Tag: अर्घाखाँची

  • अर्घाखाँचीका सबै पालिकामा गठबन्धन भर्सेस एमाले, कसले मार्ला बाजी ?

    अर्घाखाँचीका सबै पालिकामा गठबन्धन भर्सेस एमाले, कसले मार्ला बाजी ?

    रुपन्देही । तीन नगरपालिका र तीन गाउँपालिका रहेको अर्घाखाँचीमा अघिल्लो स्थानीय तह निर्वाचनमा कांग्रेस–माओवादी गठबन्धनले मालारानी गाउँपालिकाबाहेक सबैमा जितेको थियो । अरु सबैमा कांग्रेस उम्मेदवारले जितेको भने मालारानीमा मात्रै जितेको थियो ।

    अहिले पनि जिल्लाका अधिकांश स्थानीय तहमा सत्तागठबन्धनको जसपाबाहेकका चार दलबीच तालमेल छ । पालिका र वडाहरुमा नेपाली कांग्रेस, माओवादी केन्द्र, राष्ट्रिय जनमोर्चा र एकीकृत समाजवादीले तालमेल गरेर उम्मेदवारी दिएका छन् । एकीकृत समाजवादीले भने कुनै पनि स्थानीय तहमा प्रमुख र उपप्रमुख पाएको छैन । उसले वडा तहमै चित्त बुझाएको छ ।

    पाणिनि गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष दुवै पदमा कांग्रेसबाट क्रमशः अच्युत गौतम र लक्ष्मी गौतमको उम्मेदवारी छ । यहाँ एमालेबाट अध्यक्षमा टेकराज न्यौपाने र उपाध्यक्षमा नर्मदा गौतम पौडेलले उम्मेदारी दिएका छन् । १ वडामा जनमोर्चाले अध्यक्ष पाएको छ भने नेकपा एस, माओवादी र जसपाले एकजना पनि उम्मेदार उठाएको छैन ।

    छत्रदेव गाउँपालिकाको अध्यक्षमा कांग्रेसबाट चन्द्रमान श्रेष्ठ र उपाध्यक्षमा इन्दिरा भुसालको उम्मेदवारी छ । १ वडामा माओवादीले वडाध्यक्ष उठाएपनि नेकपा एसले उम्मेदवारी कुनै पदमा दिएको छैन ।

    मालारानी गाउँपालिकाको अध्यक्षमा गठबन्धनबाट माओवादी केन्द्रका पदम क्षेत्री र उपाध्यक्षमा कांग्रेसका शोभाखर खनालको उम्मेदवारी दर्ता भएको छ । ९ वटा वडा रहेको यो पालिकामा माओवादीले ४, कांग्रेसले २, नेकपा एसले २ र जनमोर्चाले १ वडाध्यक्ष पाएका छन् ।

    सन्धिखर्क गठबन्धनबाट नेपाली कांग्रेसकी शान्ता भण्डारीलाई मेयरमा अघि सारेको छ भने उपप्रमुखमा माओवादी केन्द्रका राजेन्द्र भुसालले उम्मेदवारी दर्ता गरेका छन् । एमालेबाट कृष्णप्रसाद श्रेष्ठ मेयरमा र मिश्रा आचार्य उपमेयरमा उम्मेदार बनेका छन् ।

    १२ वडा रहेको यो नगरपालिकामा कांग्रेसले ९ वटा वडामा अध्यक्षको उम्मेदवार खडा गरेको छ । माओवादीले २, नेकपा एसले २ र जनमोर्चाले १ वडामा उम्मेदवारी दिएका छन् । केही वडामा गठबन्धनभित्र कुरा मिल्न नसकेकाले अलग अलग उम्मेदवारी परेको हो ।

    शीतगंगा नगरपालिकामा नेपाली कांग्रेसबाट मेयरमा छविलाल पौडेल तथा उपमेयरमा टिका रेश्मीले उम्मेदवारी दिएका छन् । एमालेबाट मेयरमा वसन्त श्रेष्ठ र उपमेयरमा गिता भाटले उम्मेदवारी दिएका छन् । १२ वडा रहेको यो पालिकामा कांग्रेसले ११ वटा वडामा अध्यक्ष उम्मेदवारी दिएको छ भने नेकपा एसले १ वडामा र माओवादीले २ वटामा उम्मेदवारी दिएको छ । केही वडा सहमतिबेगर उम्मेदारी परेको हो ।

    भूमिकास्थान नगरपालिकामा गठबन्धनले राजमोका झविलाल थापालाई नगर प्रमुखको लागि उम्मेदवार बनाएको छ । यहाँ उपप्रमुखको लागि गठबन्धनबाट माओवादी केन्द्रका बालकृष्ण बन्जाडेले उम्मेदवारी दर्ता गराएका छन् ।

    त्यस्तै विपक्षी दल एमालेबाट रेशम थापा उम्मेदवार छन् । उनी यसअघि गठबन्धनमा रहँदा माओवादीबाट मेयर बनेका थिए । पछि एमालेमा प्रवेश गरेका थिए । एमालेबाट उपमेयरमा वसन्ता पौडेलले उम्मेदारी दिएकी छन् । १० वटा वडामध्ये ६ वटामा कांग्रेस, २ वटामा माओवादी, नेकपा एसले १ वडामा उम्मेदारी दिएका छन् ।

