Tag: अदालत

  • पूर्वमहान्यायाधिवक्ता बडालको प्रस्ताव- केही भूतपूर्व न्यायमूर्ति र वरिष्ठ वकिलको सिण्डिकेट तोडौं

    पूर्वमहान्यायाधिवक्ता बडालको प्रस्ताव- केही भूतपूर्व न्यायमूर्ति र वरिष्ठ वकिलको सिण्डिकेट तोडौं

    काठमाडौं । पूर्वमहान्यायाधिवक्ता रमेश बडालले न्यायपालिकामा न्यायाधीश र वकिलहरूले नै हड्ताल विस्तार गरेर कंगारु कोर्ट (जनअदालत) संचालन गर्ने माओवादी एजेण्डा लागू गर्न केही पूर्वप्रधानन्यायाधीश र सेटिङवाला वरिष्ठ अधिवक्ताहरू अग्रसर भएको आरोप लगाएका छन् ।

    सर्वोच्च अदालतमा पछिल्लो समयमा देखिएको अराजकता र एमाले तथा कांग्रेसआबद्ध वकिल संगठनको वक्तव्यपछि सम्भावित परिदृष्यबारे टिप्पणी गर्दै बडालले उनीहरूको वर्चश्व कायमै रहे अब अदालतका फैसला भूतपूर्वको घरमा लेखिने बताएका छन् ।

    बडालले भनेका छन्, ‘अहिले सर्वोच्च अदालत बन्द गराउने, अनि क्रमश: देशभरका अदालतलाई वन्द गराइ कथित जनअदालत (कङ्गारु कोर्ट) संचालन गर्ने माओवादी एजेण्डा लागू गर्न उद्दत केही वकिल र न्यायाधिशहरूको षड्यन्त्रमा आम कानून व्यवसायीहरू र न्यायाधीशहरू पर्नु हुँदैन । यसमा सबै सचेत हुनु पर्दछ ।’

    बडालले अहिले कानून व्यवसायी र न्यायपालिका क्षेत्रमा हेगेमोनीको लडाइँ चलेको भन्दै केही वरिष्ठ वकिल र भूतपूर्व न्यायाधीशले आफू पदमा नरहे पनि आफूले भनेको निर्णय गर्न बाध्य बनाउने र सो अनुरूप नभएमा तीविरुद्ध आक्रमण गर्ने काम भइरहेको र त्यसमा आफूले नियुक्ति गरेका व्यक्तिलाई परिचालन गरिरहेको आरोप लगाएका छन् ।

    बडालले आफ्नो वक्तव्यमा भनेका छन्, ‘केही मुठ्ठीभरका भूतपूर्व न्यायाधीशले अदालतको नियुक्ति, सरुवादेखि फैसलासम्ममा वर्चस्व कायम गरेका छन् । यस्तै केही वकिलहरूले दुई दशकभन्दा लामो समयदेखि वर्चस्व कायम गरेका छन् र उनीहरूको स्वार्थअनुरूप नभएमा अरु वकिल र न्यायाधीशविरुद्धमा खनिने गरेका छन् । यस्तो अवस्था अन्त्य गरिनु पर्दछ ।’

    पूर्वमहान्यायाधिवक्ता बडालले बारको सल्लाहकार बैठकमा एकजना वरिष्ठ अधिवक्ताले किलोमा जोखेर एक क्वीन्टल हजारको नोट प्रधानन्यायाधीशको घुस दिन लगाएको तर फैसला उल्टो आएको कुरा उठाएको भन्दै घुस खुवाउनेको उक्साहटमा इजलास बन्द गर्न नपाइने बताएका छन् ।’

    बारको बैठकमा रमण श्रेष्ठले क्वीन्टलमा हजारका नोट बुझाएको बताएका थिए । बडालले घुस लिने, दिने र दिन लगाउने सबैलाई कारबाही हुनुपर्ने भन्दै यस्तै वरिष्ठहरूको वर्चश्व आज पनि अदालतमा रहनु दुर्भाग्यपूर्ण भनेका छन् ।

    बडालले भनेका छन्, ‘अहिले अदालतको फैसलाहरूमा आफ्नो नियन्त्रण गर्न चाहाने केही भूतपूर्व प्रधानन्यायाधीश र न्यायाधिशहरू र आफूअनुकूल फैसला गराउन चाहाने केही सेटिङ्गमा रहने वरिष्ठ अधिवक्ताहरूको हेगेमोनीविरुद्धमा नउभिने हो भने अब केही दिनपछि मुद्दा दर्ता गर्नुअगाडि भूतपूर्वको इजलासमा फैसला लेखाउने र उनीहरूको सेटिङ्गवाला वकिलमात्र बहसमा राख्नुपर्ने दिन आउँनेछ ।’

    बडालले अदालतमा रहेको वरिष्ठहरूको सिण्डिकेट र वर्चश्व तोड्न र स्वतन्त्र, निष्पक्ष र सक्षम न्यायपालिकामा परिणत गर्न पीपीएलए र डीएलए एक ठाउँमा उभिन आवश्यक रहेको समेत बताएका छन् । त्यसको लागि आवश्यक परे आ-आफ्नो राजनीतिक नेतृत्वलाई एक ठाउँमा उभ्याउन आवश्यक रहेको उनको भनाइ छ ।

  • सिलवालमाथि मुद्दा नचल्ने आधार- सुशीला कार्कीको फैसला, प्रहरी र विधि विज्ञान प्रयोगशालाको पत्र

    सिलवालमाथि मुद्दा नचल्ने आधार- सुशीला कार्कीको फैसला, प्रहरी र विधि विज्ञान प्रयोगशालाको पत्र

    काठमाडौं । नेपाल प्रहरीका तत्कालीन डीआईजी तथा हालका सांसद नवराज सिलवालले कार्य सम्पादन मूल्यांकन फारम किर्ते गरेको प्रमाण नरहेको भनी प्रहरी प्रधान कार्यालयले लिखित जानकारी गराएपछि उनलाई मुद्दा चलाउन नपर्ने निर्णय भएको खुलेको छ ।

    माओवादी अध्यक्ष प्रचण्ड नेतृत्वको सरकारले कार्य सम्पादन मूल्यांकनमा प्राप्त नम्बरको आधारमा आफू एक नम्बरमा हुँदाहुँदै आईजीपी नियुक्त नगरेको भन्दै सिलवाल अदालतमा गएका थिए ।

