Tag: अपराध/सुरक्षा

  • २० लाख ३४ हजार रुपैयाँ बराबरको मटर बरामद, पसल सञ्चालक पक्राउ

    २० लाख ३४ हजार रुपैयाँ बराबरको मटर बरामद, पसल सञ्चालक पक्राउ

    दाङ । बाँके प्रहरीले भन्सारछली गरी ल्याइएको करिब ३४ हजार किलो केराउ (मटर) नेपालगन्ज बाट बरामद गरेको छ ।

    गुलरिया बसपार्कस्थित नजिक मुबारक अहमद कवडियाको पसलबाट भन्सार छली गरी ल्याइएको ३३ हजार ९ सय किलो मटर बरामद गरेर भन्सार कार्यालयमा बुझाइएको बाँके प्रहरीका निमित्त सूचना अधिकारी प्रहरी निरीक्षक रमेश विष्टले जानकारी दिए ।

    उनका अनुसार बरामद मटरको बजार मूल्य २० लाख ३४ हजार रुपैयाँ छ । मटर सँगै पसल सञ्चालकलाई पनि प्रहरीले भन्सारमा बुझाएको छ ।

  • जेन-जी आन्दोलनमा प्रहरीलाई घेरा हालेर कुटपिट र लुटपाट गर्ने २ जना पक्राउ

    जेन-जी आन्दोलनमा प्रहरीलाई घेरा हालेर कुटपिट र लुटपाट गर्ने २ जना पक्राउ

    काठमाडौं । जेन-जी आन्दोलनमा प्रहरीलाई घेरा हालेर कुटपिट र लुटपाट गर्ने दुई जना पक्राउ परेका छन् ।

    मंगलबार प्रहरीले काठमाडौंस्थित चिकामुगलका निरज चित्रकार र मरुटोल बस्ने राजकुमार क्षेत्रीलाई पक्राउ गरेको जनाएको छ ।

    पक्राउ परेका चित्रकारविरुद्ध ज्यान मार्ने उद्योगमा प्रहरीले मुद्दा चलाएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।

  • ब्राउनसुगरसहित चार जना पक्राउ

    ब्राउनसुगरसहित चार जना पक्राउ

    हेटौँडा । मकवानपुरको मनहरिस्थित इलाका प्रहरी कार्यालयले मनहरिको रजैया पुलमा ब्राउन सुगर किनबेचमा संलग्न चार जनालाई पक्राउ गरेको छ ।

    सूचना पाएर घटनास्थल पुगेको टोलीले बा ८९प ६२९३ नम्बरको मोटरसाइकलसहित चार जनालाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको प्रहरी निरीक्षक दीपक थापाले बताए ।

    प्रहरीले बारा, जीतपुरसिमरा-१६ घर भई मकवानपुर, हेटौँडा-१९ सान्नानीटार बस्ने २६ वर्षीय अनिल सिन्तान, मकवानपुरकै मनहरि-५ वसन्तपुरका २३ वर्षीय संजित आले, बसन्तपुर घर भई मनहरि-३, लामिटार बस्ने ३३ वर्षीय बिनोद बहादुर बल र मनहरि-५ का ३० वर्षीय सुरेश स्याङ्तानलाई नियन्त्रणमा लिएको हो । उनीहरूका साथबाट २९३ मिलिग्राम लागुऔषध खैरो हेरोइन (ब्राउनसुगर) बरामद भएको छ ।

  • पत्नीको चक्कु प्रहारबाट नगर प्रहरी पति घाइते

    पत्नीको चक्कु प्रहारबाट नगर प्रहरी पति घाइते

    रूपन्देही । बुटवलमा श्रीमतीको चक्कु प्रहारबाट श्रीमान गम्भीर घाइते भएका छन् । बुटवल उपमहानगरपालिका–११, नहरपुरका ३० वर्षीय सुरज गुरुङलाई ३८ वर्षीया श्रीमती पवित्रा गुरुङले मध्यराति चक्कु प्रहार गरेको प्रहरीले जनाएको छ।

    वडा प्रहरी कार्यालय बुटवलका प्रहरी निरीक्षक विष्णुदेव गिरीका अनुसार राति करिब २ बजेतिर भएको घटनापछि गम्भीर घाइते सुरजलाई स्थानीयले तुरुन्तै लुम्बिनी प्रादेशिक अस्पताल पुर्‍याएका थिए । बुटवलमा उपचार सम्भव नभएपछि उनलाई थप उपचारका लागि भैरहवा मेडिकल कलेज पठाइएको प्रहरीले जनाएको छ।
    चक्कु प्रहारबाट सुरजको टाउको र घाँटीमा गहिरो चोट लागेको निरीक्षक गिरीले बताए ।

    छिमेकीसमेत रहेका वडा सदस्य नकुल शाही ठकुरीका अनुसार घाइते सुरज बुटवल नगर प्रहरीमा कार्यरत जवान हुन् । उनका अनुसार पवित्रा विगत तीन–चार वर्षदेखि डिप्रेसनको औषधी सेवन गरिरहेकी छिन् । श्रीमान–श्रीमतीबीच प्रायः झगडा हुने गरेको र पवित्राले परिवारका अन्य सदस्यसँग पनि विवाद गर्ने गरेको स्थानीय बताउँछन् ।

    यही कारण सुरज राति अलग्गै कोठामा सुत्ने गर्थे । मङ्गलबार राति पनि उनी अलग कोठामा सुतेका बेला पवित्राले ढोका फोरेर एक्कासी चक्कु प्रहार गरेको शाहीले बताए ।

    ज्यान जोगाउन भाग्ने क्रममा बाहिर पनि उनको टाउको र घाँटीमा पुनः प्रहार भएको घाइते सुरजको बयान उदृत गर्दै शाहीले जानकारी दिए।

    राति हो–हल्ला र रुवाबासीको आवाज आएपछि छिमेकीको ध्यान गएको थियो । बाहिर रगताम्य अवस्थामा पल्टिएका सुरजलाई देखेपछि स्थानीयले तत्काल अस्पताल पुर्‍याएका थिए । पवित्रालाई भने पक्राउ गरी प्रहरीको जिम्मा लागेको वडा सदस्य शाहीले बताए । उनीहरूको सात वर्षका छोरा छन् ।

  • पर्सा प्रहरीले नियन्त्रणमा लियो लागूऔषधसहित सवारी साधन

    पर्सा प्रहरीले नियन्त्रणमा लियो लागूऔषधसहित सवारी साधन

    वीरगन्ज । प्रहरीले १०४ के.जी. ३२५ ग्राम गाँजा सहित ओसारपसारमा प्रयोग भएको सवारी साधन पनि नियन्त्रणमा लिएको छ ।

    पर्साको पटेर्वासुगौली गाउँपालिका वडा नं. २ रंगपुरबाट प्रहरीले उक्त परिमाणमा लागूऔषध बरामद गरेको हो ।

    इलाका प्रहरी कार्यालय, पटेर्वासुगौलीबाट खटिएको प्रहरी टोलीले मनवाबाट रंगपुरतर्फ जाँदै गरेको बीएबी ९३९८ नम्बरको कारलाई रोकेर खानतलासी लिएको थियो ।

    प्रहरीले उक्त कारोबारमा संलग्न दुई जनालाई पक्राउ गरेको जिल्ला प्रहरी प्रवक्ता डीएसपी राजु कार्कीले जनाएका छन् ।

    पक्राउ पर्नेमा मकवानपुर, भीमफेदी गाउँपालिका वडा नं. ८, महावीर टोल बस्ने ३२ वर्षीय भीम स्याङ्तान (चालक) र मकवानपुरगढी गाउँपालिका वडा नं. १, आपटार बस्ने ३८ वर्षीय कुमार स्याङ्तान छन् ।

  • भन्सार छली नेपाल भित्र्याइएको लाखौं रुपैयाँको काजु बरामद

    भन्सार छली नेपाल भित्र्याइएको लाखौं रुपैयाँको काजु बरामद

    काठमाडौं । सशस्त्र प्रहरीले चोरीपैठारी गरी नेपाल भित्र्याइएको लाखौं रुपैयाँको काजु बरामद गरेको छ ।

    धनुषाको नगराइन नगरपालिका–२ जटहीस्थित खेतबारीबाट सोमबार १३ लाख ७० हजार रुपैयाँ मूल्य बराबरको काजु बरामद गरेको सशस्त्र प्रहरी बलले जनाएको छ ।

    प्रहरीका अनुसार भारतबाट अवैध रुपमा भन्सार छली नेपालमा ल्याई लुकाई-छिपाई राखेको अवस्थामा १ हजार ३ सय ७० किलोग्राम काजु बरामद गरिएको हो ।

    बरामद काजु जनकपुर भन्सार कार्यालयमा बुझाइएको सशस्त्र प्रहरी बल ८ नम्बर गण धनुषाले जनाएको छ ।

  • लागूऔषधसहित १७ जना पक्राउ, ब्राउनसुगर कारोबारी अत्यधिक

    लागूऔषधसहित १७ जना पक्राउ, ब्राउनसुगर कारोबारी अत्यधिक

    काठमाडौं । देशका विभिन्न स्थानबाट लागूऔषधसहित प्रहरीले १७ जनालाई नियन्त्रणमा लिएको छ ।

    काठमाडौंको गोंगबुस्थित न्यू दाङ बर्दिया होटल एण्ड लजबाट खैरो हेरोइन ५ सय २० मिलिग्रामसहित दुई जनालाई पक्राउ गरिएको छ । पक्राउ पर्नेमा बाँकेका भुपेन्द्रकुमार बुढा र तनहुँका मनिष गुरुङ छन् । उनीहरुको साथबाट लागूऔषधसहित नगद ९ हजार ५ सय रूपैयाँ र डिजिटल तराजु बरामद गरिएको छ ।

    टोखास्थित नमस्ते नेपाल गेष्ट हाउसबाट १ ग्राम ५ सय ७० मिलिग्राम ब्राउनसुगर सहित धादिङ नीलकण्ठका किशोर मगर, कपिल खाती र डोटी पूर्वीचौकी गाउँपालिकाका लोकेन्द्र खड्कालाई प्रहरीले नियन्त्रणमा लिएको छ । यस्तै चितवनस्थित भरतपुर गोब्रेनीका मनिस गुरूङ ४ ग्राम ८० मिलिग्राम खैरो हेरोइन सहित सोमबार दिउँसो पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय चनौलीले उनको घर तलासी गर्दा उक्त पदार्थ फेला पारेको जनाएको छ ।

