Tag: हिंसा

  • मारमा महिला सञ्चारकर्मी, सहकर्मीदेखि उपप्रधानमन्त्रीसम्मको हिंसा

    मारमा महिला सञ्चारकर्मी, सहकर्मीदेखि उपप्रधानमन्त्रीसम्मको हिंसा

    के तपाईं नेपालमा महिलाहरुमाथि हुने हिंसाको तत्कालको तथ्याङ्कबारे जानकार हुनुहुन्छ ? जानकार हुनुहुन्न भने धैर्यतापूर्वक सुन्नुहोला ।

    अहिले पर्ने हिंसासम्बन्धी उजुरीमध्ये ७७ प्रतिशत उजुरी महिला हिंसासम्बन्धी छन् । नेपाल प्रहरीको २०७६,०७७ को तथ्याङ्कले यही बताउँछ । जसलाई नेपाल कानून आयोग मा गएर हेर्न सकिन्छ । र ती सबै घरभित्र या कार्यलय भित्रै हुने हिंसा हुन् । जसलाई हामी सुरक्षित ठाउँ भनिरहेका छौं ।

    नेपालमा घरभित्र आफन्तबाटै भोग्ने हिंसाको त यो अवस्था छ भने घरबाहिर या कार्यक्षेत्रमा महिलाको अवस्था कस्तो होला ? यसको गतिलो अनुसन्धान नभएका कारण तथ्याङ्क दिन सकिंदैन । महिलाहरु घर र कार्यलयमा कस्तो हिंसामा पर्छन् भन्नेबारे एकजना महिला पत्रकारले एक समयमा भोगेको हिंसाबाट आजको आलेख सुरु गर्छु ।

    ‘अरुको आवाज पो कसरी बोक्ने हो, जब आफूमाथि भएको हिंसात्मक आवाज नै दबाउन वाध्य छु ।’ ती पत्रकार महिलाले कार्यक्रममा सबैको अघि भन्नु भएको थियो । अरुका समस्या उजागर गर्न घटना अनुसन्धान गरेर लेख्ने प्रमुखमध्येको एक मिडियामा कार्यरत ती प्रखर पत्रकारको यो वाक्यले मलाई घटना कोट्याउन मन लाग्यो ।

    नेपाल सरकारको उपप्रधानमन्त्री भइसकेको मान्छेबाट उनले हिंसाजन्य यस्तो व्यवहार खपेकी हुन् । घटना सुनाउँदै उनले भनेकी थिइन्– रेडियोको कार्यक्रम त्यस्तै त हो कति हतार हुन्छ कति । भोलिको कार्यक्रमको लागि अतिथि बोलाउन तत्कालको तत्काल निर्णय लिनुपर्ने हुन्छ ।

    भोलिपल्ट बिहान प्रसारण गरिने अन्तर्वार्ताको लागि समसामयिक विषयमा बोल्नसक्ने र जिम्मेवारीमा भएको नेतालाई कार्यक्रममा बोलाउनु थियो । डेस्कको सल्लाहअनुसार उपप्रधानमन्त्री भइसकेको एकजना नेतालाई लिने भयौं । अन्तरवार्ता मैले नै लिने भएकोले भोलिपल्ट बिहानको लागि अघिल्लो दिन नै फोन गरेँ ।

    उनको फोनमा महिलाको आवाज सुन्नासाथ बोल्ने तरिका फरक महसुस गरेथेँ मैले । तर त्यसलाई बेवास्ता गरेर कुरा सुनेँ । उनको जिज्ञासा थियो– को हौ तिमी ? कहाँ काम गछ्र्यौं ? मलाई वार्तामा एकजना वक्ता जसै चाहिएकोले त्यो आवाज छोपेर मैले काम गर्ने संस्थाको नाम, अन्तर्वार्ता समय पनि सुनाएँ । उनले खै के हुन्छ हेरौं भन्दै फोन राखे ।

    उनको प्रतिवद्धतामा भर नलागेर अर्को एकजना अतिथि पनि तयार गरेर म अरु काममा लागेँ । सञ्चार माध्यममा काम गर्न एकदमै हतारमा होइन्छ । त्यहीबेला परीक्षा पनि आएकोले एकैछिन भए पनि एकान्त हौं, शान्त बसौं भैरहेको थियो । काम गर्ने रहर, बाध्यता सबै भएकोले त्यस्तो पनि सम्भव भएको थिएन ।

