Tag: हिमपात

  • हिमपातले मनाङमा सडकसँगै टेलिफोन र इन्टरनेट सेवा पनि अवरुद्ध

    हिमपातले मनाङमा सडकसँगै टेलिफोन र इन्टरनेट सेवा पनि अवरुद्ध

    मनाङ । हिमाली जिल्ला मनाङका अधिकांश बस्तीमा भारी हिमपात भएको छ । बिहीबार दिउँसोदेखि नै परेको हिमपात शुक्रबार रातिबाट रोकिएको छ ।

    बाक्लो हिमपातका कारण मनाङमा तल्लो क्षेत्रको दानाक्युदेखि माथिल्लो क्षेत्रमा सवारी आवागमन बन्द छ । धारापानीका स्थानिय थुतेन लामाका अनुसार हिउँ परे पनि दानाक्युसम्म सवारी आवागमन भइरहेको र त्यसभन्दा माथिल्लो क्षेत्रमा यातायात ठप्प छ ।

    प्रमुख जिल्ला अधिकारी रविन्द्रप्रसाद आचार्यले बिहीबार दिउँसोदेखि मनाङमा हिमपात भएको बताए । उनका अनुसार मनाङ, टंकी मनाङ, हुम्डे, पिसाङ र नार्पाभूमिको नार, फू, क्याङ तथा च्याखु साथै सदरमुकाम चामे बजार क्षेत्रसहित कोतो, थानचोक र तिमाङ क्षेत्रमा हावाहुरीसहित हिमपात भएको थियो । शुक्रबार रातिबाट हिमपात रोकिए पनि मनाङको तापक्रम माइनस १२ डिग्री सेल्सियसमा झरेको छ ।

    मनाङमा बिहीबार र शुक्रबार वर्षकै ठूलो हिमपात भएको प्रजिअ आचार्यको भनाइ छ । मनाङको सदरमुकाम चामेमै तीन फिट बाक्लो हिउँ परेको छ । बाक्लो हिमपातले स्थानीयलाई आवतजावत गर्न समेत समस्या भएको छ । माथिल्लो मनाङको पिसाङका याङडुङ गुरुङले मनाङमा बिहीबार दिउँसोदेखि भारी हिमपात भएको बताए । उनका अनुसार शुक्रबार भने हावाहुरीसमेत हिमपात भएको थियो ।

    हिमपातले मानिस घरबाहिर निस्कन नसकेको र पदमार्ग बन्द भएको बताइएको छ । हिमपातका कारण मनाङको सदरमुकामसहित अन्य क्षेत्रमा नेपाल टेलीकमको नेटवर्कसमेत अवरुद्ध छ ।

    नासों गाउँपालिका ८, ताचैमाथिको मेरपान रिपिटर टावरको रेडियो लिंक बन्द भएको छ । हिमपात र हावाहुरीले तालदेखि चामेसम्मको अप्टिकल फाइबर पनि डाउन भएको नेपाल टेलीकम मनाङ शाखाका प्रमुख ङिमा ङिटु लामाले बताए । उनका अनुसार हिमपातले शुक्रबारदेखि मनाङमा इनटरनेट र टेलिकमको सेवा अवरुद्ध भएको छ ।

  • सोलुखुम्बुमा माइनस १३ डिग्री सेल्सियस तापक्रम, हिमपातले जनजीवन प्रभावित

    सोलुखुम्बुमा माइनस १३ डिग्री सेल्सियस तापक्रम, हिमपातले जनजीवन प्रभावित

    सोलुखुम्बु । हिमाली जिल्ला सोलुखुम्बुको माथिल्लो क्षेत्रमा दोस्रो पटक परेको हिमपातका कारण जनजीवन प्रभावित बनेको छ । खुम्बुपासाङ ल्हामु गाउँपालिका–४ खुम्जुङको तापक्रम माइनस १३ डिग्रीसेलसियसमा झरेको छ ।

    यहाँका बासिन्दा घरबाट खासै बाहिर निस्कन सकेका छैनन् । घरैमा दाउरा बाल्ने र शरीरलाई न्यानो बनाएर राख्ने काम गरेका छन् भने अन्य सरकारी कार्यालयका कर्मचारीले समेत सोही विधि अबलम्बन गर्ने गरेको सगरमाथा राष्ट्रिय निकुञ्जका संरक्षण अधिकृत भुमिराज उपाध्ययले बताए ।

    पर्यटकीय समय सकिएसँगै यस क्षेत्रका अधिकांश बासिन्दा चिसो छल्नकै लागि राजधानी काठमाडौँलगायत क्षेत्रमा जाने गर्छन् । यस वर्ष पनि धेरैजसो व्यक्ति चिसो छल्न खुम्बु छाडेका छन् भने दैनिक सय हाराहारीमा उडान हुने तेञ्जिङ हिलारी विमानस्थल लुक्लामा अहिले दैनिक २÷३ उडानमा सिमित बनेको छ ।

    खुम्जुङ क्षेत्रका करिब ७० प्रतिशत मानिस चिसो छल्न काठमाडौँ गएको स्थानीयवासी पेमायाङ्जी शेर्पाले बताए । घरमा ताल्चा लगाएर नै सबै परिवार काठमाडौँ गएको उनले जानकारी दिए ।

    शान्ति शुरक्षाका लागि खटिएका प्रहरी कर्मचारीले भने दैनिक गस्ती गर्ने गरेका छन् । सगरमाथा राष्ट्रिय निकुञ्जसमेत भएकाले चोरी शिकारीलगायत अन्य घटना हुन नदिन प्रहरी सधै सक्रिय हुनुपर्ने भएकाले सोहीअनुसार ड्युटीमा खटिने गरेको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव उपरीक्षक कवित कटवालले बताए ।

    प्रहरीचौकीमध्ये सबैभन्दा बढी उचाइमा खुम्जुङ प्रहरीचौकी पर्छ । पाइपमा पानी जमेका कारण २० मिनेट टाढा मुहानको पानी प्रयोग गर्नुपर्ने बाध्यता रहेको प्रहरी चौकी खुम्जुङका इन्चार्ज प्रहरी हवलदार जय ढकालले बताए ।

  • चन्द्रागिरी मात्र होइन, अरु पनि छन् काठमाडौं नजिक हिउँ खेल्ने ठाउँ

    चन्द्रागिरी मात्र होइन, अरु पनि छन् काठमाडौं नजिक हिउँ खेल्ने ठाउँ

    काठमाडौं । आज बिहानदेखि सुरू भएको वर्षा र हिमपातसँगै काठमाडौंनजिकको चन्द्रागिरी डाँडामा भीडभाड सुरू भयो । काठमाडौंका विभिन्न स्थानबाट युवायुवतीहरू हिउँ खेल्न चन्द्रागिरीमा झुम्मिए ।

    केही वर्षयता हिउँ खेल्ने भन्नेबित्तिकै सबैले सबैभन्दा पहिले चन्द्रागिरी नै सम्झिन्छन् । पर्यटकीय आर्कषणको स्थान र सहज यातायातका कारण चन्द्रागिरी पहिलो रोजाइमा पर्नु स्वभाविक पनि हो । तर, यसको मतलब काठमाडौंनजिक हिउँ पर्ने ठाउँ यो मात्रै होइन । तपाईं चन्द्रागिरीको विकल्पमा अरु स्थान पनि रोज्न सक्नु हुन्छ, जहाँ हिउँको मज्जा लिन सकिन्छ ।

