Tag: अग्नि सापकोटा

  • न्यायाधीश हरिकृष्ण कार्कीका कारण सभामुखविरुद्धको मुद्दा आज पनि हेर्न नमिल्ने

    न्यायाधीश हरिकृष्ण कार्कीका कारण सभामुखविरुद्धको मुद्दा आज पनि हेर्न नमिल्ने

    काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाविरुद्ध परेको फौजदारी अभियोयगसम्बन्धी द्वन्द्वकालीन मुद्दा आज पनि संवैधानिक इजलासमा हेर्न नमिल्ने भनेर पन्छाइएको छ ।

    संवैधानिक इजलासमा रहेका न्यायाधीश हरिकृष्ण कार्कीले कानून व्यवसायी हुँदा रिट निवेदकको पक्षबाट बहस गरेको हुनाले हेर्न नमिल्नेमा परेको हो । सापकोटाको मुद्दा १० वर्षदेखि अदालतमा विचाराधीन छ ।

    काभ्रेका अर्जुन लामाको अपहरणपछि हत्या गरेको भन्दै पत्नी पूर्णिमाया लामाले सापकोटाविरुद्ध २०६८ सालमा मुद्दा दायर गरेकी थिइन् । द्वन्द्वकालीन घटना भएकाले यो मुद्दालाई सुशीला कार्कीको पालामा संवैधानिक इजलासमा पठाइएको थियो ।

  • सभामुखको टिप्पणी- संसदको गरिमालाई अवमूल्यन गर्ने प्रयासमा लगाम लाग्यो

    सभामुखको टिप्पणी- संसदको गरिमालाई अवमूल्यन गर्ने प्रयासमा लगाम लाग्यो

    काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले संसद पुन:स्थापित भएसँगै प्रतिनिधिसभाको गरिमालाई अवमूल्यन गर्ने प्रयासमा लगाम लागेको टिप्पणी गरेका छन् ।

    दोस्रो पल्ट पुन:स्थापित संसदको पहिलो बैठकको शुरूमै आफ्नो मन्तव्य राख्दै सभामुख सापकोटाले संसद विघटनलाई शक्ति पृथकीकरण तथा नियन्त्रण र सन्तुलनको सिद्धान्तविपरीत चालिएको कदम भनेका छन्।

    ‘शक्ति पृथकीकरण तथा नियन्त्रण र सन्तुलनको सिद्धान्तविपरीत चालिएको कदम एकपटक फेरि असफल भएको छ,’ उनको भनाइ छ, ‘प्रतिनिधिसभाको गरिमालाई अवमूल्यन गर्ने प्रयासमा लगाम लागेको छ। प्रतिनिधिसभाको पुन:स्थापनासँगै राजनीतिक स्थिरता र यसमार्फत् विकास र समृद्धिको जनचाहनालाई सम्बोधन गर्ने हाम्रो लक्ष्यमा दत्तचित्त हुन हामी सबैलाई प्रेरणा मिल्नेमा मेरो विश्वास छ।’

    प्रतिनिधिसभा पुनः क्रियाशील भएसँगै सार्वभौमसत्ताको अभ्यास गर्ने अवसर मात्र प्राप्त भएको भन्दै उनले यसलाई गतिशील, जीवन्त र जनमुखी बनाउने थपिएको बताएका छन् । यसका लागि उनले प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने राजनैतिक दलहरुलाई आह्वान समेत गरेका छन्।

    प्रतिनिधिसभा पुन:स्थपित गरेकोमा उनले सर्वोच्च अदालतप्रति आभार प्रकट पनि गरेका छन्।

  • सभामुखको सर्वदलीय बैठक : समसामयिक विषयमा ‘कर्मकाण्डी’ छलफल

    सभामुखको सर्वदलीय बैठक : समसामयिक विषयमा ‘कर्मकाण्डी’ छलफल

    काठमाडौं । सभामुख अग्नि सापकोटाले आज शिर्ष नेताहरुको बैठक बोलाएर आफ्नो राजनीतकि सक्रियतालाई निरन्तरता दिएका छन् । सर्वदलिय बैठक भनिए पनि सत्तारुढ पार्टी एमाले र जसपा महन्थ ठाकुर पक्षको बैठकमा प्रतिनिधित्व थिएन ।

