Tag: हाम्रा प्रतिनिधि

  • बाबाले पाएको स्याबासी देखेर राजनीतिमा होमिएकी सविता राई

    बाबाले पाएको स्याबासी देखेर राजनीतिमा होमिएकी सविता राई

    काठमाडौं । सोलुखुम्बुको थुलुङ दुधकोशी गाउँपालिकाको उपाध्यक्षको रूपमा दोस्रो कार्यकालमा हिँडिरहेकी व्यक्ति हुन्, सविता राई । २०७४ सालको स्थानीय तहको निर्वाचनबाट पहिलो पटक थुलुङ दुधकोशीको उपाध्यक्ष निर्वाचित भएकी सविताले दोस्रो पटक पनि उपाध्यक्ष हुने सौभाग्य प्राप्त गरिन् ।

    सवितालाई सानैदेखि राजनीतिमा होमिने इच्छा थियो । २०३९ कृष्ण बहादुर राई र आमा लखी माया राईबाट जन्मिएकी सवितालाई बुबा राजनीतिमा भएका कारण पनि राजनीतिबाट समाजको सेवा गर्ने उत्साह जाग्यो । बाबुबाट पनि राजनीतिमा लाग्ने प्रेरणा मिल्दा उनलाई राजनीतिमा होमिन थप सहज भयो ।

    ‘बाबा राजनीति नेतृत्वमा भएको हुनाले उहाँबाट पनि प्रेरणा मिल्थ्यो । उहाँको सामाजिक भाव, सकारात्मक सोच र नागरिकले उहाँलाई दिनुभएको स्याबासी । उहाँको स्याबासी मलाई फलानोको छोरी भन्दा म खुसी हुन्थे,’ उनी सम्झिन्छन्, ‘बाबाले गर्न पाए हुन्थ्यो भनेर मलाई सबैले भन्नुहुन्थ्यो । मलाई त्यहीँबाट राजनीतिमा आउने इच्छा जाग्यो ।’

    विद्यालय समय मै उनी नेतृत्व गर्नुपर्छ भन्ने उद्देश्यका साथ अघि बढिन् । विद्यालयमा हुने विभिन्न कार्यक्रममा समूह लिडरको रूपमा सविताले पाइला चाल्दै गइन् । ‘विद्यालयमा विभिन्न सदनहरू बन्थे । ती सदनको अध्यक्ष हुन्थे र हुनुपर्छ भनेर म आफू अगाडि सर्थे,’ उनी भन्छिन्, ‘सानैदेखि नै लिडरसिप हुनुपर्छ जागिराख्ने र म सक्छु भन्ने इच्छाशक्ति राख्ने र पुरुषले सक्ने मैले किन नसक्ने भन्ने हुन्थ्यो मलाई ।’

    सविताले २०६२ सालेदेखि सामाजिक सेवा र राजनीतिमा सक्रिय भइन् । २०७४ सालमा उपाध्यक्ष निर्वाचित हुनुभन्दा अघि सविता सामाजिक अभियन्ताका रूपमा परिचित थिइन् । समाजमा हुने विभिन्न सामाजिक काममा सविता निकै सक्रियतापूर्वक सहभागी हुन्थिन् । उपाध्यक्ष भएपछि इमानदारीपूर्वक सामाजिक न्याय, जनताको आधारभूत आवश्यकता र परिवर्तनका लागि जनमुखी कार्य गरेपछि दोस्रो कार्यकालका लागि पनि सविताले मतदाताको मन जितिन् ।

    दोस्रो कार्यकालको जिम्मेवारी सम्हालिरहेकी सविताले महिला सशक्तीकरण, रोजगारी, पारदर्शिता र सुशासनलाई प्राथमिकतामा राख्दै आएकी छन् । ‘समृद्ध र समुन्नत थुलुङ दुधकोशी गाउँपालिका’ निर्माणमा सविताले निरन्तर योगदान दिएकी छन् ।

    सामाजिक काममा सक्रिय भएका कारण उनलाई टिकट पाउन त्यति गाह्रो भएन । टिकटसँगै चुनाव जित्न पनि सवितालाई खासै कठिन भएन । २०७४ सालको स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवारी बनेकी सविताले नेकपा माओवादी केन्द्रकी उम्मेदवार मेनुका पुरीलाई ३ सय ११ मतले पराजित गरिन् ।

    सविताले २ हजार ५ सय ८० मत पाउँदा मेनुकाले २ हजार २ सय ६९ मत पाइन् । उपाध्यक्षको कार्यकाल सकिनै लाग्दा सविताले पार्टी परिवर्तन गरिन् । उनी २०७९ को स्थानीय तहको निर्वाचनको मुखमा कांग्रेस छाडेर माओवादीमा प्रवेश गरिन् ।

    माओवादीबाट पनि उपाध्यक्षमा टिकट पाइन् । र त्यहाँबाट पनि निर्वाचन जित्न सफल भइन् । २०७९ को निर्वाचनमा सविताले नेपाली कांग्रेसबाट उम्मेदवारी बनेकी एकाकुमार कार्कीलाई करिब ३ सय मतान्तरले पराजित दोस्रो पटक उपाध्यक्ष निर्वाचित भइन् । सविताले ३ हजार ८ सय र कार्कीले ३ हजार ५ सय २३ मत ल्याइन् ।

    जनप्रतिनिधि भएपछि मात्रै सामाजिक क्षेत्रमा काम गर्न सकिन्छ भन्ने चेतले जनप्रतिनिधि बन्ने इच्छा जागेको सविता सुनाउँछिन् । ‘जनप्रतिनिधि भइसकेपछि मात्रै हामीले सोचेको सामाजिक परिवर्तन, भौतिक संरचनाको विकास र सामाजिक न्याय दिन सकिन्छ भन्ने चेत थियो । त्यसैले नै म जनप्रतिनिधि हुन्छु भन्ने भयो,’ उनी भन्छिन् ।

    निर्वाचनका समयमा ठूला सपना नदेखाइ सामान्य वाचा गरेको र सफल पनि भएको सविता बताउँछिन् । ‘निर्वाचनका समयमा सामान्य रूपमा म तपाईँहरूको काम गर्छु । जनताका काम गर्छु ।

    इमान्दारिकताका साथ, निष्पक्ष गर्छु । विशेष गरी महिलाको क्षेत्रमा बुझेको छु । त्यसमा अलि बढी काम गर्छु,’ उनले भनिन्, ‘गाउँपालिकाको चौतर्फी विकासका लागि सधै तयार हुन्छ भनेर भने । त्यसपछि मत प्राप्त भयो र सफल पनि भइयो ।’

    निर्वाचनअघिको वाचाअनुसार अहिले पनि काम गरिरहेको सुविता बताउँछिन् । बोलेको काम गरेकी कारण दोस्रो कार्यकालका लागि निर्वाचित भएको उनी सुनाउँछिन् । ‘हाम्रो उपाध्यक्ष अहिलेसम्म इमान्दारिताका साथ काम गरिराखेको छ । जनताको माझमा छ । ७/८ वर्ष कहीँ गएको छैन । नागरिकलाई पहिलो केन्द्रमा राखेर काम गरिराखेको छ । सकेसम्म आफ्नोभन्दा नागरिकलाई पहिलो प्राथमिकता दिएको छ भन्ने विश्वास उहाँहरूलाई छ । त्यहीँ विश्वासले म दोस्रो पटक उपाध्यक्षमा निर्वाचित भएको हुँ,’ उनी भन्छिन् ।

    समाजमा अझै पनि महिलाले गर्न सक्दैन भन्ने भाष्य कायम रहेको सविताको अनुभव छ । उनी भन्छिन्, ‘यो महिला हो । यसले गर्न सक्छ कि सक्दैन भनेर विश्वास लिने अवस्था हाम्रो समाजमा छैन । त्यहीँ समाजबाट हुर्किएको म । त्यहाँमा सेट भएको दिमाग अझै पनि हटेको छैन ।’

    दुईपटक उपाध्यक्ष बनिसकेकी सवितालाई एक पटक अध्यक्ष बन्ने इच्छा छ । त्यो मात्रै होइन, उनी अन्य महिलालाई पनि नेतृत्वमा ल्याउने दिशामा केन्द्रित देखिन्छिन् । एक पटक अध्यक्ष बनेर गाउँपालिकाको हितमा काम गर्ने योजना रहेको सविता बताउँछिन् । योसँगै २÷३ वटा वडामा महिला अध्यक्ष निर्वाचित गराउने लक्ष्य पनि सविताको छ । ‘नेतृत्वमा महिला भएन भने संविधानले जतिसुकै अधिकार दिए पनि व्यवस्थित रूपमा लागु हुँदैन । मलाई राम्रै अनुभूति छ त्यसैले,’ उनले भनिन् ।

    महिलाहरू परिवर्तन भएको देख्न चाहेको सविता बताउँछिन् । उनी भन्छिन्, ‘हिजोभन्दा आज र आजभन्दा भोलि फरक हुन चाहन्छु । समयसँगै परिवर्तन हुन चाहन्छु र सँगसँगै अलि बढी महिलाहरू परिवर्तन भएको देख्न चाहन्छु ।’

    आफ्नो अभियानमा गाउँपालिकालाई मातृ शिशु मृत्युदर शून्य बनाएको सविता बताउँछिन् । ‘हामी आउनुभन्दा अघि आमा र शिशुको मृत्युदर बढी भयो । अहिले हामीले शून्य बनाएका छौँ । स्वास्थ्य स्वयवसेविकालाई बढी भन्दा बढी परिचालन गरेर, प्रोत्साहन गरेर हरेक सुत्केरीको घरघर पुग्नुभयो । सुत्केरी हुनुभन्दा पहिलो गर्ने चेकजाँच गर्नुभयो र मातृ शिशु मृत्युदर शून्यमा बनायौँ,’ उनी भन्छिन् ।

    सविता संयोजक रहेको न्यायिक समितिले शान्ति र सभ्य समाज निर्माण गर्ने अभियान चलायो । जसले न्यायिक समितिमा मुद्दा कम आउन थालेको सविता सुनाउँछिन् । उृनी भन्छिन्, ‘न्यायिक समितिले अभियान चलाउनुअघि न्यायिक समितिमा मुद्दा आउँथ्यो । त्यो अभियान चलाएपछि नागरिकमा आएको चेतना र मेलमिलापकर्ताका सक्षमताका कारण मुद्दा एकदमै कम आउन थालेको छ ।’

    उपभोक्ता समितिको अध्यक्षले बढायो आत्मविश्वास

    कुरा २०७०/७१ तिरको हो । तत्कालीन जुबु गाविसको वडा नम्बर ५ मा एउटा बाटोको ट्रयाक खोल्न १७ लाख ७५ हजार रुपैयाँ बजेट प्राप्त भयो । उक्त काम गर्न उपभोक्ता समिति बनाउनुपर्थ्यो । सोहीअनुसार उपभोक्ता समिति गठन गर्ने प्रक्रिया सुरु भयो । आर्थिक वर्षको अन्त्यतिरको समय थियो । तर, सुरु भएको ३-४ दिनसम्म पनि समिति गठन हुन सकेन । धेरै आकांक्षी भएपछि नेतृत्व चुनिन सकेन । त्यसपछि सोही ठाउँकी सविता राई सहभागी भइन् ।

    सानैदेखि लिडरसिप गर्नुपर्छ भन्ने स्वभावकी सवितासहितका महिलाले ‘तपाईँहरू सक्नुहुन्न भने हामी गर्छौँ’ भनेर प्रस्ताव गरे । सुरुमा त पुरुषहरूले विश्वास गर्न सकेनन् । केही समयपछि हुन्छ भनेपछि महिलाहरू तयारीमा जुटे । सोहीअनुसार महिला कै नेतृत्वमा समिति बनाउने वर्कआउट भयो । सहमतिको प्रयास भइराख्दा पुनः महिलामा पनि अर्को समूह निर्वाचन लड्न आइपुग्यो ।

    ‘हामीले यो मान्छे यो ठाउँमा बस्ने भनेर कुरा गर्दै थियौं । त्यतिबेलासम्म पुरुषहरूले अर्को महिलालाई उठाउन भ्याइसक्नुभएछ,’ सविता सम्झिन्छिन् । त्यसपछि सहमतिको वातावरण बनेन । सहमति नभएपछि निर्वाचन भयो । सविता दोब्बर बढी मतले अध्यक्षमा निर्वाचित भइन् । ‘त्यतिबेला निकै चुनौती थियो । बाटो घरमा जानुपर्ने तर, आफ्नो जग्गा काट्न नपाइने अवस्था थियो । त्यस्तो जोखिममा असारसम्म मकैबारी फाडेर भएपनि काम गर्‍यौं,’ उनी भन्छिन्, ‘त्यतिखेरदेखि मलाई अझ हिम्मत बढ्यो । मैले गर्न सक्ने रैछु ।’

    सानैदेखि लिडरसिप क्षमता भएकी सवितामा त्यसपछि झनै आत्मविश्वास बढ्यो । २०७४ सालको स्थानीय तहको निर्वाचनमा टिकट पाउन र चुनाव जित्न सहज भयो । ‘त्यसपछि म नागरिकको नजरमा पनि पर्न थाले । नागरिकले सहयोग गर्नुभयो । यसले गर्न सक्छ भन्ने भयो । अनि टिकट पाउन र जित्न पनि सजिलो भयो,’ उनी भन्छिन् ।

    (नेपाली महिला जनप्रतिनिधिहरूको सुकर्मलाई सञ्चार गर्ने अभियान शि लिड्स आइकन दोस्रो संस्करणको ३१ प्रेरणादायी महिला जनप्रतिनिधि रूपमा उनी छनोट भएकी छन्।)

  • योगमाया र षडानन्दको बाटो पछ्याउँदै प्रमिला

    योगमाया र षडानन्दको बाटो पछ्याउँदै प्रमिला

    काठमाडौं । शताब्दी अघि सामाजिक रूपान्तरणको लागि सङ्घर्ष गर्ने विदुषी योगमाया र सबैका लागि शिक्षाको उज्यालो दिलाउन लागिपर्ने बालागुरु षडानन्दको ऐतिहासिक योगदानलाई शिरोपर गर्दै सकारात्मक परिवर्तनको यात्रामा कम्मर कसेर हिँडिरहेकी जनप्रतिनिधि हुन्: प्रमिला राई ।

    भोजपुर जिल्लाको षडानन्द नगरपालिकाको जनप्रतिनिधिको रूपमा सेवाको मैदानमा खटिन पाउँदा प्रमिला गर्व महसुस गर्छिन् । ‘इतिहासमा पनि जगजाहेर छ । सामाजिक रूपान्तरणको लागि आफ्नो जीवन बलिदान गर्ने र आफूसँगै धेरै महिलाको जीवन आहुति दिन सक्ने क्षमता भएको विदुषी योगमायाको भूमि संगसंगै शिक्षाको क्षेत्रमा आम जनताको छोराछोरीले पढ्न पाउनुपर्छ भनेर तत्कालीन राणा शासकविरुद्ध आवाज उठाउने र जनताका छोराछोरीले पढ्ने पहिलो विद्यालय स्थापना गर्ने गुरु षडानन्दको भूमि नै षडानन्द नगरपालिका हो,’ उनी भन्छिन् ।

    प्रमिला आफूले नेतृत्व गरिरहेको भूमिप्रति गौरवान्वित छिन् । इतिहासको गौरव लाई आत्मसाथ गर्दै वर्तमान समयमा चेतनालाई अझ उन्नत बनाउन तथा विकास र समृद्धिको लहर फैलाउन प्रमिला कर्मरत छिन् ।

    प्रमिला राई कोशी प्रदेश अन्तर्गत भोजपुर जिल्लाको षडानन्द नगरपालिकाकी उपप्रमुख हुन् । २०४३ साल माघ १८ गटे दिल ब. राई र सीता राईको कोखबाट जन्मिएकी प्रमिला सानो उमेरदेखि नै आत्मविश्वासी, स्वाभिमानी र संवेदनशील स्वभावकी थिइन् ।

    उनले बाल्यकालमा निकै सङ्घर्षशील समय गुजारिन् । काम नगरी खान लाउन पुग्ने स्थिति थिएन । एक दाजु र एक भाइसँगै आर्थिक अभाव झेल्दै हुर्किएकी प्रमिला आफ्नो बाल्यकालको भोगाइ र अनुभव लाई महत्त्वपूर्ण शिक्षाको रूपमा लिन्छिन् ।

    ‘आमाले रक्सी पारेर, सुँगुर पालेर कमाएको पैसाले मलाई पढाउनुभयो।’ विद्यालय जाँदा एउटा हातमा किताब अर्को हातले गेलिनमा रक्सी बोकेर बजार सम्म बेच्न पुर्‍याउने गरेको उनी स्मरण गर्छिन्। राम्रो लगाउने, मिठो खाने छोराछोरीको रहर उनकी आमाले निकै परिश्रमले कमाएको कमाइबाट पूरा गर्ने गरेको उनी सम्झन्छिन् । आमाले गरेको दुःखको उनी निकै कदर गर्छिन् ।

    घरको काममा सघाउँदै, दुःख सुख आत्मसात् गर्दै उनी पढिन्। कलेज पढ्न थालेसँगै उनले विद्यालयमा पढाउँथिन् । शिक्षाको लागि आफूले गरेको सङ्घर्ष उनी विद्यार्थीलाई सुनाउँथिन। अभाव र दुःख लाई नजिकबाट साथी बनाएकी प्रमिला निडर स्वभावकी स्पष्ट वक्ता एक सामाजिक अगुवाको रूपमा स्थापित हुँदै गइन् ।

    डाक्टर÷नर्स बनेर सेवा गर्ने सपना उनको आँखामा थियो, आर्थिक स्थिति र अन्य परिस्थितिले उनको यो सपना पूरा भएन, पछि उनलाई आर्मी बन्ने रहर पनि जाग्यो तर त्यो पनि पूरा हुने वातावरण बनेन तर उनले शिक्षक, सामाजिक सेवक हुँदै नगरपालिकाको उपप्रमुखको भूमिकामा देश र जनताको सेवा गर्ने अवसर प्राप्त गरेकी छन् ।

    ‘जसरी पनि राष्ट्रको सेवा गर्नु रहेछ, आर्मी बन्ने, नर्स बन्ने रहर सपनामा सीमित रहे पनि अझ फराकिलो रूपमा सेवा गर्ने र नेतृत्व लिने ठाउँमा छु, सन्तुष्ट छु’ प्रमिलाले सुनाइन् । पढ्दै पढाउँदै स्नातकोत्तर तह सम्मको शिक्षा पूरा गरिन् र एक इमानदार सामाजिक सेवकका रूपमा आफूलाई उभ्याउन सफल भइन् । बिहेपछि महिलाहरूलाई एकताबद्ध गर्दै उनीहरूका समस्या सुन्ने र समाधानको बाटो पहिल्याउने काममा उनी लागिन् ।

    महिला लक्षित कार्यक्रमहरूलाई जनस्तर सम्म पुर्‍याउन दिङ्ला नारी समाज नामक समूह बनाएर अघि बढिन्। जसमा उनलाई उनका साथीहरूले राम्रो साथ र सल्लाह दिए । सामाजिक अभियन्ताका रूपमा उनको सक्रियता बढ्दै गयो । उनी २०६३ सालबाट राजनीतिक यात्रामा लागिन् । उनलाई राजनीतिमा लाग्न श्रीमानले प्रेरित गरे । सामाजिक सेवा लाई अझ फराकिलो बनाउन र रूपान्तरण गर्न राजनीतिक आबद्धता अझ प्रभावकारी हुने श्रीमानको सल्लाहलाई उनले मनन गरिन् ।

    २०७४ सालमा स्थानीय तहको निर्वाचनमा भाग लिएकी प्रमिला त्यतिबेला पराजित भइन् । तर पराजयपछि पनि उनले हिम्मत हारिनन् । समाजमा आफ्नो भूमिका बढाउँदै लागिन्, जनस्तरका समस्या समाधानमा आफूलाई खरो रूपमा उतारिरहिन् । २०७९ सालको स्थानीय निर्वाचनमा उनी फेरि उपप्रमुख पदमा नै चुनावी प्रतिस्पर्धामा आइन् । उनले ७,२५७ मत प्राप्त गर्दा निकटतम प्रतिद्वन्द्वीले ४,३५८ मत ल्याएकी थिइन् । २०७४ सालको निर्वाचनमा जो सँग पराजित भएकी थिइन् उनैलाई भारी मतले उछिन्दै उनी नगर उपप्रमुखको भूमिकामा पुगिन् ।

    भोजपुर जिल्लाको उत्तरी क्षेत्रमा अवस्थित षडानन्द नगरपालिकाको ऐतिहासिक परिचय दिङ्ला सभ्यता र समाज सुधारक शिक्षासेवी ब्रम्हाचारी षडानन्द गुरुसँग गाँसिएको छ । वि.सं. १९३२ मा स्थापित षडानन्द संस्कृत पाठशालाले नेपालको शिक्षाक्षेत्र र समाज सुधारमा ठूलो योगदान पुर्‍याएको छ । यस्तै योगमायाको जातीय, लैङ्गिक विभेद विरुद्ध सल्काएको सामाजिक जागरणको राँकोको ताप बोकेको षडानन्द नगरपालिका कि उपप्रमुख प्रमिला राईले महिला, अपाङ्ग, दलित समुदायको सशक्तीकरण, न्यायमा पहुँच, र पूर्वाधारको गुणस्तरीय विकासलाई प्राथमिकता दिँदै काम गर्दै आएकी छन् । उनको प्रत्यक्ष सहभागितामा जनस्तरका समस्या समाधान, पारदर्शिता र समावेशिता अभिमुखीकरण कार्यक्रम सञ्चालन हुँदै आएका छन् ।

    उपप्रमुख प्रमिला ग्रामीण भेगका महिलाहरूको स्वास्थ्य बारे निकै गम्भीर छन् । पाठेघर खस्ने समस्या भएका महिलाहरू जो अझै पनि परिवार, समाज र बाहिर खुल्न, आफूले भोगेका समस्या बारे बताउन हिचकिचाउँछन् । उनीहरू सँग भावनात्मक रूपमा नजिकको साथी बनेर उपचारको स्थिति सम्म ल्याउन प्रमिलाले खेलेको भूमिका प्रसंसनीय छ ।

    त्यस्ता आमाहरु जो आर्थिक रूपमा विपन्न छन्, सामाजिक रूपमा, सांस्कृतिक डर, संकोच को सामना गरिरहेका छन्, सहाराविहीन छन्, उनीहरूको लागि प्रमिला छोरी जस्तै बनेर घर देखि अस्पताल सम्म सारथी बन्छिन् । ग्रामीण क्षेत्रमा विकराल बनेको पाठेघर खस्ने समस्यालाई उजागर गर्दै समाधानमा तल्लीन प्रमिला गाउँमा शिविर चलाउने देखि लिएर हस्पिटलमा बिरामीको आफन्त बनेर उपचारको प्रक्रियामा सक्रियतापूर्वक नेतृत्व गर्दै आएकी छन् ।

    आफूले चुनावको बेला गरेको प्रतिबद्धता बमोजिम आफू महिला स्वास्थ्यको क्षेत्रमा गम्भीर रूपमा काम गरिरहेको उनी बताउँछिन् । आङ खसेकी ७१ वर्षीय एकजना महिला जो साग बेचेर आफ्नो जीविका चलाइरहेकी थिइन् उनी अहिले उपचारपछि निको भएकी छिन् ।

    ‘हालसम्म १५ जना महिलाको निःशुल्क अपरेशन गरिसकिएको छ, ७० काटिसकेका आमाहरू जो उपचारपछि निको हुनुभयो उहाँहरूले मेरो हात समाएर जीवनदान दियौ, तिमी उपमेयर होइन आमा बन्यौ भन्नुहुन्छ,’ प्रमिला सुनाउँछिन् । उनले आफै हस्पिटलमा कुरुवा, आफन्त बनेर सहाराबिहिन आमाहरूको उपचार सफल बनाएकी छन् । यसलाई उनी आफ्नो महत्त्वपूर्ण काम र कर्तव्यका रूपमा व्याख्या गर्छिन् । उपमेयरको सक्रियतामा नगरपालिकाले उपचार गरिदिएपछि महिलाहरूले अभिभावक प्राप्त गरेको महसुस गरिरहेका छन् ।

    यस्तै अपाङ्गता भएका व्यक्तिहरूलाई वडा वडामा पुगेर सरकारले दिएका सेवा सुविधा प्राप्त गर्ने वातावरण बनाएको प्रमिलाले सुनाइन् । आधारभूत आवश्यकताका लागि नै सङ्घर्ष गरिरहेका परिवार तथा समुदाय उनको प्राथमिकतामा पर्दछन् । उनीहरूको परम्परागत पेशाहरुको प्रवर्द्धन तथा सबालिकरणको लागि उनी लागिपर्छन् ।

    सामाजिक न्याय संगसंगै नगरपालिकाको भौतिक पूर्वाधारको विकासमा पनि उनी क्रियाशील छिन्। सडक सञ्जाल, पुल जस्ता पूर्वाधारको आबस्यकता पूरा गर्न प्रमिला र सिंगो नगरपालिकाको टिमले प्रदेश तथा संघ सरकारसँग सहकार्य गरिरहेको छ । अरुण नदीमा मोटरेवल पुल नहुँदा स्थानीयले खेपेका सास्ती, रोकिएको विकासको समस्या समाधान गर्न तत्परता पूर्वक लागेको प्रमिला बताउँछिन् ।

    समता, न्याय र विकासको सम्बन्धमा आफ्नो दृष्टिकोणलाई मूल प्रवाहमा लागू गराउन उनी हरदम प्रयत्नशील छिन् । उपप्रमुख भएको कारण वा महिला भएको कारण परम्परागत रूपमा काम चासो राख्ने वा महत्त्व नदिने, सोधी खोजी नगर्ने प्रवृत्ति विरुद्ध उनी आवाज उठाइरहन्छिन् र त्यसको प्रभाव पालिकामा देखिएको छ । आफ्नो अनुपस्थिति वा बिना जानकारी गरिएका निर्णयप्रति आफ्नो विमति भए उनी निर्धक्क प्रश्न गर्छिन् । जसले उनलाई शक्तिशाली र प्रभावशाली नेताको रूपमा स्थापित गरेको छ ।

    यस्तै क्रान्तिकारी स्वभाव र गतिशील कार्यशैलीले षडानन्द नगरपालिकाको सामाजिक रूपान्तरणको योद्धाका रूपमा प्रमिला परिचित छन् । अभाव, दबाब र प्रभावमा नपरी षडानन्द नगरपालिकाको भौतिक, सामाजिक विकास गर्ने प्रमिलाको सपना छ । समुन्नत षडानन्दको सपना पूरा गर्न हरदम क्रियाशील रहने उनको प्रतिबद्धता छ । सबैको आदर्श बनेका योगमाया र षडानन्दको बाटोमा उनी आफूलाई पनि उभ्याउने सकारात्मक महत्वकांक्षासहित उनी कर्मभूमिमा छन् ।

    (नेपाली महिला जनप्रतिनिधिहरूको सुकर्मलाई सञ्चार गर्ने अभियान शि लिड्स आइकन दोस्रो संस्करणको ३१ प्रेरणादायी महिला जनप्रतिनिधि रूपमा उनी छनोट भएकी छन्।)

  • महाकुलुङकी बिपना- जसको आँटले फेरिँदैछ दुर्गम गाउँ

    महाकुलुङकी बिपना- जसको आँटले फेरिँदैछ दुर्गम गाउँ

    काठमाडौं । बिपना कुलुङको जन्म सोलुखुम्बुको महाकुलुङमै भएको हो । कुलुङ समुदायको ऐतिहासिक उपस्थिति, परम्परा र प्रकृतिको सौन्दर्यले भरिएको यही गाउँपालिकाको नेतृत्व सम्हालेकी उपाध्यक्ष छिन्, बिपनाले।

    आफ्नो थरकै नामबाट पहिचान पाएको गाउँपालिकामा कुलुङहरूको बहुलता छ। त्यही ठाउँको भूगोल, संस्कार र दुःखसुख बिच बिपनाले नेतृत्वका पहिलो पाइला राखेकी हुन्।

    गाउँकै अल्लोबाट बुनेको परम्परागत पोसाकमा सजिएर काठमाडौं आएकी बिपना आफ्नो संस्कृति लिएर गर्वले भन्छिन्, ‘हाम्रो कुरा, हाम्रो पहिचान ढाकेर कहिल्यै ओझेल पर्ने होइन।’

    सादा बोली, भित्री साहस, समाज परिवर्तन गर्ने आँट र निरन्तर कर्मप्रति समर्पण भएकै कारणले जिल्ला, प्रदेश हुँदै देशभर चिनिने महिला जनप्रतिनिधि बन्न सफल भएकी छन्।

    उनी भन्छिन्, ‘हामी कुलुङहरूकै बाहुल्य भएको गाउँ हो, म पनि त्यही समुदायकी छोरी। यही माटोले मलाई आजको बिपना बनायो।’ गाउँपालिकाले नै अहिले महिलालाई तालिम दिएर, अल्लो बुन्ने सीपलाई आयमूलक बनाउने अभियान चलाइरहेको छ।

    सानै उमेरदेखि नेतृत्वमा

    बिपना सानैदेखि संघसंस्था, समूह र स्थानीय नेतृत्वमा सक्रिय थिइन्। घर गृहस्थी, बच्चा, खेती बारी सबै जिम्मेवारी सम्हाल्दै पनि उनी महिला समूह, सहकारी तथा सामुदायिक बैठकहरूमा समय छुटाउने गर्थिन्।

    उनले भन्छिन्, ‘सानैमा अग्रजहरूले जिम्मेवारी दिनुभयो, म सिक्दै गएँ। महिलाहरू चुलो चौकामा मात्रै सीमित हुनु हुँदैन भन्ने सोचले म बढ्दै गएँ। समुदायले मलाई काम गर्ने, नडराई जिम्मेवारी उठाउने, निर्णय लिन सक्ने महिलाको रूपमा चिन्दै गयो। यही विश्वासले उपाध्यक्ष बन्न सफल भएँ।’

    जीवनका मोड सबै सहज नहुने उनको बुझाइ छ। बिपना एक पटक कुटपिटको घटनामा निर्दोष हुँदाहुँदै पनि आरोपित भइन्।  पहिलोपल्ट प्रहरी प्रशासनको प्रक्रियामा प्रवेश गर्दा उनी आत्तिएकी पनि थिइन्।

    तर यही अनुभवले बिपनालाई बलियो बनायो। प्रहरी प्रशासन, कानुनी प्रक्रिया, राजनीतिक प्रभाव, नागरिक अधिकारलगायत सबै विषयको वास्तविकता उनले त्यही समयमा समयमा नजिकबाट बुझ्ने मौका पाइन्।

    उनी सम्झिन्छिन्, ‘त्यो घटनाले मलाई राजनीतिमा सक्रिय हुन प्रेरणा दियो। महिलाले आफ्ना हक अधिकार बुझ्नुपर्छ भन्ने महसुस पनि भएको छ।’

    महाकुलुङजस्ता दुर्गम क्षेत्र अझै पुरुष प्रधान मूल्य मान्यताबाट मुक्त छैन। अधिकार, नागरिकता, आर्थिक पहुँचजस्ता विषयमा महिलालाई चुनौतीहरू देखिन्छन्। विशेषतः विवाहपछि श्रीमानले नागरिकता बनाउन नदिने समस्याले धेरै महिलाको जीवन प्रभावित हुँदै आएको उनको अनुभव छ।

    उनले न्यायिक समितिमा बसेर उनले धेरै यस्ता मुद्दाहरू हेरेको सुनाउँछिन्। सामाजिक चलन बदल्ने, अधिकारबारे सचेत गराउने र सरकारी कार्यालयसँग समन्वय गरेर महिलालाई पहिचान उपलब्ध गराउने उनका दैनिक काम बनेका छन्।

    सुधारको प्रयास

    उपाध्यक्ष बनेपछि आफ्नो कार्यकालमा गाउँपालिकाले धेरै काम गरेको सुनाइन्। सडक, पुल निर्माणमा प्राथमिकता दिएकी छन्।

    गाउँ  जोड्ने सडक, नदीमा पुल, महिलालाई सीपमूलक कार्यक्रम, महिलालाई तानमा अल्लो बुनाइ तालिम, उनीहरूले बुनेका कपडाको बजार व्यवस्थापन, र आयमूलक अवसर सिर्जना गर्ने काम गरिरहेकी छन्।

    दुर्गम ठाउँमा स्वास्थ्यको सहज पहुँच पु¥याउन बर्थिङ सेन्टरमा सुरक्षित प्रसूति गर्न प्रोत्साहन, गर्भवतीका लागि निःशुल्क एम्बुलेन्स सेवा, महिला स्वयंसेविकाको स्वास्थ्य बिमा, दीर्घ रोगी, वृद्ध वृद्धाका लागि निःशुल्क स्वास्थ्य बिमा, पाठेघर सम्बन्धी स्वास्थ्य शिविर, मोतीबिन्दु उपचारका उपचार लगायतमा उनको प्राथमिकता छ।

    कृषकलाई आय बढाउन बिउ वितरण, अनुदान, कृषिको व्यावसायिकता र बजार व्यवस्थापनमा  समेत ध्यान दिने गरेकी छन्। त्यसमा पनि महिला कृषकलाई विशेष प्राथमिकता दिन्छिन्।

    वृद्ध वृद्धाका लागि उनले गाउँमा आँखा उपचार अभियान समेत चलाएको बताइन्। बिपना भन्छिन्, ‘उहाँहरूले फेरि संसार देख्दा जसरी खुसी हुनुहुन्थ्यो, त्यो मेरो जीवनकै सबैभन्दा महत्त्वपूर्ण क्षण हो।’

    उनको पालिका उपाध्यक्ष बन्ने यात्रा सहज थिएन। टिकट पाउनेदेखि मत माग्न घर घर धाउने, जनताका अपेक्षा बुझ्ने, चुनौती, आलोचना, आर्थिक कठिनाइ सबै सामना गर्दै उनले चुनाव जित्न सफल भइन्।

    जितलाई ठुलो अवसरको रूपमा लिँदै बिस्तारै सबै सम्हाल्दै उनले व्यवस्थित नेतृत्व देखाइन्। बिपना अबको दिनमा कृषि बजार विस्तार, आलु, लसुन, प्याजजस्ता स्थानीय उत्पादनको व्यावसायिकता र बजार जडानमा काम गर्न चाहन्छिन्। महाकुलुङलाई व्यवस्थित पर्यटकीय गन्तव्य बनाउने योजना पनि उनको छ।

