Tag: हिउँदे अधिवेशन

  • पुनःस्थापित संसद कामविहीन, हिउँदे अधिवेशन अन्त्य गर्न सरकारलाई दवाव

    पुनःस्थापित संसद कामविहीन, हिउँदे अधिवेशन अन्त्य गर्न सरकारलाई दवाव

    काठमाडौं । पुनःस्थापित प्रतिनिधिसभाको अधिवेशन शुरु भएको डेढ महिनासम्म पनि संसदले कुनै विजनेश अघि बढाउन नसकेपछि ‘हाउस’अन्त्य गर्न सरकारमाथि दवाव बढेको छ । पुनःस्थापित संसदले अहिलेसम्म संविधान अनुसार हुनुपर्ने अध्यादेशसमेत अघि बढाउन सकेको छैन ।

    कार्यपालिका र व्यवस्थापिकाबीच समन्वय हुन नसक्दा प्रतिनिधिसभा कामविहीन बनेको हो । प्रधानमन्त्री र सभामुखबीच सार्वजनिक मञ्चहरुबाट आरोप प्रत्यारोप चलिरहँदा संसदको वर्खे अधिवेशनको चापमा सरकार छ ।

    सरकारको नीति तथा कार्यक्रम र बजेटको चटारोसमेत शुरु भइसकेको छ । सभामुखले सरकारले लगेका विधेयक, प्रस्ताव र अध्यादेशहरु अघि नबढाएको आरोप लागेको छ । संसदले एउटा पनि विधेयक अघि नबढाई हिउँदे अधिवेशन अन्त हुने अवस्थामा पुगेको संसद सचिवालयका अधिकारीहरु बताउँछन् ।

    फागुन ११ गते सर्वोच्च अदालतको फैसलाबाट पुनःस्थापित भएको प्रतिनिधिसभाको पहिलो बैठक अदालतकै आदेश बमोजिम फागुन २३ गते बसेको थियो । पहिलो बैठकमै विपक्षी दलले अध्यादेशहरु पेश गर्नबाट रोकेपछि संसदले काम गर्न सकेको छैन ।

    पुनःस्थापित प्रतिनिधिसभाको पहिलो बैठक माओवादी केन्द्र र एमालेको माधव नेपाल पक्षले बहिस्कार गरेका थिए । पहिलो बैठकमा अध्यादेश टेबल गर्नुपर्ने संवैधानिक व्यवस्था अनुसार रोष्टममा बोलाएर पनि सभामुखले मन्त्री लिलानाथ श्रेष्ठलाई रोकेदेखि सरकार र सभामुखबीच घोचपेच चलिरहेको छ ।

    वैशाखभित्रै संसदको बजेट अधिवेशन पनि बोलाउनुपर्ने भएकाले संसद अधिवेशन अन्त गर्ने तयारी भइरहेको स्रोतले जनाएको छ । आजको मन्त्रिपरिषद बैठकमा यसबारेमा समेत छलफल हुने सम्भावना छ ।

    जनता समाजवादी पार्टीका सांसद राजकिशोर यादव संसदलाई लामो समयसम्म विजनेशविहीन बनाइँदा राम्रो सन्देश नगएको बताउँछन् । कार्यपालिका र व्यवस्थापिकबीचको द्वन्द्व सतहमा देखिनु उचित नभएको उनको भनाइ छ ।

    एमाले केन्द्रीय सदस्य विष्णु रिजालले प्रतिनिधिसभाले कुनै विधेयक र अरु काम अघि बढाउन नसक्ने हो भने चालू अधिवेशन अन्त्य गरी सरकार नीति कार्यक्रम र बजेट निर्माणमा केन्द्रित हुनु राम्रो हुने सुझाव दिएका छन् ।

    संविधान बमोजिम जेठ १५ गते बजेट ल्याउनुपर्छ । संसदको हिउँदे अधिवेशन औचित्यहीन भएपछि वर्खे अधिवेशनको लागि ग्याप राखेर अन्त्य गर्नु उपयुक्त हुने निष्कर्षमा सरकार पुगेको एक मन्त्रीले बताए । तर सभामुख अग्नि सापकोटाले भने संसदलाई घेराबन्दी गरिएको गुनासो गरेका छन् ।

  • चार वटा बैठक बसेर सकियो राष्ट्रियसभाको  हिउँदे अधिवेशन

    चार वटा बैठक बसेर सकियो राष्ट्रियसभाको हिउँदे अधिवेशन

    काठमाडौं । राष्ट्रियसभाको यही पुस १७ गतेदेखि शुरु भएको हिउँदे अधिवेशन आज रातिदेखि अन्त्य भएको छ ।

    राष्ट्रियसभाको आजको बैठकमा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले राष्ट्रपतिबाट प्राप्त अधिवेशन अन्त्यसम्बन्धी पत्रको व्यहोरा पढेर सुनाए ।

    सोहीअनुसार उनले राष्ट्रियसभाको चालु अधिवेशन आज राति १२ बजेदेखि लागु हुने गरी अन्त्य भएको घोषणा गरे । यस वर्षको हिउँदे बैठक ४ वटा मात्रै भयो ।

    चालु अधिवेशनको १० दिनमा चार बैठक बसी सात अध्यादेश पेश भएको, नवनियुक्त राष्ट्रियसभा सदस्य वामदेव गौतमलाई सभाको दिगो विकास तथा सुशासन समिति सदस्यमा मनोनयन गरिएको, थारू र मधेशी आयोगको प्रतिवेदन पेश भएको तथा दिगो विकास र विधायन व्यवस्थापन समितिको वार्षिक प्रतिवेदन पेश भएको अध्यक्ष तिमिल्सिनाले जानकारी गराए ।

    आइतबार बसेको मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रिय सभाको अधिवेशन राष्ट्रपति विद्या देवी भण्डारीले अन्तय गरेकी छिन् ।यसअघि बैठकमा उठेका एवं समसामयिक विषयमा प्रधानमन्त्री केपी शर्मा ओलीले वक्तव्य दिएका थिए ।

    बैठकमा प्रधानमन्त्री ओलीले ‘थारु आयोगको वार्षिक प्रतिवेदन, २०७६/०७७’ र विधायन व्यवस्थापन समितिका सभापतिका तर्फबाट समिति सदस्य देवेन्द्र दाहालले ‘विधायन व्यवस्थापन समितिको वार्षिक प्रतिवेदन, २०७६/०७७’ सभासमक्ष पेश पेश गरेका थिए ।