Tag: अस्पताल

  • सीपी गजुरेल अस्पताल भर्ना

    सीपी गजुरेल अस्पताल भर्ना

    काठमाडौं । नेकपा माओवादी क्रान्तिकारीका नेता सीपी गजुरेल अस्पताल भर्ना भएका छन् । सोमबार बिहान बेहोस भएपछि उनलाई सिभिल अस्पताल भर्ना गरिएको हो ।

    अहिले उनको होस खुलेको पार्टीका नेता ईश्वर तिमल्सिनाले जानकारी दिएका छन् । उनका अनुसार गजुरेल आफ्नै घरमा बेहोस भएर लडेपछि अस्पताल ल्याइएको र अहिले स्वास्थ्यमा क्रमिक सुधार भइरहेको छ ।

  • बलेवामा नगर अस्पताल सञ्चालन

    बलेवामा नगर अस्पताल सञ्चालन

    काठमाडौं । पर्वतको सदरमुकाम कुश्मा बजारसँगै जोडिएको बलेवामा नगर अस्पताल सञ्चालनमा आएको छ । बागलुङ नगरपालिकाका तीन वडाका नागरिकलाई गुणस्तरीय स्वास्थ्य सेवा दिने उद्देश्यले उक्त अस्पताल स्थापना गरिएको हो ।

    बलेवाको पैयुँपाटास्थित स्वास्थ्यचौकीको स्तर वृद्धि गरी नगर अस्पताल सञ्चालन गरिएको हो । शुक्रबार नगरप्रमुख जनकराज पौडेलले सो अस्पतालको उद्घाटन गरे ।

    तत्काल पुरान संरचनामा अस्पताल सञ्चालन गरिएको छ । ‘एक वर्षभित्र सुविधासम्पन्न नयाँ भवन निर्माण गर्छौँ, जनशक्ति समेत थप्ने योजना छ’, पौडेलले भने । स्थानीयवासीको सहयोगमा अस्पताल निर्माणका लागि नौ रोपनी जग्गाको व्यवस्था गरिएको छ । नयाँ भवन बनाउन रु १८ करोड बजेट बिनियोजन गरिएको छ ।

    ‘एक स्थानीय तह, एक अस्पताल’ नीतिअन्तर्गत पैयुँपाटामा नगर अस्पताल स्थापना गरिएको हो । अस्पतालमा तीन चिकित्सकसहित २७ जनाको जनशक्तिको व्यवस्था गरिने नगरपालिकाले जनाएको छ । हाल यहाँ सनियर अहेव, हेल्थ असिस्टेण्ट, अनमी, कार्यालय सहयोगसहित आठ कर्मचारी कार्यरत छन् ।

    उक्त अस्पताल सञ्चालनमा आएसँगै बागलुङ नगरपालिकाका पैयुँपाटा, नारायणस्थान र अमलाचौरका झण्डै २७ हजार नागरिक लाभान्वित हुने पैयुँपाटाका वडाध्यक्ष नारायण शर्मा पौडेलले जानकारी दिए ।

    ‘सरकारी सहयोगसँगै स्थानीयवासीबाट सहयोग सङ्कलन समेत भइरहेको छ’, उनले भने । रोजगारका लागि विदेशमा रहेकाहरुले समेत अस्पताल निर्माणका लागि सहयोग गर्न थालेको पौडेल बताउँछन् । भरपर्दो अस्पताल नहुँदा यहाँका नागरिक सदरमुकाम बागलुङ, पर्वतको कुश्मा, पोखरालगायतका ठाउँ जानुपर्ने बाध्यता छ ।

    रासस

  • करोडौं खर्चेर बनाइएको अस्पताल प्रयोगमै आएन, संरचना जीर्ण बन्दै

    करोडौं खर्चेर बनाइएको अस्पताल प्रयोगमै आएन, संरचना जीर्ण बन्दै

    जनकपुरधाम । १४ वर्ष अगाडि सहिद सूर्यनाथ रानको स्मृतिमा धनुषाको डुमरियामा अस्पताल बनाउने घोषणा भयो । करोडौं रुपैयाँ खर्चेर अस्पताल पनि बन्यो । तर, उक्त अस्पताल अझै सञ्चालनमा आएको छैन ।

    सहिदको सम्झनामा अस्पताल बनाउने घोषणा हुँदा स्थानीय खुसी थिए । तर बनेको अस्पताल पनि सञ्चालनमा नआउँदा स्थानीय दु:खी भएका छन् । सहिद सूर्यनाथको २२औं स्मृतिसभामा माओवादी नेता एवम् त्यतिबेलाका स्वास्थ्यमन्त्री गिरिराजमणि पोखरेलले अस्पताल बनाउने घोषणा गरेका थिए ।

    अस्पताल बन्ने भएपछि उत्साहित भएर ५ जना किसानले झण्डै २ विघा जग्गा दान गरे । करोडौंको लागतमा भौतिक संरचना पनि निर्माण भयो । सुविधासम्पन्न ४ वटा भवन बनेपछि अस्पताल सञ्चालन हुनेमा ढुक्क थिए स्थानीय बासिन्दा । तर विडम्बना अहिलेसम्म अस्पताल सञ्चालनमा आउन सकेको छैन । र उनीहरु निरास छन् ।

    दुई दिन अगाडि असोज ४ मा माओवादी केन्द्रले विगतजस्तै सहिद सूर्यनाथ रानको ३६ औं स्मृति दिवस मनाए ।

    माओवादी नेता नारायणकाजी श्रेष्ठ थिए, स्मृति दिवसको प्रमुख अतिथि । उनले अस्पतालबारे केही बोल्ने धेरै स्थानीयको आश थियो । तर उनले त्यसबारे केहि बालेनन् । सहिद रानले कोरेको क्रान्तिको बाटोमा हिँड्न स्थानीयलाई सुझाएर उनी काठमाडौं फर्के ।