    समसायिक विषयमा केन्द्रित रहेको बैठकले कुनै ठोस निर्णय भने गरेन । सहभागी नेताहरुले प्रायः पुरानै कुरा दोहोर्‍याएकाले बैठक कर्मकाण्डी मात्रै भयो । बैठकमा संसद विघटनदेखि चुरे दोहनसम्मका कुरा उठेका थिए ।

    बैठकको सुरुमा सभामुख सापकोटाले पछिल्लो राजनीतिक परिस्थितिबारे बिफ्रिङ गर्दै समयसामयिक विषयमा दलहरुसंग परामर्श गर्न बैठक बोलाएको बताए । सभामुख सापकोटाले त्यसअघि कानुन व्यावसायी र पूर्व सभामुखहरुसंग छलफल गरिसकेका छन् ।

    ‘प्रतिनिधिसभा विघटनको विषय न्यायालयमा विचाराधीन छ । यो बीचमा मन्त्रिपरिषद् पुनर्गठन गरिएको छ । बजेट अध्यादेशबाट आएको छ । चुरे दोहनको विषय छ । यिनै समसामयिक विषयमा परामर्श गर्न बोलाएको हुँ’, सभामुख सापकोटाको भनाई थियो ।

    बैठकमा सहभागी विपक्षी गठबन्धनका नेताहरुले संसद भङ्ग गरेर सरकारले संविधानविपरीत काम गर्दै गएको दोहोर्‍याएका थिए । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले राजनीतिक परामर्श गरेकोमा सभामुखलाई धन्यवाद दिदैं न्यायालयबाट संसद पुनःस्थापना हुनेमा आफू विश्वस्त रहेको बताए । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले सर्वोच्चबाट संसदको शक्ति फर्कने भन्दै व्यवस्थापिका प्रमुखको रुपमा दृढ भूमिका खेल्न सभामुखलाई आग्रह गरे ।

    त्यस्तै पूर्व प्रधानमन्त्रीसमेत रहेका जसपा संघीय परिषदका अध्यक्ष डा.बाबुराम भट्टराईले संविधान रक्षाका लागि सभामुखले उपयुक्त भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिए । बैठकमा संसद विघटन, नागरिकता अध्यादेशबारे सर्वोच्चको आदेश, खानीजन्य निर्माण सामग्री निकासी विवाद लगायतका विषयमा छलफल भएको थियो ।

    बैठकबाट बाहिरिदै पूर्व प्रधानमन्त्री डा. भट्टराईले सभामुखको अग्रसरता संविधानको पक्षमा भएको बताए ।

    ‘संविधान र परिवर्तनविरुद्ध ग्राण्ड डिजाइन भइरहेको छ । यसविरुद्ध न्यायिक लडाई छँदैछ, राजनीतिक रुपमा पनि सभामुखले दिन खोजेको सन्देश सकारात्मक छ’, भट्टराईले भने ।

    आजको सर्वदलिय बैठकमा कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी अध्यक्ष प्रचण्ड, एमाले नेता माधवकुमार नेपाल, जसपाका डा. बाबुराम भट्टराई र उपेन्द्र यादव लगायत सहभागी थिए । बैठकले कुनै ठोस निर्णय भने गरेन ।

    सभामुखको सक्रियताको अर्थ

    नेपालको संविधानले संसद विघटनको अवस्थामा पनि सभामुख पदमुक्त नहुने व्यवस्था गरेको छ । संविधानको धारा ९१ को उपधारा ६ को ‘ख’ मा भनिएको छः प्रतिनिधिसभा विघटन भएको अवस्थामा आफ्नो पदमा बहाल रहेका प्रतिनिधि सभाका सभामुख र उपसभामुख प्रतिनिधि सभाका लागि हुने अर्को निर्वाचनको उम्मेदवारी दाखिल गर्ने अघिल्लो दिनसम्म आफ्नो पदमा बहाल रहनेछन् ।’

