Tag: स्पष्टीकरण

  • गृहले दुई प्रहरी निरीक्षकसँग सोध्यो स्पष्टीकरण, सेवाबाट हटाउने चेतावनी

    गृहले दुई प्रहरी निरीक्षकसँग सोध्यो स्पष्टीकरण, सेवाबाट हटाउने चेतावनी

    काठमाडौं । गृह मन्त्रालयले दुई जना प्रहरी निरीक्षकसँग स्पष्टीकरण सोधेको छ । गृह मन्त्रालय, प्रहरी कर्मचारी शाखाले प्राविधिक प्रहरी निरीक्षकद्वय डा. विशालजंग ठकुरी र कार्तिकेश झासँग स्पष्टीकरण सोधेको हो ।

    नेपाल प्रहरी अस्पताल महाराजगन्जमा कार्यरत नुवाकोटका ठकुरी ८ कात्तिकदेखि अस्पतालमा हाजिर नभएको गृहले जनाएको छ । उनलाई सात दिनभित्र स्पष्टीकरण पेश गर्न भनिएको छ ।

    त्यस्तै, केन्द्रीय प्रहरी विधि विज्ञान प्रयोगशालामा दरबन्दी रहेका झा २२ कात्तिकबाट कार्यालयमा हाजिर छैनन् । उनलाई पनि सात दिनभित्र स्पष्टीकरण सोधिएको छ । अन्यथा दुबैलाई ‘भविष्यमा सरकारी सेवाका लागि अयोग्य नठहरिने गरी सेवाबाट हटाउने’ गृहसचिवस्तरीय निर्णय भएको छ ।

  • स्पष्टीकरणको जवाफ दिने तयारीमा माधव पक्षका सांसद

    स्पष्टीकरणको जवाफ दिने तयारीमा माधव पक्षका सांसद

    काठमाडौं । नेकपा (एमाले) का वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका सांसदहरूले पार्टीले सोधेको स्पष्टीकरणको जवाफ दिने तयारी गरेका छन् ।

    सांसद विरोध खतिवडाले त्यसबारे छलफल गरेर टुंगोमा पुग्नलाई केहीबेरमा आफूहरू सिंहदरबारमा भेला हुन लागेको जानकारी दिए ।‘छलफल गरेर टुंगो लगाएपछि आजै स्पष्टीकरण बुझाउने कुरा छ,’ उनले नेपाल प्रेससँग भने, ‘केही साथीहरू बाहिर जानु भएकाले सबैले आजै सम्भव नहोला। उपलब्ध जतिले बुझाउँछौं ।’

    एमालेले शेरबहादुर देउवालाई विश्वासको मत दिने नेपाल पक्षका २२ सांसदलाई सर्वोच्च अदालतको परमादेश आकर्षित नहुने भाषा राखेर बुधबार स्पष्टीकरण पत्र पठाएको थियो ।

    साउन ५ गतेका मिति राखेर पठाइएको २४ घण्टे स्पष्टीकरणमा देउवालाई विश्वासको मत दिएको विषय उल्लेख नगरी पार्टी र संसदीय दलको विधानविपरीतका क्रियाकलाप गरेको लगायतका आरोप लगाइएको छ ।

    तीन दिनदेखि जारी एमाले केन्द्रीय कमिटी बैठक आज पनि जारी छ । स्पष्टीकरण पत्र बुझाएको २४ घण्टा पुग्ने भएकाले यसबारे आजको बैठकमा निर्णय हुन सक्ने ठानिएको छ ।

  • अदालतको आदेश आकर्षित नहुने भाषा राखेर एमालेले सोध्यो २२ सांसदलाई स्पष्टीकरण

    अदालतको आदेश आकर्षित नहुने भाषा राखेर एमालेले सोध्यो २२ सांसदलाई स्पष्टीकरण

    काठमाडौं । नेकपा एमालेले शेरबहादुर देउवालाई विश्वासको मत दिने २२ सांसदलाई सर्वोच्च अदालतको परमादेश आकर्षित नहुने भाषा मिलाएर स्पष्टीकरण सोधेको छ ।

    साउन ५ गते पठाइएको २४ घण्टे स्पष्टीकरणमा शेरबहादुर देउवालाई विश्वासको मत दिएको विषय उल्लेख नगरी पार्टी र संसदीय दलको विधानविपरीतका क्रियाकलाप गरेको लगायतका अभियोग लगाइएको छ ।

    अदालतले देउवालाई समर्थन गरेका सांसदलाई कारवाही नगर्न आदेश दिएकाले स्पष्टीकरणमा सो विषय उल्लेख गरिएको छैन । २४ घण्टाभित्र स्पष्टीकरण चित्तबुझ्दो नदिएमा साधारण सदस्यलगायत पार्टीको जिम्मेवारीबाट निष्कासन किन नगर्ने ? भनी प्रश्न सोधिएको छ ।

  • एमालेको नीति- २२ जनालाई कारवाही, अरुलाई जेठ २ मै फर्केर महत्वपूर्ण जिम्मेवारी

    एमालेको नीति- २२ जनालाई कारवाही, अरुलाई जेठ २ मै फर्केर महत्वपूर्ण जिम्मेवारी

    काठमाडौं । नेकपा एमालेले वरिष्ठ नेता माधवकुमार नेपालसहित २२ जना प्रतिनिधिसभा सदस्यमाथि अनुशासनको कारवाही अघि बढाएको छ । केन्द्रीय कमिटीको सोमबार बसेको बैठकले शेरबहादुर देउवालाई विश्वासको मत दिने नेपालसहित २२ सांसदलाई २४ घण्टे स्पष्टीकरण सोधेको छ ।

    बैठकले अब माधव नेपाल एमालेमा नफर्किने र एमालेमा स्वीकार गर्न पनि नसकिने निष्कर्ष निकालेको छ । नेपालले आइतबार बिहान आफ्नै निवासमा पुगेका कार्यदलका नेताहरूसँग आफू अल्पमतमा रहेको कमिटी बैठकमा नजाने र त्यसका निर्णय नमान्ने बताएका थिए ।

    भीम रावल, भीम आचार्य, गोकर्ण विष्टलगायतका नेताले भनेको समेत नेपालले नमानेको प्रसंग कोट्याउँदै आइतबारको बैठकमा अध्यक्ष ओलीले माधव नेपालजस्ता गद्दारलाई अब एमालेमा कुनै स्थान नरहेको बताए ।

    माधव नेपालसहित २२ जना एमाले सांसदले पार्टीको निर्णयविपरीत देउवालाई विश्वासको मत दिएका थिए । त्यसमा यसअघि केपी ओली पक्षमा रहेका ८ जना सांसद छन् भने बाँकी १४ जना माधव नेपाल समूहका हुन् ।

    माधव नेपाललाई सधैँ साथ दिँदै आएका १० जना सांसदले विश्वासको मतको बेला संसद बैठक छाडेका थिए भने भीम रावलले राजीनामा दिएको घोषणा गरे । देउवालाई विश्वासको मत दिने २२ मध्ये ११ जना समानुपातिक सांसद छन् ।

    ओली पक्षका समानुपातिक सांसद विनादेवी बुढाथोकी, पार्वती विसुंखे र समिना हुसेनले अन्तिम क्षणमा देउवालाई मत दिएका थिए । त्यस्तै माधव पक्षका समानुपातिक सांसद मुकुन्द न्यौपाने, रामकुमारी झाँक्री, सरला यादव, पुष्पा कर्ण कायस्थ, निरा जैरु, कलिला खातुन, लक्ष्मी चौधरी र कल्याणी खड्काले देउवालाई मत दिएका थिए ।

    प्रत्यक्ष निर्वाचिततर्फ तेह्रथुमका भवानी खापुङ, काठमाडौं २ का माधवकुमार नेपाल, काठमाडौं ८ का जीवनराम श्रेष्ठ र ललितपुर २ का कृष्णलाल महर्जन देउवाको पक्षमा उभिए ।

    त्यस्तै दाङ १ का मेटमणी चौधरी, मकवानपुर २ का विरोध खतिवडा, दाङ ३ का हिराचन्द्र केसी, तनहुँ १ का कृष्णकुमार श्रेष्ठ किसान,डोल्पाका धनवहादुर बुढा, मुगुका गोपाल बम र डोटीका प्रेम आलेले पनि देउवालाई विश्वासको मत दिएका थिए ।

    देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गर्नेमध्ये ७ जनाले मतदानमा भाग लिएनन् भने झलनाथ खनाल दिल्लीमा उपचाररत् छन् ।

    एमालेले २२ जनालाई कारवाही गर्ने र अन्य सबैलाई पार्टीमा महत्वपूर्ण जिम्मेवारी दिएर अघि बढाउने रणनीति बनाएको छ ।

    त्यसकै लागि जेठ २ मा फर्किने गरी १० सदस्यीय कार्यदलले तयार पारेको १० बुँदे सहमति केन्द्रीय कमिटी बैठकले अनुमोदन गरेको एमाले प्रवक्ता प्रदीप ज्ञवालीले बताए ।

    माधव नेपालले कार्यदलको रिपोर्ट स्वीकार नगरेकाले अब कार्यदलमा रहेका नेताहरुले पनि सोच्नुपर्ने र माधव नेपालबाहेक भएर पनि पार्टी एकता बचाउनुपर्ने केपी ओली पक्षको तर्क छ ।