    महिलाका लागि प्रेरणा

    बिपना कुलुङको जीवनले महिलालाई महत्त्वपूर्ण शिक्षा दिने गरेको छ।  जिम्मेवारीबाट नभाग्ने, कठिन परिस्थितिको सामना गर्नसक्ने, सीप र चेतना भएको महिलाको रूपमा परिचित छिन्।

    उनलाई देखेर गाउँका धेरै महिलाले नेतृत्व, सहकारी, संघसंस्था, राजनीति र उद्यममा सक्रिय हुन थालेका छन्। उनले निर्वाचित महिलालाई नेटवर्किङ, सशक्तीकरण र आत्ममूल्यांकनको अवसर दिनुहुने ‘शी लिड्स आइकन’ कार्यक्रमप्रति पनि आभार व्यक्त गर्छिन्। उनी आज हजारौँ महिलाको प्रेरणा बनेकी छन्।

    उनी भन्छिन्, ‘समाजमा भएका समस्या समाधान गर्दै रुपान्तरणको प्रयास गर्दै छु। मेरो आवाज, नेतृत्व र प्रतिबद्धता महाकुलुङ मात्रै होइन। देशका महिलाहरूका लागि नयाँ उदाहरण बन्ने मेरो सपना छ।’

    (नेपाली महिला जनप्रतिनिधिहरूको सुकर्मलाई सञ्चार गर्ने अभियान शि लिड्स आइकन दोस्रो संस्करणको ३१ प्रेरणादायी महिला जनप्रतिनिधि रूपमा उनी छनोट भएकी छन्।)

  • क्यान्सर जितेर क्यान्सरपीडितको अभिभावक बनेकी सुरुङ्गाकी मेयर गीता

    क्यान्सर जितेर क्यान्सरपीडितको अभिभावक बनेकी सुरुङ्गाकी मेयर गीता

    रुपन्देही । सप्तरीको समशेरपुरमा एउटा साधारण मधेस-घरको आँगनमा जन्मेकी गीता चौधरी । जुन समुदायमा छोरीहरूलाई धेरै पढाउने होइन, सानैमा बिहे गरिदिए आनन्द हुन्छ भन्ने गलत संस्कार बसेको थियो त्यहीँ समाजमा अहिले आफ्ना असल अभ्यासले देशमै उदाहरणीय पात्र बनेकी छन् उनी ।

    धेरैलाई लाग्थ्यो- येस्ती छोरीको भविष्य रुदै बग्ने खोलाजस्तै हुन्छ- पहिले विवाह, पछि गृहस्थी, अनि जीवन सुक्दै जाने । तर गीता भने जन्मिँदैदेखि चुनौतीकै धूलोमाटोबाट आफ्नो बाटो पहिचान गर्ने फूल थिइन् छेउछाउको हावा कस्तो छ, उसको महत्त्व छैन; उसको सुगन्धले नै उसको अर्थ बनाउँछ ।

    तेह्र-चौध वर्षमै सहेलीसँग विवाह- गीत खेल्दै बस्ने उमेरमा गीता भित्री आत्मालाई सोधिरहेकी थिइन् “के एक महिला केवल घरभित्रको दैलोमै सीमित भएर जन्मिन्छ ? के शिक्षा छोराको मात्रै अधिकार हो ?” मधेस समाजमा यो प्रश्न उठाउनै विद्रोहको संकेत थियो । तर गीता रोकिइनन् । यही भित्रको चित्त-मर्मले उनलाई राजनीतिक चेतसहित समाजसेवाको बाटोमा कुदाइरह्यो ।

    सानो उमेरमा विवाह गर्नुपर्ने बाध्यता त उनले टार्न सकिनन् तर अध्ययनमा अडिग रहेकाले आफूलाई अहिलेको अवस्थामा पुराएको उनको निचोड छ । ‘मलाई पढाइले नै जोगायो’ उनले भन्छिन् । गीताको जीवनको पहिलो ठूलो धक्का- पढ्दापढ्दै विवाह थियो । थुप्रै छोरीहरूलाई जस्तै, गीतालाई पनि समाजले बुझायो- “छोरीलाई पढाइराखेर के हुन्छ ? राम्रो घर जाँदा बस्छ ।” तर उनी विवाहपछि पनि पुस्ताकै सहाराले अगाडि बढिन् । पति र परिवारको केही समर्थन थियो, तर सामाजिक वातावरण कठोर । “म पढ्न चाहन्छु” भन्ने एउटै वाक्यले कति सामाजिक चोट खाइन् उनले तर पढाइ नछाड्ने जिद्दी ।

    पढाइसँगै बिहान घर–धन्दा, दिनमा अध्ययन—यही चक्रले उनलाई स्नातक मात्र होइन, स्नातकोत्तरसम्म पुर्‍यायो । आज उनी भन्छिन् “म जुन सपना बोकेकी थिएँ । त्यो पूरा भएको छ । समाजमा गणनीय पात्र बन्ने थियो त्यो पूरा गरेकी छु । म आफैँ नगरप्रमुख भएर सयौँ महिलालाई सक्षम बनाउन सकेँ… त्यो भन्दा ठूलो खुसी के चाहिन्थ्यो ?” जीवन कहिलेकाहीँ चाहना अनुसार नचले पनि त्यसले अझै ठूलो अर्थ निकालेर दिन सक्छ । गीता त्यसकै ज्वलन्त उदाहरण बनिन् । २०४८ सालदेखि राजनीतिक सचेतनामा जोडिएर ‘समानताको अर्थ बुझ्न राजनीतिको यात्रा’मा जोडिएको उनी बताउँछिन् ।

    गीता सानैदेखि समाजका विभेद देख्थिन्, जातका आधारमा गरिएको असमानता, छोरी–छोरीबीचको भेदभाव, महिलालाई निर्णय प्रक्रियाबाट टाढा राख्ने प्रवृत्ति यही वेदनाले उनलाई २०४८ सालमै संगठन, महिला समूह, राजनीतिक गतिविधितर्फ आकर्षित गर्यो। राजनीतिको अर्थ उनले पार्टीको ब्यानरभन्दा ठूलो बुझिन्, “राजनीति भनेको समाजमा नदेखिएको पीडालाई देखिने बनाउने कला हो ।” अन्ततः उनलाई पार्टीभित्रबाट मेयरको सिफारिस आयो । सुरुमा हिचकिचाइन् । “जिम्मेवारी भारी छ, महिला भएर अझै भारी” भन्ने आन्तरिक द्वन्द्व । तर केही दिनमै आफूलाई सम्झाइन् — “अवसर महिलाको ढोकामा प्रत्येक दिन आउँदैन। यो दिन फर्कँदैन ।” त्यसपछि उनले पूर्णकालीन राजनीति रोजिन् ।

    क्यान्सरले दिएको जीवन-परीक्षा :  ‘म रोइनँ, तर जितिरहेँ’

    २०७५ साल उनको जीवनको सबैभन्दा अँध्यारो मोड आयो । आफैले चासो राखेपछि स्तनमा गिर्खा भेटियो । जाँचपछि रिपोर्ट आयो—क्भअयलम कतबनभ दचभबकत अबलअभच । छोरालाई सूचना दिएर उनी आफै अगाडि सरेर सबै चेकजाँच गराइन् । घरका सबै रोए । गाउँले डराए । धेरैले भने, “महिला हो, कसरी सामना गर्ला ? अब त जीवन…..” तर गीता भन्छिन्— “सबै रोए, तर म रोइनँ । मेरो शरीरले हार मान्यो कि ? छैन । म पनि किन मानूँ ?” उनले दिल्लीमा बसेर सबै उपचार पूरा गरिन् । बुबालाई क्यान्सर हुँदा आफैँले १९ दिन हेरचाह गरेको अनुभव, बुवाको मृत्यु देखेको पीडा—यी सबैले उनलाई अझ बलियो बनायो । उनी निको भइन् । तर यसले उनलाई बदलिदियो । तर उनलाई यो घटनाले थप परिपक्व बनायो । उनी भन्छिन्, “क्यान्सरले मेरो शरीरलाई होइन, मेरो डरलाई हरायो ।” अब उनी केवल एउटा महिला मात्र रहिनन्, क्यान्सर–सर्वाइभर र क्यान्सर–पीडितहरूको अभिभावक बन्ने अभियानमा लागिन् ।

    नगरपालिकाको जिम्मेवारीमा नआउँदै पनि उनले यसलाई अभियानका रूपमा सचेतना गर्न थालिन् तर जब उनी नगरको मुख्य जिम्मेवारीमा पुगिन् यसलाई पहिलो प्राथमिकतामा राखिन् । नगरपालिकामा नियमित क्यान्सर चेकजाँच, निःशुल्क परीक्षण र जोखिम चिनारी छुट्टै अभियान उनको नाममै चलेको छ । ‘हामीले निःशुल्क रूपमा यो चेकजाँचलाई अगाडि सारेका छौँ, हरिसिद्धिको क्यान्सर अस्पतालका विज्ञहरूलाई ल्याएर हरेक समयमा चेकजाँच गराएका छौँ, त्यही आधारमा धेरै जनाले समयमै उपचार पाउनुभएको छ, यो मेरो कार्यकालको ठूलो उपलब्धि हो ।’ उनले भनिन् ।

    सहकर्मी बागी उठे, तर जनता न्यायाधीश बने : ‘लडाइँ जितेँ, जित जनताले दिलाएको हो’

    २०७९ को स्थानीय चुनाव- सुरुङ्गा नगरमा प्रतिस्पर्धा चर्किएको थियो । सबैतिर उनलाई उम्मेदवारी नदिए जित्न सकिँदैन भन्ने स्वर बलियो बनेको थियो । उनी आस्था रहेको पार्टीले पनि त्यही निचोडमा गीता पार्टीको आधिकारिक उम्मेदवार बनिन् । तर आफूभन्दा नजिकका सहकर्मी नै बागी उठेपछि उनलाई भित्रैबाट आशंका थपियो ।

    ‘महिलालाई जिताउन हुँदैन’ भन्ने मानसिकताले केहीलाई समय कटाउने विषय बन्यो । कसैले भने- ‘महिलाले नगर हाँक्न सक्दैनन् ।’ कसैले उत्साह थप्दै भने- ‘देखाउँला, कसरी हानिन्छ !’ तर चुनाव नजिकिँदै जाँदा एक अद्भुत दृश्य देखियो- भिन्न पार्टीका महिलाले गीता चौधरीलाई अंगालो मारेर समर्थन गर्न थाले । ‘गीता जिते, हामी जित्यौँ’ भन्ने नारा दिदीबहिनीहरूको मनबाट नै उठ्यो । उनी त्यो बेलाको स्मरण गर्दै भन्छिन् । मतपरिणाम आयो— गीता भारी मतले विजयी । बागी, षड्यन्त्र, भ्रम-सबैलाई पराजित गरेको थियो जनताले । यी नै क्षणमा उनले महसुस गरिन्- ‘नेतृत्व पदले होइन, जनता र महिलाले बनाउँछन् ।’

    सुशासन, छोरी शिक्षा नीति र सामाजिक रूपान्तरण पहिलो प्राथमिकता

    सुरुङ्गा गाउँको नाम पहाडमा रहेको ऐतिहासिक “सुरुङ्गा” स्थानबाट आएको । तर आज यो नाम भिन्न कारणले चर्चामा छ— सुशासन, पारदर्शिता र महिला–मैत्री नेतृत्व । बालविवाहमुक्त नगरपालिका ०७९ सालमा आधिकारिक घोषण यो मधेसमै कठिन विषय थियो । किनकि छिमेकी गाउँको घटनाले पनि यहाँ संकट ल्याउँछ । तर गीता र टोलीले समन्वय, छलफल र निरन्तर अभियानले ‘बालविवाहमुक्त’ सम्भव बनाएको बताउँछन् ।

    छोरी शिक्षासँगै छोरी बीमा कार्यक्रम ल्याएर ‘छोरी सबैकी’ अभियान चलाएको गीता बताउँछिन् । गीता भन्छिन्, ‘म जन्मेको समाजमा छोरीको मूल्य कम थियो । अब त्यो सोचै तोड्ने समय हो ।’ नगरपालिकाले जन्मिँदै छोरी बीमा, शिक्षा सहयोग, छात्रवृत्ति, जोखिममा परेका किशोरीका लागि आपत्कालीन सुरक्षा, टाढा बस्नेलाई पाठशाला–सुगम योजना, यी नीति लागू गरिसकेको उनको भनाइ छ । यी आधारबाट सुरुङ्गामा छोरीलाई बोझ होइन भविष्य मान्ने सोच बढ्दै गएको छ । यो ठूलो उपलब्धि भएको उनको निचोड छ ।

    त्यसैगरी उनको साढे ३ वर्षे कार्यकालमा स्वास्थ्यमा ‘डोर–टु–डोर सेवा’ अर्को प्रभावकारी अभियान हो । मधेसमा घर–घरमा पुगेर स्वास्थ्य सेवा दिने अभियानले बढी चर्चा पायो त्यसमा पनि विशेष गरी क्यान्सर चेकजाँच । क्यान्सर सर्भाइभर मेयर भएकाले यस्तो सेवा “वैध कागजात” मात्र होइन, भावनात्मक अभियान बनेको धेरै स्थानीयको बुझाई छ । धेरै महिलाले गीतालाई “हाम्रो आमा–जस्तै” भन्छन् ।

    यो सँगै उनले महिला आत्मनिर्भरतालाई ध्यान दिएको बताउँछिन् । गीता भन्छिन्- ‘महिला जागिर खाने होइन, जागिर खुवाउने बन्नुपर्छ ।’ यहाँको कार्यक्रममा सीपमूलक तालिम, उद्यम सुरु गर्न ऋण र अनुदान, महिलाले बनाएका वस्तुलाई ‘कोशेलीघर’मार्फत बजार ग्यारेन्टी, घरेलु उद्योग–मैत्री नीतिजस्ता कारण आज सुरुङ्गामा महिला उद्यमी बढ्दैछन् । अर्थात् उनीहरू आत्मनिर्भर बन्दै गइरहेका छन् ।

    यसैगरी स्थायी नगर भवन र सेवाग्राही मैत्री प्रशासन उनको कार्यकालमा भौतिक विकासको अर्को उपलब्धि हो । वर्षौँदेखि भाडामा चलेको नगरपालिकालाई व्यवस्थित बनाउन उनले संकल्प गरिन् अबको केही महिनामा त्यो पूरा हुने उनको भनाइ छ । तर गीता भन्छिन्, “सुरुङ्गालाई आफ्नै घर चाहिएको थियो ।”

    अब स्थायी भवन अन्तिम चरणमा पुगेको छ, अब एकै छानामुनि पारदर्शी र छिटो सेवा उपलब्ध हुनेछ । उनलाई चिन्ता लाग्ने मुख्य विषय हो मेयर महिला भएकाले स्थानीयले यो भन्न पाइएन, यो गर्न पाइएन भन्ने नहोस् र उनलाई महिला नभनेर मेयरका रूपमा जतिबेला पनि काम परे खोजोस् भन्ने छ । महिला भएकै कारण राति १ बजे घटना खोज्न नजाऊ भन्ने सल्लाह कुरा आएपछि दुःख लागेको उनको भनाइ छ । नेतृत्व गीता जस्ता महिलाका लागि सजिलो थिएन । तर उनी भन्छिन्- ‘मलाई कहिल्यै ‘महिला भएर’ रोकेन ।’ राती १ बजे दुर्घटना हुँदा उनी एक्लै मोटरसाइकल लिएर घटनास्थल पुगिन् । सहकर्मीले भने, “मेयर साप, तपाईं महिला हो । यस्तो नगर्नु ।’ गीताले जवाफ दिइन्, ‘दिमागमा ‘महिला’ भन्ने शब्द नहुँदो हो त ? नेतृत्व त्यही बेला सिद्धिन्छ ।’

    थारु समुदायबाट उठेको नेतृत्व : ‘म पहिचान लिएर आएको हुँ, अहंकार होइन’

    मधेसमा थारु, मुस्लिम र मधेसी समुदायका पीडा फरक-फरक । गीता थारु समुदायकी । तर उनी सबैका भावनालाई समान महत्त्व दिन्छिन् । उनको सांस्कृतिक संरक्षण अभियानले धेरैको मन जितेको छ- मघिहा, झमटा, थारु नृत्य, लोकगीत, थारु इतिहास संरक्षण सबै मुहानबाट अघि सारिरहेकी छन् । पहाडी समुदायका सबै पर्वहरू, मधेसी मुस्लिम परिवारका सबै पर्वहरूमा यहाँ सामूहिक रूपमा बनाउन थालिएको छ यसले समान संस्कृतिको विकास गराउन सकेको छ । यसकारण गीता चौधरी मेयर मात्र होइन, महिलाको सामूहिक स्वर बनेकी हुन् । सुरुङ्गामा महिलाहरू भन्छन्, ‘गीता मेयर होइन, हामी सबै मिलेर बनेको शक्ति हो ।’ उनको नेतृत्व शैलीअनुसार सहानुभूति, पारदर्शिता, तल्लो वर्ग-जातिको आवाज सुन्ने ठूलो मन, निर्णयमा कडाइ, जनताको बीचमा बस्ने बानी यी गुणले उनलाई जनताको वास्तविक प्रतिनिधि बनाएको छ ।

    बाँकी साढे वर्षको संकल्पः फिनिसिङ र मानवीय विकास

    उनले भन्छिन्,’भौतिक विकास त धेरै भयो । अब त्यसको प्रयोग कसरी गर्ने ? अब सूचकांक बढाउने विकास चाहिन्छ ।’ अघिल्ला तीन वर्षका लक्ष्य- सबै वडामा अस्पताल स्तरका सेवा, छोरी शिक्षा १००%, महिला उद्यम ५०% ले बढाउने, डिजिटल सेवा, सुशासनमा प्रदेशकै नम्बर- १ कायम राख्ने थियो त्यो धेरै लक्ष्य पूरा भएको छ । उनलाई अहिलेसम्म कुनै पछुतो छैन । ’जीवनको रहस्य सायद यही हो कहिलेकाहीँ अधूरा सपना नै ठूलो रूपान्तरणको स्रोत बन्छन् ।’

    मधेसको कुरीतिबाट उठेर, क्यान्सर जितेर, सुशासन निर्माण गर्दै गीता चौधरीले आज छोरीहरूको सामूहिक भविष्य भएकी छन् । गीता चौधरी अब केवल एक महिला नेतृ होइनन्, मधेसको सामाजिक रुपान्तरणको प्रतीक हुन् । उनले छोरीहरूलाई दिएको सन्देशले उनले भन्दै आएको ’महिला जागिर खान जन्मिँदैन, जागिर खुवाउन जन्मिन्छ । छोरी बोझ होइन, भविष्य हो । र नेतृत्व ‘पुरुष’ होइन, ‘साहस’ खोज्छ ।’ भन्ने विषयलाई अबको बाँकी जीवनमा कार्यान्वयनमा लैजाने उनको संकल्प छ ।

    (नेपाली महिला जनप्रतिनिधिहरूको सुकर्मलाई सञ्चार गर्ने अभियान शि लिड्स आइकन दोस्रो संस्करणको ३१ प्रेरणादायी महिला जनप्रतिनिधि रूपमा उनी छनोट भएकी छन्।)

  • बरहथवा नगरमा पहिलो महिला मेयरः शिक्षिकादेखि समाज रूपान्तरणसम्म कल्पनाको नेतृत्वयात्रा

    बरहथवा नगरमा पहिलो महिला मेयरः शिक्षिकादेखि समाज रूपान्तरणसम्म कल्पनाको नेतृत्वयात्रा

    रुपन्देही । सर्लाहीको भित्री मधेसको मुटुमा अवस्थित, दुई नदी-बागमती र लखनदीबीच फैलिएको ऐतिहासिक, सांस्कृतिक र कृषि सम्भावनाले धनी बरहथवा नगरपालिका आज विकास, सुशासन र सामाजिक रूपान्तरणको नयाँ अध्याय लेखिरहेको छ । यस रूपान्तरणको केन्द्रमा उभिएकी छन् नगरप्रमुख कल्पनाकुमारी कटुवाल, जो २०६४ सालमा सुरु भएको सामाजिक-राजनीतिक यात्राबाट निरन्तर अग्रसर हुँदै आज मधेसको महिला नेतृत्वलाई नयाँ अर्थ दिन सफल भएकी छन् ।

    उनको अगाडि शिक्षण पेशाको अनुशासन छ, समाजसेवाबाट बटुलेको मानवीय संवेदना छ, र स्थानीय विकासमा लागू गरिएको ‘व्यावहारिक नीति’ छ, यी तीन शक्ति मिलेर उनले बनाएको नेतृत्व आज बरहथवाको पहिचान बनेको छ ।

    २०२४ जेठ २४ गते सर्लाहीको बरहथवामै जन्मिएकी कटुवालले आफ्नो व्यावसायिक जीवन शिक्षकको रूपमा सुरु गरिन् । लामो समयसम्म शिक्षण पेशामा बिताउँदा उनले समाजका वास्तविक समस्या नजिकबाट देखिन् ।

    उनी भन्छिन्, ‘शिक्षक भनेको केवल पढाउने पात्र होइन, समाजमा अन्यायमा परेकालाई सहज बनाउने अभिभावक हो । शिक्षक सबै अभिभावकको अभिभावक हो । यही पहिचानले मलाई समाजको गहिरिंगा समस्यामा उज्यालो पार्ने बाटोतर्फ बोलायो ।’ शिक्षकको भूमिकाबाट प्राप्त अनुभवले नै पछि उनको नेतृत्व शैली, निर्णय क्षमता र सामाजिक उन्मुखतामा प्रत्यक्ष प्रभाव पारेको छ ।

    बरहथवा नगरपालिका भूगोलका हिसाबले अत्यन्त महत्त्वपूर्ण क्षेत्र हो । भित्री मधेसको केन्द्रीय बजार, समृद्ध कृषि सम्भावना, ऐतिहासिक महत्व र दोहोरो नदी–संस्कृतिले यो नगरलाई अलग पहिचान दिन्छ । तर सम्भावनासँगै चुनौतीहरू पनि थिए—शिक्षा, स्वास्थ्य, खानेपानी, कृषि व्यवस्थापन, सामाजिक विभेद र महिला नेतृत्वप्रतिको प्रतिरोध । यही चुनौतीलाई अवसरमा बदल्ने लक्ष्यका साथ कटुवाल मेयरको कुर्सीसम्म आइपुगिन् । ‘मेरो यात्रा यहाँसम्म पुग्छु भन्ने कल्पना गरेर, योजना बनाएर हिँडेको होइन, कर्म गर्दा गर्दा यो अवसरमा पुरायो ।’ उनले भनिन् ।

    शिक्षाबाटै सुरु भएको सुधार यात्रा

    कसरी विकास गर्नुपर्छ भन्ने प्रश्नमा उनले सदैव शिक्षा क्षेत्रलाई पहिलो प्राथमिकतामा राखिन् । ‘म शिक्षाबाट आएको मान्छे । अवस्थाको विश्लेषण गरेपछि पहिलो आवश्यकतै शिक्षाको सुधार रहेछ जस्तो लाग्यो’ उनी बताउँछिन् । उनले शिक्षालयमा आवश्यक संरचना, सिकाइ वातावरण सुधार, अभिभावक-विद्यालय सम्बन्ध मजबुत पार्ने पहल अघि बढाइन् ।

    शिक्षालाई सामाजिक रूपान्तरणको आधार मानेर उनले विद्यालयमा न्यायिक पहुँच, छात्रवृत्ति व्यवस्थापन, बालमित्र कार्यक्रम र सिकाइमा प्रभाव पार्ने वातावरण विकासलाई निरन्तरता दिइरहेकी छन् । उनी भन्छिन्, ‘समाजमा पहिलो आधार बनाउने शिक्षा नै हो, त्यसैबाट मलाई सामाजिक आधारका काम गर्ने अवसर पाएँ यसैबाट स्थानीयको मन जित्नसकेँ, विद्यार्थी, अभिभावले मात्रै होइन समाजका सबैको विश्वासको आधार हो शिक्षक त्यसबाटै आधार बनाएर यहाँसम्म आएको हुँ ।’

    उनले अध्यापनकै क्रममा समाजमा रहेको जाति, वर्ग र लिंगका विभेदविरुद्धको आवाज उठाउँदै आएको बताउँछिन् । जनप्रतिनिधि बनेपछि पनि यसैलाई आधार बनाएको उनको भनाइ छ । कटुवालको नेतृत्व केवल औपचारिक पदमा सीमित भएन । सामाजिक अभियन्ताको भूमिका निभाइरहँदा उनले मधेसमा गढेर बसेको जातीय विभेद, लिंगका आधारमा हुने भेदभाव र पछाडि पारिएका वर्गको पीडा नजिकबाट अनुभूत गरिन् ।

    उनी भन्छिन्,‘जात, वर्ग वा लिंगका आधारमा कसैलाई पछाडि पार्नु अन्याय हो । म विभेदविरुद्ध सधैं बोलिरहेँ, र समाजले पनि साथ दियो ।’ समाजमा समावेशी नीतिको स्थापना, महिला-दुर्बल वर्गको आवाजलाई निर्णय प्रक्रियामा लैजाने अभियान उनको नेतृत्वको मूल आधार हुन पुगेको छ । सामाजिक विकाससँगै उनले भौतिक विकासलाई पनि स्थानीयको आवश्यकताका आधारमा अघि बढाएको उनी बताउँछिन् । सामाजिकसँगै स्वास्थ्य-खानेपानी मधेसको विशेष समस्यामा सीधा ध्यान दिएको उनको भनाइ छ ।

    मधेसमा स्वास्थ्य विशेष चुनौती हो, महिला स्वास्थ्य, पोषण, सुरक्षित प्रसूति र रोगको जोखिम उच्च हुने क्षेत्र । मेयर कटुवालले महिला स्वास्थ्य सुधारका लागि छुट्टै कार्यक्रम सञ्चालन गरिन् । सुरक्षित मातृत्व, स्वास्थ्य शिविर, पोषण कार्यक्रम, महिला स्वास्थ्य स्वयंसेवक सुदृढीकरण यी उनका प्रमुख पहल हुन् ।

    त्यसैगरी, खानेपानीको शुद्धता मधेसको अर्को समस्या भएकाले उनले जलस्रोत संरक्षण, पानी परीक्षण, फिल्टर वितरण, वितरण प्रणाली सुधारजस्ता कार्यक्रम अघि सारिन् । त्यसैगरी कृषि-सिँचाइ र आर्थिक आत्मनिर्भरतालाई मेयर कटुवालले प्राथमिकतामा राखेर काम गरेकी छन् ।

    बरहथवा कृषिमा धनी क्षेत्र हो । सम्भावना धेरै तर योजनाबद्ध व्यवस्थापन कमजोर । यही ठाउँमा कटुवालले ‘व्यावहारिक कृषि नीति’ लागू गरिन् । कृषि क्षेत्रको सुधारका लागि उनका प्रमुख कामहरू भूमिगत सिँचाइ विस्तार, विद्युत्मार्फत सिँचाइ सुविधा, कृषि विविधीकरण, यान्त्रीकरणबाट किसानको लागत घटाउने कार्यक्रम, उत्पादित उपज व्यवस्थापनलाई योजनावद्ध अघि सारेको उनको भनाइ छ ।

    कृषि क्षेत्रलाई आधुनिकीकरण गर्दै किसानको जीवनमान उकास्ने लक्ष्य उनको नेतृत्वको मूल आधार हो । यो सँगै उनले भौतिक पूर्वाधार तर उपयोगमुखी सोच बनाएको बताउँछिन् । मेयर कटुवालले भौतिक विकासलाई आवश्यकताअनुसार अघि बढाइन् । सडक, भवन, बजार, पुल, नागरिक सेवा केन्द्र जस्ता सुविधाको निर्माणसँगै उनले विशेष ध्यान दिइन् । ‘पूर्वाधार बनाउनु मात्र विकास होइन, ती संरचनाको पूर्ण उपयोग कसरी हुन्छ भन्ने सोच महत्त्वपूर्ण हो ।’ उनले भनिन् । त्यसैले उनले सामाजिक विकास र मानविक क्षमतासँग सम्बन्धित कार्यक्रमलाई पनि समान प्राथमिकता दिइन् ।

    आफ्नो कार्यकालमा उनले युवा र खेलकुद: सम्भावनालाई मार्गदर्शनको रूपमा अघि बढाइन् । युवा पिँढीलाई कुलतमा लाग्न नदिन र सानैबाट स्वस्थताका कारण यसलाई अघि बढाएको उनको भनाइ छ । युवा पुस्तालाई अवसर, मार्गदर्शन र पहिचान आवश्यक छ भन्ने बुझ्ने नेतृ हुन् कटुवाल । त्यसैले खेलकुद कार्यक्रम, प्रशिक्षण, प्रतियोगिता, युवा समूहलाई परिचालन, उद्यमशीलता विकास जस्ता योजनाहरू सँगै अघि बढाइन् ।

    महिला सशक्तीकरणमा कटुवालको अनौठो दृढता

    महिला नगर प्रमुख बन्नु त्यो पनि मधेसमा सामान्य विषय थिएन । यहीँ कारण उनले महिलाको सशक्तीकरणलाई पहिलो प्राथमिकतामा राखेको बताउँछिन् । स्रोतसाधन सीमित, चुनौती धेरै—तर कटुवाल कहिल्यै पछाडि फर्किइनन् । उनी भन्छिन्,‘विकास भनेको भवन मात्र होइन, महिलालाई उठाउने शक्ति हो । सामाजिक रूपान्तरण महिलाको नेतृत्वविना सम्भव छैन ।’ महिलालाई समूहगत कार्यमा जोड्ने, सीप–उद्यम कार्यक्रम सञ्चालन गर्ने, लैंगिक बजेट, समावेशी नीति—यी सबै कदम कटुवालले निरन्तर अघि बढाएकी छन् ।

    पुरुषवादी समाजमा महिला नेतृत्वको संघर्ष सानो नहुने प्रष्ट छ नै । मधेसमा महिलाको नेतृत्व सामान्य विषय होइन । सामाजिक पूर्वाग्रह, परिवार–समाजको दबाब, राजनीतिक प्रतिस्पर्धा सबै उनको बाटोमा थिए । तर उनी भन्छिन्, ‘वातावरण कसैले बनाइदिन्न । आफै संघर्ष गरेर बनाउनु पर्छ ।’ नेतृत्वमा स्थापित हुन उनले साहस, निरन्तरता र संघर्षलाई आफ्नो शक्ति बनाइन् ।

    उनको नेतृत्वमा आएको सबैभन्दा ठूलो चुनौती हो नगर अस्पताल विवाद । अस्पताललाई प्रदेशमा लैजान दबाब थियो, तर उनले नगरकै क्षमतामा आधारित सेवा दिनुपर्ने धारणा राखिन् । यही विषयमा उनलाई राजनीतिक आक्रमण, बदनाम गर्ने प्रयास, घरसमेत जलाउने प्रयास, भौतिक आक्रमणको खतरासम्मको अवस्था सिर्जना भयो । उनी सम्झिन्छिन्,‘धेरैले महिला भएकैले अस्पताल जस्तो विषय पार लगाउन सक्दिन भनिरहेका रहेछन् । यही मेरो सबैभन्दा ठूलो जीवन–सिकाइ बन्यो ।’ तर उनी पछि हटेनन्, सिद्धान्तमा अडिइन् ।

    अधुरो सपना : नर्स बन्ने चाहना र नयाँ अर्थ

    कटुवाल कहिल्यै राजनीतिमा आउने पात्र होइनन् । उनको पहिलो चाहना—नर्स बन्ने थियो । भर्ना भइसकेकी थिइन् तर विवाहपछि त्यो सपना पूरा हुन सकेन । तर पछि शिक्षण पेशामा प्रवेश गरिन् । उनी भन्छिन्, ‘नर्स बन्न नपाएको पीडा थियो । तर शिक्षक भएर गरेको कामले त्यो पीडा बिर्सायो । अझ अहिले दर्जनौँ महिलालाई नर्स बन्न सहयोग गर्न पाउनु त्योभन्दा ठूलो खुसी के नै हुन सक्छ ?’