    दाङको तुलसीपुरस्थित बिजौरीबाट ७ सय ८० मिलिग्राम ब्राउनसुगर र नगद ५ हजार ५ सय २५ रूपैयाँसहित दुई जना पक्राउ परेका छन् । सोमबार दिउँसो पक्राउ परेका पवन कुमार वली र सल्यान शारदास्थित शान्तिनगरका सन्तोष बुढाथोकीलाई प्रहरी चौकी विजौरीले रा.४ प १८७५ नम्बरको मोटरसाइकलसहित नियन्त्रणमा लिएको हो ।

    यसैगरी ब्राउनसुगर ३ ग्राम ३८ मिलिग्राम र ३५ हजार ९ सय नेपाली रूपैयाँ साथै १ हजार २ सय ५० भारतीय रूपैयाँ सहित रूपन्देही सैनामैनाका सुदन चौधरी पक्राउ परेका छन् । कैलालीको धनगढीस्थित त्रिनगर व्यारेलबाट ६ सय ४० मिलिग्राम ब्राउनसुगरसहित डोटी दिपायल सिलगढीका दिपेन्द्र वड पक्राउ परेका छन् । धनगढीकै राजपुरबाट ब्राउनसुगर २ ग्राम २ सय ८० मिलिग्राम सहित आकाश राना पक्राउ परेका छन् ।

    यस्तै गोकर्णेश्वर माकालबारीबाट लागूऔषध फेनारगन १५ एम्पुल, डाईजेपाम १५ एम्पुल र नोर्फिन १५ एम्पुलसहित सिन्धुपाल्चोक भोटेचौरका सालिकराम खतिवडालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । भक्तपुर मध्यपुर थिमीबाट ट्रामाडोल ६० ट्याब्लेटसहित सिन्धुली दुधौलीका विष्णु बानिया पक्राउ परेका छन् । भक्तपुरकै च्यामासिंहबाट ट्रामाडोल १ सय ७९ ट्याब्लेटसहित रबिन सुवाललाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

    बाराको निजगढ तपशैयास्थित जंगलबाट ७ किलो गाँजासहित जीतपुरसिमराका हुसन अंसारी र अल्यास देवान पक्राउ परेका छन् । प्रहरीले ना.५८ प ७७२७ नम्बरको मोटरसाइकलमा सवार उनीहरूबाट गाँजा बरामद गरेको हो । मोरङ कटहरी रिङरोडबाट १० किलोग्राम गाँजासहित जहदा महादेव टोलका शसी मण्डल पक्राउ परेका छन् । प्रहरीले प्र.१-००२-००४ ह २५४० नम्बरको सिटी सफारीमा गाँजा फेला पारेको हो ।

    पक्राउ परेकाहरुमाथि आवश्यक अनुसन्धान भइरहेको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

  • राहदानी बनाइदिने भन्दै बिचौलियाको काम गर्ने तीन जना पक्राउ

    राहदानी बनाइदिने भन्दै बिचौलियाको काम गर्ने तीन जना पक्राउ

    काठमाडौं । राहदानी विभाग त्रिपुरेश्वरको मूलगेट बाहिर बसी बिचौलियाको काम गर्नेहरुलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

    राहदानी बनाइदिने भन्दै बिचौलियाको काम गर्ने काठमाडौंका मनराज श्रेष्ठ, बझाङका हेमन्तसिंह ओखेडा र प्युठानका दिपेश केएमलाई पक्राउ गरिएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।

    राहदानी छिटोछरितो बनाइदिने भन्दै अतिरिक्त रकम लिई दु:ख हैरानी दिने र विभागका कर्मचारीको काममा अवरोध पुर्‍याएको प्रहरीले जनाएको छ । पक्राउ परेकाहरुलाई अनुसन्धान र कारबाहीका लागि प्रहरी वृत्त कालिमाटी पठाइएको प्रहरीको भनाइ छ ।

     

  • महोत्तरीबाट भागेकामध्ये २७३ कैदीबन्दी अझै बाहिर

    महोत्तरीबाट भागेकामध्ये २७३ कैदीबन्दी अझै बाहिर

    जलेश्वर (महोत्तरी) । जेन-जीको आन्दोलनका क्रममा महोत्तरी जिल्लाको जलेश्वर कारागारबाट भागेका कैदीबन्दीमध्ये २७३ जना अझै फरार छन् ।

    जलेश्वर कारागार तोडेर भागेका ४० भारतीयसहित ५७६ कैदीबन्दी मध्ये ३०३ जना फर्किसकेका जेलर अशोककुमार क्षेत्रीले बताए ।

    भागेका कैदीबन्दीलाई भदौ २५ गते कारागार प्रशासनले फर्किन आह्वान गरेको थियो । जेलर क्षेत्रीले फर्की नआउने फरार कैदीबन्दी उपर कारागार ऐन २०७९ र अन्य नेपालको प्रचलित कानुन बमोजिम कारबाही हुने तथा कैदीबन्दीलाई लुकाउने, छिपाउने वा आश्रय दिने व्यक्ति उपर पनि कानुन बमोजिम कारबाही हुने बताए ।

    जलेश्वर कारागारबाट भागेकामध्ये १३ कैदीबन्दीलाई भारततर्फ भाग्दै गरेको अवस्थामा भारतीय प्रहरीले पक्राउ गरी पुनः कारागार फर्काउन मद्दत गरेका थिए भने बाँकी कैदीबन्दी आफैँ स्वेच्छाले कारागारमा फर्किएका हुन् ।

    फरार कैदीबन्दीको खोजतलास गरिरहेको प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले बताए ।

    -रासस

  • मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु

    मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु

    हेटौँडा । पूर्वपश्चिम राजमार्गअन्तर्गत मकवानपुरको हेटौँडा उपमहानगरपालिका–४ कर्रा चोकमा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ ।

    पशुपतिनगरबाट हेटौँडा बजार आउँदै गरेको ना३८प ५८५० नम्बरको मोटरसाइकलले गएराति ठक्कर दिँदा पैदलयात्री पर्साको वीरगंज महानगरपालिका–१६ नगवा घर भई हेटौँडा उपमहानगरपालिका–१० मा डेरा गरी बस्ने ५५ वर्षीया खुइली डोमको मृत्युु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक पुष्कर बोगटीले जानकारी दिए ।

    मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते डोमको उपचारको क्रममा हेटौँडा अस्पताल मृत्युु भएको हो । ठक्कर दिने मोटरसाइकल र चालकलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

  • दाङ कारागारबाट फरार थुनुवा नेपालगञ्जमा मृत फेला

    दाङ कारागारबाट फरार थुनुवा नेपालगञ्जमा मृत फेला

    दाङ । तुलसीपुर कारागारबाट फरार थुनुवा नेपालगन्जमा मृत फेला परेका छन् ।

    जेन्जी आन्दोलनक्रममा भदौ २४ गते तुलसीपुर कारागारबाट भागेका थुनुवा देवराज देवकोटा नेपालगन्जको रूकुमेली होटलमा मृत भेटिएको बाँके प्रहरीले जनाएको छ ।

    प्रहरीका अनुसार दाङको तुलसीपुर–१८ हेमन्तपुरका उनी लागुऔषध मुद्दामा पूर्पक्षमा थिए । उनी जेन्जी आन्दोलनक्रममा भदौ २४ गते तुलसीपुर कारागारबाट भागेका थिए ।

    मुखमा फिँज आएको अवस्थामा मृत भेटिएका उनको शव नेपालगन्जको नर्सिङ होममा राखिएको छ । उनको शव आज बिहान १० बजेपछि भेरी अस्पतालमा पोष्टमार्टम गरिनेछ ।

    DEVRAJ DEVKOTA

  • २० करोड बराबरको क्रिप्टो करेन्सीको कारोबार गरेको आरोपमा पक्राउ

    २० करोड बराबरको क्रिप्टो करेन्सीको कारोबार गरेको आरोपमा पक्राउ

    काठमाडौँ । प्रहरीले अवैध रूपमा क्रिप्टो करेन्सीको कारोबार गरेको आरोपमा काठमाडौँ महानगरपालिका–१५ डल्लु बस्ने मोहम्मद सेफलाई पक्राउ गरेको छ ।

    जिल्ला प्रहरी परिसर काठमाडौँका सूचना अधिकारी पवनकुमार भट्टराईका अनुसार अभौतिक मुद्रा किप्टो करेन्सीको कारोबार गरिरहेको भन्ने सूचनाका आधारमा बारा कलैया नगरपालिका घर भई काठमाडौँको डल्लु बस्दै आएका सेफलाई पक्राउ गरिएको हो ।

    कारोबार गर्न प्रयोग भएको विभिन्न कम्पनीको मोबाइल दुई थानसहित नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । सेफलाई नियन्त्रणमा लिई अनुसन्धान गर्दा १९ करोड ८१ लाख ४९ हजार ५ सय ८१ रुपैयाँ भन्दा बढी बराबरको अभौतिक कारोबार भएको पाइएको प्रहरीको भनाइ छ ।

    प्रहरीले अभौतिक मुद्राको प्रयोग गर्न नहुनेसम्बन्धी कसुरमा काठमाडौँ जिल्ला अदालतबाट पाँच दिनको समेत म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

  • रिक्साको भाडा नदिएको निहुँमा रक्सीले मातेका छोराले गरे बाबुको हत्या, आमा पनि घाइते

    रिक्साको भाडा नदिएको निहुँमा रक्सीले मातेका छोराले गरे बाबुको हत्या, आमा पनि घाइते

    रुपन्देही । पूर्वीनवलपरासीको हुप्सेकोट-१ जुगेपानीका ६० वर्षीय रामबहादुर बिक र ५८ वर्षीय धनीसराका तीन सन्तान । दुई छोरा र एक छोरी । दु:खसास्ती गरेर हुर्काए, बढाए । आर्थिक स्रोत कमजोर भए पनि जेनतेन पढाए । बिहेबारी गरिदिएपछि सुखका दिन सुरु होला भन्ने लागेको थियो । मंगलबार राति जेठो छोरोले मदिराको तालमा वितण्डा मच्चायो । कुटपिट गरेर बुवाको हत्या गर्‍यो । आमालाई निर्घात कुटपिट गरी गम्भीर घाइते बनायो ।

    ३० वर्षीय जेठो छोरो सन्तबहादुर घरमा बस्थ्यो । कान्छा बुटवलमा सवारी साधन चलाउँथ्यो । छोरीको बिहे भएर गइसकेकी थिइन् । जेठाकी श्रीमती विदेश । घरमा रामबहादुर र धनीसरासँगै १० वर्षकी छोरी मात्रै ।

    घरपरिवार र स्थानीयका अनुसार मंगलबार रातिसम्म सन्तबहादुर घरमा नआएपछि बुवाआमाले फोन गरेर छिटै बोलाए । धेरैजसो मदिरा सेवन गर्ने सन्तबहादुरलाई समस्यामा पर्‍यो कि भनेर बाआमा फोन गरिरहेका थिए । अत्यधिक मदिरा सेवन गरेको सन्तबहादुर राति ११ अटो चढेर रिसाउँदै घर आइपुग्यो । घरको गेटनिर आएपछि अटोको भाडा तिर्नलाई आमा धनीसरा र बुवा रामबहादुरलाई पैसा माग्यो ।