    अस्पताल सञ्चालनका लागि बनेको त्यहाँको भौतिक संरचना पनि गजबको छ । हरेक कोठामा पंखा, अट्याच शौचालय र बेसिन जडान भएको छ । कोठामा मार्बल ओछ्याएको छ । त्यो सुविधा सम्पन्न भवन अहिले संरक्षणको अभावमा जीर्ण बन्दै गएको छ । कतिपय कोठाको सिसाको झ्याल र काठको ढोकासमेत फोडिसकेको छ । केही कोठामा दिसापिसाव गरिएको छ । अस्पताल दुर्गन्धित छ ।

    कोरोना महामारीका बेला अस्पताल सञ्चालन गर्न भौतिक संरचनाको अभावको कैयौं समाचार बने । तर डुमरियामा निर्माण भएको झण्डै ४ करोडको भौतिक संरचना अझै प्रयोगविहीन छ ।

    गत वर्ष प्रदेश २ सरकारले उक्त अस्पताललाई जिल्ला अस्पतालको रुपमा स्तरोन्नति गरी सञ्चालनमा ल्याउने निर्णय पनि गर्यो । तर चालु आर्थिक वर्षको नीति तथा कार्यक्रमबाटै उक्त कार्यक्रम हटाइएको छ ।

    अस्पताल सञ्चालनका लागि स्थानीयले पटक पटक आन्दोलन गरे । धनुषा क्षेत्र नम्बर २ मा पर्ने उक्त ठाउँबाट निर्वाचित संघीय सांसद एवं पूर्वपर्यटन मन्त्री उमाशंकर अरगरियाले पटक–पटक सदनमै अस्पताल सञ्चालन गर्न आवाज उठाए, जतिबेला उनी जसपामा थिए ।

    सांसद अरगरियाकै दबाबका कारण तत्कालीन स्वास्थ्यमन्त्री एवं जसपा अध्यक्ष उपेन्द्र यादवले उक्त अस्पताललाई प्रदेशमातहतमा ल्याउने निर्णय गराए । तर पछिल्लो समय पार्टी विभाजन भएपछि सांसद अरगरिया लोसपामा गएकै कारण प्रदेश सरकारले उक्त अस्पताल सञ्चालनमा ल्याउने योजना चालु आर्थिक वर्षको नीति तथा कार्यक्रमबाट हटायो ।

    अस्पताल सञ्चालनमा नआएपछि स्थानीय खिन्न छन् । जनकपुरधामदेखि करिब २५ किलोमिटर दूरीमा पर्छ डुमरिया । सामान्य बिरामी पर्दा जनकपुर वा सिरहा सदरमुकाम पुग्नुपर्ने त्यहाँका बासिन्दाको बाध्यता छ ।

    स्थानीय युवा निशान्त यादव भन्छन्, ‘हरेक वर्ष ठूला नेता आउँछन् । यो गर्छु, त्यो गर्छु भन्ने भाषण ठोक्छन् । तर फर्केपछि सबै बिर्सिन्छन् । त्यसैले त शहिद रानको नाममा अस्पताल सञ्चान गर्न करोडौंको लागतमा बनेको भवन पनि प्रयोगविहीन छ ।’ भवन बनेको १४ वर्षमा पनि अस्पता सञ्चालन नहुनु शहिद रानको अपमान भएको उनको बुझाई छ ।

    ‘गाउँमै अस्पताल ठूलो मध्यम वर्गका जनतालाई ठूलो राहत हुने थियो’, उनले भने, ‘तर जनकपुर वा सिरहा उपचार गराउन जानुपर्दा समय पनि बर्बाद हुन्छ । रुपैयाँ पनि बढी खर्च हुन्छ ।’

    जनताको पीडा महसुस गरेर अबिलम्ब अस्पताल सञ्चालनमा ल्याउन सरकारसँग उनको अनुरोध छ ।

  • बाँकेका अस्पतालमा ८० प्रतिशत शय्या खाली

    बाँकेका अस्पतालमा ८० प्रतिशत शय्या खाली

    बाँके । कोरोनाभाइरस महामारी संक्रमणको केन्द्रविन्दु बनेको बाँकेमा अहिले अवस्था सामान्य भएको छ । यहाँका अस्पतालमा ७४ जना बिरामी मात्र उपचाररत छन् । कोरोनाको उपचार हुँदै आएका बाँकेका अस्पतालमा हाल उपचाररत ७४ मध्ये बाँके जिल्लाका १३ जनामात्रै रहेको जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्र बाँकेका स्रोत व्यक्ति तेज वलीले जानकारी दिए ।

    उनका अनुसार बाँकेमा कोरोना संक्रमणदर घट्दै गएपछि अस्पतालमा कोराना बिरामीका लागि छुट्याइएका शय्या खाली हुँदै गएका छन् । बाँकेका कोभिड अस्पतालका ३६१ कोभिड शय्यामध्ये ७४ जना मात्र उपचाररत छन् भने ८० प्रतिशत शय्या खाली भएका छन् । बाँकेका साना-ठूला चार अस्पतालले कोभिड कक्षका लागि छुट्याएका ३६१ शय्यामध्ये २७१ शय्या खाली भएका छन् । नेपालगञ्जस्थित भेरी अस्पतालको २०० शय्यामा १२५ शय्या खाली भएको छ ।

    भेरी अस्पतालमा उपचाररत ६० बिरामीमध्ये १८ जना सिकिस्त छन् । कोहलपुरस्थित शिक्षण अस्पतालमा कोभिड वार्डका १३० शय्या छुट्याइएकामा ११६ खाली छन् । उक्त अस्पतालमा उपचाररत १४ बिरामीमध्ये आठ सिकिस्त रहेको स्रोत व्यक्ति वलीले बताए ।