    नेपाल पक्षका २२ जनाले भने २४ घण्टाभित्र स्पष्टीकरण नदिने भएका छन् । सर्वोच्च अदालतले देउवालाई विश्वासको मत दिएका आधारमा कारवाही गर्न नमिल्ने भनेकाले एमालेले कारवाही गरे त्यो अदालतको अवहेलना हुने सांसद निरा जैरुले बताइन् ।

    तर, एमालेले भने अदालतको फैसलाले सांसद पदबाट कारवाही गर्न नमिल्ने भने पनि पार्टी अनुशासन उल्लंघनमा पार्टीले कारवाही गर्ने बताएको छ ।

  • माओवादी सरकार जोगाउन साथ दिएका माधव पक्षका १७ सांसदसँग एमालेले माग्यो स्पष्टीकरण

    माओवादी सरकार जोगाउन साथ दिएका माधव पक्षका १७ सांसदसँग एमालेले माग्यो स्पष्टीकरण

    कैलाली । माओवादीका मुख्यमन्त्री त्रिलोचन भट्टको सरकार जोगाउन साथ दिएका माधव नेपाल पक्षका १७ सांसदलाई एमाले सुदूरपश्चिम प्रदेश कमिटीले स्पष्टीकरण सोधेको छ ।

    समर्थन फिर्ता लिने पार्टी नेतृत्वको निर्णयविपरीत मुख्यमन्त्रीलाई विश्वासको मत दिएको भन्दै संसदीय दलका नेता प्रकाश शाहसहित उनीहरूलाई २४ घण्टे स्पष्टीकरण सोधिएको हो ।

    स्थायी कमिटीको निर्णय र सुदूरपश्चिम संसदीय दलको निर्णयविपरीत चलेको भन्दै ओली र माधव पक्षबाट एक अर्कालाई स्पष्टीकरण सोध्ने क्रम बढेको छ ।

  • सुदूरपश्चिम संसदीय दलका नेता शाहलाई ओलीको ४८ घण्टे स्पष्टीकरण

    सुदूरपश्चिम संसदीय दलका नेता शाहलाई ओलीको ४८ घण्टे स्पष्टीकरण

    कैलाली । सुदूरपश्चिम प्रदेश संसदीय दलका नेता प्रकाश शाहलाई एमालेका केन्द्रीय अध्यक्ष केपी शर्मा ओलीले स्पष्टीकरण सोधेका छन् ।

    बिहीबार अध्यक्ष ओलीले शाहलाई ४८ घण्टे स्पष्टीकरण सोधेको एमाले प्रदेश सचिव राजेन्द्र रावलले जानकारी दिए । यसअघि उनलाई प्रदेश कमिटीले पनि स्पष्टीकरण सोधेको थियो । शाह केन्द्रीय सदस्य भएको हुँदा केन्द्रीय कमिटीको तर्फबाट अध्यक्ष ओलीले स्पष्टीकरण सोधेका हुन् ।

    जेठ १० गतेको एमाले स्थायी कमिटी बैठकले सुदूरपश्चिम सरकारमाथिको समर्थन फिर्ता लिएको थियो । तर, प्रदेश संसदीय दलले भने नेतृत्वको निर्देशन अटेर गरेको भन्दै कारवाही प्रक्रिया थालिएको छ ।

    शाहलाई सोधिएको स्पष्टीकरणमा पार्टी केन्द्रले समर्थन फिर्ता लिइसकेको विपक्षी दलको प्रदेश सरकारको मन्त्री पदमा किन रहेको ? भन्ने सोधिएको छ । त्यस्तै गुटका भेलामा सहभागी हुने र अरूलाई समेत सहभागी हुन उत्प्रेरित गर्ने गरेको आरोप लगाइएको छ ।

    अध्यक्ष ओलीले शाहलाई एमाले सुदूरपश्चिम प्रदेश संसदीय दलको विधान समेतको आधारमा पार्टीको साधारण सदस्य समेत नरहने गरी किन निष्कासन नगर्ने ? भन्दै चित्तबुझ्दो जवाफ मागेका छन् ।

  • उपेन्द्रलाई महन्थको २४ घण्टे अल्टिमेटम, चित्त बुझ्दो स्पष्टीकरण नदिए पार्टीबाटै निष्कासन

    उपेन्द्रलाई महन्थको २४ घण्टे अल्टिमेटम, चित्त बुझ्दो स्पष्टीकरण नदिए पार्टीबाटै निष्कासन

    काठमाडौं । जसपा अध्यक्ष महन्थ ठाकुरले अर्का अध्यक्ष उपेन्द्र यादवलाई काउन्टर स्पष्टीकरण सोध्दै २४ घण्टाभित्र चित्त बुझ्दो स्पष्टीकरण नबुझाए दलबाट निष्कासन गर्ने चेतावनी दिएका थिए ।

    यादवले सोही व्यहोराको २४ घण्टे स्पष्टीकरण सोधेलगत्तै ठाकुरले काउन्टर जवाफ दिएका हुन् ।

    यो पनि पढ्नुहोस् : महन्थसहित चार नेतालाई पार्टीबाट निष्कासन गर्ने उपेन्द्र पक्षको लिखित चेतावनी

     

  • माओवादी सरकारमा सामेल ६ मन्त्रीलाई एमालेले सोध्यो २४ घण्टे स्पष्टीकरण

    माओवादी सरकारमा सामेल ६ मन्त्रीलाई एमालेले सोध्यो २४ घण्टे स्पष्टीकरण

    कैलाली । नेकपा एमालेको प्रदेश कमिटीले सुदूरपश्चिम प्रदेश सरकारमा नवनियुक्त मन्त्री र राज्यमन्त्रीलाई स्पष्टीकरण सोधेको छ ।

    एमाले सुदूरपश्चिम प्रदेश अध्यक्ष कर्ण थापा र सचिव राजेन्द्र रावलले आन्तरिक मामिला तथा कानून मन्त्री पूर्णा जोशी, सामाजिक विकासमन्त्री लालबहादुर खड्का, भौतिक पूर्वाधार विकास मन्त्री दीर्घ सोडारीलाई २४ घण्टे स्पष्टीकरण सोधेका हुन् ।

    यस्तै राज्यमन्त्रीमा नियुक्त चुनकुमारी चौधरी, अर्चना गहतराज र मना साउदलाई पनि स्पष्टीकरण सोधिएको छ । प्रदेश संसदीय दलको सचेतकमा नियुक्त दुर्गा कामीलाई पनि स्पष्टीकरण सोधिएको छ । यसअघि तीन मन्त्रीलाई स्पष्टीकरण सोधिएको थियो ।

    उनीहरूलाई स्थायी कमिटीको बैठकको निर्णयविरुद्ध गएर प्रदेश सरकारमा मन्त्री भएको आरोप लगाइएको छ । सोमबार स्थायी कमिटीको बैठकले प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको थियो ।

    बुधबार प्रदेश संसदीय दलले भने वर्तमान सरकारलाई दिएको समर्थन कायम राख्ने निर्णय गरेको थियो । शुक्रबार एमाले माधव पक्षले मन्त्री थप गरेको छ । ओली पक्ष भने सरकार विस्तारको विरोधमा छ ।

  • एमालेका १२ भाइसँग मौखिक सोधपुछ, आलटाल गरेपछि स्पष्टीकरण पत्र पठाइँदै

    एमालेका १२ भाइसँग मौखिक सोधपुछ, आलटाल गरेपछि स्पष्टीकरण पत्र पठाइँदै

    काठमाडौं । नेकपा एमालेले कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन र आफ्नो सरकार ढाल्न हस्ताक्षर गर्ने १२ जना नेतालाई आज स्पष्टीकरण पत्र पठाउने भएको छ ।

    एमाले केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङले १२ घण्टाको समय दिएर स्पष्टीकरण पत्र काट्न लागेको नेपाल प्रेसलाई जानकारी दिए । सोमबार बसेको स्थायी कमिटी बैठकले झलनाथ खनाल, माधव नेपालसहितका ११ जना नेताहरुलाई पार्टीको साधरण सदस्य समेत नरहने गरि निष्कासन गरेको थियो।

    बैठकले नेपाल पक्षका बाँकी रहेका १२ जनालाई पनि कारवाही प्रक्रिया अघि बढाउँदै १२ घण्टे स्पष्टीकरण निर्णय गरेको थियो । विरोध खतिवडा, जीवनराम श्रेष्ठ, घनश्याम भुसाल, सोमप्रसाद पाण्डे, कृष्णलाल महर्जन, झपट रावल, भवानीप्रसाद खापुङ, यज्ञ सुनुवार, सुरेन्द्र पाण्डे, मेटमणि चौधरी, दिपकप्रकाश भट्ट र नारायण खतिवडालाई स्पष्टीकरण सोधिएको छ ।

    बैठकले दुई दिनअघि नै स्पष्टीकरण सोध्ने निर्णय गरिसकेको भए पनि यो बीचमा उनीहरूलाई सम्झाउने प्रयास संस्थापन पक्षले गरेको थियो। संस्थापननिकट एक नेताले यो बीचमा उनीहरूलाई सम्झाउने प्रयास भए पनि खासै उपलब्धी हासिल नभएको जानकारी नेपाल प्रेसलाई गराए।

