Tag: हिउँ

  • चन्द्रागिरीमा हिउँ खेल्न थामिनसक्नु भीड

    चन्द्रागिरीमा हिउँ खेल्न थामिनसक्नु भीड

    काठमाडौं । हिमपात सुरू भएसँगै काठमाडौं नजिकको चन्द्रागिरी डाँडामा हिउँ हेर्न आउनेहरूको लर्को लागेको छ । चिसो मौसमको परवाह नगरी काठमाडौंका विभिन्न स्थानबाट युवा-युवती र किशोर-किशोरीहरु हिउँसँग रमाउन चन्द्रागिरीमा ओइरिएका छन् ।

    आज बिहानबाट देशका विभिन्न भागमा हिमपातको खबरसँगै चन्द्रागिरीमा मानिसहरूको चहलपहल बाक्लिएको थियो । दिउँसोसम्म यहाँ हजारौंको संख्यामा उपस्थिति देखिएको छ । चन्द्रागिरीमा अवस्थित भालेश्वर महादेवको मन्दिर दर्शन गर्न लामो लाइन लागेको छ ।

    काठमाडौंको सबैभन्दा अग्लो स्थानका रुपमा रहेको र केवलकारसमेत जोडिएकाले पछिल्ला वर्षहरुमा चन्द्रागिरी पर्यटकीय आकर्षणको स्थान बन्दै आएको छ । हिमपातले यहाँको आकर्षणलाई थप बढाइदिएको छ ।

  • चन्द्रागिरी मात्र होइन, अरु पनि छन् काठमाडौं नजिक हिउँ खेल्ने ठाउँ

    चन्द्रागिरी मात्र होइन, अरु पनि छन् काठमाडौं नजिक हिउँ खेल्ने ठाउँ

    काठमाडौं । आज बिहानदेखि सुरू भएको वर्षा र हिमपातसँगै काठमाडौंनजिकको चन्द्रागिरी डाँडामा भीडभाड सुरू भयो । काठमाडौंका विभिन्न स्थानबाट युवायुवतीहरू हिउँ खेल्न चन्द्रागिरीमा झुम्मिए ।

    केही वर्षयता हिउँ खेल्ने भन्नेबित्तिकै सबैले सबैभन्दा पहिले चन्द्रागिरी नै सम्झिन्छन् । पर्यटकीय आर्कषणको स्थान र सहज यातायातका कारण चन्द्रागिरी पहिलो रोजाइमा पर्नु स्वभाविक पनि हो । तर, यसको मतलब काठमाडौंनजिक हिउँ पर्ने ठाउँ यो मात्रै होइन । तपाईं चन्द्रागिरीको विकल्पमा अरु स्थान पनि रोज्न सक्नु हुन्छ, जहाँ हिउँको मज्जा लिन सकिन्छ ।

    उपत्यका आसपासका अन्य डाँडाहरूमा पनि प्रशस्तै हिउँ पर्ने गरेको पाइन्छ । मंगलबारदेखि हिमपात सुरू भएसँगै अहिले यी डाँडाहरू पनि सेताम्मे नै छन् । हामी यहाँ त्यस्तै पाँच स्थानको परिचय गराउँदैछौं, जहाँ तपाईं सहजरूपमा पुगेर हिँउको आनन्द लिन सक्नुहुन्छ ।

    शिवपुरी

    २,५६३ मिटर उचाइमा रहेको शिवपुरी डाँडा हिउँ हेर्न र खेल्न पाइने काठमाडौं नजिकैको उत्कृष्ट गन्तव्य हो । काठमाडौंबाट करिब १८ किलोमिटर दूरीमा रहेको शिवपुरी डाँडा ५ देखि ६ घण्टामा पैदल हिँडेरै पुग्न सकिन्छ ।

    शिवपुरी काठमाडौंको उत्तरमा पर्ने शिवपुरी-नागार्जुन राष्ट्रिय निकुञ्जभित्र अवस्थित छ ।

    फूलचोकी

    उपत्यकाको सबभन्दा अग्लो डाँडा हो, फूलचोकी डाँडा । २,७६५ मिटर उचाइमा रहेको फूलचोकी वर्षौंदेखि ‘हिउँ हेर्ने डाँडा’ भनेर समेत परिचित छ ।

    बुधबार देशका अन्य भागहरूको अवस्था हेर्दा एक हजार ७०० मिटरसम्म हिउँ परेको छ । काठमाडौं आसपासका क्षेत्र लगायत फूलचोकीमा समेत हिउँ परेपछि यहाँ चहलपहल बढेको छ ।

    गोदावरी बोटानिकल गार्डेन, हुँदै यस क्षेत्रमा पुग्न सकिन्छ । हिउँले छोपिने यस डाँडाबाट सगरमाथा, गौरीशंकर, गणेश, लाङटाङ, मनास्लु, अन्नपूर्ण हिमश्रृखलाको दृश्यावलोकन गर्न सकिन्छ ।

