Tag: स्वास्थ्य-जीवनशैली

  • जनप्रतिनिधि र कर्मचारीको जीवनशैली सर्वेक्षण गर्दै काठमाडौं महानगर

    जनप्रतिनिधि र कर्मचारीको जीवनशैली सर्वेक्षण गर्दै काठमाडौं महानगर

    काठमाडौं । काठमाडौं महानगरपालिकाले जनप्रतिनिधि र कर्मचारीहरूको पोषण अवस्था, आहारव्यवहार र जीवनशैलीसम्बन्धी सर्वेक्षण थालेको छ । कामपाको कृषि तथा पशुपन्छी विभागले यही १६ गतेबाट उक्त कार्यक्रम सुरु गरेको हो ।

    २६ गतेसम्म सञ्चालन हुने सर्वेक्षणमा २१ गतेसम्म कर्मचारी, २२ गते कर्मचारी र जनप्रतिनिधि तथा २३, २४ र २५ गते जनप्रतिनिधिका लागि समय छुट्याइएको छ । छुटेका सबैलाई २६ गते सहभागी गराउने कार्यक्रम रहेको विभागका प्रमुख नुरनिधि न्यौपानेले बताए ।

    सहरी जीवन क्रमशः निष्क्रिय बन्दै गएको, यसैकारण मुटु, मधुमेह, क्यान्सर, श्वासप्रश्वाससहित दीर्घरोगको जोखिम उच्च रहेकाले यसबाट बच्ने उपाय खोजी गर्न सर्वेक्षण गरिएको न्यौपानेको भनाइ छ । सर्वेक्षणबाट प्राप्त हुने नतिजाले कार्यस्थलमा स्वास्थ्य प्रवर्द्धनको नीतिगत सिफारिसमा सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

    सर्वेक्षणमा उचाइका आधारमा तौल (बीएमआइ बडी मास इन्डेक्स) मापन, उमेर र लिङ्गका आधारमा बीआइए (बायोइलेक्ट्रिकल इम्पेन्डेन्स एनलाइसिस) गरेर ‘बडीफ्याट’, ‘भिसेरल फ्याट इन्डेक्स’, ‘फ्याट फ्री मास’, ‘टोटल बडी वाटर’ को प्रोफाइल तयार पारिन्छ । यसरी तयार पारिने प्रोफाइलमा कामको प्रकृतिअनुसारको मोटोपना, रक्तअल्पता र जीवनशैलीका सूचक पनि समावेश हुन्छन् ।

    सर्वेक्षणमा जीवनशैली र आचरणअन्तर्गत शारीरिक व्यायाम, कामको तनाव, धुमपान तथा मद्यपानको आदत, सुत्ने समय, ‘डिजिटल ग्याजेट’हरूमा बिताउने समय, कार्यस्थलको वातावरणसम्बन्धी विवरण सङ्कलन हुनेछ ।

    मधुमेह, हेमोग्वोविन परीक्षणबाट रक्तअल्पता जाँच गरिन्छ । खानाको रुचिका आधारमा आहार मूल्याङ्कन र खाद्य समूहको अभिलेखन गरिन्छ । सर्वेक्षणमा सहभागी ‘भर्टेक्स फुड्स’का अनुसन्धान व्यवस्थापक प्रतीक निरौलाका अनुसार स्थानीयस्तरमा उत्पादन भएका खानेकुरामा प्राकृतिक तत्वहरू धेरै पाइन्छ । जसकारण स्वास्थ्यका लागि बढी लाभदायक हुन्छन् । यस्ता खानेकुराको मूल्य तुलनात्मक रूपमा सस्तो हुन्छ । आफ्नो स्वादअनुसार खानेकुरा तयार पारेर खाने हो भने स्वास्थ्यका लागि राम्रो हुन्छ ।

    कामपाका कर्मचारी र जनप्रतिनिधिका लागि गरिने यो परीक्षण क्रमशः नागरिक समक्ष पुर्याएर खाद्य आचरण र जीवनशैली सुधारका लागि काम गर्ने कामपाले योजना रहेको छ ।

    -रासस

  • इन्फ्लुएन्जा ‘फ्लू’बाट बच्न आग्रह

    इन्फ्लुएन्जा ‘फ्लू’बाट बच्न आग्रह

    काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले इन्फ्लुएन्जा (फ्लू)बाट बच्न आग्रह गरेको छ । मन्त्रालयले चिसो बढेसँगै इन्फ्लुएन्जा (फ्लू) सङ्क्रमण बढ्ने भएकाले बच्न आग्रह गरेको हो ।

    जाडोमा धेरै सक्रिय हुने यो भाइरसले शिशुदेखि जवान, अधबैँसे र वृद्धवृद्धासमेत सबै उमेरका व्यक्तिलाई फ्लू लाग्न सक्छ । मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकीले विशेष गरि बालबालिका, ज्येष्ठ नागरिक तथा रोग प्रतिरोधात्मक क्षमता कम भएका मानिसमा इन्फ्लुएन्जा भाइरस सङ्क्रमणको सम्भावना बढी हुने गरेको बताए ।

    उनका अनुसार फ्लू भएका अधिकांश व्यक्तिलाई चिकित्सकको हेरचाह वा एन्टिभाइरल औषधि आवश्यक नपर्ने हुन्छ । तर दीर्घ रोगी, गर्भवती, वृद्धवृद्धा तथा रोग प्रतिरोधात्मक क्षमता कम भएकालाई फ्लूले धेरै असर गर्ने र अवस्था जटिल बनाउने भएकाले त्यस्ता व्यक्तिलाई स्वास्थ्यकर्मीको निगरानीमा राख्नुपर्ने हुन्छ ।

    कसरी सर्छ ?

    फ्लू भएका व्यक्तिले बोल्दा, खोक्दा, हाच्छिउँ गर्दा निस्किएका छिटा नजिकको व्यक्तिको नाक वा मुखमा परेमा भाइरस सर्न सक्छ । ती छिटा सासबाट फोक्सोमा पनि जान सक्छन् । भाइरस भएको कुनै सतह छोएर आफ्नो मुख वा नाक हुँदा पनि फ्लू लाग्न सक्छ ।

    लक्षण 

    ज्वरो आउनु, टाउको दुख्नु, खोकी लाग्नु र घाँटी दुख्नु, नाक बन्द हुनु वा सिँगान बग्नु, जिउ र मांसपेशी दुख्नु, थकान महसुस हुनु हो ।

    रोकथाम 

    बिरामी भएका व्यक्तिहरुसँग भौतिक दूरी राख्ने, खोक्दा वा हाच्छिउँ गर्दा आफ्नो मुख र नाक छोप्ने, शारीरिक रुपमा सक्रिय हुने र प्रशस्त तरल पदार्थ र पौष्टिक खाना खाने, सम्भव भएसम्म बिरामी हुँदा घरमै बस्ने गर्नुपर्दछ । यस्तै बेलाबेलामा साबुनपानीले हात धुने वा स्यानिटाइजरको प्रयोग गर्ने, आफ्नो आँखा, नाक वा मुख नछुने गर्नुपर्दछ ।

  • स्वास्थ्य प्रणाली सुधार नै सरकारको शीर्ष प्राथमिकता : स्वास्थ्यमनत्री डा. गौतम

    स्वास्थ्य प्रणाली सुधार नै सरकारको शीर्ष प्राथमिकता : स्वास्थ्यमनत्री डा. गौतम

    धरान । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री डा. सुधा गौतमले देशभरका अस्पतालको प्रत्यक्ष अवलोकनमार्फत स्वास्थ्य सेवा, औषधि आपूर्ति, बीमा र सार्वजनिक खरिद प्रणालीमा देखिएका समस्या पहिचान गरी त्यसको सुधार गरिने बताएकी छन् ।

    धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको आज निरीक्षण गर्दै डा गौतमले स्वास्थ्य क्षेत्रमा विभिन्न सुधार आवश्यकताबारे आफूले निरन्तर सुझाव र रायसल्लाहरू प्राप्त गर्दै आएको उल्लेख गर्दै ती विषयलाई प्राथमिकताका आधारमा कार्यान्वयन गरिने बताइन् ।

    उनले भनिन्, ‘मानसिक स्वास्थ्य, श्रमिक लक्षित कार्यक्रम, औषधि खरिद, मेडिकल ल्याब तथा सार्वजनिक खरिद प्रक्रियामा समग्र सुधार अपरिहार्य छ ।’ डा गौतमका अनुसार औषधि खरिददेखि वितरण, बीमा प्रणाली, प्रयोगशाला सेवा तथा सार्वजनिक खरिद सबै क्षेत्रमा प्रणालीगत परिवर्तन आवश्यक देखिएको छ । अस्पतालका स्वास्थ्य सेवामा चुनौती छन् । ती समस्याको मूल कारण बुझेर सुधारतर्फ लैजानु मेरो निरन्तर प्रयास छ ।

