Tag: अनुगमन

  • मन्त्री खतिवडाद्वारा बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अनुगमन

    मन्त्री खतिवडाद्वारा बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अनुगमन

    काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडा नेतृत्वको टोलीले सुनसरीको धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको अनुगमन गरेको छ ।

    प्रतिष्ठानको सहकुलपतिसमेत रहेका मन्त्री खतिवडा नेतृत्वको टोलीले हालै धरान पुगेर अनुगमनका क्रममा राजनीतिक दलका स्थानीय प्रतिनिधि, सरोकार पक्ष, नागरिक दबाब सञ्जालका सदस्यलगायतसँग छलफल गरेको हो । सो अवसरमा मन्त्री खतिवडाले प्रतिष्ठानको आकस्मिक सेवाको अनुमगन गरी सेवालाई थप व्यवस्थित बनाउन निर्देशन दिएका थिए ।

    उक्त सञ्जालमा स्थानीय जनप्रतिनिधि, नेपाल उद्योग वाणिज्य महासङ्घ, नेपाल पत्रकार महासङ्घ, सञ्चारकर्मी र राजनीतिक दलका प्रतिनिधि छन् ।

    विभिन्न विवाद र आरोपमा मुछिएका पदाधिकारीलाई तत्काल कारबाही गर्नुपर्ने सुझाव टोलीलाई प्राप्त भएको बताइएको छ । मन्त्री खतिवडाको संयोजकत्वमा बनेको उच्चस्तरीय छानबिन समितिका सदस्यमा सिनेट सदस्य एवं मन्त्रालयका सचिव डा.रोशन पोखरेल र सिनेट सदस्य एवं धरानका नगरप्रमुख तिलक राई रहेका छन् ।

    छानबिन समितिले प्रतिष्ठानका उपकुलपति डा. ज्ञानेन्द्र गिरी, शिक्षाध्यक्ष डा. गुरु खनाल र निर्देशक डा. गौरीशङ्कर शाहलाई छुट्टाछुट्टै भेटेर बयान लिएको थियो । छानबिन समितिको टोलीले प्रतिष्ठानको ऐन २०४९ को परिच्छेद ४ को दफा ११ को घ अनुसार पदाधिकारीको बयान लिएको हो ।

    प्रतिष्ठानमा अहिले सात अर्ब रुपैयाँ सञ्चित घाटा रहेको छ भने आर्थिक वर्ष २०७८/७९ मा अहिलेसम्म ९१ करोड रुपैयाँ घाटा रहेको पाइएको छ । दोषीमाथि कारबाही गर्न, उच्चस्तरीय छानबिन समितिको प्रतिवेदन सार्वजनिक गर्न, विचाराधीन मुद्दा फास्टट्रयाकबाट छिटो निरुपण गर्न र प्रतिष्ठानमा सुशासन कायम राख्न तत्काल पहल लिन सरोकार पक्षले मन्त्री खतिवडासँग आग्रह गरेको थियो ।

    प्रतिष्ठानमा बेथिति बढेको, आर्थिक अनियमिततामा पदाधिकारी संलग्न रहेको भन्दै कारबाहीको माग गरी अस्पतालका चिकित्सक, कर्मचारी र विद्यार्थी आन्दोलनमा छन् ।

  • अक्सिजन प्लान्ट खरिदमा अनियमितताको आरोप लागेपछि समितिको अनुगमन, स्वास्थ्यकर्मी उत्साहित

    अक्सिजन प्लान्ट खरिदमा अनियमितताको आरोप लागेपछि समितिको अनुगमन, स्वास्थ्यकर्मी उत्साहित

    सुर्खेत । कर्णाली प्रदेश सभाको सामाजिक विकास समितिले रुकुम पश्चिम र सल्यान जिल्ला अस्पतालमा खरिद गरेको भनिएको मिनी अक्सिजन प्लान्टको अनुमगन गरेको छ । कर्णाली प्रदेश सरकारको सामाजिक विकास समितिले ती अस्पतालमा चालीस लाखको दरमा खरिद गरिएको भनिएका अक्सिजन प्लान्ट नभई अक्सिजन कन्सन्ट्रेटर रहेको जनगुनासो आएपछि अनुगमन गरिएको समितिका सदस्य पध्मा खड्काले बताइन् ।