    वेष्टर्न अस्पतालमा १६ शय्यामा १५ शय्या खाली भएको छ । युनाइटेड अस्पतालमा १५ शय्या छुट्याइएकामा सबै खाली भएको छ । बाँकेमा कोरोनाभाइरस संक्रमणका कारण उपचारका लागि जिल्ला बाहिरबाट आएका ३४७ र जिल्लाकै ३१० गरी ६५७ जनाको मृत्यु भएको छ ।
    रासस

  • २२ निजी अस्पताललाई विदेश भ्रमणको पीसीआर परीक्षण अनुमति

    २२ निजी अस्पताललाई विदेश भ्रमणको पीसीआर परीक्षण अनुमति

    काठमाडौं । सरकारले विदेश भ्रमणका लागि २२ निजी अस्पतालको पीसीआर रिपोर्टलाई मान्यता दिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विदेश जानेलाई पीसीआर परीक्षण गर्ने सम्बन्धमा सबै सरकारी पीसीआर प्रयोगशाला र २२ नीजि अस्पतालको प्रयोगशालाको परीक्षण रिपोर्टलाई मान्यता दिने भएको हो ।

    मन्त्रालयका अनुसार ग्राण्डी, कान्तिपुर, स्टार, हेम्स, काठमाडौँ मेडिकल कलेज, नेपाल मेडिसिटी, वी एण्ड वी, अल्का, कान्तिपुर डेन्टल, जनमैत्री, नेपाल मेडिकल कलेज, नेपालगञ्ज मेडिकल कलेज, चितवन मेडिकल कलेज, लुम्बिनी मेडिकल कलेज रहेका छन् ।

    यस्तै, नेशनल मेडिकल कलेज, युर्निभर्सल मेडिकल कलेज भैरहवा, मनमोहन मेमोरियल, काठमाडौं युर्निभर्सिटी मेडिकल कलेज धुलिखेल, नोवेल मेडिकल कलेज विराटनगर, न्यूरोकार्डियो अस्पताल विराटनगर, विराट मेडिकल कलेज विराटनगर, लेप्रोसी मिसन नेपाल अस्पताल ललितपुरलाई मान्यता दिएको हो ।

    मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको निर्णयअनुसार सरकारी अस्पतालका प्रयोगशालाको साथसाथै निजी अस्पतालमा गराएको पीसीआर परीक्षणको रिपोर्टलाई समेत विदेश जानका लागि मान्यता दिने निर्णय गरेको जानकारी दिए । सहप्रवक्ता अधिकारीले प्रक्रिया पुर्‍याएका अरु निजी अस्पताललाई पनि क्रमशः मान्यता दिने बताए ।
    -रासस

  • नेपालगञ्जका अस्पतालमा शय्या हुन थाले खाली

    नेपालगञ्जका अस्पतालमा शय्या हुन थाले खाली

    नेपालगञ्ज । पछिल्लो समय नेपालगञ्जसहित जिल्लामा कोरानो संक्रमितका संख्यामा कमी आएको छ । यससँगै अस्पतालमा बिरामीका चापमा कमी आउँदा शय्यासमेत खाली हुन थालेका छन् ।

    भेरी अस्पताल र नेपालगञ्ज मेडिकल कलेजमा आइतबार संक्रमितका लागि छुट्याइएका शय्यामध्ये दुवैका ६९, वेस्टर्न अस्पताल १४ र युनाइटेड अस्पतालका १२ श्यया खाली रहेको जनाइएको छ ।

    कोरोना नियन्त्रण तथा रोकथामका लागि जिल्ला प्रशासन कार्यालयद्वारा निषेधाज्ञा जारी भएपछि संक्रमितको संख्यामा कमी आएको हो ।
    –रासस

  • उपचारबाट पन्छिनु अस्पतालको बाध्यता कि गैरजिम्मेवारी ?

    उपचारबाट पन्छिनु अस्पतालको बाध्यता कि गैरजिम्मेवारी ?

    काठमाडौं । सरकारले अक्सिजन सिलिन्डरको कोटा तोकेसँगै अस्पतालले कोरोनाको नयाँ बिरामी भर्ना नलिने र उपचार गराइरहेकालाई पनि डिस्चार्ज गरिदिने बताउन थालेका छन् ।

    नयाँ भेरियन्टसहितको कोरोना संक्रमण तीव्र बढेसँगै अस्पतालमा संक्रमितको चाप बढेको छ । बेड र अक्सिजनको अभाव पनि देखिन थालेपछि उपचार नै नपाइ संक्रमितको मृत्यु भइरहेको समाचार पनि सार्वजनिक भइरहेको छ ।

    कोभिड-१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) ले कोरोना संक्रमितको उपचार गर्न उपत्यकाका अस्पतालहरुका लागि अहिले कोटा निर्धारण गरेको छ । अभाव हुन नदिन सबै अस्पताललाई चाप र आवश्यकताको आधारमा अक्सिजन उपलब्ध होस् भनेर त्यस्तो कोटा प्रणाली लागू गरिएको सीसीसीएमसीको भनाइ छ ।

    अस्पतालको क्षमता हेरेर ५ वटादेखि ३ सयसम्म ठूला सिलिन्डरको कोटा तोकिएको छ ।

    नर्भिक, ग्राण्डी, मेडिसिटी अस्पतालले अक्सिजन अभाव देखाउँदै बिरामी भर्ना नलिने बताइसकेका छन् । जोरपाटीस्थित नेपाल मेडिकल कलेजले पनि अस्पतालमा अक्सिजन नभएकोले बिरामी डिस्चार्ज गर्न भन्दै आफ्नो व्यवस्था आफैं गर्न बिरामीका आफन्तलाई भनेको थियो ।

    उपत्यकाका अस्पताललाई तोकिए बमोजिम दैनिक न्यूनतम अक्सिजन सिलिन्डर भरेर उपलब्ध गराउन अक्सिजन उद्योगलाई सीसीएमसीले अनुरोध गरेको हो ।