    उपत्यका आसपासका अन्य डाँडाहरूमा पनि प्रशस्तै हिउँ पर्ने गरेको पाइन्छ । मंगलबारदेखि हिमपात सुरू भएसँगै अहिले यी डाँडाहरू पनि सेताम्मे नै छन् । हामी यहाँ त्यस्तै पाँच स्थानको परिचय गराउँदैछौं, जहाँ तपाईं सहजरूपमा पुगेर हिँउको आनन्द लिन सक्नुहुन्छ ।

    शिवपुरी

    २,५६३ मिटर उचाइमा रहेको शिवपुरी डाँडा हिउँ हेर्न र खेल्न पाइने काठमाडौं नजिकैको उत्कृष्ट गन्तव्य हो । काठमाडौंबाट करिब १८ किलोमिटर दूरीमा रहेको शिवपुरी डाँडा ५ देखि ६ घण्टामा पैदल हिँडेरै पुग्न सकिन्छ ।

    शिवपुरी काठमाडौंको उत्तरमा पर्ने शिवपुरी-नागार्जुन राष्ट्रिय निकुञ्जभित्र अवस्थित छ ।

    फूलचोकी

    उपत्यकाको सबभन्दा अग्लो डाँडा हो, फूलचोकी डाँडा । २,७६५ मिटर उचाइमा रहेको फूलचोकी वर्षौंदेखि ‘हिउँ हेर्ने डाँडा’ भनेर समेत परिचित छ ।

    बुधबार देशका अन्य भागहरूको अवस्था हेर्दा एक हजार ७०० मिटरसम्म हिउँ परेको छ । काठमाडौं आसपासका क्षेत्र लगायत फूलचोकीमा समेत हिउँ परेपछि यहाँ चहलपहल बढेको छ ।

    गोदावरी बोटानिकल गार्डेन, हुँदै यस क्षेत्रमा पुग्न सकिन्छ । हिउँले छोपिने यस डाँडाबाट सगरमाथा, गौरीशंकर, गणेश, लाङटाङ, मनास्लु, अन्नपूर्ण हिमश्रृखलाको दृश्यावलोकन गर्न सकिन्छ ।

    नगरकोट

    दुई हजार १७५ मिटर उचाइमा रहेको नगरकोट क्षेत्रमा पनि हिउँ खेल्न सकिन्छ । चाँगुनारायण मन्दिरसँगै पुराना नेवारी बस्ती र हिमश्रृंखलासमेत देख्न पाइने यस डाँडाको उच्चभागमा हिउँ पर्छ । उपत्यकाबाट नजिकको गन्तव्य भएका कारण हिउँ हेर्न र खेल्न यो उपयुक्त गन्तव्य हो ।

    पर्यटकीय क्षेत्रसमेत रहेको नगरकोटमा हाइकिङको मज्जा पनि लिन सकिन्छ । साँखु, सुन्दरीजल, चाँगुनारायण, भक्तपुर, बनेपा र धुलिखेलबाट नगरकोट पुग्न सकिन्छ ।

    दामन

    हिमालको दृश्यवलोकनसँगै हिउँ नदेखेका मानिसहरूका लागि दामन अहिले उत्कृष्ट गन्तव्य हुन सक्छ । मकवानपुर जिल्लामा अवस्थित पर्यटकीय क्षेत्रसमेत रहेको दामनमा सेताम्य हिउँमाथि खेल्न सकिन्छ ।

    आन्तरिक तथा वाह्य पर्यटकको आकर्षण मानिने दामन हिउँ परेसँगै थप मनोरम देखिन्छ । २,६८८ मिटर उचाइमा रहेको दामनबाट अन्नपूर्ण, मनास्लु, गणेश, लाङटाङ, दोर्जे लाक्पा, गौरीशंकरलगायत हिमाल हेर्न सकिन्छ ।

    र, चन्द्रागिरी

    फुलचोकी डाँडाभन्दा होचो भए पनि केवुलकारका कारण पुग्न सहज भएपछि हिजोआज चन्द्रागिरीमा आकर्षण निकै बढेको छ । काठमाडौं उपत्यकाका युवायुवतीहरु यहाँ पुगेर हिउँमा रमाइरहेका छन् ।

    दुई हजार ४७५ मिटर उचाइमा रहेको यस क्षेत्रमा मंगलबारदेखि नै हिउँ पर्न थालेको थियो । मौसम सफा हुँदा यहाँबाट सगरमाथा, मकालु, कञ्चनजंगा, मनास्लु, दोर्जे लाक्पालगायतका हिमालहरू देख्न सकिन्छ ।

    बुधबारसम्म निरन्तर परेको हिउँ बिहीबारसम्म रहनसक्ने अनुमान छ । बाक्लो हिमपात भए पनि पानी परेपछि हिउँ लामो समय रहँदैन ।

  • १७ सय मिटरसम्म पर्‍यो हिउँ

    १७ सय मिटरसम्म पर्‍यो हिउँ

    काठमाडौं । वर्षातसँगै उच्च पहाडी र हिमाली क्षेत्रमा भारी हिमपात भएको छ । उच्च हिमाली क्षेत्रसँगै आज एक हजार ७०० मिटर उचाइसम्म हिउँ परेको हो ।

    सोलुखुम्बुको एक हजार ७०० मिटरको सल्लेरी, दोर्पु बजार ,गार्मा आसपास क्षेत्रमा हिमपात भएको सोलुखुम्बुका पत्रकार लाक्पा शेर्पाले जानकारी दिए ।

    संखुवासभाको गुफापोखरी क्षेत्रको एक हजार ७०० मिटरको मंगलबारे बजार, बसन्तपुरलगायतका क्षेत्रमा दुई फिटभन्दा बढी हिउँ परेको स्थानीयबासी छिरिङ लामाले बताए । उनका अनुसार पछिल्लो पाँच वर्षमा यसवर्ष तल्लो क्षेत्रसम्म हिमपात भएको छ ।

    हिमपातसँगै उच्चपहाडी क्षेत्रका किसान हर्षित भएका छन् । हिमपातले माटोमा उर्वराशक्ति बड्ने भएकाले अन्नबाली सप्रिने गर्छ ।

  • हिउँदे झरी र हिमपातले कृषक हर्षित

    हिउँदे झरी र हिमपातले कृषक हर्षित

    सुर्खेत । गए रातीदेखि परेको हिउँदे झरी तथा उच्चपहाडी हिमाली क्षेत्रमा व्यपक हिमपातले जनजीवन कष्टक। बनाए पनि कृषकहरु खुसी बनेका छन् ।
    न्यूनचापीय वायुको प्रभावका कारण अहिले देशैभर वर्षा भइरहेको छ । सामान्यतः पुस महिनामा वर्षा हुँदैन । तर यसवर्ष मध्य हिउँदमा वर्षा भएपछि पहाडी क्षेत्रका किसानले रोपेका गहुँ लगायतका बालीलाई फाइदा पुग्नेछ ।

    दैलेख, जाजरकोट सुर्खेत कालिकोट, डोल्पा, मुगुलगायतका पश्चिम पहाडी जिल्लामा कृषकहरु खुसी भएका छन् ।

    ‘अन्न बाली यसपाली राम्रो होला कि भन्ने आशा बढेको छ,’ दैलेख आठबीसका कृषक कमल थापा भन्छन, ‘यो वर्ष ठीक समयमा पानी पर्‍यो ।’

    कर्णालीका उच्च हिमाली जिल्लाहरुमा ब्यापक हिउँ परेको छ । हुम्ला, मुगु र डोल्पा जिल्लाका अधिकांश क्षेत्रमा हिमपात भइरहेको छ । हिमपातले नागरिक घरबाहिर निस्कन सकेका छैनन् ।

