Tag: हलिउड

  • महामारीमै हलिउडमा फर्कियो रेडकार्पेट, एमटीभी अवार्डमा यस्तो देखियो

    महामारीमै हलिउडमा फर्कियो रेडकार्पेट, एमटीभी अवार्डमा यस्तो देखियो

    लस–एन्जल्स । कोरोनाभाइरस महामारीले शुन्य बनेको हलिउडमा रेड-कार्पेट सिजन फर्किएको छ । बितेको दुईवर्ष सुनसान बनेको अमेरिकी मनोरञ्जन उद्योग लयमा फर्कने संकेत मिलेको छ ।

    नेपाली समयानुसार सोमबार बिहान लस-एन्जल्समा एमटीभी मूभी एन्ड टीभी अवार्ड सम्पन्न भयो । सामान्य अवस्थामा झैं सेलेव्रिटी मास्कबिनै रेडकार्पेट नापिरहेका देखिए ।

    भाइरस महामारीको कारण यसवर्षको अस्कर, गोल्डेन ग्लोब्सजस्ता ठूला समारोह पनि भर्चुअल बनेको हलिउडमा एभटीभी अवार्ड चाहिँ भौतिकरुपमै सम्पन्न भयो ।

     

    एमटीभी अवार्ड यसपटक वान्डाभिजन नामक टेलिभिजन सोको नाममा दर्ज भयो । सर्वोत्कृष्ट फिल्मको अवार्ड चाहिँ ‘टु अल दी ब्वाइज : अलवेयज एन्ड फरेभर’ले जित्यो ।

    फिल्म अभिनेताको रुपमा ‘मा रेइनिज ब्ल्याक बटम’बाट दिवंगत अभिनेता ‘चाडविक बोसम्यान’ले जिते ।

    अवार्डमा टेलिभिजन सोमा उत्कृष्ट अभिनय, उत्कृष्ट हिरो, उत्कृष्ट चुम्बन, कमेडी अभिनय, भिलेन, ब्रेकथ्रु प्रस्तुति, बेस्ट फाइट, फ्राइटेन्ड पर्फमेन्स, बेस्ट ड्यो लगायतका विधा राखिएका थिए ।

  • काठमाडौंमा रिलिज भएको एक्सन-थ्रीलर ‘नोबडी’बारे तपाईलाई के थाहा छ ?

    काठमाडौंमा रिलिज भएको एक्सन-थ्रीलर ‘नोबडी’बारे तपाईलाई के थाहा छ ?

    काठमाडौं । कोरोनाभाइरस महामारीको दोस्रो लहरको जोखिम सुरु भएसँगै फिल्म गतिविधि पनि प्रभावित हुन थालेको छ । यद्यपी, केही रोचक फिल्म भने रिलिज भैरहेका छन् ।

    एप्पल एन्टरटेनमेन्टले युनिभर्सल पिक्चर्सको एक्सन-थ्रीलर फिल्म ‘नोबडी’लाई नेपाल रिलिज गरेको छ । बब ओडेनर्किक र केली म्याककर्मिक स्टारर फिल्म एक्सन फिल्म रुचाउने दर्शकलाई मनपर्न सक्छ । मार्च २६ मा यो फिल्म अमेरिकामा रिलिज भैसकेको छ ।

    अपरिचितलाई समेत सहयोग गर्ने एक दयालु मान्छे कसरी अपराधीहरुको झुण्डसँग लड्छ भन्ने कथावस्तु यसमा छ । समीक्षकले यसले सकारात्मक प्रतिक्रिया प्राप्त गरेको छ । रटन टम्याटोजले ८१ प्रतिशत रेटिङ दिएको छ । समीक्षकले मुख्य पात्र ओडेनर्किकको अभिनयलाई रुचाएका छन् ।

    मेटाक्रिटिकमा समीक्षक लेख्छन्- कुनै एउटा विधामा आधारित भएको यो फिल्मले ठूलै परिवर्तन त गरेको छैन तर, एउटा एक्सन फिल्मको रुपमा यसले नयाँ प्रयोगहरु भने अवश्य गरेको छ ।’ हलिउड रिपोर्टरमा जोन डिफोरले आनन्द लिनसकिने हिंसात्मक फिल्म भनेर यसलाई व्याख्या गरेका छन् ।