    अक्सिजन कोटा प्रणाली वैज्ञानिक : सीसीएमसी

    सीसीएमसी सचिवालयका सहसचिव नूरहरि खतिवडाले सीसीएमसीले वैज्ञानिक तरिकाले नै काठमाडौं उपत्यकामा अक्सिजनको कोटा तोकेको बताए ।

    सहसचिव नूरहरि खतिवडा

    खतिवडाले भने, ‘अहिले देशैभर अक्सिजनको हाहाकार छ । ठूला अस्पातालले धेरै अक्सिजन लगेर सानाले नपाउने अवस्था भएकोले कोटा तोकिएको हो । अक्सिजन भएमा तोकेको कोटाभन्दा धेरै पनि प्रयोग गर्न सकिने छ । तर, अक्सिजनको अभाव भएकोले सबै अस्पतालले अक्सिजन पाउन भनेर कोटा तोकिएको हो । अक्सिजन बिक्रीमा चलखेल शुरू भएपछि सीसीएमसीले त्यसलाई रोक्न पनि कोटा तोकेको हो ।’

    अक्सिजन उद्योगहरूले कालोबजारी गरेर अक्सिजन बिक्री गर्न शुरू गरेकोले सानादेखि ठूला सबै अस्पतालले अक्सिजन पाउन भनेर कोटा तोकिएको उनले बताए ।

    अहिले अक्सिजनको कालोबारी गर्न नपाएका उद्योगीहरुले नै अक्सिजनको कोटा तोक्नु तलत हो भनिरहेका छन् । कोरोनाको बिरामी सबैले अक्सिजन प्रयोग गर्न सक्ने अवस्था ल्याउनका लागि कोटा तोकिएको खतिवडाले बताए ।

    उनले नेपाल प्रेससँग भने, ‘हामीले तोकेको कोटा न्यूनतम हो । अस्पतालले तोकेको कोटा पाउने अवस्था छ । पहिले ठूला अस्पतालले धेरै लिने गरेको थिए । र अन्यलाई उद्योगले नै धेरै पैसा लिएर बिक्री गरिरहेका थिए । हामीले कोटा तोकेपछि कालोबजारीमा अक्सिजन बेच्न नपाएर उद्योगीले विरोध गरेका हुन् । अहिले साना अस्पतालले पनि कोटा अनुसारको अक्सिजन पाएका छन् ।’

    काठमाडौं प्रशासनले भन्यो- मानवीय संवेदनालाई ध्यान दिऊँ

    जिल्ला प्रशासन कार्यालय काठमाडौंले संक्रमण तीव्र फैलिरहेको अवस्थामा सबै पक्ष जिम्मेवार भएर अघि बढ्नुपर्ने भन्दै ध्यानाकर्षण गराएको छ ।

    विभिन्न अस्पतालले अक्सिजन अभावको कारण देखाई बिरामीलाई अस्पतालमा भर्ना गर्न नसकिने तथा भर्ना भएका बिरामीलाई समेत उपचार गर्न नसकिने भन्दै सार्वजनिक सूचना जारी गरिरहेकोप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै प्रशासनले विज्ञप्ति निकालेरै मानवीय संवेदनशीलतामा ध्यान दिन भनेको छ ।

    वर्तमान परिस्थितिमा संक्रमण नियन्त्रणका लागि अस्पताल, औषधि तथा अक्सिजनको व्यवस्थापनमा सबै पक्ष क्रियाशील भइरहेको जानकारी गराउँदै अक्सिजनको अभावलाई पूर्ति गर्न सबै पक्षबाट भइरहेको प्रयासलाई नजरअन्दाज गर्दै सार्वजनिक सूचनाका नाममा सर्वसाधारण जनतामा त्रास फैलाउने कार्य नगर्न पनि प्रशासनले चेतावनी दिएको छ ।

    हेर्नुस् अस्पतालको विज्ञप्ति

     

  • बिरामी भर्ना नलिने अस्पतालको भनाइप्रति काठमाडौं जिल्ला प्रशासनको ध्यानाकर्षण

    बिरामी भर्ना नलिने अस्पतालको भनाइप्रति काठमाडौं जिल्ला प्रशासनको ध्यानाकर्षण

    काठमाडौं । प्रशासनले कोभिड-१९ संक्रमण तीव्र फैलिरहेको अवस्थामा सबै पक्ष जिम्मेवार भएर अघि बढ्नुपर्ने भन्दै ध्यानाकर्षण गराएको छ ।

    विभिन्न अस्पतालले अक्सिजन अभावको कारण देखाई बिरामीलाई अस्पतालमा भर्ना गर्न नसकिने तथा भर्ना भएका बिरामीलाई समेत उपचार गर्न नसकिने भन्दै सार्वजनिक सूचना जारी गरिरहेकोप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै प्रशासनले मानवीय संवेदनशीलतामा ध्यान दिन आग्रह गरेको छ ।

    वर्तमान परिस्थितिमा संक्रमण नियन्त्रणका लागि अस्पताल, औषधि तथा अक्सिजनको व्यवस्थापनमा सबै पक्ष क्रियाशील भइरहेको जानकारी गराउँदै अक्सिजनको अभावलाई पूर्ति गर्न सबै पक्षबाट भइरहेको प्रयासलाई नजरअन्दाज गर्दै सार्वजनिक सूचनाका नाममा सर्वसाधारण जनतामा त्रास फैलाउने कार्य नगर्न पनि प्रशासनले अनुरोध गरेको छ ।

    यस्ता गतिविधिले आम नागरिकमा समेत असर पर्ने हुँदा यस्तो संवेदनशील अवस्थामा सबै पक्ष जिमेवार भई कोभिड-१९ संक्रमण नियन्त्रणमा प्रभावकारी भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिइएको छ । ‘यस्तो अवस्थामा मानवीय संवेदनशीलतालाई बुझी आआफ्नो पक्षबाट सकारात्मक भूमिका निर्वाहका लागि समेत सार्वजनिक ध्यानाकर्षण गरिएको छ’, प्रशासन कार्यालयद्वारा बुधबार राति जारी विज्ञप्तिमा उल्लेख छ ।

  • अस्पताल बाहिरै राखेर उपचार !