  • मनाङमा हिमपातले वार्षिक परीक्षा नहुँदै विद्यालय बन्द

    मनाङमा हिमपातले वार्षिक परीक्षा नहुँदै विद्यालय बन्द

    मनाङ । जाडो मौसमको सुरुआत भएसँगै मङ्सिर तेस्रो हप्ताबाट हिमाली जिल्ला मनाङमा यसवर्ष हिमपात हुन थाल्यो । माथिल्लो मनाङ र नार्पाभूमिमा बाक्लो हिमपात भएको छ ।

    चिसाले असहज भएपछि वार्षिक परीक्षा अगावै विद्यालय बन्द गरिएको छ । गएको वर्षमा यो समयमा मनाङमा अन्तिम परीक्षाको नतिजा निकालिए पनि यसवर्ष परीक्षा नै लिन सकिएको छैन । आगामी फागुन–चैतबाट नयाँ शैक्षिक सत्रका लागि भर्ना लिएर पठनपाठन हुने गर्दथ्यो ।

    तर यसवर्ष कतै त्रैमासिक र कतै अद्र्यवार्षिक परीक्षा मात्रै सकिएको छ । वार्षिक परीक्षाको अझै पनि टुङ्गो छैन । मनाङका शिक्षक, विद्यार्थी र अभिभावक हिमपात अगावै लमजुङ, चितवन, पोखरा, काठमाडौँतर्फ झर्ने गर्दथे । यस पटक परीक्षा अगावै विद्यालय बन्द गरिएको छ ।

    ङिस्याङ गाउँपालिका–६, माथिल्लो मनाङस्थित अन्नपूर्ण माध्यमिक विद्यालयका प्रधानाध्यापक आनन्दराज घिमिरेले मङ्सिर २२ मा परीक्षा सकाएर विद्यालय बन्द गरिएको बताए। ‘हिउँले चिसो बढेपछि गाउँपालिकामा बैठक बसेर यसवर्ष जाडो अघिको पढाइलाई टुङ्ग्याउन बाध्य भयौं’, उनले भने ।

    हिउँ नपरे फागुन १५ र परे चैत १ बाट विद्यालय खुला गर्ने निर्णय भएको छ । ‘कोरोना सङ्क्रमण्ले यस वर्ष साउनबाट शैक्षिक सत्र सुरु गर्नुपर्‍यो । गत वर्ष चैतबाट सुरु हुन्थ्यो,’ उनले भने,‘कोरोनाले शैक्षिक सत्र नै फेर्नुपर्‍यो ।’

    आधारभूत तहका विद्यालय मङ्सिर २० गतेबाटै बन्द गरिएको छ । यसवर्ष शैक्षिक सत्रको ४ महिना पछाडि धकेलिएको छ । कोरोनाले २०७७ मङ्सिरमा लिनुपर्ने वार्षिक परीक्षा २०७८ असारमा लिनुपरेको घिमिरेले बताए ।

    ङिस्याङ गाउँपालिका शिक्षा तथा खेलकूद शाखा अधिकृत बाबुराम गैह्रेले माथिल्लो मनाङका सबै विद्यालय बन्द गरिसएिको बताए । पुस १ गतेबाट लागू हुने गरी ४५ दिनको हिउँदे बिदा दिइएको छ । ‘मङ्सिर १७÷१८ बाट नै हिउँ पर्न थाल्यो । प्रायः गोरखालीका बालबच्चा छन् यहाँ । हिउँ पर्न थालेपछि गाह्रो भयो, बच्चा लानुपर्‍यो भन्दै अभिभावक आउने र बालबालिका लिएर जान थाले । विद्यार्थीलाई रोक्न सकेनौं र हामीले परीक्षा रोक्न बाध्य भयौं’, उनले भने ।

    उनका अनुसार ङिस्याङ गाउँपालिकामा एउटा माध्यमिक विद्यालय, तीन वटा कक्षा १–७ सम्मको आधारभूत, एउटा कक्षा १–३ सम्मको आधारभूत र चार वटा कक्षा १–५ सम्मको आधारभूत विद्यालय छन् । उनले भने, ‘हिउँदे बिदा माघ १५ गतेसम्मको लागि गरिएको छ । त्यसपछि विद्यालय खुल्छ ।’

    स्थानीय तहले माघ १५ गतेसम्मको लागि विद्यालय बन्द गरेपनि चिसोका कारण पठनपाठन हुन नसक्ने र विद्यार्थी नआउने भएकाले बिदा बाहेक विकल्प नभएको उनले भने । विद्यालय बिदा भएसँगै मनाङका शिक्षकले अन्य समय विद्यालय प्रशासन खोलेर बस्ने गरेको बताउँछन् ।

    नार्पाभूमि गाउँपालिकाको फू गाउँस्थित फू आधारभूत विद्यालय मङ्सिर १५ गतेदेखि नै बन्द भएको शिक्षक कृष्णप्रसाद अधिकारीले बताए । उनले भने, ‘गाउँमा बस्न सक्ने अवस्था छैन । चिसोले सबै तल झरिसक्नुभएको छ, विद्यालय बन्द गरेका छौं ।’ उनका अनुसार नारमा रहेको आधारभूत विद्यालय पनि बन्दछ ।

    सदरमुकाम चामेस्थित लोकप्रिय माध्यमिक विद्यालयका प्रधानाध्यापक कृष्णदास कोइरालाले चामे गाउँपालिकाले हिउँदे बिदा पुस १५ गतेदेखि माघ १५ गतेसम्मलाई मात्रै तोकेको बताए। गाउँपालिकाले अघिल्ला वर्षमा ५० दिन तोकेको थियो । ‘कोभिडले विद्यालय चलाउन सकेनौं । गत जेठ ३१ पछिको बाढीपहिराले विद्यालय भवन बगाउदा अझ लामो समय विद्यालय खुलाउन सकेनौं । बाढीपहिराले जलविद्युत् बगाउदा अनलाइन कक्षा पनि चलाउन सकेनौं,’ प्रधानाध्यापक कोइराला भन्छन्,, ‘बल्ल–बल्ल तीन महिना जति पढायौं । फेरि यहाँको चिसोले बन्द गर्नुपर्यो‍ ।’

    उनका अनुसार पिउने पानी र सडकमा पानी जमेर बरफ बनेको छ । मनाङमा जनजीवन कष्टकर बनेको छ । ‘केही हुन्छ कि भनेर अलि अलि ढिला गर्‍यौं । तर साना बच्चाको प्रस्तुतिले कतै हामीले बालबालिकालाई सजाय त दिएनौं भन्ने सोचर आवासमा बस्ने बालबालिकालाई पनि समस्या हुनसक्ने भएकाले छिटोछिटो परीक्षा गर्‍यौं’, उनले भने ।

    चामे गाउँपालिका शिक्षा तथा खेलकूद शाखा संयोजक इन्द्रजङग गुरुङका अनुसार पुस १५ गतेदेखि माघ १५ गतेसम्म हिउँदे बिदा गरिएको छ । पुस १५ मा विद्यालयले अर्धवार्षिक परीक्षा सक्ने उनले बताए । ‘हिमपातले असर गरेन भने माघ १६ गतेबाटै खुला गर्छौै । हिमपातले असर गर्न थाल्यो भने फागुन १ गतेबाट जसरी पनि विद्यालय खुलाउनु पर्ने हुन्छ’, उनले भने ।

    नासों गाउँपालिका–५ थोंचेस्थित प्रकाशज्योति माध्यमिक विद्यालयका प्रधानाध्यापक पदमराज पन्थीले जाडो बिदा पुस १५ गतेबाट हुने बताए । उनले भने, ‘जाडो बिदा खासगरी ११ गतेबाट हुन्छ । स्थानीय बिदा ५ दिन जोडेर १६ गतेबाट लागू हुने गरी जाडो बिदा तोकेका छौं ।’ उनका अनुसार फागुन १ गतेबाट पठनपाठन सुरु हुनेछ । अहिले पहिलो त्रैमासिक परीक्षा सञ्चालन भइरहेको उनले बताए ।

