Tag: स्वास्थ्य सामग्री

  • इटालीद्वारा नेपाललाई स्वास्थ्य सामग्री सहयोग

    इटालीद्वारा नेपाललाई स्वास्थ्य सामग्री सहयोग

    काठमाडौं । इटालीले नेपाललाई कोभिड-१९ को उपचार तथा रोकथामका लागि दिएको आवश्यक स्वास्थ्य सामग्री आज बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुगेको छ ।

    युरोपियन युनियनको ‘नागरिक सुरक्षा संयन्त्र’मार्फत इटालीले नेपाललाई २० थान भेन्टिलेटर, ६ हजार आइसोलेशन गाउन र १० हजार प्रोटेक्टिभ स्वास्थ्य सामग्री सहयोग गरेको हो । नेपालस्थित युरोपियन युनियनका राजदूत नोना डेप्रेजले उक्त स्वास्थ्य सामग्री आजै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रमुख विशेषज्ञ डा. रोशन पोखरेललाई हस्तान्तरण गरे ।

    सो अवसरमा राजदूत डेप्रेजले युनियन र यसका सदस्य राष्ट्रसँगले नेपालको वर्तमान विषम परिस्थितिमा विभिन्न सहयोग गरिरहेको उल्लेख गर्दै उक्त सहयोगले कोभिड-१९ को उपचार तथा रोकथाम र नेपालको सार्वजनिक स्वास्थ्य क्षेत्रमा टेवा पुग्ने धारणा व्यक्त गरे ।

    प्रमुख विशेषज्ञ डा. पोखरेलले युरोपियन युनियनको समन्वयमा नेपालले ठूलो मात्रामा स्वास्थ्य सामग्री प्राप्त गरेकामा मन्त्रालयका तर्फबाट धन्यवाद दिँदै प्राप्त स्वास्थ्य सामग्रीको प्रभावकारी सदुपयोग हुने गरी सबै प्रदेशमा वितरण गरिने जानकारी दिए ।

    यसअघि युरोपियन युनियनका सदस्य राष्ट्र स्पेन, फिनल्यान्ड, फ्रान्स, बेल्जियम, जर्मनी स्लोभेनिया, अष्ट्रिया, माल्टा, डेनमार्क र आयरल्यान्डले नेपाललाई कोभिड-१९ को उपचार तथा रोकथाममा आवश्यक स्वास्थ्य सामग्री सहयोग गरिसकेको युनियनको कार्यालयले जनाएको छ ।

  • कोरियाका नेपालीद्वारा रामेछापलाई स्वास्थ्य सामग्री सहयोग

    कोरियाका नेपालीद्वारा रामेछापलाई स्वास्थ्य सामग्री सहयोग

    काभ्रे । रामेछाप सम्पर्क समिति दक्षिण कोरियाद्वारा रामेछाप जिल्लाका सबै नगरपालिका तथा गाउँपालिकालाई ६ लाख ६९ हजार ४०० रुपैयाँ बराबरको स्वास्थ्य सामग्री सहयोग गरिएको छ ।

    गत शुक्रबार, शनिबार र आइतबार गरी जिल्लाका सबै नगरपालिका तथा गाउँपालिकामा अक्सिजन कन्सन्ट्रेटर वा मिनी भेन्टिलेटर मध्ये एक/एक थान, ग्लुकोमिटर एक/एक थान, मास्क १०० थान, पञ्जा १०० थान र स्यानिटाइजर प्रत्येक नगरपालिका तथा गाउँपालिकाकामा पुगी वितरण गरिएको संस्थाका पूर्वअध्यक्ष तथा सहयोग अभियानका संयोजक भीम खड्काले बताए ।