    अस्पतालमा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीका पीर मर्का, सेवा सञ्चालनका कठिनाइ तथा व्यवस्थापनसम्बन्धी गुनासा प्रत्यक्ष सुन्न र बुझ्नकै लागि धरानस्थित बिपी प्रतिष्ठानमा आएको मन्त्री डा गौतमको भनाइ छ । उनले भनिन्, ‘जेनजी आन्दोलनपछि बनेको सरकारले भ्रष्टाचारमुक्त प्रणाली निर्माण, पारदर्शी शासन र स्वास्थ्यसहित सम्पूर्ण सेवा क्षेत्रलाई व्यवस्थित बनाउनु नै प्रमुख लक्ष्य लिएको छ ।’

    काठमाडौँ, लुम्बिनीलगायतका सङ्घीय अस्पतालहरूको अवस्थाबारे निरन्तर निरीक्षण गर्दै सेवा प्रवाहको गुणस्तर, पर्खाइ समय, क्लिनिक सञ्चालन र सर्वसाधारणले भोग्दै आएको सहजता असहजतासहितका समस्याहरूलाई नजिकबाट अध्ययन गरिरहेको उनले जानकारी दिइन् । ‘अस्पतालबाट जनताले अनावश्यक दुःख नपाओस्, पर्खाइ समय कम होस्, सेवा सहज र व्यवस्थित होस् भन्ने उद्देश्यले निरीक्षणमा निस्किएको हुँ,’ उनले भनिन् ।

    मन्त्री गौतमले छिट्टै बस्न लागेको बिपी प्रतिष्ठानको सिनेट बैठकका तयारीका विषयमा समेत प्रत्यक्ष जानकारी आवश्यक भएकाले आफू निरीक्षणमा आएको बताउँदै आफ्नै आँखाले वास्तविक अवस्था हेरेपछि निर्णय गर्नु सजिलो हुने उल्लेख गरिन् ।

  • सुदूरपश्चिम प्रदेशमा ३७३० एचआइभी संक्रमित

    सुदूरपश्चिम प्रदेशमा ३७३० एचआइभी संक्रमित

    डोटी । सुदूरपश्चिम प्रदेशमा तीन हजार सात सय ३० जना एचआइभी संक्रमित रहेका छन् । सुदूरपश्चिम पश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयले दिएको जानकारी अनुसार यस प्रदेशमा दुई हजार ११ महिला, एक हजार पाँच सय ७० पुरुष, एक सय १८ बालबालिका र ३१ यौनिक अल्पसंख्यक रहेका छन् ।

    प्रदेशभित्रका नौ जिल्लामध्ये कैलालीमा सबैभन्दा बढी एक हजार सात सय ४० एचआइभी संक्रमित रहेका छन् । यो संख्या प्रदेशभित्रका कुल संक्रमित संख्याको करिब ४७ प्रतिशत हुन आउँछ ।

    अछाममा पाँच सय ७० संक्रमित रहेका छन् । यस्तै, डोटीमा चार सय ९०, कञ्चनपुरमा चार सय ५५, बैतडीमा एक सय ३२ र डडेल्धुरामा एक सय २५ संक्रमित रहेका छन् ।

    बझाङमा ९६, बाजुरामा ७२ र दार्चुलामा ५० जना एचआइभी संक्रमित रहेको प्रदेश स्वास्थ्य निर्देशनालयका एचआइभी÷एड्स सम्पर्क व्यक्ति मनोज प्रसाद ओझाले जानकारी दिए ।

    ओझाका अनुसार गत आर्थिक वर्ष ९०८१/०८२० मा यस प्रदेशमा एक सय ८१ जनामा नयाँ संक्रमण देखिएको छ । ‘गत वर्ष ७३ हजार एक सय १० जनामा एचआइभी परीक्षण गरिएको थियो’ ओझाले भने ‘त्यसमध्ये एक सय ८१ मा संक्रमण देखिएको हो ।’

    गत वर्ष कैलालीमा सबैभन्दा बढी एक सय चार जनामा संक्रमण देखिएको छ । यस जिल्लामा २० हजार एक सय १३ जनामा एचआइभी परीक्षण गरिएको थियो । यस अवधिमा कञ्चनपुरमा ३२, डडेल्धुरामा १०, बैतडीमा नौ र बझाङमा आठ जना नयाँ संक्रमित थपिएका छन् ।

    डोटीमा सात, अछाममा ६, बाजुरामा तीन र दार्चुलामा दुई जनामा संक्रमण देखिएको ओझाले बताए ।

  • स्वास्थ्य क्षेत्रको १३ बुँदे राजपुर प्रतिबद्धता पत्र सार्वजनिक

    स्वास्थ्य क्षेत्रको १३ बुँदे राजपुर प्रतिबद्धता पत्र सार्वजनिक

    डोटी । सुदूरपश्चिम प्रदेशमा स्वास्थ्य क्षेत्रमा कार्यरत सरकारी तथा गैरसरकारी संस्थाहरूले १३ बुँदे साझा प्रतिबद्धता सार्वजनिक गरेका छन् ।

    शुक्रवारदेखि सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालय, राजपुर डोटीमा सञ्चालित स्वास्थ्य क्षेत्रको एकीकृत वार्षिक समीक्षा कार्यक्रमको समापन सत्रमा उक्त १३ बुँदे राजपुर प्रतिबद्धता पत्र सार्वजनिक गरिएको हो ।

    संघीय स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, सुदूरपश्चिम प्रदेश सामाजिक विकास मन्त्रालय, प्रादेशिक तथा जिल्लास्थित स्वास्थ्य निकाय, विकास साझेदार संस्थाहरू र स्वास्थ्य क्षेत्रका सरोकारवालाहरूको सहभागितामा तयार गरिएको प्रतिबद्धता पत्रमा प्रदेश सरकार अन्तर्गतका स्वास्थ्य निकायहरूको बेरुजु न्यूनीकरण गर्न आन्तरिक नियन्त्रण प्रणालीलाई थप सुधार गर्ने उल्लेख छ ।

    स्वास्थ्य क्षेत्रको सुधारका लागि प्रदेशमा संगठन तथा व्यवस्थापन सर्वेक्षण गर्न पहल गर्ने, स्वास्थ्य उपचारमा खल्तीबाट हुने खर्च न्यून गर्न प्रत्येक जिल्लामा कम्तीमा ४० प्रतिशत व्यक्तिलाई स्वास्थ्य बिमाको पहुँचमा ल्याउने, प्रदेश सरकारका सबै कर्मचारीहरूको स्वास्थ्य बिमा गर्न पहल गर्ने र आर्थिक रूपमा अति विपन्न महिलाको सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्यका लागि ८८ वटै पालिकालाई प्रदेश कानुन बमोजिम सशर्त अनुदान दिने कानुनी व्यवस्था कार्यान्वयन गर्न पैरवी गर्ने प्रतिबद्धता पत्रमा उल्लेख छ ।

    “प्रदेश सरकार अन्तर्गतका स्वास्थ्य निकायहरूले उपलब्ध गराउनु पर्ने निःशुल्क औषधी तथा औषधिजन्य सामग्रीको वर्षभरि उपलब्धता सुनिश्चितता गर्ने” प्रतिबद्धता पत्रमा भनिएको छ ‘स्थानीय तहमा विशेषज्ञ स्वास्थ्य सेवाको पहुँच बढाउन क्रमिक रूपमा प्रयोगशाला भएका रणनीतिक स्वास्थ्य चौकीमा टेलिमेडिशन/कन्सल्टेन्ट सेवालाई बिस्तार गर्ने ।’

    प्रतिबद्धता पत्रमा ग्रामीण अल्ट्रासाउन्ड कार्यक्रमलाई बिस्तार गर्ने, कुपोषण समस्याको शीघ्र पहिचान, निदान र उपचारका लागि स्क्रिनिङ्ग गर्ने आयुर्वेद स्वास्थ्य केन्द्रहरूको भौतिक पूर्वाधार सुधार गर्ने लगायतका विषय समावेश गरिएका छन् ।

    प्रतिबद्धता पत्र स्वास्थ्य क्षेत्रका सबै निकाय एवं व्यक्तिहरूले कार्यान्वयन गर्नु पर्ने सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशक खगेन्द्र बमले बताए । उनले चालु आर्थिक वर्षको वार्षिक समीक्षा कार्यक्रममा यस प्रतिविद्धताको कार्यान्वयनको अवस्थाबारे समेत समीक्षा गरिने बताए ।

  • नेरिक एकेडेमीमा विद्यार्थीहरुको आँखा जाँच कार्यक्रम सम्पन्न

    नेरिक एकेडेमीमा विद्यार्थीहरुको आँखा जाँच कार्यक्रम सम्पन्न

    काठमाडौं । नेरिक एकेडेमीले आज विद्यार्थीहरुको आँखा जाँचकार्य सफलतापूर्वक सम्पन्न गरेको छ ।