    ‘सल्यान जिल्ला अस्पतालमा अक्सिजन प्लान्टको नाउँमा कन्सन्ट्रेटर खरिद गरिएको र सोही प्रकृतिका कन्सन्ट्रेटर अन्य जिल्लामा पनि आएको जनगुनासो आएको थियो,’ उनी भन्छिन्, ‘जनताको व्यापक गुनासो आएपछि समितिले कोरोनाको जोखिमको समयमा पनि अस्पतालहरुको अनुगमन गरेको हो ।’

    समितिकी अध्यक्ष देवी वलीले अस्पतालमा कोभिड विरामीको संख्या उल्लेख्य भए पनि ती दुवै जिल्लामा आत्तिनुपर्ने अवस्था भने नदेखिएको बताइन् ।

    ‘अक्सिजन प्लान्टका बारेमा विवाद आएको छ । ती प्लान्टका बारेमा आवश्यक छानविन गर्दैछौं । त्यसको प्रतिवेदन हामी बनाइरहेका छौं । निकट भविष्यमा जाजरकोट र दैलेख जिल्ला अस्पतालमा जाने निर्णय भइसकेको छ,’ अध्यक्ष वली भन्छिन्, ‘त्यहाँ देखिएका कमी कमजोरीलाई गहन अध्ययन गरेर कर्णाली सरकारलाई निर्देशन दिन्छौं ।’

    समितिको अनुगमन टोली गएपछि त्यहाँका स्वास्थ्यकर्मी उत्साहित भएका छन् । ‘तपाईंहरु यस्तो संकटको समयमा पनि यहाँको समस्या बारेमा जानकारी लिन आउनु भएको छ । यसले गर्दा हामीलाई काम गर्ने थप उत्साह र उर्जा प्राप्त भएको छ,’ चौरजहारी अस्पताल रुकुम पश्चिमका बालरोग विशेषज्ञ डा. कालेबकुमार बुढाले भने, ‘स्वास्थ्य क्षेत्रमा भेन्टिलेटर भन्दा पनि अक्सिजन प्लान्ट, राम्रो बेडहरु र स्वास्थ्यकर्मीको थप जनशक्तिका बारेमा सोच्नु होला ।’

    उनले स्वास्थ्यकर्मीलाई अीक्सजन कसरी दिने भन्ने तालिम दिन आवश्यक रहेको बताउँदै स्वास्थ्यकर्मीलाई सो तालिमको व्यवस्था मिलाई दिन अनुरोधसमेत गरे ।

  • सडकमा निस्किएर काठमाडौं सीडीओले गरे निषेधाज्ञा अनुगमन, सवारी पासमा थप कडाइ गरिने

    सडकमा निस्किएर काठमाडौं सीडीओले गरे निषेधाज्ञा अनुगमन, सवारी पासमा थप कडाइ गरिने

    काठमाडौं । कोभिड नियन्त्रण तथा रोकथाम समन्वय समिति काठमाडौंले विहीबार सवारी अनुगमन गरेको छ ।

    काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीको नेतृत्वमा जिल्लास्थित सुरक्षा निकायका अधिकारीसहितको टोलीले सवारी आवागमनको स्थलगत निरीक्षण गरेको हो ।

    निषेधाज्ञामा काठमाडौंका सडकमा उल्लेख्य मात्रामा सवारी साधन सञ्चालन हुन थालेपछि सवारी पासको दुरुपयोगको अनुसन्धान गर्न टोली स्वयम सडकमा निस्किएको हो । अनुगमनको क्रममा सवारी पासको दुरुपयोग गरेको पाईएको महानगरिय प्रहरी परिसर प्रमुख एसएसपी अशोक सिंहले जानकारी दिए ।

    सवारी साधनहरुले अस्पतालको पास अगाडि राख्ने र भित्र अरु नै सामाग्री राखेर सुरक्षा निकायलाई झुक्याएको भेटिएको उनले बताए । सुरक्षाकर्मीलाई झुक्याएर सवारी पासको दुरुपयोग गर्ने र अनावश्यक रुपमा आवागमन गर्नेहरुमाथि चेकजाँच गरी कारवाही गरिने उनले बताए ।

    सीडीओ पराजुलीले उपत्यकामा जारी निषेधाज्ञालाई थप कडाई गरिने बताए । उनका अनुसार आजदेखि अत्यावश्यक बाहेकका जिल्लास्तरिय कार्यालय बन्द गरिएको जनाए । उनले निषेधाज्ञालाई प्रभावकारी बनाउन कडाइका साथ अनुगमन गर्ने बताए ।