    स्वास्थ्य सामग्री खरिद गर्नुअघि प्रत्येक पालिकाका अस्पताल तथा स्वास्थ्य केन्द्रसँग समन्वय गरी आवश्यक सामग्री अनुरुप खरिद गरी सहयोग गरिएको संयोजक खड्काले बताए । कोभिड नियन्त्रणका लागि महत्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै जिल्लाको तामाकोशी सेवा समितिद्वारा सञ्चालित तामाकोशी अस्पताललाई पनि पालिकालाई दिए बराबर स्वास्थ्य सामग्री सहयोग गरिएको छ ।

    पछिल्लो समय जिल्लामा पनि कोरोनाको दोस्रो भेरियन्ट देखिएपछि कोरोनाका कारण अस्वस्थ हुने तथा ज्यानै गुमाउनेको संख्या बढ्न थालेको थियो । उक्त विपत्जन्य अवस्थालाई मध्यनजर गर्दै यहाँ रहेका जिल्लावासी तथा नेपालीसँग सहयोग सङ्कलन अभियान चलाइएको थियो । अभियानबाट ६ लाख ६२ हजार २८४ रुपैयाँ उठेको थियो ।

    त्यस्तै यही अभियानमा थपिने गरी नेपालमा ३५ हजार ५३४ रुपैयाँ सङ्कलन भएको थियो । संकलित जम्मा रकम मध्येबाट ती सामग्री खरिद गरिएको हो ।यस कार्यका लागि विशेषतः रामेछाप सम्पर्क समितिका तर्फबाट दक्षिण कोरियामा रहेका नेपालीमाझ एक महिनासम्म सहयोग सङ्कलन अभियान चलाइएको थियो ।
    रासस

  • तमुः समाज बेलायतद्वारा ११ लाखको स्वास्थ्य सामग्री प्रदान

    तमुः समाज बेलायतद्वारा ११ लाखको स्वास्थ्य सामग्री प्रदान

    काठमाडौं । बेलायतमा परोपकारी संस्थाको रूपमा छवि बनाएको तमुः समाज युकेले नेपालमा कोरोनापीडितका लागि हालै ११ लाख २५ हजार रुपैयाँ सहयोग गरेको छ ।

    समाजले कोरोना महामारीमा स्वास्थ्य सामग्री सहयोग साथै उपचारमा सघाउँदै आएका महावीर पुनले स्थापना गरेको राष्ट्रिय आविष्कार केन्द्रलाई पाँच लाख २५ हजार रुपैयाँ, सञ्चारकर्मी रवि लामिछानेको फाउण्डेशनलाई तीन लाख र लेखिका एवं जुम्लामा स्वास्थकर्मीका रूपमा काम गर्दै आएकी राधा पौडेलको फाउण्डेशनलाई तीन लाख सहयोग गरेको संस्थाका संस्थापक अध्यक्ष चित्र गुरुङले जानकारी दिए ।

    तमुः समाज युकेले चन्दामार्फत रकम सङ्कलन गरेको हो । जसको प्रचार-प्रसार अभियान सञ्चालनमा संस्थापक अध्यक्ष थिए । बेलायतमा कोरोना देखिएपछि समाजले यहाँको सरकारी अस्पताललाई एक हजार पाउण्ड बराबरको पीपीइसमेत सहयोग गरेको थियो । त्यस्तै बेलायतमा रहेका नेपाली वृद्ध वृद्धालाई पीपीइ वितरण, नेपाली विद्यार्थी र कोरोनाका कारण जागिर गुमाएका करिब ३०० जनालाई खाद्यान्न वितरणसमेत गरेको थियो ।

    समाजले गुरुङ समुदायको भाषा, धर्म, संस्कार र संस्कृतिको जगेर्ना गर्न विभिन्न धार्मिक तथा सांस्कृतिक चाडपर्वलाई विशेष महत्वसहित भव्यताकासाथ मनाउँदै आएको छ । यसबाट प्रवासमा रहेका भावी पुस्तालाई आफ्नो मातृभूमि एवं भाषा, संस्कार, संस्कृति र परम्पराबारे सधैँ सचेत रहन सघाएको समाजका संस्थापक अध्यक्ष गुरुङले बताए ।