    राजनीति प्रवेश : सेवा विस्तारको बाटो

    ०७४ मा पहिलोपटक मेयरका लागि उम्मेदवार बन्न प्रस्ताव आयो । सुरुमा निर्णय दिन कठिन भयो । तर उनले सोचिन्— ‘अवसर सधैं आउँदैन ।’ तेस्रो दिनमै निर्णय गरिन् । त्यो चुनावमा पराजित भए पनि उनले यो यात्रालाई रोकिन दिइनन् । ०७९ मा उनी दोब्बर मतले विजयी भइन् । त्यसपछि मेयरमा महिला नेतृत्व रः चुनौतीबाट अवसरसम्म उनले साढे ३ वर्षसम्म अनुभव संगालिन् । टिकटका लागि प्रतिस्पर्धा, नेतृत्वमा विश्वास दिलाउनुपर्ने दबाब, पार्टीभित्रको प्रतिस्पर्धा यी सबै प्रक्रियामा कटुवाल दृढ बनिन् । उनी भन्छिन्, ‘प्रतिस्पर्धामा अब्बल बन्न आफै दृढ हुनुपर्छ । टिकटका लागि धेरैले चाहना राख्नु स्वाभाविक हो । तर जित्नका लागि म तयार थिएँ, अनि जनताले साथ दिए ।’

    उनले अबको समय : सामाजिक विकास प्राथमिकतामा राखेको बताउँछिन् । उनको अबको लक्ष्य अधुरो विकास सम्पन्न गर्ने, भौतिक पूर्वाधारको प्रभावकारी उपयोग, मानव विकासमा लगानी, सामाजिक रूपान्तरण अन्तिम लक्ष्य रहेको छ । उनी भन्छिन्, ‘भौतिक पूर्वाधार धेरै बनेका छन्, तर पूर्ण प्रयोग छैन । प्रयोगमुखी विकास सामाजिक विकासबाटै सम्भव छ ।’

    मेयर कटुवालको मेयर पद कल्पनाभन्दा पर पुगेको यात्रा हो । कटुवाल भन्छिन्, ‘मैले कहिल्यै सोचेको थिइनँ कि यहाँसम्म पुग्छु । तर कामले जिम्मेवारी बनाइदियो । यो समाज नै मेरो परिवार हो ।’ बरहथवाको विकास मात्र होइन, मधेसमा महिला नेतृत्वको संरचना निर्माणमा पनि कटुवालको योगदान महत्त्वपूर्ण छ ।

    शिक्षिकादेखि मेयरसम्मको यात्रा केवल व्यक्तिगत उपलब्धि होइन, उनी बनेकी छन् समाज परिवर्तनको दृढ प्रतीक । बरहथवाको मुटुमा फेरिएको विकासको धड्कन आज एउटा महिला नेतृत्वको सपना, साहस र संघर्षको प्रमाण बनेर उभिएको छ ।

    (नेपाली महिला जनप्रतिनिधिहरूको सुकर्मलाई सञ्चार गर्ने अभियान शि लिड्स आइकन दोस्रो संस्करणको ३१ प्रेरणादायी महिला जनप्रतिनिधि रूपमा उनी छनोट भएकी छन्।)

  • घुम्टो हटाउँदै नेतृत्वसम्म : मधेशकी विद्यादेवी भुजेलको ४० वर्षको सामाजिक यात्रा

    घुम्टो हटाउँदै नेतृत्वसम्म : मधेशकी विद्यादेवी भुजेलको ४० वर्षको सामाजिक यात्रा

    धनुषा । मधेस प्रदेशको दक्षिणी भागमा फैलिएको, ऐतिहासिक, सांस्कृतिक र पौराणिक गाथाले भरिएको भूमि । यही भूमिबाट कहिल्यै नथाक्ने ऊर्जासहित आफ्नो जीवन जनताका भलाइमा समर्पित गरिरहेकी छन् विद्यादेवी भुजेल । अहिले उनी धनुषाको धनुषाधाम नगरपालिकाकी उपप्रमुखमा दोहोरिएर जितेकी हुन् ।

    दोस्रो कार्यकालको करिब डेढ वर्ष मात्र बाँकी छ । पहिलो पाँच वर्ष सकियो, दोस्रो कार्यकालको आधा समय पनि उनले जनताको बीचमै घुलमिल हुँदै बिताइसकिन् ।

    तर विद्या देवीको यात्रा आजको प्रतिष्ठित कुर्सीदेखि होइन, घुम्टाको अँध्यारो, लाजको अवरोध, समाजको परम्परागत बन्धन र तराईमा जन्मेकी युवती १५ वर्षमै माघी बिहे गरेर पहाड बसेर संघर्ष गर्दै जनताको प्रिय पात्र बनेकी छन् । सुन्दा धेरैलाई अनौठो लाग्न सक्छ तर एउटा साहसी मधेसी महिलाले तय गरेको असम्भवजस्तै बाटोबाट सुरु भएको उनको जीवन संघर्ष अहिले उनले पाएको पदमा हेर्दा सामान्यजस्तो लाग्न सक्छ ।

    ऐतिहासिक, धार्मिक र मिथिलाको ‘अदृश्य शक्ति’ : मधेसको सामाजिक चित्र रहेको उनको बुझाई छ । र यसमा उनको गौरव पनि छ । भुजेलका अनुसार धनुषा रामायणकालीन इतिहास बोकेको भूमि भएको र भगवान् राम जनकपुरधाम पुगेको, सीताको बिहे भएको पवित्र स्थल अनि धनुषाधाम, जनकपुर, मिथिलाका कुण्ड, मठ-मन्दिर… हरेक मोडमा इतिहास बोल्ने आवाज भएकाले यसको पौराणिक इतिहास नै बलियो रहेको छ ।

    तर यति ठूलो इतिहास बोकेका ठाउँमा महिलामाथिका विभेद निकै धेरै छन् । उनी आफैले चाहेर पढ्न नपाएको अहिलेसम्म पछुतो छ तर पढेका सक्षम व्यक्तिले भन्दा उनले गरेका काम अनुकरणीय छन् । त्यही समाज, जहाँ अझै पनि महिलाको आवाज कमजोर मानिन्छ, घरभित्र सीमित गरिन्छ, सदियोंदेखि चल्दै आएको सामाजिक संस्कारले महिलालाई पर्दा–घुम्टामै रोकिनुपर्ने नियम बनाएको छ उही उनै भुजेल जनप्रतिनिधि बनेकी छन् दोहोरिएर जसलाई राम्रो गरी लेखपढ गर्नसमेत आउँदैन तर जनताको मनमनमा पुगेकी छन् ।

    त्यही भूमिमा जन्मेर, त्यही संस्कारबीच हुर्केर, त्यही समुदायभित्र परिवर्तनको बिउ छर्ने महिलाको पहिचान बनाएकी विद्यादेवीलाई महिलालाई नै सक्षम बनाउने, त्यसैमा समर्पित रहने र बाँकी जीवन पनि सेवामै बिताउने चाहना छ । उनको समयमा कुनै महिला घरबाट बाहिर निस्कने कुरा असम्भव हुने थियो । राजनीति गरे पनि परिवार र श्रीमानको स्वीकृतमा घरबाटै गरिनुपर्दथ्यो । उनी पनि त्यो बन्धनमा थिइन् नै । तर उनले सामाजिक सेवाको विषय १० वर्षबाटै थालेकी थिइन् स्वास्थ्य स्वयंसेविकाको कामबाट । ‘घरबाट ननिस्कने’ महिलादेखि उपप्रमुखसम्म : एक प्रेरणादायी मोडका विषयमा विद्यादेवीले खोलेका जीनसंघर्ष वास्तविक रूपमै पठनीय छन् । नयाँ पिँढीलाई विश्वासै नलाग्नेजस्तै छन् ।

    भुजेल भन्छिन्– ‘म आफैँ घरबाट बाहिर निस्केको महिला थिइनँ । श्रीमानले राजनीति गर्नुहुन्थ्यो, म पनि जोडिएको थिएँ भित्रै तर बाहिर निस्केको एकै पटक ०७४ सालमा हो, पार्टीले टिकट दियो जनताले मत दिएर जिताए, पार्टीका काममा बाहिर नगए पनि सेवाको कामले भित्रभित्र जनताले मन पराएका रहेछन्, ०७९ मा फेरि जितेँ ।’ तर कहिल्यै बाहिर ननिस्कने ती महिला जब पहिलो पटक भोट माग्न गाउँ-गाउँ पुगिन्, महिलाहरू घुम्टोभित्र लुकिरहेको दृश्यले उनलाई झनै पोलेको थियो । त्यही क्षणले उनलाई परिवर्तनको बाटोमा लगिदिएको हो ।

    उनी भन्छिन्- ‘म लजाएर भित्र लुकेको घटना सम्झेर उनीहरूलाई घुम्टो हटाएर बोल्न सिकाएँ । महिला दिदीबहिनीलाई अगाडि ल्याउने काम नै मेरो पहिलो अभियान भयो । म भोट माग्न जाँदा धेरै दिदीबहिनी भित्र भागेको विषयले मलाई निकै छोयो, महिला सशक्तीकरण नै पहिलो प्राथमिकतामा राखेको हो, त्यसकै नतिजा अहिले अधिकांश महिला खुलेर बोल्ने भए, यो ठूलो उपलब्धि हो ।’

    जनप्रतिनिधि बनेपछि उनको राजनीतिक यात्रा केवल पद प्राप्ति होइन धनुषाधामको सामाजिक परिवर्तनसहितको अभियान बनेको हो । त्यसो त विद्यादेवी भुजेलको जीवन मोडिएको थियो १० वर्षको उमेरमा । ‘आमा सुत्केरी हुँदा अत्यधिक रक्तस्राव भयो । म नजिकै उभिएर असहाय बच्चाजस्तै त्यो हालतमा पीडा देखिरहेँ’ उनले भनिन्- ‘आमाले धेरै रगत बगाउनुभयो । गाउँमा स्वास्थ्य सेवा थिएन । त्यही घटनाले मन छोयो, म समाजका लागि केही गर्नुपर्छ भनेर ।’ यही पीडाले उनलाई स्वास्थ्य क्षेत्रतर्फ धकेल्यो । तर पढ्दापढ्दै बिहे भएकाले उनलाई समस्या भयो । उनले स्वास्थ्यसेविका भएर सेवा दिइन ।

    २०४० सालदेखि २०७४ सालसम्म-झन्डै ३४ वर्ष स्वास्थ्यकर्मीका रूपमा बिताइन् । स्थानीय स्तरमा स्वास्थ्यकर्मीलाई ‘डाक्टर बराबर’ मान्ने वातावरण उनको सेवाले बनायो, त्यो अवस्था गाउँमा थियो पनि । सुई लगाउने, औषधि खुवाउने, प्रसूति हेरचाह सबै काम उनले गरिन् । धेरैलाई त आजसम्म लाग्छ विद्या देवी डाक्टर नै हुन् । तर उनी भन्छिन्- ‘पढ्न नपाएको महिलाको पीडा अझै महसुस हुन्छ । तर पछुतो छैन। जीवनले धेरै सिकायो । गाउँमा नजाने पनि डाक्टरले गर्ने काम सबै गरेँ डर पनि लाग्थ्यो सुइँ लगाउँदा तर नगरी सुखै थिएन, नपढे पनि परेर जानेको काम गरेकी हुँ ।’

    १५ वर्षमै विवाह तराई मधेसकी छोरी पहाडमा मागी बिहे भएर गएको विषय उनको जीवनको रोचक संघर्ष हो । ‘त्यो समय छोरीहरू पढ्न नपाउने समाज । १५ वर्षमै विवाह हुनु सामान्य । मागी विवाह भयो, तराईबाट पहाड पुगेकी थिएँ कस्तो संघर्ष भयो होला, कसैले अहिले कल्पना गर्नुस् त’ उनले भनिन् ।

    उनी भन्छिन्–‘श्रीमान् राजनीतिमा भए पनि श्रीमती बाहिर निस्कनु नहुने माहोल थियो। समाजका नियम कडा थिए ।’ तर आज त्यही समाजका महिलाहरू उनीबाट प्रेरित भएर अगाडि बढिरहेका छन् । त्यही संघर्षले उनलाई अझै ‘बलियो’ बनायो ।

    परिवर्तनको पहिलो कदम : महिला सशक्तीकरण

    उपप्रमुख भइसकेपछि उनले पहिलो काम महिला सशक्तीकरण केन्द्रित गरिन् । ‘महिलालाई बोल्न सिकाउने, घुम्टो हटाउने आन्दोलन, सामाजिक नेतृत्वमा महिलाको सहभागिता बढाउने पहिलो प्राथमिकता भयो’ विद्या भन्छिन् ‘पहिले आफ्नो नाम भन्न लजाउने महिलाहरू अहिले कार्यक्रममै भाषण दिन्छन् । निष्क्रिय महिलालाई सार्वजनिक जीवनमा ल्याउनु उसको सबैभन्दा ठूलो सफलता बनेको छ ।’ उनले मिथिला संस्कृति र सीपलाई आधुनिक प्रविधिसँग जोड्ने प्रयास जनप्रतिनिधिपछि प्राथमिकतामा राखेको बताइन् ।

    मिथिला चित्रकला, स्थानीय हस्तकला र संस्कृतिको ठूलो सम्भावना देखेर उनले सीप–उद्यम तालिम सुरु गरिएको बताउँछिन् । मिथिला संस्कृतिअन्तर्गत पेन्टिङ, रंगकला, सजावटी सामग्री, महिलाका लागि प्रविधि–मैत्री सीपबाट यी क्षेत्रमा महिला र युवालाई तालिम दिएर स्वरोजगारतर्फ अघि बढाएको उनको भनाइ छ । यसबाट धेरै महिलाले अहिले घरमै बसेर हस्तकला सामान उत्पादन गर्न थालेका छन् । यो सँगै स्वास्थ्य क्षेत्रमा नयाँ–नयाँ पहलकदमी थालेर हरेक वडामा उपचार सेवा पुराएकोलाई पनि उनले आफ्नो सफलतामा राखेकी छन् । उनी स्वास्थ्यकर्मी भएकाले स्वास्थ्य अभियान उनका लागि भावनात्मक विषय हो ।

    उनको अगुवाइमा हरेक वडामा स्वास्थ्य चौकी स्थापना, ‘वर्थिङ सेन्टर’ सञ्चालन, गर्भवती महिलालाई ९ महिना पूर्व र ९ महिना प्रसूति–पछिको निगरानी, गरिबको उपचार सहज बनाउन बिनाखर्च सेवा, महिलाहरूका रोगबारे सार्वजनिक सचेतना, जन्म-दर्ता, स्वास्थ्य तथ्यांक अभिलेख प्रणाली विस्तार पालिकामा स्वास्थ्य क्षेत्रमा भएका परिवर्तन हुन् । धनुषाधाममा मातृ–शिशु स्वास्थ्यमा आएको सुधार उनले बोकेको ४० वर्षको अनुभवकै परिणाम हो ।

    त्यसैगरी कृषि र किसानमुखी कार्यक्रम-मधेसको मेरुदण्डलाई बलियो बनाउने संकल्प गरेको उनको भनाइ छ । मधेस कृषि–प्रधान क्षेत्र हो । त्यसैले उनले किसानका लागि अनेक पहल गरेको बताउँछिन् । कृषि अनुदानमा पहुँच बढाउने, दूध, तरकारी र खाद्यबाली उत्पादनलाई बढावा, किसानलाई आधुनिक प्रविधि, सिँचाइ र मल-बिउ उपलब्ध गराउने, महिला किसानलाई प्रोत्साहन र तालिम, ‘एक घर–एक उत्पादन’ अभियान दुवै कार्यकालमा प्राथमिकतामा छन् । विद्या भन्छिन्, ‘किसानलाई सहयोग गर्ने योजना अघि सार्दा धेरै खुसी लाग्छ । महिलालाई अघि बढेको देख्दा अझै प्रसन्न हुन्छु ।’

    शिक्षामा मधेसको चुनौती धेरै रहेकाले सधैँ उनको प्राथमिकता परेको हुन्छ । विद्यादेवी भन्छिन्, ‘तराईमा शिक्षामा कमी छ । अभिभावक सचेत छैनन् । सरकारी विद्यालयमा सुधार हुन सकेको छैन ।’ त्यसैले अब बाँकी डेढ वर्षमा उनले शिक्षा, स्वास्थ्य, कृषि यी तीन क्षेत्रमा नमुना परियोजना कार्यान्वयन गरेर जान चाहन्छिन् ।

    नगरपालिकामा ई–सेवा, सुशासन र सेवा डिजिटलाइजेशन सेवा दिन ई–सेवाको विस्तार, नागरिकलाई अनलाइन सेवा, सामाजिक सुरक्षा भत्ता वितरण पारदर्शी बनाउने, बिल–कर प्रणाली आधुनिक बनाउने, सार्वजनिक सूचनामा खुलापन,जस्ता सुशासनका कामलाई प्रमुख रूपले बढाएपछि धनुषाधाममा सेवाग्राहीले कार्यालय धाउनुपर्ने झन्झट कम हुने उनको बुझाई छ ।

    त्यसैगरी न्यायिक समितिको नेतृत्व गरेर समाजमा मेलमिलाप र शान्ति कायम गराएकी छन् । उपप्रमुखका रूपमा उनी न्यायिक समितिको प्रमुख बनेकी छन् । वडामा पर्ने मतभेद, विवाद, छिमेकी झगडा, घरेलु हिंसा, जग्गा विवाददेखि पारिवारिक समस्या उनी आफैँ बसेर मिलाउने गर्छिन् । उनी भन्छिन्, ‘दुवै पक्षलाई सम्झाएर मिलाएको बेला मनैमा खुसी उम्लिन्छ । अदालत पुर्‍याउनुपर्ने धेरै मुद्दा मैले मिलाइदिएको छु ।’ उनको सहनशीलता, बीच–मिलाउने क्षमताले धनुषाधाममा धेरै घर–परिवार विखण्डन हुनबाट बचेका छन् ।

    ‘मेरा सबै सपना पूरा भए’ सेवामै समर्पित जीवन

    विद्या देवी भुजेल आफ्नो जीवनबारे भावुक भएर भन्छिन् ‘मेरो सपना धेरै थिएन । जनताको सेवा गर्न चाहन्थेँ । आज त्यो सपना पूरा भएको छ ।अब बाँकी जीवन पनि यसै गरेर बिताउने हो ।’ ६ जना छोराछोरी हुर्काउँदै समाज, स्वास्थ्य, राजनीति र सेवा चारै क्षेत्रमा उनले बहुआयामिक भूमिका खेलेकी छन् । पढ्न नपाउनु उनको एक मात्र पछुतो हो, तर उनी भन्छिन्, ‘जीवनले सिकाएको पाठ कुनै किताबले सिकाउँदैन । म खुसी छु ।’

    उमेर-अन्तर र नेतृत्व-समन्वय

    नगरपालिकामा उनी दोस्रो पदमा छन् । त्यहाँका मेयरको उमेर उनको छोराको उमेर छ । तर नेतृत्वमा उमेर होइन आपसी सम्मान महत्त्वपूर्ण हुन्छ भन्ने कुराको ज्वलन्त उदाहरण उनी हुन् । ‘मेयरको कुनै कुरा चित्त बुझेन भने सहजै भन्छु । उहाँले पनि सहजै लिनुहुन्छ,रिसाउने वातावरण कहिल्यै बनेन’ उनले भनिन् । यसरी मेलमिलापमै नेतृत्व अघि बढिरहेको देख्दा नगरका कर्मचारी तथा नागरिक पनि सन्तुष्ट छन् ।

    यी विषयले विद्या देवी भुजेल केबल जनप्रतिनिधि मात्र होइनन् स्वास्थ्य संरक्षक, महिला सशक्तीकरणको आधार, सामाजिक परिवर्तनकर्ता, किसानकी साथी, सांस्कृतिक पहिचानकी संरक्षक बनेकी छन् । धनुषाधाममा उनको नाम सम्मानपूर्वक दिदी, माई, मम्मी-सबै नामले बोलाइन्छ । उनको उमेर, अनुभव र मातृवत व्यवहारले उनी सबैको ‘घरको मान्छे’ बनेकी छन् ।

    डेढ वर्षको अन्तिम यात्राः नमुना नगरको सपना

    उनलाई बाँकी कार्यकाल कसरी बिताउने भनेर सोधेको प्रश्नको सहजै जवाफ दिने गर्छिन्– अब समय धेरै छैन तर योजना धेरै छन् । शिक्षामा सुधार अभियान,कृषि–आधारित उद्यम विस्तार, स्वास्थ्य संरचनाको स्तरोन्नति, डिजिटल सेवा विस्तार, महिला रोजगार कार्यक्रम स्थायी बनाउने काम बाँकी छन् । उनी भन्छिन्, ‘कार्यकाल सकिँदा–नसकिँदै केही नमुना काम गरेर नै जान्छु । जनताका लागि गरेको सेवा नै मेरो पहिचान बन्नुपर्छ ।’

    (नेपाली महिला जनप्रतिनिधिहरूको सुकर्मलाई सञ्चार गर्ने अभियान शि लिड्स आइकन दोस्रो संस्करणको ३१ प्रेरणादायी महिला जनप्रतिनिधि रूपमा उनी छनोट भएकी छन्।)

  • समाजको दियो बन्न चाहेकी पालिका प्रमुख

    समाजको दियो बन्न चाहेकी पालिका प्रमुख

    पोखरा । महिला प्रमुखले पालिका हाँकिरहेको एक स्थानीय तह हो, पर्वतको मोदी गाउँपालिका । जसलाई लिड गरिरहेकी छन्, हिरादेवी शर्माले । करिब २९ वर्ष शिक्षण पेसामार्फत योगदान दिएकी हिरादेवी २०७९ मा भएको निर्वाचनमा नेपाली काँग्रेस र माओवादी केन्द्रका उम्मेदवारलाई पछार्दै अध्यक्ष निर्वाचित भएकी थिइन् । उनै हिरादेवी अहिले मोदी गाउँपालिकालाई नेपालकै उत्कृष्ट र उदाहरणीय गाउँपालिका बनाउने लक्ष्यसहित काम गरिरहेकी छन् ।

    नेकपा एमालेबाट निर्वाचित हिरादेवीले २०४७ बाट पार्टी सदस्यता लिँदै राजनीतिक यात्रा सुरु गरिन् । कक्षा ८ मै हुँदा एमालेनिकट विद्यार्थी संगठनमा काम गरेकी उनी त्यही पार्टीबाट राजनीतिक यात्रा थालिन् । २०४५ सालदेखि शिक्षण पेसामा लागेकी उनले अर्धभूमिगत रूपमा पनि पार्टीलाई योगदान दिन थालिन् । पार्टीमा जोडिएपछि पार्टीको पेसागत संघ संगठनमा पनि काम गरेको हिरादेवी बताउँछिन् । ‘८ कक्षामा पढ्दै गर्दा देखि नै म अनेरास्ववियुमा बसेर काम गरे । पञ्चायतका बेला पनि भूमिगत भएर पार्टीलाई योगदान दिए । शिक्षण पेसामा हुँदा अखिल नेपाल महिला संघमा पनि जोडिए,’ उनी भन्छिन् ।

    हिरादेवी एमालेको वडादेखि जिल्ला हुँदै अहिले प्रदेश कमिटी सचिवालय सदस्य छिन् । उनी २०७४ को स्थानीय तहको निर्वाचनमा पनि प्रमुखको आंकाक्षी थिइन् । तर, अग्रज आएपछि आफ्नो दाबीबाट पछि हटेकी उनी बताउँछिन् । २०७९ को निर्वाचनमा भने आफूले गरेको कामको मूल्याङ्कन गरेर पार्टीले टिकट दिएको अनुभवको अनुभव छ । ‘२०७४ सालमै अध्यक्षको दाबेदारी राखेको थिए । अग्रज आएपछि दाबा छोडेँ,’ उनले भनिन्, ‘अर्धभूमिगत भएर गरेको कामको मूल्यांकन गरेर पार्टीले टिकट दिएको हो ।’

    जनप्रतिनिधि भएर सेवा गर्न सकिन्छ कि भनेर अध्यक्षमा दाबी गरेको उनी बताउँछिन् । ‘शिक्षक पनि समाजको दियो हो । शिक्षक भएर पनि धेरै विद्यार्थी, धेरै अभिभावकबिच भइयो । यी आफूले गरेका काम सुकर्महरूलाई जनप्रतिनिधि भएर अझ धेरैलाई सेवा दिन सकिन्छ भनेर अध्यक्षमा दाबा गरे,’ उनले भनिन् ।

    सबैभन्दा सेवामूलक क्षेत्र राजनीति भएको उनको अनुभव छ । ‘सबैभन्दा सेवामूलक क्षेत्र राजनीति नै हो । नीतिहरूको पनि सर्वश्रेष्ठ नीति राजनीतिलाई मान्ने गरिन्छ । अन्याय, अत्याचारमा परेका व्यक्तिहरूको क्षेत्रमा काम गर्न बाहिर बसेर जति गर्छौँ । खासै राम्रो देखिँदैन,’ उनले भनिन् ।

    उनले थपिन्, ‘आफ्नो अधिकार क्षेत्र नभएपछि अप्ठ्यारो पनि हुन्छ । त्यसकारण राजनीतिमा अघि बढेर समाज परिवर्तन गर्नका लागि हामी राजनीतिक क्षेत्रमा जानु जरुरी छ । सबैको सेवा गर्न सकिन्छ भन्ने मनसायले चुनावमा होमिएको हो ।’ स्थानीय तहमा काम गर्दा उपाध्यक्षबाट पनि सहजीकरण भइरहेको उनको अनुभव छ । ‘सहज रूपले काम गरिरहेका छौँ । उपाध्यक्षबाट असहज छैन,’ उनले भनिन् ।

    समाजका लागि दियो बनेर समाज रूपान्तरणका लागि महिलाको क्षेत्रमा काम गर्न चाहेको हिरादेवी बताउँछिन् । ‘समाजका लागि दियो बनेर समाज रूपान्तरणका लागि महिलाको क्षेत्रमा केही गर्न सकौँ । र उनीहरूको अर्थपूर्ण जीवनले भरपुर प्रयोग गर्न सक्यो भने समाज रूपान्तरणमा यसले अर्थ दिन्छ भन्ने गरी महिलालाई स्थापित गर्न चाहन्छु,’ उनले भनिन् ।

    महिलाहरू गाह्रो भयो भनेर पछि हट्न नहुने उनी बताउँछिन् । चुनौतीलाई अवसरको रूपमा बदलेर अघि बढ्नुपर्नेमा उनले जोड दिइन् । ‘महिलाहरूको घरको जिम्मेवारी हुन्छ, परिवारको, आफ्नै पनि । तर, इच्छाशक्ति, दृढ संकल्प भयो भने गर्न सक्छौँ भन्ने मलाई लाग्छ,’ उनले भनिन्, ‘महिलालाई गाह्रो छ तर, गाह्रो छ भन्दैमा हामी ब्याक हुनुहुँदैन । पछाडि हट्नु हुँदैन । चुनौतीका बिच पनि अवसर खोजेर अगाडि बढ्नुपर्छ भन्ने मलाई लाग्छ ।’

    अरूको टेकोमा नभई आफै सक्षम हुन महिलाहरूलाई हिरादेवीको सुझाव छ । नेतृत्वमा आउन इच्छाशक्तिसँगै क्षमता र योग्यता हुनुपर्ने उनको अनुभव छ । ‘अरूले टेको लगाइदिएर हुँदैन । आफै सक्षम हुन जरुरी छ । त्यसकारण दृढ इच्छाशक्ति, आफूसँगको क्षमता, योग्यता पनि चाहिन्छ’ उनले भनिन्, ‘हामी त्यतिकै नेतृत्व गर्छौँ भनेर हुँदैन । आफू हरेक क्षेत्रबाट प्रश्न नउठाउने हिसाबले काम गर्न सक्नुपर्छ ।’

    महिलालाई हक, अधिकार र कर्तव्यको बारेमा बोध गराएमा आफै जागरूक हुने हिरादेवी बताउँछिन् । उनी भन्छिन्, ‘महिलाहरूलाई आफ्नो हक, अधिकार र कर्तव्यको बारेमा बोध गराउने र जीवनयापनको बारेमा सुसूचित गराएपछि उहाँहरू आफै जागरूक हुनुहुन्छ ।’

    २० वर्षपछि छोरीसँगै पढिन् प्लस टु, स्कुलै नगई प्रथम भइन्

    त्यो समयमा महिलालाई पढ्न धेरै परिवारले रोक लगाउँथ्यो । हिरादेवीको दिदीहरुले पनि पढ्न पाएका थिइनन् । तर, उनी भाग्यमानी बनिन् र पढ्न पाइन् । ‘त्यतिखेर वास्तवमा छोरीहरूले पढ्न हुँदैन भन्ने मान्यता व्यापक नै थियो । धेरै नै छोरीलाई नपढाएको अवस्था थियो,’ उनले भनिन्, ‘बाबा र दाइहरू पढेकाले मैले पनि पढ्न पाएँ ।’

    हिरादेवीको नर्सिङ पढ्ने सानैदेखिको सपना थियो । सोहीअनुसार उनले २०४३ सालमा एसएलसी दिइन् । त्यसपछि आफ्नो रुचिअनुसार नर्सिङको पढाई सुरु गरिन् । तर, त्यो पढाई ६ महिना पनि टिक्न पाएन । उनको २०४४ सालमा विवाह भयो र उनलाई नर्सिङको पढाई छोड्नुपर्ने बाध्यता आइलाग्यो ।
    ‘नर्सिङ पढ्ने सानैदेखिको इच्छा थियो । केही समय पढेँ पनि । २०४४ साल बिहे भयो । बिहेपछि पढ्ने त्यस्तो अनुकूल वातावरण भएन । बिचमा पढाई छोडियो,’ उनले भनिन् ।

    त्यसपछि उनी शिक्षण पेसामा लागिन्, विभिन्न सार्वजनिक फोरमहरूमा पनि उनी सहभागी हुन थालिन् । तर, उनलाई योग्यताले भने पिरोलिरह्यो । त्यसपछि उनी २०६३ सालमा कक्षा ११ मा भर्ना भइन् । ‘आफूले रोजेको विषय पढ्न नपाएपछि भयो भनेर छोडेको थिएँ । शिक्षक भएर काम गरिरहँदा, धेरै फोरममा बसेर काम गर्दा तपाईँजतिको मान्छेले सक्नुहुन्छ भन्नुहुन्थ्यो सबैले । त्यसकारण पनि पढ्नुपर्छ भन्ने लागेर छोरीसँगै भर्ना भएँ,’ उनले भनिन् ।

    २० वर्षपछि प्लस टुमा पढ्न थाल्दा उनी छोरीसँगै भर्ना भइन् । शिक्षक भएका कारण उनी एकदिन पनि पढ्न गइनन् । तर, नतिजामा भने उनी प्रथम भइन् । ‘२०६३ मा प्लस टुको परीक्षा एउटा पनि क्लास नलिई स्कुलमा पहिलो भए,’ उनले भनिन्, ‘त्यसपछि काम गरिराख्दा योग्यता बताउँदै गर्दाखेरि यो पनि सजिलो भयो नि ।’

    प्लस टुपछि उनले ब्याचलर पनि भर्ना भइन् । ब्याचलरमा पनि उनी राम्रो अंक लिएर उत्तीर्ण हुन सफल भइन् । मास्टर्समा पनि उनी भर्ना भएकी थिइन् । तर, उनले परीक्षा दिन पाइनन् । ‘२० वर्षपछि प्लस टु भर्ना भए । प्रथम पनि भए । त्यसपछि ब्याचलर पनि भर्ना भए र राम्रो नम्बर लिएर पास भए । मास्टर्समा पनि भर्ना भएको थिए । तर, छोराछोरी पनि पढ्ने, घर धन्दा पनि गर्नुपर्दा परीक्षा दिन पाइन् । त्यतिकै पढाई रोकियो,’ उनी भन्छिन् । पारिवारिक कामसँगै शिक्षण पेसा र राजनीतिलाई उनले सँगै लगिन् ।

    शिक्षक भएको बेला हिरादेवी नेपाल शिक्षक संगठन हुँदै शिक्षकको साझा संस्था शिक्षक युनियनमा ६ वर्ष जिल्ला अध्यक्ष भएर काम गरिन् । शिक्षक भएको बेलामा पनि उनले पार्टीलाई विभिन्न माध्यमबाट योगदान गरिराखिन् । ‘शिक्षक भइराख्दा १० देखि ४ बजेसम्म स्कुलमा हुने र त्यसपछिको समय राजनीतिलाई दिन्थे,’ उनी सम्झिन्छिन् । उनले २०७० देखि २०७४ सम्म नेपाल शिक्षक महासंघको केन्द्रीय सदस्य भएर काम गरिन् । २०७४ सालमा उनले शिक्षण पेसाबाट अवकाश लिइन् ।

    शिक्षण पेसाबाट अलग्गिएसँगै उनी पार्टीको सक्रिय राजनीतिमा प्रवेश गरिन् । उनी भन्छिन्, ‘२०७४ सालबाट सक्रिय राजनीतिमा लागे । त्योभन्दा अघि अर्धभूमिगत भएर पार्टीलाई योगदान दिएको थिएँ ।’ त्यसपछि भने पार्टीमा उनको जिम्मेवारी थपिँदै गयो ।

    आफू राजनीतिमा लाग्नु र जनप्रतिनिधि बन्नुको श्रेय उनले आफ्नो श्रीमानलाई दिन्छिन् । ‘राजनीतिक, आर्थिक सबैको श्रेय आफ्नै श्रीमानलाई जान्छ । उहाँकै सहयोगमा अगाडि बढ्ने अवसर मिल्यो मलाई,’ उनले भनिन् ।

    पालिकाका १६ गौरवका योजना

    प्राकृतिक स्रोतसाधनमा धनी मोदी गाउँपालिकाको करिब ७० प्रतिशत भूभाग वनले आच्छादित छ । जसबाट प्राप्त हुने जडीबुटी, काठपात, दाउरा र घाँसले स्थानीय जनजीवनलाई समृद्ध बनाउन ठूलो सम्भावना बोकेको अध्यक्ष हिरादेवी बताउँछिन् ।

    उनकै नेतृत्वमा पालिकाले सुशासन, पूर्वाधार विकास, सामाजिक उत्थान र आर्थिक प्रगतिलाई मुख्य प्राथमिकतामा राख्दै नीतिगत कार्य अघि बढाइरहेको छ । गौरवका १६ वटा योजनाहरू अन्तर्गत अपूरा पूर्वाधार परियोजनाहरूको सम्पन्नता, एम्बुलेन्स सेवा सञ्चालन, स्थानीय सडक निर्माण जस्ता पहल अघि बढाइएको छ ।

    यस्तै बालमैत्री शासन प्रवर्धन, चार वडामा आवासीय विद्यालय स्थापना, “पढ्दै कमाउँदै” कार्यक्रम, बजार केन्द्रित वृहद खानेपानी योजना र सुती स्याहार केन्द्र निर्माणलाई पनि पालिकाले प्राथमिकता दिएको शर्मा बताउँछिन् ।

    (नेपाली महिला जनप्रतिनिधिहरूको सुकर्मलाई सञ्चार गर्ने अभियान शि लिड्स आइकन दोस्रो संस्करणको ३१ प्रेरणादायी महिला जनप्रतिनिधि रूपमा उनी छनोट भएकी छन्।)

  • आफ्नो अधूरो सपना भुलेर समाज रूपान्तरणका लागि हिँडेकी सीता

    आफ्नो अधूरो सपना भुलेर समाज रूपान्तरणका लागि हिँडेकी सीता

    काठमाडौं । सामाजिक अभियन्ताका रूपमा परिचित सीता माया गुरुङ हाल धादिङ नेत्रावती डबजोङ गाउँपालिकाकी उपाध्यक्षको कुर्सीमा आसीन छिन्। २०५७ सालदेखि राजनीतिमा सक्रिय मायाले गएको स्थानीय तहको निर्वाचनमा पालिका उपाध्यक्ष बन्न सफल भइन्।

    जिम्मेवारीमा पुगेसँगै उनले महिला उद्यमशीलता, समावेशी विकास, शिक्षा-स्वास्थ्य सुधार र पूर्वाधार विकासमा समुदाय केन्द्रित नेतृत्व दिँदै सुधारको जमर्को गरिरहेकी छन्।

    गाउँपालिकाको उपाध्यक्ष बन्न उनलाई सहज थिएन, तर आफ्नै सङ्घर्ष, सपना र आत्मबलले नै अघि बढेको उनको भनाइ  छ। उनको जीवनको सुरुवात सामान्य परिवारमा भयो। बाल्यकाल भारतको आर्मी स्कुलमा बित्यो। सानैदेखि वकिल, नर्स वा हिरोइन बन्ने सपना पलाएको थियो।

    तर, १४ वर्षकै उमेरमा विवाह भयो। त्यसपछि सायद धेरैजसो महिलाको जीवन अरूका सपनामा हराउँछ। तर उनले हार मानिन् । तीन छोरी जन्मिएपछि पनि उनले आफ्नै शिक्षाको बाटो बन्द गर्न दिइनन्।

    छोरीहरू सँगै विद्यालय जान्थिन्, सँगै पढ्थिन्। उनी सम्झिन्छिन्, ‘मैले नपाएको अवसर छोरीहरूले पाओस् भन्ने मेरो चाहना हो। त्यही अठोटले अहिले परिणाम दिएको हो।’