    स्पष्टीकरण सोधिएका पूर्वसांसदहरुलाई सम्झाउने प्रयास सफल हुन नसकेपछि आज एमालले स्पष्टीकरणको पत्र पठाउन लागेको हो । सम्भवतः भोलि स्थायी कमिटी बैठक बोलाएर उनीहरुलाई पनि पार्टीबाट निष्कासन गर्ने निर्णय एमालले लिने छ ।

  • माधव पक्षले स्पष्टीकरणको जवाफ नदिने, जस्तोसुकै कारवाही भोग्न तयार

    माधव पक्षले स्पष्टीकरणको जवाफ नदिने, जस्तोसुकै कारवाही भोग्न तयार

    काठमाडौं । माधवकुमार नेपाल पक्षले पार्टीले सोधेको स्पष्टीकरणको जवाफ नदिने भएको छ।

    शनिबार बसेको एमालेको स्थायी कमिटी बैठकले सोमबार बिहानसम्मको समय दिएर अन्तिम पटक भन्दै विघटित संसदका ११ सांसदलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो ।

    नेपाल पक्षका सांसदहरूले आफूहरुलाई सोधिएको स्पष्टीकरण प्राप्त भएको बताएका छन् । सांसद मेटमणि चौधरीले स्पष्टीकरण पाएको तर त्यसको जवाफ नदिने बताए ।

    अर्की सांसद कल्याणी खड्काले पनि स्पष्टीकरण पत्र आफूलाई प्राप्त भएको बताइन् । स्पष्टीकरणमा पार्टी अनुशासन उल्लघंन गरेर विपक्षीलाई प्रधानमन्त्री बनाउन किन हस्ताक्षर गरेको ? त्यसवापत कारबाही किन नगर्ने ? भनेर सोधिएको नेपाल प्रेसलाई जानकारी दिइन् ।

    ‘स्पष्टीकरणको केही अर्थ छैन,’ खड्काले भनिन्, ‘जे-जे सोध्छन् हामीले त्यसको स्पष्टीकरण दिँदै जाने दास हो र हामी ? स्पष्टीकरणको जवाफ दिँदैनौं । स्ष्टीकरण दिए पनि त्यहाँ आत्मसर्मपण गर्न जाने होइन ।’

    खड्काले स्पष्टीकरणको जवाफ नदिएवापत जस्तोसुकै कारबाही भोग्न आफूहरू तयार रहेको बताइन् । ‘उहाँहरूलाई जे मन लाग्छ, त्यही गर्नुहुन्छ, गरे हुन्छ । कारवाहीको केही अर्थ छैन् । सांसद छैनौं, उहिल्यै केन्द्रीय सदस्यबाट हाम्रो जिम्मेवारी खोसिसक्या छ ।’

    संविधानको धारा ७५ (५) अनुसार प्रधानमन्त्री दावी गर्दा नेपाल पक्षका २६ सांसदले विपक्षी दलका नेता शेरबहादुर देउवाको पक्षामा हस्ताक्षर गरेका छन् ।

    स्ष्टीकरणको जवाफ दिन दिइएको समय घर्किनै लाग्दा एमालेको संस्थापन पक्षले स्थायी कमिटी बैठक बोलाएको छ। अपरान्ह प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने बैठकमा स्पष्टीकरण सोधिएकाहरुलाई कारवाही हुने सम्भावना छ।

    त्यस्तै बैठकमा पार्टी विवाद समाधानका लागि गठित वार्ता टोलीको सन्दर्भमा समेत छलफल हुने बताइएको छ ।

  • जनमोर्चाले सोध्यो प्रदेशसभा सदस्य थापालाई स्पष्टीकरण

    जनमोर्चाले सोध्यो प्रदेशसभा सदस्य थापालाई स्पष्टीकरण

    पोखरा । राष्ट्रिय जनमोर्चाले पार्टीका गण्डकी प्रदेश सदस्य कृष्ण थापालाई स्पष्टीकरण सोधेको छ । पार्टीले प्रदेशमा नेपाली कांग्रेस नेतृत्वको सरकार गठनका लागि हस्ताक्षर गर्न दिएको पार्टी निर्देशन पालना नगरेको सन्दर्भमा स्पष्टीकरण सोधेको पार्टीका प्रदेश अध्यक्ष शङ्कर बरालले जानकारी दिए ।

    मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले राजीनामा दिएपछि प्रदेशप्रमुख सीताकुमारी पौडेलले नयाँ सरकार गठनका लागि दलहरूलाई गरेको तीन दिनको आव्हान अपरान्ह ४ बजे सकिँदैछ ।

    यसअघि मुख्यमन्त्री गुरुङविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गराएका नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टीका नेताले नयाँ सरकार गठनका लागि ३१ सदस्यसहितको हस्ताक्षर प्रदेश प्रमुखलाई बुझाउने प्रयास गरेकामा अविश्वासको प्रस्तावका पक्षमा समर्थन गर्ने निर्णय गरेको जनमोर्चाका संसदीय दलका नेता कृष्ण थापाले नयाँ सरकार गठनका लागि हस्ताक्षर गर्न नमान्दा विपक्षी गठबन्धन अलमलमा परेका छन् ।

    ३१ सदस्य पुग्नका लागि राष्ट्रिय जनमोर्चाका तीन प्रदेशसभा सदस्यको हस्ताक्षर अनिवार्य चाहिन्छ । ६० सदस्यीय गण्डकी प्रदेशसभामा नेकपा एमालेका २७ जना छन् भने एकजना स्वतन्त्र सांसद राजीव गुरुङ एमालेकै पक्षमा छन् । त्यस्तै नेपाली कांग्रेसका १५, नेकपा माओवादी केन्द्रका सभामुखसहित १२, राष्ट्रिय जनमोर्चाका तीन र जनता समाजवादी पार्टीका दुई प्रदेशसभा सदस्य छन् ।

  • धनुषाका चार जनप्रतिनिधिलाई माओवादीले सोध्यो स्पष्टीकरण, एमालेमा लागेको आरोप

    धनुषाका चार जनप्रतिनिधिलाई माओवादीले सोध्यो स्पष्टीकरण, एमालेमा लागेको आरोप

    जनकपुरधाम । एमालेमा लागेको आरोपमा धनुषामा एक मेयरसहित चार जनप्रतिनिधिलाई नेकपा माओवादी केन्द्रले स्पष्टीकरण सोधेको छ ।

    माओवादी केन्द्र धनुषाका इन्चार्ज योगनारायण बरबरिया र सचिव दिपक यादवले विदेह नगरपालिकाका मेयर बेचनदास तत्मा, उपमेयर निलमदेवी मण्डल, सबैला नगरपालिकाकी उपमेयर निलुदेवी कापर र शहिदनगर नगरपालिकाकी उपमेयर शिलादेवी कापरलाई लिखित स्पष्टीकरण सोधेका हुन् ।

    एमाले र माओवादी ब्युँताउने सर्वोच्चको फैसलापछि पार्टी पुरानै अवस्थामा फर्किएपनि पार्टीको कार्यक्रमहरूमा के कति कारणले सहभागी नभएको ? भनी उनीहरूसँग जवाफ मागिएको छ । तीन दिनभित्र स्पष्टीकरण पेस गर्न निर्देशन दिइएको छ ।

    चारैजनालाई पठाइएको एकै व्यहोराको पत्रमा आफ्नो स्थानीय तहमा पार्टीको पक्षमा क्रियाशीलता नदेखाएको भन्दै नेकपा माओवादी केन्द्र त्याग गरेको हो वा होइन् ? भन्ने प्रश्नसमेत सोधिएको छ ।

    उनीहरूले एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी ओलीलाई साथ दिएको भन्दै एक माओवादी नेताले भने, ‘पदमुक्त गर्ने प्रक्रिया पूरा गर्न स्पष्टीकरण सोधेका हौं । उनीहरूलाई कारवाही हुन्छ ढुक्क हुनुस् ।’

  • स्पष्टीकरण सोधिएका एमाले सांसदको आवश्यक निर्णय गर्ने जिम्मा स्थायी कमिटीलाई

    स्पष्टीकरण सोधिएका एमाले सांसदको आवश्यक निर्णय गर्ने जिम्मा स्थायी कमिटीलाई

    काठमाडौं । नेकपा एमालेले स्पष्टीकरण सोधिएका र पेस गरेका सांसदहरूलाई कस्तो कारवाही गर्ने भन्ने जिम्मा स्थायी कमिटीलाई दिएको छ ।

    केन्द्रीय कमिटीको शुक्रबारको बैठकले स्पष्टीकरण र व्यवहार हेरेर आवश्यक निर्णय गर्ने जिम्मा स्थायी कमिटीलाई दिएको एक केन्द्रीय सदस्यले बताए । अध्यक्ष ओलीले स्पष्टीकरणमा आग्रहपूर्ण दृष्टिकोण राख्ने र विगतमा गुटगत गतिविधि गरेको भए पनि सच्चिएर आउनेलाई पार्टीमा स्पेस दिने बताएका छन् ।

    ओलीको भनाई उदृत गर्दै एक केन्द्रीय सदस्यले भने, ‘तर, निहुँ खोजेर उद्ण्डता देखाउने र एमाले समाप्त गर्न लाग्छु भन्नेलाई कारवाही गरिने छ। उनीहरूको स्पष्टीकरण र व्यवहार हेरेर आवश्यक निर्णय हुनेछ ।’

