Tag: ह्वीप उल्लंघन

  • ह्वीप उल्लंघन गर्ने एमाले सांसदलाई कांग्रेस र माओवादीले उपचुनाव जिताउने आश्वासन दिएको खुलासा

    ह्वीप उल्लंघन गर्ने एमाले सांसदलाई कांग्रेस र माओवादीले उपचुनाव जिताउने आश्वासन दिएको खुलासा

    सुर्खेत । नेपाली कांग्रेस र माओवादी केन्द्रले उपचुनाव जिताउने बचन दिएपछि एमालेका तत्कालीन चारजना प्रदेशसभा सदस्यले कर्णालीका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई ‘फ्लोरक्रस’ गरी विश्वासको मत दिएको खुलेको छ ।

    सर्वोच्च अदालतले सोमबार गरेको फैसलापछि पदमुक्त भएका सांसदमध्येका एक कुर्मराज शाहीले उपचुनाव जिताउने कांग्रेस–माओवादीको प्रतिवद्धतापछि फ्लोरक्रस गरेको रहस्य खोलेका हुन् ।

    ‘हामीलाई अहिलेको स्थिति आउँछ भन्ने थाहा थियो’, शाहीले भने, ‘कांग्रेस र माओवादीले उपचुनाव जिताउने बचन दिएपछि फ्लोरक्रस गरेका हौं । एक हिसाबमा हामीले चुनावको तयारी थालिसक्यौं ।’

    वैशाख ३ गते पार्टी ह्वीपविपरीत सांसदहरु प्रकाश ज्वाला, अम्मरबहादुर थापा, कुर्मराज शाही र नन्दसिंह बुढाले मुख्यमन्त्री शाहीलाई विश्वासको मत दिएका थिए । स्रोतका अनुसार एमाले वरिष्ठ नेता माधवकुमार नेपालको निर्देशनमा चार सांसदले फ्लोसक्रस गरेका थिए ।

    विश्वासको मत दिएका चारमध्ये तीन एमाले सांसदलाई मुख्यमन्त्री शाहीले मन्त्री बनाएका थिए ।

    नेकपा एमालेको तर्फबाट कालिकोटबाट शाही, डोल्पाबाट नन्दसिंह बुढा, सल्यानबाट प्रकाश ज्वाला र दैलेखबाट अम्मरबहादुर थापा २०७४ सालको प्रदेशसभा निर्वाचन जितेका थिए ।

    उपचुनावमा कांग्रेस र माओवादीले उम्मेदवार नै नउठाउने बचन दिएको शाहीको भनाइ छ । पदमुक्त चारै सांसद उपचुनाव जित्नेमा ढुक्क छन् । तर उनीहरु कुन पार्टीबाट उम्मेदवार बन्ने टुंगो छैन, किनकि उनीहरुलाई एमालेले साधारण सदस्यबाट समेत निष्कासन गरिसकेको छ ।

    चुनावको तयारी थाल्न प्रदेशसभाको निर्वाचन आयोगको आग्रह

    कर्णाली प्रदेशसभामा सचिवालयले प्रत्यक्षतर्फ पाँच सिट रिक्त रहेको जानकारी गराउँदै चुनावको आवश्यक तयारी थाल्न निर्वाचन आयोगलाई पत्र लेखिसकेको छ । सरकारले चाहेको खण्डमा ढिलोमा तीन महिनापछि कर्णालीमा पाँच सिटका लागि चुनाव हुनसक्ने सभामुख राजबहादुर शाही बताउँछन् ।

    ‘पाँच सिट रिक्त रहेको सूचना हामीले निर्वाचन आयोगलाई दिइसकेका छौं’ उनी भन्छन्, ‘आयोगले चाहेको खण्डमा तीन महिनापछि उपचुनाव हुन सक्छ ।’

    तत्कालीन अवस्थामा नेकपा माओवादीका मुख्यमन्त्री शाहीलाई सदनको विश्वास जित्न २१ मत आवश्यक थियो । एमालेका चार सांसदले मत दिएर २२ मत पुर्याएका थिए ।

    अब कर्णाली प्रदेशसभामा एमाले १६ सिटसहित सबै भन्दा ठूलो दल छ भने माओवादीका १२ र कांग्रेसका ६ सांसदसहित १८ सिट भएको गठबन्धन सरकार बहुमतमा छ । राप्रपाको एक सिट छ ।

