Tag: स्वास्थ्य मन्त्रालय

  • स्वास्थ्य मन्त्रालयद्वारा १५ सय २० स्वास्थ्यकर्मीको समायोजन मिलान (सूचीसहित)

    स्वास्थ्य मन्त्रालयद्वारा १५ सय २० स्वास्थ्यकर्मीको समायोजन मिलान (सूचीसहित)

    काठमाडौं । स्वास्थ्य मन्त्रालयले १ हजार ५ सय २० स्वास्थ्यकर्मीहरूको समायोजन मिलान गरेको छ ।

    कर्मचारी समायोजनका क्रममा चित्त नबुझेका, फाजिलमा परेकाहरूलाई समायोजन मिलानका लागि मन्त्रालयले अनलाइनबाट आवेदन मागेको थियो ।

    स्वास्थ्य सेवाका कर्मचारीहरूको समायोजन मिलानसम्बन्धी व्यवस्था २०७७ बमोजिम निवेदन मागिएकोमा प्रक्रिया पुगेकाहरूको समायोजन मिलान गरिएको मन्त्रालयले जनाएको छ । करिब २ हजार ५ सयजनाले आवेदन दिएका छन् ।

    समायोजन मिलान गरेका कर्मचारीले समायोजन मिलानसम्बन्धी पत्र यहाँ क्लिक गरेर आफैं डाउनलोड गर्न सकिने बताइएको छ ।

  • शैक्षिक संस्था कोरोनाको हटस्पट : स्वास्थ्य मन्त्रालय

    शैक्षिक संस्था कोरोनाको हटस्पट : स्वास्थ्य मन्त्रालय

    काठमाडौं । स्वास्थ्य मन्त्रालयले शैक्षिक संस्था कोरोनाभाइरसको हटस्पट बन्दै गएको बताएको छ । नियमित मिडिया ब्रिफिङमा प्रवक्ता जागेश्वर गौतमले विद्यालय, कलेज भाइरसले प्रभावित बनेको बताए ।

    उनका अनुसार टेकुसहितका विभिन्न अस्पतालमा पछिल्लो समय कोरोनाका बिरामी बढेको र तीमध्ये अधिकांश कलेज र स्कुलका शिक्षक रहेको पाइएको छ । कोरोनाको कारण पछिल्लो समय विद्यालय र कलेज संक्रमित भएको र बन्द गर्ने क्रम बढेको समेत जनाए ।

    प्रवक्ता गौतमले विद्यालयमा जनस्वास्थ्यका मापदण्डलाई अनिवार्य रुपमा लागु गर्न समेत आग्रह गरे । शैक्षिक संस्थामा जनस्वास्थ्यका मापदण्ड कार्यान्वयनमा फितलो भएको समेत उनले जनाए ।

    स्वास्थ्य मन्त्रालयले भीडभाड नगर्न र मापदण्ड कार्यान्यवन गर्न भनेपनि सर्वसाधारणले त्यसको अवज्ञा गर्दै आइरहेका छन् । विज्ञहरुले यस्तै अवस्था कायम रहे कोरोनाका दोस्रो लहर आउन सक्ने बताएका छन् ।

  • सीसीएमसीलाई स्वास्थ्य मन्त्रालयको ८ बुँदे सुझाव : नाकामा निगरानी, बिमानस्थलमा कडाइ

    सीसीएमसीलाई स्वास्थ्य मन्त्रालयको ८ बुँदे सुझाव : नाकामा निगरानी, बिमानस्थलमा कडाइ

    काठमाडौं । कोरोना संक्रमणको जोखिमलाई रोक्न स्वास्थ्य मन्त्रालयले भारतबाट नेपाल प्रवेश गर्ने नाकामा निगरानी बढाउनुपर्ने कोभिड संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) लाई सुझाव दिएको छ । मन्त्रालयले विहिबार आठबुँदे निर्णयसहितको सुझाव पत्र सीसीएमसीलाई पठाएको हो ।