    सिकागो सन्टाइम्सले चारमा तीन रेटिङ दिँदै फिल्मको प्रशंसा गरेको छ । एप्पल इन्टरटेनमेन्टकी जेनिस पहारीले फिल्मलाई हेरेका जति दर्शकले रुचाएको बताएकी छिन् ।

     

  • टम क्रुज, एलेन मस्क र नासा मिलेर अन्तरिक्षको शुन्य गुरुत्वाकर्षणमा फिल्म छायांकन गर्ने

    टम क्रुज, एलेन मस्क र नासा मिलेर अन्तरिक्षको शुन्य गुरुत्वाकर्षणमा फिल्म छायांकन गर्ने

    विश्वका सबैभन्दा धनी एलेन मस्क र हलिउड अभिनेता टम क्रुजले अन्तरिक्षको शुन्य गुरुत्वाकर्षणमा फिल्म छायांकन गर्ने भएका छन् । हलिउडको यो महत्वाकाङ्क्षी प्रोजेक्टमा अमेरिकी अन्तरिक्ष नियोग नासाले पनि सहकार्य गर्ने भएको छ । डेडलाइन हलिउड म्यागजिनका अनुसार टम क्रुजको चर्चित फिल्म सिरिज ‘मिसन इम्पोसिबल’ चाहिँ होइन ।

    अन्तरिक्षमा सुटिङ हुने यो पहिलो न्यारेटिभ फिचर फिल्म हुने जनाइएको छ । नासाले यो प्रोजेक्टको खुलासा गरेको हो । नासका प्रमुख अधिकृत जिम ब्रिडेस्टाइनले अन्तराष्ट्रिय स्पेस स्टेसनमा टम क्रुजसँग मिलेर फिल्म बनाउने काममा सहकार्य गर्न पाउँदा नासा उत्साहित रहेको ट्वीट गरेका छन् । नासाको महत्वाकाङ्क्षी प्रोजेक्टलाई वास्तविक आकार दिन युवा बैज्ञानिक र इन्जिनियरलाई गतिशिल तुल्याउनुपर्ने उनले जनाए ।

    कुन फिल्म अन्तरिक्षमा निर्माण हुनेछ भन्ने कुराको यकिन गरिएको छैन । स्रोतका अनुसार क्रुजले अन्तरिक्षमा खतरनाक एक्सन दृश्य पस्कने अपेक्षा गरिएको छ । अहिलेसम्म अन्तरिक्षमै पुगेर फिल्म छायांकन भएको छैन । स्पेस र ग्राभिटीमा आधारित फिल्महरु हलिउड स्टुडियोमै निर्माण हुने गर्थे । बुधबारदेखि विश्वकै सर्वाधिक धनी व्यक्तिमा दरिएका एलेन मस्कको स्पेस एक्स र नासाले अहिले अन्तरिक्ष पर्यटनका लागि काम गरिरहेका छन् ।

    अमेजनका मालिक जेफ बेजोसलाई उछिन्दै टेस्ला र स्पेस एक्स कम्पनीका मालिक मस्क १८५ विलियन अमेरिकी डलरका साथ विश्वकै सर्वाधिक धनी व्यक्ति बनेको अन्तराष्ट्रिय संचारमाध्यमले जनाएका छन् ।

  • हलिउडमा हाइप्रोफाइल डिभोर्स : किम कार्दासियन र केनी वेस्ट अलग

    हलिउडमा हाइप्रोफाइल डिभोर्स : किम कार्दासियन र केनी वेस्ट अलग

    लस एन्जल्स– सातवर्षको वैवाहिक सम्बन्धपछि हलिउड सेलेव्रिटी किम कार्दासियन र पति केनी वेस्ट अलग हुने बाटोमा छन् । टीएमजेड म्यागजिनका अनुसार सम्बन्ध विच्छेदको प्रक्रिया सुरु भैसकेको छ । ४० वर्षे अभिनेत्री कार्दासिन र उनका र्‍यापर पति वेस्टले सन् २०१४ मा विहे गरेका थिए ।