    उनका छोरीहरू अहिले नर्सिङ पढिरहेका छन्, एक अस्ट्रेलियामा, दुई नेपालमै। उनी भन्छिन्, ‘मेरो सपना त अधुरो रह्यो, तर म खुसी छु, मेरो सपना अब छोरीहरूले पूरा गर्दै छन्।’

    गाउँमै अस्पताल

    मायाको नेतृत्वमा स्वास्थ्य क्षेत्रमा देखिएको परिवर्तन उल्लेखनीय छ। गाउँपालिकाले पाँच बेडको अस्पताल सञ्चालनमा ल्याएको छ, जसमा एक्सरे मेसिन, चिकित्सक, र नर्सहरू स्थायी रूपमा कार्यरत छन्।

    हरेक तीन महिनामा विशेषज्ञ स्वास्थ्य शिविर चलाइन्छ, दम, सुगर, पाठेघर, दाँत र आँखाको जाँच निःशुल्क परीक्षण हुन्छ। हरेक १५ दिनमा घुम्ती स्वास्थ्य शिविर गाउँगाउँमा सञ्चालन गर्ने गरिएको बताइन्।

    उनले भनिन्, ‘पहिले अस्पताल पुग्नै दुई घण्टा हिँड्नु पर्थ्यो, अहिले त डाक्टर नै घरैमा पुग्ने व्यवस्था मिलाएका छौँ, त्यसले पनि स्थानीयलाई ठुलो सहजता ल्याएको मैले महसुस गरेको छु।’

    स्वास्थ्यलाई उनले सेवा होइन, अधिकारको रूपमा स्थापित गरेकी छन्।

    निःशुल्क शिक्षा

    नेत्रावती डबजोङ अहिले जिल्लाकै शैक्षिक उत्कृष्ट गाउँपालिकाका रूपमा परिचित छ। गाउँपालिकाभित्रका १६ वटा विद्यालयमा कुल १६६१ विद्यार्थी अध्ययनरत छन्। सबै सामुदायिक विद्यालयलाई उनले अनिवार्य निःशुल्क शिक्षा घोषणा गरेकी छन्।
    विद्यालयमा साइबर क्राइम, मानसिक स्वास्थ्य र लागूपदार्थ दुरुपयोग विषयमा सचेतना कार्यक्रम समेत चलाउने व्यवस्था गरेको समेत सुनाइन्।

    ‘शिक्षा भनेको केवल अक्षर होइन, चेतना हो। चेतना बिना शिक्षाले समाज बदल्दैन। त्यसैले हामीले स्वास्थ्यसँगै शिक्षालाई पनि उच्च प्राथमिकता राखेका छौँ’ उनले भनिन्।

    विद्यालयका विद्यार्थीहरू हिजोभन्दा बढी अनुशासित र जाँगरिला भएको उनको अनुभव छ।

    अधूरो सपना पूरा हुँदै

    उनको सफलतासँगै जीवनमा भावनात्मक यादहरू पनि लुकेका छन्। बाल्यकालमा हजुरबुवाको अन्तिम क्षणमा पानी लगिदिन नपाएको सम्झना उनलाई अहिले पनि ताजै छ।

    उनी भन्छिन्, ‘म हजुरबुबालाई अन्तिम पटक पानी दिन सकिनँ। सायद त्यसैले होला, अहिले मेरो जीवनको सबैभन्दा ठुलो लक्ष्य गाउँमा खानेपानी पुर्‍याउनु हो।’

    गाउँपालिकाले प्राथमिकतामा राखेर लिफ्टिङ खानेपानी योजना सुरु गरेको बताइन्। थप गाउँहरूमा खानेपानी सञ्जाल विस्तार हुँदै गरेको भन्दै योजना पूरा भएपछि सयौँ घरधुरीमा जीवनको सहजता ल्याएको उनले बताइन्।

    सडक र पुल निर्माणमा आएका अवरोध उनका लागि चुनौती भए पनि उनले हार मानिनन्। कहिले त आफूलाई कामदारझैँ खटाउँछिन्, कहिले प्राविधिकसँग घण्टौँ छलफल गर्छिन्। पुल बग्यो भने आफैँ पुग्छिन्।

    त्यसबारे उनको अनुभव छ, ‘काम गर्न सक्ने नेतृत्वले हातमाथि होइन, हातमा माटो लाग्न डराउनु हुँदैन। म आफैँ पनि कामदार झैँ खटिरहेको हुन्छु।’

    गाउँपालिकाका मुख्य बाटाहरूमा ढल निकास र नाली निर्माण भइरहेकाले बर्खा लाग्नसाथ बाटो बन्द हुने समस्या अब हट्ने बताइन्।

    उनले महिला सशक्तीकरणलाई केवल नारामा मात्रै सीमित नगराई आर्थिक कार्यक्रममा पनि जोडकी छन्। गाउँपालिकाले ३०० जना महिलालाई उद्यमी बनाउने योजना अघि सारेको सुनाइन्।

    ढाका, गलैँचा, मूडा, मौरीपालन, बाख्रापालन र कागती सुन्तला खेतीलाई पकेट क्षेत्र घोषणा गरिएको छ। महिलाले उत्पादन गरेका वस्तु बजारसम्म पुगोस् भनेर कृषि एम्बुलेन्सको बजेट विनियोजन गरिएको छ। उनी भन्छिन्, ‘हामी अब सहयोग माग्ने होइन, उत्पादन बेच्ने महिला बन्दैछौं।’

    उनी उपाध्यक्षको हैसियतले न्यायिक समितिकी संयोजक पनि हुन्। गाउँ स्तरका विवाद, सम्पत्ति, जग्गा, घरेलु हिंसा र सामाजिक मुद्दाहरूमा आफैँले सल्टाउँदै आएकी पनि छन्।

    उनी भन्छिन्, ‘न्यायमा भावना होइन, सन्तुलन चाहिन्छ। तर जब महिला पीडित हुन्छिन्, म कानुनसँगै मानवीय संवेदनासमेत बोकेर न्याय गर्छु। यहाँ धेरै घरायसी विवाद सहमति र मेलमिलापबाट समाधान भएका छन्।’

    अध्यक्ष बन्ने त्यो धोको

    स्थानीय चुनावमा उनले अध्यक्ष पदमा उम्मेदवारी दिने सोच बनाएकी थिइन्। तर महिलाले यस्तो जिम्मेवारी सम्हाल्न सक्दैन भन्ने पूर्वाग्रहले आफूलाई उपाध्यक्षमा सीमित गराइएको उनको बुझाइ छ।

    तर उनले त्यो पदलाई कमजोरी होइन, शक्ति बनाइन्। अब गाउँपालिकाका हरेक ठुला निर्णयमा उनको सल्लाह र नेतृत्व अनिवार्यजस्तै भएको जिकिर गर्छिन्।

    उनले भनिन्, ‘महिलाको शक्ति देख्न पुरुषहरू डराउँदैनन्, तर बुझ्न चाहँदैनन्। अब बुझ्ने समय आएको छ। महिलामा नेतृत्व शैली कठोर र कोमल दुवै छ।’

    उनका प्राथमिकता स्पष्ट छन् गाउँमै गुणस्तरीय स्वास्थ्य र शिक्षा, महिलालाई आर्थिक रूपमा सबल बनाउने युवालाई देशमै अवसर दिने, पारदर्शिता र भ्रष्टाचारमुक्त शासन स्थापित गर्ने।

    उनले थपिन्, ‘गठबन्धनले कहिलेकाहीँ महिलालाई पछाडि पार्छ। त्यसैले म चाहन्छु चुनाव अघि होइन, जनतापछि मात्रै गठबन्धन होस्।’

    उनी कहिलेकाहीँ साँझपख गाउँपालिकाको आँगनमा उभिन्छिन्, पछाडिको डाँडाबाट अस्ताउँदै गरेको घाम हेर्छिन् र भन्छिन्, ‘यो माटोमा मैले आँसु बगाएकी छु, पसिना पोखेको छु। तर म विश्वास गर्छु यही माटोले भोलि खुसीका फूल फुलाउनेछ।’

    (नेपाली महिला जनप्रतिनिधिहरूको सुकर्मलाई सञ्चार गर्ने अभियान शि लिड्स आइकन दोस्रो संस्करणको ३१ प्रेरणादायी महिला जनप्रतिनिधि रूपमा उनी छनोट भएकी छन्।)

  • भेरीका छोरीको अभिभावक बन्दै सिता जैसी

    भेरीका छोरीको अभिभावक बन्दै सिता जैसी

    रुपन्देही । भेरीका छोरीको अभिभावक बन्दै गएकी छिन् सिता जैसी । २०६४ सालदेखि राजनीतिमा सक्रिय सिता जाजरकोटको भेरी नगरपालिकाकी उपप्रमुख हुन् । जनप्रतिनिधिसँगै सामाजिक अभियन्ताको पहिचान बनाएकी उनले सहभागितामूलक समाज निर्माण, पूर्वाधार विकास, भूकम्प उद्धार तथा पुनर्निर्माण, शिक्षा-स्वास्थ्य सुधार र महिला तथा किशोरी सशक्तीकरणमा उल्लेखनीय योगदान दिएर चर्चामा छन् ।

    भेरीमा छोरी र महिलाका समस्या मात्रै होइन हरेक समस्याको समाधानका लागि अग्र मोर्चामा देखिन्छिन् उनी । नगरको चौतारीमा उभिएर कुनै सपना साकार पार्ने बेला जस्तै अनुहारमा चमक ल्याउने एक महिलाको रूपमा उनले आफ्नो पहिचान बनाएकी छन् । दृढता, धैर्यता र विनम्रता एकैसाथ बोकेको व्यक्तित्वको परिचय निर्मला जैसीले थपेकी छन् । आज उनी नगरको दोस्रो उच्चतम नेतृत्वमा छन् । तर उनको यात्रा कुनै तयार बाटो हुँदै आएको होइन । यो यात्रा सुरु भएको थियो, एक मध्यमवर्गीय, तर शिक्षा र राजनीतिक चेत भएको परिवारको चौताराबाट ।

    त्यही परिवारको चेतना, बाबाको दृढता र उनीकै आत्मनिर्भर बन्न खोज्ने संकल्पले आज उनी भेरी नगरको मेजमान कर्मथलोमा ‘नेता’को हैसियतमा उभिएकी छन् । यो उनको संघर्षको कथा धेरैलाई अपत्यारिलो लाग्न पनि सक्छ तर वास्तविकता हो । उनी कसरी ‘छोरी पचाउन नजान्ने समाज’बाट उठेर ‘छोरी नेतृत्व गर्न सक्छे’ भन्ने सामाजिक यथार्थको जीवित उदाहरण बनिन्, त्यसैको कथा हो ।

    मध्यमवर्गीय परिवार, तर उच्च चेतनाको जग : जहाँ छोरीलाई हेर्ने नजर फरक थियो । निर्मला जैसीको जन्म २०४७ साल मंसिर १६ गते, स्व. हिरामणि जैसी र पवित्रा जैसीको कोखबाट भेरी नगरपालिकाको वसन्ती पहाडमा भयो । घर मध्यमवबर्गीय । धनको चमक केही थिएन । तर घरमा शिक्षा के हो र राजनीति किन आवश्यक छ भन्ने गहिरो चेत थियो ।

    “छोरीलाई पढाएर के हुन्छ ?” भन्ने आवाज गाउँ–बस्तीभरि गुञ्जिरहेको बेला उनका बाबु हिरामणि जैसीले त्यस्तो सोचलाई कहिल्यै स्वीकारेनन् । समाजले छोरीलाई घरको भाँडावर्तन र गोठाले मात्रै ठान्ने बेला उनले भने संकल्प गरे- “छोरी पढाउनुपर्छ । छोरी आफ्नै खुट्टामा उभिनुपर्छ ।”

    यही बलियो आधारबाट अभिभावकको यही दृष्टिकोण नै निर्मलाको जीवनको पहिलो र बलियो जग बनेको हो । उनकका बुवाले सधै भन्थे “हामी छोरीले आफ्नै खुट्टामा उभिनुपर्छ । आत्मनिर्भर बन्नुपर्छ । यही मेरो सिर्जना हो । यही मेरो यात्रा हो ।”

    गाउँको विकटता, दुर्गम बस्ती, सीमित पहुँच, परम्परागत सोच, यी सबै बाधाकाबीच पनि निर्मलाले आफ्नो पढाइ, स्वाभिमान र भविष्यलाई कहिल्यै छोडिनन् । विद्यार्थी राजनीतिबाट सुरु भएको नेतृत्वको पहिलो उकालो उस्तै चुनौतीपूर्ण थियो । माध्यमिक तह पढ्दै गर्दा उनलाई समाजमा देखिने धेरै वास्तविकता चसक्क घोप्थ्यो ।

    छोरी-बुहारीका आवाज दबाइने, महिलालाई निर्णयमा ठाउँ नदिइने, बिहान उठेर साँझसम्म श्रम गरे पनि महिलाको योगदानलाई ‘कर्तव्य’ भन्दै पचाइनेजस्ता यिनै वास्तविकताले उनलाई विद्यार्थी राजनीतिबाट नेतृत्वको खुला ढोका देखाएको थियो अर्थात् यी विषयहरूलाई आफ्नो क्षेत्रमा दृढताका साथ उठाउनुपर्छ भन्ने निचोडमा उनी पुगेकी थिइन् । स्कुले राजनीतिदेखि महिला समूहसम्म, अनि महिला समूहदेखि पार्टी संगठनसम्म उनको सक्रियता बढ्दै गयो ।

    उनको पहिलो राजनीतिक अभियान नेपाल कांग्रेस पार्टीको भातृसंगठन नेपालको महिला संघमा प्रवेशबाट भयो । बालिका, महिला, किशोरी र विपन्न वर्गका आवाज बोल्न सक्ने नेतृत्वको आवश्यकता उनले संकल्पमा राखेकी थिइन् । यही कारण, यही संकल्प, यही दृढता कारण अहिले उनी– नेपाल महिला संघको पालिका सभापति र नेपाली कांग्रेसको १४ औँ अधिवेशनबाट जिल्ला कार्यसमिति सदस्य समेत बन्न सफल भइन् । राजनीति उनीका लागि पद प्राप्तिको साधन होइन, समाज बदल्ने अभियान थियो । पितृसत्तात्मक समाजमा महिला नेताको बाटो किन कठिन ? भन्ने विषय उनले यो बीचमा पाइसकेकी थिइन् । सिता भन्छिन्–“पितृसत्तात्मक समाजमा महिलालाई हेर्ने दृष्टिकोण राम्रो छैन । बदल्न जरुरी छ । यो संघर्ष हो । आन्दोलन हो । अवश्य एक दिन बदलिन्छ ।”

    अहिले पनि धेरै ठाउँमा महिला नेतृत्वलाई ‘सजिलो पद’ जस्तो हेर्ने प्रवृत्ति छ । कसैले भन्छ- “महिला भन्यै पछि पर्छन् ।” कसैले भन्छ- “घर-परिवारले चलाउन जान्दछन्, नेतृत्व चाहिँ पुरुषले गर्नु पर्छ ।” तर उनी भन्छिन्- “हजार माइल लामो यात्राको सुरु एक पाइलाबाट हुन्छ । त्यो पहिलो पाइला महिलाले चाल्न सके देश बदलिन्छ ।” सिताको राजनीतिक यात्रा कुनै गाढा सडक हुँदै आएको छैन । उनले भोगेका धेरै कथा ‘अघिल्ला हजारौँ महिला जनप्रतिनिधिका’ अनुभवसँग उस्तै छन् । उनको बुझाइमा अहिले पनि महिलामाथि हुने उपेक्षा, आरोप-प्रत्यारोप, ‘किन महिला उठिन् ?’ भन्ने सोच, निर्णयमा सामेल हुन नदिने मनोवृत्ति समाधान भएका छैनन् समस्या आए पनि उनी अडिन्, दृढ भइन्, दुःख र चुनौतीले उनलाई झन् बलियो बनायो ।

    २०७९ को स्थानीय निर्वाचनमा जनताले चुनेपछि उनलाई निकै ठूलो खुसी थपियो । स्थानीय निर्वाचन २०७९ मा भेरी नगरपालिकामा उनी उपमेयर बनेपछि आफ्नो काम गर्ने क्षमता पनि देखाउन पाएकी छन् । दैनिक अभियान, भेटघाट, जनताको भरोसा, महिलाको आशा सबै मिसिएको त्यो समय उनले प्रयोग गर्न पाइरहेकी छन् । उनले चुनाव जितेपछि भनेकी थिइन्– “मेरो विजय मेरो होइन । यो भेरीका छोरीको विजय हो । यो परिवर्तन चाहने जनताको भरोसाको विजय हो ।”

    नगरको उप–प्रमुख बनेपछि उनको दैनिकी बद्लियो । तर उनको दृष्टिकोण, उनको इमानदारी, उनको धैर्यता बद्लिएन । उप–प्रमुख भएपछिको प्रारम्भिक संघर्ष : आवाज उठाउँदै, तर सुनिदिनेलाई खोज्दै गरेको उनको भनाइ छ । जैसी भन्छिन्, “महिला जनप्रतिनिधिका अनुभव उस्तै हुन्छन् । धेरै कुरा नबताऊँ पनि हुन्छ ।”

    उनले भोगेका कैयौँ समस्या अन्य हजारौँ महिलाले भोगिसकेकाले धेरै बाहिर आइसकेका छन् । उनका अनुसार महिलालाई अहिले पनि प्रारम्भिक रूपमै उपेक्षा, निर्णय प्रक्रियामा पहुँच सीमित, ‘महिलाले बुझ्दैनन्’ भन्ने मौन सोच, जिम्मेवारीभन्दा बढी आलोचना गरेर सताइन्छ पछाडि पारिन्छ । यो उनले पनि धेरै पटक प्रत्यक्ष र अप्रत्यक्ष भोगिन् महसुस गरिन् । तर उनले आफूलाई रोकिन दिइनन् ।

    फाइल रोकिँदा पनि उनी फाइल लिएर सम्बन्धित ढोकासम्म पुग्थिन् भने आवाज दबाइयो भने उनी ‘आवाज थप ठूलो पार्थिन्’ र उपेक्षा देखाइयो भने उनी ‘काम नै गरिदिन्थिन्’ । उनका लागि नेतृत्व ‘पद’ होइन । जिम्मेवारी थियो । जनप्रतिनिधि भएपछि नागरिकका समस्या पहिचानदेखि रणनीतिक योजना बनाउने काममा उप–प्रमुखको ‘काम आधारित नेतृत्व’लाई दृढणताका साथ अघि बढाइन् ।

    सिताले नेतृत्व सम्हालिरहँदा कामको प्राथमिकता वर्गीकरण गरेर अगाडि बढिन् । ‘गाउँ-गाउँको समस्या पहिचान, वडा १ देखि ९ सम्मका बस्तीमा सामीप्यता, वृद्ध, महिला, अपांगता भएका नागरिक, किशोरी, कृषक, विपन्न परिवार-सबैसँग प्रत्यक्ष संवाद गरेर वास्तविक समस्या सुन्ने काम गरेँ’ उनले भनिन्-‘ त्यसपछि गुरुयोजना, रणनीतिक योजना, लक्ष्यसहितको कार्यसूची बनाएर अघि बढ्दा सहज भयो ।’

    उनका सबै योजनामा एउटै कुरा साझा हुन्छ- जनताको न्यूनतम चाहना पूरा गर्नु । भेरीनगरबासीको मुहारमा हाँसो ल्याउनु । समस्यामा परेका नागरिकका ढोकासम्म पुगेको नेतृत्व बन्नु । ‘महिलालाई नेतृत्व दिन सकिन्छ’ भन्ने सामाजिक परिवर्तनको पहिलो आधारस्तम्भ तयार पार्नु । सिता भन्छिन् “महिला जहाँ नेतृत्व गर्छिन्, त्यहाँ उत्तरदायित्व बढी हुन्छ । जिम्मेवारी बढी हुन्छ । काम राम्रो हुन्छ ।”

    यही विश्वासले उनले २०७९ पछि महिला र किशोरीका लागि नेतृत्व विकास कार्यक्रम विस्तार गरिन् । त्यसपछि धेरै महिला टोलको नेतृत्वमा आए । नागरिक समाजमा महिला सक्रियता बढ्यो । असल व्यवहार, सामाजिक जबाफदेहिता र इमानदारी महिला नेतृत्वको पहिचान बन्यो । भन्नेमा उनी ढुक्क छन् ।

    सिता कहिल्यै थकाइ मान्दिनन् । उनका सहयात्री भन्छन्- “उनी नेता होइनन्, ‘काम गर्ने मेसिन’ जस्तै हुन् ।” संघर्षका लागि जतिबेला पनि उनी तयार भएका कारण सँगै हिंड्नेहरु पनि आश्चर्यमा पर्छन् तर सिता भन्छिन्- “अहिले पनि यात्रा सकिएको छैन ।” यस यात्रामा सिताले धेरै रातहरू चिन्तामा बिताएको बताउँछिन् । ‘कहिले बेलुकी १२ बजेसम्म जनता भेट्नु र समस्या सुन्नुपरेको छ । कहिलेकाहीँ समस्या ठूलो हुन्छ, स्रोत–साधन कम । कहिलेकाहीँ आशा धेरै हुन्छ, समय धेरै हुँदैन ।’ उनी भन्छिन्-‘तर मलाई यी कुरा कहिल्यै कमी भएको छैन त्यो हो प्रतिबद्धता, इमानदारी, धैर्यता भएपछि सबैको विश्वास जित्न सकिन्छ ।’

    नगरवासीका ओठमा हाँसो, मनमा भरोसा नै मेरो सपना

    सिता भन्छिन्- “मेरो लक्ष्य सरल छ । भेरी नगरवासीका ओठमा हाँसो छर्न चाहन्छु । उनीहरूको अनुहारमा खुसी देख्न चाहन्छु । सपनाहरू नटुटुन् । आशा नझर्ला । यही मेरो राजनीति हो । यही मेरो जीवनको उद्देश्य हो ।” आगामी दिनहरूमा उनी अझै ठूलो जिम्मेवारी लिन तयार छन् । उनले खुलेर भन्छिन्- “जनताको साथ रहे नगरको नेतृत्व गर्न तयार छु । सेवा नै मेरो धर्म हो ।” “सुनौलो बिहान अवश्य आउँछ । हाम्रो यात्रा केवल सुरु भएको छ ।” उनी भन्छिन् ।

    जैसीको कथा कुनै सामान्य कथा नभएको उनका साथीहरू बताउँछन् । यो एउटा छोरीको संघर्ष, एउटा परिवारको चेतना, एउटा समाजको परिवर्तन र एउटा महिला नेतृत्वको उदयबारे लेखिएको जीवित दस्ताबेज रहेको उनीहरूको बुझाई छ । विकट गाउँका भर्‍याङबाट सुरु भएको यात्राले आज उनलाई भेरी नगरपालिकाको उप-प्रमुख बनाएर मात्र रोकेको छैन, भोलिको भेरी नगरको सम्भावनाको ढोका खोलेको उनीहरूको बुझाई छ । र भन्छिन्-‘भेरीको राजनीति, समाज र जनजीवनमा सीता जैसी आज केवल ‘नाम’ होइन एक प्रेरणा हुन् । एक सम्भावना हुन् । एक यात्रा हुन् ।’

  • मायाको संघर्षले उठेको इच्छाकामना- यसरी प्रत्यक्ष जोडिँदैछिन् जनतासँग

    मायाको संघर्षले उठेको इच्छाकामना- यसरी प्रत्यक्ष जोडिँदैछिन् जनतासँग

    काठमाडौं । धादिङको रोराङ गाउँपालिका बाउनटारमा जन्मिएकी माया सिलवाल चितवन जिल्लाको इच्छाकामना गाउँपालिकाकी उपाध्यक्षको जिम्मेवारीमा छिन् । २०५० सालदेखि राजनीतिमा होमिएकी सिलवालको संघर्ष भने सानो छैन ।

    संघर्ष गर्दै नेतृत्व तहमा उक्लिएपछि अहिले पालिकामा उनले महिला र बालमैत्री नीति, डिजिटल सेवा प्रवाह, कृषि र स्वास्थ्य क्षेत्रमा प्रविधिको उपयोग, ‘एक घर, एक धारा’ अभियान, प्रवर्द्धन, उद्यमशीलता तालिम, सहुलियत ऋण तथा चेपाङ आवास निर्माणजस्ता कार्यलाई प्राथमिकतामा राख्दै काम गर्दै आइरहेकी छन् ।

    जिम्मेवारीमा बसुन्जेल उनको एक मात्रै उद्देश्य हो, पालिकालाई पारदर्शी र विकासमुखी बनाउने । आज आफ्नै कर्म र समर्पणका कारण धेरैको इच्छाकामना बनेकी छिन् । उनी न त कुनै राजधानीकी नेत्री हुन्, न त ठुला संघीय मन्त्रालयमा बस्छिन् । तर गाउँको भुइँस्तरमा बसेर जनताको मुटु जितेकी उनी अहिले (सी लिड्स आइकन) कार्यक्रममा चयन हुन सफल भएकी छिन् । यो उपाधिले उनी मात्र होइन, इच्छाकामनाको नाम पनि देशभरि चम्काएको छ ।

    पालिकामा के-के छन् ?

    पालिकाको परिचय दिँदा नै उत्साहित भएर सुनाउँछिन्, ‘हाम्रो इच्छाकामना गाउँपालिका प्राकृतिक सौन्दर्य, धार्मिक आस्था र सांस्कृतिक सम्पदाको संगम हो ।’

    पालिकाको प्रमुख धार्मिक स्थल इच्छाकामना माई मन्दिर हो, जसको नामबाट नै गाउँपालिकाको नाम राखिएको हो । मानिसहरूको विश्वास छ, यहाँ मागेको इच्छा पूरा हुन्छ ।

    त्यस्तै, मायाटार बालगौरी पाथीभरा पनि त्यस्तै अर्को धार्मिक गन्तव्य हो जहाँ जे माग्यो त्यही पूरा हुन्छ भन्ने जनविश्वास रहिआएको छ ।

    उपरदाङगढी इतिहासमा महत्त्व राख्ने गढी र सिराइचुली चितवनको ‘सगरमाथा’ जहाँबाट सूर्योदयको अनुपम दृश्य देखिन्छ, पर्यटकका लागि आकर्षणका केन्द्र पनि हुन् ।

    हात्तीवाङ जस्तो चेपाङ समुदायको बाहुल्यता भएको गाउँमा सांस्कृतिक विविधता अनुभव गर्न सकिन्छ । त्यति मात्रै होइन, त्रिशूली नदीमा र्‍याफ्टिङको रोमाञ्चक अनुभवले पनि यहाँ पर्यटकलाई तान्ने गरेको छ ।

    यही गाउँपालिकाभित्र मनकामना केबलकारको गेट पर्छ, जसले इच्छाकामनालाई मुग्लिङ बजारमार्फत देशको व्यापारिक केन्द्र बनाएको छ । मुग्लिङ बजार पूर्व, पश्चिम, उत्तर र दक्षिणलाई जोड्ने २४ घण्टा खुला रहने देशकै सक्रिय व्यापारिक केन्द्रहरूमध्ये एक हो ।

    महिला सशक्तीकरणमा चासो

    राजनीतिक पद पाउनु र त्यसमा न्यायपूर्वक काम गर्नु फरक कुरा हुन् । माया सिलवालले भने दुबैमा सफलताको उदाहरण प्रस्तुत गरेकी छन् । उपाध्यक्ष बनेपछि उनले प्राथमिकता दिएकी थिइन्, महिला सशक्तीकरण, स्वास्थ्य, कृषि र सुशासन ।

    उनले गाउँका महिलालाई आत्मनिर्भर बनाउनका लागि धूप बनाउने, धागो काट्ने जस्ता सीपमूलक तालिमहरू सञ्चालन गराइन् ।

    उनी भन्छिन्, ‘हामी महिलाहरूलाई सहयोगको मात्र होइन, आत्मनिर्भर बन्न सिक्नुपर्ने हो।’ महिलाहरूको स्वास्थ्यसम्बन्धी चेतना अभिवृद्धिका लागि महिनावारी स्वच्छता, पाठेघरको मुखको क्यान्सरबारे जनचेतनामूलक कार्यक्रमहरू आयोजना गराइन् ।

    दुर्गम बस्तीका गर्भवती महिलाहरूलाई स्वास्थ्य सेवा पहुँचका लागि पनि उनले पहल गरिन् । महिला किसानहरूलाई आफ्नो उत्पादन बजारसम्म पुर्‍याउन कठिनाइ हुने समस्या समाधानका लागि उनले ‘कृषि एम्बुलेन्स’को अवधारणा ल्याइन्। जसले खेतमै पुगेर उत्पादन बटुलेर बजारसम्म पुर्‍याउने व्यवस्था गरेपछि किसानहरू उत्साहित छन् ।

    गाउँपालिकाभित्र स्वास्थ्य सेवाको पहुँच विस्तारका लागि हाल १८ करोडको लागतमा १५ शय्याको आधारभूत अस्पताल निर्माण अन्तिम चरणमा पुगेको पनि बताइन् ।

    उपाध्यक्ष बन्न संघर्ष

    माया सिलवालको राजनीतिक यात्रा सहज थिएन । धादिङको रोराङ गाउँपालिका, बाउनटारमा जन्मिएकी उनले २०५० सालदेखि राजनीतिक यात्राको थालनी गरिन् । सुरुआत दिनमा उनले स्थानीय संघसंस्था र पार्टीका तल्लो तहका जिम्मेवारी सम्हाल्दै जनताको बिचमा पुग्ने अभ्यास गरिन् ।
    तर जब उनले गाउँपालिकाको उपाध्यक्ष पदका लागि उम्मेदवारी दिइन्, त्यति बेला चुनौतीहरूको बाढी आयो ।

    उनी सम्झिन्छिन्, ‘महिला भएकै कारणले टिकट दिन नहुने भनाइ सुन्नुपर्‍यो। पुरुष प्रतिस्पर्धीहरूले ‘तपाईँ मेरो अगाडि केही होइन’ भन्ने कुरा बारम्बार दोहोर्‍याउँथे ।’

    त्यस्ता शब्दहरूले उनलाई कमजोर बनाएनन्, बरु झनै दृढ बनाएको जिकिर गर्दै थप्छिन्, ‘म पछि हट्ने होइन, हिँड्दै अघि बढ्ने मान्छे हुँ ।’

    उनले आफ्नो जितलाई सम्झिँदै जनताले पार्टीभन्दा माथि उठेर मत दिएको जिकिर गर्छिन् । उनी भन्छिन्, ‘जनताले ममा विश्वास गरेर जिताए, त्यो मेरो सबैभन्दा ठुलो खुसी हो। त्यसैले मैले जनताको भावना अनुसार काम गर्नुपर्छ भनेर अहिले पनि लागिरहेको छु ।’

    तर त्यही खुसीको क्षणमा उनको मनमा एउटा अधुरोपनाको पीडा पनि रहेको सम्झिइन्। भावुक हुँदै भन्छिन्, ‘मेरा आमाबुबा यो दिन देख्न जीवित हुनुहुन्न। त्यो मेरो जीवनको सबैभन्दा ठुलो पछुतो हो ।’

    योजनामा टिकेको आत्मविश्वास

    आफ्नो बाँकी कार्यकाल समावेशी विकास र सामाजिक न्यायमामा केन्द्रित गर्ने नै उनको लक्ष्य छ । पालिकाभित्रका पिछडिएका महिला, बालबालिका, अपाङ्गता भएका व्यक्ति र बिरामीहरूको पहिचान गरी प्रत्यक्ष सहयोग पुर्‍याउने योजना बनाएको सुनाइन् ।

    उनले भनिन्, ‘कसैलाई विद्यालय पठाउने सहयोग, कसैलाई बाख्रा वा भैंसीपालनका लागि सहयोग, कसैका घरमा शौचालय बनाउने साना कामहरूले पनि जनजीवनमा ठुलो प्रभाव पार्छन् ।’

    आफूले अघि सारेका कार्यक्रमहरूमध्ये केही दीर्घकालीन रहेकी बताउँछिन् । महिला र बालमैत्री नीति, डिजिटल सेवा प्रवाह, कृषि र स्वास्थ्य क्षेत्रमा प्रविधिको उपयोग, ‘एक घर, एक धारा’ अभियान, उद्यमशीलता तालिम, सहुलियत ऋण र चेपाङ आवास निर्माण कार्यक्रम अघि सारेको बताइन् ।

    आफूले अघि सारेका योजनाले इच्छाकामनालाई विकासमुखी बनाउने उनको विश्वास छ। पारदर्शिता र जिम्मेवारीको संस्कार स्थापना गर्ने दिशामा अग्रसर हुनुपर्ने उनको मत छ ।

    यही योगदानका कारण ३१ जना प्रेरणादायी महिला जनप्रतिनिधिमध्ये एकको रूपमा आफू पर्न सफल भएको उनको विश्वास छ ।

    उनी थप्छिन्, ‘यो उपाधिले मलाई अझ जिम्मेवार बनाएको छ । अब म अझै बढी जनताको विश्वासका लागि काम गर्नुपर्छ ।’

    उनमा अझै दृढ आत्मबल छ । भन्छिन्, ‘आफ्नै गाउँ, आफ्ना जनताको मुहारमा मुस्कान ल्याउने यात्रा लागिरहेको छु ।’

    (नेपाली महिला जनप्रतिनिधिहरूको सुकर्मलाई सञ्चार गर्ने अभियान शि लिड्स आइकन दोस्रो संस्करणको ३१ प्रेरणादायी महिला जनप्रतिनिधि रूपमा उनी छनोट भएकी छन्।)

  • महिलाको आवाजदेखि न्यायसम्म: जनताको घरमै सेवा पुर्‍याउने उपाध्यक्ष मिना थापाको नेतृत्व यात्रा

    महिलाको आवाजदेखि न्यायसम्म: जनताको घरमै सेवा पुर्‍याउने उपाध्यक्ष मिना थापाको नेतृत्व यात्रा

    रुपन्देही । रोल्पाको सुनिल स्मृति गाउँपालिकाकी उपाध्यक्ष मिना थापा अहिले गाउँका महिला, बालबालिका र वञ्चित समुदायका लागि आशा र विश्वासको प्रतीक बनेकी छन् । २०५९ सालमा विद्यार्थी राजनीतिबाट सुरु भएको उनको यात्रा आज गाउँ–गाउँमा न्याय, शिक्षा र सचेतनाको स्वर बनेको छ ।

    गजुल गाउँकी साधारण परिवारकी छोरी मिना कहिल्यै ठूलो मञ्चमा बोल्न नडराउने साहसी स्वभावकी थिइन् । गाउँमा अन्याय देख्दा उनले सधैँ प्रतिवाद गर्थिन् । उनका बुबा कृष्णबहादुर थापा र आमा यानु थापा दुवै खेतीपातीमा व्यस्त रहन्थे, तर छोरीमा परेको नेतृत्वको चिन्गारी उनीहरूले बाल्यकालमै महसुस गरेका थिए ।