    यही कारण गत जेठ ८ मा प्रतिनिधिसभा विघटन भए पनि सापकोटा सभामुखमा यथावत छन् । र, उनले संसदबाहिर आफ्नो सक्रियता देखाइरहेका छन् । यसअघि एक भाषणमा उनले आफूले भविष्यमा ‘असाधारण कदम चाल्न सक्ने’ चेतावनीसमेत दिएका थिए । तर, अहिलेसम्म त्यस्तो कुनै कदम चालेका छैनन् ।

    प्रतिनिधिसभा जीवितै छँदा ‘सक्रिय’ भूमिका निर्वाह गर्न नसकेको आरोप खेपेका सभामुख सापकोटाको सक्रियता विघटनपछि भने बढ्दो छ ।

    गत जेठ ११ गते सभामुख सापकोटाले पूर्व सभामुखहरुसंग छलफल गरेका थिए । सो छलफलमा सापकोटाले प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको कदम असंवैधानिक भएको जिकीर गरेका थिए । लगत्तै जेठ १३ गते कानुन व्यावसायीसंगको छलफलमा सभामुख सापकोटाले आफू असाधारण कदम चाल्न तयार रहेको बताए ।

    ‘जनताको सार्वभौम अधिकार संघीय संसदका ३ सय ३४ जनामार्फत कार्यान्वयन हुने भएकोले सभामुखका रुपमा त्यो अधिकार ममार्फत अभिव्यक्त हुनुपर्छ र त्यसका लागि मैले असाधारण कदम चाल्नुपर्ने पनि हुनसक्छ’, सापकोटाले त्यतिबेला भनेका थिए । त्यसयता शान्त देखिएका सभामुख पुनः सक्रिय भएका छन् ।

    सर्वोच्च अदालतबाट भएका पछिल्लो आदेशहरुबाट सभामुखमा उत्साह थपिएको विश्लेषण गरिएको छ । सर्वोच्चले नागरिकता अध्यादेश लागु नगर्न अन्तरिम आदेश दिएको थियो भने नेकपा एमालेको महाधिवेशन आयोजक कमिटीको वैधानिकताबारे प्रश्न उठाएको थियो ।

    ‘पछिल्लो समय प्रधानमन्त्री ओलीका कदमहरु एकपछि अर्को असफल सिद्ध भइरहेका छन् । यस्तोबेला सरकारलाई दवाव बढाउन सभामुखले अग्रसरता देखाउनुभएको होला’, बैठकमै सहभागि एक नेताले भने ।

    सभामुखले शुक्रबारको बैठकमा नेकपा एमालेका अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई पत्रबाटै निम्तो गरेका थिए । तर प्रधानमन्त्री सो बैठकमा सहभागि भएनन् ।

  • प्रधानमन्त्रीसहित शीर्ष नेतालाई छलफलका लागि सभामुखले पत्र पठाए

    प्रधानमन्त्रीसहित शीर्ष नेतालाई छलफलका लागि सभामुखले पत्र पठाए

    काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलका प्रमुखहरूलाई छलफलका लागि बोलाएका छन् ।

    समसामयिक विषयका लागि छलफल गर्न भन्दै सापकोटाले आज पत्राचार गरेका हुन् । जेठ २८ गते २ बजे निर्धारण गरिएको छलफलमा प्रधानमन्त्री केपी शर्मा ओली, पूर्वप्रधानमन्त्री र संसदमा प्रतिनिधित्व गर्ने दलका शीर्ष नेतालाई आमन्त्रण गरिएको छ ।

    नयाँ बानेश्वरस्थित संसद भवनको ल्होत्से हलमा तय गरिएको बैठकमा समसामयिक विषयमा छलफल हुने सभामुखको सचिवालयले जनाएको छ ।

  • सभामुखले पनि संसद अधिवेशन आव्हानको सिफारिस गर्न सक्छन् : संविधानविद् भट्टराई

    सभामुखले पनि संसद अधिवेशन आव्हानको सिफारिस गर्न सक्छन् : संविधानविद् भट्टराई

    काठमाडौं । संविधानविद् टीकाराम भट्टराईले सभामुखले प्रतिनिधिसभा बैकक आह्वानका लागि राष्ट्रपतिसमक्ष सिफारिस गर्नसक्ने बताएका छन् ।