    आम्दानीको स्रोत केही छैन दिनदिनै रक्सी खाएर कसरी परिवार चलाउने ? कसरी अटोको रकम तिर्ने भन्दै पालैपालो बुवाआमाले गाली गरेपछि रिसले चुर भएको सन्तबहादुरले सुरुमा आमा र त्यसपछि बुवामाथि जाइलाग्यो ।

    अटो भाडाको निहुँमा राति ११ बजेपछि घरमा आएका सन्तबहादुरले झगडा गरेका रहेछन्, अत्यधिक मदिरा सेवन गरेकाले उनी होसमा थिएनन्, बाबुआमाले नदिएपछि आक्रमण गरेर दुवैलाई गम्भीर घाइते बनाए, तत्काल छिमेकीले प्रहरीलाई खबर गरेको ५ मिनेटमै प्रहरी आइपुग्यो, तर अस्पताल लगेको केही समयमै बुवाको मृत्यु भयो, आमाको भने मुखमा चोट लागेपनि अरु खतरा देखिएन ।’ छिमेकी हुप्सेकोट १ का वडाध्यक्ष प्रेमबहादुर घर्तीले नेपाल प्रेससँग भने ।

    उनका अनुसार सन्तबहादुरले नियमित मदिरा सेवन गर्ने र घरमा कोही नभएको समयमा यस्तो घटना भएको हो ।

    ’घरमा बुढाबुढीसँग सानी १० वर्षकी नातिनी मात्रै थिइन्, सन्तबहादुरकी श्रीमती विदेशमा छन्, कान्छा छोरा बुटवलमा बस्छन् छोरीको बिहे भइसकेको छ, राति भएकाले नातिनी पनि सुतिसकेकी थिइन् होला, मात्तिएका छोरा जाइलागे पनि प्रतिकार गर्ने कोही भएन, निकै दुःखद घटना भयो ।’ वडाध्यक्ष घर्तीले भने ।

    जिल्ला प्रहरी कार्यालयक नवलपुरका प्रहरी निरीक्षक वीरेन्द्र गुरुङले घटनालगत्तै प्रहरी घटना स्थलमा पुगेको बताए । उनले गम्भीर घाइते दुवै जनालाई मध्यविन्दु अस्पतालमा पुर्‍याए पनि बाबुलाई बचाउन नसकिएको बताए । आमाको भने स्वास्थ्यमा सुधार आएको छ ।

    ‘घटना अनुसन्धानकै क्रममा छ, रातिको समय घर पुगेको करिब १२ बजेतिर बुवाआमालाई मुक्का हानेर पल्टाएको सूचनापछि प्रहरी पुग्दा घटनास्थलमै अभियुक्तलाई पक्राउ गरिएको हो, प्रहरी निरीक्षक गुरुङले भने, घटना घरायसी विवादकै कारण भएको सुनिएको छ तर सबै अनुसन्धान नभएकाले अहिले कारण खुलेको छैन, शव पोष्टमार्टम गरेर पठाइएको छ ।’

  • सिंहदरबारमा दिनैपिच्छे हुलहुज्जत गर्ने ‘नेपो किड्स’ बारे प्रहरीको बेग्लै ब्रिफिङ

    सिंहदरबारमा दिनैपिच्छे हुलहुज्जत गर्ने ‘नेपो किड्स’ बारे प्रहरीको बेग्लै ब्रिफिङ

    काठमाडौं । पछिल्लो समय दिनहुँ सिंहदरबार भित्र र बाहिर जेन-जीका माग पूरा नभएको भन्दै होहल्ला र हुलदंगा गर्ने समूहको नेतृत्व पूर्वमन्त्री तथा आम जनता पार्टीका अध्यक्ष प्रभु साहका छोराले गरिरहेको प्रहरीले जनाएको छ ।

    सिंहदरबारको सुरक्षाका लागि खटिएको प्रहरी गणले प्रभु साहका छोरा विकेश साहसहित मिराज ढुंगाना, सुप्रिया शाहीलगायतका व्यक्तिहरूले विभिन्न समूह बनाएर सिंहदरबार क्षेत्रमा हुलहुज्जत गरिरहेको रिपोर्ट माथिल्लो निकायमा जानकारी गराएको हो ।

    सोमबार र मंगलबार उनीहरूले सिंहदरबार परिसरमा हुलहुज्जत र प्रहरीमाथि दुर्व्यवहार गरेका थिए । यो समूहमा मिसिएका प्रभु साहका छोरा जेन-जी आन्दोलनका क्रममा संसद भवन र एमाले केन्द्रीय कार्यालयमा आगजनी गर्नेमा पनि संलग्न रहेको भिडिओ प्रहरीले संकलन गरेको अपराध महाशाखाले जनाएको छ ।

    तत्कालीन नेकपा माओवादीबाट पटकपटक सांसद र मन्त्री बनेका प्रभु साह नेकपा विभाजनपछि केही समय एमालेमा लागेर पुनः मन्त्री खाएका थिए । २०७९ को चुनावका बेला उनी एमाले छाडेर तत्कालीन सत्ता गठबन्धनको समर्थनमा स्वतन्त्र उम्मेदबार बनेर सांसद जितेका थिए ।

    कानून, वन तथा वातावरण, सहरी विकास, भूमि व्यवस्था लगायतका मन्त्रालय सम्हालेका साहका छोरा आफैँ नेपो किड्स रहेको भन्दै उनैले अहिले प्रधानमन्त्री सुशीला कार्कीको राजीनामा मागेर सिंहदरबारमा हंगामा मच्चाइरहेको आरोप जेन-जी अगुवाहरूले पनि लगाएका छन् ।

    प्रभु साहकी पत्नी रानीकुमारी साह रौतहटको मौलापुर नगरपालिकाकी मेयर हुन् । उनी २०७४ र २०७९ दुवैपटक मेयर निर्वाचित भएकी थिइन् । विकास साहले केही समयअघि बुबा प्रभु साहलाई प्रमुख अतिथि बनाएर जेन-जी भ्रातृ संगठन पनि गठन गरेका थिए ।

    भदौ २३ र २४ मा हिंसात्मक घटनाहरूमा संलग्न रहेका प्रमाणसहित विकेशकाबारे सम्बन्धित निकायमा ब्रिफिङ गरिएको सिंहदरबार प्रहरीले जनाएको छ । भदौ २४ को आगजनी र विध्वंसका बेला धेरै ठाउँमा विकेश पुगेको फोटो र भिडिओ प्रहरीले संकलन गरेको छ ।

    उनी संसद भवन, सिंहदरबार, एमाले कार्यालय, भैंसेपाटीस्थित मन्त्री निवासलगायतका स्थानमा आगजनी गर्न पुगेको फोटोहरू आफैँले पनि फेसबुकमा राखेका थिए । तीमध्ये केही फोटो र भिडिओ उनले हटाए पनि प्रहरीले संकलन गरेको जनाएको छ ।

    काठमाडौं महानगरपालिकाले हटाएका कबाडीहरूको संगठनका व्यक्तिहरूलाई समेत उनले जेन-जी आन्दोलनका बेला आगजनी र लुटपाटमा संलग्न गराएको पाइएको अनुसन्धानमा संलग्न एक प्रहरी अधिकारीले बताए ।

  • हेटौँडामा यौनधन्दा, हनीट्र्याप र कर दादागिरी: एक्सनमा सीडीओ अधिकारी

    हेटौँडामा यौनधन्दा, हनीट्र्याप र कर दादागिरी: एक्सनमा सीडीओ अधिकारी

    हेटौँडा । हेटौँडामा मौलाएको बेहद बेथिति अन्त्यका लागि उपभोक्तावादी, सुधारवादीको सक्रियता नदेखिएको गुनासो बढेको छ । हेटौँडा बाहिर हेर्दा चमकधमकले बागमती प्रदेशको राजधानी बनेर सबैको ध्यान केन्द्रित भइरहँदा भित्रभित्रै विकृति पनि उस्तै झांगिएको पाइएपछि सुक्ष्म अनुगमन शुरू भएको छ ।

    हेटौँडा बसपार्कका केही होटलमा यौनधन्दा चलेको चर्चापछि स्थानीय प्रशासनले अनुसन्धान गर्दा अनेक तथ्य भेटिएका छन् । जुन सुन्दै रोचक र ‘यस्तोसम्म हुँदोरहेछ’ भनेर अरुले पनि सचेत हुनुपर्ने भएको छ । पढाइ र जागिरको गन्तव्य हेटौँडा भएकाले धेरैले छोराछोरी, श्रीमान, श्रीमतीलाई हेटौँडामा निर्धक्क छाडिदिएका छन् । थाहा छैन, कुन दिन अप्रिय खबरमा परिवारका सदस्य जोडिने पो हुन् कि !

    कात्तिक १० गतेको एउटा घटनाले हेटौँडामा प्रहरीको ध्यान खिच्यो । हेटौँडा बसपार्क नजिकै एकजना घाइते इन्तु न चिन्तु भएर लडिरेहका भेटिए । उनीमाथि कुटपिटमा संलग्नहरू खोज्न मकवानपुर प्रहरीले बसपार्कका चारैतिरका सीसीटीभी फुटेज हेर्‍यो । घटनामा संलग्नहरू पनि भेटिए ।

    प्रहरीमा उजुरी नपरेको यो घटनामा पर्वत, कास्की, चितवन र मकवानपुरका चार जना जोडिएका थिए । पर्वत, मोती-२ का सरोज लामिछाने पोखराबाट काँकडभिट्टा जान बस चढेका थिए । घरमा त उनी भारतको आसाम, सिक्किम जाने भनेर हिँडेको बुझिएको छ । उनै लामिछाने हेटौँडामा बेहोस भेटिए । हेटौँडा अस्पतालमा दुई दिन उपचारपछि चितवन लगियो । पहिलो दिन त उनी होसमा नभएकाले केही विवरण आएन ।

    उनलाई कुटपिट गरेको आरोपमा चितवनको कालिकाका १७ वर्षीय सुवास आले मगर र तनहुँ, भानु-४ का आर्जेन तामाङलाई प्रहरीले समात्यो । मकवानपुर, भीमफेदी-२ कि सन्ध्या पाख्रिन पनि यो घटनामा संलग्न भएको र मकवानपुर प्रहरीमा ‘पटके’ पक्राउको पात्र भएको तथ्य फेला पर्‍यो । मादक पदार्थ सेवनपछि उनीहरू झगडामा उत्रिए । सबैको पहिलो भेट, एकैपटक रक्सी खाएर अनि त्यसमा महिला पनि संलग्न । कुटपिट र घाउजाँचका कुरा मात्रै पुलिसले बतायो ।