    राजनीतिक चेतनाको बीउ : विद्यार्थी संगठनदेखि जनयुद्धसम्म

    २०५९ साल उनको लागि राजनीतिक परिवर्तनको निर्णायक समयजस्तै बन्यो । त्यो समयमा मिना विद्यालय पढ्दै थिइन् । उनी कक्षामा मात्र होइन, समाजका घटनामा पनि चासो राख्थिन् । विद्यार्थी संगठनको माध्यमबाट पहिलो पटक उनले राजनीति सिकिन्, भाषण गर्न, बहस गर्न, अन्यायविरुद्ध बोल्न ।

    त्यो समय देशमा माओवादी आन्दोलन बलियो बन्दै गएको थियो । शहरी क्षेत्रमा भन्दा ग्रामीण क्षेत्रमा उसले आफ्नो संगठन बलियो बनाउँदै गएको थियो त्यसमाथि रोल्पा उसले आफ्नो आधार इलाका मानेको क्षेत्र थियो । मिना त्यही आधार इलाका क्षेत्रमै थिइन् । माओवादीले उठाएको समानता, महिला हक र वर्गीय न्यायका नाराले उनलाई आकर्षित गरेपछि पूर्णकालीन कार्यकर्ता बन्ने निर्णय गरेको बताइन् । ‘जीवन सजिलो थिएन, पहाडको अप्ठ्यारो बाटो, गोप्य बैठकहरू, जोखिमपूर्ण यात्रा । तर मैले हिम्मत हारिन’ उनले भनिन् ‘राजनीति भनेको सिंहदरबार पुग्ने सिँढी होइन, जनताको जीवन परिवर्तन गर्ने बाटो हो ।’

    युद्धको कठिन दिनमा उनले संगठन निर्माण, जनचेतना र महिलाको सहभागितामा जोड दिइन् । गाउँमा आवाज नबोल्ने महिलाहरूलाई आत्मविश्वास दिलाउने उनको क्षमता नेतृका रूपमा छुट्टै थियो । गाउँगाउँमा संगठन बिस्तारमा लागिन् पार्टीको नेतृत्व बिस्तारमा लागिन् ।

    शान्ति प्रक्रियापछि शिक्षणमा : नयाँ भूमिकाको सुरुवात

    शान्ति सम्झौता भएपछि मिना थापा शिक्षण पेशामा प्रवेश गरिन् । विद्यालयमा उनी शिक्षक मात्रै होइनन्, प्रेरणाको स्रोत थिइन् । बालिका विद्यार्थीलाई आत्मविश्वासी बनाउन, महिला अभिभावकलाई विद्यालय पठाउन प्रेरित गर्न उनले विशेष पहल गरिन् । त्यो समयमा उनी भन्थिन् ‘पढेकी महिला समाजको शक्ति हो । शिक्षण मेरो दोस्रो आन्दोलन हो,अज्ञानविरुद्धको लडाइँ ।’ शिक्षण पेशासँगै उनले सामाजिक सेवामा निरन्तरता दिइरहिन् । बालविवाह, महिला हिंसा, र सुत्केरी महिलाको स्वास्थ्यजस्ता विषयमा उनले स्थानीय स्तरमा सचेतना कार्यक्रम सञ्चालन गरिन् ।

    शिक्षणमा रहँदा पनि राजनीतिप्रतिको लगाव कहिल्यै मरेन । स्थानीय तह निर्वाचन आउँदा गाउँका बासिन्दाले उनलाई आग्रह गरे–‘हामीलाई बुझ्ने, हाम्रो घरमा आउने, हाम्रो पक्षमा बोल्ने मान्छे चाहियो ।’ मिना थापा माओवादी केन्द्रको तर्फबाट उम्मेदवार बनिन् । गाउँ–गाउँ घुमिन्, पैदल हिँडिन्, मतदातालाई भेटिन् ।

    उनी प्रचारमा होइन, संवादमा विश्वास गर्थिन्– ‘म जनताको घरमै पुग्छु, उनीहरूको कुरा सुन्छु, त्यसपछि मात्र बोल्छु ।’ त्यो आत्मीयता र इमानदार अभियानकै कारण उनी अत्यधिक मतले उपाध्यक्ष निर्वाचित भएकी हुन् । उनले हरेक ठाउँमा आफ्नो जिम्मेवारीलाई सहज ढंगले लिइन् र भन्दै आइन् –‘यो पद सम्मान होइन, जिम्मेवारी हो ।’

    न्यायिक समितिदेखि घुम्ती बैठकका जिम्मेवारी

    उपाध्यक्षको जिम्मेवारी पाएका बेला उनले पहिलो काम न्यायिक समितिको प्रणालीलाई डिजिटल बनाउन थालेकी थिइन् । सुनिल स्मृतिको न्यायिक समितिमा सफ्टवेयरमार्फत उजुरी दर्ता र समाधान प्रणाली उनले सुरु गराइन् । अब गाउँका नागरिकले स–साना विवादका लागि केन्द्र धाउनुपर्दैन, स्थानीय तहमै समाधान हुन्छ । उनले यसलाई ‘न्याय घरमै’ भन्ने अवधारणा बनाइन् । ‘महिलाको समस्या, घरेलु हिंसा वा सम्पत्ति विवाद—सबै कुरा कानुनी र मानवीय दृष्टिले समाधान हुनुपर्छ’ मिना बताउँछिन् । त्यस्तै, उनले घुम्ती बैठक र प्रत्यक्ष संवाद कार्यक्रमलाई प्राथमिकतामा राखेकी छन् । गाउँपालिकाका हरेक टोलमा पुगेर नागरिकसँग छलफल, समस्या सुन्ने र तत्काल समाधान खोज्ने उनको शैलीले उनलाई ‘फिल्डमा बस्ने नेतृ’ बनाएको छ ।

    महिला क्षेत्रको उत्थानका लागि कार्यक्रमहरू

    मिना थापाको नेतृत्वमा गाउँपालिकाले पछिल्ला वर्षमा महिला–बालबालिका लक्षित थुप्रै कार्यक्रम सञ्चालन गरेको छ । त्यसमा गर्भवती र सुत्केरी महिलालाई घरमै पुगेर सहयोग पुर्‍याउने अभियान सबैभन्दा लोकप्रिय बनेको छ । उनी भन्छिन् ‘गर्भवती महिला अस्पताल पुग्न नसक्दा ज्यान गुमाउनु हाम्रो दुर्भाग्य हो । त्यसैले सेवा उनीहरूको घरमै पुग्नुपर्छ ।’ त्यसअनुसार उनले गाउँपालिकाको स्रोत परिचालन गरेर पोषिलो खाना वितरण, स्वास्थ्य परीक्षण र मनोपरामर्श सेवा सुरु गराइन् । साथै, एकल महिला, वृद्ध र अशक्तका लागि सामाजिक सहयोग कार्यक्रम पनि निरन्तर चलिरहेको छ । त्यो कामका क्रममा उनले एकपटक भनेकी थिइन्–’पद पाउनु मात्रै उपलब्धि होइन, पदले जनताको आँसु पुछ्न सके मात्रै त्यसको अर्थ हुन्छ । ’

    संकट र चुनौती  पदभन्दा ठूलो जिम्मेवारी भएको थापा बताउँछिन् । ‘जनसेवाको बाटो सधैँ सजिलो हुँदैन । कहिले बजेट अपुग, कहिले कानुनी जटिलता ।’ उनी भन्छिन् ।  तर मिना कहिल्यै पछि हटिनन् । उनले काम नगर्ने कारण खोज्ने होइन, ‘कसरी गर्ने ?’ भन्ने उपाय खोज्ने बानी बसालेको बताउँछिन् । एकपटक गाउँमा भयानक बाढी आयो । कसैलाई सहयोग पुग्न ढिलो भयो । त्यो बेला उनी आफैं रबर्सको बुट लगाएर पानीमा होमिइन्, बूढाबूढीलाई सुरक्षित स्थानमा पुर्‍याइन् । त्यो दृश्यले गाउँमा एउटा सन्देश दियो– ‘उनी नेता होइनन्, साथी हुन् ।’

    गाउँमा उनको अगुवाइमा शिक्षा र चेतनाको निरन्तर अभियान चलेको छ ।  उनी अहिले पनि शिक्षणसँग सम्बन्धित कार्यक्रमहरूमा सक्रिय छन् । विद्यालयमा लैजाने बालबालिकाको संख्या बढाउन “एक घर–एक विद्यार्थी” अभियान सञ्चालन गरिएको छ । त्यसअन्तर्गत गाउँका प्रत्येक घरका अभिभावकलाई बालबालिकालाई विद्यालय पठाउन प्रेरित गरिन्छ ।  उनले महिला साक्षरता कक्षा पनि सञ्चालन गराइन्- जहाँ ३० वर्ष माथिका महिलाहरूले पहिलो पटक आफ्नो नाम लेख्न सिके । त्यस दिनलाई मिना स्मरण गर्दै भन्छिन्-‘यो अक्षर केवल कागजको लागि होइन, आत्मसम्मानको प्रतीक हो ।’ यसैगरी उनले सामाजिक मुद्दाहरूमा सशक्त आवाज उठाउने र समाधानको उपाय खोज्ने पात्रको पहिचान बनाएकी छन् । आत्महत्या, बालविवाह, लैङ्गिक हिंसा र घरेलु हिंसाका मुद्दामा सशक्त आवाज बन्नुपर्ने उनमा जिम्मेवारी थपिएको छ । गाउँमा आत्महत्याको कारणहरू अध्ययन गर्न समितिको गठन उनले नै गराइन् । त्यो समितिले मानसिक स्वास्थ्य र परामर्श सेवामा जोड दिएको छ । उनले बालविवाह रोक्न “किशोरी क्लब” स्थापना गराइन् । युवतीहरूले अब आफ्ना अधिकारका लागि बोल्न थालेका छन् । ‘अहिले मिना दिदीको कारण गाउँमा छोरीको विवाह २० वर्ष नपुग्दासम्म कसैले गर्न हिम्मत गर्दैन’ स्थानीय महिलाले गर्वका साथ भन्न थालेका छन् । यसबाट पनि उनी साझा आवाज: महिला नेतृत्वको नयाँ परिभाषा दिने पात्र बनेकी हुन् ।

    उनी भन्छिन्- ‘महिला नेतृत्व भनेको पुरुषको विरोध होइन, सहकार्य हो । हामी सह–निर्णयको अभ्यास गर्दैछौं ।’ गाउँपालिकामा बजेट बनाउँदा उनले महिला प्रतिनिधिको सहभागिता सुनिश्चित गरेकी छन् । साथै, उनले महिला उद्यमशीलतालाई प्रवर्द्धन गर्न साना व्यवसायका लागि सहज ऋण, सीप प्रशिक्षण र बजार पहुँच कार्यक्रम सञ्चालन गरेकी छन् । त्यसको परिणामस्वरूप अहिले गाउँमा महिला समूहहरूले घरेलु उद्योग सञ्चालन गर्न थालेका छन्, टुक्रा वस्त्र, टिफिन बक्स, साबुन र हाते कलाका उत्पादनहरू गाउँमै तयार हुन्छन् ।

    मिना थापाका श्रीमान् वसन्त थापा र छोरा परीक्षण थापा हुन् । राजनीतिक रूपमा सचेत परिवारले उनलाई सधैँ साथ दिएको छ । सुनिल स्मृति ५ गजुलमा जन्मेकी उनको सोही पालिकाको वडा नं २ खुङ्ग्रीमा घर रहेको छ । मिना घरको पनि उत्तिकै जिम्मेवारी भएको र कहिल्यै जिम्मेवारी नबिर्सिँदिने भएको उनका निकटस्थहरू बताउँछन् । एम.एड.नेपाली विषयमा स्नातकोत्तर गरेकी मिना शिक्षाको माध्यमबाट समाज रूपान्तरणमा विश्वास गर्छिन् । उनको जीवन–मूल्य हो–‘शिक्षा र सेवा बिना नेतृत्व अधुरो हुन्छ ।’ उनको यो जिम्मेवारीले गाउँले दिएको सम्मान, जनताले दिएको विश्वासमा उनी खुसी छन् । सुनिलस्मृतिका बासिन्दाले उनलाई “निडर नेतृ” भनेर चिन्ने बताउँछन् । साना–ठूला सबै कार्यक्रममा उनी उपस्थित हुन्छिन्, सामान्य नागरिकसँग पनि सिधा संवाद गर्छिन् । कसैले घरमा समस्या बतायो भने तुरुन्तै सम्बन्धित शाखामा पठाउँछिन् । गाउँका वृद्धवृद्धा भन्छन्–’मिना आउँछिन् भने हाम्रो कुरा सुन्छिन् । अन्य नेताजस्तो हैनन् ।’ त्यो जनताको विश्वास उनको सबैभन्दा ठूलो सम्पत्ति बनेको छ । सेवा नै राजनीति भनेर उनको प्राथमिकतामा परेको छ । उनलाई नजिकबाट चिन्ने र बुझ्नेहरूका अनुसार मिना थापाको कथा केवल व्यक्तिगत सफलता होइन, ग्रामीण नेपालमा महिला नेतृत्वको नजिकबाट हेर्ने झ्याल हो । त्यसलाई उनले प्रमाणित गरेकी छन् राजनीति भनेको पद होइन, जनताको समस्या सुनेर समाधान गर्ने कला हो ।

    उनको यात्रा संघर्षले सुरु भयो, तर उद्देश्यले परिपूर्ण भयो । अहिले उनी महिला, बालबालिका, वृद्ध र अशक्तका लागि उज्यालो बाटो बनाइरहेकी छन् । गजुलकी ती साधारण छोरीले आज सुनिलस्मृतिमा असाधारण इतिहास लेखिरहेकी छन् । उनको अभियान अझै जारी छ–घुम्ती बैठक, घर–घरमा सेवा, सुत्केरी महिलाको हातमा पोषिलो खाना र वृद्धाको अनुहारमा हाँसो । उनले धेरैजसो दोहोराउने आशय राजनीति मलाई ठूलो बनाउने माध्यम होइन, अरूलाई सशक्त बनाउने बाटो हो भन्ने विषयले उनलाई स्थानीयले चिनिरहेका छन् ।

    (नेपाली महिला जनप्रतिनिधिहरूको सुकर्मलाई सञ्चार गर्ने अभियान शि लिड्स आइकन दोस्रो संस्करणको ३१ प्रेरणादायी महिला जनप्रतिनिधि रूपमा उनी छनोट भएकी छन्।)

  • इलामी विष्णु ‘आमा’ अर्थात् विष्णुकुमारी लिम्बु 

    इलामी विष्णु ‘आमा’ अर्थात् विष्णुकुमारी लिम्बु 

    इलाम । इलामको साङरुम्बा गाविसका प्रधानपञ्च थिए पूर्ण बहादुर लिम्बु । उनका ६ छोरी मध्येकी अन्तरी छोरी हुन् विष्णुकुमारी लिम्बू । बुबा प्रधानपञ्च भएका कारण घरमा राजनीतिका कुराकानी हुन्थे । दुख पाएका मान्छेहरू घरमा आइरहन्थे । समस्यामा परेकाहरूलाई सहयोग गर्न बुबा पूर्णबहादुर अड्डा अदालत धाइरहन्थे ।

    विष्णुकुमारीले सानै उमेरमा राजनीति र समाज सेवा घरैमा देख्न र अनुभव गर्न पाइनन् ।पछि उनका भाइ चक्रबहादुर पनि सोही गाविसको प्रधानपञ्च बने । भाइ प्रधान पञ्च भएका बेला विष्णुकुमारीले समाजका दुख र समस्या अझ नजिकबाट देख्न र बुझ्न पाइन् ।

    उनलाई समाजसेवा प्रति बुवा र भाइको कामले आकर्षित गर्दै लग्यो । २००२ सालमा जन्मिएकी विष्णुको पालमा छोरीले पढ्नु हुँदैन भन्ने थियो । तर बुबा प्रधानपञ्च भएका कारण उनले पढ्ने अवसर पाइन् ।

    ६ कक्षा सम्म साङ्ररुम्बामै पढेकी विष्णुकुमारी त्यसपछि भने इलामको सदरमुकाम इलाम बजारमा बसेर पढिन् ।

    समाजमा अनेक खाले समस्या थियो । श्रीमान् श्रीमतीका झगडा भइरहन्थे । मादक पदार्थ सेवन गरेर श्रीमती कुटेका घटना उनले दिन दिनै देखिन् । उनको मन यस्ता घटनाले भतभती पोल्थ्यो । उनले सुनाइन्‘यस्ता समस्याबाट कसरी समाजलाई मुक्त गर्ने भनेर मन पोलिरहन्थ्यो । केही गरौँ भन्ने भावना आइरहन्थ्यो ।’

    आइएको जाँच दिन आउँदा भागी विवाह 

    माध्यमिक तहको शिक्षा पछि उनी महेन्द्र रत्न क्याम्पसमा आइए पढ्न थालिन् । महेन्द्ररत्न क्याम्पसमा आइएको पढाइ त हुन्थ्यो तर परीक्षा बने सञ्चालन हुँदैन थियो । आइएको परीक्षा दिन इलामबाट विराटनगर आउनु पर्थ्यो । आइएको जाँच दिन आउँदा उनको वेदप्रकाश दाहालसँग भेट भयो । दाहाल त्यही बेला सरकारी जागिरे थिए । संयोग जाँच दिन विराटनगर झरेकी सुब्बा र दाहालको डेरा एउटै घरमा पर्‍यो । डेरामै बसेका बेला उनीहरूको बिचमा माया प्रेम बस्यो । जाँच दिन आएकी विष्णुकुमारीले दाहालसँग भागी विवाह गरिन् । उनले सुनाइन्, ‘बाहुनका छोराले लिम्वूनीसँग विवाह गरे । घर परिवारले स्विकार्ने कुरै भएन । जाँच लिन झरेकी म गाउँ फर्किने कुरै भएन । ’

    जाँच सकिएपछि विष्णुकुमारी श्रीमानसँगै विभिन्न ठाउँमा गइन् । उनी विराटनगर र काठमाडौँ बसिन् । विवाह भए पनि उनका मन भने समाजसेवा तिरै थियो । उनलाई गाउँ जाने र केही गर्ने हुटहुटी मनमा थियो । केही वर्ष पछि उनीहरूलाई परिवारले स्वीकार गर्‍यो । उनी इलाम फर्किइन् । उनले भनिन्, ‘इलाम फर्किएपछि आफूलाई लागेको काममा लागिन् । इलाम फर्किएपछि नारी विकास सङ्घको सदस्य भएर उनी इलाममा सक्रिय भइन् । नारी विकास सङ्घको केन्द्रीय कार्यालय विराटनगरमा थियो । उनी रेडक्रसमा पनि सक्रिय भइन् ।

    इलाममा सामाजिक काममा लागिरहेकै बेला २०४५ सालको भूकम्प गयो । भूकम्पले इलाममा पनि नराम्ररी क्षति पुर्‍यायो । उनी भूकम्पमा परि घाइते भएकाहरूको उद्धारमा सक्रिय भइन् । विस्थापितहरूलाई रेडक्रसका माध्यमबाट सहयोग जुटाउन लागिन् । उनले भनिन्, ‘भूकम्पका बेला म इलामका गाउँ गाउँ पुगे । हेलिकप्टरमा राहत लिएर पीडितका घरमा गए । उनीहरूलाई सकेको सहयोग गरे ।

    नारी विकास सङ्घको सदस्य भएका बेला इलाममा राम्रो प्रोजेक्ट थियो । तर दातृ संस्थाले पठाएको पैसाको हिनामिना भइरहन्थ्यो । अध्यक्ष र कार्यक्रम म्यानेजरले अपचलन गरेको विष्णुकुमारीले सुइँको पाइन् । पटक पटक भन्दा पनि यो क्रम रोकिइएन । विष्णुकुमारीले आफ्नै नेतृत्वमा संस्थामा भएको अनियमितताको खुलेर विरोध गरिन् । उनले पुराना कुरा खोतलिन्, ‘नारी विकास सङ्घमा तिमीहरूले गरेको अनियमितताको साक्षी बस्दिन भन्दा मेरो सदस्यता नै खारेज भयो । नारी विकास सङ्घकी केन्द्रीय अध्यक्ष सुशीला चापागाईँले आफ्नो सदस्यता नवीकरण गर्नु भएन ।’ उनले त्यसपछि महिला दिदी बहिनीहरूको सेवाका लागि आफ्नै नेतृत्वमा संस्था खोल्ने निधो गरिन् । उनले २०४८ सालमा महिला जागरण सङ्घ खोलिन । उनी आफै  अध्यक्ष भइन् । त्यसपछि उनी निरन्तर २०७८ साल सम्म सो संस्थाको अध्यक्ष भइन् ।

    विष्णुकुमारी लिम्बु महिला जागरण सङ्घमा मात्रै समिति भइनन् । उनी नेपाल रेडक्रस सोसाइटी इलाम जिल्लाको अध्यक्ष समेत भइन् । उनले भनिन्,‘भूकम्पका बेला गरेका काम देखेर साथीहरूले अध्यक्षमा लड्नु पर्छ भने । म रेडक्रसको अध्यक्ष भएर पनि लामो समय काम गरे । रेडक्रसमा हुँ विपदमा परेकाहरूका लागि सहयोग गरे ।’

    रेडक्रस र महिला जागरण सङ्घमा बसेर काम गरिरहँदा घरेलु हिंसा, कुटपिट र मानव बेचबिखनका घटना इलाममा भइरहन्थ्यो । छोरा छोरीले खान लाउन नदिएको घरबाट निकालेको भनेर ज्येष्ठ नागरिकहरू  आउने क्रम बढ्यो । उनले सुनाइन्,‘यस्ता समस्या धेरै आए । तर समाधानका लागि ज्येष्ठ नागरिकलाई राख्ने वृद्धाआश्रम थिएन । हामीले वृद्धाआश्रम बनाउने निधो गरिन् ।’

    उनै विष्णुकुमारीको नेतृत्वमा इलाममा माई भगवती वृद्धाश्रमको २०४८ सालमा स्थापना भयो । उनी त्यसको  संस्थापक अध्यक्ष भइन् । वृद्धाश्रममा ६५ वर्ष माथिका ज्येष्ठ नागरिकहरूलाई राखिने गरिएको छ। वृद्धाश्रममा राखेर ज्येष्ठ नागरिकहरूको सेवा गरेकाले विष्णुकुमारीलाई धेरैले विष्णु आमा भनेर बोलाउँछन् । उनले भनिन्, ‘मायाले आमा भन्दा गर्व लाग्दो रहेछ । ’ उनी स्थानीय तहको निर्वाचन लड्नु अघि सम्म सो संस्थाको अध्यक्ष भएर  काम गरिन।  २०७९को निर्वाचनमा भने इलाम नगरपालिकाको उप मेयरमा निर्वाचित भइन् । उनी नेपाली काँग्रेसको तर्फबाट उम्मेदवार बनेकी हुन् ।

    समाजसेवाबाट राजनीति 

    सामाजिक काममा सक्रिय भइरहँदा उनी राजनीतिमा पनि लागिन् । नेपाली काँग्रेसको नवौँ महाधिवेशनमा उनी इलामबाट महाधिवेशन प्रतिनिधि छनौट भइन् । त्यसपछि उनी नेपाली काँग्रेसको महासमिति सदस्य बनिन् । त्यस यता उनी हरेक महाधिवेशनमा महाधिवेशन प्रतिनिधि हुँदै आएकी छन् । हाल उनी नेपाली काँग्रेस इलामकी उप सभापति छन् । राजनीति मैले माइतबाट नै लिएर आएको हो । घर पट्टी पनि श्रीमानले कहिल्यै समाज सेवा र राजनीतिमा छेकबार लाउनु भएन ।

    उनले भनिन्, ‘महिलाहरूलाई राजनीतिमा आउन हुँदैन भन्ने सोच हाम्रो परिवारमा कहिल्यै भएन । राजनीति र समाज सेवामा लागे बापत उनले धेरै सम्मान र पुरस्कार समेत पाएकी छन् । उनी  जिल्ला सहकारी सङ्घ इलामको तीन पटकसम्म अध्यक्ष भइन् ।

    उनी सेतीदेवी बहुउद्देश्यीय सहकारी सङ्घको संस्थापक अध्यक्ष समेत हुन।उनले समाजसेवामा लागेकै भएर २०७० सालमा समाज जनकल्याण परिषद्बाट समाज सेवा सम्मान पाइन। त्यस्तै भानु प्रतिष्ठान काठमाण्डौंबाट समेत  सम्मानित भएकी छन् ।

    जनसेवी पञ्चन श्रेणी विभूषण २०७८ बाट समेत सम्मान भएकी उनी जय नेपाल प्रतिभा प्रोत्साहन प्रतिष्ठान झापा र इलामबाट २०८० सालमा सम्मानित भएकी थिइन।

    (नेपाली महिला जनप्रतिनिधिहरूको सुकर्मलाई सञ्चार गर्ने अभियान शि लिड्स आइकन दोस्रो संस्करणको ३१ प्रेरणादायी महिला जनप्रतिनिधि रूपमा उनी छनोट भएकी छन्।)

  • सशक्त नेतृत्वको आवाजबाट परिवर्तनको बाटोमा अघि बढेकी गायत्री

    सशक्त नेतृत्वको आवाजबाट परिवर्तनको बाटोमा अघि बढेकी गायत्री

    काठमाडौं । २०४७ सालमा राजनीतिमा सक्रिय प्रवेश गरेकी गायत्री आचार्य अहिले दोलखा मेलुङ गाउँपालिकाको उपाध्यक्षको जिम्मेवारीमा छिन् ।

    जिम्मेवारीमा पुगेदेखि नै उनको भूमिका सहभागीमूलक योजना, कृषि अनुदान, शिक्षा स्वास्थ्य सुधार, आधारभूत पूर्वाधार विकास, न्याय र सुशासनमार्फत मेलुङलाई समावेशी र विकासमुखी गाउँपालिका बनाउनमा केन्द्रित छ ।

    पालिका उपाध्यक्षको जिम्मेवारीबारे भन्छिन्, ‘परिवर्तन सानो आवाजबाटै सुरु हुन्छ । मेरो आवाज पनि त्यही परिवर्तनको एउटा हिस्सा हो ।’

    उनले पालिकामा सामाजिक चेतनाको, महिला सशक्तीकरणको र गाउँलाई आत्मनिर्भर बनाउने सपना देखेकी छन्। त्यही अनुसार उनको भूमिकाले पनि देखाउँछन् । सानैदेखि सामाजिक सेवामा सक्रिय, विद्यार्थी राजनीतिबाट सुरुवात गर्दै, पत्रकारिता हुँदै स्थानीय नेतृत्वसम्मको उनको यात्रा प्रेरणादायी नै छ ।

    उनको नेतृत्वमा मेलुङले सहभागीमूलक योजना, सुशासन, कृषि र पूर्वाधार विकासमा उल्लेखनीय फड्को मारेको छ ।

    मेलुङमा सम्भावनाको खोजी 

    मेलुङ गाउँपालिका दोलखा जिल्लाको दक्षिण भागमा अवस्थित छ। सदरमुकाम चरिकोटबाट करिब डेढ घण्टाको यात्रा टाढा पर्ने यो गाउँपालिकाको उचाइ ६४४ मिटरदेखि ३१०० मिटरसम्म फैलिएको छ । तल्लो भेगमा पुग्दा तराईको अनुभूति हुन्छ भने माथिल्लो भेगमा पुग्दा हिमालको हावा महसुस हुन्छ ।

    यहाँ विभिन्न जातजातिका मानिसहरू बसोबास गर्छन्, संस्कृतिमा विविधता छ, र पर्यटनका लागि असाधारण सम्भावना पनि । फलफूल र कृषि उत्पादनका हिसाबले मेलुङले पहिचान बनाउँदै छ । वडा नम्बर १ को पौडी ‘सुन्तला हब’ का रूपमा चिनिन्छ भने अन्य वडामा केरा, किवी र आलुको व्यावसायिक उत्पादन भइरहेको छ ।

    ‘हाम्रो गाउँपालिका साँच्चिकै सुन्दर छ, रमणीय छ र आत्मनिर्भर बन्ने दिशामा अघि बढ्दै छ’ उनी सुनाउँछिन् ।

    महिलालाई आत्मनिर्भर बनाउन संघर्ष 

    उनको जन्म वि.सं. २०३५ साल भदौ १५ गते दोलखाको पवटी गाविसमा भएको हो । बुबा इन्द्रप्रसाद घिमिरे र आमा जानुका घिमिरेकी कान्छी छोरी गायत्री सानैदेखि न्यायप्रिय र सामाजिक स्वभावकी थिइन् ।

    उनी भन्छिन्, ‘म विवाहित नभएको बेलामै महसुस गर्थेँ कि महिला र पुरुषबीच समानता छैन। त्यो नै मेरो राजनीतिमा आउन प्रेरणाको मुख्य कारण हो ।’

    २०७४ सालमा उनले उपाध्यक्षको टिकट पाइनन् । बलियो आर्थिक अवस्था नभए पनि राजनीतिक पहुँच सीमित थियो दोष उनी त्यता देखाउँछिन् ।  तर, २०७९ को निर्वाचनमा भने टिकट मात्रै पाइनन् सफलता पनि हासिल गरिन् ।

    एमालेकी आचार्य चार हजार चार सय ४३ मतसहित पालिका उपाध्यक्षमा विजयी हुँदा कांग्रेसका भक्तबहादुर तामाङले दुई हजार पाँच सय  २५ मत मात्रै ल्याएका थिए । उनी थप्छिन्, ‘त्यो क्षण जीवनकै अविस्मरणीय रह्यो ।’

    निर्वाचित भएपछि उनको पहिलो लक्ष्य थियो, महिलालाई सशक्त बनाउने । उनी भन्छिन्, ‘जबसम्म महिला आर्थिक रूपमा सक्षम हुँदैनन्, तबसम्म उनीहरूको आवाज न सुन्छ। त्यसैले हामीले आत्मनिर्भर महिलाको अभियान सुरु गर्‍यौँ ।’

    उनको पहलमा गाउँपालिकाभर ११८ भन्दा बढी महिला समूह गठन गरेर कृषि, पशुपालन र साना उद्यममा लगाइएको बताइन् । वडा नं. २ मा महिलाहरूले सञ्चालन गरेको डेरी सञ्चालनमा आएको छ । वडा नं. १ मा महिलाहरूले सुन्तला व्यवसायमा व्यावसायिक प्रगति गरेका छन् ।

    तालिमलाई व्यवहारमा जोड्नका केन्द्रित छिन् । उनी भन्छिन्, ‘पहिले तालिम हुन्थ्यो, प्रमाणपत्र लिइन्थ्यो र काम सकिन्थ्यो । अब हामीले नीति बनायौँ तालिम दिएपछि त्यसको प्रयोग अर्को दिनदेखि सुरु गर्नुपर्छ। महिलाहरू अब आत्मनिर्भर छन्, साना खर्चका लागि अरूमा निर्भर रहनु पर्दैन ।’

    विकासका प्रयास 

    उनले पालिकामा विकास निर्माणलाई पनि उत्तिकै ध्यान दिएकी छन्।  पहिले धेरै वडा कार्यालय जाने समेत हिँड्नुपर्ने ठाउँमा अहिले १२ महिना नै यातायात पुग्नसक्ने व्यवस्था गरेकी छन् ।

    पालिकाकै आधुनिक प्रशासनिक भवन निर्माणको अन्तिम चरणमा पुगेको छ । पालिकाका निर्णय प्रक्रियामा जनसहभागिता र पारदर्शितालाई मूल आधार पनि बनाइएको उनले बताइन् । योजना निर्माणदेखि बजेट कार्यान्वयनसम्म निगरानी समितिहरू सक्रिय रहेको बताइन् ।

    कृषि र पशुपालनमा अनुदान र उत्पादनअनुसार अनुदानको समेत व्यवस्था मिलाइएको छ ।

    मिडियादेखि राजनीतिसम्म

    उनी पहिले पत्रकारितामा थिइन्, रेडियोबाट कार्यक्रम चलाउँथिन्। त्यही आवाजको माध्यमबाट अहिले जनताको प्रतिनिधि समेत भएकी छन्।

    उनले भनिन्, ‘मान्छेहरूले भन्थे, मेरो आवाजले के हुन्छ र? तर म भन्थेँ, मेरो आवाज नै परिवर्तन ल्याउँछ। नेताहरूको शब्दले होइन, जनताको आवाजले देशमा परिवर्तन आएको हो।’

    पत्रकारिताले उनलाई बोल्न नडराउने, तर्क गर्न सक्ने र तथ्यसहित प्रस्तुत हुन सिकाएको उनको अनुभव छ । उपाध्यक्षको हैसियतले गायत्रीले विभिन्न तहमा काम गर्न सक्रिय हुन्छिन् ।

    न्यायिक समितिबाट कानुनी ज्ञान, राजस्व समितिबाट आम्दानी बढाउने उपाय, संघ संस्थासँगको सहकार्यबाट निगरानी र मूल्याङ्कनका अनुभव यी सबैले उनको नेतृत्वलाई थप जिम्मेवार र  परिपक्व बनाएको छ ।

    उनी थप्छिन्, ‘हामीले योजना बनाउन मात्रै होइन, त्यसको प्रभाव हेर्न पनि सिक्यौँ। समन्वय, नीति, मूल्याङ्कन र जनसम्पर्कका साथै मेरो सक्रियताले मेलुङलाई सुशासनतर्फ डोर्‍याइरहेछ । मेरो ध्यान त्यतातर्फ नै केन्द्रित छ पनि ।’

    त्यो भावनात्मक सम्झना 

    उनलाई २०७९ सालको निर्वाचनमा जित सबैभन्दा अविस्मरणीय हो। तर त्यो खुसीसँगै एउटा गहिरो पीडा पनि गाँसिएको छ, उनका बुबा र आमा त्यो क्षणमा थिएनन् ।’

    उनी सम्झिन्छिन्, ‘बुबा सधैँ भन्नुहुन्थ्यो, यो छोरीले सामाजिक परिवर्तन ल्याउँछे, तर जब मैले सफलता पाएँ, उहाँहरू हुनुहुन्थ्यो। त्यसैले अहिले म गाउँका ज्येष्ठ नागरिकहरूसँग समय बिताउँछु।  जब म उनीहरूसँग नाच्छु, कुरा गर्छु, तस्बिर खिच्छु, मलाई लाग्छ म आफ्नै आमाबुबासँग छु ।’