  • अर्घाखाँचीका तीन पालिकामा एमालेका उम्मेदवार सर्वसम्मत चयन, बाँकीमा आकांक्षीको नामसहित सिफारिस

    अर्घाखाँचीका तीन पालिकामा एमालेका उम्मेदवार सर्वसम्मत चयन, बाँकीमा आकांक्षीको नामसहित सिफारिस

    रुपन्देही । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले स्थानीय तह निर्वाचनका लागि अर्घाखाँचीका ६ पालिकामध्ये ३ वटामा सर्वसम्मत उम्मेदवार छनोट गरेको छ । ३ पालिकामा भने अन्य आकांक्षीसहितका नाम सिफारिस गरेको छ ।

    भूमिकास्थान नगरपालिकामा अहिलेका मेयर रेशम थापालाई मेयर तथा उपमेयरमा वसन्ता पौडेललाई नगर कमिटीले निर्विरोध सिफारिस गरेको हो । गत निर्वाचनमा माओवादी र नेपाली कांग्रेसको गठबन्धनमा माओवादीबाट निर्वाचित थापा पछि एमालेमा प्रवेश गरेका थिए ।

    त्यसैगरी शीतगंगा नगरपालिकामा वसन्त श्रेष्ठ मेयर तथा गीता भाट उपमेयरमा निर्विरोध सिफारिस भएका हुन् । श्रेष्ठ गत निर्वाचनमा थोरै मतले मेयरमा पराजित भएका थिए ।

    त्यसैगरी पाणिनि गाउँपालिका अध्यक्षमा टेकराज न्यौपाने अध्यक्षमा सर्वसम्मत प्रस्तावित भएका छन् । उपाध्यक्षमा भने धेरै आकांक्षी रहेकाले सबैको नाम माथिल्लो कमिटीमा पठाइएको छ ।

    सन्धिखर्क नगरपालिकामा मेयरका लागि कृष्णप्रसाद श्रेष्ठ, श्रीकृष्ण भुसाल, खुबिराम आचार्य र युवराज श्रेष्ठको नाम सिफारिस भएको छ भने उपमेयरमा मिश्रा आचार्य, शुशीला गैरे र पार्वता श्रेष्ठको नाम सिफारिस भएको छ ।

    मालारानी गाउँपालिकामा हालका अध्यक्ष बालकृष्ण आचार्यसहित जर्नादन खनाल र दलबहादुर भट्टराई अध्यक्षमा र इन्दिरा आचार्य, जानका खनाल, जुना घिमिरे, लक्ष्मी आचार्य, दीपा पोख्रेल उपाध्यक्षमा सिफारिस भएका छन् ।

    छत्रदेव गाउँपालिकाको अध्यक्षमा ऋषिराम अधिकारी, दीपक पन्थी, हसरदिन मिया र उपाध्यक्षमा मनि शर्मा पन्थी, रुपा पाण्डे प्रधान, पवित्रा श्रेष्ठ, मिना पाण्डे सिफारिस भएका छन् ।

    गत निर्वाचनमा छत्रदेव र पाणिनिमा कांग्रेस एक्लै जितेको थियो भने अन्य ४ पालिकामा कांग्रेस माओवादी गठबन्धनका विरुद्ध एमाले एकल लडेको थियो ।

  • अर्घाखाँचीमा एमालेविरुद्ध सबै दल एक, तर एमाले झन् ‘कन्फिडेन्ट’ !

    रुपन्देही । सत्ता साझेदार पाँच दलबीच आगामी स्थानीयत तहमा चुनावी तालमेल गर्ने कि नगर्ने भन्ने बहस चलिरहँदा अर्घाखाँचीमा भने क्रियाशील सत्तारुढ दलले पहिलोपटक तीनै तहका निर्वाचनमा गठबन्धनबाटै लड्ने सम्झौता गरिसकेका छन् ।

    तीनै तहका निर्वाचनबाट एमालेलाई जिल्लामा ‘क्लिन स्विप’ पार्ने भन्दै पाँच दलीय गठबन्धनले नीतिगत घोषणा मात्र गरेको छैन सिट बाँडफाँडमा समेत हस्ताक्षर गरिसकेको बताइएको छ ।

    यहीं सुइको पाएर केही सातायता जिल्लाका अधिकांश कार्यक्रममा सहभागी एमाले केन्द्रीय सचिव तथा पूर्वमन्त्री टोपबहादुर रायमाझीले एमाले एक्लै गठबन्धनसँग लड्ने बताइरहेका छन् ।

    नेकपा एमालेका सचिव टोपबहादुर रायमाझीले लगातार निर्वाचन जित्दै आएको यो जिल्लामा अहिले एक निर्वाचन क्षेत्र रहेको छ । कांग्रेस सचेतक पुष्पा भुसाल, मानबहादुर विश्वकर्मा, रेवती भुसाल, डाक्टर रामबहादुर विसीलगायतका प्रभावशाली नेताहरु भए पनि रायमाझी एमालेमा लागेपछि गठबन्धनविना निर्वाचन जित्न नसकिने निष्कर्षमा उनीहरु पुगेका हुन् ।