    बिहीबार सभामुखसँगको छलफलको क्रममा भट्टराईले अधिवेशन आह्वान राष्ट्रपतिले मात्रै गर्न सक्ने भए पनि सिफारिस भने सभामुखले पनि गर्न सक्ने तर्क गरेका हुन् ।

    ‘सर्वोच्चको फैसलालाई उदृत गर्दै सम्माननीय सभामुखले राष्ट्रपतिलाई प्रतिनिधिसाको बैठक आह्वान गर्न सिफारिस गर्न सक्नुहुन्छ,’ भट्टराईले भने, ‘मन्त्रिपरिषदले मात्रै अधिवेशन आह्वान सिफारिस गर्न सक्दैन ।’

    अधिवेशनको आह्वान गर्ने अधिकार भने केवल राष्ट्रपतिलाई मात्रै भएको उनको भनाइ छ । उनले सर्वोच्चको फैसला बमोजिम संसद जीवितै भएको बताए। ‘अधिवेशनमात्रै नबसेको हो सर्वोच्चको फैसला बमोजिम प्रतिनिधिसभा जीवित छ,’ भट्टराईले भने।

    संविधानवाद, संसदीय व्यवस्था र संवैधानिक सर्वोच्चताको जगेर्ना गर्ने दायित्व सभामुखलाई पनि भएको बताउँदै भट्टराईले जेठ १५ मा बजेट ल्याउन संसद हुनै पर्ने दावी गरे ।

    उनले भने, ‘प्रत्येक वर्ष जेठ १५ गते हरहालतमा बजेट प्रतिनिधिसभामा पेस गर्नुपर्छ भनिएकाले प्रतिनिधिसभा मर्दैन ।’

  • सभामुख-पूर्वसभामुख छलफल : बजेटअघि नै संसद पुन:स्थापित होस्

    सभामुख-पूर्वसभामुख छलफल : बजेटअघि नै संसद पुन:स्थापित होस्

    काठमाडौं । पूर्वसभामुखहरूले बजेट आउनुअघि नै विघटित संसद पुन:स्थापित हुनुपर्ने माग माग गरेका छन् । मंगलबार सभामुख अग्निप्रसाद सापकोटाले पूर्वसभामुखहरूसँग गरेको छलफलमा यस्तो जोड दिइएको हो ।

    नेपाली कांग्रेसका वरिष्ठ नेता एवम् पूर्वसभामुख रामचन्द्र पौडेलले संसद विघटनविरुद्ध सर्वोच्च अदालतमा मुद्दा परेको र सर्वोच्चले बहुमत सांसदको भावनाअनुसार फैसला गर्ने अपेक्षा व्यक्त गरे । सदन नहुँदा जेठ १६ मै बजेट ल्याउनुपर्नै संविधानको प्रावधान बाध्यकारी नहुने भन्दै सदनबाटै बजेट ल्याउनुपर्ने कुरा छलफलमा उठेको जानकारी दिए ।

    ‘सर्वोच्चबाट बहुमतको आकांक्षा अनुसारको फैसला आउने छ,’ छलफलपछि संसद भवनबाहिर संवाददाताहरूसँग पौडेलले भने, ‘सदन नहुँदा जेठ १५ मै बजेट ल्याउनुपर्छ भन्ने छैन । असार मसान्तसम्म बजेट ल्याउने समय छ । सदनबाटै बजेट ल्याउनु उपयुक्त हुन्छ भन्नेबारेमा हामीले छलफल गर्‍यौं ।’

    हरेक समस्याको समाधान संसदबाट खोज्नुपर्नेमा अहिले त्योभन्दा बाहिर गएकोप्रति आफूहरुले चिन्ता व्यक्त गरेको समेत पौडलले बताए। ‘हाम्रा जति पनि समस्या हुन्छन्, ती समस्याको हल गर्न नै जनताले जनप्रतिनिधि संस्था बनाएका हुन्,’ उनले भने, ‘अहिले बाहिर गएर सामाधान खोज्ने जे काम भयो त्यसप्रति हामीले गम्भीर चिन्ता व्यक्त गर्‍यौं । सदनको अस्थितित्व जनताको अस्थित्व हो । यसमाथि कसैले खेलवाड गर्नुहुँदैन भन्ने छलफलमा गर्‍यौं ।’