    भारत, बेलायत, जर्मनी, फ्रान्स लगायत युरोपेली मुलुकमा बढेको भाइरस संक्रमणको जोखिम नेपालमा समेत बढेको पत्रमा जनाइएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आन्तरिक र अन्तर्राष्ट्रिय आगमन तथा प्रस्थान कक्षमा निगरानी बढाइ स्वास्थ्य परिक्षणमा सक्रियता बढाउन मन्त्रालयले सुझाव दिएको छ ।

    संक्रमण बढ्ने सम्भावना भएकाले मन्त्रालयले पूर्वतयारी योजना बनाउने पत्रमा उल्लेख छ । सञ्चालनमा रहेका नेपाल-भारत सीमानाकालाई पुनरावलोकन गर्न र संक्रमण दर उच्च हुन पुगेका नाका घटाउनेतर्फ गृह मन्त्रालयले आवश्यक गृहकार्य गर्न पनि सुझाइएको छ ।

    नाका स्वास्थ्य परीक्षणका मापदण्ड पूर्णरुपमा कार्यान्वयन गर्न लगाउने, शंकास्पद व्यक्तिको एन्टिजेन परिक्षण गर्ने, संक्रमितलाई होम आइसोलेसनमा लैजान जिल्ला संकट व्यवस्थापन केन्द्रलाई निर्देशन दिने निर्णय पनि मन्त्रालयले गरेको छ ।

    पर्यटन क्षेत्र अन्तर्गत सञ्चालन हुने रात्रीकालिन कार्यक्रममा स्वास्थ्य मापदण्ड अनिवार्यरुपमा पालना गर्न लगाउने, राती ९ बजेपछि रात्रीकालिन कार्यक्रम बन्द गर्न लगाउने, गर्नैपर्ने कार्यक्रममा सीमित व्यक्तिमात्र उपस्थित हुनुपर्ने निर्णय छ । अनुगमन चाहिँ पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले गर्नुपर्ने उल्लेख छ ।

  • स्वास्थ्य मन्त्रालयको विज्ञप्तिले उद्योगी व्यवसायी चिन्तित

    स्वास्थ्य मन्त्रालयको विज्ञप्तिले उद्योगी व्यवसायी चिन्तित

    काठमाडौं । कोरोना संक्रमण रोक्न सरकारले लगाएको अत्यन्तै कडा लकडाउनको ठूलो मारमा पर्यो निजी क्षेत्र । धेरै उद्योगधन्दाहरु लकडाउनको प्रहारबाट उठ्नै नसक्ने गरी थलिएका छन् ।

    सरकारले २०७६ साल चैत ११ गतेदेखि लकडाउन सुरु गरेको थियो, जुन विभिन्न रुपमा करिब ९ महिनासम्म लम्बियो । लकडाउन, सटडाउन र निषेधाज्ञाका नाममा दैनिक जनजीवन ठप्प हुँदा अत्यावश्यक वस्तुहरुबाहेक सबैको आपूर्ति रोकिएको थियो । अधिकांश कलकारखाना बन्द भएका थिए ।

    अति भएपछि व्यापारीहरुले गत जेठ २१ गते लकडाउन अवज्ञा गर्दै व्यवसाय खोल्ने निर्णय गरेका थिए । दरबारमार्ग, महाबौद्ध, असन, न्यूरोड, भोटाहिटी र ठमेलका व्यापारीले हातमुख जोर्नै समस्या परेको भन्दै २१ जेठ, बिहीबारदेखि पसल खोल्ने निर्णय गरेका थिए । तर, पसल खोलेको ६ दिनपछि न्यूरोडमा नेपाल प्रहरीले पसल बन्द गराएको थियो ।