    काँकडभिट्टा हिँडेका लामिछाने र तनहुँ र चितवनका १७ वर्षमुनिका किशोरहरू ‘हनीट्र्याप’मा त परेनन् भनेर प्रहरीले चासै दिएन । बरु छारे रोगले ग्रस्त सन्ध्याले प्रहरीले भेट्नेबित्तिकै रगत छादिदिने, अस्वाभाविक गतिविधि देखाउने भनेर छाड्ने गरेको पाइयो । पटके घटनामा जोडिरहने उनलाई जिम्मा लिने मान्छे नभएको भन्दै प्रहरीले पक्रनै छाडेको थियो ।

    भर्खर मकवानपुर आएका प्रहरी उपरीक्षक सुवास चन्द्र बोहरालाई एकैपटक दुई फरक समूह भेटिनु, झगडा गर्नु, दुवै प्रहरी र अस्पतालमा पुग्नु तर मूलपात्र छाडिनुको विषयबारे अनुसन्धानमा संलग्नहरूले केही खुलाएनन् । एक युवतीले हेटौँडा बसपार्कमा युवक बोलाउने, फसाउने काम भएको विषयले १७ वर्षमुनिका दुई किशोर तनहुँदेखि आएर प्रहरीमा थुनिए । अर्का चैँ काकडभिट्टा हिँडेकामा हेटौँडा बसपार्कमै युवतीका पछि लाग्दा पिटिए । प्रहरीमा उनले उजुरीसमेत गरेका छैनन् । पोखराबाट काँकडभिट्टा हिँडेका युवक हेटौँडा बसपार्कमा भेटिएपछि र युवती तथा मादक पदार्थ जोडिएपछि प्रहरीमा जानु आफ्नै चारित्रिक क्षति बन्ने देखिएकाले उनी चुप लागेका रछन् ।

    यता, मंसिरको पहिलो साता मकवानपुरका सीडीओ वसन्त अधिकारी आफैँ राति हेटौँडा बसपार्कको एउटा होटलमा पुगे । ग्राहक विवरणको रजिस्टर नै बोकेर हिँडे । होटल सागरका सञ्चालकले पछि मात्र थाहा पाए लगबुक लैजाने सीडीओ हुन् भन्ने ।

    ‘शुरूमा त उनले होटलमा भइरहेको गतिविधि स्वीकारेका थिएनन् । त्यो कोठा नम्बर १०६ चैँ एकदिन ६ पटक किन बेचेको त भनेर प्रश्न गरेपछि फतक्कै गलिहाले’, सीडीओ अधिकारीले भने ।

    आइन्दा यस्तो गर्दिनँ भनेर कागज गरेको र अरु होटलबारे पनि सूचना आएकाले सुक्ष्म अनुगमन भइरहेको अधिकारीले बताए । बसपार्कमा आउने सर्वसाधारणलाई यौन कार्यका लागि आकर्षित पार्न युवतीहरू परिचालन हुने, मोलमोलाइ हुने र ‘त्यो होटल’ मा गएर यति नम्बरको कोठा लिनू, म आउँछु भन्नेसम्मको सूचना पाएर प्रमुख जिल्ला अधिकारी आफैँ होटल पुगेर रजिस्टर नै जफत गरिदिएपछि हेटौँडाका अन्य होटल सञ्चालकहरुलाई पनि तनाव भएको छ ।

    ‘मोटरसाइकल हवल्दार सा’बले चलाउनु हुन्छ, पछि बसेर सामान्य भेषमा जान्छौँ । आएको सूचना भरपर्दो नभएसम्म कसैलाई राति दुःख दिनु पनि छैन, आफूले दुःख पाउनु पनि छैन, तर बदमासी रोक्न सकेसम्म प्रयास गरिरहेको छु’, उनले भने ।

    ढाटका ठकेदारको नगरपालिकामा गुहार

    यस्तै, राति नै सिभिल ड्रेसमा पुगेका सिडिओ अधिकारीले हेटौँडा नगरपालिकाले उठाइरहेको ढाटको कर संकलन पनि रोकिदिएपछि बदमासी गर्न पाइएन भन्दै ठेकेदार र प्रतिनिधिहरू सोमबार हेटौँडा नगरपालिकामा गुहार लगाउन पुगेका छन् । आइतबार राति १२ बजेपछि ढाटमा पैसा नउठाउन अधिकारीले आग्रह गरेका थिए ।

    ‘बाइपासमा गाडी नै रोकेर चालक, सहचालकलाई दुःख दिने काम भएको छ, भैँसेतिर जाने सवारी साधनलाई पनि बसपार्क जाऊ भनेर दुःख दिएका छन्,’ अधिकारीले भने, ‘खाली ट्रकले कर तिरेन भनेर मोटरसाइकलमा पिछा गरेर नेवारपानीसम्म पुगेर चालकमाथि दुव्र्यवहार भएपछि एक्सन लिएको हुँ, नगरपालिकामा सिडिओले कर उठाउन दिएन भन्दै पुगेको खबर पाएको छु ।’

    हेटौँडा बजारमा आउजाउ गर्ने सवारीसाधनलाई पनि रोकेर बाइपासमा जान, भारतीय यात्रुहरु जो भीमफेदी हुँदै काठमाडौँ जान चाहन्छन्, उनीहरुलाई पनि दुःख दिने काम भएको गुनासोपछि यस्तो एक्सन लिइएको अधिकारीले बताए ।

    हेटौँडा अस्पतालमा सेक्युरिटी गार्डको दादागिरी

    राति नै हेटौँडा अस्पताल पुगेका सीडिओ अधिकारीले त्यहाँ झन बदमासी भइरहेको देखे । सामान्य पोशाकमा सर्वसाधारण बनेर पुगेका उनकै अगाडि मादक पदार्थ सेवन गरेर एकजनाले बिरामीको ‘प्रेस्क्रिप्सन’ नै च्यातिदिए ।

    ‘पछि थाहा भयो, उनी अस्पतालकै सुरक्षा गार्ड रहेछन्, बिदाका दिन मादक पदार्थ सेवन गरेर अस्पताल आएर यस्तो हर्कत गरेका रहेछन्, म्याद थपेर केही दिन थुन्न भनेको छु,’ अधिकारीले भने, ‘यो हदको बदमासी रोक्न कोही किन चासो लिँदैनन्, जसले जे गरे पनि हुन्छ भन्ने भइरहेको देखेँ ।’

    फार्मेसीमा विवरणै छैन

    यसपछि सिडिओ अधिकारी अस्पतालको सरकारी औषधी उपलब्ध हुने फार्मेसीमा पुगे ।

    उनले भने, ‘सरकारले दिने केही औषधी छ त ?’ सरकारी औषधी पसलमा रहेकी कर्मचारीले केही ट्याब्लेट झिकेर दिइन् । अधिकारीले भने, ‘मेरो नाम, विवरण, औषधी लगेको जानकारी राख्नु पर्ला नि ?’ ती कर्मचारीले जवाफ दिइन्, ‘तपाईं जानू न, हामी मिलाउँदा विवरण ।’

    सीडीओ अधिकारीले अस्पतालका निमित्त सुपरीटेन्डेन्ट डा. रामचन्द्र सापकोटालाई फोन गरे तर उनले यस्तो हुँदै नभएको भनेर जिद्दी गरे ।

    ‘मैले यसरी औषधी लिएर आइसकेँ, फेरि यस्तो हुँदैन भन्नुहुन्छ,’ सिडिओ अधिकारीले भन्दा पनि सापकोटाले यस्तो बदमासी नभएको दाबी गरेको अधिकारीले बताए ।

    पहिलो दिनै भिडियो खिचेका थिए

    मकवानपुरमा सरुवा भएर आउँदै गर्दा चाडपर्वको रौनक थियो । अधिकारीका लागि मकवानपुर नयाँ हैन । उनी २०७४ मा संघीयता कार्यान्वयन क्रममा बनेको ‘प्रदेश ३’ (बागमती) सरकारका आर्थिक मन्त्रालयका पहिलो सचिव थिए । उनलाई मकवानपुरबारे धेरै जानकारी थियो ।

    बाटोमा यति धेरै ‘ओभरटेक’ गरेर सवारी साधन हुइँकिए कि सिडिओ आफैँ त्यो अव्यवस्थित जाममा परे । यसपछि उनले ओभरटेक गर्ने १९ वटा सवारी साधनको भिडियो खिचेर कार्यालयमा हाजिर नहुँदै मकवानपुरका ट्राफिक प्रहरी निरीक्षकको मोबाइलमा ह्वाट्स एपमा पठाएका थिए । चाडपर्व भएकाले प्रहरी निरीक्षक बिदामा थिए । ‘सकेको सुधार्ने हो,’ उनले भने, ‘हेरेर बस्ने बानी छैन ।’

  • जेन-जीको नाममा उच्छृंखल गतिविधि बढेपछि सिंहदरबार र प्रधानमन्त्री कार्यालयमा सुरक्षा कडाइ

    जेन-जीको नाममा उच्छृंखल गतिविधि बढेपछि सिंहदरबार र प्रधानमन्त्री कार्यालयमा सुरक्षा कडाइ

    काठमाडौं । केही दिनयता जेन-जीका नाममा विभिन्न समूह आएर हुलहुज्जत र उच्छृंखल गतिविधि गर्न थालेपछि सिंहदरबारको मूलद्वार र भित्र सुरक्षा निगरानी बढाइएको छ ।

    विभिन्न माग राख्न आएका जेन-जी समूहले प्रधानमन्त्रीसँग अनावश्यक र अमर्यादितरूपमा प्रस्तुत हुन थालेको, उच्छृंखल जमात देखिएकोले शान्ति सुरक्षा कायम गराउन प्रहरीले कडाइ गरेको हो ।

    ज्ञापन पत्र भन्दै विभिन्न समूह माग बुझाउन आउने हो-हल्ला गर्ने हुन थालेपछि उनीहरूलाई दक्षिण गेटबाटै भित्र पस्न नदिने रणनीति रहेको सुरक्षा अधिकारीले बताएका छन् । त्यस्तै प्रधानमन्त्री कार्यालयको मुख्य गेटमा पनि प्रहरी तैनाथ गरिएको छ ।

    जेन-जीका नाममा अनेक स्वार्थ समूह खडा भएर जेन-जीकै बलिदानमा बनेको सरकारलाई अप्ठ्यारो पारिरहेको भन्दै कसैलाई आउन नदिन निर्देशन दिइएको स्रोतले बतायो । हिजो मिराज ढुंगाना, रविकिरण हमाललगायतका गेटमै रोकिएपछि बाहिरै मागपत्र टाँसेर फर्किएका थिए । भित्र छिरेको एउटा समूह प्रधानमन्त्री कार्यालयको प्रतीक्षा हलमा हुलहुज्जत गरेर फर्किएको थियो । सुधन गुरुङ पनि मागपत्र खल्तीमा लिएर पुगेको थियो ।