    सुशीला कार्कीसहितको फैसला भन्छ- कासमूमा सिलवाल १ नम्बर

    सुशिला कार्की, हरिकृष्ण कार्की, ईश्वर खतिवडा, आनन्द मोहन भट्टाई र अनिल कुमार सिन्हले गरेको फैसलामा ( नि नं ९७२३) मा प्रहरी महानिरीक्षक पदमा बढुवा गर्दा जेष्ठता बाहेकका कार्यसम्पादनसम्बन्धी अन्य ५ वटा योग्यतातर्फ समेत दृष्टिगत गर्नु आवश्यक भएको भन्दै आ.व. २०६९-०७० देखि २०७२-२०७३ सम्म ४ वर्षको कार्यसम्पादन मूल्याङ्कनमा कूल औषत अंक सबैभन्दा बढी नवराज सिलवालले, दोस्रोमा प्रकाश अर्यालले, तेस्रोमा बमबहादुर भण्डारीले, र चौथोमा जयबहादुर चन्दले प्राप्त गरेको भनी उल्लेख छ ।

    सोही आधारमा रिट निवेदक नवराज सिलवाल जयबहादुर चन्दभन्दा अग्र-स्थानमा रहेको तथ्यसमेत प्रमाणित भएको भनी फैसलामा उल्लेख छ । यसरी नै सोही फैसलामा कार्य सम्पादन मुल्यांकनको सक्कल अध्यायन गरी न्यायाधिशहरुको वृहत पुर्ण ईजलासले कार्य-सम्पादन मूल्याङ्कनमा पहिलो अर्थात् सबैभन्दा बढी अंक प्राप्त गरेका र वरिष्ठताको क्रममा समेत अग्र-स्थानमा रहेका व्यक्तिलाई छाडेर वरिष्ठताको क्रममा तेस्रो र कार्य-सम्पादन मूल्याङ्कनको आधारमा चौथो क्रममा रहेका व्यक्तिलाई बढुवा गर्नुस्वेच्छाचारिता हो भनिएको थियो । यसवाट अदालतमा पहिला फैसला हुदा सक्कल नै कार्यसम्पादन मुल्यांकन पेश भएको देखिन्छ ।

    त्यसबेला फैसलामा संलग्न एक न्यायाधीशका अनुसार कासमूको फाइलबाट नम्बर जोड्ने काम ईश्वर खतिवडाले गरेका थिए । प्रहरी प्रधान कार्यालयबाट प्राप्त फाइलको आधारमा नम्बर जोड्दा सिलवालको बढी देखिएको भन्दै सर्वोच्चले उनलाई आइजिपी बनाउन आदेश दिएको थियो । तर गोपाल पराजुलीको पालामा अर्को मुद्दा पुग्दा कासमू पनि अर्को गयो । किर्ते त्यहीँबाट भएको थियो ।

    सर्वोच्च अदालतमा सुशीला कार्की र गोपाल पराजुली प्रधानन्यायाधीश भएका बेला कार्य सम्पादन मूल्यांकन फारमबारे फरक-फरक आदेश भएको थियो । सरकारले सर्वोच्चमा पेश भएको कार्य सम्पादन मूल्यांकनको अंक अर्को रहेको भन्दै प्रकाश अर्याल एक नम्बरमा रहेको बतायो । त्यसपछि प्रकाश अर्याललाई आइजिपी नियुक्ति गर्यो ।

    सिलवाल फेरि अदालत गए । मुद्दा फैसला हुने बेलासम्म सुशीला कार्की अवकाश भएर गोपाल पराजुली प्रधानन्यायाधीश भइसकेका थिए । पराजुलीसहितको पूर्णइजलासले अर्यालको आईजीपी नियुक्ति सदर गर्दै सिलवालले पेस गरेको कासमू फारमको आधिकारिकता अनुसन्धान गर्न निर्देशन दिएको थियो ।

    सर्वोच्चको सोही आदेशबमोजिम शेरबहादुर देउवा नेतृत्वको सरकारले नवराज सिलवालबाट किर्ते भएको भन्दै २०७४ पुस ३ गते सिलवालविरुद्ध अनुसन्धान गर्न निर्देशन दिएको थियो ।

    सुशीला कार्कीसहित न्यायाधीशहरू हरिकृष्ण कार्की, ईश्वरप्रसाद खतिवडा, आनन्दमोहन भट्टराई र अनिलकुमार सिन्हाको पूर्णइजलासले सिलवालको पक्षमा २०७३ चैत ८ गते फैसला गरेको थियो । फैसालमा ज्येष्ठतासहितको योग्यतामा सिलवाल नै अग्रस्थानमा रहेको भनी उनको नाम नै उल्लेख गरेको थियो । त्यस्तै कार्य सम्पादन मुल्यांकनमा चार वर्षको कुल औसत अंक हेर्दा सिलवाल एक नम्बर रहेको जनाएको थियो ।

    आम चुनाव भएर कांग्रेस पराजित भएको र केपी ओली प्रधानमन्त्री हुन लागेका बेला एमालेबाट निर्वाचित सांसद सिलवालविरुद्ध सरकारले मुद्दा चलाउन लागेको थियो ।

    सिलवाल चुनाव जितेपछि केही समय लुकेर बसेका थिए । २०७४ फागुन ३ गते ओली प्रधानमन्त्री भएपछिमात्र सिलवाल संसदमा गएका थिए । ओली प्रधानमन्त्री हुने दिन तत्कालीन महान्यायाधिवक्ता बसन्तराम भण्डारीले मुद्दा चलाउन दबाब दिए पनि जिल्ला सरकारी वकिलले मानेका थिएनन् ।

    नयाँ सरकार गठन भएसंगै प्रहरी कार्यलयले लामो समयसम्म कुनै कारवाही अगाडि वढाएन । सार्वजनिक लिखतको किर्ते सम्वन्धमा जाहेरी दिएको दुई वर्ष भित्र मुद्दा दायर गर्ने हदम्याद नाघे पछि मात्र सरकारी वकिल समक्षमा फाईल पुगेको थियो ।