    नगरकोट

    दुई हजार १७५ मिटर उचाइमा रहेको नगरकोट क्षेत्रमा पनि हिउँ खेल्न सकिन्छ । चाँगुनारायण मन्दिरसँगै पुराना नेवारी बस्ती र हिमश्रृंखलासमेत देख्न पाइने यस डाँडाको उच्चभागमा हिउँ पर्छ । उपत्यकाबाट नजिकको गन्तव्य भएका कारण हिउँ हेर्न र खेल्न यो उपयुक्त गन्तव्य हो ।

    पर्यटकीय क्षेत्रसमेत रहेको नगरकोटमा हाइकिङको मज्जा पनि लिन सकिन्छ । साँखु, सुन्दरीजल, चाँगुनारायण, भक्तपुर, बनेपा र धुलिखेलबाट नगरकोट पुग्न सकिन्छ ।

    दामन

    हिमालको दृश्यवलोकनसँगै हिउँ नदेखेका मानिसहरूका लागि दामन अहिले उत्कृष्ट गन्तव्य हुन सक्छ । मकवानपुर जिल्लामा अवस्थित पर्यटकीय क्षेत्रसमेत रहेको दामनमा सेताम्य हिउँमाथि खेल्न सकिन्छ ।

    आन्तरिक तथा वाह्य पर्यटकको आकर्षण मानिने दामन हिउँ परेसँगै थप मनोरम देखिन्छ । २,६८८ मिटर उचाइमा रहेको दामनबाट अन्नपूर्ण, मनास्लु, गणेश, लाङटाङ, दोर्जे लाक्पा, गौरीशंकरलगायत हिमाल हेर्न सकिन्छ ।

    र, चन्द्रागिरी

    फुलचोकी डाँडाभन्दा होचो भए पनि केवुलकारका कारण पुग्न सहज भएपछि हिजोआज चन्द्रागिरीमा आकर्षण निकै बढेको छ । काठमाडौं उपत्यकाका युवायुवतीहरु यहाँ पुगेर हिउँमा रमाइरहेका छन् ।

    दुई हजार ४७५ मिटर उचाइमा रहेको यस क्षेत्रमा मंगलबारदेखि नै हिउँ पर्न थालेको थियो । मौसम सफा हुँदा यहाँबाट सगरमाथा, मकालु, कञ्चनजंगा, मनास्लु, दोर्जे लाक्पालगायतका हिमालहरू देख्न सकिन्छ ।

    बुधबारसम्म निरन्तर परेको हिउँ बिहीबारसम्म रहनसक्ने अनुमान छ । बाक्लो हिमपात भए पनि पानी परेपछि हिउँ लामो समय रहँदैन ।

  • चन्द्रागिरीको हिउँमा रम्दै तन्नेरी (तस्बिरहरू)

    चन्द्रागिरीको हिउँमा रम्दै तन्नेरी (तस्बिरहरू)

    काठमाडौं । पानी परेसँगै देशका विभिन्न ठाउँलगायत काठमाडौं आसपासका डाँडा हिउँले ढाकिएका छन् । पर्यटकीय एवं धार्मिकस्थल चन्द्रागिरीमा पनि हिउँ परेको छ ।

    चन्द्रागिरीमा अवस्थित भालेश्वर महादेव मन्दिर तथा उद्यान क्षेत्रमा हिउँले पूरै ढाकिएको छ ।

    काठमाडौंकै सबैभन्दा अग्लो स्थान र केवलकारसमेत जोडिएकाले पछिल्ला केही वर्षदेखि हिउँ खेल्नका लागि आन्तरिक पर्यटकको आकर्षक गन्तव्य हुँदै आएको छ ।

    बिहानैदेखि चन्द्रागिरीमा हिउँ खेल्नेको लर्को छ । विशेषगरी तन्नेरीहरू हिउँमा रमेका छन् । चन्द्रागिरीको हिमपात र हिउँ खेल्दै गरेकाहरूको कैद गरिएका केही तस्बिर:

  • हिउँ नपरेपछि अन्नबाली सप्रिएन, लोडसेडिङ शुरु

    हिउँ नपरेपछि अन्नबाली सप्रिएन, लोडसेडिङ शुरु

    बाग्लुङ । ढोरपाटन उपत्यकामा अघिल्लो वर्षको तुलनामा यो वर्ष हिउँ थोरै परेकाले कृषि र विद्युत् उत्पादनमा असर परेको छ । हिउँदे बालीका लागि हिउँको महत्व बढी छ तर यो वर्ष थोरै हिउँपर्दा किसानले लगाएको गहुँलगायत फसल थोरै फलेको छ ।

    ‘अघिल्ला वर्ष प्रसस्त फलेको गहुँ यो वर्ष असाध्यै कम छ’, ढोरपाटन नगरपालिका–९ का गोविन्द पुनले भने, ‘खेतीपाती राम्रो नभएपछि किसानलाई मर्का परेको छ ।’ हिउँ नपरेको वर्ष आलु, स्याउलगायत बाली पनि नराम्रो हुने उनले बताए ।