    लकडाउनबीचमै करको करकर

    लकडाउनका गरी सबै क्षेत्र ठप्प बनाएपछि सरकारको राजश्व संकलन पनि ठप्प भयो । त्यसपछि सरकारले लकडाउनकै बीचमा कर तिर्न ताकेता गरेपछि व्यापारीदेखि सर्वसाधारणसम्म आक्रोशित भएका थिए । नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ र नेपाल चेम्बर अफ कर्मशले विज्ञप्ती नै निकालेर यसको विरोध गरे । त्यसपछि सरकार करका विषयमा लचिलो बन्न वाध्य भएका थियो ।

    प्रधानमन्त्री केपी शर्मा ओलीले जेठ १२ गते देशवासीको नाममा सम्बोधन गर्दै लकडाउनमा नै विभिन्न आयोजनाहरुको काम सूचारु गरिने बताएका थिए । तत्कालिन अर्थमन्त्री डा. युवराज खतिवडाले कोरोनाको बीचमा ल्याएको बजेटले उद्योग संचालनका लागि सरकारले सहयोग गर्ने बताएका थिए । उनले उद्योग धेरै समय बन्द रहँदा आर्थिक क्रियाकलाप बन्द हुने भएकाले सरकारले उद्योग सञ्चालनका लागि सहयोग गर्ने जानकारी दिए ।

    उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले कोरोनासँग डराएरभन्दा पनि सावधानीका उपाए अपनाएर उद्योग कलाकारखाना चलाउने निर्णय गराए । उद्योग मन्त्रालयको प्रस्ताव तथा कोरोना नियन्त्रण उच्चस्तरीय समितको सिफारिसमा गत वैशाख २६ बसेको मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार वैशाख २६ गतेदेखि ४४ प्रकारका उद्योग प्रतिष्ठान सञ्चालन भएका थिए ।

    निजी क्षेत्रका नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल चेम्बर अर्फ कमर्श, नेपाल उद्योग परिसंघ र समुद्रपार निकासी पैठारी संघले बजेटका लागि संयुक्तरुपमा सुझाब दिएका थिए । सुझावमा कोरोनाले थला परेको उद्योगलाई राहत प्याकेज, ब्याजदरमा हुने उतारचढाबलाई निश्चित सीमाभित्र राख्ने ब्यवस्था, कर छुटसम्मको माग राखिएको थियो ।

    त्यस्तै, कर्पोरेट आयकरको दर ५ प्रतिशतले झार्नसमेत सुझाब दिइएको थियो । आयकरको सिमा बढाउन, ब्यक्तिगतलाई ५ लाख र दम्पतिलाई ७ लाखसम्मको कर छुट, सुर्ती तथा मदिराजन्य बस्तुबाहेक अन्य सबै बस्तुहरुमा लाग्ने अन्तशुल्क खारेज गर्नसमेत निजी क्षेत्रले माग गरेको थियो ।

    बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. युवराज खतिवडाले कृषि, साना, मझौला, होटल, पर्यटन क्षेत्रसँग सम्बन्धित उद्योग व्यवसायलाई ५ प्रतिशत ब्याजदरमा ऋण उपलब्ध गराउन १ खर्बसम्मको पुनर्कर्जा उपलब्ध गराएका थिए । घरेलु, साना तथा मझौला उद्योगको उत्थानका लागि ५ प्रतशित ब्याजदरमा कर्जा उपलब्ध गराउन ५० अर्बको छुट्टै कोष स्थापना गर्ने घोषण बजेटमा भएको थियो ।

    लकडाउन अवधिभर उद्योगहरुलाई विद्युतको डिमाण्ड शुल्क छुट दिने अर्थमन्त्रीले घोषणा गरेका छन् । माग कम भएको अवस्थामा खपत हुने बिजुलीको महसुलमा ५० प्रतिशत छुट दिइनेसमेत घोषणा गरिएको थियो ।

    बजेटमा मजदुर तथा कर्मचारीलाई तलब वितरणका लागि ५ प्रतिशत ब्याजदरमा कर्जा पाउने र निजी क्षेत्रले व्यवसाय पुनःसञ्चालनका लागि सोही ब्याजदरमा पुनर्कर्जा सुविधाको समेत व्यवस्था गरेको थियो ।