    नेपालमा कोरोना देखिएसँगै समाजले काठमाडौं र पोखरामा गरी दुई ठाउँमा बेरोजगारलाई दुई लाख बराबरको खाद्यान्न वितरण गरेको र पटक–पटक गरी कोरोना पीडितका लागि हालसम्म नेपालमा मात्रै ३० लाख बराबरको सहयोग गरेको संस्थापक अध्यक्ष गुरुङले बताए ।

    लुम्बिनी अस्पताललाई अक्सिजन कन्सन्ट्रेटर सहयोग

    बेलायतको लण्डन शहरको वाटफोर्ड जनरल अस्पतालका नेपाली चिकित्सकको अग्रसरतामा ४० थान अक्सिजन कन्सन्ट्रेटर लुम्बिनी प्रादेशिक अस्पतालका लागि पठाइएको छ । वाटफोर्ड अस्पतालमा कन्सलट्यान्ट फिजिसियनका रूपमा कार्यरत डा. मोहन थापाले संयोजनकारी भूमिका गरी थालनी गरेको सहयोग अभियानमा सोही अस्पतालमा कार्यरत भारतीयमूलका अन्य चिकित्सकहरूले आफ्नो संस्था बिएपीआइओबाट सहयोगमा गरेका थिए ।

    यसरी सङ्कलन गरिएको कन्सन्ट्रेटर लुम्बिनी प्रादेशिक अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा. राजेन्द्र खनाललाई बिहीबार हस्तान्तरण गरिएको डा. थापाले जानकारी दिए । बेलायतस्थित कल्याणकारी संस्था, हेल्थ एक्सचेन्ज युकेका अध्यक्ष प्रा सत्येन राजभण्डारी तथा नेप्लिज डक्टर्स एशोसिएशन युकेले पनि ती उपकरण नेपाल पठाउन सहयोगी भूमिका निर्वाह गरेका थिए । त्यस्तै स्थानीयस्तरमा डायबिटिज नेपाल नामक संस्थाले सघाएको थापाले जानकारी दिए ।

    लुम्बिनी प्रादेशिक अस्पताललाई हालसम्म पाएको सहयोगको सबैभन्दा बढी मात्रमा यसपटक सहयोग पाएको र कोभिडसँग लडिरहेका बिरामीका लागि अक्सिजन कन्सन्ट्रेटर निकै उपयोगी हुने बताउँदै सबै सहयोगीलाई डा. खनालले धन्यवाद दिए ।

  • ताप्लेजुङमा अक्सिजन कन्सन्ट्रेटरसहित स्वास्थ्य सामग्री वितरण

    ताप्लेजुङमा अक्सिजन कन्सन्ट्रेटरसहित स्वास्थ्य सामग्री वितरण

    ताप्लेजुङ । ताप्लेजुङका दुर्गम तथा हिमाली गाउँसहित सबै स्थानीय तहलाई अक्सिजन कन्सन्ट्रेटर सहितका स्वास्थ्य सामग्री वितरण गरिएको छ ।

    कोरोना सङ्क्रमण गाउँ–गाउँमा फैलिँदै गएको अवस्थामा हिमालयन डेभलपमेन्ट फाउण्डेसन अष्ट्रेलिया लगायतका संस्थाले स्वास्थ्य सामग्रीहरु वितरण गरेको हो । जिल्लाको नौ वटै स्थानीय तह र दुर्गम हिमाली गाउँहरु ओलाङ्चुङगोला, घुन्सा र पापुङलाई उक्त स्वास्थ्य सामग्रीहरु उपलब्ध गराइएको छ ।