    शिक्षा विकास तथा समन्वय इकाइ मनाङका प्रमुख मोतीप्रसाद चापागाईंले चिसो बढ्दै गएपछि मनाङ ङिस्याङ र नार्पाभूमि गाउँपालिकाका सबै विद्यालय बन्द भएका गरिएको बताउनुभयो । चामे र नासोंमा परीक्षा अन्तिम अन्तिममा पुगेको र विद्यालय बन्द हुने क्रममा रहेको उनले बताए । उनले भने,‘हिमपातसँगै चिसो बढ्न थालेको छ । चिसोले बस्न नसक्ने अवस्था भएपछि परीक्षा सकाएर स्थानीय तहले जाडो बिदा दिएको छ ।’

    शिक्षा नियमावलीमा ४५ दिन विद्यालय बन्द गर्न मिल्छ । यसमा ५ दिन स्थानीय बिदा लिने व्यवस्था अनुसार बिदा बढाइएको छ । तर, विद्यालय खुल्ने, खुलाउने र बन्द गर्ने निर्णय पछिल्लो समय स्थानीय तह र यस मातहतमा रहेकाले शिक्षा शाखाले प्रधानाध्यापकको बैठकमार्फत निर्णय गर्ने गरेका छन् ।

    मनाङमा चार माध्यमिक, नौ आधारभूत र १३ प्राथमिक ९आधारभूत० गरी कूल २६ वटा सामुदायिक विद्यालय छन् । शिक्षक टाढाटाढाबाट आउने÷जाने गर्नुपर्ने भएकाले बिदाको समयबाहेक अन्य समय समेत थप गरी मनाङको पढाइ प्रभावित हुँदै आएको छ । रासस

  • हुम्लामा तीन फिटसम्म हिमपात, जनजीवन प्रभावित

    हुम्लामा तीन फिटसम्म हिमपात, जनजीवन प्रभावित

    सिमकोट । हिमाली जिल्ला हुम्लामा शनिबार बिहानैबाट हिमपात हुँदा जिल्लाको जनजीवन प्रभावित भएको छ । हुम्ला सदरमुकाम सिमकोटमा एक इन्चभन्दा बढी हिउँ जमिसकेको छ । जिल्लाको उत्तरी भेगमा नाम्खा गाउँपालिकामा भने सदरमुकाम सिमकोटभन्दा बढी तीन फिट जति हिउँ जमेको नाम्खा गाउँपालिका ३ का सुनाम छिरीङ लामाले बताए ।

    नाम्खा गाउँपालिकाको उच्च भेग यारी लिमी नारा न्यालु लेकमा बाक्लो हिउँ जम्नुका साथै आवतजावतमा समेत थप कठिनाइ भइरहेको लामाले बताए ।

    हुम्लामा हिमपातका कारण चिसो अत्यधिक बढेपछि जनजीवन कष्टकर बन्दै गएको छ ।

    हिमपातका कारण उत्तरी नाम्खा गाउँपालिकाको हिल्सा, नारा, न्यालु लगायतमा आवतजावतमा थप कठिनाइ भएको छ । एक गाउँबाट अर्को गाउँसम्मको आवतजावत रोकिएको छ । यस्तै सदरमुकाममा चहलपहल न्यून छ ।

    उत्तरी नाम्खा गाउँपालिकामा जिल्ला सदरमुकाम भन्दा बढी चिसो रहेको जिल्ला प्रहरी कार्यालय हुम्लाले जनाएको छ । यहाँको तापक्रम माइनस ८ डिग्री सेल्सियससम्म पुगेसँगै बिहान बेलुका बढी चिसो हुने गरेको छ ।

    हिमपात हुँदा जिल्लाका दक्षिण क्षेत्रका किसानलाई फाइदा पुगेको छ । हिउँदे बाली गहुँ, जौ, खनजोत गर्ने समयमा हिमपात हुँदा सजिलो हुने भएको छ । यस पटकको हिमपातले जेठासी बालीलाई राम्रो गर्ने जानकारी प्राप्त भएको छ ।

    शुक्रबार साँझदेखि जिल्लाको मौसममा फेरबदल आएसँगै शनिबार बिहानबाट हिमपात भएको छ ।

  • शुक्रबारदेखि हिमपातको सम्भावना

    शुक्रबारदेखि हिमपातको सम्भावना

    काठमाडौं । पश्चिमी वायुसँगै आउने पश्चिमी न्यून चापीय प्रणाली (पश्चिमी खाडल)का कारण शुक्रबारदेखि हिमपातको सम्भावना देखिएको छ ।

    जल तथा मौसम विज्ञान विभागका अनुसार पश्चिमी वायुसँगै आउने पश्चिमी न्यून चापीय प्रणालीका कारण शुक्रबारदेखि सुदूरपश्चिम प्रदेश हुँदै पूर्वतिर बादल सर्ने क्रममा सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रहने छ ।

    सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्का हिमपात हुने सम्भावना छ ।

    सुदूरपश्चिमका केही स्थानमा हल्का वर्षाको सम्भावना छ । उक्त प्रणालीका कारण आगामी दिनमा तापक्रममासमेत गिरावट आई चिसो अझ बढ्ने सम्भावना रहेको विभागले जनाएको छ ।

    सो मौसमी प्रणालीका कारण पर्वतारोहण, हवाई÷यातायातलगायत दैनिक जनजीवनमा असर पर्नसक्ने देखिएकाले चिसोबाट बच्न र हिमपातबाट हुनसक्ने प्रभावबाट जोगिन आवश्यक सुरक्षा र सतर्कता अपनाउन विभागले आग्रह गरेको छ ।

    मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरण अनुसार आज काठमाडौं उपत्यकाको न्युनतम तापक्रम यस वर्षकै कम तीन दशमलव शून्य डिग्री र अधिकतम तापक्रम १७ दशमलव ५ डिग्री सेल्सियस छ ।

  • हुम्लामा भारी हिमपात, किसान खुसी

    हुम्लामा भारी हिमपात, किसान खुसी

    हुम्ला । उच्च हिमाली जिल्ला हुम्लामा वैशाख महिनामा हिमपात हुँदा यहाँका नागरिक अचम्मित भएका छन् ।

    पुस, माघ र फागुन तीन महिना मात्रै हिमपात देखेका यहाँका नागरिकलाई वैशाख महिनामा हिमपात हुँदा जलवायु परिवर्तनले हिउँ परेको हो कि भन्ने लागेको छ । आफूले वैशाखमा हिमपात भएको देखेको यो पहिलो पटक भएको सिमकोट–२ का गोकुल बोहराले बताए ।

    बुधबार रातिदेखि जिल्लामा निरन्तर हिमपात हुँदा चिसो बढेको छ भने जताततै सेताम्ये देखिएको छ । विगतका वर्षमा चैत दोस्रो सातादेखि हुम्लामा गर्मी मौसम शुरु हुने गथ्र्यो तर यो वर्ष वैशाख महिनामा हिमपात हुँदा चिसो बढेको छ ।

    हिमपातसँगै जिल्लाको तापक्रम माइनसमा झरेको छ । सिमकोटको अहिले बिहानको तापक्रम माइनस चारमा झरेको छ भने यहाँका नागरिकले फेरि बाक्लो कपडा प्रयोग गर्न थालेका छन् ।

    यस्तै उत्तरी हुम्लाको नाम्खा गाउँपालिकामा दुई फिटसम्म हिउँ जमेको छ । नाम्खामा बुधबार दिउँसो एक बजेबदेखि शुरु भएको हिमपात जारी रहेको छ भने हिमाल सेताम्ये देखिएका छन् ।