    किमले वकिलसँग सम्पर्क गरिरहेकी छन् । डिभोर्सको मामिलामा चर्चित उनकी वकिल लाउरा वासेरले किमको मुद्दालाई अघि बढाउनेछिन् । तर, दुबैजनाले डिभोर्स हुने खबरबारे मौनता साँधिरहेका छन् । गत जुलाइमा नै किमले वकिललाई भेटेर डिभोर्स प्रक्रिया अघि बढाउन बुझिएको छ । यी दुई चर्चित सेलेव्रिटीको यो खबरलाई लिएर हलिउड तरंगित छ ।

    यी दुबैजना केही महिनादेखि अलग बसिरहेका छन् । वेस्ट वास्तविक जीवन नजिइरहेको र आफूसँग झूठो बोलिरहेको आरोप किमको छ । ‘आफ्नो परिवारको बारेमा भए नभएको बोलेको र कठिन घडीमा साथ नदिएको आरोप किमको छ’ स्रोतले भन्यो, ‘चाँडै मुद्दाको फैसला हुनेछ र प्याचअप हुने सम्भावना पनि छैन । सन् २०२० मा केनी वेस्ट मोन्टानामा थिए भने कार्दासियन लस एन्जल्समा बसेकी थिइन् ।

    आफ्ना बच्चाको भविष्य सोचेर नै आफूले डिभार्सको प्रक्रिया अघि बढाएको किमको भनाई छ । अहिले किम र वेस्टबाट चार सन्तान छन् । सन् २०२० देखि उनीहरु अलग बस्दै आएका थिए र गत सेप्टेम्बरमा ठूलै झगडा परेको थियो । लगत्तै वकिलसँग वैवाहिक परामर्श लिएका थिए । यी दुईबीच डिभोर्सको खबर चाहिँ केही महिना पहिले वेस्टले आफू २०२० को राष्ट्रपतिय चुनावमा उठ्ने घोषणाको बेला उठेको थियो ।

  • कसरी हलिउडले सगरमाथामाथि फिल्म खिच्यो ?

    कसरी हलिउडले सगरमाथामाथि फिल्म खिच्यो ?

    नेपाल र चीन सरकारले यसै महिना सगरमाथाको नयाँ उचाइ सार्वजनिक गरे । हलिउड सहित विश्व फिल्मका ठूला नामहरु ८,८४८ मिटर उचाइको यो हिमालमा फिल्म सुटिङका लागि लालयित हुने गर्छन् । हलिउडको थ्रीडी फिल्म ‘एभरेस्ट’ केही वर्ष पहिले छायांकन भयो । सेलेना गोमेजको मुन पिक्चर्सले एउटा बायोपिक फिल्म एभरेस्टमा छायांकन गर्ने तयारी गरिरहेको छ ।

    ‘एभरेस्ट’ फिल्मको क्रु नै काठमाडौंमा आइपुगेको थियो । यस फिल्मका सिनेम्याटोग्राफर साल्भाटोर टाटिनोले सगरमाथामा फिल्मांकनलाई मृत्युसँगको पैठेजोरी भएको टिप्पणी गरेका छन् । हलिउड रिपोर्टर म्यागजिनले साल्भाटोरले एभरेस्ट कसरी खिचे भनेर संस्मरण छापेको छ ।

    ‘काठमाडौंमा फिल्म सुटिङ गरेर हामी लुक्ला उड्यौं । संसारको एउटा खतरनाक एयरपोर्टमध्ये एउटा’ टाटिनोले भने, ‘लुक्लामा सुट गरेर हामी डेढघण्टा टाढाको एउटा झोलुंगे पुल खिच्न पुग्यौं । त्यसपछि १२ सय फिटको नाम्चे बजार र ताङ्बोचेको एउटा मन्दिरमा खिच्यौं । अनि त्यसपछि हेलिकोप्टरबाट १५ सय फिटको उचाइमा गयौं जहाँबाट हिमाल चढ्न सकिन्छ ।’

    बाल्टासार कोर्माकुरले निर्देशित फिल्मले हिमआँधीमा परेर ८ जना सगरमाथा आरोहीको मृत्यु भएको घटनालाई चित्रण गर्छ । दा भिन्ची कोड, फ्रस्ट निक्सोन, कन्कसन फिल्म समेत खिचेका टाटिनोले एरी एलेक्साको एक्सटी क्यामेराबाट फिल्म सुट गरेका थिए । एरिर फम्र्याटमा फिल्म खिचिएको थियो ।