    लकडाउनको समयमा घर–घरमा सामान डेलिभरी गर्ने अभ्याससमेत गरेको थियो । लकडाउनको समयमा घरबाहिर आवतजावत गर्न रोक लगाइरहेको बेला सरकारी कम्पनीले अनलाइन डेलिभरीका गरेको हो ।

    उद्योगी व्यवसायी भन्छन्ः फेरि त्राश फैलाइयो

    नेपाल उद्योग बाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छा कोरोना नियन्त्रणका लागि लकडाउनले ९ महिनासम्म अन्योलग्रस्त अवस्थामा रहेको नीजि क्षेत्र अहिले लयमा फर्केको बताए ।

    उनले भने, ‘धैरै क्षेत्रहरु रिकभर भइसकेको छ । उद्योगधन्दा, कलकारखाना र गुमेको रोजगारी पुनः सुनिश्चित हुने अवस्थामा पुगेको छ । तरलता नियन्त्रण गर्न राष्ट्र बैंकले ठिक समयमा ठिक निर्णय गरेकाले पनि निजी क्षेत्र माथि उठ्न सहयोग पुगेको हो । तर पर्यटन क्षेत्र भने पुरानो अवस्थामा फर्किन समय लाग्छ ।’

    नेपाल उद्योग परिसंघका अध्यक्ष सतिसकुमार मोर स्वास्थ्य मन्त्रालयले सभा–सम्मेलन नगर्नुु भनेर हालै निकालेको पत्रले निजीक्षेत्र चिन्तामा परेको बताए ।

    उनले भने ‘कोरोनाले थलिएको अर्थतन्त्र माथि उठिरहेको समयमा स्वास्थ्य मन्त्रालयले पुनः सभा र सम्मेलन गर्न भनेर विज्ञप्ती निकालेपछि निजी क्षेत्र फेरी उद्योग सञ्चालनमा समस्या आउने हो की भनेर डराउन पर्ने अवस्था आएको छ ।’

    नेपाल चेम्बर अर्फ कर्मशका अध्यक्ष राजेशकाजी श्रेष्ठले कोरोना कालमा व्यापारीले सामान उपलब्धतामा राम्रो भुमिका खेलेको बताउँछन् । लकडाउनले मानिस बाहिर हिँड्नसमेत डराइरहेको समयमा व्यापारीले दैनिक उपभोग्य बस्तुका आपूर्ति सहज गराएको उनको भनाइ छ ।

    शाक्यले भने ‘व्यापारीहरुले फ्रन्टलाइनमा बसेर काम गरे पनि सरकारले व्यापारीले गरेको योगदान देखेन । बन्दाबन्दीपछि व्यवसाय खुले पनि पुरानो अवस्थामा फर्केको छैन ।

    नेपाल राष्ट्र व्यवसायी महासंघका अध्यक्ष नरेश कटुवालले सबैभन्दा धेरै साना व्यवसायी समस्यामा परेको बताए । उनले भने, ‘हामीले नै सबैभन्दा पहिले बन्दाबन्दी खुलाउनु पर्छ भनेर कुरा उठाएका थियौं । काठमाडौंको महंगो घरभाडा र सरकारले पनि कर बुझाउन तोकता गरेकोले उद्योगी समस्यामा थिए । करिव ९ महिना लामो बन्दाबन्दीपछि व्यापार–व्यवसाय पहिलेको अवस्थामा फर्केको छ । स्वास्थ्य मन्त्रालयले सभा–सम्मेलन नगर्न निकालेको पत्रले व्यवसायी भने त्रासमा परेको छन् ।’

    उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले कोरोनाले थला परेका उद्योगधन्दा माथि उठाउनका लागि उद्योग मन्त्रालयले सहजिकरण गरेको बताए ।

    उनले भने, ‘लकडाउनको समयमा दैनिक उपभोग्य वस्तुको सहज उपलब्धता र कालोबजारी रोक्न मन्त्रालयले महत्वपूर्ण काम गरेको थियो । निजी क्षेत्रका समस्या सुनेर त्यसको समाधानका लागि उद्योग मन्त्रालयले काम गरेको छ ।’