    नाम्खा गाउँपालिका, सिमकोट र खार्पुनाथ गाउँपालिकाका क्षेत्रमा दुई फिटभन्दा बढी हिमपात भएको स्थानीयवासी सोनाम लामाले बताए। विशेषगरी नेपाल र चीनको सीमा क्षेत्र हिल्सामा बाक्लो हिउँ जमेको लामाले बताए। मङ्गलबार चार हजार ६०० मिटर अग्लो रहेको नारा लेकमा मानिसले आवतजावत गरेको भए पनि बुधबारदेखि हिमपात हुँदा पुनः नारा लेक बन्द भएको छ ।

    किसान खुशी

    लामो समयपछि जिल्लामा हिमपात र वर्षा हुँदा किसान खुशी भएका छन् । मङ्गलबार राति वर्षा र बुधबार रातिदेखि नियमित हिमपात हुँदा खनजोत गर्न सजिलो हुने भन्दै किसान खुशी भएका हुन् । कात्तिकमा उत्पादन हुने बालीका लागि आकाशेपानीको भरमा आजभोलिको समयमा खनजोत गरेर यहाँका किसानले छर्कने गर्दछन् ।

    यो पटक परेको वर्षा र हिमपातले कात्तिक, असोज महिनामा उत्पादन हुने कोदो, चिनो, कागुनो, मकै, सिमी, फापरका लागि सहज बनाएको बताइएको छ । दुइदिन परेको पानीले किसानलाई निकै राहत हुने भएको छ । मौसम सफा हुनासाथ अब यहाँका किसान खनजोतमा व्यस्त हुने भएका छन् ।

  • पश्चिमी वायुको प्रभावः वर्षा र हिमपातको सम्भावना

    पश्चिमी वायुको प्रभावः वर्षा र हिमपातको सम्भावना

    काठमाडौं । पश्चिमी वायुको प्रभावले देशको अधिकांश भूभागमा आंशिकदेखि सामान्य बदली रही वर्षा र हिमपातको सम्भावना रहेको छ ।

    पश्चिमी वायुको आंशिक प्रभावले सोमबार बेलुकासम्म देशभर आंशिकदेखि सामान्य बदली रही देशका पहाडी भूभागमा मेघगर्जनसहित हल्का वर्षा र उच्च पहाडी तथा हिमाली क्षेत्रमा हल्का हिमपातको सम्भावना छ ।

    ठूलो पानी पर्ने सम्भावना भने नरहेको तथा मङ्गलबारदेखि मौसम सुधार हुने मौसमविद् शान्ति कँडेलले बताइन्।

    उनका अनुसार हाल देशका पहाडी भूभागमा आंशिक बदली तथा बाँकी भूभागमा मौसम सामान्यतया सफा छ ।

    देशका पहाडी भूभागमा राति सामान्य बदली भई गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका केही स्थानका साथै वाग्मती र प्रदेश नं १ का एक वा दुई स्थानमा मेघगर्जनसहित हल्का वर्षा हुने बताइएको छ ।

     

  • पहाडी भू-भागमा चट्टयाङसहित हल्का वर्षाको सम्भावना

    पहाडी भू-भागमा चट्टयाङसहित हल्का वर्षाको सम्भावना

    काठमाडौं । शनिबार देशका केही पहाडी भू-भागका केही स्थानमा मेघगर्जन तथा चट्टयाङसहित हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले बताएको छ । देशका पहाडी भू-भागहरुमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागहरूमा मौसम सामान्यतया सफा रहने महाशाखाले बुलेटिनमार्फत् जानकारी दिएको हो ।

    त्यस्तै शनिबार दिउँसो देशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको पनि सम्भावना रहेको महाशाखाले बताएको छ ।

    आज रातभर देशका पहाडी भू-भागहरूमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागहरूमा मौसम सामान्यतया सफा रहनेछ भने पहाडी भू-भागका एक-दुई स्थानमा मेघगर्जन तथा चट्टयाङसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

  • उच्च पहाडी तथा हिमाली भू-भागमा हिमपातको सम्भावना

    उच्च पहाडी तथा हिमाली भू-भागमा हिमपातको सम्भावना

    काठमाडौं । आज उच्च पहाडी तथा हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ ।

    यसका साथै देशभर आंशिकदेखि सामान्य बदली रही प्रदेश नं. १ का पहाडी भू-भागका केही स्थानमा छिट्पुट वर्षा पनि हुन सक्ने महाशाखाले जानकारी दिएको छ ।

    शनिबार राति पनि उच्च पहाडी तथा हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना रहेको र प्रदेश १ सँगै गण्डकी प्रदेशमा पनि हल्का वर्षा हुन सक्ने महाशाखाले बताएको छ ।

    अहिले देशमा पश्चिमी बायुको प्रभाव रहेको महाशाखाले जानकारी दिएको छ ।

     

  • काठमाडौं नजिकका डाँडामा हिमपात, भोलिदेखि न्यून चापीय क्षेत्र पूर्वतिर सर्ने (फोटो/भिडियो)

    काठमाडौं नजिकका डाँडामा हिमपात, भोलिदेखि न्यून चापीय क्षेत्र पूर्वतिर सर्ने (फोटो/भिडियो)

     

    काठमाडौं । पश्चिमी वायुको प्रभावले शनिवार राजधानी काठमाडौंमा वर्षा भएसँगै नजिकका डाँडाकाँडामा हिमपात भएको छ । चन्द्रागिरि, फुल्चोकी, गोदावरी, शिवपुरीलगायतका क्षेत्रमा हिमपात भएपछि युवाहरु हिउँसँग खेल्न ती ठाउँमा पुगिसकेका छन् ।

    पालुङमा भएको हिमपात । तस्विर : देवकी विष्ट

    त्यस्तै नगरकोट, खरिढुंगा, दामन लगायतका क्षेत्रमा पनि बाक्लो हिमपात भएको छ । वरिष्ठ मौसमविद वरुण पौडेलका अनुसार आइतवारदेखि काठमाडौंलगायत मध्यक्षेत्रको मौसम सफा हुनेछ भने न्यून चापीय क्षेत्र पूर्वतिर सर्नेछ ।

    गोदावरीको डाँडामा परेको हिउँ ।

    यसअघि पश्चिममा वर्षात्सँगै हिमपात भएको थियो । केही दिनमा अधिकतम तापक्रम बृद्धिसँगै अहिलेको चिसो कम हुँदै जानेछ । यसवर्ष हिउँदे वर्षा कम भएका कारण अधिकांश क्षेत्र सुख्खा छन् । पौडेलका अनुसार सुदूरपश्चिम र कर्णाली क्षेत्रमा घाम लाग्ने क्रम बढिसकेको छ भने आइतवारदेखि काठमाडौंको मौसम पनि घमाइलो हुनेछ ।

  • हिमाली जिल्लामा वर्षासँगै हिमपात- हवाई सेवा बन्द, जनजीवन प्रभावित

    हिमाली जिल्लामा वर्षासँगै हिमपात- हवाई सेवा बन्द, जनजीवन प्रभावित

    डोल्पा । हिमाली जिल्ला डोल्पामा भारी वर्षात्सँगै हिमपात भएको छ । बिहीबार दिउँसोदेखिको बदलीसँगै रातिदेखि वर्षात् र हिमपात शुरु भएको हो ।

    जिल्लाका त्रिपुरासुन्दरी नगरपालिकामा पर्ने सुँ, चुँ, जिँउ, लिकु, पहाडा, बन्तडीलगायत बस्ती हिउँले सेताम्य भएको छ । त्यसैगरी तल्लो डोल्पामा पर्ने ठूलीभेरी नगरपालिका, काइके, जगदुल्ला र मुड्केचुला गाउँपालिकामा पर्ने अधिकांश क्षेत्र हिउँले ढाकिएका छन् ।