    निर्माणको काम चाहिँ निकै चुनौतिपूर्ण थियो । ‘यो शारीरिक जोखिमपूर्ण थियो । त्यहाँको मौसमसँग एकाकार नभइकन उचाइमा फिल्न खिच्नु निकै कठिन । यतिबेला सबैलाई सास फेर्न गाह्रो हुन्छ र शरिर डिहाइड्रेट हुन्छ’ सगरमाथा वरपरका अन्य हिमालमा समेत खिच्दा कठिनाइ भएको स्मरण गर्दै टाटिनो भन्छन्, ‘हामीलाई मान्छे र उपकरण ओसार्नु थियो । हामीसँग समय कम थियो । हामीसँग ७५ जना शेर्पाको टोली थियो । खच्चर र याकको क्याराभानसँगै चार ठूला उपकरण बोक्नुपर्ने थियो ।’

    ‘हामीलाई एउटा निश्चित थलोमा लगिएको थियो जहाँबाट उपकरण बोकेर हिँड्नुपर्ने थियो । त्यहाँबाट सगरमाथाको फिल्म सुट गर्ने थलोमा पुग्नुपर्ने । चार फिट हिउँमाथिको एउटा साँघुरो स्लोपमा रहेर खिच्नुपर्ने तरिकाले डोरीले हामीलाई बाँधिएको थियो । हिँउ तलको चट्टान चाहिँ निकै कमजोर ।’

    ‘त्यहाँ यस्तो समय थियो डोरीमा झुन्डिएर एउटा चट्टानबाट अर्कोमा पुग्नुपर्ने’ टाटिनो भन्छन्, ‘म केही हिउँका ठूला चट्टानमाथि चढेँ जहाँबाट गजबको दृश्य सुट गर्न सकिन्थ्यो । म क्यामेरा बोकेरै चट्टानमा उक्लिएँ र दृश्य लिएँ । कलाकारले पनि त्यसै गरे । त्यो निकै कठिन थियो र रमाइलो पनि । फिल्म सुट गर्नु अगाडि रेविज भ्याक्सिन र लेक नलाग्ने डाइमक्स औषधी लिएर सुरक्षाको तयारी थियो’ टाटिनोले सम्झिए ।

    लुक्लामा एउटा लोकेसन खोजीको क्रम सम्झँदै टाटिनोले भने, ‘बेसबलको ब्याट मेरो टाउकोमा खसेजस्तै भयो । त्यस्तो किसिमले टाउको कहिल्यै दुखेको थिएन मेरो । फिल्म सुट गर्दा मैले डायमक्स औषधी लिएँ । म मौका लिन चाहन्न ।’ सगरमाथाका कतिपय दृश्य चाहिँ, खासगरि क्याम्प ३ भन्दा माथिको आइसफलका दृश्य चाहिँ १० हजार फिट उचाइको इटालीस्थित भल सेनल्समा खिचियो । अनि टीम स्टुडियोतिर लाग्यो ।

    सगरमाथाको हिलारी स्टेप, क्याम्प ४ को आइसफल चाहिँ जेम्स बन्डको लन्डनस्थित पाउनउड स्टुडियोमा सीजीआइ ब्याकग्राउन्डमा खिचिएको थियो । ‘यो निकै चुनौतिपूर्ण थियो किनभने हामीले सूर्यको दृश्यलाई रि–कम्पोज गर्नुपर्ने थियो किनभने एभरेस्बाट यो दृश्य निकै चहकिलो र सुख्खा देखिन्छ’ टाटिनो भन्छन्, ‘हिलारी स्टेप, चुचुरो र आइसफलबाट देखिने सूर्यको दृश्यलाई सफ्ट बनाउनुपर्ने थियो ।’

    ‘९ फिट लामो र डेढ मिटर आयतनका १ लाख वाटका बत्तीलाई क्रेनबाट लतारेर लैजानुपर्ने थियो किनभने निकै गह्रौं थिए ती’ उनले सम्झिए ।