    मेलुङमा ज्येष्ठ नागरिकका लागि एउटा केन्द्र बनाउने योजना बनाएकी छन् । ‘गाउँहरू अहिले खाली हुँदै छन्। छोराछोरी विदेशमा छन्। हाम्रा बुबाआमाहरू एक्ला हुँदै छन्। त्यसैले एउटा केन्द्र बनाउने मेरो प्रयास रहन्छ जहाँ उनीहरूले धार्मिक ग्रन्थ पढ्न, संगीत बजाउन, आपसमा भेटघाट गर्न र सन्तोषका क्षण बाँड्न सकुन्।’

    मेलुङबाट देखेको सपना

    गायत्रीले मेलुङबाट राजनीतिमा भर्खरै सपना देख्न थालेकी हुन्। उनको लक्ष्य केबल मेलुङ गाउँपालिका मात्रै सीमित रहने छैन। राजनीतिलाई अझै अगाडि बढाउने र जनताको सपना पूरा गर्ने उनको लक्ष्य छ।

    मेलुङबाट गायत्रीले देखेको सपना सुरुवात गर्दै छिन्, संघर्षमार्फत बाटो बनाउँछन् सुशासनमार्फत परिवर्तन ल्याउने उनको लक्ष्य छ।

    उनी भन्छिन्, ‘राजनीतिक नेतृत्व केवल पद होइन, परिवर्तन मबाट सुरु हुन्छ। मेरो घरबाट सुरु हुन्छ। र जब हरेक महिलाले त्यसरी सोच्न थाल्छिन्, तब देश नै बदलिन्छ। हामीले त्यही सोचका साथ अघि बढ्नुपर्छ र देश निर्माणमा सहयोग पुर्‍याउनुपर्छ भन्ने नै मेरो सोच हो।’

    (नेपाली महिला जनप्रतिनिधिहरूको सुकर्मलाई सञ्चार गर्ने अभियान शि लिड्स आइकन दोस्रो संस्करणको ३१ प्रेरणादायी महिला जनप्रतिनिधि रूपमा उनी छनोट भएकी छन्।)

  • संघर्ष र संकल्पको यात्रा : कुशेकी उपाध्यक्ष देवीकाकुमारी सिंहको सामाजिक उज्यालो

    संघर्ष र संकल्पको यात्रा : कुशेकी उपाध्यक्ष देवीकाकुमारी सिंहको सामाजिक उज्यालो

    रुपन्देही । जाजरकोटका दुर्गम पहाडमा जन्मेकी साधारण परिवारकी छोरीले अहिले कुशे गाउँपालिकाको उपाध्यक्षको जिम्मेवारी सम्हालिरहेकी छन् । अभाव र दबाबमा संघर्षले खारिएकी देविका कुमारी सिंह, जसको जीवन यात्रा एउटा ग्रामीण महिलाको संघर्ष र आत्मविश्वासको सशक्त उदाहरण बनेको छ ।

    २०६१ सालदेखि राजनीतिमा सक्रिय सिंह अहिले कुशे गाउँपालिकाकी उपाध्यक्ष मात्र होइनन्, शिक्षा सुधार, विवाद व्यवस्थापन, पारदर्शी शासन र दलित महिला तथा अपांगता भएका बालबालिकाका लागि विशेष कार्यक्रममार्फत समावेशी विकासको सशक्त अभियन्ता पनि हुन् ।

    जाजरकोटको कार्की गाउँ, वडा नं १ मा सामान्य परिवारमा जन्मेकी उनी सानै उमेरदेखि कष्ट र जिम्मेवारीसँग अभ्यस्त थिइन् । पाँच कक्षा मामा घर बसेर पढिन् । “मेरा पहिलो गुरु म मामा नै हुनुहुन्छ दीपबहादुर शाही,” उनी भन्छिन् । “मामाघरमा बसेर पाँच कक्षासम्म पढेँ, त्यसपछि खलंगाको त्रिभुवन माध्यमिक विद्यालयमा गएँ । कक्षा ८ मा हुँदा नै नेविसंघको सदस्यता लिएँ ।”

    १२ कक्षा सकेपछि आर्थिक अभाव र सामाजिक सन्देहबीच पनि उनले पढाइलाई निरन्तरता दिइन् । “जिल्लामा एउटै क्याम्पस थियो, भेरी ज्ञानोदय क्याम्पस । छोरी मान्छे बाहिर पढ्न गाह्रो हुन्छ भनेर म यहीँ पढेँ । पढाइ यतिमै सीमित भयो ।” उनले सुनाइन् ।

    राजनीतिक चेतनाको पहिलो बीउ

    भेरी ज्ञानोदय क्याम्पसकै स्ववियू उपसभापति हुँदै उनले राजनीतिक यात्राको सुरुवात गरिन् । पछि नेविसंघ जाजरकोटको उपसभापति बनिन् । “सानै उमेरदेखि समाजसेवामा लाग्ने बानी थियो, नाटक, समूह, सचेतना, सबैमा सक्रिय हुन्थेँ ।”

    पारिवारिक रूपमा राजनीतिमा ठूलो हैसियतमा कोही थिएनन् । तर बुबा पञ्चायतकालमा दुईपटक वडा अध्यक्ष भएका थिए । “एक पटक सर्वसम्मत, अर्को पटक निर्वाचित हुनु भएको थियो । उहाँको जनसेवा मनले मलाई पनि सामाजिक बाटोमा ल्यायो ।”

    महिनावारी हुँदा गोठमा बिताएका पीडादायी सम्झना 

    एसएलसी पास गरेपछि उनले मजकोटको पुल्लामा शिक्षक बन्ने मौका पाइन् । तर त्यहाँको अनुभव पीडादायी रह्यो । “म मिन्स हुँदा मलाई गोठमा लगेर पातलो कपडा दिएर सुताइयो । ७ दिनसम्म चिसोले कठ्याङग्रिएर रोएँ । त्यो अनुभव आजसम्म बिर्सन सकेकी छैन ।” त्यो समयको कठिन दिन स्मरण गर्दै उनले भनिन् ।

    त्यसपछि उनी गाउँ फर्किइन् । गाउँमा टाढा भएको स्कुलका कारण उनले आफैँ श्रमदानमार्फत एउटा सानो विद्यालय स्थापना गरिन् । “सबैलाई श्रमदान गर्न लगाएँ, कक्षा १ को अनुमति ल्याएँ, तीन वर्षसम्म दुःख गरेर पढाएँ ।” उनले सुनाइन् ।

    तर विवाहपछि उनको जीवन फेरि नयाँ परीक्षा बन्न पुग्यो । “२०६१ मा बिहे गरेँ । बिहे गरेपछि ‘उ बाहिरको भइसक्यो, पढाउन गाह्रो हुन्छ’ भनेर विद्यालयले अस्वीकार ग¥यो । त्यो मेरो लागि ठूलो पीडा थियो ।”

    तीन वर्ष माइतीतिर गएर पढाइमा निरन्तरता दिइन्, तर बच्चा जन्मिएपछि फेरि घर फर्किनुपर्‍यो । २०६५ मा प्रावि राहत शिक्षकका रूपमा नियुक्त भइन् । “दुई बुढाबुढी एउटै स्कुलमा दुई घण्टा हिँडेर जान्थ्यौँ । त्यहीँ १० वर्ष सेवा गरेँ ।”

    २०७४ सालमा स्थानीय तहको पहिलो निर्वाचनमा जनताले उनलाई भरोसा गरे । उनले शिक्षकको जागिर छोडेर चुनाव लडिन् र वडा अध्यक्षको जिम्मेवारी सम्हालिन् । अहिले उनी गाउँपालिकाकी उपाध्यक्ष छिन् ।

    राजनीतिमा प्रेरणा दिने मान्छेहरू

    राजनीतिमा आउन उनलाई शिक्षक केदार शाह र साथी गोपाल रोकायले हौस्याएका थिए । “केदार सरले नेविसंघमा ल्याउनुभयो, गोपाल रोकायले क्याम्पसमा स्ववियू सभापति बनाउन सहयोग गर्नुभयो । म आज जहाँ छु, त्यो उनीहरूको प्रेरणाले हो ।”

    तर त्यो समय सजिलो थिएन । द्वन्द्वकालीन वर्षहरूमा विद्यार्थी राजनीतिमा सक्रिय हुनु खतरा थियो । “दिनरात गोलीको आवाज सुन्थ्यौँ । पढ्दा पनि कहिलेकाहीँ अपहरण शैलीमा लैजान्थे । ‘बुर्जुवा शिक्षा किन पढ्छेस्’ भन्नेहरू पनि थिए ।” उनले त्यो बेलाको संघर्षबारे सुनाइन् ।
    २०६० सालमा उनका काइलो अंकल, एएसआई पृथ्वीबहादुर सिंह, माओवादी आक्रमणमा मारिए । “त्यो दिन मेरो जीवनमा निर्णायक मोड थियो । हाम्रो परिवारले ठूलो क्षति बेहोर्‍यो । देशमा शान्ति कहिले आउला भन्ने निराशाले मलाई थप राजनीतिक ऊर्जा दियो ।” सिंहले भनिन् ।

    सहकारीदेखि सामाजिक अभियानसम्म

    शिक्षक जीवनपछि उनले सहकारी खोलेर महिलाहरूलाई आर्थिक क्रियाकलापमा जोड्ने काम गरिन् । “त्यो सहकारीमा महिलाले दिएको माया र साथले मलाई आत्मबल दियो । उनीहरूकै हौसला मेरो प्रेरणा बन्यो ।” उनले भनिन्- तर राजनीति त्यहाँ पनि अड्क्यो । महिलाको रकमका लागि निवेदन दिएँ, दुई लाख छुट्याउनुभयो । तर सम्झौता गर्ने बेला राजनीतिक दलले नमिल्ने भनेर रोकिदिए । रकम फ्रिज भयो । त्यो बेला ठूलो मनोवैज्ञानिक पीडा भयो । महिलालाई हेर्ने दृष्टिकोणले मलाई मनभरिको आगो जलाइरहेको थियो ।”

    त्यो घटना पछि उनले मनमनै प्रतिज्ञा गरिन्- महिला अधिकार र समानताको मुद्दा उठाउने । “अब यो पीडा व्यक्तिगत छैन, यो हाम्रो पुस्ताको साझा संघर्ष हो भन्ने बुझें ।” उनको भनाइ छ ।

    महिलाप्रतिको दृष्टिकोण र आफ्ना घाउहरू

    देविका सिंहका जीवनका अधिकांश घटना नेपाली ग्रामीण समाजमा महिलाप्रतिको दृष्टिकोणको स्पष्ट प्रतिबिम्ब हुन् ।

    “टिचर हुँदा अनुमति स्वीकृत ल्याउन हप्तौँ लाग्थ्यो । बिहेपछि ‘पराई घर गइसक्यो, यहाँ पढाउन मिल्दैन’ भनेर आफ्नै माइतीले रोकिदिए । यो अनुभवले समाजको सोच कस्तो छ भन्ने थाहा भयो ।” सिंहले भनिन् ।

    उनले थपिन्- “मजकोटमा मिन्स हुँदा गोठमा राख्ने परम्परा अझै समाप्त भएको छैन । म आफैँ त्यो पीडा बोकेर बसेकी मान्छे हुँ । त्यसैले अहिले पनि गोठालो प्रथाको अन्त्यका लागि गाउँमा अभियान चलाइरहेकी छु ।”

    संघर्षलाई ऊर्जामा रूपान्तरण गर्ने शक्ति

    उनले जीवनका प्रत्येक पीडालाई शक्ति बनाइन् । चाहे त्यो गोठको चिसो रात होस्, राजनीतिक अपमान, वा दलका नेताबाटै भएको विभेद ।

    “१४ औँ महाधिवेशनमा कर्णालीमा सह–महामन्त्रीमा उम्मेदवार भएँ, हारेँ पनि । तर हारले मलाई कमजोर बनाएको छैन । पार्टीभित्र पनि संघर्ष चाहिन्छ भन्ने पाठ सिकाएको छ ।”
    अब उनको लक्ष्य अझ ठूलो छ । “म जनताको सामु कमजोर भएकी छैन । सबैसँग ठिक सम्बन्ध बनाएकी छु । अबको लक्ष्य यहीँ पालिकाको अध्यक्ष बन्ने हो ।”

    राजनीतिक जीवनका पाँच पीडा र पाँच प्रतिज्ञा

    उनका अनुसार उनलाई राजनीतिमा ल्याउने पाँच प्रमुख पीडा थिए-

    १. द्वन्द्वकालमा विद्यार्थी राजनीतिमा भएको पीडा ।

    २. अंकलको माओवादी आक्रमणमा मृत्यु ।

    ३. महिलाको रकम सम्झौता गर्न नदिएको अपमान ।

    ४. मजकोटमा गोठमा सात दिन बस्नुपरेको पीडा ।

    ५. विवाहपछि ‘पराई’ भनेर आफ्नै विद्यालयमा पढाउन नदिएको घाउ ।

    यी सबै घाउबाट जन्मे उनका पाँच प्रतिज्ञा-

    १. शान्ति र सहअस्तित्वको राजनीति ।

    २. महिलाको आर्थिक सशक्तीकरण ।

    ३. शिक्षामा समान पहुँच ।

    ४. दलित र अपांगता भएका बालबालिकाका लागि विशेष नीति ।

    ५. सामाजिक सोचाइ परिवर्तन गर्ने नेतृत्व ।

    समाज परिवर्तनको आकांक्षा

    आज कुशे गाउँपालिकामा उनले महिला समूह, बाल क्लब, र दलित परिवारका लागि विशेष कार्यक्रम सञ्चालन गरेकी छन् । विद्यालय सुधार र स्थानीय विवाद समाधानमा उनको नेतृत्वलाई जनताले आदर्श मानेका छन् ।

    “अब म सफल हुने भन्दा पनि मेरो समाजले महिलालाई हेर्ने दृष्टिकोण सफल होस् भन्ने चाहना छ । म चाहन्छु, मेरो संघर्षले अर्को पुस्ता सजिलो बनाओस् ।”

    उनले जीवनकालमा भोगेका अनुभवले अब उनलाई केही दृढ संकल्प गर्न साथ दिएको छ । उनले केही सपना बोकेकी र भन्छिन् —“जहाँ म केही गर्न खोज्छु, त्यहाँ समाज भन्छ, महिला के गर्न सक्छे र ? तर म अब डराउँदिन । म चाहन्छु मेरो गाउँमा म जस्तै महिलाले आफूलाई सानो नठानुन् । मेरो सफलताको मापदण्ड म होइन, मेरो समाजको सोच हो । त्यो सोच बदलियो भने, म जितेकी हुनेछु ।” देविका कुमारी सिंहको कथा एउटा महिला राजनीतिज्ञको मात्र होइन, नेपाली ग्रामीण समाजमा महिला सशक्तीकरणको संघर्षको सजीव प्रतीक रहेको उनलाई बुझ्नेहरुको धारणा हो ।

    गोठको अँध्यारो, विद्यालयको अस्वीकार, राजनीतिक अपमान र सामाजिक सन्देहबीच पनि उनले हार नमानेका विषय सुगम ठाउँमा बस्ने नयाँ पुस्ताले पत्याउने कुरा पनि भएन तर अहिले पनि दुर्गम त्यसमाथि कर्णालीका विभिन्न स्थानमा रहेका सामाजिक विभेदका पर्खालहरू भत्काउनुपर्ने संकल्प उनमा देखिन्छ  । आज उनी आफ्नो गाउँपालिकाको निर्णयको केन्द्रमा छन्। त्यही ठाउँ जहाँ कहिल्यै महिलालाई ‘सिर्फ सुन्ने’ भूमिकामा सीमित गरिएको थियो । सिंहको बुझाईमा पनि संघर्षपूर्ण जीवन सन्देश ‘समानताको बाटो सजिलो छैन, तर असम्भव पनि होइन ।’ भन्ने प्रष्ट रहेको छ ।

  • ज्ञानुको विद्यार्थी राजनीतिदेखि गाउँपालिका उपाध्यक्षसम्मको यात्रा

    ज्ञानुको विद्यार्थी राजनीतिदेखि गाउँपालिका उपाध्यक्षसम्मको यात्रा

    धनगढी । डडेल्धुराको विकट गन्यापधुरा गाउँपालिकाको उपाध्यक्षको कुर्सीमा बसेर जब ज्ञानु कुमारी सेटी देउबा विगतलाई सम्झिन्छिन्। उनका आँखामा बाल्यकालको त्यो सपना नाच्न थाल्छ। जुन सपना उनका बुवाले डायरीको पानामा लेखेर सुरक्षित राखेका थिए।

    कक्षा चारमा पढ्दा बुवाले गरेको प्रश्न ‘तिमी ठूली भएर के बन्छ्यौ ?’, जवाफमा उनल भनेकी थिइन्, ‘म नेता बन्छु।’ त्यतिबेला नेता बन्नुको अर्थ सबैभन्दा ठूलो मान्छे हुनु र अरूलाई निर्देशन दिन पाउनु हो भन्ने उनको बुझाई थियो।

    आज त्यही सपनाले उनलाई जनताको सेवकको रूपमा स्थापित गरेको छ। जहाँ उनी निर्देशन दिने होइन, जनताको सेवा गर्ने जिम्मेवारीमा छिन्।

    २०४४ साल चैत ५ गते अजयमेरु गाउँपालिका (तत्कालीन गाविस) को वडा नं. २, बजिमडामा जन्मिएकी ज्ञानुको परिवार राजनीतिक र सामाजिक चेतनाले भरिपूर्ण थियो। उनका बुवा नेपाली कांग्रेसमा आबद्ध एक सक्रिय सामाजिक कार्यकर्ता र आमा सामान्य साक्षर घरको गृहिणी थिइन्।

    परिवारमा शैक्षिक र राजनीतिक वातावरण भएकाले उनलाई सानैदेखि नेतृत्व र समाजसेवामा रुचि जाग्यो।

    उनको राजनीतिक यात्राको औपचारिक सुरुवात भने विद्यालय तहबाटै भएको थियो। २०६१ सालमा सहस्त्रलिंग माध्यमिक विद्यालयमा नेपाल विद्यार्थी संघको इकाई सचिव बनेर उनले राजनीतिको कखरा सिकिन्।

    ‘कक्षा ६ देखि नै म स्काउट, सदन विभाजन र अन्य अतिरिक्त क्रियाकलापमा नेतृत्वदायी भूमिकामा हुन्थें। त्यहीँबाटै मलाई नेतृत्व गर्नुपर्छ भन्ने भावना विकास भयो।’ कक्षा ७ मा पुग्दा उनले राजनीतिको अर्थ बुझ्न थालिन्- यो जागिर खानु होइन, समाजसेवामा समर्पित हुनु हो।

    ज्ञानुको राजनीतिक यात्रा निरन्तर अगाडि बढ्यो। उनी २०६३ सालमा नेविसंघको सोही विद्यालयको इकाई सभापति, २०६७ सालमा जिल्ला कोषाध्यक्ष (मनोनीत), र २०६९ सालमा निर्वाचित कोषाध्यक्ष तथा महाधिवेशन प्रतिनिधि बनिन्। उच्च शिक्षाका लागि काठमाडौं पुगेपछि पनि उनको राजनीतिक सक्रियता रोकिएन। उनी २०७१ सालमा त्रिभुवन विश्वविद्यालय कीर्तिपुरमा नेविसंघको इकाई कोषाध्यक्ष भइन्।

    विद्यार्थी राजनीतिमा खारिएकी ज्ञानुले पार्टीको राजनीतिमा पनि आफूलाई अब्बल साबित गरिन्। उनी २०७२ सालमा नेपाली कांग्रेसको क्षेत्रीय प्रतिनिधि, २०७८ सालमा गन्यापधुरा गाउँपालिका वडा नं. १ को पार्टी वडा सभापति र सोही वर्ष नेपाल महिला संघको पालिका अध्यक्षमा निर्वाचित भइन्। यही लामो राजनीतिक संघर्ष र जनताको विश्वासले उनलाई २०७९ सालको स्थानीय तह निर्वाचनमा गन्यापधुरा गाउँपालिकाको उपाध्यक्ष पदमा विजय गरायो।

    उनका अनुसार महिलालाई राजनीतिमा टिक्न सजिलो छैन। समाजको परम्परागत सोच, पारिवारिक जिम्मेवारी र आर्थिक चुनौतीहरू बाधक बन्छन्।

    ‘समाजमा फलानाकी श्रीमती, फलानाकी छोरीबुहारी यसरी हिँड्छे, राम्रो लगाउँछे, राम्रो खान्छे भनेर कुरा काट्ने प्रवृत्ति अझै छ। मेरो परिवारको साथले मलाई यी सबै चुनौतीसँग लड्न ऊर्जा दियो।’, उनले भनिन्।

    उनका श्रीमान् जितेन्द्र बहादुर देउबा करातेका राष्ट्रिय स्वर्ण पदक विजेता हुन्। २४ वर्षको उमेरमा स्नातकोत्तर पढ्दै गर्दा विवाह गरेकी ज्ञानुलाई श्रीमान् र ससुराली पक्षबाट मिलेको निरन्तर सहयोगले राजनीतिक यात्रामा अघि बढ्न ठूलो हौसला मिल्यो। ‘मेरो श्रीमानको एउटै सपना छ- मेरी श्रीमतीले समाजसेवा गर्नुपर्छ, उनी नेता बन्नुपर्छ। परिवारको यही विश्वासले मलाई कहिल्यै पछाडि फर्कन दिएन,’ उनी भन्छिन्।

    आफ्नो साढे तीन वर्षको कार्यकालमा ज्ञानुले गन्यापधुरा गाउँपालिकामा केही नमुना कामहरूको नेतृत्व गरेकी छिन्,

    निर्वाचित भएलगत्तै अध्यक्ष र उपाध्यक्षको पहिलो निर्णय थियो- जनप्रतिनिधिले पाउने सेवा-सुविधाबाट रकम कटौती गरेर एउटा कोष स्थापना गर्ने। यही निर्णयबाट ‘जनप्रतिनिधि राहत कोष’ स्थापना भयो। यो कोषमार्फत पालिकाभित्रका दीर्घ रोगी, गरिब, विपन्न, असहाय र जेहेन्दार विद्यार्थीलाई आर्थिक सहयोग गरिन्छ। यो देशका ७५३ पालिकामध्ये गन्यापधुराको नमूना काम हो।

    वर्षौंदेखि खानेपानीको चरम अभाव झेल्दै आएका गन्यापधुराबासीका लागि ‘एक घर, एक धारा’ अभियानले ठूलो राहत दिएको छ। यो अभियानमार्फत पालिकाका अधिकांश घरधुरीमा सफा खानेपानीको पहुँच पु¥याइएको छ। जुन यस कार्यकालको सबैभन्दा ठूलो उपलब्धिका रूपमा लिइएको छ।

    ज्ञानुको नेतृत्वमा महिला उद्यमशीलता विकासका लागि विभिन्न कार्यक्रमहरू सञ्चालन गरिएका छन्। महिलाहरूको नाममा फर्म दर्ता गराई उनीहरूलाई आत्मनिर्भर बनाउन अनुदान र तालिमको व्यवस्था गरिएको छ। पालिकालाई ‘पोषण-मैत्री’ र ‘बाल-मैत्री’ घोषणा गरिएको छ। ‘अध्यक्ष/उपाध्यक्षसँग विशेष कार्यक्रम’ मार्फत सुत्केरी आमा (हजार दिने) र आर्थिक अवस्था कमजोर भएका बालबालिकालाई पोषण र शिक्षामा सहयोग गरिँदै आएको छ। पालिकाले आफ्नै शिक्षा ऐन बनाएर शैक्षिक सुधारका लागि महत्वपूर्ण कदम चालेको छ।

    राजनीतिक जीवनमा धेरै काम गरे पनि ज्ञानुको मनमा एउटा सपना अझै बाँकी छ- दीर्घ रोगीहरूको निःस्वार्थ सेवा गर्ने। ‘मान्छेलाई रोजगारी दिएर खान-लाउन सहज बनाउन सकिन्छ, तर जब कुनै व्यक्ति गम्भीर रोगले थलिन्छ, उसको जीवन सबैभन्दा कष्टकर हुन्छ। मैले त्यस्ता व्यक्तिहरूको उपचार र जीवन सहज बनाउनका लागि केही गर्न पाएँ भने मेरो आत्माले शान्ति पाउँछ।’, उनले भनिन्।

    यही सपना पूरा गर्न उनी भविष्यमा कार्यकारी भूमिकामा रहेर काम गर्न चाहन्छिन्।

    वर्तमान राजनीतिक अवस्थाप्रति उनी चिन्तित छिन्। नेताहरूले जनताको करबाट सेवा-सुविधा लिएर जनतामाथि नै शासन गर्ने प्रवृत्ति गलत भएको उनको ठहर छ। ‘यदि समाजसेवा नै गर्ने हो भने पहिला आफू आत्मनिर्भर हुनुपर्छ। जनताको करमा मोजमस्ती गर्ने अनि हामी नेता हौं भनेर धाक लगाउने दिन अब गए,’ उनी भन्छिन्।

    उनले युवाहरूलाई कसैको इशारामा नलागी, आफ्नो विवेक प्रयोग गरेर समाज परिवर्तनका लागि एकजुट हुन आह्वान गरेकी छिन्। उनी मान्छिन्, परिवर्तनको संवाहक युवा नै हुन् र सकारात्मक सोचका साथ अघि बढेमा देशको भविष्य उज्ज्वल छ।

    (नेपाली महिला जनप्रतिनिधिहरूको सुकर्मलाई सञ्चार गर्ने अभियान शि लिड्स आइकन दोस्रो संस्करणको ३१ प्रेरणादायी महिला जनप्रतिनिधि रूपमा उनी छनोट भएकी छन्।)

  • सेवाको मैदानमा बेसीशहरकी पद्मा

    सेवाको मैदानमा बेसीशहरकी पद्मा

    पोखरा । बाल्यकालमा भोगेको अभावले पद्मालाई दुःखी मात्रै बनाइरहेन, सुख र संवृद्धिको लागि संघर्ष गर्न सिकायो । आमा समूहको सचिव, सामुदायिक विद्यालयको शिक्षक हुँदै जनप्रतिनिधि सम्मको जिम्मेवारीमा पुगेकी संघर्षशील नेतृ हुन्, पद्मा गुरुङ ।

    पद्मा लमजुङ बेसीशहर नगरपालिकाकी उपप्रमुखको भूमिकामा छिन् । उनको जन्म २०२३ असोज २२ गते लमजुङको बाँझाखेतमा भएको हो । पद्मा आफ्नो बाल्यकाललाई सुखका लागि संघर्षको सुरुवाती समयमा रूपमा सम्झन्छिन् । ‘बाल्यकाल दुःखमा नै बित्यो, सामान्य खालको किसान परिवारमा जन्मे, हुर्के । बिहान बेलुका सकेको काम गर्नुपर्‍थ्यो, हतार हतार स्कुल गइन्थ्यो, नमिठो पटक्कै खान मन नलाग्ने, मिठो खाने रहरमा बित्यो बाल्यकाल ।’ उनी आफ्नो बाल्यकाल गाउँले परिवेशमा दुःख कष्ट भोग्दै बितेको बताउँछिन् ।

    हालको बेसीशहर नगरपालिका वडा नं. ९ स्थित मुक्ति मिलन प्राथमिक विद्यालयबाट प्रारम्भिक शिक्षा लिएकी पद्माले जनविकास माध्यमिक विद्यालय, बेसीशहरबाट २०४७ सालमा माध्यमिक शिक्षा परीक्षा एस एल सी उत्तिर्ण गरिन् । परिवारले भोगिरहेको आर्थिक कठिनाइ र गाउँले परिवेशको कारण एस एल सी पछि केही वर्ष पद्माको पढाई रोकियो । तर पढ्ने रहर उनको मनमा गढेर बसेको थियो त्यसैले धेरै वर्ष पछि उनले पुनः पढाइलाई निरन्तरता दिइन् र २०६५ सालमा प्रवीणता प्रमाणपत्र तहसम्मको शिक्षा पुरा गरिन् ।

    पद्माको रुचिको क्षेत्र सञ्चार हो । ‘रेडियोमा समाचार पढ्न खुब रहर लाग्थ्यो,’ पद्मा भन्छिन् । तर परिस्थिति र रहरको तालमेल जुरेन । उनले शिक्षण पेशा अपनाइन् । पद्मा साहित्य र राजनीतिसँग सम्बन्धित पुस्तकहरू अध्ययन गर्न पनि रुचाउँछिन् । मुनामदन र आमा उनलाई मन पर्ने पुस्तकमध्ये पर्छन् । पछिल्लो पटक कुमारी, छक्कापञ्जा लगायतका चलचित्र पनि हेरेकी छन् । सामाजिक विषयवस्तुलाई उठान गरिएका पुस्तक तथा चलचित्रहरूले उनलाई भावुक बनाउँछ।

    पद्मा सानै देखि सामाजिक गतिविधिमा सहभागी हुन रुचाउँथिन् । गाउँ टोलका महिलाहरूलाई एकताबद्ध गर्न र जागरूक बनाउन निरन्तर लागिन् । पद्मा आमा समूहको सचिव भएर गाउँले महिलाहरूको नेतृत्व लिइन् । दुःखी गरिबहरूलाई सहयोग पुर्‍याउन तत्पर रहने पद्मा सामाजिक संघ संस्थाको अगुवाइ गर्दागर्दै राजनीति तर्फ डोहोरिइन् ।

    वि.सं. २०५२ सालदेखि शिक्षकका रूपमा ग्रामीण क्षेत्रका विद्यालयहरूमा अध्यापन गराएकी पद्माले २०७९ सालमा शिक्षण पेशा छाडेर स्थानीय निर्वाचनमा सहभागी भएकी हुन् । ‘स्थायी शिक्षकको रूपमा अध्यापन गराइरहेकी म उपदानमा निस्केर निर्वाचनमा होमिएकी हुँ ।’ पद्माले सुनाइन् ।

    उनको राजनीतिक यात्रा २०६५ सालदेखि शुरु भएको हो । एक महिला कार्यकर्ताका रूपमा पार्टीभित्र उनको आन्तरिक राजनीतिक संघर्ष तथा समाजमा पारिवारिक, सामाजिक र राजनीतिक जिम्मेवारीहरू बिच सन्तुलन ल्याउन उनलाई सहज थिएन। पार्टीभित्र पनि महिलाले राजनीतिक हिंसा भोग्नुपर्ने कुरा आफूलाई महसुस भएको पद्मा बताउँछिन् । महिला भनेपछि जहाँ पनि दोस्रो दर्जाकै रूपमा हेरिने, क्षमताको कदर भन्दा पनि दया मात्रै देखाए जस्तो पद्मालाई लाग्थ्यो । तर सबै परिस्थितिसँग मुकाबिला गर्दै उनले आफ्नो राजनीतिक जीवनलाई अघि बढाइरहिन् ।

    फलस्वरूप पद्माले २०७९ सालको स्थानीय निर्वाचनमा नेपाल कम्युनिष्ट पार्टी (एमाले) को तर्फबाट भाग लिने अवसर प्राप्त गरिन् । गाउँ समाजमा उनले गरेका सामाजिक कामको प्रभावले नै हुनुपर्छ विपक्षी पुरुष उम्मेदवारलाई ४ हजार भन्दा बढी मतले पछि पार्दै बेसीशहर नगरपालिकाको उपप्रमुख पदमा पद्मा निर्वाचित भइन् । भारी मतान्तर सहित पुरुष उम्मेदवारलाई पछि पार्दै चुनाव जितेकी पद्मालाई मत परिणामले समुदाय र सिंगो नगर प्रति साबिकको भन्दा पनि ठूलो जिम्मेवारीको भारी थपिएको अनुभूति दिलायो ।

    घर परिवारको साथ र प्रेरणाले आमा समूहको सचिव देखि नगरपालिकाको उपप्रमुख सम्मको भूमिकामा पुगेको उनी बताउँछिन् । उनलाई आफ्नो परिवारप्रति गर्व छ । पद्माका बुवा जयबहादुर गुरुङ पञ्चायतकालीन समयमा वडा अध्यक्ष थिए । बुवाले आफ्नो समयको अनुभव पद्मालाई सुनाउँथे । ‘२०५० सालमा आमाको निधन भएपछि म माइतीमै बस्न थाले । दाजुभाइ नभएको हुनाले बुवाको हेरचाह गर्न म माइतीमा नै बस्न थाले । माइतीमा म बुवालाई सघाउँथे । बुवाले आफ्ना अनुभव सुनाउँदै मलाई अझै सामाजिक बन्न, जनतासँग घुलमिल हुन र नेतृत्व लिन प्रेरणा दिनुहुन्थ्यो ।’ पद्माले सुनाइन् । पद्माका श्रीमान् प्रिथीमान गुरुङ भूतपूर्व सैनिक हुन् । श्रीमान्ले पनि उनलाई सधैँ भरथेग गरिरहे । प्रिथीमान र पद्माका ३ सन्तान, २ छोरी १ छोरा छन् । सन्तानले पनि आमालाई सफल बन्न सधैँ साथ दिइरहे । उनी भन्छिन्- ‘मेरो परिवारको साथ र हौसलाले नै म यहाँसम्म आइपुगेकी हुँ ।’

    परिवारको प्रेरणा र जनताको मतलाई साथमा लिएर सेवाको मैदानमा अनवरत खटिरहेकी पद्माको एउटै उद्देश्य छ समाज रूपान्तरण । समाजमा अझै पनि विभिन्न खाले विभेद कायमै छन् । गुरुङ संस्कारमा हुर्किएकी पद्माले गाउँमा हुने सामाजिक सांस्कृतिक उत्सवहरूमा विभेदको अनुभव गर्थिन् ।

    ‘म गुरुङकी चेली, गाउँमा बाहुनको बिहेमा जाँदा छुट्टै गुन्द्रीमा बसेर भोज खानुपर्ने, सँगै बस्न नदिने, भान्सामा पस्न नदिने, यो मलाई मन पर्दैनथ्यो ।’ पद्मा भन्छिन् यस्ता धेरै विभेदहरू जुन जातको नाममा, लिङ्गको नाममा, धनी गरिबको नाममा हुने गरेका छन् । ती भेदभाव र असमानता विरुद्ध बोल्न र सामाजिक संस्कारलाई सच्याएर समानताको स्थिति ल्याउन पद्मा राजनीतिमा लागेकी हुन् ।

    बेसीशहर नगरपालिकाको उपप्रमुखका रूपमा जनताको प्रतिनिधि भइरहँदा उनले विभेदमा परेका, पछाडि पारिएका, दुःखी गरिब र निमुखाहरूको पक्षमा आवाज उठाइरहेकी छन् ।