    सर्वोच्च अदालतको पैसलाअनुसार किर्ते कागजको कसूरमा अनुसन्धान गर्ने क्रममा प्रहरी प्रधान कार्यालयले सक्कल कागज बाहिर हराउने, चोरिने सम्भावना नरहेको भन्दै सिलवालले किर्ते गरेको पुष्टि नहुने लिखित जानकारी गराएको महान्यायाधिवक्ता कार्यालयले जनाएको छ । किर्ते हो वा हैन छुट्टाउन सक्कल लिखत आवश्यक हुन्छ । फोटोकपि वा प्रतिलिपीवाट सद्दे वा किर्ते छुट्याउन सकिदैन ।

    सोही आधारमा गत जेठ ११ गते महान्यायाधिवक्ता रमेश बडालले सिलवालमाथि किर्ते मुद्दा नचल्ने निर्णय गरेका थिए । राष्ट्रिय विधि विज्ञान प्रयोगशालाले समेत विवादित कार्य सम्पादन मूल्यांकन फारम फोटोकपी भएकाले फोटोकपीको परीक्षण गर्न नसकिने भन्दै लेखेर पठाएको थियो ।

    विवादित लिखतको सक्कल प्रति प्राप्त नभएको, प्रतिलिपिको परीक्षण हुन सक्ने नदेखिएको र कार्य सम्पादन मूल्यांकनको सक्कल प्रति राख्ने जिम्मेवारीमा रहेका व्यक्तिहरूले सो अभिलेख चोरी नभएको उल्लेख गरेकाले सिलवालले किर्ते कासमू फारम खडा गरेको प्रमाण नदेखिएको भन्दै सिलवालउपर मुद्दा नचलाउने निर्णय गरेको उल्लेख छ ।

    सिलवालको किर्ते कि रमण श्रेष्ठको ?

    सिलवालविरुद्ध किर्ते मुद्दा नचल्ने भनी महान्यायाधिवक्ताले गरेको निर्णयबारे प्रश्न उठेपछि यसको पृष्ठभूमिबारे समेत चर्चा चल्न थालेका छन् । यदि सिलवालविरुद्ध किर्ते मुद्दा चल्ने भए तत्कालीन प्रधानन्यायाधीश सुशीला कार्कीसहित सर्वोच्च अदालतका चार वरिष्ठ न्यायाधीशहरूमाथि समेत नैतिक प्रश्न उठ्ने अवस्था थियो ।

    सुशीला कार्कीसहित न्यायाधीशहरू हरिकृष्ण कार्की, ईश्वरप्रसाद खतिवडा, आनन्दमोहन भट्टराई र अनिलकुमार सिन्हाको पूर्णइजलासले सिलवालको पक्षमा २०७३ चैत ८ गते फैसला गरेको थियो ।

    फैसालमा ज्येष्ठतासहितको योग्यतामा सिलवाल नै अग्रस्थानमा रहेको भनी उनको नाम नै उल्लेख गरेको थियो । त्यस्तै कार्य सम्पादन मुल्यांकनमा चार वर्षको कुल औसत अंक हेर्दा सिलवाल एक नम्बर रहेको जनाएको थियो ।

    जुन कागजका आधारमा सर्वोच्चले फैसला गरेको थियो त्यो नक्कली भएको दावी सरकारको थियो । सिलवालले भने सो कागज अनलाइन मिडियाबाट फोटोकपी गरेका थिए ।

    यसअघि सुशीला कार्कीको पालामा पेश भएको कासमूको सक्कल फाइल सर्वोच्चले प्रहरी प्रधान कार्यालयमा फिर्ता पठाइसकेको थियो । गोपाल पराजुलीको पालामा अदालतमा अर्को कासमू पेश भयो । त्यसमा तत्कालीन महान्यायाधिवक्ता रमण श्रेष्ठको भूमिका थियो । उनले सक्कल फाइल नै गायब पारेर तत्कालीन आइजिपी उपेन्द्रकान्त अर्याल,गृहसचिव लोकदर्शन रेग्मीसहितको मिलेमतोमा अर्को कासमू खडा गरेको आरोप लागेको थियो ।

    निवर्तमान महान्यायाधिवक्ता बडालले गरेको पछिल्लो निर्णयमा प्रहरी प्रधान कार्यालयले कासमूको सक्कल फाइल चोरी नभएको बताउनु, विधि विज्ञान प्रयोगशालाले फोटोकपिको परीक्षण गर्न नसकिने भनेर लिखित जवाफ दिनु तथा सक्कल फाइलको किर्ते नभएको देखिएकाले मुद्दा चलाउन नपर्ने उल्लेख छ ।

    सिलवालको कासमू अंक एक नम्बरमा रहेको भनी फैसला गर्ने ५ जनामध्ये सुशीला कार्की बाहेक अन्य चारजना न्यायाधीश सर्वोच्च अदालतको शीर्ष वरीयतामा छन् ।

    सर्वोच्च अदालतले चैत ८ मा चार वर्षको कार्य सम्पादन मूल्यांकन हेर्दा सिलवालको अंक बढी भएको भन्दै सबैभन्दा बढी अंक पाउनेलाई प्रहरी महानिरीक्षकमा नियुक्त गर्न आदेश दिएको थियो ।

    तर, ६ महिनापछि पराजुलीसहितका इजलासले उही फाइल हेर्दै झण्डै दुई अंकले सिलवाल भन्दा अर्याल अगाडि रहेको ठहर गरेको थियो । कासमूको सन्दर्भमा सर्वोच्च अदालतका फैसलामै एकरूपता नहुनुले पनि सिलवालविरुद्ध किर्ते मुद्दा चल्ने आधार नदेखिएको महान्यायाधिवक्ता कार्यालय स्रोतले जनाएको छ ।

    तत्कालीन प्रधानन्यायाधीश गोपालप्रसाद पराजुलीसहित न्यायाधीशहरू ओमप्रकाश मिश्र, केदारप्रसाद चालिसे, शारदाप्रसाद घिमिरे, मीरा खड्का, प्रकाशमान सिंह राउत र पुरुषोत्तम भण्डारीको पूर्णइजलासले सुशीला कार्कीसहितको इजलासले गरेको फैसलामा उल्लेख भए जस्तो सिलवालको नभइ अर्यालको अंक बढी भएको फैसला गरेको थियो ।

    यो फैसलामा संलग्नमध्ये मीरा खड्का र प्रकाशमानसिंह राउत अहिले न्यायाधीश नै छन् । सिलवालको मुद्दा नेपाल प्रहरीको इतिहासमा अनौठो भयो । दुई प्रधानन्यायाधीशसहित १२ जना न्यायाधीश यस मुद्दाको सुनुवाइमा संलग्न भए र फैसला अलग-अलग आए ।