    माओवादी युद्धका प्रभावशाली नेता मानिएका रायमाझी एमालेमै रहेपछि अहिले उनी एमालेमै बलियो नेता मानिएका छन् । एमालेमा केपी ओलीको पक्षमा बोल्ने मात्रै होइन, माओवादी नेताहरुको खरो आलोचक बनेका छन् अहिले रायमाझी ।

    माओवादीबाट अर्घाखाँचीमा २०६४, २०७० र २०७४ मा चुनाव जितेर उपप्रधानमन्त्रीसहित महत्वपूर्ण मन्त्रालय संहालेका रायमाझीलाई पार्टी छोडेर एमालेमा लागेकाले जसरी पनि हराउने पक्षमा लागेको छ माओवादी केन्द्र ।

    एमालेबाट विभाजन भएको नेकपा एकीकृत समाजवादीले पनि एमाले र रायमाझीलाई हराउन जस्तोसुकै त्याग गर्न सकिनेगरी कांग्रेसलाई साथ दिने बताइसकेको छ । गठबन्धनविना आफ्नो अस्तित्व बचाउन नसकिने निचोडमा जिल्लाको तेस्रो शक्ति राष्ट्रिय जनमोर्चा पनि गठबन्धनमै सामेल भएको छ । जसपा पनि गठबन्धनमा सामेल भइसकेको छ ।

    गत सोमबार गठबन्धनका ५ दलले जिल्ला सदरमुकाम सन्धिखर्कमा पत्रकार सम्मेलन गरी वडादेखि केन्द्रसम्मका सबै निर्वाचनमा एक भएर जाने घोषणा गरिसकेका छन् ।

    गठबन्धनको ठूलो दल नेपाली कांग्रेस अर्घाखाँचीका जिल्ला सभापति केशव श्रेष्ठले लोकतन्त्र, संविधानभन्दा माथि गएर जनतामाथि कुठराघात गरेकोले जिल्लामा नेकपा एमालेलाई शून्य तहमा पुराउने तरिकाले साझा गठबन्धन बनेको बताए ।

    ‘एमालेलाई एक्लै हराउन नसक्ने सबैको निष्कर्षसहित यो गठबन्धन बनेको हो’, उनले भने, ‘प्रतिगमनलाई गठबन्धनले परास्त गरी जनताको सरकार बनेको मनन गरी आगामी तीनै तहका निर्वाचनमा गठबन्धन गर्ने निर्णय गरिएको हो ।’

    राष्ट्रिय जनमोर्चाका नेता शेरबहादुर विसीले मुलुक र देशप्रति आफूहरु प्रतिबद्ध रहेको र जनतामाथि हुने जुनसुकै किसिमका कुठराघातविरुद आन्दोलनमा आफूहरु प्रतिबद्ध रहेको बताउँदै आसन्न निर्वाचनमा मिलेर निर्वाचनमा जाने निर्णय भएको बताए ।

    एकीकृत समाजवादीका अध्यक्ष रामबहादुर चौहानले गठबन्धनमा आसन्न निर्वाचनसम्म क्रियाशील रहने र जिल्लामा एमाले शून्य बनाउने दाबी गरे ।

    नेकपा माओवादी केन्द्रकी नेतृ छमकुमारी खनालले अलोकतान्त्रिक, गैरसंवैधानिक गतिविधिविरुद विगत लामो समयदेखि आन्दोलन गरेकोले अब आउने सामाजिक राजनीतिक क्षेत्रका जुनसुकै संस्थामा गठबन्धन क्रियाशील रही आसन्न स्थानीय, संघीय, प्रदेशका सबै निर्वाचनसम्म जाने सहमति भएको बताइन् । जनता समाजवादी पार्टीका अध्यक्ष जिन्दग खड्काले सहमति कार्यान्वयनमा प्रतिबद्ध रहेको जनाए ।

    भागवण्डा मिलाउन सकस

    तीन गाउँपालिका र तीन नगरपालिकासहित ६१ वडामा नै एमाले उम्मेदवारलाई हराउँदै संघ र प्रदेशको चुनावसम्म एक भएर जाने सत्तासाझेदार दलले समझदारी गरे पनि भागबण्डा मिलाउन भने चुनौती देखिएको छ । तीन पालिका प्रमुखमा माओवादी तथा कांग्रेसको दाबीले मिलाउन कठिन भएको गठबन्धनमा सहभागी एक दलका नेताले बताए ।

    २०७४ को चुनावको मत परिणामअनुसार ६ स्थानीय तहमध्ये कांग्रेसले चार ठाउँमा एक्लै जित्नसक्ने दाबी गर्दै केही कांग्रेस नेता कार्यकर्ता भने गठबन्धन गरेर कांग्रेसलाई घाटा पुग्ने भन्दै पार्टी नेतृत्वप्रति असन्तुष्टि जनाइरहेका छन् ।

    पहिलेभन्दा अहिले कांग्रेसको संगठन थप मजबुत भएकाले छत्रदेव र पाणिनिमा कांग्रेसले सहजै जित्ने, सन्धिखर्क र शितगंगा नगरपालिकामा एमालेसितको प्रतिस्पर्धामा झिनो मतान्तरमा प्रमुख–उपप्रमुख पद जित्न सकिने कांग्रेस वृत्तमा आंकलन छ । भूमिकास्थानमा बलियो संगठन भए पनि राजमोले एक्लै चुनाव लड्दा केही वडा जिते पनि पालिका प्रमुख–उपप्रमुख जित्नसक्नेमा ढुक्क छैन ।