    आजको छलफलमा संविधानबारे पनि छलफल भएको बताउँदै उनले त्यसबारे भने, ‘विधानबारे पनि छलफल गर्‍यौं । धारा ७६(५) मा पुगेपछि दलीय व्यस्थामा पनि सांसदहरुले स्वविवेकीय अधिकार राख्नसक्छन् भन्ने व्यवस्था संविधानको हो भन्नेमा एकमत भयौं ।’

    छलफलमा सहभागी अर्की पूर्वसभामुख ओनसरी घर्तीले संसद पुन:स्थापना गरेर नै बजेट ल्याउनुपर्ने विषयमा छलफल भएको जानकारी दिइन् । ‘विघटनविरुद्ध सर्वोच्चमा मुद्दा विचाराधीन छ,’ संवाददाताहरूसँग उनले भनिन्, ‘चाँडै संसद पुन:स्थापित हुनुपर्छ र त्यहीबाट बजेट ल्याउनुपर्छ भन्ने विषयमा हामीहरूको एकमत रह्यो ।’

    संसद विघटन पूर्णतया अवैधानिक भएको निष्कर्ष आफूहरूले निकालेको पनि उनले जानकारी दिइन् । ‘प्रतिनिधिसभा भनेको जनताको असली प्रतिनिधित्व गर्ने संस्था हो,’ घर्तीले भनिन्, ‘हामीले एकमत साथ भन्यौं- जनताको संस्थामाथि दुई-दुई पटक आक्रमण भयो । यो पूर्णतया असंवैधानिक छ ।’

    जनताले पाँच वर्षका लागि प्रतिनिनिधि चुनेर पठाएको भन्दै उनले त्यसअघि नै विघटन गर्नु त्यसको अपमान भएको भन्नेबारे पनि कुराकानी भएको उनको भनाइ छ। ‘जनताले पाँच वर्षका लागि चुनेर पठाएका थिए, यसको अपमान भएको हो,’ उनको भनाइ छ, ‘लडेर ल्याएको व्यवस्था नै समाप्त पार्ने अभ्यास भइरहको छ, त्यसको घोर निन्दा गर्नुपर्छ भन्ने कुरामा छलफल गर्‍यौं।’

    सभामुखले बोलाएको छलफलमा पूर्वभामुखहरू पौडेल, घर्ती र कृष्णबहादुर महरा भौतिकरूपमै उपस्थित थिए । अर्का पूर्वसभामुख तारानाथ रानाभाट भर्चुअलरूपमा सहभागी थिए । दमननाथ ढुंगाना र सुवास नेम्वाङ भने छलफलमा गएनन् ।

  • सभामुखसँगको छलफलमा तीन पूर्वसभामुख मात्रै उपस्थित

    सभामुखसँगको छलफलमा तीन पूर्वसभामुख मात्रै उपस्थित

    काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटा र पूर्वसभामुखहरूबीचको छलफल संसद भवन बानेश्वरमा जारी छ । संसद विघटन र पछिल्ला राजनीतिक घटनाक्रमबारे परामर्श गर्न सापकोटाले बोलाएको छलफलमा तीन पूर्वसभामुख मात्रै सहभागी छन् ।

    पूर्वसभामुख रामचन्द्र पौडेल, कृष्णबहादुर महरा र ओनसरी घर्तीमात्र छलफलमा गएका छन् । तारानाथ रानाभाट भर्चुअल रूपमा सहभागी भएको सभामुखको सचिवालयले जनाएको छ । सुवास नेम्वाङ, महरा, घर्ती, पौडेल, तारानाथ रानाभाट र दमननाथ ढुंगानासमेत अहिले ६ पूर्वसभामुख छन् ।