    हिमालयन डेभलपमेन्ट फाउण्डेसन अष्ट्रेलिया (एचडीएफए) का नेपाल प्रतिनिधि मिङ्माडण्डु शेर्पाका अनुसार प्रयाप्त स्वास्थ्य पहुँच नभएको दुर्गम तथा विकट क्षेत्र फक्ताङ्लुङ गाउँपालिका–७ ओलाङ्चुङगोला र मिक्वाखोला गाउँपालिका–५ पापुङका लागि एक–एक थान अक्सिजन कन्सन्ट्रेटर सहितका स्वास्थ्य सामग्री उपलब्ध गराइएको छ ।

    यस्तै दुर्गम गाउँ फक्ताङ्लुङ गाउँपालिका–६ लेलेपको घुन्सालाई अक्सिजन कन्सन्ट्रेटर बाहेकका स्वास्थ्य सामग्री उपलब्ध गराएको शेर्पाले बताए।  दुर्गम गाउँहरु ओलाङ्चुङगोला र पापुङका लागि स्थानीय स्वास्थ्य चौकीमार्फत प्रयोग गर्नेगरी अक्सिजन कन्सन्ट्रेटर उपलब्ध गराइएको छ उक्त दुईवटा गाउँ र घुन्सा समेतलाई भिटामिन–‘सी’, भिटामिन–‘डी’, जिङ्क लगायत विभिन्न एन्टिबायोटिक औषघि उपलब्ध गराएको शेर्पाले जानकारी दिए ।

    यस्तै सदरमुकाम अवस्थित फुङ्लिङ नगरपालिका र आठ वटा गाउँपालिकालाई विभिन्न स्वास्थ्य सामग्री वितरण गरिएको छ ।  जिल्लाको मिक्वाखोला गाउँपालिका, फक्ताङ्लुङ गाउँपालिका, सिरिजङ्घा गाउँपालिका र सिदिङ्वा गाउँपालिकालाई अक्सिजन कन्सन्ट्रेटरसहित स्वास्थ्य सामग्री उपलब्ध गराइएको छ । बाँकी स्थानीय तहलाई भने अक्सिजन कन्सन्ट्रेटर बाहेकका स्वास्थ्य सामग्री मात्र उपलब्ध गराइएको शेर्पाले जानकारी दिए ।

    जिल्लाका स्थानीय तह र स्वास्थ्य संस्थाहरुलाई वितरण गरिएका स्वास्थ्य सामग्रीहरुमा १० हजार थान सर्जिकल मास्क, सेनिटाइजर २५० लिटर, ह्यान्ड सेनिटाइजर १०० एमएलको ५०० थान, टप ग्लोब्स (पञ्जा) ५० बट्टा रहेका छन् । त्यस्तै पीपीई सेट स्पेशल ५० थान, थर्मलगन ४५ थान, अक्सिमिटर ४५ थान, फेस सिल २०० थान, एन–९५ मास्क ५०० थान र अन्य भिटामिन, एन्टिबायोटिक औषधि रहेका छन् ।

    हिमालयन डेभलपमेन्ट फाउण्डेसन अष्ट्रेलियाको सहयोगमा प्राप्त उक्त स्वास्थ्य सामग्री सबै स्थानीय तहललाई समान रुपमा वितरण गरिएको  हाे ।  सदरमुकाम फुङ्लिङस्थित जिल्ला अस्पताललाई तीन थान अक्सिजन कन्सन्ट्रेटर प्रदान गरिएको छ ।

     

  • चीनद्वारा स्वास्थ्य सामग्री प्रदान

    चीनद्वारा स्वास्थ्य सामग्री प्रदान

    काठमाडौं । कोभिड-१९ का कारण नेपालमा संक्रमित बिरामीको उपचारमा सहज पार्न चीन सरकारले आज अक्सिजन सिलिण्डर प्रदान गरेको छ ।

    स्वास्थ्य सेवा विभागलाई एक हजार ५०० थान अक्सिजन सिलिण्डर एवम् पाँच लाख २७ हजार ५०० थान एन-९५ मास्क टिमुरेस्थित भन्सार हातामा आइसकेको रसुवा भन्सार कार्यालय टिमुरेका प्रमुख भन्सार अधिकृत रामप्रसाद रेग्मीले बताए ।