  • ह्वीप उल्लंघनमा एमालेले तत्काल कारवाही नगर्ने, समानुपातिक सांसद पदमुक्त हुनसक्ने

    ह्वीप उल्लंघनमा एमालेले तत्काल कारवाही नगर्ने, समानुपातिक सांसद पदमुक्त हुनसक्ने

    काठमाडौं । नेकपा एमालेले विश्वासको मत दिन अनुपस्थित भएर ह्वीप उल्लंघन गर्ने सांसदहरुलाई तत्कालै कारवाही नगर्ने भएको छ ।

    यद्यपी समानुपातिक सांसदलाई भने कानुन बमोजिम ह्वीप उल्लंघन गरेका कारण पदमुक्त गरेर, बन्दसूचीमा रहेका उम्मेदवारलाई जिताउने बारे नेतृत्व तहमा छलफल भएको छ ।

    एमाले स्रोतका अनुसार ८ जना समानुपातिक सांसदहरु रामकुमारी झाँक्री, कल्याणी खड्का, मुकुन्द न्यौपाने, सरला यादव, पुष्पा कर्ण, कलिला खान, लक्ष्मीकुमारी चौधरी र निरादेवी जैरीलाई ह्वीप उल्लंघनमा पदमुक्त गर्नेबारे छलफल भएको छ ।

    प्रत्यक्ष निर्वाचित २० जनाको हकमा अहिले केही नगर्ने र पार्टी एकताको लागि अझै पनि उनीहरुलाई मौका दिइने केपी ओली निकट नेताहरुले बताएका छन् । तर नेपाल पक्षले एकताका लागि आफ्नो पक्षमा रहेका समानुपातिक सांसदलाई पदमुक्त गर्न नपाइने अडान राख्ने निश्चित छ ।

    विश्वासको मत दिन अनुपस्थित हुनु ह्वीप उल्लंघन भए पनि के कारवाही गर्ने भन्ने बारे अहिले केही भन्न नसकिने संसदीय दलका उपनेता सुवास नेम्वाङले नेपाल प्रेसलाई बताए ।

    एमाले संसदीय दलका मुख्य सचेतक विशाल भट्टराई ह्वीप उल्लंघन गम्भीर घटना भएकाले राजनीतिक दल सम्बन्धी ऐन र एमालेको विधान बमोजिम कारवाही हुनसक्ने बताए ।

  • एमाले महासचिव भन्छन्- कर्णालीमा ह्वीप उल्लंघन गर्ने सांसदमाथि तत्कालै कारवाही अघि बढ्छ

    एमाले महासचिव भन्छन्- कर्णालीमा ह्वीप उल्लंघन गर्ने सांसदमाथि तत्कालै कारवाही अघि बढ्छ

    काठमाडौं । नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले कर्णालीमा पार्टीको ह्वीप उल्लंघन गरेर माओवादी केन्द्रको सरकार जोगाउने सांसदहरुमाथि तत्कालै कारवाही प्रक्रिया शुरु हुने बताएका छन् ।

    नेपाल प्रेससँग कुरा गर्दै महासचिव पोखरेलले ह्वीप उल्लंघन गर्ने सांसदहरुलाई पार्टी विधान र देशको विद्यमान ऐन कानुन बमोजिम कारवाही हुने बताए ।

    महासचिव पोखरेलले भने- यो कुरालाई पार्टीले गम्भीर रुपमा लिएको छ । विधान र कानुन बमोजिम सम्बन्धित व्यक्तिहरु कारवाहीमा पर्छन् ।

    एमालेको संशोधिन बिधानले प्रदेशसभाका सदस्यहरुलाई कारवाही गर्ने अधिकार समेत अध्यक्ष केपी ओलीलाई नै दिएको छ ।

    विधान र ऐनका प्रक्रिया पूरा गरेर प्रकाश ज्वाला, कुर्मराज शाही, अम्बर बहादुर थापा र नन्दसिंह बुढालाई प्रदेशसभा सदस्यबाट पदमुक्त गरिने एमालेले जनाएको छ ।

    अन्तिममा मत सच्याएकी देवी ओलीलाई पनि स्पष्टिकरण सोधेर कारवाहीको प्रक्रिया अघि बढाइने भएको छ ।