    त्यसो त सिलवाल प्रकरणकै कारण कांग्रेस र माओवादीले तत्कालीन प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्ध महाअभियोग समेत लगाएका थिए । सिलवाल भने सुशीलाको बहिर्गमनसँगै प्रहरीबाट राजीनामा दिएर राजनीतिमा लागे र एमालेबाट टिकट पाई ललितपुर क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभामा सदस्यमा निर्वाचित भए ।

  • अदालतले अपनाउनुपर्ने न्यायिक संयमबारे २६ वर्षअघि गणेशराज शर्माको बहस नोट

    अदालतले अपनाउनुपर्ने न्यायिक संयमबारे २६ वर्षअघि गणेशराज शर्माको बहस नोट

    काठमाडौं । नेपालमा कुनै व्यक्तिको मृत्युपछिमात्र योगदानको चर्चा हुन्छ र सम्मानित बन्छ । तर, नेपालको कानुनी अभ्यासमा स्वर्गीय गणेशराज शर्माको विशिष्ट पहिचान र सम्मान छ । उनी जीवित हुँदै पनि कानुनी क्षेत्रमा शिखर व्यक्ति थिए ।

    प्रखर राष्ट्रिय चिन्तनले ओतप्रोत शर्माले न्यायिक शुद्धता र निष्पक्षतामा सधैं जोड दिइरहे । वीपी कोइरालाको आत्मकथा उनले संकलन गरेका थिए । उनी नेपालको राजनीतिलाई समेत प्रभावित पार्न सक्ने वरिष्ठ कानुनविद् थिए ।

    सर्वोच्च अदालत गणेशराज शर्माका बहस र उनले पेश गरेका बहस नोटबाट धेरेपटक लाभान्वित हुन्थ्यो । अदालतलाई भित्री हृदयदेखि श्रद्धा गर्ने तथा बहसमा उपस्थित हुँदा आफ्नो अध्ययनको गहिराईका साथ प्रस्तुत हुने व्यक्तित्वका कारण उनका विचार र बहसलाई न्यायपालिकाले सधैं गम्भीरतापूर्वक लिन्थ्यो ।

    वरिष्ठ अधिवक्ता स्व. शर्माले न्यायिक संयमको सिद्धान्तसमेत व्याख्या गर्दै तत्कालीन प्रधानन्यायाधीश विश्वनाथ उपाध्यायसहितको इजलास समक्ष २०५२ साल साउनमा सर्वोच्च अदालतमा बुझाएको एकसठी बुँदे ‘बहस नोट’ आफैंमा एउटा न्यायिक हातेपुस्तिका बन्न सक्छ ।

    शर्मा गिरिजाप्रसाद कोइराला र मनमोहन अधिकारी दुवै प्रधानमन्त्रीले गरेको प्रतिनिधिसभा विघटनको पक्षमा उभिएका थिए । मनमोहनले गरेको विघटनलाई सर्वोच्च अदालतको इजलासका बहुमत न्यायाधीशले बदर गरेका थिए ।

    त्यसबेला शर्माले पेश गरेको बहस नोटमा झल्केको शर्माको प्रखर बौद्धिकता एवम् न्यायिक आकांक्षा आजको सन्दर्भमा पनि उत्तिकै सार्थक हुने देखिएकाले न्यायिक संयमको सिद्धान्तबारे शमाले प्रस्तुत गरेको बुँदाको सार संक्षेप यहाँ पुन: उद्धृत गरिएको छ ।

    राजनीतिक मुद्दामा न्यायपालिका

    न्यायिक संयमको सिद्धान्त (थ्योरी अफ जुडिसियल रेस्ट्रेन्ट)ले संविधानसँग स्पष्ट रूपले बाझिएको अवस्थमा बाहेक कुनै कानुन वा संवैधानिक प्रावधानको विपक्षमा आदेश गर्नबाट न्यायपालिकालाई जोगाउँछ ।

    राजनीतिक प्रश्नको सिद्धान्त (पोलिटिकल क्वेस्चन डक्ट्रिन)ले विवादास्पद राजनीतिक मुद्दामा प्रवेश गर्नबाट न्यायपालिकालाई जोगाउँदै शक्ति पृथकीकरणको अभ्यासलाई जीवन्त राख्दछ । न्यायपालिकाले राज्यका अन्य अंगसँग द्वन्द्वको बाटो किन रोज्नुहुँदैन वा कसरी कार्यापलिका, व्यवस्थापिका र न्यायपालिकाबीचको परिभाषित अधिकारलाई न्यायिक संरक्षण प्रदान गर्ने भन्ने विषयमा न्यायिक अभ्यासका अनेकौं नजीरहरू नेपाल र प्रजातान्त्रिक विश्वमा स्थापित भएका छन् ।

    सार्वजनिक हक र सरोकारका कतिपय प्रश्नहरू राजनीतिक प्रकृतिका भएपनि कुनै संवैधानिक प्रावधानको व्याख्या र प्रचलनको तात्विक र गम्भीर प्रश्न उपस्थित हुँदा त्यस्ता विषयहरूमा सर्वोच्च अदालतले निर्णय गर्ने न्यायिक सक्रियता कायमै राखेका अनेकौं नजीरमध्ये बालकृष्ण नेउपाने निवेदक भएको टनकपुर व्यारेज सम्बन्धी सम्बत् २०४८ सालको रिट नम्बर १८५१ को मुद्दा हो ।