    हो, यस्ता फरक–फरक खालका समस्या बाहिर आएका छन् फेरिएका मिडिया हाउसहरुमा । नेपालमा मात्र होइन, विश्वभरि नै फरक खालका हिंसा महिलाले भोगिरहेको तथ्याङ्कले देखाएको छ । युएन ओमनले एसिया पेसिफिकलाई केन्द्र बनाएर गरिरहेको अध्ययनमा भनेको छ ।

    एकपटक दुई पटक भए त यस्ता घटना सम्झने फुर्सद पनि कहाँ हुन्छन् हामीलाई ? तर यो एक दुईपटक मात्र थिएन । यस्तो बेला राति झण्डै १० बज्न लाग्दा अफिसको कामले थाकेर लखतरान परेर कोठामा पुग्दै मात्र थिएँ, उनै नेताको फोन आयो । आफैंलाई चाहिएको हुनाले समयको ख्याल नै नगरी संयम भएर फोन उठाएँ र भोलिको कार्यक्रममा बोल्न तयार भए–नभएको बारे सोधेँ ।

    उनले भोलि आफू आउने बताए । तर उनले फेरि किन फोन नगरेको, मैले नै गर्नु पर्छ भनेर बनावटी आत्मीयता प्रदर्शन गर्दै सोधे । मैले पनि यहीं समय परीक्षा भएकाले काम सकेर बल्ल कोठा छिर्दै छु भनेँ । अलि व्यस्त छु सर, त्यहीं भएर भ्याइनँ तर म ढुक्क पनि थिएँ भनेँ । तर उनको बोली सामान्य थिएन । लाडिएको आवाजमा ‘म सहयोग गर्न आउँ त’ भन्न थाले । मैले फेरि बेवास्ता गर्दै भोलिको वार्ताको लागि तयार हुनुहोला भन्दै फोन काटेँ ।

    खाना बनाउँदै थिएँ, एकैछिनमा फेरि फोन आयो । शंका पनि गरिरहन त भएन । सोचेँ, फेरि भ्याउन्नँ, काम प¥यो भन्न लागे कि भनेर फोन उठाएँ । तर उनको चासो राजनैतिक या सामाजिक विषय नभएर अरु कुरामा थियो । उनी मेरो बोल्ने तरिका मन परेको भन्न थाले । मैले धन्यवाद भन्दै फोन काटेँ । फेरि फेरि उनको फोन आइरह्यो । तर अब भोलि नबोले पनि नबोलोस् भन्ने लागेर फोन साइलेन्स पारेर सुतेँ ।

    भोलिपल्ट जसोतसो वार्ता त गरेँ । अब त सकियो भन्ने लागेथ्यो । तर उनले त झन् धेरै तारन्तार फोन गर्न थाले । परीक्षाको समय छ, उनले गरेको यस्तो घिनलाग्दो व्यावहारले एकदमै दिक्क लागेर ब्लक नै गरेँ । उनले अफिसमा मेरो अर्को नम्बर मागेछन् र आज पनि अनेक नम्बरबाट फोन म्यासेज गरेर हैरान लगाउँछन् । यो फोनको डिस्टर्बले मैले परीक्षा पनि राम्रोसँग दिन पाइनँ । काममा पनि ध्यान केन्द्रित गर्न सकेको छैन । त्यो बुढो मान्छेको त्यस्तो हर्कतले मलाई एकदमै हिनताबोध भएको छ ।

    सबैमाझ यस्तो समस्या राखेकी उनलाई धेरैले आश्चर्य मान्दै किन उजुरी नगरेको भनेर प्रश्न गरे । उनले भनिन्’, ‘उजुरी गर्ने ठाउँ थाहा नपाएर, नजानेर होइन, त्यस्तो पदमा भएर पनि यस्तो हर्कत् गर्नेले न्यायलयमा पनि उसैको ठूलो कुरा होला, के न्याय पाउँला भनेर मैले उजुरी गरिनँ ।’ उनले फेरि थपिन् ‘उजुरी गरिनँ भनेर मन झन् पिरोलेको छ । काममा पनि उति जाँगर चलेको छैन ।’

    सुन्दा यो एकजना मान्छेले गरेको कृत्य देखिन्छ । तर यो प्रतिनिधि घटना मात्र हो । यस्ता घटना महिला पत्रकारहरुले कहिले कार्यलय भित्र, कहिले बाहिरकाहरुबाट खपिरहेका हुन्छन् ।

    नेपालमा महिला हिंसाको अवस्था कस्तो छ र महिलामा हुने हिंसा कसरी अन्त्य गर्न सकन्छि भनेर अनुसन्धान कसरी गर्ने भन्ने कार्यक्रममा एकजना सहभागीबाटै यस्तो अनुभव सुनाउँदा अरु सहभागी भने एकैपटक धेरै प्रश्नले भरिएका थिए । यस्तो सशक्त सार्वजनिक आवाज भएकी पत्रकारले भोगेको हिंसाले बताउँदै थियो कि– बाहिर निस्कन नसकेका यहाँ अनेक मुद्दा छन् ।