    अस्पताल बाहिरै राखेर उपचार !

    काठमाडौं । नयाँ भेरियन्टसहितको कोरोना संक्रमण दर तीव्र बनेसँगै अहिले बिरामीको उपचार व्यवस्थापनमा अस्पताललाई सकस परिरहेको छ । संक्रमित र मृत्यु हुनेको संख्या ४ र ३ डिजिटमा थपिन थालेको छ ।

    काठमाडौं उपत्यकामा हाल ४०,२२२ सक्रिय संक्रमित छन् जसमध्ये काठमाडौं जिल्लामा मात्र २९,२४४ छन् । उपत्यकाका निजी तथा सरकारी अस्पतालले बेड अभाव हुन थालेको बताएका छन् । अक्सिजन अभावको कारण देखाउँदै केही अस्पतालले बिरामी भर्ना नलिने र उपचार गराइरहेका बिरामी पनि डिस्चार्ज गरिदिने बताइरहेका छन् ।

    अस्पतालका बेड संक्रमितले भरिन थालेपछि बाहिरै राखेर उपचार गर्न थालिएको छ । त्रिवि शिक्षण अस्पतालको मनमोहन कार्डियो थोरासिक भास्कुलर एण्ड ट्रन्सप्लान्ट सेन्टरको नयाँ भवनमा पनि संक्रमितको उपचार भइरहेको छ । ७०० बेड क्षमताको उक्त भवनमा बिरामीको चापले बाहिर नै राखेर भएपनि उपचार गरिरहेको अस्पतालका प्रवक्ता रामविक्रम अधिकारीले बताए ।

            
  • कोरोना उपचारका लागि १२ अस्पताल र ५४ आइसीयू थप

    कोरोना उपचारका लागि १२ अस्पताल र ५४ आइसीयू थप

    काठमाडौं । सरकारले कोभिड-१९ को रोकथाम, उपचार र नियन्त्रणका लागि स्वास्थ्यको भौतिक पूर्वाधार थप्ने क्रम जारी राखेको छ । सरकारले कोरोना संक्रमणको दोस्रो लहर बढेपछि कोभिड-१९ व्यवस्थापनका लागि लक्षित कार्ययोजनानुसार अस्पताल र शय्या थप्ने गरेको हो ।
    प्रधानमन्त्री तथा मन्त्रिपरिषद्का प्रवक्ता किरणराज आचार्यले विज्ञप्ति जारी गर्दै कार्ययोजनानुसार नै संक्रमणको रोकथाम, उपचार र नियन्त्रणका लागि अस्पताल र शय्या थप गरिएको जानकारी दिए ।

    उनका अनुसार १२ अस्पताल, ५४ सघन उपचार कक्ष, १२ हाई डिपेन्डेन्सी युनिट र ५ भेन्टिलेटर थप गरिएको छ । नयाँ थपसँंगै अहिले अस्पताल ५०५, आइसीयु १ हजार ८७१, भेन्टिलेटर ७४१, एचडीयु २ हजार ८७७ र शय्या २० हजार ३६४ पुगेका छन् ।

    प्रवक्ता आचार्यका अनुसार वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागबाट काठमाडौँ उपत्यकामा तीन टोली परिचालन गरी बजार अनुगमन गरिएको छ । अनुगमनका क्रममा छ पसललाई जरिवाना गरिएको छ ।

    यस्तै चीन सरकारले अनुदानमा उपलब्ध गराउने अक्सिजनका ४०० खाली सिलिण्डर लिन आज नेपाल वायुसेवा निगमको वाइड बडी जहाज जाँदै छ । नेपालमा अहिले २७ हजार ७६१ अक्सिजन सिलिण्डर छ । चीन सरकारले उपलब्ध गराउने २० हजार सिलिण्डर आएपछि ३७ हजार ७६१ अक्सिजन सिलिण्डर पुग्ने छ ।

    प्रवक्ता आचार्यले अलपत्र नागरिकलाई चार्टर गरेर उद्धार गरिएको जानकारी दिए। त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल, पोखरा, नेपालगञ्ज, लुक्ला र सुर्खेत विमानस्थलबाट १२७ आन्तरिक उडान भरी आइतबार १४८ यात्रुलाई उद्धार गरिएको छ ।

    यस्तै उनले खोप, स्वास्थ्य उपकरण तथा सामग्री वस्तुगत सहायतास्वरुप उपलब्ध गराइदिन चीन, जापान र गणतन्त्र कोरियाका नेपालस्थित दूतावासलाई समेत अनुरोध गरिएको जानकारी दिए ।

  • लुम्बिनीका अस्पतालमा संक्रमितको चाप, उपचारका लागि पालो कुर्नुपर्ने

    लुम्बिनीका अस्पतालमा संक्रमितको चाप, उपचारका लागि पालो कुर्नुपर्ने

    रूपन्देही । वैशाखको शुरूआतदेखि बढेको कोरोना महामारीको दोस्रो लहर चौथो सातासम्म आइपुग्दा रुपन्देहीमा भयावह देखिन थालेको छ । दिनप्रतिदिन संक्रमितको चापले अस्पतालको क्षमताले बिरामी थेग्न छाडेको छ ।