    पूर्वसभामुख नेम्वाङले भने आज आफ्नो पूर्वनिर्धारित कार्यक्रम भएकाले छलफलमा उपस्थित हुन नसक्ने बताएका थिए।

    सभामुख सापकोटाले संसद विघटन असंवैधानिक भएको भन्दै यसविरुद्ध उभिन अपिल गरिसकेका छन् । उनी पहिलोपटक संसद विघटन हुँदा पनि यसविरुद्ध उभिएका थिए।

  • सभामुखले बोलाएको पूर्वसभामुखको बैठकमा सुवास नेम्वाङ नजाने

    सभामुखले बोलाएको पूर्वसभामुखको बैठकमा सुवास नेम्वाङ नजाने

    काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले पूर्वसभामुखहरूसँग छलफल गर्दै छन् । मंगलबार दिउँसो संसद भवन बानेश्वरमा उनले पूर्वसभामुखहरूसँग छलफल गर्न लागेका हुन्।

    सभामुखका प्रेस सल्लाहकार श्रीधर न्यौपानेले संसद विघटनबारे पूर्वसभामुखहरुसँग छलफल गर्न लागेको जानकारी दिए । ‘अहिले फेरि संसद विघटन भएको छ, यसबारे पूर्वसभामुखको धारणा बुझ्न छलफल गर्न लाग्नु भएको हो,’ उनले नेपाल प्रेससँग भने, ‘संसद विघटन हुँदाका बेला पूर्वसभामुखहरूको अनुभव जान्न पनि हो ।’

    सभामुख सापकोटाले संसद विघटन असंवैधानिक भएको भन्दै यसविरुद्ध उभिन अपील गरिसकेका छन् । उनी पहिलो पटक संसद विघटन हुँदा पनि यसविरुद्ध उभिएका थिए।

    न्यौपानले सबै पूर्वसभामुखलाई छलफलको लागि निम्ता गरेको जानकारी दिए । सुवास नेम्वाङ, कृष्णबहादुर महरा, ओनसरी घर्ती, रामचन्द्र पौडेल, तारानाथ रानाभाट र दमननाथ ढुंगाना पूर्वसभामुख हुन् ।

    नेम्वाङ नजाने सभामुख सापकोटाले बोलाएको बैठकमा पूर्वसभामुख तथा संविधानसभा अध्यक्ष सुवास नेम्वाङ भने नजाने भएका छन् । आफ्नो पूर्वनिर्धारित कार्यक्रम रहेकाले आउन नसक्ने जानकारी गराएको नेम्वाङले नेपाल प्रेसलाई बताए ।

    उनले भने, ‘व्यक्तिगत रूपमा तपाईं र म अलग्गै छलफल गरौंला केही समस्या छैन । आज मेरो पूर्वनिर्धारित कार्यक्रम भएकाले आउन सक्दिन भनेको छु । कुरा बुझिहाल्नु हुन्छ नि उहाँ जस्तो मान्छेले ।’

    पछिल्लो समय सभामुखले सरकारविरुद्ध मुद्दा मामिला गरेर हिँडेको र पार्टीको झण्डा बोक्न थालेको भन्दै नेम्वाङ असन्तुष्ट बनेका छन् ।

  • नेपाली संगीतमा प्रेमध्वजको योगदान स्मरणीय : सभामुख सापकोटा

    नेपाली संगीतमा प्रेमध्वजको योगदान स्मरणीय : सभामुख सापकोटा

    काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले वरिष्ठ गायक तथा संगीतकार प्रेमध्वज प्रधानको निधनप्रति दुःख व्यक्त गरेका छन् ।
    प्रधानको निधनको खबरले मर्माहत बनाएको भन्दै उनले श्रद्धाञ्जली अर्पण गरेका छन् ।

    नेपाली साङ्गीतिक क्षेत्रमा प्रधाननले पुर्‍याएको योगदान स्मरणीय रहने सभामुख सापकोटाको भनाइ छ।