    काठमाडौंकै अर्काे एक संचारमाध्यममा कार्यरत महिला पत्रकारले अघिल्लो दिन समाचार पोष्ट गर्न तयार पारेर घर गइन् । तर भोलिपल्ट उनको समाचारमा गलत् अर्थ लगाउने शीर्षक राखियो । त्यो शीर्षकले उनलाई धेरै गाली गरिएका प्रतिक्रिया प्राप्त भए । यो देखेर उनी मर्माहात भइन् । उनले यस्तो किन गरियो भनेर प्रश्न गर्दा सम्पादकले जागिर छोडेर जाने धम्की दिए ।

    उजुरी दिने कुरा गरेपछि उल्टो उनको तलव रोकियो । अरुको आवाज उठाउँछौं भन्ने सञ्चार माध्यमभित्रै यस्तो भएपछि के गर्ने उनी अलमलमा परिन् । उनले तलव नदिए कानूनी उपचारमा जाने भन्दै पत्र लेखेपछि तीन महिनाको तलव त पाइन् तर जागीरबाट निकालिइन् । एकदमै राम्रो लेख्ने उनी आज फेरि पत्रकारितामा जानु र ! भन्ने सोचमा छिन् ।

    हो, यस्ता फरक–फरक खालका समस्या बाहिर आएका छन् फेरिएका मिडिया हाउसहरुमा । नेपालमा मात्र होइन, विश्वभरि नै फरक खालका हिंसा महिलाले भोगिरहेको तथ्याङ्कले देखाएको छ । युएन ओमनले एसिया पेसिफिकलाई केन्द्र बनाएर गरिरहेको अध्ययनमा भनेको छ ।

    हामीले जति धेरै समाजको परिर्वतन भोगिरहेका छौं, महिलामाथि हुने हिंसा पनि उति नै परिवर्तित रुपमा थपिँदै गइरहेका छन् । हिंसाविरुद्ध बोल्नेहरु नै हिंसा खेपिरहेका छन् । हिंसाका ती रुपलाई यहाँ गएर एसिया पेसिफिक क्षेत्रमा के भइरहेको छ भनेर हेर्न सकिन्छ ।

    यहाँ मैले दुईटा घटना मात्र राखेकी हुँ । निवेदककै अनुरोधमा निवेदन परेका कुनै पनि मुद्दा बाहिर ननिकाली सल्टाउने गरेको संचारिकाले जनाएको छ । संचारिककी अध्यक्ष नितु पण्डित भन्नुहुन्छ– महिला आफू तनावबाट मुक्त पनि हुन चाहन्छन् र समस्या जति सानो वा ठूलो होस् बाहिर नगएरै समाधान होस् भन्ने चाहान्छन् । किनकि घटना जत्तिकै डर उनीहरुलाई समाजको अन्ध प्रतिक्रियाको छ । खासमा हरेक मिडियामा महिला पत्रकारको संख्या न्यून भएकाले घटना सुनाउने साथी नहुँदा पनि उनीहरु त्यसको तत्काल उपचारमा जान सक्दैनन् ।

    कार्यक्रममा सहभागी पत्रकारहरुको एकैस्वर थियो, ‘अब प्रश्न यता गर्नुपर्ने कि आफैं हिंसा गर्ने मिडिया हाउससँग हिंसाका मुद्दा उठाउँने नैतिकता बाँकी रहन्छ ? एक दुईवटा लाइन लेखेर तिमीहरु समावेशी भएनौ, अपराध गर्यौ भन्ने मिडियावालाहरु कति समावेशी छन् ? खोजिनु पर्छ अब । यिनीहरु भित्र हुने हिंसाको पनि खोजी हुनु पर्छ । आफैंभित्र भ्रष्टता र हिंसात्मक घटना लुकाउने मिडियालाई अरुलाई सदाचार र अहिंसाको पाठः सिकाउने हक रहंदैन ।