    गठबन्धनपछि कांग्रेसको मतबाट पालिकामा आफ्नो प्रतिनिधित्व हुने भन्दै अन्य चार दल उत्साहित छन् । ६ पालिकाका प्रमुख–उपप्रमुख गरी १२ पद र जिल्ला समन्वय समितिमा प्रमुख र उपप्रमुख गरी १४ पदमा आफ्नो उपस्थिति हुने भन्दै साना दल खुसी छन् ।

    ‘पालिकास्तरमा चैत ११ देखि १६ सम्म गठबन्धनका नेता पुग्छौं र एकताको सन्देश दिन्छौं,’ नेकपा एसका जिल्ला अध्यक्ष रामबहादुर चौहानले भने, ‘पालिका र वडा तहको सदस्यसम्म गठबन्धन हुन्छ । चैत ९ मा गठबन्धनको बैठक बसेर कुन पार्टीले कुन पालिकाको कुन पद लिने छलफल गरेर टुंग्याउँछौं ।’ सबै पालिकामा पाँच दलको प्रतिनिधित्व हुने गरी पद बाँडफाँड गरिने उनले बताए ।

    अहिले कांग्रेसको दुई नगरपालिकामा प्रमुख, एक नगरमा उपप्रमुख र दुई गाउँपालिकामा अध्यक्ष–उपाध्यक्ष छन् । दुई नगरमा माओवादीका उपप्रमुख छन् । जिल्लाका ६१ वडामध्ये एमालेका २६, कांग्रेसका २४, माओवादीका ७ र राजमोका ४ वटा वडाध्यक्ष छन् ।

    एमालेबाट निर्वाचित मालारानी गाउँपालिका–३ का वडाध्यक्ष जीवन चौहानको निधन भएपछि उपनिर्वाचनमा कांग्रेसका शोभाखर खनालले जितेका थिए । कोरोनाका कारण एमालेबाट निर्वाचित सन्धिखर्क नगरपालिका–८ का वडाध्यक्ष ईश्वरीप्रसाद भुसालको निधन भयो । माओवादीबाट निर्वाचित मालारानी गाउँपालिका–६ का वडाध्यक्ष नारायण अर्याल र शितगंगा नगरपालिका–९ का वडाध्यक्ष भीम केसी अहिले एमालेमा छन् ।

    गठबन्धनले माओवादी केन्द्रसहित साना दललाई भने फाइदा हुने बताइएको छ । २०७४ को स्थानीय तहमा कांग्रेस–माओवादी गठबन्धन भएको थियो । मालारानी गाउँपालिकामा भने एमालेले गठबन्धनलाई पराजित गरेको थियो । एमाले केन्द्रीय सचिव टोपबहादुर रायमाझीसहितका नेता त्यतिबेला माओवादीमै थिए । नेकपा विभाजनपछि रायमाझी र चन्द्रबहादुर खड्कासहितका प्रभावशाली जिल्ला नेता एमालेतिरै छन् ।

    माओवादीबाट निर्वाचित भूमिकास्थान नगर प्रमुख रेशम थापा, मालारानी गाउँपालिका–६ का वडाध्यक्ष नारायण अर्याल र शितगंगा नगरपालिका–९ का वडाध्यक्ष भीम केसी अहिले एमालेमा छन् । पछिल्लो समय पार्टी प्रवेश कार्यक्रम लिएर रायमाझी गाउँ डुलेका छन् ।

    ठूलो संख्यामा माओवादी कार्यकर्ता एमालेमा प्रवेश गरेको दाबी एमालेको छ । विभाजन भएर नेकपा एसतिर खासै कार्यकर्ता नलागेकाले एमाले विगतमा भन्दा थप बलियो भएको एमाले जिल्ला अध्यक्ष पीताम्बर भुसालले बताए । ‘गठबन्धन भए पनि एमाले उम्मेदवारले सानदार रूपमा स्थानीय तहमा जित्छन्,’ उनले भने, ‘कांग्रेसले हार्ने डरले अरु दलको सहारा खोज्यो । जति दल भए पनि एमाले एक्लै भिड्न तयार छ ।’ चुनावमा एमालेलाई ‘क्लिन स्विप’ पार्छु भन्नु गठबन्धनका नेताको हतोत्साहित मानसिकता भएको उनको टिप्पणी छ ।

    गत स्थानीय तहको निर्वाचनमा मालारानी गाउँपालिकामा गठबन्धनका पदम क्षत्रीलाई एमालेका बालकृष्ण आचार्यले ९ सय ९९ मतान्तरले पराजित गर्दै पालिका अध्यक्षमा विजयी भएका थिए । यहाँ माओवादीबाट निर्वाचित वडाध्यक्षसहित माओवादीका कार्यकर्ता एमालेतिर लागेकाले मालारानीमा गठबन्धनलाई जित्न कठिन छ । यहाँ एमाले पहिलो, माओवादी दोस्रो र कांग्रेस तेस्रो छ ।