    सुरक्षा निकायका अधिकारीसहितको जिल्ला प्रशासन कार्यालय काठमाडौंको टोलीले भद्रकाली, थापाथली, त्रिपुरेश्वर, कालिमाटी, कलंकी, कोटेश्वर, नयाँबानेश्वर बबरमहल, सोह्रखुट्टे लगायत स्थानको अनुगमन गरेको थियो ।

  • निषेधाज्ञालाई कडा बनाउन सीडीओ सडक अनुगमनमा निस्किए

    निषेधाज्ञालाई कडा बनाउन सीडीओ सडक अनुगमनमा निस्किए

    भक्तपुर । सडकमा गुडेका विना पासका सवारी साधन र जथाभावी खुलेका पसल व्यावसाय रोक्न भक्तपुरका प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा सुरक्षाकर्मीको टोलीले सडकमा अनुगमन गरेको छ । आज भक्तपुरका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईको नेतृत्वमा महानगरीय प्रहरी परिसर भक्तपुरकी प्रहरी उपरीक्षक तारादेवी थापा, राष्ट्रिय अनुसन्धान विभाग भक्तपुरका प्रमुख विकास पाण्डे, शसस्त्र प्रहरी गण दुवाकोटका प्रहरी नायब उपरीक्षक लीला कार्कीलगायत जिल्ला सुरक्षा समितिको टोलीले अनुगमन गरेको हो । टोलीले सूर्यविनायक चोक, काभ्रे र भक्तपुरको सिमाना रहेको साँगा चोक र काठमाडौं र भक्तपुरको सिमाना रहेको पेप्सीकोलाको मनोहरा पुलमा अनुगमन गरेको थियो ।

    अनुगमनको क्रममा निधेषाज्ञा अनुरुप बजार बन्द भएको पाइएको र सडकमा सवारी पास लिएका र अधिकांश सरकारी तथा वित्तीय संस्थाका कर्मचारी, स्वास्थ्यकर्मी, पत्रकार तथा सुरक्षाकर्मीले कार्यालयको परिचय पत्र लिएर सवारी साधन सञ्चालन गरेको पाइएको छ । साँगा नाकामा सवारी पास नभएका र अत्यावश्यक बाहेकका काममा सडकमा सवारी साधन लिएर काठमाडौं प्रवेश गर्न खोज्नेलाई साँगाबाटै फर्काइएको प्रमुख जिल्ला अधिकारी भट्टराइले जानकारी दिए । एक घण्टा साँगा चोकमा बसेको अनुगमन टोलीले आफैले सवारी साधनको जाँच गरेको थियो । नाका र सडकमा खटिएका सुरक्षाकर्मीलाई पास नभएका र अत्यावश्यक कामबाहेक ओहोर दोहोर गर्नेलाई प्रवेश नदिन सुरक्षाकर्मीलाई निर्देशन समेत दिएको छ ।

    मनोहरामा भएको अनुगमनमा उपत्यकाका तीनवटा जिल्ला प्रशासनबाट पास लिएर सडकमा आएका तीनवटा मात्रै सवारी साधन भेटिएको र अरु परिचय पत्रका आधारमा आएको पाइएको छ । सडकमा जथाभावी पैदल हिड्न नदिन, सवारी पास नभएका सवारी साधनलाई रोक्न र निषेधाज्ञालाई कडाइका साथ लागू गर्न अनुगमन गरिएको प्रहरी उपरीक्षक थापाले जानकारी दिए । निषेधाज्ञालाई थप कडाई गर्न सुरक्षाकर्मीलाई अनुगमन टोलीले निर्देशन दिएको र आगामी दिनमा पछि छड्के अनुगमन जारी राख्ने उनले जानकारी दिए ।

  • काठमाडौंका ठूला अस्पतालमा विभागको अनुगमन

    काठमाडौंका ठूला अस्पतालमा विभागको अनुगमन

    काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागले काठमाडौंका विभिन्न ठूला अस्पतालको अनुगमन गरेको छ ।

    विभागले बिहीबार औषधि व्यवस्था विभाग, जिल्ला प्रशासन कार्यालय काठमाडौं र नेपाल प्रहरीको सहयोगमा उपत्यकाका सात ठूला अस्पतालकोे अनुगमन गरेको हो ।

    उपलब्ध सेवा, शुल्कसमेतका बारेमा केन्द्रित भई अस्पतालको अनुगमन गरिएको विभागका प्रवक्ता शिवराज सेढाईंले जानकारी दिए ।