    शैक्षिक विकाससँगै विद्यार्थीहरुको स्वास्थ्यलाई पनि उत्तिकै महत्वपूर्ण ठान्दै विद्यालयले कार्यक्रमको आयोजना गरेको हो ।

    भेनस अस्पतालसँगको सहकार्यमा सम्पन्न गरिएको कार्यक्रममा अस्पतालका अनुभवी नेत्र चिकित्सक र नर्सहरुले विद्यार्थीहरुको दृष्टि स्वास्थ्यको विस्तृत परीक्षण गरे ।

    जाँचका क्रममा विद्यार्थीहरुको आँखामा देखिन सक्ने सामान्य समस्या, दृष्टि कमजोरी, वा चस्माको आवश्यकता जस्ता पक्षहरू ध्यानपूर्वक मूल्यांकन गरिएको विद्यालयले जनाएको छ।

    विद्यालय प्रशासनका अनुसार यस्तो स्वास्थ्य परीक्षणले विद्यार्थीहरुको शैक्षिक यात्रामा सहयोग पुग्ने र स्वास्थ्यप्रति सचेतना अभिवृद्धि हुने अपेक्षा गरिएको छ।

  • कोभिडविरुद्ध सफलता पाएको ‘मेसेन्जर आरएनए’ प्रविधि : क्यान्सरविरुद्धको नयाँ आशा

    कोभिडविरुद्ध सफलता पाएको ‘मेसेन्जर आरएनए’ प्रविधि : क्यान्सरविरुद्धको नयाँ आशा

    काठमाडौं । कोभिड–१९ खोपमार्फत विश्वभर चर्चित बनेको ‘मेसेन्जर आरएनए’ (एमआरएनए) प्रविधि अहिले क्यान्सरविरुद्धको नयाँ आशाका रूपमा उदाउँदै छ ।

    फ्रान्सको ऐतिहासिक सहर अर्लिन्सस्थित एक अत्याधुनिक प्रयोगशालामा वैज्ञानिकहरूले मानव शरीरभित्र कार्य गर्ने ‘एमआरएनए’का क्षमताहरू परीक्षण गर्दै घातक क्यान्सर उपचारमा क्रान्ति ल्याउने सम्भावना खोजिरहेका छन् ।

    एमआरएनए अणुहरूले शरीरका प्रत्येक कोषमा डिएनएबाट आनुवंशिक सन्देश बोकेर विशिष्ट प्रोटिन उत्पादन गराउँछन् । ‘क्यान्सरको हकमा, यही सन्देशले बिरामीको शरीरलाई ट्युमरविरुद्ध प्रभावकारी रूपमा लड्ने क्षमता दिन सक्छ’, फ्रान्सेली अनुसन्धान संस्थान आइएनएसइआरएम अन्तर्गतको एआरटी प्रयोगशालाका परियोजना प्रबन्धक दिमित्री सिम्जाकले भने ।

    एमआरएनए सन् १९६० को दशकमै खोजिएको भए पनि कोभिड महामारीका बेला यस प्रविधिले नयाँ पुस्ताका खोपहरू अत्यन्त छिटो विकास गर्न मद्दत गरेपछि विश्वव्यापी रूपमा चर्चित बन्यो । यस महत्त्वपूर्ण उपलब्धिका कारण सन् २०२३ मा चिकित्साशास्त्रमा नोबेल पुरस्कार समेत प्रदान गरिएको थियो । अहिले एमआरएनए सम्बन्धी अनुसन्धानको ठूलो हिस्सा क्यान्सरविरुद्ध खोप विकासमा केन्द्रित छ ।

    ‘तर यो प्रविधिसँग धेरै अन्य सम्भावनाहरू पनि छन्’, एआरटी प्रयोगशालाका प्रमुख चान्टल पिचोन भन्छन्, ‘प्रतिरक्षा प्रणाली सुदृढ पार्न, क्षतिग्रस्त कोषहरूको पूर्ति गर्न, आनुवंशिक तथा दुर्लभ रोगहरू लक्ष्य गर्न वा एलर्जी नियन्त्रणमा पनि यसको उपयोग हुन सक्छ ।’

    पिचोनका अनुसार विश्वका अग्रणी फार्मास्युटिकल कम्पनीदेखि स्टार्टअपसम्मका संस्थाहरूले हाल २०० भन्दा बढी एमआरएनए क्लिनिकल परीक्षण सञ्चालन गरिरहेका छन्, जसको ठूलो हिस्सा अमेरिका, चीन र जापानमा केन्द्रित छ । तथापि, फ्रान्ससँग पनि एमआरएनए प्रविधिमा कार्यरत उत्कृष्ट आधारभूत अनुसन्धान टोलीहरू रहेको उनको भनाइ छ ।

    एआरटी प्रयोगशालामा वैज्ञानिकहरूले विभिन्न प्रकारका एमआरएनए तयार गरेर तिनीहरूको विषाक्तता र प्रभावकारिताको जाँच गरिरहेका छन् । प्रायः प्रयोगशालामा उत्पादन गरिने आरएनए परीक्षण ट्युबमै निर्माण हुन्छ, जुन महँगो प्रक्रिया हो र धेरैजसो अमेरिकी कम्पनीहरूको पेटेन्टमुनि पर्छ । यसै कारण प्रयोगशालाको अर्को टोलीले खमीर प्रयोग गरी आरएनए उत्पादन गर्ने लागत–कम विधि विकास गरिरहेको छ, जसले खर्च १० देखि ५० गुणासम्म घटाउन सक्ने अपेक्षा गरिएको छ । तर यस्तो आरएनए औषधि उद्योगको उच्च मापदण्ड पूरा गर्न पर्याप्त शुद्ध र सुरक्षित हुन आवश्यक छ ।

    उता, अर्को विशेषज्ञ टोलीले अग्नाशय (प्यान्क्रियास) क्यान्सरको उपचारमा नयाँ विधि खोजिरहेको छ- जसको निदान भएपछि बाँच्ने दर ऐतिहासिक रूपमा रहँदै आएको छ । ‘सन् २००० मा पाँच प्रतिशत रहेको यो दर आज १० प्रतिशत पुगेको छ’, एआरटीका ग्यास्ट्रोएन्टेरोलोजिस्ट बिराने बेयेले भने ।

    उनका अनुसार दुई दशकको यो सानो प्रगतिले परम्परागत उपचार- जस्तै केमोथेरापी वा इम्युनोथेरापीले राम्रोसँग काम नगरेको देखाउँछ ।

    फ्रान्सेली वैज्ञानिकहरूले अहिले एमआरएनए खोपलाई अल्ट्रासाउन्ड प्रविधिसँग संयोजन गर्दै नवीन उपचारप्रति आशा जगाइरहेका छन् ।’अत्यन्त आक्रामक क्यान्सरसँग जुध्न प्रतिरक्षा कोषहरूलाई सिकाउन एमआरएनए प्रयोग गर्ने हाम्रो धारणा हो’, बेयेले भने ।

    यस विधिमा पहिलो चरणका रूपमा शक्तिशाली अल्ट्रासाउन्ड मार्फत तन्तुभित्र कम्पन पैदा गरिन्छ, जसले ग्यासका साना फोका बनाउँछ । ‘जब ती फोका फुट्छन्, तिनीहरूले अग्नाशय वरिपरि रहेको कडा अवरोध- एक प्रकारको ‘बङ्कर’ लाई भत्काइदिन्छन्, जसले एमआरएनए खोपलाई ट्युमरसम्म सहजै प्रवेश गर्न मद्दत गर्छ’, बेये भन्छन् ।

    हालसम्मको प्रारम्भिक परीक्षणले अल्ट्रासाउन्ड प्रविधि सुरक्षित रूपमा अग्नाशयमा प्रयोग गर्न सकिने र यसले मौजुदा उपचारको प्रभावकारिता सुधार गर्न सक्ने सङ्केत दिएको वैज्ञानिकहरूको दाबी छ । अबको चरणमा उनीहरूले यस संयोजनमार्फत अग्नाशय क्यान्सर बिरामीको जीवनदर बढाउन सकिने आशा राखेका छन् ।

    यसैबीच, बिहीबार विश्व अग्नाशय क्यान्सर दिवस पनि परेको छ, जसको उद्देश्य यो अत्यन्त घातक क्यान्सरबारे विश्वव्यापी जागरण बढाउनु रहेको छ ।

  • मोटोपनले महिलामा बढ्दो जोखिम, कसरी गर्ने नियन्त्रण ?

    मोटोपनले महिलामा बढ्दो जोखिम, कसरी गर्ने नियन्त्रण ?