    जिल्लामा कोरोना संक्रमणबाट बुधबार मात्र १३ जनाको मृत्यु भएसँगै संक्रमणबाट मृत्यु हुनेको संख्या २ सय ३३ पुगेको छ । सक्रिय संक्रमित ४ हजार ९ ५५ पुगेको छ । बढी जनघनत्व भएको बुटवल, तिलोत्तमा, भैरहवा, सैनामैनामा बढी संक्रमित देखिएका छन् र मृत्युदर पनि त्यो क्षेत्रमा बढी छ । स्वास्थ्य कार्यालय रूपन्देहीले विभिन्न अस्पतालमा २०७ जना गम्भीर अवस्थाका संक्रमितहरू उपचाररत रहेको जनाएको छ ।

    संक्रमितका लागि बनाइएका बुटवल र भैरहवाका दुई कोरोना विशेष अस्पतालमा क्षमताभन्दा दोब्बर बिरामीको उपचार भइरहेको छ भने निजी अस्पताल पनि भरिएका छन् । शय्या अभावमा सिकिस्त बिरामीलाई समेत भुइँमै राखेर उपचार गर्न बाध्य भएको अस्पतालका अधिकारीहरू बताउँछन् ।

    बुटवलको लुम्बिनी प्रादेशिक अस्पताल र भैरहवाको भीम अस्पतालमा विरामीहरूको अत्यधिक चाप बढेपछि बिरामीले नै ल्याएका लत्ताकपडा ओछ्याएर उपचार भइरहेको छ ।

    भीम अस्पतालमा बिरामी चाप थेग्नै नसक्ने अवस्था आएपछि संक्रमित अस्पतालको पिँढीमै छट्पटाइरहेका छन् । आफन्तको हारगुहारपछि स्वास्थ्यकर्मीले भुइँमा र अस्पतालको पिँढीमा राखेर जेनतन अक्सिजन त दिएका छन् तर रेखदेख गर्ने स्वास्थ्यकर्मी छैनन् ।

    अस्पतालमा कोभिडका लागि छुट्याइएका आईसीयू, भेन्टिलेटर र एचडियू बेड मात्रै होइन, इमरजेन्सी कक्षका बेडसमेत खाली छैनन् । संक्रमितले बेड पाउनै ३/४ दिन पालो कुर्नु पर्ने अवस्था छ ।

    ५ दिन कुरेपछि बल्ल एउटा बेड पाएको तिलोत्तमाका संक्रमित कमला मरासिनीका पति केशवले बताए । ‘सकेसम्म त अस्पताल कसैलाई आउन नपरोस् । बेड अभाव छ जनशक्ति केही छैन । हामीजस्ता कुरुवालाई समेत संक्रमणको खतरा छ’, उनले भने ।

    रुपन्देहीमा अहिलेसम्म २३२ संक्रमितको मृत्यु भएको छ । बिरामीको चापका बीच अस्पतालको क्षमताले भ्याएसम्म उपचारमा कुनै कसर बाँकी नराखेको प्रवक्ता डाक्टर नारायण पोखरेल बताउँछन् ।

    ‘कोभिड कक्षमा संक्रमितको उपचार थेग्न नसकेपछि आकस्मिक कक्षमा उपचार शुरू गरेका थियौ, त्यो पनि भरिसकेको छ संक्रमित अस्पताल भर्नाको लागि आउने क्रम जारी रहेको छ ’, उनले नेपाल प्रेससँग भने ।

    अस्पतालमा अहिले ४० जना कोभिडका बिरामी उपचार गराइरहेका छन् । कोभिड कक्षतर्फ ४, आईसीयूमा, १८ जना एचडीयूमा छन् भने बाँकी आकस्मिक कक्षमा उपचाररत् छन् । भएको जनशक्तिले कोभिडको उपचार गरेपनि अहिलेसम्म फिजिसियन आएका छैनन्, ८ जना मेडिकल अफिसर १४ जना सिस्टर र कार्यालय सहयोगीबाट उपचार भइरहेको अस्पताल प्रशासनले जानकारी दिएको छ ।

    डा. पोखरेलले बेडमा रहेका ‘बिरामी संक्रमणमुक्त भएपछि वा मृत्यु भएपछि बल्ल अर्कोले बेड पाउने’ तीतो यथार्थ सुनाए । यहाँ २५ बेडको एचडीयू, ५ बेडको आईसीयू र ४ भेन्टिलेटर छन् । एचडीयू र आईसीयूका सबै बेड भरिएपछि ११ जनालाई भुइँमै उपचार थालिएको छ ।

    लुम्बिनी प्रादेशिक अस्पतालले संचालन गरेको बुटवलस्थित कोरोना विशेष अस्पतालका सबै बेड भरिएका छन् । अस्पतालका सूचना अधिकारी डा. विष्णु गौतमले कोरोना अस्पतालको ३६ बेडको एचडीयू, १५ बेडको आईसीयू र ७ बेडको फिवर क्लिनिक समेत भरिएर इमर्जेन्सीमा राखेर उपचार गरिएको बताए ।

    निजी अस्पतालमा पनि उस्तै भीड

    लुम्बिनी प्रादेशिक र भीम अस्पतालसंगै भैरहवाको युनिभर्सल कलेज अफ मेडिकल साइन्सेज (यूसीएमएस), मणिग्रामको क्रिमसन अस्पताल र देवदह मेडिकल कलेजले पनि कोरोना संक्रमितहरूको लागि बेड छुट्याएर नै उपचार शुरू गरेका छन् ।

    यूसीएमएसमा अहिले पनि एचडीयूमा ५५, आईसीयूमा २ भेन्टिलेटरमा ७ जना संक्रमितको उपचार भईरहेको छ । त्यस्तै इमर्जेन्सी आइसोलेसनमा ३१ जना संक्रमितको उपचार भइरहेको स्वास्थ्य कार्यालयले जनाएको छ ।