    आफ्नो हातामा ल्याइएका सामग्री नियमानुसार परीक्षण अगाडि बढिरहेको र ती सामग्री आजै टिमुरेबाट काठमाडौँ लगिने प्रमुख भन्सार अधिकृत रेग्मीले जानकारी दिए ।

  • नवलपुरका स्वास्थ्य संस्थालाई कांग्रेस महामन्त्रीले दिए स्वास्थ्य सामग्री

    नवलपुरका स्वास्थ्य संस्थालाई कांग्रेस महामन्त्रीले दिए स्वास्थ्य सामग्री

    नवलपुर । नेपाली कांग्रेसका महामन्त्री डा.शशांक कोइरालाले गृह जिल्ला नवलपुरका स्वास्थ्यसंस्थाहरुलाई १३ लाख रुपैयाँ बराबरको स्वास्थ्य सामग्री हस्तान्तरण गरेका छन् ।

    महामन्त्री कोइरालाले व्यक्तिगत खर्चमा गैडाकोट नगर अस्पताल, प्राथमिक स्वास्थ्य केन्द्र दुम्कौली,मध्यविन्दु जिल्ला अस्पताल, बुलिङटार प्राथमिक स्वास्थ्य केन्द्र लगायतलाई अत्यावश्यक स्वास्थ्य सामाग्री उपलब्ध गराएका हुन् ।

    जिल्ला प्रहरी कार्यालय, जिल्ला ट्राफिक प्रहरी कार्यालय लगायतलाई पनि कोइरालाले स्वास्थ्य सामाग्री उपलब्ध गराएका छन् ।

    ६ थान अक्सिजन कन्सट्रेटर, १० थान अक्सिजन सिलिण्डर, २३ हजार थान सर्जिकल मास्क, ५ सय ६० वटा फेसशिल्ड, २ सय ३० लिटर स्यानिटाइजर, २ वटा आइसीयु बेड, २ सय ५० थान पिपिई हस्तान्तरण गरिएको महामन्त्री कोइरालाका सहयोगी एवं कांग्रेस नेता भरत तिवारीले जानकारी दिए ।

  • थाइल्यान्डका राजाले सहयोग गरेको स्वास्थ्य सामग्री नेपाल आइपुग्यो

    थाइल्यान्डका राजाले सहयोग गरेको स्वास्थ्य सामग्री नेपाल आइपुग्यो

    काठमाडौं । थाइल्याण्डका राजपरिवारले कोरोना महामारीविरुद्ध लड्न नेपाललाई सहयोग गरेको स्वास्थ्य सामग्री नेपाल आइपुगेको छ ।

    स्वास्थ्य सामग्री लिएर थाइ एयर फोर्सको जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अवतरण गरेको हो ।

    थाइ राजपरिवारले १० लाख थान सर्जिकल मास्क, पीपीई गाउन ११ हजार ५२० थान, पीपीई लेग कभर १० हजार जोडी, पीपीई सर्जिक क्याप १० हजार थान, फेस शिल्ड पाँच हजार, रेपिड एन्टिजन युनिट २० हजार युनिट, फिङ्गर टिप्स पल्स अक्सिमिटर ६०० थान, डिजिटल थर्मोमिटर एक हजार ५०० थान, बोडी ब्याग एक हजार, अक्सिजन नाजल ३० थान, अक्सिजन कन्सन्ट्रेटर आठ थान सहयोग गरेको छ ।

    त्रिभुवन विमानस्थलमा आयोजित एक समारोहकाबीच नेपालका लागि थाइ राजदूत भोषिता भोरासाफले स्वास्थ तथा जनसंख्या मन्त्री हृदयश त्रिपाठीलाई ती सामग्री हस्तान्तरण गरे । विमानस्थलमा आयोजित छोटो समारोहमा परराष्ट्र मन्त्री प्रदीप ज्ञवाली र शिक्षा विज्ञान तथा प्रविधि मन्त्री कृष्ण गोपाल श्रेष्ठको उपस्थिति थियो ।

