Tag: स्पेनिस सुपर कप

  • मेस्सीलाई क्लब करिअरमै पहिलो ‘रेड कार्ड’, बार्सिलोनाले सुपर कप गुमायो

    मेस्सीलाई क्लब करिअरमै पहिलो ‘रेड कार्ड’, बार्सिलोनाले सुपर कप गुमायो

    एजेन्सी । सुपरस्टार स्ट्राइकर लियोनल मेस्सीले करिअरकै पहिलो रातो कार्ड पाएका छन् । स्पेनिस सुपर कपको फाइनलमा गए राति बार्सिलोना एथ्लेटिको विल्बाओसँग ३–२ गोलले पराजित भएको खेलमा अतिरिक्त समयको अन्तिम सेकेण्डमा मेस्सीले रातो कार्ड पाएका हुन् ।

    बार्सिलोनाका लागि कीर्तिमानी ७ सय ५३ औं खेलमा मेस्सीलाई एथ्लेटिकोका स्ट्राइकर असिर भिल्लालिब्रेसँगको नोकझोँकमा दोषी देखाउँदै भिडियो असिस्टेन्ट रेफ्री (भार)ले रातो कार्ड दिने निर्णय गरेको हो ।

    बार्सिलोनाले २ पटक अग्रता बनाएर पनि खेल आफ्नो पक्षमा पार्न सकेन । एन्टोइन ग्रिजमनले ४० औं र ७७ औं मिनेटमा गोल गरेका थिए । तर सेभियाको ओलम्पिक रंगशालामा एथ्लेटिकोका ओस्कार डी मार्कसले ४२ औं र भिल्लालिब्रेले ९० औं मिनेटमा गोल गरेपछि नियमित समयमा खेल बराबरी भयो र अतिरिक्त समयमा धकेलियो ।

    ३० मिनेटको अतिरिक्त समयको तेस्रो मिनेटमै विलियमले गोल गरेपछि अग्रता बनाएको एथ्लेटिकोले त्यसयता गोल खाएन ।

    एथ्लेटिकोले सन् १९८५ पछि पहिलोपल्ट ठूलो उपाधि जित्ने क्रममा उत्कृष्ट प्रदर्शन गरेको थियो । यद्यपी खेलको अन्त्यतिर केहि नाटकीय घटनाहरु भए ।

    १ सय २० औं मिनेटमा मेस्सीले एथ्लेटिकोको पोष्टतर्फ बल अगाडि बढाउँदै थिए । भिल्लालिब्रे उनलाई रोक्ने प्रयासमा थिए । मेस्सीले बल पास दिए र नजानिदो ढंगले अगाडि बढेको मौकामा भिल्लालिब्रेको टाउकोमा प्रहार गरे । रेफ्रीले त्यो घटना देखेका थिएनन् । पछि भारमा हेरेपछि मेस्सीलाई रातो कार्ड देखाउने निर्णय गरे ।

    ३३ वर्षीय मेस्सीले आफ्नो खेल करिअरमा यसअघि दुईपल्ट मात्र रातो कार्ड ब्यहोरेका छन् । सन् २००५ मा हंगेरीबिरुद्ध अर्जेन्टिनाको राष्ट्रिय टिमका लागि डेब्यू खेलमा र सन् २०१९ मा चिलीबिरुद्ध कोपा अमेरिका तेस्रो स्थानको प्लेअफ खेलमा मेस्सीले रातो कार्ड पाएका छन् ।
    यो घटनापछि मेस्सीले कम्तिमा पनि ४ घरेलु खेलको प्रतिबन्ध झेल्नुपर्ने हुनसक्छ ।

    बार्सिलोना १४ औं सुपरकप उपाधिबाट सेकेण्डले टाढा थियो । यो रोनाल्ड कोम्यानका लागि पहिलो उपाधि हुन सक्थ्यो । मेस्सीका लागि आठौं सुपरकप हुनसक्थ्यो, सम्भवतः मेस्सी बार्सिलोनामा अन्तिम वर्ष विताइरहेका छन्, उनको सम्झौता यसै वर्षको समरमा सकिँदैछ । तर ९० औं मिनेटमा बराबरी गोल खानु परेपछि सबै कुरा बदलियो ।

  • रियल मड्रिडलाई हराउँदै एथ्लेटिको विल्बाओ स्पेनिस सुपर कपको फाइनलमा

    रियल मड्रिडलाई हराउँदै एथ्लेटिको विल्बाओ स्पेनिस सुपर कपको फाइनलमा

    एजेन्सी । सेमिफाइनलमा साविक विजेता रियल मड्रिडलाई २–१ गोलले हराउँदै एथ्लेटिको विल्बाओले स्पेनिस सुपर कपको फाइनलमा बार्सिलोनासँगको भेट निश्चित गरेको छ ।

    विल्बाओका लागि स्ट्राइकर राहुल गार्सिया ले २ गोल गरेका थिए । रियलका करिम बेन्जिमाले खेलको अन्त्यतिर १ गोल फर्काएका हुन् ।

    बार्सिलोनाले बुधबार राती रियल सोसिडाडलाई पेनाल्टी शुटआउटमा पराजित गरी फाइनलमा स्थान बनाएको हो । फाइनल खेल आइतबार सेभिल्लामा हुनेछ ।

    राहुलले १८ औं मिनेटमा विल्बाओका लागि पहिलो गोल गरेका थिए । ३८ औं मिनेटमा उनैले पेनाल्टीमार्फत अग्रता दोब्बर पारे । रियलका लुकास माज्क्वेजले बक्सभित्र इनिगो मार्टिनेजलाई फल गरेपछि विल्बाओले पेनाल्टी पाएको हो ।

    दोस्रो हाफको अन्त्यतिर बेन्जेमाले रियलका लागि गोल गरे । सुरुमा रेफ्रीले अफसाइडको इशारा गरे पनि भिडियो असिस्टेन्ट रेफ्रीबाट त्यस गोलले मान्यता पाएको हो ।

  • स्पेनिस सुपर कपको फाइनलमा पुग्यो बार्सिलोना

    स्पेनिस सुपर कपको फाइनलमा पुग्यो बार्सिलोना

    एजेन्सी । रियल सोसिडाडलाई पेनाल्टी शुटआउटमा पराजित गरी बार्सिलोना स्पेनिस सुपर कपको फाइनलमा पुगेको छ ।

    बार्सिलोनाका लागि रिक्वी पेगले निर्णायक गोल गरेका थिए । त्यसअघि पेनाल्टीमा स्टार खेलाडीद्वय एन्टोइन ग्रिजमन र फ्रेन्की डी जोङ गोल गर्न असफल थिए । बार्सिलोनाका गोलरक्षक मार्क टर स्टेगेनले सोसिडाडको दुई पेनाल्टी बचाएका थिए ।

    साविक विजेता रियल मड्रिडले फाइनल प्रवेशका लागि आज एथ्लेटिको विल्वाओसँग खेल्नेछ ।

    खेलको ३९ औं मिनेटमा डी जोङले मार्टिन ब्रेथवेइट र एन्टोइन ग्रिजमनसँगको उत्कष्ट तालमेलमा गोल गरी बार्सिलोनालाई अग्रता दिलाएका थिए । तर डी जोङले नै दोस्रो हाफको सुरुमै बक्सभित्र फल गरेपछि सोसिडाडले पेनाल्टी पायो र मिकेल ओयारजावालले बराबरी गोल गरे ।