    छत्रदेवमा कांग्रेसका लेखनाथ पोखरेल अध्यक्ष र उपाध्यक्षमा तुल्सीदेवी श्रेष्ठले जितेका थिए । पोखरेलले एमाले उम्मेदवार ऋषिराम अधिकारीलाई १ हजार १ सय २ मतान्तरले पराजित गरेका थिए । पाणिनिमा कांग्रेसका अच्युत गौतम र उपाध्यक्षमा एमालेबाट लक्ष्मी गौतमले जितेका थिए ।

    अहिले उपाध्यक्ष कांग्रेसमा प्रवेश गरेकी छन् । भागबन्डामा छत्रदेव र पाणिनिमध्ये एउटामा अध्यक्ष माग्नुपर्ने माओवादी वृत्तमा चर्चा छ । कांग्रेस सभापति श्रेष्ठले छत्रदेव र पाणिनि कांग्रेसले नछोड्ने बताए ।

    गत निर्वाचनमा कांग्रेस–माओवादी गठबन्धनका तर्फबाट सन्धिखर्क नगरप्रमुखमा कांग्रेसका कमलप्रसाद भुसाल र उपप्रमुखमा माओवादीका ठाकुर विकले जितेका थिए । विक जिल्लामा माओवादीका शीर्ष नेतामा पर्छन् । उनी माओवादीको जिल्ला संयोजक र केन्द्रीय सदस्य हुन् ।

    सदरमुकामको नगरपालिकामा प्रमुख पदमा माओवादीको दाबी छ । विकलाई नगर प्रमुखका रूपमा हेर्न थालिएको छ । गठबन्धनबाट शितगंगामा कांग्रेसका सूर्यप्रसाद अधिकारीले प्रमुख र माओवादीका टीका रेश्मीले उपप्रमुख जितेका थिए । यहाँ पनि माओवादीको प्रमुखमा दाबी छ । गठबन्धनबाट भूमिकास्थान नगर प्रमुख बनेका रेशम थापा अहिले एमालेमा छन् । भुमिकास्थानमा राजमोको जनाधार भएकाले प्रमुख पद आफूलाई दिनुपर्ने उसको दाबी छ ।

    नेकपा एमालेका केन्द्रीय सदस्य तथा अर्घाखाँची जिल्ला इन्चार्ज चेतनारायण आचार्यले सत्तारुढ दलहरु एमालेसँग अत्तालिएर गठबन्धन गरेपनि एमालेले सजिलै परास्त गर्ने दाबी गरेका छन् । ‘५ दल होइन, अरु खोजेर जति दल ल्याए पनि हामी एक्लै लड्न तयार छौं, कसको जनाधार के कति छ त्यो सबैलाई प्रष्ट छ’, आचार्यले भने’, ‘गठबन्धनलाई भाग नपुगेर चुनावअघि नै भाँडभैलो भएको खबर आउनेछ, कतिपय सूचना हामीले पाएका छौं ।’

  • अर्घाखाँची कांग्रेस सभापतिमा पौडेल समूहका श्रेष्ठ विजयी

    अर्घाखाँची कांग्रेस सभापतिमा पौडेल समूहका श्रेष्ठ विजयी

    रूपन्देही । नेपाली कांग्रेस अर्घाखाँचीको सभापति पदमा वरिष्ठ नेता रामचन्द्र पौडेल समूहका केशव श्रेष्ठ विजयी भएका छन् । श्रेष्ठ सभापतिमा निर्वाचित हुँदा शेरबहादुर देउवा पक्षीय यादव प्रसाद घिमिरेले सवैभन्दा कम मत प्राप्त गरेका छन् ।

    घिमिरेलाई कांग्रेस नेतृ पुष्पा भुसाल र मानबहादुर बिश्वकर्माले अगाडि सारेका थिए । नेपाली कांग्रेस अर्घाखाँचीको १४ औं अधिवेशनबाट निकटतम प्रतिद्वन्दी ईन्द्रमणि पौडेललाई पराजित गर्दै केशव श्रेष्ठ सभापति पदमा विजयी भएका हुन् ।

    केशव श्रेष्ठले ७३१ मत प्राप्त गर्दा निकटतम प्रतिद्वन्दी इन्द्रमणि पौडेलले ३५२ मत प्राप्त गरेका छन् । त्यस्तै यादव प्रसाद घिमिरेले ३०९ मत प्राप्त गरेका छन् । २७ मत बदर भएको छ । गएराती सम्पन्न निर्वाचनमा कुल १४३८ मतदातामध्ये १४२१ मत खसेको थियो ।

    निवर्तमान सभापतिसमेत रहेका बिष्णुप्रसाद खनाल (मुस्कान)ले उम्मेदवारी फिर्ता गरेपछि महासमिति सदस्य केशब श्रेष्ठ, महाधिवेशन प्रतिनिधि ईन्द्रमणि पौडेल र नेपाल शिक्षक संघका जिल्ला अध्यक्ष यादव घिमिरेबीच सभापति पदमा निर्वाचन भएको थियो ।

  • यस्ता छन् एमाले अर्घाखाँचीमा स्थानीय तहकाे नेतृत्व (सूचिसहित)

    यस्ता छन् एमाले अर्घाखाँचीमा स्थानीय तहकाे नेतृत्व (सूचिसहित)