    एमालेले माधव नेपाल, झलनाथ खनालसहित प्रतिनिधिसभाका २७ जना र कर्णाली प्रदेशका ५ जनालाई स्पष्टीकरण सोधेको थियो । तीमध्ये कर्णालीका ४ जनालाई पार्टी र संसद सदस्यबाट निष्कासनको निर्णय भएको छ । योगेश भट्टराईसहित ५जनाले स्पष्टीकरण पेस गरेका छैनन् ।

  • स्पष्टीकरण सोधिएका दुई सांसदको मूलधारमा लाग्ने प्रतिबद्धता, योगेशसहित ५ को स्पष्टीकरण बाँकी

    स्पष्टीकरण सोधिएका दुई सांसदको मूलधारमा लाग्ने प्रतिबद्धता, योगेशसहित ५ को स्पष्टीकरण बाँकी

    काठमाडौं । नेकपा एमालेले स्पष्टीकरण सोधेका संघीय संसदका २७ सांसदमध्ये पाँचजनाले दुई दिनको अवधिमा स्पष्टीकरण पेस नगरेको केन्द्रीय कमिटी बैठकमा जानकारी दिइएको छ ।

    स्पष्टीकरण पेस नगर्नेमा योगेश भट्टराई, रामकुमारी झाक्री, मेटमणि चौधरी, निरा जैरु र दिपकप्रकाश भट्ट छन् । अधिकांस सांसदले सकारात्मक ढंगले नै स्पष्टीकरण पेस गरेको बैठकमा अध्यक्ष केपी शर्मा ओलीले जानकारी दिएका छन् ।

    बैठकमा अध्यक्ष ओलीले सिन्धुलीका गणेश पहाडी र दाङका हिराचन्द्र केसीले मूलधारमा लाग्ने प्रतिबद्धता जनाएको र सुनसरीका जयकुमार राई, पाल्पाका सोम पाण्डे र रौतहटकी कल्याणी खड्काले नरम र सुझावसहितको स्पष्टीकरण दिएको बताएका छन् ।

  • सर्वोच्चमा एमालेका ४ नेताको रिट दर्ता, सांसदबाट नहटाउन अन्तरिम आदेश माग (पूर्णपाठ)

    सर्वोच्चमा एमालेका ४ नेताको रिट दर्ता, सांसदबाट नहटाउन अन्तरिम आदेश माग (पूर्णपाठ)

    काठमाडौं । नेकपा एमालेबाट निलम्बनमा परेका चारजना नेताले आफूहरूसहित २७ जना सांसदको पद खारेजी हुने प्रक्रिया रोक्न र पुनःस्थापित एमालेको केन्द्रीय कमिटी बैठक बोलाउने अन्तरिम आदेश माग गर्दै सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गराएका छन् । बुधबारै पेस भएको रिट सर्वोच्च प्रशासनले आज दर्ता प्रक्रियामा लगेको हो ।

    रिटको प्रारम्भिक सुनुवाइका लागि आइतबारलाई पेसी तोकिएको सर्वोच्चले जनाएको छ ।

    माधवकुमार नेपाल, सुरेन्द्र पाण्डे, घनश्याम भुसाल र भीम रावलको तर्फबाट संयुक्तरूपमा पेस गरिएको १४ बुँदे मागसहितको रिटमा आफूहरूमाथि गर्न लागिएको निष्कासनको कारवाही उत्प्रेषण, प्रतिशोधको आदेशद्वारा बदर तथा रोक्का गरिपाउँ भनिएको छ ।

    ती नेताहरूले निर्वाचन आयोगमा कायम रहेको एमालेका अभिलेख र विवरणमा कुनै परिवर्तन नगर्नु नगराउनु भन्ने परमादेश आयोगका नाममा समेत जारी हुनुपर्ने माग गरेका छन् ।

    त्यस्तै आफूहरूले दल त्याग गरेको भनी एमालेले कारवाही गर्न सक्ने पूर्ण आशंका भएकाले सो कार्य रोक्न र संघीय संसद सचिवालयलाई पनि सांसद पद रिक्त गर्ने प्रक्रियाको पत्र गएमा सो कार्य नगर्न परमादेश माग गरिएको छ ।

    रिट निवेदनमा वैशाख १० गते नै एमालेको अर्को बैठक राखिएकोले सो बैठकबाट थप कारवाही गर्ने र त्यही आधारमा निर्वाचन आयोगले समेत विवरण सच्याउने भएकाले रिट निवेदनको किनारा नलागेसम्म सबै कारवाही यथास्थितिमा राख्न अन्तरिम आदेश माग गरिएको छ ।

    एमालेले यी पाँच नेतासहित २७ जना सांसदलाई स्पष्टीकरण माग गरेको छ । ‘फ्लोर क्रस’ गरेर सरकार ढाल्ने सहमति शेरबहादुर देउवा र प्रचण्डसँग गरेको जानकारी पाएपछि अध्यक्ष तथा संसदीय दलका नेता ओलीले सांसद पदबाट किन कारवाही नगर्ने भन्ने व्यहोरोका स्पष्टीकरण मागेका छन् ।

    राजनीतिक दल सम्बन्धी ऐन र संविधानको धारा ८९ बमोजिम एमालेले कारवाही गरेमा सांसद पद जाने भएकाले माधव नेपाल पक्षले अदालत गुहारेको हो ।

     

     

  • स्पष्टीकरण सोधिएका एमाले सांसद अध्यक्ष ओलीसँग ‘वान टु वान’ संवादमा

    स्पष्टीकरण सोधिएका एमाले सांसद अध्यक्ष ओलीसँग ‘वान टु वान’ संवादमा

    काठमाडौं । पार्टीको पक्षमा उभिने कि कारवाही भोग्न तयार हुने भनेर स्पष्टिकरण सोधिएका नेकपा एमालेका सांसदहरु प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओलीको सम्पर्कमा पुग्ने क्रम बढेको छ ।

    एमालेको आधिकारिक निर्णयको पक्षमा उभिन अन्तिम मौका भन्दै अध्यक्ष ओलीले स्पष्टिकरण सोधिएपछि पनि सांसदहरुसँग व्यक्तिगत रुपमा संवाद जाारी राखेका छन् ।

    माधव नेपाल पक्षका संघका २७ र कर्णाली प्रदेशका ५ सांसदलाई स्पष्टीकरणको पत्र काट्नुअघि सामेबार अबेरसम्म ओलीले व्यक्तिग रुपमा हरेक सांसदलाई फोन गरेका थिए ।

    ‘यो तपाईंहरुका लागि अन्तिम मौका हो, आजै कित्ता क्लियर गर्नुहोस्’ भन्दै ओली केही सांसदलाई बालुवाटारै बोलाएर संम्झाएका थिए भने केहीलाई फोनमै सम्झाएका थिए । ओलीले त्यो क्रमलाई पष्टीकरणपछि पनि जारी राखेका छन् ।

    नेता योगेश भट्टराईले बुधबार बालुवाटारमा गएर ओलीलाई भेटेका छन् । भट्टराईले ओलीलाई भेटेर उदार मनका साथ सबै नेताहरूलाई समेटेर अघि बढ्न आग्रह गरेका छन् ।

    भेटपछि नेपाल प्रेससँग कुरा गर्दै भट्टराईले भने- ‘मैले पार्टी अध्यक्षलाई भेटेर एमालेलाई एकतावद्ध बनाउने हिसाबले भूमिका खेल्नुस्, त्यसमा हाम्रो साथ सहयोग हुन्छ भनेको छु । सायद शीर्ष तहमै संवाद सकारात्मक हुनेछ ।

    प्रधानमन्त्री ओलीलाई स्पष्टीकरण सोधिएका अर्का सांसद सोमप्रसाद पाण्डेले पनि बुधवार भेटेका छन् ।

    अर्का सांसद नारायण खतिवडा काठमाडौं आएर ओलीसँग भेट्ने जानकारी दिए । गणेश पहाडी लगायतका सांसदहरु पनि सम्पर्कमा रहेका छन् । बालुवाटार नपुग्ने सांसदसँग ओलीले फोनमै पनि कुराकानी गरिरहेका छन् ।

    प्रायः सबै सांसदलाई ओलीले गरेको आग्रह र दिएको सन्देश एउटै छ- अब गुटसँग कुनै डिल हुँदैन । तपाईंहरुलाई व्यक्तिगत रुपमा सम्मानजनक व्यवहार र उचित जिम्मेवारी दिइन्छ ।

    व्यक्तिगत रुपमा आउने सबैसँग संवाद हुने र पार्टी हित अनुसार काम गर्ने प्रतिवद्धता जनाएर आउनेलाई कुनै कारबाही नुहने कुरा ओलीले पुनः दोहोर्‍याएका छन् । पछिल्लो समय ओलीले अब एमालेमा कुनै गुट स्वीकार नगरिने अडान दोहोर्‍याइरहेका छन् ।

    व्यक्तिगत ‘डिलिङ’ले सानालाई असुरक्षा

    ओलीसँगको ‘डिलिङ’मा नेपाल पक्षका प्रभावशाली नेताहरु एक्ला एक्लै लाग्न थालेपछि स्पष्टीकरण सोधिएका सांसदहरुले भने असुरक्षा महसुस गर्न थालेका छन् ।