    आज पनि मिराजसहित प्रधानमन्त्रीलाई भेट्न गएको समूहलाई गेटबाटै लखेटेर प्रहरीले अनामनगरको पुलसम्म पुर्‍यायो ।

  • भन्सार र राजश्व इकाइका कर्मचारीको सेटिङमा चोरी तस्करी भइरहेको एपीएफको दाबी, तालुक निकायमा गर्‍यो जाहेर

    भन्सार र राजश्व इकाइका कर्मचारीको सेटिङमा चोरी तस्करी भइरहेको एपीएफको दाबी, तालुक निकायमा गर्‍यो जाहेर

    विराटनगर । विराटनगर भन्सार कार्यालय र राजश्व अनुसन्धान इकाई कार्यालय इटहरीका कर्मचारीको मिलेमतोमा भन्सार छली भइरहेको सशस्त्र प्रहरीले दाबी गरेको छ ।

    सशस्त्र प्रहरीले भन्सार छली गरेका माल वस्तु र चोरी तस्करीमा संलग्न सवारी साधन नियन्त्रणमा लिएर भन्सार र राजश्व अनुसन्धान इकाई कार्यालयमा बुझाउँदा समेत कारबाही नभएको भन्दै एपीएफले तालुक निकायमा गुनासो समेत गरेको छ ।

    आफूहरूले नियन्त्रणमा लिएर बुझाएका माल बस्तु र सवारीसाधनलाई न्यून जरिवाना गरेर राजश्व अनुसन्धान कार्यालयले छाडेको सशस्त्र प्रहरीको जिकिर छ । यस्तै नियन्त्रणमा लिएर बुझाएको सवारीसाधनबाट भन्सार यार्डबाटै सामान अनलोड गरी अर्को सवारीसाधनमा लोड गरेको एपीएफको भनाइ छ ।

    नियन्त्रणमा लिएका सवारीबाट केही पोका सामान कस्टम यार्डबाट भन्सार कर्मचारीको मिलेमतोमा अर्को सवारी साधनमा हालेर भन्सार छली गर्न सहयोग गरेको सशस्त्रले बताएको छ । सीमामा हुने चोरी तस्करी नियन्त्रणका लागि परिचालित गस्तीले बरामद गरेका सामान र गाडी भन्सार र राजश्व कार्यालयमा बुझाउने गरिएको छ । यसरी बुझाएका सामानहरू न्यून जरिवाना गरेर भन्सार जाँच पासमा त्रुटि भएको भन्दै सशस्त्रले माथिल्लो निकायमा जाहेरी समेत गरेको प्रमाण नेपाल प्रेसले फेला पारेको छ ।

    सशस्त्र प्रहरी बल नं १ बाहिनी मुख्यालय पकली सीमा शाखाले भन्सार कार्यालयहरूबाट हुने जाँच पास प्रक्रियामा गम्भीर त्रुटि भइरहको भन्दै प्रमाणसहित माथिल्लो निकायमा जाहेर गरेको पाइएको हो । उक्त जाहेरमा बाहिनीले सशस्त्र प्रहरी बल प्रधान कार्यालय सीमा सुरक्षा विभाग (राजश्व शाखा) र सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय सशस्त्र प्रहरी महानिरीक्षकको सचिवालयमा भन्सार जाँच पासमा त्रुटि भएको गुनासो गरिएको छ ।

    सशस्त्र प्रहरीले गत कात्तिकमा विराटनगर भन्सार कार्यालय (आईसीपी) बाट प्रज्ञापन पत्रमा उल्लेख गरिएको भन्दा बढी लत्ताकपडा नियन्त्रणमा लिएको थियो । सो क्रममा ३ जना भन्सार एजेन्टहरू समेत पक्राउ परेका थिए ।

    भन्सार कार्यालयमा बुझाएपछि पनि सो ट्याक्टरबाट कपडा अनलोड गरेर अर्को सवारी साधनमा हालिएको सशस्त्र प्रहरीले दाबी गरेको छ । भन्सारमा बुझाएको ट्याक्टरबाट कपडाका पोका अनलोड भएको विषयमा भन्सार प्रमुख उमेश श्रेष्ठलाई भन्दा पनि अनवज्ञिता प्रकट गरेको भन्दै सशस्त्रले असन्तुष्टि जाहेर गरेको कागजातमा उल्लेख छ । सशस्त्र प्रहरी नम्बर १ बाहिनी सीमा शाखाले माथिल्लो निकायमा गरेको जाहेरी पत्रमा सो कुरा उल्लेख छ ।

    सशस्त्रले कात्तिक १७ गते साँझ साढे ५ बजे विराटनगरको हनुमान मन्दिर अगाडि को. १ त २४१ नम्बरको ट्याक्टर र तीनजना भन्सार एजेण्ट नियन्त्रणमा लिएको थियो । सशस्त्र प्रहरी १ नम्बर बाहिनीका प्रमुख डीआईजी कुमार न्यौपानेले एजेन्टहरू कुन्दन मण्डल, छोटु मण्डल र ललन मण्डललाई नियन्त्रणमा लिएको बताए ।

    सोही दिन भन्सार यार्डबाट को. १ त ९७१७ नम्बरको ट्याक्टर फेला पारेको थियो । सो ट्याक्टरमा प्रज्ञापन पत्रमा उल्लेख भएभन्दा १५ पोका बढी कपडा फेला पारेपछि बरामद भएको थियो । सो कपडाको बजार मूल्य १९ लाख ९० हजार ४ सय ६० रुपैयाँ बराबरको छ । सशस्त्रले सो अवैध कपडा राजश्व अनुसन्धान इकाई कार्यालयमा बुझाएको थियो ।

    यस्तै कात्तिक १९ गते बिहान संयुक्त टोलीले विराटनगर १५ स्थित बुद्ध पूजा ढुवानी सेवामा खोजतलास गर्दा शङ्कास्पद लत्ताकपडा नियन्त्रणमा लिएको थियो । सशस्त्रले सो कपडा राजश्व अनुसन्धान इकाई कार्यालय इटहरीमा बुझाएको थियो ।

    सशस्त्रले बुझाएको ३४ पोका कपडा र १९ लाख ९० हजार बराबरको कपडा राजश्व अनुसन्धान इकाई कार्यालयले १ लाख २४ हजार रूपैयाँ जरिवाना गरेर छाडेको सशस्त्रले गरेको जाहेरीमा उल्लेख छ । उक्त विषयलाई लिएर एपीएफले आपत्ति जनाएको छ ।

    डीआईजी न्यौपानेले भन्सार जाँच पासमा त्रुटि भएको बताए । उनले नेपाल प्रेससँग भने, ‘यो कसरी भयो भन्ने हो ? हामीले हाम्रो निकायमा जाहेरी गरेका छौँ ।’

    राजश्वले सो सामान न्यून जरिबाना गरी छाडेको भन्दै जाँच पासमा त्रुटि भएको दाबी गरेको छ । भन्सार कार्यालय विराटनगरका प्रमुख उमेश श्रेष्ठले आफूहरूले यस बारेमा अध्ययन गरिरहेको प्रतिक्रिया दिए ।

  • भीमफेदी कारागारबाट फरार १६८ कैदीबन्दी कारागार बाहिरै

    भीमफेदी कारागारबाट फरार १६८ कैदीबन्दी कारागार बाहिरै

    हेटौँडा । मकवानपुरको भीमफेदीस्थित क्षेत्रीय कारागारबाट फरार भएकामध्ये दुई सय ७२ जना कैदीबन्दी कारागार फर्किएका छन्भने एक सय ६८ जना कैदीबन्दी अझै फरार छन् ।

    भदौ २४ गते राति कारागारको पर्खाल भत्काएर फरार भएका चार सय ४० कैदीबन्दीमध्ये मंगलबार बिहानसम्म दुई सय ७२ कैदीबन्दी कारागार फर्किएको कारागारका प्रमुख सुवास पौडेलले जानकारी दिए । कारागारबाट भागेकामध्ये हालसम्म दुई सय ७२ र अन्य कारागारबाट फरार ३७ गरी तीन सय नौ कैदीबन्दी भीमफेदी कारागार फर्किएको प्रमुख पौडेलले बताए ।

    प्रमुख पौडेलका अनुसार भागेकामध्ये भीमफेदी कारागारका एक सय ६८ कैदीबन्दी अझै फरार छन् । फरार भएका ३९ जना विदेशी कैदीबन्दीमध्ये १३ जना कारागार फर्किएको र २६ जना अझै फरार छन् । फरार कैदीबन्दीको खोजीका क्रममा सुरक्षाकर्मीले बिभिन्न स्थानबाट उनीहरूलाई नियन्त्रणमा लिई कारागारमा बुझाएको प्रमुख पौडेलले बताए ।

  • जेन-जी आन्दोलनमा टीओबीको भूमिकाबारे अनुसन्धान जारी, तेन्जिन दावाले प्रहरीलाई के भने ?

    जेन-जी आन्दोलनमा टीओबीको भूमिकाबारे अनुसन्धान जारी, तेन्जिन दावाले प्रहरीलाई के भने ?