    बहुमतद्वारा समर्थित सम्माननीय प्रधानन्यायाधीश श्री विश्वनाथ उपाध्यायले व्यावहारिक औचित्यको सिद्धान्त प्रतिपादन गर्दै हरेक विवादको टुङ्गो लगाउने उपयुक्त निकाय अदालत नै हुन नसक्ने निष्कर्ष यसरी व्यक्त गर्नुभएको छ- ‘संविधानको धारा १२६ को उपधारा (२ ) मा उल्लेख भएका विषयहरू सम्बन्धी सन्धि वा सम्झौताबाट राष्ट्रलाई के कस्तो असर पर्छ भन्ने कुराको निर्णय कसले र कहिले गर्ने भन्ने कुरा बस्तुतः आफैंमा एउटा जटिल प्रश्न छ । सन्धि वा सम्झौताबाट राष्ट्रलाई कस्तो असर पर्छ भन्ने कुरा निर्णय गर्नको लागि त्यस्तो कानुनी र संवैधानिक पक्षका अतिरिक्त आर्थिक, प्राविधिक तथा अन्य विभिन्न पक्षहरूमा पनि विचार गर्नुपर्ने हुन्छ । सन्धि वा सम्झौताको असर के कति व्यापक गम्भीर वा दीर्घकालीन हुन् सक्दछ भन्ने कुरा कोरा तर्कको आधारमा वा सम्झौताका लिखतमा व्यक्त भएका कुराहरूबाट मात्र यकिन हुन सक्दैन । ‘गम्भीर’, ‘व्यापक’ र ‘दीर्घकालीन’ भन्ने सापेक्षिक कुरा हुन् जसको निरूपण सबै सम्बद्ध कुराहरूको समष्टिगत अध्ययन र विश्लेषणबाट मात्र हुन सक्दछ । यस स्थितिमा प्रश्न उठ्छ: के यस्त कुराहरू हेर्न र निर्णय गर्नको लागि अदालत उपयुक्त निकाय हो त ? होइन भने त्यो हेर्ने वा निर्णय गर्ने कसले ? यथार्थमा माथि उल्लेख भए अनुसार विभिन्न आधारमा निर्णय हुनुपर्ने यस्ता प्रश्नहरूको समाधान सरकार र संसदमा रहेका रहेका जनप्रतिनिधिहरूबाटै हुनु उपयुक्त देखिन्छ ।’

    विशेष इजलासका सम्माननीय प्रधानन्यायाधीशको त्यस रायमा राज्यका व्यवस्थापिका र कार्यपालिकाका अधिकार क्षेत्र अन्तर्गतका कुराहरूमा अहस्तक्षेपको न्यायिक संयमको सिद्धान्त स्थापित हुन गएको छ । न्यायिक व्याख्याको अन्तिम र सर्वोपरी अधिकार सर्वोच्च अदालतले कायम राख्दै संवैधानिक सर्वोपरिता र शक्ति पृथकीकरणको सिद्धान्तलाई पनि सर्वोच्च अदालतले अक्षुण्ण राख्ने सतर्कता आफ्ना फैसलाहरूद्वारा देखाएको छ ।

    न्यायिक व्याख्याको अन्तिम र सर्वोपरी अधिकार सर्वोच्च अदालतले कायम राख्दै संवैधानिक सर्वोपरिता र शक्ति पृथकीकरणको सिद्धान्तलाई पनि सर्वोच्च अदालतले अक्षुण्ण राख्ने सतर्कता आफ्ना फैसलाहरूद्वारा देखाएको छ ।

    सर्वोच्च अदालतको वृहद विशेष इजलासहरूबाट प्रतिपादित न्यायिक संयमको सिद्धान्तका साथै व्यवहारिक औचित्यको सिद्धान्त र राज्यका अन्य अंगहरूद्वारा सम्पन्न गरिने आफ्नो भूमिकाको सम्बन्धमा अहस्तक्षेपको न्यायिक सिद्धान्त पनि स्पष्टता र दृढताका साथ कायम राखिएको छ । त्यस्तै, कतिपय सन्दर्भमा राजनीतिक प्रश्नको सिद्धान्त अन्तर्गत राजनीतिक विवादको निरूपण गर्न तत्पर नरहेका नजीरहरू स्थापित गरेको छ ।

    राजनीतिक प्रतिस्पर्धाको विवादमा अदालत पस्न हुँदैन

    न्यायका सर्वमान्य सिद्धान्त बमोजिम नेपालमा अनुसरण गरिएका न्यायिक संयमको सिद्धान्तको समर्थनमा केहि विदेशी न्यायिक सामग्रीहरू उल्लेख गर्दा अत्यन्त पुरानो र प्रजातान्त्रिक ढाँचाको लिखित संविधान भएको मुलुक संयुक्त राज्य अमेरिकाको सर्वोच्च अदालतका प्रधानन्यायाधीश जोन मार्शलले मार्बरीविरुद्ध म्याडिसन मुद्दामा सन् १८०३ मा गर्नुभएको निर्णयमा व्यक्त भनाई त्यहाँ अद्यापि न्यायिक निरूपणमा उल्लेख भएको पाइन्छ:

    ‘अदालतको दायित्व नागरिक अधिकारका बारेमा निर्णय गर्नु हो, कार्यपालिका वा त्यसका अधिकारीहरूलाई कानुनले विवेक प्रयोग गर्न छोडिएदिएको विषयमा प्रवेश गर्नु होइन । राजनीतिक प्रकृतिका प्रश्न वा संविधान र कानुनले कार्यपालिकालाई छोडिदिएका अधिकारको प्रश्नमा यस अदाललते निर्णय गर्न सक्दैन ।’

    जनताको राजनीति (पोलिटिक्स अफ द पिपुल)का विषयमा अदालत प्रवेश गर्नु लोकतन्त्रको स्वास्थ्यका लागि हानिकारक भएको स्पष्ट सिद्धान्त अमेरिकी सर्वोच्च न्यायालयका जस्टिस फ्र्यांकफर्टरले सन् १९४६ मा कोलग्रोभविरुद्ध ग्रीन मुद्दामा कायम राख्नुभएको थियो ।

    ‘अदालतको दायित्व नागरिक अधिकारका बारेमा निर्णय गर्नु हो, कार्यपालिका वा त्यसका अधिकारीहरूलाई कानुनले विवेक प्रयोग गर्न छोडिएदिएको विषयमा प्रवेश गर्नु होइन । राजनीतिक प्रकृतिका प्रश्न वा संविधान र कानुनले कार्यपालिकालाई छोडिदिएका अधिकारको प्रश्नमा यस अदाललते निर्णय गर्न सक्दैन ।’

    विशुद्ध राजनीतिक प्रतिस्पर्धासँग सम्बन्धित प्रश्नलाई कानुनका अस्पष्ट शब्दावलीमा बेरेर अदालती व्याख्या गर्न थालियो भने संसद (काँग्रेस)को अस्तित्व नै खतरामा पर्ने भनी जोन मार्शलले फैसला गर्नुभएको देखिन्छ ।