    ओलीसँगको संवादपछि नेपाल पक्षका सांसदहरू ध्रुव शाही, राजबहादुर बुढा, बिना बुढाथोकी मगर, गंगा चौधरी सतगौंवा, समिना हुसेन, कलिला खातुन र पार्वती बिसुंखेले पार्टी विभाजन हुँदा नेपाल पक्षमा नलाग्ने प्रतिबद्धता जनाएका छन् ।

    केही यसअघि गरिसकेको निर्णयबाट समेत पछाडि हट्न समेत थालेका छन्। ‘माथिका नेताहरुले हाम्रो टाउको गनेर केपी ओलीसँग बार्गेनिङ गर्दैछन्, भोलि उनीहरुको लेनदेन मिल्यो भने नेताले भागबण्डा पाइहाल्छन्, हामीलाई टिकट समेत दिदैनन्’ एक सांसदले भने ‘बरु नेताहरु भन्दा पहिले व्यक्तिगत रुपमै प्रधानमन्त्रीसँग भेटेर साथ दिइयो भने अर्को पटक टिकट सुरक्षित त हुन्छ’ ।

    कर्णाली प्रदेशसभाका मुख्यमन्त्री मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई मत दिएकी प्रदेश सांसद देवी ओलीले मतदानका क्रममा आफू झुक्किएको स्पष्टीकरण दिएकी छिन् ।

    प्रदेशसभा संसदीय दलका नेता यमलाल कँडेललाई बुझाएको स्पष्टिकरणमा सांसद ओलीले आफू नेकपा एमालेको नीति, निर्णय र ह्वीप पालना गर्न प्रतिबद्ध रहेको समेत प्रष्ट पारेकी छिन् ।

    कारबाही परिने डरले नेपाल पक्षका धेरै सांसदले यस्तै प्रतिवद्धता जाहेर गर्ने ठानिएको छ।

    नेपाल र रावलप्रति नकारात्मक

    भट्टराईसँगको आजको छलफलपछि ओली कारबाहीको मामिलामा केही लचक बन्ने अपेक्षा नेपाल पक्षको छ । भट्टराईले ओलीलाई भेटेर ‘उदार मनका साथ सबै नेताहरूलाई समेटेर अघि बढ्न’ आग्रह गरेका थिए ।

    व्यक्तिगत रुपमा सबै नेताहरुलाई समेटेर लैजान आफू तयार रहेको ओलीले बताएका छन् । तर माधव नेपाल र भीम रावलका गतिबिधि र अभिव्यक्ति भने कारवाहीयोग्य रहेको आशय ओलीको छ ।

    स्रोतले भन्यो- माधव नेपालसँग संवाद शुरु भएको छ । तत्कालै परिणाम त नआउला । यसबीचमा तीन चारजनालाई मात्र कारवाही गरेर अरु सांसद ओलीले नै समेट्ने सम्भावना पनि देखिन्छ ।

  • माधव पक्षको बैठक : स्पष्टीकरणको कानूनी र राजनीतिक प्रतिवाद गर्ने

    माधव पक्षको बैठक : स्पष्टीकरणको कानूनी र राजनीतिक प्रतिवाद गर्ने

    काठमाडौं । नेकपा एमालेको माधव नेपाल पक्षले आफ्नो पक्षका सांसदहरूलाई सोधिएका स्पष्टीकरणको राजनीतिक र कानूनी प्रतिवाद गर्ने भएको छ ।

    अर्याल होटल बानेश्वरमा बसेको नेपाल पक्षका नेताहरुको बैठकले सांसदहरुले व्यक्तिगत रूपमा स्पष्टीकरण बुझाउने तर राजनीतिक संघर्ष जारी राख्ने निर्णय गरेको हो । नेपाल पक्षकी सांसद रामकुमारी झाँक्रीले सांसदहरुलाई हठात् रुपमा स्पष्टीकरण सोधिनु अराजनीतिक कदम भएको बताइन् ।

    ‘पार्टीको विभाजनको पक्षमा स्वयं पार्टी अध्यक्ष नै हुनुहुन्छ । निरन्तर उहाँ कम्युनिष्ट आन्दोलन र पार्टी एकता धराशयी बनाउन लाग्नुभएको छ । सांसदहरूलाई सोधिएको स्पष्टीकरण त्यसैको निरन्तरता हो’, झाँक्रीले पत्रकारहरूसँग भनिन् ।

    नेपाल पक्षले एमाले एकताको पक्षमा उभिएपनि अध्यक्ष केपी शर्मा ओलीले एकलौटी ढंगले गरेका निर्णयहरू विधानविपरीत रहेकोले प्रतिवाद जारी रहने जनाएको छ ।

    ‘हामी हाम्रो स्पष्टीकरण दिन्छौं, कानूनी प्रतिवाद पनि गर्छौ र राजनीतिक रूपमा पनि नेतृत्वका गलत कदमविरुद्ध उभिन्छौं’, झाँक्रीले भनिन् ।

    अध्यक्ष ओलीले व्यक्तिगत रुपमा पत्र काटेर सोधेको पत्र स्पष्टीकरण दिन लायक नभएपनि स्पष्टीकरण नदिँदा प्रतिरक्षा नगरेको अर्थ जाने भएकोले पत्रको जवाफ बुझाइने झाँक्रीले जनाइन् ।

    सांसदलाई स्ष्टीकरण एमाले विभाजनको अर्को कदम

    सांसद र वरिष्ठ नेताहरुबीच भएको सामूहिक छलफलमा २८ गते यता पार्टी विभाजनका लागि ओलीले थुप्रै निर्णय गरिसकेको र सांसदलाई स्पष्टीकरण सोधेर विभाजनलाई थप कार्यान्वयन गरेको निष्कर्ष निकालेको सांसदहरुले बताएका छन्।

    ‘फागुन २८ गतेको निर्णयबाट नै ओलीले एमाले विभाजनको निर्णय गरिसक्नु भएको थियो,’ छलफलमा सहभागि सांसद वेदुराम भुसालले भने, ‘सांसदलाई स्पष्टीकरण सोध्ने निर्णय विभाजनको कार्यान्वयन हो।’

    सांसद झपट रावलले स्पष्टीकरणका बारेमा छलफल भएको र तोकिएको समयभित्रै यथोचित जवाफ दिने निर्णय भएको बताए । ‘जुन स्पष्टीरकरणका नाममा हामीलाई सोधिएको छ,त्यसमा हामीले सामूहिक ढंगले छलफल गर्‍यौं,’ राववले भने, ‘त्यो पूर्व तयारीका साथ र रेडिमेट रहेछ । यसबारे कसरी जाने भन्ने ढंगले छलफल गर्‍यौं । र, तोकिएको समयभित्रै यसको यथोचित जवाफ दिने गरि हामी उठ्यौं ।’

    स्पष्टीकरणमा नेपाल पक्षले अलग पार्टी खोलेको आरोप लगाइएको छ। त्यसको पनि नेपाल पक्षले खण्डन गरेको छ। ‘नवौं महाधिवेशनबाट निर्वाचित अध्यक्ष कमरेड केपी शर्मा ओली हो,’ रावलको भनाइ छ, ‘म केन्द्रीय कमिटीको सदस्य हो र त्यही पार्टीबाट निर्वाचित सांसद म पनि । हामीले नेकपा एमालेको घोषित लक्ष्य उदेश्य भन्दा बाहिर र नबौं महाधिवेशनले पारित गरेको विधि र विधान भन्दा कही पनि बाहिर गएका छैनौं ।’

  • माधव नेपाललाई ५ बुँदे पत्र: दुई दिनभित्र एमालेमा फर्किन अन्तिम मौका (पूर्णपाठ)

    माधव नेपाललाई ५ बुँदे पत्र: दुई दिनभित्र एमालेमा फर्किन अन्तिम मौका (पूर्णपाठ)

    काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माधव नेपालसहितका चार नेतालाई एमालेको पक्षमा आउने प्रतिबद्धतासहितको स-प्रमाण जवाफ आएमा सांसद पदबाट कारवाही नगरिने भन्दै दुई दिनभित्र जवाफ मागेका छन् ।

    यसअघि निलम्वनमा परिसकेका नेपालसहित सुरेन्द्र पाण्डे, भीम रावल र घनश्याम भुसाललाई पठाइएको ५ बुँदे स्पष्टीकरणमा एमालेको नाम,झण्डा र चिन्ह दुरुपयोग गरी अर्को दल सन्चालन गरेको आरोप लगाइएको छ ।

    कर्णाली प्रदेशसभा सदस्यलाई उचाल्दै फ्लोर क्रसजस्तो अनुशासनहीन र आपराधिक कार्य गराएकोले पार्टी र संसदीय दल परित्याग गरेको हुनाले ‘सांसद सदस्य पदबाट मुक्त किन नगर्ने ?’ भनी प्रश्न सोधिएको छ ।

    पत्रमा भनिएको छ, तपाईंलाई यसअघि पनि तपाईंका यस्तै क्रियाकलापहरूलाई लिएर स्पष्टीकरण सोधिएकोमा तपाईंले गल्ती महसुस गर्नुको सट्टा उल्टै मर्यादाहीन, झुठ्ठा र नसच्चिने उद्घोषसहितको उद्दण्ड जवाफ प्रस्तुत गर्नुभएको पृष्ठभूमिसमेत तपाईंलाई स्मरण गराउँदै यस्तै गतिविधिहरू कायम रहेमा तपाईंलाई जुनसुकै बेला पनि थप कडा कारवाही गर्नुपर्ने अवस्था आउन सक्नेतर्फ सचेत गराउँदै यस्ता गतिविधि बन्द गर्न र सही बाटोमा फर्किने मौका दिन यो स्पष्टीकरण पत्र लेखिएको छ ।’