    अस्पतालमा नेपाली महिलाहरुको पेट, कलेजोको जाँच गर्दा ५७ प्रतिशत महिलाको कलेजोमा बोसो जमेपछि भविष्यमा स्वास्थ्य समस्या आउन सक्ने सम्भावना हुन्छ । अहिले नेपालमा प्रायः मानिसहरुले मुटुको रोग, मिर्गौला, मधुमेह, क्यान्सर आदिको बारेमा सुनेका छन् । ‘मुटुको स्वास्थ्य राम्रो राख्न के खानुपर्छ, कस्तो व्यायाम गर्नुपर्छ’ भनेर छलफल पनि भइरहन्छ तर कलेजो अस्वस्थ भयो भने कसरी समस्या पर्न सक्छन्, कलेजो स्वस्थ पार्न कस्ता खानेकुरा खाने भन्नेबारे पनि त्यति छलफल हुँदैन ।

    कलेजो शरीरको यस्तो कारखाना हो, जसले शरीरको विषालु तत्वलाई बाहिर लैजाने काम गर्छ । शरीरभित्रको सबभन्दा ठूलो अङ्ग हो कलेजो, तर धेरै बेवास्ता गरिएको छ । यदि कलेजो अस्वस्थ भयो भने शरीरभित्रका विषालु तत्व बाहिर निस्कन पाउँदैन । अनि शरीरभित्र अनेक समस्या सुरु हुन्छ ।

    नेपाली महिलाहरुको अहिले सरदर आयु ७२ वर्ष रहेको सरकारको पछिल्लो तथ्याङ्कले देखाएको छ । नेपाली महिलाको सरदर आयु यति वर्ष हुनु जनस्वास्थ्यको दृष्टिकोणले सफलता मान्न सकिन्छ । तर अर्कोतिर उनीहरु अस्वस्थ पनि बन्दैछन् । पछिल्लो सरकारी तथ्याङ्कले के देखाउँछ भने ३५ प्रतिशत नेपाली महिला मोटोपनको शिकार भएका छन् । त्यस्ता महिलाहरु प्रायः नेपालका ठूला सहरमा रहेका छन् । खासगरी धनी परिवारका ५३ प्रतिशत र गरिब परिवारका २० प्रतिशत महिलामा यो समस्या देखिएको छ । गाउँघरका गरिब महिलाहरुको कार्यबोझ, धेरै रहे पनि अहिले पत्रु खाना धेरै खाने भएकाले उनीहरुमा पनि मोटोपनको समस्या देखिन थालेको छ ।

    ठूला सहरका महिलाहरु व्यापार, सरकारी र गैरसरकारी संस्था, सेवाप्रदायक (अस्पताल, होटेल, शिक्षक, घरको काम) आदि काम गर्छन् । एक प्रकारले नेपाली महिलाले देशको आर्थिक विकासमा ठूलो टेवा पुर्‍याएका छन् । त्यसले हाम्रो समाजमा धेरै परिवर्तन भइसकेको छ भन्ने पनि देखाउँछ तर यसरी महिलाहरु देश र समाजमा विकासको काममा व्यस्त हुँदा उनीहरुको स्वास्थ्यमा मोटोपनले गर्दा भविष्यमा ठूलै समस्या आउने सम्भावना देखाएको छ ।

    खासगरी धनी परिवारका ५३ प्रतिशत र गरिब परिवारका २० प्रतिशत महिलामा मोटोपनको समस्या देखिएको छ । गाउँघरका गरिब महिलाहरुको कार्यबोझ, धेरै रहे पनि अहिले पत्रु खाना धेरै खाने भएकाले उनीहरुमा पनि मोटोपनको समस्या देखिन थालेको छ ।

    पैंतीस प्रतिशत नेपाली महिला मोटोपनको शिकार हुनु र अस्पतालमा जाँच गर्न आएका ५७ प्रतिशत महिलाको कलेजोमा बोसो जमेको देखिनुले नेपाली महिलाको खराब स्वास्थ भन्ने कुरा इङ्कित गर्छ । कोही अतिप्रिय व्यक्तिलाई ‘मेरो आँखाको नानी, मुटुको टुक्रा, कलेजोको टुक्रा’ भन्ने चलन नै छ । कति महत्व रहेछ त मुटु र कलेजोको । तर त्यही कलेजो र मुटु मोटोपनले बिग्रने समस्याप्रति कमैको ध्यान गएको देखिन्छ ।

    आर्थिक रुपमा सबल महिलाहरु मात्र होइन, कतिपय ठाउँमा आर्थिक रुपमा अक्षम महिलाको पनि कलेजोमा समस्या पर्न सक्छ । ‘कलेजोमा बोसो जम्नुको प्रमुख कारणमध्ये मोटोपन, भोजन, शारीरिक रुपमा धेरै सक्रिय नहुने, विभिन्न किसिमका औषधि पनि हुन सक्छ’, भारतका प्रसिद्ध कलेजोविज्ञ डा. एस के सरिन भन्नुहुन्छ, ‘जसरी मुटु खराब हुँदा अनेक समस्या पर्छ त्यसैगरी कलेजोको स्वास्थले सम्पूर्ण स्वास्थको झलक देखाएको हुन्छ ।’ उहाँले कलेजो स्वस्थ राख्न के गर्न सकिन्छ भनेर लेख्नुभएको किताबमा पहिलेपहिले ग्रिक समुदायमा मुटु, फोक्सो होइन, कलेजो शरीरको एक अति महत्वपूर्ण अङ्ग भनेर त्यसलाई पूजासमेत गर्ने चलनबारे उल्लेख छ । सो किताबमा पनि कसरी ‘मोटोपन’ ले गर्दा मुटुमा मात्र समस्या पर्ने होइन, कलेजोमा पनि समस्या पर्छ भनिएको छ । जब शरीरको विषालु तत्व निस्कासन गर्ने कारखानामा नै समस्या पर्छ, यसले मधुमेहको समस्या पर्नसक्छ भन्ने कुरा स्पष्ट हुन्छ ।

    डा. अरुणा उप्रेती

    डा सरिनको अनुभवले भन्छ– महिलाहरु र पुरुषको कमर यदि क्रमशः ३५ सेमी, ३८ सेमीभन्दा बढी छ भने त्यस्ता व्यक्तिहरुको कलेजोमा समस्या हुनसक्ने सम्भावना एकदम बढी हुन्छ । कलेजोमा बोसो जम्ने प्रमुख कारण ‘रक्सी’ हो । तर रक्सी नखाने व्यक्तिहरुमा पनि कलेजोमा बोसो जम्ने समस्या देखिन्छ । यसको प्रमुख कारण नै पत्रु खाना, धेरै गुलियो, चिल्लो, तारेको खाना हो । कलेजो र मधुमेहको बीचको सम्बन्धलाई लिएर धेरै अनुसन्धान भएको छ ।

    डा. रबर्ट लस्टिग नामक अमेरिकन बालरोग विज्ञले पनि आफ्नो किताब मेटाबोलिकलमा लेख्नुभएको छ– शरीरमा चिनीको मात्र धेरै हुँदा मुसा र मानिसमा डिप्रेशन (मानसिक अस्वस्थता) भएको देखाएको छ । चीन र युरोपमा गरिएको अनुसन्धानले सावित गरेको छ कि अति प्रशोधित भोजन (पत्रु भोजन) प्रयोग गर्दा डिप्रेशन देखिन्छ । कति जना व्यक्तिहरु व्यायाम पर्याप्त गरेपछि जे जति खाए पनि हुन्छ भन्ने गर्दछन् । यस कुरालाई केही वर्षअघिको एक अनुसन्धानले गलत प्रमाणित पारिदिएको छ ।

    कलेजोमा बोसो जम्ने प्रमुख कारण ‘रक्सी’ हो । तर रक्सी नखाने व्यक्तिहरुमा पनि कलेजोमा बोसो जम्ने समस्या देखिन्छ । यसको प्रमुख कारण नै पत्रु खाना, धेरै गुलियो, चिल्लो, तारेको खाना हो ।

    फिनल्याण्डका सामी इनकिनेन भन्ने एक व्यक्ति जो विश्व प्रसिद्ध ‘टाकिया’ कम्पनिको मालिकमध्येका एक थिए । उनले अमेरिका आएर आफ्नो व्यापार सुरु गरेका थिए । अर्बपति उनी एक दिनमा पाँच घण्टा व्यायाम गर्थे तर ३८ वर्ष नहुँदै उनलाई स्वास्थ समस्या देखापर्‍यो । रगत जाँच गर्दा उनलाई रगतमा चिनीको मात्रा धेरै देखियो । मधुमेह नै चाहिँ भइसकेको थिएन । त्यही व्यायाम गर्ने व्यक्तिलाई पनि शरीरमा चिनीको मात्रा कसरी अत्यधिक भयो भनेर विचार गर्दा थाहा भयो । अनुसन्धानबाट उनलाई खेलाडीहरु पिउने इनर्जी ड्रिङ्कको सेवनको कारणले यस्तो भएको थाहा भयो । यसको अर्थ केबल व्यायाम गरेर, खेल खेलेर मात्र हुँदैन, स्वस्थकर भोजनको पनि त्यति नै महत्व रहन्छ ।

