Tag: स्पुतनिक-भी

  • खोप कूटनीतिमा राष्ट्रपति सक्रिय, स्पुतनिक-५ खोपका लागि पुटिनलाई पत्राचार

    खोप कूटनीतिमा राष्ट्रपति सक्रिय, स्पुतनिक-५ खोपका लागि पुटिनलाई पत्राचार

    काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले रुसका राष्ट्रपति भ्लादिभिर पुटिनलाई रुसले उत्पादन गरेको स्पुतनिक-५ खोप खरिदका लागि सहजीकरण गरिदिन आग्रह गर्दै पत्र पठाएकी छन् ।

    परराष्ट्र मन्त्रालयमार्फत पठाइएको पत्रमा नेपाल महामारीको संकटमा रहेको र जनतालाई बचाउन खोप अनिवार्य भएको भन्दै खोप सहयोगको लागि अनुरोध गरिएको राष्ट्रपतिका प्रेस सल्लाहकार टीका ढकालले नेपाल प्रेसलाई बताए ।

    नेपालको स्वास्थ्य सेवा विभागले उक्त खोपलाई मान्यता दिइसकेको छ । ‘खोप कूटनीति’ अन्तर्गत राष्ट्रपतिले यहि व्यहोराको पत्र खोप उत्पादक मुलुक अमेरिका,भारतका राष्ट्रपतिलाई पठाइसकेकी छन् ।

    त्यस्तै चीनका राष्ट्रपति सी जिनपिङसँग राष्ट्रपतिको पौने एक घण्टा कुराकानी भएलगत्तै चीनले १० लाख डोज खोप उपलब्ध गराएको छ ।

  • भारतमा स्पुतनिक-५ खोप बजारमा बिक्री शुरु, मूल्य प्रति डोज भारु १,०००

    भारतमा स्पुतनिक-५ खोप बजारमा बिक्री शुरु, मूल्य प्रति डोज भारु १,०००

    दिल्ली । भारतको औषधि नियामक निकायले कोभिड-१९ विरुद्धको रुसी स्पुतनिक-५ खोप आपतकालीन प्रयोगका लागि अनुमति दिएसँगै भारतीय बजारमा बिक्री हुन थालेको छ ।

    डा. रेड्डीज ल्याबोरेटिजको कस्टम फर्मा सर्भिसेजका प्रमुख दीपक साप्राले भारतीय शहर हैदराबादस्थित रेड्डीजको एक औषधि पसलमा पहिलो खोप लगाएर कार्यक्रमको शुभारम्भ गरिएको छ ।

    भारतमा डा. रेड्डीज ल्याबोरेटिजले रुसी स्पुतनिक-५ खोप आयात गरिरहेको छ । स्पुतनिक-५ खोपलाई भारतीय औषधि नियामक निकायले गत मे १ तारिखमा स्वीकृति प्रदान गरेको थियो । डा. रेड्डीजले भारतीय बजारमा उक्त खोपको मूल्य प्रति डोज भारु ९४८ तोकेको छ ।

    कम्पनीले आगामी दिनमा खोपको संख्या अझ बढाउने जनाएको छ । स्पुतनिक-५ खोप भारतमै उत्पादन हुन थालेपछि आपूर्ति पनि बढ्ने कम्पनीको भनाई छ । स्पुतनिक भी खोप भारतमा उत्पादन गर्न छ वटा विभिन्न कम्पनीसँग छलफल चलिरहेको बताइएको छ ।

    डा. रेड्डीज कम्पनीका सहअध्यक्ष एवं प्रवन्ध निर्देशक जी भी प्रसादले भारतमा कोभिड-१९ बाट संक्रमितको संख्या तिब्र रुपमा वृद्धि भइरहेकाले जतिसक्दो चाँडो खोप व्यवस्था गर्न आफूहरुले पनि प्रयास गर्न लागेको बताए ।

  • स्पुतनिक-भी खोप चीनमा उत्पादन गर्ने तयारी

    स्पुतनिक-भी खोप चीनमा उत्पादन गर्ने तयारी

    रासस । रसियाले विकास गरेको कोरोनाभाइरस विरुद्धको स्पुतनिक भी खोपको माग अत्यधिक बढेपछि यसको उत्पादन चीनमा गर्ने तयारी शुरु गरिएको खोप उत्पादक रसियाले जनाएको छ ।

    हालैका सप्ताहमा चिनियाँ खोप उत्पादक कम्पनीहरुसँग दुई करोड ६० लाख डोज खोप उत्पादन गर्ने बारेमा तीन वटा सम्झौता भइसकेको रसियाले घोषणा गरेको छ ।

    त्यहाँबाट उत्पादित खोप दक्षिण अमेरिका, मध्यपूर्व र अफ्रिकामा आपूर्ति गरिने छ । यी क्षेत्रका धेरै मुलुकले रसियाली खोपको माग गरेका छन् ।

    अमेरिकी र युरोपेली युनियनले भने आफ्नै मुलुकका खोप अभियानमा केन्द्रित गरेपछि रसियाले अन्य मुलुकका लागि खोप आपूर्तिलाई तिब्रता दिएको छ ।