    काठमाडौं । नेपाल प्रहरी-ले जेनजी आन्दोलनमा टीओबी समूहको भूमिकाबारे अनुसन्धान जारी नै रहेको जनाएको छ ।

    जिल्ला प्रहरी परिसर काठमाडौंले सोमबार पत्रकार सम्मेलन गर्दै टीओबीका मुख्य व्यक्ति भनिने तेन्जिन दावा लामा हिरासतमै रहेको जनाएको हो । परिसरका प्रवक्ता एसपी पवनकुमार भट्टराईले टीओबीको लोगोको डिजाइन तेन्जिनले नै गरेको खुलेको बताए ।

    २३ गते १२ बजेको समयमा बिजुलीबजार पुगेर बाइक पड्काउदै नारा जुलुस गर्नुका साथै सो समूहले भीडलाई उत्तेजित गर्ने काम गरेको उनले बताए ।

    तेन्जिनले आफूलाई आधा तिब्बेतियन भएको कुरा प्रहरीलाई भनेको र सो समूहमा तेन्जिन बाहेक अरु सवै सदस्य नेपाली मूलको भएको खुलेको प्रहरीको भनाइ छ । हिरासतमा रहेका तेन्जिनले आफूले भीडमा गएर उत्तेजित गर्ने काम गरेर गल्ती गरेको प्रहरीलाई बताएका छन् ।

    तेन्जिनविरुद्ध अभद्र व्यवहार गर्न नहुने, लिखतसम्बन्धी र त्यसैगरी नागरिकता र राहदानीसम्बन्धी कसुरमा मुद्दा चलाइएको छ । त्यस्तै उनीबाट गाँजा पनि बरामद भएको प्रहरीको भनाइ छ । टीओबीसँग सम्बन्धित १३ वटा बुलेट र पल्सर मोटरसाइकल पनि नियन्त्रणमा लिइएको छ ।

    जेनजी आन्दोलनमा तेन्जिनले हतियार बोकेको पुष्टि नभएको भन्दै भट्टराईले भिडिओमा देखिएको हतियार ६ महिनाअघि बानेश्वरको पुलमा म्युजिक भिडिओ सुटिङको रहेको बताए ।

    त्यस्तै जिल्ला प्रहरी परिसर काठमाडौंले नेपाल प्रिमियर लिग (एनपीएल) मा सट्टेबाजी गराएको आरोपमा १० जनालाई पक्राउ गरिएको जनाएको छ । पक्राउ परेकाहरूले २ करोड ५ लाखको कारोबार गरेको भट्टराईले बताए ।

  • विराटनगरमा महेश बस्नेतको गाडीमा बेलुन हान्नेहरू नेविसंघका जेन-जी

    विराटनगरमा महेश बस्नेतको गाडीमा बेलुन हान्नेहरू नेविसंघका जेन-जी

    विराटनगर । नेकपा एमालेका नेता महेश बस्नेतलाई बेलुनमा रङ भरेर हान्ने नेविसंघका स्थानीय नेता भएको खुलेको छ ।

    बस्नेतमाथि बेलुन हान्ने क्रममा प्रहरीले नियन्त्रणमा लिएका सञ्जोग गौतम नेविसंघ (शेखर समूह ) महेन्द्र मोरङ क्याम्पस इकाइ सभापति हुन् ।

    महेन्द्र मोरङमा संस्थापन र कोइराला समूहको छुट्टाछुट्टै समिति छ । प्रहरी नियन्त्रणमा रहेका गौतम पार्टीको जिल्ला सदस्य समेत थिए । पूर्वाञ्चल विश्व विद्यालयका उपकुलपतिलाई दुर्व्यवहार गरेपछि उनलाई कारबाही गरिएको नेपाली कांग्रेस मोरङले दाबी गरेको छ ।

    २ महिनाअघि उपकुलपतिमाथि दुर्व्यवहार भएको थियो । गौतम पछिल्लो समय जेन-जी आन्दोलनमा समेत लागेको नेविसंघका एक नेताले बताए । पक्राउ परेका अर्का १९ वर्षीय अर्पित कुँवर पनि नेविसंघकै नेता हुन् ।

    भदौ २३-२४ गतेको जेन-जी युवा अभियानमा समेत रहेका उनी सरकारसँगको वार्ता टोलीका लागि काठमाडौं आएका थिए ।

    सुनसरीको कार्यक्रममा सहभागी हुन विराटनगर आएका बस्नेतलाई एयरपोर्ट गेटबाट निस्कँदै गर्दा बस्नेत चढेको गाडीमाथि रङ घोलिएको पानी भरेको बेलुन हानिएको थियो ।

  • विराटनगर एयरपोर्टमा महेश बस्नेत चढेको गाडीमाथि बेलुन प्रहार, दुई जेन-जी पक्राउ

    विराटनगर एयरपोर्टमा महेश बस्नेत चढेको गाडीमाथि बेलुन प्रहार, दुई जेन-जी पक्राउ

    विराटनगर । नेकपा (एमाले) का नेता महेश बस्नेत चढेको गाडीमा केही युवाले बेलुनमा पानी भरेर हानेका छन् ।

    सुनसरीको कार्यक्रममा सहभागी हुन विराटनगर आएका बस्नेतलाई एयरपोर्ट गेटबाट निस्कँदै गर्दा केही युवाले रातो रङ घोलिएको पानी भरेको बेलुनले हानेको युवा संघका नेता अरुण गुरुङले बताए ।

    उनीहरूले बस्नेतविरुद्व नाराबाजी गरेका थिए । उक्त घटनामा संलग्न २ जनालाई पक्राउ गरिएको मोरङकी डीएसपी कोपिला चुडालले बताइन् । पक्राउ पर्नेमा विराटनगर महानगरपालिका- २ का १९ वर्षीय अर्पित कुँवर र १ नम्बर वडाका २५ वर्षीय सञ्जोग गौतम छन् ।

    इटहरीमा आयोजित युवा संघको जनजागरण अभियानका लागि बस्नेत काठमाडौंबाट बिहान आएका हुन् । बस्नेत कार्यक्रमस्थल इटहरीतर्फ लागि सकेका छन् । अहिले सुरक्षा व्यवस्था कडा पारिएको छ ।

  • बोलेरो दुर्घटनामा चालकको मृत्यु

    बोलेरो दुर्घटनामा चालकको मृत्यु

    चितवन । सवारी साधन दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

    जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी रवीन्द्र खनालका अनुसार कालिका नागरपालिका–११ सिद्धि कल्याण चौरस्थित भित्री सडकमा सिद्धिबाट कल्याणचौरतर्फ गइरहेको बा१८च८९७३ नम्बरको बलेरो शनिबार राति १०ः३० बजे अनियन्त्रित भई दुर्घटना हुँदा चालक खैरहनी नगरपालिका–४ का राममणि न्यौपानेको मृत्यु भएको हो ।

    दुर्घटनामा गम्भीर घाइते न्यौपानेको उपचारका लागि भरतपुर अस्पतालमा पुर्याउँदा राति नै चिकित्सकले मृत घोषणा गरेको सूचना अधिकारी खनालले जानकारी दिए । बोलेरो सडकदेखि अन्दाजी १५० मिटर तल खसेको थियो । बलेरोमा चालक न्यौपानेमात्र सवार रहेको जनाइएको छ ।

  • ६ दिनमै जनजीवन आतंकित पार्ने विपद्का घटना, आगलागी अत्यधिक, सावधानी अपनाउन अपिल

    ६ दिनमै जनजीवन आतंकित पार्ने विपद्का घटना, आगलागी अत्यधिक, सावधानी अपनाउन अपिल

    काठमाडौँ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले विपद्का घटना बढेको र यसमा आगलागी अत्यधिक देखिएकाले सावधानी अपनाउन आग्रह गरेको छ । दैनिक पिवद्का घटना बढिरहदा सावधानी अपनाउनु जरुरी देखिएको बताइएको छ ।

    मंसिर ६ गते
    शनिबार मात्रै देशभर विपद्का १८ घटना भएपछि राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सावधानी अपनाउन आग्रह गरेको छ । १८ घटनामा आगलागीका मात्र १५ घटना भएका छन् । उदयपुर, रौतहट, बारा, काठमाडौँ र कपिलवस्तुमा आगलागीका दुई–दुईवटा घटना भएकाले थप सावधानी अपनाउनु पर्ने देखिएको छ ।

    मकवानपुर, चितवन, कास्की र कैलालीमा आगलागीका कारण ठूलो मात्रामा भौतिक सम्पत्तिको क्षति भयो । मनाङको नासो गापा–१ तालडाँडास्थित बेँसीसहर–चामे सडकखण्डमा माथिबाट सुक्खा पहिरो खसी बाटो दुवैतर्फ अवरोध भयो । धनुषा र डडेल्धुरामा सर्पदंशका घटना भयो । विपद्का कारण दुई जना घाइते भए भने अनुमानित क्षति ५३ लाख सात हजार ५ सय ५० रुपैयाँ बराबर भएको छ ।

    मंसिर ५
    त्यसैगरी, मङ्सिर ५ गते पनि देशभर १९ वटा विपद्का घटना हुँदा १५ वटा आगलागीका थिए । त्यस दिन सुनसरी र पर्सामा दुई–दुईवटा आगलागीका घटना भएका थिए । प्राधिकरणका अनुसार झापा, पाँचथर, सुनसरी, खोटाङ, उदयपुर, सर्लाही, रौतहट, बारा, लमजुङ, पर्वत, नवलपरासीपूर्व र पाल्पामा आगलागी हुँदा भौतिक सम्पत्तिको क्षति भयो ।

    त्यस दिन पाल्पाको रिब्दीकोट–३ मा सुक्खा पहिरो खस्दा बाटो पूर्ण रूपमा अवरोध भएको थियो । सप्तरी, चितवन र मुगुमा जनावर आक्रमणका कारण घाइते भएकालाई उपचारका लागि नजिकैको अस्पताल पुर्याइयो ।

    मंसिर ४
    प्राधिकरणका अनुसार मङ्सिर ४ गते देशभर २० विपद्का घटना हुँदा आगलागीका मात्र १३ वटा थिए । एकैदिन रुपन्देही र कास्कीमा तीन–तीनवटा आगलागीका घटना भए । झापमा दुई, मोरङ, सुनसरी, सिरहा, बारा, दाङमा आगलागीका कारण भौतिक क्षति भयो । विपद्का घटनामा परेर त्यस दिन ११ जना घाइते हुँदा अनुमानित क्षति १३ लाख ६५ हजार रुपैयाँ बराबर भयो । त्यस दिन जनावर आक्रमणका पाँच घटना भए । झापा, मोरङ, धनुषा, बझाङ र अछाममा जनावर आक्रमणका घटना घटेका थिए ।

    मंसिर ३
    मङ्सिर ३ गते देशव्यापी रूपमा १६ विपद्का घटना घटेका थिए । त्यसमा आगलागीका मात्रै १२ घटना थिए । लेक लाग्ने तीन र जनावर आक्रमणका एक घटना घटेका थिए । विपद्का कारण दुई करोड ७६ लाख ३१ हजार रुपैयाँ बराबरको क्षति भयो ।

    मंसिर २
    प्राधिकरणको विवरण अनुसार मङ्सिर २ गते कुल १७ विपद्का घटना हुँदा आगलागीका १३ घटना भए । कञ्चनपुर, सुनसरीमा मात्रै दुई दुईवटा आगलागीका घटना भए । त्यस दिन झापा, उदयपुर, सप्तरी, सिरहा, तनहुँ, नवलपरासीपूर्व, रुपन्देही र अछाममा आगलागी भएको थियो । लेक लाग्नु, सर्पदंश, जनावर आक्रमणका एक–एक घटना भएका थिए । त्यस दिन विपद्मा परेर पाँच जना घाइते भए भने ३१ लाख १४ हजारबराबरको भौतिक क्षति भयो ।

    मंसिर १
    मङ्सिर १ गते कुल १० विपद्का घटना घटेकामा सबै आगलागीका थिए । आगलागीमा परेर दुई जना घाइते भए भने १४ लाख ९३ हजार रपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको थियो । प्राधिकरणको यो विवरणअनुसार कतिपय आगजनी असावधानीका कारण भएको छभने कतिपय अवस्थामा विद्युत् सर्ट भएको छ ।