    उनका अनुसार बिहीबार मीनभवनमा रहेको सिभिल अस्पताल, चावहिलमा रहेको ओम अस्पताल र मेडिकेयर, सिनामङ्गलमा रहेको काठमाडौं मेडिकल कलेज (केएमसी), सुकेधारामा रहेको ह्याम्स, टोखामा रहेको ग्रान्डी र मेट्रो अस्पतालमा अनुगमन गरिएको हो ।

    अनुगमनका क्रममा आयातकर्ताबाट उक्त अस्पतालहरुलाई उपलब्ध गराइएको रेम्डेसिभिर औषधि पर्याप्त नभएको पाइएको प्रवक्ता सेढाईंले जानकारी दिए। सात ठूला अस्पतालले अस्पतालमा उपचाररत बिरामीका लागि प्रयोग गरेको औषधिको अधिक मूल्य पाँच हजार एक सय लिएको नपाइएको जनाइएको छ ।

    रेम्डेसिभिर औषधिको न्यून उपलब्धता, वितरण प्रद्धति प्रभावकारी नहुँदा एक अस्पतालमा सञ्चित हुँदा अर्को अस्पतालमा अभाव देखिएको निष्कर्ष निकालिएको थियो ।

    यस्तै बिरामीको अनुपातमा उपलब्ध श्यया सङ्ख्या अपुग रहेको, अस्पतालमा नै तोकिएको स्वस्थ्य मापदण्ड पालना नभएको, अस्पतालपिच्छे उपलब्ध सेवा र शुल्कबीच असमानता रहेको समेत पाइएको थियो ।

    उक्त अस्पतालको अनुगमनपश्चात् विभागले छानबिनका लागि आवश्यक कागजात पेश गर्न निर्देशन दिएको छ । पछिल्लो समय निजी क्षेत्रको लगानीमा सञ्चालित अस्पतालले कोरोना भाइरस सङ्क्रमणका बिरामीको उपचारमा चर्को शुल्क लिने गरेको गुनासोपछि विभागले विभिन्न निकायको समन्वयमा सातवटा अस्पतालको अनुगमन गरेको हो ।

    कोरोना भाइरस सङ्क्रमणलाई ध्यानमा राख्दै यही वैशाख १६ गतेदेखि काठमाडौं उपत्यकाका तीन जिल्लामा लागू गरिएको निषेधाज्ञामा बजारमा अनुचित व्यापारिक कारोबारमा वृद्धि हुने भन्दै विभागले बजार अनुगमनलाई तीव्रता दिएको छ ।

  • बन्दाबन्दीमा कालोबजारी हुन नदिन अनुगमन

    बन्दाबन्दीमा कालोबजारी हुन नदिन अनुगमन

    नेपालगञ्ज । कोरोना भाइरस सङ्क्रमण रोकथामका लागि नेपालगञ्जमा जारी बन्दाबन्दीमा कालोबजारी हुन नदिन बजार अनुगमनमा कडाइ गरिएको छ । दैनिक उपभोग्य वस्तु र स्वास्थ्य सामग्रीमा कालोबजारी भएको गुनासो आएपछि नेपालगञ्ज उपमहानगरपालिकाअन्तर्गत उपभोक्ता हित संरक्षण समितिले बजार अनुगमनलाई कडाइ गरेको नेपालगञ्ज उपमहानगरपालिका उपप्रमुख उमा थापामगरले जानकारी दिए ।

    उनका अनुसार, उपभोक्ता हित संरक्षण समितिले सरोकारवाला निकायसँगको समन्वयमा दैनिकरूपमा बजार अनुगमनलाई निरन्तरता दिएको छ । दैनिक उपभोग्य वस्तु, तरकारी बजार र औषधि पसलमा समेत अनुगमनको कार्य भएको छ ।

    मङ्गलबार औषधि र सर्जिकलजन्य पसलको अनुगमन गर्दा केही औषधि पसलमा व्यवसायीबिनै औषधि पसल सञ्चालन गरेको पाइएपछि सञ्चालनमा रोक लगाइएको अनुगमन समितिले जनाएको छ ।