    उपल्लो डोल्पाका डोल्पोबुद्ध, छार्काताङ्सोङ र शे–फोक्सुण्डो गाउँपालिकामा पनि बाग्लो हिँउ जमेको छ । हिमपातका कारण उपल्लो डोल्पाको जनजीवन कष्टकर भएको शे–फोक्सुण्डो गाउँपालिकाका वडाध्यक्ष निमा लामाले बताए।

    जिल्लाको उत्तरी क्षेत्रमा पर्ने भएकाले पनि उपल्लो डोल्लामा कात्तिक अन्तिमदेखि नै हिउँ पर्न शुरु भएको र आजसम्म दर्जन धेरै पटक हिमपात भइसकेको उनको भनाइ छ ।

    हिँउदको समय कट्नै लाग्दा माघमा परेको हिमपातका कारण गाउँबस्ती मात्र नभई अग्ला हिमाल, डाँडाकाँडा, वनजङ्गल हिउँले सेताम्य र मनमोहक देखिएका छन् ।

    मौसममा अझै सुधार नभएकाले फेरी पनि हिमपात हुने सम्भावना देखिएको छ । हिमाली जिल्लामा प्रत्येक वर्ष जलवायु परिवर्तनका असर बढ्न थालेको बताइएको छ ।

    हिमाली जिल्लामा आठ दश वर्षअघिसम्म हिउँदको दुई महिनामै सात–आठ पटक हिउँ पर्ने भए पनि अहिले एक पटक पनि मुस्किलले हिँउ पर्ने गरेको जलवायु परिवर्तनका क्षेत्रमा काम गर्दै आएका ताराप्रसाद आचार्यले बताए ।

    हिमालमा हिउँ नपर्नु, तालतलैया नदीनालाका सतह घट्नु, हिमाल सुक्खा र नाङ्गा देखिनु जलवायु परिवर्तनको असर भएको उनको भनाइ छ ।

    कृषक उत्साहित

    लामो समयपछि परेको हिमपातका कारण डोल्पाली कृषक उत्साहित भएका छन् । हिउँले ढपक्क हुनुपर्ने हिउँदकै समयमा वर्षात् र हिमपात नभएर खेतबारीमा लगाएको अन्नबाली सुक्न थालेपछि वर्षभरी कसरी गुजारा गर्ने भनेर कृषक चिन्तित भएका थिए ।

    अग्ला गाउँबस्तीमा हिमपात र अली होचा गाउँबस्तीमा वर्षात् भएपछि जिल्लाभरिका कृषक खुशी हुनुका साथै अन्नबालीका लागि सुविकाल शुरु भएको बताए ।

    जिल्लाभरि नै बिहीबार रातिदेखि शुरु भएको वर्षात्सँगै भएको हिमपातका कारण आलु, गहुँ, जौँ, उवालगायत अन्नबाली सप्रिनुका साथै उत्पादनमा समेत वृद्धि हुने आशा गरिएको त्रिपुरासुन्दरी नगरपालिका–१ का स्थानीय कृषक भीमप्रसाद देवकोटाले बताए ।

    ‘हिँउदमै परेको खडेरीले गर्दा खेतमा लगाइएको गहुँ, जौ आलु सुक्न थालेकाले वर्षभरी कसरी जीविकोपार्जन गर्ने भनेर चिन्तामा थियो, भोकमरी पर्ने होकि भन्ने डर उत्तिकै थियो, तर ढिलै भए पनि वर्षात्सँगै हिमपात भयो’, देवकोटाले भने ।

    यार्सागुम्बामा वृद्धि

    यसपटक परेको वर्षात्सँगै भएको हिमपातले कृषक मात्र नभई यार्सा सङ्कलक पनि उत्साहित भएका छन् । बहमूल्य जडीबुटी यार्सागुम्बाका लागि अत्यधिक चिसो आवश्यकपर्ने भएकाले भारी हिमपात र वर्षात्ले यार्सागुम्बाको परिमाणसँगै गुणस्तरमा समेत वृद्धि हुने स्थानीय सङ्कलकको भनाइ छ ।

    जिल्लावासीको मुख्य आम्दानीको स्रोतका रुपमा रहेको यार्सागुम्बा अघिल्लो वर्ष कोरोना भाइरसका कारण जिल्लाभरी नै सङ्कलनमा प्रतिबन्ध लगाइएको थियो । प्रत्येक वर्ष जेठ पहिलो सातादेखि असार अन्तिमसँग यार्सागुम्बा सङ्कलन गरिन्छ ।

    हवाई सेवा बन्द

    हिमपातका कारण जुफाल विमानस्थल अवरुद्ध भएको छ । धावनमार्गमा बाग्लो हिउँ जमेका कारण बिहीबार सम्पूर्ण उडानहरु रद्द भएको नागरिक उड्डयन प्राधिकरणको कार्यालय जुफालले जनाएको छ । काठमाडौँ र नेपालगञ्जदेखि कुनै पनि उडान हुन नसकेको प्राधिकरणको भनाइ छ ।

    रोग हट्ने विश्वास

    यसपटक वर्षातसँगै परेको हिमपातका कारण रोगव्याधि हट्ने विश्वास गरिएको छ । लामोसमय खडेरी पर्दा बडेको धुलोका कारण रुघाखोकीका बिरामी बढेकाले यो पटकको वर्षात्ले जमीन भिजेर धुलो हटेको स्थानीले बताए ।

    तीव्र गतिमा हावा चल्ने गाउँबस्तीमा प्रत्येक दिन धुलो उडेर चारैतिर फैलने गरेरकाले मान्छे बिरामी पर्ने गरे पनि अब बाटाघाटामा धुलो नउड्ने र रोगव्याधि पनि हट्ने उनीहरुको विश्वास छ ।

    पहाडी उच्च भेगमा हिमपात

    यस्तै डोटीमा बिहीबार साँझदेखि वर्षात् शुरु भएको छ । वर्षात् शुरु भएसँगै हिउँँदेबाली सप्रिने भन्दै यहाँका किसान निकै खुशी भएका छन् । लामो समयपछि बल्ल माघ अन्तिम सातामा वर्षात् भएका कारण अहिले यहाँका किसान निकै खुशी भएका छन् ।

    पानी नभएका कारण यहाँका लेकाली क्षेत्रमा लगाइएका खेतीपाती पानी नभएका कारण सुक्न थालेका कारण किसान चिन्तित बनेका थिए । अहिले लेकाली क्षेत्रको खेतीपातीका लागि पर्याप्त मात्रमा पुग्ने गरी पानी परी रहेको किसान बताउँछन् ।

    यसैगरी सुदूरपश्चिम प्रदेशको प्रसिद्ध पर्यटकीयस्थल खप्तड राष्ट्रिय निकुञ्जमा गए रातिदेखि हिमपात पनि शुरु भएको छ । बिहीबार रातिबाट हिमपात भइरहेको र त्यहाँको तापक्रम निकै घटेको खप्तडमा रहेको गुरुगोरख गुल्मका गुल्मपति तथा सेनानी शरद थापाले बताए।

    उनले भने, ‘बिहीबार साँझदेखि खप्तडमा वर्षात् र हिमपात शुरु भएको छ, हिमपातले अत्यधिक चिसो बढेको छ ।’ खप्तडलगायत यहाँका अन्य उच्च लेकाली क्षेत्रमा अहिले पनि हिमपात भइरहेको खप्तडको झिग्रानामा रहेको घारवासका सञ्चालक दीपकबहादुर खड्काले फोनमार्फत जानकारी दिए ।