    नेपालको पछिल्लो तथ्याङ्कले करिब छ प्रतिशत किशोरीहरु अति ‘मोटोपनको शिकार’ भएका छन् भन्ने देखाएको छ । यी किशोरीहरु दाम्पत्य जीवनमा प्रवेश गर्दा, गर्भवती हुने र समस्या पर्नसक्ने सम्भावना हुन सकिन्छ । काठमाडौँ बत्तीसपुतलीकी एक ३० वर्षीया युवती ८० केजीकी थिइन् । उनको उचाइअनुसार उनी ५३ किलो मात्र हुनुपर्थ्यो । तेइस वर्षको उमेरमा विवाह भएको उनको सात वर्षसम्म पनि गर्भ रहेन । जाँच गर्दा उनको कलेजोमा पनि बोसो जमेको देखियो । चिकित्सकले उनलाई झण्डै २०–३० किलो घटाए मात्रै गर्भ रहने सम्भावना छ भन्ने सलल्लाह दिए । चिकित्सकको सल्लाहअनुसार एक वर्षमा चिनी, पत्रुखाना, धेरै बोसो भएको, कोल्ड ड्रिंक त्यागिन् साथै योग गरेर २० किलो घटाउन सफल भइन् । तौल घटेपछि उनलाई भर्‍याङ चढ्न पनि सजिलो भयो ।

    तौल घटेसँगै उनको महिनावारी पनि समयमा हुन थाल्यो । पहिले कहिले दुई महिना, कहिले तीन महिनामा महिनावारी हुन्थ्यो । पहिले उनको पाठेघरको जाँच गर्दा पाठेघरमा पानीको फोकाजस्तो (जसलाई ‘ओमारियन सिस्ट’ भनिन्छ) देखापर्‍यो । जब उनको तौल घट्यो, उनको ‘सिस्ट’ पनि कम हुँदै गयो र उनको प्राकृतिक तरिकाले गर्भ रहन गयो, कलेजोमा जमेको बोसो पनि कम भयो र उनी र उनका श्रीमान् एकदम खुसी भएका थिए । चिकित्सकको सल्लाहले तौल घटाएपछि आफ्नो सम्पूर्ण स्वास्थमा नै सकारात्मक असर परेको भन्दै उनी निकै खुसी भएकी थिइन् ।

    पहिले त उनलाई रक्सी खाने मानिसको मात्र कलेजो खराब हुन्छ भन्ने लाग्यो, पछि मोटोपनले गर्दा पनि कलेजो खराब भएपछि मधुमेहको समस्या पनि हुने रहेछ भन्ने थाहा भयो । मोटोपनले गर्दा प्रजनन स्वास्थमा समस्या पनि मेरो परेको रहेछ ।

    पहिले त उनलाई रक्सी खाने मानिसको मात्र कलेजो खराब हुन्छ भन्ने लाग्यो, पछि मोटोपनले गर्दा पनि कलेजो खराब भएपछि मधुमेहको समस्या पनि हुने रहेछ भन्ने थाहा भयो । मोटोपनले गर्दा प्रजनन स्वास्थमा समस्या पनि मेरो परेको रहेछ । उनीजस्ता कतिपय युवतीले किशोरावस्थामा नै मोटो हुँदा धेरै वास्ता गर्दैनन् तर पछि अनेक समस्या उनीहरुलाई आइपर्छ, अनि स्वास्थ्य परीक्षण गर्दा कसरी यस्तो भयो भन्ने थाहा लाग्छ ।

    गर्भ नरहने समस्या भएपछि चिकित्सकसँग परीक्षण गराउन जान्छन् । आधुनिक प्रविधि प्रयोग गरेर गर्भवती हुनु पर्‍यो भने सबैलाई सहजैपूर्वक गर्भ नहुनसक्छ । पहिले अनेक किसिमका पत्रु खाना खाने, कोल्ड ड्रिंक खाने बालबालिका, किशोरकिशोरीलाई पनि कलेजो र मुटुमा समस्या पर्न जान्छ । अनि शारीरिक समस्या त पर्छ नै, अनेक मानसिक अस्वस्थता, तनाव पनि हुन सक्छ । त्यसैले मुटु, मिर्गौला र कलेजो स्वस्थ राख्न समयमै सबै सचेत हुन आवश्यक छ ।

    (लेखक जनस्वास्थ्यविद् हुन्)

  • नेपालमा नौ प्रकारका औषधि उत्पादन गरिने

    नेपालमा नौ प्रकारका औषधि उत्पादन गरिने

    काठमाडौं । नेपाल औषधि लिमिटेडले नौ प्रकारका औषधि उत्पादनको तयारी गरेको छ । लिमिटेडले ती औषधिको तीन महिनाको परीक्षण पूरा गरी ६ महिनाको परीक्षण सकाउने तयारीमा छ ।

    लिमिटेडले जुका, मधुमेह, उच्चरक्तचाप, कोलस्टरोल, आइरन चक्की, फोलिक एसिड, एजिथ्रोमाइसिनलगायत नौ प्रकारका औषधिको उत्पादनको तयारी गरेको हो ।

    लिमिटेडका महाप्रबन्धक कैलाशकुमार पनेरुले ती औषधिको परीक्षण सकेर अर्को महिनादेखि उत्पादनका लागि औषधि व्यवस्थापन विभागबाट अनुमतिपत्र लिएर उत्पादन सुरु गर्ने जानकारी दिनुभयो । यसअघि लिमिटेडले ११ प्रकारका औषधि उत्पादन गर्दै आइरहेका छ ।

  • फर्किएको रैथाने खान्कीको रौनक

    फर्किएको रैथाने खान्कीको रौनक

    काठमाडौँ । एक जमाना यस्तो थियो मानिस कोदोको ढिँडो लुकाएर खान्थे, अथवा ढिँडो खाएको कुरा खुलेआम भन्न रुचाउँदैथे । गाउँघरमा समेत यस्तै अवस्था थियो । किनभने ढिँडो गरिबको खान्की हो भन्ने मानसिकता थियो । त्यो समयमा चामलको भात धनी अर्थात् सम्पन्नहरुले र कोदो गरिबले खान्छन् भन्ने थियो । यसकारण गाउँघरमा कतैकतै त घरभित्र ढिँडो खाने र बाहिर कुकुरलाई चाहिँ एकगाँस दूधभात दिने गरेको तथ्यहरु पनि सुन्न पाइन्थ्यो ।

    अहिले जमाना बदलिएको, छ, समय फेरिएको छ । मानिस गाउँघरको त के कुरा सहर बजारका ठूलै होटलमा पनि ढिँडो खोज्दै जान थालेका छन् । ढिँडो अब लुकेर र लुकाएर खाने खान्की नभएर मनपर्ने खाना मात्र नभएर रोजाइको खानामा पर्न थालेको छ । त्यसैले मानिसले अहिले ढिँडो खाँदा गर्व गर्छन् र सामाजिक सञ्जालमा आज ढिँडो खाइयो भनेर तस्बिर पोष्ट गर्ने गर्छन् ।

    पहिले दुर्लभ मानिएको भात अहिले विकल्पको खाना भएको छ । घरमा होस् या होटलमा, मानिसहरुले सकेसम्म भात खाँदैनन् । रोटी, च्याख्ला या ढिँडो नै रोजाइमा पर्न थालेको छ । पहिलेको धनीमानी तथा सानको खाना भातलाई अहिले मानिस रोगको घरका रुपमा लिन्छन् । किनभने चिकित्सकहरु नै धेरै भात नखान सुझाउँछन् । सकेसम्म अर्गानिक खाना, रैथाने उत्पादनको खान्की र सकेसम्म भात थोरै खानुपर्ने चिकित्सकहरुको सल्लाह छ ।

    पहिलेको तुलनामा अहिले मानिसमा आफ्नो स्वास्थ्यसम्बन्धी चेतनामा वृद्धि भएको देखिन्छ । त्यसैले मानिस विषादी प्रयोग नभएको, रैथाने उत्पादन तथा कार्बोहाइड्रेट धेरै नभएका खानेकुरा रोज्न थालेका छन् । खाद्य, पोषण तथा जनस्वास्थ्यविद् डा अरुणा उप्रेती पछिल्लो समय पहिलेका रैथाने अन्न जस्तै कोदो, फापर, गुद्रुक, मकै तथा च्याख्ला र दाल भात धेरैको रोजाइमा पर्न थालेको बताउँछन् । रक्तचाप, मधुमेहलगायत रोगबाट जोगिनका लागि पनि बजारका र आधुनिक खानेकुराभन्दा रैथाने खाना नै खानुपर्छ भन्ने चेतना मानिसमा बढ्दै गएको उनको अनुभव छ ।

    ‘पहिला रैथाने खाना खाँदा अपहेलित हुने अवस्था पनि थियो । तर अहिले त्यस्तो छैन, सञ्चारमाध्यमले गर्दा रैथाने खानातर्फ मानिस आकर्षित भएका छन् । पहिला मैले कोदो खाएँभन्दा मान्छेलाई अपमान महसुुस पनि हुने गरेको थियो । अहिले भने पाँचतारे होटलमै पनि कोदो, फापरको रोटी ढिँडो पाउन सकिन्छ । मेन्युमा नै पनि यस्ता परिकार लेख्न थालिएको देखिन्छ,’ उनी भन्छन् ।