    जनचेतनाको अभाव एवम् लापरवाहीका कारण आगजनी हुँदा ठूलो क्षति हुनपुगेको छ । प्राधिकरणले आगो बाल्दा र ज्वलनशील पदार्थ चलाउँदा सावधानी अपनाउन आग्रह गरेको छ । सामान्य सावधानी अपनाउँदा पनि ठूलो मेहेनतले सृजना गरेको भौतिक सम्पत्ति जोगाउन सकिने भन्दै प्राधिकरणले सबैलाई पूर्वसतर्कता अपनाउन आग्रह गरेको छ ।

  • मोटरसाइकल दुर्घटनामा मृत्यु

    मोटरसाइकल दुर्घटनामा मृत्यु

    झापा । मेचीनगर नगरपालिका–१५ हेल्दुवारीस्थित भित्री सडकखण्डमा सवारी दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ ।

    मृत्यु हुनेमा सोही वडाका ३८ वर्षीय विनोद राउत रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता खगेन्द्रबहादुर खड्काले जानकारी दिए । शनिबार साँझ भद्रपुरबाट इँटाभट्टातर्फ गइरहेको प्र१–०१–०१३प ३३३६ नम्बरको मोटरसाइकलले सडकको साइडमा रोकेर राखेको प्र१–०१–००१त ९९७७ नम्बरको ट्याक्टरलाई ठक्कर दिई दुर्घटना हुँदा मोटरसाइकल चालक राउत र पछाडि बसेका २१ वर्षीय निश्चल भुजेल घाइते भएका थिए ।

    टाउको र शरीरको विभिन्न भागमा चोट लागी गम्भीर घाइते दुवै जनालाई उपचारका लागि विर्तामोडस्थित बीएन्डसी अस्पताल लागिएको थियो । उपचारकै क्रममा राउतको मृत्यु भएको उनले बताए । ट्याक्टर र ट्याक्टर चालकलाई प्रहरीले नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको जनाएको छ ।

    त्यसैगरी, गौरीगञ्ज गाउँपालिका–१ कुञ्जीबारी बजारमा बीउबिजनको व्यापार गर्न आएका शिवसताक्षी नगरपालिका–५ का ७२ वर्षीय सम्पतलाल राजवंशीको शनिबार मृत्यु भएको छ ।

    शनिबार दिउँसो अचानक चक्कर लागि बेहोस भएपछि उनलाई उपचारका लागि दमक अस्पताल दमक पठाइएको थियो । उपचारका क्रममा साँझ चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता खड्काले जानकारी दिए ।

  • एमाले प्रदर्शन र एनपिएल लक्षित सुरक्षा नीति– ३ हजार प्रहरी सडकमा, उपत्यकाका गण–गुल्म स्ट्याण्डबाइ 

    एमाले प्रदर्शन र एनपिएल लक्षित सुरक्षा नीति– ३ हजार प्रहरी सडकमा, उपत्यकाका गण–गुल्म स्ट्याण्डबाइ 

    काठमाडौँ । एमाले, बागमती प्रदेश कमिटीले शनिबार काठमाडौँमा गर्न लागेको जनप्रदर्शन र कीर्तिपुरस्थित खेल मैदानमा जारी नेपाल प्रिमियर लिग (एनपिएल) को भिडलाई लक्षित गर्दै ३ हजार प्रहरी सडकमा खटिने भएका छन् ।

    जिल्ला प्रहरी परिसर, काठमाडौँका प्रवक्ता एसपी पवन भट्टराईका अनुसार ३ हजार प्रहरीले नपुगे थप जनशक्ति तयार पारिएको छ । आवश्यक परे उपत्यकास्थित विभिन्न गण–गुल्मका टोलीसँग समन्वय गरिएको उनले बताए । एमाले नेतृत्वले प्रदर्शन संयमित हुने प्रतिबद्धता गरे पनि सम्भावित घुसपैठ र त्यसबाट उत्पन्न हुनसक्ने सुरक्षा चुनौतीबारे प्रहरी उच्च सतर्कमा रहेको उनले बताए ।

    त्यस्तै, नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आज दुई खेल हुँदैछ । दर्शकको अत्यधिक चापका कारण खेलको क्रममा हुनसक्ने सुरक्षा चुनौतीप्रति पनि काठमाडौँ प्रहरीले उच्च सतर्कता अपनाएको प्रवक्ता भट्टराईले बताए ।

    एमाले प्रदर्शनका निम्ति विभिन्न स्थानबाट भृकुटीमण्डपमा जम्मा हुने क्रममा ठाउँठाउँबाट जुलुससहित सहभागी हुने सूचनाका आधारमा काठमाडौँ जिल्लाभित्रका सम्पूर्ण प्रहरी युनिट बिहानैदेखि ड्युटीमा खटिएको उनले बताए ।

  • बसको ठक्करबाट मृत्यु, थप दुई घाइते

    बसको ठक्करबाट मृत्यु, थप दुई घाइते

    चितवन । माडीको बरुवामा आज बिहानै बाटो काट्न लागेका स्थानीयलाई यात्रुबाहक बसले ठक्कर दिँदा घटनास्थलमै ज्यान गएको छ ।

    माडी नगरपालिका वडा नम्बर १ सेरुवा घर भएका ६२ वर्षका फिरल महतोको घटनास्थलमै ज्यान गएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

    चितवनका प्रहरीका प्रवक्ता डिएसपी रविन्द्र खनालका अनुसार आज बिहान पौने ६ बजे बा प्र ०३–००१ ख २८८७ नम्बरको बसले उनलाई ठक्कर दिएको थियो । ठक्करबाट महतोको मृत्युु भएको छ भने दुर्घटनापछि अनियन्त्रित भएर बस पल्टिँदा थप दुई जना घाइते भएका छन् ।

    घाइते हुनेमा बसमा यात्रा गरिरहेका माडी–२ चिरौलीका ५ वर्षीय देवांश महतो र भरतपुर–२७ कि ३० वर्षीया सुनिता महतो रहेको प्रहरीले जनाएको छ । उनीहरु दुवैको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।

  • ट्रक पल्टिँदा कान्ति लोकपथ अवरुद्ध

    ट्रक पल्टिँदा कान्ति लोकपथ अवरुद्ध

    काठमाडौँ । आज बिहान ५ बजेतिर मकवानपुरको भीमफेदी  गाउँपालिका वडा नम्बर ८ बगुविामा खाली ट्रक ब्रेक फेल भएर दुर्घटना हुँदा कान्ति लोकपथमा यातायात आवरुद्ध भएको छ ।

    वीरगंजबाट काठमाडौँ आउँदै गरेको ना३ख ३१९२ नम्बरको ट्रक ब्रेक फेल भई अनियन्त्रित भएर बाटोमा नै पल्टेपछि आवागमन पूर्णरुपमा अवरुद्ध हुन पुगेको हो । ट्रकका चालक बारा, जीतपुरसिमरा–१ का ४० वर्षीय बिनोद माझी भने सकुशल रहेको प्रहरीले जनाएको छ ।

    ट्रक हटाउन पहल भइरहेको प्रहरीले जनाएको छ । हेटौँडाबाट काठमाडौँ जाने र काठमाडौँबाट हेटौँडा आउने यातायातहरु पूर्णरुपमा प्रभावित भएका छन् ।

  • सिमरा लागे सुधन, पुगेपछि प्रशासन र जेन-जीबीच वार्ता हुने

    सिमरा लागे सुधन, पुगेपछि प्रशासन र जेन-जीबीच वार्ता हुने

    काठमाडौं । बाराको सिमरामा बुधबारदेखि प्रदर्शन गरिरहेका जेन-जी युवालाई साथ दिन सुधन गुरुङको टोली सिमरातर्फ लागेको छ । आज दिउँसो २ देखि ३ बजेभित्र उनीहरू सिमरा आइपुग्ने बारा जेन-जी संयोजक सम्राट उपाध्यायले बताए ।

    उपाध्यायले भने, ‘उहाँहरू (सुधनको टोली) गाडीमा आइरहनुभएको छ । २-३ बजे आइपुग्नुहुन्छ होला । उहाँहरू आएपछि हामी छलफल गर्छौं । अनि प्रशासनसँग निर्णायक वार्ता हुन्छ ।’

    अरविन्द शाहलाई पक्राउ गर्नुपर्ने जेन-जीको मुख्य माग पूरा भइसकेको छ । तर, आफूहर”ले भनेका अरु व्यक्तिहर” पनि पक्राउ गर्न बाँकी रहेको उपाध्यायले बताए । अब जिल्ला प्रशासनसँग आन्दोलन स्थगित गरेर निर्णायक वार्तामा बस्ने तयारीमा जेन-जीहरू छन् । उनीहरूले अहिले सुधनलाई पर्खिरहेका छन् ।

    बुधबार एमाले नेता-कार्यकर्ता र जेन-जी युवाबीच सिमरामा झडप भएको थियो । त्यहीकारण ३ दिनदेखि सिमरा क्षेत्र अशान्त छ ।

    कर्फ्यू आदेशसमेत अवज्ञा गर्दै जेन-जी समूहले बुधबार र बिहीबार दिनभर नै वीरगञ्ज-पथलैया सडकखण्डको सिमरा चोकमा टायर बालेर प्रदर्शन गरेको थियो । प्रहरीले अश्रु ग्यास र हवाई फायर समेत गर्नुपरेको थियो ।

  • नीतु आत्महत्या प्रकरणः ३ लाख धरौटीमा छुटे बाबुल, आफ्नो गल्ती स्वीकार्दै अदालतमा प्रायश्चित

    नीतु आत्महत्या प्रकरणः ३ लाख धरौटीमा छुटे बाबुल, आफ्नो गल्ती स्वीकार्दै अदालतमा प्रायश्चित

    काठमाडौं । गायिका नीतु पौडेलले आत्मदाह गरेपछि दुरुत्साहन मुद्दामा पक्राउ परेका गायक तथा संगीतकार बाबुल गिरी (धनबहादुर) ३ लाख धरौटीमा रिहा भएका छन् । काठमाडौं जिल्ला अदालतले उनलाई धरौटीमा रिहा गर्न आदेश दिएको हो ।

    जिल्ला प्रहरी प्रवक्ता एसपी पवन भट्टराईका अनुसार गिरीले नीतिको आत्महत्यामा आफू जिम्मेवार रहेको स्वकारोक्ति बयान दिएका थिए ।

    ‘आफ्नो कतिपय गल्तीका कारण गायिकाले आत्मदाह गर्नु परेको भनी गल्ती स्वीकार गर्नुभएको थियो’, भट्टराईले भने ।