    ढोरपाटनका किसानले फाँपर पनि लगाउने गर्छन् । पानी अभावले उत्पादनमा ठूलो क्षति पुग्ने किसानले गुनासो गरेका छन् । हिउँ अभावमा ढोरपाटनकै गार्पाखोला लघुजलविद्युत् आयोजनाबाट बिजुलीसमेत पर्याप्त उत्पादन हुनसकेको छैन ।

    ढोरपाटन नगरपालिका–९ ढोरपाटनमा रहेको यो आयोजना ४० किलोवाट क्षमताको हो । अघिल्लो वर्ष पटकपटक हिउँ परेकोमा गत फागुन पहिलो साता एक दिन मात्र हिउँ परेको थियो ।

    उक्त हिउँ पनि दुईचार दिनमै पग्लने खालको भएको स्थानीयवासीले बताएका छन् । उक्त आयोजनाबाट यसवर्ष पानी अभावले उत्पादन घटेको गार्पाखोला लघुजलविद्युत् आयोजना उपभोक्ता समितिका सचिव कमल भण्डारीले बताए।

    ‘कुलोमा पानी सानो छ, उत्पादन पनि घटेको छ’, भण्डारीले भने, ‘हिउँ परेको वर्ष चैत वैशाखसम्म पनि हिउँ पग्लेर पानीको मात्रा बढी हुन्थ्यो, अहिले छैन ।’

    पानी अभावले विद्युत् नपुग्दा साँझको समयमा बिजुली जाने समस्या भएको उनले बताए । उनका अनुसार हिउँदमा २० किलोवाट मात्रै उत्पादन भएको छ ।

    यो उत्पादनले ढोरपाटन उपत्यकालाई बिजुली पुग्दैन । जलविद्युत्बाट ढोरपाटन उपत्यकाभित्रका भण्डारी गाउँ, पाखाथर, नौथरलगायत गाउँका ३५० घरधुरी, ढोरपाटन शिकार आरक्ष कार्यालय, नेपाली सेनाको शत्रुमर्दन गुल्म ब्यारेकमा बिजुली बाल्ने गरिएको छ ।

    आंशिक रुपमा उत्पादन भएको यस विद्युत्ले सबै घरधुरीमा एक साथ पु¥याउन नसकिएको हो । आयोजनाबाट टोलअनुसार फरकफरक समयमा बिजुली वितरण गर्दा मोबाइल चार्ज गर्ने र अन्य कामका लागि समस्या परेको स्थानीयवासी शिक्षक चकबहादुर अदैले बताए ।

    बिजुली अभावले फोन नलाग्ने र साँझमा उज्यालो बनाउन समस्या परेको छ’, अदैले भने, ‘यसको ठूलो असर विद्यार्थीलाई परेको छ ।’ साँझ बिहान पढ्न नपाएर विद्यार्थीले सास्ती खेप्नु परेको उहाँले बताए।

     

  • हिउँ परेपछि खुलेको आकाश

    हिउँ परेपछि खुलेको आकाश

    काठमाडौं । गत वर्ष मंसिर पहिलो सातादेखि हिउँ पर्न थाल्ने हिमाली जिल्लाहरूमा यस वर्ष भने माघको १५ सम्म आइपुग्दा पनि हिउँ देखिएन । हिमालमा भएका हिउँहरु पनि पग्लेर कालापत्थरमात्रै देखिन थालेको थियो । हिमाली भेगमा लगाइएको अन्नबाली सप्रने एउटै आधार भनेको हिउँ हो ।

    हिउँ परेपछि आलु, गहुँ, फापर लगायतका अन्नबालीलाई राहत छ । तर, यसवर्ष माघसम्म वर्षा र हिउँ नभएपछि कृषकहरू चिन्तित देखिन थालेका थिए।

    जलवायु परिवर्तनको असरले गर्दा हिमालमा हिउँ नपरेको भन्दै वातावरणविद्हरुले चिन्ता व्यक्त गरेका छन् । यसवर्ष ढिलै भएपनि किसानको मुहारमा चमक ल्यायो । बिहीबार रातिदेखि परेको हिउँले कृषक मात्र होइन हिउँ खेल्न रमाउनेहरू पनि खुशी भएका छन् । काठमाडौं उपत्यका नजिकैका अग्ला डाडाँहरू पनि हिउँले सेताम्य छ । आकाश पनि खुल्दा विभिन्न जिल्लाहरुको डाँडाकाडाँ यस्तो देखियो

    सिन्धुपाल्चोकको हेलम्बु
    सिन्धुपाल्चोकको हेलम्बु
    सिन्धुपाल्चोकको हेलम्बु
    सिन्धुपाल्चोकको हेलम्बु
    सिन्धुपाल्चोकको हेलम्बु
    सिन्धुपाल्चोकको हेलम्बु
    सिन्धुपाल्चोकको हेलम्बु

     

    हुम्लाको सिमकोट
    अन्नपूर्ण
    रसुवा
    हुम्लाको सिमकोट

    तस्बिर सौजन्य : निमा ज्याल्जेन शेर्पा  र रासस