    रुपन्देही । नेकपा एमालेले अर्घाखाँची जिल्लाका सबै पालिकामा सर्वसम्मत नेतृत्व चयन गरेको छ । पार्टीको मंगलवार सम्पन्न प्रथम अधिवेशनले जिल्लाका ६ वटै पालिकामा सहमतिमा नेतृत्व चयन गरेको हो ।

    नेकपा एमालेका कार्यालय सचिव लिलबहादुर बिकले सबै स्थानीय तहमा सर्वसम्म कमिटी चयन गरिएको जानकारी दिए ।

    सन्धिखर्क नगरपालिका
    अध्यक्ष- श्रीकृष्ण भुसाल
    उपाध्यक्ष- शिव अधिकारी
    सचिव- कुशल भुसाल

    भूमिकास्थान नगरपालिका
    अध्यक्ष- मणिराम पौडेल
    उपाध्यक्ष- चिरञ्जीवी खनाल
    सचिव- टामलाल भट्टराई

    शीतगंगा नगरपालिका
    अध्यक्ष- वसन्त श्रेष्ठ
    उपाध्यक्ष- सञ्जय राना
    सचिव- ऋषि घिमिरे

    पाणिनी गाउँपालिका
    अध्यक्षमा- कमलप्रसाद घिमिरे
    उपाध्यक्ष- जीवलाल घिमिरे
    सचिव- गुनाखर अधिकारी

    छत्रदेव गाउँपालिका
    अध्यक्ष- रामजी प्रसाद पाण्डे
    उपाध्यक्ष- रूपा प्रधान
    सचिव- तेजप्रसाद खनाल

    मालारानी गाउँपालिका
    अध्यक्षमा- शालिकराम आचार्य
    उपाध्यक्ष- विष्णुप्रसाद मिश्र
    सचिव- नारायणप्रसाद अर्याल

  • कोरोना संक्रमण बढेपछि अर्घाखाँचीमा दुई साता लकडाउन

    कोरोना संक्रमण बढेपछि अर्घाखाँचीमा दुई साता लकडाउन

    रुपन्देही । कोरोना संक्रमण बढेपछि अर्घाखाँचीमा पुनः दुई साता लकडाउन हुने भएको छ । दोस्रो चरणको संक्रमण दर उकालो लागेपछि बैशाख २० गतेबाट शुरु भएको लकडाउन असार १४ गतेसम्म कायम थियो । एक महिनापछि जिल्लामा पुनः लकडाउन गर्नुपरेको हो ।

    प्रमुख जिल्ला अधिकारी विष्णु पौडेलको अध्यक्षतामा बिहीबार बसेको सर्वपक्षीय बैठकले साउन १६ गते राती १२ बजेदेखि लागू हुने गरी साउन ३० गतेसम्म जिल्लालाई पूर्णरुपमा लकडाउन गर्ने निर्णय गरेको हो । लकडाउनलाई कडाईका साथ कार्यान्वयन गर्नेसमेत बैठकको निर्णय छ ।

    लकडाउन अवधिमा सरकारी तथा गैरसरकारी, बैंक तथा बित्तीय संस्था सार्बजनिक तथा निजी यातायातका साधन पूर्णरुपमा बन्द रहने छन् । खाद्यान्न पसलहरु सुरक्षा मापदण्ड अपनाएर बिहान ६ देखि ९ बजेसम्म मात्रै खुल्ला गर्ने निर्णय भएको प्रजिअ पौडेलले जानकारी दिए ।

    सरकारले अर्घाखाँचीसहित १७ जिल्लालाई अति उच्च जोखिम क्षेत्रमा राखेको छ । निषेधाज्ञा खुकुलो भएसंगै जिल्लामा संक्रमण दर बढ्दै गएको हो । बिहीबार सन्धिखर्क गाउँपालिकामा ३ जना,पाणिनी गाउँपालिकामा ३५ जना र छत्रदेव गाउँपालीकामा ३ जनामा कोरोना संक्रमण पुष्टि भएको जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीले जनाएको छ ।

    यो सँगै जिल्लामा कोरोना संक्रमितको संख्या ३२ सय ५१ पुगेको छ । अहिले जिल्लाका बिभिन्न पालिकाहरुमा ५ सय ४४ जना सक्रिय संक्रमित आइसोलेशनमा रहेका छन् । जसमा सन्धिखर्क नगरपालिकामा २३० जना, भूमिकास्थान नगरपालिकामा १०२ जना, शितगंगा नगरपालिकामा २९ जना, मालारानी गाउँपालिकामा ५६ जना, पाणिनि गाउँपालिकामा ५८ जना र छत्रदेव गाउँपालिकामा ८ जना संक्रमित रहेका छन् ।

    कोरोना संक्रमणका कारण हालसम्म ७१ जनाको ज्यान गएको छ । यस्तै जिल्लामा अहिलेसम्म २६ सय ९७ जनाले कोरोनालाई जितेका छन् ।

  • कोरोना संक्रमणबाट अर्घाखाँचीका वडाध्यक्षको मृत्यु

    कोरोना संक्रमणबाट अर्घाखाँचीका वडाध्यक्षको मृत्यु

    रुपन्देही । कोरोना संक्रमणका कारण अर्घाखाँचीको सन्धिखर्क नगरपालिका वडानम्बर ८ का वडाध्यक्ष इश्वरीप्रसाद भुसालको मृत्यु भएको छ ।