    मानिसमा शारीरिक व्यायाम आदि कम हुँदै गएको र बजारका खानेकुराको मात्रा बढ्दै गएकाले अर्गानिक तरिकाबाट उत्पादन गरिएका यस्ता स्थानीय, रैथाने खानाले स्वास्थ्यलाई राम्रो गर्ने उहाँको सुझाव छ । केही वर्ष पहिले मेडिकल व्यवसायी दुर्गा प्रसाईंले झापास्थित आफ्नो घरमा नेपाल कम्युनिष्ट पार्टीका तत्कालीन नेताद्वय एवम् पूर्वप्रधानमन्त्रीद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई मार्सी चामलको भात खुवाएको विषयले चर्चा पायो ।

    प्रसाईंले दुई पूर्वप्रधानमन्त्रीसँगै बसेर मार्सी चामलको भात खाएको फोटो सार्वजनिक भएसँगै बजारमा मार्सी चामलको चर्चा चुलियो । मार्सी चामलको ‘ब्राण्डिङ’ गरेर अहिले ललितपुरको झम्सिखेलमा ‘मार्सी थकाली’ सञ्चालनमा आएको छ ।

    मार्सी धान विशेषतः चिसो हावापानीमा उत्पादन हुने धान हो । चिसो हावापानीमा उत्पादन हुने भएकाले मार्सी चामलको खाना स्वादिलो हुने गरेको छ । मार्सी थकालीका सञ्चालक मधुसुदन ढकाल हिमाली क्षेत्रमा उत्पादित हुने धानलाई आफ्नो रेष्टुरेन्टले ‘ब्राण्ड’ बनाएर अगाडि बढाएको बताउँछन् । मार्सी थकालीमा मार्सी खानासहित स्थानीयस्तरमा उत्पादित गुन्द्रुक, कालिज, बँधिया कुखुरा, बट्टाई, च्याङ्ग्राको सुकुटी, गँगटा, घुँगी, लोकल कुखुरालगायत रैथाने स्वाद लिन पाइन्छ ।

    काठमाडौँको लाजिम्पाटस्थित बुकी बुटिक होटलका व्यवस्थापक मनिष श्रेष्ठ केही वर्षअघिसम्म मानिस होटलमा विशेषगरी भात खान नै आउने गरेकामा अहिले उनीहरुको खानपिनमा निकै परिवर्तन आएको आफूले पाएको अनुभव सुनाउँछन् । माानिस बढी त लोकल अथवा रैथाने उत्पादनमा नै बढी आकर्षित हुने गरेको बताउँदै श्रेष्ठ भात नै खोजे पनि मानिसले मार्सी चामल या अरु नै त्यस्तै रैथाने चामलको भात खोज्ने नत्र ढिँडोलगायत अरु खानेकुरा मन पराउने गरेको बताउँछन् ।

    त्यसैले आफूले स्थानीय उत्पादन, मार्सी चामलको थाली, लोकल कुखुरा तथा गाउँघरबाटै रैथाने गेडागुडी, कालो मासको दाल र लोकल सागहरु मगाउने गरेको उनको भनाइ छ । यही कारणले अहिले होटल परिसरमा हरेक शनिबार बिहान स्थानीय एवम् रैथाने उत्पादन जस्तै जुम्लाको सिमी, मुस्ताङको आलु, जुम्ली मार्सी चामल, फापर एवम् काठमाडौँकै पनि काँठतिरका सागसब्जी र गेडागुडीका अर्गानिक उत्पादनको बजार लाग्ने गरेको श्रेष्ठ बताउँछन् ।

    सेफ्स एशोसियसन नेपालका पूर्वअध्यक्ष एवम् काठमाडौँको नागार्जुनस्थित नागार्जुन रिसोर्टका सल्लाहकार सेफ गोविन्दनरसिंह केसी रैथाने खाना खानेको सङ्ख्या पछिल्लो समय बढ्दै गएको बताउँछन् ।

    ‘पहिले त होटलमा गएर खाने भनेको ठूलाबडाले मात्र हो भन्ने थियो, किनभने मानिससँग पैसा नै हुँदैनथ्यो । कहिलेकाहीँ होटल जानेहरुले पनि रैथानेभन्दा पनि होटलको आधुनिक परिकार नै खोज्थे । तर अहिले त्यस्तो छैन । मानिस ठूलै होटलमा गएर पनि अर्गानिक तथा रैथाने खाना खोज्ने गरेका छन् । यो चाहिँ स्वास्थ्यसम्बन्धी एक प्रकारको चेतना पनि हो,’ उनी भन्छन् ।

    विगतमा सोल्टी होटलको सेफसमेत रहनुभएका केसी पहिले अहिलेजस्तो तरकारी आदिमा विषादी प्रयोग गर्ने चलन नरहेकाले होटलको खाना पनि त्यति अस्वस्थ हुँदैनथ्यो भन्छन् । केसीको अनुभवमा अहिले उत्पादन बढाउन अनेकथरि औषधि, मलको प्रयोगले गर्ने र यस्ता समाचारले मानिसमा चेतना बढेको बताउँदै काठमाडौँका मानिस रैथाने खाना तथा स्थानीय उत्पादन खोज्दै अहिले नागार्जुन रिसोर्ट जस्तै काँठ क्षेत्रका होटलमा पुग्ने गरेका छन् ।

    काठमाडौँको डाँडागाउँस्थित रोयल भिल्ला रिसोर्टका सञ्चालक पुष्कल मल्लको अनुभव पनि त्यस्तै छ । काठमाडौँको भिडभाडबाट केही पर जङ्गल नजिक रहेको आफ्नो रिसोर्टमा पनि स्थानीय एवं नेपाली स्वादका खानामा ‘इञ्जोय’ गर्न मानिस आउने गरेको बताउँछन् ।

    ‘पछिल्लो समय नेपाली खानाप्रति मानिसको रुचि बढेको देख्छु । हामीकहाँ पनि धेरै गेष्ट काठमाडौँबाटै आउनुहुन्छ र नेपाली मात्र नभएर रैथाने र अर्गानिक खाना नै खोज्नुहुन्छ, ढिँडो, गुद्रुक, सिस्नु फापर, मार्सी चामलको भात, लोकल कुखुराको झोल आदि खाने प्रचलन अहिले धेरै बढेको छ । धेरैको रोजाइ टिपिकल खाना पर्ने गर्दछ,’ मल्ल भन्छन् ।

    केही वर्षयता राजधानी काठमाडौँ सहरभित्रभन्दा पनि काँठ क्षेत्रमा बढी नै मात्रामा होटल रेष्टुरेन्टहरु खुलेका छन् । ती होटलमा शहरका तुलनामा धेरै नै पाहुना जाने गरेको सञ्चालकहरुको अनुभव छ ।

    राजधानी काठमाडौँबाहेक नेपालको प्रमुख पर्यटकीय नगरी पोखराको विमानस्थल नजिक रहेको ‘एयरपोर्ट’ थकाली, चिप्लेढुङ्गाको मन्त्र थकाली, फेवाताल ड्यामसाइडस्थित मोनालिसा थकाली, पोखराको नौडाँडामा रहेको भण्डारी भान्सा घर, चितवनको भरतपुरस्थित पाते ढिँडो थकाली, भरतपुरमै रहेको बाजेको माछा महललगायत थुप्रै होटल तथा रेष्टुरेन्टहरुले पारखीहरुलाई स्थानीय रैथाने खानाको स्वाद चखाइरहेका छन् ।

  • डोटीमा दुई वर्षमा २० वर्ष नपुग्दै आमा बने ६ सय महिला

    डोटीमा दुई वर्षमा २० वर्ष नपुग्दै आमा बने ६ सय महिला

    डोटी । गत आर्थिक वर्ष २०८१/०८२ मा डोटी जिल्लामा २० वर्षमुनिमा तीन सय २० किशोरीहरु आमा बनेका छन् ।

    स्वास्थ्य कार्यालय, डोटीले दिएको जानकारी अनुसार गत आर्थिक बर्षमा दुई हजार पाँच सय ८५ महिला सुत्केरी भएका थिए । जसमध्ये तीन सय २० जना २० वर्षमुनिका रहेका छन् । यो सङ्ख्या कुल  सुत्केरी हुने महिलाको १२.७६ प्रतिशत हुन आउँछ । आर्थिक वर्ष २०८०/०८१ मा कुल सुत्केरी भएका महिलामध्ये १० प्रतिशत २० वर्षमुनिका रहेका थिए । उक्त अवधिमा दुई हजार सात सय नौ जना महिलाहरू सुत्केरी भएका थिए, जसमा दुई सय ७६ आमाहरू २० वर्षमुनिका थिए । स्वास्थ्य कार्यालयको तथ्याङ्क अनुसार २० वर्षमुनिका आमा हुनेको सङ्ख्या गत वर्षभन्दा बढेको देखिन्छ ।