    फिल्मांकनको बेला एक्सिपिडिसन गाइड रब हल (जेसन क्लार्क) आँधीले गर्दा हिमालमै अड्किएको क्षण टाटिनोले सम्झिए । हामीले गह्रुँगा प्लास्टिक जम्मा गरेर सेट बनायौं । यसको आकार नै ट्रकको आधाजस्तो थियो । अनि त्यो स्टेजलाई २८ डिग्री फरेनहाइटमा चिसायौं र वास्तविक हिउँ पनि राख्यौं । निर्देशक बाल्टासार एक्टर वास्तविकरुपमै चिसिएजस्तो देखिने तरिकाले लिन चाहन्थे ।’

  • सगरमाथामा छायांकन तयारीमा सेलेना गोमेजको फिल्म

    सगरमाथामा छायांकन तयारीमा सेलेना गोमेजको फिल्म

    सगरमाथा आरोही सिल्भिया भास्केज लाभाडोको जीवनमाथि बन्ने बायोपिक फिल्मलाई सेलेना गोमेजले निर्माण गर्ने भएकी छन् । हलिउड रिपोर्टर म्यागजिनका अनुसार गोमेज उक्त फिल्ममा लेस्बियन पात्रको भूमिकामा आफूलाई प्रस्तुत गर्दैछिन् ।

    पेरुभियन सगरमाथा आरोही लाभाडोको आत्मकथा ‘इन द स्याडो अफ दी माउन्टेन’कै नाममा फिल्म नामाकरण हुनेछ । लाभाडोले सगरमाथासहित सातै महादेशका अग्ला हिमाल चढिसकेकी छिन् । फिल्मलाई सेलेनाको मुन पिक्चर्सले निर्माण गर्ने जनाइएको छ ।

    लाभाडो सगरमाथा चढ्ने पहिलो पेरुभियन महिला हुन् । उनले आफूलाई खुलारुपमै गे महिलाको रुपमा चिनाउने गरेकी छिन् । मायान्स एमसी फेम्ड निर्देशक एवं लेखक एल्गिन जेम्सले फिल्मलाई निर्देशन गर्ने भएका छन् । फिल्म निर्माणमा सेलेनाले अस्कर विजेता डोना गिग्लिवटीसँग टीमअप गर्ने भएकी छिन् ।

    लाभाडोले यौन दुव्र्यहार पीडितको उद्दारमा खट्ने सामाजिक संस्थाको स्थापना पनि गरेकी छिन् । स्रोतका अनुसार उक्त फिल्मको छायांकन नेपालमा गर्ने सम्भावना छ । सेलेना यसअघि युनिसेफको कार्यक्रमको सिलसिलामा नेपाल आएकी थिइन् । त्यसबेला नेपाली संस्कृतिको प्रशंसा गर्दै नेपाल पुनः घुम्ने बताएकी थिइन् ।

    ‘सिल्भिया एउटा बहादुरीको प्रतीक हुन्’ गिग्लिटीले भनिन्, ‘साहस, एड्भेन्चर र मानवताको कथा भन्नको लागि स्कट र सेलेनासँग सहकार्य गर्न पाउँदा म हर्षित छु ।’ सेलेनाले यससँगै निर्माता सन् लेभीसँग हरर फिल्म ‘डल हाउस’ निर्माणमा सहकार्यको घोषणा गरेकी छिन् ।

  • अबको हलिउड लडाइँ अल्गोरिदमसँग

    अबको हलिउड लडाइँ अल्गोरिदमसँग

    के आर्टिफिसियल इन्टेलिजेन्स वा अल्गोरिदम (कम्प्युटर शासन) मानव जगतको भविष्यलाई चुनौती बन्नेछन् ? युवा वैज्ञानिक युभल नोहा हरारी हुन् या फिल्म निर्देशक क्रिस्टोफर नोलन । यी दुवैको संश्लेषण के हो भने : अल्गोरिदमले मान्छेलाई ह्याक गर्नेछ र मानव जाति स्वयम् संकटमा पर्नेछ । नोलन निर्देशित पछिल्लो फिल्म ‘टेनेट’को केन्द्रीय द्धन्द्ध पनि मेसिन भर्सेस मान्छे हो । आफ्ना फिल्ममा समय, स्पेस र आदिभौतिकवादलाई चित्रण गर्न माहिर नोलनले ‘टेनेट’मा पनि स्वैरकल्पनाको जासूसी कथा भन्ने प्रयत्न गरेका छन् ।