    थाइल्यान्डकाका राजा महाभजिरालोङ्कर्नले नेपाललाई शनिबार स्वास्थ्य सामग्री हस्तान्तरण गरेका थिए ।

    थाइ एयर फोर्सको कार्यालयमा आयोजित समारोहमा राजाको तर्फबाट काउन्सिलर चिरायू इस्र्काङ्न ना आयुथायाले नेपाली राजदूत गणेशप्रसाद ढकाललाई सामग्री प्रदान गरेका थिए ।

  • वागमती सरकारलाई कोभिडविरुद्ध लड्न पौने दुई करोडका स्वास्थ्य सामग्री सहयोग

    वागमती सरकारलाई कोभिडविरुद्ध लड्न पौने दुई करोडका स्वास्थ्य सामग्री सहयोग

    हेटौंडा । वागमती प्रदेश सरकारलाई ब्याक टु लाइफ नामक अन्तर्राष्ट्रिय संस्थाले स्वास्थ्य सामग्री सहयोग गरेको छ ।

    संस्थाले कोभिड-१९ को उपचार तथा व्यवस्थापनमा सहयोग हुने करिब १ करोड ७० लाख रुपैयाँ बराबरका विभिन्न स्वास्थ्य सामग्री हस्तान्तरण गरेको हो ।

    संस्थाले प्रदेश सरकारलाई कोभिड उपचार तथा व्यवस्थापनमा सहयोग पुर्‍याउने उद्देश्यका साथ एक करोड ७० लाख रुयैयाँ बराबरको स्वास्थ्य सामग्री हस्तान्तरण गरेको हो ।

    शनिवार प्रदेशको सामाजिक विकास मन्त्रालयमा एक कार्यक्रमको आयोजना गरेर स्वास्थ्य सामग्री प्रदेशका मुख्यमन्त्री, डोरमणि पौडेललाई हस्तान्तरण गरेको हो ।

    संस्थाले अक्सिजन कन्सेन्टेटर, हाई फ्रिक्वेन्सीको मोबाइल एक्सरे, पीपीई, मास्कलगायतका विभिन्न स्वास्थ्य सामग्री सहयोग गरेको मुख्यमन्त्री पौडेलका प्रेस सम्योजक प्रकाश दाहालले जानकारी दिए ।

    संस्थाले अक्सिजन कन्सन्ट्रेटर र १८ थान, हाई फ्रिक्वेन्सीको मोबाइल एक्सरे २ थान, पल्स अक्सो मिटर ६० थान, सिरिन्ज पम्प, ईन्फेसन पम्प ५/५ थान, मास्क ६ हजार थान, सर्किजल मास्क एक लाख थान, फेससिल्ड २७०० थान, पीपीई ११०० थान, मोनीटर ३० थान, इलेक्ट्रो कार्डियोग्राम १० थान स्वास्थ्य सामग्री मुख्यमन्त्री पौडेललाई हस्तान्तरण गरेको प्रेस सम्योजक प्रकाश दाहालले जानकारी दिए ।

    स्वास्थ्य सामग्री हस्तान्तरण कार्यक्रममा प्रदेशका सामाजिक विकास मन्त्री सरस्वती बस्नेतलगायतको सहभागिता थियो ।

    जर्मनीको अन्तर्राष्ट्रिय संस्था ब्याक टु लाइफले नेपालमा सन् २००९ देखि शिक्षा, स्वास्थ्य र सामुदायिक विकासको क्षेत्रमा काम गरिरहेको छ ।