    उनका अनुसार झिग्रानामा छ इञ्च तथा खप्तडमा कम्तीमा पनि दुई फिट जती हिउँ परेको छ । स्थानीयवासीका अनुसार अन्य वर्षको तुलनामा यो वर्ष खप्तडमा निकै थोरै हिउँँ र पानी परेको हो ।

    हिमपातका कारण गए राति त्यहाँको तापक्रम माइनस चार डिग्रीसम्म झरेको खप्तडमा रहेको गुरुगोरख गुल्मले जनाएको छ । यसअघि मङ्सिर र पुस महीनामा दुई पटक खप्तडमा हल्का हिमपात भएको थियो ।

    हिमपात तथा वर्षात्का कारण खप्तड राष्ट्रिय निकुञ्ज घुम्न आएका पर्यटक तथा जिल्लाका किसान निकै खुशी भएका भिग्रानाका स्थानीयवासी हर्कबहादुर साउदले बताए।

    उनले भने, ‘हिमपात भएपछि खप्तड घुम्न आएका पर्यटकलाई हिउँमा रमाउन फाइदा भएको छ, अनि किसानलाई पनि खेतीबालीमा पुग्ने पानी भएका कारण राम्रो भएको छ ।’

    खप्तड घुम्नका लागि अहिले हेलिकप्टरको पनि व्यवस्था मिलाएका कारण खप्तडलगायत यहाँका अन्य पर्यटकीय क्षेत्र बडिमालीका क्षेत्रमा सयौँ पर्यटक घुम्न आएका आएका छन् ।

    हेलिकप्टरको व्यवस्था गरिएपछि अहिले बडिमालिकामा आठ जना तथा खप्तड निकुञ्जमा कम्तीमा पनि १३९ ले अवलोकन भ्रमण गरिसकेको खप्तड पर्यटन विकास समिति डोटीले जनाएको छ ।

    राजमार्ग अवरुद्ध

    युसैगरी बैतडीसहित सुदूरपश्चिम प्रदेशका अधिकांश पहाडी जिल्लामा यो वर्ष पहिलोपटक हिमपात भएको छ । उच्च पहाडी क्षेत्र तथा हिमाली क्षेत्रमा बिहीबार राति हिमपात भएको हो ।

    बैतडीको सिगास, ढोल्यामोड, खोड्पे, अनारखोली, दार्चुलाको व्यास, अपीहिमाल, बझाङको बित्थड, बाजुराको पोरखे लेकसहित उच्च पहाडी क्षेत्रलगायत सुदूरपहाडमा हिमपात भएको स्थानीय बासिन्दाले बताएका छन् ।

    यसैबीच बाक्लो हिमपातका कारण राजमार्गसमेत अवरुद्ध भएका छन् । दशरथचन्द राजमार्ग, जयपृथ्वी राजमार्ग अवरुद्ध भएका बैतडीका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक नारायणप्रसाद अधिकारीले जानकारी दिए ।

    दशरथचन्द राजमार्गको अनारखोली जयपृथ्वी राजमार्गको ढोल्यामोड क्षेत्रमा बाक्लो हिउँँ जमेकाले राजमार्ग अवरुद्ध भएको हो । अवरुद्ध राजमार्ग खुलाउने प्रयास भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ । हिमपातले चिसो बढाएकाले जनजीवन पनि प्रभावित बनेको छ ।

    जनजीवन प्रभावित

    मौसममा बद्ली भएसँगै बझाङका विभिन्न क्षेत्रमा हिमपात भएको छ । जिल्लाको बुङगल नगरपालिका, जयपृथ्वी नगरपालिकाको उच्च भूभाग, छविसपाथीभेरा, तल्कोट, साइपाल, मष्टा खप्तडछान्ना, थलारा, वित्थडचिर र दुर्गाथली गाउँपालिकालगायत क्षेत्रमा बिहीबार राति हिमपात भएको हो ।

    माघको अन्तिम साता यो वर्ष पहिलोपटक हिमपात भएको हो ।

    गए रातिदेखि मौसममा आएको परिवर्तनसँगै उच्च क्षेत्रमा हिमपात भएको स्थानीय बासिन्दाले बताएका छन् । हिमपातका कारण बढेको चिसोले जनजीवन प्रभावित भएको वित्थडचिरका स्थानीय अम्बिका विष्टले बताए ।

    हिमपातका कारण दैनिक जनजीवन प्रभावित भएको छ । हिमपातले बाहिर निस्कन मुस्किल भएको बुङ्गल नगरपालिका–३ का मानबहादुर धामीले बताए ।

    चिसो बढेसँगै बस्तुभाउ स्याहारमा समस्या भएको स्थानीयले बताएका छन् । वर्षासँगै हिमपात भएपछि किसान भने खुशी भएका छन् । सिँचाइ नभएका क्षेत्रमा वर्षा र हिमपातले सिँचाइको काम गर्ने भएकाले किसान खुशी भएका हुन् । हिमपातले विभिन्न रोगकिरा नष्ट हुने कृषि ज्ञान केन्द्रका निमित्त प्रमुख टेकबहादुर विष्टले बताए ।

    हिमपातका कारण आंशिकरुपमा टेलिफोन, यातयात र विद्युत् सेवा प्रभावित भएको छ । बैतडीको ढोल्या मोड, खोड्पे बजार, अनारखोली, नाचन्थलीलगायत ठाउँमा बाक्लो हिमपात भएका कारण बझाङ भित्रने सावरी साधनलाई सकस भएको छ ।

    बादलले सौर्य प्रणाली चार्ज नहुँदा नेपाल टेलिकमको सेवा पनि आंशिकरुपमा प्रभावित भएको छ । बिहीबार रातिदेखि बझाङमा विद्युत् सेवा अवरुद्ध भएको छ । राति चलेको हावाहुरीले खोड्पे क्षेत्रको लाइनमा समस्या आएको नेपाल विद्युत् प्राधिकरण बझाङले जनाएको छ । विद्युत् सेवा अवरुद्ध हुँदा सेवाग्राही मारमा परेका छन् ।

    सम्पर्कविच्छेद

    त्यस्तै पाँच महीनापछिको वर्षासँगै हिमाली जिल्ला म्याग्दीको लेकाली क्षेत्रमा आज बिहानदेखि हिमपात भएको छ । हिमपातसँगै बढेको चिसोले जनजीवन प्रभावित भएको छ ।

    म्याग्दीको धौलागिरि गाउँपालिकाको गुर्जा र अन्नपूर्ण गाउँपालिकाको घोडेपानीमा हिउँँ पर्न थालेको हो । घोडेपानी टोल सुधार समितिका अध्यक्ष विरेन गर्बुजाले बिहानदेखि परेको हिउँँ जम्न थालेको बताए ।

    यसैगरी जिल्ला प्रशासन कार्यालय म्याग्दीले जाडोको जोखिममा रहेका नागरिकलाई घरघरमै पुगेर न्यानो कपडा वितरण गरेको छ । गृह मन्त्रालयको कार्यक्रमअनुसार म्याग्दीमा पनि प्रशासनका कर्मचारीले जोखिममा रहेका नागरिकको घरघरमा पुगेर न्यानो कपडा वितरण गरेका हुन् ।

    प्रहरी एकाइमार्फत चिसोको जोखिममा रहेका १८० विपन्न, असाहय र अशक्त नागरिक पहिचान गरेर न्यानो कपडा उपलब्ध गराएको प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारीले बताए। रासस