    हामीले यसअघि ‘एभेन्जर्स एन्ड गेम’मा टाइम ट्राभलको कथा हेरेका थियौं । नोलनले विज्ञानको यो सिद्धान्तलाई थ्रीलरसँग जोडेका छन् । नोलनको फिल्म स्टाइल र टाइम ट्राभल थ्याैरी नबुझ्नेलाई ‘टेनेट’ अन्याेल लाग्नसक्छ । यसको मुख्य कथासार भनेकै अविश्वसनीय संकटबाट संसारलाई जोगाउन सीआईएका एक नामविहीन मुख्य पात्रले गर्ने संघर्ष हो । युक्रेनको किभस्थित एक ओपेरादेखि सुरु भएको ‘टेनेट’ नामको जासूसी अप्रेसन रसियाको एक हिमाली गाउँमा पुगेर टुंगिन्छ ।

    मुख्य पात्रको भूमिकामा जोन डेभिड वासिङ्टनले अभिनय गरेका छन् । उसको भेट लाउरा (क्लिमेन्स पोइजी)सँग हुन्छ । लाउराले उसलाई समय उल्टो गतिमा भूतकालतर्फ अगाडि बढिरहेकाले संकटको समाधान अतीतमै भएको बताउँछिन् । बन्दुकबाट गोली निस्किने होइन कि गोली बन्दुकमा पस्ने, कार उल्टो गुड्ने र भत्किएका भवन र संरचना पुरानै अवस्थामा फर्कने संकट बताउँछिन् । यो प्रक्रिया भविष्यका लागि चुनौती भएकाले मुख्य पात्रसामु टाइम ट्राभलमार्फत यसलाई रोक्नुको बाध्यता आइलाग्छ । के मुख्य पात्र उद्देश्यमा सफल हुन्छ ?

    नोलनले पहेंलीजस्तो लाग्ने कथालाई सरल ढंगले चित्रण गरेका छन् । १५० मिनेट लामो पटकथाले दर्शकलाई इन्गेज त तुल्याउँछ तर, कन्फ्युजन पनि उत्तिकै । जसले केही दर्शकलाई फिल्मको एकाध प्लट बुझ्न हलबाट निस्किएपछि गुगल वा विकिपेडिया सर्च गर्नुपर्ने बाध्यता आइलाग्छ । तीक्ष्ण संवाद र केही कमेडी टाइपका डायलगले फिल्मलाई बलशाली तुल्याएको छ । अगाडि–पछाडि–पछाडि–अगाडि टाइपको पटकथाले क्लाइमेक्सलाई लुज तुल्याएको छ । अन्त्यमा मुख्य पात्र भन्छन् : हरेक चीज भ्रमित नै रहेछन् । नोलनले यस्तो टाइपको मानसिक थ्रीलरलाई इन्सेप्सन, इन्सोम्निया लगायतमा प्रयोग गरिसकेका छन् ।

    यस्तो खाले कथ्य शैली, संरचना, लार्ज फर्म्याटको फोटोग्राफी, भौतिकवादी दृष्टिकोण, एक्सपेरिमेन्टल ल्यान्डस्केप, प्राक्टिल स्पेसल इफेक्टले फिल्मलाई अब्बल तुल्याएको त छ नै सिनेम्याटिक अपिलिङसहित मनोरञ्जक तुल्याउनु महत्वपूर्ण पक्ष हुन आउँछ । नोलनले थ्रीलर र ड्रामाको क्षणलाई पहिलोपटक सेल्युलोइडमा प्रस्तुत गरेका छन् जसले दर्शकलाई रोमाञ्चक तुल्याउँछ । दोस्रो हाफका कथानक घुम्तीले दर्शकलाई इन्गेज बनाउँछ । तर, दर्शकलाई बुझाउन धेरै जटिल कथ्य नबनाउनु पर्थ्याे भन्ने हो । नोलनको अवधारणा केही थलोमा कठिन देखिन्छ ।