    सन्धिखर्क नगरपालिका-८ किमडाँडा घर भएका वडाअध्यक्ष भुसालको उपचारको क्रममा काठमाडाैंको ह्याम्स अस्पतालमा ६१ वर्षको उमेरमा आइतबार मृत्यु भएको हो ।

    सक्रमण भएपछि अर्घाखाँची अस्पतालमा उपचारका लागि भर्ना गरिएको वडा अध्यक्ष भुसालको अवस्था गम्भीर बनेपछि ४ दिनअघि हेलिकप्टरबाट काठमाडाैं लगिएको थियो ।

    स्थानीय जनता कृष्ण माध्यमिक विद्यालयमा लामो समय प्राध्यानाध्यापक रहेर काम गरेका भुसाल अवकाशपछि नेकपा एमालेबाट वडाअध्यक्ष पदमा निर्वाचित भएका थिए ।

  • अर्घाखाँची कांग्रेस हाँक्ने आधा दर्जनको इच्छा

    अर्घाखाँची कांग्रेस हाँक्ने आधा दर्जनको इच्छा

    अर्घाखाँची । नेपाली कांग्रेसको १४ औं महाधिवेशन नजिकिँदै जाँदा केन्द्रीय नेतृत्वका लागि रस्साकस्सी जति बढ्दो छ, जिल्ला नेतृत्वका लागि पनि उत्तिकै कसरत भइरहेको छ ।

    कांग्रेसको महाधिवेशन कार्यतालिका अनुसार एक मात्रै प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएका जिल्लामा साउन २३ गते जिल्ला नेतृत्वको चयनका लागि अधिवेशन हुँदैछ ।

    १३ औं महाधिवेशनमा अर्घाखाँची मात्रै एक त्यस्तो जिल्ला थियो, जहाँ सर्वसम्मत रुपमा सभापति चयन भएको थियो । विष्णु खनाल ‘मुस्कान’ सर्वसम्मत सभापति बनेका थिए ।

    सबैभन्दा पहिले क्रियाशील सदस्यताको सूची केन्द्रमा बुझाउने जिल्ला बनेको अर्घाखाँची कांग्रेसको नेतृत्व लिन झण्डै आधा दर्जन नेताहरु प्रत्याशी बनेका छन् । वर्तमान सभपाति खनालसहित सबै प्रत्याशीले निर्वाचन तयारीलाई तीव्रता दिएका छन् ।

    जिल्ला सभापतिको अर्का दावेदार हुन् वर्तमान सचिव छविलाल पौडेल । अर्घाखाँची कांग्रेसका पाका नेता पौडेल यसपटक सभापति भएर पार्टी हाँक्न तयार भएको बताउँछन् ।

    सभापतिका अर्का उम्मेदवार हुन्, इन्द्रमणि पौडेल । महाधिवेशन प्रतिनिधि पौडेल अर्घाखाँची कांग्रेसका युवा नेता हुन् । उद्यमशीलता र युवा रोजगारीलाई प्राथमिकता दिएको बताउने पौडेलले आसन्न जिल्ला अधिवेशनमा सभापतिमा आकांक्षा राखेका छन् ।

    यस्तै अर्का उम्मेदवार हुन् शान्ता भण्डारी , उनी अहिले उप-सभापति हुन् । उनी महिला नेतृत्वमा आउनुपर्ने बताउँदै महिलाहरुको अधिकार स्थापित गराउन र महिलाहरुलाई पार्टीमा आकर्षित गराउन १४ औं महाधिवेशनमा आफू पार्टी सभापतिको उम्मेदवार हुने बताइन् ।

    महासमिति सदस्य यादवप्रसाद घिमिरे अर्घाखाँची कांग्रेसको सभापतिका अर्का दावेदार हुन् । नेपाल शिक्षक संघको जिल्ला अध्यक्ष रहेका घिमिरे अधिवेशनमा प्रतिस्पर्धा गर्न स्थायी जागिर छोडेर मैदानमा उत्रने चर्चा छ ।

    महासमिति सदस्य केशव श्रेष्ठको नाम पनि सभापतिको उम्मेदवारका रुपमा चर्चामा छ । तरुण दल हुँदै पार्टी राजनीतिमा सक्रिय श्रेष्ठले सभापति बन्न भेटघाटलाई तीव्रता दिएका छन् ।

    कांग्रेसको महाधिवेशन कार्यतालिका अनुसार अर्घाखाँची जिल्ला अधिवेशन आगामि साउन २३ गते हुनेछ ।

  • अर्घाखाँचीमा जेठ मसान्तसम्म थपियो निषेधाज्ञा

    अर्घाखाँचीमा जेठ मसान्तसम्म थपियो निषेधाज्ञा

    रुपन्देही । अर्घाखाँचीमा चौथो पटक निषेधाज्ञा थप गर्दै जेठ ३१ गतेसम्म लागू गरिएको छ ।

    जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्र अर्घाखाँचीकोे बैठकले निषेधाज्ञा थप गर्ने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी विष्णु पौडेलले जानकारी दिए ।