  • शुक्रबार बेलुकादेखि हिमाली भूभागमा हिमपात, आइतबारबाट मौसममा सुधार

    शुक्रबार बेलुकादेखि हिमाली भूभागमा हिमपात, आइतबारबाट मौसममा सुधार

    काठमाडौं । पश्चिमी वायुको प्रभावले आज देशभर आंशिकदेखि सामान्य बदली रही अधिकांश स्थानमा वर्षा हुने भएको छ ।

    जल तथा मौसम विज्ञान विभागका अनुसार आज बिहानैदेखि पश्चिम नेपालका केही ठाँउमा हल्का वर्षा भइरहेको छ ।
    उच्च हिमाली भूभागमा हिमपात भएको छ ।

    आज अपराह्न तथा बेलुकासम्म देशका पूर्वी तथा मध्य भूभागमा पनि हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसमविद् मीनकुमार अर्यालले बताए । ‘पश्चिमी वायु सक्रिय नभएकाले ठूलो वर्षाको सम्भावना छैन । हल्कादेखि मध्यम वर्षाको सम्भावना मात्र रहेको छ’, मौसमविद् अर्यालले भने ।

    पश्चिमी भूभागमा आज ७।८ मिलिमिटर वर्षा भइसकेको बताइएको छ । यस प्रणालीको प्रभाव शनिबार बेलुकासम्म रहने र आइतबारदेखि मौसम सफा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल सुदूरपश्चिम, कर्णाली, गण्डकी र लुम्बिनी प्रदेशमा सामान्य बदली तथा वाग्मती प्रदेशमा आंशिक बदली छ ।

    देशभर राति आंशिकदेखि सामान्य बदली रही सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र वाग्मती प्रदेशका पहाडी भूभागका धेरै स्थान तथा प्रदेश नं १ का केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको बताइएको छ ।

    मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरणानुसार आज काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम ३ दशमलव ५ डिग्री र अधिकतम तापक्रम २० दशमलव शून्य डिग्री सेल्सियस छ ।

    त्यस्तै आज सबैभन्दा कम जिरीको न्यूनतम तापक्रम शून्य दशमलव ५ डिग्री र सबैभन्दा धेरै धनगढीको न्यूनतम तापक्रम १३ दशमलव शून्य डिग्री सेल्सियस छ ।

  • उच्च पहाडी र हिमाली भेगमा हिमपातको सम्भावना

    उच्च पहाडी र हिमाली भेगमा हिमपातको सम्भावना

    काठमाडौं । हाल देशका पहाडी भू-भागमा आंशिक बदली रहेको तथा बाँकी ठाउँको मौसम सामान्यतया सफा रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागका अनुसार पश्‍चिमी वायुको सामान्य प्रभावले केही स्थानको मौसमलाई असर परेको छ ।

    मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो र सुदूरपश्‍चिम, गण्डकी र प्रदेश १ को उच्च पहाडी तथा हिमाली भेगका एक/दुई स्थानमा हल्का हिमपातको सम्भावना छ ।

    केही पहाडी तथा हिमाली भेगमा हिमपात साथै तराईका केही स्थानमा बिहानीपख हुस्सु/कुहिरोसमेत लाग्ने सम्भावना रहेकोले चिसोबाट बच्न र सतर्क रहन महाशाखाले सर्वसाधारणलाई अनुरोध गरेको छ ।

  • हुम्लामा हिमपातसँगै हावाहुरी, तापक्रम माइनस ८ डिग्री

    हुम्लामा हिमपातसँगै हावाहुरी, तापक्रम माइनस ८ डिग्री

    हिमपातपछि हुम्लामा चिसो बढेसँगै यहाँको जनजीवन कष्टकर बन्दै गएको छ । हुम्ला उच्च हिमाली जिल्ला भएकाले भारी हिमपातपछि सदरमुकाम सिमकोटसहित उत्तरी नाम्खा गाउँपालिका क्षेत्रमा चिसो बढेसँगै जनजीवन बष्टकर बन्दै गएको हो ।

    आइतबार अपराह्नदेखि सिमकोटलगायत जिल्लाका उच्च क्षेत्रमा हिमपात भएको र बेँसीमा वर्षा भएसँगै चिसोले जनजीवन कष्टकर बनेको हो । हिउँदयाम शुरु भएसँगै हुम्लाका सबै क्षेत्रमा अत्यधिक चिसो हुने गर्छ ।

    अत्यधिक चिसो र हिमपात भएपछि यहाँका नागरिक चिसो छल्न आगो ताप्ने गर्छन् । मौसम परिवर्तनसँगै आइतबारदेखि निकै चिसो बढेपछि सिमकोटको तापक्रम माइनसमा झरेको छ । हुम्लाकोे तापक्रम माइनस ८ डिग्री सेन्टिग्रेडमा झरेको छ ।

    चिसोले सिमकोट आसपास चल्ने सडक अवरुद्ध भएका छन् । सडकमा हिउँ जमेपछि सिमकोट आसपास चल्ने आन्तरिक सडक अवरुद्ध भएको हो । समुद्री सतहदेखि करिब एक हजार मिटर उचाइसम्म हिमपात भएपछि हुम्लामा चिसो अत्यधिक बढेको छ ।

    चिसो बढ्दै गएपछि सदरमुकाम सिमकोट बजारमा बसोबास गर्दै आएका व्यापारी, गाउँघरका सर्वसाधारणहरु आगो ताप्दै दिन बिताइरहेका छन् । अत्यधिक चिसो र हिमपात भएपछि यहाँका नागरिक चिसो छल्न आगो ताप्ने गर्दछन् ।

    चिसोले सरकारी तथा गैरसरकारी सङ्घसंस्थाको सेवा प्रवाहमा पनि कठिनाइ भएको छ । कर्मचारीहरूले हिटर तापेर काम गरिरहेका छन् । चिसो बढेसँगै दैनिकरूपमा कार्य गर्दै आइरहेका काम पनि ठप्प भएका छन् । चिसोले गाई बाख्रा मेलापातमा पनि समस्या भएको स्थानीयवासी कमल भण्डारीले बताए ।

    सदरमुकाम सिमकोट आसपासका क्षेत्र बाक्लो हिउँले ढाकिएको छ । स्थानीयवासीलाई आऊजाऊ गर्नै समस्या भएको छ । उत्तरी हुम्लाका प्राय बस्तीका बासिन्दाले यसअघि नै गाउँ छोडिसकेका छन ।

    हिमपात भएपछि सदरमुकाम सिमकोट वरिपरिका रुख र जमिन सेताम्मे बनेका छन । आज बिहानदेखि सिमकोटमा चिसोसँगै हावाहुरी चलिरहेको छ । अहिले बाक्लो बादल लागेर अझै हिमपात हुने सम्भावना छ ।

  • हुम्लामा हिमपात- उडान अवरुद्ध, जनजीवन प्रभावित (फोटो फिचर)

    हुम्लामा हिमपात- उडान अवरुद्ध, जनजीवन प्रभावित (फोटो फिचर)

    हुम्ला । मौसम बदलीसँगै देशका उच्च हिमाली भेगमा बाक्लो हिमपात भएको छ । हिमपातका कारण हवाई उडानसमेत प्रभावित भएको छ । हुम्ला सदरमुकामको सिमकोट विमानस्थलमा उडान भर्न नसकेर दुई जहाज थन्किएका छन् । यहाँका नागरिकको दैनिकी प्रभावित भएको छ ।

    पश्चिमी वायुको प्रभावले देशभरको मौसम बदली भएको छ । मौसम विज्ञान विभागले आज र भोलि देशभर बदली रही हल्का वर्षा र उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपात हुने अनुमान गरेको छ ।

    हेर्नुहोस्, हुम्ला सदरमुकाम सिमकोटमा परेको हिमपातका केही तस्वीर ।