    नगरपालिकाको योजना र कार्यक्रमहरू मार्फत जातीय, लैङ्गिक तथा वर्गीय समानताको लागि काम भइरहेको उनी बताउँछिन् । महिलाहरूमा महिनावारी हुँदा छुई बार्ने कुरीति हटाउन कार्यक्रम सञ्चालन गरिएको छ । ‘महिनावारीको बेला छोरीहरूलाई पर सार्ने, बार्न लगाउने जस्ता परम्परा हाम्रो समाजमा छ, यसले गर्दा स्कुले नानीहरूलाई असर पर्ने, महिनावारी हुँदा विद्यालय जान गाह्रो हुने, महिनावारीको बेला फरक व्यवहार गरिँदा उनीहरूमा हीनताबोध हुने, मानसिक रूपमा असर पर्ने । त्यसैले यसको अन्त्य गर्न अन्तर धार्मिक सञ्जाल मार्फत जनचेतना फैलाउने काम भइरहेको छ ।’

    पद्माका अनुसार अन्तर धार्मिक सञ्जाल नामक संस्थाले नगरपािलकासँगको सहकार्यमा महिनावारीलाई सुरक्षित र मर्यादित बनाउन जनचेतनामूलक कार्यक्रमहरू गर्ने गरेको छ । ‘महिनावारी भनेको नछुने हुनु होइन, साधारण प्राकृतिक प्रक्रिया हो भनेर सबै जातजाति तथा सबै धर्मावलम्बीका मानिसहरूमाझ जनचेतना फैलाउन काम भइरहेको छ ।’ कानुनी साक्षरताका कक्षाहरू मार्फत टोल-टोलमा जागरण फैलाइरहेको पद्मा बताउँछिन् ।

    उप-प्रमुख गुरुङको पहलमा भएको अर्को महत्त्वपूर्ण काम हो- गर्भवती महिलाका लागि निःशुल्क एम्बुलेन्स सेवा । ‘पैसा नभएकै कारण, गाडी भाडा नभएकै कारण कोही पनि महिलाले घरमै सुत्केरी हुनु नपरोस्, सबै महिलाले अस्पतालमा सुरक्षित सुत्केरी हुने ग्यारेन्टी होस् भनेर निःशुल्क एम्बुलेन्सको कार्यक्रम ल्याएका हौ ।’ पद्माले भनिन्- ‘यो कार्यक्रम निकै प्रभावकारी भएको छ ।’

    यस्तै, महिलालाई पाठेघरसम्बन्धी परामर्श सेवा जस्ता महिला लक्षित कार्यक्रमहरू बेसीशहर नगरपालिकामा कार्यान्वयन भएका छन् । बेसीशहरमा एकल पुरुषलाई विदुर भत्ता प्रदान गरिन्छ । पद्मा भन्छिन्- ‘श्रीमान्को मृत्युपछि एकल महिलालाई भत्ता दिइन्छ, त्यसरी नै श्रीमतीको मृत्युपछि पनि एकल पुरुषलाई हामीले भत्ताको व्यवस्था गरेका छौँ, किनभने अहिले पुरुष मात्रै आर्थिक उपार्जनमा लागेका हुँदैनन्, महिला र पुरुष दुवैले परिवारको लागि समान काम गरेका हुन्छन्, श्रीमान् होस् या श्रीमती, जसको मृत्यु भए पनि एक जना अपूर्ण हुने हो, त्यसैले एकल पुरुषलाई सान्त्वना स्वरूप भत्ताको कार्यक्रम ल्याएका हौ।’ एकल महिला र एकल पुरुषलाई निःशुल्क स्वास्थ्य बिमाको कार्यक्रम पनि सञ्चालन गरिएको उनले बताइन् ।

    ग–वर्ग का अपाङ्गता भएका व्यक्तिलाई पनि भत्ता प्रदान गर्ने गरिएको छ । गाउँ गाउँमा फलेका कृषि उपज बिक्री गर्न सजिलो होस् भन्ने हेतुले कृषि एम्बुलेन्स चलाइएको छ । यसकै कृषकका लागि प्रोत्साहन रकम, उत्पादन–आधारित अनुदान, सीपमूलक तालिम, सेफ हाउस स्थापना जस्ता रोजमागरमुखी कार्यक्रमहरू लागु गरिएका छन् । यस्ता योजनाहरूको माध्यमबाट बेसीशहर नगरपालिकालाई कृषि, सामाजिक सुरक्षा र महिला सशक्तीकरणमा अग्रणी नगरपालिकाका रूपमा विकास गर्ने लक्ष्य रहेको छ ।

    मुख्यतया: कृषि र पशुपालनमा निर्भर बेसीशहर नगरपालिकाले अन्नबाली, तरकारी र नगदेबालीलाई प्रमुख उत्पादनका रूपमा लिएको छ भने अधिकांश परिवारहरूको आम्दानीको प्रमुख स्रोत पनि यही क्षेत्रमा आधारित छ ।

    ‘हामी सबैको रहर, संवृद्ध बेसीशहर’ भन्ने नगरपालिकाको मुलनारालाई आत्मसाथ गर्दै सबै वडाहरूमा सडक, विद्युत, खानेपानी जस्ता आधारभूत विकासका पूर्वाधारहरू पुर्‍याईएको छ । उपलब्ध सेवा सुविधा लाई अझ सुदृढ गर्दै नगरवासीलाई सुखी र समुन्नत बनाउन आफू हरदम लागिरहने उनले बताइन् ।

    जनताको लागि काम गर्दागर्दै पनि हिजोआज युवापुस्तामा राजनीति र राजनीति गर्ने नेताकार्यकर्तालाई हेर्ने दृष्टिकोण नकारात्मक हुँदा अपजस व्यहोर्नुपरेको उनको गुनासो छ । समाजलाई सकारात्मक बनाउँदै विकासका काममा हातेमालो गर्न राजनीतिक दल, नेता, जनता र सबै पक्ष देशप्रति ईमान्दार हुनुपर्ने उनले बताइन् । ‘समयले जुन अवसर मलाई दिलायो, त्यसमा सन्तुष्ट छु’ पद्मा भन्छिन्, ‘उपमेयर भएर काम गरे, अब मेयर अथवा सांसदमा मेरो दाबी रहन्छ ।’ आफ्नो जीवन निस्वार्थ सेवाका लागि समर्पित गरेको दाबी गर्दै पद्मा भन्छिन्- म मेरो माटोप्रति इमान्दार छु ।’

    (नेपाली महिला जनप्रतिनिधिहरूको सुकर्मलाई सञ्चार गर्ने अभियान शि लिड्स आइकन दोस्रो संस्करणको ३१ प्रेरणादायी महिला जनप्रतिनिधि रूपमा उनी छनोट भएकी छन्।)

  • महाबै गाउँपालिका अध्यक्ष भन्छन्- जनताका अपेक्षा असीमित छन्, कसरी पूरा गर्ने ? (भिडिओ)

    महाबै गाउँपालिका अध्यक्ष भन्छन्- जनताका अपेक्षा असीमित छन्, कसरी पूरा गर्ने ? (भिडिओ)

    सुर्खेत। कर्णाली प्रदेशका दुर्गम भेगहरूमा सङ्घीयताको अनुभूति अझै अपूर्ण छ। नागरिकको दैनिक जीवनमा आधारभूत पूर्वाधारको कमी र राज्यको पहुँच अभावकै कारण अनेकौँ चुनौतीहरू व्याप्त छन्। बाटो, बिजुली, खानेपानीदेखि शिक्षा र स्वास्थ्यसम्मका आधारभूत सेवामा देखिएको कमीले यहाँका जनतामा निराशा थपिरहेको छ।

    यस्तै समस्याले गाँजिएको क्षेत्र कालिकोटको महाबै गाउँपालिका हो। यहाँका जनताले अझैसम्म सहज यातायात, स्थायी बिजुली आपूर्ति र गुणस्तरीय स्वास्थ्य सेवा पाउन सकेका छैनन्। यिनै चुनौतीका बीचमा निर्वाचित स्थानीय सरकार कसरी काम गरिरहेको छ भन्ने विषयमा गाउँपालिका अध्यक्ष खेमबहादुर सिंहसँगको कुराकानी नेपाल टकमा –

    —महाबै गाउँपालिकाले चालु आर्थिक वर्षमा प्राथमिकतामा के–के योजना अघि सारेको छ?

    विशेषगरी हामीले स्वास्थ्य र शिक्षा क्षेत्रलाई प्राथमिकतामा राखेका छौँ। गाउँपालिकामा स्वास्थ्य सेवा अत्यन्तै कमजोर थियो। गाउँ स्वास्थ्य क्लिनिकदेखि अस्पतालसम्म सुधार ल्याउन विशेष कार्यक्रम बनाएर कार्यान्वयन गर्‍यौँ। त्यसैगरी शिक्षामा पनि स्थानीय पाठ्यक्रम निर्माणदेखि लिएर बाल विकास केन्द्रदेखि माध्यमिक तहसम्मका विद्यालयमा सुधारका काम अघि बढाएका छौँ।

    हामीले पालिका स्तरमै कक्षा ५ र ८ को परीक्षा सञ्चालन गरेर नयाँ प्रणाली लागू गर्‍यौँ, जसको परिणामस्वरूप यसपालि एसईईमा ९७.६६ प्रतिशत नतिजा ल्याउन सफल भयौँ। कृषिमा पनि इको इमान नेपाल र अन्य संस्थासँग साझेदारी गरेर बाली संरक्षण, घरबारी–करेसा कार्यक्रम र विद्यालयस्तरीय करेसाबारीलाई अगाडि बढाएका छौँ। यी सबै कामले गाउँपालिकामा उल्लेखनीय सुधार भएको महसुस गरेका छौँ।

    —सुरु भएका तर अधुरा योजनाहरू अहिले कहाँ पुगेका छन्?

    योजनाको निर्माण प्रक्रियामा केही सुधार भए पनि सडक क्षेत्रमा भने ठूलो प्रगति गर्न सकेका छैनौँ। पान्तरी पक्की पुल समयमै बन्न नसक्दा महाबै गाउँपालिका कर्णाली राजमार्ग र सदरमुकामसँग जोडिन सकेको छैन। निर्माण कम्पनीले जिम्मेवारी समयमा पूरा नगर्दा दर्जनौँ पुलहरू जस्तै यो पुल पनि अधुरो छ।

    यद्यपि सेराबाडा–बादनघाट हुँदै गाउँपालिकाको केन्द्रसम्म जोडिने ६ किलोमिटरको सडक आयोजनाको डिजाइन तयार भइसकेको छ, करिब ५६ करोड रुपैयाँको लागतमा विश्व बैंकको ऋण–अनुदानमार्फत बन्ने तयारीमा छ। प्रदेश सरकारको प्राथमिकतामा परेकाले निकट भविष्यमा यसले गाउँपालिकालाई कर्णाली राजमार्गसँग जोड्नेछ।

    त्यस्तै, दैलेख सदरमुकाम हुँदै महाबु लेक–डिल्लीकोट–पालुङ्गासम्म जोड्ने सडक केन्द्रीय सडक विभाग अन्तर्गतको सङ्घीय आयोजना हो, तर यसको प्रगति भने निकै सुस्त छ। समग्रमा भन्नुपर्दा, सडक र पुल क्षेत्रका ढिलाइले जनताले अपेक्षा गरेअनुसार सुविधा पाउन सकेका छैनन्।

    —महाबैमा खानेपानीको अवस्था कस्तो छ ? हालका प्रमुख योजना के–के छन्?

    अघिल्लो आर्थिक वर्षमा कर्णाली जल परियोजनामार्फत पाँचवटा खानेपानी आयोजना सम्पन्न गर्‍यौँ, जसले सयौँ घरधुरीलाई ‘एक घर–एक धारा’ सुविधा दियो। हाल स्थानीय सरकारकै लगानीमा थप पाँचवटा आयोजना निर्माणाधीन छन्। यी सम्पन्न भएपछि गाउँपालिकाका धेरै वडामा स्वच्छ खानेपानीको समस्या समाधान हुने विश्वास छ।

    त्यसैगरी विद्यालय पूर्वाधार निर्माण, गोरेटो र पीसीसी बाटो, साना खोलामा काठे पुल जस्ता काम पनि गरेका छौँ। शिक्षामा स्थानीय पाठ्यपुस्तक निर्माणदेखि लिएर छात्रवृत्ति कार्यक्रमसम्मका काम अघि बढाएका छौँ। विपन्न तथा टुहुरा बालबालिकाका लागि आवासीय विद्यालय सञ्चालन गरी अहिले १३ जना विद्यार्थीलाई आवासीय सुविधा प्रदान गरिएको छ।

    —स्वास्थ्य चौकी र औषधि आपूर्तिको अवस्था कस्तो छ?

    स्वास्थ्य संस्थाहरूमा औषधि आपूर्तिमा समस्या हुन दिएका छैनौँ। केही संस्थामा ओदा फाउन्डेसनसँग साझेदारी गरेर, केहीमा गाउँपालिकाकै लगानीमा औषधि पुऱ्याइएको छ। एम्बुलेन्स सञ्चालन भएपछि बिरामीलाई सहजता मिलेको छ।

    —युवा जनशक्तिको पलायन रोक्न के योजना बनाइएको छ?

    हामीले युवालाई गाउँमै राख्न विभिन्न कार्यक्रम सञ्चालन गरेका छौँ। मुख्यमन्त्री रोजगार कार्यक्रम, प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत १०० दिनको रोजगारी उपलब्ध भएको छ। त्यसबाहेक युवालाई सिलाई–कटाई, डकर्मी–सिकर्मी, ड्राइभिङ जस्ता तालिम दिएर स्वरोजगारतर्फ प्रोत्साहित गरेका छौँ।

    कृषि विकास बैंकसँग साझेदारी गरी धितोबिनाको ऋणको तयारी भइरहेको छ। यसले युवालाई आफ्नो गाउँमै रोजगारी सिर्जना गर्न सहज बनाउनेछ।

    —कृषि, पशुपालन र पर्यटनमा रोजगारी सिर्जना गर्ने प्रयास कस्तो छ?

    कृषिमा पकेट क्षेत्र बनाएर तरकारी, फलफूल उत्पादनलाई बढाइएको छ। पशुपालनमा भेडा, बाख्रा, गाईभैँसी, कुखुरापालन प्रोत्साहित गरिएको छ। रोग नियन्त्रण र तालिममार्फत किसानलाई सहयोग गरिएको छ।

    पर्यटनमा महाबुधाम मुख्य सम्भावना बोकेको क्षेत्र हो। तर सडक अवरोधका कारण त्यहाँ पुग्न कठिन छ। सडक विभाग र अन्य स्थानीय तहसँग सहकार्य गरी सडक सञ्जाल विस्तारमा जोड दिइरहेका छौँ। सडक सुविधा पुगेपछि पर्यटन प्रवद्र्धनमा ठूलो सम्भावना देखिन्छ।

    —महाबुधाम कुन जिल्ला अन्तर्गत पर्छ? किन विवाद भइरहन्छ?

    भौगोलिक र प्रशासनिक हिसाबले महाबुधाम कालिकोट जिल्लाको महाबै गाउँपालिकाभित्रै पर्छ। तर धार्मिक र सांस्कृतिक हिसाबले भने त्यो सबैको आस्था र विश्वासको केन्द्र भएकाले सबैलाई पूजा–अर्चना गर्ने समान अधिकार छ।

    —पाटन र महाबुधाम संरक्षण र प्रवद्र्धनका लागि के योजना छ?

    पहिलो प्राथमिकता भनेकै सडक सञ्जाल सुधार हो। सडक स्तरोन्नति नगरेसम्म ट्रेकिङमार्फत मात्र पर्याप्त प्रगति सम्भव छैन। त्यसैले हामीले दैलेख सदरमुकामबाट जोडिने सडकलाई प्राथमिकतामा राखेका छौँ।

    —दलित र विपन्न समुदायका लागि के कार्यक्रमहरू छन्?

    महिलाको आयआर्जन कार्यक्रम, दलित र विपन्न समुदायका लागि सीप विकास कार्यक्रम, जनयुद्धपीडित परिवारका लागि जीविकोपार्जन कार्यक्रमलाई निरन्तरता दिइरहेका छौँ। यसले समुदायमा आत्मनिर्भर बन्न सकिन्छ भन्ने विश्वास बढाएको छ।

    —अपाङ्ग व्यक्तिहरूका लागि के पहल भएको छ?

    अपाङ्गमैत्री कार्यक्रम सञ्चालन गरेका छौँ। विभिन्न जनचेतनामूलक कार्यक्रम, रोजगारी सिर्जना कार्यक्रम र छात्रवृत्ति वितरणमार्फत उनीहरूलाई सहयोग गरेका छौँ।

    —योजना छनोट र बजेटमा नागरिक सहभागिता कस्तो छ?

    योजना बस्तीस्तरमै छनोट हुन्छ। यसरी आएका योजना वडादेखि गाउँपालिकासम्म आइपुग्छन्। यसले जनतालाई ‘मैले सिफारिस गरेको योजना’ भन्ने अनुभूति दिलाएको छ। सबैलाई पूर्ण रूपमा समेट्न नसके पनि धेरैजसो जनताको सक्रिय सहभागिता छ।

    —गुनासो व्यवस्थापन प्रणाली कस्तो छ?

    सार्वजनिक सुनुवाइमार्फत गुनासो सुन्ने प्रचलन छ। अब प्रत्येक वडामा गुनासो सुनुवाइ कार्यक्रम सञ्चालन गर्ने तयारी गरेका छौँ।

    —आगामी दुई वर्षमा महाबैलाई कस्तो बनाउन लक्ष्य राख्नु भएको छ?

    सबैभन्दा पहिले सदरमुकाम र कर्णाली राजमार्गसँग जोड्ने सडक निर्माणलाई प्राथमिकतामा राखेका छौँ। यसबाहेक शिक्षा, कृषि, रोजगारी र स्वास्थ्य क्षेत्रमा सुधार निरन्तर जारी राख्नेछौँ।

    —जनप्रतिनिधिका रूपमा तपाईँका उपलब्धि र चुनौती के–के छन्?

    उपलब्धिको हिसाबले जनताले प्रत्यक्ष सेवा पाएका छन्। वृद्ध नागरिकलाई नवीकरण शिविरमै सेवा दिने, सुत्केरी महिला, बिरामीलाई सहयोग पुऱ्याउने जस्ता कामले जनतामा सकारात्मक सन्देश पुगेको छ। चुनौती भनेको जनताको अत्यधिक अपेक्षा हो। सबै चाहना पूरा गर्न नसकिँदा कठिनाइ महसुस हुन्छ।

    —अन्तमा केही भन्नुहुन्छ कि?

    विकास भनेको क्रमिक प्रक्रिया हो। सडक सञ्जाल, शिक्षा र स्वास्थ्य बीमा जस्ता कामलाई चरणबद्ध ढङ्गले अघि बढाउँदै छौँ। अघिल्लो अवस्थासँग तुलना गर्दा आजको महाबै गाउँपालिकामा उल्लेखनीय सुधार भएको छ भन्ने जनताले नै महसुस गरेका छन्।

  • सही काम गर्दा कसैसँग डराउनु र झुक्नु हुँदैन: लक्ष्मी धामी

    सही काम गर्दा कसैसँग डराउनु र झुक्नु हुँदैन: लक्ष्मी धामी

    धनगढी । लक्ष्मी धामीको जन्म बैतडीको डिलासैनी गाउँपालिका-६, धामीगाउँमा भएको हो । उनका बुबा प्रेम सिंह धामी एक राजनीतिज्ञ थिए। आमा जानकी देवी धामी खेतीपातीको काम गर्थिन् । दुई दाजुहरू पछि जन्मिएकी उनी घरकी कान्छी छोरी हुन् । त्यो समय छोरीलाई पढाउनु हुँदैन, अर्काको घर जाने जात हो भन्ने सामाजिक सोच गहिरोसँग गढेको थियो। लक्ष्मीका बुबा फरक थिए। उनले छोरीलाई छोरासरह माया र अवसर दिनुपर्छ भन्ने मान्यता राख्थे ।

    ‘मेरो बाबाको सोच, छोरी नभएको घर अशुद्ध हुन्छ, मैलेँ छोरी नै पाउनुपर्छ भन्ने सपना थियो,’ लक्ष्मीले बुवाको स्वभाव सम्झिन्छिन्। उनको जन्म हुने बित्तिकै बुबाले ‘घरमा लक्ष्मीको आगमन भयो’ भन्दै नाम नै ‘लक्ष्मी’ राखिदिए। उनको राशिको नाम भने मानमति थियो। बुबाको यही प्रगतिशील सोचले लक्ष्मीको जीवनमा बलियो जग बसाल्यो। घरमा बुबाले पढाइलाई जहिले पनि प्राथमिकता दिएर ढाडस दिँदा लक्ष्मीले पनि पढ्नुपर्छ भन्ने सोच गाढा बन्दै गयो।

    ‘बुबाले हामीलाई घरको काममा धेरै ध्यान नदेऊ, पढाइमा केन्द्रित होऊ भन्नुहुन्थ्यो। राति १०-११ बजेसम्म पढ्नुपर्छ भन्दा कहिलेकाहीँ झोँक पनि चल्थ्यो, आज फर्केर हेर्दा त्यही अनुशासनले यहाँसम्म ल्याइपुर्‍याएको जस्तो लाग्छ’, लक्ष्मीले भनिन्।
    लक्ष्मीले आफ्नो गाउँकै श्री शिक्षा केन्द्र अमर उच्च माध्यमिक विद्यालयबाट कक्षा १२ सम्मको अध्ययन पूरा गरिन्। सानैदेखि उनी निडर, फुर्तिलो र नेतृत्वदायी स्वभावकी थिइन्।

    विद्यालयमा हुने भाषण,हाजिरी जवाफ र सांस्कृतिक कार्यक्रममा उनी सधैँ अगाडि हुन्थिन्। रेडियो सुन्ने र पत्रमित्रता लगाउने उनको रुचिले उनलाई सञ्चारकर्मतर्फ पनि डोर्‍यायो।

    कक्षा १२ पास गरेपछि उनले बैतडीको रेडियो शन्सेर एफएममा करिब तीन वर्ष काम गरिन्। त्यही समयमा उनले दार्चुलाको गोकुलेश्वर बहुमुखी क्याम्पसबाट स्नातक तहको पढाइ अघि बढाइन्। उनी पढाई गर्न भने बैतडीकै जगन्नाथ बहुमुखी क्याम्पसमा जान्थिन्। सञ्चारकर्मीका रूपमा काम गर्दा उनले समाजका विभिन्न मुद्दाहरूलाई नजिकबाट बुझ्ने अवसर पाइन्। नाम कमाए पनि दाम नहुने पत्रकारिताको तीतो यथार्थ पनि उनले नजिकबाट नियाल्ने मौका पाइन्। उनले सञ्चार क्षेत्रमा निस्वार्थ भावना पैसा भन्दा सेवा गर्नुपर्ने रहेको भन्ने कुरा त्यो बुझेकी थिइन्।

    ‘तर सञ्चारकर्मीका रुपमा काम गर्दा जनता र जनताका समस्यासँग नजिक हुने मौका मिल्यो । कर्मले दिएको त्यो काम गर्दा जनता र समाजका समस्या सम्बन्धित निकायसम्म पुर्‍याएर खवरदारी गरियो । आज आफै सुन्ने ठाउँमा पुग्दा त्यो बेला जनताको नजिक भएर काम गर्दाको फाइदा भएको छ । समस्या के हुन् र कसरी यसलाई समाधान तर्फ लैजान सकिन्छ भन्ने कुरालाई व्यवहारमा उतार्न सहज भएको छ,’ उनले भनिन् ।

    स्नातक तहको दोस्रो वर्षमा अध्ययन गर्दा २१ वर्षको उमेरमा उनको विवाह भयो। डोटीका रमेशबहादुर रोकायासँग उनी वैवाहिक बन्धनमा बाँधिइन्। विवाहपछि महिलाको यात्रामा पूर्णविराम लाग्छ भन्ने सामाजिक मान्यता छ। लक्ष्मीले भने बिहेपछि झन् बढी अवसर पाइन्। उनले सामाजिक सेवाको भावलाई कहिल्यै मर्न दिइनन्।

    उनको कर्मघरको वातावरण पनि राजनीतिक र प्रगतिशील थियो। माइतमा जसरी बुवाले उनलाई प्रेरणा दिन्थे त्यसरी नै उनका ससुरा गोरखबहादुर रोकाया उनलाई अगाडी बढ्न ढाडस दिन्थे। उनका ससुरा पञ्चायतकालमा शिक्षकबाट राजीनामा दिएर वडाध्यक्ष बनेका एक राजनीतिक व्यक्तित्व थिए। ‘पढेलेखेकी बुहारीले दुःख दिन्छे, घरको काम गर्नुपर्छ भन्ने समाजको सोच थियो,’ लक्ष्मीले भनिन् ‘मेरो ससुरा र श्रीमानले मलाई सधैँ पढ्न र अघि बढ्न हौसला दिनुभयो।’ उनको ससुराले भन्ने गर्थे ‘मैले राजनीतिमा चाहेजस्तो गर्न सकिनँ, अब तिमीले गर्नुपर्छ।’

    जन्मघरको राजनीतिक संस्कार र कर्मघरको उदार वातावरणले उनको राजनीतिक यात्राको ढोका खोलिदियो। उनले पढाइसँगै काम पनि अगाडी बढाइन्। स्नातकोत्तर सम्मको पढाई पुरा गरेकी उनले गाउँपालिकामा उपाध्यक्ष हुन अघि थुप्रै क्षेत्रमा काम गर्न अवसर पाइन्।

    उनले पत्रकारिता छाडेर गैरसरकारी संस्थामा आबद्ध भइन्। सिलाई कटाई,ब्युटी पार्लर लगायत कृषिका लेभल १ र २ का तालिम पनि लिइन्। करिब पाँच वर्ष भू–संरक्षणको क्षेत्रमा काम गरिन्। यो क्रममा उनले विपद्को विषयमा काम गर्ने अवसर पाइन्। यस्तै खानेपानीका मुहान सुकेका छन् भने वृक्षारोपण गर्ने त्यहाँ काम गर्ने अवसर पाइन्। त्यही कामले उनलाई राजनीतिमा बढी सक्रिय पनि गरायो।

    सामाजिक अभियन्ताका रूपमा गाउँघरमा महिला हिंसा, कुरीति र विभेदविरुद्ध आवाज उठाउन थालिन्। घरेलु हिंसामा परेका दिदीबहिनीलाई प्रहरी चौकीसम्म पुर्‍याएर न्याय दिलाउन थालेपछि उनले समाजका केही पुरुषहरूबाट ‘महिलालाई उचाल्न थाली’ भन्ने आरोप पनि खेप्नुपर्‍यो, उनी पछि हटिनन्।

    उनको यही निडर स्वभाव र सामाजिक सक्रियताले उनलाई नेपाली कांग्रेसको २०७० सालदेखि नै राजनीतिमा सक्रिय बनाएको थियो। नेपाल प्रेस युनियन डोटीको उपाध्यक्षसमेत बनेकी लक्ष्मीलाई २०७९ को स्थानीय तहको निर्वाचनमा आदर्श गाउँपालिकाको उपाध्यक्ष पदमा उम्मेदवार बन्न चौतर्फी दबाब आयो। ‘मैलेँ चुनाव जित्छु या हार्छु भन्ने सोचेको थिइनँ, महिला दिदीबहिनी र गाउँलेको विश्वासलाई नकार्न पनि सकिनँ,’ उनले भनिन्। उनलाई उनको पार्टी नेपाली काँग्रेसले टिकट दियो। चुनावमा भारी मतले उनी विजयी भइन्।

    उनको नेतृत्वमा उपाध्यक्षमा निर्वाचित भएपछि वर्षौँदेखि खानेपानीको समस्या झेलिरहेको आदर्श गाउँपालिकामा आदर्श बृहत् खानेपानी आयोजना सुरु गरिएको छ। नेपालकै दोस्रो ठूलो मानिएको यो आयोजना आफ्नो पालिकामा सुरु गर्नु आफ्नो टिमको सबैभन्दा ठूलो सफलता मानिएको लक्ष्मी भनाई छ।

    यस्तै उनको कार्यकालमा सामान्य उपचारका लागि पनि सिलगढी वा धनगढी धाउनुपर्ने बाध्यता अन्त्य गर्न गाउँपालिकामै सुविधा सम्पन्न १५ शय्याको अस्पताल निर्माण कार्य अन्तिम चरणमा पुगेको छ। गाउँपालिकाले निजी स्रोतका करिब ५२ जना शिक्षकहरूलाई तलबको व्यवस्था मिलाएर विद्यालयहरूको शैक्षिक गुणस्तरमा सुधार ल्याएको छ। किशोरीहरूका लागि आत्मरक्षा तालिम, उद्घोषण तथा पत्रकारिता तालिम र बालविवाह न्यूनीकरण गर्न सबै वडामा बाल क्लब गठन गरिएको छ।

    ‘हाम्रो पालिकामा महिला तथा किशोरीको क्षमता अभिवृद्धि गर्न आत्मरक्षा तालिम, उद्घोषण तथा पत्रकारिता तालिम पनि दिने गरेका छौँ, गाउँमा महिला तथा किशोरी आफ्नो नाम भन्न बोल्न पनि डराउने अवस्था छ, उनीहरूलाई अगाडी बढाउन यो काम गरेका हौँ,’उनले भनिन्।

    सिपमूलक तालिममार्फत महिला तथा युवाहरूलाई सिलाइकटाइ, ब्युटिसियन, चप्पल बनाउने, दुनाटपरी उद्योग जस्ता आयआर्जनका काममा संलग्न गराइएको छ।

    गर्भवती महिला, स्वयंसेविका र ज्येष्ठ नागरिकका लागि एम्बुलेन्स सेवा पूर्ण रूपमा निःशुल्क गरिएको छ। ‘हामीले व्यक्तिगत र टुक्रा योजनाभन्दा पनि सिंगो गाउँपालिकाको हितमा देखिने काम गरेका छौँ,’ उनले भनिन्।

    आफ्नो कार्यकालमा कुनै पनि विवादमा नपरी काम गर्न पाउँदा लक्ष्मी आफूलाई भाग्यमानी ठान्छिन्। आगामी दिनमा पनि उनी विवादमा नपरेरै आफ्नो राजनीतिक यात्रालाई अगाडी बढाउन चाहन्छिन्। ‘मेरो यो यात्रा पाँच वर्षका लागि मात्र होइन, बाँकी जीवन नै जनताको सेवामा समर्पित गर्नेछु,’ उनले भनिन्।

    अहिलेको कार्यकालका अधुरो कामलाई पुरा गर्नुपर्ने जिम्मेवारी भएकाले उनी फेरि पनि गाउँपालिकामा नेतृत्व गर्ने योजनामा छिन्। उनी सबै महिला दिदीबहिनीलाई कमजोर नबन्न पनि आग्रह गर्छिन्। ‘हामी महिलाहरू आफैँमा सक्षम छौँ। हामीले गलत गर्नु हुँदैन, सही काम गर्दा कसैसँग डराउनु र झुक्नु पनि हुँदैन,’ उनले भनिन्।

    दुई सन्तानकी आमाको जिम्मेवारी र गाउँपालिकाको नेतृत्वलाई सँगसँगै कुशलतापूर्वक अघि उनी बढाइरहेकी छिन्। ‘आफ्नो अधिकारका लागि आफैँले साहस गर्नुपर्छ,’ उनले भनिन्।

    (नेपाली महिला जनप्रतिनिधिहरूको सुकर्मलाई सञ्चार गर्ने अभियान शि लिड्स आइकन दोस्रो संस्करणको ३१ प्रेरणादायी महिला जनप्रतिनिधि रूपमा उनी छनोट भएकी छन्।)

  • संघर्षले खारिएकी बिनाकुमारी भट्टराई : दोस्रो प्रयासमा सफल उपमेयर

    संघर्षले खारिएकी बिनाकुमारी भट्टराई : दोस्रो प्रयासमा सफल उपमेयर

    रुपन्देही । संघर्ष र संयोगबीच जीवन कहिलेकाहीँ यति गहिरो सम्बन्ध बाँधिन्छ, जसले साधारण महिलालाई पनि असाधारण नेतृत्वमा रूपान्तरण गरिदिन्छ । बर्दियाको ठाकुरबाबा नगरपालिकाकी उपप्रमुख बिनाकुमारी भट्टराई त्यही प्रेरणादायी उदाहरण हुन् ।

    उनी अहिले राजनीतिक नेतृत्व, सामाजिक सेवा र महिला सशक्तीकरणको प्रतीक बनेकी छन्, तर यो स्थानसम्म आइपुग्न उनले गरेको संघर्ष निकै कठिन र प्रेरणादायी रहेको छ । बिहेपछि पाल्पाको अर्गलीबाट बर्दियाको ठाकुरद्वारामा उनको परिवार बसाई सरेपछि उनका सबै संघर्ष उतै केन्द्रित भएका हुन् ।

    जागिरपछि समाजसेवातिरको यात्रा

    वि.सं. २०५३ देखि २०७३ सम्म उनले राष्ट्रिय प्रकृति संरक्षण कोष, बर्दियामा काम गरिन् । २० वर्ष सेवा अवधि उनका लागि केवल जागिरको समय थिएन, बरु महिलाको जीवन बुझ्ने, उनीहरूको पीडा, असमानता र सम्भावनाको संसार चिन्नेको विद्यालयजस्तै बनेको थियो ।

    ‘हामीले महिलाको सिप विकास, आय–आर्जन र संरक्षणमा महिला सहभागिता बढाउने काम गर्थ्यौं,’ उनी सम्झिन्छिन्, ‘तर, काम गर्दै जाँदा महिलामाथि विभेद, घरेलु हिंसा र अधिकारहीनता देख्दा मन पोल्थ्यो ।’

    घरमै सीमित महिलालाई तालिममार्फत बाहिर निकाल्ने, घाँस-दाउराका लागि निकुञ्ज पस्दा जोखिम कम गर्ने, वैकल्पिक ऊर्जा प्रयोगमा जोड दिने- यी सबै कार्यमा उनी अग्रपङ्क्तिमा थिइन् । जागिरमा निश्चित जिम्मेवारी थिए, तर नीतिगत स्तरमा पुग्न सके अझ धेरै गर्न सकिन्छ भन्ने सोच उनीभित्र पलाइसकेको थियो । यहीँ सोचका साथ उनले जागिरपछि सामाजिक अभियानलाई अघि बढाउने संकल्प गरेको बताउँछिन् ।

    ‘जागिरको क्रममा मेरो जिम्मेवारी विशेषगरी महिलाहरूको सिप विकास र आय आर्जनमा जोड्दै संरक्षणमा महिला सहभागिता वृद्धि गर्नु थियो । महिलाहरूसँग काम गरिरहँदा महिलाको अवस्था नजिकबाट नियाल्ने अवसर प्राप्त भयो,’ उनले भनिन् ‘शिक्षाबाट वञ्चित,रोग लागे गुरुबाको मात्र भर पर्ने, घरेलु हिंसा, केही कुरा पनि निर्णय गर्न नपाउने, महिलालाई दोस्रो दर्जाको रूपमा मात्र हेरिनुजस्ता कुराले कसरी महिलालाई माथि उठाउन सकिन्छ होला भन्ने लाग्थ्यो ।’

    ‘घरबाट बाहिरै ननिस्कने महिलालाई सिपमूलक तालिम दिई घरबाट बाहिर निस्कने वातावरण, आयआर्जनका कार्यक्रमबाट थोरै भए पनि आफैले कमाउने वातावरणका साथसाथै वैकल्पिक ऊर्जा प्रयोगमा प्रोत्साहन गरी दिनभरि घाँस दाउराका लागि निकुञ्ज र जंगल जाँदा हुने जोखिम घटाउन धेरै काम गरिरहे,’ बिनाकुमारीले आफ्नो संघर्ष सुनाउँदै भनिन्- ‘त्यसका साथै अतिरिक्त समयमा महिलाका समस्याहरूमा बोलिदिने, अगाडि बढ्न चाहेकालाई सहयोग गर्ने जस्ता काम गरेँ । जागिरको निश्चित जिम्मेवारी र काम हुने हुँदा सबै कुरा सम्बोधन गर्न सम्भव थिएन । महिलामाथिको विभेद नजिकबाट देखेकी मैले नीति निर्माण तहमै पुग्न पाए थप काम गर्न सकिन्छ भन्ने लागिरहन्थ्यो ।’

    राजनीतितर्फ यसरी मोडियो उनको यात्रा ?