    बसुन्धरास्थित न्यूरो अस्पतालमा प्रधानको निधन भएको थियो । ‘घुम्तीमा नआऊ है’, ‘गुलाफी घुम्टो’, ‘नमान लाज यसरी’, ‘टाढा नभइदेऊ फेरि’, ‘पर लैजाऊ फूलहरू’ लगायतका उनले गाएका दर्जनौं गीत चर्चित छन् ।

    सानैदेखि संगीतमा लागेका उनले ७०० बढी गीत रेकर्ड गराएका छन् । प्रधानले ‘याद कसैको आइरहेछ यो अँधेरी रातमा’ बोलको पहिलो गीत रेडियो नेपालमा रेकर्ड गराएका हुन् ।

  • सभामुख सापकोटाविरुद्धको मुद्दा हेर्न नभ्याइनेमा

    सभामुख सापकोटाविरुद्धको मुद्दा हेर्न नभ्याइनेमा

    काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाविरुद्धको द्वन्द्वकालीन मुद्दा सर्वोच्च अदालतमा हेर्न नभ्याइनेमा परेको छ ।

    प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा नेतृत्वको संवैधानिक इजलासमा पेसीमा चढेको भएपनि अन्य मुद्दाको चापका कारण हेर्न नभ्याइएको हो । संवैधानिक इजलासमा राणाबाहेक न्यायाधीशहरु दीपककुमार कार्की, मीरा खड्का, हरिकृष्ण कार्की र ईश्वरप्रसाद खतिवडा रहेका छन् ।

    यसअघि पनि सो मुद्दा पटक-पटक सुनुवाइका लागि पेसी तोकिएर पनि हेर्न नभ्याइनेमा पर्दै आएको थियो । माओवादी सशस्त्र संघर्षका बेला अपहरणपछि मारिएका काभ्रेका अर्जुन लामाको हत्यामा सभामुख सापकोटा मुख्य दोषी रहेको भन्दै २०६८ सालमा मुद्दा परेको थियो ।

    लामाकी पत्नी पूर्णिमाया लामा, मानव अधिकारर्की सुशील प्याकुरेललगायतले २०६८ असार ६ गते सापकोटालाई प्रतिवादी बनाएर मुद्दा दर्ता गरेका थिए ।

  • के छ सभामुख अग्निप्रसाद सापकोटाविरुद्धको मुद्दामा ? (पूर्ण पाठसहित)

    के छ सभामुख अग्निप्रसाद सापकोटाविरुद्धको मुद्दामा ? (पूर्ण पाठसहित)

    काठमाडौं। सभामुख अग्निप्रसाद सापकोटाविरुद्ध लामो समयदेखि चलिरहेको द्वन्द्वकालीन मुद्दाको पेसी सर्वोच्च अदालतको संवैधानिक इजलासमा चढेको छ ।

    माओवादी युद्धका बेला अपहरणपछि मारिएका काभ्रेका अर्जुन लामाको हत्यामा सापकोटा प्रमुख दोषी रहेको भन्दै सपकोटाविरुद्ध २०६८ साल जेठ १३ मुद्दा परेको थियो ।

    शुशिल प्याकुरेल, कपिल श्रेष्ठ, कणकमणि दीक्षित, चरण प्रसाईं लगायतले दायर गरेको मुद्दामा गम्भीर कसुरको आरोपलागेका व्यक्तिहरुलाई सार्वजनिक पदमा नियुक्त गर्न नहुने वा पदमा भएकालाई समेत पदबाट निलम्बित गरेर मात्र अनुसन्धानअघि बढाउनु पर्ने माग गरिएको छ।

    हेर्नुहोस् मुद्दाको पूर्ण पाठ :

  • सभामुखको जवाफ तयार– प्रधानमन्त्रीले असंवैधानिक काम गरे

    सभामुखको जवाफ तयार– प्रधानमन्त्रीले असंवैधानिक काम गरे

    काठमाडौं । प्रतिनिधिसभा विघटन विरुद्धको मुद्दामा सभामुखलाई पनि विपक्षी बनाइएकाले आज संसद सचिवालयले पनि सभामुखको तर्फबाट लिखित जवाफ पेश गर्दैछ ।

