएर ५० प्रतिशत ल्याउनेले पद हत्याउन सक्ने भयो । एउटा सरकारी कार्यालयलाई कम्युटर अपरेटर चाहिएको छ भने सीप हेरेर भर्ना गर्ने कि जात हेरेर ? नेवानीलाई ५ जना पाइलट चाहिएको छ भने मधेसी यति, दलित यति, जनजाति यति भनेर भागबण्डा गर्दा कस्तो नतिजा आउँला ?

    नेपालमा त आफूलाई कम्युनिष्ट भन्नेहरूले नै जातीयतालाई मलजल गरिरहेका छन् । प्रचण्ड-बाबुरामले नेतृत्व गरेको जनयुद्धले नेपालमा जातीयताको बिउ रोप्यो । आज पनि उनीहरू एउटा जातमाथि अर्को जातलाई भिडाउने कर्ममा तल्लिन छन् । जातीयतालाई राजनीतिको भर्‍याङ बनाउने कुरा अत्यन्तै गलत हो ।

    (अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्व प्रमुखआयूक्त उपाध्यायसँग नेपाल प्रेसले गरेको कुराकानीमा आधारित)