    राजनीतिक प्रश्नहरूमा संलग्न नहुने न्यायिक संयमको सिद्धान्तको नयाँ सीमांकन गर्दा कुन विवादको निरूपण गर्ने र कस्तो विवादको निरूपण नगर्ने कुरा सन् १८४६ मा प्रतिपादित बेकर विरुद्ध कार मुद्दाको सिद्धान्तले स्पष्ट गरेको छ । नजीरका रुपमा उल्लेख हुँदा यस मुद्दालाई पोलिटिकल क्वेस्चन डक्ट्रिन उल्ट्याइएको अर्थमा लिनु गलत हुन्छ ।

    विशुद्ध राजनीतिक प्रतिस्पर्धासँग सम्बन्धित प्रश्नलाई कानुनका अस्पष्ट शब्दावलीमा बेरेर अदालती व्याख्या गर्न थालियो भने संसद (काँग्रेस)को अस्तित्व नै खतरामा पर्ने भनी जोन मार्शलले फैसला गर्नुभएको देखिन्छ ।

    किनभने यसमा अमेरिकी सर्वोच्च अदालतले केहि नयाँ कुरा भनेपनि शक्ति पृथकीकरणमा आधारित त्यस देशको प्रजातान्त्रिक प्रणालीमा कार्यकारिणी र व्यवस्थापिकाको अधिकारको परिधिलाई समाप्त पारेको छैन । व्याख्याको सर्वोपरी अधिकार ग्रहण गरेपनि संवैधानिक सर्वोच्चताको उल्लङ्घन सर्वोच्च अदालतले हालसम्म गर्न चाहेको छैन । यस सिद्धान्तमा उभिएर राजनीतिक प्रश्नहरूका साथ व्यवहारिक राजनीतिको कुरामा अमेरिकी न्यायिक टिप्पणीहरू प्रशस्त पाइन्छन् ।

    के सर्वोच्च अदालतले अन्तिम व्याख्याताको रुपमा आफ्नो अधिकार क्षेत्र अन्तर्गतका सबै संवैधानिक प्रश्नहरूको निरूपण र निर्णय गर्दछ ? अथवा के केहि संवैधानिक प्रश्नलाई न्यायिक निरूपणका लागि अनुपयुक्त पनि देख्दछ ? यस विषयमा अमेरिकी सर्वोच्च अदालतको विस्तृत दृष्टिकोण के रहेको छ भन्ने विषयमा विधिशास्त्रका विख्यात प्राध्यापक रोनाल्ड रोटुण्डाद्वारा लिखित मोडर्न कन्स्टिच्युसनल लः केसेज एण्ड नोट्स पुस्तकले विस्तृत विवेचना गरेको छ । न्यायपालिकाले सीमित र संयमित न्यायिक पुनरावलोकनको बाटो रोजेको जबर्जस्त मत यस विवेचनाले पेस गरेको छ ।

    त्यसैगरी, राजनीतिक प्रश्नहरूमा न्यायिक पुनरावलोकनको अधिकार सिमित रही आएको ऐतिहासिक विवेचना सहितका विस्तृत टिप्पणी कंग्रेसनल रिसर्च सोसाइटीले सन् १९७२ सम्मका मुद्दाहरूको अध्ययन गरी तयार पारेको कन्स्टिच्युसन अफ द युनाइटेड स्टेट्स अफ अमेरिका नामक प्रतिवेदनमा समेटिएको छ ।

    के सर्वोच्च अदालतले अन्तिम व्याख्याताको रुपमा आफ्नो अधिकार क्षेत्र अन्तर्गतका सबै संवैधानिक प्रश्नहरूको निरूपण र निर्णय गर्दछ ? अथवा के केहि संवैधानिक प्रश्नलाई न्यायिक निरूपणका लागि अनुपयुक्त पनि देख्दछ ? यस विषयमा अमेरिकी सर्वोच्च अदालतको विस्तृत दृष्टिकोण के रहेको छ भन्ने विषयमा विधिशास्त्रका विख्यात प्राध्यापक रोनाल्ड रोटुण्डाद्वारा लिखित मोडर्न कन्स्टिच्युसनल लः केसेज एण्ड नोट्स पुस्तकले विस्तृत विवेचना गरेको छ ।

    राजनीतिक प्रश्नको सिद्धान्तकै सम्बन्धमा प्रसिद्ध कानुनवेत्ता विलियम लकहार्ट समेत चार जना प्राध्यापकद्वारा लेखिएको पुस्तक कन्स्टिच्युसनल ल: केसेज एण्ड कमेन्ट्स पनि उल्लेखनीय छ । अमेरिकी सर्वोच्च अदालतले प्रतिपादन गरेको राजनीतिक प्रश्नसम्बन्धी सिद्धान्तदेखि हालसम्मका अवधारणाहरूको विस्तृत विवेचनाद्वारा राजनीतिक मुद्दामा न्यायालयले सीमित र संयमित अधिकार प्रयोग गर्दै आएको र त्यसलाई निरन्तरता दिनुपर्र्नेे आवश्यकता उनीहरूले औंल्याएका छन् ।

    राजनीतिक प्रश्नहरू समावेश हुँदैमा अदालतले स्वत: आफ्नो अधिकार क्षेत्र नै प्रयोग नगर्ने कुरा सर्वोच्च अदालतले मान्दैन । मुद्दामा निहित विवादको प्रकृतिलाई हेरेर अदालतले कुनै राजनीतिक प्रश्न न्यायिक निरूपणको हो कि होइन भनी निक्र्यौल गर्नुपर्ने दृष्टिकोण बेकर विरुध्द्ध कार मुद्दाले लिएको छ । राज्यको शक्ति पृथकीकरणको सिद्धान्तलाई ध्यानमा राखेर राज्यको एउटा अंगले आफ्नो विवेकीय अधिकार प्रयोग गर्ने कुरामा अर्को अंग अर्थात अदालतले आफ्नै विवेक प्रतिष्ठापित गर्न नमिल्ने सिद्धान्तलाई त्यसले मानेको छ ।

    नेपालमा सर्वोच्च अदालतले राधेश्याम अधिकारी, बालकृष्ण नेउपाने र हरिप्रसाद नेपाल समेतको मुद्दामा प्रतिपादन गरेको राजनीतिक प्रश्नउपर संयमको सिद्धान्तलाई माथि उल्लिखित अमेरिकी सर्वोच्च अदालतका विभिन्न निर्णयहरू र संवैधानिक कानुनका मान्यता प्राप्त ग्रन्थहरूको आधारमा विघटनको कारवाईका प्रति न्यायिक दृष्टिकोण स्थापित गर्न अवश्य नै मद्दत मिल्दछ ।