    फिल्ममा प्रायः दोहोरिने वाक्य भनेकै : हामी चम्किलो विश्वमा बस्छौं जसको चरित्र दोहोरो हुन्छ भन्ने हो । अल्गोरिदम, हिप्पोसेन्टर, न्युक्लियर अस्त्र, विकिरणजस्ता भौतिकविज्ञान कथाको केन्द्रमा राखिएको छ । यो एउटा भूत र भविष्यको कथा हो जहाँ रसियाको आणविक थलो होस् वा युरोपको चम्किलो सहर जहाँ हलिउडको पीडादायी उपस्थिति छ । नोलनले एकैसाथ समानान्तर विश्वको परिकल्पना पनि गरेका छन् फिल्ममा । फिल्मका मुख्य पात्र क्याट र एन्ड्रोइको चिनापर्चीले न्यारेटिभमा उत्साह थपेको छ । ओस्लोको फ्रिपोर्टमा हुने ‘रिभर्स अट्याक’ले फिल्मलाई गति दिएको छ ।

    हिरोइनलाई लिएर बनाइएको कन्सेप्टले दर्शकलाई अन्याेल तुल्याउन सक्छ । तर, इन्टरभलपछिको प्लटले दर्शकलाई अवधारणाबारे जानकारी गराउँछ । केही प्रश्नको उत्तरलाई मिठासपूर्वक दिइएको छ जब मुख्य पात्र निश्चित उद्देश्यसहित अप्रेसनमा जान्छ । क्लाइमेक्स दृश्य निकै रोचक छ जहाँ मुख्य पात्र अगाडि बढ्छ र एन्टागोनिस्ट फोर्स उल्टो गतिमा हिँड्छ । अगाडि र पछाडि कुद्ने यो कन्सेप्ट नयाँ र रोचक अवश्य छ । विश्व फिल्मको यस्तो प्रयोग विरलै देख्नलाई मिल्छ ।

    फिल्मको अन्तिम सिक्वेन्स अनपेक्षित छ तर, यसले दर्शकलाई धेरै प्रश्नहरु छाडेर जान्छ । एक किसिमले यो ओपनिङ इन्डिङ (खुला समाप्ति) हो ।

    जोन डेभिड वासिङ्टनको अभिनय मलाई उनको अघिल्लो फिल्म ‘ब्ल्याकान्सम्यान’पछिको दमदार लागेको हो । भावनाको प्रस्तुति र शरीर भाषाको माध्यमबाट उनले कन्फ्युजन र चुनौतीको प्लटलाई न्याय गरेका छन् । रोबर्ट प्याटिन्सनको भूमिका सधैंजसो शक्तिशाली छ । एलिजाबेथ डेकेटीसँग चुनौतीपूर्ण भूमिका छ र एक्सप्रेसन गजब छ । डिम्पल कपाडिया, हिमेश पटेल, क्लिमेन्स पोइजी, माइकल क्लेन, डेन्जल स्मिथको अभिनय सुन्दर लाग्छ ।

    लडविग गोरान्सनको संगीत (ब्याकग्राउन्ड स्कोर) फिल्मको सशक्त पक्ष हो । होइट भान होइटेमाको छायांकन शक्तिशाली छ । ठूलो पर्दामा हेर्दा मात्र मजा लाग्ने दृश्य खिचिएको छ । हुनसक्छ, यही कारण क्रिस्टोफर नोलानले फिल्मलाई हलमै हेर्नुपर्छ भन्ने अवधारणाको वकालत गरेका हुन् । कन्फ्युज र पजल नै किन नहोस् टेनेट, यसले दर्शकलाई नयाँ सिनेम्याटिक अनुभवको बोध चाहिं अवश्य गराउनेछ । कन्सेप्ट, म्युजिक स्कोर, भीएफएक्स र एक्सनको कारण फिल्म अब्बल बनेको हो । महामारीको समयमा नेपालमा हलमा रिलिज हुन नसके पनि एचबीओ म्याक्ससहितका ओटिटी प्लेटफर्मबाट फिल्म रिलिज भएको छ ।

    रेटिङ : ३
    निर्देशक : क्रिस्फोटर नोलन
    कास्ट : जोन डेभिड वासिङ्टन, रोबर्ट प्याटिन्सन, केनेथ ब्रानग, एलिजाबेथ डेबेस्की, डिम्पल कपाडिया