    हिंसा खेपेकी अर्की पत्रकारले काननू उपचारमा गइन् । उपचार खोजेकोले त्यो घटनाले दुःखी नभएको बताउँछिन् । उनी भन्छिन्,– ‘स्वस्थ्य नेतृत्व र स्वस्थ्य मिडिया हाउस अभियान थालेर टेवुल टेबुलमै गएर उनीहरुका विरुद्ध उजुरी परेको कुरा समूहमा गएर जानकारी दिने र फेरि दोहोरिए कानूनी उपचार थाल्ने चेतावनी दिनु पर्छ ।’ यदि अरुका आवाज बोल्ने हामी नै पीडित भएर बस्यौं भने अरुका समस्या कसरी बाहिर आउन सक्छ ? अहिले हिंसा गर्नेलाई भेट्दा शीर ठाडो हुने गरेको अनुभव उनी सुनाउँछिन् । उनी भन्छिन् – ‘मैले त उसैको घरमा गएर उसकै श्रीमतीको अगाडि झपारेर आएँ । यो कुरा समूहमा गरे अझ शक्तिशाली हुन्छ ।

    अग्रज पत्रकार बविता बस्नेत भन्नुहुन्छ– मिडिया हाउसमा महिला पत्रकारहरुले कुनै न कुनै दिन यस्तो हिंसा खेपेकै छन् । तर हिजोकोजस्तो अब हिंसा खेपेर बस्दैनन्, हिंसा महसुस हुनासाथ उजुरी गरिहाल्ने बनाउने चुनौती छ । महिला हिंसामा उपप्रधानमन्त्री भैसकेको व्यक्ति नै सामेल भएको र त्यस्ताको नाम एक ठाउँबाट होइन धेरै ठाउँबाट हामी समक्ष आइपुगेको छ । एक दुई जनालाई नभएर धेरैलाई पटक पटक यस्तो हर्कत गर्नुको कारण हामीले नै उन्मुक्ति दिएर हो । यसलाई बाहिर नल्याएर उसको हिम्मत बढेको हो ।

    मुलधारको मिडियामा काम गर्ने, राजधानीमै बसेर पनि कति महिला आफ्ना कुरा बाहिर राख्न हिचकिचाउँछन् । जागिर जाला या मैले भनेँ भने अर्को झमेला खप्नु पर्ला भनेर डराउँछन् । मोफसलमा यस्ता मुद्दा खपेका कति होलान् ? युएन ओमेनले गरेको विश्वव्यापी अध्ययन भन्छ, जति धेरै प्रविधि भित्रिए त्यति नै धेरै महिलाले खेप्ने हिंसा पनि थपिएका छन् । अझ अनलाइनमा काम गर्ने महिला पत्रकारका समस्या झनै धेरै छन् ।

    अझ कोभिड १९ को महामारीका समयमा नै यस्ता घटना धेरै बाहिर आए । यो समय अधिकांश महिला पत्रकारले जागिर गुमाए । नेपालको मात्र तथ्य होइन, विश्वमा धेरै ठाउँमा गरिएको अध्ययनले पनि यहीं देखाएको छ ।

    हिंसा खेपेकी अर्की पत्रकारले कानूनी उपचारमा गइन् । उपचार खोजेकोले त्यो घटनाले दुःखी नभएको बताउँछिन् । उनी भन्छिन्,– ‘स्वस्थ्य नेतृत्व र स्वस्थ्य मिडिया हाउस अभियान थालेर टेवुल टेबुलमै गएर उनीहरुका विरुद्ध उजुरी परेको कुरा समूहमा गएर जानकारी दिने र फेरि दोहोरिए कानूनी उपचार थाल्ने चेतावनी दिनु पर्छ ।’

    इन्टरनेशनल फोरम अफ जर्नालिष्ट (आइयफजे)ले महामारी पछि इजिप्ट, जोर्डन, लेवनाना जस्ता ठाउँका १७० न्युजपेपर सम्बन्धी गरेको सर्वेक्षणमा, अधिकांश बन्द भएको र केही रहेका पत्रिकाहरु न्युनतम समाचार दिएर प्रकाशन भएको उल्लेख छ । अध्ययनका अनुसार काममा भएर पनि २०२० सकिनै लाग्दा अधिकांश पत्रकारहरु एन्जाइटि र डिप्रेसनको सिकार भएका छन् ।

    अनुसन्धान भन्छ– अनलाइन र रेडियोमा पनि महामारीको असर अधिक छ । रेडियो सिमित एक दुई जनाले चलाइरहेका छन् भने यसरी चलेका सबै मिडियामा महिला नै छन् । उनीहरु कारण के दिन्छन् भने उनीहरुलाई तलव बिना काम गर्न सहज छैन । निकालिएका अधिकांश महिला पत्रकारहरुले त विना तलव काम गर्दा पनि कार्यक्षेत्रमा पाउनु पर्ने सुरक्षाका सामानसम्म पनि नपाएको र आफूलाई रोग लाग्दा बच्चासम्म पुग्ने हुनाले त्यस्तो काममा बसिरहन नसकेको जनाइएको छ ।