    अमेरिकी शासन पद्दतिको भिन्नताका कारण हाम्रो परिवेशमा जस्ताको त्यस्तै मिल्ने नजीर त्यस देशको संवैधानिक कानुनमा पाइन सम्भव छैन । तर, त्यस देशको सर्वोच्च अदालतले राजनीतिक प्रश्नहरूको सिद्धान्त अन्तर्गत यस प्रकारको राजनीतिक विवादको मुद्दा पर्न आएको भए कुन न्यायिक अवधारणा अनुसरण गर्ने थियो भन्ने अनुमानको लागि माथि उल्लिखित न्यायिक सिद्धान्त र टिप्पणीकारहरूका मान्य कानुनी धारणाले स्पष्ट दिशा निर्देश गर्दछन् । न्यायिक निरूपणका क्रममा कार्यपालिका वा विधायिकासँग अथवा अमेरिकाको सन्दर्भमा राष्ट्रपति संस्थासँग द्वन्द्वको बाटो रोज्नु हुँदैन भन्नेमा अमेरिकी न्यायपालिका सधैं सचेत रहेको देखिन आउँछ ।

  • धारा ७६(५) निर्दलीय व्यवस्था होइन, एमालेका सांसद देखाएर देउवाको दावी पुग्दैन

    धारा ७६(५) निर्दलीय व्यवस्था होइन, एमालेका सांसद देखाएर देउवाको दावी पुग्दैन

    संसद विघटनको विषय पहिले पनि संवैधानिक इजलासले नै निरुपण गरेको हुनाले कसले हेर्ने भन्नेमा अहिले धेरै ठूलो विवाद भएन । अघिल्लोपल्ट वृहत इजलासमा लैजाने कि संवैधानिक इजलासमा लैजाने भन्नेमा निकै लामो विवाद भएको थियो । यसपटक संवैधानिक इजलासको गठनमा विवाद भए पनि अरु कुरा भएन ।

    शेरबहादुर देउवासहितले दायर गरेको रिटमा माधव नेपालहरुलाई कारवाही गर्न आँटे भन्दै कारवाही नगर्न माग गरेका थिए । तर, यस्तै विषयमा पहिले पनि रिट दायर भएको थियो। माधव नेपालहरुले केपी ओलीको विरुद्धमा मलाई कारवाही गर्न आँट्यो, त्यसलाई रोकिपाउँ भनेर रिट हालिएको थियो । त्यो मुद्दामा अन्तरिम आदेश भएन । न्यायाधीश प्रकाश ढुंगानाको इजलासबाट लिखित जवाफ पेस गर्न आदेश दिँदै अग्राधिकार दिइएको थियो । त्यसमा अन्तरिम आदेश जारी भएको छैन् भने त्यही विषय यो रिटबाट हेर्ने कुरा भएन । त्यसैले यो विषयमा अन्तरिम आदेशको कुनै सम्भावना रहेन ।

    अबको फैसलाबाट धारा ७६ को थप व्याख्या हुने त छँदै छ । त्यससँगै नेपालको संविधान बमोजिम राष्ट्रपतिको अधिकार कति हो ? यसमा पनि परिभाषित गर्नुपर्ने अवस्था आयो । धारा ७६ को उपधाराहरु १, २, ३ र ५ को प्रयोग जुन छ, त्यो प्रयोग राष्ट्रपतिको स्वविवेकीय अधिकार हो कि या कुनै निकायको सिफारिसमा गर्नुपर्छ ? यसबारे पनि व्याख्या गनुपर्ने भयो ।

    ७६ (५)को अहिले जुन प्रश्न आएको छ, त्यसमा उपधाराहरु १, २ र ३ बमोजिम सरकार गठन हुन नसकेमा ७६ (२) बमोजिमको कुनै सदस्यले सरकार बनाउन सक्छु भनेर राष्ट्रपतिसमक्ष विश्वासिलो आधार प्रस्तुत गरेमा भनेको छ । यसले त्यो विश्वासिलो आधार भनेको के हो त्यो पनि व्याख्या हुने भयो ।

    विश्वासिलो आधार पेस गरेमा भनिएको छ, त्यो आधार भनेको के ? जस्तै अहिले दुईटा कुरा पेस भए । एउटा कुरा, देउवाजीले सांसदहरुको हस्ताक्षर लिएर पेस गर्नुभयो । हस्ताक्षरमा पनि विवाद भयो । केही सांसदले मेरो त्यो हस्ताक्षर नै होइन भनेर विज्ञप्ति निकाले, राष्ट्रपति समक्ष निवदेन नै हाले । राष्ट्रपतिसमक्ष पठाइएका सांसदहरुको हस्ताक्षरसहित अदालतमा पनि निवेदन पेस भयो । देउवाले अहिले पनि बहुमत मेरो छ भन्नुहोला । तर, अहिले निवेदन दिँदा किन संख्या घट्यो ?

    यता केपी शर्मा ओलीले दलीय सर्मथन पेस गर्नुभयो । संसदीय राजनीतिमा दलीय सर्मथन विश्वासिलो आधार हुन्छ कि संख्या त्यो पनि नेपाली कांग्रेस संसदीय दलको नेतालाई प्रधानमन्त्री बनाउन एमालेका सांसदहरुको हस्ताक्षर । यो मान्य हुने किन नहुने भन्ने प्रश्न छ ।

    कतिपयले धारा ७६ (५) मा सांसदहरुले स्वविवेकीय अधिकार प्रयोग गर्न सक्ने भनेका छन् । मेरो विचारमा यसमा उम्मेदवार चाहिँ निर्दलीय हुन्छ, तर सांसदहरुलाई दलको ह्वीप लाग्छ । एमालेका सांसद देखाएर दलको निर्णयबिना कुनै व्यक्तिले आफू प्रधानमन्त्री बन्ने दावी गर्न सक्दैन । संविधानको कुनै एउटा धाराले निर्दलीय व्यवस्था परिकल्पना गर्न सक्दैन ।

    यहाँनिर एउटा तर्क भोट हालिसकेपछि दलीय ह्वीप लाग्छ भन्ने कुरा आयो । तर, यहाँ भोट हाल्नु भन्दा पहिले नै अन्य दलको उम्मेदवारलाई सर्मथन गर्नेलाई कारवाही गर्छाैं भनिसक्यो । निवेदन दिइसकेका थिए ।