    ओलीले नेपालमाथि नयाँ राजनीतिक दल खोलेको आरोपसमेत लगाएका छन् । दुई दिनभित्र एमालेमा फर्किने प्रतिबद्धता र प्रमाण नदिए कुनै पनि बखत कारवाही हुने भनिएको छ ।

     
     
     
  • संवादहीनता र कारवाहीले एमालेको एकता जोगिदैन: गोकर्ण विष्ट

    संवादहीनता र कारवाहीले एमालेको एकता जोगिदैन: गोकर्ण विष्ट

    काठमाडौं । नेकपा एमालेका नेता तथा सांसद गोकर्ण विष्टले बिनाकारण सांसदहरूमाथि कारवाहीका घटना अघि बढाइएको भन्दै यस्ता कुराले पार्टी एकतामा गम्भीर संकट पैदा भएको बताएका छन् ।

    विष्टले मंगलवार आफ्नो धारणा सार्वजनिक गर्दै संवादहीनता र कारवाहीको बाटो कुनै पनि हालतमा समाधान हुन नसक्ने भनेका छन् । विष्टले अदालतको फैसलाबमोजिम एमालेलाई नेकपा एकतापूर्वको अवस्थामा फर्काएर एकतापूर्वका कमिटीहरू ब्युँताउनुपर्ने माग गरेका छन् ।

    विष्टले भनेका छन्, ‘एउटा इमानदार कार्यकर्ताको लागि पदीइ हैसियतभन्दा पार्टी र आन्दोलनको भविष्य सधैँ माथि हुन्छ । यसर्थ एमालेका नेता, कार्यकर्ता, समर्थक र शुभचिन्तकको चाहना बमोजिम एकतापूर्वको एमालेका सम्पूर्ण आधिकारिक कमिटीहरू ब्युँताएर विधिमार्फत समाधान खोज्न म आग्रह गर्दछु ।

    विष्टलाई भने स्पष्टीकरण सोधिएको छैन ।

  • गोकर्ण विष्टसहित माधव पक्षधर ८ सांसदलाई किन सोधिएन स्पष्टीकरण ?

    गोकर्ण विष्टसहित माधव पक्षधर ८ सांसदलाई किन सोधिएन स्पष्टीकरण ?

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली सोमवार मध्यराति २ बजेसम्म पनि बालुवाटारमा आफूनिकट नेताहरुसँग बसेर ‘फ्लोर क्रस’ गर्ने तयारीमा रहेका माधव नेपाल पक्षधर सांसदहरूको सूची बनाउँदै थिए ।

    उनले केही दिनयता लगातार माधव नपाल पक्षका धेरैजसो सांसदसँग टेलिफोन र भेटेरै कुराकानी गरेका थिए । स्पष्टीकरण माग्ने सूची बनाउने बेलासम्म पनि उनी कतिपय सांसदहरुलाई कित्ता प्रष्ट पार्न टेलिफोनमै आग्रह गरिरहेका थिए ।

    ‘अब माधव नेपालले अलग्गै पार्टी बनाइसक्नुभयो, एमालेबाट जितेको हुनाले तपाईंलाई अन्तिम मौका छ कित्ता प्रष्ट पार्नुस् । पार्टीको पक्षमा उभिने हो भने आउनुस् होइन भने बाटो लाग्ने त छँदैछ । अब पार्टीले यो अवस्था धेरै समय सहँदैन । ’ ओलीको भनाइ उदृत गर्दै माधव नेपाल पक्षका एक सांसदले भने ।

    प्रतिनिधिसभामा एमालेका १२१ सांसदमध्ये माधव नेपालको पक्षमा आइतवारसम्म ३५ जना थिए । कृष्णभक्त पोखरेल, गोपाल बम र माया ज्ञवालीसहित ३८ जना सांसद एमाले ब्युँतिदासम्म माधव नेपाल पक्षमा थिए । नेपाल पक्षकै लालबाबु पण्डित र शेरवहादुर तामाङ त्यसअघि नै संस्थापन पक्षमा लागेका थिए ।

    मंगलवार स्पष्टीकरण सोधिने सांसदहरुको सूचीमा नेपाल पक्षका ८ जना सांसदको नाम नदेखिएपछि सो समूहमै खैलाबैला मच्चिएको छ । त्यसमा प्रभावशाली नेता गोकर्ण विष्टको समेत नाम छैन ।

    नेपाल पक्षमा प्रत्यक्ष निर्वाचित २३ जना सांसद रहेकोमा गुल्मीका गोकर्ण विष्ट, सुर्खेतका ध्रुव शाही र दैलेखका राजबहादुर बुढालाई स्पष्टीकरण माग्न आवश्यक नदेखिएको ओलीनिकट एक नेताले बताए । उनीहरूसँग प्रधानमन्त्रीले कुराकानी गरेपछि स्पष्टीकरण नमागिएको ती नेताको भनाइ छ ।

    नेपाल पक्षमा १२ जना समानुपातिक सांसद रहेकोमा ५ जना स्पष्टीकरणबाट जोगिएका छन् । बिना बुढाथोकी मगर, गंगा चौधरी सतगौंवा, समिना हुसेन, कलिला खातुन र पार्वती बिसुंखेलाई स्पष्टीकरण सोध्न आवश्यक नदेखिएको एमाले स्रोतले जनाएको छ ।

    पार्टीको पक्षमा उभिने अवस्थामा उनीहरूलाई उचित जिम्मेवारी दिइने ती नेताको भनाइ छ । स्पष्टीकरण सोधिएका अन्य सांसदले पनि एमालेको आधिकारिक निर्णयका पक्षमा उभिन आए उनीहरूलाई कारवाही नहुने मुख्य सचेतक विशाल भट्टराईले बताए ।

    स्पष्टिकरण नसोधिएका सांसदले यसबीचमा माधव नेपाल पक्षका समानान्तर गतिबिधिमा सहभागिता जनाएको खण्डमा कारवाही प्रक्रिया कुनै पनि बेला अघि बढाउन सकिने एमाले स्रोतले जनाएको छ ।

  • नेपालपक्षीय सांसदलाई प्रश्न- नाम र चिन्ह दुरुपयोग गरेर अलग पार्टी किन खोलेको ? (पत्रसहित)

    नेपालपक्षीय सांसदलाई प्रश्न- नाम र चिन्ह दुरुपयोग गरेर अलग पार्टी किन खोलेको ? (पत्रसहित)

    काठमाडौं । नेकपा (एमाले) ले नेता माधवकुमार नेपालपक्षीय संघीय २७ सांसदसहित ३२ जनालाई स्पष्टीकरण सोधेको छ ।

    संघीय सांसदलाई पठाइएको तीन पाने स्पष्टीकरण पत्रमा एमालेको नाम र चिन्ह दुरुपयोग गरेर अलग पार्टीको अभ्यास गरेको भन्दै कारवाही किन नगर्ने भनेर सोधिएको छ।

    पत्रमा भनिएको छ, ‘छुट्टै राजनीतिक दल गठन गरेकोमा कारवाही किन नगर्ने ? संसद सदस्यबाट किन नहटाउने ?’

    कारणसहित तीन दिनभित्र स्पष्टीकरण पेस गर्न निर्देशन दिइएको छ ।

    पत्रमा सच्चिन अन्तिम मौका भएको भन्दै एमालेको पक्षमा आउने प्रमाण पेस गरेमा त्यसमा पुनर्विचार गर्न सकिने उल्लेख छ ।

    हेर्नुहोस् स्पष्टीकरण पत्र:

     

  • तपाईंलाई संसद सदस्यबाट कारवाही किन नगर्ने भन्दै एमालेले ३२ जनासँग माग्यो स्पष्टीकरण (सूचीसहित)

    तपाईंलाई संसद सदस्यबाट कारवाही किन नगर्ने भन्दै एमालेले ३२ जनासँग माग्यो स्पष्टीकरण (सूचीसहित)

    काठमाडौं । नेकपा एमालेले कांग्रेस-माओवादीबाट प्रधानमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव ल्याउँदा माधव नेपाल पक्षले ‘फ्लोर क्रस’ गरेर साथ दिने जानकारीपछि माधव नेपाल र झलनाथ खनालसहित प्रतिनिधिसभाका २७ जना सांसदलाई कारवाही प्रक्रिया अघि बढाएको छ ।

    सोमवारको केन्द्रीय कमिटी बैठकले यसअघि निलम्बन गरिएका चार नेतासहित कर्णालीका फ्लोर क्रस गर्ने, गर्न उक्साउने र संघीय संसदमा पनि फ्लोर क्रस गर्ने बैठकहरूमा सहभागी भएका सांसदलाई दुई दिनको समय दिएर स्पष्टीकरण मागेको हो ।

    पार्टी अध्यक्ष केपी शर्मा ओलीले हस्ताक्षर गरेको एकै व्यहोराको स्पष्टीकरणमा विभिन्न आरोप लगाउँदै तपाईंलाई किन कारवाही नगर्ने ? भनी प्रश्न गरिएको छ ।