  • कोरोनाको दोस्रो लहरको त्रासमा रोकियो ‘लप्पन छप्पन २’ रिलिज

    कोरोनाको दोस्रो लहरको त्रासमा रोकियो ‘लप्पन छप्पन २’ रिलिज

    काठमाडौं । स्वास्थ्य मन्त्रालयले गतसाता कोभिडको जोखिम कायमै रहेकाले भीडभाडजन्य बैठक, जुलुस, कार्यक्रम र व्यापार नगर्न भन्यो ।

    छिमेकी मुलुक भारतमा दोस्रो लहर सुरु भएकाले नेपालमा जोखिम बढेको भन्दै मन्त्रालयले उक्त आग्रह गरेको थियो । केही दिनयता नेपालमा भाइरस संकट पुनः बढेको छ ।

    दोस्रो वेभ आउन सक्ने चेतावनीको सीधा असर पुनः नेपाली फिल्म क्षेत्रमा देखिएको छ । चैत २७ गते रिलिज हुने तयारीमा रहेको मुकुन्द भट्ट निर्देशित फिल्म ‘लप्पन छप्पन २’को विश्वव्यापी प्रदर्शन पुनः रोकिएको छ ।

    नेपाल प्रेससँग कुरा गर्दै निर्देशक भट्टले पूर्वनिर्धारित मितिमा फिल्म रिलिज नहुने बताए । यो प्रतीक्षित फिल्ममा सौगात मल्लको मुख्य भूमिका छ । उक्त मितिमा यो फिल्म नेपालसहितका अन्य मुलुकमा रिलिज हुने तयारी थियो ।

     

  • स्वास्थ्य मन्त्रालयले भन्यो- कोरोना जोखिम कायमै छ, भीडभाड नगर्नू

    स्वास्थ्य मन्त्रालयले भन्यो- कोरोना जोखिम कायमै छ, भीडभाड नगर्नू

    काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड-१९ को जोखिम कायमै रहेको भन्दै स्वास्थ्य मापदण्ड अपनाउन अनुरोध गरेको छ ।

    मन्त्रालयले एक विज्ञप्ति निकालेर देशभर सभा, जुलुस, र्‍याली, भेला, गोष्ठी, बैठकजस्ता भीडभाड नगर्न अनुरोध गरेको छ । प्रवक्ता डा. जागेश्वर गौतमको हस्ताक्षरमा जारी विज्ञप्तिमा विगत केही हप्तादेखि विश्वभर र खासगरी छिमेकी देशहरूमा कोरोना भाइरस संक्रमण बढ्दो क्रममा देखिएको भन्दै सचेत रहन भनिएको छ ।

    ‘भीडभाड हुने व्यवसाय र कार्यहरू नगर्नु हुन र सामाजिक/भौतिक दूरी, मास्कको अनिवार्य र उचित प्रयोग तथा सावुनपानीले राम्रोसँग हात धुने वा सेनिटाइजरको प्रयोगलगायत मन्त्रालयबाट विगतमा जारी गरिएका अन्य जनस्वास्थ्यका मापदण्डहरू समेत पालना संक्रमण रोकथाममा सहयोग गर्न सरोकारवाला सबैमा हार्दक अनुरोध छ ‘, मन्त्रालयले भनेको छ ।

  • फागुन २३ देखि ६० वर्ष माथिकालाई खोप लगाइने

    फागुन २३ देखि ६० वर्ष माथिकालाई खोप लगाइने

    काठमाडौं । सरकारले फागुन २३ गतेदेखि ६० वर्षभन्दा बढी उमेरका नागरिकलाई खोप लगाउने जनाएको छ । स्वास्थ्य मन्त्रालयद्वारा आयोजित नियमित प्रेस ब्रिफिङमा प्रवक्ता जागेश्वर गौतमले उक्त जानकारी दिए ।