    गत वैशाख २० गतेदेखि निषेधाज्ञा जारी गरिएको छ । जिल्लामा कोभिड–१९ संक्रमणको दर घट्दै गए पनि जोखिम कायमै रहेकोले निषेधाज्ञाको अवधि थप गरिएको प्रजिअ पौडेलले बताए ।
    जिल्लामा बिहीवारसम्म २ हजार ९८ जनामा कोरोना संक्रमण देखिएकोमा १६ सय ७३ जना संक्रमणमुक्त भइसकेका छन् ।

  • अर्घाखाँचीमा सक्रिय संक्रमित बढ्दो, गाउँगाउँमा कोरोना फैलने जाेखिम

    अर्घाखाँचीमा सक्रिय संक्रमित बढ्दो, गाउँगाउँमा कोरोना फैलने जाेखिम

    रूपन्देही । लुम्बिनी प्रदेशको पहाडी जिल्ला अर्घाखाँचीमा सक्रिय संक्रमितको संख्या बढ्न थालेको छ । मंगलबार थप ५२ जनामा कोरोना संक्रमण पुष्टि भएपछि सक्रिय कोरोना संक्रमितको संख्या २ सय २९ पुगेको छ ।

    जसअन्तर्गत सन्धीखर्क नगरपालिकामा १ सय २७, भुमिकास्थान नगरपालिकामा ७४, शीतगंगा नगरपालिकामा १४, मालारानी गाउँपालिकामा १७, पाणिनी गाउँपालिकमाा ८ र छत्रदेव गाउँपालिकामा १६ जना सक्रिय संक्रमित रहेको सहायक प्रमुख जिल्ला अधिकारी विक्रम थापाले जानकारी दिए ।

    हालसम्म जिल्लामा २६ जना कोरोना संक्रमितको मृत्यु भएको छ । योसँगै जिल्लामा हालसम्म कोरोना संक्रमितको संख्या १ हजार ५६ पुगेको छ । जसमध्ये पछिल्लो २४ घण्टामा ६ जना संक्रमित डिस्चार्ज भएसँगै हालसम्म ८ सय १ जना निको भएका छन् ।

  • अर्घाखाँचीमा समानान्तर कमिटी बनाउनेलाई कारवाही गर्न एमालेको निर्देशन

    अर्घाखाँचीमा समानान्तर कमिटी बनाउनेलाई कारवाही गर्न एमालेको निर्देशन

    रुपन्देही । अर्घाखाँची जिल्लामा नेकपा एमालेको माधव नेपाल समूहले समानान्तर कमिटी बनाएपछि विवाद चर्किएको छ ।

    नेपाल समूहको भेलाले रामबहादुर चौहानको अध्यक्षतामा समानान्तर कमिटी गठन गरेको हो । साविक एमालेका जिल्ला सचिवमा रहेका रामबहादुर चौहानलाई नेकपा एमालेले जिम्मेवारीबाट हटाएर ताेजबहादुर रायमाझी (विधान)लाई सचिव बनाएपछि विवाद चर्किएको थियो । विधान माओवादी केन्द्रबाट एमालेमा लागेका ऊर्जामन्त्री टोपबहादुर रायमाझीका भाइ हुन् ।

    नेपाल समूहको समानान्तर कमिटीमा साविक एमालेका निर्वाचित जिल्ला सचिव चौहान, उपसचिव प्रेम गैरेलगायत छन् । शनिबार जिल्ला भेला गरेर आफ्नो नेतृत्वमा नेतृत्वमा ७२ सदस्यीय जिल्ला कमिटी गठन गरिएको नेता रामबहादुर चौहानले नेपालप्रेसलाई जानकारी दिए । उनले २०७५ सालमा निर्वाचित जिल्ला कमिटी अध्यक्ष चेतनारायण आचार्यलाई कारबाही गरिसकिएको दावी गरे ।

    नेकपा एमालेको जिल्ला कमिटीमा २०७५ सालमै निर्वाचित अध्यक्ष चेतनारायण आचार्य नै जिम्मेवारीमा रहेका छन् । उनी पार्टीको केन्द्रीय सदस्य तथा लुम्बिनी प्रदेश सभा सदस्य हुन् ।

    नेकपा एमालेका लुम्बिनी प्रदेश अध्यक्ष लिला गिरीले पार्टी हित विपरीत गुटगत भेला गरेर कारवाहीमा परेकाहरु एमालेको नेतृत्वमा बस्न नसुहाउने बताए ।

    उनले नेपालप्रेससँग भने, ‘अर्घाखाँचीमा पार्टीले कारवाही गरेका नेता दुमनसिंह थापा, पिताम्बर भुसालको सक्रियतामा पार्टीलाई कमजोर बनाउने, गुटगत भेला गर्ने काम भएको छ, यस्तो काममा लाग्ने, नेतृत्व गर्ने सबैलाई तत्काल कारबाही हुन्छ ।’ गिरीले तत्काल कारबाही गर्न जिल्ला कमिटीलाई निर्देशन दिइसकेको बताए ।

    अर्घाखाँचीमा माओवादी केन्द्रबाट नेता टोपबहादुर रायमाझी, राष्ट्रिय सभा सदस्य चन्द्र बहादुर खड्का एमालेमा आएर जिम्मेवारी पाएपछि माधव नेपाल समूह थप सशंकित भएको थियो ।