    संवैधानिक इजलासमा सुनुवाइका क्रममा रहेको सो मुद्दामा विपक्षीलाई पुस १९ भित्रमा लिखित जवाफ पेश गर्न आदेश दिइएको थियो ।

    सभामुखले प्रतिनिधिसभा विघटन गर्ने अधिकार संविधानले प्रधानमन्त्रीलाई नदिएको व्यहोराकाे लिखित जवाफ पेश गर्न लागेको सचिवालय स्रोतले जनाएको छ ।

    सभामुख अग्निप्रसाद सापकोटाले शुक्रबार आफूलाई भेट्न पुगेका महिला संगठनका पदाधिकारीसँग आफूले सोही व्यहोराकाे जवाफ पठाउने बताएका थिए ।

    सभामुख निकट स्रोतले भन्यो- ‘सचिवालयले लिखित जवाफ तयार पारेको छ । संविधानले प्रधानमन्त्रीलाई प्रतिनिधिसभा विघटनको अधिकार नदिएको भन्ने उहाँको अडान नै लिखित जवाफमा पेश हुन्छ । उहाँ प्रतिनिधिसभा विघटन असंवैधानिक भएकाले त्यसलाई अदालतले बदर गर्नुपर्छ भन्ने पक्षमा हुनुहुन्छ ।’

  • सभामुखविरुद्धको मुद्दा आज हेर्न नभ्याइने

    सभामुखविरुद्धको मुद्दा आज हेर्न नभ्याइने

    काठमाडौं । सभामुख अग्नि सापकोटाविरुद्धको द्वन्द्वकालीन मुद्दाको पेशी नियमित रोलक्रमअनुसार चढेपनि आज हेर्न नभ्याइने भनेर पन्छाइएको छ ।

    सापकोटाको मुद्दाको पेशी गत वैशाखदेखि नै रोलक्रममा थियो । रोलक्रम अनुसार नै शुक्रबार संवैधानिक इजलासमा परेपनि हेर्न नभ्याइने भनेर पछि सारिएको छ । रोलक्रमअनुसार पेशीमा पर्नु संयोगमात्र भएपनि नेकपाको एउटा पक्षले यसलाई आशंकाका दृष्टिले हेरेको थियो ।

    काभ्रेपलाञ्चोकका अर्जुन लामाको अपरहणपछि हत्या गरेको घटना तत्कालीन विद्रोही माओवादीका नेता अग्नि सापकोटाको प्रत्यक्ष निर्देशनमा भएको भन्दै उनकी श्रीमती पूर्णिमाया लामाले किटानी जाहेरी दिएकी थिइन् । सो मुद्दा सर्वोच्च अदालतमा विचाराधीन रहेकै अवस्थामा सापकोटा मन्त्री भएपछि कनकमणि दीक्षित, सुशील प्याकुरेल र पूर्णिमाया लामा पुनः २०६८ सालमा सर्वोच्च अदालतमा गएका थिए ।

    मुद्दा संवैधानिक इजलासमा रहेकै बेला सापकोटा सभामुख निर्वाचित भएपछि नैतिकताका आधारमा प्याकुरेलले गतवर्ष राष्ट्रपतिको राजनीतिक सल्लाहकारबाट राजीनामा दिएका थिए । प्याकुरेलले जघन्य हत्यामा संलग्न सापकोटाको मुद्दा संवैधानिक इजलासमा विचाराधीन रहेका बेला सभामुख जस्तो संवैधानिक पदमा लैजान नहुने बताएका थिए ।

    तत्कालीन माओवादी पक्षले भने द्वन्द्वकालीन मुद्दा संक्रमणकालीन न्यायसम्बन्धी कानूनबाट छिनोफानो हुनुपर्ने भन्दै आएको छ ।

    यसअघि ३० फागुन २०७६ मा यो मुद्दा पेसीमा चढाइएको थियो ।

    सापकोटाको मुद्दा प्रधानन्यायाधीश चालेन्द्रशम्शेर जबरा, न्यायाधीशहरु दीपककुमार कार्की, मीरा खड्का, हरिकृष्ण कार्की र विश्वम्भरप्रसाद श्रेष्ठको संवैधानिक इजलासमा परेको हो।