    फागुन ४ गतेसम्म २ लाख ८३ हजार जनालाई खोप लगाइएपनि कुनै साइड इफेक्ट नदेखिएको उनले जनाए ।

    २४ घन्टामा देशभर १२५ जना संक्रमित थपिएका छन् । यो सँगै कोरोना भाइरसबाट संक्रमित हुने संख्या अहिलेसम्म २ लाख ७३ हजार ७० पुगेको छ । काठमाडौं उपत्यकामा मात्र ६० संक्रमित छन् । आजसम्म १, ६२१ सक्रिय संक्रमित छन् ।

    २४ घन्टामा ९१ जना डिस्चार्ज भएका छन् । नेपालमा भाइरसबाट निको हुनेको दर ९८.७ प्रतिशत रहेको छ । बेलायती भेरिएन्टको संक्रमण बढ्ने क्रममा रहेकाले स्वास्थ्य मापदण्ड पालना गर्न पनि मन्त्रालयले आग्रह गरेको छ ।

  • स्वास्थ्यकर्मी र सफाइ कर्मचारीसमेत ५ लाखलाई दिने तयारी गर्दै मन्त्रालय

    स्वास्थ्यकर्मी र सफाइ कर्मचारीसमेत ५ लाखलाई दिने तयारी गर्दै मन्त्रालय

    काठमाडौं । स्वास्थ्य मन्त्रालयले नेपालमा कोरोना भाइरसविरुद्धको खोप लगाउन लगत लिने काम शुरू गरेको छ ।

    सरकारले ५ दिनअघि कोभिड-१९ विरुद्धको भ्याक्सिन नेपालमा आपतकालीनरूपमा प्रयोग गर्ने निर्णय गरेको थियो । आपतकालीन प्रयोगका लागि भारतीय कम्पनी सिरम इन्स्टिच्युटले उत्पादन गरेको कोभिसिल्डलाई प्रयोगमा ल्याउने औषधि व्यवस्था विभागले प्रेस वक्तव्यमार्फत सार्वजनिक गरिसकेको छ ।

    आजै मात्र भारतीय केन्द्रीय स्वास्थ्य समितिले भारतले नेपालसहितका छिमेकी मुलुकलाई कोरोनाभाइरस विरुद्धको १ करोड डोज खोप निःशुल्क उपलब्ध गराउने निर्णय गरेको छ । त्यो खोप एक साताभित्रै आपूर्तिको व्यवस्था मिलाइने भारतीय सञ्‍चारमाध्यमहरूले जनाएका छन् ।

    स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्‍वर गौतमले पहिलो चरणमा स्वास्थ्यकर्मी र अस्पतालमा कार्यरत सफाइ कर्मचारीहरूलाई खोप लगाउने तयारी भइरहेको बताए । उनले नेपालप्रेससँग भने, ‘हामी अहिले धमाधम त्यस्ता कर्मचारीको विवरण संकलन गरिरहेका छौं । नेपालमा खोप भित्र्याएको एकसाताभित्र लगाउन शुरू गर्छौं ।’

    गौतमका अनुसार करिब ३ लाख स्वास्थ्यकर्मी र २ लाखको संख्यामा रहेका सफाइ कर्मचारीहरूलाई प्रारम्भिक चरणमा भ्याक्सिन लगाउन मन्त्रालयले तयारी गरिरहेको छ । सँगसँगै खोपले पुगेको खण्डमा वृद्ध, बालबालिका, दीर्घरोगीलगायत जोखिममा रहेका समुदायसमेत गरी पहिलै चरणमा ३ प्रतिशत जनसंख्या लाभान्वित हुने उनले जानकारी दिए ।