    प्रमुख सचेतक विशाल भट्टराई र एमाले कार्यालय सचिव ईश्वरी रिजालले स्पष्टीकरण पत्र सम्बन्धित व्यक्तिको इमेलमा पठाएका छन् । कतिपयलाई संसदको पिजन होलमार्फत दिइएको छ ।

    एमाले सांसद झपट रावलले चार बुँदे आरोपसहितको स्पष्टीकरण आफूले इमेलबाट प्राप्त गरेको नेपाल प्रेसलाई बताए ।

    १) माधवकुमार नेपाल

    २) भीम रावल

    ३) सुरेन्द्र पाण्डे

    ४) घनश्याम भुसाल

    ५) पवित्रा निरौला

    ६) झपट रावल

    ७) मेटमणि चौधरी

    ८) यज्ञराज सुनुवार

    ९) जीवनराम श्रेष्ठ

    १०) झलनाथ खनाल

    ११) विरोध खतिवडा

    १२) सोमप्रसाद पाण्डे

    १३) भवानी खापुङ

    १४) नारायण खतिवडा

    १५) जयकुमार राई

    १६) गणेश पहाडी

    १७) दिपकप्रकाश भट्ट

    १८) योगेशकुमार भट्टराई

    १९) हिराचन्द्र केसी

    २०) पुष्पाकुमारी कर्ण कायस्थ

    २१) कल्याणी खड्का

    २२) लक्ष्मीकुमारी चौधरी

    २३) सरलाकुमारी यादव

    २४) कृष्णलाल महर्जन

    २५) नीरादेवी जैरु

    २६) मुकुन्द नेउपाने

    २७) रामकुमारी झाक्री

    कर्णाली प्रदेशका सांसदः

    १) प्रकाश ज्वाला

    २) नन्दसिंह बुढा

    ३) कुर्मराज शाही

    ४) अम्बरबहादुर थापा

    ५) देवी ओली

  • एमालेले माधव नेपाल पक्षका २७ संघीय सांसदसहित ३२ जनालाई आजै स्पष्टीकरण पत्र पठाउने

    एमालेले माधव नेपाल पक्षका २७ संघीय सांसदसहित ३२ जनालाई आजै स्पष्टीकरण पत्र पठाउने

    काठमाडौं । पार्टी अनुशासन उल्लंघनको आरोपमा नेकपा एमालेले माधव नेपाल पक्षका २७ जना प्रतिनिधिसभा सांसदसहित २७ जनालाई स्पष्टीकरण सोध्न लागेको छ । आजै उनीहरूलाई स्पष्टीकरण पत्र पठाइन तयारी रहेको पार्टी स्रोतले जानकारी दियो ।

    कर्णालीमा ‘फ्लोर क्रस’ गरेर एमालेका सांसदहरूले सरकारको पक्षमा मतदान गरेपछि अध्यक्ष केपी ओली माधव समूहप्रति आक्रामक बनेका छन् । कर्णालीको घटनामा केन्द्रकै नेताहरूलाई समेत जिम्मेवार ठहर्‍याएर उनीहरूलाई ‘अन्तिम स्पष्टीकरण’ सोध्न लागिएको हो ।

    माधव नेपाल पक्षका ३५ संघीय संसदमध्ये २७ जनालाई स्पष्टीकरण पत्र पठाउन लागिएको छ । स्पष्टीकरण सोधिने अन्य नेताहरू कर्णालीका छन् ।

    माधव नेपालसहित चार प्रमुख नेताहरूलाई यसअघि नै ६ महिने निलम्बनमा छन् । अब उनीहरुलाई त्योभन्दा कडा कारवाही हुने प्रधानमन्त्री केपी ओलीले हिजोको बैठकमा जानकारी दिएका थिए ।

    माधव नेपाल पक्षबाट कर्णालीमा अक्षम्य अपराध भएको उनको आरोप छ । अबको स्पष्टीकरणको चित्तबुझ्दो जवाफ नआए नेताहरुलाई पार्टीबाट निष्कासनसम्म हुन सक्ने बताइएको छ ।

  • यस्तो छ सुरेन्द्र पाण्डेले एमाले अध्यक्षलाई पठाएको स्पष्टीकरण (पत्रसहित)

    यस्तो छ सुरेन्द्र पाण्डेले एमाले अध्यक्षलाई पठाएको स्पष्टीकरण (पत्रसहित)

    काठमाडौं । नेकपा एमालेका नेता सुरेन्द्र पाण्डेले आफूलाई सोधेको स्पष्टीकरणको जवाफ अध्यक्ष केपी शर्मा ओलीलाई फर्काएका छन् ।

    पाण्डेको स्पष्टीकरणका प्रायः सबै कुरा यसअघि घनश्याम भुसालले दिएको प्रष्टीकरणकै यथावत छन् ।

    पाण्डेले ओलीमाथि पार्टी विभाजन गर्न खोजेको भन्दै २०७५ जेठ २ मा नफर्किए एमालेको एकता नजोगिने बताएका छन् ।

    पाण्डेले केपी ओलीमाथि कंगारु अदालत खडा गर्न खोजेको र आफूलाई सोधिएको स्पष्टीकरणपत्र शत्रुलाईजस्तै भाषा प्रयोग गरेको उल्लेख गरेका छन् ।

  • ओलीलाई घनश्यामको स्पष्टीकरण- क्रान्ति अघि बढ्छ, तपाईं दण्डित हुनुहुनेछ (पूर्णपाठसहित)

    ओलीलाई घनश्यामको स्पष्टीकरण- क्रान्ति अघि बढ्छ, तपाईं दण्डित हुनुहुनेछ (पूर्णपाठसहित)

    काठमाडौं । नेकपा एमालेका नेता घनश्याम भुसालले दोस्रो पटकको ताकेतापछि पार्टीमा स्पष्टीकरण बुझाएका छन् ।

    भुसालले आफूमाथि लगाइएका सबै आरोपहरु अश्वीकार गर्दै पार्टी एकता जोगाउन अन्तिमपटक अध्यक्ष केपी शर्मा ओलीलाई आग्रह गरेका छन् ।

    लामो स्पष्टीकरणमा उनले माधव नेपाल र भीम रावलको भन्दा फरक ढंगले आफ्ना कुरा राखेका छन् । भुसालले ओलीमा गम्भीर विचलन आएको र एमालेलाई विभाजन गर्न उद्धत रहेको आरोप लगाएका छन् ।

    भुसालले एमालेलाई अगाडि बढ्न नदिन ओली अग्रसर भएको भन्दै पार्टीलाई बन्धक बनाएर ओलीले सत्ता र शक्तिको भोग गरेको आरोप लगाएका छन् ।

    भुसालले भनेका छन्, ‘मेरो लाख-लाख अनुरोध छ, कमरेड यस पार्टीलाई अगाडि बढ्न दिनुस् । अझै पनि व्यक्तिवादको घोर नशाबाट ब्युँझनुस् । क्रान्ति त अघि बढ्छ, बढ्छ । आज, भोलि वा पर्सी तपाईं दण्डित हुनु हुनेछ । आगे तपाईंकै इच्छा ।’

    यस्तो छ घनश्याम भुसालको स्पष्टीकरण :-

  • नेपाल र रावल नसच्चिए थप कडा कारबाही गर्ने चेतावनी (पत्रसहित)

    नेपाल र रावल नसच्चिए थप कडा कारबाही गर्ने चेतावनी (पत्रसहित)

    काठमाडौं । नेकपा एमालेले पूर्वमहासचिव माधवकुमार नेपाल र पूर्वउपाध्यक्ष भीम रावललाई जुनसुकै बेला थप कडा कारबाही गर्नुपर्ने अवस्था आउन सक्नेतर्फ सचेत गराउँदै सच्चिनका लागि अन्तिम मौका दिएर ६ महिना निलम्बन गरिएको जनाएको छ ।

    यसबीचमा नसच्चिए निलम्बनकै बीचमा थप कारबाही हुने चेतावनी समेत दिइएको छ ।

    दुवै नेतालाई लेखिएको कारबाही पत्रको व्यहोरा उस्तै छ । पत्रमा स्पष्टीकरण बुझाउँदा कुनै गल्ती स्वीकार नगरी अहंकार र आत्म केन्द्रित कुराहरू लेखेको उल्लेख छ ।

    ‘तपाईंले पार्टी एकतालाई विखण्डन गर्ने, पार्टी फुटाउने, पार्टीभित्रको सहकार्य र सद्भावलाई क्षतविक्षत पार्ने गरी निरन्तर अवैधानिक गुट भेला तथा पार्टीका कुभलो चिताउनेहरूसँग निरन्तर बैठक भेटघाट गर्ने र उनीहरूको पक्षपोषण गर्ने कार्य निरन्तर गरीरहनु भई उक्त कार्यलाई निरन्तरता दिने स्विकारोक्तिसहित अहंकार र आत्म केन्द्रित कुराहरु उल्लेख गरी स्पष्टीकरणको जवाफ दिएको देखियो,’ पत्रमा भनिएको छ।