  • स्विट्जरल्याण्डले नेपाललाई स्वास्थ्य सामग्री पठाउने

    स्विट्जरल्याण्डले नेपाललाई स्वास्थ्य सामग्री पठाउने

    काठमाडौं । स्विट्जरल्याण्डले कोभिड-१९ रोकथाम र नियन्त्रणका लागि नेपाललाई विभिन्न स्वास्थ्य सामग्री पठाउने भएको छ ।

    उपप्रधानमन्त्री ईश्वर पोखरेलसँग आज भएको टेलिफोन संवादमा नेपालका लागि त्यहाँका राजदूत एलिजावेथ भन क्यापिलरले कोरोनाभाइरसको रोकथाम र नियन्त्रणमा नेपाल सरकारलाई विभिन्न स्वास्थ्य सामग्री सहयोग गर्न लागिएको जानकारी दिएको उनका प्रेस सल्लाहकार गणेश पाण्डेले जानकारी दिए ।

    राजदूत क्यापिलरका अनुसार स्विस सरकारले अक्सिजन कन्सेन्ट्रेटर, पीपीई, मास्क र एन्टिजेन परीक्षण किट सहयोग गर्न लागेको हो ।

    उपप्रधानमन्त्रीसंगको टेलिफोन संवादमा स्वास्थ्य सामाग्री बोकेको गुल्लिभ एयरको कार्गो चार्टर्ड जहाज शनिबार काठमाडौं आइपुग्ने स्विस राजदूतले जानकारी दिए । चार्टर्ड फ्लाइटको खर्च स्विस सरकारले नै बेहोर्ने बताइएको छ ।

  • स्वास्थ्य सामग्री आयातमा भन्सार जाँचपास छिटो र छरितो बनाउन अर्थमन्त्रीको निर्देशन

    स्वास्थ्य सामग्री आयातमा भन्सार जाँचपास छिटो र छरितो बनाउन अर्थमन्त्रीको निर्देशन

    काठमाडौं । अर्थमन्त्री विष्णुप्रसाद पौडलले कोभिड-१९ को रोकथाम, उपचार र नियन्त्रणसँग सम्बन्धित स्वास्थ्य सामग्री, उपकरण र औषधीको भन्सार जाँचपासलाई तिब्रताका साथ अगाडि बढाउन निर्देशन दिएका छन् ।

    भर्चुअल रूपमा गरिएको एक कार्यक्रमका बीच अर्थमन्त्री पौडेलले भन्सार विभागका महानिर्देशक, उपमहानिर्देशक, विभिन्न भन्सार कार्यालयका प्रमुखहरूलाई केन्द्र, प्रदेश, स्थानीय तह, गैरसकारी संस्था, निजी क्षेत्रले आयात गर्ने लिक्विड अक्सिजन, अक्सिजन सिलिन्डर, अक्सिजन प्लान्ट र त्यसका पार्टपूर्जा लगायतका सामग्रीहरुको बिना झन्झट भन्सार जाँचपास गरी आपूर्तिलाई थप सहज बनाउन निर्देशन दिएका हुन् ।

    उनले एकातिर कोभिड-१९ बाट जोगिनु पर्ने र अर्कातिर प्रभावकारी रुपमा कार्य सम्पादन गर्नुपर्ने अवस्था रहेको भन्दै स्वास्थ्य मापदण्ड पालना गरी काम गर्न कर्मचारीहरूलाई निर्देशन दिए ।

    अर्थमन्त्री पौडेलले कोभिड-१९ को उपचारका लागि आयात भएका वस्तुको परिणाम र मूल्यसहित दैनिक रुपमा जानकारी गराउन समेत निर्देशन दिएका छन् ।

    अर्थसचिव शिशिरकुमार ढुङ्गानाले कोभिड-१९ को रोकथाम, नियन्त्रण र उपचारसँग सम्बन्धित सामग्रीको भन्सार जाँचपास सम्बन्धी संक्षिप्त कार्यविधि जारी गरी लागू गर्न निर्देशन दिए ।