    भ्याक्सिन भण्डारणको पूर्वतयारी तीब्र

    मन्त्रालयले भ्याक्सिन भण्डारण गर्न करिब ८ करोड लगानीमा सातवटै प्रदेशमा कोल्ड चेन (चिस्यान केन्द्र) निर्माण कार्य भइरहेको  मन्त्रालयअन्तर्गतको खोप महाशाखाका प्रमुख डा. झलक गौतमले जानकारी दिए । धेरै भ्याक्सिन राख्‍न भने त्रिभुवन अन्तर्राष्‍ट्रिय विमानस्थलमा रहेको कोल्ड चेन प्रयोगको तयारी गरिएको छ ।

    कोरोना भ्याक्सिन नेपाल भित्र्याउन ४ वटा मापदण्ड अनिवार्य गरिएको थियो । ती मापदण्डमा खोप सुरक्षित र प्रभावकारी हुनुपर्ने, खोपको पर्याप्त उपलब्धता हुनुपर्ने, नेपालका परिवेश अनुसार उपयुक्त कोल्ड चेन भण्डारण र कम लागतको थियो ।

  • स्वास्थ्य मन्त्रालयको चेतावनी- नेपालमा कोरोनाको ‘सेकेन्ड-वेभ’ आउन सक्छ

    स्वास्थ्य मन्त्रालयको चेतावनी- नेपालमा कोरोनाको ‘सेकेन्ड-वेभ’ आउन सक्छ

    काठमाडौं । नेपालमा नयाँ प्रजातिको कोरोनाभाइरस भेटिएसँगै विज्ञहरुले दोस्रो लहर आउन सक्ने चेतावनी दिएका छन् । नेपाल प्रेससँग कुरा गर्दै टेकु अस्पतालका संक्रामक रोग विशेषज्ञ डा. शेरबहादुर पुनले जनस्वास्थ्यका मापदण्डलाई झनै कडाइका साथ पालना गर्नुपर्ने बेला आएको बताए ।

    ‘पहिलो नै नेपालमा नयाँ कोरोना आएको अनुमान थियो तर, यो कुरा बल्ल आज पुष्टि भयो’ उनले भने, ‘पहिलेभन्दा ७० प्रतिशत बढीले जोखिमपूर्ण हुने भएकाले नयाँ कोरोनाबाट सावधान हुनुपर्ने हुन्छ किनभने यसको फैलने गति तीव्र हुन्छ ।’

    नयाँ प्रजातिको भाइरसले अहिले विकसित गरिएको खोपको प्रभावकारितालाई पनि चुनौति दिने पुनले बताए ।

    ‘अहिले विद्यालय, सिनेमा घर र बजार खोलिएको अवस्था छ’ उनले भने, ‘अब यी थलोमा जनस्वास्थ्यका मापदण्डलाई कडाइका साथ पालना गर्नुपर्छ । नागरिक स्वयम् सचेत नहुने हो भने भोलि कठिन पर्नसक्छ ।’

    स्वास्थ्य मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले पनि नयाँ जातको कोरोनाभाइरस भेटिएसँगै नागरिक थप सतर्क हुनुपर्ने बताए ।

    ‘यसले दोस्रो वेभको खतरातर्फ संकेत गरेको छ’ गौतमले भने, ‘किनभने अहिले बजार, विद्यालय र कार्यालय खुलिसकेको अवस्था छ र भीडभाड बढेको छ । यस्तो अवस्थामा नयाँ भाइरसको फैलावट बढी हुन्छ ।’

    इटाली, जर्मनी र बेलायतमा जस्तो हताहतको स्थिती आए पुनः नियमनको दिशातर्फ सरकार जान सक्ने पनि उनले जनाए । संक्रमण घटेजस्तो देखिएपनि जोखिम चाहिँ नघटेको उनले बताए ।

    ‘भोलि स्थिती भयावह बन्न थाल्यो भने पुनः नियमन गर्ने स्थितीतर्फ अघि बढ्न सकिन्छ’ उनले भने, ‘अहिले खुलेका विद्यालय, फिल्म हल र कार्यालय पुनः बन्द हुनसक्छन् ।’ खोपभन्दा महत्वपूर्ण मास्क भएको समेत गौतमले बताए ।