    स्पष्टीकरणमा सोधिएअनुसार आफ्नो भुलत्रुटीको स्विकारोक्ति नगरेको र कुनै आत्मसमीक्षा नगिरएको भन्दै थप कारबाही हुने चेतावनीसमेत पत्रमा दिइएको छ। पत्रमा भनिएको छ, ‘यस्तै गतिविधिहरू कामय रहेमा तपाईंलाई जुनसुकै बेला पनि थप कडा कारबाही गर्नुपर्ने अवस्था आउन सक्नेतर्फ सचेत गराउँदै, यस्ता पार्टीविरोधी गतिविधि बन्द गर्न र सही बाटोमा फर्किने मौका दिन एकैपटक कडा कारबाही गर्नु भन्दा हाललाई पार्टीको दशौं महाधिवेशन आयोजक कमिटी सदस्य र पार्टीका अन्य सबै जिम्मेवारीहरू तथा पार्टी सदस्यता बाटै पार्टीको विधान २०४९ (शंसोधान २०७१ समेत) को धारा ४९(ख) बमोजिम हाललाई ६ (छ) महिनाको लागि निलम्बन गरिएको छ।’

     

     

  • बैठक बोलाउन ओलीसमक्ष आग्रह गर्ने माधव नेपाल पक्षको तयारी

    बैठक बोलाउन ओलीसमक्ष आग्रह गर्ने माधव नेपाल पक्षको तयारी

    काठमाडौं । नेकपा एमालेको माधव नेपाल पक्षले केन्द्रीय कमिटी र स्थायी कमिटी बैठक माग गर्दै अध्यक्ष केपी शर्मा ओलीलाई निवेदन दिने भएको छ ।

    विधानअनुसार एक चौथाई केन्द्रीय सदस्यले बैठक माग गर्न पाउने भएकाले सोही बमोजिम केन्द्रीय कमिटी बैठकको माग गर्न लागिएको एक नेताले नेपाल प्रेसलाई बताए ।

    माधव नेपाल पक्षले एमाले पुनःस्थापनापछि फागुन २८ र चैत ७ गते बसेको केन्द्रीय कमिटी बैठकलाई स्वीकार गरेको छैन । फागुन २८ को बैठकमा खबर नै नभएको र चैत ७ गतेका बैठक बहिष्कार गरेको नेपाल पक्षले विधान बमोजिम बैठक माग गर्न लागिएको हो ।

    त्यसअघि माधव नेपाल पक्षधरको काठमाडौंमा उपलब्ध केन्द्रीय सदस्यहरूको छलफल शुक्रबार हुनेछ । सो छलफलले थप रणनीति तय गर्ने बताइएको छ । यसैबीच माधव नेपालसहित चार नेताले आज स्पष्टीकरण पेश गर्ने भएका छन् ।

  • स्पष्टीकरणको जवाफ खुलापत्रमार्फत दिने नेपाल समूहको तयारी, ओलीसँग पनि जवाफ माग्ने

    स्पष्टीकरणको जवाफ खुलापत्रमार्फत दिने नेपाल समूहको तयारी, ओलीसँग पनि जवाफ माग्ने

    काठमाडौं । नेकपा एमालेको असन्तुष्ट माधव नेपाल पक्षले पार्टीद्वारा चार नेतालाई सोधिएको स्पष्टीकरणको जवाफ संयुक्तरूपमा दिने भएको छ । स्पष्टीकरणको जवाफ पार्टी कार्यालयमा नबुझाइने सो समूहका नेता सुरेन्द्र पाण्डेले बताए ।

    ‘हामी सार्वजनिकरूपमा जवाफ दिनेछौं,’ उनले नेपाल प्रेससँग भने, ‘जवाफसँगै प्रधानमन्त्रीसँग प्रश्न पनि सोध्नेछौं ।’

    स्पष्टीकरणको जवाफ दिने विषयमा नेपाल समूहका स्थायी कमिटी सदस्यहरुले आज अनौपचारिक छलफल गर्ने भएका छन् । दिउँसो चार बजेको छलफल पछि जवाफी पत्र तयार गरिने छ ।

    एमालेले पार्टी अनुशासन उल्लंघन गरेको भन्दै माधवकुमार नेपाल, सुरेन्द्र पाण्डे, भीम रावल र घनश्वाम भुसाललाई स्पष्टीकरण सोधेको थियो । त्यसको जवाफका लागि दिइएको तीन दिनको म्याद आज सकिँदैछ ।

  • यस्तो छ एमालेले सुरेन्द्र पाण्डेलाई सोधेको ५ बुँदे स्पष्टीकरण (पत्रसहित)

    यस्तो छ एमालेले सुरेन्द्र पाण्डेलाई सोधेको ५ बुँदे स्पष्टीकरण (पत्रसहित)

    काठमाडौं । नेकपा एमालेले पार्टीका नेता सुरेन्द्र पाण्डेमाथि पार्टी फुटाउने क्रियाकलापको अगुवाइ गरेको भन्दै कारबाहीको प्रक्रिया अघि बढाएको छ ।

    पाण्डेलाई महासचिव ईश्वर पोखरेलले सोधेको स्पष्टीकरणमा पार्टी एकताविरोधी भेला गर्नुको कारण र भेलाबाट एकताविरोधी प्रस्ताव पारित गर्नु गराउनुको कारण मागिएको छ ।

    नेपाल प्रेसलाई प्राप्त स्पष्टीकरणपत्रमा पाण्डेलाई पार्टीका बैठकमा सहभागी हनुको साटो पार्टी तथा जनसंगठनहरूको नाम, झण्डा र चिन्हको दुरुपयोग गरेको आरोप लगाइएको छ । पाण्डेमाथि प्रचण्डको मतियार बनेर नेकपा एमाले विभाजन गर्न खोजेको र प्रधानमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव दर्ता गरे/गराएको सन्दर्भमा समेत जवाफ मागिएको छ ।

    तीन दिनभित्र जवाफ पेश गर्न भनिएकोमा दुई दिन बितिसकेको छ । पाण्डेले मंगलबार राजधानीमा आयोजित अनेरास्ववियूको समानान्तर भेलामा ओलीलाई नै स्पष्टीकरण सोधिने बताएका थिए ।

    एमालेले माधव नेपालसँग १० बुँदे स्पष्टीकरण माग गरेको छ भने पाण्डेसँग ५ बुँदामा स्पष्टीकरण मागिएको छ ।

  • स्पष्टीकरणको जवाफ दिन माधव समूह तयार, ओलीसँग पनि जवाफ माग्ने

    स्पष्टीकरणको जवाफ दिन माधव समूह तयार, ओलीसँग पनि जवाफ माग्ने

    काठमाडौं । नेकपा एमालेको असन्तुष्ट समूहले पार्टीद्वारा चार नेताहरुलाई सोधिएको स्पष्टिकरणको जवाफ दिने निर्णय गरेको छ ।

    ललितपुरमा आज सम्पन्न सो समुहका स्थाइ समिति सदस्यको बैठकमा यस्तो आन्तरिक समझदारी भएको हो ।

    यसअघि नेपाल पक्षका नेताहरुले स्पष्टिकरण सोध्ने निर्णय नै अवैध रहेको भन्दै जवाफ नदिइने बताएका थिए । तर, आजको अनौपचारिक वैठकले पनि फरक सहमति गरेको छ ।

    बैठकमा सहभागी स्थायी समिति सदस्य युवराज ज्ञवालीले स्पष्टीकरणको जवाफ दिइने बताए । उनले नेपाल प्रेससँग भने, ‘हामीले यस्तो गतिविधि किन गर्यौं भन्ने कुराको जवाफ दिन्छौं । र, केपी ओलीले देशलाई दिनुपर्ने जवाफ पनि हामी सोध्छौं ।’

  • घनश्याम भुसाललाई प्रश्न- अराजनीतिक आरोप तयार पार्न अग्रसर किन भएको ?

    घनश्याम भुसाललाई प्रश्न- अराजनीतिक आरोप तयार पार्न अग्रसर किन भएको ?

    काठमाडौं । नेकपा (एमाले)ले पार्टी हित विपरित काम गरेको भन्दै नेता घनश्याम भुसाललाई तीन दिनको समय दिएर स्पष्टीकरण सोधिएको छ । महासचिव ईश्वर पोखरेलद्वारा सोधिएको स्पष्टीकरणमा पार्टी अध्यक्ष केपी शर्मा ओलीविरुद्ध तयार पारेको १९ पृष्ठ लामो आरोप पत्र तयार पार्न अग्रसर रहेको आरोप लगाइएको छ ।

    यसमा संलग्न हुनुको कारण सोध्दै स्पष्टीकरण पत्रमा भनिएको छ–तपाईंले साविक नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटी सदस्यको जिम्मेवारीमा रहँदाको अवस्थामा पार्टी अध्यक्ष केपी शर्मा ओलीका विरूद्धमा १९ पृष्ठ लामो अराजनीतिक, तथ्यहीन र शत्रूतापूर्ण आरोप तयार गर्न, पार्टी विधानको व्यवस्थाविपरीत छापामार शैलीमा तत्कालीन पार्टी सचिवालयमा प्रस्तुत गर्न र त्यसलाई पार्टीको नाम, झण्डा र लोगो समेतको अनधिकृत रूपमा प्रयोग गरी पुस्तकाकारमा प्रकाशित गरेर वितरण गर्नमा अग्रसर भई पुष्पकमल दाहालको मतियार समेत भई पार्टी हितविपरीत कार्य गरेको र गराउनु पर्नाको कारण के हो ?’

    उनलाई तत्कालीन नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को मतियार भएको आरोप लगाइएको छ ।

    हेर्नुहोस् भुसाललाई सोधिएको स्पष्टीकरण :