    राजस्वसचिव रामशरण पुडासैनीले छिटो जाँचपासका लागि छिमेकी मुलुकको भन्सार कार्यालयहरूसँग समन्वय गरी २४ सै घण्टा प्रभावकारी रूपमा काम गर्न निर्देशन दिए ।

    भन्सार विभागका महानिर्देशक यमलाल भुसालले अत्यावश्यक वस्तुको आपूर्तिलाई सहज बनाउन विभागले क्विक रेस्पोन्स टिम बनाएर काम गरिरहेको जानकारी दिए ।

  • नेपाल चेम्बरद्वारा सरकारी अस्पताललाई स्वास्थ्य सामग्री वितरण

    नेपाल चेम्बरद्वारा सरकारी अस्पताललाई स्वास्थ्य सामग्री वितरण

    काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले काठमाडौंका विभिन्न अस्पताललाई अत्यावश्यक स्वास्थ्य सामग्री वितरण गरेको छ ।

    चेम्बरका अध्यक्ष राजेन्द्र मल्लसहितका पदाधिकारीले काठमाडौंका सरकारी अस्पताललाई पीपीई सेट, सर्जिकल मास्क, सर्जिकल पञ्जा, भीटामिन सी ट्याबलेट, सिटामोल ट्याबलेट लगायत अत्यावश्यक सामग्रीहरू वितरण गरेको हो ।

    चेम्बरको टोलीले नेपाल प्रहरी अस्पताल, कान्ति बाल अस्पताल, परोपकार मातृ तथा बाल अस्पताल थापाथली, वीर अस्पताल, त्रिवि शिक्षण अस्पताल, छत्रपाटी निःशुल्क अस्पतालमा आइतबार सामग्री वितरण गरेको छ ।

    चेम्बरले कोभिड–१९ को दोस्रो लहरका कारण उत्पन्न स्वास्थ्य संकट समाधानका लागि विपद् व्यवस्थापन समितिका सभापति एवं कार्यसमितिका उपाध्यक्ष दीपक कुमार मलहोत्राको संयोजकत्वमा ‘नेपाल चेम्बर कोभिड–१९ केन्द्रीय व्यवस्थापन समिति’ गठन गरी विभिन्न अभियानहरू सञ्चालन गरिरहेको छ ।

    उक्त अभियान अन्तर्गत बिरामीको बढी चाप हुने सरकारी अस्पतालहरूमा अत्यावश्यक स्वास्थ्य सामग्री वितरण गरिएको चेम्बरले जनाएको छ ।
    अस्पतालहरूमा अत्यावश्यक अक्सिजन तथा सिलिन्डरको अभाव देखिएकाले यथासिघ्र सिलिन्डर तथा अक्सिजन कन्सेन्टेटर आयात गरी एक साताभित्र अस्पतालमा वितरण गरिने नेपाल चेम्बरका अध्यक्ष राजेन्द्र मल्लले जानकारी बताए ।

  • कोरोना संक्रमितको उपचारमा प्रयोग हुने १० स्वास्थ्य सामग्रीमा कर छुट (सूचीसहित)

    कोरोना संक्रमितको उपचारमा प्रयोग हुने १० स्वास्थ्य सामग्रीमा कर छुट (सूचीसहित)

    काठमाडौं । सरकारले अक्सिजन सिलिन्डरलगायतका १० प्रकारका स्वास्थ्य सामग्रीमा कर छुट दिने निर्णय गरेको छ ।

    १३ गतेको मन्त्रिपरिषद् बैठकको निर्णय अनुसार कोरोना संक्रमितको उपचार व्यवस्थापनका लागि आवश्यक पर्ने ती सामग्रीमा छुट दिइएको हो ।

    अक्सिजनसहित १० प्रकारको सामग्रीको पैठारीमा लाग्ने भन्सार, मूल्य अभिवृद्धि कर, तथा अन्त शुल्कसमेत छुट दिने निर्णय भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै जानकारी गराएको हो ।