    २० वर्षमुनिका आमा बन्नेमा प्रतिशतको हिसाबले सवैभन्दा बढी बडी केदार गाउँपालिकामा रहेका छन् । यस पालिकामा दुई वर्षको अवधिमा दुई सय ९८ जना महिलाहरू  सुत्केरी भएकामा ८५ जना अर्थात् २८.५२ प्रतिशत २० वर्षमुनिका छन् ।

    केआई सिंह गाउँपालिकामा २० वर्षभन्दा कम उमेरमा आमा बन्नेको सङ्ख्या अन्य आठ पालिकाको भन्दा कम छ । यस पालिकामा दुई वर्षको अवधिमा पाँच प्रतिशत २० वर्षमुनिका आमा भएका छन् । दुई वर्षको अवधिमा कुल पाँच सय तीन जना सुत्केरी भएकामा २६ जना २० वर्षमुनिका रहेका स्वास्थ्य कार्यालय डोटीले जनाएको छ ।

    जोरायल गाउँपालिकामा दुई वर्षको अवधिमा सुत्केरी भएका चार सय २२ जना महिलामध्ये ७३ जना अर्थात् १७.२९ प्रतिशत २० वर्षमुनिका रहेका छन्।
    पूर्वी चौकी गाउँपालिकामा दुई वर्षको अवधिमा सुत्केरी भएका कुल महिलामध्ये १५.७७ प्रतिशत २० वर्षमुनिका छन् । यस पालिकामा आर्थिक वर्ष २०८०/८१ गरी दुई वर्षमा चार सय १२ जना सुत्केरी भएका थिए । जसमा ६५ जना २० वर्षमुनिका रहेका छन् ।

    बोगटान फुड्सिल गाउँपालिकामा दुई वर्षको अवधिमा ४३ महिलाहरू २० वर्ष नपुग्दै आमा भएका छन् । यस पालिकामा सो अवधिमा तीन सय ५३ जना महिलाहरू सुत्केरी भएका थिए । जसमा १२.१८ प्रतिशत महिलाहरू उमेर नपुग्दै आएमा भएका छन् ।

    शिखर नगरपालिकामा सुत्केरी हुने महिलामध्ये १२ प्रतिशत २० वर्षमुनिका रहेका स्वास्थ्य कार्यालयको तथ्याङ्कले देखाउँछ । यस पालिकामा आर्थिक वर्ष २०८०/०८१ मा २७ र २०८१/०८२ मा २१ गरी ४८ महिला २० वर्षमुनिकै आमा बनेका छन् । यो सङ्ख्या दुई वर्षको अवधिमा कुल चार सय महिला सुत्केरी भएका थिए ।

    दुई वर्षको अवधिमा दिपायल सिलगढी नगरपालिकामा एक सय ३९ महिलाहरू २० वर्ष उमेर नपुग्दै आमा वनेका छन् । आर्थिक वर्ष २०८०/०८१ मा ५५ जना र २०८१/०८२ मा ८४ जना उमेर नपुग्दै आमा वनेका हुन् । यस पालिकामा दुई वर्षको अवधिमा एक हजार सात सय १४ जना सुत्केरी भएका थिए । दिपायल सिलगढीमा कलिलै उमेरमा सुत्केरी हुने महिलाहरूको सङ्ख्या आठ प्रतिशत रहेको तथ्याङ्कले देखाउँछ ।

    आदर्श गाउँपालिकामा सुत्केरी हुने महिलाहरूमध्ये ११.४२ प्रतिशत २० वर्ष नपुग्दै आमा बन्ने गरेको देखिएको छ । यस पालिकामा दुई वर्षको अवधिमा ६ सय ७४ जना महिला सुत्केरी भएका थिए । २० वर्षमुनिका ७७ जना महिला रहेका छन् ।

    सायल गाउँपालिकामा दुई वर्षको अवधिमा ५० जना महिलाहरू २० वर्ष नपुग्दै आमा बनेका छन् । यस पालिकामा यस अवधिमा सुत्केरी हुने कुल महिलाको सङ्ख्या पाँच सय १८ रहेको छ । यस आधारमा उमेर नपुग्दै आमा बन्ने महिलाहरूको सङ्ख्या ९.६५ प्रतिशत हुन आउँछ ।

    नेपालको कानुन अनुसार विवाहको उमेर केटा र केटी दुवैको २० वर्ष हुनु पर्ने व्यवस्था छ । २० वर्ष नपुगी विवाह गर्ने र गराउनेलाई तीन वर्षसम्म कैद र ७५ हजार रुपैयाँसम्म जरिवाना हुन सक्ने व्यवस्था बालबालिका सम्बन्धी ऐन, २०७५ मा व्यवस्था छ । तर कलिलै उमेरमा आमा बन्नेको सङ्ख्या भने बढ्दो छ ।

    ९७ प्रतिशत संस्थागत सुत्केरी

    जिल्लामा स्वास्थ्य संस्थामै गएर सुत्केरी हुने महिलाहरूको सङ्ख्या उल्लेख्य छ। स्वास्थ्य कार्यालय डोटीका सूचना अधिकारी कपिलदेव जोशीले दिएको अनुसार अनुसार आर्थिक वर्ष २०८१/०८२ मा सुत्केरी भएका दुई हजार पाँच सय ८५ महिलामध्ये दुई हजार पाँच सय १७ जना स्वास्थ्य संस्थामा गई सुत्केरी भएका छन् । यो सङ्ख्या कुल सुत्केरी सङ्ख्याको ९७.३७ प्रतिशत हुन आउँछ । यस अवधिमा घरमै सुत्केरी हुनेको सङ्ख्या ६८ रहेको छ ।

    आर्थिक वर्ष २०८०/०८१ मा सुत्केरी भएका कुल महिला दुई हजार सात सय नौ मध्ये दुई हजार ६ सय २२ जना अर्थात् ९६.७८ प्रतिशत स्वास्थ्य संस्थामा गई (संस्थागत) सुत्केरी भएका छन् ।

  • स्वास्थ्य बीमा कार्यक्रमका समस्याको तत्काल समाधान गरिन्छ : स्वास्थ्यमन्त्री गौतम

    स्वास्थ्य बीमा कार्यक्रमका समस्याको तत्काल समाधान गरिन्छ : स्वास्थ्यमन्त्री गौतम

    भक्तपुर । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री डा. सुधा गौतमले स्वास्थ्य बीमा कार्यक्रममा देखिएका समस्याको तत्काल समाधान गरिने बताएकी छन् ।

    आज भक्तपुर क्यान्सर अस्पतालको ३१ औँ वार्षिकोत्सव तथा नवनिर्मित प्रयोगशाला भवनको उद्घाटन गर्दै उनले संविधानले सुनिश्चित गरेको निःशुल्क स्वास्थ्यको अधिकारलाई कानुनबमोजिम उपलब्ध गराउन सरकारले पहल गरिरहेको बताइन् ।

    आधारभूत अस्पताल, स्वास्थ्यचौकी तथा अन्य स्वास्थ्य संस्थामा निःशुल्क उपलब्ध औषधिहरुको प्रभावकारी वितरणका लागि स्थानीय सरकारलाई निर्देशन दिँदै मन्त्री गौतमले स्थानीय सरकारलाई स्वास्थ्य सेवा उपलब्ध गराउन संघीय सरकारले सशर्त अनुदानको व्यवस्था गरेको उल्लेख गरिन्।

    उनले सरकारको मुख्य कार्यभार आगामी फागुन २१ गते शान्तिपूर्ण रुपमा निर्वाचन सम्पन्न गराउनु रहेकाले यसबाट सरकार पछि नहट्ने पनि बताइन् ।

    मन्त्री गौतमले भनिन्, “सरकार समयमै शान्तिपूर्ण रुपमा निर्वाचन सम्पन्न गराउन प्रतिबद्ध छ, आम मतदातालाई आश्वस्त पार्ने काममा सम्बन्धित सबै पक्षलाई केन्द्रित हुन आग्रह गर्दछौँ ।”

    कार्यक्रममा बागमती प्रदेशका स्वास्थ्यमन्त्री किरण थापा मगर, बागमती प्रदेशका संस्कृति तथा पर्यटनमन्त्री सुरेश श्रेष्ठ, स्वास्थ्य मन्त्रालयका अतिरिक्त सचिव डा. श्रीकृष्ण श्रेष्ठ, भक्तपुर क्यान्सर अस्पतालका कार्यकारी निर्देशक डा उज्जवल चालिसेलगायतले अस्पतालको सेवालाई थप व्यवस्थित गरी प्रभावकारी बनाउनुपर्नेमा जोड दिएका थिए ।