    विश्व स्वाथ्य संगठनको तथ्याङ्कअनुसार महामारी सुरु हुनुअघि नै हरेक तीन महिला एक जना आत्मीय साथीबाटै शारीरिक, मानसिक हिंसामा परेका छन् । कोभिडको महामारी पनि घरेलु हिंसाको दर बढेको छ ।

    त्यसैगरी महिलाले कार्यक्षेत्रमा थप हिंसा खेपेर आएका छन् । यसको मतलव सञ्चार माध्यममा काम गर्ने महिलामाथि हिंसा घटेको छैन, अझ फरक फरक कोणबाट हिंसा गर्ने तरिका थपिइरहेका छन् । यसरी हेर्दा हिंसा मात्रै होइन, हिंसाका रुप पनि बढेको देखिन्छ ।

  • राउटे युवतीमाथि हिंसा गर्नेलाई कडा कारवाहीको माग

    राउटे युवतीमाथि हिंसा गर्नेलाई कडा कारवाहीको माग

    काठमाडौं । लोपोन्मुख राउटे समुदायका दुई युवतीलाई सुर्खेतमा मदिरा खुवाएर यौन दुव्र्यवहार गरेको भिडियो गत आइतबार सार्वजनिक भयो । मदिराको नशामा ती निर्दोष युवतीलाई आफ्नो भिडियो खिचेको र सार्वजनिक भएको पत्तै भएन । यो घटनाले उनीहरुको वैयक्तिक गोपनीयताको हकको हनन भएको छ, उनीहरुको चरित्र हत्या गरिएको छ ।

    छुट्टै पहिचान बोकेको यो समुदाय बाहिरका मानिससँग घुलमिल हुन नखोज्ने र आफ्नै समुदायको नियमलाई कानून मान्ने आदिवासी राउटे समुदाय हो । उक्त समुदायक सोझा युवतीहरुलाई स्थानीय युवाहरुले झुक्याएर सुनियोजित तरिकाले मदिरा सेवन गराई होटेल कोठामा लगेर यौन दुव्र्यवहार गर्ने पीडकहरुलाई हदैसम्मको कारबाही गर्नुपर्ने माग अहिले देशव्यापी रुपमा व्यापक उठिरहेको छ ।

    यौन दुव्र्यवहार गरेको भिडियो सामाजिक सञ्जालमा राख्ने पीडकलाई कानूनबमोजिम हदैसम्मको कारवाही हुनुपर्छ । युट्युबरले गोपनीयताको ख्याल नगरी समाचार बनाउँदा ती आदिवासी युवतीहरुको आफ्नो गोपनीयताको अधिकारको उल्लङ्घन भएको छ । ती १८ र २२ वर्षकी दुई युवतीको सम्मानपूर्वक बाँच्न पाउने मौलिक हकमा ठेस पुगेको स्पष्टै छ ।

    सुर्खेतको गुर्भाकोट नगरपालिका–९ का युवाले स्थानीय राउटे समुदायका युवतीहरुलाई प्रलोभनमा पारी मदिरा सेवन गराई यौन दुव्र्यवहार गरेको घटना सार्वजनिक भएपछि प्रहरीले पक्राउ गरी अनुसन्धान गरिरहेको छ । पक्राउ पर्नेमा गुर्भाकोट नगरपालिका-९ बोटेचौर सुर्खेतका २९ वर्षीय विनोद पुन, ३५ वर्षीय दोमनबहादुर घर्ती र २४ वर्षीय भूपेन बुढा रहेका छन् ।

    लोपोन्मुख राउटे समुदायका दुई युवतीलाई दुव्र्यवहार गर्ने पीडकलाई हदैसम्मको कारबाही गर्नुपर्ने मानव अधिकारकर्मी चरण प्रसाईको माग छ । ‘राउटे छुट्टै पहिचान बोकेको समुदाय हो, बाहिरको मानिससँग घुलमिल हुन नखोज्ने र आफ्नै समुदायको नियमलाई कानून मान्ने हो’ उनले भने, ‘युवतीहरुलाई स्थानीय युवाहरुले झुक्याएर सुनियोजित तरिकाले मदिरा सेवन गराई यौन दुव्र्यवहार गरी चरित्र हत्या गरेका छन्, यस्तो अक्षम्य काम गर्ने पीडकलाई हदैसम्मको कारबाही हुनुपर्छ ।’

