Tag: हस्ताक्षर

  • विपक्षी गठबन्धनको रिटमा १४६ सांसदको हस्ताक्षर, एमालेका तीनजना घटे

    विपक्षी गठबन्धनको रिटमा १४६ सांसदको हस्ताक्षर, एमालेका तीनजना घटे

    काठमाडौं । कांग्रेस सभापति शेरबहादुर देउवालाई संविधानको धारा ७६ को उपधारा ५ बमोजिम प्रधानमन्त्री नियुक्तिका लागि परमादेश माग्ने रिट तयार भएको छ ।

    रिटमा विघटित प्रतिनिधिसभाका १४६ जना सांसदको हस्ताक्षर र सनाखत भएको छ । यसअघि नेकपा एमालेका २६ जनाको हस्ताक्षरसहित १४९ जनाको नाम राष्ट्रपति समक्ष पठाइएको थियो ।

    रिट दायर गर्ने अन्तिम समयमा एमालेका गोकर्ण विष्ट, गणेश पहाडी र पवित्रा निरौला खरेलले हस्ताक्षर नगरेपछि एमालेको संख्या २३ मात्र भएको छ ।

    रिट निवेदनमा नेपाली कांग्रेसका ६१,माओवादी केन्द्रका ४९,जनता समाजवादी पार्टीका १२ र राष्ट्रिय जनमोर्चाका एकजना सांसदको हस्ताक्षर रहेको छ ।
  • एसियालीमाथिको आक्रमण रोक्न राष्ट्रपति बाइडेनद्वारा विधेयकमा हस्ताक्षर

    एसियालीमाथिको आक्रमण रोक्न राष्ट्रपति बाइडेनद्वारा विधेयकमा हस्ताक्षर

    वासिङ्टन । संयुक्तराज्य अमेरिकाका राष्ट्रपति जो बाइडेनले अमेरिकामा बसोबास गरिरहेका एसियाली र प्रशान्त क्षेत्रका मानिस विरुद्ध घृणाजन्य अपराध बढेको भन्दै त्यसलाई रोक्न बिहीबार एउटा विधेयकमा हस्ताक्षर गरेका छन् ।

    घृणा र जातिभेद जस्ता गतिविधिहरु अमेरिकामा बढ्नुका साथै कतिपय एसियाली मुलका अमेरिकीमाथि सार्वजनिक स्थलमै आक्रमण हुन थालेपछि अमेरिकामै चिन्ता व्यक्त गर्न थालिएको थियो ।

    डेमोक्रेट र रिपब्लीकन पार्टीका कैयौं सांसदले एसियाली मुलका व्यक्तिमाथि भइरहेका आक्रमण रोक्न ल्याइएको विधेयकलाई समर्थन गरेका थिए । ह्वाइट हाउसमा बिहीबार विधेयक प्रमाणीकरण समारोहमा ठूलो संख्यामा सांसदहरु पनि उपस्थित भएका थिए ।

    गत अप्रिलमै माथिल्लो सदन सिनेटले ९४-१ ले पारित गरेको उक्त विधेयकलाई यसै साता अमेरिकी तल्लो सदन हाउस अफ रिप्रिजेन्टेटिभ्सले ३६४-६२ मतान्तरले अनुमोदन गरेको थियो ।

    राष्ट्रपतिको चुनावी सभाहरुमा अमेरिकी जनतालाई एकताबद्ध गर्ने पटकपटक बताउँदै आएका राष्ट्रपति बाइडेनले विधेयक प्रमाणीकरण कार्यक्रममा पनि घृणा र जातिभेदलाई सबैले मिले परास्त गर्नुपर्नेमा जोड दिए ।

    नयाँ कानुनले न्याय विभागलाई कुनै पनि किसिमका घृणाजन्य अपराधका विषयमा समीक्षा गर्ने बाटो खुलेको छ । कानुन कार्यान्वयन गर्ने निकायहरुलाई कुनै अपराध घृणाजन्य कार्य हो वा होइन भन्ने बारेमा अनुसन्धानमा मद्दत गर्न संघीय आर्थिक सहायता प्राप्त हुनेछ । कतिपय यस्ता घटनाहरुलाई विगतमा कानुनी दायरामा ल्याउने गरिएको थिएन ।

    तर कतिपय अधिकारकर्मीहरुले यस विषयलाई कानुन कार्यान्वयन गर्ने निकायको जिम्मेवारीमा छाड्न नहुने बताएका छन् । त्यस अवसरमा राष्ट्रपति बाइडेन र उपराष्ट्रपति कमला ह्यारिसले कोरोनाभाइरस महामारी शुरु भएयता एसियाली र प्रशान्त क्षेत्रका मानिस र उनीहरुका व्यवसायलाई लक्षित गरी चक्कु प्रहार गर्ने, गोली चलाउने र अन्य किसिमका आक्रमण गर्ने गरिएको चर्चा गरे ।
    उपराष्ट्रपति ह्यारिसले यस्ता घटनाहरु झण्डै छ गुणाले बढेको जानकारी दिए ।