  • जुकाको औषधि घाँटीमा अड्किँदा १८ महिने बालिकाको ज्यान गयो

    जुकाको औषधि घाँटीमा अड्किँदा १८ महिने बालिकाको ज्यान गयो

    रुपन्देही । जुकाको औषधि खुवाउँदा घाँटीमा अड्किएर १८ महिने बालिकाको मृत्यु भएको अपत्यारिलो घटना दाङमा भएको छ ।

    गढवा गाउँपालिका वडा नम्बर ४ अजगढवाका शिवकुमार यादवकी छोरी जमुना यादवका जुम्ल्याहा छोरीमध्ये कान्छी छोरीको यसरी मृत्यु भएपछि यो क्षेत्रमा काम गर्ने स्वास्थ्यकर्मीलाई चुनौती थपिएको छ ।

    घटना विवरणअनुसार गढवा गाउँपालिका वडा नं ४ रामनगरमा भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउन सबै जुटेका थिए । शिवकुमारले पनि जुम्ल्याहा छोरीहरु लिएर त्यहाँ पुगेका थिए । जेठी छोरीलाई खुवाएपछि कान्छीलाई खुवाइएको थियो तर कान्छीको घाँटीमै त्यो औषधि अड्किएको न त स्वयंसेविकाले पत्तो पाए न त अभिभावकले नै ।

    एकछिनमा ती बालिका अत्तासिइन् र श्वास रोकिएर मृत्यु भएको गढवा गाउँपालिकाका स्वास्थ्य अधिकृत कैलाशचन्द्र चौधरीले नेपाल प्रेससँग भने ।

    ‘स्वयंसेविकामार्फत जुकाको औषधि खुवाउँदा यस्तो भएको हो । आधा काटेर खुवाएको हो । जुम्ल्याहामध्ये कान्छी हुन् यसरी ज्यान गुमाएकी बच्ची, राज्यले नै दिएको औषधि हो यसले साइड इफेक्ट त गर्दैन तर खुवाउने क्रममै कमजोरी भयो कि, अभिभावकले पनि मुखमा राखेको औषधि निल्यो वा बाँकी छ भनेर हेर्नुपर्ने, घाँटी सुक्का भएका बेला खुवाएकाले त्यो अड्किन पनि सक्छ, औषधिले श्वास रोकेर नै मृत्यु भएको हो भन्ने निचोड सबैतिरबाट आयो, बच्चा पनि अरु बिरामी थिइनन्’ उनले भने– ‘स्वयंसेविकाले सबै बच्चालाई उस्तै प्रकृयाबाटै खुवाउने हो, उनीहरुले पनि जानेर गल्ती गर्ने कुरा भएन तर यस्तो घटनाले सबैलाई ठूलो पाट सिकायो, त्यो ठाउँमा अलिकति सजगता भएको भए हुँदैनथ्यो कि भन्ने सबैलाई भएको छ । ’

    इलाका प्रहरी कार्यालय गढवाका प्रहरी निरीक्षक डबलबहादुर बमले बिहीबार नै बालिकाको घाँटीमा औषधि अड्किएकोले यस्तो घटना भएको र शव परिवारलाई बुझाइएको बताए ।

    ‘राष्ट्रव्यापी रूपमा सञ्चालित भिटामिन ‘ए’ र जुकाको औषधि वितरण कार्यक्रमका क्रममा औषधि घाँटीमा अड्किएपछि सास फेर्न कठिनाइ हुँदा बालिकाको घटनास्थलमै मृत्यु भएको हो, महिला स्वास्थ्य स्वयंसेविकाद्वारा खुवाइएको औषधि बालिकाको घाँटीमा अड्किएको देखिएको छ । औषधि खुवाएको केही मिनेटमै बालिकाको ज्यान गएको प्रारम्भिक अनुसन्धानले देखाएको छ’ प्रहरी निरीक्षक बमले भने ।

    राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पोष्टमार्टम गरी शव परिवारलाई बुझाइएको प्रहरीले जनाएको छ । स्थानीय बासिन्दाहरूले यस घटनापछि जुकाको औषधि वितरण अभियानमा सावधानीका अपनाउन माग गरेका छन् । बच्चाका आफन्तले पनि यस्तो विषयमा स्वास्थ्य स्यंमसेविकाले नै ध्यान दिनुपर्ने जनप्रतिनिधिलाई गुनासो गरेका छन् ।

    गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोखरेलले निकै अपत्यारिलो र दुःखद घटना पालिकामा भएको र पीडित आफन्तले स्यंमसेविकाले ख्याल गरिदिनुपर्ने गुनासो गरेको बताए ।

    ‘यो निकै अपत्यारिलो घटना भएको छ, सँगै गएका र खाएका बच्चालाई केही नहुने र ती बच्चीलाई मात्र यस्तो हुने भवितव्य नै हो, पीडितले पनि यो विषय त बुझेकै छन् तर खुवाइदिने मान्छेले नै यस्तो विषयमा सजगता नअपनाएको गुनासो छ,’ उनले भने– ‘म आज पनि पीडित आफन्तलाई भेटेर आएको छु, यस्ता घटनाले सजगताको ठूलो पाठ सिकाएको छ, स्वास्थ्य स्यमंसेविकालाई मात्रै होइन यो क्षेत्रमा रहेका सबैलाई गम्भीर बनाएको छ ।’

  • मेलम्चीमा निजी स्वास्थ्य संस्था र डेन्टलमा संयुक्त अनुगमन, पाँच संस्थामध्ये दुई पूर्ण रूपमा बन्द

    मेलम्चीमा निजी स्वास्थ्य संस्था र डेन्टलमा संयुक्त अनुगमन, पाँच संस्थामध्ये दुई पूर्ण रूपमा बन्द

    सिन्धुपाल्चोक । जनस्वास्थ्य कार्यालय सिन्धुपाल्चोक, मेलम्ची नगरपालिका र इलाका प्रहरी कार्यालय मेलम्चीद्वारा मेलम्ची क्षेत्रका निजी स्वास्थ्य संस्था, डेन्टल क्लिनिक , पोलिक्लिनिक , क्लिनिकहरूमा संयुक्त अनुगमन गरिएको छ।

    मङ्गलवार गरिएको अनुगमनका क्रममा कानुनी प्रक्रिया र स्वास्थ्य मापदण्ड पुरा नगरी सञ्चालित विभिन्न स्वास्थ्य संस्था विरुद्ध कारबाहीको प्रक्रिया अगाडी बढाइएको त्यस्तै केही संस्थालाई मापदण्डमा आउन म्याद दिइएको जनस्वास्थ्य कार्यालय सिन्धुपाल्चोकका प्रमुख दुर्गा बजगाईँले जानकारी दिए ।

    जनस्वास्थ्य ऐन २०७५ , जनस्वास्थ्य नियमावली २०७७ र बागमती प्रदेश स्वास्थ्य सेवा (पहिलो संशोधन) ऐन, २०८१ ,प्रदेश स्वास्थ्य सेवा नियमावली ९दोस्रो संशोधन० नियमावली २०८१ अनुसार मापदण्ड पालना नगरेमा कारबाही गरिने बताए।

    अनुगमन टोलीले मेलम्ची बजारमा रहेको इन्द्रावती डेन्टल क्लिनिक प्रा।ली र जुगल डेन्टल क्लिनिकलाई पूर्ण रूपमा बन्द गरेको छ। दुवै संस्थाले स्वास्थ्य सेवा सञ्चालनका लागि आवश्यक अनुमति र मापदण्ड पूरा नगरेको पाइएपछि तत्काल बन्द गरिएको बजगाईँले बताए।

    विगतमा विनायक पोलिक्लिनिक नामबाट सेवा सञ्चालन गर्दै आएको हाल विनायक फार्मेसीको नाममा सञ्चालित फार्मेसीले समेत अवैध रूपमा सञ्चालन गर्दै आएको ल्याब र डेन्टल सेवा पूर्ण रूपमा बन्द गरिएको छ ।

    मेलम्ची पोलिक्लिनिक प्रा।लीले भने संस्था नवीकरणका लागि आवश्यक केही मापदण्ड पूरा नगरेको भन्दै ३० दिने म्याद दिइएको बताइएको छ । त्यस्तै मेलम्चीमा सञ्चालित शिव शक्ति स्वास्थ्य क्लिनिकमा मापदण्ड विपरीत सञ्चालन हुँदै आएको ल्याब र एक्स–रे सेवा बन्द गरिनुको साथै केही सङ्कास्पद स्वास्थ्य सामग्री तथा उपकरणहरू जफत गरिएको छ।

    अनुगमन टोलीले स्वास्थ्य संस्थाहरूले कानुनअनुसार अनुमति प्राप्त गरेर मात्र सेवा सञ्चालन गर्नुपर्ने र बिरामीको स्वास्थ्य सुरक्षासँग खेलबाड गर्न नपाइने चेतावनी दिएको छ । जिल्लाको संयुक्त अनुगमन टोलीले जिल्लाभर अनुगमनलाई तीव्रता दिने जनाएको छ ।