    यहाँ अक्सिजनसहितका १४७ बेड छुट्टयाएकोमा अक्सिजन अभाव हुन थालेपछि बिरामी भर्ना गर्न नसकिएको अस्पतालले जनाएको छ ।

    मणिग्रामस्थित क्रिमसन अस्पतालले पनि कोभिडको लागि छुट्याएका सबै बेडमा संक्रमितले भरिएका छन् । अस्पतालले १० बेडको एचडीयू, ५ बेडको सीसीयू र एउटा भेन्टिलेटर कोभिडका विरामीको लागि छुट्याएको जनाएको छ । ती सबै बेडहरू विरामीले भरिएका छन् । त्यस्तै देवदह मेडिकल कलेजमा पनि चारजना संक्रमितको उपचार भइरहेको छ ।

    संक्रमित बढ्दै जांदा लुम्बिनी प्रदेशको स्वास्थ्य मन्त्रालयले कोभिडका विरामीहरूको उपचारको लागि अस्थायी अस्पताल बनाउने योजना अगाडि सारेको छ । बुधवारमात्रै स्वास्थ्य तथा जनसंख्या मन्त्रीको जिम्मेवारी सम्हालेका भोजप्रसाद श्रेष्ठले कोभिड संचालनको लागि बुटवलका केही भौतिक संरचनाहरू हेरिएको र तत्काल सर्वपक्षीय छलफल राखिएको बताए ।

    ‘हाम्रो पहिलो काम नै कोभिड नियन्त्रण र बिरामीको उपचार हुनेछ, अहिले संचालनमा रहेका अस्पतालले चाप थेग्न नसक्ने भइसकेका छन्, छिट्टै अरु कुनै भौतिक संरचनामा भएपनि बिरामीहरूको उपचार गर्ने प्रबन्धमा जुट्ने छौं ’,

    स्वास्थ्य कार्यालय रूपन्देहीका प्रमुख डा. राजेन्द्र गिरी वैशाख शुरूसँगै गाउँघरमा विवाह, व्रतबन्ध, चौरासी पूजाजस्ता गतिविधिले संक्रमण फैलिनुमा टेवा पुगेको अनुभव सुनाउँछन् ।

    दैनिक ८०० सिलिण्डर अक्सिजन माग

    रूपन्देहीको भैरहवास्थित युनिभर्सल कलेज अफ मेडिकल साइन्सेज शिक्षण अस्पताल (युसीएमएस) ले कम्तीमा पनि दैनिक ८०० अक्सिजन सिलिण्डर सहज आपूर्तिका लागि सहयोग र समन्वय गरिदिन अपिल गरेको छ । बिरामीको चापलाई थेग्न अस्पतालले तयारी अवस्थामा रहेको थप ६० वेडको एचडीयूसमेत सञ्चालन गर्न असमर्थ हुनुपरेकोले सहयोग र समन्वय गरिदिन संघीय, प्रदेश र स्थानीय सरकार, स्थानीय प्रशासन, नागरिक समाज, सञ्चारकर्मीलगायत सबै पक्षसंग युसीएमएसले अपिल गरेको हो ।

    भारतमा कोरोनाको महामारी, स्थानीय प्रशासनद्वारा जारी निषेधाज्ञा, अनपेक्षित अघोषित लोडसेडिङले अक्सिजनको उत्पादनमा कमी आएको बताइएको छ ।

  • महावु गाउँपालिकाको दुःख– दोब्बर तलव दिँदा पनि पाइएन डाक्टर

    महावु गाउँपालिकाको दुःख– दोब्बर तलव दिँदा पनि पाइएन डाक्टर

    सुर्खेत । कर्णालीका विकट बस्तीमा स्थानीय सरकार आइसकेपछि जनतालाई स्वास्थ्य सेवामा पहुँच पुर्‍याउन प्रतिस्पर्धा छ । स्थानीय तहहरुले स्वास्थ्य संरचना धमाधम स्वास्थ्य संरचना निर्माण गरिरहेका छन् । संरचना र उपकरणको व्यवस्था भए पनि दुर्गम क्षेत्र स्वास्थ्यकर्मीको रोजाईमा नपर्दा सेवा सन्चालन गर्न कठिन भएको छ । यसको उदाहरण दैलेखको महावु अस्पताललाई लिन सकिन्छ ।

    महाबु गाउँपालिकाले कोभिड–१९ अस्थायी अस्पताल तथा १० शय्या अस्पताल सञ्चालनका लागि कात्तिक १८ गते चिकित्सकसहित ३ पदका लागि दरखास्त आह्वान गर्‍यो । उक्त विज्ञापन भएको लामो समय भइसक्दासमेत स्वास्थ्यकर्मी पाउन नसक्दा अस्पतालको सेवा सुरु हुन सकेको छैन ।

    ‘गाउँपालिकाले करार नियुक्ति गर्ने गरी मेडिकल अधिकृत आठौं तह, स्टाफ नर्स सहायक पाचौं तह र हेल्थ असिस्टेन्ट सहायक पाचौं तहका लागि दरखास्त आह्वान गरेको तीन महिना भयो,’ गाउँपालिकाका अध्यक्ष जंगबहादुर शाहीले भने, ‘हालसम्म मेडिकल अधिकृतका लागि कुनैपनि निवेदन नपरेपछि उम्मेद्वार छनोट गर्न सकिएन ।’

    अस्पताल संचालनमा आउन नसकेपछि नागरिक चिकित्सक सहितको स्वास्थ्य सेवाबाट बञ्चित ‘गाउँपालिकाभित्रै अस्पताल बनेपछि सजिलो हुन्छ जस्तो लागेके थियो । भवन बनेको यत्रो समय भइसक्यो, खै डाक्टरहरु कहिले आउने हुन्,’ एक स्थानीयले भने ।