    सामाजिक सञ्जालमा भिडियो राख्ने पीडकहरुलाई कानून बमोजिम हदैसम्मको कारबाही गर्नुपर्ने र युट्युबरले गोपनीयताको ख्याल नगरी समाचार सम्प्रेषण गर्नेलाई पनि कारबाही गर्नुपर्ने माग उनको छ । सामाजिक सञ्जालको चरम दुरुपयोग गरी व्यक्तिको चरित्र हत्यामा संलग्नलाई कानून बमोजिम हदैसम्मको कारबाही गर्नुपर्ने र उक्त भिडियो तथा उनीहरुको पहिचान खुल्ने फोटो तत्काल यु ट्यूब, टिकटक, फेसबुकलगायत अन्य सामाजिक सञ्जालबाट हटाउन समेत जरुरी रहेको उनको धारणा छ ।

    ‘प्रलोभनमा पारी राउटे दुई युवतीलाई मदिरा सेवा गराई दुव्र्यवहार गरेको देखिन्छ, गोपनीयताको संरक्षण गर्नुपर्छ,’ राष्ट्रिय मानव अधिकार आयोगका प्रवक्ता डा.टीकाराम पोखरेलले भने, ‘स्वास्थ्य परीक्षण गरी, भौतिक सुरक्षाको व्यवस्था गरी दोषीलाई तत्काल कारबाही गर्नुपर्छ ।’ उनका अनुसार आयोगको कर्णाली प्रदेश शाखा कार्यालयले अनुगमन गरेर अध्ययन प्रतिवेदन तयार गरिरहेको छ । यस्ता घटनाले स्वतन्त्रत रुपमा जीवन बिताउने राउटेको परम्परागत जीवनशैलीमाथि जोखिम बढ्दैछ ।

    फिरन्ते जीवन बिताउने राउटे समुदाय लेकबेँसी नगरपालिकाको सहयोगमा केही दिनअघि गुर्भाकोटको आपँसोती हुँदै दमार भन्ने ठाउँमा पुगेका थिए । लोपोन्मुख सो समुदाय हाल १४३ को संख्यामा मात्र छ । सरकारले लोपोन्मुख जातिको सामाजिक सुरक्षाका लागि प्रतिव्यक्ति मासिक तीन हजार रुपैयाँ भत्ता प्रदान गर्दै आएको छ ।

    सामाजिक सञ्चालको नियन्त्रण र नियमन गर्ने कानून नहुँदा अहिले धेरै महिलाहरु हिंसामा परेका छन् । प्रविधिको विकास त भइरहेकै छ तर समाजमा उच्च शिक्षा लिन नसकेका महिलाको संख्या अझै पनि धेरै रहेकाले सही र गलत कार्य तत्कालै छुट्याउन सक्दैनन् । जसका कारण अहिले पनि महिलाहरु विभिन्न खालका हिंसामा परेका छन् । प्रविधिको दुरुपयोग गरेर भएको दुई राउटे युवतीको घटना पनि यसैको एक उपज हो ।

    ‘राउटे दुई युवतीमाथि यौनहिंसा गर्ने पीडकलाई हदैसम्मको कारबाही हुनुपर्छ’ राष्ट्रिय महिला आयोगका अध्यक्ष कमला पराजुलीले भनीन्, ‘सामाजिक सञ्जालको चरम दुरुपयोग भयो, यसबाट धेरै महिला दुव्र्यवहारमा परेका छन्, सामाजिक सञ्जालको नियमन कडाई गर्नुपर्छ ।’ सरकारले सामाजिक सञ्जाल नियमनसम्बन्धी र साइरसम्बसन्धी कानून नै ल्याएर व्यवस्थित गर्नुपर्ने उनको भनाई छ । दिनप्रतिदिन यौनहिंसाका अपराधहरु बढ्दै गएको छ तर भएका कानूनको प्रभावकारी कार्यान्वयन हुन सकेको देखिँदैन ।

    यौन दुव्र्यवहार गर्नेलाई कानूनी व्यवस्था

    नेपालमा साइबर कानून बनिसकेको अवस्था छैन । यससम्बन्धी कानून बन्ने क्रममा रहेको भए पनि अरु कानूनहरु पनि छन् । विद्युतीय कारोबार ऐन, ३०६३ विद्युतीय स्वरुपमा गैरकानूनी कुरा प्रकाशन गर्ने वा गर्न लगाउने व्यक्तिलाई एक लाख सम्म जरिवाना वा पाँचवर्षसम्म कैद वा दुवै सजाय हुने व्यवस्था छ । त्यस्तै कसूर पटक–पटक गरेमा त्यस्तो कसूरवापत अघिल्लो पटक भएको सजायको डेढी सजाय हुनेछ भनिएको छ ।