    राष्ट्रपतिले दुईटै दावी मिलेन भन्नुभयो । त्यो ‘जजमेन्ट’ नै भयो। उहाँ आफैले कोर्टको काम गर्नु भयो, आफैंले न्यायाधीशको काम गर्नुभयो । न्यायाधीश उहाँ हुनपाउनुहुन्न । उहाँले गरेको काम मिलेन भन्ने अर्को तर्क छ ।

    यदि ७६ (५)को कुरा राष्ट्रपतिमा अन्तरनिहीत अधिकार हो भन्ने मान्छौं भने यसमा अदालतले हस्तक्षेप गर्नै पाउँदैन । त्यहाँ प्रवेश नै गर्न पाउँदैन । किनभने हाम्रो संविधानले राष्ट्रपतिले गरेका काम उपर कुनै पनि अदालतमा मुद्दा नचलाउने व्यवस्था गरेको छ ।

    यदि यो कसैको सिफारिसमा गरेको हो भन्ने हो भने र अदालतले पनि त्यही व्याख्या गर्यो भने मुद्दा लाग्ने भयो । हेर्न सक्ने भयो । हैन, त्यो राष्ट्रपतिको अन्तरनिहीत अधिकार हो । त्यो कुनै पनि निकाय वा पदाधिकारीको सिफारिसमा गर्ने होइन, त्यो राष्ट्रपति आफैले गर्ने हो भन्न हो भने त्यहाँ मुद्दा लाग्न सक्ने अवस्था नै भएन । त्यो स्वतः खारेज हुन्छ ।

    पहिले राजाकाजविरुद्ध मुद्दा लाग्दैन्थ्यो- संवैधानिक राजतन्त्रमा । त्यो विश्वव्यापी प्रचलन नै थियो । २०४८मा कल्याणविक्रम अधिकारीलाई फ्रान्सका लागि राजदूत नियुक्त गरियो । त्यो चाहिँ मन्त्रिपरिषद्को सिफारिस बेगर राजाले गरेका थिए । अहिलेका राष्ट्रियसभाका सदस्य राधेश्याम अधिकारीले त्यसविरुद्ध मुद्दा दायर गर्नु भएको थियो । कि हाम्रो सिफारिस वेगर भएको छ भनेर मन्त्रिपरिषद्ले फिर्ता बोलाउनुपर्‍यो होइन भने राजाविरुद्ध मुद्दा लाग्दैन भन्ने फैसला त्यतिबेला भएको थियो ।

    नेपालको पहिलो राष्ट्रपति रामवरण यादवले रुक्मांगत कटुवाललाई थमौतीविरुद्ध मुद्दा पर्‍यो । त्यतिबेला सर्वोच्चले राष्ट्रपतिले गरेका काममाथि मुद्दा लाग्दैन, तर राष्ट्रपति कार्यालय उपरचाहिँ लाग्छ भनेर फैसला गरेको छ । त्यसपछि राष्ट्रपति कार्यालयलाई विपक्षी बनाउन थालियो ।

    चार वटा रिटलाई छोडेर अरु सबै रिटमा शेरबहादुर देउवालाई नियुक्त गर्न परमादेशको माग गरिएको छ। अदालतले प्रधानमन्त्री नियुक्त गर्न परमादेश दिने कुनै सम्भावना नै छैन । त्यस्तो अदालतले गर्नै सक्दैन ।

    अदालतले निवेदको हकमै गर्नुपने भयो भने पनि यो विषयमा जे-जे बुझ्नुपर्ने छ बुझी पुनः निर्णय गर्नू भन्न सक्छ । अदालतले त्यस्तो फैसला गरेमा फेरि संसद पुनर्स्थापना हुन्छ । अनि राष्ट्रपतिका काँधामा अर्को दायित्व आउँछ ।

    तर, दलीय व्यवस्थामा सांसदहरुले पार्टी र संसदीय दलको निर्णय भन्दा बाहिर गएर निर्णय गर्न पाउँदैनन् । ह्वीप उल्लघंन गर्ने बित्तिकै सांसद पद पनि जान्छ ।

    धारा ७६(५) अनुसार सबै सांसदको व्यक्तिगत अधिकार हुन्छ, जसले जे गर्न पनि पाउँछन् भन्ने हो भने दलीय व्यवस्था नै समाप्त हुन्छ ।

    समग्रमा हेर्दा, यसपालि जे फैसला आएपनि एकातिर राष्ट्रपतिको अधिकारबारे व्याख्या हुने भयो भने धारा ७६ को पनि थप व्याख्या हुने भयो।

    (नेपाल बार एशोसियसिनका कोषाध्यक्ष अधिवक्ता पोखरेलसँग गरिएको कुराकानीमा आधारित)

  • सिके राउतलाई उपस्थित हुन नवलपरासी अदालतको ३५ दिने म्याद

    सिके राउतलाई उपस्थित हुन नवलपरासी अदालतको ३५ दिने म्याद

    काठमाडौं । जनमत पार्टीका अध्यक्ष सिके राउतलाई ३५ दिनभित्र हाजिर हुन नवलपरासी जिल्ला अदालतले म्याद सूचना जारी गरेको छ ।

    गोरखापत्र दैनिकमा सूचना निकालेर अदालतले यसअघि पक्राउ पुर्जी जारी गरिएकोमा घर पत्ता नलागेकोले मुलुकी फौजदारी कार्यविधि संहिताबमोजिम सवुदसहित उपस्थित हुन भनिएको हो ।

    सूचनामा रौतहट लेखिएपनि उनको घर ठेगाना सप्तरीको महदेवा गाउँपालिका हो ।

    राउतविरुद्ध नवलपरासी अदालतनमा राज्यविरुद्धको संगठित अपराधको मुद्दा विचाराधीन छ ।

    तराईलाई नेपालबाट अलग गर्नुपर्छ भनेर गतिविधि चलाइरहेका राउतले मूलधारको राजनीतिमा फर्कने उद्घोषसहित सरकारसँग २०७५ फागुन २४ मा सहमति गरेका थिए ।

    पक्राउ गर्न कतैबाट पत्र वा सूचना नआएको धनुषाका डीएसपी मकेन्द्र मिश्रले नेपाल प्रेसलाई बताए ।