    स्टाफ नर्स र हेल्थ असिस्टेन्टमा मात्रै केही निवेदन परेका छन् भने मेडिकल अधिकृतका लागि कसैको पनि आवेदन परेको छैन ।

    ‘अस्पतालको लागि चाहिने स्तरीय ल्याव, शय्या, उपकरण, भवन लगायतका सम्पूर्ण संरचना तयारी अवस्थामा राखेका छौं,’ अध्यक्ष शाहीले भने । उनले तलबमा शतप्रतिशत तलब थप गरेर विज्ञापन निकाल्दा पनि एमबीबीएस डाक्टर पाउन नसकेको गुनासो गरे ।

    ‘हामी शतप्रतिशत तलब थप्छौं, अन्य भत्ता त छँदैछ,’ उनले भने, ‘एमबीबीएस अध्ययन गरेका कोही भए हाम्रो सम्पर्कमा आइदिनुपर्‍यो ।’
    उनले बारम्बार विज्ञापन गर्दा पनि दक्ष जनशक्ति नआउँदा अस्पताल सञ्चालनमा अप्ठ्यारो परेको बताउँदै इच्छुक उम्मेदवारलाई सोझै गाउँपालिकामा सम्पर्क गर्न आग्रह गरेका छन् ।

    टेलिमेडिसिन सेवा सुरु गर्न सुझाव

    यता, प्रदेश अस्पताल कालागाउँका वालरोग विशेषज्ञ डा. नवराज केसीले टेलिमेडिसिन सेवा सुरु गर्न सुझाव दिएका छन् ।

    ‘त्यहाँ चौबीसै घण्टा चल्ने इन्टरनेट राखेर टेलिमेडिसिन सेवा सुरु गरेको खण्डमा डाक्टर नहुञ्जेल हामी सेवा गर्न तयार छौं,’ उनले भने, ‘भिडियो कलमार्फत अधिकतम सेवा सञ्चालन गर्न सकिन्छ । पालिकाले आग्रह गरेमा हामी सहयोग गर्न तयार छौं ।’

  • ठाउँ विवादले अस्पताल निर्माण अलपत्र

    ठाउँ विवादले अस्पताल निर्माण अलपत्र

    म्याग्दी । म्याग्दीको रघुगङ्गा गाउँपालिकामा उत्पन्न १० शय्या क्षमताको अस्पताल बनाउने ठाउँको विवाद गाउँसभामा अल्झिएको छ । गाउँपालिकाको केन्द्र मौवाफाँटमा बिहीबारदेखि शुरु भएको नवौँ गाउँसभाले बजेट संशोधन, बेरुजु फछ्र्यौट, प्रगति समीक्षा, शिक्षा र स्थानीय वातावरण संरक्षण ऐनसम्बन्धी विधेयकलगायत ११ वटा प्रस्तावको विषयमा निर्णय गरे पनि पालिकास्तरीय अस्पताल बनाउने ठाउँ टुङ्गो लगाउन नसकेपछि शुक्रबार पुस १३ गतेसम्मका लागि स्थगित भएको छ ।

    पटकपटकको प्रयासमा सहमति जुट्न नसकेपछि ठाउँ छनोट गरेर अस्पताल बनाउने वैधानिक बाटो खुलाउन बोलाइएको रघुगङ्गाको गाउँसभालाई स्थानीय र जिल्लास्तरमा महत्वका साथ हेरिए पनि निर्णय हुन नसकेपछि अन्योल सिर्जना गरेको छ । थप छलफल र अध्ययन गर्नुपर्ने भएकाले अस्पताल विवाद टुङ्ग्याउन सोमबारसम्मका लागि गाउँसभा स्थगित गरिएको गाउँपालिकाका अध्यक्ष भबबहादुर भण्डारीले बताए ।

    स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले डेढ वर्षअघि एक स्थानीय तह एक अस्पताल कार्यक्रमअन्तर्गत रघुगङ्गा–१ बेगलाई छनोट गरेको थियो । २०७७ साल कात्तिक २० गतेको कार्यपालिका बैठकले सबै पालिकावासीलाई सेवा लिन पायक पर्ने र सहज हुने भएकाले पिप्ले स्वास्थ्य चौकीलाई स्तरोन्नति गर्दै गाउँपालिकाले व्यवस्थापन गरेको जग्गामा १० श्यया क्षमताको अस्पताल बनाउने निर्णय गरेको थियो ।

    गाउँपालिकाको केन्द्र मौवाफाँटमा अस्पताल बनाउने आशयले निर्णय गरिए पनि स्वास्थ्य मन्त्रालयले पछिल्लो पटक अस्पतालमा स्तरोन्नति हुने स्वास्थ्य चौकीको सूचीमा पिप्लेलाई राखेको थियो । पिप्ले स्वास्थ्य चौकीलाई स्तरोन्नति गरेर अस्पताल बनाउने निर्णयलाई तोडमोड गरेर पालिकाको केन्द्र मौवाफाँटमा सार्न खोजिएको भन्दै वडाध्यक्ष जीवनबहादुर मल्ललगायत पिप्लेका जनप्रतिनिधिहरुले गाउँसभा नै बहिष्कार गरेपछि विवाद थप जटिल बनेको छ ।

    ठाउँको विवादका कारण मङ्सिर १५ गते तय गरिएको अस्पताल शिलान्यास कार्यक्रम हुन सकेन । चालू आर्थिक वर्षमा रु ८३ लाख विनियोजन भएको अस्पतालको भवन निर्माण गर्ने योजना अन्योलमा परेको छ । जग्गासमेत व्यवस्थापन गरिसकेको र ठाउँ नै तोकिएकाले बेगमै अस्पताल बनाउनुपर्ने बेगका वडाध्यक्ष बिलप्रसाद फगामीले बताए । मौवाफाँटमा पालिकाको कार्यालयसँगै अस्पतालको पनि भवन बनाउन विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार पारिसकेको छ ।