    बाबुल र नीतु केही समयदेखि प्रेममा थिए । प्रेमिकाको चाहनालाई आफूले समयमै गम्भीरताका साथ नलिनु नै उनको आत्मदाहको कारण बनेको भन्दै अदालती बयानमा पनि बाबुलले पश्चाताप गरे । प्रतिवादीले गल्ती स्वीकार गरेको अवस्थामा अदालतले तत्कालका लागि धरौटी राखेर मुद्दाको पुर्पक्ष गर्न आदेश दिएको काठमाडौं जिल्ला अदालत स्रोतले जनायो ।

    कात्तिक १ गते अनामनगरस्थित गिरीको स्टुडियोमा गायिका पौडेलले आफ्नै शरीरमा पेट्रोल छर्किएकी थिइन् । घटनापछि उपचारका निम्ति बर्न अस्पताल, कीर्तिपुरमा भर्ना गरिएको थियो । उपचारकै क्रममा उनको कात्तिक ७ गते निधन भएको थियो । पौडेलको निधनपछि गायक गिरी आफैं जिल्ला प्रहरी परिसरमा उपस्थित भएका थिए ।

  • एमालेका कार्यकर्ता आउन नदिने भन्दै माइतीघर पुगे जेन-जी घाइते (भिडिओ)

    एमालेका कार्यकर्ता आउन नदिने भन्दै माइतीघर पुगे जेन-जी घाइते (भिडिओ)

    काठमाडौं । नेकपा एमालेले नेसनल भोलेन्टियर फोर्स (एनभीएफ) घोषणाका लागि माइतीघर मण्डलामा भेला हुने तयारी गरिरहेका बेला जेन-जी घाइतेहरू पुगेका छन् । उनीहरूले आफूहरू न्यायका लागि लडिरहेको भन्दै त्यहाँ कसैलाई आउन नदिने बताइरहेका छन् ।

    एमाले युवाहरू माइतीघरमा भेला भई बानेश्वरसम्म मार्चपास गर्दै बबरमहलको कार्की व्यांक्वेटमा एनभीएफ घोषणाको तयारीमा छन् ।

    अहिले प्रहरीले माइकिङ गरेर माइतीघरमा कुनै भेलाको आयोजना नभएको भन्दै उनीहरूलाई संयमित रहन आग्रह गरिरहेको छ ।

    समाजमा बढेको असुरक्षा, अशान्ति र भदौ २३-२४ को घटनापछि आम मानिसको खस्किएको मनोबल उठाउन भन्दै एमालेले भोलेन्टियर फोर्स बनाउन लागेको छ ।

  • भोलेन्टियर फोर्स बनाउँदै एमाले, ओलीले आज घोषणा गर्ने

    भोलेन्टियर फोर्स बनाउँदै एमाले, ओलीले आज घोषणा गर्ने

    काठमाडौं । नेकपा एमालेले पार्टीमा नीति र नेतृत्वको सुरक्षाका लागि नेसनल भोलेन्टियर फोर्स (एनभीएफ) घोषणा गर्दैछ । माइतीघर मण्डलामा भेला भई बानेश्वरसम्म मार्चपास गर्दै बबरमहलको कार्की व्यांक्वेटमा घोषणा सभा गरिने भएको हो ।

    जनसंगठन संयन्त्र प्रमुख भानुभक्त ढकालले समाजमा बढेको असुरक्षा, अशान्ति र भदौ २३-२४ को घटनापछि आम मानिसको खस्किएको मनोबल उठाउन एनभीएफ घोषणा गर्न लागिएको बताए ।

    फोर्सले राज्यका निकायलाई सहयोग गर्ने, भय र असुरक्षाबाट जनतालाई मुक्त गर्ने, सुरक्षा निकायलाई सहयोग गर्ने, प्राकृतिक प्रकोप भएका बेला राहात तथा उद्धारमा सहयोग गर्ने उद्धेश्य रहेको एमालेले बताएको छ ।

    बिहान ११ बजे अध्यक्ष केपी शर्मा ओलीले फोर्सको घोषणा गर्ने छन् । सुरक्षा संवेदनशीलता बढेका बेला राज्यले अध्यक्ष ओलीलगायत नेताका सुरक्षाकर्मी फिर्ता लगेकोले पनि फोर्सको आवश्यकता बढेको एमालेको जिकिर छ ।

    प्रदेश र जिल्लामा पनि यस्तो संरचना बनाइने एमालेको तयारी छ । एनभीएफमा एकजना कमाण्डर र दुईजना साहायक कमाण्डर राखिनेछ ।

  • दुर्गा प्रसाईँलाई २४ घण्टाभित्र उपस्थित गराउन सर्वोच्चको आदेश

    दुर्गा प्रसाईँलाई २४ घण्टाभित्र उपस्थित गराउन सर्वोच्चको आदेश

    काठमाडौं । नागरिक बचाउ अभियान नेपालका संयोजक दुर्गा प्रसाईंलाई २४ घण्टाभित्र उपस्थित गराउन सर्वोच्च अदालतले आदेश दिएको छ ।

    प्रसाईंका छोरा निराजन प्रसाईँले दायर गरेको बन्दी प्रत्यक्षीकरण रिटमा न्यायाधीश मेघराज पोखरेलको इजलासले कारण देखाउसहित प्रतिवादीलाई उपस्थिति गराउन आदेश दिएको हो ।

    आन्दोलनको तयारीमा रहेका प्रसाईँलाई अराजक अभिव्यक्ति दिएको भन्दै प्रहरीले सोमबार मध्यराति भक्तपुरस्थित घरबाट पक्राउ गरेको थियो । उनलाई ४ दिनको म्याद थप गरी हिरासतमा राखिएको छ ।

  • रेमिटका नाममा प्रभु म्यानेजमेण्टको हुण्डी कारोबार, लेखा प्रमुख महाजु पक्राउ

    रेमिटका नाममा प्रभु म्यानेजमेण्टको हुण्डी कारोबार, लेखा प्रमुख महाजु पक्राउ

    काठमाडौं । प्रभु म्यानेजमेण्ट प्रालिका पूर्व शेयर धनी एवं सहायक लेखा प्रमुख हेमकुमार महाजुलाई सीआईबीले पक्राउ गरेको छ ।

    प्रभु म्यानेजमेन्टको नाममा सिटिजन्स बैंकको खातामा पटकपटक शंकास्पद कारोबार भइरहेको सूचनाको आधारमा सीआईबीले उनीमाथि अनुसन्धान थालेको थियो । उक्त खातामा विभिन्न व्यक्तिको नामबाट १० लाख नबढ्ने गरी ९ लाख ९९ हजार ५ सय रूपैयाँका दरले कारोबारहरू भएको पाइएको प्रवक्ता शिवकुमार श्रेष्ठले बताए ।

    उनका अनुसार प्रभु म्यानेजमेन्टले रेमिट रकम भुक्तानी मात्र गर्नु पर्नेमा रेमिट कारोबारको आवरणमा हुण्डी मार्फत रकम जम्मा भएको पाइएकाले खाता सञ्चालकमध्येका एक काभ्रे पनौती- ८ का महाजुलाई गोदावरी टौखेलबाट पक्राउ गरिएको सीआईबीले जनाएको छ ।

  • जागिरको लोभ देखाएर म्यानमार पुर्‍याइएका ३७ नेपाली अनलाइन स्क्यामिङ केन्द्रबाट उद्धार

    जागिरको लोभ देखाएर म्यानमार पुर्‍याइएका ३७ नेपाली अनलाइन स्क्यामिङ केन्द्रबाट उद्धार

    काठमाडौं । आकर्षक जागिरको लोभ देखाएर म्यानमार पुर्‍याइएका नेपालीहरूलाई अवैधरूपमा चलाइएका अनलाइन स्क्यामिङ केन्द्रहरूमा लगाएको पाइएको छ ।

    नेपाली दूतावास बैंककले थाइका सरकारी अधिकारी तथा सुरक्षाकर्मीको सहयोगमा त्यस्ता अवैधस्थलमा छापा हानेर ३७ नेपालीलाई उद्धार गरी बिहीबार नेपाल एयरलाइन्सको जहाजबाट स्वदेश फर्काएको छ ।

    दूतावासका अनुसार उनीहरूलाई अनलाइन डेटिङ, अनलाइन क्यासिनो, गेमिङ तथा फिसिङ, क्रिप्टो ठगी लगाइएको थियो ।

    म्यानमारको म्यावडीमा रहेका थप २३ जना, थाइल्याण्डको मेसोटमा रहेका २ जना तथा कम्बोडियामा रहेका ४ नेपालीलाई पनि यथाशीघ्र घर फर्काउने गरी समन्वय भइरहेको दूतावासको विज्ञप्तिमा उल्लेख छ ।

    सरकारले तोकेका मापदण्ड बमोजिम श्रम स्वीकृति लिएर मात्र वैदेशिक रोजगारीमा जान तथा कसैको प्रलोभनमा परी छिटो र धेरै पैसा कमाउने लोभले कम्वोडिया, लाओस, म्यानमार, थाइल्याण्डलगायतका मुलुकहरूमा भिजिट भिसाको वहानामा काममा नआउन पनि दूतावासले आग्रह गरेको छ ।

  • सिमरामा फेरि लगाइयो कर्फ्यू

    सिमरामा फेरि लगाइयो कर्फ्यू

    काठमाडौं । नेकपा एमालेका कार्यकर्ता र जेन-जी समूहका युवाबीच बुधबार भएको झडपका कारण अशान्त बनेको बाराको सिमरा क्षेत्रमा आज पनि कर्फ्यू लगाइएको छ ।

    बिहीबार बिहानैबाट युवाहरू सडकमा निस्किएका छन् । प्रहरी प्रशासन र युवाबीच बुधबार बेलुका भएको सहमति पश्चात सडक सञ्चालनमा आए पनि युवाहरूले बजारमा प्रदर्शनसँगै टायर बालेर नाराबाजी गरिरहेका छन् ।

    प्रदर्शनकारीलाई तितरबितर पार्न प्रहरीले बलसमेत प्रयोग गरेको छ । प्रशासनले दिउँसो १ बजेदेखि राति ८ बजेसम्मलाई कर्फ्यू आदेश जारी गरेको छ । जेन-जीहरूले आफूहरूमाथि कुटपिट गर्नेलाई कारबाहीको माग गरेका छन् । उनीहरूले केही व्यक्तिविरुद्ध किटानी जाहेरी दिएका थिए ।

    हिजो एमालेद्वारा आयोजित कार्यक्रममा काठमाडौंबाट आउन लागेका शंकर पोखरेल, भानुभक्त ढकाल, महेश बस्नेतलगायतका नेतालाई रोक्न युवाहरूले सिमरा विमानस्थलमा प्रदर्शन गरेका थिए ।