    विगतमा रसियाको खोपका बारेमा विभिन्न आशंका गरिए पनि सुप्रसिद्ध बेलायती मेडिकल जर्नल दी ल्यान्सेटमा प्रकाशित विवरणले स्पुतनिक भी खोप सुरक्षित रहेको र यसको प्रभावकारिता ९१ प्रतिशतको हाराहारीमा रहेको देखाएको छ ।

    तैपनि, विज्ञहरुले रसियाले विश्वका विभिन्न मुलुकबाट आइरहेको मागलाई पूरा गर्न सक्नेमा आशंका व्यक्त गरेका छन् । दशौं लाख डोज आपूर्ति गर्ने घोषणा र प्रतिबद्धता जनाए पनि रसियाले त्यसको केही अंश मात्र आपूर्ति गरिरहेको छ ।

    रसियाका सरकारी प्रवक्ता दिमित्री पेस्कोभले स्पुतनिक भी को मागलाई पूरा गर्न रसियासँग रहेका प्लान्ट पूरै सक्षम नरहेको बताए ।

    उत्पादन वृद्धि गर्न रसियाको डाइरेक्ट इन्भेस्टमेन्ट फन्डले भारत, दक्षिण कोरिया, ब्राजिल, सर्बिया, टर्की, इटाली र अरु मुलुक समेतका अरु मुलुकका औषधि उत्पादक कम्पनीसँग सम्झौता गरिसकेको छ । तर बेलारुस र कजाकस्तान बाहेक अन्य प्लान्टबाट पर्याप्त खोप उत्पादन हुन सकेको छैन ।

    लन्डनस्थित अनुसन्धान संस्था एयरफिनिटीको अनुमानमा रसियाले १०० भन्दा बढी मुलुकलाई ६३ करोड डोज स्पुतनिक भी खोप उपलब्ध गराउन सम्झौता गरेको जनाएको छ तर हालसम्म करिब एक करोड १५ लाख डोज मात्र निर्यात भएको छ ।

    फन्डले अन्य मुलुकमा कति डोज खोप निर्यात भइसक्यो भन्ने खुलाएको छैन । गत अप्रिल २७ सम्ममा स्पुतनिक भी खोप करिब २ करोड ७० लाख डोज मात्र उत्पादन भएको अनुमान गरिएको छ ।

    यसैबीच, फन्डले हुआलान बायोलोजिकल ब्याक्टेरिनसँगको साझेदारीमा १० करोड डोज तथा शेनझेन युआक्सिन जिन टेकबाट ६ करोड डोज उत्पादन गर्ने सम्झौता गरिसकेको जनाएको छ ।

    टिबेट रोडिओला फर्मास्युटिकल्सले स्पुतनिक भी खोप उत्पादन र बिक्री गर्नेगरी रसियासँग ९० लाख अमेरिकी डलरमा सम्झौता गरेको गत नोभेम्बरमै घोषणा गरिएको थियो ।

  • रुसी खोप ‘स्पुतनिक-भी’ले पायो नेपालमा आपतकालीन प्रयोगको अनुमति

    रुसी खोप ‘स्पुतनिक-भी’ले पायो नेपालमा आपतकालीन प्रयोगको अनुमति

    काठमाडौं । नेपालले रुसमा विकास भएको कोभिड-१९ विरुद्धको खोप ‘स्पुतनिक-भी’लाई आपतकालिन प्रयोगको लागि अनुमति दिएको छ । औषधी व्यवस्था विभागले मंगलबार रुसी खोपलाई सर्तसहित अनुमति दिएको हो ।

    गत जनवरीमा नेपालले खोप अभियान सुरु गरेपनि भारतले सर्तअनुसार खोप आपूर्ति नगर्दा अभियान प्रभावित बनेको छ ।

    ‘रुसी खोपलाई सर्तसहित आपतकालिन प्रयोगको अनुमति दिएका छौं’ विभागका प्रवक्ता सन्तोष केसीले भने ।

    सरकारले भारतमा सिरम इन्स्टिच्युटले उत्पादन गरेको कोभिसिल्ड (अस्ट्राजेनेका) खोप, चिनियाँ कम्पनी सिनोफार्मले विकास गरेको भेरोसेल खोप र भारत बायोटेकको को-भ्याक्सलाई मात्र आपतकालिन प्रयोगका लागि अनुमति दिएको छ ।

    द लान्सिट नामक एक स्वास्थ्य जर्नलमा प्रकाशित एक सोधमा रुसी खोप स्पुतनिक-भी सुरक्षित रहेको र कोभिड–१९ विरुद्ध झन्डै ९२ प्रतिशत प्रभावकारी रहेको जनाइएको छ ।

    दुईदेखि आठ डिग्री सेल्सियस तापक्रममा भण्डारण गर्न सकिने रुसी खोप अत्याधिक चिसो किसिमको भण्डारण क्षमता कमजोर रहेका नेपालजस्ता देशलाई उपयोगी हुने ठानिएको छ ।

    यसअघि रुसले नेपाललाई २ करोड ५० लाख डोज स्पुतनिक-भी खोप उपलब्ध गराउने समाचार प्रकाशमा आएको थियो । रुसी विदेश मन्त्रालयले नेपाललाई खोप उपलब्ध गराउने सम्झौता भएको उल्लेख गरेको थियो ।