    २०६२/०६३ को आन्दोलनपछि देशभर लोकतान्त्रिक उत्साह फैलिएको थियो । महिलाको सहभागिता र अधिकारबारे जनचेतना बढ्दै थियो । विना भट्टराई पनि त्यसैबेला राजनीतिप्रतिको आकर्षणमा तानिइन्, यद्यपि प्रत्यक्ष संलग्न हुन सकेकी थिइनन् ।

    राजनीतिबाट नै सबै तहमा कार्यान्वयन बनाउने नीति बनाएर कार्यान्वयनमा लैजान सकिन्छ भन्ने सोचका साथ उनले अबको पाटो त्यता लगाउने योजना बनाएको बताउँछिन् ।

    २०७४ सालमा स्थानीय तहको निर्वाचन घोषणा भयो । संविधानले प्रमुख वा उप-प्रमुख पदमध्ये एक महिला हुनुपर्ने प्रावधानले उनलाई मौका दियो । उनी जागिर छाडेर पूर्ण रूपमा राजनीतिमा होमिइन् ।

    ‘मलाई लाग्यो- अब नीति निर्माण तहमै पुग्न सके महिलाका लागि ठूला काम गर्न सकिन्छ’ उनी भन्छिन्, ‘परिवारले पनि साथ दियो । विशेषतः श्रीमानले राजनीति गर्ने हिम्मत जुटाउन प्रेरणा दिनुभएको हो, परिवारबाटै त्यो वातावरण तय नभएको भए सम्भव हुने थिएन ।’

    तर पहिलो प्रयास सफल भएन । उपप्रमुखमा उठेकी उनी सानो मतान्तरले पराजित भइन् । जागिर गई सकेको, चुनाव हारेको अवस्था- त्यो क्षणले कसैलाई पनि निराश बनाउँथ्यो । तर बिनाकुमारी भट्टराई भुईँमा थामिइनन् र हरेस पनि खाइनन् । ‘त्यो पराजयले मलाई झन् जिम्मेवार बनायो, अनुभवी बनायो, पार्टी संगठन बलियो बनाउने, जनताको बीचमा पुग्ने काम जारी राखेँ र आफ्नो अभियानलाई निरन्तरता दिएँ,’ उनी भन्छिन् ।

    पाँच वर्षपछि २०७९ को स्थानीय तह निर्वाचनमा उनले पुनः उम्मेदवारी पाइन् । यो पटक उनले जनताको विश्वास जितिन् र ठाकुरबाबा नगरपालिकाको उप-प्रमुख बन्न सफल भइन् । उनी विजयी भएपछि भनेको कुरा आज पनि धेरैलाई प्रेरक लाग्छ-‘पहिलो पटक पराजयले पायमाथि पाइलो थपिएको थियो, दोस्रो पटक जनताले त्यो पाइलो मजबुत बनाएँ ।’

    उपप्रमुखको जिम्मेवारी: योजना र परिणाम

    उनी पदमा पुगेपछि पहिलो काम गर्न चाहिन् र जनताको काममा निरन्तर खटिइन् । संरचनागत सुधार, नगरको आवधिक योजना, राजस्व सुधार योजना, मध्यकालीन खर्च संरचना र रणनीतिक नीति निर्माणमा समन्वय गर्दै उनले कार्यसम्पादनमा गति ल्याइन् । न्यायिक समितिको संयोजकका रूपमा उनले स्थानीय विवाद समाधानमा उल्लेखनीय भूमिका खेलिन् । तीन वर्षमा ३२५ भन्दा बढी विवाद मेलमिलापमार्फत समाधान गराइन् । नगर राजस्व सुधारका लागि पनि उनले ठोस काम गरिन् । ‘पहिले समूह र व्यक्तिहरूले उठाइरहेको मेला, हाटबजारको शुल्क अब पालिकाले उठाउने व्यवस्था गर्‍यौं,’ उनी भन्छिन् ‘राजस्व शतप्रतिशत पालिकाको खातामा जम्मा हुने प्रणाली सुरु गरियो ।’

    शिक्षामा उनले कक्षा १२ सम्म निःशुल्क अध्ययनको नीति कार्यान्वयन गरिन् । स्वास्थ्यमा २४ घण्टा इमरजेन्सी सेवा, सर्पदंश उपचार, निःशुल्क रेविज खोप, बर्थिङ सेन्टर स्तरोन्नति, र पाठेघरको मुखको क्यान्सर परीक्षण शिविर सञ्चालनमा उनले सक्रिय भूमिका खेलिन् ।

    अपाङ्ग, द्वन्द्वपीडित र हिंसा पीडितका लागि जीविकोपार्जन सहयोग, महिलाको कामको बोझ घटाउन विद्युतीय चुलो वितरण, कृषकका लागि समर्थन मूल्यमा खरिद- यी सबै कार्यक्रमले ठाकुरबाबालाई जनमुखी नगर बनाएको छ ।

    देशकै उत्कृष्ट पालिका बनाउने अभियान बनाएको र त्यो सम्भव रहेको उनको संकल्प छ । उनको कार्यकालमा ठाकुरबाबा नगरपालिका धेरै सूचकमा देशकै उत्कृष्ट घोषित भएको छ जहाँ उनी दोस्रो भूमिकामा भए पनि अगुवाइ गरेर हरेक कार्यक्रम अगाडि बढाएकी छन् ।

    शिक्षामा उत्कृष्ट पालिका

    सेवा प्रवाह र सुशासनमा नमुना पालिका

    ऊर्जा दक्ष भवन नीति र कार्यान्वयनमा सम्मान

    विद्यालय र स्वास्थ्य संस्थामा मर्मत कोष स्थापना गर्ने पहिलो पालिका

    र देशकै पहिलो पूर्ण हात धुने पालिका

    यी सबै उपलब्धिले विना भट्टराईको नेतृत्वमा स्थानीय शासनमा महिलाको सम्भावना देखाएको छ ।

    सानो उमेरको विवाहपछिका कठिन संघर्ष

    ०२८ सालमा पाल्पाको अर्गलीमा जन्मेकी बिनाकुमारीको व्यक्तिगत जीवन उस्तै संघर्षपूर्ण छ । ०४५ सालमा उनको पाल्पामै बिहेपछि दोहोरो जिम्मेवारीका कथा अहिलेको पिँढीलाई विश्वास लाग्न पनि कठिन छ । उनको कथा राजनीतिक भन्दा पनि मानवीय दृष्टिले हृदयस्पर्शी छ । बिनाका बाबु भारतमा श्रमिकका रूपमा काम गर्थे, वर्षमा एक पटक मात्र घर फर्किन्थे । आमाले सारा जिम्मेवारी सम्हाल्थिन् ।

    ‘हाम्रो समाजमा छोरालाई चाहिने मानसिकता कति गहिरो थियो’ उनी सम्झिन्छिन्, ‘१२ वर्षपछि भाइ जन्मिएपछि मात्र समाजले आमालाई सम्मान गर्न थाल्यो ।’ त्यो परिवेशले विनाको सोचमा गहिरो छाप छोड्यो । ‘आमाको संघर्ष नै मेरो प्रेरणा हो’ उनी भन्छिन्, ‘हिम्मत, आट र निरन्तरता म उहाँबाट सिकेकी हुँ ।’

    सानै उमेरमा बिहे भयो र छोराछोरी पनि छिटै जन्मिए । श्रीमान् शिक्षक थिए, तर आम्दानी सधैँ सबै परिवारकै साझा हुन्थ्यो । आर्थिक अभावले कहिलेकाहीँ बालबालिकाका आवश्यकतामै सम्झौता गर्नुपर्थ्यो । ‘बच्चालाई सेरेलेक्स खुवाउन मन लाग्थ्यो, तर फजुल खर्च ठानिन्थ्यो’ उनी हाँस्दै भन्छिन्, ‘त्यो बेला पैसा भन्दा माया र धैर्य नै ठूलो थियो ।’

    घरको काम, बच्चा पालन, अनि सँगै कामको खोज-दिनरात व्यस्त जीवन । सानो तलब र अस्थायी कामबीच पनि उनी कहिल्यै हतारिएनन् । कहिले घर-घरमा ट्युसन पढाइन्, कहिले सर्भे फारम भर्ने काम गरिन् ।

    परिवारमै भोगेको विभेद

    ‘पहिला हामी २ छोरी मात्र थियौँ तर सामाजिक विभेदका कारण १२ वर्षपछि कान्छी बहिनी र फेरि भाइ जन्मिएको हो । आखिर जे भए पनि छोरा नै चाहिने समाजमा छोराछोरी बीचको नजानिँदो विभेद भोग्यौँ ।’ उनले सुनाइन् ‘हरेक काममा आमाले गर्नुभएको मेहनत,समाजले उहाँलाई गर्ने मूल्यांकन, प्रयोग गरिने शब्दहरू अझै पनि सम्झिन्छु । हुन त सानोमा ती शब्दका भाव पनि बुझिएन, आमाले गर्नुभएको संघर्ष पनि बुझिन तर जब बुझ्ने भए बल्ल थाहा भयो । हिम्मत, आँट, निरन्तर संघर्ष गर्नुपर्छ भन्ने मेरो प्रेरणाको श्रोत मेरो आमा नै हुनुहुन्छ ।’

    विवाहपछि छुटेको पढाई १२ वर्षपछि थालेर सफल

    विवाहपछि पढाइ टुटेको थियो, तर उनले १२ वर्षपछि फेरि पढाइ सुरु गरिन् । ‘बबई बहुमुखी क्याम्पसमा आइ.ए. पढ्न भर्ना भएँ’ उनी बताउँछिन्, ‘दिनभर जागिर, रातभर पढाइ- तर असफल भएन ।’

    पछिल्लो चरणमा उनले स्नातक र त्यसपछि स्नातकोत्तर तह पनि पूरा गरिन् । ‘मेरो छोराले नै नबुझिएको कुरा सिकाउँथ्यो,’ उनी मुस्कुराउँदै भन्छिन्, ‘यो मेरो जीवनको सबैभन्दा मिठो समय थियो ।’ माध्यमिक तहसम्मको शिक्षा पाल्पाबाट र त्यसपछि स्नातकोत्तर तहसम्मको शिक्षा महेन्द्र बहमुखी क्याम्पस नेपागन्जबाट गरेकी उनी १७ वर्ष हुँदा छोरा र १९ वर्षमा छोरी जन्मिएका थिए ।

    ‘जागिर शुरू गरेपछि भने पुनः १२ वर्षपछि फेरि बबई बहुमुखी क्याम्पस गुलरियामा आइएमा भर्ना भएँ । रेगुलर फर्म भरे पनि कक्षा लिन सम्भव थिएन तर पनि घरमै पढेर परीक्षा दिएँ, पास भएँ यसबाट थप हौसला भयो । पुन निरन्तर पढाइ जारी राखेँ,’ उनले भनिन् ‘घरको काम, दिनभरि जागिर, घरमा होटल व्यवसाय थियो, साँझविहान त्यहाँ काम, जागिरको काममा पनि ८/१० किमी पनि साइकलमा गाउँगाउँ डुल्नुपर्थ्यो । तर कामप्रतिको समर्पणले दुख लाग्थेन । स्नातक भर्ना भए पनि पढ्ने समय थिएन त्यसैले रातभरि पढ्थेँ, तर असफल हुन परेन, छोराले पनि मलाई नजानेको कुरा सिकाउँथ्यो ।’

    राजनीतिक संघर्ष र महिला नेताको कठिनाइ

    २०७४ को पहिलो निर्वाचनमा उनी हारिन्, तर त्यो हारभन्दा गहिरो घाउ भने सामाजिक चरित्रहत्याको प्रयास थियो । ‘महिला बाहिर निस्कन खोज्यो कि आरोप लाग्छ,’ उनी भन्छिन्, ‘राजनीतिमा महिलालाई हरेक पाइला–पाइलामा प्रमाणित हुनुपर्छ ।’

    दलभित्रकै प्रतिस्पर्धा, सामाजिक सञ्जालका बदनामी, र आर्थिक अभावबीच पनि उनले हिम्मत हारिनन् । ‘पहिलो चुनावपछि जागिर गइसकेको थियो, व्यवसाय पनि कोरानाले बन्द भयो,’ उनी सम्झिन्छिन्, ‘तर श्रीमान् र छोराछोरीको साथले फेरि उठ्न सकेँ । ’ त्यो नै उनको जीवनको मोड थियो,जहाँ हारले उनलाई झनै बलियो बनायो ।

    नेतृत्वमा महिलाको सम्भावना र चुनौती

    आज उनी उपप्रमुखको कुर्सीमा छन् । तर भन्छिन्- ‘उप-प्रमुख कार्यकारी पद होइन, तर जिम्मेवारी कम हुँदैन ।’

    जनताको असीमित आवश्यकता र सीमित स्रोतबीच काम गर्न सजिलो छैन । ‘कतिपय मानिस सधैं नकारात्मक कुरा लेखिरहन्छन्’ उनी भन्छिन्, ‘तर जनताका लागि साँचो काम गरेपछि समुदायको साथ पाइन्छ ।’

    उनका अनुसार नेतृत्वमा पुग्ने महिला अझै पनि सामाजिक पूर्वाग्रह र मानसिक दबाबबाट पूर्ण स्वतन्त्र छैनन् । ‘महिलाले हरेक निर्णयमा आफूलाई दोहोरो रूपमा प्रमाणित गर्नुपर्छ’ उनी भन्छिन्, ‘तर समय बदलिँदै छ, अब महिलाले नीति निर्माण तहमा पुग्ने बाटो खोलिएको छ ।’

    टिमवर्क र सकारात्मक प्रशासनिक संस्कार

    बिनालाई आफ्नो काम सहज लाग्छ । ‘नगरप्रमुखसँग सल्लाह गरेर निर्णय हुन्छ, कर्मचारी पनि सहयोगी छन्’ उनी भन्छिन्, ‘टिमवर्क राम्रो भयो भने असम्भव जस्तो लाग्ने लक्ष्य पनि पूरा गर्न सकिन्छ ।’

    उनले आफैँले गर्न सक्ने काममा कर्मचारीको मुख ताक्दिनन् । यही व्यवहारले कर्मचारीबीच पनि उनको सम्मान छ ।

    ‘नगरपालिकामा मलाई काम गर्न असहज कहिल्यै भएन । किनकि मलाई मेरो जिम्मेवारी प्रष्ट थाहा छ र नगरप्रमुखले हरेक कुरामा सल्लाह गर्ने, साथ दिइरहनुभएको छ,’ उनले भनिन् ‘आफूले जानेको भए कर्मचारीको मुख ताकेर बस्दिन । कर्मचारीले गर्ने कतिपय काम पनि म आफै गरिदिन्छु त्यसैले कर्मचारी पनि सपोटिभ हुनुहुन्छ । टिमले काम गर्ने हो, टिमवर्क राम्रो भए सोचेका लक्ष्य पुरा गर्न सकिन्छ ,जबाफदेहिता र जिम्मेवारी पनि सामूहिक नै हुन्छ ।’

    संघर्षको मूल्य र नयाँ पुस्ताका लागि सन्देश

    बिना भट्टराईको यात्रा केवल व्यक्तिगत उपलब्धिको कथा होइन, यो हजारौँ महिलाको प्रतिनिधि कथा हो, जसले घर, परिवार, आर्थिक संकट र सामाजिक पूर्वाग्रहसँग जुध्दै आफूलाई स्थापित गरिन् । ‘संघर्ष नगरी सफलता सम्भव हुँदैन’ उनी भन्छिन्, ‘तर संघर्षले कहिल्यै डराउनु हुँदैन, त्यो नै हाम्रो शक्ति हो । ’

    उनले नेतृत्वमा पुगेर पनि आफूलाई ‘सेवक’का रूपमा हेर्छिन् । ‘म जनताको सेवामा छु, मलाई अधिकार होइन, जिम्मेवारी ठूलो लाग्छ’ उनी भन्छिन् ।

    सानो उमेरमा विवाह, सीमित स्रोत, परिवारको दोहोरो जिम्मेवारी, सामाजिक विभेद, आर्थिक अभाव, चरित्र हत्याका प्रयास, राजनीतिक असफलता । यी सबै पार गर्दै उनी आज बर्दियाको महिला मात्र होइन, सम्पूर्ण देशका महिलाका लागि संघर्ष र दृढताको प्रतीक बनेकी छन् । बिनाको संघर्षको कथाले जीवनमा कहिले पनि ढोका बन्द हुँदैन र तयारी, धैर्यता र आत्मविश्वासले कहिल्यै भाग्यसँग सम्झौता गर्नुपर्दैन भनेर सिकाएको उनका सहकर्मीहरू बताउँछन् ।

    जुन हातले साना कपडाका टुक्रा धोएर रात बिताउँथ्यो, आज त्यही हातले नीति र योजनामा हस्ताक्षर गर्दै जनताको जीवन उज्यालो बनाइरहेको उनीहरूको विश्लेषण छ । त्यसैले, उनी भन्छिन्- ’मलाई काम गर्न असहज छैन’, त्यो वाक्य केवल प्रशासनिक सहजता होइन, एउटा महिलाको जीवनभरको संघर्ष र आत्मविश्वासको निचोड हो ।

    (नेपाली महिला जनप्रतिनिधिहरूको सुकर्मलाई सञ्चार गर्ने अभियान शि लिड्स आइकन दोस्रो संस्करणको ३१ प्रेरणादायी महिला जनप्रतिनिधि रूपमा उनी छनोट भएकी छन्।)

  • एकल महिला भएर सामाजिक तथा राजनीतिक अभियानमा सक्रिय हुमा

    एकल महिला भएर सामाजिक तथा राजनीतिक अभियानमा सक्रिय हुमा

    सामाजिक जीवनका अनेकन् भोगाई दुःख, कष्टले खारिएर व्यवहार र अनुभवले पारङ्गत बनेकी व्यक्ति हुन् हुमा । बिधुवा महिला, हिंसा पीडित महिलाको लागि वकालत, उनीहरूको स्याहार सुसारमा उनले जीवन व्यतीत गरेकी छन् । दुख पीडा, भोगाइको पहाड उक्लेर अनुभवको भंगालोबाट स्पातिलो बनेर सबैको उदाहरणीय बनेकी छन् हुमा ।

    वन वातावरण संरक्षणको क्षेत्र होस् या सहकारीको विकास, मानवअधिकार, खाद्य अधिकार, उद्यमशीलताको क्षेत्रमा पनि उनको नाम पङ्क्तिमै आउँछ । आफ्नो जीवन कुन गन्तव्यमा पुग्छ नभएको बेलामा पनि समाजको मियो बन्नुपर्छ भन्ने दृढ संकल्प लिएर हजारौँको जीवनमा आशावादी बनेर निरन्तर अधिकतम समय उनले सामाजिक जागरणमा खर्चिइन् । जसले उनको उचाइ राजनीतिसम्म ल्याई पुर्‍यायो । करिब ३ दशक लामो राजनीतिक यात्रामा रहेकी कर्मठ, सङ्घर्षशील हुमा अहिले घोराही उपमहानगरपालिकाको उपमेयर बनेर जनप्रतिनिधिका रूपमा नागरिकको सेवामा खटिएकी छन् ।

    घोराही उपमहानगर पालिकाको उपमेयर बन्नुअघि उनले गरेका काम र योगदानले आफू यहाँ पुग्न सकेको बताउँछिन् । जनप्रतिनिधिका रूपमा काम गर्ने अवसर खेर जान नदिन उनले धेरै यस्ता नमुना कामहरूको थालनी गरेकी छन् । जस्तोसुकै कठिन परिस्थितिमा पनि निराश नबनेकी हुमा एकल महिला भएर पनि आफ्ना कलिला बालबच्चा हुर्काउँदै उनीहरूको शिक्षादीक्षासँगै सामाजिक सेवामा निरन्तर खटिइरहन्छिन् । जुन जनप्रतिनिधि भएपछि पनि निरन्तर चलिरहेको छ ।

    हुमाको सङ्घर्षशील राजनीतिक-सामाजिक यात्रा

    २०४९ नेकपा एमालेको अखिल नेपाल महिला संघको साधारण सदस्यबाट थालनी गरेको हुमाको राजनीतिक यात्रा आज उपमेयरसम्म आइपुगेको छ । अनेमसंघको जिल्ला सदस्य, पार्टीको टोल, वडाअध्यक्ष हुँदै क्षेत्रीय, जिल्लामा पनि सचिवालय सदस्यमा रहेर उनले काम गरिसकेकी छन् । अनेमसंघको केन्द्रीय सदस्यको भूमिकामा समेत रहेकी उनी हाल अनेमसंघ जिल्ला अध्यक्ष हुन् । तर जनप्रतिनिधि भएपछि उनलाई पार्टीले कुनै जिम्मेवारी दिएको छैन । ‘लामो समय म पार्टीले दिएका जिम्मेवारी पूरा गरेको छु तर अहिले कुनै जिम्मेवारीमा छैन’ उनले भनिन् ।

    उनी सामाजिक राजनीतिक अभियानमा निरन्तर डटी रहने अथक साहसिक योद्धा हुन् । शिक्षा क्षेत्रको सुधारमा पनि उनी उत्तिकै खटेकी महिला हुन् । सामाजिक कुरीति विरुद्ध खटेर अनि डटेर लागेको उनको विगतको काम साक्षी छ । देशमा भएको लामो द्वन्द्वको बेलामा पनि शिक्षाको सुधारमा लागेको उनको अनुभव छ । घोराही १७ को गोरक्ष रत्ननाथ स्कुलमा ८ वर्ष विद्यालय व्यवस्थापन समिति सदस्य भएर काम गर्दा हाईस्कुल बनाउन, पशु विज्ञान कक्षा भित्र्याउन उनको भूमिका रह्यो ।

    छात्रछात्रालाई निःशुल्क शिक्षाको व्यवस्था गर्न पहल गरेकी हुमा घोराही १५ स्थित सरस्वती मावि काठेकोलमा पनि एक अवधि विद्यालय व्यवस्थापन समितिमा रही कृषि, पशु विज्ञानलगायत सुधारको काममा भूमिका खेलिन् । २०५९ सालमा विधवा महिला आन्दोलनमा सक्रिय भई लागेकी उनले रंगभेद विरुद्ध खरो रूपमा उभिएर आन्दोलनको औचित्य पुष्टि पनि गरिन् ।

    विधवा महिलाले सेतो कपडा लगाउनु पर्ने बाध्यात्मक कुराको अन्त्य गर्न, रंगभेद विरुद्धका आवाजमार्फत महिलाहरूमा जागरण पैदा गर्न, महिलामाथि हुने सबै खाले विभेद विरुद्ध उत्रिन, महिला अधिकारको मुद्दालाई सफलताको उडान भर्न पनि हुमाले नै सिकाइन् । ‘यहाँ विधवा प्रथा थियो, सेतो जन्जिर तोड्न निकै संघर्ष गर्नुपर्‍यो, यसका अवशेष अझै समाजमा बाँकी छ, यो हटाउने हाम्रो लडाई अझै जारी छ, हुमाले भनिन्, सामाजिक कुरीति हटाउँदै विधवा महिलालाई राज्यमार्फत सम्बोधन गराउनेदेखि सामाजिक सुरक्षा भत्ताको व्यवस्थामा निस्वार्थ भावले लागेँ ।’ सशस्त्र द्वन्द्वको बेला सामुदायिक वन संरक्षण गर्नु निकै चुनौती थियो ।

    त्यो बेलामा पनि उनले आफूलाई एक निडर वन संरक्षणकर्मीका रूपमा परिचित गराइन् । सामुदायिक वन क्षेत्रमा पनि उत्तिकै सक्रिय भूमिका खेलेकी उनी वन समूहको अध्यक्ष भएर पनि काम गरिन् । पछि उनी रेन्जपोष्ट स्तरसम्मको काम गर्दै वन वातावरणको क्षेत्रमा खटेर लामो समय लागिन् । उनी जिल्लाको उपाध्यक्ष हुँदै केन्द्रीय प्रतिनिधिसम्म पुगिन् ।

    ०७९ सालको स्थानीय निर्वाचनमा जनप्रतिनिधि बनेपछि पहिलाजस्तो सामाजिक र अन्य संस्थागत जिम्मेवारीका काम धेरै समय दिन नसके पनि हात झिकेकी छैनन् । हुमा २०५४ मा वडा सदस्य भएर औपचारिक रूपमा जिम्मेवारी सम्हालेको बताउँछिन् । त्यो बेलामा राप्रपा, कांग्रेस र एमालेबाट उनी महिला सदस्य मनोनीत भएकी थिइन् । ‘निर्वाचनको समयमा मलाई पार्टीबाट अघि सार्न तयारी थियो, तर अर्को थारु महिलालाई पठाउने निर्णय भएपछि मलाई दिइएन, तर स्थानीय क्षेत्रमा कामको अनुभवले होला तीन मुख्य पार्टीको प्रस्तावमा मलाई सदस्यमा मनोनीत गरिएको हो’ उनले भनिन् । तत्कालीन त्रिभुवन नगरपालिकाको प्रतिनिधिका रूपमा काम गर्ने अवसर उनले पाएकी थिइन् । त्यसो त हुमालाई टोल विकासको क्षेत्रमा पनि वर्षौँदेखि काम गरेको अनुभव छ । तयसैगरी महिलाहरूको आर्थिक, सामाजिक सबलीकरण, सशक्तीकरणका लागि सहकारी आन्दोलनमार्फत उत्तिकै अब्बल महिलाको रूपमा परिचित बनेकी छन् ।

    सानो कर्जा लगानीदेखि महिलाहरूको उत्थानमा उनको भूमिकालाई सबै महिला, पिछडिएका वर्गहरूले निकै सराहना गर्ने गरेका छन् । आयआर्जनको क्षेत्रमा लाग्न, कमजोर आय भएकालाई बचत गर्ने बानीको विकास गर्न लगाउने, सामाजिक न्यायमा पहुँच बढाउन सजग गराउने जस्ता अधिकारको क्षेत्रमा लाग्न उत्साहित गर्ने कामको योगदान एक अथकयोद्धा बाहेक अरूले गर्न सक्दैन, जुन काम हुमाले गरेकी छन् ।

    २०५९ सालमा ४८ जनाबाट जम्मा ४ हजार ८ सय रुपैयाँबाट थालनी गरेको सौभाग्य महिला बचत तथा ऋण सहकारी संस्था १२ सयभन्दा बढी शेयर सदस्य हुँदै करोडौँको कारोबार गर्न सफल भएको छ । हाल उनी संस्थाको नेतृत्वबाट हटेकी छन् । संस्थाकै योगदानबाट जिल्ला बचत सहकारी संघको उपाध्यक्ष भएकी उनी प्रदेश कमिटीको बचत सहकारी संघको सदस्य बनेकी थिइन् ।

    ३५ सयभन्दा बढी सहकारी संघको लेखा समितिको सदस्य भएको अनुभव संगालेकी उनले सामाजिक, आर्थिक, राजनीतिक क्षेत्रमा उस्तै अनुभव संगालेकी छन् । २०६१ सालमा पारालिगल कमिटीमा बसेर पनि विभिन्न खालका हिंसा नियन्त्रणका क्षेत्रमा काम गरेकी उनले लैंगिक हिंसा नियन्त्रणमा पनि उत्तिकै योगदान दिएकी छन् ।

    सानै उमेरमा बिहे, तीन बच्चाको जन्मपछि श्रीमानको मृत्यु

    हुमा अर्घाखाँचीको तत्कालीन असुरकोट ३ लामादिपमा जन्मेकी हुन् । उनी जन्मेको केही समयपछि बुवाआमा बसाई सरेर दाङ आएका थिए । अध्ययनकै क्रममा हुमालाई रोल्पाको दुम्ला निवासी श्रीमान् माग्न आएपछि बुवा आमाले घरमा पहिलो पटक माग्न आएका केटालाई दिनुपर्छ भनेर बिहे भएको हुमाले स्मरण गर्छिन् । ‘ मलाई अलि अलि स्मरण छ बुवा आमाले पढ्नेक्रममै बिहे गरिदिनुभयो ०४३ साल मंसिरमा बिहे भएको थियो’ उनले भनिन्- ‘त्यसपछि मेरो नयाँ जीवनयात्रा सुरु भएको हो, ४५,४७ र ५० सालमा दुई छोरी र एक छोराको जन्म भयो, उनीहरू सानै छँदा श्रीमानको ०५५ मंसिर ८ गते मृत्यु भयो ।’

    श्रीमानको मृत्यु हुँदा पनि उनी नगरपालिकाको वडा सदस्य थिइन् भने वन, टोल र सहकारीमा आवद्ध भइसकेकी थिइन् । उनलाई सधै श्रीमानले यी संस्थाहरूलाई निरन्तर अघि बढाउन प्रेरणा दिइरहन्थे । ‘श्रीमानको सपना नै सामाजिक संस्था, सहकारीलाई निरन्तर अघि बढाउनु भन्ने थियो, ती सपना पूरा गर्न निरन्तर लागिरहेको छु’ उनले भनिन् ‘श्रीमान् बित्ने समयमा तीनै छोराछोरी सानै थिए, सबैलाई बोकेर काममा हिँड्नुपर्ने थियो, समाजले पनि सहजै साथ दिने थिएन तर सबै संघर्षलाई चिर्दै यहाँसम्म आएकी छु ।’

    उपमेयर भए पनि आर्थिक र योजना छनौटका अधिकार पाएकै छैन

    हुमाले पहिले भोगेका समस्याहरू अहिले पनि समाधान भएको छैन ।महिला भएकै कारण भोग्नुपर्ने पीडाहरू कम त भए तर समाधान भएका छैनन् । ‘अझै पनि कहाँ महिलाले सबै अधिकार पाएका छन् र ? म उपमहानगरको उपमेयर हुँ तर आर्थिक र योजना छनौटमा अधिकार नै पाएको छैन, मैले बनाएका योजना नै काटिन्छन् अनि छनौट गरेका योजना नै काटिन्छन्, यो लुकाउनुपर्ने विषय होइन, धेरै पालिकाका जनप्रतिनिधिले यस्ता विषय सुनाइरहेका छन्’ उनले भनिन्- ‘धेरै विषयमा समस्या छन् केही दलगत समस्या होलान् तर धेरै लैंगिक विभेदका कारण नै समस्यामा पारिएको छ, यो विषय समस्या मै छन् ।’

    उपमेयरको काम, कर्तव्य, अधिकार धेरै छन् तर जिम्मेवारी अनुसार काम गर्न पाइएको छैन, खुलेर काम गर्ने वातावरण नै छैन, न्यायिक समितिमा त मैले आफ्नो अधिकार छाडेकी छैन, किनभने त्यो मेरो तीन दशकभन्दा बढीको अनुभव थियो तर अरू विषय चाहे जसरी काम गर्न पाइएको छैन’ उनले भनिन् ।

    घोराहीको उपमेयर बनेपछि हुमाको अगुवाइमा भएका काम

    हुमाले साढे तीन दशक सामाजिक, सहकारी र महिलाका अधिकारका क्षेत्रमा काम गरेकाले पनि उनले आफू जनप्रतिनिधि भएको समयमा यी विषयलाई बढी उठान गरेकी छन् । धेरै महिलाहरूको स्वास्थ्यका समस्या उनले पाएको विषय थियो त्यसमा पनि यौन तथा पाठेघरको समस्या धेरै महिलाको स्वास्थ्य जोखिममा पार्ने विषयहरू हुन् । उनले आफ्नो अगुवाइमा यी विषयहरूलाई उठान गरेकी छन् । ‘धेरै महिलाको पाठेघरको समस्या मैले पहिले काम गर्दा पाएका समस्या हुन्, महिलाको जोखिम रोगका विषयमा धेरैलाई जानकारी हुँदैन, अन्तिम समयमा मात्रै बाहिर ल्याउने अवस्था छ, त्यही भएकाले पनि पाठेघरको मुखको क्यान्सरलाई निःशुल्क बनाएको छ, यसको सुरुवातमा जति संख्या थियो अहिले त्यो घट्दै गएको छ, पहिले दैनिक ३(४ जना आउँथे अहिले कम भएको छ’ उनले भनिन्–‘अहिले त्यो अनुपात घटेको छ, यसलाई संघ र प्रदेश तथा अन्य पालिकाले पनि ध्यान दिए राम्रै हुने थियो’ उनले भनिन् ।

    घोराहीमा प्रेसर सुगरको परीक्षणलाई जनचेतनामूलक तरिकाले अघि बढाउने पनि अर्को मुख्य उपलब्धि हुमाले बताउँछिन् । ‘धेरै पालिकामा भौतिक विकासलाई मात्रै विकास भनिएको अवस्था छ तर मानसिक र सामाजिक विकास नहुँदासम्म केही हुनेछैन, सबैभन्दा बढी स्वास्थ्यमा सचेतना दिनु अहिलेको आवश्यकता हो, घोराहीले त्यसैलाई अघि बढाएको छ, त्यो मेरो चाहनाअनुसार नै भएको छ ।’ हुमाले भनिन् ।

    (नेपाली महिला जनप्रतिनिधिहरूको सुकर्मलाई सञ्चार गर्ने अभियान शि लिड्स आइकन दोस्रो संस्करणको ३१ प्रेरणादायी महिला जनप्रतिनिधि रूपमा छनोट भएकी छन् ।)