    गोपनीयता भङ्ग गर्ने काम गरेमा गोपनीयता भङ्ग गरेमा वा भङ्ग गर्न लगाएमा निजलाई कसूरको मात्रा हेरी रु एक लाखसम्म जरिबाना वा दुई वर्षसम्म कैद वा दुवै सजाय हुनेछ ।

    त्यस्तै मुलुकी अपराध संहिता, २०७४ मा वैयक्तिक गोपनीयता तथा प्रतिष्ठाविरुद्धको कसुरअन्तर्गत विद्युतीय माध्यमद्धारा गोपनीयता भङ्ग गर्न नहुने व्यवस्था गरको छ । ‘कसैले विद्युतीय माध्यममा रहेको वा प्रवाह हुने सूचना, जनकारी, पत्राचार अनधिकृत रुपमा प्राप्त गर्न त्यसको गोपनीयता भङ्ग गर्न वा अनधिकृत रुपमा कसैलाई हस्तान्तरण गर्न वा गराउन हुँदैन’ भनिएको छ । उक्त कसुर गर्ने वा गराउने व्यक्तिलाई दुई वर्षसम्म कैद वा २० हजारसम्म जरिवाना वा दुवै हुने व्यवस्था छ ।

    साथै मुलुकी अपराध संहिता, २०७४ मा यौन दुव्र्यवहार गर्न नहुने व्यवस्था रहेको छ । कसैलाई यौन दुव्र्यवहार गर्न वा गराउनु हुदैन । कसूर गर्ने व्यक्तिलाई तीन वर्षसम्म कैद र ३० हजार रुपैयाँसम्म जरिवाना हुनेछ भनी व्यवस्था गरिएको छ ।

    ‘यौनसम्बन्धी आफ्नो अङ्ग निजलाई छुन, समाउन लगाएमा, निजसँग अश्लील वा अन्य त्यस्तै प्रकारको शब्द मौखिक, लिखित वा साङ्केतिक रुपमा वा विद्युतीय माध्यमबाट प्रयोग गरेमा, अश्लिल चित्र वा तस्वीर देखाएमा, यौनको आशयले जिस्क्याएमा वा हैरानी दिएमा वा निजसँग अस्वाभाविक, अवाञ्छित वा अमर्यादित व्यवहार गरेमा निजले यौन दुव्र्यवहार गरेको मानिनेछ’ भनिएको छ ।

    यौन हिंसाविरुद्ध केही ऐनलाई संशोधन गर्न बनेको अध्यादेशअनुसार बलात्कारका घटनामा मिलापत्र गर्न प्रोत्साहन गर्ने वा दबाब दिनेलाई छ महिनादेखि तीन वर्षसम्म कैद तथा जरिवानाको व्यवस्था गरिएको छ ।

    कानूनमा १४ वर्षदेखि १६ वर्षसम्मका व्यक्तिको बलात्कारमा १२ देखि १६ वर्षसम्म कैद सजाय हुने, १६ देखि १८ वर्षको व्यक्तिको बलात्कारमा १० देखि १४ वर्षसम्म कैद सजाय, १८ वर्ष वा माथिका व्यक्तिको बलात्कारमा १० देखि १२ वर्षसम्म कैद सजाय हुने व्यवस्था छ ।

    यौन हिंसाको भिडियो युट्युबबाट हटाउन आदेश

    जिल्ला अदालत सुर्खेतले शुक्रबार राउटे युवतीमाथि भएको यौन हिंसाका भिडियो युट्युबबाट हटाउन आदेश दिएको छ । न्यायाधीश डा. राजेन्द्रकुमार आचार्यको इजलासले युट्युबबाट भिडियो हटाउनुपर्ने अन्यथा साइट बन्द गर्नुपर्ने अवस्था आउने आदेश गरेको छ । करणीजन्य अपराधका सामग्री गोप्य हुनुपर्नेमा केही युट्युबमा पीडितको पहिचान खुलाएर भिडियो सार्वजनिक भएपछि परेको मुद्दामा अदालतले यस्तो आदेश दिएको हो ।

    सामग्री बनाएर अपलोड गर्नेलाई कानूनी कारबाहीका लागि जिल्ला प्रहरी कार्यालयमार्फत प्रहरी प्रधान कार्यालयलाई अनुरोध गर्न आदेश गरिएको छ । त्यस्तै अदालतले संवेदनशील विषयमा जथाभावी सामग्री प्रसारण गर्नेविरुद्ध कारबाही गर्न तथा त्यस्ता साइट आवश्यकतानुसार बन्द गराउन गृह मन्त्रालयमार्फत सूचना तथा सञ्चार प्रविधि मन्त्रालयलाई समेत अनुरोध गर्न आदेश दिएको छ ।