  • विपक्षी गठबन्धनमा माधव नेपाल पक्षका २७ सांसदको हस्ताक्षर

    विपक्षी गठबन्धनमा माधव नेपाल पक्षका २७ सांसदको हस्ताक्षर

    काठमाडौं । राष्ट्रपतिले नयाँ सरकार बनाउन आह्वान गरेको समयभित्रै विपक्षी दल बहुमत सदस्यको दावीसहित शीतल निवास प्रस्थान गरेका छन् ।

    नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री प्रस्ताव गर्दै १४९ सांसदको हस्ताक्षर राष्ट्रपतिलाई बुझाउन लागिएको नेताहरूले बताएका छन् ।

    विपक्षी गठबन्धनको पक्षमा हस्ताक्षर गर्नेहरुमा एमालेको माधव नेपाल पक्षका सांसद पनि छन् । नेपाली कांग्रेसका केन्द्रीय सदस्य गगन थापाले नेपाल पक्षका २७ सांसदको हस्ताक्षर रहेको बताए ।

    यसअघि प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिँदा नेपाल पक्षका २८ सांसद अनुपस्थित भएका थिए ।

  • महन्थ ठाकुरलाई थाहै नदिई बसेको जसपा बैठकमा क-कसले गरे हस्ताक्षर ?

    महन्थ ठाकुरलाई थाहै नदिई बसेको जसपा बैठकमा क-कसले गरे हस्ताक्षर ?

    काठमाडौं । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव र संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई पक्षले प्रथम अध्यक्ष महन्थ ठाकुर पक्षलाई थाहै नदिई केन्द्रीय कार्यकारिणी समिति बैठकको माइन्यूट तयार पारेको खुलासा भएको छ ।

    लुम्बिनी प्रदेशसभाका चारजना सांसदलाई पदमुक्त गर्न भनी बाबुराम उपेन्द्र पक्षका नेता सहसराम यादवले प्रदेशसभा सचिवालयमा बुझाएको पत्रमा महन्थ पक्ष बाहेकका २६ जना केन्द्रीय कार्यकारिणी समितिका सदस्यहरुको हस्ताक्षर भेटिएको छ ।

    ५१ सदस्यीय केन्द्रीय कार्यकारिणी समितिका २६ जनालाई खाली कागजमा हस्ताक्षर गराएको जसपा स्रोतले जनाएको छ । महन्थ ठाकुरले निषेधाज्ञाको बेला कार्यकारिणी समिति बैठक बस्न नमानेपछि बाबुराम उपेन्द्र पक्षले बहुमत सदस्यको हस्ताक्षर जुटाएर कारवाही गरेको बताइएको छ ।

    सोही हस्ताक्षरलाई माइन्यूटमा परिणत गरी अनुशासनको कारवाही र प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अविश्वास प्रस्ताव दर्ता गर्ने विषयलाई बैठकको कार्यसूचीमा राखिएको छ ।

    जसपाका वरिष्ठ नेता राजेन्द्र महतोले कार्यकारिणी समितिको बैठक अहिलेसम्म नबसेको र बैठक बोलाउने अधिकार अध्यक्ष महन्थ ठाकुरलाई रहेको बताएका छन् । उनले जसपाको नाममा गरिएको लुम्बिनीको कारवाही फर्जी भएको भन्दै त्यसले कानुनी मान्यता नपाउने बताए ।

  • सरकार र विप्लव समूहबीच तीनबुँदे सहमतिमा हस्ताक्षर

    सरकार र विप्लव समूहबीच तीनबुँदे सहमतिमा हस्ताक्षर

    काठमाडौं । सरकार र नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा माओवादीबीच तीनबुँदे सहमतिमा हस्ताक्षर भएको छ ।

    सहमति अनुसार विप्लव नेतृत्वको नेकपाले आफ्नो शान्तिपूर्णरुपमा सञ्चालन गर्न तयार भएको छ ।

    सहमतिको पहिलो बुँदामा दुवै पक्ष देशका राजनीतिक समस्या वार्ता र संवादबाट समाधान गर्न सहमत भएको उल्लेख छ । दोस्रो बुँदामा नेकपाले आफ्ना सबै राजनीतिक क्रियाकलाप शान्तिपूर्णरुपमा सञ्चालन गर्न भनिएको छ ।

    यस्तै तेस्रो बुँदामा विप्लव समूहमाथिको प्रतिबन्ध हटाउने, कारागारमा रहेका कार्यकर्ताको रिहाइ गर्ने र सम्पूर्ण मुद्दा खारेज गरिने भनिएको छ ।

    सहमतिपत्रमा सरकारका तर्फबाट गृहमन्त्री रामबहादुर थापा बादल र विप्लव समूहका तर्फबाट खड्गबहादुर विश्वकर्माले हस्ताक्षर गरेका छन् ।