    नेपालगञ्जका विभिन्न औषधि र सर्जिकल पसलको अनुगमन गर्ने क्रममा अक्सिमिटर, स्यानिटाइजरजस्ता अत्यावश्यक वस्तुको मूल्य र गुणस्तरमा उपभोक्तालाई झुक्याउने गरी लेवलमा अधिकतम खुद्रा मूल्य केरमेट गर्ने र उपभोग्य म्याद समाप्त भएका स्यानिटाइजर बिक्री गर्ने एक सर्जिकल पसल पश्चिमाञ्चल डिष्ट्रब्युटर्सलाई तत्काल २ लाख रुपैया जरिवाना गरी लेवलमा केरमेट गरिएका अक्सिमिटरलगायत वस्तु बिक्री नगरी फिर्ता गर्न निर्देशन दिइएको वाणिज्य आपूर्ति तथा उपभोक्ता हित संरक्षण कार्यालय नेपालगञ्जका प्रमुख कृष्णप्रसाद पौड्यालले जानकारी दिए ।

    अनुगमनका क्रममा औषधि पसलमा व्यवसायीबिनै अनधिकृत व्यक्तिले औषधि बिक्री वितरण गरेको र अक्सिमिटर, स्यानिटाइजरजस्ता अत्यावश्यक वस्तुको मूल्य र गुणस्तरमा उपभोक्तालाई झुक्याउने गरी लेवलमा केरमेट गर्ने गरेको पाइएको अनुगमनमा संलग्न उपभोक्ता हित संरक्षण मञ्चका बाँकेका अध्यक्ष वसन्त गौतमले बताए ।

  • इँटा भट्टामा राज्यमन्त्रीको अनुगमनः कानून बमोजिम नभए कारवाही

    इँटा भट्टामा राज्यमन्त्रीको अनुगमनः कानून बमोजिम नभए कारवाही

    काठमाडौं । उद्योग वाणिज्य तथा आपूर्ति राज्यमन्त्री विमला विश्वकर्माले ललितपुरको महालक्ष्मी नगरपालिकामा सञ्चालित इँटा भट्टाको अनुगमन गरेकी छन् ।

    आफ्नो नगरमा सञ्चालित इँटा भट्टाबाट निस्कने धुवाँको कारण अत्याधिक प्रदुषण भएको स्थानीयले गुनासो गरेपछि राज्यमन्त्री विश्वकर्मा अनुगमनको लागि पुगेकी थिइन् ।

    अनुगमनका लागि राज्यमन्त्री विश्वकर्मासहित उद्योग विभागका महानिर्देशक जीवलाल भुसाललगायतको टोली बुधबार महालक्ष्मी नगरपालिका पुगेका थियो ।
    महालक्ष्मी नगरपालिका-४ मा सञ्चालित आरके इँटा चिम्नी र केसी इँटा भट्टाको राज्यमन्त्री विश्वकर्माले अनुगमन गरेकी हुन् ।

    नगरलाई प्रदुषण गर्ने किसिमले सञ्चालित भएका इँटा भट्टाहरु कानुनी रुपमा गैरकानुनी ढंगबाट सञ्चालित भएको भन्दै कानुन अनुसार कारबाही हुने अनुगमनपछि मन्त्री विश्वकर्माल बताइन् ।

    ‘यहाँ सञ्चालित इँटा भट्टाले स्थानीयलाई धेरै असर गरेको रहेछ । कानुन अनुसार कारबाही गछौं ’, राज्यमन्त्री विश्वकर्माले भनिन्, ‘स्थानीय स्तरमा सञ्चालित इँटा भट्टाको व्यवस्थापन प्रदेश सरकारले गर्छ। मैले प्रदेश सरकारलाई भन्नेछु ।’

    इँटा भट्टाबाट निस्कने धुवाँको कारण महालक्ष्मी नगरपालिकाका स्थानीयवासी २ दशकदेखि आक्रान्त छन् ।

    राज्यमन्त्री विश्वकर्मासँग अवलोकनमा सहभागी उद्योग विभाग महानिर्देशक भुसालले सञ्चालित भट्टाको कागजात समेत जाँच गरेको बताएका छन् ।

    ‘हामीले सञ्चालित भट्टाको कागजातसँगै अवस्थाको जाँच गर्‍यौं । हेर्दा यसले स्थानीयलाई असर गरेको रहेछ । यो हामी मतहत पर्दैन । प्रदेश सरकार अन्तर्गत पर्ने भएको हुँदा हामी प्रदेश सरकारसँग समन्वय गरे व्यवस्थापनको लागि अगाडी बढ्छौं,’ महानिर्देशक भुसालले भने ।