  • वार्नर ब्रोजद्धारा २०२१ का सबै फिल्मलाई स्ट्रिमिङ गर्ने घोषणा

    वार्नर ब्रोजद्धारा २०२१ का सबै फिल्मलाई स्ट्रिमिङ गर्ने घोषणा

    लस एन्जल्स / हलिउडको प्रतिष्ठित स्टुडियो वार्नर ब्रोजले सन् २०२१ का लागि पाइपलाइनमा रहेका आफ्ना सबै १७ फिल्मलाई स्ट्रिमिङ गर्ने घोषणा गरेको छ । यो निर्णयलाई हलिउडकै अहिलेसम्मकै बोल्ड कदमको रुपमा अन्तराष्ट्रिय संचारमाध्यमले लिएका छन् ।

    अब एचबीओ म्याक्समा दर्शकले निःशुल्क यी फिल्म हेर्न पाउनेछन् । कोरोनाभाइरसको बढ्दो संक्रमणबीच हलिउडको अग्रणी स्टुडियोले यस्तो निर्णय लिएको हो । साथै यी फिल्मलाई अमेरिकी हलमा समेत रिलिज गरिने भएको छ । अहिले न्यून अकुपेन्सीसहित अमेरिकामा हल चलिरहेका छन् तर व्यवसायिक मुनाफा छैन ।

    बिग बजेटका फिल्महरु :

    सुसाइड स्क्वाडका सिक्वेल, गोडजिला भर्सेस कङ, ड्युन, द म्याट्रिक्स ४, लिन म्यानुअलको इन द हाइट्स, क्लाइन्ट इस्टवुडको क्राइ म्याचो, हरर फिल्म कन्जुरिङको आउँदो सिक्वेल, स्पेस जामः अ न्यू लिगेसी लगायत छन् । एचबीओ सब्सक्राइब गरेपछि दर्शकले सीधै यी ठूला फिल्म हेर्न पाउनेछन् ।

    वार्नर ब्रोजको यो निर्णयपछि फिल्म हलको भविष्यमाथि बहस सुरु भएको छ । यस्तो बहस चलिरहँदा युनिभर्सल पिक्चर्स र डिज्नेले समेत आफ्ना ठूला फिल्मलाई अर्को वर्षसम्म पोस्टपोन्ड गरेका छन् । आउँदो महिनादेखि अमेरिकामा कोभिड भ्याक्सिन लगाउने तयारी भैरहेपनि वार्नर ब्रोजले आफू यसप्रति विश्वस्त नभएको भन्दै स्ट्रिमिङको निर्णय लिएको हो ।

    ‘अरु व्यापारजस्तै फिल्मको व्यापार पनि संकटसँग जुधिरहेको छ’ वार्नर मिडियाका कार्यकारी अधिकृत जेसन किलरले भने, ‘हामी महामारीको मध्यमा छौं । हामी भविष्यका लागि उपयुक्त बाटो खोजिरहेका छौं । हामीले गर्न सक्ने भनेको दर्शकमाझ राम्रा र ठूला फिल्मलाई सार्वजनिक गर्नु हो जुन भनेको स्ट्रिमिङ नै हो ।’

    उनका अनुसार सन् २०२१ को परिस्थिती हेरेर कम्पनीले वितरण प्रणालीको यो हाइव्रिड मोडेललाई आत्मसात गर्नेछ । वार्नर ब्रोज अध्यक्ष टबी एमेरिचले पनि चिकित्सकले भाइरसको जोखिम औंल्याएकाले आफूहरुले यस्तो निर्णय लिएको न्यूयोर्क टाइम्ससँगको अन्तर्वार्तामा बताएका छन् । ‘हामी अझै एकवर्ष पर्ख र हेरको तयारीमा छौं’ एमेरिचले भने ।

    यसवर्षको क्रिसमसमा वार्नरको सबैभन्दा ठूलो फिल्म ‘वन्डर वुमन १९८४’ स्ट्रिमिङ हुँदैछ । यो फिल्मको प्रिक्वेलले गतवर्ष नेपाली फिल्म घरमा राम्रो व्यवसायिक प्रदर्शन गरेको थियो । तत्काललाई एचबीओमार्फत अमेरिकी दर्शकले फिल्म हेरेपनि नेपाली दर्शकलाई सुविधा उपलब्ध हुनेछैन । वर्ष २०२१ को सुरुआती महिनामा मात्र एचबीओले अमेरिकाभन्दा बाहिर सेवा प्रवाह गर्दैछ ।