    निषेधाज्ञामा साइबर अपराध बढ्दो

    राउटे दुई युवतीको घटना प्रतिनिधि घटना मात्रै हो । दिन-दिनै यस्ता अपराधका घटना बढ्दै गएका देखिएको छ । कोरोनाभाइरसको संक्रमणको दोस्रो लहरबाट नागरिकलाई बचाउनका लागि सरकारले गरेको निषेधाज्ञामा साइबर अपराध बढेको देखिएको छ ।

    नेपाल प्रहरीको साइबर ब्यूरोको तथ्याङकअनुसार पछिल्लोपटक जारी निषेधाज्ञामा साइबरसँग सम्बन्धित अपराध २० प्रतिशतले बढेको छ । विशेष गरी किशोर–किशोरी, बालबालिकालक्षित अपराध बढेको प्रहरीको अनुसन्धानले देखाएको छ । यो अवधिमा साइबर अपराधसम्बन्धी १४५ ओटा जाहेरी परेका छन् ।

    यस्तो अपराधको निसानामा विशिष्ट व्यक्तिसमेत परेका छन् । सामाजिक सञ्जालमा विशिष्ट व्यक्तिको टाउकोसँग अरूको शरीर जोड्ने, युगल जोडी बनाइदिने, नक्कली हस्ताक्षर प्रयोग गर्नेजस्ता घटना भएका छन् । साइबरसम्बन्धी कानून ल्याएर यस्ता खालको गतिविधि रोक्नुपर्छ । पछिल्लो समय सार्वजनिक पदमा रहेका महिलाको चरित्रहत्याका घटना पनि सार्वजनिक भइरहेका छन् ।

    घुमन्ते जीवन बिताउँदै आएका राउटे युवतीमाथि यौन दुव्र्यवहार गर्नेलाई कडा कारवाही गर्नपर्ने र सासाजिक सञ्जालबाट यौनहिंसाको भिडियो हटाउनुपर्ने माग भने सर्वत्र गरिएको छ । सीमान्तकृत समुदायका महिलाको सोझोपनको फाइदा उठाउने पीडकलाई कानूनमा व्यवस्था भएको भन्दा पनि थप सजाय गर्नुपर्ने मागसमेत नागरिकहरुले सामाजिक सञ्जालमार्फत गरिरहेका छन् ।
    -रासस

  • म्यानमार हिंसाविरुद्ध दूतावासअघि प्रदर्शन (भिडियो)

    म्यानमार हिंसाविरुद्ध दूतावासअघि प्रदर्शन (भिडियो)

    काठमाडौं । म्यानमारमा भएको हिंसा तथा दमनविरुद्ध मानव अधिकार तथा शान्ति समाजले काठमाडौंमा प्रदर्शन गरेको छ । म्यानमारमा भइरहेको हिंसा तथा दमन अन्त्यका लागि संयुक्त राष्ट्रसंघलाई दबाव दिन भन्दै समाजले म्यनमार दूताबासअघि प्रदर्शन गरेको हो । समाजले म्यानमारका राजनीतिक बन्दीको बिनाशर्त रिहाइका लागि विश्व एक हुनुपर्ने र मानवताविरुद्धको अपराध रोक्न अन्तर्राष्ट्रिय समुदायले सामुहिक मदम चाल्नुपर्ने आवाज उठाएको छ ।

  • म्यानमार हिंसाविरुद्ध दूतावासअघि प्रदर्शन (तस्वीरहरु)

    म्यानमार हिंसाविरुद्ध दूतावासअघि प्रदर्शन (तस्वीरहरु)

    काठमाडौं । म्यानमारमा भएको हिंसा तथा दमनविरुद्ध मानव अधिकार तथा शान्ति समाजले काठमाडौंमा प्रदर्शन गरेको छ । म्यानमारमा भइरहेको हिंसा तथा दमन अन्त्यका लागि संयुक्त राष्ट्रसंघलाई दबाव दिन भन्दै समाजले म्यनमार दूताबासअघि प्रदर्शन गरेको हो । समाजले म्यानमारका राजनीतिक बन्दीको बिनाशर्त रिहाइका लागि विश्व एक हुनुपर्ने र मानवताविरुद्धको अपराध रोक्न अन्तर्राष्ट्रिय समुदायले सामुहिक मदम चाल्नुपर्ने आवाज उठाएको छ ।